राष्ट्रपति रामचन्द्र पौडेलले दिए जितिया पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन् ।

उनले जितिया जस्तो मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवद्र्धनमा योगदान गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले मौलिक चाडपर्वका माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको आफूले महसुस गरेको उल्लेख गरे ।

नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई राख्नु अहिलेको आवश्यकता भएको बताए ।

विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी छ : सांसद राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन पनि सरकारसँग माग गरे। अध्यक्ष राउतले सो विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । उनले सो विधेयकमा सरकारले विद्यार्थी र अभिभावकहरुको सरोकारलाई सम्बोधन गर्नुपर्ने पनि बताए । ‘‘यो शिक्षा विधेयक जसका लागि ल्याइएको हो । जसको प्रयोजनको लागि ल्याइएको हो । त्यो नै स्पष्ट नभएको, त्यसको नै पर्याप्त छलफल नभएको, त्यसलाई नै पर्याप्त सम्बोधन नगरेको जस्तो यहाँ देखिन्छ । त्यही भएर यहाँ शिक्षकहरुले पनि आन्दोलन गरे । आफ्नो तलब, सेवा, सुविधा वृद्धिका लागि यहाँ सम्झौता गरियो । निजी विद्यालयहरुले पनि यहाँ आन्दोलन गरे । आफ्नो माग पूरा गरे । तर गरिव विद्यार्थीहरुका लागि चाहीँ कसले बोलिदिने ? आम विद्यार्थीहरुका लागि चाँही कसले बोलिदिने ? त्यो चाँही यहाँ नभएको हुनाले म बोल्न बाध्य भएको हुँ । र सरकारको ध्यानाकर्षण गराउन बाध्य भएको हो । र खासगरी शिक्षा विधेयक हामी जुन प्रयोजनका लागि ल्याउँदैछौं । त्यो सरोकारवाला विद्यार्थी, अभिभावकहरुलाई समेटेर तिनका सरोकारलाई सम्बोधन गर्नका निम्ति अनुरोध गर्न चाहन्छु ।, अध्यक्ष राउतले भने, ‘‘खासगरी विद्यार्थीहरुले कस्तो खालको शिक्षा पाउने, त्यसको गुणस्तर कस्तो हुने, त्यसमा पहुँच कस्तो हुने, त्यसमा सहज अवस्था छ कि छैन ? त्यो कुरालाई चाँही विधेयकले नै सम्बोधन गर्नुपर्ने जस्तो मलाई लाग्छ । र त्यतातिर ध्यान दिन आग्रह गर्न चाहन्छु । हाम्रो पार्टीका १० कक्षा पछि एक वर्ष अनिवार्य रुपले प्राविधिक शिक्षा दिनैपर्ने खालको अवधारणा ल्याएको थियो । त्यस्तो खालको नीति पनि राख्न सकिन्छ कि भनेर म सरकारलाई अनुरोध गर्न चाहन्छु । अहिले विधेयक संकीर्णवादी छ । यो विधेयक संघीयता विरोध पनि देखिएको छ । जिल्ला शिक्षा कार्यालय खारेज गर्नुपर्छ ।’’ अध्यक्ष राउतले सो विधेयक संकिर्णवादी सोचका साथ आएको बताए । ।

सेनाको ट्रक र मोटरसाइकल ठोक्किँदा भद्रकालीमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको भद्रकालीमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ। भद्रकाली नजिक सभागृह मोडमा सेनाको प्र ३–०१–००१ ग ३६०५ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको हो। ठक्करबाट काठमाडौं चाहाचल बस्ने ३२ वर्षकी चालक आकृति शर्माको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाहपथले जनाएको छ। बा प्र–०२–०१८ प ९२७७ नम्बरको स्कुटर ट्रकसँग ठोक्किँदा घाइते भएकी शर्मालाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रको निरक्षण गर्न बझाङ प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बझाङमा भूकम्पले पुर्‍याएको क्षतिबारे स्थलगत निरीक्षण गर्न बझाङ प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्डसहित १८ जनाको टोली बझाङ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख लगायत छन् हिजो प्रधानमन्त्री प्रचण्डले बझाङका भूकम्पबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिए। भूकम्पका कारण बझाङमा १८ जना, अछाममा पाँच जना, बाजुरामा दुई र बैतडीमा दुई जना घाइते भएको सुदूरपश्चिम प्रदेश विपद् कार्य सञ्चालन केन्द्रले जनाएको छ । सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४ सय १० वटा भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । प्रदेशभरि निजी घर ७६ र एउटा सरकारी कार्यालयमा पूर्ण रूपले क्षति पुगेको छ ।

बझाङको चैनपुर केन्द्रविन्दु भएर राति दुई पटक पराकम्प

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको पराकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको पराकम्प गएको थियो । दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको पराकम्प गएको थियो । उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो । केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउछन् । “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उनले भने । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

चाडपर्वमा सर्वसाधारणलाई सहज र सुलभ यातायातको व्यवस्था गर्न सांसद माझीको माग

काठमाडौं । नजिक आइरहेको दशैं तिहार छठ लगायतका चाडपर्वमा सर्वसाधारणलाई सहज र सुलभ यातायातको व्यवस्था गर्न सांसदले माग गरेका छन् । संसद अन्तरगतको पुर्वाधार विकास समितिको बुधबारको बैठकमा प्रतिनिधिसभा सदस्य उर्मिला माझीले सर्वसाधारणको सुविधालाई सरकारले विशेष ध्यान दिनुपर्ने बताईन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको समेत सहभागीता रहेको सो बैठकमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने उनले सडकको खाल्डाखुल्डी तत्काल पुर्नुपर्ने, यातायातका साधनको गति नियन्त्रण र नियमित गर्न राजमार्गमा सिसिटिभिको व्यवस्था गर्नुपर्ने विषयमा मन्त्रीको गम्भीर ध्यानाकर्षण गराएकी थिइन् । बैठकमा सांसदहरूले दशैको बेला सरकारले जनतालाई सुलभ यातायातको व्यवस्था गर्नको लागि मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्वालाले यस विषयमा सरकारले गृहकार्य गरेर व्यवस्था गर्ने बताएका थिए ।

यस्तो छ आजको मौसम , कहाँ कहाँ पर्छ पानी ?

काठमाडौं । केही भू–भागमा वर्षाको सम्भावना रहेको छ । आज सातवटै प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । विभागले कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।

माओवादी केन्द्र सुदुरपश्चिम सम्पर्क समन्वयद्धारा विपत्तीमा सहयोगकाे अपिल

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश सम्पर्क समन्वय समितिले भूकम्पबाट प्रभावित जनता, घाइतेहरूलाई नैतिक, भौतिक, आर्थिक र मानविय सहयोगको अपिल गरेको छ । समितिले सुदुरपश्चिम प्रदेसमा स्थायी बसोबास भई हाल राजधानी काठमाडौं तथा देश विदेशमा रहेका बझाङ, सुदुरपश्चिमेली दाजुभाई तथा दिदिबहिनीहरूमा सो अपिल गरेको हो । समन्वयका ईन्चार्ज पदम जोशी र संयोजक गणेश बुढाद्धारा जारी विज्ञप्तिमा भुकम्पबाट उत्पन्न समस्या समाधानका लागि तत्काल उध्दार तथा राहातको प्रवन्ध गर्न प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड समक्ष भुकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी न्यायोचित उध्दार राहात दिन आग्रह गरेको उल्लेख छ । ईन्चार्ज जोशीका अनुसार प्रधानमन्त्रीसमक्ष सुदुरपश्चिम प्रदेश सम्पर्क समन्वय समितिका इञ्चार्ज कपदम जोशी, संयोजक गणेश बुढा, प्रदेश सदस्य कमरेड कमल थापा र टंक आग्री सहित सर्वदलिय डेलिगेसन गई ध्यानाकर्षण समेत गराइसकेको छ । सोही माग बमोजिम प्रधानमन्त्री प्रचण्ड भोलि प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ । । यस्तो छ विज्ञप्ति

भरतपुरको बाईपास रोड अन्तर्गत विशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गरिने

चितवन । भरतपुर बाईपास रोड अन्तर्गत विशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गर्न ३ पक्षीय सहमति भएको छ । भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय भरतपुर र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम बीच वृक्षरोपण तथा सौन्दर्यकरण गर्ने सहमति भएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेल र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका प्रमुख श्याम बाबु लोप्चनले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । वृक्षरोपणका लागि सडक डिभिजन कार्यालय भरतपुरले मलिलो माटो भर्ने तथा मिडियनमा ट्राफिक नियमअनुसारको रङरोगन गर्ने सहमति पत्रमा उल्लेख छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट महानगरको मापदण्ड अनुसारको विरुवाहरु उपलब्ध गराउने तथा रोप्ने काम हुने छ । विरुवा रोपेपछि भने यसको संरक्षण तथा अनुगमनको काम महानगरपालिकाको हुने सहमति पत्रमा जनाइएको छ । महानगरपालिकाले विरुवाको लागि मिडियनको गार्डेनको दुवैतिर घेराबार तथा सिँचाईको व्यवस्था गर्नुपर्ने छ । विशालचोकदेखि आँपटारीसम्मको १७ सय मिटरको मिडियनमा असोज २६ गते शुक्रबार वृक्षरोपण गरिने महानगरपालिकाका वातावरण निरीक्षक लक्ष्मी ठगुन्नाले जानकारी दिए । बाईपास सडकमा यसअघि नै ३ वटा निकायको लगानीमा केन्द्रीय बस टर्मिनल चोकदेखि विशालचोकसम्म वृक्षरोपण भईसकेको छ । सडक निर्माणमा ढिलाई भएसँगै यो क्षेत्रमा वृक्षरोपण गर्न पाइएको थिएन् । अहिले सडक निर्माण सम्पन्न भएसँगै वृक्षरोपणका लागि बाटो खुलेको हो । भरतपुर महानगरपालिकाले निर्माण सम्पन्न भएका सडकमा हरियाली प्रर्वद्धन कार्यक्रमलाई प्राथामिकतामा राखेको छ ।

चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले तोड्यो अनशन

काठमाडौँ। चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका पदाधिकारीहरूले अनशन तोडेका छन्।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका सङ्घर्ष समितिका पदाधिकारीहरूले आज अनशन तोडेका हुन् । मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको भन्दै चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुने आश्वासन दिएका छन् । उनले विषयमा शिक्षामन्त्री र प्रधानमन्त्रीसमेत सकारात्मक भएकाले सङ्घर्ष समितिले उठाएका माग चाँडै सम्बोधन हुने विश्वास व्यक्त गरे । चौध सूत्रीय माग राखेर अनशनरत सङ्घर्ष समिति तत्काल सडक सङ्घर्ष स्थगित गर्न सहमत भएको हो । मन्त्रालयको सचिवालयका स्वकीय सचिव रामेश्वर आचार्य र रामचन्द्र दुलालले सङ्घर्ष समितिका सदस्यलाई जुस पिलाएर अनशन स्थगिन गरिएको हो । अनशनस्थगित गरेपछि चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका वरिष्ठ पाँच पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेका थिए । मन्त्री बस्नेतसहित भएको वार्तामा मन्त्रालयका सचिव डा रोशन पोखरेल, अतिरिक्त सचिव डा विकास देवकोटा, डा टङ्क बाराकोटीलगायत सहभागी हुनुहुन्थ्यो । यता सङ्घर्ष समितिका तर्फबाट संयोजक निर्मल सापकोटा र सहसंयोजक जोशीलगायतका पदाधिकारी सहभागी थिए । वार्तामा सङ्घर्ष समितिका संयोजक सापकोटाले आफूहरूले उठाएका १४ वटा मागका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराउँदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका जायज मागका विषयमा पहलकदमीका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा देवकोटालाई फोकल सर्जन तोके । सङ्घर्ष समितिले चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, सिटिइभिटीको तुरन्त पुनःसंरचना गर्नुपर्ने, प्रि डिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरोन्नति गर्दै बाँकीमा तत्काल भर्ना खोल्नुपर्ने माग राख्दै आएको छ । उक्त समिति पारामेडिकलअन्तर्गत नर्सिङका विषय चिकित्सा शिक्षाबाट अलग गर्न, बन्द गराइएका नर्सिङ कलेजमा भर्ना खोल्न, छात्रवृत्तिमा भइरहेको विभेद अन्त्य र शिक्षामा कोटा प्रणाली खारेज लगायतका १४ मागसहित गत साउन २७ गतेदेखि माइतीघर मण्डलामा रिले अनशन बसेको थियो ।

पशुपतिनाथको बसपार्कमा निःशुल्क पार्किङ

काठमाडौं । पशुपतिनाथको बसपार्कमा पार्किङ निस्शुल्क गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अहिलेलाई पशुपतिनाथको बसपार्कमा पार्किङ निस्शुल्क गरिएको जानकारी दिएका हुन् । ‘पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएकाले सम्झौता भंग गरिसकिएको छ । अर्को प्रक्रिया पूरा नहुँदासम्म पार्किङ निस्शुल्क गरिएको जानकारी गराइन्छ,’ किरातीले फेसबुकमा भनेका छन् ।

एनआरएनएको ११ औं विश्व सम्मेलन मार्च २ र ३ मा हुने, यस्तो छ कार्यविभाजन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी मार्च २ र ३ मा ११ औं विश्व सम्मेलन गर्ने निर्णय गरेको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको १८ औं बैठकले महाधिवेशनको गर्ने निर्णय गरेको हो । बद्री समूहले एनआरएनएको एकता भंग गरेपछि अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा बसेको बैठकले ११ औं विश्व सम्मेलन गर्ने निर्णय गरेको हो । विश्व सम्मेलन सम्पन्न गर्न अध्यक्ष कुँवरको संयोजकत्वमा मूल तयारी समिति पनि गठन गरिएको सचिव कृष्ण सञ्जेलले जानकारी दिएका छन् । प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भएको एकता समबन्धी सहमति बद्री समूहले उलंघन गर्दै एकलौटी राष्ट्रिय सम्मेलन गर्दै विश्व सम्मेलनको घोषणा गरेपछि विशेष साधारणसभाले एकता हुन नसक्ने निष्कर्ष निकाल्दै ११ औँ विश्व सम्मेलन गर्ने निर्णय गरेको हो । महाधिवेशन आयोजक समितिका सल्लाहकारहरुमा निर्वतमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घले, निवर्तमान संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन, निवर्तमान उपाध्यक्ष सोनाम लामा, पूर्व आइसीसी सदस्य जमुना गुरुङ, पूर्व संरक्षक दिल गुरुङ, सम्पूर्ण वर्तमान सल्लाहकारहरु र सम्पूर्ण मानार्थ परिषद सदस्यहरु रहेका छन् । त्यसैगरी सम्पूर्ण पदाधिकारीहरु, परिषद सदस्य र सबै एनसीसी अध्यक्षहरु समेत रहनेगरी मूल आयोजक समिति गठन गरिएको छ । समितिका सदस्य सचिवमा कार्यकारी निर्देशक राजेश सम्शेर राणा रहेका छन् । विश्व सम्मेलनबाट संघको नयाँ नेतृत्व चयन गरिनेछ । त्यसको लागि ३ देखि ५ सदस्य रहने गरी एक निर्वाचन समितिको गठन गरिने भएको छ । समितिका प्रमुख र सदस्यहरुको नियुक्ति संघका अध्यक्ष र महासचिवले रहनेछन् । विश्व सम्मेलनको लागि आर्थिक ब्यबस्थापन र श्रोत बिकासका लागि उपाध्यक्ष भोमा लिम्बुको संयोकत्वमा समिति गठन गरिएको छ भने उपाध्यक्ष थर्क सेनको संयोजकत्वमा ब्यबस्थापन समिति गठन गरिएको छ । महासचिव जानकी गुरुङको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । सो समितिले महाधिवेशन प्रतिनिधिहरुको समेत प्रमाणीकरण कार्य गर्नेछ । त्यस्तै, प्रवक्ता प्रकाश धमलाको संयोजकत्वमा घोषणापत्र २०२४ जारी गर्न प्रवक्ता प्रकाश धमलाको संयोजकत्वमा समिति गठन गरिएको छ भने प्रचार प्रसार तथा प्रकाशन समितिको नेतृत्व सचिव संजेललाई दिइएको छ । बिशेष साधारणसभा २०२३ ले पारित गरेका परिमार्जित दफा र नियमहरु समेत समेटेर बिधान संसोधनको लागि क्षेत्रिया संयोजक केशब कडेलको संयोजकत्वमा बिधान मस्यौदा समिति गठन गरिएको छ कार्यक्रम ब्यबस्थापन गर्न यूथ एम्बसडर दिपेश खत्रीको संयोजकत्वमा कार्यक्रम ब्यबस्थापन समिति गठन गरिएको छ ।

तीज पशुपतीनाथको दर्शनका लागि चारतिरबाट लाइनको लाइनको व्यवस्था

काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर आज विहान तीन बजेदेखि नै खुलेको छ । दर्शन गर्न जाने भक्तजनहरुको सुविधाका पशुपति क्षेत्र बिकास कोषले विभिन्न दिशाबाट मन्दिरसम्म पुग्ने लाइनको ब्यवस्था गरेको छ । लाइन व्यवस्थापनका लागि स्वयंसेवकहरु परिचालन गरिएको छ भने ठाउँ ठाउँमा स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणको ब्यवस्था पनि गरिएको छ । दर्शनका लागि कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा, पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ । दोस्रो लाइन मित्रपार्कबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यसैगरी तेस्रो लाइन भने गौशाला–पिंगलास्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । चौँथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्ने गरी ब्यबस्था मिलाएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ । आज दिनभरमा लाखौं महिलाहरु पशुपति दर्शनका लागि पुग्ने कोषको अनुमान छ ।

वास्तु दिवस एवं विश्वकर्मा पूजा

काठमाडौं। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी मङ्गलबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताए । प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताए। यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ । वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्राय ? भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पनि अहिले वास्तु विद्याको महत्व बढेको छ । रासस

आज राष्ट्रिय विज्ञान दिवस

काठमाडौं । आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदै छ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ । रासस

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने सरकारको तयारी

काठमाडौं। सरकारले दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीका अनुसार दुई चार दिनभित्रै चाड पर्वलाई लक्षित गरेर सो पसल सञ्चालनमा ल्याउन लागिएको हो । आइतबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मूल्यवृद्धिका मारमा परेका उपभोक्तालाई राहत पनि हुने भएकाले सो पसल खोल्ने निर्णय भइसकेको जानकारी दिए । असोज १ गतेदेखि नै सो पसल सञ्चालनमा ल्याउने निर्णय भए पनि आयात सम्बन्धी अन्य विषयका कारण केही ढिलाइ हुन जाने देखिएको पनि सचिव मरासिनीले बताए । उनले खुला बजार भएका कारण आम उपभोक्ताहरूले पनि सचेत भएर वस्तुको खरिदबिक्री गर्नुपर्ने अवस्था रहेको पनि जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले बजार अनुगनम गर्न र कालो बजारी हुन नदिनका लागि यसअघि नै निर्देशन दिएका थिए । सोही अनुरुप अनुगमनको कामलाई तीव्रता दिने र दोषी भेटिए कारबाही गर्ने सचिव मरासिनीले जानकारी दिए ।