इपिएसमार्फत १७ वर्षमा एक लाखबढी नेपाली कोरिया पुगे
काठमाडौं । सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा रोजगारीका लागि एक लाख १९ हजार ७६८ नेपाली पुगेका छन् ।
नेपाल र कोरिया सरकारबीच सन् २००७ मा भएको सम्झौतापछि यो प्रक्रिया सुरु भएको हो । वैदेशिक रोजगार विभागको इपिएस शाखाका अनुसार यसमध्ये सात हजार ३६५ महिला छन् ।
इपिएसमार्फत कोरिया जान नौ लाख १९ हजार ६३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् । सन् २०२४ मा एक लाख ८३ हजारले आवेदन दिए, जुन हालसम्मकै उच्च हो । सन् २०२५ का लागि कोरियाले पाँच हजार तीनसय नेपाली श्रमिक माग गरेको छ, जसमा उत्पादन क्षेत्रमा तीन हजार पाँचसय र कृषि तथा पशुपालनमा एक हजार आठसय कोटा छ ।
सन् २०२४ को पहिलो सात महिनामा चार हजार ९८४ नेपाली कोरिया पुगे । सन् २०२३ मा १९ हजार ६८९ र सन् २०२४ मा नौ हजार २८५ नेपाली कोरिया गए । आकर्षक सेवा–सुविधा, पारदर्शी प्रक्रिया र कम लागतका कारण कोरिया नेपाली युवाको प्रमुख श्रम गन्तव्य बनेको वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले बताए ।
कोरियाले नेपालसहित १७ देशबाट इपिएसमार्फत श्रमिक लैजाँदै आएको छ । हाल करिब ६०–६१ हजार नेपाली कोरियामा कार्यरत छन् । दुई देशबीचको रोजगार सम्झौता प्रत्येक दुई वर्षमा नवीकरण हुन्छ, जुन पछिल्लो पटक सन् २०२२ मा भएको थियो । कोरियाले हालै पानीजहाज निर्माण, सेवा क्षेत्र, रुट इन्डस्ट्री र वन क्षेत्रमा पनि नेपाली श्रमिक माग गर्न थालेको छ ।
नेपाली श्रमिकको इमानदारी र मेहनतका कारण कोरियाले नेपालबाट सबैभन्दा धेरै श्रमिक लैजाने गरेको र पुरस्कृतसमेत गरेको महानिर्देशक भट्टराईले बताए । कोरियामा नेपालीले साना उद्योग, कृषि र पानीजहाज निर्माणमा काम गर्छन्, जहाँ मासिक न्यूनतम साढे दुई लाखदेखि छ लाख रुपियाँसम्म कमाइ हुने गरेको छ ।
पर्वतका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन, शिक्षक रित्तो विद्यालयमा
पर्वत । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँ रित्तिँदा पर्वतका ३१ सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएको छ । जिल्लाका सातवटै स्थानीय तहमा रहेका यी विद्यालयहरूमा विद्यार्थी नहुँदा पनि समायोजन प्रक्रिया सुरु गरिएको छैन । जिल्ला शिक्षा समन्वय एकाइ पर्वतका अनुसार, जिल्लामा २७२ सामुदायिक विद्यालय छन् । विद्यार्थीविहीन हुनेमा अधिकांश आधारभूत र प्राथमिक तहका छन्, तर फलेवास नगरपालिका–५ को ध्रुवनमुना माध्यमिक विद्यालय पनि समावेश छ । पालिकाअनुसार विद्यार्थीविहीन विद्यालयको सङ्ख्या यस्तो छ: मोदी गाउँपालिकामा ९, कुश्मा नगरपालिकामा ८, फलेवास नगरपालिकामा ६, जलजला गाउँपालिकामा ४, विहादी गाउँपालिकामा २ र पैयूँ गाउँपालिकामा २, कुश्मा नगरपालिकामा हर्राचौर प्रावि, जनजागृति प्रावि, जनकल्याण प्रावि, मराङसिंह प्रावि, सहिद शुक्र प्रावि ठुलीपोखरी, धौलागिरि प्रावि र जनता प्रावि छन् । जलजलामा जनचेतना प्रावि शालिजा, सर्वोदय आधारभूत विद्यालय शालिजा र स्वस्ती आधारभूत विद्यालय धाइरीड छन् । फलेवासमा श्री बाल प्रावि, सूर्योदय प्रावि, जनता प्रावि लिमिठाना, तीनधारे प्रावि, मनकामना प्रावि, बेतेयानी प्रावि, देउराली प्रावि र भवानी प्रावि छन् । पैयूँमा बालज्योति प्रावि र बालनयन प्रावि, विहादीमा जनसेवा प्रावि वहाकीठाँटी र बालज्योति प्रावि रानीपानी छन्। मोदीमा सिद्ध आधारभूत, कृष्ण आधारभूत, जनप्रकाश आधारभूत, हरि आधारभूत, सरस्वती आधारभूत, बालकल्याण प्रावि, भूमे आधारभूत, लक्ष्मी आधारभूत, दुर्गाभवानी आधारभूत र सिद्धबराह आधारभूत विद्यालय छन् । जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख मतिलाल चपाईका अनुसार, विद्यार्थीविहीन विद्यालयमा शिक्षक राखिए पनि स्थानीय तहले समायोजन वा शिक्षक सरुवामा चासो दिएका छैनन् । फलेवासका स्थानीय धर्म पौडेलले स्थानीय सरकारको बेवास्ताले यस्तो अवस्था आएको बताए । फलेवास–२ का वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले भविष्यमा विद्यार्थी आउन सक्ने सम्भावनाले विद्यालय समायोजन नगरेको बताए । तर, रित्ता विद्यालयमा शिक्षक राखेर तलब सुविधा दिँदा बजेटको दुरुपयोग भएको उनको भनाइ छ । कतिपय जनप्रतिनिधिले करार, राहत शिक्षक र कार्यालय सहयोगीको रोजगारी जोगाउन विद्यालय समायोजन नगरेको स्वीकार गरेका छन् । यसले शैक्षिक सुधार र स्रोतको सदुपयोगमा चुनौती थपिएको छ ।
ढोरपाटन सिकार आरक्षमा घोडा सफारीको रौनक
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदै छ । पर्यटकको चहलपहल बढेसँगै स्थानीय घोडापालकहरूको दैनिकी घोडामा पर्यटक घुमाउनमै बित्छ । पछिल्लो समय ढोरपाटनमा पर्यटकको सङ्ख्या बढेपछि घोडा व्यवसायी उत्साहित छन् । यहाँका रङ्गीचङ्गी बुकी फूलहरूको बीचमा घोडा चढेर फोटो खिच्ने, भिडियो बनाउने र टिकटक बनाउने पर्यटकको भीडले व्यवसायीको आम्दानी बढेको छ । ढोरपाटन नगरपालिका-९ का अनिस विकले पर्यटकको चापले दैनिक तीन हजार रुपैयाँभन्दा बढी कमाइ हुने गरेको बताए । “पहिले मुस्किलले दैनिक एक हजार कमाइ हुन्थ्यो, अहिले बुकी फूलमा घोडा चढ्ने पर्यटक बढेपछि आम्दानी राम्रो छ,” उनले भने । उनका अनुसार घोडा चढेर फोटो र भिडियो बनाउन दुई सय, ढोर बराही दर्शन गर्न पाँच सय र बुकीपाटन पुग्न तीन हजार रुपैयाँसम्म लिने गरिएको छ । घोडाको खानपान खर्च कटाएर दैनिक एकदेखि दुई हजार बचत हुने गरेको छ । स्थानीयले घरवास र घोडा सफारीबाट मुख्य आम्दानी गरिरहेका छन् । असारदेखि भदौसम्म फुल्ने विभिन्न प्रजातिका बुकी फूल हेर्न बुटवल, काठमाडौं, पोखरा, बागलुङलगायतका क्षेत्रबाट पर्यटक आउने गरेका छन् । मङ्सिर-पुसमा हिमपातको मजा लिन आउने पर्यटक पनि उत्तिकै छन् । यहाँ आउने अधिकांश पर्यटक घोडा चढेर बुकीपाटन पुग्न रुचाउँछन् । यद्यपि, घोडापालनमा चुनौती पनि छन् । मैतराम विक, जो दुई घोडा पाल्छन्, भन्छन्, “हिमपातको तीन महिना घोडालाई दाना खुवाएर पाल्नुपर्छ, त्यतिबेला हिँडाउन सकिँदैन । तर, अहिले पर्यटकलाई बुकीपाटन पुर्याएर तीनदेखि चार हजारसम्म कमाइ हुन्छ ।” स्थानीय घरवास सञ्चालक रामबहादुर घर्तीका अनुसार वर्खायाममा पनि पर्यटकको आगमन बढ्दै गएकाले घरवास र घोडा सफारी व्यवसाय फस्टाएको छ । गत आर्थिक वर्षमा ढोरपाटन सिकार आरक्षमा २३ हजार पर्यटक भित्रिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा एक हजारले बढी हो ।
लम्पीस्किनबाट मधेसमा झण्डै दुईशजार पशुकाे मृत्यु
जनकपुर । मधेस प्रदेशमा लम्पीस्किन रोगको संक्रमणबाट एक हजार सातसय पशुचौपायाको मृत्यु भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार यो रोगबाट ५२ हजार ६८६ पशु संक्रमित भएका छन्, जसमध्ये २३ हजार ७०९ पशु उपचारपछि निको भएका छन् । लम्पीस्किन रोग लाग्दा पशुमा ज्वरो आउने, शरीरमा घाउ-खटिरा देखिने र घाँस-पानी खान नरुच्ने लक्षण देखिन्छ । मन्त्रालयले रोग पहिचान भएका पशुमा खोप अभियान सुरु गरेको जनाएको छ । हालसम्म प्रदेशभर दुईलाख ४५ हजार पशुलाई खोप लगाइएको छ । मन्त्रालयका अनुसार विज्ञ केन्द्रमार्फत दुईलाख ३१ हजार ५१५ पशुलाई खोप दिइएको छ भने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ र रौतहटमा तीन हजार सातसय पशुलाई खोप लगाइएको छ ।
एकीकृत समाजवादीले बोलायो स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी भदौ पहिलो साता पार्टीका विभिन्न तहका बैठकहरू आयोजना गर्ने निर्णय गरेको छ। पार्टीका महासचिव घनश्याम भूसालका अनुसार स्थायी कमिटी बैठक भदौ ४ गते, पोलिटब्युरो बैठक भदौ ५ गते र केन्द्रीय कमिटी बैठक भदौ ८ गते बस्नेछ। यी बैठकहरू बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ। स्थायी कमिटी र पोलिटब्युरो बैठकहरू पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा हुनेछन् भने केन्द्रीय कमिटी बैठक सुकेधारास्थित मिराकल पार्टी भेन्युमा आयोजना हुनेछ। यो बैठकको आयोजना नेकपा (एकीकृत समाजवादी) को आन्तरिक सुदृढीकरण, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र वामपन्थी शक्तिहरूबीच एकताको प्रयासलाई तीव्रता दिने उद्देश्यले गरिएको बुझिएको छ। हालै नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले एकीकृत समाजवादीसँग एकता गर्ने निर्णय गरेको थियो। त्यसयता दुवै पार्टीका विभिन्न तहमा एकताको सम्भावना र प्रक्रियाबारे गहन छलफल भइरहेको छ। यो बैठकले एकताको रणनीति, साङ्गठनिक संरचना र साझा वैचारिक आधार तय गर्न महत्त्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ। पार्टी स्रोतका अनुसार, बैठकमा संविधान संशोधन, भ्रष्टाचारविरुद्धको अभियान, जनजीविकासँग सम्बन्धित मुद्दाहरू र वामपन्थी शक्तिहरूसँगको सहकार्यका विषयमा गहन छलफल हुनेछ। साथै, पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मको सङ्गठनात्मक कार्यको समीक्षा र महाधिवेशनले पारित गरेका योजनाहरूको कार्यान्वयनको मूल्याङ्कन पनि गरिनेछ। नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीचको एकता छलफलले नेपालको वामपन्थी आन्दोलनलाई नयाँ दिशा दिने सम्भावना छ। दुवै पार्टीले समान वैचारिक आधार र साझा लक्ष्यहरूमा जोड दिँदै आएका छन्। एकीकृत समाजवादीले आफ्नो अन्तरिम विधानअनुसार १५१ सदस्यीय केन्द्रीय कमिटी, ५१ सदस्यीय पोलिटब्युरो र २१ सदस्यीय स्थायी कमिटी गठन गरेको छ, जसले एकता प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यो बैठकले पार्टीको भावी रणनीति, साङ्गठनिक सुदृढीकरण र वामपन्थी एकताको खाका तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। साथै, समसामयिक राजनीतिक परिस्थितिमा पार्टीको प्रभावकारी भूमिका र जनमुखी एजेन्डालाई अगाडि बढाउने विषयमा पनि छलफल हुने बताइएको छ। नेकपा (एकीकृत समाजवादी) को यो बैठकले पार्टीको आन्तरिक एकता, वामपन्थी शक्तिहरूसँगको सहकार्य र समसामयिक राजनीतिक मुद्दाहरूमा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। बैठकका निर्णयहरूले नेपालको वामपन्थी आन्दोलन र समग्र राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ।
त्रिविमा अखिल क्रान्तिकारीको रिले अनशन सुरु
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा शुल्क वृद्धिको शोषणविरुद्ध माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)ले रिले अनशन सुरु गरेको छ। उपकुलपति प्रा.डा. दीपक अर्यालको कार्यकक्षमा १७ दिनदेखि जारी धर्नाप्रति विश्वविद्यालय प्रशासनले बेवास्ता गरेपछि विद्यार्थीहरूले आन्दोलनलाई थप सशक्त बनाएका हुन्। अखिल क्रान्तिकारीका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, तथा लैङ्गिकता अध्ययनसँग सम्बन्धित चारवटा सेल्फ सस्टेन कार्यक्रमलाई नौ महिनाअघि केन्द्रीय विभागमा गाभिएको भए पनि शुल्क नघटाइएको गुनासो गरेका छन्। पुरानै दरमा शुल्क लिइरहेको भन्दै उनीहरूले शुल्क घटाउन माग गर्दै धर्ना र अनशन सुरु गरेका छन्। लामो समयदेखि आन्दोलन जारी रहँदा पनि त्रिवि प्रशासनले विद्यार्थीलाई वार्तामा नबोलाएको बताइएको छ। उपकुलपति अर्याल कार्यालय आउन छोडेपछि आन्दोलन थप जटिल बनेको विद्यार्थीहरूको भनाइ छ।
तनहुँ म्यादेकाे माझिलाङमा सामूहिक कोदो खेती
तनहुँ । म्याग्दे गाउँपालिका–७ माझिलाङलाई कोदोको पकेट क्षेत्रको रूपमा विकास गर्न तनहुँको म्याग्दे गाउँपालिकाले विभिन्न नीति तथा कार्यक्रमहरू अघि सारेको छ । यहाँ दुई रोपनी जग्गामा सामूहिक रूपमा कोदोको बीउ रोपिएको वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिए । विगतमा कृषकहरूले व्यक्तिगत रूपमा कोदो खेती गर्ने गरे पनि यस वर्षदेखि सामूहिक खेतीलाई प्रोत्साहन गरिएको उनको भनाइ छ । गाउँपालिकाको सहयोगमा माझिलाङ र हर्षपुर क्षेत्रमा आठ प्रजातिका रैथाने कोदोको बीउ रोपिएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार, म्याग्देका अन्य वडाहरूको तुलनामा यो क्षेत्रमा कोदोको उत्पादन राम्रो हुने गरेको छ । कृषकहरूलाई कोदो खेतीमा आकर्षित गर्न सङ्गठित प्रयासका साथै आवश्यक उपकरणहरू पनि उपलब्ध गराइएको छ । बजारमा कोदोको माग बढ्दै गएको उल्लेख गर्दै उनले भने, “पहिले कोदोलाई लुकेर खाने प्रचलन थियो, तर अहिले परिस्थिति फेरिएको छ । सबै वर्गका मानिसहरूले कोदोको प्रयोग गर्न थालेका छन् ।” माझिलाङ कृषक समूहकी अध्यक्ष श्याममाया नाम्जालीले दुई रोपनी जग्गा भाडामा लिएर सामूहिक रूपमा कोदो खेती सुरु गरिएको बताइन् । उनका अनुसार, विगतमा छुट्टाछुट्टै खेती हुने गरेकोमा अब सामूहिक प्रयासले उत्पादन वृद्धि र बजार व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । म्याग्दे गाउँपालिकाले कोदो खेतीलाई प्राथमिकतामा राखेर अन्य वडाहरूमा पनि यसलाई विस्तार गर्ने योजना बनाएको छ । कम लागतमा उत्पादन गर्न सकिने र भण्डारणमा अन्य बालीको तुलनामा कम क्षति हुने भएकाले कोदो खेतीलाई कृषकहरूका लागि फाइदाजनक मानिएको छ ।
खाेलाले बगाउँदा मुस्ताङमा एक युवा बेपत्ता
मुस्ताङ । मुस्ताङमा जङ्गलमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । बागलुङको निसी खोला गाउँपालिका–६ घर भई हाल मुस्ताङको घरपझोङ–५ फेन्ताङस्थित इको ब्रो कृषि फार्ममा विगत छ महिनादेखि कार्यरत अन्दाजी २३ वर्षीय हिमाल विक शुक्रबारदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यायल मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार श्रीमतीसहित पाँच जनाको समूह कोभाङ फेदी जङ्गलमा च्याउ टिप्न जाने क्रममा सोही स्थानमा रहेको धुम्बा खोला तर्ने क्रममा अचानक खोलाको पानीको बाहव बढ्न गई निज विकलाई खोलाले बेपत्ता बनाएको हो । त्यहाँको धुम्बा खोलाले युवालाई बगाउँदा बेपत्ता भएको खबर सोही स्थानमा बस्ने डिल्लीजङ्ग गुरुङले जिल्ला प्रहरी मुस्ताङलाई खबर दिएका थिए धुम्बा खोलाले बगाउँदा युवा बेपत्ता भएको प्रहरी कार्यालयमा खबर गरिएलगत्तै मुस्ताङका प्रहरी प्रमुख छिरिङ किप्पा लामाको कमाण्डमा आठ जनाको प्रहरी टोली र सहायक प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएर बेपत्ता युवाको खोजतलास कार्य जारी राखेको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए । खोलाले बगाएको उक्त स्थान जिप्रका मुस्ताङबाट करिब सात किमी पश्चिम पूर्वमा पर्ने प्रहरीले जनाएको छ । घटनाबारे थप विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
विमानस्थलमा चरा र वन्यजन्तुको जोखिमले हवाई सुरक्षा चुनौतीपूर्ण
काठमाडौं । विमानस्थलमा चरा र वन्यजन्तुको बढ्दो गतिविधिले हवाई सुरक्षामा गम्भीर चुनौती र जटिलता थपिएको छ । बुद्ध एयरका अनुसार पछिल्ला दिनमा विमानस्थल आसपास चरा र जङ्गली जनावरको उपस्थितिले हवाई जोखिमसँगै जहाज ग्राउन्डेड हुने घटना बढेका छन् । बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले भने, “आन्तरिक विमानस्थलका धावनमार्गमा स–साना चरासँग जहाज ठोक्किँदा जहाज ग्राउन्डेड हुने गरेका छन् । यो समस्या जनकपुर विमानस्थलमा सबैभन्दा बढी देखिएको छ । असार २९ देखि साउन २१ सम्म जनकपुरमा छ पटकभन्दा बढी चरा ठोक्किएका छन् भने दुई पटक धावनमार्गमा स्याल देखिएको छ ।” गत मङ्गलबार र बुधबार जनकपुर विमानस्थलमा रात्रिकालीन उडानका क्रममा चरासँग ठोक्किएर बुद्ध एयरको एक जहाजको बायाँ इन्जिनको प्रोपेलर क्षतिग्रस्त भएको कर्णले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार वर्षायाममा विमानस्थलमा लामो घाँस र झाडी उम्रने तथा कीरा–फट्याङ्ग्रा टिप्न आउने चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढ्ने गर्छ । प्राधिकरणले जोखिम न्यूनीकरण गर्न ‘बर्ड स्क्यानिङ मेसिन’ र सिकारी परिचालन गर्दै आएको छ । प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, जनकपुर, चन्द्रगढी, भैरहवा, विराटनगर र नेपालगन्जमा चरा र वन्यजन्तुको समस्या बढी छ । नेपाल एभिएसन सेफ्टी प्रतिवेदनअनुसार जहाजले उडान, अवतरण र अप्रोचका बेला चरासँग जोखिमको सामना गर्नुपर्छ, जबकि वन्यजन्तुसँग मुख्यतः अवतरण र उडानका बेला जोखिम हुन्छ ।
कोशी र बागमती प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाडौं । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तर र पश्चिममा नेपालको तराई नजिक छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली हुनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ । आज राति पनि देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ । मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी, बागमती र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
गोसाइँकुण्ड मेलामा वासिएलकाे उदाहरणीय सेवा
रसुवा । धार्मिक र सांस्कृतिक महत्त्वको गोसाइँकुण्ड मेलामा नेकपा (माओवादी केन्द्र) का सहायक संगठनहरू वाइसिएल बागमती प्रदेश, वाइसिएल रसुवा, अखिल क्रान्तिकारी बागमती प्रदेश र अखिल क्रान्तिकारी रसुवाले साउन २० देखि २४ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । उच्च भौगोलिक उचाइमा हुने स्वास्थ्य समस्याहरू, विशेषगरी लेक लाग्ने जोखिमलाई ध्यानमा राखी वाइसिएल रसुवाले स्वास्थ्य जाँच, प्राथमिक उपचार र औषधि वितरणको सेवा प्रदान गरेको छ । वाइसिएल नेता गणेश विकका अनुसार, बिहानैदेखि कार्यकर्ताहरूले तीर्थयात्रीहरूलाई बाटो देखाउने, सामान बोक्ने र स्वास्थ्य जानकारी दिने कार्यमा सक्रिय छन् । लेक लागेर अचेत भएका, श्वासप्रश्वासमा समस्या भएका वा कमजोरी महसुस गरेका यात्रुहरूलाई उद्धार गरी धुन्चे अस्पताल पुर्याउने कार्यमा उनीहरूको भूमिका प्रशंसनीय छ । एउटा दृश्यमा वाइसिएल सदस्यहरूले स्वास्थ्य बिग्रिएका यात्रुलाई काँधमा बोकेर लामो दूरी पार गरेको दृश्यले सबैलाई प्रेरित गरेको छ । “मानवता नै हाम्रो धर्म हो” भन्ने भावनासहितको यो सेवाले वाइसिएलको सामाजिक उत्तरदायित्वप्रति जनविश्वास बढाएको छ । अखिल क्रान्तिकारी रसुवासँगको सहकार्यमा सञ्चालित यो अभियानले मेलामा सहभागीहरूलाई राहत मात्र नदिएर भविष्यका धार्मिक यात्राहरूमा युवा संगठनहरूको भूमिकाको महत्त्व पनि स्थापित गरेको छ । तीर्थयात्रीहरूले वाइसिएलको मानवीय सेवा, संगठनात्मक अनुशासन र सद्भावपूर्ण व्यवहारको उच्च प्रशंसा गरेका छन् । एक यात्रुले भने, “यो पहलले हामीलाई सुरक्षित महसुस गरायो, यस्ता सेवाले मेलाको धार्मिकता र मानवता दुवैको संरक्षण हुन्छ ।” यसैगरी, जनैपूर्णिमाको अवसरमा काभ्रेमा वाइसिएल मण्डनदेउपुर नगरपालिकाले नगरकोट र वाइसिएल तेमाल गाउँपालिकाले नारायणस्थानको मेलामा निःशुल्क खानेपानी वितरण र सरसफाइ कार्यक्रम सञ्चालन गरेका छन् । वाइसिएल नेपालले केन्द्रीय नीति अनुरूप विपद् होस् वा सामाजिक कार्य, सधैं अग्रपंक्तिमा रहेर काम गरिरहेको छ । अन्य दलका भ्रातृ संगठनहरू नेताहरूको गलत आचरण ढाकछोपमा व्यस्त रहँदा वाइसिएलले राष्ट्र निर्माणको नयाँ अध्याय शुरू गर्दै सामाजिक कार्यमा सक्रियता बढाएको छ ।
नवलपुरको नारायणी नदी किनारमा वृद्ध महिलाको शव फेला
नवलपुर । गैंडाकोट नगरपालिका–२, नारायणी रिसोर्ट नजिकैको नारायणी नदी किनारमा शुक्रबार एक वृद्ध महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी ६०–६५ वर्षीया ती महिलाको शव घोप्टो अवस्थामा भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाएको छ । मृतकको पहिचान अझै खुल्न सकेको छैन । प्रहरी नायव उपरीक्षक मधु नेपालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
साउनकाे तेस्राे हप्ता वित्दा मधेसमा ७२ प्रतिशत धान रोपाइँ
जनकपुरधाम । मधेस प्रदेशमा पछिल्लो एक हप्तादेखिको निरन्तर वर्षापछि धान रोपाइँमा उल्लेखनीय वृद्धि भएको छ । पर्याप्त वर्षा भएसँगै शुक्रबारसम्म मधेस प्रदेशमा ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ । यस वर्ष ढिलो वर्षात् र अपेक्षाकृत रूपमा कम रोपाइँ भएकाले धान उत्पादनमा २० प्रतिशत कमी आउने निर्देशनालयको अनुमान छ । निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले भने, “सिँचाइ र आकाशे पानीको अभावमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटमा गत वर्षको तुलनामा धान रोपाइँ कम भएको थियो । तर, पछिल्लो वर्षाले रोपाइँमा सुधार आएको छ ।” उनका अनुसार बारा र पर्सामा भने धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय (गण्डक) का सूचना अधिकारी सुरेश साहले बारा र पर्साका किसानलाई नहरमार्फत नियमित पानी उपलब्ध गराउन अनुगमन भइरहेको बताए । यसैबीच, मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएपछि यहाँका कृषि ज्ञान केन्द्रहरूबाट किसानलाई खेतीका लागि स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु भएको छ । निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी, ५ जनाको उपचार जारी
उदयपुर । त्रियुगा नगरपालिका–७, चुहाडे नमुना चोकमा जन्मदिनको भोज खाँदा २७ जना स्थानीय बिरामी परेका छन् । जिल्ला अस्पताल गाईघाटका सूचना अधिकारी सुरेशकुमार पाण्डेका अनुसार, अखाद्य वस्तुको सेवनबाट फुड प्वाइजनिङ भएर अस्पताल भर्ना भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन् भने ५ जनाको उपचार जारी छ । उपचाररतमा ३ महिला र २ बालक छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगीले स्थानीय जितेन्द्र राईको घरमा बिहीबार साँझ आयोजित जन्मदिन भोजमा छरछिमेकी जम्मा भएर विभिन्न परिकार (रोटी, अचार, पुरी, बुनियाँ, पुवा आदि) खाँदा झाडापखाला र बान्ताको समस्या देखिएको बताए । बिरामी हुनेमा ११ महिला, ३ पुरुष, ५ बालक र ८ बालिका छन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएकाे छ ।
नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालकाे भेट: पार्टी एकता र कम्युनिष्ट आन्दोलनको भविष्य बारे छलफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच काठमाडौंमा भेटवार्ता सम्पन्न भएको छ । माओवादी केन्द्रको हालैको स्थायी कमिटी बैठकले कम्युनिष्ट शक्तिहरूबीच एकताको पहल गर्ने निर्णय गरेको सन्दर्भमा श्रेष्ठ र भुसासबीच भेट भएकाे हाे । हात्तिवनस्थित श्रेष्ठको निवासमा भएको यो भेटमा दुई नेताले पार्टी एकताको सम्भावना, यसको आवश्यकता र औचित्यबारे गहन छलफल गरेकाे जनाइएकाे छ श्र करिब एक घण्टा लामो कुराकानीमा नेपालको वर्तमान राजनीतिक परिदृश्य, कम्युनिष्ट आन्दोलनको पुनर्गठन र क्रान्तिकारी शक्तिहरूको भूमिकाबारे विचारविमर्श भएको बताइएको छ । नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र तिनको प्रभावबारे पनि छलफल भएको थियो । दुवै नेताले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमाथि निरङ्कुशता र भ्रष्टाचारको आरोप लगाउँदै आलोचना गरेकाे बताइएकाे छ । उनीहरूले कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सशक्त बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए । यो भेटलाई माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चलिरहेको एकता छलफलको सन्दर्भमा महत्त्वपूर्ण मानिएको छ । यसअघि, श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग पनि भेट गरेका थिए । माओवादीले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको घोषणा गरे पनि त्यसको प्रक्रिया अघि बढ्न सकेको छैन । विप्लव पक्षले एकताको सम्भावना कम रहेको बताइरहँदा माओवादीले वार्ता टोली गठन गरेर छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।
'राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि' के हो र यसको किन भइरहेको छ विरोध ?
काठमाडौं । निर्वाचन आयोगले प्रस्ताव गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ को विरोध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलले यसको विरोध गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका केही नेताहरुले पनि यसको विपक्षमा आफ्नो मत राखेका छन् । नेपालका राजनीतिक दलहरूले निर्वाचन आयोगले प्रस्ताव गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ को विरोध गर्नुका प्रमुख कारणहरू संविधान र प्रचलित कानूनसँग कार्यविधिको बाझिएको, दलहरूको स्वायत्ततामाथि हस्तक्षेप, साना दलहरूलाई नियन्त्रण गर्ने उद्देश्य, र प्रक्रियागत त्रुटिहरू रहेका छन्। नेपालका राजनीतिक दलहरूले निर्वाचन आयोगको स्वमूल्याङ्कन कार्यविधिको विरोध गर्नुको पछाडि संविधानसँग बाझिएको, दलको स्वायत्ततामाथिको हस्तक्षेप, साना दलहरूलाई कमजोर पार्ने मनसाय, र प्रक्रियागत त्रुटिहरू प्रमुख कारणहरू हुन्। यो कार्यविधिले राजनीतिक स्वतन्त्रता र लोकतान्त्रिक प्रतिस्पर्धालाई कमजोर पार्ने खतरा रहेको भन्दै दलहरूले यसलाई अस्वीकार गरेका छन्। आयोगले सुझाव संकलनको प्रक्रिया अघि बढाए पनि दलहरूको तीव्र विरोधका कारण यो कार्यविधि लागू हुने सम्भावना न्यून देखिन्छ। विरोधका प्रमुख कारणहरू संविधान र कानूनसँग बाझिएको: नेपालको संविधानको धारा २६९ देखि २७२ सम्मले राजनीतिक दलहरूको गठन, दर्ता, र सञ्चालनसम्बन्धी व्यवस्थालाई दलको स्वायत्तता र स्वतन्त्रताको मर्ममा आधारित राख्नुपर्ने उल्लेख गरेको छ। प्रस्तावित कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनविपरीत रहेको दलहरूको ठहर छ। विशेषगरी, निर्वाचन आयोगलाई दलहरूको आन्तरिक गतिविधि नियमन गर्ने अधिकार संविधानले नदिएको विज्ञहरूको तर्क छ। आयोगले संसदमा विधेयक प्रस्तुत नगरी कानुनी छिद्र प्रयोग गरेर दलहरूलाई नियन्त्रण गर्न खोजेको । दलहरूको स्वायत्ततामाथि हस्तक्षेप: कार्यविधिले दलहरूको आन्तरिक संरचना, नीति, र दृष्टिकोणमाथि हस्तक्षेप गर्ने प्रयास गरेको आरोप छ। प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहितका दलहरुले दलको स्वनियमन जनताको जनादेशमार्फत हुनुपर्ने र यो दलको आन्तरिक विषय भएको बताएका छन्। दलहरुले कार्यविधिलाई “स्वमूल्याङ्कनको नाममा नियन्त्रण” को प्रयास भनेका छन्। दलहरूलाई नियन्त्रण गर्ने मनसाय: माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्ता गठबन्धनका प्रमुख दलहरू (कांग्रेस र एमाले) को स्वीकृतिमा यो कार्यविधि ल्याइएको र यसले साना दलहरूलाई नियन्त्रण गर्ने उद्देश्य राखेको दाबी गरेका छन्। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आयोगले साना दलहरूको अभिलेख अद्यावधिक नगरेर तिनलाई हटाउने रणनीति अपनाएको गुनासो गरे। कार्यविधिको प्रावधानले साना दलहरूको राजनीतिक स्वतन्त्रता र प्रतिस्पर्धालाई कुण्ठित गर्ने खतरा रहेको १० वटा दलहरूले संयुक्त वक्तव्यमा उल्लेख गरेका छन्। लोकतान्त्रिक मूल्य र स्वतन्त्रतामाथि आघात: कार्यविधिले राजनीतिक स्वतन्त्रता र लोकतान्त्रिक प्रतिस्पर्धालाई कमजोर पार्ने दलहरूको तर्क छ। यो कार्यविधिले दलहरूलाई निर्वाचनमा प्रतिस्पर्धा गर्नै नपाउने अवस्थामा पुर्याउन सक्ने खतरा रहेको उनीहरूको चेतावनी छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले कार्यविधिको मनसाय नै गलत भएको दाबी गरेका छन्। प्रक्रियागत त्रुटि र पारदर्शिताको अभाव: आयोगले कार्यविधिको मस्यौदा तयार गर्दा पर्याप्त छलफल र सहमति नगरेको दलहरूको गुनासो छ। यद्यपि आयोगले सुझाव संकलनका लागि साउन २२ गतेसम्मको समयसीमा तोकेको थियो, तर दलहरूले यो प्रक्रियालाई अपारदर्शी र एकपक्षीय ठानेका छन्। विज्ञहरूले आयोगको मनसाय सही भए पनि प्रक्रिया गलत भएको टिप्पणी गरेका छन्। दुई ठूला दलको वर्चस्वलाई प्रोत्साहन: कार्यविधिले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता ठूला दलहरूको वर्चस्वलाई प्रोत्साहन गर्ने र साना दलहरूलाई कमजोर बनाउने रणनीति भएको आरोप छ। साना दलहरूले यो कार्यविधिलाई ठूला दलहरूको प्रभावमा ल्याइएको र साना दलहरूलाई निर्वाचन प्रक्रियाबाट हटाउने प्रयासको रूपमा हेरेका छन्। कार्यविधिको मुख्य प्रावधानहरू निर्वाचन आयोगले प्रस्ताव गरेको कार्यविधिमा दलहरूको मूल्याङ्कनका लागि निम्नलिखित सूचक र अंकभार प्रस्ताव गरिएको छ: संगठनात्मक संरचना: ८ अंक आन्तरिक व्यवस्थापन: २२ अंक दलको जिम्मेवारी: १५ अंक आयोगका अधिकारीहरूले यो कार्यविधिको उद्देश्य दलहरूको आन्तरिक कार्यप्रणालीलाई व्यवस्थित, पारदर्शी, र जिम्मेवार बनाउनु रहेको दाबी गरेका छन्। तर, दलहरूले यी प्रावधानहरूलाई आफ्नो स्वायत्ततामाथिको हस्तक्षेपको रूपमा लिएका छन्। विरोधमा संलग्न दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूले कार्यविधिको तीव्र विरोध गरेका छन्। माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, आम जनता पार्टी, र अन्य १० वटा दलहरूले संयुक्त रूपमा कार्यविधिको अस्वीकार गर्ने निर्णय गरेका छन्। केही विज्ञहरूले आयोगको मनसायलाई सकारात्मक माने पनि प्रक्रियागत त्रुटिका कारण कार्यविधि विवादमा परेको बताएका छन्। आयोगले स्वच्छन्द दलहरूलाई अनुशासनमा बाँध्ने प्रयास गरेको भए पनि संवैधानिक सीमाभन्दा बाहिर गएर कार्यविधि ल्याउनु गलत भएको उनीहरूको तर्क छ। आयोगको प्रतिक्रिया आयोगका कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यविधि दलहरूको सुझावमा आधारित रहेको र यदि दलहरूले अस्वीकार गरेमा आयोगले जबरजस्ती लागू नगर्ने बताएका छन्। आयोगले यो कार्यविधि चार वर्षदेखि दलहरूको सुझावमा तर्जुमा भइरहेको दाबी गरेको छ, तर दलहरूले यो प्रक्रियामा आफ्नो पर्याप्त सहभागिता नभएको गुनासो गरेका छन्। हेर्नुस् कार्यविधि

