तनहुँ कारागारमा छालाजन्य रोगको सङ्क्रमण फैलियो
तनहुँ । तनहुँ कारागारमा कैदीबन्दीहरूलाई छालाजन्य रोगको सङ्क्रमण फैलिएको छ । कारागारको क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोचिएर बस्नुपर्ने अवस्थाले रोगको सङ्क्रमण बढेको कारागार प्रशासनले जनाएको छ ।
कारागारका अहेब श्यामसिं बोहराका अनुसार करिब ६० जनामा दाद र लुतोलगायतका छालासम्बन्धी समस्या देखिएको छ । “हाल छालाको रोग सबैभन्दा बढी देखिएको छ,” बोहराले भने । उनका अनुसार पुरुषतर्फ १५ जनामा उच्च रक्तचाप, १० जनामा मधुमेह, २ जनामा दम, १ जनामा क्षयरोग, २ जनामा बाथरोग र २ जनामा एचआइभी सङ्क्रमण छ । महिलातर्फ २ जनामा मधुमेह र १ जनामा उच्च रक्तचापको समस्या छ ।
कैदीबन्दीलाई दैनिक ओपिडी सेवामार्फत उपचार प्रदान गरिन्छ । “सामान्य बिरामीको यहाँ उपचार हुन्छ, जटिल अवस्थाका बिरामीलाई दमौलीस्थित प्रदेश अस्पताल रिफर गरिन्छ,” बोहराले भने ।
१३५ जनाको क्षमता भएको कारागारमा हाल २५ महिला सहित ३२१ कैदीबन्दी छन् । लमजुङको बेंसीसहर कारागारको पर्खाल भत्किएपछि थप ३० कैदीबन्दी यहाँ ल्याइएको छ । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा कोचिएर बस्नुपर्ने अवस्थाले सरुवा रोगको जोखिम बढेको छ । यसले कारागार व्यवस्थापनमा समेत कठिनाइ भएको प्रशासनले जनाएको छ ।
मनाङ प्रदेशसभा ‘ख’को उपनिर्वाचन अनिश्चित
काठमाडौँ । सर्वोच्चको फैसलाको पूर्ण पाठ नआउँदा गण्डकी प्रदेशको उपनिर्वाचन अनिश्चित भएको छ। निर्वाचन आयोगले मनाङ प्रदेश सभा सदस्यको उपनिर्वाचन कात्तिक १७ मा गर्ने तयारी गरेको थियो। राजीव गुरुङ (दीपक मनाङे) पद मुक्त भएपछि मनाङ मा प्रदेश सभा सदस्य पद रिक्त भएको हो। सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदा गण्डकी प्रदेशमा रिक्त भएको प्रदेशसभा सदस्य पदको उपनिर्वाचन अनिश्चित भएको छ । यसअघि निर्वाचन आयोगले रुपन्देही ३ मा प्रतिनिधिसभा सदस्य र मनाङ प्रदेश सभा सदस्य एक/ एक गरी दुई क्षेत्रमा कात्तिक १७ मा निर्वाचन हुने जनाएको थियो । तर आयोगले निर्वाचन मिति घोषणा गर्दासम्म पनि अदालतको फैसला नआएपछि प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मात्रै मिति घोषणा गरेको हो । आयोगले अदालतको फैसला आए सोही मितिमा उपनिर्वाचन गर्न सकिने जनाएको थियो । उपनिर्वाचनका लागि बुधबारबाट दल दर्ता सुरु भैसकेको छ।सर्वोच्चको संवैधानिक इजलासले गण्डकी प्रदेश सभाको मनाङ १ ९२० बाट निर्वाचित प्रदेश सभा सदस्य दीपक मनाङे भन्ने राजीव गुरुङलाई पद मुक्त गरेपछि सो पद रिक्त हुन गएको हो ।तर आयोगलाई सो विषयमा औपचारिक जानकारी अहिलेसम्म नआएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । ‘फैसलाको पूर्णपाठ नआएकाले अब कात्तिक १७ मा मनाङमा हुने भनिएको उपनिर्वाचन अनिश्चित जस्तै देखियो’, भण्डारीको भनाइ छ ।
उदयपुरमा करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७, भाण्टाबारीमा मंगलबार बिजुलीको बल्व जोड्ने क्रममा करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार मृतक बालक स्थानीय देवन बिकका छोरा दर्शन बिक हुन् । उनले भने, ‘घरमा बल्वको होल्डरमा बल्व जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका दर्शनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो । तर, बुधबार बिहान उपचारकै क्रममा उनको मृत्यु भयो ।’ यो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ
सुर्खेत । कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशको ४१ हजार ४२ हेक्टर धान खेती योग्य जमिनमध्ये ३९ हजार ५९४.९ हेक्टरमा रोपाइँ सकिएको हो । निर्देशनालयका निमित्त निर्देशक तिलकप्रसाद पाण्डेका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्ला, हुम्ला र डोल्पाले शतप्रतिशत रोपाइँ भएको छ । जुम्लामा दुई हजार ८९० हेक्टर, हुम्लामा ५८५ हेक्टर र डोल्पाको १९८ हेक्टरमा रोपाइँ सकिएको छ । चार जिल्लामा रोपाइँ ९९ प्रतिशतको हाराहारीमा पुगेको छ । जाजरकोटमा सबैभन्दा बढी ९९.२ प्रतिशत रोपाइँ हुँदा सल्यान, मुगु र रुकुम पश्चिममा समान ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जाजरकोटमा दुई हजार ६४५ हेक्टरमध्ये दुई हजार ६२३ हेक्टर र सल्यानमा छ हजार १३४ हेक्टरमध्ये छ हजार ७२ हेक्टरमा रोपाइँ सकिएको हो । कालिकोटमा दुई हजार ४६२ हेक्टरमध्ये ९८ प्रतिशत अर्थात् दुई हजार ४१२ हेक्टरमा रोपाइँ सकिएको छ । प्रदेशमा सबैभन्दा बढी धान खेती हुने सुर्खेतमा भने ९५ प्रतिशत रोपाइँ भएको छ । सुर्खेतमा कुल १४ हजार ९२१ हेक्टर क्षेत्रफलमध्ये १४ हजार १७४ दशमलव ९५ हेक्टरमा रोपाइँ सकिएको छ । दैलेखमा कुल सात हजार ६२० हेक्टरमध्ये सात हजार ८६ दशमलव ६ हेक्टरमा रोपाइँ भएको छ ।
डडेल्धुरामा अढाई करोड खर्चेर बनाइएको भवन अलपत्र
डडेल्धुरा । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–१, ढुनढुनेमा अढाई करोडभन्दा बढी खर्चेर निर्माण गरिएको औद्योगिक ग्रामको भवन अलपत्र परेको छ । नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको यो भवन २०७८ कात्तिकमा ठेक्का सम्झौता भई २०८० मा निर्माण सम्पन्न भएको थियो । तर, दुई वर्ष बितिसक्दा पनि भवन सञ्चालनमा आउन सकेको छैन । कैलाली–डडेल्धुरा भीमदत्त राजमार्गसँग जोडिएको यो भवन परिसरमा झाडी उम्रिएको छ भने भवनसम्म पुग्ने करिब दुईसय मिटर कच्ची सडक वर्षातले भत्किएको छ । भवनको अगाडिको पर्खालसमेत जीर्ण बन्दै गएको छ । अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायका अनुसार मन्त्रालयले पर्याप्त बजेट नदिँदा उद्योग स्थापनामा समस्या भएको छ । मन्त्रालयले कुल ३ करोड रुपियाँ दिनुपर्नेमा २ करोड ६३ लाख मात्र उपलब्ध गराएको उनले बताए । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ योजना अधुरो स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ योजनाअन्तर्गत यो भवन निर्माण गरिएको थियो । तर, बजेट अभाव र अपूर्ण निर्माणका कारण औद्योगिक ग्राम सञ्चालन हुन सकेको छैन । यो योजनाले साना उद्योगलाई एकीकृत गरी उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य राखे पनि कार्यान्वयनमा ढिलाइ भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा जोशी अमृत जेभीले २ करोड ६१ लाखको ठेक्का सम्झौतामार्फत भवन निर्माण गरेको थियो । सुदूरपश्चिम प्रदेशमा यो योजनाअन्तर्गत २१ औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य छ । श्रेष्ठ इसिएन एलइसी जेभी परामर्शदाता कम्पनीले गरेको सम्भाव्यता अध्ययनअनुसार कञ्चनपुरमा ४, कैलालीमा ६, डडेल्धुरामा ३, दार्चुलामा २, बैतडीमा १, बझाङमा १, अछाममा २ र डोटीमा २ औद्योगिक ग्राम स्थापना गर्ने योजना छ । औद्योगिक ग्राममा प्रशासकीय भवन, बैंक, शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रण, प्रदर्शनी कक्ष, शौचालय, पार्किङ, चमेनागृह र प्राथमिक उपचार केन्द्रजस्ता सुविधा हुने योजना छ । तर, हालसम्म यी सुविधा सञ्चालनमा नआउँदा स्थानीय निराश छन् ।
जङ्गली हात्तीको बस्ती प्रवेशले कञ्चनपुरमा त्रास
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४, जाई–पर्सिया गाउँमा जङ्गली हात्ती दिउँसै प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । मङ्गलबार दिउँसो एउटा भाले हात्ती गाउँको सडक र खेतबारीमा हिँडिरहेको देखिएको थियो । स्थानीयले होहल्ला गरेर हात्तीलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ भगाए पनि पुनः बस्तीमा फर्कने डर रहेको स्थानीय लक्ष्मण रानाले बताए । “हात्तीले हरेक वर्ष बाली नष्ट गर्छ, गत वर्ष एक जनाको ज्यानसमेत लियो,” रानाले भने, “हामी त्रासमा छौँ । हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायसँग माग गरिरहेका छौँ ।” जाई–पर्सिया गाउँमा हरेक वर्ष जङ्गली हात्तीले बाली र जनधनको क्षति पुर्याउँदै आएको छ । गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार हात्ती लालझाडी संरक्षण क्षेत्र हुँदै गाउँमा प्रवेश गर्छ । लालझाडी सबडिभिजन वन कार्यालयका प्रमुख करुणकर जोशीले संरक्षण क्षेत्रमा पाँच जङ्गली हात्ती रहेको र तिनीहरू बस्ती हुँदै निकुञ्जतर्फ आउजाउ गर्ने गरेको बताए । हात्ती जुनसुकै बेला बस्तीमा आउन सक्ने भएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।
सप्तरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–२, कमलपुरमा गएराति मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरी र तस्करबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान स्थानीय लालु यादवको रूपमा भएको मधेस प्रदेश प्रहरीले जनाएको छ । मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार सीमा क्षेत्रमा ठूलो परिमाणमा मदिरा भण्डारण गरी तस्करी भइरहेको सूचनाको आधारमा प्रहरीले सर्च अपरेसन चलाएको थियो । सो क्रममा तस्करहरूले प्रहरीलाई घेरा हाली ढुंगामुढा प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले सात राउन्ड गोली चलाएको थियो । गोली लागेर घाइते भएका यादवको तिघ्रामा चोट लागेको थियो । उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । उक्त स्थानबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन रक्सी बरामद गरेको छ ।
दक्षिण कोरियामा सन् २०२५ का लागि पाँचहजार बढी नेपाली श्रमिक माग
काठमाडौं । दक्षिण कोरियाले सन् २०२५ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ५,३०० नेपाली श्रमिक लैजान आवेदन माग गरेको छ । दक्षिण कोरिया सरकारको श्रम संसाधन विभागले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा काम गर्न यो संख्यामा कोटा निर्धारण गरेको हो । वैदेशिक रोजगार विभागको इपिएस शाखाका अनुसार, साना तथा मझौला उद्योगमा विदेशी श्रमिकको अभाव भएकाले कुल पाँच हजार तीनसय, मध्ये तीन हजार पाँचसय उत्पादनमूलक क्षेत्रमा र एक हजार आठसय कृषि तथा पशुपालन क्षेत्रका लागि लिइनेछ । आवेदन साउन २६ देखि ३१ गतेसम्म दिन सकिनेछ । इपिएस शाखाले हाललाई पाँचहजार तीनसय कोटा तोकिएको भए पनि कोरियाली रोजगारदाताको मागअनुसार उत्तीर्ण हुनेको संख्या थपघट हुन सक्ने जनाएको छ ।
तीन जिल्लाबाट २२ ट्रान्सफर्मर चोरी गर्ने १२ जना पक्राउ
विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लामा गत माघ १५ यता ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई कोशी प्रदेश प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार मोरङमा ८, सुनसरीमा १२ र झापामा २ गरी कुल २२ ट्रान्सफर्मर चोरी भएका थिए । यी चोरीका घटनामा संलग्न १२ जनालाई पक्राउ गरिएको छ । जसमा ७ जना चोर र ५ जना चोरीको सामान खरिद गर्ने व्यक्ति छन् । यो गिरोहले कृषि प्रयोजन र एकान्त स्थानमा राखिएका ट्रान्सफर्मरलाई निशाना बनाउने गरेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्ने चोरहरूमा मोरङको ग्रामथान गाउँपालिका–४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान–५ का ३१ वर्षीय इरज धामी, सुनसरीको दुहबी नगरपालिका–३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी–२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, मोरङको बेलबारी नगरपालिका–४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी–३ का २७ वर्षीय रञ्जित तामाङ र भारत घर भई सुनसरीको दुहबी–४ मा ससुराली बस्दै आएका ३४ वर्षीय आलम मिया छन् । चोरीको सामान खरिद गर्नेहरूमा विराटनगर महानगरपालिका–३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर–६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, सुनसरीको दुहबी–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी उपमहानगरपालिका–४ का ३९ वर्षीय सिताराम राई पक्राउ परेका छन् । प्रहरीका अनुसार यो गिरोहले २ करोड मूल्य बराबरका २२ ट्रान्सफर्मर चोरी गरेको थियो । चोरीमा प्रयोग भएका औजारहरूमा २२ थान डायल रेन्च, ३ थान सलाई रेन्च, ३ थान पिलास, ३ थान पेचकस, १ थान छिनो, १ थान साङ्लो, १ थान कैँची र ३ थान ह्याक्सो ब्लेड बरामद गरिएको छ । साथै, चोरीमा प्रयोग भएका ६ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । यो गिरोहले गत माघ १५ देखि चोरी सुरु गरेको थियो । साउन ९ गते मोरङको रंगेली नगरपालिका–९, इटाभट्टा टोलमा ट्रान्सफर्मर चोरी गर्न गएका ४२ वर्षीय अर्जुनकुमार थारु पक्राउ परेपछि प्रहरीले यो गिरोहलाई पत्ता लगाएको हो । ट्रान्सफर्मर चोरीको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको थियो ।
‘बहुविवाहलाई छुट दिन सकिँदैन’
काठमाडौं । मुलुकी अपराध संहिता–२०७४ ले पूर्णतः निषेध गरेको बहुविवाहलाई छुट दिने गरी मस्यौदा तयार भइरहेकाले त्यसविरुद्ध एकजुट भएर विरोध गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय महिला आयोगले मङ्गलवार काठमाडौंमा आयोजित “लैङ्गिक न्यायका सवालमा प्रस्तावित विधेयक तथा समसामयिक विषयमा छलफल” कार्यक्रममा वक्ताहरूले सरकारले बहुविवाहलाई कानुनी मान्यता दिन लागेको मस्यौदाविरुद्ध आवाज उठाउनुपर्ने बताए । आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले १ भदौ २०७५ देखि लागू भएको संहिताले बहुविवाहलाई पूर्णतः निषेध गरेको स्मरण गराउँदै सरकारले निश्चित परिस्थितिमा छुट दिने गरी कानुन ल्याउन लागेकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताइन् । उनले विवाहित पुरुषको विवाहेत्तर सम्बन्धबाट गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाहलाई मान्यता दिने गरी संहिता संशोधनको तयारी भइरहेको उल्लेख गर्दै द्वन्द्वकालमा जबरजस्ती करणी र हाडनाता करणीबाट जन्मिएका लाखौँ बालबालिकाको कानुनी पहिचानको मुद्दामा भने सरकार मौन रहेको बताइन् । उनले आयोगमा श्रीमानको विवाहेत्तर सम्बन्धका कारण पीडित महिलाहरू र तिनका सन्तानको जन्मदर्ता तथा नागरिकता समस्यासम्बन्धी उजुरीको सङ्ख्या उच्च रहेको बताउँदै कुनै पनि बहानामा बहुविवाहलाई मान्यता दिने कानुन ल्याउन नहुने धारणा राखिन् । आयोगकी सचिव रेखा कँडेलले बहुविवाहलाई महिला हिंसाको रूपमा परिभाषित गर्दै यस्तो कानुन ल्याउन नहुनेमा जोड दिइन् । सहायक न्यायाधिवक्ता गायत्री वाग्लेले आर्थिक वर्ष २०८१–८२ मा आयोगमा प्राप्त १,७५२ उजुरीमध्ये ५२१ वटा विवाहेत्तर सम्बन्धका कारण महिला पीडित भएको उजुरी रहेको जानकारी दिइन् । तीमध्ये ३६५ मेलमिलाप, ४० जनालाई कानुनी सहायता र एकद्वार सङ्कट व्यवस्थापन प्रणालीसँग समन्वय गरिएको उनले बताइन् । कार्यक्रममा सहभागी अभियन्ता र सरोकारवालाहरूले बहुविवाहलाई मानवअधिकारविपरीत, महिलाको स्वाभिमान र आत्मसम्मानमा आघात पुग्ने तथा लैङ्गिक असमानता बढाउने कार्यका रूपमा उल्लेख गरे । मुलुकी अपराध संहिता–२०७४ ले बहुविवाहलाई पूर्ण निषेध गरेको छ । दोस्रो विवाह स्वतः बदर हुने र बहुविवाह गर्नेलाई १ देखि ५ वर्षसम्म कैद र १० हजारदेखि ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । हाल उक्त कानुन संशोधन गरी बहुविवाहलाई मान्यता दिन लागिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।
कांग्रेस-एमालेले छानबिनमा राजनीति गरे, दलको कार्यालय बोलाएर दबाब दिए : माधव सापकोटा 'सुवोध'
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद तथा सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ प्रावधानमा भएको छेडखानीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिका सदस्य माधव सापकोटाले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले समितिको काममा राजनीतिक हस्तक्षेप गरेको गम्भीर आरोप लगाएका छन्। एभरेष्ट दैनिकसँगको कुराकानीमा सांसद सापकोटाले समितिमा सत्तापक्षका सांसदहरूको बाहुल्य रहेको र दुवै दलले आफ्ना सांसदहरूलाई पार्टी कार्यालयमा बोलाएर दबाब दिएको खुलासा गरे। उनले भने, “छानबिन प्रक्रियाका क्रममा सत्तारुढ दलका चारै जना सांसदलाई प्रधानमन्त्रीको पार्टीको संसदीय दलको कार्यालयमा बोलाएर दबाब दिइयो। हामीले स्पष्ट रूपमा दलीय हस्तक्षेप देख्यौँ।” सापकोटाका अनुसार, समितिले तथ्य र प्रमाणका आधारमा कारबाहीको सिफारिस गर्न खोजे पनि सत्तारुढ दलहरूको दबाबका कारण प्रतिवेदनमा ‘सम्झौताको भाषा’ प्रयोग गर्नुपरेको छ। उनले थपे, “यो मानवीय त्रुटि होइन, गम्भीर त्रुटि हो। पदीय जिम्मेवारी र आचरण पालना नगरेको निष्कर्ष निकाल्न ठूलो प्रयास गर्नुपर्यो।” सापकोटाले नेपाली कांग्रेसले समिति सभापति र नेकपा एमालेले मुख्य सचिवलाई जोगाउन पूर्ण शक्ति प्रयोग गरेको दाबी गरे। उनले भने, “सत्तारुढ दलहरूले आफ्ना स्वार्थका लागि समितिको निष्पक्षतामाथि आघात पुर्याए। तथापि, हामीले तथ्य र प्रमाणलाई प्रतिवेदनमा समेटेका छौँ।” नेपाली कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा गठित समितिले २९ दिनमा ३७ बैठक बसेर तयार गरेको प्रतिवेदन मंगलबार सभामुख देवराज घिमिरेलाई बुझाएको छ। प्रतिवेदनले विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रावधानलाई कमजोर बनाउने गरी गरिएको भाषा परिवर्तनलाई गम्भीर त्रुटिको रूपमा उल्लेख गरेको छ। प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुरालाई राजनीतिक र नैतिक रूपमा जिम्मेवार ठहर गरिएको छ। साथै, मुख्य सचिव, सङ्घीय मामिला मन्त्रालयका सचिव र मन्त्रिपरिषद् कार्यालयका कानुन सचिवले पदीय आचरण पालना नगरेको निष्कर्ष निकालिएको छ।
पाँचथरमा हराइरहेका एकै घरका दाजुबहिनी मृत फेला
पाँचथर । पाँचथरकाे याङवरक गाउँपालिका-१, च्याङथापुबाट साउन १५ गतेदेखि हराइरहेका दुई बालबालिका बिरुवा खोलामा मृत अवस्थामा फेला परेका छन् । स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राई मंगलबार बिहान खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ । साउन १५ गते शुक्रबार बिहानदेखि हराइरहेका बालबालिकाको खोजीमा परिवार, स्थानीय बासिन्दा, प्रहरी, वडा कार्यालय र जनप्रतिनिधिहरूले गाउँ, जंगल, नदी किनार र आसपासका क्षेत्रमा खोजी गरेका थिए । याङवरक-१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार, साविक च्याङथापु १ र ८ को सिमाना छुट्याउने बिरुवा खोलामा दुवै बालबालिकाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले शवको प्रकृति मुचुल्का तयार गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको बताए । उनले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
भाेजपुरमा डोकाे बिक्रीबाटै घर खर्च
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१, तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोकाे बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आएका छन् । प्रविधिको विकासले गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोजस्ता परम्परागत सामग्री लोप हुँदै गए पनि उनले यो पेसालाई जीवित राख्दै मासिक रु ३५ हजारसम्म कमाइरहेका छन् । स्थानीय बजारमा डोकाको माग उच्च रहेकाले उनले बनाएका डोका भोजपुर सदरमुकाम र स्थानीय बजारमा सजिलै बिक्री हुने गरेका छन् । तामाङका अनुसार यो पेसाले उनको परिवारको जीविकोपार्जनमा कुनै समस्या छैन । विगत ४१ वर्षदेखि डोका बुन्दै आएका उनले एक दिनमा ८ देखि १० वटा डोका तयार गर्छन् । “मैले लामो समयदेखि डोका बुन्ने काम गर्दै आएको छु,” उनले भने, “डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी हुन्छ ।” उनका अनुसार स्थानीय बजारमा एउटा डोको रु ३५० देखि ४०० मा बिक्री हुन्छ । यदि यो पेसालाई पूर्णकालीन व्यवसाय बनाउने हो भने वार्षिक रु ७ देखि ८ लाखसम्म आम्दानी गर्न सकिने उनको अनुमान छ । “यो पेसाबाट राम्रो आम्दानी हुन्छ,” तामाङले भने, “कृषिकर्मसँगै बचेको समयमा डोका बनाउँदा पनि वार्षिक रु ३ देखि ४ लाखसम्म कमाइ हुन्छ ।” तामाङले मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति) बाट बनाएका डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने बताए । मालिङ्गोबाहेक सिँगाने, निकालो र बाँसको चोयाबाट पनि डोका बनाउन सकिन्छ । उनले बनाएका डोकाको माग विभिन्न ठाउँबाट आउने गरेको छ । यद्यपि, सामुदायिक वनको कडाइका कारण कच्चा पदार्थ जुटाउन समस्या रहेको तामाङ बताउँछन् । मालिङ्गो काट्न वर्षमा एक पटक मात्र वन खुला हुने गरेको छ । उनले आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगानेलगायत कच्चा पदार्थ प्रयोग गरेर डोका बनाउँदै आएका छन् । प्रविधिको विकाससँगै परम्परागत सीपहरू हराउँदै गएकाले यस्ता पेसालाई संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । “गाउँघरमा यस्ता सामग्री बनाउने सीप बुढापाकासँग मात्र सीमित छ,” उनले भने, “यस्ता परम्परागत सीपलाई व्यावसायीकरण गर्न सके राम्रो आम्दानीको स्रोत बन्न सक्छ ।” यसका लागि सरकारले सहयोग गर्नुपर्ने उनको सुझाव छ ।
भारतकाे पूर्णियामा विमानस्थल सञ्चालनले विराटनगरमा पर्यटन र व्यापारमा फाइदा पुग्ने
विराटनगर । भारतको पूर्णियामा विमानस्थल सञ्चालनको तयारीसँगै कोशी प्रदेशको राजधानी विराटनगरमा यसबाट लाभ लिने विषयमा चर्चा सुरु भएको छ । पूर्णिया, विराटनगरबाट ९० किमि दूरीमा छ र साउन ३० भित्र विमानस्थल उद्घाटन हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पर्यटन व्यवसायी राजन श्रेष्ठका अनुसार यो विमानस्थलले ट्राभल्स, होटेल र पर्वतीय उडानका प्याकेज सञ्चालनमा फाइदा पुग्नेछ । विराटनगरबाट डेढ घण्टामा पुगिने पूर्णियाले बागडोगरा र दरभङ्गा विमानस्थलको विकल्प दिनेछ । यसले नेपाल–भारत आवतजावत सहज बनाउनुका साथै पर्यटक भित्र्याउन मद्दत गर्नेछ । पूर्णियाबाट दिल्ली, मुम्बई, बैङ्गलुरु र हैदराबादमा उडान हुने बताइएको छ । सरकारले सहजीकरण गरेमा विराटनगरबाट पर्वतीय उडान नियमित गर्न सकिने श्रेष्ठको भनाइ छ । उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पनि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरूलाई आवतजावतमा सहजता हुने बताएका छन् । यसअघि विराटनगरबाट सञ्चालित पर्वतीय उडान दिगो हुन सकेको थिएन । पूर्णिया विमानस्थलले पर्यटक भित्र्याउन नयाँ अवसर सिर्जना गर्ने व्यवसायीको विश्वास छ ।
सप्तकोशीमा पानीको बहाव बढ्दा उदयपुरको बेलका उच्च जोखिममा
उदयपुर । लगातार तीन दिनको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै उदयपुरको बेलका क्षेत्र डुबान र कटानको उच्च जोखिममा परेको छ । बेलका नगरपालिकाको वडा नं. २, ३, ६, ८ र ९ का सप्तकोशी आसपासका गाउँहरू प्रभावित हुने खतरा बढेको छ । बेलकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा नदीको पानी किनार नाघेर बाहिर आउन थालेको छ । बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईका अनुसार नदीको बहाव बढ्दै जाँदा गाउँहरू कटानको जोखिममा छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सुरक्षा निकायका प्रमुख र स्थानीय जनप्रतिनिधिसहितको टोलीले जोखिमयुक्त क्षेत्रको स्थलगत अवलोकन गरी स्थानीयलाई सतर्क रहन र सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले उद्धार र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको जनाएको छ । जिल्ला प्रहरी प्रमुख हरिहरनाथ योगीले कुनै विपद् भएमा तत्काल उद्धार र राहतमा जुट्ने गरी तयारी थालिएको बताए । सप्तकोशीमा पानीको बहाव १ लाख ७९ हजार क्युसेक पूर्वी पहाडी र तराई क्षेत्रमा भएको लगातार वर्षाले सप्तकोशी नदीको कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा उतारचढाव जारी छ । सोमबार बिहान ६ बजेको मापनमा १ लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड रहेको बहाव राति १० बजेको मापनमा १ लाख ७९ हजार ७४० क्युसेक पुगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । हाल कोशी ब्यारेजका ५२ मूल र ४ नहरका ढोकामध्ये १९ वटा खोलिएको छ । पानीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा माथि भएपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । विसं २०६५ भदौ २ मा १ लाख ६८ हजार क्युसेक बहाव हुँदा सप्तकोशीले पूर्वी तटबन्ध भत्काएको थियो । हालको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन र सुरक्षा निकायले जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारेका छन् ।
यस्तो छ आजकाे प्रतिनिधिसभा बैठकका कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा निम्न कार्यसूचीहरू रहेका छन्: १. वैकल्पिक वित्त परिचालन विधेयक, २०८१: उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले यो विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव पेस गर्नेछन् । विधेयकमा प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछ र पारित गर्ने प्रक्रिया अघि बढाइनेछ । २. मौखिक प्रश्नोत्तर: अर्थ, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् । ३. नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यो विधेयक प्रस्तुत गर्नेछन्। ४. बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

