नेम्वाङलाई दुई छोराले दिए दागबत्ती

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । राजकीय सम्मानसाथ गरिएको अन्त्येष्टिमा उहाँका दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । नेपाली सेनाको एक टुकडीले शोक कुनसहित स्वर्गीय नेम्वाङप्रति शोक धुन बजाएर सम्मान व्यक्त गरे ।

अन्त्येष्टि कार्यक्रममा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित दलका नेताहरु, एमालेका नेताहरु आर्यघाट पुगे । पूर्व सभामुखसमेत रहेका नेता नेम्वाङको भदौ २६ गते मंगलबार विहान १ः५० बजे निधन भएको थियो ।

नेता नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाए। सो अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित सरकारका मन्त्रीहरु, सांसदहरु, पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।

कोशी सरकारको वैधानिकताको विवाद पूर्ण इजलासमा, आजलाई तोकियो पेशी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो । मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा अपनाएको विधि असंवैधानिक भएको दाबी गरी परेको रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएको थियो । न्यायाधीशद्वयले आज सुनुवाइ सकिसकेपछि यो रिटलाई पूर्णइजलासबाट टुंग्याउने निर्णय लिएका हुन् । यसअघि भदौ १५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिए पनि सुनुवाइ भएको थिएन । त्यसअघि भदौ ७ गते पनि मुद्दाको प्रारम्भिक सुनुवाइ खतिवडाकै एकल इजलासमा भएको थियो । खतिवडाले विश्वासको मत लिएको प्रक्रिया नमिलेको बताउदै कोशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश दिँदै विश्वासको मत लिँदाको सक्कल फाइल झिकाउन निर्देशन दिएका छन्। मुद्दाको अर्को पेशी आजलाई तोकिएको छ ।

व्यवस्थाप्रतिको विश्वास जगाउनु सरकारको प्रमुख उपलब्धि : मन्त्री शर्मा

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रतिको विश्वास जगाउनसक्नु वर्तमान सरकारको प्रमुख उपलब्धि भएको बताएकी छन् । नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका समिति दाङले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्थाप्रति चरम निराशा फैलाउने काम भइरहेको बेला सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको बताइन् । ‘नेपाल ठूलो निराशातर्फ गइरहेको थियो र केहीले त्यसका लागि योजनाबद्ध पहल पनि अघि बढाएका थिए’, मन्त्री शर्माले भनिन्, ‘ठूलाले जे गरे पनि हुन्छ भन्ने गलत भाष्य स्थापित हुँदा निराशा बढिरहेको बेला वर्तमान सरकारले सुशासनको क्षेत्रमा थालेको ऐतिहासिक पहलका कारण जनताको विश्वास बढ्न गएको छ र संभवतः पहिलोपटक सरकार जनतासँग जोडिएको छ ।’ आफ्नो देशका नागरिकलाई अर्को देशको नागरिक बनाएर तेस्रो देश पठाउने, हजार सावा दिएर लाखौं ब्याज लिने मिटरब्याजजस्ता मानवताविरुद्धका अपराध रोकेर ती प्रकरणमा संलग्नहरुमाथि कारवाही थालिनु सुशासनको पक्षमा महत्वपूर्ण कदम भएको पनि उनले स्पष्ट गरिन् । सत्ता र शक्तिमा पुगेकाहरुले जे गरे पनि हुने गलत प्रवृत्तिको अन्त्य गरी देशका उपप्रधानमन्त्री, गृहमन्त्री तहसम्म पुगेका व्यक्तिहरुलाई पनि कानुनी कठघरामा जाने स्थिति वर्तमान सरकारले सुशासनको पक्षमा गरेको प्रयासको परिणाम भएको मन्त्री शर्माले स्पष्ट गरिन् । प्रधानमन्त्रीले गल्ती गरे आफूलाई समेत छानविन गर्न सार्वजनिक गरिरहेको उल्लेख गर्दै उनले भनिन्, ‘छानविनका क्रममा गल्ती भेटिए मलाई समते नछाड भनेर कुनै प्रधानमन्त्रीले भनेको इतिहास छैन । उनले पार्टीभित्रका नेताहरुलाई पनि गल्ती गएको भए जेल जाने मानसिकता बनाइराख्न निर्देशन दिएकी छन्, यो चानचुुने विषय होइन ।’ उनले अन्य दलजस्तै माओवादीका केही नेता कार्यकर्ता बिग्रेको यथार्थ भए पनि समग्र पार्टी र आन्दोलन नै बिग्रियो भन्नु सही नभएको स्पष्ट गरिन् । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका शर्माले भनिन्, ‘हामी केही बिग्रेकै हो तर सप्रेका अरु दलभन्दा बिग्रेका माओवादीहरु धेरै अगाडि छन्, अहिले सुरु भएको तीन महिने अभियानले बिग्रेको क्षेत्रमा पनि सुधार गर्नेछ ।’ कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जयपुरी घर्तीले निरन्तर क्रान्तिको सिद्धान्तअनुसार राजनीतिमा सक्रिय हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरिन्। अहिले सरकारले महत्वपूर्ण काम गरे पनि पार्टीमा केही सुस्तता देखिएको उल्लेख गर्दै उनले ऐतिहासिक राजनीतिक परिवर्तनको श्रेय लिने गरी अभियानमा लामबद्ध हुन आग्रह गरिन् । नेतृत्वको राम्रो कामको समर्थन र गलत कामको आलोचना गरेर अघि बढ्न पनि उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरिन्। पार्टीले विकास निर्माणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले विचारसहितको विकासलाई जोड पनि आग्रह गरिन्। शान्तिपूर्ण बाटोबाटै समाजवादी क्रान्ति गर्ने धेयका साथ पार्टी अघि बढेकाले अब हरेक नेता कार्यकर्ताले संविधान, कानुन, बजेट निर्माण, कार्यान्वायन र मूल्यांकन प्रक्रियालाई ध्यान दिनुपर्ने बताइन् । माओवादी केन्द्र घोराहीका अध्यक्ष रमेशकुमार ओलीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु हेमराज शर्मा, गुणेन्द्र घर्तीलगायतले सम्बोधन गरिन् । कार्यक्रम सञ्चालन नगर सचिव भागीदास चौधरीले गरेका थिए। कार्यक्रममा घोराही उपमहानगरपालिकाका १९ वटै वडाका नेतृत्वले रिपोर्टिङ गरेका थिए ।

आत्महत्या रोकथाम गर्न हेल्पलाइन ११६६ सञ्चालनमा, सेवा लिनेको सङ्ख्या बढ्दै

काठमाडौं । आत्महत्या रोकथामको लागि सञ्चालन गर्दैआएको हेल्पलाइन ११६६ मा सेवा लिनेको सङ्ख्या बढ्दैगएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा सरकारले आत्महत्याको सोच आए, आफूलाई गाह्रो भएमा निःशुल्क फोन गर्न मिल्ने हेल्पलाइनमा सेवा लिनेको सङ्ख्या बढ्दैगएको हो । सरकारले विश्व स्वास्थ्य सङ्गठन र टिपिओ नेपालको सहयोगमा मानसिक अस्पताल पाटनमा २०२१ मे बाट यो हेल्पलाइन सञ्चालन गर्दैआएको छ । कुनै पनि व्यक्तिमा आत्महत्याको सोच आए, हाम्रो वरिपरि भएको कोही व्यक्तिले त्यस्तो व्यवहार देखाए, आत्महत्याको प्रयास गर्दागर्दैको अवस्थाबाट उनीहरूलाई बचाउने उद्देश्यले सरकारले उक्त हेल्पलाइन सुरु गरेको हो । टिपिओ नेपालका परामर्शदाता पार्वती श्रेष्ठका अनुसार हेल्पलाइन अहिलेसम्म १३ हजार ६ जनाले सेवा लिएका छन् । सुरुका महिनामा मासिक २६० जनाले सेवा लिएका थिए त्यस्तै, २०२२ मा ५५० जनाले महिनामा सेवा दिएको तथ्याङ्क छ । २०२३ मा सुरु भएदेखि अहिलेसम्म महिनामा ६२४ जनाले सेवा लिने गरेका छन् । हेल्पलाइनमा मानसिक स्वास्थ्य समस्या भएर फोन गर्नेहरूको सङ्ख्या तीन हजार २१३, आत्महत्याको सोच आएमा ११ सय ३१ वटा कल आएको छ । ४६० जनाले विभिन्न समयमा आत्महत्यासमबन्धि सोच आएको र विभिन्न समयमा आत्महत्याको प्रयास गर्नेगरेको कलमार्फत सुनाएका थिए । आत्महत्या प्रयास गर्दागर्दैको अवस्थामा फोन आएर ११६६ ले अहिलेसम्म १७ जनाको जीवन जोगाएको श्रेष्ठले जानकारी दिए । हालसम्म नेपाल टेलिकमको नम्बर मात्रै यो सेवा उपलब्ध भएकोमा आजबाट एनसेलले पनि यो सेवा उपलब्ध गराउने निर्णय गरेको छ । मनो रोग चिकित्सक डा.वासुदेव कार्कीले पछिल्लो समय आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दैगएको जानकारी दिए । डा.कार्कीले मानसिक समस्याबारे खुलेर संवाद गरेमा, परामर्शमा रहन सकेमा आत्महत्या रोक्न सकिने जिकिर गरे । कार्यक्रममा अस्पताल निर्देशक डा।अनन्त अधिकारीले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । उनले मानसिक स्वास्थ्यबारे जनतालाई चेतना जगाउन आमसञ्चार माध्यमको भूमिका ठुलो रहेको बताए। कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा एनसीडि तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा.फणीन्द्रप्रसाद बरालले सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताए । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० मा छ हजार ९९३ जनाले आत्महत्या गरेका छन् । विश्वमा बर्सेनि सात लाख मानिले आत्महत्याको कारणले ज्यान गुमाउने गर्दछन् । प्रत्येक ४० सेकेण्डमा एक व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।

सीमा विवाद संवादमार्फत सुल्झाउँछौँ : परराष्ट्र मन्त्री साउद

ओखलढुङ्गा। परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले कूटनीतिक संवादको माध्यमबाट सरकारले छिमेकी देशसँगको सीमा विवाद सुल्झाउने बताएका छन् । नेपाल प्रेस युनियन ओखलढुङ्गा शाखाले आइतबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले यस्तो बताएका हुन् । चीनले सोमबार जारी गरेको आफ्नो देशको नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई नसमेटेको सम्बन्धी विवादलाई सरकारले कसरी समाधान गर्छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री साउदले वार्ता र कूटनीतिक संवादको माध्यमबाट यो विवाद समाधान गरिने बताए । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरेर नेपालको नक्सालाई छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने धारणा सार्वजनिक गरिसकेको समेत उनले जानकारी दिए । सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले पारित गरेको राजनीतिक एवम् प्रशासकीय नक्साप्रति नेपाल स्पष्ट र दृढ रहेको मन्त्री साउदको भनाइ छ । देशको सीमा मामिलालाई वार्ता र कूटनीतिमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । फरक प्रसङ्गमा मन्त्री साउदले सरकारले छिमेकी तथा अन्तर्राष्ट्रिय राष्ट्रहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्ने काममा लागिरहेको बताए। सिद्धिचरण नगरपालिकाको नवनिर्मित भवनको उद्घाटनका लागि मन्त्री साउद ओखलढुङ्गा आएका हुन्। पत्रकार सम्मेलनमा राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र कोशी प्रदेश सरकारका प्रवक्ता प्रदीपकुमार सुनुवार सहभागी भएका थिए ।

ललिता जग्गा प्रकरण : प्रतिवादीहरूको थुनछेक बहस सुरु

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आइतबारदेखि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस भएको हो ।यसअघि पक्राउ परेका १८ जना प्रतिवादीको बयान पनि यही इजलासका अधिकृतहरूले गरेका थिए । ललितानिवास जग्गा प्रकरणमा शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ,कलाधर देउजा, बालकृष्ण श्रेष्ठ,घमनकुमार कार्की, गोपाल कार्की र बेदप्रकास पौडेल पक्राउ परेका थिए । यस्तै,युवराज पौडेल,नारायणराज मिश्र,अरुणकुमार श्रेष्ठ, ध्रवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरेलाई पनि पक्राउ गरिएको थियो । उनीहरूका विषयमा अब क्रमैसँग थुनछेक बहस हुनेछ । थुनछेक बहसका लागि शुक्रबार नै जिल्ला सरकारी वकिललाई खबर गरिएको थियो ।

कोशी सरकारविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । कोशी सरकारविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो । अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ । पूर्ण इजलासमा सोमबारदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ । मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत लिँदा प्रदेशसभा बैठक अध्यक्षता फेरबदल गरी अध्यक्षता गरेकै प्रदेशसभा सदस्यले समेत मत दिएपछि एमाले संसदीय दलका नेतासमेत रहनुभएका पूर्व मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् । यसअघि भदौ ७ गते उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाऊ आदेश जारी गरेको हो । गत शुक्रबार पनि पेसी तोकिएको उक्त रिट निवेदन न्यायाधीश खतिवडासहितको संयुक्त इजलासमा परेपनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।

हवाई सेवा सञ्चालनमा नयाँ मापदण्ड

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार सबै वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचवटा पुर्‍याउनु पर्नेछ । यसैगरी वायुसेवा कम्पनीका जिम्मेवार म्यानेजर तथा पदमा बसेकाले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा स्वार्थ बाझिने प्रवृत्तिका गतिविधि एवं व्यावसायिक कार्य आदिमा संलग्न हुन नपाउने, वायुसवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्याकारी निर्देशक तथा जिम्मेवार म्यानेजरले प्राधिकरणले दिने पाइलट तथा मर्मतसम्भारको तालिम लिएको भए सोको अभ्यास व्यावसायिक उडान वा मर्मतसम्भार गतिविधिमा गर्न नपाउने व्यवस्था गरिएको छ । पाइलटले उडानबाहेक अन्य व्यावसायिक गतिविधिमा संलग्न रहन नपाउने जनाइएको छ । ‘नो अब्जेक्सन लेटर’ पाप्त गरेको न्यूनतम पाँच वर्षको अवधिसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर बिक्री तथा हस्तान्तरण गर्न नपाउने व्यवस्था पनि गरिएको छ ।

महानगर गाडिमा शनिबार पत्नी सवारी : प्रहरीको सोधपुछपछि मेयर बालेनकाे धम्कि– सिंहदरबारमा आगो लगाइदिन्छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा सिंहदरबार जलाइलिने धम्कि दिएका छन् । शनिबार राति उनले फेसबुकमा केन्द्र सरकारप्रति रोष प्रकट गरेका हुन् । स्रोतका अनुसार उनी अक्रोशित हनुको कारण पत्नी सवार महानगरको गाडि शनिबार किन चलाएकाे भनेर प्रहरीले सोधपुछ गर्नु रहेको छ । मेयर चढ्ने सरकारी गाडीमा अरु केही महिलासहित मेयर पत्नी तीजको दरखाने कार्यक्रममा जाँदै थिइन् ।सार्वजिक बिदाको दिन सरकारी गाडीमा असम्बन्धित मान्छे चढेर गुडाएको भन्दै प्रहरीले रोकेर केहीबेर केरकार गर्यो । प्रहरीले कागजपत्र मागेको थियो भने चालकले महानगरको गाडि हो भन्दै कागजपत्र दिन आनाकानी गरेका थिए । पछि छाडिदियो । करिब तीन मिनेट संवादपछि फेरि शनिवार नचलाउन भन्दै प्रहरीले गाडी छोडेका थिए । गाडी यसरी रोकिएको केही बेरपछि नै बालेनकाे स्ट्याटस आएको हो । “आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,” उनले फेसबुकमा लेखेका छन् ।

आफ्नो पार्टीबाहेक अन्य दस पार्टी मिले पनि देश चलाउन नसक्ने ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक अन्य दश पार्टी मिलाएर गठबन्धन गरे पनि देश चलाउन नसक्ने बताएका छन् । अहिलेको गठबन्धन सरकारले देशलाई संकटमा लगेको भन्दै ओलीले देशलाई सफल अवतरण गराउने पार्टी एमालेमात्रै रहेको दाबी गरे। बुटबलमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले बाटो बिराउने पार्टी नभई आफ्ना गन्तव्य र लक्ष्यमा पुग्ने पार्टी भएको बताए । अध्यक्ष ओलीले मिसन–८४ एमाले एक्लैले तीन तहकै सरकारमा बहुमत ल्याउने अभियान भएको बताए । त्यसका लागि अरु सबै दल एकातिर तर एमाले एक्लैले बहुमतको सरकार बनाउने गरी जुटेको जिकीर गरे ।

नेपाल प्रहरीका १२० जना डीएसपी हरूको सरुवा , को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले भदौ १५ गतेको निर्णय बमोजिम डीएसपीहरुको सरुवा गरेका हुन्। उनीहरुलाई भदौ २०८० भदौ १ गतेदेखि तलब भत्ता समेत सरुवा भएकै दरबन्दीबाट खान पाउने गरी ब्यवस्था गरिएको छ जसनुसार केही जिल्ला प्रहरी कार्यालय र उपत्यकास्थित प्रहरी वृत्तका इन्चार्ज फेरिएका छन् । प्रहरी वृत्त गौशालामा केशव कुमार थेवे, दरबारमार्गमा गोविन्द थापा, सोह्रखुट्टेमा चतुर्भुज ओझा, भक्तपुरको जगातीमा दिप्ती कार्की र स्वयम्भूमा पूर्णिमा चन्दलाई सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत अमरबहादुर थापा क्षेत्रीलाई प्रहरी वृत्त महाराजगञ्जमा सरुवा गरिएको छ । प्रहरी वृत्त बौद्धमा राजु पाण्डे र नयाँ बानेश्वरमा शिवराज बुढाथोकीलाई ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटामा अर्जुन केसी, प्यूठानमा ईश्वर थापा, बाजुरामा कवीन्द्र सिंह बोहरा, पर्वतमा खुमलाला भुसाल र संखुवासभामा घनश्याम श्रेष्ठ सरुवा भएका छन् । ईलाका प्रहरी कार्यालय इटहरीमा टेकबहादुर कार्कीलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङमा पुरुषोत्तम खड्का, बझाङमा भरतबहादुर शाह, मुस्ताङमा भोजराज पाण्डेय, लमजुङमा मीन बहादुर घलेलाई सरुवा गरिएको छ । भोजपुरमा सुदीप राज पाठक र पाँचथरमा हेमन्त भण्डारी क्षेत्री गएका छन् ।

आइतबारलाई सारियो कोसी सरकारविरुद्धको रिटको सुनुवाइ

काठमाडौं । कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार (भदौ १७ गते) लाई सारिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आज इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित गरेर आइतबारलाई सारिएको हो । शुक्रबार कोसी सरकारविरुद्धको रिटको सुनुवाइ न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको थियो । रिटको प्रारम्भिक सुनुवाइको बेला आफूले धारणा राखिसकेको बताउँदै न्यायाधीश खतिवडाले शुक्रबार सुनुवाइ गर्न अस्वीकार गरेका थिए ।

नेपाल अमेरिकालाई हराउँदै ह्याकरोन एम्बेसडर विश्वकप २०२३ को सेमिफाइनलमा

काठमाडौं । नेपाल टिम अमेरिकालाई हराउँदै ह्याकरोन एम्बेसडर विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ ।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाई प्रक्रिया शुरु

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । संसदीय सुनुवाई समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश शर्माको सुनुवाईका लागि उजुरी आह्वान गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा रहेका थिए । गत भदौ १० गते बसेको न्याय परिषद् बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार शर्मालाई संसदीय सुनुवाईका लागि न्याय परिषद्ले पत्र पठाएपछि उजुरी आह्वान गरिएको समितिका ज्येष्ठ सदस्य सभापति पशुपतिसमशेर राणाले जानकारी दिए । १० दिन भित्र दिएको उजुरीमाथि छानबिन गरेपछि प्रश्तावित सर्वोच्च अदालतका न्यायाधीश शर्मामाथि संसदीय सुनुवाई हुनेछ । संसदीय सुनुवाई समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ । निगमले मूल्य वृद्धि गएरातिदेखि लागू हुनेगरी बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर रु तीन दशमलव १७ र रु दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर रु एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ ।

कोसी प्रदेश सरकारविरुद्धको रिट खतिवडा र माथेमाको इजलासमा

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको छ । यही भदौ ६ गते नेकपा (एमाले) कोसी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा यसअघि नै अन्तरिम आदेश भएको छ । नेपाली कांगेस संसदीय दलका नेता उद्धवकुमार थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न सर्वोच्चले आन्तरिम आदेश जारी गरेको हो । सोही दिन ईश्वरप्रसाद खतिवडाको इजलासले आजका लागि पेसी तोकेको थियो । रिटलाई अग्राधिकार प्रदान गरिएको छ । आज पनि खतिवडासहितको इलजासमा रिट परेको हो ।