काठमाडौं महानगरपालिका दुई सहकारीको दर्ता खारेज (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुईवटा सहकारी संस्थाको दर्ता खारेज गर्ने भएको छ।

महानगरपालिकाको सहकारी विभागका अनुसार श्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लि. र सुकस बचत तथा ऋण सहकारी संस्था लि.सञ्चालनमा नरहेकाले उनीहरूको दर्ता खारेज गरिने भएको हो।

उल्लिखित संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित बक्यौता केही भएमा तथा यी संस्थाबाट धितो राखी कुनै कर्जा लिएको वा यी संस्थामा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले उक्त सूचना प्रकाशन भएको मिति (असार २२) ले १५ दिनभित्र महानगरको सहकारी विभागमा सम्पर्क राख्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरेको छ।

अन्यथा खारेजीपश्चात् कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने बेहोरा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।

हेर्नुहोस् सूचना

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज  २०७९ को एसईईको परीक्षाफल सार्वजनिक गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । बोर्डले २०७२ सालको लेटर ग्रेडिङ निर्देशिका अनुसार नै नतिजा सार्वजनिक गरेको हो । एसईईको परीक्षा गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता थियो । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif\.com, www.neemaacademy.com,  www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, www.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीको भावानात्मक अभिव्यक्तिलाई बंगाए राजनीतिकरण गर्न खोज्नु निरर्थक : प्रधानमन्त्री सचिवालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रधानमन्त्रीले २०८० असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री र सिंहबीच पारिवारिक र भावनात्मक सम्बन्ध रहेको र त्यही सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु निरर्थक र दुखद् रहेको जनाएका छन् । सल्लाहकार आचार्यले संकुचित राजनीतिक मानसिकताका साथ प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको बिरोध र सिंगो संसदको नै अपमान भएको बताएका छन् ।साथै उनले यस किसिमका कुनै पनि प्रकारका भ्रमबाट मुक्त रहन तथा सरकारको सुशासन अभियानमा ऐक्यबद्धता व्यक्त गर्न अपील समेत गरेका छन् । विज्ञप्तिमार्फत आचार्यले भनेका छन् – ‘प्रधानमन्त्रीकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि ०६७र६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको थियो । सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उहाँहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको थियो ।नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने नेपालका शुभेच्छुक सिंहले अनौपाचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्दै आउनु भएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा सम्माननीय प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गर्नुभएको प्रष्ट नै छ । यसै क्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक सम्वादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो । तर, सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् छ ।’ यस्ताे छ विज्ञप्ति

एलओडीका दुई सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट अनुमति लिएको छ । एक १६ वर्षीया बालिका बलात्कारको घटनामा अनुसन्धान गर्न क्लबका सञ्चालकद्वय रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । नाबालिगलाई क्लबमा प्रवेश दिएको बारेमा अनुसन्धान गर्न एलओडीका दुई सञ्चालकविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएको ललितपुर प्रहरीले जनाएको छ । गएको जेठ ३० गते ती बालिका एलओडी गएकी थिइन् । आफूलाई एलओडीबाट ललितपुर लगी बलात्कार गरिएको भन्दै उनले ललितपुर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । बालिकाको जाहेरीका आधारमा प्रहरीले बलात्कारको आरोपमा पोखरा घर भई ललितपुरको बागडोलमा बस्दै आएका सुदनबहादुर कोइरालालाई पक्राउ गरेको छ । प्रहरीसँगको बयानमा ५० वर्षीय कोइरालाले पीडित बालिका नाबालिग नभएको जिकिर गरेका छन् ।

क्यानका महानिर्देशकलाई पुनः तीनदिने स्पष्टीकरण, जवाफ नदिए कारबाही हुने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । पहिलोपटक नौबुँदे स्पष्टीकरण सोधिएको थियो । जवाफ पेस गर्न सात दिनको समय दिइएको थियो । तर, महानिर्देशक अधिकारीले उक्त समयमा अटेरी गरेर जवाफ नदिएपछि मन्त्रालयले बिहीबार पुनः स्पष्टीकरण सोधिएको हो । जवाफ नदिनुको कारण स्पष्ट रूपमा उल्लेख गरेर तीन दिनभित्र जवाफ पेस गर्न मन्त्रालयले निर्देशन दिएको छ । निर्धारित समयमा जवाफ नदिए कानुनबमोजिम अघि बढ्ने मन्त्रालयले जनाएको छ ।

निरन्तर बढ्दै छ सुनको मूल्य, हेर्नुस कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा केहि दिन यता सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले बढेको हो । बुधबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार १५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

कोशीमा नयाँ सरकार गठन हुँदै, गठबन्धनबाट उद्धव थापाले दाबी पेस गर्ने

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज अपराह्न ५ बजे सकिँदै छ। उक्त समयभित्र गठबन्धनका तर्फबाट नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी पेस गर्ने तयारी गरेका छन्। उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा सरकार नेतृत्वको दाबी पेस गर्न लागेका हुन्। ९३ सदस्य रहेको कोशी प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ मत चाहिन्छ। तर गठबन्धनमा रहेका चार दलको बहुमत सभामुखसमेत जोड्दा मात्रै पुग्छ। प्रदेशसभामा कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। यी सबै जोड्दा ४७ नै पुग्छ। भने एमालेका ४० सांसद रहेका छन्। तर मुख्यमन्त्रीमा नियुक्त भइसकेपछि विश्वासको मत लिनुपर्ने हुन्छ । अन्यथा संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका नेताको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ। विश्वासको मत विभाजन गरिँदा दुवैतर्फ बराबरी संख्या भएको अवस्थामा मात्रै सभामुखले निर्णायक मत दिन पाउने प्रावधान छ।

एमालेको संसद अवरोधले मिटर ब्याजी विरुद्धको कानुन बन्न पाएन : वर्षमान पुन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधका कारण जनताको हितसँग जोडिएका महत्वपूर्ण कानुन बन्ने बाटो रोकिएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्व मन्त्री वर्षमान पुनले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले लगायतका दल राप्रपा र रास्वपाले संसद् अवरोध गर्दा मिटर ब्याजपीडितको पक्षमा कानुन बनाउन ल्याएको अध्यादेश प्रतिस्थापन विधेयक पारित हुन नसकेको बताएका छन् । विधेयक पारित हुन नसकेपछि कानुनी शून्यता हुन गएको उनको भनाइ छ । प्रतिनिधिसभाको बुधबारको बैठक एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलहरूले प्रधानमन्त्री प्रचण्डको केही दिन पहिले दिएको अभिव्यक्तिको विरोधमा अवरुद्ध गरेका थिए । शुक्रबारसम्म प्रतिनिधिसभा बैठक स्थगित भएपछि पुनले भने, ‘आज मिटरब्याजसम्बन्धी समस्यालाई समाधान गर्न जारी भएको अध्यादेश प्रतिस्थापन गर्न बनेको विधेयक पास गर्ने अन्तिम दिन हो । यसलाई पास गरौं र राष्ट्रिय सभामा पठाऔं अनि त्यो विषयमा छलफल गरौँला भन्ने आग्रह गरेका थियौं । देशभरमा मिटरब्याजपीडित आन्दोलन भइरहेको अवस्थामा कानुनी शून्यता हुने भयो । कोही थुनामा रहेका छन्, कोही मुद्दा चलिरहेकाले अवस्था जटिलता बनेको छ,’ उनले भने । प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने माग गरेपछि माओवादी केन्द्र, कांग्रेस र एमाले नेताहरूले सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । उक्त छलफलमा संसद्लाई अब कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल भएको पुनले बताए । एमालेसहितका दलको अबरोधका कारण बुधबारको पहिलो बैठक अबरुद्ध भयो भने दोस्रो पटकका लागि तोकिएको बैठक बस्नै सकेन । सभामुखले शुक्रबारका लागि बैठक सारिदिएका छन् ।

कांग्रेस जिल्ला सभापतिको बैठक आज बस्दै, अनलाइनमार्फत पनि सहभागी हुनसकिने

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्याह्न १२ बजे बस्ने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुने कांग्रेसले जनाएको छ । जिल्ला सभापतिहरूलाई बैठकमा आउँदा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको विवरण, नवीकरण र अभिलेखीकरणको विषय, विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका विषयसहित उपस्थित हुन पत्राचार गरिएको छ । आफ्नो जिल्ला अन्तर्गतका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका कार्यसमिति, वडा समितिका पदाधिकारी तथा सदस्यहरूको नामावली र सम्पर्क नम्बर समेत लिएर उपस्थित हुन भनिएको छ । यसैगरी वडादेखि जिल्लासम्म विधान बमोजिम हुनुपर्ने सम्मेलनहरू कुन कुन तहो सम्मेलन सम्पन्न भए, कुन कुन हुन बाँकी छ सोको विवरण र योजना समेत ल्याउन भनिएको छ । जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके अनलाइनमार्फत अन्तरक्रियामा सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ । बैठक भोलिसम्म चल्ने कांग्रेसले जनाएको छ ।

विपक्षी दलद्धारा संसद अवरूद्ध

काठमाडौं ।प्रतिपक्षी दलहरू नेकपा एमाले सहितका दलले संसद अवरोध गरेका छन्। आज बसेको बैठकको सुरुमा एमालेसहितका सांसदहरुले प्रधानमन्त्री प्रचण्डको अभिव्याक्तिको विरोध गर्दै बैठकमा अवरोध गरेका हुन । संसद बैठकको सुरुमा नेकपा एमालेका सांसद रगुजी पन्त बोले भने त्यसपछि माओवादी केन्द्रकी सांसद छिरिङ लामा बोल्दै गर्दा एमाले, राप्रपा र रास्वपाका सांसदहरूले संसद अवरुद्ध गरे । त्यसलत्तै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । प्रधानमन्त्री प्रचण्डले केही दिन अगाडि एक कार्यक्रममा २०७२ सालमा आफुलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले देशका विभिन्न दल र दिल्ली समेत गएर पहल गरेको थिए भन्ने गरेको भन्दै प्रितिम सिंहलाई राजनीतिमा समेत रुचि राख्ने व्यक्तिको रुपमा आफुले बुझेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको सो अभिव्यक्तिको विपक्षि दलले राष्ट्रिय सभा र प्रतिनिधि सभा अवरुद्ध गरेका छन् ।  

कालीगण्डकी करिडोर, सिद्धार्थराजमार्ग अवरुद्ध

पाल्पा । गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा करिडोर भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । आज बिहान ५ः०० बजेदेखि सडक अवरुद्ध बनेको हो । तानसेन नगरपालिका–५ ढुङ्गाखानीमा पहिरो खसेकाले तानसेन रिडी सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए । सिद्धार्थ राजमार्गअन्तर्गत आर्यभन्ज्याङ–राम्दी सडकखण्ड पनि अवरुद्ध बनेको छ । माथागढी गाउँपालिका–१ धैरेनीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सो सडक अवरुद्ध हुँदा बुटवल–पोखरा चल्ने सवारीसाधन बीचमै लामबद्ध अवस्थामा रोकिएका छन् ।

स्थगित भएको कोशी प्रदेश सभाको बैठक आज बस्दै

विराटनगर । कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक आज बस्दैछ । बिहीबार स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । प्रदेश सभाको बिहीबार बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएको बैठक फेरि बस्न नसकेपछि आज बस्ने भन्दै सूचना प्रकाशित भएको हो। बिहीबार राति साढे ९ बजे प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना सार्वजनिक गर्दै बैठक आज बस्ने जानकारी गराएका थिए । कोशी प्रदेश प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ६ को उपनियम ९३० बमोजिम प्रदेशसभा सदस्यलाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ। यसअघि सभा कैठक बिहीबार दिउँसो १ बजे सञ्चालन हुने कार्य सूची रहे पनि करिब २ बजेमात्र सुरु भएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने भएपछि संसद बैठक टार्ने प्रयास गरेको देखिन्छ । मुख्यमन्त्री कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन गर्ने चेतावनीसमेत बिहीबारको प्रदेशसभा बैठकमै दिएका छन् । विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने भन्दै उनले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने चेतावनी दिएका हुन् ।

असार १५, आज दही-चिउरा खाने दिन : राष्ट्रिय धान दिवस पनि मनाइँदै

काठमाडौं ।  प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही चिउरा खाएर मनाइँदैछ ।  ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरेको छ । यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरेको बताइन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा विभागले विचार गोष्ठी, तथा रोपाइँ गरेर महोत्सव मनाइने कृषि विभागका महानिर्देशक एवं धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिका अध्यक्ष डा. हरिबहादुर केसीले बताए । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् । आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेको बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । चालु आर्थिक वर्षमा धानको उत्पादनमा वृद्धि भएको छ । यस वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो परिमाण २०७८/७९ को तुलनामा तीन लाख ५५ हजार ८४७ टन बढी उत्पादन भएको हो । आगामी आवमा पनि धान उत्पादनमा वृद्धि हुने अनुमान सरकारले गरेको छ । आर्थिक सर्वेक्षण अनुसार धानलगायतका बर्खे बालीको उत्पादनमा वृद्धि भए पनि हिउँदे बालीका साथै दुध, अन्डा तथा मासुको उत्पादनमा केही ह्रास भएको हुँदा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य वृद्धि अनुमान गरिएको छ । विगतका वर्षदेखि कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गइरहेको छ । आव २०७०/७१ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३०.३ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा यस्तो योगदान २४.१ प्रतिशत रहने अनुमान गरेको छ । आर्थिक सर्वेक्षण अनुसार चालु आवमा कृषि क्षेत्रको उत्पादन २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । गत आवमा यसको वृद्धि २.२ प्रतिशतले वृद्धि भएको थियो । पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.९ प्रतिशत रहेको छ । धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन ३.८५ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संविधानमा उल्लेखित स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताएका छन्। काभ्रेपलाञ्चोकको बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षणका क्रममा उनले स्वास्थ्यका क्षेत्रमा सरकारले अघि सारेका अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने बताएका हुन्। ‘संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक छ,’ मन्त्री बस्नेतले भने, ‘कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने र प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने उल्लेख गरिएको छ।’ मन्त्री बस्नेतलाई अस्पतालका सञ्चालक समितिका महासचिव हीरामणि शर्माले अस्पतालबाट प्रदान गरिने सेवाका बारेमा जानकारी गराएका थिए। निरीक्षणका क्रममा मन्त्री बस्नेतले बिरामीसँग अस्पतालका सेवाको अवस्था बारेमा छलफल गरेका थिए।

एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने तयारी

काठमाडौं । शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुर्‍याएको हो । बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । सोही आधारमा नतिजा प्रकाशनको लागि आवश्यक गृहकार्य भइरहेको बोर्डले जनाएको छ । उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण तथा रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा चढाउने काम भइरहेको जनाइएको छ ।

सुनको मूल्य घट्यो आज, हेर्नुस कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आज सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार ४ सय रुपैयाँ रहेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७० रुपैयाँ रहेको महासंघले जनाएको छ ।