पार्टी नेतृत्वप्रति बलियो साथ छ : प्रवक्ता सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को नेतृत्वप्रति सबैको बलियो साथ रहेको बताएका छन् । 

स्थायी समिति बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै सापकोटाले नेतृत्वको बहस नै नभएको विषय चर्चामा ल्याइएको बताए । उनले भने, 'पार्टी अध्यक्षप्रति सबैको बलियो साथ छ । प्रभाकरजीले समेत अध्यक्षको प्रस्तावमा विरोध गर्नु भएको छैन ।' 
 
सापकोटाले भने, 'हिजो र आजको बैठकमा अधिकांश सदस्यले नेतृत्वको विकल्प नरहेको प्रष्ट पारेका छन्। नेतृत्वलाई थप सुदृढ र सबल बनाउनुपर्नेमा जोड दिइएको छ।' उनले बाहिरी मञ्चमा नेतृत्व परिवर्तनको कुरा उठाउँदै आएका उपमहासचिव जनार्दन शर्मा प्रभाकर ले बैठकमा भने त्यसबारे नबोलेको बताए। 

उनका अनुसार, शर्माले आफ्ना अभिव्यक्तिप्रति आत्मालोचना गर्नुपर्ने भनी केही स्थायी कमिटी सदस्यले आवाज उठाए पनि उनले त्यसलाई स्वीकार गरेनन्।  

शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि जारी रहनेछ। शनिबार र आइतबार धेरैजसो सदस्यले आफ्ना धारणा राखिसकेका छन्। सापकोटाका अनुसार, सोमबार वरिष्ठ उपाध्यक्ष, महासचिव र अध्यक्षले आफ्ना धारणा राख्नेछन्।

हितराजको प्रश्न : जनार्दनका धारणा पार्टी लाइनभन्दा किन भिन्न सुनिन थाल्यो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता हितराज पाण्डेले उपमहासचिव जनार्दन शर्मा 'प्रभाकर'का धारणाहरु पार्टीलाइन भन्दा फरक सुनिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पार्टीको जारी स्थायी समिति बैठकमा आफ्नो धारणा राख्दै उनले जनार्दनका धारणाहरु पार्टीलाइन भन्दा फरक सुनिन थालेको बताएका हुन् ।  पाण्डेले अन्तरिम कालदेखि नै सदन र सरकारमा रहेर बोल्दा पार्टी र नेतृत्वलाई स्थापित गर्न भन्दा पनि आफू फरक हुँ भन्ने अभिव्यक्ति जनार्दनले राख्ने गरेको बताए । उनले भने्, 'सांसद प्रभाकरले सदनमा व्यक्त गरेको धारणा पार्टी लाइनभन्दा भिन्न सुनिन थालेको छ। उनले संसदको मर्यादाभित्र रहेर पनि नेतृत्वप्रति संशयजनक टिप्पणी गर्ने, सरकारमा सहभागी पार्टीका तर्फबाट स्पष्ट धारणा नबोल्ने तथा आफूलाई फरक हिसाबले प्रस्तुत गर्ने प्रवृत्ति देखिएको छ। जनार्दनका धारणा पार्टी लाइनभन्दा किन भिन्न सुनिन थाल्यो ?' पछिल्लो समय जनार्दनले भ्रष्टाचारमा डुबेको सरकारको आलोचना गरेर जनतालाई राहत दिने कुरा गर्नभन्दा पनि पार्टी अध्यक्षलाई विभिन्न प्रकारका आरोप लगाउने गरेको पाण्डेको भनाइ छ ।   

विचाराधीन मिडिया काउन्सिल विधेयक संशोधन नभए आन्दोलन गर्ने प्रेस सेन्टर नेपालको चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं । प्रेस सेन्टर नेपालले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति गम्भीर आपत्ति जनाउँदै संशोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । संगठनले आइतबार जारी गरेको विज्ञप्तिमा विधेयकका केही प्रावधान प्रेस स्वतन्त्रता, संविधान र राष्ट्रिय आमसञ्चार नीति-२०७३ विपरीत रहेको ठहर गरेको छ । महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा यी प्रावधानलाई ‘पञ्चायतकालीन कानूनभन्दा प्रतिगामी’ भनिएको छ । जसमा मिडिया काउन्सिलका पदाधिकारी नियुक्तिका लागि प्रस्तावित समितिमा सञ्चार मन्त्रालयका सचिव, सहसचिव र सरकारद्वारा मनोनीत विज्ञ समावेश गर्ने व्यवस्थालाई अस्वीकार गर्दै राष्ट्रिय सभा अध्यक्षको संयोजकत्वमा नयाँ समिति गठनको माग गरिएकाे छ ।  यसैगरी काउन्सिलको संरचना समानुपातिक समावेशी सिद्धान्तअनुसार हुनुपर्ने र सूचना प्रविधि, मानवअधिकार, सञ्चार नीतिका विज्ञलाई समावेश गर्नुपर्ने माग गरिएकाे छ ।  मन्त्रालयको सहसचिवलाई कार्यवाहक अध्यक्ष बनाउने प्रावधानको विरोध गर्दै वरिष्ठतम सदस्यलाई कार्यवाहक र खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी नियुक्तिको प्रस्ताव गरिएकाे छ ।  काउन्सिलको बजेट र वार्षिक प्रतिवेदन संवैधानिक आयोगसरह संसदमा प्रस्तुत गर्नुपर्ने माग राखिएकाे छ । प्रेस प्रतिनिधि वितरण र पत्रपत्रिका वर्गीकरणको जिम्मेवारी काउन्सिलमै रहनुपर्ने र यसका लागि स्वायत्त निकाय नबनुञ्जेल हालको व्यवस्थालाई सुधार गर्नुपर्ने भनिएकाे छ ।  प्रेस सेन्टरले विधेयक संशोधन नभए प्रेस स्वतन्त्रताका पक्षधरहरूसँग सहकार्य गरी चरणबद्ध आन्दोलन गर्ने जनाएको छ । महासचिव घर्तीमगरले संसद र सम्बन्धित समितिलाई प्रेस स्वतन्त्रताको रक्षाका लागि ऐक्यबद्धता जनाउन आग्रहसमेत  गरेका छन् । हेर्नुहाेस् विज्ञप्ति मिडिया काउन्सिल विधेयकबारे प्रेस सेन्टर नेपालबाट जारी प्रेस विज्ञप्ति प्रेस सेन्टर नेपाल प्रेस सेन्टर नेपालले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा संसदको विषयगत समिति र विभिन्न मञ्चहरूमा आफ्नो धारणा राखिसकेको छ । विधेयकका केही प्रावधानहरूबारे प्रेस सेन्टर नेपालको गम्भीर सरोकार रहेको छ । यस सम्बन्धमा थप स्पष्टता प्रदान गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ । १) राष्ट्रिय सभाबाट पारित विधेयकका प्रावधानप्रति ध्यानाकर्षण : राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन मिडिया काउन्सिल विधेयकका केही प्रावधानले प्रेस स्वतन्त्रतामाथि गम्भीर असर पार्ने देखिएको छ । यी प्रावधानहरूले विधेयकलाई पञ्चायतकालीन कानूनभन्दा पनि प्रतिगामी बनाउने जोखिम छ । यस्ता प्रावधानहरू विश्वव्यापी प्रेस स्वतन्त्रताको मान्यता, नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, राष्ट्रिय आमसञ्चार नीति, २०७३, र डा. सुरेश आचार्य नेतृत्वको आमसञ्चार क्षेत्र सुधार समितिको सुझावविपरीत छन् । २) पदाधिकारी नियुक्ति सिफारिस समितिको संरचना सुधार : विधेयकमा मिडिया काउन्सिलको पदाधिकारी नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सरकारले तोकेको एकजना विज्ञ र मन्त्रालयका सहसचिव रहने सिफारिस समिति बनाउने प्रावधान छ । यो प्रावधान राष्ट्रिय आमसञ्चार नीति, २०७३ को दफा २.१९ विपरीत छ र मिडिया काउन्सिललाई स्वतन्त्र, स्वायत्त र सक्षम निकाय बनाउन असफल हुन्छ । यसलाई संशोधन गरी राष्ट्रिय सभाका अध्यक्षको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री र संसदको विषयगत समितिका सभापति रहने सिफारिस समिति बनाइनुपर्छ । काउन्सिलका पदाधिकारीका कार्यकालको स्थायित्वलाई प्राथमिकता दिंदै हटाउनै परेमा नियुक्तिको सिफारिस गर्ने समितिले नै छानवीन गरेर दिएको प्रतिवेदनको आधारमा हटाउन सकिने प्रावधान राख्नुपर्छ । ३) पदाधिकारीको संरचनागत सुधार : मिडिया काउन्सिलको प्रस्तावित पदाधिकारी संरचना नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीतिले प्रत्याभूत गरेको समानुपातिक समावेशी सिद्धान्तविपरीत छ । काउन्सिलको अध्यक्ष र सदस्यहरूको नियुक्ति संघीय संरचना र समानुपातिक समावेशी सिद्धान्तका आधारमा हुनुपर्छ, जसले भौगोलिक, लैङ्गिक, क्षेत्रीय, जातीय र सामाजिक विविधतालाई प्रतिनिधित्व गरोस् । साथै, काउन्सिलमा सूचना प्रविधि, मानवअधिकार, सञ्चार नीतिजस्ता विषयगत विज्ञहरूको सहभागिता सुनिश्चित गरिनुपर्छ । काउन्सिल पत्रकारहरूको मात्रै होइन, सम्पूर्ण नागरिक हित र अभिव्यक्ति स्वतन्त्रताको संरक्षक निकाय हो भन्ने सन्देश स्पष्ट हुनु जरुरी छ । ४) कार्यवाहक अध्यक्षको व्यवस्था : काउन्सिलको अध्यक्षको नियुक्ति नभएको वा रिक्त रहेको अवस्थामा मन्त्रालयको सहसचिवलाई कार्यवाहक अध्यक्ष बनाउने प्रावधानले काउन्सिललाई मन्त्रालयको मातहतको निकाय बनाउँछ । यो प्रावधान हटाई काउन्सिलका सदस्यहरूमध्येबाट वरिष्ठतम सदस्यलाई कार्यवाहक अध्यक्ष बनाउने व्यवस्था गरिनुपर्छ । साथै, काउन्सिलमा खुला प्रतिस्पर्धाबाट पाँच वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रावधान राखिनुपर्छ । ५) बजेट र वार्षिक प्रतिवेदन : स्वतन्त्र र स्वायत्त निकायको रुपमा राख्न काउन्सिलको वार्षिक बजेट र काउन्सिलको वार्षिक प्रतिवेदन प्रस्तुत् नेपालका संवैधानिक आयोग बमोजिम हुनुपर्छ । ६) प्रेस प्रतिनिधि वितरण र पत्रपत्रिका वर्गीकरण : काउन्सिलबाट प्रेस प्रतिनिधि वितरण गर्ने प्रावधानको पुनरावलोकन गरी पत्रपत्रिका वर्गीकरणका लागि छुट्टै स्वायत्त निकाय गठन नहुँदासम्म काउन्सिलबाटै यो जिम्मेवारी सम्पादन गर्ने व्यवस्था राखिनुपर्छ । ७) प्रेस स्वतन्त्रताको रक्षा : प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, नेपालको संविधान, राष्ट्रिय आमसञ्चार नीति, २०७३, आमसञ्चार क्षेत्र सुधार समितिको सुझाव, र नेपाल पत्रकार महासंघलगायत सम्बद्ध संगठनहरूसँग भएको समझदारीअनुसार प्रेस सेन्टर नेपालले उठाएका यी विषयहरूलाई सम्बोधन गरी विधेयक संशोधन गरिनुपर्छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति तथा समग्र प्रतिनिधि सभालाई यो विषयमा गम्भीर ध्यानाकर्षण गराइन्छ । ८) दबाबमूलक कार्यक्रममा सहकार्यको आह्वान : मिडिया काउन्सिल विधेयकका कतिपय प्रावधान संशोधन गराउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्न प्रेससँग सम्बन्धित सबै संघसंस्थालाई प्रेस सेन्टर नेपाल सहकार्यको आह्वान गर्दछ । यदि विधेयक संशोधन नभएमा प्रेस सेन्टर नेपाल चरणबद्ध आन्दोलनमा उत्रने घोषणा गर्दछ । धन्यवाद ।   १८ साउन २०८२  (मनोज घर्तीमगर)   महासचिव

हुम्लामा बाख्रा चराउन जाँदा भिरबाट लडेर एककाे मृत्यु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन गएका नान बुढाको भिरबाट लडेर मृत्यु भएको छ । शनिबार अदानचुली–३, माझखर्कस्थित पानीटोट्का जङ्गलमा बाख्रा चराउन गएका ३६ वर्षीय नान बुढाकाे भिरबाट लडेर घटनास्थलमै ज्यान गुमाएका हुन् । बाख्रा चराउन खर्कबाट जङ्गल गएका बुढा साँझसम्म खर्कमा नफर्किएपछि उनकी श्रीमतीले खोजी गर्दा पानीटोट्का जङ्गलको भिरबाट करिब १०० मिटर तल मृत अवस्थामा फेला परेको बुहारी शान्ति बुमी (बुढा)ले बताइन् । जङ्गल घरबाट टाढा, गल्फागाड खोला पारि भएकाले मृतकको शव लिन स्थानीयवासी त्यसतर्फ गएका छन् । खर्कमा मृतक र उनकी श्रीमतीमात्र रहेकाले घटनाको जानकारी बिहानमात्र परिवारलाई प्राप्त भएको थियो । जानकारी पाउनासाथ शव ल्याउन स्थानीय गएका छन्। यो क्षेत्रमा यतिबेला सबैको पशुचौपाया खर्कमा राख्ने गरिएको छ ।

माओवादी स्थायी समिति बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा आज बोल्न बाँकी सदस्य तथा पदाधिकारीले आफ्नो धारणा राख्नेछन् ।  शुक्रबार सुरु बैठकमा हिजो पदाधिकारी र स्थायी समिति सदस्य गरेर २५ जनाले आफ्नो धारणा राखेका थिए । आज बाँकी पदाधिकारी तथा सदस्यहरूले धारणा राख्नेछन् । बोल्नेहरू सबैले अध्यक्ष प्रचण्डको प्रस्तावमा समर्थन जनाएका छन् ।

प्रचण्डको चेतावनी: "संघर्ष अधुरो छ, फेरि शान्तिपूर्ण विद्रोह अपरिहार्य छ"

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा क्रान्तिको अध्याय अझै पूर्ण रूपमा सम्पन्न नभएको कुरा व्यक्त गर्नुभएको छ। उहाँले क्रान्तिका बाँकी कार्यभारहरू सम्पन्न गर्न नयाँ ढङ्गले शान्तिपूर्ण विद्रोहको आवश्यकता रहेको बताउनुभयो। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सम्बोधन गर्नुहुँदै  प्रचण्डले मुलुकमा क्रान्तिको अध्याय अझै पूर्ण रूपमा सम्पन्न नभएको कुरा व्यक्त गर्नुभएको छ। उहाँले क्रान्तिका बाँकी कार्यभारहरू सम्पन्न गर्न नयाँ ढङ्गले शान्तिपूर्ण विद्रोहको आवश्यकता रहेको बताउनुभयो। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले विगतका सङ्घर्षहरू अपूर्ण रहेको र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रविरुद्ध नयाँ सङ्घर्षको तयारी गर्नुपर्ने कुरामा जोड दिनुभयो। एक पटक अझै क्रान्ति गर्नुपर्ने अवस्था आएको प्रचण्डले बताउनु भयो । उहाँले  भन्नुभयो, 'मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभा हुँदै यहाँसम्म अझै पनि जिवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो ।' उहाँले जनयुद्धदेखि संविधान निर्माणसम्मको यात्रामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको भए पनि परिवर्तनका सम्पूर्ण लक्ष्यहरू प्राप्त नभएको कुरा उल्लेख गर्नुभयो। “म अझै जीवित छु, किनभने पुनः विद्रोहको आवश्यकता छ,” भन्नुहुँदै उहाँले वर्तमान परिस्थितिमा क्रान्तिकारी भावनालाई पुनर्जागृत गर्न कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो। उहाँले शान्ति प्रक्रियाका बाँकी कार्यहरू अपूर्ण रहेको र त्यसमा बाधा पुर्‍याउने तत्वहरू सक्रिय रहेको टिप्पणी गर्नुभयो। “हामी एकताबद्ध नभए प्रतिक्रियावादी शक्तिहरू बलिया हुनेछन्,” भन्दै उहाँले सजग रहनुपर्ने सन्देश दिनुभयो। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिनुपर्ने मागलाई पुनः दोहोर्‍याउनुभयो। उहाँका अनुसार जनयुद्ध कुनै अदालती बहस नभई जनताको गौरवमय इतिहास हो, जसलाई आत्मसात गर्नु अनिवार्य छ।

बैतडीमा तीन दिनदेखि महिला बेपत्ता

बैतडी । बैतडीको सिगास गाउँपालिका घर भएकी एक महिला तीन दिनदेखि बेपत्ता छिन् । बेपत्ता हुनेमा सिगास–४ सिराडीकी २७ वर्षीया भागरथी साउँद रहेकी छिन् । यही साउन १५ गते राति नगद र लत्ताकपडासहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा नआएको भागरथीका भतिजा चन्द्रसिँह साउँदले जानकारी दिए। भागरथीका श्रीमान रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन् । भागरथी बेपत्ता भएको बारेमा उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।

सिङ्चाङमा उदाहरणीय कागतीखेती

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–४, सिङ्चाङमा कागतीखेतीले नयाँ आयाम लिइरहेको छ । मलेसियामा लामो समय बिताएर फर्किएका देवचुलीका दीपक चापागाईँ र देवीप्रसाद भुसालले संयुक्त रूपमा ८० रोपनी जमिनमा कागतीखेती सुरु गरेका छन् ।  पाँच वर्षअघि दुई हजार बिरुवा रोपेर थालिएको यो खेतीले अहिले राम्रो उत्पादन दिन थालेको छ । यस वर्ष ५० क्विन्टल कागती बजारमा पठाइसकिएको छ भने करिब ५०० क्विन्टल उत्पादन हुने अनुमान छ । चापागाईँ भन्छन्, “विदेशमा धेरै समय बिताएँ, तर स्वदेशमै कृषिमा सम्भावना देखेर कागतीखेती सुरु गरेँ । अहिले फल लाग्न थालेपछि आशा जागेको छ ।” उनीहरूले सफल कृषि फार्म र भुसाल कृषि फार्ममार्फत कागती र सुन्तलाखेती विस्तार गरिरहेका छन् । सिङ्चाङमा यो खेतीले अन्य किसानलाई समेत आकर्षित गरेको छ । गाउँमा करिब चार हजार कागतीका बिरुवा रोपिएका छन् ।  साथै, उनीहरूले नर्सरीमार्फत बिरुवा उत्पादन र बिक्री पनि गर्दैछन् । हालसम्म कागतीखेतीमा एक करोडभन्दा बढी लगानी भइसकेको छ, जसले स्थानीय स्तरमा रोजगारीसमेत सिर्जना गरेको छ । नवलपुरमा कागतीखेती फस्टाउँदै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार, जिल्लामा करिब १५० किसानले ५० हजारभन्दा बढी कागतीका बिरुवा रोपेका छन् । यस वर्ष जिल्लाबाट ५०० मेट्रिक टन कागती उत्पादन हुने अनुमान छ ।  राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ‘फलफूल जोन विकास कार्यक्रम’ ले नर्सरी व्यवस्थापन, बिरुवा अनुदान र रोग–कीरा नियन्त्रणका लागि औषधि प्रदान गर्दै कागती र सुन्तलाखेती प्रवर्द्धन गरिरहेको छ । यद्यपि, उत्पादन बढे पनि बजार व्यवस्थापनमा चुनौती छ । हाल कागती प्रतिकेजी ८५ रुपैयाँमा बिक्री भइरहेको छ, जुन किसानका लागि कम मूल्य हो । उचित मूल्य र बजार सुनिश्चित गर्न सरोकारवालाले पहल गर्नुपर्ने किसानको माग छ । कार्यक्रम कार्यान्वयन एकाइका वरिष्ठ कृषि अधिकृत देवीप्रसाद अधिकारीका अनुसार काठमाडौँ, पोखरा र चितवनलगायतका बजारमा कागतीको बजारीकरणका लागि प्रयास भइरहेको छ ।

म्याग्दीमा एक वर्षमा ८७४ घरमा विद्युत् विस्तार

म्याग्दी । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा म्याग्दी जिल्लाका विभिन्न क्षेत्रमा ८७४ घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।  केन्द्रका प्रमुख सत्यनारायण गामीले मालिका गाउँपालिका–३ को पात्ले, लुप्सीपार, घ्याङलेपानी, वडा नं ४ को चिउरीबोट, धवलागिरि गाउँपालिकाको बुल र मलम्पारमा विद्युतीकरण सम्पन्न भएको जानकारी दिए । उनका अनुसार धवलागिरि गाउँपालिका–२ को लुलाङ, लमसुङ, खोरिया, मरेनी, वडा नं ५ को मल्कवाङ, मालिका गाउँपालिका–४ को महभिर, वडा नं ५ को पन्थोक र जुग्जामा विद्युतीकरणको काम अन्तिम चरणमा छ । पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडानको काम सकिएकाले मिटर जडानपछि यी क्षेत्रमा विद्युतीकरण पूर्ण हुनेछ । गत वर्ष अन्नपूर्ण गाउँपालिका–६ को पर्यटकीयस्थल पुनहिलमा विद्युतीकरण र घोडेपानीको वितरण लाइन सुधारिएको थियो । एक सय ३२ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र रातोढुङ्गा सबस्टेशनमार्फत मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा विद्युत् आपूर्ति सुरु भएको छ । धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले सोलार, मट्टितेलको टुकी र दियालोमा निर्भर स्थानीयवासीमा विद्युत् पुगेपछि खुसीयाली छाएको बताए । विद्युतीकरणले घरायसी काम, विद्यार्थीको पढाइ र उद्यम–व्यवसाय सञ्चालनमा सहजता आएको छ । म्याग्दी वितरण केन्द्रअन्तर्गत हाल २३ हजार ८६९ ग्राहक छन् । आव २०८०/८१ मा एक हजार ४३८, २०७९/८० मा एक हजार २३८ र २०७८/७९ मा ७७० घरमा नयाँ लाइन जडान भएको प्राधिकरणको तथ्याङ्क छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज र वारीबेनीमा पनि मिलनचोक सबस्टेशनमार्फत विद्युत् वितरण भइरहेको छ । प्राधिकरणले आव २०८०/८१ देखि म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरमा विद्युत् विस्तारका लागि २२ करोड रुपैयाँको योजना सञ्चालन गरेको छ । गत वर्ष एक करोड ७३ लाख ९५ हजार ७९७.७१ युनिट विद्युत् खपत हुँदा २० करोड ३३ लाख ६३ हजार ३८१ रुपैयाँ महसुल सङ्कलन भएको छ । समयमा महसुल नबुझाउने १४५ ग्राहकको लाइन काटेर १३ लाख ४५ हजार ४०७ रुपैयाँ बक्यौता असुल गरिएको छ । प्राधिकरणका अनुसार ६० दिनसम्म महसुल नबुझाउनेको लाइन काटिन्छ भने छ महिनासम्म नबुझाउनेलाई कालोसूचीमा राखिन्छ । कालोसूचीमा परेका एक जनाबाट ७७ हजार र ११ जनाबाट २ लाख ७८ हजार ९०४ रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ ।  

खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यावसायिक उत्पादन सुरु

खोटाङ । ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’ को अवसरमा शुभम् फाउन्डेसन दिक्तेल खोटाङले ‘दिक्तेल कोदो बिस्कुट’ को व्यावसायिक उत्पादन सुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदानमा खरिद गरिएको उपकरण जडान गरी फाउन्डेसनले कोदोको बिस्कुट उत्पादन शुरू गरेको हो । कोदोको पिठो, घ्यू, दूध र चिनी प्रयोग गरी उत्पादित एकसय ग्रामको प्याकेटको मूल्य ५० रुपैयाँ तोकिएको छ । नगरपालिकाको रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत उत्पादित यो बिस्कुटलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, तीनवटै सुरक्षा निकायका प्रमुख र वडा नं २ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईले संयुक्त रूपमा सार्वजनिक गरे । प्रथम राष्ट्रिय कोदो दिवसमा बिस्कुटसँगै कोदोबाट बनेका केक, मोमो, कुकिज, सेलरोटी, सुक्खा रोटी, खिर र तोङ्बा प्रदर्शनीमा राखिएको थियो । यो प्रदर्शनी कृषि ज्ञान केन्द्र खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शुभम् फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेका थिए । शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राईका अनुसार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्ड पूरा गरी बिस्कुटको व्यावसायिक उत्पादन सुरु गरिएको छ । “कोदोको परिकारलाई बजारमा ल्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘दिक्तेल कोदो बिस्कुट’ उत्पादन शुरू गरेका हौँ । यो आजैबाट बजारमा पठाइएको छ,” उनले भने, “उपभोक्ताको मागअनुसार कोदोका अन्य परिकार पनि उत्पादन गर्ने तयारी छ ।” जिल्लामा उत्पादित कोदो फाउन्डेसनको उद्योगमा खपत हुने भएकाले कृषकहरूले सहजै आम्दानी गर्न सक्ने भएका छन् । जिल्ला समन्वय समिति प्रमुख राईले कोदोको बिस्कुट स्वादिष्ट, गुणस्तरीय र स्वास्थ्यवर्द्धक भएको बताउँदै यसको प्रवर्द्धनमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे । “स्थानीय उत्पादनको प्रवर्द्धनले मात्र समृद्धि सम्भव छ । शुभम् फाउन्डेसनले परम्परागत कोदोलाई आधुनिकीकरण गर्ने कामको थालनी गरेको छ,” उनले भने । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यबाहक नगरप्रमुख विशन राईले रैथाने बाली संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले १७औँ नगर सभाबाट नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिए । “नगरवासीको आय वृद्धिका लागि उपप्रमुखसँग कृषक कार्यक्रम लागू गरेका छौँ । यो कार्यक्रमले धेरै कृषकलाई व्यावसायिक बनाएको छ,” उनले भने, “स्थानीय उत्पादन प्रवर्द्धनमा सङ्घीय कानुन बाधक छ। यसलाई संशोधन गर्न नगरप्रमुखको नेतृत्वमा आन्दोलन जारी छ ।” नगरपालिकाले कोदोका परिकारलाई विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको रूपमा उपयोग गर्ने योजना बनाएको छ । कोदोका परिकारले मधुमेह, मुटुरोग, रक्तअल्पता नियन्त्रण, हड्डी बलियो बनाउने र रगतको मात्रा बढाउने औषधीय गुण बोकेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुई समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।  सो समितिले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण तथा हालसम्म वितरण गरिएका जग्गाको तथ्याङ्क र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल गरिने सूचनामा उल्लेख छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातत्व विभागसँग ग्यालरी बैठकको पुरातात्विक सम्पदाको संरक्षणका बारेमा छलफल हुनेछ । यस्तै, महालक्ष्मीस्थान मन्दिर परिसरमा निर्माण भएको व्यायामशाला र स्वयम्भूको जग्गा व्यक्तिको नाममा नामसारी भएको भन्ने विषयमा छलफल, सहरी विकास तथा भवन निर्माण विभागसँग ग्यालरी बैठक पुनर्निर्माणको अवस्था र निर्माणाधीन संसद् भवनको पछिल्लो अवस्थाबारे छलफल गर्ने सूची छ । 

सुदूरपश्चिम प्रदेश: एक वर्षमा दस अर्बको भौतिक पूर्वाधार निर्माण

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब एक करोड रुपियाँ खर्चेर भौतिक पूर्वाधार निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार यस अवधिमा १०६ किमि कालोपत्रे सडक, १०३ किमि ग्राभेल सडक, १४७ किमि माटे सडक र ६ वटा सडक पुल निर्माण भएका छन् । यस्तै, ६ वटा सरकारी तथा सामुदायिक भवन, ११० निजी आवास, ३ एकीकृत आवास, २७ सरकारी तथा सामुदायिक भवन मर्मत, २ कभर्ड हल, ३ पार्क र १० खेलमैदान निर्माण गरिएको मन्त्रालयका इन्जिनियर नरेश शर्माले बताए । प्रदेश सरकारको लगानीमा २६ किमि तटबन्ध निर्माण गरी ३७ हेक्टर जमिन नदी कटानबाट जोगाइएको छ। साथै, १३,९४७ हेक्टर जमिनमा सिँचाइ विस्तारका लागि २४१ किमि पक्की कुलो, २ किमि कच्ची कुलो, ३२ डिप ट्युबेल, १६६ सिँचाइ पोखरी र ७६ किमि पाइपलाइन निर्माण भएको छ । गत आर्थिक वर्षमा मन्त्रालयलाई १४ अर्ब ४१ करोड रुपियाँ बजेट विनियोजन भएकोमा ४ अर्ब खर्च हुन नसकेको मन्त्रालयले जनाएको छ ।

उदयपुरकाे त्रियुगा र माेदी बेनी नदीमा जलसतह बढेपछी सतर्कता अपनाउन आग्रह

काठमाडौं । उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान हुने होचा भूभागमा सावधानी अपनाउन आग्रह गरिएको छ । यस्तै, पर्वतको कालीगण्डकी नदीस्थित मोदी बेनी जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको छ। नदी तटीय क्षेत्र, कमजोर जमिन र भिरालो क्षेत्रमा पहिरोको जोखिम रहेकाले सतर्क रहन विभागले अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ छ । विभागका अनुसार आज देशभर बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित मध्यम वर्षा देशका धेरै स्थानमा हुने अनुमान छ । राति पनि देशभर बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका तराई र अन्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

के के भयो त आजको स्थायी समिति बैठकमा ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का जारी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति तथा संगठनात्मक विषयमा गर्नुभएको ब्र्रिफिंगमाथि सबैजसो सदस्यहरुले दृढ समर्थन जनाएका छन् ।    हिजो साउन १६ बाट सुरु भएको स्थायी समिति बैठकको दोश्रो दिन सबै सदस्यहरुलाई बोल्ने कार्यसूचि तय गरिएको थियो । आज बोल्ने सबै सदस्यहरुले पार्टीमा कुनै विवाद या असहमति भए त्यसलाई पार्टी समितिभित्रै छलफल गरिनुपर्नेमा जोड दिएका थिए ।  माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले केही समयमा सार्वजनिकरुपमा नै पार्टी अध्यक्ष प्रचण्डलक्षित आलोचना गरेको विषयमा आज बोल्ने सबै सदस्यहरुले शर्माको आलोचना गरेका थिए । विधि र पद्धतीको कुरा गर्नेले आफूले विधि मान्नुपर्दैन भन्ने प्रश्न गर्दै सबैजसो सहभागीले अहिलेको परिस्थितिमा अध्यक्ष प्रचण्डको विकल्पबारे सोच्न नसकिने जिकिर गरे ।    प्रचण्ड नभएको भए माओवादी आन्दोलन यहाँसम्म विकास हुन नसक्ने र उपलब्धिहरु हासिल हुन नसक्ने भन्दै सदस्यहरुले प्रचण्डको तुलना बाबुराम या अरु कसैसँग गर्नु गलत भएको टिप्पणी गरेका थिए । यसैगरी सम्बन्धित पार्टी समितिबाहिर गएर सार्वजनिकरुपमा पार्टी र नेतृत्वबारे आलोचना गर्दै हिँडनु अराजकता भएको ठहर गर्दै सहभागीहरुले नेतृत्वको रक्षार्थ गोलबद्ध हुनुपर्ने धारणा राखे । वैचारिक, सांस्कृतिक, सांगठनिक, सांस्कृतिकरुपमा केन्द्रीकरणका लागि अध्यक्ष प्रचण्डको नेतृत्व अपरिहार्य रहेको धारणा स्थायी समिति सदस्यहरुले व्यक्त गरे ।    अघिल्लो स्थायी समिति बैठकमा जनार्दन शर्माका पक्षमा अभिव्यक्ति दिने स्थायी समिति सदस्यहरुले समेत शर्माका गतिविधिहरु पार्टीलाई नै कमजोर पार्ने भएको टिप्पणी गर्दै आलोचना गरेका थिए ।    अहिले पार्टीका अगाडि बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु जोगाउने र कुशासनविरुद्ध संघर्ष गर्ने प्रमुख कार्यभार रहेकोमा जोड दिँदै स्थायी समिति सदस्यहरुले पार्टीभित्रको विवाद सिर्जना गर्दा प्रतिक्रियावादी र प्रतिगामी तत्वहरुलाई नै फाइदा पुग्ने बताए । पार्टीमा विवाद देखिँदा प्रधान कार्यभार नै ओझेलमा पर्ने, विरोधी शक्तिहरुलाई माओवादीलाई विभाजनतर्फ लैजाने षडयन्त्र गर्न सक्ने कुरामा सचेत हुनुपर्ने बताउँदै उनीहरुले जनतासँगको सम्बन्ध सुदृढ हुँदै गएको बेला नेता शर्माका गतिविधिहरुले पार्टीलाई नोक्सानी पुगेको बताए ।  व्यक्तिगत मतलाई विचार या पद्धतीसँग जोडेर प्रचार गरिनु गलत भएको भन्दै उनीहरुले सबै स्वार्थ समूह विघटन हुनुपर्ने अध्यक्ष प्रचण्डको विचारमा समर्थन जनाएका थिए । पार्टीमा व्यक्तिका आधारमा गुटबन्दी भएकोमा उनीहरुको आपत्ती थियो ।    आज १८ जना स्थायी समिति सदस्य, अनुशासन आयोगका संयोजक टंक राई र ५ जना पदाधिकारीहरुले धारणा राखेका थिए । आज धारणा राख्नुहुने पदाधिकारीहरुमा गंगानारायण श्रेष्ठ, मातृका यादव, देवेन्द्र पौडेल, राम कार्की र वर्षमान पुन अनन्त रहेका छन् ।    स्थायी समितिको बैठक भोली ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा जारी हुने माओवादी केन्द्रले जनाएको छ ।    यसअघि हिजो बैठकको शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा स्वार्थ समूह विघटन गरिनुपर्ने, जनवादी केन्द्रीयताको नीति कडाईका साथ पालना गर्नुपर्ने, असहमतिहरुलाई पार्टीभित्रै छलफल गरिनुपर्ने कुरामा जोड दिँदै पार्टीलाई एकतावद्ध बनाउन अपील गरेका थिए । 

माओवादी बैठकमा बाबुरामको आलोचना : प्रचण्ड नभएको भए हामी कहाँ हुन्थ्यौँ ?

काठमाडौं । नेपाल कम्युनिष्ट  पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा माओवादी छाडेर बसेका डा. बाबुराम भट्टराईको अर्को आलोचना भएको छ । माओवादी पार्टी र अन्य पार्टी एउटै खालका भन्ने अभिव्यक्ति दिएका भट्टराईको चर्को आलोचना भएको हो ।  स्थायी समिति सदस्य डा. विजयप्रकाश सैँजुले बाबुराम भट्टराईले केपी ओली र प्रचण्ड उस्तै भनेको कुरा स्मरण गर्दै बहसमा आउन चुनौती दिए । उनले बैठकमा भने, 'प्रचण्ड नभएको भए तपाइँ र हामी कहाँ हुन्थ्यौँ ? हामी यहाँ आउने अवस्था नै थिएन । अन्य पार्टी र माओवादी पार्टीको नेतृत्व कमरेड प्रचण्डबीच आकाश पातालको फरक छ । म डा. भट्टराईसँग बहस गर्न तयार छु ।'  डा. सैंजुले पार्टीभित्र संगठनात्मक पद्दतीविरुद्ध बोल्ने काम भएको भन्दै उपहासचिव जनार्दन शर्माको आलोचना गरे । त्यस्तै बैठकमा धारणा राख्दै स्थायी समिति सदस्य पूर्णकुमारी सुवेदीले पार्टीभित्र देखिएको सांगठनिक अराजकता नियन्त्रणको माग गरिन् । उनले भनिन्, 'बाहिर अभिव्यक्ति दिँदा विधि मिच्नु भएन । विधि मिच्नेले नै विधिको कुरा गर्ने ? यो सांगठनिक अराजकता हो । अहिले नेतृत्वको रक्षा गदै गोलबद्ध हुनुपर्छ ।'  बैठकमा आफ्ना  धारणा राख्दै स्थायी समिति सदस्यहरु टंक राई र प्रह्लाद बुढाथोकीले अध्यक्ष प्रचण्डले पार्टी बैठकमा राखेको प्रस्तावको समर्थन गरेका छन् । उनीहरुले पनि विधि पद्दतीअनुसार नै सबैजना चल्नुपर्नेमा जोड दिएका छन् ।  अर्का स्थायी समिति सदस्य खगराज भट्टले वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक केन्द्रीकरणका लागि अध्यक्ष प्रचण्डको नेतृत्व् अपरिहार्य भएको बताए । उनले भने, 'पार्टीभित्र विधि सबैले मान्नुपर्छ । अध्यक्षको प्रस्तावलाई एकमतले पारित गरेर जनतामा जानुको विकल्प छैन ।'  जारी बैठकमा अर्का स्थायी समिति सदस्य कालीबहादुर मल्लले अध्यक्षको प्रस्तावलाई समर्थन गर्दै मध्यपहाडी राजमार्ग केन्द्रित अभियानले जनतामा उत्साह ल्याएको बताएका छन् ।    बैठकमा अन्य सदस्यले धारणा राख्ने क्रम जारी छ । 

वैदेशिक रोजगारीको बहानामा भारत पुर्‍याइएका सात नेपाली किशोरीको उद्धार, दुई पक्राउ

झापा । वैदेशिक रोजगारीको बहानामा भारत पुर्‍याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट उद्धार गरिएको छ । मानव तस्करीको अभियोगमा भारतीय प्रहरीले दुई पुरुषलाई पक्राउ गरेको माइती नेपालका कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए । घिमिरेका अनुसार शुक्रबार भारतीय प्रहरीले किशोरीहरूलाई उद्धार गरेको हो । उद्धार गरिएका किशोरीहरू सङ्खुवासभा जिल्लाका हुन् । उनीहरूलाई खोरीबारी प्रहरी थानामा राखिएको छ भने पक्राउ परेका अभियुक्तहरू दार्जिलिङ, तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ र सङ्खुवासभाको मकालु–३ का ६१ वर्षीय जपन गुरुङ हुन् । अभियुक्तहरूले किशोरीहरूलाई हङ्कङमा रोजगारीको प्रलोभन देखाएर काँकडभिट्टा हुँदै पानीटङ्की पुर्‍याएका थिए । सिलिगुढीमा नक्कली आधार कार्डलगायत कागजात बनाउन लैजाँदै गर्दा भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । किशोरीहरूलाई नेपाल फिर्ता ल्याउन माइती नेपालको टोली शुक्रबार पानीटङ्की पुगेको थियो । तर, कानुनी प्रक्रियाका कारण भारतीय प्रहरीले उनीहरूलाई खोरीबारी थानामै राखेको घिमिरेले बताए । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले यस घटनाबारे भारतीय प्रहरीबाट कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।