चिकित्सक कुटपिट घटना : ६ बुँदे सहमती, विरोधका कार्यक्रम स्थगित(सहमतिसहित)

काठमाडौं। आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ ।स्वास्थ्य मन्त्रालयमा आइतबार भएको वार्तामा हेटौंडामा डाक्टरमाथि आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार कारबाही गर्ने लगायतका ६ बुँदे सहमति भएको हो।

वार्तामा दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार कारबाही गर्ने सहमति भएको वार्तामा सहभागि एक सदस्यले मेडिकलपत्रलाई जानकारी दिए।

घटनामा संलग्न ४ जना यसअघि नै पक्राउ परेका छन् भने पाँच जनालाई पक्राउ पुर्जी जारी भएको छ।

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा विकास थापा र डा प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो।

चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आइतबार आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि स्वास्थ्य मन्त्रलयले अतिरिक्त सचिव डा विकास देवकोटाको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो।

यस्तो छ सहमतिपत्र

अब १०३ प्रकारका औषधि उत्पादन र बिक्रीमा रोक (सूचनासहित)

काठमाडौं । औषधि व्यवस्था विभागले १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको छ । विश्व स्वास्थ्य संगठनद्धारा सिफारिस नगरिएका प्रतिजैविक औषधि र समिश्रणहरूलाई रोक लगाउने निर्णय गरिएको हो । नेपाली उद्योगले अब ती औषधिहरू उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्नसमेत पाउने छैनन् । काठमाडौं । औषधि व्यवस्था विभागले १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको छ । विश्व स्वास्थ्य संगठनद्धारा सिफारिस नगरिएका प्रतिजैविक औषधि र समिश्रणहरूलाई रोक लगाउने निर्णय गरिएको हो । नेपाली उद्योगले अब ती औषधिहरू उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्नसमेत पाउने छैनन् । १०३ प्रकारका औषधि दर्ता अनुमति नदिने तथा उत्पादन बिक्री वितरणका लागि लाइसेन्ससमेत नदिने विभागको निर्णय छ । हाल बजारमा त्यस्ता औषधिहरू बिक्री भइरहेको भए ६ महिनाभित्र सक्नुपर्ने र ६ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले निर्देशन दिएको छ । एन्टिबायोटिक औषधिको प्रयोग न्यूनीकरण गर्न र तथ्यमा आधारित उपचार प्रणालीलाई बढावा दिन यस्तो निर्णय गरिएको विभागले जनाएको छ । यस्तो छ विभागको सूचना

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमद्वारा जारी विज्ञप्तिमा अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको उल्लेख छ । सहसचिव गौतमले पाँच सदस्यीय वार्ता समिति गठन गरिएको बताए। समितिले आन्दोलनरत नेपाल चिकित्सक सङ्घलाई वार्तामा बोलाएको छ । डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् । चिकित्सकहरूले सुरक्षाको माग गर्दै आज अस्पताल र स्वास्थ्य संस्थाहरू ठप्प पारेका हुन् । यही भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै थापा र बिडारीमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई गत बिहीबार पक्राउ गरेको थियो ।

भोलि हरितालिका तीज : व्रत बस्न आडका लागि आज दर खाने दिन

काठमाडौँ । नेपाली हिन्दु नारीले हरितालिका तीज व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि यो पर्व मनाउन थालिएको छ । तीजका गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउछन् । माइती पक्षले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा वर्तालुका लागि अझ आडिलो हुने अनुभवीको भनाइ छ । नीराहार व्रतका लागि आडिलो बनाउन दर तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रुपमा खाइ मङ्गलबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउछन्। महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् । विकृतिमा परिणत हुँदै तीजको संस्कृति पछिल्ला वर्षमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राईको धारणा छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा दर खाने दिनका लागि तोकिएको छ । पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ । दर खाएर सुरु गरिँदै चार दिने तीज आइतबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृर्तीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यसवर्ष असोज २ गते मङ्गलबार भगवान् गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौँथी र ऋषिपञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषिपञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ । असोज २ गते मङ्गलबार बिहान चौँथी तिथि र त्यसै दिन मध्याह्नकालमा पञ्चमी तिथि परेकाले दुवैपर्व एकै दिन मनाउनुपर्ने गरी निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । हरितालिकाको पौराणिकता तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गर्छ । तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि तीजसम्बन्धी गीत प्रसारणलाई प्राथमिकता दिने गरेका छन् । तीजसँगै समग्र माहोल नै पर्वमय बन्न पुगेको छ ।रासस

पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु र मदिरा निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा बिक्री–वितरण र प्रयोगमा रोक लगाएको छ । सोमबार (भोलि) तिजको अवसरमा पशुपति क्षेत्रभित्र चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ । रोक लगाइएको क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ उत्पादन, बिक्री–वितरण, भण्डारण र सेवन गर्न आजदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नियम उल्लंघन गर्नेलाई कारबाही गरिने बताइएको छ ।

देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार (आज) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा संघले आज आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघले जनाएको छ । यही भदौ २७ गते डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले शनिबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो ।यद्यपी आक्रमण गर्ने परिवार गुमाएका एकै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरीसकेको छ । देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि संघले गरेको छ ।  

काठमाडौं तीनकुनेको सामुहिक हत्याकाण्डः अनुसन्धान समिति गठन

काठमाडौं । तीनकुनेमा भएको सामुहिक हत्याकाण्डको छानबिनका लागि प्रहरी अधिकृतसम्मिलित अनुसन्धान समिति गठन भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा ५ सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो। थापाका अनुसार सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी प्रहरी नायव उपरीक्षक सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनका प्रहरी नायव उपरीक्षक सुरक्षा के।सी। र प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र के।सी।रहेका छन्। घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि र लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न हुन अनुरोध गरिएको थापाले बताए। गैह्रीगाउँको दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा कार्यरत कुमार भुजेलको परिवारका तीनजना सहित चार जनाको शव फेला परेको थियो। प्रहरीका अनुसार दोलखाका ५६ वर्षीय कुमार भुजेल, ५२ वर्षीया उनकी श्रीमती अम्बिका भुजेल, ७६ वर्षीया आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राईको शव फेला परेको हो। उनीहरुको टाउको र शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको छ। प्रहरीले उनीहरुको हत्या गरेको आशंकामा काठमाडौं महानगरपालिका ३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ।

काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या

काठमाडौं । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको छ । धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको हो । हत्या हुनेमा २ महिला र दुई जना पुरुष रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोध ढुङ्गेलले बताए । ढुङ्गेलका अनुसार दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राईको हत्या भएको हो । गैह्रीगाउँ स्थित दिव्य सः मिलमा चारै जना कार्यरत थिए । शुक्रबार राति १२ बजेतिर उक्त घटना भएको बताइएको छ । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ । घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।

चार प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। शनिबार बिहान सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। यस्तै, शनिबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास सम्भव : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो भएको बताएका छन् । साथै उनले निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास हासिल गर्न सकिन्छ भन्दै सरकारको पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित हुने रहेको स्पष्ट पारे । नेपाल उद्योग परिसंघ (सिएनआई) को बीसौँ वार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले १६औं योजना तर्जुमा गर्दा अर्थतन्त्रलाई प्राथमिकतामा राखेको परिप्रेक्ष्यमा परिसंघको समन्वयकारी भूमिकाप्रति आभार प्रकट पनि गरे । प्रधानमन्त्रीले भने, ‘‘सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो । आर्थिक विकासबाट मुलुकलाई समृद्ध हुँदै बलियो राष्ट्रको रूपमा अगाडि बढाउनुपर्ने छ । सरकारको आर्थिक समृद्धिको चाहना पूरा गर्न, तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्ने उद्देश्यले परिसंघले सुरु गरेको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियान महत्वपूर्ण छ । स्पष्ट योजनासहित अगाडि बढाइएको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियानलाई नेपाल सरकारले पनि अपनत्व लिएको छ ।’’ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ बीसौँ सभाका अध्यक्षज्यू, माननीय अर्थमन्त्रीज्यू, कार्यक्रमका अतिथिहरू, निजी क्षेत्रसम्वद्ध संघरसंगठनका प्रमुख एवं प्रतिनिधिहरू, कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, उद्योगी–व्यवसायी मित्रहरू, सञ्चारकर्मी साथीहरू, उपस्थित आदरणीय महानुभावहरू । सर्वप्रथम नेपाल उद्योग परिसंघको बीसौँ वार्षिक साधारण सभाको अवसरमा परिसंघ परिवारमा हार्दिक बधाइ ज्ञापन गर्दै यहाँहरूको व्यवसायिक एवं सामाजिक जीवनमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु । उत्पादन तथा सेवामूलक उद्योगहरूको छाता संगठनको रूपमा मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रबद्र्धन, रोजगारी सिर्जना लगायतका क्षेत्रमा गर्दै आएको परिसंघ कामबाट आफूलाई मुलुकको औद्योगिक विकासको अभिन्न अंगको रूपमा स्थापित भएको छ । नेपाल सरकारले लिएका नीति कार्यान्वयनमा सहयोग गर्ने गरी परिसंघले आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ । सन् २००२ मा स्थापित नेपाल उद्योग परिसंघले अर्थतन्त्रको विकासका लागि प्रभावकारी एवं उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ । यसलाई थप प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास लिएको छु । परिसंघले निश्चित समूह वा व्यक्ति लक्षित नीति नियमका लागि भन्दा पनि समग्र मुलुकको अर्थतन्त्रको विकास, औद्योगिक उत्पादन तथा आन्तरिक उत्पादन, उद्योगहरूको संरक्षण एवं प्रबद्र्धन गर्नुपर्ने विषयमा केन्द्रित भएर नीतिगत सुझाव दिने गरेको मैले पाएको छु । त्यसैगरी, परिसंघले निरन्तर रूपमा आर्थिक कुटनीति तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा जोड दिँदै आएको पनि मैले अनुभव गरेको छु । वास्तवमा परिसंघ जस्ता संस्थाको दायित्व पनि समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि नै हुनुपर्छ भन्ने मेरो पनि मान्यता छ । समग्र अर्थतन्त्रको विकास एवं विस्तार हुँदा मात्रै मुलुकले फाइदा पाउँछ, रोजगारी बढ्छ र मुलुकलाई आर्थिक रूपमा बलियो बनाउन सकिन्छ । परिसंघले १६ औँ योजना तर्जुमा गर्न अध्ययन गरेर राष्ट्रिय योजना आयोगलाई सुझाव प्रतिवेदन दिएको जानकारी पाउँदा खुसी लागेको छ । आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्न परिसंघले दिएको सुझाव सरकारका निम्ति महत्वपूर्ण सन्दर्भस्रोत रहनेछ । सरकारले १६औं योजना तर्जुमा गर्दा अर्थतन्त्रलाई प्राथमिकतामा राखेको परिप्रेक्ष्यमा परिसंघको समन्वयकारी भूमिकाप्रति आभार प्रकट गर्दछु । सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो । आर्थिक विकासबाट मुलुकलाई समृद्ध हुँदै बलियो राष्ट्रको रूपमा अगाडि बढाउनुपर्ने छ । सरकारको आर्थिक समृद्धिको चाहना पूरा गर्न, तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्ने उद्देश्यले परिसंघले सुरु गरेको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियान महत्वपूर्ण छ । स्पष्ट योजनासहित अगाडि बढाइएको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियानलाई नेपाल सरकारले पनि अपनत्व लिएको छ । यो अभियानमार्फत औद्योगिकरण, उत्पादन बृद्धि, स्वदेशी वस्तु तथा सेवाहरूको गुणस्तर बृद्धि तथा निर्यात प्रबद्र्धन गर्दै अर्थतन्त्रको सवलीकरणमा सहयोग पुग्ने विश्वास सरकारले लिएको छ । आत्मनिर्भर अर्थतन्त्र निर्माणको यो अभियानलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास हासिल गर्न सकिन्छ भन्नेमा म स्पष्ट छु । म प्रधानमन्त्रीमा नियुक्त भएको दिनमा पनि भनेको थिएँ– मेरो पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित हुनेछ । निजी क्षेत्रसँगको सहकार्यबाट नै आर्थिक समृद्धि हासिल हुन सक्दछ । यसका लागि वर्तमान सरकार निजी क्षेत्रसँग प्रभावकारीरूपमा सहकार्य गर्दै आएको छ र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लगिने छ । मुलुकको आर्थिक अवस्थाप्रति निजी क्षेत्रले सधैँ चिन्ता व्यक्त गर्दै आइरहेको छ । स्वागत मन्तव्यका क्रममा परिसंघका अध्यक्ष राजेशजीले यो चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि आग्रह गर्नुभएको छ । अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ । म गम्भीर छु । अर्थतन्त्रलाई हामीले नै सुधार गर्नुपर्छ । अर्थतन्त्र सुधारको काम सरकार एक्लैले गर्न सक्दैन, तसर्थ, निजी क्षेत्रलाई समेत सहकार्य गर्न आग्रह गर्दछु । सरकार निजी क्षेत्रको साथमा छ । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गर्दछ । तसर्थ, कत्ति पनि विचलित नभई अगाडि बढ्न म निजी क्षेत्रलाई आह्वान गर्दछु । मुलुकको अर्थतन्त्रलाई बजेटको प्रभावकारी कार्यान्वयनबाट सुधारमा लगिनेछ । हामीले चालु आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्रको सवलीकरणका लागि सुधारात्मक कदमहरूको सुरुवात गर्न खोजेका छौं । अर्थतन्त्र सुधारका लागि सरकार परिसंघजस्ता संस्थासँग सहकार्य गरेर अगाडि बढ्दछ । वर्तमान सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै कानूनी, नीतिगत तथा संरचनागत सुधार गर्न प्रतिबद्ध छ । अन्त्यमा, संकटमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले लिएका निर्णय र चालेका कदममा परिसंघले विगतमा गरेको सहयोगप्रति आभार प्रकट गर्दै यहाँहरूको साधारण सभाले अर्थतन्त्रको पुनरोत्थानमा महत्वपूर्ण निर्णयहरूको योगदानसहित बिदा हुन्छु । धन्यवाद ।

चिकित्सकद्धारा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प, प्रहरीद्धारा कुटपिटमा संलग्न पक्राउ

काठमाडौं । चिकित्सकमाथि कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै चिकित्सकहरुले हेटौंडामा आज आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । हेटौंडामा सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा आज आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले आकस्मिक सेवा र फार्मेसी बाहेक कुनै पनि सेवा आज उपलब्ध नहुने बताउनु भएको छ । यता, हेटौँडा अस्पतालका ७८ चिकित्सकहरूले हिजो नै सामूहिक राजीनामा बुझाएका छन् । कुटपिटमा संलग्नलाई हदैसम्मको कारबाही माग गर्दै उनीहरुले मेसु सापकोटालाई राजीनामा बुझाएका हुन् । मेसु सापकोटाले उक्त राजीनमापत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने बताउनु भएको छ । एक महिनाअघि डेंगी संक्रमणबाट मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले गत बुधबार हेटौंडाको सञ्चो अस्पतालभित्र प्रवेश गरी डा विकास थापा र डा प्रशान्त विडारीमाथि हातपात गरेका थिए । हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै छिेरर चिकित्सकमाथि आक्रमण हुनुले ज्यानको जोखिम बढाएको गुनासो चिकित्सकहरुले गरेका छन् । यसैबीच, प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दिवंगत राजेश प्रधानकी श्रीमती, छोरी र अन्य दुई जना रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाका लागि निवेदन दिन आग्रह

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भएको छ । यसका लागि ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको छ । “स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भर्नु पर्नेछ,” आयोगले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “आजदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्नुपर्नेछ ।” आयोगले सातवटै प्रदेशका विभिन्न जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ ।

यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ । बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ । वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । नेपालमा हाल भारतको दक्षिण–पूर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सकमाथि हातपात गर्नेलाई तुरुन्त कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । भाद्र २७ गते हेटौंडामा चिकित्सकमाथि भएको हातपातको विषयलाई लिएर बिहीबार बिहान प्रधानमन्त्री समक्ष चिकित्सक संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त घटनामा सम्मिलित सबै दोषी कानुन बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन् । चिकित्सकलाई आक्रमण गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की, महासचिव डा.सञ्जीव तिवारी लगायतको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट गरेको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथिको आक्रमण कुनै पनि हालतमा सह्य नहुने भन्दै दोषीलाई कानुनी दायारामा ल्याउने प्रतिबद्धता जनाएका हुन् , प्रधानमन्त्री प्रचण्डले दोषीलाई कारबाहीका लागि प्रहरीलाई निर्देशनसमेत दिइसकेका छन् । संघले विज्ञप्ति निकाल्दै दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ बमोजिम दोषीमाथि कारबाही गर्न संघले सरकारसँग माग गरेको छ। विज्ञप्तिमा कारबाही नगरिए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषण गर्न बाध्य हुने संघले चेतावनी दिएको छ। बुधबार दिउँसो केही व्यक्तिहरूले हेटौँडाको सन्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा.प्रशान्त विडारीमाथि सामूहिक कुटपिट गरेर स्वास्थ्यकर्मीलाई धम्काएका थिए। साउन २२ गते एक जना बिरामी डेंगु रोगको लक्षणसहित उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो। उक्त बिरामीलाई थप उपचार का लागि २३ गते चितवनको भरतपुर अस्पतालमा रिफर गरिएको थियो। बिरामीको उपचारका क्रममा श्रावण २५ गते मृत्यु भएको थियो। सोही घटनालाई लिएर यसअघि पनि क्षतिपूर्ति माग गर्दै धम्की दिने गरेको संघले जनाएको छ।

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबारको राष्ट्रियसभा बैठक सम्पन्न भएको छ । नेम्वाङ संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य थिए । उनी ०४८ र ०५२ सालमा राष्ट्रियसभा सदस्य रहेका थिए । नेम्वाङको निधनको शोकमा राष्ट्रियसभामा एक मिनेट मौनधारण गरिएको थियो । गएको मंगलबार बिहान नेम्वाङको निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक आउँदो असोज १२ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय गरिएको छ ।

नेम्वाङलाई दुई छोराले दिए दागबत्ती

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । राजकीय सम्मानसाथ गरिएको अन्त्येष्टिमा उहाँका दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । नेपाली सेनाको एक टुकडीले शोक कुनसहित स्वर्गीय नेम्वाङप्रति शोक धुन बजाएर सम्मान व्यक्त गरे । अन्त्येष्टि कार्यक्रममा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित दलका नेताहरु, एमालेका नेताहरु आर्यघाट पुगे । पूर्व सभामुखसमेत रहेका नेता नेम्वाङको भदौ २६ गते मंगलबार विहान १ः५० बजे निधन भएको थियो । नेता नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाए। सो अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित सरकारका मन्त्रीहरु, सांसदहरु, पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।