माओवादी केन्द्र एकताबद्ध, जनमुखी आन्दोलनको संकल्प : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी एकताबद्ध भएको घोषणा गर्दै जनमुखी आन्दोलनलाई सशक्त बनाउने संकल्प गरेको छ। मंगलबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा सम्पन्न स्थायी समिति बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीभित्रको गुटबन्दी र समूहबद्धताको अन्त्य गरी एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको सुदृढीकरणमा नेतृत्वदायी भूमिका खेलेको हाम्रो पार्टीलाई एकताबद्ध बनाउने चुनौती थियो। हामीले यो जिम्मेवारी पूरा गरेका छौं,” प्रचण्डले भन्नुभयो ।
उहाँले पार्टीले सामूहिक प्रतिबद्धताका साथ गुटबन्दीको अन्त्य गरी एकताको सन्देश दिने निर्णय गरेको बताए। “हामीले फेरि एकपटक जनताको बीचमा जाने संकल्प गरेका छौं। मुलुकमा देखिएका समस्याहरू समाधान गर्न जनमुखी आन्दोलनलाई तीव्र बनाउने निर्णय भएको छ,” उहाँले थप्नुभयो ।
बैठकले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै देशका समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्न नयाँ रणनीति तय गरेको छ। प्रचण्डले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि माओवादी केन्द्रले सधैं अग्रणी भूमिका खेल्ने प्रतिबद्धता दोहोर्याउनुभयो ।
यी हुन् माओवादी केन्द्रको बैठकले गरेका महत्वपूर्ण निर्णयहरु
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न बैठकले जनजीविका, सुशासन, सामाजिक न्याय र अन्तर्राष्ट्रिय मुद्दाहरूलाई समेट्दै निम्न प्रस्तावहरू पारित गरेको हो । बैठकले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायतका सहिद, बेपत्ता र घाइते योद्धाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको आदर्श पछ्याउने संकल्प गरेको छ। माओवादी प्रवक्ता अग्नि सापकोटाले पार्टी एकतावद्ध भएको बताए । उनकाअनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने सहमति बैठकमा भएको छ । माओवादी बैठकले रोकिएको जनअभियान भदौ १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय समिति बैठक दसैँपछि बस्ने र विप्लव नेतृत्वको नेकपालगायतका पार्टीसँग पार्टी एकता गर्नेबारे पनि बैठकमा सहमति भएको छ । बैठकमा उपमहासचिव जनार्दन शर्माले माइनुटमा हस्ताक्षर गर्ने प्रतिवद्धता जनाए पनि आत्मालोचना भने नगरेको प्रवक्ता सापकोटाले जानकारी दिए । तराई–मधेशको जलसंकट: चुरे दोहन, जलस्रोत व्यवस्थापनको कमी र वातावरणीय असन्तुलनले तराई–मधेशमा भूजल संकट निम्तिएको ठहर गर्दै खडेरी प्रभावित किसानलाई तत्काल राहत र आत्मनिर्भर कृषि अर्थतन्त्रका लागि दीर्घकालीन तथा अल्पकालीन योजना माग गरिएको छ। मूल्यवृद्धि नियन्त्रण: चाडपर्व नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ। शिक्षा र प्रहरी विधेयक: विद्यालय शिक्षा विधेयक र नेपाल प्रहरी विधेयकमा भएको ढिलाइको विरोध गर्दै तत्काल पारित गर्न माग गरिएको छ। सहकारी ठगी: सहकारी ठगहरूलाई कारबाही र पीडितको रकम फिर्ता गर्न माग गरिएको छ। सरकारको संरक्षण नीतिको भर्त्सना गरिएको छ। अन्तर्राष्ट्रिय मुद्दा: प्यालेस्टाइनी स्वतन्त्रताको समर्थन गर्दै गाजामा इजरायली नरसंहारको भर्त्सना गरिएको छ। विपिन जोशीको रिहाइ र नेपालीहरूको सुरक्षाका लागि कूटनीतिक पहल माग गरिएको छ। प्राकृतिक प्रकोप: भोटेकोशी र त्रिशूली बाढी पीडितलाई राहत, घाइतेको निःशुल्क उपचार र पुनर्निर्माणको माग गरिएको छ। भूकम्प पुनर्निर्माण: जाजरकोट, रूकुमलगायत भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराइएको छ। शान्ति प्रक्रिया: शान्ति प्रक्रियाका बाँकी कामलाई तीव्रताका साथ अगाडि बढाउन सरकारसँग माग गरिएको छ। कृषि समस्या: मलखादको अभाव, विचौलियाको प्रभाव र भ्रष्टाचारको भर्त्सना गर्दै मल, बीउ र समर्थन मूल्य सुनिश्चित गर्न माग गरिएको छ। श्रमिक ज्याला: अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम ज्याला वृद्धिको माग गरिएको छ। सीमा समस्या: सीमा क्षेत्रका समस्या समाधान र तस्करी नियन्त्रणका लागि प्रभावकारी कूटनीतिक पहल माग गरिएको छ। संघीय निजामती र भूमि विधेयक: संघीय निजामती विधेयकमा कार्यपालिकाको हस्तक्षेपको भर्त्सना गर्दै तुरुन्त पारित गर्न र भूमिहीन तथा सुकुम्बासीलाई न्याय दिन अग्रगामी भूमि विधेयक ल्याउन माग गरिएको छ। सुशासन र भ्रष्टाचार: मन्त्रीमाथिको भ्रष्टाचार आरोपमा छानबिन र सुशासनविरोधी कदमको विरोध गर्दै भ्रष्टाचारविरुद्ध उच्चस्तरीय आयोग गठनको माग गरिएको छ। किसान र श्रमिकका मुद्दा: उखु किसानको अनुदान कटौतीको विरोध, दुग्ध किसानको बक्यौता रकम तत्काल भुक्तानी र श्रमिकका लागि न्यूनतम ज्याला वृद्धिको माग गरिएको छ। महिला र दलित अधिकार: लैंगिक समानताविरोधी कानूनको विरोध, छाउपडी र हिंसाविरुद्ध अभियान र दलितमाथिको विभेदको भर्त्सना गर्दै दलित विकास प्राधिकरण गठनको माग गरिएको छ। विद्युत र शिक्षा क्षेत्र: लोडसेडिङ र चुहावट नियन्त्रणका लागि सुशासन र पारदर्शिता माग गरिएको छ। विश्वविद्यालयमा दलगत हस्तक्षेपको विरोध गर्दै मेरिटोक्रेसी र दक्ष जनशक्ति निर्माणको माग गरिएको छ। संवैधानिक निकाय र निर्वाचन: संवैधानिक निकायमा हस्तक्षेप र प्रतिशोधपूर्ण अनुसन्धानको अन्त्य गर्न तथा निर्वाचन आयोगमा रिक्त पदपूर्ति तत्काल गर्न माग गरिएको छ। युवा उद्यमशीलता: स्टार्टअप बजेट कटौतीको विरोध गर्दै वैज्ञानिक लगानी माग गरिएको छ। संविधान संशोधन: प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेशको अधिकार र महिला तथा दलितको समावेशी प्रतिनिधित्वका लागि संविधान संशोधनको प्रतिबद्धता व्यक्त गरिएको छ। जनविरोधी नीतिको भर्त्सना: सरकारको दलाल र विचौलियामुखी नीतिको भर्त्सना गर्दै सुशासन र जनजीविकाका लागि एकताको अपील गरिएको छ। बैठकले यी प्रस्तावहरू कार्यान्वयनका लागि सरकारलाई दबाब दिने र जनताका मुद्दामा सक्रिय रहने प्रतिबद्धता जनाएको माओवादी केन्द्रले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको यही साउन १६ देखि सुरू भएको बैठक आज सम्पन्न भएको छ। बैठकले निम्नबमोजिम समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ। २०८२ साउन १९ गते (१) संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका लागि नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतका राजनीतिक एवम् सामाजिक आन्दोलनमा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ता, घाइते अपाङ्ग योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछ । र, उहाँहरुको आदर्शलाई पछ्याउँदै अगाडि बढ्ने दृढ संकल्प गर्दछ । (२) हाल तराई मधेशका अधिकांश क्षेत्रहरुमा देखिएको पानीको गम्भीर संकटप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । चुरे क्षेत्रको अन्धाधुन्ध दोहन, नीतिगत व्यवस्थापनमा उपेक्षा र जलस्रोतको व्यवस्थापनमा भएको उदासीनताले गर्दा किसानहरु रोपाई गर्नबाट बञ्चित भएका छन् । पानीका श्रोतहरु सुक्दै जानु, सिंचाईको समुचित व्यवस्था नहुनेु, चुरे विनाश, प्राकृतिक श्रोतको अवैध उत्खनन्, वन अतिक्रमणका कारण सिर्जित वातावरणीय असन्तुलनले गर्दा तराई मधेश आज भूगर्भीय संकटमा फसेको छ । यो सन्दर्भमा, तराई–मधेश क्षेत्रका कृषक जनताले भोगिरहेका जटिल समस्याप्रति सरकारको उदासीनता र बेवास्ताप्रति यो बैठक गहिरो चिन्ता प्रकट गर्दै खडेरीका कारण मारमा परेका कृषकहरुलाई तत्काल राहत प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछ । यसका साथै तराई मधेस क्षेत्रलगायत आत्मनिर्भर कृषि अर्थतन्त्र विकासका लागि दीर्घकालीन तथा अल्पकालीन योजना निर्माणको माग गर्दछ । हाम्रो पार्र्टी नेतृत्वको सरकारले अघि सारेको कृषिमा लगानी दशक योजनालाई कार्यान्वयनमा ल्याउन माग गर्दछ । (३) चाडपर्वहरु नजिकिदै गर्दा जनताको उपभोग्य बस्तुहरुमा भएको मुल्यबृद्धिको कारण जनजीवन थप कष्टप्रद बन्दै गएकोले तत्काल मूल्यवृृद्धि तथा कालोबजारी नियन्त्रण गर्न र सीमाबाट भित्रिने आम नागरिकलाई दुःख दिने कार्य बन्द गर्न सरकारसँग माग गर्दछ । (४) लाखौं विद्यार्र्थी र समग्र राष्ट्रको भविष्यसँग जोडिएको विद्यालय शिक्षा विधेयकमाथि केही स्वार्थ समूहको प्रभावमा परेर गरिएको ढिलाइप्रति यो बैठक गम्भीर आपत्ती प्रकट गर्दछ। यसअघि शिक्षक महासंघसँग भएको सहमति अविलम्ब कार्यान्वयन गर्दै विधेयक तुरुन्त पारित गर्न बैठकले सरकारलाई आग्रह गर्दछ। साथै, नेपाल प्रहरीसम्बन्धी विधेयकलाई समेत शीघ्रता दिन माग गर्दछ । (५) सहकारी ठगहरुलाई कार्बाही गर्नुको साटो सत्तानिकट व्यक्तिहरुलाई संरक्षण गर्ने र पीडितहरुका पक्षमा प्रभावकारी कार्य नगर्ने सरकारी रवैयाको घोर भत्र्सना गर्दै पीडितहरुको वचत रकम फिर्ता गरी दोषीमाथि कडा कानुनी कार्वाहीको माग गर्दछ । (६) पश्चिम एशिया र मध्यपूर्व लगायत विभिन्न क्षेत्रमा बढ्दै गइरहेको तनावप्रति हाम्रो पार्टी गहिरो चिन्ता व्यक्त गर्दछ । संयुक्त राष्ट्रसंघको दुई राज्य समाधान प्रस्तावलाई समर्थन गर्दै प्यालेष्टाइनी जनताको आत्मनिर्णयको अधिकारसहितको स्वतन्त्र एवम् सार्वभौम राज्यको मागलाई उचित ठहर गर्दछ । साथै इजरायलबाट गाजा क्षेत्रमा भइरहेको नरसंहारको भत्र्सना गर्दछ । वार्ताद्वारा शान्तिपूर्ण ढंगले समस्या समाधानको लागि सम्बद्ध सबै पक्षलाई आव्हान गर्दै हमास समूहले कब्जामा लिएका विपिन जोशीको रिहाई एवम् मध्यपूर्व लगायतका ठाउँमा रहेका लाखौं नेपालहरुको सुरक्षाका लागि थप कुटनीतिक पहल बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । (७) रसुवाको भोटेकोशी त्रिसुली नदीको बाढीमा परी मृत्यु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट व्यक्त गर्दै घाइतेहरुको निशुल्क उपचार व्यवस्था गर्न सरकारसँग माग गर्दछ । राहत पुनस्र्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र विपद पूर्व तयारीको काममा ध्यान दिन र बाढी प्रभावितहरुका लागि राहत प्रदान गर्न जोडदार माग गर्दछ । (८) जाजरकोट, रुकुम लगायत भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा भैरहेको ढिलाईप्रति सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । (९) शान्ति सम्झौताको भावना र मर्मअनुरुप शान्ति प्रक्रियाका बाँकी कामलाई अगाडि बढाउन सरकारले सहजीकरणको लागि उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गर्दछ । (१०) रोपाइँ सत्र अन्तिम चरणमा पुगिसक्दा पनि किसानले मल नपाएको अवस्था अत्यन्त चिन्ताजनक छ । मलखाद आयात तथा वितरणमा विचौलियाको प्रभाव र भ्रष्ट चलखेलको बैठक भत्र्सना गर्दछ । कृषि, मल, बिऊको आवश्यकता अनुसार उपलब्ध गर्न र समयमा नै कृषि उपजको समर्थन मुल्य तोक्न माग गर्दछ । (११) अनौपचारिक क्षेत्रका श्रमिकहरु न्यूनतम् ज्यालामा वृद्धि गर्न जोडदार माग गर्दछ । (१२) देशका विभिन्न भागमा देखिएका सीमा सम्बन्धी समस्याहरु समाधानका लागि कुटनीतिक पहल थप प्रभावकारी बनाउन माग गर्दछ । साथै सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न यो बैठक सरकारसमक्ष माग गर्दछ । (१३) शक्ति पृथकीकरणको सिद्धान्त विपरित कार्यपालिकाबाट विधायिकामाथि गरिएको हस्तक्षेपको यो बैठक कडा भत्र्सना गर्दछ । संघीय निजामती सेवा विधेयकमाथि प्रधानमन्त्रीले नेतृत्व गर्ने पार्टीद्वारा गरिएको अवैध निर्देशन तथा विधायन प्रक्रियामाथिको प्रहार अस्वीकार्य छ । यसप्रति गम्भीर सरोकार व्यक्त गर्दै सम्बद्ध निकायका चासोलाई सम्बोधन गरी विधेयक तुरुन्त पारित गर्न सरकार समक्ष जोडदार माग गर्दछ। (१४) सरकारद्वारा भूमाफिया तथा विचौलियाहरुको स्वार्थमा भूमिसम्बन्धी विधेयक ल्याउने षडयन्त्र भइरहेकोमा गम्भीर आपत्ती व्यक्त गर्दै भूमहीन, सुकुम्वासी जनतालाई तत्काल न्याय दिने गरी अग्रगामी रुपान्तरणका पक्षमा भूमिसम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्न माग गर्दछ । (१५) सरकारकै मन्त्रीहरुमाथि भ्रष्टाचारको आरोप लागिरहँदा समेत छानवीनको प्रयत्न नगिरनुबाट सुशासनप्रति राज्यको जवाफदेहिता शून्य भएको पुष्टी भएको छ । यो बैठक सरकारका सुशासनविरोधी कदमको विरोध गर्दै आरोपित मन्त्रीहरुमाथि छावनीनको माग गर्दछ । (१६) उखु किसानलाई दिइँदै आएको अनुदानमा गरिएको ५० प्रतिशत कटौतीको यो बैठक कडा विरोध गर्दछ। किसानलाई तत्काल न्याय दिनु पर्ने माग गर्दछ। (१७) सरकारबाट पाउनुपर्ने वक्यौता रकम अझै प्राप्त नगरेका दुग्ध किसानहरू गम्भीर समस्यामा परिरहेका छन्। बैठकले तिनीहरूलाई तत्काल भुक्तानी उपलब्ध गराउन माग गर्दछ। (१८) जहाँ सरकार, त्यहाँ व्यापक भ्रष्टाचार अहिले पर्यायवाची बनेका कारण आमजनतामा चुलिँदो आक्रोशलाई बैठकले गम्भीररूपमा लिन्छ। भ्रष्टाचारविरुद्ध निर्णायक कदम चाल्दै, सार्वजनिक पदधारक तथा उच्चपदस्थ नेताहरूको सम्पत्र् िछानबिन गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्न यो बैठक माग गर्दछ । (१९) ऐतिहासिक बलिदानबाट प्राप्त महिलाहरुका संवैधिनिक अधिकारमाथि विभिन्न तवरले हस्तक्षेप गर्दै लैगिक समानता विरोधी कानून निर्माणका प्रयासहरुको कडा विरोध गर्दछ। राज्यबाटै महिलाविरोधी व्यवहार तत्काल अन्त्य गर्दै, ‘छाउपडी’ र महिलामाथिको हिंसाविरुद्ध राष्ट्रव्यापी अभियान घोषणा गर्न सरकारसँग माग गर्दछ । (२०) जातीय विभेद र आर्थिक शोषणको दुश्चक्र झेलिरहेका दलित समुदायमाथि राज्यबाट भइरहेका विभेदहरूको यो बैठक घोर भत्र्सना गर्दछ। दलित समुदायका संवैधानिक अधिकार कार्यान्वयन गर्न दलित एन तर्जुमा तथा विशेषाधिकार सम्पन्न दलित विकास प्राधिकरणको तुरुन्त स्थापना गर्न सरकारसमक्ष माग गर्दछ । (२१) विद्युत क्षेत्रमा आत्मनिर्भरता र निर्यातको पर्याप्त आधार तयार भएको अवस्थामा दलाल र विचौलियाको स्वार्थमा गरिएको राजनीतिकरणप्रति बैठक कडा आपत्र् िव्यक्त गर्दछ । कतिपय क्षेत्रमा पुनः लोडसेडिङ देखा परिरहेको, विगतमा अत्यन्तै न्यून अवस्थामा पुगेको विद्युत चुहावट उल्लेख्यरुपमा बढेको सन्दर्भमा विद्युत क्षेत्रको सुशासन र पारदर्शिता कायम गर्न बैठक जोडदार माग गर्दछ । (२२) त्रिभुवन विश्वविद्यालय लगायत अन्य शैक्षिक संस्थानमा मेरिटोक्रेसीको उल्लंघन गर्दै दलगत हस्तक्षेप गरिनु अत्यन्त दुर्भाग्यपूर्ण भएको ठहर गर्दै बैठकले गम्भीर आपत्र् िप्रकट गर्दछ। शिक्षा क्षेत्रमा दलगत स्वार्थको अन्त्य गर्न तथा राष्ट्रीय आवश्यकता अनुरुप दक्ष जनशक्ति निर्माण गर्न उच्च शिक्षा क्षेत्रका विकास गर्न यो बैठक माग गर्दछ । (२३) संवैधानिक निकायहरूमा गरिएको हस्तक्षेप, चयनमुखी अनुसन्धान तथा अभियोजन प्रक्रिया अन्त्य गर्न माग गर्दछ । (२४) निर्वाचन आयोग लगायत संवैधानिक निकायहरूमा रिक्त पद पूर्तिप्रति सरकारको वेवास्ताप्रति खेद प्रकट गर्दै तत्काल पदपूर्तिको प्रक्रिया अघि बढाउन माग गर्दछ । (२५) युवा उद्यमशीलता प्रवरद्धन गर्न अघि सारिएको स्टार्टअप कार्यक्रमको बजेट घटाइनु तथा विनियोजित बजेट समेत कार्यकर्तालाई रकम बाँड्ने संयन्त्रकारुपमा विकास गरिएकोमा आपत्ती व्यक्त गर्दै वैज्ञानिक प्रणालीमार्फत सिर्जनशीलता र नवप्रवर्तनका युवा सोँच तथा अवधारणामा आधारित परियोजनाहरुलाई लगानी गर्न माग गर्दछ । (२६) सरकारले दलाल र विचौलियाका पक्षमा एकपछि अर्को गर्दै चालेका जनविरोधी कदमको निन्दा तथा भत्र्सना गर्दै सुशासन, जनतन्त्र र जनजीविकासँग जोडिएका मुद्दाहरूमा एक भई अघि बढ्न सबैमा हार्दिक अपील गर्दछ । धन्यवाद !
माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रस्तावलाई सर्वसम्मत पारित गर्दै बैठक सकिएको हो । बैठकका निर्णय केहीबेरमा सार्वजनिक गरिने नेताहरुले बताएका छन् ।
पाँच महिनामा चार हात्तीले जन्माए छावा
चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा पछिल्ला पाँच महिनामा चार वटा हात्तीले छावा जन्माएका छन् । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार २०८१ चैत ८ गते रिमझिमकलीले 'दीपगज', २०८२ असार २८ गते लोकतन्त्रकलीले 'बेदगज', असार ३० गते तीर्थमानकलीले 'विभ्रकली' र साउन ७ गते तमोरकलीले 'रामप्रितगज' नामका छावा जन्माएका हुन् । यी सबै हात्तीहरू खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा रहेका थिए । हात्तीले १८ देखि २२ महिनासम्मको गर्भ अवधिपछि छावा जन्माउने गर्दछ । थापा मगरका अनुसार अहिले चितवनकली गर्भवती अवस्थामा छिन् र आगामी दुई–तीन महिनामा छावा जन्माउने अपेक्षा गरिएको छ । हाल प्रजनन केन्द्रमा रहेका ६ वटा छावालाई तालिम दिइसकिएको छ भने ७ वटा छावालाई तालिम दिन बाँकी छ । निकुञ्जका विभिन्न स्थानमा हाल ५८ वटा हात्ती रहेका छन् । हात्तीले बच्चा जन्माउन लामो समय लाग्ने भएकाले जन्मेका छावाको विशेष हेरचाह गरिने गरिएको छ । छावाहरूको नामकरण विधिपूर्वक गरिन्छ । प्रशिक्षणपछि ती हात्तीलाई निकुञ्जका विभिन्न सुरक्षापोस्टहरूमा खटाइने गरिन्छ ।
त्रियुगामा वैदेशिक रोजगारीबाट फर्किएकालाई स्वरोजगार सामग्री हस्तान्तरण
उदयपुर । त्रियुगा नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई स्वरोजगारमा प्रोत्साहन गर्न उपकरण तथा सामग्री हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सञ्चालित ‘वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनःएकीकरण कार्यक्रम’ मार्फत नगरपालिकाले सोमबार १४ जनालाई स्वरोजगारसँग सम्बन्धित सामग्री प्रदान गरेको हो । प्राप्त सामग्रीमा पानी तान्ने मोटर, जस्तापाता, ड्रिल मेसिन, च्यापकटर, डिप फ्रिज, काठ चिरान मेसिन, प्लास्टिक टनेल, हाते ट्याक्टरलगायत उपकरणहरू रहेका छन् । यिनले कृषि, निर्माण, फर्निचर उद्योग तथा अन्य साना व्यवसाय सञ्चालनमा सहयोग पुर्याउने रोजगार शाखा प्रमुख निशा घलेले जानकारी दिइन् । उक्त कार्यक्रमको उद्घाटन कार्यवाहक नगरप्रमुख महेश्वरी राईले गरेकी थिइन् । उनले उपकरण वितरण गर्दै भनिन्, “यी सामग्रीहरूले तपाईंहरूको व्यवसायिक यात्रा थप सशक्त बनाउनेछन् । आत्मनिर्भरता र आर्थिक समृद्धिको यात्रामा नगरपालिका सदैव साथमा रहनेछ ।” सामग्री प्राप्त गरेका व्यक्तिहरूले नगरपालिकाको यो पहलको प्रशंसा गरेका छन् । एकजना लाभग्राहीले भने, “हामी विदेशबाट फर्किएपछि अवसर नपाएर चिन्तित थियौं । अब यी सामग्रीले नयाँ व्यवसाय सुरु गर्न हौसला मिलेको छ ।”
झापाका ठूला सहकारीमा पर्याप्त तरलता, साना सहकारीमा चुनौती
झापा । झापा जिल्लाका ठूला सहकारी संस्थाहरूमा पर्याप्त तरलता रहेको पाइएको छ । २०८२ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यी संस्थाहरूमा तरलता अवस्था सन्तोषजनक देखिएको हो । सहकारी संस्थाहरूमा न्यूनतम १५ प्रतिशत तरलता हुनुपर्ने प्रावधान छ, तर झापाका ठूला सहकारीहरूमा ३६ प्रतिशतसम्म तरलता रहेको झापा जिल्ला सहकारी सङ्घका सचिव भवानीप्रसाद दङ्गाल (भानु)ले बताए । “ठूला सहकारीहरूमा हाल पर्याप्त रकम मौज्दात छ, तर साना सहकारीहरूले मागअनुसार बचत फिर्ता गर्न नसक्ने अवस्था छ,” उनले भने, “सहकारीहरूले लगानी वृद्धिका लागि प्रभावकारी योजना ल्याउन जरुरी छ ।” नेपालकै सबैभन्दा ठूलो सहकारी, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था, बिर्तामोडको २०८२ असार मसान्तको अपरिष्कृत वित्तीय विवरणअनुसार ३६.२१ प्रतिशत अर्थात् ५ अर्ब १२ करोड ६१ लाख ६० हजार २०२ रूपैयाँ तरलता रहेको छ । यस्तै, नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा २४.९५ प्रतिशत अर्थात् २ अर्ब ८४ करोड ६६ लाख ९९ हजार २३३ रूपैयाँ, कर्णाली बचत तथा ऋण सहकारी संस्थामा १९.५२ प्रतिशत अर्थात् ६८ करोड २५ लाख ३ हजार ८१३ रूपैयाँ, हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थामा १९.०५ प्रतिशत अर्थात् ३२ करोड ८४ लाख ५३ हजार ५६० रूपैयाँ र सिम्रिक बचत तथा ऋण सहकारी संस्थामा १७.३२ प्रतिशत तरलता रहेको सम्बन्धित संस्थाहरूको वित्तीय विवरणमा उल्लेख छ । सचिव दङ्गालका अनुसार बिनाधितो लगानीका कारण सहकारीहरूको लगानी जोखिममा पर्दै गएको छ, जसले थप चुनौती खडा गरेको छ । यद्यपि, पछिल्लो समय झापाको सहकारी क्षेत्रमा उल्लेखनीय सुधार देखिएको उनको भनाइ छ । जिल्लामा हाल ७५३ वटा सहकारी संस्था सञ्चालनमा छन्, जसले वार्षिक करिब ३ खर्ब रूपैयाँको वित्तीय कारोबार गर्छन् । कोशी प्रदेशमा १ अर्ब रूपैयाँभन्दा बढी पुँजी भएको १४ वटा सहकारी संस्था छन्, जसमध्ये ११ वटा झापामा, २ वटा मोरङमा र १ वटा सुनसरीमा रहेको सचिव दङ्गालले जानकारी दिए ।
पार्टीको आन्तरिक बहस बाहिर लैजानु गलत हुन्छ : नारायणकाजी श्रेष्ठ 'प्रकाश'
काठमाडौंं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले पार्टीका आन्तरिक विषय बाहिर सार्वजनिक गर्नु गलत भएको बताउनु भएको छ । पार्टीको स्थायी समिति बैठकमा बोल्दै श्रेष्ठले अनावश्यकरुपमा बाहिर लैजाने कुरा गलत भएको बताउनु भयो । श्रेष्ठले विधि र पद्दतीको पालना सबैले गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, 'पार्टीका आन्तरिक बहस सार्वजनिक गर्नुहुन्न । पार्टीको माइनुटमा हस्ताक्षर नगर्ने कुरा गलत हुन्छ । यो विषयमा दायाँबायाँ हुन्न । तत्काल हस्ताक्षर गरिहाल्नुपर्छ ।' वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विधिको पालनामा जोड दिनु भएको छ । उहाँले बैठकमा भन्नुभयो,' विचारलाई सम्मान गर्दै विधिको पालना हुनुपर्छ । पार्टी एकतावद्ध बनाउनु पर्छ ।'
अध्यक्ष प्रचण्डको नेतृत्व सर्वमान्य छ, राजनेताको रुपमा स्थापित भएको छ : देव गुरुङ
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्व सर्वमान्य भएको बताउनु भएको छ । पार्टीको स्थायी समिति बैठकमा बोल्दै गुरुङले अध्यक्ष प्रचण्डको नेतृत्व सर्वमान्य भएको बताउनु भयो । पार्टीका लागि प्रचण्डको नेतृत्व सुनौलो अवसर भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, 'अध्यक्षको नेतृत्व सर्वमान्य भएको छ । राजनेताकोरुपमा स्थापित भएको छ । यो हाम्रो सुनौलो अवसर हो । यस्तो बेलामा लिडरसिपको बारेमा प्रश्न उब्जाइनु ठिक छैन ।' उपमहासचिव जनार्दन शर्माले नेतृत्वका बारेमा बाहिर बोलेको विषयमा गलत भएको गुरुङले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, 'उत्तराधिकारी बनाएर बनिने कुरा होइन । तोकेर हुने कुरा होइन । आन्दोलनका क्रममा हुने कुरा हो । विधि पद्दतीका हिसाबले बाहिर जानु ठिक छैन । गलत हुन्छ ।' महासचिव गुरुङले अब एकतावद्ध भएर अध्यक्षले प्रस्तुत गरेको प्रस्तावअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकलाई सम्बोधन गर्नुहुनेछ। पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार अधिकांश सदस्यले आफ्नो धारणा राखिसकेका छन्। आज वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महासचिव देव गुरुङले आफ्नो विचार राख्नुहुनेछ । त्यसपछि अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिनुका साथै पार्टीको रणनीति र कार्यक्रमबारे सम्बोधन गर्नुहुनेछ। बैठकमा अधिकांश वक्ताले गत शुक्रबार प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको समर्थन गरेका छन्। आजको बैठकले पार्टी अभियान, संगठन सुदृढीकरणलगायत महत्त्वपूर्ण विषयमा निर्णय गर्ने अपेक्षा छ। बैठक आजै सम्पन्न हुनेछ।
माओवादी स्थायी समिति बैठकलाई आज अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं: नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकलाई आज अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सम्बोधन गर्नुहुने भएको छ। पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाले स्थायी समिति बैठकमा अधिकांश सदस्यहरूले आफ्नो धारणा राखिसकेकाले आज अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो। बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा सुरु हुने बैठकमा बोल्न बाँकी रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' र महासचिव देव गुरुङले आफ्नो धारणा राख्नुहुनेछ। त्यसपछि अध्यक्ष प्रचण्डले उठेका प्रश्नहरूको जवाफ दिनुका साथै पार्टीको रणनीति, कार्यक्रम र बैठकलाई सम्बोधन गर्ने तयारीमा हुनुहुन्छ। बैठकमा बोल्ने अधिकांशले गत शुक्रबार अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको समर्थन गरेका छन्। आजको बैठकले पार्टीको अभियान, संगठन सुदृढीकरणलगायतका विषयमा महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
कानुन सचिवको अभिव्यक्तिप्रति अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को गम्भीर आपत्ति, सरकारसँग स्पष्ट जवाफको माग
काठमाडौं । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले कानून मन्त्रालयका सचिव पाराशर भण्डारीद्वारा महिलालाई ‘वस्तु’ सरह व्याख्या गरेको भनिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ । संगठनको केन्द्रीय समितिबाट श्रावण १९ गते जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त अभिव्यक्ति नेपाली संविधान, मौलिक हक र राष्ट्रकै गरिमाविरुद्ध रहेको बताइएको छ । प्रेस विज्ञप्तिमा भनिएको छ, “कानून मन्त्रालयको जस्तो गम्भीर जिम्मेवारीमा बसेको व्यक्तिले महिलालाई विवाह गर्न नपाउने कारणका रूपमा ‘कानुनी वस्तु’ भन्दै पर्चा प्रतिवेदन तयार पार्नु संविधान र ‘भौतिक अपराध संहिता २०७४’ विरुद्धको कार्य हो ।” संघले सन् २०१५ मा पारित नेपालको संविधानमा सुनिश्चित गरिएको महिला अधिकारको खुलेआम उल्लंघन भएको भन्दै सरकारी तहबाट यस्तो अभिव्यक्तिलाई स्वीकार्न नसकिने चेतावनी दिएको छ । साथै, महिलालाई वस्तुको रूपमा चित्रण गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता र सामाजिक न्यायको भावनामाथि कुठाराघात भएको संघको भनाइ छ । अध्यक्ष अमृता थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुसासन, समानता, महिला अधिकार र लोकतान्त्रिक संवैधानिक मूल्यको संरक्षणमा सरकार प्रतिबद्ध हुने हो भने यस्तो अभिव्यक्तिको खारेजी र स्पष्ट जवाफ तुरुन्त दिनुपर्ने माग गरिएको छ । “सरकारले पश्चगामी कदम नचाले हामी संघर्षमा जान बाध्य हुनेछौं,” विज्ञप्तिमा चेतावनी दिइएको छ।
बाढीपहिरोले गुल्मीका तीन मुख्य सडक अवरुद्ध
गुल्मी । अविरल वर्षाका कारण गुल्मीका तीन मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि पूर्णरूपमा अवरुद्ध छन् । कालीगण्डकी करिडोरको कालीगण्डकी गाउँपालिका–१ को गरगरे, वडा नं. २ को मिल्क र वडा नं. ३ को कनौटामा सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको हो । त्यस्तै, रिडी–तम्घास सडकखण्डको रुरुक्षेत्र गाउँपालिका–३ को सल्लेरीमा पहिरो खस्दा र रिडी–वामीटक्सार सडकखण्डको सत्यवती गाउँपालिका–६ को डहरे खोला र वडा नं. ५ को बादरेभीरमा बाढीपहिरोले सडक बन्द भएको छ । लगातार वर्षाका कारण सडक सुचारु गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक बारम्बार अवरुद्ध हुँदा स्थानीयले सास्ती भोगिरहेका छन् । बडिगाड खोलामा पनि पानीको सतह बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका करिब दुई सय स्थान बाढीपहिरोको उच्च जोखिममा छन् ।
पर्वत प्रदेश अस्पतालमा एकै पटक बाह्र वटा प्रयोगशाला
पर्वत । यहाँको प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकै पटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्ने भएका छन् । हालसम्म उपलब्ध परीक्षणसम्बन्धी सेवा पर्याप्त नहुँदा आधुनिक र थप परीक्षणका लागि पोखरा वा अन्य ठाउँ जानुपर्ने बाध्यता अब हटेको अस्पतालले जनाएको छ । अस्पतालमा हालै थपिएका प्रयोगशालासम्बन्धी सेवाले धेरै बिरामीलाई जिल्लाकै उपचारले थप राहत प्रदान गर्ने भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले बताए । उनका अनुसार नयाँ थप गरिएका परीक्षण सेवामा भिटामिन डी, भिटामिन बी–१२, पीएसए, बी–एचसीजी, एन्टी टिपिओ, आइरन प्रोफाइल, एएनए, एन्टी डीएसडीएनए, फेरिटिन, सीआरपी क्वान्टिटेटिभ, आरए क्वान्टिटेटिभ तथा रेटिकुलोसाइट काउन्ट जस्ता विश्लेषणात्मक परीक्षण समावेश गरिएका छन् । यी परीक्षणबाट विशिष्ट स्वास्थ्य समस्याको पहिचान गर्न सहज हुने अस्पतालले जनाएको छ । यस सुविधामार्फत कुस्मा तथा आसपासका जिल्लाका सर्वसाधारणले उपत्यका वा अन्य सहर जानुपर्ने झन्झटविना अत्याधुनिक प्रयोगशाला परीक्षण सेवा सुलभ रूपमा प्राप्त गर्न सक्ने भएका छन् ।
जङ्गली जनावरको आतङ्क : बैतडीका किसानको बास खेतबारीमै
बैतडी । जङ्गली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसानहरू रातदिन खेतबारीमै बास बस्न बाध्य छन् । बँदेल, दुम्सी, बाँदर र भालुले बालीमा क्षति पुर्याउँदा किसानहरू चिन्तित बनेका छन् । जिल्लाका सबै १० स्थानीय तहमा जङ्गली बँदेलले मकैबालीमा ठूलो नोक्सानी गरेको छ । दोगडाकेदार गाउँपालिकाका चन्द्रसिंह विष्टले बँदेलले मकैबाली सखाप पारेको बताए । उनले भने, “रातदिन खेतमा टहरा बनाएर पहरा दिँदा पनि बाली जोगाउन सकिएको छैन ।” पुर्चौडी नगरपालिकाका पुरनसिंह ऐरले घोगा लाग्न लागेको मकै बँदेलले नष्ट गरेपछि भोकमरीको चिन्ता बढेको बताए । बैतडी मकै उत्पादनको प्रमुख जिल्ला हो, जहाँ दशरथचन्द, पाटन, सूर्नया, पञ्चेश्वर र दोगडाकेदारमा मकै जोन कार्यक्रम सञ्चालित छ । तर, यी क्षेत्रमा बाली जोगाउन किसानलाई कठिनाइ भएको मकै जोन कार्यालयकी नायब प्राविधिक सहायक भावना भट्टले बताइन् । पञ्चेश्वर–४ का रामदत्त भट्टले हरेक वर्ष जङ्गली जनावरले मकैबाली नष्ट गर्ने गरेको गुनासो गरे । “खेतमा टहरा बनाएर रातभर जाग्राम बसे पनि बाली जोगाउन मुस्किल छ,” उनले भने, “हरेक वर्ष दुई महिना अनिदो बस्नुपर्छ ।” बैतडीमा १२ हजार एकसय हेक्टरमा मकैखेती हुन्छ, तर जङ्गली जनावरकै कारण खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । कतिपयले खेत बाँझै राख्न थालेका छन् ।
३८ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले यसवर्ष पनि जिब्रो छेड्ने
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४, बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले यसवर्ष पनि जिब्रो छेड्ने परम्परालाई निरन्तरता दिँदै लोपोन्मुख सांस्कृतिक प्रथालाई जोगाउने भएका छन् । आगामी भदौ २२ गते (भाद्र शुक्ल पूर्णिमाको साँझ, इन्द्रजात्राको भोलिपल्ट) वीरेन्द्रभक्तले जिब्रो छेडेर महाद्विप बोकेर पशुपतिनाथसम्म पुग्ने र यो जात्राको संरक्षणमा योगदान दिने बताएका छन् । यो परम्परा केही वर्ष सञ्चालन र रोकिँदै आएको थियो । २०६३ मा रोकिएको यो जात्रा ११ वर्षपछि २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः सुरु भएको थियो । त्यसयता उनले २०७९ र २०८१ मा समेत जिब्रो छेडेका थिए । यसवर्ष पनि उनले यो परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडेका थिए । तर कोरोना महामारीका कारण यो परम्परा अवरुद्ध भएको थियो । २०७९ मा वीरेन्द्रभक्तले पुनः यो जात्रालाई जीवन्तता प्रदान गरे । मध्यपुर थिमिका कृष्ण नानिचा श्रेष्ठले पनि २०५२, २०५७ र २०६३ मा जिब्रो छेडेका थिए । जात्रा संरक्षण समितिका संयोजक अर्जुन श्रेष्ठका अनुसार यो जात्रामा करिब ५ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । नगरपालिकाले केही सहयोग गरे पनि बाँकी रकम जिब्रो छेड्ने व्यक्तिले नै व्यहोर्नुपर्छ । किम्बदन्तीअनुसार प्राचीन कालमा थिमिमा भूत, प्रेत र पिशाचहरूले आतङ्क मच्चाउँदा मानिसहरूको जथाभावी हत्या हुन्थ्यो । यसलाई नियन्त्रण गर्न एक व्यक्तिको जिब्रो छेडेर नगर परिक्रमा गराइएको र त्यसपछि भूत, प्रेत र पिशाचहरू भागेर नगरमा शान्ति स्थापना भएको विश्वास छ । भाद्र शुक्ल पूर्णिमाको साँझ तेलमा डुबाइएको करिब १ फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छेडिन्छ । त्यसपछि पशुपतिनाथसम्म यात्रा गरिन्छ र अन्त्यमा बालकुमारी मन्दिरमा पुगेर सियो निकालिन्छ । यो जात्रा मनाएपछि नगरमा रोग, अनिकाल र प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ ।
गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको विधि र पद्दती नमान्ने नेताहरुले आत्मालोचना गर्नुपर्ने बताउनु भएको छ । आइतबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नु भएको हो । बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीमा देखिएका समस्याको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिनुपर्ने र आफू पनि आत्मालोचना गर्न तयार रहेको बताएका कुरा सञ्चारकर्मीले अध्यक्ष प्रचण्डलाई सोधेका थिए । पार्टी बैठकमा एकदुई बाहेक सबैजसो नेताहरुले जनार्दन शर्माले गलत गरेको बताएका थिए । सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले भन्नुभयो, 'छलफल अझै चलिरहेको छ। जसले गल्ती गरेको छ, उसले आत्मालोचना गर्नुपर्छ। गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ।' पार्टीभित्रको समस्यालाई समाधान गर्न र नेतृत्वलाई थप सुदृढ गर्न यस्तो कदम आवश्यक रहेको संकेत गर्नु भएको छ । शुक्रबारदेखि जारी माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेतृत्व, पार्टीको आन्तरिक अवस्था र आगामी रणनीतिबारे गहन छलफल भइरहेको छ। पार्टी अध्यक्ष प्रचण्डको यो अभिव्यक्तिले पार्टीभित्र आत्मालोचना र सुधारको प्रक्रियालाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

