आज गाईजात्रा र रोपाइँ जात्रा : काठमाडौं महानगरभित्र सार्वजनिक विदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिका क्षेत्रमा आज सार्वजनिक बिदा दिएको छ ।

काठमाडौंमा आज गाईजात्रा र रोपाइँ जात्रा मनाइने भएकाले महानगरपालिकाले सार्वजनिक विदा दिएको हो । परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिइएको महानगरपालिकाले जनाएको छ ।

गाईजात्रा पर्वका लागि महागरपालिकाले आज काठमाडौंका भित्री शहरी क्षेत्रका सडक तथा गल्लीहरुमा सार्वजनिक सवारी पनि निषेध गरेको छ ।

गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । अधिकांश भक्तजन बुधबार साँझनै कुण्डस्थलमा बास बस्न पुगेका थिए भने केही भक्तजन बीचबाटोमा बास बसी आज बिहानै तीर्थस्थल पुगेका छन् । केही यात्रु भने लौरीविनायकको उकालो चढिरहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए । गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना गर्नाले आफ्नो मनोकांक्षा पूरा भई घरपरिवारमा सुख शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको छ । गोसाइँकुण्डको दर्शन गर्ने सबैभन्दा ठूलो पर्व जनैपूणिर्माको दिन कुण्डको जलाशयमा फूल तथा प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यताअनुरूप गोसाइँकुण्ड पुग्ने चलन रहिआएको छ । गोसाइँकुण्ड पुगेका भक्तजनलाई नेपाली सेना, गोसाइँकुण्ड गाउँपालिका, रसुवा जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हिमालय उद्धार संघसमेतले चिकित्सक एवं स्वास्थ्यकर्मी परिचालन गरी धुञ्चेदेखि गोसाइँकुण्डसम्म प्राथमिक उपचार सेवा प्रदान गर्दैआएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । समग्रको सुरक्षा एवं लेक लागि गम्भीर बिरामी परेका यात्रुको उद्धारका लागि नेपाल प्रहरीले ४०, नेपाली सेना विष्णुदल गणले ६० र सशस्त्र प्रहरी बलका २० सुरक्षाकर्मी परिचालन गरिएको छ । यात्रुले ल्याएका सवारी साधनको पार्किङ व्यवस्था गोसाइँकुण्ड गाउँपालिकाले गरेको छ ।

गाईजात्रा पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ । रासस

सार्क राष्ट्रबीच समझरी आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्क राष्ट्रहरूबीच आपसी समझदारी र सहकार्य आवश्यक भएको बताएका छन् । सार्कका महासचिव इसला रुवान विराकुनले गरेको बिदाइ भेटका क्रममा राष्ट्रपति पौडेलले यस्तो धारणा राखेका हुन् । “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सार्कका महासचिव इसला रुवान विराकुनले शिष्टाचार बिदाइ भेट गर्नुभयो,” राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, “सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले सार्कको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण सदस्य राष्ट्रहरूबीच आपसी सहकार्य र समझदारीबाट उपयुक्त वातावरण निर्माण गर्न आवश्यक रहेको कुरा बताउनुभयो ।”

प्रधानमन्त्रीद्वारा मानवअधिकारकर्मी बरालको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखराका मानवअधिकारकर्मी तथा वामपन्थी नेता टेकनाथ बरालको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत पोखरेलीका अभिभावक बरालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले भनेका छन्, “सामाजिक–सांस्कृतिक आन्दोलनको अग्रज व्यक्तित्व, पोखराको वाम–प्रजातान्त्रिक आन्दोलनका अगुवा टेकनाथ बरालको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु । पोखरेलीका अभिभावक बरालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।” राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण मञ्चको संस्थापक बराल लामो समय नेपालको मानवअधिकार तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए। बरालको मङ्गलबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको थियो । मंगलबार साँझ नै बरालको सेतीनदी तुलसीघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा राजनीतिक दलका नेता, अधिकारकर्मीलगायत सयौँको उपस्थिति थियो । रासस

सुन तस्करी प्रकरणमा थप १ जना पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले थप एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल रहेको प्रहरी स्रोतले जनाएको छ । गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुन समातेको थियो । झण्डै १ सय किलो भनिएको सुन पछि गालेर तौलिदा ६० किलो ७१६ ग्राम भएको थियो । पौडेलसहित सुन प्रकरणमा पक्राउ पर्नेका संख्या २४ पुगेको छ । सुन तस्करी प्रकरण छानविन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालले उच्च स्तरीय छानबिन समितिको माग गर्दै झण्डै १ महिना संसद अवरोध गरेको थियो । सरकारसँग आगामी असोजमा उच्च स्तरीय समिति बनाउने सहमति भएपछि संसल अवरोध खुलेको थियो ।

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी) मा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए । बैठक भदौ ९ गते बस्ने तय भए पनि वर्षाका कारण स्थगित भएको थियो ।

काठमाडौंमा भूमिगत स्रोतको पानी प्रयोग गर्न अनुमति लिनुपर्ने, नलिए कारबाही हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत स्रोतको पानी उपयोग गर्न अनुमतिपत्र लिन र पुराना उपभोक्तालाई अनुमतिपत्र नवीकरण गर्न आग्रह गरेको छ । “भूमिगत स्रोतको पानी निकाल्ने तथा उपयोग गर्ने अनुमतिपत्र जारी गर्ने सम्बन्धि निर्देशिका २०७१ को दफा ३ बमोजिम अनुमतिपत्र लिने र सोही निर्देशिकाको दफा २० ‘अनुमतिपत्र नवीकरण सम्बन्धि व्यवस्था’ बमोजिम सूचना प्रकाशन गरेको मितिदेखि १५ दिनभित्र अनुमतिपत्र लिनुहुन नवीकरण गरिसक्नुहुन यो सूचना अन्तिम पटकको लागि प्रकाशन गरिएको छ,” महानगरले सूचना जारी गर्दै भनेको छ । तोकिएको समयभित्र अनुमतिपत्र नलिने वा नवीकरण नगराउने उपभोक्ताहरूको विस्तृत नामावली राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिने महानगरले जनाएको छ । अनुमतिपत्र नलिने वा नवीकरण नगराउने उपभोक्ताहरूलाई जरिबाना एवं अनुमतिपत्र रद्द गरी भूमिगत स्रोतको पानी उपयोगमा रोकसमेत लगाइने महानगरको चेतावनी छ ।

खाद्य प्रणालीका संयोजक डा.जयकान्त राउत र भुटानका समकक्षी किन्ले छिरिङ्गबीच भेट

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य तथा नेपालका खाद्य प्रणालीका संयोजक डा जयकान्त राउतले भुटानका समकक्षी किन्ले छिरिङ्गसँग साइडलाइन छलफल गरेका छन् । छलफलका क्रममा नेपालले २०२१ मा सम्पन्न विश्व खाद्य प्रणाली सम्बन्धी सम्मेलन पश्चात हाल सम्म भएका प्रयास तथा प्रगतिका वारेमा कुराकानी भएको थियो भने भुटानका तर्फबाट पनि संयोजक छिरिङ्गले भुटानले पछिल्लो समयमा तर्जुमा गरी लागू गरेको खाद्य तथा पोषण नीतिका वारेमा जानकारी गराएका थिए । छलफलका दौरान भूटान र नेपालको भौगोलिक अवस्थिति र यसका कृषि उत्पादनका हिसावले धेरै समानता भएकोले र एक आपसमा व्यापारका साथै क्षमता विकासका हिसावले थुप्रै सहयोग आदान प्रदान हुनसक्ने निश्कर्ष छलफल पुगेको थियो । विश्वमा खाद्य प्रणालीको सुधार तथा रूपान्तरणका लागि अभियानका साथ अगाडी बढाउनुपर्ने भएकोले आआफ्ना देशमा तीनै तहका सरकारका निकायहरूबीच समन्वयात्मक हिसावले अगाडी बढनका लागि खाद्य प्रणाली समन्वय गर्ने दरिलो संरचनाको आवश्यकता रहेको कुरा दुवै पक्षले उठाएको थियो । करिब १ घण्टा चलेको उक्त छलफल कार्यक्रममा भुटानका तर्फवाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विज्ञ डा एम पि तिम्सिना र नेपालका तर्फबाट राष्ट्रिय योजना आयोगका सहसचिव सुमन दाहालको पनि उपस्थिति थियो भने आमन्त्रितको रूपमा नेपाल र भूटानका लागि संयुक्तराष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रमुख केन सिमिजुको पनि सहभागी भएका थिए ।

भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य रहन्न : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य नरहने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उनले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताएका हुन्। उनले जता हेर्‍यो त्यतै भ्रष्टाचार भएको देखिने भन्दै भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउनुपर्ने बताए । नेता कोइरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुने बताए। नेता कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको बताए । उनले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताए । नेता कोइरालाले कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रुपमा चलाउने विश्वास पनि व्यक्त गरे ।

जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवका अनुसार विभिन्न समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समितिसहित केन्द्रीय समितिको बैठक बोलाइएको हो । बैठक साउन १८ गते बिहान ७ बजे काठमाडौंमा बस्ने यादवले जानकारी दिए। बैठक क्वालिटी ब्याङ्क्वेट बुद्धनगरमा बस्ने छ। केन्द्रीय सदस्यहरूलाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो ल्याउन भनिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा टोकराज पाण्डे

काठमाडौं । अर्थमन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो । यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो । पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए । प्रमुखको जिम्मेवारीमा भएपनि पोखरेल २ महिना बिदामा बसेका थिए । १० पुस, २०७९ मा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि पोखरेल बिदामा बसेका थिए । पोखरेल विदामा रहेको बेला २ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

परिवर्तनकारी शक्तिहरुबीच वृहत मोर्चा आवश्यक : देव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले परितर्वनकारी शक्तिहरु मिल्नुको विकल्प नभएको बताएका छन् । साम्राज्यवादी देशहरुले युद्ध र समाजवादी देशहरुले शान्तिको नीति अख्तियार गरेको बताए । “विश्व एक ध्रुबबाट दुई ध्रुबमा विभाजित हुन पुगेको छ । साम्राज्यवादी शक्ति तथा देशहरुले युद्धको नीति अख्तियार गरेका छन् भने सामाजवादी देशहरु शान्तिको । परिवर्तनकारी शक्तिहरुबीच वृहत मोर्चाबन्दी आवश्यक भएको छ । अहिलेको आवश्यकता कम्युनिस्टहरुबीच एकता हो” गुरुङले भने । नेपाल जुछे विचार प्रतिस्ठानले सोमबार संवाद डबलीमा कोरियाको ७० औं विजय दिवसको वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले प्रजातान्त्रिक जनवादी कोरिया उत्पीडित राष्ट्रको लागि प्रेरणा बनेको बताए । अहिलेको विश्वको प्रमुख अन्तरविरोध उत्पीडित राष्ट्र र साम्राज्यवादबीच भएको बताउँदै गुरुङले जनतालाई सर्वेसर्वा भन्ने किम इल सुङको जुछे विचार वैज्ञानिक भएको बताए । उत्पीडित राष्ट्र र जनताले साम्राज्यवादी शक्तिहरुसँग लड्न जुछे विचार आत्मसात गर्न आवश्यक रहेको गुरुङले बताए । देश स्वाधिन र आत्मनिर्भर हुन कोरियाबाट सिक्नुपर्ने समेत उनले बताए । कार्यक्रममा नेपालको लागि प्रजातन्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले जनताको शक्तिकै आधारमा आफ्नो देश विजयी भएको बताए । मानले आफ्नो देश जनतासँग एकाकार भएर अगाडि बढेको बताउँदै जनताको शक्तिले नै कोरिया विदेशी हस्तक्षेबाट मुक्त भएर प्रगतिमा अगाडि बढेको बताए । माओवादी केन्द्रका युवा नेता रामदीप आचार्यले जनता एकजुट भए ठूला विजय प्राप्त हुने र देश आत्मनिर्भर हुन्छन् भन्ने कुरा कोरियालीबाट सिक्नुपर्ने बताए । उत्पीडित र बाह्य हस्तक्षेपबाट मुक्त हुन कोरियाली जनताको संघर्ष प्रेरणादायी भएको बताए । कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बास्कोटा, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सिताराम तामाङ, अखिल नेपाल किसान युनियनका इन्चार्ज लोकनारायण सुवेदी, किसान नेता दुर्गाप्रसाद जैसी, बलराम बास्कोटालगायतको उपस्थिति रहेको थियो । नेपाल जुछे विचारका अध्यक्ष नहेन्द्र खड्काको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन शिवहरी खनालले संचालन गरेका थिए ।

निर्धारित लक्ष्य प्राप्त हुनेगरी काम गर्न आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवाका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

बुटवल । राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् । आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणकाक्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा.महतले यस्तो आग्रह गरेका हुन् । नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न मन्त्री डा.महतको आग्रह थियो । विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन । यसपाली पनि त्यस्तै हो भन्न पाइँदैन, मन्त्री डा.महतले भने, विस्तारै अर्थतन्त्र गतिशील हुँदैछ, सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौं ।’ मूल्य अभिवृद्धि कर (भ्याट)विस्तारै हट्दै गएको र त्यसले राजश्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराएको जानकारी दिंदै मन्त्री डा. महतले भने, नयाँ मूल्य अभिवृद्धि कर कसरी लागू गर्ने भन्ने बारेमा तपाईंहरु पूर्णरुपमा प्रशिक्षित हुनुपर्छ । ट्राभल्समा लाग्ने करको उदाहरण दिँदै मन्त्री डा. महतले भन्नुभयो, ‘ट्राभल्समा लाग्ने कर एयरलाइन्सले नै तिर्ने हो । त्यसको रेकर्ड आन्तरिक राजश्व कार्यालय पनि राख्नुपर्छ ।’ स्याउ, आलु र प्याजमा पनि कर लागेको छ, तर त्यो भन्सारमा मात्र लाग्छ । भ्याट लागेको स्टोरबाट सामान बिक्री हुन्छ भने त्यहाँ उसले भ्याट जोड्नुपर्छ । बाहिरबाट आएको छ भने भन्सार मानै लाग्छ, आन्तरिक उत्पादनमा लाग्दैन । नयाँ क्षेत्रमा कर प्रस्ताव गरिएको छ, त्यसलाई राम्रोसँग अध्ययन गर्न मन्त्री डा। महतले आग्रह गर्दै भन्नुभयो, ‘हामीले निर्धारण गरेको लक्ष्य प्राप्त हुनुपर्छ । पहिले के हुन्थ्यो थाहा छैन, अहिले कामकै आधारमा मात्रै मूल्यांकन हुन्छ ।’

सुनको मूल्य बढ्यो, हेर्नुस कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार सुनको मूल्य आज दुई सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । सोमवार चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार ४५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

बाढीपहिरो पिडित जनताको समस्या तत्काल समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बाढीपीडित जनताको साथमा सधैँ रहेको उल्लेख गर्दै जनताको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको पूर्वी पहाडमा बाढिपहिरोका कारण भएको जनधनको क्षति र जलविद्युत क्षेत्रमा पुगेको क्षतिबारे ध्यानाकर्षण गराउँन प्रधानमन्त्री निवास बालुवाटार पुगेका स्वतन्त्र उर्जा उत्पादक संघका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । । प्रधानमन्त्री प्रचण्डले पूर्वी पहाडी जिल्लाको बाढीपहिरोको बारेमा आफू पूर्ण रुपमा जानकार रहेकाले त्यसको समस्या समाधानका लागि सरकारले कदम चालिसकेको बताए । बाढीबाट क्षति पुगेको पुलमा तत्काल बेलिब्रिज हाल्नका लागि निर्देशन दिइसकिएको समेत प्रधानमन्त्री प्रधानमन्त्रीले सो अवसरमा जानकारी दिए। भेटमा प्रतिनिधीसभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग गरेका थिए । सांसद खड्का लगायतको टोलीले असार २ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई सङ्घीय सरकारका तर्फबाट राहतको व्यवस्था मिलाउन आग्रह गरेको हो । उनले सङ्खुवासभामा बाढीबाट १८ घरमा क्षति पुगेको, चार जलविद्युत् आयोजनामा पूर्ण क्षति र छ जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको जानकारी गराएका थिए । बाढीले पूर्व क्षेत्रका नहर तथा कुलो बगाउँदा कतिपय स्थानमा अहिलेसम्म पनि रोपाइँ हुन सकेको छैन् । आगामी दिनमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना हुने तर्फ त्यहाँका बासिन्दा चिन्तित रहेका छन् । बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत १९ मजदुर बेपत्ता भएका थिए । तीमध्ये दुई जनाको शव फेला परेको छ । तीनजना घाइतेको उद्धार गरिएको थियो । सङ्खुवासभाको हेवाखोलामा आएको बाढीले चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने पक्की पुल बगाएको थियो भने चैनपुर नगरपालिकाको निर्माणाधीन पुल बगाएको थियो । प्रधानमन्त्रीले यी सबै समस्याबारे आफु जानकार रहेको बताउँदै पिडित जनताको मलमपट्टी लगाउँन पहल गरिने बताएका हुन् ।