दर्ता नभएका मोबाइल असार महिनाभित्र राजस्व तिरेर दर्ता गर्न सकिने

काठमाडौं । दर्ता नभएका मोबाइल असार महिनाभित्र राजस्व तिरेर दर्ता गर्न सकिने भएको छ। दर्ता नभएका मोबाइलको राजस्व बुझाएर असार ३० गतेसम्म दर्ता गर्न सकिने विभागले जनाएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा आवश्यक विवरण भरेर राजस्व बुझाएपछि मोबाइल दर्ता गर्न सकिने भन्सार विभागले जनाएको हो।

२०७९ पुस १५ गतेदेखि एमडीएमएस प्रणाली कार्यान्वयन आएको घोषणा गरे पनि चर्को विरोधपछि सरकारले स्थगित गरेको थियो । त्यसअघि नै प्राधिकरणले असोज १ गते यसको परीक्षण शुरु गरेको थियो । त्यतिवेला २०७९ भदौ मसान्तसम्म प्रयोगमा रहेका सबै मोबाइललाई स्वतः सो प्रणालीमा दर्ता गरिएको थियो। त्यसयता दर्ता नभएका मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको थियो।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमार्फत दर्ता नभएका त्यस्ता मोबाइल राजस्व तिरेर दर्ता गर्न सकिने व्यवस्था गरेपछि विभागले त्यसको कार्यान्वयनका लागि असारसम्मको समय तोकेको हो। असारभित्र दर्ता नहुने मोबाइलमा ‘नेटवर्क लक’ हुने छ जसले गर्दा नेपालका दूरसञ्चार सेवा प्रदायकको सेवा लिन पाइने छैन ।

आर्थिक विधेयकमा विभिन्न कारणले दर्ता हुन नसकेमा मोबाइल फोन सेटको आइएमइआई नम्बर उल्लेख गरेर एकमुष्ट महशुलबापत आइफोन र एक लाख रुपैयाँभन्दा बढी मूल्यका लागि प्रतिफोन १० हजार रुपैयाँ बुझाउनुपर्ने उल्लेख छ।

स्मार्ट फोन सेटका लागि प्रतिफोन सेट तीन हजार रुपियाँ र स्मार्ट मोबाइलबाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रतिफोन सेट २०० रुपैयाँ बुझाएर एमडीएमस प्रणालीमा दर्ता गर्न चाहे प्राधिकरणले त्यस्ता फोन दर्ताको व्यवस्था गर्नुपर्ने छ।

दाङमा चट्याङ लागेर दुईजनाको मृत्यु

दाङ । दाङमा चट्याङले लागेर शनिबार साँझ दुईजनाको मृत्यु भएको छ । चट्याङ लागेर दंगीशरण गाउँपालिका–३ का ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण–६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी खेतबारीबाट तरकारी टिपेर फर्कंदै गर्दा र केसी खेतमा काम गरिरहेको समयमा चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए । अहिले चौधरी र केसी दुवैको शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

किशोरीको बलात्कार आरोपमा काठमाडौंबाट एकजना पक्राउ

काठमाडौं । १६ वर्षीया किशोरीको बलात्कार आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार (हिजो) बिहान प्रहरीले पक्राउ गरेको हो । गएको सोमबार सिलवालले ती किशोरीको बलात्कार गरेको आरोप छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सिलवाललाई नियन्त्रणमा लिएको जनाइएको छ ।

नेदरल्याण्ड्ससामु नेपालको फितलो प्रर्दशन, १ सय ६७ रनमै अलआउट

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत नेदरल्याण्ड्ससामु नेपालले फितलो प्रर्दशन गरेको छ । आज जारी खेलमा नेपाली क्रिकेट टोलीले नेदरल्याण्ड्सलाई १ सय ६८ रनको सामान्य लक्ष्य दिएको छ। जिम्बावेको ताकासिंगा क्रिकेट स्पोर्टस् क्लबमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४४।३ ओभरमा १ सय ६७ रन बनाउँदा अलआउट भयो। खराब प्रर्दशन गरेको नेपालले एक सय रन कटाउन २९ ओभरमा ५ विकेट गुमाएको थियो। नेपालका लािग कप्तान रोहित पौडेलले बनाएको ३३ रन नै सर्वाधिक रह्यो। ओडिआइमा ५० औं खेल खेलिरहेका कुशलले ५५ बलमा ३ चौका र १ छक्का हान्दा क्याच आउट भए। नेपालबाट ५० औं ओडिआइ खेल खेल्ने रोहित पहिलो खेलाडी हुन्। कुशल मल्ल २७, भिम सार्की २२, गुलसन झा १५ र दिपेन्द्र सिंह ऐरिले १४ रन थपे। कुशल मल्लले १२ रन बनाए। आरिफ शेख ६, करण केसी एक र आशिफ शेख शुन्य रनमा पवेलियन फर्के। सन्दीप लामिछाने २७ रनमा क्याच आउट भए। सन्दीप ३३ बलमा ४ चौका हाने। ललित राजवंशी शुन्य रनमा नटआउट रहे। नेपालले नेदरल्याण्डस्विरुद्ध २ छक्का र ११ चौका मात्र प्रहार गर्यो। किफायती बलिङ गरेका नेदरल्याण्ड्सका बलरसामु नेपाली ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

रुकुममा जिप दुर्घटना : कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सहित नौ जना घाईते

रुकुम पश्चिम । शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ घारीपाखानेर उहाँ चढेको कर्णाली प्रदेश ००१ झ ००४४ नम्वरको जिप दुर्घटना भएको छ । दुर्घटना हुँदा कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सहित नौं जना घाईते भएका छन् । दुर्घटनामा परेर माननिय खड्काको बाँया खुट्टामा चोट लागेको उनका स्वकिय सचिव हुकुम बिसीले जानकारी दिए । उक्त दुर्घटनामा परेर चौरजहारी नगरपालिका ९ मा रहेको आधारभूत विद्यालय भुवा टाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, माननिय खड्काका स्वकिय सचिव हुकुम बिसी, चालक युवराज गिरी सहित गाडिमा सवार नौ जना घाईते भएका छन् । प्रधानाध्यापक मल्लको हात भाँचिएको छ भने अरु सबैको अवस्था सामान्य रहेको छ । भोलि आईतबारका दिन रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँ सभामा सहभागि हुन त्यसतर्फ जाने क्रममा गाडि दुर्घटना भएको हो । गाडिको स्टेरिङ अकस्मात घुमेपछि गाडि अनियन्त्रित भएर पल्टिएको गाडि चालक गिरीको प्रतिक्रिया रहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट पुगेको प्रहरी टोलीले घाईतेहरुलाई उपचारको लागि चौरजहारी अस्पतालतर्फ लिएको छ ।

काठमाडौं–बेइजिङ सीधा उडान आजदेखि सुरु

काठमाडौं । आज (असार ९ गते) देखि काठमाडौं–बेइजिङ सीधा हवाई उडानको सुरुवात भएको छ । हिमालय एअरलाइन्सले काठमाडौं–बेइजिङ उडान सुरु गरेको हो। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान ७ बजेर ४० मिनेटमा उडेको उडान नम्बर एच नाइन ६६५ विमान स्थानीय समयानुसार दिउँसो २ बजेर १५ मिनेट जाँदा बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हिमालय एअरलाइन्सले जनाएको छ। काठमाडौंबाट बेइजिङ पुग्न ४ घण्टा ४५ मिनेट लगाएको विमान स्थानीय समयानुसार दिउँसो ३ बजेर २५ मिनेटमा पुनः काठमाडौंका लागि उड्ने जनाइएको छ। आजको उडानमार्फत छोरीको बिहेका लागि नेपाल आएका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ आफ्नो कार्यस्थल फर्किएका छन्। आजदेखि काठमाडौं–बेइजिङ सीधा उडान नियमित हुने हिमालय एअरलाइन्सले जनाएको छ। यसबाट नेपालको पर्यटन र व्यापार प्रवर्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

नेपाल र नेदरल्यान्ड्सबीच खेल जारी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपाल र नेदरल्यान्ड्सबीच जारी छ । अहिले नेपालले ब्याटिङ गरिहेको छ । नेदरल्यान्ड्सविरुद्ध नेपालका आसिफ शेखको पहिलो विकेट गुमेको छ । ताकासिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालले २.२ ओभरमा आसिफलाई गुमाएको हो । डक भएका आसिफलाई नेदरल्यान्ड्सका लोगन भान बीकले बोल्ड गरे । नेपालले तीन ओभरको समाप्तिमा एक विकेट गुमाएर आठ रन जोडेको छ । नेदरल्यान्ड्सविरुद्ध नेपाल पहिलो ब्याटिङ गर्दै छ । खेलका लागि भएको टस जितेपछि नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डसले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएका थिए । छनोटको सुपर सिक्समा पुग्न आज नेपाललाई जित्नैपर्ने दबाबमा छ । आजको खेलमा जित निकाले पनि नेपाललाई अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग हार्नुपर्ने समीकरण आवश्यक हुन्छ । जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

युएईमा तामाङ समाजकाे सांगीतिक कार्यक्रम, तयारी पुरा

युएई । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईको सांगीतिक कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ । ‘मेरो संस्कृति मेरो पहिचान, शिक्षाको लागि समाज’ भन्ने मुल नाराको साथ समाजले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रम ‘म्युजिकल प्रोग्राम-१ २०२३’ को तयारी पूरा भएको हो । युएईको दुई शहरहरु रस अल खैमहको इन्डियन एसोसिएसनमा जुन २९ तारिख ,दिउँसो ०३:०० बजे र दुबईको एभरेस्ट क्लबमा जुलाई २ तारिख, दिउँसो १ बजे विजोड सांस्कृतिक कार्यक्रमको तयारी गरेका छन् । उक्त कार्यक्रमका लागि सांस्कृतिक प्रस्तुति दिन नेपालबाट चर्चित सेलो गायिका सुमिना लो, गायक प्रदिप लामा र मोडल तथा नायिका नम्रता सापकोटा युएई जाँदैछिन भने युएईमा रहेका स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुति दिने तामाङ समाज युएईका महासचिव नवीन दोङले जानकारी गराए । विशेषगरी शिक्षाको कारण तामाङ समुदाय सामाजिक, आर्थिक र राजनीतिक हिसाबले पछाडि परेको कुरालाई मध्यनजर गर्दै शिक्षाको क्षेत्रमा केही आर्थिक सहयोग गर्ने उदेश्यले उक्त म्युजिकल कार्यक्रम राखेको महासचिव दोङले बताए । उनले थप भने ‘हाम्रो उदेश्य नाचगान मात्रै हैन, शिक्षाको कारण पछाडि परेको तामाङ समुदायले उत्थानको लागि सानो प्रयास पनि हो । कोही तामाङको छोराछारी पैसाको कारण पढ्न नपाएको देख्न नपरोस्, त्यसका लागि हामीले आफ्नो ठाउबाट गरेको सानो कोशिश हो यो सांस्कृतिक कार्यक्रम ।’ तामाङ समाज युएईले लामो समयदेखि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी आर्थिक स्थिति नाजुक तामाङ समुदायका बालबालिकाहरुलाई छात्रवृत्ति तथा तामाङ समुदायको बहुलियता भएको विद्यालयलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् भने युएईमा अलपत्र नेपालीहरुको समेत उद्धार गर्दै आइरहेका छन् । यसअघि तामाङ समाज युएईले “शिक्षाको लागि समाज कार्यक्रम” अन्तर्गत प्रदान गर्दै आएको रकम १११,१११ रुपैयाँलाई बढाएर १५५,५५५ रुपैयाँ दिने निर्णय गरिएको छ भने छात्रवृत्ति स्वरुप दिदै आएको १५,००० रुपैयाँ रकमलाई २०,००० रुपैयाँ दिने भएको छ । त्यसैगरी तामाङ समाजको उत्कृष्ट ब्यक्तित्वहरुलाई प्रोत्साहन स्वरूप प्रदान गरिने “Top Talent Encouragment Award”को रकम १५००० रुपैयाँलाई बढाएर २५,००० रुपैयाँ बनाउने निर्णय गरेका छन् ।

कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति लामाको निधन

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ। लामो समयदेखि ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा शुक्रबार राती १२ः ४५ बजे वीर अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर तामाङले जानकारी दिए। कांग्रेसमा सादगी नेताको रूपमा परिचित लामा कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदका उम्मेदवार थिए। लामाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज दिनभर काठमाडौ‌ बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ। लामाका दुई छोरा र चार छोरी छन्। विद्यार्थीकालदेखि नै कांग्रेसको राजनितिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लामा १३ औँ महाधिवेशनमा कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा निर्वाचित भएका थिए। उनले दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसको तर्फबाट प्रत्यासी थिए।

सुदूरपश्चिमका कानूनमन्त्री सिंह र उनकी धर्मपत्नीको आज अन्त्येष्टि

बझाङ । जीप दुर्घटना परी दिवंगतभएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवीको अन्त्येष्टि आज गरिँदैछ। कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले सिंह दम्पतीको अन्त्येष्टि चार दिनपछि गरिन लागिएको नेपाली कांग्रेस पूर्व पार्टी सभापति हर्कजं‌गबहादुर सिंहले बताए । बुधबार जिल्ला अस्पतालमा राखिएको मन्त्री सिंह दम्पतीको पार्थिव शरीर आज ९ बजे जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराई ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर मसान घाट डुंग्रीमा अन्त्येष्टि गरिने भएको हो। डडेल्धुराबाट गृहजिल्ला बझाङ आउने क्रममा मंगलबार मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परी मृत्यु भएको थियो। मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो साढे १ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो।

बेपत्ताको शव नभेटिएपछि कुशको प्रतीक बनाएर दाहसंस्कार

ताप्लेजुङ । गत शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन् । बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् । बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले खोजी जारी राखेका थिए । पहिराले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाती ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता भएका थिए ।

‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को मंगलबार अवलोकन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले कला र संस्कृतिको जर्गेनामा राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिएकी छन् । उनले प्रदर्शनीमा देशको संस्कृति, प्रकृति, जनजीवन, देशप्रेम लगायत विभेद र समानताको विषयसमेत कलात्मक ढंगले आएको बताइन् । प्रदर्शनीमा दैनिक १ हजारदेखि १२ सयले अवलोकन गरेको प्रतिष्ठानले जनाएको छ । प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसर नाफा नक्साल र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ । प्रदर्शनीका क्युरेटर प्रदिप शाक्यले नेपाली कला र सभ्यताको महाउत्सवको रुपमा यो प्रदर्शनी भएको बताए । उनले म, मेरो देश र मेरो सिर्जना थिममा कलाकृतिलाई राखिएको जनाउँदै ती कलामा नेपालीपनको स्वाद लिन पाउने विश्वास व्यक्त गरे । ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ जेठ १५ गतेबाट सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री माननीय सुदन किरातीले उद्घाटन गर्नुभएको यस प्रदर्शनी ‘म, मेरो देश र मेरो सिर्जना’ अवधारणामा गरिएको छ । उद्घाटनपश्चात प्रदर्शनीलाई विभिन्न उच्च पदस्थ व्यक्ति, नेता, कलाकार, राजदूत, सेना, प्रहरी लगायतले अवलोकन गरिसकेका छन् । अवधिमा पुरस्कृत कलाकारहरुसँग अन्तक्र्रिया, ‘कलामा लैङ्गिक चुनौती’,Materiality and Mobilities in Contemporary Art, ‘हस्तकलाः चुनौती र अवसर’, ‘परम्परागत–समसामयिक मूर्तिकलाबिचको अन्तरसम्बन्ध’ लगायतका विषयमा समूहगत छलफलसमेत सम्पन्न भएको छ । प्रदर्शनीमा देशभरका लोककला, परम्परागत चित्रकला÷मूर्तिकला, समसामयिक चित्रकला÷मूर्तिकला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गतका फोटोग्राफी कला, प्रतिस्थापन कला, कार्टुन, भावभङ्गी कला, क्यारिकेचर र डिजिटल विधा अन्तर्गत ६०९ कलाकारका ६९५ कलाकृति राखिएको छ । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५३ कलाकारका ७५५ कलाकृतिमध्येबाट यी कलाकृतिको छनोट गरिएको हो । जसअन्तर्गत समसामयिक चित्रकला विधामा २३४ जना कलाकारका २६९ कलाकृति, परम्परागत चित्रकला विधामा १३० जना कलाकारका १३६ कलाकृति, समसामयिक मूर्तिकला विधामा ४२ जना कलाकारका ४६ कलाकृति, परम्परागत मूर्तिकला विधामा ३१ जना कलाकारका ३९ कलाकृति, हस्तकला विधामा ६३ जना कलाकारका ८५ कलाकृति, लोककला विधामा ४२ जना कलाकारका ४७ कलाकृति, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफी विधामा १६ जना कलाकार २१ कलाकृति, प्रतिस्थापन कला विधामा १२ जना कलाकारका १२ कलाकृति, कार्टुन विधामा १७ जना कलाकारका १७ कलाकृति, भावभङ्गी विधामा १२ जना कलाकारका १२ कलाकृति, क्यारिकेचर विधामा ४ जना कलाकारका ४ कलाकृति र डिजिटल विधामा ६ जना कलाकारका ७ कलाकृति रहेका छन् । यी कलाकृतिमध्ये लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद्, बबरमहल तथा समसामयिक चित्रकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृति नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिएको छ । प्रदर्शनीको क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदिप शाक्यले गरे । प्रदर्शनीको उद्घाटनको दिन यसवर्षको अरनिको राष्ट्रिय ललितकला सम्मान क्रमशः मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरियो । यसको राशी जनही १ लाख र ताम्रपत्र रहेको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः नगेन्द्रप्रसाद पौड्याल र नारायणप्रसाद ढुंगानालाई प्रदान गरियो । यसको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवद्र्धन सम्मान संगीता थापालाई प्रदान गरियो भने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरियो । सासामयिक चित्रकला विधामा यसवर्षको राष्ट्रिय ललितकला पुरस्कार उद्धवराज रिमाललाई प्रदान गरियो । यस पुरस्कारको राशी ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार रिता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा रमेश कुँवर, टिकाराम राई र संगीता घिमिरे रहनुभएको थियो भने मूल्यांकन समितिमा मदन चित्रकार, रतनकुमार राई र एरिना ताम्राकार थिए । परम्परागत चित्रकला विधामा यसवर्षको राष्ट्रिय ललितकला पुरस्कार राज प्रकाशमान तुलाधरलाई प्रदान गरियो । यस पुरस्कारको राशी ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार रविन्द्र महर्जन र तारामान भोम्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा बुद्ध योञ्जन लामा, रामप्रकाश श्रेष्ठ र उजय बज्राचार्य रहेका छन् । मूल्यांकन समितिमा मानबहादुर दोङ, उदयचरण श्रेष्ठ र रत्नगोपाल सिंख्वाल रहेका छन् । वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा यसवर्ष राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाललाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गी कलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा अशोकमान सिं, सम्झना राजभण्डारी, सागर मानन्धर, विकास कार्की रहेका थिए भने मूल्यांकन समितिमा हरिवंश किराँत, कुमार आले, मनिषलाल श्रेष्ठ र अविन श्रेष्ठ थिए । हस्तकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्यलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार शेखमान महर्जन र सुमित्रा भुजेललाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा उपेन्द्र बाराही, उसिना महर्जन र दिपेन्द्र शाक्य रहनुभएको थियो भने मूल्यांकन समितिमा रुद्रबहादुर बराइली, निलम ताम्राकार र धर्मराज शाक्य हुनुहुन्थ्यो । लोककला विधामा यसवर्ष राष्ट्रिय ललितकला पुरस्कार नम्रता सिंहलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योति कुमारी सापकोटा कर्णलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा सरितादेवी मण्डल, कृष्णराज सर्वहारी र सुष्मा शाक्य रहनेका थिए भने मूल्यांकन समितिमा डा. गोपाल ठाकुर, सुवोधचन्द्र दास र मेरिना चित्रकार थिए । परम्परागत मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा राकेश अवाले, उत्तम शाक्य र रामभक्त महर्जन रहनुभएको थियो भने मूल्यांकन समितिमा सिंहराज तुलाधार, चन्द्रश्याम डंगोल र सिद्धिरत्न शाक्य हुनुहुन्थ्यो । समसामयिक मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार टिकाराम पौडेल (शशि किरण) र मिना कायस्थलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा भुवन थापा बहुवी, पूर्णकाजी शाक्य र सुनिता राणा रहनुभएको थियो भने मूल्यांकन समितिमा गोपाल कलाप्रेमी, पुष्पा शेरचन र राजु पिठाकोटे हुनुहुन्थ्यो । ‘म, मेरो देश र मेरो सिर्जना’ थिममा हुने यस वर्षको कला प्रदर्शनीको लोगो निर्माण गर्नुहुने कलाकार प्रा. राधेश्याम मूल्मीलाई ताम्रपत्रबाट सम्मान गरियो । पुरस्कृतमध्ये राष्ट्रिय ललितकला पुरस्कार पाउनुहुने कलाकारलाई जनही ५० हजार विद्वतवृत्ति प्रदान गरिएको छ । यस वर्षको ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । त्यस्तै, उद्घाटन कार्यक्रममा प्रतिष्ठानमा उत्कृष्ट कर्मचारीको सम्मान सविना पोखरेल र सुरेन्द्र गौतमलाई प्रदान गरिएको थियो । प्रदर्शनीको उद्घाटनका दिन नेपाल आर्ट काउन्सिलमा विशाल भट्टराईको धु्रपद गायन र निमेश कपालीको ताल सङ्गत प्रस्तुतिमा ‘धु्रवपदः रागालाप’ सांगीतिक कार्यक्रम समेत राखिएको थियो । समापनका दिन अर्थात जेठ ३० प्रदर्शनीको बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने ५ जना पत्रकारलाई रु ५ हजार र सम्मान पत्र प्रदान गरिनेछ । त्यस्तै, बिएफए, एमएफए, एमफिल, पिएचडीमा अध्ययनरत् विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरुबाट पहिलो, दोस्रो, तेस्रो र विशेष गरी ४ लाई समेत पुरस्कृत गरिनेछ ।

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी

सिन्धुली । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म ती अधिकारीहरूलाई भेटाउन सकिएको छैन । सिटिइभिटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत प्राविधिक भानु पौडेल सवार थिए । उनीहरु सबै बेपत्ता रहेका छन भने चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर निस्किन सफल भएका थिए । खोजी जारी भए पनि हालसम्म बेपत्ता व्यक्ति र गाडी भेटिएको छैन । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोलीले शुक्रबारदेखि खोजी निरन्तर गरिरहेको छ । एकातर्फ पानीको बहावलाई फर्काउने काम भइरहेको छ भने अर्कोतर्फ गोताखोरहरुले चुम्बक समेत प्रयोग गरी गहिराइमा पुगेर खोजी गरिरहेका छन् । बेपत्ताहरूको खोजी गर्ने काममा जुटेको टोलीले पाँचौँ दिन आज पनि प्रयास जारी राखेको छ । दुवै तर्फबाट सुनकोशीलाई छेकेर अब एउटा भँगालो थुनेपछि पूरै पानी रामेछापबाट बहने र बेपत्ताहरूको खोजी गर्न सहज हुने खोजी गोताखोर केशव महतले जानकारी दिए । सुनकोशी नदीको पानीमा अत्यधिक करेन्ट भएकाले नदीको तल्लो भागसम्म पुग्ने गरी ५० केजी वजन जीउमा बाँधेर खोजी सुरु भए पनि धमिलो पानी भएकाले भित्र नदेखिँदा समस्या भएको छ । उनका अनुसार नदीको पानी कञ्चन भइदिएको भए यति ठूलो समस्या हुने थिएन । घटना भएको दोस्रो दिनदेखि नै सुनकोशीको पानीलाई रामेछापतर्फको किनारबाट पठाएर घटनास्थलमा पानी कम गराउने प्रयास भइरहेको छ । चारवटा स्काभेटर, तीनवटा जेसिबी, डोजर, पाँचवटा टिपर र ट्याक्टर लगाएर पानीका बहाव अर्कोतर्फबाट फर्काउन प्रयास भइरहे पनि हालसम्म सफल भएको छैन । चारवटा एक्साभेटर, दुइटा डोजर र केही ड्रम ट्रक लगाएर सोमबार रातको ९ बजेसम्म पानीको बहाव फर्काउन लगातार मेशिनमार्फत काम गरिएको थियो । रातमा बत्ती बालेर लगातार गरेको मेहनत मङ्गलबार बिहान हेर्दा उस्तै भयो । अहिले सोही कार्य दोहोर्‍याइएको छ ।

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर गएको छैन : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा।प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बएका छन् । मङ्गलबार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिंदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको बताए । उनले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढङ्गबाट काम गरेको बताएका हुन् । अर्थमन्त्री महतले अर्थ मन्त्रालयका कर्मचारीकै रूपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताए । अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको समेत बताए । श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताए । उनले भने-‘मेरो इमान्दारितामा एक इन्च रौं हील्लिएको छैन ।’ उनले इमान्दारिता कायम राखेकाले स्वास्थ्य समूहहरू निजी स्वार्थ भएकाहरू पछि लागेको उनको भनाई थियो । अनधिकृत व्यक्ति छिराएर करका दर हेरफेर गर्न पर्‍यो भन्ने भाष्य बनाएर नियोजित रूपमा गर्दा त्यो नै सत्य हुने ? भन्दै उनले प्रश्न गरे । अर्थमन्त्रीले जिम्मेवारीमा बसेकाहरू सबै असत्य, झुटा र असत्य काम गर्न बसेको भन्नेकुरा हुन नसक्ने बताए । उनले कसैले लेखिदियो त्यो चाहिँ सत्यमाथि सत्य भयो भन्ने तर्क गरे । उनले जिम्मेवारी लिएर कसम खाएर संसद्को रोष्टममा उभिएर जवाफ दिएको भन्दै आफ्नो इमान्दारितामाथि शङ्का नगर्न आग्रह गरे । त्यस्तै,अर्थमन्त्री डा.महतले करको दर हेरफेरबारे आफूहरूले नै निर्णय गरेको बताए। उनले निर्णय भएको इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रूपमा लिएको स्वीकार गरे । उनले करको दर हेरफेरबारे आफूसहितका आधिकारिक व्यक्तिहरूले निर्णय गरेको दाबी गरे । उनले निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा इन्टर गर्ने काम मात्र भएको बताए ।

कोसी प्रदेश सरकार छाड्ने माओवादीको निर्णय

विराटनगर । नेकपा (माओवादी केन्द्र)को कोसी प्रदेश कमिटीले नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्र प्रदेश कमिटी र कोसी प्रदेश संसदीय दलका पदाधिकारीसहितको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । विराटनगरमा सम्पन्न बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । अब यो निर्णय संसदीय दलबाट अनुमोदन भएपछि माओवादीका तर्फबाट सरकारमा रहेका दुई मन्त्रीले राजीनामा दिनेछन् ।  

सञ्चारमन्त्री शर्मासँग भर्चुअल संवाद गर्न सकिने

काठमाडौं, २३ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि भर्चुअल संवाद गर्न सकिने भएको छ । मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुुझाव र गुनासो सहज प्राप्त होस् भनेर यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । जसका लागि मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट https://www.mocit.gov.np/ मा गएर ‘मन्त्रीसँग भर्चुअल संवाद’ क्लिक गरी संवाद प्रक्रिया अघि बढाउन सकिने छ । सोझै https://mocit.gov.np/write-to-minister मा गएर पनि मन्त्रीलाई मन्त्रालय वा सरकारसँग सम्बन्धित गुनासो वा सुझाव राख्न सकिने छ । यसले देशका जुनसुकै कुनाबाट पनि गुनासो र सुुझाव प्राप्त गर्न सकिने मन्त्रालयको विश्वास छ । ‘मन्त्रालयमा दैनिक भेट गर्न आउनेहरुको चाप धेरै छ, जसमा अधिकांशले अत्यावश्यकीय तर सानासाना गुुनासो लिएर आएका हुन्छन्’– मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले भने– ‘त्यस्तो गुनासो सेवाग्राहीले अनलाइनबाट पठाउन सकून् र मन्त्रालय नपुगेर पनि देशका जुनसुकै कुनाबाट गुनासो र सुझाव दिन सकून् भनेर यो प्लेटफर्मको व्यवस्था गरिएको हो ।’ मन्त्रीको सञ्चार सचिवालयबाट सम्बन्धित निकाय पक्षसँग समन्वय गरी जिज्ञासाको सम्बोधन साप्ताहिकरूपमा गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । ‘सकेसम्म त्यस्ता सुझाव वा गुनासो मन्त्रालयसँगै केन्द्रित रहेर आएमा सम्वोधन गर्न सजिलो हुनेछ’– प्रवक्ता सुवेदी भने– ‘मन्त्री सरकारको प्रवक्ता पनि भएकाले सिंगो सरकारसँग जोडिएका नीतिगत सुझाव पनि दिन सकिने छ ।’