आज सङ्घीय संसद् मातहतका पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडाैं । सङ्घीय संसद् मातहतका विभिन्न पाँच वटा संसदीय समितिको बैठक आज बस्दै छ । सार्वजनिक भएको कार्यक्रमअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखासमिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि संशोधन दर्ता गराएका सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ ।

साथै लेखासमितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको उपस्थितिमा सरकारका सबै सचिवहरूसँग छलफल गर्ने कार्यक्रम छ । विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची छ । सार्वजनिक नीति था प्रत्यायोजित विधायन समितिमा कानुन, न्याय तथा संसदीय मामिलामनत्रीसँग छलफल गर्ने कार्यसूची छ । 

सिन्धुलीमा बेपत्ता परिवारकी माइली छोरी र ज्वाइँ प्रहरी सम्पर्कमा

सिन्धुली । सिन्धुलीमा बेपत्ता भएको भनिएको १६ जनाको परिवारकी माइली छोरी सुजता हायू र उनका श्रीमान् आयुष श्रेष्ठ प्रहरी सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार सुजता र आयुष केही महिनादेखि काठमाडौंमा बस्दै आएका थिए। “उहाँहरू हाम्रो सम्पर्कमा आउनुभएको छ र काठमाडौंमा रहेको पुष्टि भएको छ,” डीएसपी सुवेदीले भने। प्रहरी अनुसन्धानमा सुजता बेपत्ता भएको भनिएको सूचीमा समावेश भए पनि उनी आफ्ना श्रीमानसँग काठमाडौंमा बस्दै आएको खुलेको छ। गाउँलेहरूले उनको नाम पनि बेपत्ताको सूचीमा समावेश गरेका थिए, तर उनी गाउँको घरमा नरहेको प्रहरीले जनाएको छ। “सुजताले आफ्नो परिवारसँग सम्पर्क नभएको बताएकी छन्,” डीएसपी सुवेदीले थपे, “तर परिवारका बाँकी सदस्य अझै प्रहरी सम्पर्कमा आएका छैनन्।” तीन दिनअघि रामेछापमा उनीहरूको लोकेसन देखिएको भए पनि हालसम्म अन्य बेपत्ता व्यक्तिहरू फेला परेका छैनन्।  

प्रदेश-१ मा वाइसिएलकाे श्रमदान: वृक्षारोपणदेखि बाँध निर्माणसम्म

विराटनगर । नेकपा (माओवादी केन्द्र) सहायक युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले गत साउन १ गतेदेखि देशव्यापी रूपमा सुरु गरेको ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानले प्रदेश १ मा तीव्रता पाएको छ ।  ‘क्रान्तिकारी कम्युनिस्ट युवाहरू राष्ट्र निर्माणका अगुवा शक्ति हुन्’ भन्ने नारालाई आत्मसात् गर्दै वाइसिएलले प्रदेशका विभिन्न जिल्लामा वृक्षारोपण, सरसफाइ, सडक मर्मत, र बाँध निर्माण जस्ता सामाजिक कार्यहरूलाई अघि बढाएको छ । अभियानको मुख्य उद्देश्य युवाहरूमा श्रम संस्कृतिको विकास गर्ने र उनीहरूलाई उत्पादनसँग जोडेर राष्ट्र निर्माणमा सहभागी गराउनु रहेको छ । अभियान अन्तर्गत वाइसिएल नेपाल ताप्लेजुङ जिल्ला समितिले श्रीजङ्घा गाउँपालिकाको मामाङ्खे र पेदाङमा एक हजारभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाथोकी (पराग) लगायत वाईसीएलका केन्द्रीय तथा जिल्लास्तरीय नेताहरूको उपस्थितिमा सयौँ युवाहरूले वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका थिए । त्यसैगरी, झापामा पनि वाइसिएलले बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ स्थित बौद्ध दाहसंस्कार व्यवस्थापन समिति चिलिमघाटमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरेकाे छ । स्थानीय पार्टी नेता–कार्यकर्तासहित २७० जनाभन्दा बढीको सक्रियतामा २५० भन्दा बढी बिरुवा रोपिएको छ । कार्यक्रममा पार्टीका जिल्ला संयोजक राजु आचार्य, प्रदेश सदस्य रोशन तिम्सिना लगायतका नेताहरूको उपस्थिति थियो । खोटाङमा वाइसिएलले हलेसीको होलेसुङ जनकराज राई मार्गको करिब १३ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र झाडी सफा गर्ने काम गरेको छ । जसले स्थानीयको यातायातमा सहजता ल्याएको छ । यसका साथै, हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमस्थित गणेशटार खेलमैदानलाई पहिरोबाट जोगाउन बाँस, निलकाँडा जस्ता ५०० भन्दा बढी बिरुवा रोपिएको छ । वाइसिएल खोटाङका इन्चार्ज किसन राईले अभियानले युवाहरूलाई श्रमको महत्व बुझाउँदै उत्पादनशील कार्यमा संलग्न गराउने लक्ष्य राखेको बताए । तीन दिनसम्म चलेको श्रमदानमा ११० जनाभन्दा बढीको सहभागिता रहेको थियो । उदयपुरमा वाइसिएलले अभियानलाई थप व्यवस्थित बनाउँदै हरेक शनिबारलाई ‘श्रमबार’ का रूपमा मनाउने निर्णय गरेको छ । जिल्लाले विभिन्न स्थानमा बृहत् सरसफाइ र वृक्षारोपण कार्यक्रमहरू सम्पन्न गरेको छ । जसमा त्रियुगा नगरपालिकास्थित बैथुम्की डाँडा हिल स्टेसन, चुरे मन्दिर परिसर र मैनाहा क्षेत्र समावेश छन् । सबैभन्दा महत्त्वपूर्ण कार्यका रूपमा त्रियुगा–१ स्थित मैनाहा खोलामा बाँध निर्माण गरिएको छ । बर्सेनि बाढीले जनधनको क्षति गर्ने उक्त खोलामा बाँध निर्माण भएपछि स्थानीयलाई ठूलो राहत मिलेको वाइसिएल उदयपुरका जिल्ला सचिव इश्वर राईले जानकारी दिए । पाँचथर जिल्लामा वाइसिएलले अभियानको औपचारिक उद्घाटन अघिदेखि नै श्रमसम्बन्धी कार्यहरू गर्दै आएको छ । यसवर्ष मात्रै स्कुल तथा गुम्बा सरसफाइ, किसानलाई धान रोप्न सहयोग, वृक्षारोपण, खेलमैदान मर्मत जस्ता दर्जनौं कार्यक्रमहरू सम्पन्न गरिसकेको छ । जसले संगठनको निरन्तर क्रियाशीलतालाई दर्शाउँछ । समग्रमा वाइसिएल नेपालले प्रदेश १ मा आफ्नो ‘श्रम तथा उत्पादन’ अभियानमार्फत सामाजिक कार्यहरूमा दर्बिलो उपस्थिति जनाउँदै युवा शक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्न सफल देखिएको छ ।  

अख्तियार प्रमुख राईविरुद्ध महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले मुलुकको प्रमुख समस्या सुशासनको अभाव भएको बताउँदै भ्रष्टाचार र अनियमितताले राज्यका अंगहरूप्रति जनविश्वास घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले सरकारले यो विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्। सांसद पन्तले राजनीतिक दलहरूबीचको अविश्वास, सेवा प्रदायक र सेवाग्राहीबीचको विश्वासको संकट, र सामान्य कामका लागि समेत कर्मचारीहरूले ‘टेबुलमुनि’ कारोबार गर्ने प्रवृत्ति बढेको आरोप लगाइन्। उनले भनिन्, ‘सुशासनको अभावले सदाचारिताको संस्कृति मर्दै गएको छ, जसले भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहन गरेको छ। राज्यका प्रमुख अंगहरूप्रति विश्वसनीयता घट्दै गएको छ। पार्टीहरूबीच, व्यक्तिहरूबीच, र सेवा प्रदायक–सेवाग्राहीबीच अविश्वास बढेको छ। सामान्य काममा पनि टेबुलमुनि कारोबार हुने गरेको सुनिन्छ, यो गम्भीर समस्या हो।’ उनले घुस प्रकरणमा जोडिएका मन्त्रीहरू खुलेआम हिँडिरहेको भन्दै मन्त्रिपरिषद्ले यसबारे जवाफ दिनुपर्ने प्रश्न उठाइन्। साथै, दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि विशेष अदालतले प्रश्न उठाएको सन्दर्भ उल्लेख गर्दै उनले राईमाथि महाअभियोग लगाउन माग गरिन्। पन्तले भनेकी छन्, ‘वाइडबडी खरिद प्रकरणमा अख्तियारले आफ्नै प्रमुख आयुक्तविरुद्ध अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएको छ। यस्तो अवस्थामा उनलाई महाअभियोग लगाएर जवाफदेही बनाउनुपर्छ।’ यो घटनाले मुलुकमा सुशासन र पारदर्शिताको कमीले सिर्जना गरेको गम्भीर संकटलाई उजागर गरेको पन्तको भनाइ छ। उनले सरकारलाई यस्ता विषयमा तत्काल कदम चाल्न र जनविश्वास पुनर्स्थापित गर्न आग्रह गरिन्।

अख्तियार प्रमुख राईमाथि भ्रष्टाचारको गम्भीर आरोप, अनुसन्धानको मागसहित उजुरी दर्ता

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि तीनवटा ठूला अनियमितता र भ्रष्टाचारका आरोपमा छानबिनको माग गर्दै सिन्धुली कमलामाईका युवराज पौडेलले आइतबार अख्तियारमा उजुरी दर्ता गरेका छन्। उजुरी नम्बर ‘सी–००३४९८’ मा दर्ता भएको छ। पौडेलले राईमाथि वाइडबडी विमान खरिद, नेपाल आयल निगमको जग्गा खरिद, र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोप लगाउँदै तत्काल अनुसन्धान र हदैसम्मको कारबाहीको माग गरेका छन्। वाइडबडी विमान खरिद प्रकरण: न्यायिक टिप्पणीले प्रश्न उठायो विशेष अदालतले हालै वाइडबडी विमान खरिद प्रकरणको पूर्णपाठमा गम्भीर टिप्पणी गरेको छ। फैसलामा भनिएको छ, “प्रारम्भिक निर्णयकर्तामाथि अनुसन्धान नभएको र मुद्दा चलाउने क्रममा चयनमुखी अभियोजन भएको छ।” राई तत्कालीन पर्यटन सचिव र नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्ष थिए। यो प्रकरणमा ४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर भएको छ, तर राईमाथि कुनै कारबाही नभएकोमा पौडेलले प्रश्न उठाएका छन्। उनले उजुरीमा भनेका छन्, “राईमाथि तत्काल पुरक अभियोग पत्रमार्फत मुद्दा दायर गरी कारबाही होस्।” नेपाल आयल निगम जग्गा खरिद: तामेली फाइल पुन: खोल्न माग नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा पनि राईमाथि गम्भीर आरोप लागेको छ। राई आपूर्ति मन्त्रालयको सचिव र आयल निगमको सञ्चालक समिति अध्यक्ष हुँदा झापा, सर्लाही, चितवन, र भैरहवामा जग्गा खरिदमा १ अर्ब ९५ करोड रुपैयाँ अनियमितता भएको ठहर अख्तियारले गरेको थियो। तर, २०२० मा यो फाइल तामेलीमा राखिएको थियो। पौडेलले उक्त फाइल पुन: खोलेर राईमाथि अनुसन्धान गर्न माग गरेका छन्। तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कामाथि मुद्दा चलाइए पनि राईलाई उन्मुक्ति दिइएको उनको आरोप छ। नक्कली भुटानी शरणार्थी प्रकरण: गाडीमा पैसा राखिएको बयान नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि राईमाथि गम्भीर प्रश्न उठेको छ। केही आरोपितहरूले प्रहरी बयानमा तत्कालीन गृहसचिव राईको गाडीमा नगद राखिदिएको दाबी गरेका थिए। तर, प्रहरीले राईमाथि कुनै अनुसन्धान नगरेको भन्दै पौडेलले यो घटनामा पनि छानबिनको माग गरेका छन्। उनले भनेका छन्, “अख्तियार प्रमुखको हैसियतमा राईमाथि कुनै कारबाही नहुनुले भ्रष्टाचारविरुद्धको अभियानमाथि नै प्रश्न उठेको छ।” अख्तियारमाथि नै प्रश्न राईमाथि लागेका यी गम्भीर आरोपहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाएको छ। पौडेलको उजुरीले यी प्रकरणहरूमा थप अनुसन्धान र कारबाहीको मागलाई बल पुर्‍याएको छ। अब अख्तियारले यो उजुरीमाथि कस्तो कदम चाल्छ, त्यो हेर्न बाँकी छ।

नेपाल–चीन जाेड्ने रसुवागढीमा बेलीब्रिज निर्माण सुरु

रसुवा ।  नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ ।  गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएकाे थियो ।  चीन सरकारले पुल पुनर्निर्माण थालनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका लागि भुइँ सतह मिलाउने काम सुरु भइसकेको छ । पक्की पुल निर्माणका लागि साबिकको स्थानलाई यथावत् छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्त्विक  संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिए । पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ । चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्थान ल्हेन्देखोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साबिक सतहमा लाने काम अगाडि बढाइसकेको छ । बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने  चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिए । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय

काठमाडौं । सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ ‘अजित’ पुनः नेकपा (माओवादी केन्द्र) मा  सक्रिय हुनुहुने भएको छ ।  संविधानसभा सदस्य समेत रहनुभएका उहाँ माओवादी केन्द्रमै रहेपनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहनुभएको थियो ।     उहाँलाई अध्यक्ष प्रचण्डले  पुनः सक्रिय हुनुभएकोमा पार्टीमा उचित जिम्मेवारी दिने गरी स्वागत गर्नुभयो ।

बाढीको जोखिममा रहेको बस्ति जोगाउन बाँध निर्माण गर्दै वाइसिएल उदयपुर

उदयपुर । बाढीको जोखिममा रहेको उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह राईटोलका ६५ घर जोगाउन नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल, उदयपुर तटबाँध निर्माणमा जुटेको छ ।  वाइसिएल केन्द्रको केन्द्रीय कार्यक्रम ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत वाइसिएल उदयपुर हिजो (शनिबार) देखि बाँध निर्माणमा जुटेको हो । वाइसिएल उदयपुरका जिल्ला सचिव इश्वर राईका अनुसार राईटोल गाउँ नजिकै रहेको फोरोडिया खोलाको जोखिममा बस्ति र खेती योग्य जमिन परेको जानकारी पाएपछि बाँध निर्माणमा जुटेको बताए । उनले भने, ‘झण्डै तीनसय मिटर बाँध निर्माण गर्नुपर्ने छ । आज (आइतबार) पनि माओवादी केन्द्र उदयपुरका नेता कार्यकर्ता, वाइसिएलको टोली तटबाँध निर्माणमा परिचालन हुनेछ ।’ जिल्ला सचिव राईले सिमेन्टका बोरामा बालुवा पोको पारेर बाँध निर्माण गरिएको बताए । उनले भने, ‘बाढीको जोखिममा रहेको बस्ति जोगाउन स्थानीय सरकारले पनि वेवास्ता गरेको गुनासो हामीलाई आएपछि बाँध निर्माण गरेका हौं ।’ बाँध निर्माणमा माओवादी केन्द्र उदयपुरका जिल्ला सदस्य रुद्र अधिकारी, त्रियुगा नगरपालिकाका इन्चार्ज विमल किराती, माओवादी केन्द्र त्रियुगा नगर कमिटीका अध्यक्ष मानबहादुर राई लगायतको पनि उपस्थिति रहेको थियो ।   ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत वाइसिएल उदयपुर सार्वजनिक स्थलहरूको सरसफाइमा पनि जुटेको छ । वाइसिएल कोशी प्रदेश सहसचिव तथा उदयपुरका जिल्ला संयोजक ईश्वर पोखरेल (चेतन)ले वाइसिएल केन्द्रको कार्यक्रमअनुसार सार्वजनिक स्थलको सरसफाइ, वृक्षरोपण, बाँध निर्माण तथा श्रमदानका विभिन्न कामहरूमा निरन्तर रुपमा भइरहेको जानकारी दिए ।  उनले भने, ‘केन्द्रको अभियान उद्घाटनको क्रममा गाईघाटस्थित थारुटह रंगशालापरिसर सरसफाइ, त्रियुगा नगरपालिका– १४ स्थित बैथुमका एलिस्टेसन फलफूलका बिरुवा रोपणसँगै सरसफाइ र त्रियुगा–६ कै चुरिया मन्दिर सरसफाइ तथा फूल रोपण गरिएको छ ।’ साउन १ गतेदेखि सुरु भएको दुई महिनासम्म चल्ने वाइसिएलको कार्यक्रम ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत अब उदयपुरका पालिकाहरूमा केन्द्रित हुनेछ । जसमा पालिकाहरूमा श्रम र उत्पादनमा आधारित विभिन्न कार्यक्रम तय गरिएको जानकारी दिइएको छ ।  उदयपुरमा प्रकृतिजन्य विपत् व्यवस्थापनमा वाइसिएललाई जोड्न वाइसिएल उदयपुरका जिल्ला सचिव ईश्वर राईकै नेतृत्वमा विपत् व्यवस्थापन एसटिएफ गठन भएको पनि पोखरेलको भनाइ छ । यता सरकारी कार्यालयमा हुने ढिलासुस्ती तथा ठगीका विरुद्ध पनि वाइसिएलले निगरानी बढाएको जानकारी दिइएको छ ।  

माओवादीलाई फेरि एकपटक सखाप पार्ने प्रयास भयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र नेतृत्वविरुद्ध योजनाबद्ध षड्यन्त्र भइरहेको भन्दै यसलाई परास्त गर्न नेता, कार्यकर्ता र समर्थकलाई एकजुट हुन आह्वान गर्नुभएको छ। गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले नयाँ षड्यन्त्र सुरु भएको बताउनुभयो। “पार्टीलाई घेरा हालेर सखाप पार्ने प्रयास भइरहेको छ। केही व्यक्तिलाई उक्साएर र लगानी गरेर प्रतिक्रियावादीहरूले आन्दोलनविरुद्ध भ्रम फैलाइरहेका छन्,” उहाँले भन्नुभयो। प्रचण्डले माओवादी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र असंलग्न परराष्ट्र नीतिमा उल्लेखनीय काम गरेको, तर दलाल, बिचौलिया र नोकरशाहहरूको योजनाबद्ध षड्यन्त्रले सरकारबाट बाहिर धकेलिएको बताउनुभयो। “हाम्रो सरकारले जनविश्वास जितिरहेको थियो, देशको प्रतिष्ठा बढिरहेको थियो। तर, यही कारण हामीलाई सत्ताबाट हटाइयो। सरकारबाट बाहिरिए पनि पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र कायमै छ,” उहाँले थप्नुभयो। सत्ताबाहिर रहे पनि माओवादीले सुशासन र सामाजिक न्यायका लागि खबरदारी जारी राखेको उहाँले बताउनुभयो। चैत १५ को विशाल जनसभा र अन्य खबरदारी कार्यक्रमले जनमत निर्माण गरेपछि प्रतिक्रियावादीहरू थप आक्रोशित भएको उनको भनाइ छ। हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गजस्ता परियोजनामा डेढ करोड जनताको सहभागिताले पार्टीप्रति राष्ट्रिय स्तरमा सकारात्मक माहोल बनेको, तर यसले पुराना शक्तिहरूलाई षड्यन्त्रमा सक्रिय बनाएको उहाँले उल्लेख गर्नुभयो। प्रचण्डले आगामी २०८४ को निर्वाचनमा माओवादी एक्लै लड्ने र जित्ने योजना रहेको स्पष्ट गर्नुभयो। “हामीले विगतमा एक्लै चुनाव जितेका छौँ। अब पनि आफ्नै बलमा उभिएर जनताको मन जित्नेछौँ। कांग्रेस र एमालेसँगको सहकार्यले जनतामा निराशा मात्रै बढाएको छ,” उहाँले भन्नुभयो। अध्यक्ष प्रचण्डले नेतृत्वविरुद्ध भइरहेको ‘संगठित षड्यन्त्र’ तोड्न कार्यकर्तालाई सजग र सक्रिय रहन निर्देशन दिनुभयो।

गणतन्त्रको सङ्घर्षलाई पर्दामा उतार्दै ‘जनक्रान्ति’ चलचित्र, प्रचण्डद्वारा पोस्टर सार्वजनिक

  काठमाडौं। नेपालको गणतन्त्र स्थापनाको ऐतिहासिक आन्दोलनमा आधारित नेपाली कथानक चलचित्र ‘जनक्रान्ति’ निर्माण हुने भएको छ। शनिबार काठमाडौंमा आयोजित एक समारोहमा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरेका छन्। पोस्टर सार्वजनिकपछि सम्बोधन गर्दै प्रचण्डले यो चलचित्रले युवा पुस्तालाई गणतन्त्र स्थापनाको सङ्घर्ष, तत्कालीन सामाजिक, राजनीतिक र आर्थिक अवस्थाबारे जानकारी दिने विश्वास व्यक्त गरे। “हिजोको समाज र सङ्घर्षको इतिहास नयाँ पुस्तालाई बुझाउन यो चलचित्र महत्त्वपूर्ण हुनेछ,” उनले भने। रुद्राक्ष फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने ‘जनक्रान्ति’को निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन्। निर्माता रुद्रप्रसाद खनालका अनुसार चलचित्रको छायांकन भाद्र दोस्रो सातादेखि सुरु हुनेछ र फागुन १, २०८२ मा प्रदर्शन हुने तयारी छ। निर्देशक तिमिल्सिनाले चलचित्रले गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका पृष्ठभूमिलाई समेट्ने बताए। “यो सत्य घटनामा आधारित चलचित्र हो, जसले नयाँ पुस्तालाई नेपालको राजनीतिक इतिहास बुझ्न सहयोग गर्नेछ,” उनले भने। निर्माण पक्षका अनुसार चलचित्रले युवाहरूलाई देशको परिवर्तनकारी आन्दोलनको महत्त्व दर्शाउनेछ। चलचित्रको छायांकन पश्चिम नेपालका रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दिया र पूर्वी नेपालका धनकुटा, खोटाङ, भोजपुर तथा तराई-मधेशको सर्लाहीमा हुनेछ। यी स्थानहरूले गणतन्त्र आन्दोलनको ऐतिहासिक पृष्ठभूमिलाई जीवन्त बनाउने निर्माण पक्षको दाबी छ। ‘जनक्रान्ति’ले नेपालको राजनीतिक परिवर्तनको कथालाई पर्दामा उतारेर इतिहासप्रति नयाँ पुस्तामा चेतना जगाउने अपेक्षा गरिएको छ।

सरकारले सुशासनको सट्टा भ्रष्टाचार र अनियमितता भित्र्यायो  : अनन्त

शुसासनको प्रत्याभूति दिनुपर्नेमा वर्तमान सरकारले जनतामा थप निराशामात्रै ल्याएको बताउँदै उनले भने, राहदानीको टेण्डरमा पनि दुई दलले भागबण्डा गरेको कुरा आएको छ । यो चरम विकृत्ति हो । दुई ठूला दलले गरेको यो भ्रष्टाचारको छानविन आवश्यक छ ।

कञ्चनपुरका थारु समुदायको मौलिक पहिचान छतरी लाेप हुँदै

कञ्चनपुर । कञ्चनपुरका थारु समुदायका मौलिक पहिचान बोकेका छतरी (छाता) हराउँदै जान थालेको छ । थारु समुदायको खेत–खलिहान र गोठालो यात्राको अभिन्न साथी मानिने बाँसको छतरी, आज स्मृतिमा मात्र सीमित हुँदै जानथालेको छ । जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका धनिराम चौधरी चिन्ता व्यक्त गर्दछन् । “बर्सातमा खेतमा काम गर्दा, गोरु जोत्न, बीउ झार्न, वा गोठाला जाँदा छतरी आवश्यक वस्तु हुन्थ्यो”, उनले भने, “बलियो पहाडी बाँस र महुराइन (मालु)को पात प्रयोग गरी बनाइने छतरी पानी चुहिन नदिने उत्कृष्ट घरेलु प्रविधि थियो ।” बूढेसकाल लाग्दासम्म परम्परागत रूपमा घरमै निर्माण गरेका छतरी ओढेको सम्झना उनलाई छ ।  छतरीमा एक थोपा पनि पानी चुहिँदैनथ्यो, हलुका पनि हुन्थ्यो । छतरी थारु समुदायका लागि एक उपयोगी वस्तु रहेको उल्लेख गर्दै उनले सांस्कृतिक चिनारीका रूपमा छतरीलाई लिइने गरेको बताए । बाँसको चोयाले बुनेर महुराइन (मालु)को पातभित्र राखी बनाइने छतरी घाम र पानी दुवैबाट जोगाउने उपायका रूपमा रहेको उनले बताए । “पहाडबाट ल्याइने बलियो बाँसले बनाइएका छतरी पाँच वर्षभन्दा बढी टिक्ने गर्दथे”, उनले भने, “थारु समुदायमा तीन प्रकारका छतरी प्रचलनमा थिए, जसमा ठूलो गोलो छतरी, जसले शरीरको अधिकांश भाग छोप्थ्यो, मुरमुख्खी, टाउको मात्रै ढाँक्ने सानो छतरी र स्यांगो, त्रिकोण आकारको पूरै शरीर छोप्ने छतरी प्रचलनमा थिए ।” यी सबै आज प्रयोगबाट हराइसकेको उनले बताए । परम्परागत छतरीको तुलनामा बजारमा आधुनिक र सस्तो छाता रेनकोट सजिलै पाइने भएपछि परम्परागत सीप लोप हुन थालेको कलंकबहादुर चौधरी बताउछन् । बाँस र महुराइनको पात मुख्यरूपमा चुरे क्षेत्रका वनबाट सङ्कलन गरिन्थ्यो । तर अहिले वनभित्र अनुमति बिना प्रवेश गर्न नपाइने, पात टिप्दा झन्झट हुने, र कानुनी जटिलता हुने भएपछि छतरी बनाउने चलननै बन्द भएको उनको भनाइ रहेको छ । “थारु परम्परामा ससुराली जाँदा छतरी, सुप्पा, मचिया उपहार दिने चलन थियो”, हवलदार चौधरीले भने, “परम्परागत वस्तुहरू उपहारमा दिने चलन पनि हरायो, महुराइनको पातलाई पवित्र मानिने हुँदा पूजामा प्रयोग हुने दुना, टपरी पनि त्यही पातबाट बनाइन्थ्यो, त्यसको बदलामा अहिले सातको पातले काम चलाउने गरिन्छ ।” उनी भन्छन्, “आजका युवा छाता, रेनकोट र प्लास्टिकका सजिला सामानतर्फ आकर्षित छन्, सीप सिकाउने बूढापाका घट्दै जाँदा छतरीजस्ता मौलिक वस्तु लोप हुने अवस्थामा पुगेका छन, लोप हुँदै गएका छतरीलगायतका वस्तुको जगेर्ना गरी यस्ता हस्तकलाका सामग्रीको बजार प्रवर्द्धन गर्नुपर्छ ।” छतरी थारु समुदायको केवल आवश्यकता होइन, पहिचान पनि भएकाले त्यसको संरक्षण नगर्ने हो भने भविष्यमा केवल तस्बिर वा सङ्ग्रहालयमा मात्रै सीमित हुने चिन्ता उनी व्यक्त गर्छन् । उनका अनुसार यसका लागि स्थानीय सरकार र सरोकारवाला निकायले समयमै सचेत भएर सीप संरक्षण कार्यक्रम र सांस्कृतिक जागरण अभियान सुरू गर्न आवश्यक छ ।

सुनसरीमा लम्पी स्किनबाट ५३ पशु चौपाया मरे

सुनसरी । जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढेको छ । इनरुवासहित धरान, इटहरी, दुहबी, वराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको सङ्क्रमण देखा परेको भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताले जानकारी दिए । जिल्लामा हालसम्म एक हजार ५१६ वटा पशु चौपायामा सङ्क्रमण देखिएको उनले बताए । सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ भने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा देखिएको छ । लम्पी स्किनका कारण जिल्लामा हालसम्ममा ५३ वटा पशु चौपायाको मरेकाे भएको भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । सबैभन्दा बढी वराहक्षेत्र नगरपालिकामा १३ वटाको मृत्यु भएको छ । हालसम्म ६४ हजार ४४१ वटा पशु चौपायालाई खोप लगाएको प्रमुख मेहताले बताए । 

सुनकाेशीकाे पुल बगेकाे एक वर्षपछि सामान ढुवानी गर्न घिर्नी

खोटाङ । सुनकोशीको बाढीले फोक्सिन्टारको मोटरेबल पुल बगाएपछि सामान तार्न घिर्नी जडान गरिएको छ । गत वर्षको असोजमा सुनकोशीमा आएको बाढीले फोक्सिङटारको पुल बगाएको थियो । पुल बगाएपछि बिकल्पमा बेलिब्रिज जडान गरिएको थियो ।  नदीमा पानीको बहाब बढेपछि जेठको पहिलो हप्ता बेलिब्रिज पनि झिकियो । बेलिब्रिज झिकेपछि दिक्तेल–गाइघाट सडकमा सिधा यातायात बन्द भएको छ । कुनै बिकल्प नभएपछि खोटाङ र उदयपुरको सिमानामा रहेको सुनकोशीमा सामान तार्न घिर्नी जडान गरिएको हो ।  निर्माणसँगै दैनिक उपभोग्य सामान पूर्वी तराईबाट खोटाङ ल्याउन सुनकोशीमा घिर्नी जडान गरिएको छ । विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पानधारे कालोपत्रे सडकका लागि सामान ढुवानी गर्न सुनकोशीको फोक्सिन्टरमा घिर्नी जडान गरिएको निर्माण व्यवसायी महेश रेग्मीले जानकारी दिए।  रसुवा–पानधारे सडक अन्तर्गत रसुवा–सिमपानी १५ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । जसको लागि सामान तार्न सुनकोशीमा घिर्नी जडान गरिएको उनको भनाइ छ । आवश्यक परेमा दैनिक उपभोग्य सामान पनि तार्न सकिने रेग्मीले बताए।  निर्माण व्यावसायी रेग्मीका अनुसार घिर्नी जडान गरेर साउन ८ गते परीक्षण गरिएको छ । इटहरीबाट ल्याएर प्राविधिकहरुले परीक्षण गरेर सञ्चालनको लागि अरुलाई प्रशिक्षण दिइरहेका छन् । केही दिनमा घिर्नी पूर्णरुपमा सञ्चालनमा आउने रेग्मीको भनाइ छ । सुनकोशीमा हिउँदमा मात्र बेलिब्रिज जडान हुने भएकाले अन्य समयमा सडक कालोपत्रेका लागि आवश्यक सामान ल्याउन कुनै बिकल्प नभएपछि घिर्नी जडान गरिएको उनले बताए।  खोटाङको खोटेहाङ गाउँपालिका –९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका –५ आँपटार जोड्ने फोक्सिन्टारको १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पुल गत असोज १२ गते सुनकोशीमा आएको बाढीले बगाएको थियो । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग ९१०१ किलोमिटर० अन्तर्गत फोक्सिङटारमा बनेको पुल बगाएपछि पुस २७ गते अस्थायी बेलिब्रिज राखिएको थियो ।  कोशीमा पानीको बहाब बढेपछि जेठ ५ गतेबाट पूर्णरुपमा सवारीसाधन वारपारमा रोक लगाएर बेलिब्रिज झिकिएको थियो। गाईघाट–दिक्तेल सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–फोक्सिङटार–गाईघाट सडक पूर्वी शहर जाने र आउने छोटो दूरीको बाटो हो ।  फोक्सिङटारको पक्की पुल बाढीले बगाएपछि दिक्तेल–फोक्सिङटार–गाईघाट सिधा यातायात सम्पर्क विच्छेद भएको थियो । बेलिब्रिज जडान गरिसकिएसँगै खोटाङका यातायात व्यवसायीले दिक्तेलबाट पु:न फोक्सिङटार–गाईघाट सवारी चलाउन थालेका थिए । हाल घुर्मी–कटारीको बाटोबाट तराइका जिल्लामा सवारीसाधन  आवत–जावत हुँदैआएको छ । बाटो लामोहुँदा विशेषगरी निर्माणसँगै दैनिक उपभोग्य सामग्री ढुवानीमा कष्ट हुने गरेको छ ।  निर्माण कम्पनी गौरीपार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।  ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा पुल बन्न १२ वर्ष कुर्नु परेको थियो । तर बनेको दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि पुन: अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने वाध्यता दोहोरिएको हो । हाल बर्खामा कुनै बिकल्प नभएपछि घिर्नी जडान गर्नुपर्ने बाध्यता छ ।   फोक्सिन्टारमा पुल पुन: निर्माणका लागि संघीय सरकारबाट ३५ करोड बजेट सुनिश्चित भएको बताइएको छ । तर हालसम्म ठेक्का भने खुलेको छैन् । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग कालोपत्रेको काम निर्माण कम्पनीले नगरेपछि ठेक्का तोडेर फोक्सिन्टार–महुरे सडक दुई खण्डमा पुन:  नयाँ ठेक्का लागेको छ ।  अहिले फोक्सिन्टार–महुरे सडक हिलाम्मे रहेको छ । दिक्तेलबाट रेग्मीटारहुँदै फोक्सिन्टार जाने अर्को छोटो सडक खानीडाँडा–रेग्मीटार सडक पनि बर्षाको कारण ठाउँ ठाउँमा भत्किएपछि पूर्णरुपमा बन्द छ ।  

अखिल क्रान्तिकारीले किन दिइरहेको छ त्रिविमा धर्ना ?

काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार विभागको शुल्क वृद्धिको निर्णयविरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समितिले तेस्रो दिन पनि शान्तिपूर्ण धर्ना जारी राखेको छ। बिहीबारदेखि उपकुलपति कार्यालयमा सुरु भएको धर्ना शनिबार पनि निरन्तर छ। आन्दोलनकारी विद्यार्थीहरूले "शिक्षामा शोषण बन्द गर", "शुल्क तुरुन्त घटाउ", र "गरिब विद्यार्थीको छातीमा गोली, यो त केन्द्रीय विभागको नीतिमा झोली" जस्ता नारा लगाउँदै प्रदर्शन गरेका छन्। उनीहरूले शिक्षालाई सर्वसुलभ बनाउन र गरिब विद्यार्थीमाथिको आर्थिक बोझ कम गर्न शुल्क समायोजनको माग राखेका छन्। आन्दोलन संयोजक मनिष चम्लागाईंले शान्तिपूर्ण धर्ना जारी रहने र माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने बताए। "हामी विद्यार्थीको हकहितका लागि लडिरहेका छौं। विश्वविद्यालय प्रशासनले हाम्रो मागलाई गम्भीरतापूर्वक लिनुपर्छ," उनले भने। यसअघि, अखिल (क्रान्तिकारी)ले विश्वविद्यालय प्रशासनलाई १० दिनभित्र शुल्क समायोजनसहितका माग पूरा गर्न ज्ञापनपत्र बुझाएको थियो। तर, प्रशासनबाट कुनै ठोस जवाफ नआएपछि आन्दोलन चर्किएको हो। विद्यार्थीहरूले शिक्षालाई व्यापारीकरण गर्ने नीतिविरुद्ध आफ्नो संघर्ष जारी राख्ने अडान लिएका छन्।

केही व्यक्तिले वर्ग बैरी हँसाउने काम गरे : वाइसिएल अध्यक्ष ओली

काठमाडौं । योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालका अध्यक्ष पुष्प ओलीले संगठनभित्रका केही व्यक्तिले वर्ग बैरी हँसाउने काम गरेको बताएका छन् । विभिन्न सञ्चार माध्यममा संगठनभित्र विवाद रहेको बताएर समाचार सार्वजनिक भएपछि ओलीले केही सीमित व्यक्तिले वर्ग बैरी हँसाउने काम गरेको बताएका हुन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विभिन्न मिडियामा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले भनेका छन्, 'विषय उठाइएको र लेख्न लगाइएको जस्तो विषय हाम्रो संगठनमा नभएको व्यहोरा जानकारी गराउँदछु । वाइसिएल जस्तो अनुशासित् र ठूलो युवा पङ्ती समेटिरहेको पार्टीको सहायक संगठनमा केही निश्चित व्यक्तिहरुले लगाएको कपोकल्पित, भ्रामक, तथ्यहीन आरोप प्रत्यारोप व्यक्तिगत चरित्रहत्यासम्मका विषयहरु सामाजिक सञ्जाल हुँदै मिडियासम्मै जानु गम्भीर छ ।'  अध्यक्ष ओलीले यस्ता हर्कतले वर्ग, सिंगो संगठनको इमान्दार पङ्तीलाई चिन्तित बनाएको बताए । उनले भने, 'वर्ग बैरी हँसाउने कार्य भएको छ । यस्ता प्रकारका भ्रमपूर्ण समाचारको खण्डन गर्न र संगठनले लिए गरेका निर्णय कार्यान्वयन गर्न गराउन तर्फ लाग्न सबैलाई अनुरोध गर्दछु ।'