पर्यटनलाई उच्च प्राथमिकता दिँदै बजेट बढाइयो

काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताए ।

पर्यटन क्षेत्रका लागि चालु आवमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि करीब अढाइ अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने

काठमाडौं : सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा सरकारले गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले दुर्गम तथा ग्रामीण क्षेत्र लगायत मुलुकभर अत्यावश्यक वस्तुको सहज र निर्वाध आपूर्ति सुनिश्चित गर्न उत्पादन, भण्डारण र वितरण प्रणालीमा सुधार गरिने बताए । त्यस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायात लगायत आधारभूत सेवाको गुणस्तरीयता सुनिश्चित गरिने समेत बताएका छन् । उपभोक्ताको हित संरक्षण गर्न सम्वन्धित निकायलाई सशक्त बनाई बजार अनुगमन तथा नियमनलाई सुदृढ गरिने समेत बजेटमा उल्लेख गरिएको छ । देशभर उपलब्ध अत्यावश्यक खाद्य पदार्थ उत्पादन, मौज्दात तथा आपूर्तिको अद्यावधिक सूचना प्राप्त हुने प्रणाली विकास गरिने बताएको छ । सहुलियत मूल्यमा खाद्य वस्तु विक्री वितरण गर्ने पसल सञ्चालन गर्न सहकारी संस्थालाई प्रोत्साहित गरिने नीति सरकारले लिएको छ।

हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी “वाटर फ्रम द हिमालय” कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताएका छन् । नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेको उनको भनाइ छ ।

घरजग्गा कारोबार : महानगर र उपमहानगरमा वेज्ञानिक मूल्याङ्कन प्रणाली लागू गरिने

काठमाडौं । सरकारले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गर्ने घोषणा गरेको छ । यसका लागि भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइने अर्थमन्त्री डा प्रकाशशरण महतले बताए । सरकारले चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकामा अनुमति प्राप्त ब्रोकरमार्फत घरजग्गा किनबेच गराउने घोषणा गरेकोमा उक्त कार्यक्रम भने कार्यान्वयन हुन सकेन ।

सहकारीको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरिने

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने घोषणा सरकारले गरेको छ । त्यस्तै बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टीकृत नियामकीय निकाय स्थापना गरी सञ्चालनमा ल्याइने जनाएको छ । यसबाट सहकारी क्षेत्रमा पारदर्शिता र सुशासन कायम हुने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले सह‌कारी क्षेत्रको बचतलाई उद्यम विकास तथा रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने समेत बताए । घरेलु तथा साना उद्योग सञ्चालन गर्ने सहकारी संस्थालाई उत्पादन, भण्डारण र बजारीकरणमा सहयोग उपलब्ध गराइने जनाएको छ। सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि रु ७ अर्ब २४ करोड विनियोजन गरेको छ।

वातावरणीय प्रभाव मूल्यांकन कार्य छरितो बनाइने

काठमाडौं । जेठ १४ अर्थमन्त्री डा.प्रकाशशरण महतले विस्तृत परियोजना प्रतिवेदन, वातावरण प्रभाव मूल्यांकन जग्गा प्राप्ति लगायतका कुरा सम्पन्न भइ साइट क्लियरनेस भएका तथा खरिद योजना मात्रै सम्झौता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइने बताएका छन् । वातावरणीय प्रभाव मूल्यांकन गर्न बन क्षेत्रमा प्रवेश गर्दा कटान हुने रुखको संख्या तथा जात अनुमानित बनको क्षेत्रफल एकिन गर्ने लगायतका कार्य एकै पटक सम्पन्न गर्ने गरि व्यवस्था मिलाइने भएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागि रितपूर्वक पेश भएकाका आयोजना एक महिना भित्रै वातावरण मन्त्रालयले निर्णय दिनुपर्ने व्यवस्था गरिने पनि उनले बताएका छन् । वातावरणीय प्रभाव मूल्यांकनमा १० प्रतिशत फरक परेमा पुरक वातावरणीय प्रभाव मूल्यांकन नगरिने व्यवस्था कार्यान्वयन गर्ने अर्थमन्त्री महतले बताएका छन् ।

वन र वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट

काठमाडौं । सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले वन, जैविक विविधता र जलाधार व्यवस्थापन मार्फत वातावरणीय सन्तुलन कायम गरिने बताएका छन् । वन सम्पदाको दिगो उपयोग र वनजन्य उद्यम विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाइने उनले बताए । संरक्षित क्षेत्र र सामुदायिक वनलाई पर्या-पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उल्लेख छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत संघ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षणको गुरुयोजना कार्यान्वयन गरिने महतले बताए । यस अन्तर्गत जल र जमिन संरक्षण गर्न वाँस रोपण, रिचार्ज पोखरी, गल्छी, पहिरो नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने

सरकारले पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्ष विभिन्न रोगका करिव छ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको बताएका छन्

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

काठमाडौं : सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए ।

प्रधानमन्त्रीले भने-‘भारत भ्रमणका क्रममा हुने सम्झौता राष्ट्रिय सहमति मै हुन्छ’

भारत भ्रमण तयारी : प्रधानमन्त्रीले लिए पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग सुझाव काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठदेखि हुने आफ्नो भारत भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरुसँग छलफल गरेका छन् । आइतबार सिंहदरबारमा गरेको छलफलमा उनले आफ्नो भ्रमणका क्रममा आर्थिक, व्यापारिक, ऊर्जा व्यापार र पारवहनलगायत द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुने जानकारी गराएका थिए । उनले त्यस क्रममा उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र दलका नेताहरुसँग सुझाव पनि लिएका थिए । ‘भारत भ्रमणका बारेमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री सबै दलका नेताहरू र विज्ञहरूको सुझाव लिने क्रम चलिरहेको छ’, प्रधानमन्त्रीले भने, ‘पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुको टिप्पणी सुनेँ । अरू सुझाव आउँदै छ ।’ प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म आएका सुझाव सकारात्मक रहेको भन्दै राष्ट्रको हितमा के गर्नुपर्छ भनेर सुझावहरू आएको बताए । भारत भ्रमणका क्रममा हुने सम्झौता राष्ट्रिय सहमति मै हुने प्रधानमन्त्रीले बताए ।

सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३.९ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ।

विकास सम्झौताको सहमतिको अन्तिम मस्यौदा दस्तावेज स्वीकृत

काठमाडौं। सम्माननीय प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आइतबार लगानी बोर्डको ५४औँ बैठक सम्पन्न भएको छ । बैंठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको विकासको लागि एसजेभिएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलएपीडीसी) सँग गरिने परियोजना विकास सम्झौताको सहमतिको अन्तिम मस्यौदा दस्तावेजलाई स्वीकृत गरी अनुमोदनका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाउने निर्णय गरेको छ । बोर्डको ५३औँ बैठकको निर्णय अनुसार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरु सदस्य रहेको वार्ता समितिले भारतको एसजेभिएन कम्पनीसँग चरणबद्ध रुपमा वार्ता गरी सहमति सहितको पीडीएको अन्तिम मस्यौदा दस्तावेज तयार गरेको हो । बोर्डको अघिल्लो बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका लागि ९२.६८ अर्ब रुपियाँ बराबरको लगानी स्वीकृत गरिसकेको छ । आफ्नो उत्पादनको सम्पूर्ण उर्जा निर्यात गर्ने एवम् निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी आवश्यक पूर्व तयारी समेत अगाडि बढिरहेको सन्दर्भमा टटढ मेगावाट क्षमताको यस रुपान्तरणकारी परियोजनाको विकासले मुलुकको आर्थिक(सामाजिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ र त्यस्तै बैठकले ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत परियोजना अघि बढाउने सम्बन्धमा प्रस्तावकसँग १९ जनवरी २०२० मा भएको समझदारी पत्रको पालना सम्बन्धमा पत्राचार गर्ने निर्णय गरेको छ । बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजनाहरुको विकासको सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले सम्पादन गरेका प्रमुख कार्यहरुको सम्बन्धमा बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री सुशील भट्टले जानकारी गराएका थिए। बोर्ड बैठकका क्रममा प्रधानमन्त्रीले तल्लो अरुण जलविद्युत परियोजनाको विकासका सन्दर्भमा वार्ता समिति, लगानी बोर्डको कार्यालय तथा सम्बद्ध सबै निकाय एवम् पदाधिकारीबाट राष्ट्रिय हित प्रवद्र्धन हुने गरी परियोजना विकास सम्झौताको अन्तिम मस्यौदा तयार गर्न प्रत्यक्षर अप्रत्यक्ष भूमिका निर्वाह गर्नुहुने सबैलाई धन्यवाद दिँदै परियोजना विकास गर्दा भविष्यमा पनि यसरी नै राष्ट्रिय हित अनुकूल हुने गरी कार्य गर्न नेपाल सरकारका सबै निकायहरुलाई निर्देशन दिए । उक्त अवसरमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, वन तथा वातावरण मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, बोर्डका विज्ञ सदस्यहरू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

अर्थ मन्त्री डा. महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतसंग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भएको महतको सचिवालयले जनाएको छ । भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता थियो । अर्थमन्त्री महतको सचिवालयका अनुसार एमसिसि सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ बर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन एमसिसिका पदाधिकारीको भ्रमण भएको हो । भेटघाटका क्रममा डेपुटी भाइस प्रेसिडेण्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रकृया जस्ता पूर्वतयारीका काममा भएको प्रगति प्रति सन्तोष व्यक्त गर्नुभयो । त्यसैगरी, सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भै सक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षवीच विस्तृत छलफल भयो । सो अवसरमा, अर्थमन्त्री डा. महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भै नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नुका साथै आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको प्रकृया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिवद्धता जनाएका थिए ।

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आज घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य एक लाख ८ हजार १ सय र चाँदीको मूल्य १३ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । आज तेजावी सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार एक लाख ८ हजार तीन सय रुपैयाँमा छापावल सुन, एक लाख ७ हजार ८ सय रुपैयाँमा तेजावी सुन र १३ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । सरकारका तर्फबाट भोलि (सोमबार) अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै छ र जेठ १७ गते प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्ने कार्यक्रम तय भएसँगै आजको बैठक यी विषयमा केन्द्रीय रहने बुझिएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा टिकापुर घटनाका मुख्य योजनाकारको रुपमा कैद सजाय भोगिरहेका रेशम चौधरीलगायतका अभियुक्तलाई रिहाइ गर्ने प्रस्ताव पेस भएको थियो।

घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले : मन्त्री किराति

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफुले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको बताएका छन् । यसअघिका पर्यटनमन्त्री प्रेम आलेले आफुले हालसाविक गर्न नमानेको जमिनलाई अहिलेका पर्यटनमन्त्री किरातीले शंकास्पद ढंगले हालसाविक गर्ने निर्णय गरेको आरोप लगाएका थिए । सोही आधारमा विभिन्न मिडियाले पशुपतिको ३१ रोपनी जग्गा पर्यटनमन्त्रीको संलग्नतामा अपचलन भएको कोणबाट समाचार बनाएपछि मन्त्री किरातिले आफुले घुस नखाएको कारण बदनाम गर्न खोजिएको बताएका हुन् । मन्त्री किरातिले आफुलाई मर्दा ५ सयको कात्रो र ५ फिट जमिन बाहेक केही नचाहिंने भन्दै आफुले चलखेल गरेको पुष्टि गर्न चुनौति दिएका हुन् । उनले आफुमाथि लगाइएको आरोप पुष्टि गरे १ मिनेट कुर्सीमा नबस्ने समेत बताएका छन् उनले सामाजिक संजाल फेस्बुकमा लेखेका छन् – ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन….।