नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको १२औँ स्मृति दिवस
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १२औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका कर्माचार्यको सम्झनामा आज ललितपुरको बगलामुखी, कुम्भेश्वरमा रहेको उनको सालिकमा माल्यार्पण गरिएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माल्यार्पण गरी स्मृति दिवसको औपचारिक शुभारम्भ गरेका छन्।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ। अपराह्न १२:३० बजे सुरु हुने यो गोष्ठीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कम्युनिस्ट नेताहरू मोहन वैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनिल शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोख्रेलले पत्रकार सम्मेलनमार्फत वर्षभरि आयोजना गरिने कार्यक्रमहरू सार्वजनिक गरेका छन्। यी कार्यक्रमहरू कर्माचार्यको व्यक्तित्व, उनको सपना र तिनलाई साकार पार्ने योजनामा केन्द्रित रहने बताइएको छ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ वैशाख १० गते भएको थियो, जसमा कर्माचार्य एक संस्थापक सदस्य थिए। अन्य संस्थापकहरूमा पुष्पलाल श्रेष्ठ (महासचिव), निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतिदेवी श्रेष्ठ थिए। राणा शासन, सामन्तवाद र साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्न स्थापित यो पार्टीले नेपालमा कम्युनिस्ट आन्दोलनको जग बसालेको थियो।
कर्माचार्यले मजदुर सङ्गठनको संस्थापक अध्यक्षको भूमिका निर्वाह गरेका थिए। २०१६ सालको निर्वाचनमा उनी ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। साथै, २०१९ सालको तेस्रो महाधिवेशनबाट उनी नेकपाको केन्द्रीय सदस्य बनेका थिए। पार्टी टुटफुट र विभाजनका बाबजुद कर्माचार्यले क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत गर्न निरन्तर पहल गरे। २०३१ सालमा नेकपा चौमको केन्द्रीय सदस्य, २०४८ मा एकता केन्द्रको केन्द्रीय सदस्य र जीवनको अन्तिम समयसम्म उनी नेपाल कम्युनिस्ट पार्टीको संरक्षकको भूमिकामा सक्रिय रहे।
कर्माचार्यलाई चरित्रवान, सामाजिक र लोकप्रिय व्यक्तित्वको रूपमा लिइन्छ। उनको सादा जीवन र उच्च विचारले कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण प्रभाव पारेको छ। उनले नेपाली समाजमा सामाजिक न्याय, समानता र मजदुर वर्गको उत्थानका लागि अथक प्रयास गरे।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत कर्माचार्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले कर्माचार्यको योगदानलाई स्मरण गर्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउन उनको प्रेरणा अझै जीवन्त रहेको उल्लेख गरे।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भएको थियो, जुन समयमा राणा शासनको दमनकारी नीतिहरूविरुद्ध सङ्घर्ष आवश्यक थियो। ७० वर्षभन्दा लामो इतिहास बोकेको यो आन्दोलनले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको छ। यद्यपि, पार्टीभित्र समय-समयमा देखिएका टुटफुट र वैचारिक मतभेदले आन्दोलनलाई कमजोर बनाएको इतिहास पनि छ।
आजको विचार गोष्ठीले नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था र भविष्यका चुनौतीहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। कर्माचार्यको स्मृति दिवसले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन र उनको सपनालाई साकार पार्न नयाँ प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
उदयपुरकाे कटारीमा ३० केजी गाँजासहित एक महिला पक्राउ
उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ बबलाबाट घरमै भण्डारण गरि राखिएको अवस्थामा ३० किलो गाँजासहित एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार सोही स्थान बस्ने वर्ष ४५ कि देवकुमारी थापा मगर पक्राउ परेकी हुन् । पक्राउ परेकी थापा मगरलाई प्रतिबन्धित लागूऔषध गाँजासहित इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
राैतहटमा करेन्ट लागेर एककाे मृत्यु
रौतहट । रौतहटकाे माधव नारायण नगरपालिका–४ मानपुरमा बुधवार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय शिवनगरका सई राजेश सिंहका अनुसार स्थानीय ४० वर्षीय रामबाबु मुखियाको मृत्यु भएकाे हाे । उनका अनुसार सिचाँइको लागि प्रयोग गरिएको मोटरमा विद्युत् प्रवाह भई करेन्ट लाग्दा गम्भीर भएका छन् । त्यसपछि उपचारकाे लागि प्रादेशिक अस्पताल गौरमा उपचारकाे क्रममा मृत्यु भएको प्रहरीकाे भनाइ छ ।
देशभर मनसुनी प्रणाली सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं, साउन ७ – हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेकाले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने संकेत छ। आज रातिको मौसम पनि आंशिकदेखि सामान्य बदली रहनेछ। देशका अधिकांश भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूले वर्षासँगै पहिरो र बाढीको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।
बाढी, पहिरो र डुबानको जोखिम : कुन कुन क्षेत्रमा मनसुन सक्रिय ?
काठमाडौं । देशका विभिन्न ठाउँमा निरन्तरको वर्षाले गर्दा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा मनसुन प्रणाली सक्रिय भएकाले यतिबेला ती क्षेत्रहरूमा वर्षा, मेघगर्जन, चट्याङ र हुरीबताससहितको मौसम भइरहेको छ। मौसम प्रणाली दक्षिणपश्चिमतर्फ विस्तार भइरहेको हुँदा मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ। केही ठाउँहरूमा भारीदेखि अति भारी वर्षा भएको छ, जसका कारण नदी तथा खोलाहरूको जलस्तर बढेको छ। बाढी पूर्वानुमान महाशाखाले सम्भावित बाढीको जोखिमबारे सचेत रहन चेतावनी जारी गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गत केही घण्टामा लुम्ले (कास्की), मूलघाट, त्रियुगा र माझुवाघाट (धनकुटा), टरहरा र धरान बजार ९सुनसरी०, र माईपोखरी (इलाम) मा भारी वर्षा मापन गरिएको छ। वर्षाका कारण इलामस्थित कनकाई र मैनाछुली गेजिङ स्टेशनहरूमा आज बिहान ५:३० बजेसम्म जलस्तर चेतावनी तह नजिक पुगेको र अझै बढ्दो क्रममा रहेको छ। नदी किनार र डुबान सम्भावित क्षेत्रमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गत २४ घण्टामा इलामको माईपोखरीमा १८२.२ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यसैगरी इलामका चियाबगान क्षेत्र, कन्याम चिया बगान, जीतपुर र हिमाली गाउँमा पनि भारी वर्षा भएको छ। धनकुटाको त्रियुगामा १९५.६ मिलिमिटर, माझुवाघाटमा १७३ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै, धनकुटा बजार, पक्लिबास, मुलघाट, धरान बजार र सुनसरीमा पनि भारी वर्षा भएको छ। मधेश र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ भने गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ। कास्कीको लुम्लेलाई सबैभन्दा धेरै १६२.६ मिलिमिटर वर्षा मापन गरिएको छ, भने यम्जाकोट (कास्की) मा १३४ मिलिमिटर वर्षा भएको छ। गत घण्टामा लुम्ले तथा वरपरका क्षेत्रमा भारी वर्षा मापन गरिएको र थप वर्षा हुने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस क्षेत्रका साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने खतरा छ, र कमजोर तथा पहाडी भूबनोटमा पहिरोको जोखिम पनि रहेकोले एसएमएस मार्फत सतर्कता सन्देश पठाइएको छ। यस्तै, लमजुङको भुजुङ र खुदीबजार, पर्वतको पंचासे क्षेत्रमा पनि उल्लेख्य वर्षा भएको छ। नारायणी नदी प्रणालीअन्तर्गत पर्ने पर्वतको नयाँपुल गेजिङ स्टेशन आसपास मोदी खोलामा बाढी आएको छ। तनहुँको भार्से र रुकुम पूर्वको शेरागाउँमा पनि मध्यमदेखि भारी वर्षा मापन गरिएको जल तथा मौसम विभागले जनाएको छ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा तोकिएको छ । स्वीस फ्रयांक एकको खरिददर १७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ ७५ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २४ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा तोकिएको छ । स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ६४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस
फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै
काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो । खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
कोसी, वाग्मती र गण्डकीमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा वर्षाको गतिविधि बढ्ने देखिएको विभागले जनाएको हो। विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। विशेषगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसबाहेक कोसी र वाग्मती प्रदेशका पहाडी भूभागमा एकदुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। यस क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको बताइएको छ। रातिको पूर्वानुमानअनुसार, देशभर साधारणतया बदली रहनेछ भने कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ। यी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने देखिएको छ। विभागले संभावित भारी वर्षाको कारण पहिरो, बाढी र जलस्रोतको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सबैलाई अनुरोध गरेको छ। विशेषगरी हिमाली र उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ।
मौसम पूर्वानुमानः भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभरको मौसम आगामी २४ घण्टासम्म सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने विभागले पूर्वानुमान गरेको छ। यससँगै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ। बिभागले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी भू–क्षय, बाढी तथा पहिरोको जोखिम हुने स्थानहरूमा सतर्क रहन नागरिकहरूलाई अनुरोध गरिएको छ।
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : अध्यक्ष प्रचण्ड
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र दलाल पूँजीलाई नियन्त्रण गर्ने योजनाबद्ध प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सरकारको नेतृत्व गर्दा राष्ट्रिय पूँजी प्रवर्द्धन कसरी गर्ने भन्नेमा ध्यान केन्द्रित गरेका थियौं। हाम्रो नीति र कार्यक्रमहरू हेर्ने हो भने, त्यसको मूल मर्म दलाल पूँजीपतिलाई नियन्त्रण गर्दै राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र सुशासन कायम गर्ने मा नै केन्दृत थियो। तर, दुर्भाग्यवश, यो कुरा ९ तपाईंहरू० राष्ट्रिय पूँजीपतिले भन्दा दलाल पूँजीपतिले पहिले बुझे। उनीहरूलाई लाग्यो—यदि माओवादी सत्तामा बस्यो भने, उनीहरूको स्वार्थमा आँच आउँछ। त्यसैले सरकार को नेतृत्व आफूले नेतृत्व गर्न सक्ने अवस्था त भएन । सोहि कारण उनीहरूले कांग्रेस र एमालेलाई खरिद गरेर सत्ता समीकरण बनाए। यो कुरा म विगतदेखि भन्दै आएको छु।” अध्यक्ष प्रचण्डले जनजीविकासँग प्रत्यक्ष जोडिएका ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइएको स्मरण गर्दै भन्नुभयो, “सरकारको नेतृत्व गर्दै गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता परियोजनाहरूको अवधारणा ल्यायौं। ती योजनाहरूले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन्। रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको क्रान्तिकारी परिवर्तन अनुभव गरिसकेका छन्। पछिल्लो सरकार सञ्चालनका क्रममा हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्यौं, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्याएको छ।” उहाँले माओवादी नेतृत्वको सरकारले विद्युत् लोडसेडिङ अन्त्य, किसानको ऋण मिनाह, र सामाजिक न्यायको कार्यान्वयन जस्ता जनपक्षीय कामहरू गरेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि जनताको पक्षमा उभिने नीतिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा महासंघका प्रतिनिधिहरूले वर्तमान आर्थिक संकट, लगानीको वातावरण, र नीति स्थायित्वका विषयमा आफ्ना जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासंघका फ्याक्सन इञ्चार्ज गंगा कार्कीले पनि सम्बोधन गर्नुभएको थियो।
आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।
सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। बुधबार उक्त मूल्य १ लाख ९२ हजार रुपैयाँ थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागको वृद्धिका कारण सुनको मूल्य उकालो लागेको बताइएको छ। यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै २ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदीको मूल्यमा आएको लगातार उतारचढावले आम उपभोक्ता र व्यापारी दुवै प्रभावित भएका छन्। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, विदेशी मुद्राको भाउ र आपूर्तिमा देखिएको असन्तुलनका कारण सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।
श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड
ललितपुर , नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताउनुभएको छ । ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो। पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारमा रहँदा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियानको थालनी गरिएको स्मरण गराउँदै, त्यो कदम श्रमिकको जीवनलाई मर्यादित र सम्मानित बनाउने दिशामा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। “घरेलु श्रमिकसहित औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश नगरी उनीहरूको मर्यादित र सम्मानित जीवन सुनिश्चित हुन सक्दैन,” उहाँले स्पष्ट पार्नुभयो। अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गरिएको जानकारी दिँदै भन्नुभयो, “हामीले कमीकमजोरीहरू स्वीकार गरेका छौं। अब ती सम्बन्ध सुधार गर्दै, ती वर्गका समस्याको समाधानमा केन्द्रित भएर अघि बढिरहेका छौं।” जनताको जीवनमा परिवर्तन नआएसम्म पार्टीको अभियान जारी रहने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दृढतापूर्वक भन्नुभयो, “जबसम्म आम श्रमिक र उत्पीडित वर्गको जीवन–व्यवहारमा ठोस परिवर्तन आउँदैन, तबसम्म हाम्रो अभियान पूर्ण हुनेछैन।” कार्यक्रममा उहाँले घरेलु श्रम तथा हेरचाह कार्यलाई पेशागत, सम्मानित र मर्यादित बनाउने अभियानमा पूर्ण साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
पैदलयात्री अभियान्ताले भेट अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड समक्ष सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आइपुग्नुभएका नवराज बोहोराले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लाग्नुभएको जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पार्नुभयो। उहाँले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिनुभयो।
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको दर १३८ रुपैयाँ नाघ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९असार ८० का लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ भने बेलायती पाउन्ड स्ट्रलिङको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा तोकिएको छ। अन्य प्रमुख मुद्राहरूको दर यसप्रकार छ: स्वीस फ्र्यांक: खरिददर १६९.०७, बिक्रीदर १६९.८० अस्ट्रेलियन डलर: खरिददर ८९.६४, बिक्रीदर ९०.०३ क्यानेडियन डलर: खरिददर १००.८६, बिक्रीदर १०१.३० सिंगापुर डलर: खरिददर १०७.५८, बिक्रीदर १०८.०५ जापानी येन (१० यन): खरिददर ९.५०, बिक्रीदर ९.५४ चिनियाँ युआन: खरिददर १९.२५, बिक्रीदर १९.३४ साउदी रियाल: खरिददर ३६.८४, बिक्रीदर ३७.०० कतारी रियाल: खरिददर ३७.९२, बिक्रीदर ३८.०९ यूएई दिराम: खरिददर ३७.६४, बिक्रीदर ३७.८१ मलेसियन रिंगेट: खरिददर ३२.५१, बिक्रीदर ३२.६५ त्यस्तै, भारतीय रुपैयाँ १०० को विनिमयदर १६० रुपैयाँ खरिददर र १६० रुपैयाँ १५ पैसा बिक्रीदरमा कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै बेला परिवर्तन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्ने पनि जानकारी दिएको छ।
आज रातिदेखि देशभर भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद् र विभागकाे आग्रह
काठमाडौं । शनिबार रातिदेखि देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलका अनुसार झापाबाट भारी वर्षा सुरु भइसकेको छ। उनले शनिबार बेलुका सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुईवटा मौसमी मोडेलले फरक स्थानहरूमा वर्षाको सम्भावना देखाए पनि तराई र चुरे क्षेत्रहरू बढी जोखिममा रहेको उल्लेख गरेका छन्। “दुईवटा मोडेलले भारी वर्षाको ठाउँ फरक देखाएको छ, तर सम्भावना धेरै तराई र चुरे भागमा बढी छ,” पोखरेलले लेखेका छन्। देशका विभिन्न भूभागमा अहिले पनि वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि आउँदो तीन दिन देशभर वर्षा जारी रहने पूर्वानुमान गरेको छ। महाशाखाले शनिबार बेलुका जारी गरेको बुलेटिनमा सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। बुलेटिनअनुसार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। महाशाखाले वर्षाका कारण नदीहरूको जलसतह बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता विपद् आउन सक्ने भन्दै जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, यातायात र हवाई सेवा प्रभावित हुन सक्ने चेतावनी दिएको छ। यस्ता सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ। मुख्य सुझावहरू बाढी तथा पहिरोको जोखिम भएका स्थानमा विशेष सतर्कता अपनाउन अनुरोध यात्राअघि मौसम पूर्वानुमानको जानकारी लिनु आवश्यक स्थानीय निकाय र प्रशासनको सूचना तथा निर्देशन पालना गर्न सुझाव

