छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा विद्यालयको नाम सार्वजनिक, छात्रवृत्ति प्रदान गर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगपालिकाले विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको छ।

जेठ १५ भित्र छात्रवृत्ति प्रदान गरी त्यसको विवरण पठाउन महानगरले गरेको निर्देशनको अवज्ञा गर्ने निजी विद्यालयको नाम महानगरले सार्वजनक गरेको हो।

ती विद्यालयलाई जेठ २८ भित्र छात्रवृत्ति प्रदान गरि विवरण महानगरमा पठाउन भनेको छ। महानगरको निर्देशन अवज्ञा गर्ने विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने महानगरको चेतावनी छ।

उडिरहेको बुद्ध एयरको जहाजमा पाइलटले नै भिडियो बनाएपछि….

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडिरहेको जहाजभित्र फोटो र भिडियो खिच्ने बुद्ध एयरका पाइलटलाई कारबाही गरेको छ । तीन दिनअघि प्राधिकरणमा उजुरी परेपछि अर्को सूचना नआउन्जेलसम्मका लागि ती पाइलटलाई कारबाही गरिएको प्राधिकरणका सूचना अधिकारी जगन्नाथ निरौलाले जानकारी दिए । प्राधिकरणले उडानको क्रममा भिडियो बनाउन र फोटा खिच्न रोक लगाएको छ । तर, ती पाइलटले नियम उल्लंघन गरेकाले कारबाही गरिएको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

भारतको नयाँ संसद्‍मा राखिएको नक्साबारे कुरा उठाएको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा त्यहाँको नयाँ संसद् अघि राखिएको नक्साबारे आफूले कुरा राखेको बताएका छन् । उनले आफू त्यसअघि गएर हात हल्लाएको कुरा गलत भएको बताए । “भारतीय नयाँ संसद्अघि गएकै छैन, पुगेको छैन । त्यहाँ गरेर मोदीजी र मैले हात हल्लाएँ भनेको मोर देन हन्ड्रेड पर्सेन्ट झुटो हो,” उनले भने । उनले त्यो नक्साबारे भारतको आफ्नै तर्क रहेको सुनाए । “यो विषयमा भारतमा कुरा गरेन भन्ने पनि सत्य होइन । मैले कुरा गरेँ । उहाँहरूको आफ्नो तर्क छ । यो सांस्कृतिक ऐतिहासिक हो भन्ने । यो बारेमा छलफल गर्दै जान सकिन्छ,” उनले भने । प्रचण्डले विश्वासको वातावरण बनेपछि छलफल गरेर जान सकिने बताए । अहिले आफूलाई अफ्ठ्योरोमा पार्दा फाइदा हुन्छ भन्ने नसोच्न आग्रह गरे ।

कोशी प्रदेशको जैविक विविधता संरक्षणमा ४२ लाख अमेरिकी डलर अनुदान आउँदै

विराटनगर । कोशी प्रदेशमा जैविक विविधता संरक्षण अन्तरगतको कार्यक्रम सुरु हुने भएको छ। हिमाली र मध्य पहाडी जिल्लाहरूलाई लक्षित गरि यो कार्यक्रम सुरु हुन लागेको हो । हिमाली र मध्य पहाडी जिल्ला अन्तर्गत जैविक विविधताका लागि संयुक्त राष्ट्रसङ्घको विशेष संस्था एओ मार्फत करिब ४२ लाख अमेरिकी डलर अर्थात् करिब ५६ करोड नेपाली रुपैयाँ बराबरको अनुदान प्राप्त हुने कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले जानकारी दिए । अनुदानको रूपमा प्राप्त हुने सो रकम कोशी प्रदेशमा मात्र खर्च हुने जनाइएको छ। ‘जैविक विविधताको संरक्षणको क्षेत्रमा काम गर्ने गरि एक दुई दिन भित्रमा नै सम्झौता पत्रमा हस्ताक्षर हुनेछ, मन्त्री आचार्यले भने, यो कोशी प्रदेशको जैविक विविधताको क्षेत्रमा आएको ठुलो रकम हो ।’ संयुक्त राष्ट्रसङ्घ सहित अन्य केही अन्तर्राष्ट्रिय क्षेत्रका दाताहरूसँग पनि समग्र प्रदेशको विकासका लागि सङ्घीय सरकार मार्फत कुरा भइरहेको मन्त्री आचार्यले जानकारी दिए । उनी पर्यटन वन तथा वातावरण मन्त्री भए पनि उनले कोशी प्रदेशमा आफ्नो मन्त्रालय अन्तगत नयाँ योजनाहरू सङ्घीय सरकारसँगको सहकार्यमा ल्याउने प्रयास गरिरहेका छन् ।

१० प्रतिशत शैया निःशुल्क नगर्ने अस्पताललाई कारबाही गर्ने : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि १० प्रतिशत शैया निःशुल्क नगर्ने अस्पताललाई कारबाही गर्ने बताएका छन् । नेशनल बाथरोग सेन्टरको दशौं वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले विपन्न र असहय बिरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको जानकारी गराउँदै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय बिरामीको लागि १० प्रतिशत शैयामा निःशुल्क उपचार गर्नु पर्नेमा जोड दिए । अस्पतालहरुले विपन्नलाई निशुल्क उपचार गरे, नगरेको मन्त्रालयले अनुगमन गर्ने समेत उनले जानकारी दिए । आर्थिक अभावमा उपचार नपाएर कुनैपनि नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले आफू काम गरिरहेको जानकारी गराउँदै मन्त्री बस्नेतले त्यस्ता बिरामीका लागि स्वास्थ्य मन्त्रालयमा आकस्मिक उपचार कोषको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए । रोग लागेपछि उपचारमा ठूलो धनरासी खर्च गर्नुको सट्टा रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै मन्त्री बस्नेतले आहार, बिहार र शारिरीक व्यायाम ठिक ढङ्गले गर्नसके बाथ लगायतका धेरै रोगबाट मुक्त रहन सकिने अनुभव सुनाए ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै (प्रत्यक्ष प्रसारण)

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २२२ बमोजिम सार्वजनिक महत्त्वको विषयमा बैठकमा वक्तव्य–जानकारी दिइरहेका छन् ।

स्पिनर लामिछाने आज दक्षिण अफ्रिका जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदैछन् । नाबालिक बलात्कार आरोपको मुद्दा खेपिरहेका लामिछानेको मुद्दाको सुनुवाइ नहुँदा विश्वकप छनौटका खेलहरू गुमाउन सक्ने आंकलनकाबीच उनी आज दक्षिण अफ्रिका जाने क्यानले जनाएको छ। यसअघि पटक पटक मुद्दाको पेशी तोकिए पनि सुनुवाइ नहुँदा उनी टोलीसँगै दक्षिण अफ्रिका जान सकेको थिएन। जिल्ला अदालत काठमाडौँले उनको मुद्दाको पेशी असार २९ गते सम्मका लागि सारेपछि क्यानले उनलाई भोलि नै दक्षिण अफ्रिका पठाउने गरी तयारी गरिरहेको क्यानको भनाई छ । लामिछानेका कानुन व्यवसायीले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो । जसकाकारण लामिछाने अब प्रतियोगिताभर तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनु पर्ने छैन । एक दिवसीय विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामा छ।

स्पिनर लामिछानेलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि नेपाली टोली मंगलबार दक्षिण अफ्रिका गएको थियो । बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका सन्दीपलाई अदालती प्रक्रियाका कारण मंगलबार दक्षिण अफ्रिका भ्रमणमा समावेश गरिएको थिएन । अदालतमा सन्दीपको मुद्दा पेसी असार २९ गतेसम्म सरेकोले सन्दीपलाई सोमबारसम्म दक्षिण अफ्रिका पठाउने तयारी गरिएको क्यानले जनाएको छ । नेपाली टोलीसँग मुख्य प्रशिक्षक मोन्टी देसाई पनि गएका छैनन । अमेरिकामा रहेका देसाईको त्यहाँबाट भिषा नलागेपछि भारतबाट भिषा प्रक्रिया पूरा गरेर अफ्रिका जान लागेको क्यानले जनाएको छ । जिम्बाबेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेल अघि नेपालले दक्षिण अफ्रिकामा अभ्यास गरेको हो । दक्षिण अफ्रिकामा नेपालले अभ्यास खेल समेत खेल्नेछ । नाबालिग बलात्कार आरोप लागेका सन्दीपलाई २०७९ पुस २८ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । नाबालिग बलात्कार आरोपमा प्रहरीले सन्दीपलाई २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो । सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा २०७९ भदौ २१ गरे बलात्कारको जाहेरी दिएकी थिइन् ।

विपन्न, असहाय, बेवारिसेको निःशुल्क उपचार गर्न अस्पताललाई मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले ७५३ वटै स्थानीय तह र सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई आइतबार छुट्टाछुट्टै पत्राचार गरी कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि शय्या छुट्याइ निःशुल्क उपचारको व्यवस्था गराउन निर्देशन दिएका हुन् । यसअघि मन्त्रालयले दुई पटक ती अस्पताललाई निःशुल्क उपचार गर्न गराउन निर्देशन दिइसकेको छ । स्थानीय तहलाई निःशुल्क उपचारको व्यवस्थामा समन्वय गरिदिन हुन निर्देशन दिइएको छ । पत्रमा ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय, बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट गर्ने गराउने र सो सिफारिसका आधारमा गरिब पहिचान परिचयपत्र समेतलाई आधार मानी कूल शय्याको १० प्रतिशत बिरामीको निःशुल्क उपचार अनिवार्य गर्न गराउन अनुरोध गरिएको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम मन्त्रालयबाट स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ को दफा ७० (घ)मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार अनिवार्य रूपमा गराउनुपर्ने छ भनि उल्लेख गरिएको छ । मन्त्रालयले कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराए नगराएको नियमित अनुगमन हुने जनाएको छ ।

राष्ट्रपति पौडेलद्वारा ६ जनालाई गैर आवासीय राजदूतमा नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना आवासीय राजदूतहरुलाई गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले उनीहरूलाई आज सो पदमा नियुक्त गरेका हुन् । मलेसियाका नेपाली राजदूत डिल्लीराज पौडेललाई ब्रुनाईको दारुसलामका लागि गैर आवासीय राजदूतमा नियुक्त गरेका छन् । त्यस्तै, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिलीका लागि गैर आवासीय राजदूतमा राष्ट्रपति पौडेलले नियुक्त गरेका छन् । प्रवक्ता भट्टराईका अनुसार अस्ट्रियाका नेपाली राजदूत भरतकुमार रेग्मीलाई क्रोएसियाको गैर आवासीय राजदूतमा, रुसी महासंघका नेपाली राजदूत मिलनराज तुलाधरलाई गणतन्त्र काजखस्तानका लागि गैर आवासीय राजदूत, डेनमार्कका नेपाली राजदूत प्रा.डा.रामस्वार्थ रायलाई लिथुआनियाका लागि गैर आवासीय राजदूतमा नियुक्त भएका छन् । सोहीअनुसार राष्ट्रपति पौडेलले इजिप्टका लागि नेपाली आवासीय राजदूत सुशीलकुमार लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाका लागि गैर आवासीय राजदूतमा नियुक्त गरेको प्रवक्ता भट्टराईले जानकारी दिए । उनीहरूलाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो पदमा नियुक्त राष्ट्रपति कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशले नीति कार्यक्रम आज सार्वजनिक गर्ने

कास्की । गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका प्रवक्ता प्रेम सुवेदीले नीति तथा कार्यक्रम सार्वजनिकीकरणका लागि सबै तयारी पूरा भएको बताए। सरकारले यही जेठ १२ गते विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको थियो। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि यही जेठ १५ र १६ गते बसेको प्रदेशसभा बैठकमा छलफल भएको थियो। प्रदेश सरकारले अगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। बजेट आउनु पूर्व सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।

प्रदेशलाई आत्मनिर्भर बनाउन लाग्नु नै आजको आवश्यकता : मन्त्री आचार्य

इटहरी । कोशी प्रदेशका पर्यटन , वन तथा वातावरण मन्त्री जीवन आचार्यले प्रदेशलाई आत्मनिर्भर बनाउन लाग्नु नै आजको आवश्यकता भएको बताएका छन् । सामाजिक संजाल फेस्बुक मार्फत उनले प्रदेश सरकार उत्पादनमुखी योजनामा लगानी गर्न तयार भएको बताएका हुन् । प्रदेश सरकारलाई आत्मनिर्भर बनाउन उत्पादनसँगै राजस्व वृद्धि गर्ने उद्देश्यले प्रदेश सरकारलाई पनि आमदानी हुने खालका योजनामा लगानी गर्न तयार भएको बताए । शनिवार आचार्यले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै यदि तपाईँको समुदाय वा क्षेत्रमा त्यस्तो योजना छ जसलाई प्रदेश सरकारले लगानी गरे बापत केही प्रतिशत सरकारलाई आम्दानीको रूपमा बुझाउनुहुन्छ भने सरकार यस्ता उत्पादनमुखी योजनालाई लगानी गर्न तयार भएको बताएका छन् । मन्त्री आचार्यले फेसबुकमा यस्तो लेखेका छन् प्रदेश सरकारलाई आत्मनिर्भर बनाउन उत्पादनसँगै राजश्वमा वृद्धि महाअभियान सञ्चालन गरौं । उत्पादनसँग रोजगारी र समृद्धिको अन्तरसम्बन्ध हुन्छ। स्थानीय आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सके मात्र स्वाभिमानी र सबल समृद्ध नेपालको निर्माण गर्न सकिन्छ । हामीले हाम्रो मन्त्रालयमार्फत यो अभियानको थालनी गरिसकेको जानकारी गरॉउदछौं। यदि तपाईँको समुदाय वा क्षेत्रमा त्यस्तो योजना छ जसलाई प्रदेश सरकारले लगानी गरे बापत केही प्रतिशत सरकारलाई आम्दानीको रूपमा बुझाउनुहुन्छ भने सरकार यस्ता उत्पादनमुखी योजनालाई लगानी गर्न तयार छ । सरकार अनुत्पादक क्षेत्रमा मात्रै लगानी गरेर बाँच्न सक्दैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ। प्रदेशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन लाग्नु नै आजको आवश्यकता हो। प्रदेश सरकारहरू बलिया हुनु भनेको संघिय सरकार बलियो हुनु हो। देश बलियो हुनु हो, अन्ततः तपाईँ हामी सफल र समृद्ध हुनु हो। आउनुस् सहकार्य गरौँ। उत्पादन, राजस्व वृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भरताको महाअभियान सञ्चालनका लागि हातेमालो गरौँ।

तराईमा चल्न थाल्यो तातो हावा, जनजीवन प्रभावित

काठमाडौं । सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ। यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ। पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा लू अझै साताभर रहने अनुमान गरिएको छ। मध्य तराई छोएको सप्तरीदेखि भैरहवासम्मको भूभागमा लूको प्रभाव अत्यधिक छ। मौसमविद् गोविन्द झाले यी क्षेत्रमा बढ्दो क्रममा रहेको तापक्रम ४३ डिग्री सेल्सियस हुँदै उच्चतर्फ अग्रसर रहेको बताए । मध्य क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ। जलवायु विश्लेषक इन्दिरा कँडेलका अनुसार आगामी केही दिनसम्म तराईका धेरै जसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने छ। उनले तराईमा पाँच दिनसम्म तातो हावा चल्ने भएकाले सोबाट बच्ने उपाय अपनाउन सुझाव दिइन । लू लाग्दा शरीर शिथिल हुँदै जाने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने आदि लक्षण देखापर्छ।

अत्यधिक गर्मी बढ्दै, सामुदायिक विद्यालय छ दिनका लागि बन्द

सिन्धुलीमाढी । सिन्धुलीको दुधौली नगरपालिकाले गर्मीका कारण आइतबारदेखि नगर क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालय छ दिनका लागि बन्द गरेको छ । विगत केही दिनदेखि बढको अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या परेकाले जेठ २१ गतेदेखि २६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार जेठ १९ गते सम्पन्न कार्यपालिकाको बैठकले सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो । दुधौली नगरपालिकामा ७८ वटा सामुदायिक विद्यालय रहेको छ । गर्मीका कारण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय भए पनि सञ्चालन भई रहेको कक्षा ११ को परीक्षा यथावत् रहने दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले जानकारी दिए । उनले विगत केही दिनदेखि बढेको गर्मीलाई मध्यनजर गरी सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको बताए । गर्मीका कारण बिद्यार्थीहरु पढ्न रुचि नदेखाउने, घर फर्किने समयमा घाम चर्किने भएकाले स्वास्थ्य समस्या आउन सक्ने, कक्षाकोठामा पङ्खा लगायतको सुविधा नभएको र कतिपय विद्यालयको छाना जस्तापाताको रहको लगायतका समस्यालाई मध्य नजर गरी सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

‘छुवाछूत मानवीय गरिमाविरुद्धको अपराध : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछूत प्रथालाई मानव सभ्यताको कलङ्कको संज्ञा दिँदै यो मानवीय गरिमाविरुद्धको अपराध रहेको बताएका छन् । उनले यस प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याए । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना दिँदै उनले यस प्रथाको विरुद्धमा सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन सङ्घ, प्रदेश, स्थानीय तह, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज, सुरक्षा निकायलगायत सामाजिक सङ्घसंस्थालाई आह्वान गरे । उनले यस दिवसबाट आपसी एकता, मेलमिलाप तथा सद्भावको अभिवृद्धि भई सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिल्नुका साथै आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका उत्पीडनको क्रमशः अन्त्य हुँदै जाने आधार निर्माण हुने विश्वास व्यक्त गरे । त्यसैगरी यस दिवसबाट सबै जातजाति र समुदायबिच आपसी एकता, मेलमिलाप र सहयोगको भावना वृद्धि गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउने उनको विश्वास छ । संविधानले सबै प्रकारका विभेद र छुवाछूतको अन्त्य गरी समानुपातिक र समावेशी सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको उल्लेख गर्दै उनले विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारण अझै पनि जातीय भेदभाव तथा छुवाछूत प्रथा अन्त्य हुन सकिरहेको छैन भनेका छन् । विसं २०६३ मा मुलुकलाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाउने गरिएको छ ।

टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन मन्त्री शर्माको आग्रह

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई सेवा र राजश्व बृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गरेकी छन्। मन्त्रालय, नेपाल टेलिकम सञ्चालक समिति र टेलिकमका उच्च अधिकारीहरु सम्मिलित अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । नेपालका धेरै क्षेत्रमा नकारात्मक सूचक रहेको बेला टेलिकमले सकारात्मक नतिजा दिइरहेको भए पनि अब यतिमा मात्रै सन्तुष्टि लिने अवस्था नरहेकाले गुणस्तर र सेवा वृद्धिका योजना बनाउन उनले आग्रह गरिन् । ‘१८ घण्टा लोडसेडिङ हुने देश विद्युत निर्यात गर्ने अवस्थामा कसरी पुग्यो ?’– मन्त्री शर्माले भनिन्– ‘तत्कालीन राजनीतिक नेतृत्व र विद्युत प्राधिकरणको नेतृत्वको उचित योजनाका कारण उर्जा क्रान्ति संभव भयो, हामीले हरेक निकायलाई यसरी नै नयाँ सोंचसहित अघि बढाउन आवश्यक छ ।’ नेपाल टेलिकममा कार्यरत हरेक जनशक्तिले सेवा सुधारमा नै सन्तुष्टि देख्ने वातावरण बनाउनुपर्ने उनले बताइन् । उनले भनिन्– ‘हामी यस्तो वातावरण बनाऔं कि नेपाल टेलिकममा महत्वपूर्ण जीवन बिताएर अन्तिममा विदाइ हुँदै गर्दा हरेक कर्मचारीले मेरो योगदानका कारण नेपालमा सञ्चार क्रान्ति भयो भनेर गर्व गर्न सकून् । तपाइँहरुको सकारात्मक काममा सरकारको सँधै साथ रहन्छ, गलत कामका लागि कुनै दबाब दिइने छैन ।’ नेपाल टेलिकम कम्पनी भएकाले आफ्नो आम्दानी बढाउनुपर्ने र सरकारी लगानीको संस्था भएकाले राष्ट्रको सञ्चारको रुपमा योगदान गर्ने दुबै भूमिका रहेको औल्याउँदै मन्त्री शर्माले परम्परागत सोंच त्यागेर थोरै लगानीमा धेरै प्रतिफल दिने कार्यक्रम बनाउन आग्रह गरिन्। ग्राहक सेवा केन्द्रको पुनर्संरचना गर्न आग्रह गर्दै उनले ग्राहकसँग मीठो व्यवहार गर्ने र ग्राहकको गुनासो तत्काल सुनेर सम्वोधन गर्ने कामलाई प्राथमिकता दिन पनि निर्देशन दिए । आफू मन्त्री भएपछि पहिलो निर्णयको रुपमा ‘हाइवे कनेक्टिभिटी’को योजना अघि सारेको स्मरण गराउँदै उनले अबको केही समयभित्रै राजमार्गको सबै क्षेत्रमा फोन र इन्टरनेटको पहुँच स्थापित गर्न आग्रह गरिन। ‘सामान्य अवस्थामा पनि यात्राका बेलामा सबैभन्दा बढी सञ्चार सम्पर्क गर्नु आवश्यक हुन्छ, त्यसमा पनि दुर्घटना, विरामी आदिका लागि राजमार्गको सबै क्षेत्रमा सञ्चार सम्पर्क आवश्यक हुन्छ’– मन्त्री शर्माले भने– ‘दैनिक हजारौं गाडी चल्ने राजमार्गमा लाखौं यात्रुले सेवा पाउने र उनीहरुले ब्यापार पनि बढाउने भएकाले हाइवे कनेक्टिभिटी टेलिकमको महत्वपूर्ण परियोजनाको रुपमा अघि बढ्नुपर्छ, यसको शीघ्र नतिजाको अपेक्षा गरेको छु ।’ आफूहरु सामान्य दिन कटाउने हिसाबले नभई देशलाई नयाँ अभियानमा अघि बढाउने उद्देश्यका साथ सरकारमा आएकाले सरकारले नियमित प्रगतिको रिपोर्ट कार्ड सार्वजनिक गर्ने तयारी गरिएको उल्लेख गर्दै उनले टेलिकमलगायत आफ्नो मन्त्रालय माताहतका सबै निकायले मन्त्रालयमा नियमित प्रगतिको रिपोर्ट कार्ड देखाउनुपर्ने बताए । टेलिकमलाई पूर्ण डिजिटलाइजेसन गर्दै हरेक शाखामा कार्यदलहरु बनाएर निश्चित समय तोकेर सुधारलाई अभियानकै रुपमा अघि बढाउन पनि मन्त्री शर्माले निर्देशन दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर राउतले सेवा र गुणस्तरलाई नयाँ ढंगले अघि बढाउन आग्रह गरे। टेलिकमले अघि सार्न खोजेको ‘भिजन २०३०’लाई निर्णय प्रक्रियामा लगिने उल्लेख गर्दै उनले दूरसञ्चार विधेयकलगायतका आवश्यक कानुन परिमार्जन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको पनि बताए। नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले राष्ट्रको सञ्चारको रुपमा रहेको टेलिकमको गुणस्तर र सेवा बृद्धि गर्दै लैजाने बताए । अबको सेवा डेटामा केन्द्रित भएकाले ग्राहकको चाहनाअनुसार सेवा थप्दै लैजाने र ग्राहक सेवा केन्द्रलाई आगामी असारभित्र पूर्णरुपमा सुधार गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । दुई दिनसम्म चलेको अन्तर्क्रियामा दूरसञ्चार क्षेत्रका विश्वब्यापी प्रवृत्ति र टेलिकममा गर्नुपर्ने सुधारका बारेमा विज्ञ भुपेन्द्र भण्डारी, भिजन २०३० बारे प्रबन्धक वृजेश शर्मा, नीति कार्यक्रम र बजेटबारे प्रबन्धक शोभन अधिकारी, सेवा र मर्मत सुधारबारे प्रबन्धक शालिग्राम पराजुली, बजार र ब्यापार विस्तारबारे प्रबन्धक रिना डंगोललगायतले आधारपत्र प्रस्तुत गरेका थिए।