भ्रष्टाचारविरुद्ध सरकारको संकल्पलाई साथ दिन रास्वपालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार न्यूनीकरण गर्ने सरकारको संकल्पलाई साथ दिन रास्वपालाई आग्रह गरेका छन् । नहल्लिएको बताएका छन् ।

वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले शंका गर्नुभन्दा सरकारको संकल्पको पक्षमा उभिन आग्रह गरे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् ।

“एकजना माननीयले प्रधानमन्त्रीको मुटु हल्लिएको भन्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भने, “विल्कुल आशंका नगर्न र सरकारले गरेको संकल्पमा दृढतापूर्वक उभिन आग्रह गर्दछु ।”

मकालु बेस क्याम्पमा एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए । विष्टले विदेशी टोलीको भरिया काम गर्दै आएका थिए। । “विष्ट मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिँडेका थिए”, वडाध्यक्ष शेर्पाले भने। विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको छ । । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिनको पैदल दूरीमा पर्दछ । घटनाका बारेमा आज बिहान ११ बजे जिल्ला प्रहरी कार्यालमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

ढोल र घण्टी भनेका अराजकताका सङ्केतहरु हुन् : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी अराजकता पार्टी भएको टिप्पणी गरेका छन्। काठमाडौँमा आज आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले रास्वपा प्रति लक्षित गर्दै घण्टी अराजकताको संकेत भएको बताएका हुन्। उनले भने, ‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ। यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ। कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्, यो प्रकारको एउटा अवस्था आउँछ । ढोल र घण्टीहरू भनेका अराजकताका सङ्केतहरू हुन्। यो देशका जुन ठुला मेजर पार्टीहरू हुन्, जसले क्रान्ति गर्न ठूलो भूमिका खेले, तर उनीहरूले देश निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सकेनन्। त्यसकै कारण अहिले परिस्थिति यस्तो भएको हो। नयाँ भिजनका साथ देशलाई अघि बढाउनुपर्छ ।’

इच्छुक स्मृतिमा दश जना पत्रकार सम्मानित

काठमाडौं । २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा दश जना पत्रकार सम्मानित भएका छन् । प्रेस सेन्टरको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा सबै प्रदेशबाट एक–एक जना क्रियाशील पत्रकारलाई सम्मान गरिएको हो । कोशी प्रदेशबाट आचार्य, मधेश प्रदेशबाट आशिष विक, बागमती प्रदेशबाट संगीता डेम्जोङ, गण्डकीबाट सविना प्रजा, लुम्बिनीबाट कमल रायमाझी, कर्णालीबाट पंखबहादुर शाही, सुदूरपश्चिमबाट तेजराज भट्ट सम्मानित भएका छन् । उपत्यका प्रदेशबाट विक्रम रत्न, प्रतिष्ठानबाट नरेश ज्ञवाली, एशोसियटबाट विजय आवाज सुवेदीलाई सम्मान गरिएको छ । उनीहरुलाई जनही ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरियो । सर्वोत्कृष्ट प्रदेशको रुपमा उपत्यका प्रदेश समिति तथा जिल्लाहरुमा सुनसरी, मकवानपुर र बाँकेलाई सम्मानपत्रसहित सम्मान गरिएको छ । पुरस्कार छनोट समितिमा वरिष्ठ उपाध्यक्ष कमल गिरी संयोजकत्व तथा सदस्यहरुमा लेखनाथ न्यौपाने र गंगा बराल रहेका थिए । मेची–महाकाली साइकल यात्रा गरेकी प्रेस सेन्टरकी केन्द्रीय सदस्य रिता बुढाथोकीलाई कदरपत्र प्रदान गरिएको छ । जनयुद्धकालमा शंखरापुर क्षेत्रबाट शहादत प्राप्त गरेका किरण दंगाल र वेपत्ता पारिएका ध्रुव दंगाल, देवराज दंगाल, आइत तामाङको परिवारलाई पनि सम्मान गरिएको छ ।

माओवादी केन्द्रमा गुटबन्दी स्वीकार्य हुँदैन : उपाध्यक्ष महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले पार्टी भित्र गुटबन्दी कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन् । प्रेस सेन्टर नेपालको १९ औ साधारण सभा र २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, पार्टी केहि विग्रीएको छ । यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ । केहि मात्रामा विग्रीनुका प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो । दोस्रो कारण पार्टीमा गुटबन्दी छ । यो पार्टीमा गुटबन्दीलाई अब मान्यता दिइदैन । नेतृत्व सक्षम भएर मात्रै अगाडी बढ्न सकिन्छ । माओवादी नेतृत्वको सरकारका विरुद्ध बैदेशिक शक्ति पनि घेराबन्दीमा लागेको माओवादी उपाध्यक्ष महराले बताएका छन्।उनले बैदेशिकसहित आन्तरिक रुपमा पनि भइरहेको घेराबन्दी तोड्का लागि सबै एक भएर लाग्न प्रेस सेन्टर नेपाललाई आग्रह गरेका छन् । सहकर्मी कृष्णसेन इच्छुक र प्रेस संयोजक त्रिभुवन पौडेल गुमाउदै धेरै चिज गुमाएको महशुस भइरहेको पनि उपाध्यक्ष महराले स्मरण गरे ।

चौधरीलाई सजाय मिनाहा गर्न र नागरिकता विधयेक प्रमाणीकरणका लागि किन्तु परन्तु नगरौं : डा. भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलाई माफी दिन ढिला गर्न नहुने बताएका छन् । डा भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत चौधरीलाई माफी दिन ढिला गर्न नहुने बताएका हुन् । यस्तै, उनले नागरिकता विधेयक जारी गर्न ढिला गर्न नहुने समेत बताएका छन् । उनले हजारौँको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न किन्तु परन्तु गर्न नहुने बताएका हुन् । उनले भनेका छन्, ‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधान/ कानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौँको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौं। लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं ।’

‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै व्यवसायीलाई धम्क्याउने चारजना प्रहरीको नियन्त्रणमा

चितवन । ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै व्यवसायीलाई धम्क्याउने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन् । उनीहरूलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनीहरूले आफूहरू विशेष प्रहरी भन्दै सामाजिक सञ्जालमा कुरा गर्ने तथा व्यवसायीलाई धम्क्याउने गरेका थिए। भरतपुर महानगरपालिका–१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत थापाले नक्कली विशेष प्रहरीको परिचय पत्र बनाउने गरेको खुलेको छ। उनीहरूले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचयपत्र समेत बनाएको कार्यालयले जनाएको छ। पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी कार्कीले जानकारी दिए। उनीहरूलाई मुलुकी अपराध संहिताको लिखदसम्बन्धी कसुरमा म्याद थप गरिएको छ। यो मुद्दामा सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवानाको व्यवस्था छ।

नक्कली भुटानी शरणार्थी प्रकरण : एकीकृत समाजवादीले आज काठमाडौंमा र्‍याली गर्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि दबाब स्वरुप नेकपा एकीकृत समाजवादीले आज काठमाडौंमा र्‍याली गर्ने भएको छ । सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतिघर मण्डलामा सो र्‍याली गर्न लागिएको हो । हिजो मात्र सो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।  

१६ वर्षीया चिनियाँ युवती बनिन् सगरमाथाको सफल आरोही

काठमाडौं ।यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन् । चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमबार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन्। नेपाल बिग माउण्टेन ट्राभलले आज यहाँ पत्रकार सम्मेलन गरी चनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहण गरेको जानकारी दिएको हो । नेपाल बिग माउण्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सदुर्शन नेपालले जानकारी दिए। उनी महिलामा हालसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको बताइएको छ । शुई चो युआनले आफ्ना बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गरेको सुनाउँदै त्यहीँबाट आफूले आरोहण गर्ने प्रेरणा पाएको बताइन्। शुई चो युआनले आरोहणका क्रममा सुरुमा मौसम खराबीले केही चुनौतीको सामना गर्नुपरे पनि आरोहणको दिन भने मौसमले साथ दिएको अनुभव सुनाइन्। उनले आरोहणका क्रममा सहयोगी शेर्पाहरुले सहयोग गरेकोमा धन्यवादसमेत व्यक्त गरिन्। सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको असर आफूले सुनेको जस्तो देखिएको बताउँदै उनले आरोहणबाट फर्किने क्रममा उपयोग भइसकेका सामान आफूहरुले सँगै फिर्ता ल्याएको जानकारीसमेत गराइन्। नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार १६ वर्षमुनिका व्यक्तिलाई सगरमाथा आरोहणको अनुमति दिने कानुनी प्रावधान छैन । यसवर्ष सगरमाथा आरोहणको ७०औँ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम हुँदैछ भने यसवर्ष सबैभन्दा धेरै आरोहीले आरोहणको अनुमति लिएका छन् । यस वर्षको आरोहण शनिबारदेखि सुरु भएको हो ।

शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई आज अदालत उपस्थित गराइदै

काठमाडौं । शरणार्थी प्रकरणमा पक्राउ परेकालाई जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। आज प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउने भएको हो । पक्राउ परको एक सातामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्ने हुन्छ, तर म्याद सकिए पनि अनुसन्धान नसकिएका कारण पुनः म्याद थपका लागि प्रहरीले उनीहरूलाई अदालत पेस गर्न लागेको हो। हालसम्म पक्राउ परेका १४ जनामध्ये पूर्वसांसद् शेर्पाबाहेक अरू सबैको बयान सकिएको छ। शेर्पाको बयान पनि आज लिने तयारी रहेको बताइएको छ।

घट्यो सुनको मूल्य, यस्तो छ आजको कारोवार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलवार सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलवार चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला एक हजार तीन सय ७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

कामिरिताले तोडे २७औँ पटक सगरमाथा चढेर आफ्नै विश्व रेकर्ड

काठमाडौं । कामिरिता शेर्पाले सगरमाथा आरोहणमा आफ्नै विश्व रेकर्ड तोडेका छन्। उनले बुधबार बिहान साढे ८ बजे २७औं पटक सगरमाथा आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएका हुन्। सोलुखुम्बुका शेर्पाले अघिल्लो वर्ष २६औं पटक हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेका थिए। सन् १९७० मा जन्मिएका शेर्पा सेभेन समिट ट्रेकका सिनियर गाइड हुन्। उनी सन् १९९२ मा सहयोगीका रुपमा सगरमाथा आरोहणमा जोडिएका थिए। उनले केटु, चोयु, लोत्से र मनास्लु हिमाल पनि आरोहण गरिसकेका छन्।

राष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्री प्रचण्डलाई बुझायो ७ बुँदे ज्ञापन पत्र

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्त्रीलाई भेटी ७ बुँदे ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा नेपालमा विभिन्न संचार गृहहरुमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरुको हक हितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त होस् र फोटो संग्राहलयका लागि जग्गा भवन उपलब्ध गराईदिन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।  त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जिविकाउपार्जन गर्ने सम्पूर्ण पत्रकारहरुको बिमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवी अथवा प्रबल जनसेवाश्री पदकमा फोटो पत्रकार विधा समावेश गरि फोटो पत्रकारहरुलाई पनि योगदानको आधारमा राष्ट्रले सम्मान गरोस्’  ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तै, फोटो पत्रकारहरुलाई व्यवसायिक, मर्यादित बनाउनको लागि विभिन्न ट्रेनिङ दिन वार्षिक रुपमा बजेट नियमित उपलब्ध गराउन र समय अनुसार अपडेट रहन फोटो पत्रकारहरुलाई आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि माग गरेको छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलेले फोटो पत्रकारहरुका माग जायज भएको बताउँदै माग पुरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिए । ‘मागहरु जायज रहेका छन् त्यति ठूला र गर्न नसकिने माग छैनन् यसको लागि पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु’ प्रधानमन्त्री प्रचण्डले भने।

जापानमा रोकि राखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई नेपालीसहित ३ जनाको मृत्यु

काठमाडौं । जापानमा रोकि राखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई नेपालीसहित ३ जनाको मृत्यु भएको छ। ४० जना सवार सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या आएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो। ट्रकको ठक्करबाट दुई नेपाली र एक जापानी महिलाको मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्। रोकिरहेको बसलाई तिव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको हो। प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा रहेको जनाएको छ। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

पोल्याण्डका दुई आरोहीद्वारा धवलागिरि हिमाल आरोहण

म्याग्दी । पोल्याण्डका दुई आरोहीले मंगलबार धवलागिरि हिमाल आरोहण गरेका छन् । यस याममा ८ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवै जना पहिलो हुन् । सेभेन समिट ट्रेक्समार्फत बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले जानकारी दिए । उनीहरूले मङ्गलबार बिहान ७ः३० बजेको समयमा धवलागिरि आरोहण गरेका हुन् । दुवै जनाले शेर्पाको सहयोगबिना हिमाल आरोहण गरेको कम्पनीले जनाएको छ । आरोहण गरेर फर्किएपछि बार्केटले चार हजार सात सय मिटरको उचाइमा स्किसमेत गरेका थिए । दुवै जना एमएडी स्कि परियोजनाअन्तर्गत धवलागिरि हिमाल आरोहण गर्न गएका थिए । गत चैत अन्तिम साता आधार शिविर पुगेका अन्य आरोही पनि धवलागिरिको चुचुरो नजिकै पुगेका बताइएको छ । धवलागिरिको पहिलो, दोस्रो र तेस्रो आधार शिविरसम्म शेर्पाहरूले आरोहीका लागि बाटो बनाइसकेका छन् । स्पेनका ८३ वर्षीय कालोर्स सोरियाको टोली क्याम्प–३ मा पुगेको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुको यस याममा २४ पुरुष र ११ महिलाले धवलागिरि हिमाल आरोहणको अनुमति लिएका छन् । सेभेन समिट कम्पनीबाट २६ जनाले धवलागिरि हिमाल चढ्न लागेका छन् । सेभेन समिट, इलाइट र पाइनर एडभेन्चरले धवलागिरिमा आरोही लगेका हुन् । चैतको अन्तिम साता धवलागिरि गएका आरोही प्रतिकूल मौसमका कारण करिब एक महिनासम्म आधार शिविरमा रोकिएका थिए । वैशाख अन्तिम हप्तादेखि मौसममा सुधार आएपछि आरोही चुचुरोतर्फ लागेका थिए । पर्यटकको उद्धार र व्यवस्थापकीय कार्यमा संलग्न म्याग्दीको दानाका पर्यटनकर्मी इन्द्रसिंह शेरचनले वैशाखमा धेरै हिउँ परेकाले आरोहणमा ढिलाइ भएको बताए । सन् १९६० मे १३ मा पहिलो पटक अस्ट्रियाका कुर्ट डिम्बर्गरलगायत स्वीस धवलागिरि आरोहण टोलीका पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जेले पहिलो पटक धवलागिरि हिमालको आरोहण गरेका थिए । पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा विदेशी र नेपाली आरोही काठमाडौँबाट सडकमार्ग हुँदै ताकम र त्यहाँबाट हेलिकोप्टरमार्फत आधार शिविर पुग्ने गरेका छन् । आधार शिविरसम्म पुग्नका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले पदमार्ग निर्माण गर्दै आएका छन् । अक्कर पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धवलागिरि पदमार्गको यात्रा चुनौतीपूर्ण मानिन्छ । यस याममा पनि आरोही, पथप्रदर्शक, भरिया र आरोहण दलका सहयोगी आधार शिविर पुगेका छन् । धवलागिरि हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

सरकारको निर्देशनपछि टेलिकमको रोमिङ महसुल चार गुणा घट्यो

काठमाडौं । सरकारको निर्देशनपछि नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको छ । अन्तर्राष्टिय दूर सञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरुले रोमिङ महसुल घटाउन माग गरेका थिए । सो भ्रमणपछि मन्त्री शर्माले नेपाल टेलिकमलाई रोमिङ महसुल घटाउन निर्देशन दिएकी थिइन। सो निर्देशपछि झण्डै लामो गृहकार्य गरी नेपाल टेलिकमले भारत र थाइल्याण्डमा रोमिङ महसुल घटाएको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । नयाँ दरअनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा अब प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ । नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि अब प्रतिमिनेट सात रुपैयाँ नै लाग्ने छ भने एसएमएस गर्दा पनि प्रति एसएमएस सात रुपैयाँ नै लाग्ने छ । यसअघि रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस २४ रुपैयाँ लाग्ने गरेको थियो । त्यस्तै थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट थाइल्याण्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा अब प्रतिमिनेट ५० रुपैयाँ लाग्ने भएको छ । यसअघि यस्तो सेवा लिंदा प्रतिमिनेट एक सय ३५ रुपैयाँ लाग्ने गरेको थियो । त्यसैगरी थाइल्याण्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँमा प्रतिमिनेट ९० रुपैयाँ लाग्दै आएकोमा अब प्रतिमिनेट २५ रुपैयाँ लाग्ने भएको छ । थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्ने गरेकोमा अब १० रुपैयाँ मात्रै लाग्ने छ । त्यस्तै भारत र थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट डाटा चलाउँदा हाल प्रति एमबी ४० रुपैयाँ लाग्दै आएकोमा अब प्रति एक सय केवीको ४९ पैसा अर्थात प्रति एमबी पाँच रुपैयाँ मात्रै लाग्ने छ ।