सुनको मूल्य एक लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले प्रतितोला एक लाख ७० हजार रुपैयाँ नाघेको छ । मंगलबार तोलामा ८०० रुपैयाँ बढेर एक लाख ७० हजार रुपैयाँमाथि पुगेको हो ।

सोमबार सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९७५ रुपैयाँ थियो । आज ३० रुपैयाँले घटेर एक हजार ९४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

चितवन बस दुर्घटनामा २३ जना घाइते

चितवन । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिए । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले ४ प्रदेशको मौसम बदली

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला (बुधबार बिहान) बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराई भूभागका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपात हुने सम्भावना छ।  त्यसैगरी कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।  महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेकोले त्यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ।’

सत्ता पक्षका राजनीतिक दलहरुको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । बैठक आज सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक राजनीति, सरकार सञ्चालन गतिविधि, संसद अधिवेशन लगायतका विषयहरुमा छल फल हुने बताइएको छ । यही माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन शुरु हुँदैछ ।

माओवादी र भ्रष्टहरू आमनेसामने हुने स्थिति बनेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र भ्रष्ट तत्व आमनेसामने हुने स्थिति बनेको बताउनुभएको छ । शनिबार दाङमाको घोराहीमा माओवादीको नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले त्यसविरुद्ध माओवादीले शान्तिपूर्ण संघर्ष गर्ने समेत बताउनुभयो।  ‘दलाल पूँजीपति, नोकरशाही, बिचौलिया, भूमाफिया र सबै जालीझेलीहरुका विरुद्ध आमनेसामने भएका छौं,’ प्रचण्डले भन्नुभयो, ‘यतिबेला सशस्त्र त होइन, शान्तिपूर्ण संघर्षको बेला हो।’ उहाँले थप्नुभयो, ‘शान्तिपूर्ण संघर्षमा एकतर्फ दलाल, बिचौलिया र भ्रष्ट तत्वहरु र अर्कोतिर माओवादी, सच्चा देशभक्तहरु आमनेसामने हुने स्थिति बनेको छ।’  प्रचण्डले गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिने समेत बताउनुभयो। ‘हामीले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिने छैनौँ भनेर विश्वसमुदायलाई अपिल गर्दै युद्धको मैदानबाटै समाजवादतिरको यात्रा आरम्भ गरेको संकल्प लिएका थियौँ। ती दिनलाई स्मरण गर्न र संकल्पअनुसार अघि बढ्न म विशेष रूपले अपिल गर्न चाहन्छु।’उहाँले भन्नुभयो ।

उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक : अध्यक्ष प्रचण्ड

घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा उहाँले यस्तो धारणा राख्नुभएको हो। शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने उल्लेख गर्दै उहाँले शिक्षालाई सिप र सिपलाई जीवनसँग जोड्नुपर्ने बताउनुभयो । त्यसका लागि स्थानीय जनतासँग सहकार्य गर्दै पठनपाठन प्रभावकारी उहाँले शिक्षालय परिवारलाई  आग्रह गर्नुभयो। सहिद कृष्णसेनको नाममा स्थापित शिक्षालय देशकै धरोहर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेन कवि र पत्रकार मात्र नभई देशकै आदर्श र प्रतिक भएको नेपाली समाजमा स्थापित भइसकेको बताउनुभयो । सो क्रममा अध्यक्ष प्रचण्डले शिक्षालयको परिसरमा स्थापित सहिद कृष्णसेन इच्छुकको प्रतिमामा माल्यर्पण गर्नुभएको थियो।

जन्मको आधारमा नागरिकता नदिने ट्रम्पको निर्णयमा अदालतको रोक

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको जन्मको आधारमा दिने नागरिकता स्थगनको निर्णयलाई सङ्घीय न्यायाधीशले तत्कालका लागि रोक्ने निर्णय गरेका छन्। बिहीबार भएको सुनुवाइपछि न्यायाधीश जोन कोगेनाउरले ट्रम्पको निर्णयलाई स्पष्ट असंवैधानिक ठहर गरेको हो । सन् १८६८ मा गृह युद्धको अन्त्यपछि भएको १४ औँ संशोधनले अमेरिकी भूमिमा जन्मने बित्तिकै नागरिकता दिने चलन सुरुवात गरेको थियो। १३ औँ संशोधनले दास प्रथाको अन्त्य गरेको हो। यसपछि दासहरूको सन्तानको नागरिक अधिकारको बारेमा बहस सुरु भएपछि १४ औँ संशोधनमा यसमा समावेश गरिएको थियो। यस संशोधनमा यस अघि सन् १८९८ मा अन्तिम पटक बहस भएको थियो। त्यसको १२७ वर्षसम्म यो प्रावधानमा कुनै विवाद र बहस भएको थिएन।  रोनाल्डले नियुक्त गरेका सिटलका न्यायाधीश कोगेनाउर समक्ष वासिङ्टनका महान्यायाधिवक्ता जनरल निक ब्राउनका साथमा अन्य तीन डेमोक्र्याटको नेतृत्व भएको राज्यको तर्फबाट ट्रम्पको निर्णयको विरुद्धमा न्यायालयमा आवेदन दिएका थिए।ब्राउनले यस निर्णयको स्वागत गर्दै अन्य राज्यको निर्णयलाई पनि पर्खिएको बताए। उनले ट्रम्पको निर्णयका कारण यसै वर्ष जन्मिएका तथा जन्मन आँटेका हजारौँ बालबालिकाको भविष्य सङ्कटमा पारेको जिकिर गरेका छन्। अहिले अमेरिकामा ट्रम्पले गरेको जन्मको आधारमा नागरिकता प्रचलनको अन्त्य गर्ने निर्णय पछि कानुनी निकाय तथा आप्रवासीको समस्यामा धेरै बहस भएको छ।सङ्घीय न्यायाधीशको यो निर्णयपछि अहिले ट्रम्पको अर्को निर्णय के हुने भन्ने विषयमा धेरैको चासो रहेको छ।

रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै

बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै छन्।बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो, पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेकाले शुक्रबार पनि उनी अदालतमा उपस्थित हुन लागेका हुन् । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधवार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, सो  हाजिरी जमानीमा रिहा भएका थिए।  रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थियो, जसका कारण उनी बिहिबार अदालतमा उपस्थित भए पनि थुनछेक बहस भने सकिन पाएन। सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो।  प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो। उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन। बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका अधिकांश भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने मधेश, बागमती र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहनेछ । यस्तै कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरण : लामिछानेमाथि आजदेखि थुनछेक बहस

रूपन्देही । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ । हिजो रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेले सो प्रकरणमा बयान दिनुभएको थियो । इजलासले बिहीवार बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका छाडेको थियो । लामिछाने आज थुनछेक बहसका लागि अदालतमा उपस्थित हुनेछन् । कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो । सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो । प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी गरेको हो । लामिछाने यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

युवकमाथि निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बित

काठमाडौं । चितवनमा एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन् ।  भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेजले  एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि उनी निलम्बनमा परेका हुन् । गएको १५ पुसमा प्रहरी चेकिङका क्रममा एक युवकमाथि निर्घाट कुटपिट भएको थियो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

अध्यक्ष प्रचण्ड गोरखामा

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउनुभएको छ ।  उहालेँ गोरखा नगरपालिकाको आहाले स्थित सरस्वती मा.वि र डण्डी डाँडाको नव ज्योति मा.वि को स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्ड गोरखाको कार्यक्रम सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ 

इजरायलद्धारा ९० प्यालेस्टिनी बन्दीको रिहाइ

काठमाडौं । गाजामा युद्धविराम सम्झौता लागू भएसँगै इजरायलले ९० जना प्यालेस्टिनी कैदीको रिहा गरेको छ ।हमासले तीनजना इजरायली महिलालाई रिहा गरेसँगै इजरायलले पनि ९० जना प्यालेस्टाइनी बन्दीको रिहाइ गरेको हो  इजरायलले सम्झौताको पहिलो चरणअन्तर्गत ती बन्दीको रिहाइ गरेको बीबीसीले उल्लेख गरेको छ ।हमासले ९० जनाको रिहाइको पुष्टि गर्दै तीमध्ये ६९ महिला र २१ किशोरकिशोरी तथा बालबालिका रहेको बताएको छ । रोयटर्सका अनुसार यीमध्ये अधिकांशलाई हालै पक्राउ गरिएको थियो । तर उनीहरूलाई कुनै पनि मुद्दामा कारबाही वा सजाय दिइएन ।युद्धविराम लागू भएको केही घण्टापछि हमासले तीन इजरायली बन्धकलाई रिहा गरेको थियो । सम्झौताको पहिलो चरणमा इजरायलले १ हजार ९०० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने छ । उही समयमा हमासले बदलामा ३३ इजरायली बन्धकलाई रिहा गर्नेछ । इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता तीन चरणमा लागू हुने छ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले बन्धकहरूलाई रिहा गर्नुपर्ने छ । त्यसपछि इजरायली सेना बिस्तारै गाजाबाट हट्नेछ र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ ।

प्रहरीले युवक कुटेको भिडिओ भाइरल, छानबिन गरिदै

काठमाडौं । प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल भैरहेको छ । पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ ।उक्त भिडियो सामाजिक सञ्जालमा आएपछि चितवन प्रहरीले घटनाबारे छानबिन सुरू गरेको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको प्रहरी प्रवक्ता एवं डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए। घटना केही समय अगाडि भएको उनले बताए।अहिले भाइरल बनेको भिडिओ पुस १४/१५ गते चितवनमा भएको बताइएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक सोमबार बिहान साढे ११ बजे बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरुसँग छलफल हुने जनाइएको छ ।

कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट शुरु हुँदै

काठमाडौं । कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन शुरु हुन लागेको हो । गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो । यसको चार महिनापछि शुरु भएको अधिवेशनका लागि विजनेश पर्याप्त रहेको सरकारले जनाएको छ । आज बस्ने बैठकका लागि तय गरिएको कार्यसूचीमा पाँचवटा विषयहरु रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने कार्यसूची पनि रहेको छ । केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश हुनेछ । यस्तै सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेश गर्ने पनि कार्यसूचीमा छ । यसैगरि मुख्य न्यायाधीवक्ताको काम कर्तव्य अधिकार र सेवाको शर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबल गर्ने कार्यसूची रहेको छ । अधिवेशन शुरु हुने पहिलो दिन आज प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले आफ्नो मन्तव्य राख्ने कार्यसूची पनि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।