माओवादी केन्द्रको ठहर– सरकार निजामति ऐनमा ढिलाई गर्न चाहन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्न सरकारले ढिलो गर्न खोजेको आरोप लगाएको छ।


शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले निजामती विधेयकमा ढिलाइ गरिरहेको आरोप लगाएका हुन्।

उनले समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरू मात्रै आउने र मन्त्री नआउने गरेको गुनासोसमेत गरे। मन्त्रालयले आफ्ना धारणा नराख्ने र सांसदहरूलाई मात्रै बोल्न लगाउने गर्दा सार्थक छलफल नहुने उनको भनाइ थियो।

उनले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्यहाँ बस्ने हाम्रा कर्मचारीहरू सबैभन्दा बढी आउनुपर्ने हो। जसले डे टु डे कर्मचारीलाई परेका समस्या केके हुन्, राष्ट्रलाई परेका समस्या केके हुन्, विकास गर्नलाई र अझ यसलाई राम्रो बनाउन केके गर्नुपर्छ भनेर त्यो मन्त्रालयसँग सम्बन्धित छलफल, धारणा, कहिले बुझ्ने हो? मलाई लाग्छ, सबैभन्दा महत्त्वपूर्णवस्तु यो हो। सामान्य प्रशासन हेर्ने मन्त्रीज्यू नै नआउने, त्यसपछि हामी छलफल अघि बढाइरहने? आफ्नो कुरा नराख्ने, टिमले टिप्ने मात्रै। यो विधेयकलाई कतै ढिलो गर्न खोजेको पो हो कि? यो विधेयक त संघीयतासँग सम्बन्धित विधेयक हो। यो विधेयकले त प्रदेशमा असर गरेको छ। यसले त संघीयता कार्यान्वयनलाई असजिलो बनाएको छ।’

बैठकमा एमाले सांसद ठाकुरप्रसाद गैरेले निजामती क्षेत्रमा प्रवेशको प्रक्रियालाई निष्पक्ष, पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताए। जागिरको समग्र आवधिक र समग्र मूल्यांकनको लागि ऐनले निश्चित दिशानिर्देश गर्नुपर्ने उनको धारणा थियो। दण्ड सजाय र पुरस्कारको प्रबन्धका बारेमा यसले स्पष्ट दिशानिर्देश गर्नुपर्ने पनि उनको धारणा थियो।

 

कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान लिइँदै

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा आज पनि बयान लिइँदैछ । जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा हिजो दिउँसोदेखि लामिछानेको बयान शुरु भएको हो । पहिलो दिन लामिछानेसँग तीन घण्टा बयान लिइएको जिल्ला अदालतले जनाएको छ । बयानमा लामिछानेले आफूले कुनै पनि सहकारीबाट एक रुपैयाँ पनि ऋण नलिएको र दुरुपयोग समेत नगरेको जिकीर गर्नुभएको छ । लामिछानेको बयान सकिएपछि रामबहादुर खनाल र देवकुमार नेपालीको बयान लिइने जनाइएको छ । पूर्व डिआइजी छविलाल जोशी र लिला पछाईको बयान यसअघि नै सकिएको छ । आजसम्ममा सबैको बयान लिइसक्ने र आइतबारदेखि थुनछेक बहस अघि बढने बताइएको छ ।

पशु स्वास्थ तथा पशु सेवा व्यवसायी परिषद्को सदस्यमा जैशीको उमेद्वारी

काठमाडौं । पशु स्वास्थ तथा पशु सेवा व्यवसायी परिषद्मा खुल्ला सदस्यका लागि धर्मराज जैशीको उम्मद्वारी दर्ता गर्नु भएको छ।पशु स्वास्थ तथा पशु सेवा व्यवसायी परिषदमा हुन लागेको चुनावमा खुल्ला सदस्यमा धर्मराज जैशीले उम्मेदवारी दर्ता गराउनुभएको हो।  नेपालको पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा कार्यरत आधारभूत तह देखि प्राविधिक जनशक्तिको विषय विज्ञसम्मका जनशक्तिलाइ दर्ता र नियमन गर्ने प्रमुख उद्देश्यका साथ संघिय संसदवाट पारित ऐन २०७९ साल आश्विन २३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भयर ऐन र २०८१ मा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्  नियमावली जारी भएको थियो । यसै ऐन र नियमावली अन्तर्गत रहेर यो परिषद्को गठन भएको र नेपाल पशु चिकित्सा परिषद् दर्ता हुन योग्य जनशक्तिबाहेकका पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा कार्यरत सम्पुर्ण जनशक्ति जस्तै पशुपन्छी, मत्स्य र दुग्ध विज्ञान सम्बन्धिका जनशक्ति परिषद्मा दर्ता हुने व्यवस्था ऐनमा उल्लेख गरिएको व्यवहारिक कार्यन्वयनका गर्नका लागि आफुले उम्मेदवारी दिएको जैशीले बताउनुभयो।  ‘ऐनको परिधि भित्र रहेर प्रदेश कानुन बनाउने र सो कानुनले तोकेको निकायले समेत प्रदेशस्तरमा जनशक्ति दर्ता हुने प्रावधान ऐनमा राखिएको छ,’ उहाँले भन्नुभयो ,‘त्यसको व्यबहारिक कार्यान्वयन,अन्तरार्ष्ट्रिय सम्बन्ध स्थापना,विभिन्न निकाय र सरोकारवाला पेसागत संगठन सँग सुमधुर सम्बन्ध ,परिषद्को भौतिक संरचना निर्माण सगै डिजिटलाइजेसनमा योगदानका साथै दर्ता प्रक्रियामा नआएको जनशक्तिलाई दर्ता प्रक्रियामा लिएर आउने र विभिन्न जनशक्तिको अनुगमन,पाठ्यक्रम पुनर्निर्माण तथा परिमार्जन लगायत अन्य कार्य गर्नका लागि मैले उम्मेदवारी दर्ता गराएको छु।’ जैशी राजनीति शास्त्र जनप्रशासन र कानूनमा समेत उच्च शिक्षा हासिल गरेका प्रष्ट वक्ताका रुपमा चिनिएका व्यक्ति हुनुहुन्छ ।उहाँ सँग पेसागत आन्दोलन र परिषद्को ऐन र नियमावली मस्यौदा निर्माण कर्ता समेत हुनुहुन्छ उहाँको विजयले परिषद्को गरिमा राम्रो हुने विभिन्न जानकारहरु बताउँछन् । परिषद्को अध्यक्ष, उपाध्यक्ष, रजिष्ट्रार र अन्य सदस्य गरि १९ जनाको कार्य समिति रहने व्यवस्था गरिएको छ । निर्वाचन आगामी माघ १८ गने हुने छ ।  

एमालेमा फरम मत राख्ने नेताविरुद्ध कारवाहीको सन्देश के हो ?

काठमाडौं । पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेका तीन नेतालाई एमालेले बुधबार कारबाही गरेको छ । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई भने जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गरिएको छ । आफू पार्टी विधिविपरीत गएको महसुस नगरेका कारण उनीहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । विवादास्पद व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गर्ने र त्यसमा गुरुङले नै एमाले मुख्यालय बनाइदिने भएपछि पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले विरोध गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले कीर्तिपुर–२ मैत्रीनगरमा गत असोज २५ मा पार्टी मुख्यालय भवन शिलान्यास गरेका थिए । त्यसमा रावल, पाण्डे र तिम्सेनाले सार्वजनिक रूपमा आलोचना गरेपछि एमालेले पार्टी निर्णयविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको थियो । पाण्डे र तिम्सेनाले पार्टीले आफैं केन्द्रीय कार्यालय बनाउने निर्णय गरिसकेको अवस्थामा दानबाट निर्माण गर्नु गलत हुने भन्दै स्पष्टीकरण दिएका थिए । रावलले भने स्पष्टीकरण बुझाएका थिएनन् । निलम्बित स्थायी कमिटी सदस्य पाण्डेले दानबाट पार्टी कार्यालय बनाउनु गलत भएको आफ्नो धारणा कायम रहेको बताइन् । शिलान्यास भइसकेको काम अलपत्र पार्न नहुने पूर्ववत् पार्टी निर्णयलाई सम्झाएकाले कारबाही भोगेको बताइन् । कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता अभ्यास हुनुपर्ने मान्यता भए पनि पछिल्लो समय एमाले अध्यक्ष ओलीको प्राधिकारमा चल्दै आएकाले प्रश्न उठाउनेमाथि कारबाही हुने गरेको राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले बताए । ‘एमालेमा ओलीको निर्णयमाथि प्रश्न उठाउन सक्ने अवस्था छैन । प्रश्न उठायो भने कारबाही भोग्नुपर्ने अवस्था छ,’ उनले भने ।

काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ । मध्याह्नतिर यो हट्ने छ । साथै मङ्गलबारको तुलनामा आज मौसम सफा रहने । यहाँ अहिलेको तापक्रम ७.५ मापन गरिएको छभने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहनेछ । विभागले बिहीबार बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्ने भएकाले स्वास्थ्य, यातायात, नागरिक उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

आज क्रिसमस डे मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो । दिवसका अवसरमा २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए । पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।

अखिल क्रान्तिकारीमा नीति र नेतृत्व छान्न देशैभरि चुनाव हुने

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका शीर्ष नेता, निवर्तमान अध्यक्ष, फ्याक्सन इन्चार्ज, निर्वाचन आयोगका पदाधिकारीसहितको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।  पहिलो चरणमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने विषयमा मतदान हुनेछ । त्यसका लागि पुस १३ गते निर्वाचन हुने इन्चार्ज हिमाल शर्माले जानकारी दिए । शर्माका अनुसार दोस्रो चरणमा नयाँ नेतृत्वको लागि निर्वाचन पुस १७ गते हुने छ । शर्माका अनुसार उमेर हदसम्बन्धी निर्वाचन ७७ जिल्लामा हुनेछ ।  नेतृत्व छनोटको निर्वाचन सात प्रदेशमा हुनेछ । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो ।  दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो । नयाँ नेतृत्व छनोटका लागि देशभरबाट दुई हजार ३२३ प्रतिनिधि सहभागी हुनेछन् ।  

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला । हुम्लामा गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए ।   यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ । उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ ।  जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए ।  जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायत गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।  सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा सम्भावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् । रासस

संसदका तीन वटा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।

सातवटै प्रदेशमा वर्षाको सम्भावना,  चिसो बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणालीका कारण हिमाली तथा पहाडी भूभागमा हलुकादेखि मध्यम हिमपातसमेत हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली मंगलवार रातिसम्म रहने छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली शुरु भएको र यो बिस्तारै पूर्वतिर फैलिँदै गरेको महाशाखाले जनाएको छ । यो प्रणाली आज राति कर्णाली प्रदेश हुँदै गण्डकी र लुम्बिनी प्रदेशसम्म आउनेछ । पूर्वतर्फ फैलिँदै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिनेछ । आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने महाशाखाले जनाएको छ । हाल वर्षा भइसकेको छैन तर आज राति र भोलि बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने तथा अन्य केही क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ । अहिले देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आगामी २४ घण्टामा बागमती प्रदेश र मधेश प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गत मंसिरको अन्तिम साता चिसो अत्यधिक बढेर विस्तारै घट्दै गएपनि सोमबारदेखि पुनः चिसो बढ्न थालेको हो । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । यसैगरि अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दै गएको महाशाखाले जनाएको छ।

राष्ट्रपतिसमक्ष पाँच राजदूतको शपथ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका राजदूतले शपथ ग्रहण गर्नुभएको छ । सोमबार बिहान शीतनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा.शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा.शङ्करप्रसाद शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको जनाइएको छ ।

राज्य व्यवस्थासहित पाँच समितिको बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँच समितिको बैठक आज बस्दैछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमै बस्नेछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनमा वनक्षेत्र र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित समस्याका विषयमा छलफल हुनेछ । यसैगरी, सिंहदरबारमा मध्याह्न १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समिति बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । राज्य व्यवस्था समितिको बैठक दिउँसो १ बजे समितिको सभाकक्षमा बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमै बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद ९दोस्रो संशोधन० विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी छ ।

यस्तो रहने छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली नेपालतर्फ आउने भएकाले हिमाली तथा पहाडी भूभागमा हलुकादेखि मध्यम हिमपातसमेत हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली मंगलवार रातिसम्म रहनसक्ने छ । अहिले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराई लगायत पहाडी भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको महाशाखाले जनाएको छ । आज रातिदेखि भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा बादल लाग्ने तथा पानी पर्नसक्ने महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा तथा सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

नेपाल प्रवेश गरेको भारतीय जेविसी नियन्त्रणमा

दार्चुला । दार्चुलामा नेपाल–भारत सीमा छुट्याउने महाकाली नदी पार गरेर अनुमति बिना भारतीय जेसिबी नेपालतर्फ आएको छ । महाकाली नदी पार गरेर भारतीय जेसिबी नेपालको दार्चुला सदरमुकाम खलङ्गामा आएपछि जेसिबी मेसिन र चालकलाई स्थानीयले पक्राउ गरेका छन् ।  दार्चुलाबासीको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले नदीको धार नेपालतर्फ धकेलिने गरी आफूखुसी तटबन्ध निर्माण गरिरहेको छ । नदीको धार नेपालतर्फ फर्काउने क्रममै भारतीय जेसिबी नदी पार गरेर नेपालतर्फ आएको भन्दै स्थानीयले आइतबार स्काइभेटर मेसिन र चालक (अपरेटर) लाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।  नेपालतर्फ तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारीपट्टी तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामाग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम गर्दै आएको छ । भारतीय पक्षले नेपाली प्रशासनसँग समन्वय नगरेरै नेपाली भूमिमा समेत स्काइभेटर चलाउन थालेपछि स्थानीय आक्रोशित भएका हुन् । अन्तर्राष्ट्रिय सन्धि–सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैन  । तर भारतले अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर महाकालीको बहाव नेपालतर्फ फर्कने गरी विगतदेखि नै तटबन्ध बनाइरहेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।  भारतीय पक्षले नेपाली सीमामा दादागिरी गर्दै आएको स्थानीय महेश भट्टले बताउनुभयो । केही दिन पहिले पनि भारतीयले नेपालीहरुलाई ढुगां हानेको स्थानीयको आरोप छ । गत वर्षपनि भारतले नेपालतर्फ नदीको धार फर्किने गरी खलंगास्थित नदी किनारमा तटबन्ध निर्माणको काम गरेको थियो ।  नेपालतर्फबाट स्थानीयले पटकपटक भारतीय दादागिरीको विरोध गरेपनि सरकारी पक्षको उदासिनताका कारण भारतीय पक्षले धमाधम काम गर्दै आएको छ । हिउँदमा महाकाली नदीमा पानीको सहत घटेको मौका छोप्दै नेपालतर्फ पानीको धार फर्काएर भारतीय पक्षले पारिपट्टि नेपालको भन्दा ठूलो तटबन्ध बनाउने गरेको स्थानीय कृष्ण धामीले बताउनुभयो । नेपालले यसअघि महाकाली नदी किनारको धेरै भाग छोडेर संरचना निर्माण गरेको थियो ।  "हामीले महाकाली नदीको धेरै भाग छोडेर नेपालतर्फकै भूमिमा तटबन्ध गरेका थियौं", स्थानीय सुन्दर धामीले भन्नुभयो, "तर भारतले भने महाकाली नदीको सीमाना मिचेर तटबन्ध निर्माण गरिरहेको छ।" २०७० सालमा बाढी आउनुअघि नेपालकै भूमि रहेको क्षेत्रमा अहिले भारतले कब्जा जमाएको उहाँले बताउनुभयो । दार्चुलाबासीले महाकाली नदीको धारसमेत परिवर्तन गरी नेपालतर्फको खलंगा बजारलाई क्षति पुग्ने गरी भारतले तटबन्ध निर्माण गरिरहेको भन्दै सो कार्य बन्द गराउन विगतदेखि नै जिल्ला प्रशासनसँग माग गर्दै आएका छन् । आइतबार पक्राउ परेको जेसिबी चालकलाई समेत कार्वाहीको माग गरिएको छ ।  पक्राउ परेको जेसिबी मेसिन नेपालतर्फ नै रहेको र चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । नेपाली सीमाबाट पक्राउ परेका भारतीय स्काइभेटर चालकले प्रारम्भिक सोधपुछका क्रममा भूलबस (गल्तीले) जेसिबी नेपालतर्फ पुगेको बयान दिएको प्रजिअ जोशीले बताउनुभयो । स्थानीयबासीले भने नेपाल सरकार र प्रशासनले भारतीय विस्तारवादी प्रवृत्तिका विरुद्ध कडा कदम चाल्नुपर्ने माग गरेका छन् ।  जेसिबी नेपालतर्फ आएर पक्राउ परेपछि घटनाबारे अनुसन्धान भइरहेको र सीमामा देखिएको समस्या समाधान गर्न छलफल भइरहेको प्रजिअ जोशीले बताउनुभयो । 

राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार

काठमाडौं । पहिचान पुरस्कार कोषले ०८०/८१ को पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गर्ने भएको छ। मंसिर २८ गते बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तकमध्येबाट ‘ओ पेङ्दोर्जे’लाई नगद चार लाख दुई हजार दुई रुपैयाँ र ताम्रपत्रसहित पुरस्कार दिने घोषणा गरेको हो। ओ पेङ्दोर्जे कवितासंग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानका लागि रगत–पसिना साथै जीवन आहुति दिने तामाङ जाति र अन्य भुइँमान्छेहरूले खेपेको शोषणबारे बताएको छ। उनका कविताले आफ्नो पहिचान रक्षार्थ आन्दोलन, विद्रोह बोलेका छन्। विशेषतः तामाङ जातिको आदिवासी सौन्दर्य जगेर्ना गर्न सफल छ। सांस्कृतिक जागरणको आह्वान गर्दै आफ्नो पहिचान रक्षाका लागि आवाज बुलन्द गरिएका छन्। विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार दिने घोषणा गरिएको संस्थापक नरेश काङमाङ राईले जानकारी गराए। संस्थाले जनाएअनुसार, ०८१ चैत २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका– ४ को सुन्दर चखिया डाँडामा पुरस्कार वितरण गरिनेछ। तीन सालअघिदेखि चखियामा पुरस्कार प्रदान गरिँदै आएको छ। चैत २४ गते एकदिने ‘काव्य मुन्दुम पथ यात्रा’गर्ने तालिका पनि तय गरिएको छ।

सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु

काठमाडौं । सामाजिक सञ्जालको व्यापकता र प्रविधिको तीव्र विकास र प्रयोगसँगै आमसञ्चार क्षेत्र देखिएका सम्भावना र चुनौतीबारे बौद्धिक विमर्श गर्ने उद्देश्यले आजदेखि काठमाडौंमा सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा आजदेखि सुरु दुई दिने उक्त सम्मेलनमा व्यापक हुँदै गएको गलत सूचना प्रवाह, सामाजिक सञ्जालको प्रयोग, सञ्चारमाध्यममा देखिने पक्षधरता र सञ्चार साक्षरतालगायत सञ्चारसम्बद्ध एक दर्जनभन्दा बढी विषयमा कार्यपत्र तथा अनुसन्धान पत्रहरुमाथि छलफल हुनेछन् । सम्मेलनको उद्घाटन सत्रमा प्रमुख विषयवस्तु प्रस्तुत गर्दै प्राध्यापक पी खरेलले प्रविधिले पत्रकार र सञ्चारमाध्यमलाई जतिसुकै सुविधासम्पन्न बनाए पनि घटना क्रमको स्वच्छ तथ्य सङ्कलनमा आधारित समाचार सम्प्रेषण अझै पनि चुनौतीपूर्ण रहेको बताए । 'प्राप्त सूचनाको सत्यता परीक्षण र पुनःपरीक्षण हुनुपर्ने विचार बुद्धकै पालमा आएको हो तर अहिले पनि पुनःपरीक्षण नगरिएका समाचार सञ्चारमाध्यममा उल्लेख्य मात्रामा भेटिन्छन्,' उनले भने । ‍यसबाहेक प्राकृतिक प्रकोप वा दुर्घटनाको समाचार सम्प्रेषणमा अपनाउनुपर्ने सचेतताको अभाव टडकारो देखिएको उनको भनाइ थियो । डिजिटल प्रविधिका कारण परम्परागत आमसञ्चारमाध्यमले आफूलाई अद्यावधिक गर्नुपर्ने उनले उल्लेख गरे । त्रिवि केन्द्रीय पत्रकारिता विभाग प्रमुख कुन्दन अर्यालले पाठक दर्शक र स्रोताहरु विगतको तुलनामा अत्यन्त सक्रिय रहेको उल्लेख गर्दै जिम्मेवारीपूर्वक सम्पादन गरिएका सञ्चार सामग्रीको आवश्यकता अझै टडकारो ढङ्गले महसुस हुन थालेको धारणा राखे । सम्मेलनको उद्देश्य नियमित पठनपाठनलगायत सञ्चारसम्बन्धी प्राज्ञिक गतिविधि, पाठक, दर्शक र स्रोतालाई एक अर्कासँग नजिक ल्याउनु रहेको पनि उनले बताए । सम्मेलनमा नेपाल र दक्षिण एसियाली मुलुकहरु भारत बङ्गलादेश र श्रीलङ्काका सञ्चारविद् सहभागी छन् ।