अनधिकृत रुपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको परिपत्र

काठमाडौं । अनधिकृतरुपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।

मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक बिदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको तथा पात्रो, भित्तेपात्रो र गोजीपात्रोको स्वीकृति दिने काम पनि समितिकै भएको उल्लेख छ।

पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गरी बिक्री, वितरण गराउने काम समितिको गठन आदेश, २०७७ मा उल्लेख भएकाले अनधिकृतरूपमा स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोलाई कारबाही गर्न मन्त्रालयले परिपत्र गरेको हो।

समितिको आन्तरिक व्यवस्थापन दिग्दर्शन, २०७९ मा पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गर्न चाहनेले नियमानुसार स्वीकृति लिनुपर्ने उल्लेख छ। स्वीकृति लिएर प्रकाशन भएरनभएको स्थानीयरूपमा निरीक्षण तथा अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने व्यवस्था समितिको दिग्दर्शनमा रहेको परिपत्रमा उल्लेख छ।

सरकारले बिदा स्वीकृत गर्नुपूर्व नै स्वीकृति नलिई गलत मुहूर्त र चाडपर्व राखी प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रो बजारमा छ्याप्छ्याप्ती रहेकाले निरीक्षण एवं अनुगमन गरी सचेत गराउन र आगामी वर्षदेखि यस्ता काम कारबाही नियन्त्रण गर्नरगराउन पनि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पत्राचारबमोजिम सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरिएको उपसचिव शर्माले राससलाई जानकारी दिनुभयो। गृह मन्त्रालयको परिपत्रपछि अनधिकृतरूपमा प्रकाशन भइरहेका पात्रो, भित्तेपात्रो र गोजीपात्रोका कारण चाड, पर्व, तिथि, मितिका बारेमा हुने समस्या समाधान हुने विश्वास लिएको समितिले जनाएको छ।

चितवन क्षेत्र नं. २ मा विवाद हुँदा मतदान प्रभावित

चितवन । चितवन विवाद हुँदा दुई केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो । कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो । सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले बताए । यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन् । यस क्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपनिर्वाचन हुन लागेको हो ।

बाजुरामा भूकम्प

काठमाडौं । बाजुरामा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो १ बजेर १२ मिनेटमा बाजुराको कुल्देवमान्डौ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रि-ओपन सेसनमा नेप्से झिनो अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले उकालो लागेको छ । साताको पहिलो कारोबार नेप्से ०.५४ अंकले उकालो लागि १९०४.९४ विन्दुमा आएको छ । प्रि–ओपन सेसनमा १ हजार १११ सेयर कित्ता किनबेच हुँदा २ लाख ५७ हजार ४९६ रुपैयाँको सेयर कारोबार भएको छ । १३ उपसूचकहरू मध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने एक कम्पनीमा ओरालो लग्दा अर्को स्थिर रहेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै मुख्यमन्त्री यादवलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको छ । यादवले आज बारा जिल्ला क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको बेला उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना पचरौता नगरपालिका गएको भन्दै स्पष्टीकरण सोधेको हो । आयोगले यादवलाई उपनिर्वाचनको समयमा उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी त्यहाँ किन गएको र त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईँको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २००९ को दफा ५ को उलङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उलङ्घन गरेकोमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने भनी २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको हो ।

बारामा हस्ताक्षर नभएको मतपत्रसहित जसपाका कार्यकर्ता पक्राउ

जनकपुरधाम । बारा निर्वाचन क्षेत्र नम्बर २ मा मतदान जारी छ । एउटा मतदान केन्द्रबाट जनता समाजवादी पार्टी ९जसपा० का कार्यकर्ता पक्राउ परेका छन् । बाराको देवताल गाउँपालिका–७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रबाट रामसागर यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसँग दुई वटा मतपत्र भेटिएको हुनाले अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका यादवसँग मतदान अधिकृतको हस्ताक्षर नभएको दुई वटा मतपत्र भेटिएको थियो । उनी जिल्ला समन्वय समितिका सदस्यसमेत छन् । यादवसँग दुई वटा मतपत्र फेला परेसँगै यो मतदान केन्द्रमा केही समय मतदान रोकिएको थियो । तर उनलाई प्रहरीले नियन्त्रण लिएर पुनः मतदान सुरु गरेका छन् ।

जोरधारामा बस दुर्घटना : एक महिलाको मृत्यु, १८ जना घाइते

पाल्पा । पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। घाइते १८ जनाको उद्धार गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको उनले बताए। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। बस भीरमा अड्किएको अवस्थामा छ। अन्य यात्रुको उद्धार भइरहेको छ। यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका ट्राफिक प्रहरीका सहायक हबल्दारको निधन

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा म्भीर घाइते भएका ट्राफिक प्रहरीका सहायक हबल्दार जनक धामीको निधन भएको छ । बिहीबार साँझ धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा आफैंले चलाएको म १ प ३८७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धामी गम्भीर घाइते भएका थिए। मेट्रो अस्पतालमा उपचाररत धामीको शनिबार राति मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र जोहोरीले जानकारी दिए । बिहीबार साँझ करीब ७ बजेको समयमा राजपुरमा सवारीसाधन चेकिङका लागि गइरहेका बेला गाईसँग ठोक्किएर धामी दुर्घटनामा परेका थिए ।

बारामा जसपा, एमाले र रास्वपाका उम्मेदवारले मत हाल्न नपाउने

बारा । बारा २ मा भइरहेको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान केन्द्रहरूमा मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन् यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् । यादव सप्तरी–२ का मतदाता हुन् । त्यसै गरी पुरुषोत्तम पौडेल बारा–३ र रमेश खरेल काठमाडौँ–१ का मतदाता हुन् । बार २ मा ३४ जना उम्मेदवार छन् । जसमध्ये १० राजनीति दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार आएको छ । भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुँदै आएको हो । पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। मुटुमा जमेको पानीमा संक्रमण फैलिए पछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनी बुधवार देखी त्यहाँ उपचाररत रहेका छन् । स्वास्थ्यमा सुधार आए पनि उपचार पछि कहिले स्वदेश फर्कने हो त्यो भने अझै टुंगो नलागेको दुतावास स्रोतले जनाएको छ ।

लामिछाने र न्यौपाने मताधिकार प्रयोग गर्नबाट बञ्चित

चितवन । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् । लामिछाने रास्वपाबाट उम्मेदवार छन् भने न्यौपाने एमालेका उम्मेदवार हुन् । यस्तै कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् । चितवनमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ।

उपनिर्वाचन : तीनवटै निर्वाचन क्षेत्रमा मतदान सुरु

काठमाडौं । उपनिर्वाचन अन्तर्गत देशका तीनवटै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आज बिहान ७ बजेबाट मतदान सुरु भएको छ । सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको हो । प्रक्रियाको क्रममा कतिपयमा दुई–चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या नभएको उनले बताए । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका छन् । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतबाट खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । यहाँ रास्वपाबाट लामिछाने, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा छन् । त्यस्तै, तनहुँ–१ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त भएपछि सो स्थानमा पनि आज उपनिर्वाचन हुन लागेको हो । तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्बेन्द्र खनाल प्रतिस्पर्धामा छ । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार शान्तिपूर्णरूपमा मतदान भैरहेको छ । त्यस्तै, बारा–२ बाट निर्वाचित उपराष्ट्रपति बनेसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । यहाँ जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायत उम्मेदवार छन् । तीनै निर्वाचन क्षेत्रमा निर्वाचनका कारण अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् ।

परराष्ट्रमन्त्री साउदसँग बेलायती राजदूतको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । बिहीबार परराष्ट्र मन्त्रालयमा राजदूत पोलिटले मन्त्री साउदसँग भेटवार्ता गरेकी हुन् । उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन तथा आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नव नियुक्त परराष्ट्रमन्त्री साउदसँग यसअघि भारत, अमेरिकालगायत देशका राजदूतले भेटेरै बधाई दिइसकेका छन्।

सम्झौता कार्यान्वयन नभए सिसडोलमा फोहोर फाल्न नदिने चेतावनी

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता कार्यान्वयन नगरे काठमाडौंको फोहोर विसर्जन हुँदै आएको क्षेत्रका यी दुई पालिकाले १५ दिनभित्र यसअघि भएका सहमति र सम्झौताको कार्यान्वयन नभए फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् । धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामाले संयुक्त विज्ञप्ति जारी गर्दै गत जेठमा सरोकारवालासँग भएको सहमति र सम्झौता कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम दिएका छन् । यसैबीच प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गरी मुआब्जा दिनुपर्ने, फोहोरमैलाका कारण न्यून प्रभाव पार्ने गरी फोहोरबाट निस्किएको लिक्विडको व्यवस्थापन गर्नुपर्नेलगायतका माग गरेका छन् । ककनी र धुनिवेशीका वडाहरूमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास तथा रोजगारीका योजनाहरू सञ्चालन हुनुपर्ने उनीहरूको माग रहेको छ । हेर्नुस ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले संयुक्त जारी गरेको विज्ञप्ति 

झारफुकका नाममा यातना दिने माता थुनामा

भैरहवा । झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी माता (सोनिया रेश्मी)लाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा डेढ महिनाअघि माता भनिने सोनिया रेश्मीले बालिकालाई रोग निको पार्ने भन्दै झारफुकका नाममा यातना दिदा वडा नम्बर १० फुलबारी टोल निबासी १४ वर्षीया सीता ज्ञवालीको मृत्यु भएको थियो । जिल्ला अदालतले उक्त घटनामा संलग्न माता सोनियालाई थुनामा राख्न आदेश दिएको हो । सैनामैना नगरपालिका वडा नम्बर १० फुलबारी टोल निबासी १४ वर्षीया सीता ज्ञवालीको यातनाका क्रममा मृत्यु भएको थियो । घटना लगत्तै प्रहरीले मातासहित १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार जिल्ला अदालतले अरु १७ जनालाई भने धरौटी र साधारण तारेखमा छोड्न आदेश दिएको छ । प्रहरीले उक्त घटनामा प्रत्यक्ष संलग्न रहेकी माता भनिने सोनियासहित बाबु तारा ज्ञवाली र आमा लिला छिमेकी तथा आफन्त गरी १८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।  

कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत । कर्णालीका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका हुन् । यस्तै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् । उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् । २८ पुसका नेकपा एमाले–माओवादीबीचको सहमति अनुसार सो मन्त्रालयलाई भौतिक पूर्वाधारमा गाभ्ने निर्णय गरेको थियो । तर, मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ८ वटै मन्त्रालय कायम गर्ने निर्णय गरेसँगै राज्यमन्त्री रहेकी विश्वकर्मा जलस्रोत तथा उर्जा मन्त्री बनेकी हुन् । बुधबार हुने भनिएको शपथ रोकिएको थियो। कांग्रेसको केन्द्रीय नेतृत्वको दबाबमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए। आज बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति जुटेको थियो।