नेपाल र भारतको प्रस्तावमा डिसेम्बर २१ मा अब विश्व ध्यान दिन दिवस
न्यूयोर्क । डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा घोषणा गर्न अनुरोध गरिएको प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले पारित गरेको छ । यो प्रस्तावलाई नेपाल र भारतसहितका राष्ट्रहरूद्वारा सहप्रायोजित गरिएको थियो ।
योसँगै अब डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाइने भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार १९३ सदस्यीय संयुक्त राष्ट्र संघको महासभामा ‘विश्व ध्यान दिवस’ शीर्षकको प्रस्ताव शुक्रबार सर्वसम्मतिले पारित गराउन महत्त्वपूर्ण भूमिका खेल्नेमा भारत, श्रीलंका, नेपाल, मेक्सिको, लिकटेन्स्टाइन र एन्डोरा कोर समूहका प्रमुख सदस्य थिए।
संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि पार्वतानेनी हरीशले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखे, ‘भारतले कोर समूहका अन्य देशहरूसँग मिलेर संयुक्त राष्ट्र महासभामा २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा घोषित गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गर्ने प्रक्रियालाई मार्गदर्शन गरेकोमा खुसी छु ।’
जाजरकोटमा जिप दुर्घटना, दुईको मृत्यु
जाजरकोट । गएराति जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति करिब आठ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँमा बोलेरो जिप दुर्घटनमा परेको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटकाअनुसार भेरी नगरपालिकाको कार्की गाउँबाट सोही नगरपालिकाको कुदुका लागि छुटेको कर्णाली प्रदेश ३०१०२३च ४७१९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले दुर्घटनामा जिपचालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको जानकारी दिए।
चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप, आठ प्रहरीसहित २४ जना घाइते
चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उनले बताए । घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 'प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुङ्गा हान्दा प्रहरी घाइते भएका हुन्', प्रहरी उपरीक्षक मिश्रले भने । जिल्ला प्रहरी कार्यालय अगाडि सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उनले जानकारी दिए । प्रदर्शनकारीतर्फ १६ जना घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिए । घाइतेको भरतपुर सामुदायिक अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको उनले बताए । साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले लामिछानेलाई बयानका लागि मङ्गलबार काठमाडौंबाट चितवन ल्याएको हो । साहारा सहकारीबाट १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उनलाई बयानका लागि चितवन ल्याइएको हो ।
अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । गणतन्त्र सेनानी कोषले उहाँलाई सो सम्मान गरेको हो। देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचनहुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ। कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरुलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो। कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दकिशोर पुन पासाङ, वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र चक्रपाणि खनाल बलदेवलाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ। कोषले बागमतीका १३ जिल्लाबाट एक एक जना र सास्कृतिकर्मीलाई पनि सम्मान गरेको छ। बागमतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशब्यापी बनाउदै लैजाने कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिनुभयो।
नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश
काठमाडौं मंसिर । नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज शर्मा ढोडारी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उहाँलाई खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो। शर्मालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन एकता र ध्रुवीकरणको प्रक्रियामा अघि बढेकाले विभिन्न घटकहरुसँग एकता प्रक्रिया सुरु भएको बताउनुभयो । व्यक्तिगतरुपमा ध्रुवीकृत हुने क्रम पनि बढेको भन्दै उहाँले यसले आगामी यात्रालाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रवेश गर्नुभएका शर्माले माओवादी स्कुलिङबाट विभिन्न ठाँउमा छरिएकाहरु सबैलाई समेटेर विशाल पार्टी बनाउने अभियानमा सहयोग पुर्याउन आफू माओवादी केन्द्रमा गोलबद्ध भएको बताउनुभयो । दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय शर्मा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रशिक्षण समितिको सदस्य भएर काम गरिसक्नुभएको छ । प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलगायतको उपस्थिति थियो ।
सुदूरपश्चिमसँग विराटनगरको फराकिलो हार
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी शुरूवात गरेको छ । विराटनरको यो लगातार दोस्रो हार हो । जवाफमा १८३ को विशाल विजय लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ९२ रनमै समेटियो ।
टस जितेपछि कर्णाली याक्सले ब्याटिङ गर्ने, फिल्डिङमा जनकपुर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले ब्याटिङ रोजेको छ। यसअघि आजै भएको खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको गियो।
घट्यो सुनचाँदीको मूल्य कतिमा भैरहेको छ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको हो ।
बाघको आक्रमणबाट वडाध्यक्ष घाइते
काठमाडौं । काठमाडौं– आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले बाघको आक्रमण बाट गम्भीर घाइते भएका रौतहटको उत्तरिभेग गुजरा नगरपालिका १ का वडा अध्यक्षलाई भेटेका छन्। बाघको आक्रमणमा परी गम्भीर घाइते वडा अध्यक्ष रामजीत चौधरी उपचाररत रहेको बिरगंज स्थित बयोधा अस्पतालमा गएर अध्यक्ष साहले आइतबार भेटेका हुन् । भेटको क्रममा अध्यक्ष प्रभु साहले घाइते वडा अध्यक्ष चौधरीको स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । शनिबार बिहान बाघको आक्रमणमा परी घाइते भएका वडा अध्यक्ष रामजीत चौधरीको बिरगंज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थामा रहेका उनलाई लाई आइसियुमा राखेर उपचार भइरहेको वडा अध्यक्ष चौधरीकी छोरी मधु कुमारी चौधरीले बताएकी छिन्। शनिबार बिहान अस्पतालमा भर्ना भएदेखि नै अचेत रहेका वडा अध्यक्ष चौधरी आज होसमा आएका हुन्। उनको अनुहार, दुइटै हातमा गहिरो खत लागेको छ। गुजरा १ रंगपुर गाउँछेउ को लमहा खोलाबाट बौराई चौधरी शनिवार खेतमा पानी पठाइरहेका थिए। सोही क्रममा वडा अध्यक्ष चौधरी अनुगमनमा गएको समय अचानक आएको बाघ एक्कासि बौराई चौधरी माथि आक्रमण गरेका थिए। मितको साइनो पर्ने बौराई चौधरीलाई बचाउन खोज्दा वडा अध्यक्ष रामजीत चौधरी माथि बाघले आक्रमण गरेको उनकी छोरी मधुले जानकारी दिएकी छिन्। इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले अर्का घाइते बौराई चौधरीको रक्सौल स्थित डंकन अस्पतालमा उपचार भइरहेको तथा घटना बारे अनुसन्धान भइरहेको बताएका छन्।
नेपालमा नयाँ चरा भेटियो– गेरुमुहार चाँचर
काठमाडौं । नेपालमा नयाँ चरा गेरुमुहार चाचर फेला परेको छ । उक्त चरा माथिल्लो मुस्ताङको ३ हजार १ सय मिटर उचाइमा चराविद् शंकर तिवारीले फेला पारेका हुन् । पदयात्रा गर्दै चरा अवलोकनका क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रको चेले गाउँमा रहेको स्याउ बगैंचामा उनले चरा देखेर तस्बिर खिचेका थिए । तिवारीले उक्त चराको तस्बिर गत वैशाख १८ गते बिहान ६ बजेर ३९ मिनेटमा खिचेको थिए । नेपालमा नयाँ चराको अभिलेख राख्ने नेपाल बर्ड रेकर्ड कमिटीलाई नेपालमा नयाँ चरा अभिलेख भएको भनेर कात्तिक २५ गते भौगोलिक अवस्था र तस्बिरसहित विस्तृत जानकारी उनले दिएका थिए । समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र राष्ट्रिय अन्तर्राष्ट्रिय चरा विशेषज्ञसँग सुझाव लिई अध्ययन गरेर नेपालका लागि नयाँ चरा भएको निष्कर्षमा फुगेको समिति अध्यक्ष डा. तुल्सी सुवेदीले बताए । समितिले अंग्रेजीमा (नौम्यान्स थ्रस) नाम रहेको चराको नेपाली नाम गेरुमुहार चाँचर दिएको हो । मुहार र तल्लो भाग गेरुरंगको हुँदा यो चराको नाम गेरुमुहार चाँचर दिइएको हो । योसँगै नेपालमा पाइने चाँचर प्रजातिका चराको संख्या २० पुगेको छ । ‘सुरुमा उक्त चरा नेपालमा पाइने चटक चाँचर जस्तै लाग्यो,’ तिवारीले भने, ‘गहिरिएर अध्ययन गर्दा फरक जस्तो देखेर विज्ञलाई पठाए ।’ उक्त तस्बिर गएको वैशाखमा खिचे पनि नयाँ चराको निर्क्योल गर्न कात्तिकमा मात्र जिज्ञलाई आग्रह गरेको बताए ।
रोल्पामा झोलुङ्गे पुलको पर्खाल भत्किँदा एकै गाउँका पाँच जना मजदुरको मृत्यु
रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जना मजदुरको मृत्यु भएको छ । आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाममा पर्खाल भत्किएर पुरिँदा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देबीराम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचै जना मृतक एउटै गाउँ बाहिरी गामका बासिन्दा रहेका छन् ।
विराटनगर भर्सेस जनकपुर : विराटनगर १२७ रनमा अल आउट
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्स् जनकपुर बोल्ट्ससँग १२७ रनमा अल आउट भएको छ । ओपनर ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाएपछि विराटनगर किंग्स्ले जनकपुर बोल्ट्सविरुद्ध १२८ रनको लक्ष्य प्रस्तुत गरेको हो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रनको योगफल खडा गर्न सफल भएको हो।
एनपिएलको पुरस्कार राशि दुई करोड ११ लाख रुपैयाँ
काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशि दुई करोड ११ लाख रुपैयाँ हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले जनकपुर बोल्ड्स र विराटनगर किङ्सबीचको उद्घाटन खेलअघि उक्त जानकारी दिएको हो। क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पाउने छ। यो कुनै पनि राष्ट्रिय प्रतियोगिताकै सर्वाधिक पुरस्कार राशि हो। यसअघि २०७१/०७२ को राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कीर्तिमानी पुरस्कार एक करोड दिएको थियो। उक्त कीर्तिमान एनपिएलले तोडेको हो। यस्तै, एनपिएलमा दोस्रो हुने टोलीले ५० लाख रुपैयाँ पाउने भएका छन्। तेस्रोलाई ३० लाख र चौथो हुनेलाई २० लाख रुपैयाँ दिने क्यानले जनाएको छ। यसरी क्यानले समग्रमा एनपिलको पुरस्कार राशिमा क्यानले दुई करोड ११ लाख रुपैयाँ खर्च गर्ने भएको हो।
आज बाला चतुर्दशी पर्व, देशभरका शिवालयमा शतबीज छर्नेको घुइँचो
काठमाडौं । आज बाला चतुर्दशी पशुपतिनाथसहित मुलुक भरका शिवालयमा शतबीज छर्नेको घुइँचो लागेको छ। विशेषगरी पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको हो। शतबीज छर्नुअघि हिजो साँझ उनीहरुले पितृको सम्झनामा दीप तथा महादीप बालेर रातभर जाग्राम बसेका थिए। रातभर जाग्राम बस्ने र भोलिपल्ट ब्रम्हामुर्हतमा बागमतीमा बत्ती बगाउने परम्परा छ। यसपछि स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने गरिन्छ। शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल समावेश गरिएको हुन्छ। मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त हुने धार्मिक मान्यता छ।पशुपतिनाथमा आउन नसक्नेहरुले नजिकैका शिवालयमा बत्ती बालेर त्यहीँ शतबीज छर्ने गरेका छन्। पञ्चांगका अनुसार शनिबार बिहान १० बजेर १ मिनेटसम्म मात्र चतुर्दशी तिथि छ। त्यसपछि औँसी तिथि लाग्छ।
रुकुमपूर्वमा महिलाले बाटोमै जन्माइन् बच्चा
रुकुमपूर्व । रूकुम पूर्वकाे सिस्ने गाउँपालिका १ कि एक महिला बाटाेमै सुत्केरी भएकी छिन । सुत्केरी ब्यथाले च्यापेपछि पैदल हिडेर सिस्ने स्वास्थ्य चाैकी आउँदै गर्दा सिस्ने १ लाम्माखाकी २४ वर्षिया माया बुढाले बिच बाटाेमै पाखापानी भन्ने ठाउँमा छाेरीलाई जन्म दिएकाे वडा सचिव चन्द्रदेव खड्काले जानकारी दिनुभयाे । उहाँकाे याे दाेस्राे सन्तान हाे । सिस्ने स्वास्थ्य चाैकीबाट गएका स्वास्थ्यकर्मीले बाटाेमै सुत्केरी बनाएका हुन । बाटाेमै सुत्केरी व्यथाले च्यापेकाे खबर पाएपछि सिस्ने स्वास्थ्य चाैकीका इन्चार्ज काशीराम ओली स्ट्रेचर लिएर जानुभएकाे थियाे । बाटाेमै सुत्केरी भएपश्चात् स्वास्थ्यकर्मी सहितकाे टाेलीले आमा र शिशुलाई बाेकेर स्वास्थ्य चाैकी पुर्याएकाे सचिव खड्काले बताउनुभयाे । उहाँका अनुसार आमा र शिशुकाे अवस्था सामान्य रहेकाे छ । २४ घण्टाकाे निगरानी पश्चात् आमा र शिशुलाई डिस्चार्ज गरिएकाे उहाँले बताउनुभयाे । सिस्ने गाउँपालिका वडा नम्बर १ सडक सञ्जालमा जाेडिन सकेकाे छैन । एउटा मात्र स्वास्थ्य संस्था रहेकाे यस वडामा स्वास्थ्य संस्था पुग्न घण्टाैं पैदल हिड्नुपर्ने बाध्यता रहेकाे छ । जिल्ला अस्पताल रूकुमकाेट पुग्न १ देखि २ दिनसम्म पनि पैदल हिड्नुपर्ने बाध्यता छ ।
एमालेका पूर्वमन्त्रीलाई मुद्दा एमालेका पूर्वमन्त्रीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च रिट दायर
काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि फेरि अनुसन्धान गरी मुद्दा दायर गर्न निर्देशन दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । उनलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने उनको माग छ । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि १० मंसिरमा हिरासतमुक्त गरिएको थियो । मन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।

