भेरी नदीमा निर्माण भैरहेको बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु

सुर्खेत । भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ ।

भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा दुई जना श्रमिकको मृत्यु भएको छ भने ८ जना घाइते भएको सुर्खेत प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज भट्टराईका अनुसार गम्भिर घाइते ३ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि ल्याउने तयारी भइरहेको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पुलमा हिँडिरहेका तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् । बेपत्ताहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयको एक्सन : दशवटा निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले दशवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षसम्म काम गर्न नपाउने गरी कालोसूचीमा राखिएको कम्पनीले जनाएको छ । “कालो सूचीमा राखिएका निर्माण व्यवसायी आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन सक्ने छैनन्,” सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

आज सूर्यग्रहण लाग्दै, नेपालबाट देखिँदैन आजको सूर्यग्रहण

काठमाडौं । आज सूर्यग्रहण लाग्दैछ। तर यो ग्रहण नेपालमा भने देखिने छैन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो सूर्यग्रहण नेपालबाट नदेखिने र यसको दोष नलाग्ने जनाएको छ । जसकारण नेपालमा कुनै पनि प्रकारका दोष नलाग्ने र बार्नु पनि पर्दैन। ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिए पनि स्थानीय समयअनुसार फरक फरक समयमा लाग्नेछ । आज बिहान सूर्योदयसँगै पूर्वी एसियाली देश इण्डोनेसिया, मलेसिया, अष्ट्रेलिया, मकाउ, ताइवानलगायत पूर्वी चीनबाट पनि ग्रहणको प्रत्यक्ष अवलोकन गर्न मिल्नेछ। आज लाग्ने ग्रहण युरोप, अमेरिकालगाएतका अन्य कुनै पनि देशहरुबाट देखिने छैन। शास्त्रीय नियमअनुसार नदेखिएको ग्रहणबाट कुनै पनि प्रकारका दोष नलाग्ने हुँदा बार्नुन पनि पर्दैन। समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भनेका छन्, ‘वैशाख कृष्ण औंसीका दिन (वैशाख ७ गते) लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’ आज लाग्ने सूर्यग्रहण चीन, मङ्गोलिया लगायत देशबाट देखिने बताइएको छ। नेपालमा यो वर्ष कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने देखिनेछ।

स्याङ्जामा आगो निभाउने क्रममा जलेर पुरुषको मृत्यु

स्याङ्जा। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा लागेको आगो निभाउने क्रममा जलेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ३ लसर्घा, देउराली निवासी ३७ वर्षीय इन्द्र थापा रहेका छन् । चैत २९ गते जंगलमा लागेको आगो निभाउने क्रममा आगोमा जलेर थापा गम्भीर घाइते भएका थिए । आगोमा जलेर गम्भीर घाइते भएका थापाको कान्तिपुर बर्न हस्पिटल काठमाडौँमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको समाजसेवी सन्तु कुमार गिरीले जानकारी दिए । जंगलमा लागेको आगो बस्तीमा पस्ने डरले निभाउन क्रममा उनी जलेर गम्भीर घाइते भएका थिए । मृतक थापाको श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर तीन युवक वेपत्ता, एक जनाको शव फेला

इनरुवा । सप्तकोशी नदीमा आज नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन युवक बेपत्ता भएको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता भएकामध्ये झापा दमक २ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भङ्गालोमा फेला परेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । बेपत्ता भएका दमक ९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी ७ का १८ वर्षीय राज गुरागाइँको खोजी भइरहेको ढकालले बताए । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गोताखोर टोलीसहित स्थानीयले बेपत्ता दुवै जनाको खोजी गरिरहेको प्रहरी उपरीक्षक ढकालले बताए ।

परिवर्तनमा योगदान गर्नेलाई अपराधी भनिए कोही बच्दैन : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकको परिवर्तनका लागि योगदान गर्नेहरुलाई अपराधीकरण गर्न खोजिए दूर्दशा निम्तने चेतावनी दिए । जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व विषयक अन्तक्र्रिया कार्यक्रममा उनले परिवर्तनका अगुवालाई अपराधी घोषित गर्न खोजिए नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका कोही नेता नबच्ने बताएका हुन् । उनले एकतावद्ध भएर संकटलाई निकास दिन आफ्नो पार्टी तयार रहेको जिकिर गरे । अहिलेको राज्य प्रणालीले जनचाहनाको प्रतिनिधित्व गर्न नसकेकोप्रति सिंगो समाज प्रष्ट रहेको उनले बताए । फरक प्रसंगमा उनले मुलुकमा राजनीतिक स्थिर हुन नसकेका कारण अनेक समस्या उत्पन्न भएको बताए । विप्लवले कुनै एक सरकारले पूर्णकालीन काम गर्न नपाउने गरी मुलुकमा राजनीतिक अस्थिरता देखिएको र यसको असर मुलुकको आर्थिकलगायत विभिन्न क्षेत्रमा देखिएको बताए । अहिले पनि पछिल्लो निर्वाचनपछि सरकारले पूर्ण आकार पाउन नपाउँदै सरकार परिवर्तनको खेल सुरु भइसकेको उनले बताए । पछिल्लो १५ वर्ष मुलुकको नेतृत्वमा बसेकाहरुले देशलाई अघि बढाउन नसकेको आरोप उनले लगाए । मुलुकको राज्यप्रणाली संकटग्रस्त भए उद्धारका नाममा आउने विदेशी शक्तिहरुले सम्पूर्ण देश नै कब्जा गर्ने खतरा रहेको उनको भनाइ छ ।

तनहुँमा देउवाले भने- ‘भट्टराईलाई चुनाव जिताउनुहोस्,मन्त्री बनाउँछौं’

काठमाडौं । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पनि पृथ्वीनारायण शाहको जत्तिकै भएको बताएका छन् । बुधबार तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै उनले देश निर्माणमा तनहुँको योगदान उच्च रहेको बताए । तनहुँ आदिकवि आचार्यको जन्मभूमि हो । देउवाले तनहुँ अब राष्ट्रपतिको भूमि पनि भएको बताए । ‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन,’ देउवाले भने, ‘तनहुँले अब राष्ट्रपति पनि पाइसकेको छ । यो राष्ट्रपतिको समेत भूमि हो ।’ उनले जिताएर पठाए गोविन्द भट्टराईलाई जिते मन्त्री बनाउने पनि बताए । देउवाले तनहुँमा प्राविधिक विश्वविद्यालय र अस्पताल बनाउने जिम्मा आफ्नो भएको पनि बताए । ‘गोविन्द योग्य उम्मेदवार हुनुहुन्छ । उहाँ मन्त्री हुन योग्य हुनुहुन्छ,’ देउवाले भने । भट्टराई तनुहँ–१ बाट गठबन्धनका साझा उमेदवार हुन् ।

गोविन्द भट्टराईलाई भोट माग्न प्रचण्ड, देउवा, नेपाल र भट्टराई तनहुँमा

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न शीर्ष नेता पुगेका छन्। भट्टराईको पक्षमा चुनावी माहोल बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतका एकै दिन तनहुँ पुगेका हुन्। नेताहरुले चुनावी सभालाई सम्बोधन गर्दै तनहुँको विकास र समृद्धिका लागि गोविन्द भट्टराईलाई नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठक : अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक बहुमतले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही वैशाख १२ गते दिनको १ बजेसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेश्रो संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । सो विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम ७२ घण्टाभित्र विधेयक शाखामा संशोधनको सूचना दर्ता गर्न सकिनेछ ।

बस र मोटरसाइकल जुध्दा एकै परिवारका तीन जनाको निधन

महोत्तरी । महोत्तरीमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । यात्रुबाहक बस र मोटरसाइकल आज एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको ज्यान गएको हो । बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश०१ ००४ ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको मृत्यु भएको प्रहरीले जनाएको छ । गौशाला नगरपालिका(२ बस्ने अमित कुमार मण्डल, सिरहा कल्याणपुर विवाह गरेर गएकी अमितकी बहिनी अन्जु मण्डल र उन्की ४ बर्षिय छोरी अन्सु मण्डलको उपचारको क्रममा मृत्यु भएको हो । अमित र अन्शुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा र अन्जुको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डल आज रुस प्रस्थान गरेको छ। रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनासहितको टोली औपचारिक भ्रमणका क्रममा रुस प्रस्थान गरेको हो। टोलीमा राष्ट्रियसभाका सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी रावल थापा ‘पार्वती’, महेशकुमार महरा र शेखरकुमार सिंह तथा संघीय संसद् सचिवालयका सहसचिव सीता काफ्ले वाग्ले र स्वकीय सचिव उदय तिमिल्सिना रहेका छन्। भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले रुसी माथिल्लो सदनका अध्यक्ष मत्भिएन्को र स्टेट डुमाका अध्यक्ष भ्याचेस्लाभ भलोदिनसँग द्विपक्षीय वार्ता गर्नेछन्। यसबाहेक रुसी सरकारका पदाधिकारी, प्रान्तीय सभाका अध्यक्ष र प्रान्तीय सरकारका पदाधिकारीसँग पनि भेटघाट र संवाद गर्नुहुने राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए। नेपाली प्रतिनिधिमण्डल यही वैशाख १२ गते स्वदेश फर्कने छ।

नेपालको गतिलो आम्दानीको स्रोत उर्जा नै हो अर्थमन्त्री डा.महत

काठमाडौं । उर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । उर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा। महतले उर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरेका हुन् । सम्मेलन हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । सम्मेलनमा डा. महतले भने, ‘९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युत उत्पादन हुन्थ्यो । जब निजी क्षेत्र विद्युत उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रशारणमा विद्युत थपियो । जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो । ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ ।’ ‘ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएका हुन् । निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र बनेको छैन, विदेशमा विद्युत निर्यात गर्न थालेको छ । यो हाम्रा लागि खुशीको खबर हो । यसले ऊर्जामा लगानीकर्तालाई आकर्षित समेत गरेको मन्त्री डा. महतको भनाइ थियो । मन्त्री डा। महतले भने, ‘नेपालमा उर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दछु । लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ । सरकारले लगानीको प्राथमिकतामा उर्जालाई लिएको हुनाले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न सरकार तयार छ । लगानीकर्तालाई इन्सेन्टिभ दिन तयार छौं । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले उर्जामा राम्रो भएको छ । नेपालको गतिलो आम्दानीको स्रोत उर्जा नै हो ।’ उनले भने, ‘सरकारले विद्युत भारत निर्यात गर्ने संयन्त्र बनाउने छ । विद्युतका लागि बंगलादेश अर्को ठूलो बजार हो । बंगलादेशसँग विद्युत व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने छ । विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरु समेत नेपालका उर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन् । विद्युत उत्पादनमा लगानी गर्न इच्छुक अन्य धेरै कम्पनीहरु पाइपलाइनमा रहेको डा। महतले बताए । उनीहरु मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु ।’ विद्युतीय खपतमा पनि हामी त्यत्तिकै हुन जरुरी रहेको मन्त्री डा। महतले बताए । यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ । घरयासी प्रयोजनलगायत अन्य क्षेत्रबाट विद्युत खपत बढाउन सकिने डा.महतको भनाइ थियो ।

राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार सुरु भएको छ । उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्‍याइएर उपचार सुरु गरिएको छ । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरू र चिकित्सकहरूले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा.निरज बम, परिवारका सदस्य र सातजना चिकित्सकको टोली छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार सात घण्टासम्म उडान-अवतरण बन्द

काठमााडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार सात घण्टासम्म उडान- अवतरण सेवा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले एक सूचना प्रकाशित गरी  बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान सेवा बन्द रहने जानकारी दिएको हो । विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको हो । त्यससमय आन्तरिक-अन्तर्राष्ट्रिय वायुसेवा उडान र अवतरण बन्द रहने र सो समयमा यात्रा गर्ने यात्रुहरुले सम्बन्धीत एयरलाइन्ससंग सम्पर्क गरी आवश्यक अनुसारको व्यवस्था मिलाउने समेत भनिएको छ ।

क्रिकेटर लामिछानेको मुद्दाको पेसी न्यायाधीश दाहालको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको रिटको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको एकल इजलासमा तोकिएको छ । इजलासको पहिलो नम्बरमै पेसी तोकिएको छ । नाबालिग बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध मुद्दा चलाइएको छ । गत २६ चैतमा न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको थियो। यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । सो आदेशपछि सन्दीप थुनामुक्त भएका छन् । उनी थुना बाहिर रहेर कानुनी संघर्ष गरिरहेका छन् ।

मेयर शाहविरुद्ध दायर रिट सुष्मालता माथेमाको इजलासमा

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्ध दायर रिटको सुनुवाइका लागि इजलास तोकिएको छ। मेयर शाहविरुद्ध दायर रिट निवेदन आज न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सो मुद्दा परेपनि हेर्न नभ्याइने भएको थियो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो । अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।