रास्वपाको केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी छ। सरकारलाई दिएको समर्थनका विषयमा निर्णय गर्न रास्वपाको बैठक पार्टी कार्यालय बसुन्धरामा बसिरहेको हो।

बैठकमा उपचुनावमा पार्टीले प्राप्त गरेको जनमत, सरकारलाई दिएको समर्थन तथा सरकारमा सहभागिता र आगामी कार्यदिशाबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्। बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने अथवा सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

प्रतिनिधि सभाको निर्वाचनमा २० वटा सिट जितेको रास्वपाले वैशाख १० गते भएको उपनिर्वाचनबाट थप १ सिट जितेको छ। चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने पुनः निर्वाचित भएका छन् भने तनहुँ १ बाट स्वर्णिम वाग्ले विजयी भएका छन्। प्रतिनिधि सभाका रास्वपाका सांसदको संख्या २१ पुगेको छ।

केन्द्रीय समितिको बैठकपछि आजै दिउँसो ३ बजे रास्वपाको संसदीय दलको बैठक पनि बस्ने छ।

प्रेमि डाक्टरले विवाह गर्न नमानेपछी नर्स अनुमाले आत्महत्या गरेको खुलासा

काठमाडौं । विवाह गर्न नमानेको भन्दै प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेकी छिन्। नर्स समेत रहेकी प्रेमिका अनुमा श्रेष्ठले आत्महत्या गरेकी हुन्। प्रेमी सुजन ढकालले आफूसँग विवाह गर्न नमानको भन्दै प्रेमिका श्रेष्ठले शनिबार काठमाडौं बोहराटारस्थित सुजनको घरमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ। मृतक अनुमा स्टाफ नर्स हुन् भने प्रेमी भनिएका ढकाल डाक्टर रहेका पाइएको छ। अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा कार्यरत रहेका पाइएको छ। लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेको भन्ने खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन्। ‘शव भेटिएपछि हामीले अनुसन्धान अघि बढाएका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले भने। प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ।

रैथाने ज्ञान र सीपको महत्व बढेको छ : मन्त्री किराती

काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री माननीय सुदन किराँतीले रैथाने ज्ञान र सीपको महत्व अहिलेको समयमा झनै बढेको बताएका छन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४ औं प्राज्ञ सभाको शनिबार उद्घाटन गर्दै उनले मान्छेबाट मान्छेमा सर्ने उक्त ज्ञानलाई संरक्षण गर्दै प्राज्ञिक क्षेत्रमा समेत अघि बढ्ने उद्देश्य राखेर नै सरकारले रैथाने विश्वविद्यालयको अवधारणा अघि ल्याएको बताए। उनले भने, ‘समाजमा रहेको मूल्य मान्यताको संरक्षण गर्न रैथाने विश्वविद्यालयको कुरा गरेको हो ।’ उनले मोतिराम भट्ट, लक्ष्मी प्रसाद देवकोटा, नेल्सन मण्डेलाको उदाहरण दिँदै एक बारको जीवनमा सबैले सम्झिने गरी काम गनुपर्ने कुरामा जोड दिए । उनले थपे, ‘सबैले राम्रो काम गरौं । हामी अजम्बरी छैनौं । मान्छे कामले बाँच्ने हो ।’ कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री सुशिला सिर्पालीले प्रतिष्ठानले नीति निर्माण गर्दा २२ सालको भन्दा ८० सालको कुराले निर्धारण गर्न आवश्यक भएको धारणा राखिन । उनले सबैजना नयाँ युग सुहाउँदो र संविधानले मागेको कुरासँग जोडिनुपर्ने बताइन् । राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयाँलले भाषा, साहित्य, संगीत, ललितकलाको क्षेत्रमा प्रदेशसँग जोडिएर बहुभाषिक संग्रहालय, अनुसन्धान, अभिलेख, जीवित संग्रहालयको विषयमा काम गर्न जरुरी भएको बताए । उनले यस विषयमा समाजलाई सही ढंगको सूचना सम्प्रेषण गर्न कक्षा सञ्चालन गर्न आवश्यक रहेको उनको भनाई छ । प्रतिष्ठानले ठोस रुपमा योगदान पुग्न सक्नेगरी काम गरिरहँदा अन्तबाट रकमान्तर गरेर पनि काम अघि बढाउन सकिने धारणा उनको छ ।   कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले अग्रज कलाकारहरुले, बौद्धिक वर्गले, प्राज्ञ सभाले आफ्नो भूगोल, माटो सुहाउँदो आफ्नो हुटहुटी लिएर आएको बताउँदै प्राज्ञ सभा एउटा निश्कर्षमा पुग्ने धारणा राखे । समारोहमा मूर्तिकार नरेन्द्र प्रसाद भण्डारीद्वारा लिखित पुस्तक ‘समसामयिक नेपाली मूर्तिकला र मूर्तिकार’को समेत सार्वजनिक गरियो । पुस्तक सार्वजनिक भएपश्चात कार्यक्रममा बोल्दै भण्डारीले भने, ‘मेरो पुस्तकले अनुसन्धानको क्रममा धेरै मूर्तिकारहरुलाई समेटेको छ । तपाईहरुले सल्लाह, सुझाव दिनुहोला । नेपाली कलाको विकासका लागि हामीलाई जुन जिम्मेवारी दिइएको छ । त्यसमा हामीले मूलतः नीति निर्माणमा हस्ताक्षर मात्र गर्ने छैनौं । नयाँ ढंगले सहयोग पनि गर्नेछौं ।’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले तीनवटै एकेडेमी एउटै विधामा पर्ने धारणा राखिन । उनले भनिन, ‘रंग हामीलाई चाहिन्छ । हामीले पनि बुझ्नुपर्छ । डान्स, नाटकमा प्रयोग हुन्छ । सेट गर्दा मिक्स हुन्छ । लाइटलाई प्रयोग गर्दा जरुरी हुन्छ ।’ आफूलाई पनि आगामी दिनमा सल्लाह र सुझाव दिन आग्रह गर्दै उनले सबै एकेडेमी मिलेर काम गर्नुपर्ने आवश्यकता पनि औंल्याए । बाग्मती प्रदेशका सांसद सरल सहयात्रीले यस सभाले आगामी दिनको लागि महत्वपूर्ण आधारशिला खडा गरोस् भन्ने कामना गरे । उनले अब दिनमा प्रतिष्ठानले परम्परागत प्रतिष्ठान धान्ने रुपमा मात्र काम गर्ने नभइ गहिराइमा पुगेर दीर्घकालिन रुपमा प्रभाव पार्ने गरी काम गर्नुपर्ने धारणा राखे । भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले नेपालका रैथाने र परम्परागत कला तथा ज्ञानको संरक्षणमा ध्यान दिँदै त्यसलाई सुक्ष्म र बृहत दुवै तवरले खोज, अनुसन्धानमा समेत ध्यान दिनुपर्ने धारणा राखे । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाको क्षेत्रमा अहिले चुनौतिसँगै नयाँ अवसर समेत रहेको बताए । उनले नीतिगत तथा संरचनागत तहमा प्रतिष्ठानले यस कार्यकालमा धेरै काम गर्न उद्देश्य राखेर अघि बढेको बताउँदै त्यसको नतिजा पनि केही समय पछि देखिने धारणा राखे । समारोहमा विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुको महत्वपूर्ण सहभागिता रहेको थियो ।

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व मजदुर दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । विश्व मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले श्रम अधिकार सुनिश्चितताको कामना गर्दै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ । मूलकमा लोकतन्त्रात्मक, समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने उनको शुभकामना सन्देशमा उल्लेख छ । मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नु मुख्य हुने उनको भनाई छ ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना कम्बोडिया प्रस्थान

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि आइतबार राति कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्धिष्ट फाउन्डेसनको पेट्रोन अफ द वल्र्ड बुद्धिष्ट अनोररी डक्ट्रेट इन ह्युमानिटीको मानार्थ पदावधि प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ। अध्यक्ष तिमिल्सिनाको भ्रमण दलमा बागमती प्रदेशसभाका सदस्य अमन मास्के र सङ्घीय संसद् सचिवालयका उपसचिव नुमराज खनाल रहेको उनको सचिवालयले जनाएको छ ।

रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । उपनिर्वाचनबाट सभापति रवि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको बैठक बस्न लागेको हो । रास्वपाअनुसार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ । साथै आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्नेछ । यसअघि संसदीय दलको नेता रहेका उनी नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलाले सभापति र सांसद पद गुमेसँगै पदमुक्त भएका थिए । त्यस पछि रास्वपाले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई संसदीय दलको नेता चयन गरेको थियो । लामिछाने पुनः विजयी भएर आए पछि अर्यालले शनिवार नै राजीनामा दिइसकेका छन् ।

एयरपोर्टमा उत्रीए लगत्तै चन्द्र भण्डारीले भने– आगलागी सुरक्षा पाठ्यक्रममै समेट्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आगलागी सुरक्षाको विषयमा पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएका छन् । भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा उपचार गराएर आइतबार साँझ स्वदेश फर्किएका भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरूसँग गाउँगाउँमा विद्युत तथा ग्यास पुगे पनि त्यसअनुसार पाठ्यक्रम परिमार्जन गर्न नसकेको बताए । ‘हामीले जसरी प्रविधिको विकास भयो, गाउँगाउँमा विद्युत पुग्यो, गाउँगाउँमा ग्यास पुग्यो, त्यो अनुसार हामीले पाठ्यक्रममा कसरी सिकाउने भनेर राख्दै राखेनौँ । त्यसको सिकार म त भइसकेँ पनि अरूलाई कस्तो भएको होला । यस्ता विषयमा जनरल नलेज हामीले दिनुपर्दो रहेछ । हामी ठूला कुरा गर्ने, साना कुरा गर्दै नगर्ने, मसिना कुरा हेर्दै नहेर्ने गर्नाले आज प्रत्येक ठाउँमा यस्तो दुर्घटना भइरहेको छ,’ उनले भने । नेता भण्डारीले आफू थप उपचारका लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुसी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताए । स्वास्थ्यमा सुधार हुँदै गएपछि उनी स्वदेशमै बसेर उपचार गर्ने गरी स्वदेश फर्किएका हुन् । उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए । सोही घटनामा घाइते भएकी नेता भण्डारीकी आमाको उपचारको क्रममा निधन भएको थियो ।

तनहुँ उपनिर्वाचन अपडेट : डा स्वर्णिम वाग्लेको अग्रता कायमै

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकोमा आज बिहान ८ बजेसम्मको नतिजाअनुसार डा वाग्लेले अग्रता कायमै राखेका हुन्। हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले ७ हजार दुई सय ९३ प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले तीन हजार दुई सय ३४ र नेकपा एमालेका सर्वेन्द्र खनालले दुई हजार एक सय ३४ मत प्राप्त गरेका छन् । आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, भानु–१०, भानु–८, भानु–३, भानु–७ र भानु–४ को १३ हजार ६५ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ ।

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिदैँ, सरकार ढल्ने निश्चित

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्र लगायतका दलले गत चैत १२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेका हुन् । सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चित जस्तै छ । सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएपछि सरकार बनेको ७४ दिनमै अल्पमतमा परेको थियो । लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । ८७ सांसद मध्य लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । मुख्यमन्त्रीको पक्षमा ३३ मत मात्रै देखिन्छ । जसले गर्दा संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकार ढल्ने निश्चित छ । त्यसपछी संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा सरकार बनाउने दाउमा एमाले छ । तर, अन्य राजनीतिक दलहरुले भने संविधानको धारा १६८ को २ बमोजिमनै सरकार बनाउनेगरी गृहकार्य थालेका छन् । प्रदेशसभाको बैठक आज बिहान ११ बजे आयोजना गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । मुख्यमन्त्री गिरीले गत माघ ५ गते विश्वासको मत लिएका थिए । गिरी तत्कालीन सात दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

बारा–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी

बारा । बारा–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दैछ । आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका संकलन राति नै सकिएको र आज सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । मतगणनाको लागि गए राती देखि नै सिसिटिभीको निगरानीमा सुरक्षासहित राजनीतिक दलका प्रतिनिधिहरुलाई बस्ने गरी ठुलो रुमको व्यवस्था मिलाइ सकेको छ । निर्वाचनमा सहभागी जनाएका ३४ जना उम्मेदवार बिच सहमति जुटाइएपछि मत गणना सुरु हुने छ । सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने उनको भनाइ छ । बारा २ को मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा ६८ हजार ८८७ मत खसेको छ । जिल्लाको ६ वटा स्थानीय तहमा गरी ३७ हजार ६४ पुरुष र ३१ हजार ८२३ महिला रहेका छन् ।

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायम गरेका छन् । करिब आठ हजार मत गणना हुँदा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि छन् । निर्वाचन आयोगका अनुसार वाग्लेले चार हजार ३०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भट्टराईले १९३३ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनालले ११९८ मत पाएका छन् । आयोगका अनुसार अहिलेसम्म भानु नगरपालिका वडा नम्बर ७, ८ र १०, आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ र २ को मतगणना गर्ने काम सकिएको छ । अन्य क्षेत्रको मतगणना जारी छ ।

अनेमसंघ(क्रान्तिकारी)बाग्मतीको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा सुनिता गौतम

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाग्मति प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ । यही वैशाख ८ र ९ गते काठमाडौंको कोटश्वरमा सम्पन्न प्रथम सम्मेलनले अनेमसंघको प्रदेश कमिटी निर्माण गरेको हो । सम्मेलनले बाग्मतिको अध्यक्षमा सुनिता गौतमलाई चयन गर्नुका साथै नौ सदस्यीय पदाधिकारी र १७५ सदस्यीय समिति निर्माण गरेको नेतृ रमा गिरिले जानकारी दिइन् । यस्तो छ पदाधिकारी अध्यक्ष : सुनिता गौतम उपाध्यक्ष : कल्पना रिमाल उपाध्यक्ष : दिपा बोहरा उपाध्यक्ष : लक्ष्मी माझी सचिव : अनिता कार्की ढोलि सह सचिव : अम्बिका नेपाल सह सचिव : दिपा कंडेल सह सचिव : अम्बिका लामिछाने कोषाध्यक्ष : शृजना थिङ

सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा पक्राउ परेका युवक १ लाख धरौटीमा रिहा

काठमाडौं । नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा पक्राउ परेका युवक १ लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश चन्द्रप्रकाश तिवारीको आजको इजलासले स्याङ्जाको वालिङ नगरपालिका–१० का सागर ढकाललाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशपछि ढकाल १ लाख तिरेर रिहा भएको प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता पशुपति रायले जानकारी दिए । गत चैतमा ढकाललाई ब्यूरोको टोलीले पोखराबाट पक्राउ गरेको थियो । नेपाली सेनाले आफ्नो साइबर स्पेसमा हमला भएको भन्दै अनुसन्धान गरी कारबाही गरी पाउँ भन्दै साइबर ब्यूरोमा उजुरी दिएको थियो। त्यसपछि साइबर ब्यूरोले पोखराबाट ढकाललाई पक्राउ गरेको थियो।

संविधानको व्यवस्था अनुरुप शिक्षा अनिवार्य तथा निःशुल्क गर्न क्रान्तिकारीको माग

काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकार)ले संविधानमा व्यवस्था भए अनुरुप शिक्षा अनिर्वाय तथा निःशुल्क हुनुपर्ने बताएको छ । क्रान्तिकारी काठमाडौं जिल्ला कमिटीका ईन्र्चाज यादव ढुंगाना र अध्यक्ष लक्ष्मण वस्नेतद्धारा संयुक्त रुपमा हस्ताक्षर गरी विभिन्न माग सहित आइतबार जिल्ला शिक्षा समन्वय इकाई,काठमाण्डौंमा बुझाएको ज्ञापनपत्रमा सो कुरा उल्लेख गरिएको छ । आज हाम्रो समाजमा जनताका छोराछोरी विद्यालय शिक्षाबाट बन्चित हुनुपर्ने अवस्था शृजित भइरहेको छ । संबिधानमा व्यवस्था भएको अनिवार्य तथा निःशुल्क शिक्षा पनि आज विभिन्न शिर्षकमा (भर्ती शूल्क, वाषिर्क शूल्क , मासिक शुल्क, खाना शूल्क लगाएतका विभिन्न शूल्क) तिरेर पढ्नु पर्ने बाध्यकारी अवस्था निमार्ण गरिएको छ । विज्ञप्तिमा भनिएको छ । संविधानको कार्यान्वयनको निमित्त पनि शिक्षा निःशुल्क हुनुपर्ने क्रान्तिकारीले जनाएको छ । यस्ता छन् क्रान्तिकारी काठमाडौं जिल्ला कमिटीका माग सामुदायिक तर्फ १. संविधानमा व्यवस्था भएको विद्यालय शिक्षा पूर्ण रुपमा निःशुल्क हुन पर्ने ,कानुन भन्दा बाहिर गएर शुल्क लिने विद्यालयहरुलाई तुरुन्त कारवाही गरीयोस् । २.सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिका लगायत सम्पूर्ण कर्मचारीहरुका छोरा छोरी सरकारी विद्यालयमा अध्यन गराउनु पर्ने । ३.जनप्रतिनिधि तथा सरकारी कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा अध्यन गराउनु पर्ने । ४.सामुदायिक विद्यालयका शिक्षक शिक्षिका बाहेकका अन्य कर्मचारीहरुलाई स्थायी रुपमा व्यवस्थापन गर्नु पर्ने । ५. विद्यालय समायोजनका नाममा सरकारी विद्यालय घटाउने कार्य तुरुन्त बन्द गर्नु पर्ने । ६. विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष तथा सम्पूर्ण पदाधिकारी सो विद्यालयमा अध्यनरत विद्यार्थीको अभिभावक हुनुपर्ने व्यवस्था हुनुपर्ने । संस्थागत विद्यालय तर्फ १.शैक्षिक वर्ष २०८० सुरु हुनु अगावै विभिन्न बहानामा अनैतिक ढंगले गरिएको सम्पूर्ण विद्यार्थी भर्ना प्रक्रिया खारेज गरि नयाँ भर्ना अभियान सुरु गरिनुपर्ने । २. विद्यालयको मनपरी शुल्क वृद्धि तथा वर्षेनी लिने भर्ना शुल्क तुरुन्त फिर्ता गर्नु पर्ने । ३.नीजी विद्यालयले दिनुपर्ने छात्रवृत्तिको विवरण सार्वजनिक गर्नुपर्ने साथै वितरण प्रक्रियालाई पारदर्शी बनाउनु पर्ने संगसंगै जनयुद्ध जनाअन्दोलन लगायत परिवर्तकारी आन्दोलनका सहिद,बेपत्ता र घाइते परिवारका सन्ततिलाई विशेष छात्रवृत्तिको व्यवस्था हुनपर्ने । ४.विदेसी पाठ्यक्रम ,विदेसी नामाकरण र विदेसी व्यवस्थापन तथा सम्बन्धनबाट संचालित सबै विद्यालयहरु तुरुन्त खारेज हुन पर्ने । ५. नीजि विद्यालय भित्र पाठ्यपुस्तक तथा उत्तर पुस्तिकाको व्यापार गर्ने विद्यालयको समबन्धन खारेज गर्नुपर्ने । ६. पुस्तक व्यापारीसँग मिलेमत्तोमा वर्षेनी पुस्तक परिवर्तन गरि आर्थिक भार अविभावक र बिद्यार्थीलाइ पार्ने काम पूर्ण रुपमा बन्द गर्नुपर्ने । ७.नेपालको संबिधानमा ब्यबस्था भए बमोजिम १ देखि १२ सम्मको शिक्षा प्रणाली स्थानीय तहमा गइसकेपछी देखिएका तमाम समस्याहरु तत्काल समाधान गर्नुपर्ने । ८.जिल्लाभरिका बिधार्थीको विद्यालयमा पोशाकको एकरुपता प्रदान गर्नुपर्ने । ९. बर्तमान वेथितिलाई ध्यानमा राखी हाम्रो सङ्गठनको संलग्नतामा शक्तिशाली अनुगमन समिति निर्माण गरी आवश्यक प्रक्रिया अघाडी बढाउनुपर्ने ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । उपचारमा संलग्न चिकित्सकले आज उनको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा भइरहेको छ। राष्ट्रपति पौडेल उपचारका लागि बुधबार नयाँ दिल्ली गएका हुन् । दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरुले सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको बताएका छन् ।’’ यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।

मतगणनास्थलमा तारजाली र सिसी टिभी क्यामेरा जडान

चितवन । चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ। उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्नेगरी तारजाली र सिसी टिभी क्यामेरा जडानको काम गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । उनले तारजालीसहित नौवटा सिसी क्यामरा जडान गरिएको बताए । आचार्यका अनुसार आजै सम्पूर्ण मतपेटिका मतगणनास्थलमा ल्याइने र सकेसम्म मतगणना सुरु गरिने छ । सर्वदलीय बैठकपछि मात्र मतगणनाको समय तय हुनेछ।