सरकारको निर्देशनपछि टेलिकमको रोमिङ महसुल चार गुणा घट्यो

काठमाडौं । सरकारको निर्देशनपछि नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको छ । अन्तर्राष्टिय दूर सञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल घटाइएको टेलिकमले जनाएको छ ।

गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरुले रोमिङ महसुल घटाउन माग गरेका थिए । सो भ्रमणपछि मन्त्री शर्माले नेपाल टेलिकमलाई रोमिङ महसुल घटाउन निर्देशन दिएकी थिइन। सो निर्देशपछि झण्डै लामो गृहकार्य गरी नेपाल टेलिकमले भारत र थाइल्याण्डमा रोमिङ महसुल घटाएको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

नयाँ दरअनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा अब प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ । नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि अब प्रतिमिनेट सात रुपैयाँ नै लाग्ने छ भने एसएमएस गर्दा पनि प्रति एसएमएस सात रुपैयाँ नै लाग्ने छ ।

यसअघि रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस २४ रुपैयाँ लाग्ने गरेको थियो ।

त्यस्तै थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट थाइल्याण्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा अब प्रतिमिनेट ५० रुपैयाँ लाग्ने भएको छ । यसअघि यस्तो सेवा लिंदा प्रतिमिनेट एक सय ३५ रुपैयाँ लाग्ने गरेको थियो ।

त्यसैगरी थाइल्याण्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँमा प्रतिमिनेट ९० रुपैयाँ लाग्दै आएकोमा अब प्रतिमिनेट २५ रुपैयाँ लाग्ने भएको छ । थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्ने गरेकोमा अब १० रुपैयाँ मात्रै लाग्ने छ ।

त्यस्तै भारत र थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट डाटा चलाउँदा हाल प्रति एमबी ४० रुपैयाँ लाग्दै आएकोमा अब प्रति एक सय केवीको ४९ पैसा अर्थात प्रति एमबी पाँच रुपैयाँ मात्रै लाग्ने छ ।

‘अर्थ बजेट’बाट रकम निकासापछि रोकिएको तलब पाउँदै प्रहरी

काठमाडौं । सरकारले ‘अर्थ बजेट’बाट रकम निकासा गरेपछि नेपाल प्रहरीले गएको वैशाखदेखि आउँदो असारसम्म नपाउने भनिएको तलबको समस्या समाधान भएको छ । बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई तलब खुवाउन समस्या भएको थियो । रकम अभावमा उनीहरूलाई एकैपटक आउँदो साउनमा तलब दिइने यसअघि प्रहरी प्रधान कार्यालयले जनाएको थियो । नेपाल प्रहरीका सहप्रवक्ता एवं एसएसपी भूपेन्द्र खत्रीले तलबको समस्या समाधान भएको जानकारी दिए । चालु आर्थिक वर्षमा प्रहरी कर्मचारीको तलब १५ प्रतिशत बढाइएको थियो । तर, बढेको रकमबराबरको बजेट नआएकाले समस्या भएको थियो । रकम अभावमा चैत महिनाकै पनि सबै प्रहरीले तलब सुविधा पाएका थिएनन् । प्रहरीमा हाल ७९ हजार ५०० बढी दरबन्दी छ । ७७ हजारजना कार्यरत छन् । पछिल्लो समय सरकारका सबै सरकारी निकायमा २० प्रतिशत खर्च कटौतीको प्रभाव पनि प्रहरीमा परेको थियो । प्रहरी अधिकारीहरूका अनुसार खर्च कटौतीका कारण तालिमलगायत महत्त्वपूर्ण कामका लागि समेत बजेट अभाव हुन थालेको छ । प्रहरीमा गत वर्ष साउन १ गतेदखि नयाँ तलब स्केल लागु भएको थियो । हाल प्रहरी आईजीपीको तलब ६६ हजार ८६० रुपैयाँ छ । सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४८० रुपैयाँ तलब पाउँछन् ।

४ वर्षदेखि मिटरब्याजीले कब्जा गरेको घरमा ताला फोडेर पसे पीडित

सर्लाही । सर्लाहीको हरिपुरमा मिटरब्याजी सुदखोरले चार वर्षदेखि कब्जा गरेको घरमा ताला फोडेर पीडित परिवार प्रवेश गरेका छन्। सदरमुकाम मलंगवाका सुदखोर रामस्वरुप रायले कब्जा गरेर अर्कै व्यक्तिलाई बिक्री गरेको घरमा ताला फोडेर सोमबार दिउँसो पीडित परिवार घरभित्र प्रवेश गरेका हुन् । मिटरब्याज पीडित संघर्ष समिति सर्लाहीको पहलमा पीडित परिवारलाई घरभित्र प्रवेश गराइएको हो । ऋण नतिरेको भन्दै सुदखोर रायले हरिपुर ५ मजुरवाकी जमिला खातुनको घर चार वर्षअघि नै कब्जा गरेका थिए। खातुनसँग कब्जा गरेको घर रायले स्थानीय कलिम अन्सारीलाई २० लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ। मिश्रका अनुसार केही वर्षअघि खातुनले घरायसी प्रयोजनका लागि रायसँग दुई लाख रुपैयाँ ऋण लिएकी थिइन्।दुई लाख रुपैयाँ ऋण दिँदा रायले ८ लाखको कागज बनाएका थिए। खातुन परिवारले त्यतिबेलै रायलाई ५० हजार रुपैयाँ बुझाइसकेका थिए। तर, रायले ८ लाख ऋण लिएको फर्जी कागजको बलमा खातुनको चारकोठे पक्की घर र ११ धुर जमिन कब्जा गरेर अर्कै व्यक्तिलाई २० लाख रुपैयाँमा बेचेपछि संघर्ष समितिले पीडितलाई न्याय दिन पहल गरेको मिश्रको भनाइ छ। सोमबार दिउँसो ठूलो समूहमा गएका महिलाहरुले घरको ताला फोडेर खातुन परिवारलाई आफ्नो घरमा प्रवेश गराएका हुन्। घरको ताला फोडेर मिटरब्याज पीडित खातुन परिवारलाई घरभित्र प्रवेश गराउने क्रममा सामान्य झडपसमेत भएको थियो। त्यस क्रममा अन्सारी परिवारलाई घरबाट निकालेर खातुन परिवारले आफ्ना सामान घरभित्र राखेको छ। आफ्ना सामान राखेपछि खातुन परिवारले घरको मूल ढोकामा ताला लगाएका छन्। प्रहरीका अनुसार अहिले पीडित पक्ष र घर किन्ने दुवै परिवारका सामान एउटै घरमा रहेको छ । मिटरब्याजी राय, घरधनी पीडित परिवार र घर किन्ने तीनै पक्षलाई एकठाउँमा राखेर हामी छलफल गर्ने र पीडितलाई न्याय दिन सहयोग गर्ने प्रहरीले जनाएको छ । सरकारले यसअघि नै मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रुप दिएर अध्यादेश जारी गरिसकेको छ । यससँगै मिटरब्याजीलाई कानुनी कारबाही गर्ने बाटो खुलिसकेको छ ।

एमालेले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लियो

जनकपुरधाम । नेकपा एमालेले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आजदेखि लागु हुने गरि एमालेले जनता समाजवादी पार्टी नेपालका मुख्यमन्त्री सरोज कुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो। नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले आइतबार सभामुख रामचन्द्र मण्डललाई भेटी समर्थन फिर्ताको पत्र बुझाएको थियो। सरकारको सत्ता गठबन्धनमा एमाले माओवादी केन्द्रको गठबन्धन भत्किँदा गत चैत २१ गते नै एमालेका मन्त्रीहरूले राजीनामा दिएका थिए। एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधन प्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका थिए। १०७ सदस्यीय मधेस प्रदेशमा एमालेको २३ सिट छ भने नेपाली कांग्रेसको २२, जसपाको १६ सिट, जनमत पार्टीको १३ सिट, लोसपाको ९ सिट, माओवादी केन्द्रको ८ सिट, एकीकृत समाजवादीको ७ सिट, स्वतन्त्र ६ सिट छ भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्तिको एक एक सिट रहेको छ ।

महानगरको कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित उजुरी दिन मेयर बालेन शाहको अपिल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू मातहतका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित उजुरी दिन अपिल गरेका छन् । सोमबार राति सामाजिक सञ्जालमा स्टाटस लेखेर साहले महानगरपालिका कार्यालयमा कुनै कर्मचारीले पैसा मागे प्रमाणसहित सम्पर्क गर्न पनि सेवाग्राहीलाई आग्रह गरेका छन्। उनले भिडियो वा अडियो प्रमाणलाई आधार मान्ने भन्दै विनाप्रमाण भ्रष्टाचारको आरोप नलगाउनसमेत अनुरोध गरेका छन्। ‘कसैले बिना प्रमाण यस्ले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनुभन्दा पनि प्रमाण जुटाउनु होला’, उनले लेखेका छन्। उनले अगाडि मोबाइल नम्बर उपलब्ध गराउँदै भनेका छन्, ‘हामी लाई ९८६३५९२०११ मा व्हाट्सएपमा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।’

राप्रपाको केन्द्रिय समिति बैठक आज पनि बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ । यसैगरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेश गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीले पेश गरेको सांगठनिक र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ । अध्यक्षको राजनीतिक, महामन्त्रीको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता सगुन लावतीले जानकारी दिए ।

संसदीय समिति आजदेखि क्रियाशील हुँदै

काठमाडौं । प्रतिनिधिसभा गठन भएको ६ महिनापछि अर्थात् आजदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान ९ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए । उनको सुझावअनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । समितिका सभापति चयन नभएसम्मका लागि बैठकको अध्यक्षता हाल तत् तत् समितिका ज्येष्ठ सदस्यले गर्ने छन्। समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम हुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची बनाइएको छ । प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा सार्वजनिक लेखा छन् । समितिको प्रमुख कार्य जिम्मेवारी भनेको सचिवालयमा दर्ता भई सभाले सैद्धान्तिक, दफावार छलफलका लागि पठाएका विधेयकलाई निष्कर्षमा पुर्‍याउनु रहेको छ । सभामा ठूलो सङ्ख्या हुने भएको र सबै काम गहिरोसँग अध्ययन तथा अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन चुनौती खडा हुने भएकाले प्रभावकारी कार्यसम्पादन गर्न विश्वभर नै संसदीय समिति प्रणाली अभ्यासमा आएका हुन् । अधिकांश समिति करिब २५ सदस्यीय बनाइएको छ । नयाँ नियमावलीले साविकका केही समितिको नाम र कार्यक्षेत्रमा केही समान्य हेरफेर गरेको छ । सभाबाट गत वैशाख १५ गते ती समिति गठन भएको घोषणा भएको थियो । अघिल्लो कार्यकालमा प्रतिनिधिसभाका १० समितिमध्ये छ वटा समितिका सभापति महिला थिए । मुलुकका प्रमुख राजनीतिक दलबीच कुन समितिको नेतृत्व कसले पाउने भन्नेमा मोटामोटी सहमति भइसकेको बताइएको छ । विगतदेखि कै अभ्यास अनुरूप सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दलले प्राप्त गर्नेछ । विषयगत समितिका केही बैठकपछि समितिको नेतृत्व चयन प्रक्रिया हुने अनुमान गरिएको छ ।

भरतपुरका सबै विद्यालयलाई नारायणी माविको जस्तै आर्कषण बनाउँछौं : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका सबै सामुदायिक विद्यालयलाई नारायणी माविको जस्तै आर्कषण बनाउनेतर्फ महानगरपालिकाको ध्यान रहेको बताएकी छन् । भरतपुर २५ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय शोसीमा आयोजित विद्याथीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै देशमै पहिलो र दोस्रो स्थानमा नारायणी मावि हुनु भरतपुरको लागि गर्वको विषय भएको उल्लेख गरेकी हुन् । भरतपुर महानगरपालिकाको एक वडा विद्यालय एक नमुना विद्यालय, एक कक्षा कोठा एक शिक्षक ,स्वेमसेवक शिक्षा, दरबन्दी मिलन जस्ता कार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको बताइन् । प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयमा भईरहेको विद्यार्थीको संख्या वृद्धि नै यसको मानक भएको उनको भनाई थियो । अहिले विद्यार्थीको संख्या वृद्धि भएकाले धेरै जसो विद्यालयमा भवनहरु थप निर्माण गर्नुपर्ने अवस्था रहेको पनि जानकारी दिइन्। भरतपुरका २ हजार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । भरतपुरका ६ वटा विद्यालयमा अध्ययन गर्ने ईसिडीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख दाहालले वितरण गरिन् । भरतपुर वडा नम्बर २५ मा रहेको शोसी माध्यमिक विद्यालयका विद्यार्थीलाई सो सामाग्री दिएर कार्यक्रमको शुभारम्भ गरिएको हो । साझापुर माविमा ३५५ जना, शोसी माविमा ४३६ जना, हिमालय दण्डपाणी माविमा २७८ जना, मोहन माविमा ४१४, सिद्धि जनकल्याण आद्यारभूत विद्यालयमा १४५ जना र ईन्द्रपुरी माविमा १०० जनाले सो सामाग्री पाएका छन् ।

पूर्व गृहमन्त्री खाँणको बयान भोली पुन लिइने

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान भोली पुन लिइने भएको छ । आज सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि भोली पनि निरन्तर हुने भएको हो । आज बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताका विषयमा दर्जनौँ सवाल जवाफ भएका थिए ।

प्रहरीले संसद सचिवालयलाई दियो रायमाझी पक्राउ परेको जानकारी

काठमाडौं । प्रहरीले फरार एमाले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको सूचना संसद सचिवालयलाई दिएको छ। कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले प्रतिनिधि सभामा जानकारी दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ। प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सांसद पक्राउ परेको सूचना सभामुखले सदनलाई जानकारी दिनुपर्ने व्यवस्था छ। भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार भएका थिए। उनलाई आइतबार साँझ प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेका रायमाझी त्यसयता फरार थिए ।

रायमाझीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानान्त्री टोपबहादुर रायमाझीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । रायमाझीलाई सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएपछि म्याद थपका लागि अदालत लगेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार भएका थिए । उनलाई अनुसन्धानका लागि प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो । शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीपविरुद्ध वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो । उनका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।

आगलागीमा परेर बारामा एकै परिवारका ४ जना घाइते

बारा । बाराको आदर्श कोतवाल गाउँपालिका–१ च्युटाहास्थित एक घरमा आइतबार राती आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाइते भएका छन् । घाइते हुनेमा पतीपत्नी र दुई छोरा रहेका छन् । लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएका हुन् । उनीहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ । सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनीहरुलाई अस्पताल लगेका थिए । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत जलेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पाण्डेकाअनुसार आगलागीबाट चार लाख १० हजार बराबरको क्षति भएको छ ।

पूर्वगृहमन्त्री खाँण बयानका लागि सरकारी वकिलको कार्यालयमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले बयानका लागि सरकारी वकिलको कार्यालयमा लगेको छ । प्रहरीले सोमबार बयानका लागि खााणलाई काठमाडौंको बबरमहल स्थित सरकारी वकिलको कार्यालय लगेको हो ।पूर्वगृहमन्त्री खाँण सहित नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई आइतबार हिरासतमा राखेर अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको थियो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगीमा पक्राउ परेका मुख्य आरोपितहरुले खाँणको नाम लिएपछि उनको संलग्नाता रहेको भन्दै प्रहरीले खाँणलाई गत साता पक्राउ गरेको थियो । यही प्रकरणमा तानिएर फरार भएका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधमामन्त्री टोप बहादुर रायमाझीलाई प्रहरीले आईतबार राति पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी आजदेखि बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी आजदेखि बन्द भएको छ। आयोजना स्थलको मुहानमा आवश्यक मर्मत सम्भार गर्न दुई साताका लागि पानी वितरण बन्द गरिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए। सामान्य बाढी आएका बेला पनि आयोजना सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो। गेट नम्बर–९ मा रहेको हेडवर्क्समा नयाँ सिलिन्डर जडान गर्नु पर्ने छ। त्यसका लागि पानीको प्रवाह नै बन्द गर्नु परेको कुँवरको भनाइ छ। यस्तै गेट नम्बर–१ मा पनि जाली राख्नुपर्ने उनले जानकारी दिए। गत वर्ष फलामको पाता राखेर पानी बन्द गरिएको थियो। ठूलो बाढी आएको बेला सुरक्षित रूपमा आयोजनालाई बन्द गर्न मिल्ने र सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको हो। मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सञ्चालन गरिने आयोजनाले जनाएको छ।

नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय पाँचौं बैठक आज सुरु हुने भएको छ। बंगलादेशको ढाकामा आज सह–सचिवस्तरीय बैठकमा ऊर्जा व्यापारका विषयमा प्राथमिकताका साथ छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा ६ सय ८३ मेगावाटको जलाशययुक्त सुनकोशी तेस्रो आयोजना संयुक्त लगानीमा कसरी अघि बढाउने भनेर पनि छलफल हुने ऊर्जा मन्त्रालयले जनाएको छ। भोलि सचिवस्तरीय बैठक बस्नेछ। परराष्ट्रमन्त्री एनपी साउदको बंगलादेश भ्रमणका क्रममा आइतबार दुई देशका निजी क्षेत्रकाबीच पनि विद्युत व्यापारको विषयमा छलफल भएको थियो । मन्त्री साउदले प्रधानमन्त्री शेख हसिनासँग नै विद्युत व्यापारका बारेमा छलफल गरेका थिए।

नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

त्रिवेणी । नवलपरासी–(बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको थियो । आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृतावस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।