रुपन्देहीमा पनि रवि लामिछानेविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दर्ता
काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ ।
पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछाने र गोर्खा मिडिया नेट्वर्कमा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई प्रतिवादी बनाएर सरकारी वकिलले मुद्दा दर्ता गराएको हो।
रवि र छविसहितविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
सरकारी वकिलको कार्यालयले यसअघि २८ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिसकेको थियो । यससँगै सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीको संख्या पनि ४२ पुगेको छ ।
सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछानेविरुद्ध चार करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै अदालतमा मुद्दा लगेको हो ।
शुक्रबार नै मुद्दा लैजाने तयारी गरिए पनि सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएपछि सरकारी वकिल कार्यालयले आइतबार १४ जनाविरुद्ध पूरक मुद्दा दर्ता गराएको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जीबी राई, सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङ, सहकारीका व्यवस्थापक सागर केसी, कुमार रम्तेलसहित २८ जनालाई सहकारी ठगीसम्बन्धी मात्रै कसुर लगाई २०८१ वैशाख ३ मा सुरु मुद्दा दर्ता गरेको थियो।
प्रहरीले थप १४ गरी ४२ जनाविरुद्ध मुद्दा चलाउने राय दिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको थियो । यसअघि रवि जिल्ला अदालत कास्कीमा ६५ लाख र जिल्ला अदालत काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटिसकेका छन् ।
उता कास्कीमा ८८ लाख धरौटी तिरेर छुटेका छविलालको भने जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस चल्दैछ ।
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए। अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।
स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।
काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती हुने
काठमाडों । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले क्षेत्र पाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती कोरिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभर हेड लाइन जडानका लागि लाइन कटौती हुने जनाएको छ । सो कार्यका लागि क्षेत्र पाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड टेड सेन्टर, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेसन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशी मार्ग, सुकुम्वासी टोलसम्म जाने बाटोसम्म पनि बिजुली कटौती हुने सूचनामा उल्लेख छ । थापाथली फिडर अन्तर्गत प्रसुती गृह पूर्व गेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि १ बजेदेखि ५ जेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।
संसद भंग गरी २०८७ सम्म सरकारमा रहने ओलीको चाहना हुनसक्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर २०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो आशंका व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले संविधान संशोधनबाट वर्तमान प्रधानमन्त्री पछि हट्नुभएको भन्नेकुरा सुनेको भन्दै जनताको सुविधाहरुमा बाधा बनेको ठाउँमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ मा संविधान संशोधन गर्ने भन्नुभएको छ नि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले २०८७ सम्म चुनाव नै नगरी बस्ने चाहना राखेको हुनसक्ने बताउनुभयो । उहाँले संसद भंग गरेर ठेलेको ठेल्यै गरी २०८७ सम्म सरकारमा बस्ने चाहना गरेको हुनसक्ने बताउनुभयो । अध्यक्ष नेपालले अध्यक्ष प्रचण्डसँगको बैठकमा भने समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउनेबारेमा छलफल भएको बताउनुभयो ।
रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार सरकारी वकिलहरूको जवाफी बहससँगै उक्त मुद्दामा थुनछेक बहस सकिएको हो । बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए । थुनछेक बहस सकिएको र आजै ४ बजेभित्र आदेश आउने कास्की जिल्ला अदालतका श्रेष्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस हुँदै आएको थियो । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहसपछि बुधबार सहकारीपीडितहरूका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । उक्त सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भएको हो ।
लेखा समिति सभापतिका स्वकीय सचिव पक्राउ, श्रीमती धेरौटीमा रिहा
काठमाडौं । ठगी आरोप लागेका संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी नारायण चिमोरियाका अनुसार आरोपित पोखरेललाई आज (बिहीबार) बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ। सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला १० लाख धरौटी बुझाएर रिहा भएकी छन् । सहकारी ठगी मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि मागेको १० लाख रुपैयाँ धरौटी बुझाएर अञ्जला तत्कालै रिहा भएकी हुन् । जिल्ला अदालत माेरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले काेइरालालाई पुर्पक्षका लागि १० लाख रुपैयाँ धरौटी लिने आदेश दिएको हो । अदालतले अञ्जलालाई थुनामा राख्ने कारण नदेखिएको जनाउँदै धरौटीमा रिहा गर्ने आदेश दिएको बुढाथोकीले जानकारी दिए । पोखरेलपत्नी अञ्जलामाथि सहकारी ठगी मुद्दामा थुनछेक बहस डेढ घण्टा बढी चलेको थियो। अञ्जला बुधबार बिहान आफैँ हाजिर हुन अदालत पुगेकी थिइन् । उनी घरमै बसे पनि प्रहरीले पक्राउ गरेको थिएन । फरार सूचीमा रहेकी अञ्जला बुधबार नै अदालतमा हाजिर भएपछि आदेशलगत्तै धरौटी बुझाएर छुटेकी हुन् ।
कक्षा ११ र १२ को मौका परीक्षामा २२ हजारको मात्रै आवेदन
काठमाडौं । कक्षा ११ र १२ को मौका परीक्षामा विद्यार्थीको अरुचि देखिएको छ । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर दिएको थियो । बोर्डले २०५६ सालको परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीलाई यस्तो परीक्षामा सहभागी हुने मौका दिएको थियो । बोर्डको तथ्याङ्क अनुसार यस अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थी करिब १४ लाख छन् । तर परीक्षामा सहभागी हुनका लागि बोर्डले परीक्षा फाराम खुलाउँदा २२ हजारले मात्रै आवेदन दिएका छन् । बोर्डका सहपरीक्षा नियन्त्रक कृष्ण घिमिरेका अनुसार दुई पटकसम्म म्याद थप्दा २१ हजार ८५३ जनाको मात्रै आवेदन परेको छ । विविध कारणले तोकिएको समयमा फाराम भर्न नसक्ने विद्यार्थीबाट बोर्डले अहिले पनि केन्द्रीय तथा प्रादेशिक कार्यालयबाट भौतिक रूपमै फाराम सङ्कलन गरिरहेको छ तर फाराम भर्नेहरू नगण्य छन् । पहिलो चरणमा परीक्षा फाराम भर्ने समय मङ्सिर २७ गतेसम्मका लागि थियो । परीक्षा फाराम भर्न बोर्डले निर्धारण गरेको दोस्रो समयसीमा भने पुस १३ गतेसम्मका लागि थियो । बोर्डका सहनियन्त्रक घिमिरेका अनुसार परीक्षा फाराम भर्नेमा २०६० सालपछिको परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाहरू धेरै छन् । “त्यसभन्दाअघिका परीक्षार्थीमध्ये धेरै जसोले त उमेरका कारणले पनि फाराम भर्नुभएन होला । कतिपय परीक्षार्थी परीक्षामा अनुत्तीर्ण भएपछि वैकल्पिक बाटोतिर पनि लागिसक्नुभएको होला,” घिमिरेले भन्नुभयो ।
दाउन्नेमा यातायात ठप्प, यात्रुलाई सास्ती
नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ । मंलबार रातिदेखि अवरुद्ध सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि अवरुद्ध भएको हो । शीतलहरका कारण सडक चिप्लो भएपछि मंगलबार रातिदेखि सवारी साधन आवागमनमा समस्या भएको छ । शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्णरुपमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । बिहान दुवैतर्फ सवारी साधनको लामो लाइन छ । रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिंडेर दाउन्ने खण्ड पार गरेका छन् ।
अपिहिमाल गाउँपालिकाको मुकामसम्म सडक विस्तारमा सहयोग गर्न अध्यक्ष प्रचण्डसँग आग्रह
काठमाडौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी पालिकाको विकासका लागि ध्यानाकर्षण गराएका छन् । अपिहिमाल गाउँपालिकासम्म सडक नपुगेको एक मात्र गाउँपालिका भएको उल्लेख गर्दै उनीहरुले अब पालिका मुकामसम्म पुग्न दश किलोमिटर बाँकी रहेकाले बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका हुन् । तीन सूत्रीय मागपत्र बोकेर राजधानी आएका उनीहरुले मकरीगाड–खण्डेश्वरी (१० किलोमिटर) सडकका लागि आवश्यक बजेट, पालिकाका सबै वडा र वस्तीहरुमा राष्ट्रिय विद्युत लाइन विस्तार र वडा नम्बर ३ को भूगोल ठूलो भएकाले सेवा प्रवाहलाई सहज बनाउन वडा विभाजनमा सहयोग गरिदिन आग्रह गरे । जवाफमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा थोरै भए पनि बजेट विनियोजनको सुरुवात गरिएको जानकारी दिंदै बजेट वृद्धिका लागि पहल गर्ने प्रतिबद्धता गर्नुभयो । त्यतिबेला पालिका मुकामसम्म पुग्ने गरी बजेटका लागि निर्देशन दिइएको भए पनि आवश्यक बजेट नपरेको उल्लेख गर्दै बजेट शीर्षक परेकाले सरकारले चाहेमा स्रोत सुनिश्चित गर्न सक्ने भएकाले आफूले प्रतिपक्ष दलको नेताको रुपमा पहल गर्ने बताउनुभयो । सुदूरपश्चिमको परिचित अपि हिमालको नामबाट स्थापित यो गाउँपालिकाले विकास निर्माणमा पनि त्यहीअनुसारको अपेक्षा गर्नु स्वभाविक भएको भएको उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्धनका लागि पनि पर्यटन बोर्ड र विद्युत विस्तारका लागि विद्युत प्राधिकरणमार्फत काम अघि बढाउन आग्रह गरिने बताउनुभयो । सो क्रममा गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा, उपाध्यक्ष देबकीदेवी बोहरा, सबै वडा अध्यक्षलगायतका जनप्रतिनिधि, कर्मचारी, कांग्रेसका पालिका सभापति शोबनसिंह लोथ्याल, माओवादी केन्द्रका उपाध्यक्ष मोहनसिंह कार्की र एमालेका प्रतिनिधि नरेन्द्रसिंह रोकाया लगायत ३५ जनाद्वारा हस्ताक्षरित ज्ञापनपत्र अध्यक्ष प्रचण्डलाई बुझाइएको थियो ।
सिजाङ भूकम्पको क्षतिप्रति पूर्वप्रधामन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु बनाई गएको भूमम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गर्दै भन्नुभएको छ–‘म सिजाङ भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकका परिवारजन, महामहिम राष्ट्रपति सी जिनपिङ र चिनियाँ जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु
काठमाडौं । काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो । स्थानीय अधिकारीहरूले उद्धार कार्यका लागि यातायात, जलस्रोत, आवास तथा शहरी–ग्रामीण विकास विभाग, गाउँ–नगरका प्रतिनिधिहरूलाई परिचालन गरेका छन्। साथसाथै, अफ्टरशकको प्रभावबाट बच्न स्थानीय बासिन्दाको सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गरिरहेको डिङ्ग्री काउन्टीका प्रमुखले जानकारी दिए। आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार, बिहान ९:२० बजे शिगात्सेको फायर ब्रिगेडका ७५ जना कर्मचारी र ६ वटा सवारी साधन तयारी अवस्थामा थिए। अग्रभाग टोलीका १५ जना कर्मचारी र तीनवटा सवारी साधन भूकम्पको केन्द्रबिन्दुतर्फ जाँदै थिए। बिहान ९:४५ बजे सम्ममा, २१५ जना उद्धारकर्मी केन्द्रबिन्दुतर्फ जाँदै थिए, जसमा तिब्बती वन फायर ब्रिगेडको १० जना र तीन सवारी साधन तथा विशेष कार्य टोलीका ९० सदस्य समावेश थिए। चीनको सैन्य स्रोतका अनुसार, जनमुक्ति सेना (PLA), सशस्त्र प्रहरी बल, साथै मिलिसिया र रिजर्भ फोर्सका ५०० भन्दा बढी सदस्य पूर्ण रूपमा परिचालनका लागि तयारी अवस्थामा छन्। शिन्ह्वाका अनुसार, चीनको भूकम्प नेटवर्क केन्द्र (CENC) ले दिएको विवरणअनुसार, भूकम्पको केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा रहेको थियो। भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो। CCTV न्यूजका अनुसार, भूकम्पको केन्द्रबिन्दुको पाँच किलोमिटर परिधिमा सात गाउँहरू र २० किलोमिटर परिधिमा दुई नगरहरू रहेका छन्। केन्द्रबिन्दुको वरपरको पाँच किलोमिटर क्षेत्रमा औसत उचाइ लगभग ४,२५९ मिटर रहेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार, मंगलबार ०१:०५:१६ GMT मा नेपालको लोबुचेबाट ९० किलोमिटर उत्तरपूर्वमा ७.० म्याग्निच्युडको भूकम्प गएको छ। शिन्ह्वाका अनुसार, यसको केन्द्रबिन्दु १० किलोमिटर गहिराइमा २८.५८ डिग्री उत्तर अक्षांश र ८७.३९ डिग्री पूर्व देशान्तरमा रहेको थियो।
नेपाल–चीन सिमानामा ७ म्याग्निच्यूटको भूकम्प
काठमाडौं । मंगलबार बिहान बिहान ६ः५० बजे गएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन सीमा क्षेत्र भएको खुलेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पविद् अधिकारीका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमाना नजिक दिङ्गे काउन्टी हो । भूकम्पको धक्का लामो समय महसुस भए पनि अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन । भूकम्पको धक्का नेपालभर महसुस भएको थियो । भूकम्पको धक्का चीन, नेपालसहित बंगलादेश, भारत र भुटानमा महसुस भएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ। भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो। भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए। वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको हो। नेपालमा २०७२ साल वैशाख १२ गते ७.६ म्याग्निच्यूडको भएकम्प गएको थियो। गोरखा केन्द्रबिन्दु भएर गएको उक्त भूकम्पपछि नेपालमा लागतार सानाठुला भूकम्प गएका थिए। पछिल्लो दुई महिनामा मात्र पश्चिम नेपालमा चार म्याग्निच्यूडभन्दा माथिको भूकम्प पटकपटक गहिरहेको थियो।
पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश, आज र भोलि वर्षा र हिमपात
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना रहेको हो । “हिजो साँझबाट पश्चिमी भूभागमा बादल प्रवेश गर्न सुरु गरिसकेको छ । त्यसको प्रभावस्वरुप आज र भोलि वर्षा र हिमपात हुने हो,” मौसमविद् प्रतिभा मानन्धर बाह्रखरीसँग भन्छिन्, “आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपात र वर्षा हुनेछ ।” हाल नेपालमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । मौसमविद् मानन्धरका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौंमा आज वर्षाको सम्भावना नरहेको मौसमविद् मानन्धरको भनाइ छ । उनका अनुसार काठमाडौंमा आज बदली मात्र हुनेछ । काठमाडौंमा आज बिहान ५ : ४५ को न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस छ । दिउँसो १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमबाट पूर्वतर्फ सर्दै जाँदा भोलि भने काठमाडौंमा वर्षाको सम्भावना छ । “भोलि काठमाडौंमा वर्षाको सम्भावना छ । भोलि मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको छ,” मौसमविद् मानन्धर भन्छिन्, “हल्का वर्षा मात्रै हुने हो । ठूलो वर्षा कतै पनि हुने सम्भावना छैन ।” उनका अनुसार बुधबारबाट मौसम क्रमिक रूपमा सफा हुँदै जानेछ । पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि मौसम सफा हुने उनको भनाइ छ । बादल, वर्षा, हिमपात तथा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
भोलिदेखि वर्षा र हिमपात हुने
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधरणतया मौसम बदलीदेखि सामान्यतया वर्षा रहने छ । आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ । 'तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ,' उनले भने, 'बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।' पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

