धान उत्पादन चार प्रतिशतले बढ्यो

काठमाडौं । यस वर्ष मुुलुकभर धानको उत्पादन चार प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालुु आर्थिक वर्ष २०८१/८२ मा धानको उत्पादन ४.०४ प्रतिशतले बढेर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको छ । गत आव २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो ।  

धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले धानको कुल उत्पादन बढेको मन्त्रालयले जनाएको छ । यस वर्ष बर्खे र चैते गरी १४ लाख २० हजार ६३६ हेक्टरमा धान रोपाइँ भएको थियो, जुन गत वर्षभन्दा १.२८ प्रतिशतले कमी हो । गत वर्ष १४ लाख ३८ हजार ९८९ हेक्टरमा धान रोपिएको थियो । 

यस वर्ष धानको औसत उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. मतिना जोशी वैद्यले रासायनिक मल, उन्नत जातको बिउ र समयमा वर्षा हुँदा धान उत्पादन बढेको जानकारी दिनुभयो । 

धानको औसत मूल्य प्रतिकिलो ३२ रुपियाँका दरले हिसाब गर्दा यस वर्ष एक खर्ब ९० अर्ब ५७ करोड ५२ लाख ३२ हजार रुपियाँ बराबरको धान उत्पादन भएको छ । चालु आवका लागि सरकारले मोटा धान प्रतिक्टिन्टल तीन हजार ४१० रुपियाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपियाँ ६२ पैसा निर्धारण गरेको छ । यस वर्ष बाढीपहिरोका कारण केही प्रदेशमा धानको उत्पादन घटे पनि केही प्रदेशमा उत्पादन बढ्दा धानको राष्ट्रिय उत्पादन बढेको गोरखापत्र दैनिकमा समाचार छ । 
 

स्याङ्जामा एक अर्ब २५ करोडको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जामा यसवर्ष एक अर्ब २५ करोडको सुन्तला उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालका अनुसार गत वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा १५ प्रतिशत समेत वृद्धि भएको हो। अघिल्लो वर्षमा पनि अत्याधिक सुन्तला उत्पादन भएको थियो।  यसवर्ष २० देखि २१ हजार मेट्रिक टन सुन्तला फलेको कृषि ज्ञान केन्द्र र सुन्तला सुपरजोन परियोजनाले जनाएको छ। अघिल्लो वर्ष २२ हजार मेट्रिक टन र गतवर्ष १७ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। जिल्लाभर २ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती छ। ती मध्ये १ हजार ३ सय ७० हेक्टरमा सुन्तलाले उत्पादन दिएका छन् भने बाँकी ८ सय ८० हेक्टरमा हुर्कदो अवस्थाका सुन्तला छन्। जिल्लाभर ४ हजार भन्दा बढी सुन्तला व्यवसायी  किसान छन्।  यहाँका ११ पालिकाका ९७ वडामध्ये ७/८ वडा बाहेक सबै वडामा सुन्तलाको उत्पादन राम्रो छ। कालीगण्डकी गाउँपालिका र चापाकोटका केही वडा बाहेक अन्य सबै पालिकामा सुन्तलाका खेती विस्तार भएका छन्।  विसं. २०७३ सालमा सुन्तला जोन सञ्चालनको स्वीकृत पाएपछि सुरुमा १७ वडामा परियोजना लागू भएको थियो। पछिल्ला केही वर्षयता भने जिल्लाभर सुन्तला सुपरजोन परियोजना समेटिएको छ। सबै ठाउँमा सुन्तलाको उत्पादन हुने भएकाले ब्लक, पकेट कार्यक्रममार्फत् जिल्लाभर समेटिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना इकाई कार्यालयले जनाएको छ।  स्थानीय पालिका,प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना र कृषि ज्ञान केन्द्रमार्फत् पनि किसानलाई आवश्यक सहयोग हुँदै आएको छ।  तर, सुपरजोन परियोजनाको भने सहयोग उल्लेख्य छ।  सुन्तला रोपण र उत्पादनमा जोड दिँदै यसका लागि वनजंगल फडानीदेखि स्याहार सम्भार,खाद्य पोषणलगायतसम्मका गतिविधि र उपकरण खरिदलगायतमा केही प्रतिशत छुटदेखि अनुदानसम्मका सुविधा उपलब्ध गराउँदै आएको बरिष्ट कृषि अधिकृत अजय अधिकारीले जानकारी दिए।  सुन्तला उत्पादनका लागि उपयुक्त भूगोल भएका कारण जिल्लाको मुख्य उत्पादन पनि सुन्तला बनेको छ। सुन्तलाबाटै बर्सेनि करोडौं रुपैयाँ भित्रयाइन्छ यहाँ। यहाँका पाखा, पखेरा र खेत बारीका गहगह्रामा सुन्तला झुलेका छन्। हिजोआज सुन्तला पाकेर पहेंलपुर बनेका छन्। सुन्तलाको बिरुवा रोपेको ५ देखि ६ वर्षभित्रमा फल दिने हुँदा किसानको विशेष रुची सुन्तला खेतीमा गएको हो। अझ कलमी बिरुवाले त रोपेको दुई/तीन वर्षमै फल दिन थाल्छ। वर्षको दुई/चार पटक मल, जल, गोडमेल गरेपछि सुन्तलाले राम्रो उत्पादन हुन्छ।  बर्सेनि ५ देखि ३० लाख रुपैयाँसम्म नगद आम्दानी गर्ने दर्जनौं किसान छन् यहाँ।  यहाँका प्रायजसो सबैका घर घर सुन्तलाका बिरुवा छन्। स्थानीय पालिकाले पनि सुन्तलालाई विशेष प्राथमिकतामा राखेको छ। सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा सुन्तला उत्पादन हुन्छ। कूल उत्पादनको ३० प्रतिशत भन्दा बढी पुतलीबजारमा सुन्तला उत्पादन हुने गर्दछ।  पुतलीबजार, वालिङ्, अर्जुनचौपारी, भीरकोट, बिरुवा, आँधीखोला, गल्याङमा अत्याधिक सुन्तला खेती हुन्छ। यसैगरी, दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे, पौवेगौडे लगायतका वडा सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र हुन। कालीगण्डकी, चापाकोट र हरिनासका केही बडा बाहेक जिल्लाभर सुन्तला खेती अत्यन्तै राम्रो हुन्छ।  स्याङ्जामा आन्तरिक रुपमा कार्त्तिकको अन्तिम सातादेखि नै सुन्तला खरिद बिक्री सुरु हुन्छ। सुन्तला व्यापारी पनि मंसिर पहिलो सातादेखि नै किसानका घर बगैचामै पुगेर किन्ने गर्छन्। अहिले सुन्तला व्यापारी बगैचामा पुगिसकेका छन्। यहाँका सुन्तलाको मुख्य बजार पोखरा, बुटवल, चितवन, नारायणघाट,काठमाडौं हो।

बाँके कुष्ठरोगको उच्च जोखिममा

बाँके । एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ । जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान हुँदा बाँकेका मात्रै ८४ बिरामी रहेको छन् । साइनिङ अस्पतालका प्रमुख मङ्गलबहादुर थारुले नयाँ पहिचान भएका कुष्ठरोगीमा बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका पाँच, रुकुमका चार, सल्यानका तीन तथा दैलेख, सुर्खेत, जाजरकोट, रोल्पा र हुम्लाका एक/एक जना रहेका जानकारी दिए । पहिचान भएकामध्ये ३९ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु पोजिटिभ रहेको थियो । बिरामीलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको उनले बताए । अस्पतालले आफ्नो बहिरङ्ग सेवामार्फत गत आर्थिक वर्षमा १७ हजार दुई सय ६५ जनालाई सेवा प्रदान गरेको थियो । साइनिङ अस्पतालले कुष्ठरोग सेवालाई विस्तार गर्दै पश्चिम क्षेत्रको कुष्ठरोग प्रेषण केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको थारुले बताए । अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवालगायत गतिविधि गरिरहेको प्रमुख थारुले जानकारी दिए । गत आवमा प्रयोगशाला परीक्षणमा कुष्ठरोग पहिचानसम्बन्धी ‘स्लिट स्किन स्मिएर’ जाँच आठ सय ३८ र अन्य प्रयोशाला परिक्षण ११ हजार तीन सय १८ रहेको थियो । सन् १९९६ मा नेपालगञ्ज टिवी रेफरल केन्द्रको नामबाट सेवा सुरु गरी हाल जानकी गाउँपालिका–३ मानपुरमा साइनिङ अस्पतालले सुविधा सम्पन्न भवनबाट पश्चिम नेपाल र आसपासको क्षेत्रका कुष्ठरोगीको उपचार सेवा प्रदान गर्दै आएको आएको अस्पताल प्रमुख थारुको भनाइ छ । जानकी–१ का सेवाग्राही गुलाम हसमत साईले कुष्ठरोग प्रभावित बिरामीलाई आइएनएफको साइनिङ अस्पताल भगवान् जस्तै बनेको बताए । आफूले साइनिङ अस्पतालको माध्यमबाट उपचार पाइरहेको उल्लेख गर्दै धेरैको ज्यान जोगाउन अस्पतालले उल्लेखनीय भूमिका खेलेको उनको भनाइ छ । जानकी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले समाजमा आइएनएफले कुष्ठरोग निवारण काक्र्रक्रममा सहयोग पुग्ने गरी सेवा प्रवाह गरेको जानकारी दिँदै अझै पनि कुष्ठरोगको प्रभाव रहेकाले निवारणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । कुष्ठरोग अहिले पनि जनस्वास्थ्यको समस्याका रूपमा रहेको बताउँदै रानाले समाजमा रोगीहरू लुकेर बसेको हुनसक्ने भएकाले शिविरअन्तर्गत खोजी अभियान सञ्चालनको आवश्यकता रहेको औँल्याए । उनले विगतको तुलनमा रोगीको सङ्ख्या कमी भए पनि रोग निवारणको लक्ष्य भेटाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्राथमिकताका साथ लाग्न जरुरी भएको उल्लेख गरे ।

आजबाट जन्मने पुस्तालाई भनिने छ ‘जेनेरेशन विटा अर्थात जेन बी’

आजको दिन एउटा नयाँ पुस्ता जन्मिएको छ। जेनरेशन जेड (Gen Z) र अल्फा (Alpha) जस्तै, जेनरेशन बीटा पनि एक यस्तो संसारमा हुर्किनेछ, जसमा प्रविधि र वातावरण तीव्र गतिमा परिवर्तन भइरहेका छन्। यसले नवप्रवेशी पुस्ताको जीवनमा के अर्थ राख्छ भनेर बुझ्न प्रयास गरौँ। सन् २०२५ को पहिलो दिन जन्मेका बच्चाहरू केवल वर्षकै पहिलो मात्र होइनन्, उनीहरू नयाँ पुस्ताको पहिलो प्रतिनिधि हुन्। २०२५ देखि २०३९ बीच जन्मिने व्यक्तिहरूलाई जेनरेशन बीटा भनिनेछ, जो हाम्रो समयको सातौँ पुस्ता हुनेछ। जेनरेशन बीटा को विशेषता यस पुस्ताले विश्वको १६ प्रतिशत जनसङ्ख्या ओगट्ने अपेक्षा गरिएको छ, र यसमध्ये धेरैले २२औँ शताब्दीको प्रारम्भ हेर्नेछन्। तर, जेनरेशन जेडको तुलनामा, जसले एनालग प्रविधिबाट डिजिटलमा रुपान्तरण देख्यो, जेनरेशन बीटा एक अत्यधिक प्रविधिमा एकीकृत संसारमा हुर्कनेछन्। कृत्रिम बौद्धिकता (AI) को विकासले उनीहरूको जीवनलाई गहिरो रूपमा परिवर्तन गर्नेछ, जसको परिणामस्वरूप उनीहरूले अति उच्च प्रविधिगत दक्षता देखाउनेछन्। तर यो पुस्ताले जलवायु परिवर्तनको प्रभाव पनि उत्तराधिकारमा पाउनेछ। मोनाश सेन्टर फर युथ पोलिसी एण्ड एजुकेशन प्राक्टिस का निर्देशक लुकस वाल्शका अनुसार, विश्वले जलवायु परिवर्तनलाई नियन्त्रण गर्न पर्याप्त कदम चाल्ने सम्भावना कम छ। वाल्श भन्छन्, "ठूला र अस्तित्वगत चुनौतीहरू नयाँ होइनन्, तर सामुदायिक सोचको अस्वीकृतिले कुनै ठोस कार्यलाई अवरोध पुर्याउँछ।" उनका अनुसार, "हामीले विचारधाराहरू र राजनीतिक दृष्टिकोणहरूको विखण्डन देखेका छौँ। कुनै ठूला कथानक (grand narrative) ले निर्णय प्रक्रियालाई अघि बढाउने मार्गदर्शन गरिरहेको छैन।" सबैभन्दा ठूलो परिवर्तन के हुनेछ? आजका युवाहरूको एउटा महत्वपूर्ण विशेषता हो—संस्थाहरू प्रतिको अविश्वास। वाल्शले भने, "हामीले वर्षेनी देख्यौँ कि मुख्यधारको राजनीतिक संस्थाहरूलाई युवा पुस्ताले चासो र आलोचना गर्दै आइरहेका छन्।" यो आलोचना त्यस्तो आर्थिक र सामाजिक संरचनाबाट उत्पन्न भएको हो, जसले युवाहरूलाई विस्थापित गरिरहेको छ। उनले थपे, "पुरानो पुस्ताले बनाएको खेल भन्छ: 'तिमीले थप प्रमाणपत्र र तालिम पाउँछौ भने, राम्रो काम र घर पाउनेछौ।' तर, यो खेलको नियम कोले बनाएको भन्ने सोच्न युवाहरू बाध्य छन्।" तर मेलबर्न विश्वविद्यालयका समाजशास्त्र प्राध्यापक ड्यान वुडम्यानका अनुसार, संस्थाहरूको अविश्वास वा अस्वीकृतिको प्रभाव अझै स्पष्ट छैन। "जेनरेशन बीटा एउटा यस्तो संसारमा जन्मिँदै छ, जहाँ शताब्दीयौँसम्म पुस्तालाई आकार दिने संस्थाहरू प्रतिको विश्वास कमजोर हुँदै गएको छ," उनले भने। जेनरेशन बीटाको भविष्य वाल्शका अनुसार, "अत्यधिक परिवर्तन भइरहेका बेला भविष्यको अनुमान गर्न कठिन छ। हामीले जेनरेशन एक्स, बुमर्स वा जेनरेशन बीटा जस्ता नामहरू समयसँगै पछिसम्मै हेरेर मात्र दिने गरेका छौँ।" वुडम्यान भन्छन्, "हामीले पछिल्लो समय मात्र यस्ता पुस्ताको भविष्यबारे अनुमान गर्न थाल्यौँ, जसको हालै जन्म मात्र भएको छ वा अझै जन्मिन बाँकी छ।" अन्ततः, जेनरेशन बीटाले कसरी विश्वलाई रूपान्तरण गर्छ भन्ने कुरा भविष्यमै निर्भर छ। तर, यस पुस्ताले उच्च प्रविधि, जलवायु परिवर्तनको प्रभाव, र संस्थागत परिवर्तनहरूको सामना गर्दै नयाँ इतिहास लेख्ने निश्चित छ।  

तराईमा हुस्सु, जनजजीवन प्रभावित

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको छ । हुस्सु र कुहिरोका कारण उक्त क्षेत्रको जनजीवन प्रभावित बनेको छ । आवतजावत तथा सवारी सञ्चालनमा समेत समस्या भएको छ । आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ । तराई, खोँच क्षेत्रका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

बैतडीमा भूकम्पको धक्का

काठमाडौं । बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र  (NEMRC)का अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको जानकारी अनुसार यो स्थानीय म्याग्निच्युड (ML)  ४.६ को भूकम्प हो। भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन। सम्बन्धित क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। भूकम्प मापन केन्द्रले थप विवरणका लागि अनुसन्धान गरिरहेको जनाएको छ।   

साउदीबाट फर्किएका दुई श्रमिकमा मंकीपक्स

काठमाडौं । साउदी अरबबाट फर्केका मंकीपक्स संक्रमित एक नेपालीको अवस्था जटिल देखिएको छ । पछिल्लो दस दिनमा साउदी अरबबाट फर्किएका दुई नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको थियो । उनीहरूमध्ये गत शनिबार काठमाडौं आएका सिन्धुलीका ४४ वर्षीय पुरुषको अवस्था यसअघि पहिचान भएका संक्रमितको भन्दा जटिल देखिएको हो । उनी हाल सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा उपचाररत छन् । छाला रोग विशेषज्ञ डा. सिवेन्द्रकुमार झाका अनुसार ती पुरुषको मृगौला, फोक्सो, कलेजो जस्ता संवेदनशील अंगलाई भने असर गरेको छैन । ‘अनुहार, छाती, हातखुट्टालगायत शरीरभरि संक्रमण देखिएको छ,’ उनले भने, ‘छालाको दृष्टिकोणबाट हेर्दा संवेदनशील तथा जटिल देखिएको हो ।’ ती पुरुष साउदी अरबमा करिब १६ वर्षदेखि काम गर्दै आएका थिए । मंकीपक्स लागेपछि साउदी अबरकै अस्पतालमा १७ दिनदेखि उपचाररत थिए । उनी साउदी अरबबाट दोहा हुँदै शनिबार बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । विमानस्थलबाट सिधै स्वयम्भूस्थित आफन्तकोमा गएका थिए । भोलिपल्ट आइतबार मात्र उपचारका लागि टेकु अस्पताल पुगेका थिए । नमुना परीक्षण गर्ने क्रममा उनलाई मंकीपक्स संक्रमण पुष्टि भएको थियो । गत पुस ५ मा साउदी अरबबाटै फर्केका तनहुँका ३६ वर्षीय पुरुषलाई पनि मंकीपक्स पुष्टि भएको थियो । उनको पनि टेकु अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले ती युवकको घाउ लगभग सुकिसकेको बताए । ‘नयाँ घाउ पनि देखापरेको छैन,’ उनले भने, ‘केही दिनमा डिस्चार्ज गर्ने तयारी छ ।’ चिकित्सकका अनुसार मंकीपक्स संक्रमित व्यक्ति वा पशुसँगको सम्पर्कमा आउँदा, शरीरबाट निस्किएको थुक, र्‍याल, घाउ, खटिरा, भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ । तर, सिन्धुलीका युवामा संक्रमण पुष्टि भएको २४ घण्टा बितिसक्दा पनि सम्बन्धित निकायले कन्ट्याक्ट ट्रेसिङ गरेको छैन । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले संक्रमित व्यक्तिको परिवारलाई मंकीपक्सबारे जानकारी रहेको र सतर्कता अपनाउन भनिसकेको बताए । ‘कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मी पठाउने तयारी छ,’ उनले भने, ‘साउदी अरबमा मंकीपक्स संक्रमित अन्य नेपालीको अवस्थाबारे जानकारी दिन त्यहाँको सरकारी संयन्त्रलाई आग्रह गरेका छौं ।’ साउदी अरब नेपालीको रोजगारीको प्रमुख गन्तव्यमध्येमा पर्छ । त्यहाँ मात्र ४ लाख नेपाली श्रमिक कार्यरत छन् । निर्देशक घिमिरेका अनुसार साउदी अरबको स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय इन्टरनेसनल हेल्थ रिप्रेजेन्टेटिभ (आईएचआर) सँग त्यहाँ कार्यरत नेपालीको अवस्थाबारे जानकारी लिने प्रयास जारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार केही दिनयता अफ्रिकी मुलुक कंगोमा मंकीपक्स भाइरसको घातक प्रजाति ‘क्लेड १ बी’ फैलिरहेको छ । गत जनवरी यतामात्र उक्त भाइरसका कारण विश्वभरि पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि मंकीपक्स संक्रमण बढिरहेको भन्दै सबै मुलुकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । सन् २०२२–०२३ मा पनि मंकीपक्स विश्वव्यापी प्रकोपका रूपमा फैलिएको थियो । मंकीपक्स बिफर रोग लाग्ने प्रजातिको भाइरसबाट संक्रमण हुने गर्छ । एमपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि पनि मंकीपक्स मध्य पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ । छाला रोग विशेषज्ञहरूका अनुसार यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने गर्छ । टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ । स्वास्थ्य मन्त्रालयले छिमेकी देशमा मंकीपक्स भाइरसको संक्रमण बढिरहेकाले नेपालीलाई पनि सतर्कता अपनाउन आग्रह गरेको छ । हवाई तथा सीमा नाकाका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘सातवटै प्रदेशमा मंकीपक्स रोकथाम तथा व्यवस्थापनका लागि अस्पताल र फोकल पर्सन तोकेका छौं,’ उनले भने, ‘कसैलाई शंकास्पद देखिए परीक्षण गर्न आग्रह गर्छु ।’ कान्तिपुर दैनिकबाट

अध्यक्ष प्रचण्डलाई झापामा कोच संस्कृतिको भोजन

झापा । झापाको गौरिगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्न यहाँ आउनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केराको पातमा खाना खानुभएको छ । गौरिगञ्ज–१ मा तिलक राजवंशीको घरमा प्रचण्डसहितका नेताहरूले कोच संस्कृति अनुसार खाना खानुभएको हो । अध्यक्ष प्रचण्डलाई कोच संस्कृतिको भोजन उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चट्नी र पापडलाई कोलाको पातमा दिइएको हो । आफूले प्रचण्डलाई कोच संस्कृति अनुसारको खाना खुवाउन पाउँदा खुसी लागेको राजवंशीले बताउनुभयो । ‘उहाँले मलाई कोच जातीहरुको लागि लडिरहेको छु । कोच जातीको घरमा भात खान पाउँदा खुसी लागेको बताउनु भयो’– तिलक राजवंशीले भन्नुभयो– ‘मैले पनि तपाईलाई सौभाग्यले खाना खुवाउन पाएँ भने ।’  प्रचण्डको टोलीमा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य एवं स्वकीय सचिव गंगा दाहाल, माओवादी संसदीय दलका कोशी प्रदेश नेता इन्द्रबहादुर आङ्बो, माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो, केन्द्रीय सदस्यहरु धर्मशिला चापागाईं, जीवन आचार्य, झलकसिंह दर्लामीलगायतका नेताहरुको सहभागिता रहेको थियो । 

अध्यक्ष प्रचण्ड झापामा, गौरीगञ्जमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज झापा पुग्नुभएको छ । झापामा अध्यक्ष प्रचण्डले गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्नुहुनेछ । नेकपा (माओवादी केन्द्र)ले केपी ओली सरकार भ्रष्टाचारमा डुबेको र आफ्नालाई काखा पाखा गरिरहेको आरोप लगाउँदै देशव्यापी रूपमा खबरदारी सभाको आयोजना गरिरहेको छ। यस अघि शनिबार कंचनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभामा हजारौंलाई पार्टी प्रवेश गराई सम्बोधन गर्नूभएका प्रचण्डले आज ओलीको गृह जिल्ला झापामा पुगेर ओली सरकारले गरेका व्यथितिविरुद्ध जनतालाई सम्बोधन गर्ने हुनुभएको हो ।  आज दिउँसो १ बजे आयोजना गरिएको उक्त खबरदारी सभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको जनाइएको छ।

पहाडका केही भू-भागमा वर्षा र हिमपात, तराईमा हुस्सु

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदलीको सम्भावना रहेको छ भने पहाड र तराईका विभिन्न भू-भाग सामान्यतया मौसम सफा रहनेछ । आज राति कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही केही स्थानमा हिउँ पर्नेछ भने पहाड र तराईमा  सामान्यतया सफा रहनेछ । आगामी २४ घण्टामा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ ।

आज तमु ल्होसारः सार्वजनिक बिदा

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ।   तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ।  काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा भेला भएर यो पर्व मनाउँदैछन्।  तमु ल्होसारको अवसरमा विभिन्न दलका नेताले देश विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायलाई शुभकामना दिएका छन्। 

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लगाउने पक्षमा बहुमत, माघ १२ मा निर्वाचन

काठमाठौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगनमा अन्ततः उमेरहद लागू हुने भएको छ। उमेरहद ३२ वर्षे लागू गर्ने कि नगर्ने भन्ने विषयमा देशभर भएको मतदानमा उमेरहदका पक्षमा बहुमत देखिएपछि यो विषयको छिनोफानो भएको हो।   प्रमुख निर्वाचन आयुक्त मुक्ति नारायण श्रेष्ठका अनुसार खेलको कुल मतदाता २३९८ मध्ये १७ सय ७९ जनाले मतदान गरेका थिए । यसमा ९०० मत उमेरहदको पक्षमा र उमेरहद नलगाउने पक्षमा ८७९ मत खसेको थियो । २१ मतान्तरले उमेरहद लगाउने विषय पारित भएको छ ।   माओवादी पदाधिकारी बैठकले पनि उमेरहद लगाउने विषयमा समझदारी गर्दै यसको टुंगो भने विद्यार्थी संगठनले नै निर्वाचनबाट गराउने निर्णय गरेको थियो ।मत परिणाम आएपछि अध्यक्ष पञ्चा सिंहले भनिन्, ‘उम्मेरहद ३२ लागु हुने भएको छ। यो ऐतिहासिक जितका लागि हार्दिक बधाई छ।  नेतृत्वको निर्वाचन माघ १२ गते सम्पन्न हुनेछ। कार्यतालिका निर्वाचन समितिले तत्काल सार्वजनिक गर्ने जानकारी गराउदछौ।’ मत परिणामसँगै निर्वाचन समितिले नयाँ निर्वाचनको मिति पनि तय गरेको छ । अध्यक्ष पञ्चा सिंहले दिएको जानकारी अनुसार आगामी माघ १२ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने छ ।संगठनमा ३२ वर्षे उमेरहद लागु भएपछि निवर्तमान समितिका अधिकांश बिदा हुने छन्।

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

मोहन वैद्यको आइसियुमा उपचार हुँदै

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यलाई किरणलाई आइसीयुमा सारिएको छ । विगत १५ दिनदेखि अस्पतालमा उपचाररत वैद्यको स्वास्थ्यमा थप समस्या आएकाले सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा सारिएको हो । अधिवेशनको काममा भागदौड गर्दा स्वास्थ्यमा समस्या देखिएकाले उहाँलाई अस्पतालको एनेक्स टू क्याबिनमा राखेर उपचार गरिएको थियो । उपचारमा संलग्न चिकित्सक डा.निरज बमका अनुसार उहाँको छातीमा सङ्क्रमण र दमको समस्या छ । वैद्य दीर्घ दमका रोगी हुनुहुन्छ । हरेक वर्ष जाडो याममा उहाँलाई दमको समस्या बढ्ने गर्छ ।

आज त्रिविका १४ हजार बढी विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिविले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्न लागेको हो ।  यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।  परीक्षा नियन्त्रक जोशीले गत वर्षभन्दा यसपटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका जानकारी दिए । उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित हुँदैछन् । 

आधा महिनामा पश्चिम नेपालमा सात वटा परकम्प

काठमाडौं । यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो । पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेटमा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ । विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो । विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको हो ।