आज रातिदेखि देशभर भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद् र विभागकाे आग्रह
काठमाडौं । शनिबार रातिदेखि देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलका अनुसार झापाबाट भारी वर्षा सुरु भइसकेको छ। उनले शनिबार बेलुका सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुईवटा मौसमी मोडेलले फरक स्थानहरूमा वर्षाको सम्भावना देखाए पनि तराई र चुरे क्षेत्रहरू बढी जोखिममा रहेको उल्लेख गरेका छन्।
“दुईवटा मोडेलले भारी वर्षाको ठाउँ फरक देखाएको छ, तर सम्भावना धेरै तराई र चुरे भागमा बढी छ,” पोखरेलले लेखेका छन्।
देशका विभिन्न भूभागमा अहिले पनि वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि आउँदो तीन दिन देशभर वर्षा जारी रहने पूर्वानुमान गरेको छ। महाशाखाले शनिबार बेलुका जारी गरेको बुलेटिनमा सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
बुलेटिनअनुसार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
महाशाखाले वर्षाका कारण नदीहरूको जलसतह बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता विपद् आउन सक्ने भन्दै जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, यातायात र हवाई सेवा प्रभावित हुन सक्ने चेतावनी दिएको छ। यस्ता सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।
मुख्य सुझावहरू
बाढी तथा पहिरोको जोखिम भएका स्थानमा विशेष सतर्कता अपनाउन अनुरोध
यात्राअघि मौसम पूर्वानुमानको जानकारी लिनु आवश्यक
स्थानीय निकाय र प्रशासनको सूचना तथा निर्देशन पालना गर्न सुझाव
नेपालमा विपद्को अवस्था र पूर्वतयारी विषयक अन्तरक्रिया गर्दै माओवादी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज नेपालमा विपद्को अवस्था र पूर्वतयारी विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा विपद्को अवस्था र पूर्वतयारी सम्बन्धी धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ। विपद् व्यवस्थापन केन्द्रीय विभाग, नेकपा (माओवादी केन्द्र) को आयोजनामा हुने सो अन्तरक्रिया कार्यक्रम आज दिउँसो १:०० बजे ताज ब्यांक्वेट, तिनकुनेमा आयोजना गरिएको हो। कार्यक्रममा विपद्को हालको अवस्था, तयारीका उपायहरू, सरकार र राजनीतिक दलहरूको भूमिका लगायतका विषयमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ। उक्त कार्यक्रममा विपद् व्यवस्थापनमा संलग्न विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा माओवादी केन्द्रका नेताहरूको सहभागिता रहने जनाइएको छ।
वाग्मतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं — कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी र लुम्बिनीका गोर्खा, लमजुङ, कास्की, पर्वत, पाल्पा, बागलुङलगायत क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। बर्दियाको दौलतपुर, बर्गादही, रानिजरुवा लगायत क्षेत्रमा अति भारी वर्षा मापन गरिएको छ। खुदी खोलासहित ससाना नदी तथा खोलामा जलसतह बढ्ने, पहिरो र डुबानको जोखिम रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विनयी खोलामा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प
दुम्किवास — लगातार वर्षापछि विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन पुनः बगाउँदा पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवास खण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। गए रातिदेखि परेको वर्षाले खोलामा बाढी आएपछि बनाइएको डाइभर्सन बगाएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, बाढीका कारण एक यात्रुवाहक बस समेत बगेको छ। यद्यपि, सो बसमा रहेका सबै यात्रुहरू सकुशल उद्धार गरिएको जनाइएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने सडक सञ्चालनमा ल्याउन प्रयास भइरहेको जनाइएको छ।
काठमाडौंसहित देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
काठमाडौं— देशभर मौसमी गतिविधि तीव्र बनेका कारण आज अधिकांश स्थानमा बदलीसहित वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागेको छ भने दिउँसो हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्हरुको अनुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, दिउँसो १० बजेदेखि ११ बजेसम्म वर्षा सुरु हुने र दिनभर यदाकदा पानी पर्ने क्रम जारी रहनेछ। “वर्षा सुरु भइसकेको छैन, तर दिउँसो हल्कादेखि मध्यम वर्षा हुनसक्छ,” मौसमविद्हरूले जानकारी दिएका छन्। सातवटै प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिउँसो सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना देशका उच्च पहाडी र हिमाली भूभागमा पनि आज हल्का वर्षा र हिमपात हुनसक्ने विभागले जनाएको छ। रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मनसुनी र पश्चिमी वायुले असर पुर्याउँदै हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायु सक्रिय रहेको छ भने देशको पश्चिम भू-भागमा पश्चिमी र स्थानीय वायुले आंशिक असर पुर्याएको विभागले जनाएको छ। साथै, भारतको पश्चिम बंगाल नजिकै बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव देखिएको छ।
स्थापित बाम नेता भरत साह एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रिय सदस्य भरत प्रसाद साह आज औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ। उहाँलाई आज चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका लगाई पार्टी प्रवेश गर्नुभएको हो। बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले आफ्नो राजनीतिक जीवनको सुरूवात २०३५ सालमा अखिल ९पाँचौं० का बारा जिल्ला अध्यक्षको रूपमा गर्नुभएको थियो। त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाउनुभएको थियो। २०५४ देखि २०५९ सालसम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्षका रूपमा नेतृत्व सम्हाल्नु भएका साह २०६१ सालमा नेपाल शिक्षक युनियन बारा जिल्ला अध्यक्ष र २०७१ सालतिर केन्द्रिय अध्यक्ष बन्नु भएको थियो। शिक्षा क्षेत्रको संगठनात्मक नेतृत्वमा उहाँको उल्लेखनीय योगदान रहँदै आएको छ। राजनीतिक रूपमा स्थिर र अनुभवसञ्चित नेताका रूपमा चिनिनु भएका साह हालसम्म नेकपा (एमाले)को राष्ट्रिय सल्लाहकार परिषद सदस्यको रूपमा क्रियाशील हुनुहुन्थ्यो। पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उहाँले माओवादी केन्द्र रोज्नु भएको बताइएको छ। पार्टी प्रवेशपछि अध्यक्ष प्रचण्डले साहको आगमनले पार्टी अझ बलियो हुने विश्वास व्यक्त गर्नुभएको थियो। साहको आगमनसँगै माओवादी केन्द्रले बारा लगायत मधेसमा थप सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ।
पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन जल तथा मौसम विभागको आग्रह
काठमाडौं । देशभर मौसमी प्रणाली सक्रिय भइरहेका कारण आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। केही स्थानमा चट्याङसहितको वर्षा हुने अनुमान छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ। दिउँसो र राति देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। विशेषगरी कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकोले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र पहिरोको जोखिम समेत रहन सक्ने विज्ञहरूको भनाइ छ। विभागका अनुसार हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भागमा मनसुनी वायु सक्रिय रहेको छ भने भारतको पश्चिम बंगाल आसपासको न्यूनचापीय क्षेत्र र देशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुले समेत प्रभाव पारेको छ। सार्वजनिक सुरक्षा तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यात्रा गर्दा सतर्क रहन, नदी तथा खोलाको आसपास नजान र जोखिमयुक्त क्षेत्रहरूमा आवश्यक पूर्वतयारी गर्न विभागले सबैलाई अनुरोध गरेको छ।
प्रतिनिधि सभाको बैठक आज बस्दै, संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
काठमाडौं । प्रतिनिधि सभा आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा पेश गरिएको संघीय निजामती सेवा विधेयक, २०८२ पारित गर्ने कार्यसूची तय गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गर्न प्रस्ताव पेश गर्नेछन्। लामो समयदेखि प्रतिक्षारत रहेको यो विधेयक आजको बैठकबाट पारित हुने अपेक्षा गरिएको छ। यसका अतिरिक्त, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२” संसदमा पेश गर्ने कार्यसूची पनि तय भएको छ। यद्यपि संसदमा प्रमुख प्रतिपक्षी दलहरूले अवरोध जारी राखेका छन्। रास्वपा र राप्रपाले निरन्तर रुपमा संसदमा अवरोध गरिरहेका छन्। ती अवरोधका बीच पनि सभामुख देवराज घिमिरे बैठक सञ्चालन गरिरहेका छन्। संघीय निजामती विधेयक पारित भएसँगै कर्मचारी समायोजन, सेवा संरचना, र पदस्थापनसम्बन्धी व्यवस्थाहरू स्पष्ट हुने विश्वास गरिएको छ।
निरुता बनिन् प्रथम प्रचण्ड कपको सर्वोत्कृष्ट खेलाडी
काठमाडौं। विभागीय टोली क्लबकी स्पाइकर निरुता ठगुन्ना प्रथम प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्। उनकै उत्कृष्ट प्रदर्शनमा एपिएफले समूह चरणमा स्टेप रामपुर, सेमिफाइनलमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र फाइनलमा नेपाल पुलिस क्लबलाई समान ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको थियो। योसँगै उनले नगद ३० हजार रुपैयाँसमेत हात पारिन्। च्याम्पियन एपिएफले भने ६ लाख रुपैयाँ पायो।
कोसी सहित यी पाँच प्रदेशमा राति अत्यधिक वर्षा हुन सक्ने
काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोसी प्रदेशको पहाडी भूभागमा आज एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। महाशाखाका अनुसार कोसी र वाग्मती प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित देशका अन्य पहाडी भू(भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। बाँकी भू(भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना पनि गरिएको छ। त्यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षासहित हिमपात हुने अनुमान गरिएको छ। आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाले कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा रातिको समयमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। महाशाखाले सम्भावित वर्षाले खोलानालामा पानीको सतह बढ्ने, पहिरोको जोखिम हुने तथा चट्याङ लाग्ने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। साथै, यात्रा गर्नुपर्ने अवस्था छ भने मौसमबारे जानकारी लिएर मात्र सर्तकतापूर्वक यात्रा गर्न सुझाव दिइएको छ।
देशभर गर्मी बढ्नेक्रम कायम, बुधबारदेखि वर्षाको सम्भावना
काठमाडौं । देशमा केही दिनदेखि गर्मी बढिरहेको छ । देशका धेरै भूभागमा सुक्खा अवस्थाका कारण तापक्रम उच्च रहन पुगेको हो। जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज र भोलिसम्म तापक्रम अझै बढ्नेछ भने भोलि रातिबाट वर्षा गराउने प्रणाली विस्तार हुने देखिएको छ। आज र भोलिदिन दिउँसोसम्म देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छैन। मंगलबारदेखि हल्का वर्षा सुरु भई बुधबारदेखि तापक्रम घट्दै जाने र वर्षा क्रमशः बढ्दै जाने अनुमान गरिएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार आज र भोलि आइतबारको तुलनामा अझ गर्मी हुने छ। बुधबारदेखि मनसुन सक्रिय भई यो साता देशभर फैलिने सम्भावना छ। बिहीबारदेखि केही स्थानमा भारी वर्षा हुने सम्भावना पनि विभागले जनाएको छ। यसबीच, आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहनेछ। आइतबार ३०।४ डिग्री तापक्रम मापन गरिएको थियो। आज दिउँसो कोसी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मुख्यतः सफा रहनेछ। कोसी र अन्य प्रदेशका पहाडी क्षेत्रमा एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपात पनि हुन सक्छ। हाल देशको पश्चिमी र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोसी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको छ।
वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्विरोध नेतृत्व चयन (नामावलीसहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)नेपालले तेस्रो राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व निर्विरोध रूपमा चयन गरेको छ। काठमाडौंस्थित प्रज्ञा भवनमा उद्घाटन गरीएको सम्मेलनमा देशभरका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। सम्मेलनमा संगठनको भावी कार्यदिशा, रणनीति तथा सांगठनिक सुदृढीकरणका विविध विषयमा छलफल गरिएको थियो। निर्विरोध रूपमा चयन गरिएको नेतृत्वको नामावली यस्तो छ
अध्यक्ष प्रचण्डद्धारा बकर ईदको शुभकामना व्यक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद–उल–अज्हा) को अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा बकर ईदको मंगलमय शुभकामना व्यक्त गरेका छन्। उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई स्मरण गर्दै बकर ईदजस्ता पर्वहरू कुनै एक समुदायको मात्र नभई राष्ट्रिय पर्वका रूपमा स्थापित भएको उल्लेख गरेका छन्। उनले चाडपर्वहरू इतिहास, अनुभव, शिक्षा र ज्ञानको समुच्चयबाट विकास हुँदै आएका सांस्कृतिक मूल्य भएको बताउँदै यस पर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता अभिवृद्धि गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरे। "आपसी सद्भावको चाडका रूपमा मनाइने यस पर्वले सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्नेछ," अध्यक्ष प्रचण्डको सन्देशमा भनिएको छ। अन्त्यमा, उनले बकर ईदले सबै नेपालीहरूमा आपसी एकता, सहिष्णुता र न्यायपूर्ण समाज निर्माण गर्ने प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
वाईसीएल अध्यक्षमा ओली, महासचिव शाही
काठमाडौ । जेठ १८ गतेदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सम्मेलनबाट अध्यक्षमा पुष्प ओली सर्बसम्मत निर्वाचित भएका छन्। यस्तै, महासचिवमा गणेश शाही चयन भएका छन्।
आजको मौसम : केही स्थानमा वर्षा, उच्च पहाड तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । आज देशका केही भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार पश्चिम र मध्य नेपालमा पश्चिमी र स्थानीय वायूको प्रभाव रहेको छ भने कोसी प्रदेशमा मनसुनी वायू सक्रिय भएकाले ती क्षेत्रहरूमा वर्षा हुने सम्भावना रहेको छ। कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ। कोसी प्रदेशका केही स्थानहरू तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। राति पनि कोसी प्रदेश र पहाडी भागहरूमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहनेछ। सावधानीका लागि विभागले मौसमको जानकारी लिँदै यात्रा तथा कृषिजन्य गतिविधिमा सतर्कता अपनाउन अनुरोध गरेको छ
यस्तो छ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको दिन र रातिको मौसम अवस्था बारे जानकारी दिँदै देशभर विभिन्न भू-भागमा आंशिकदेखि साधारण बदली रहने जनाएको छ। पछिल्लो विश्लेषण अनुसार देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायु सक्रिय भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भागमा भने मुख्यतया सफा रहने सम्भावना छ। कोशी प्रदेशका केही स्थानहरूमा र देशका अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, उच्च-पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भाग भने मुख्यतया सफा देखिनेछ। कोशी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मौसमविद्हरूले विशेष गरी कोशी प्रदेशमा वर्षा र चट्याङको सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेका छन्। कृषक, यात्री तथा पर्वतीय भू(भागमा आवागमन गर्नेहरूका लागि मौसमको यो अवस्थाले असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

