अमेरिकाको जेलमा नेपाली युवाको मृत्यु

काठमाडौं । अमेरिकाको जेलमा रहेका एक नेपाली युवाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार न्युयोर्कस्थित राइकर्स आइल्यान्ड जेलमा रहेका २७ वर्षीय मनीष कुँवरको मृत्यु भएको हो।

यही अक्टोबर ५ तारिख बिहान जेलभित्रै उनको मृत्यु भएको हो। जेल परिसरमा कुँवर अचेत अवस्थामा भेटिएका थिए। उनको मृत्युको कारण खुलाइएको छैन। घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।

डकैती आरोपमा कुँवर गत सेप्टेम्बर २७ मा पक्राउ परेका थिए। उनीविरुद्धको मुद्दामा क्विन्सको अपराध अदालतले यही अक्टोबर २७ मा सुनुवाइ गर्दै थियो।

पाँच सिडिओको सरुवा

काठमाडौं । गृहमन्त्रालयले ५ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । २०८० असोज २३ गतेको निर्णय अनुसार ५ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ । गृहका अनुसार दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरुवा भएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा पठाईएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका विपिन आचार्य गृहमन्त्रालयमा तानिएका छन् भने इलामा श्रवण कुमार पोखरेललाई जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । गृहमन्त्रालय मातहत रहेका टुवराज पोखरेल जिल्ला प्रशासन कार्यालय दोलखामा पदस्थापन भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सहकारीहरूलाई उत्पादनमा केन्द्रित गर्नुपर्छ : मन्त्री शर्मा

प्यूठान। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सहकारीहरुलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बताएकि छिन् । जिल्ला सहकारी संघ प्यूठानले आयोजना गरेको सहकारीको प्रवर्धनमा स्थानीय तहको भूमिका विषयक वृहत अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले अहिले अधिकांश सहकारीहरु ऋण वचतमा मात्रै केन्द्रित भएको भन्दै यो प्रवृत्तिलाई राकेर सहकारीहरुलाई उत्पादनमा केन्द्रित गनुपर्ने बताइन् । ‘सहकारीमा विविधिकरण ल्याउनु आवश्यक छ । धेरै सहकारीहरु वचत ऋणमा केन्द्रित भएको देखिन्छ । यसलाई विविधिकरण गर्दै उत्पादन, प्रशोधन, वितरण र उपभोगमा सहकारीको दायरा विस्तार गर्नु आवश्यक छ’, उनले भनिन्, ‘स्थानीय श्रम, सीप र पूँजीलाई अधिकतम रुपमा परिचालन गरी सहकारीलाई अर्थतन्त्रको एक सवल स्तम्भको रुपमा विकसित गर्न यसको विविधिकरणमा ध्यान दिनैपर्छ । कृषि उत्पादन, भण्डारण, प्रशोधन तथा बजारीकरण एवं कृषि सामग्रीको आपूर्ति व्यवस्थापनमा कृषि सहकारी संघ संस्थाहरुको संलग्न गराउनेतर्फ स्थानीय तहहरुले विशेष ध्यान दिनु आवश्यक छ ।’   स्थानीयस्तरमा क्रियाशील सहकारीहरु कृषि उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिदै मन्त्री शर्माले ग्रामीण क्षेत्रमा स्थानीय श्रम, सीप र साधनमा आधारित कृषि सहकारी संस्थाहरुको सक्रियताबाट उत्पादन र वितरण सुदृढ गरी खाद्य सुरक्षा पनि सुनिश्चित गर्न सकिने बताइन्। प्यूठानजस्तो भौगोलिक अवस्थिति भएको जिल्लामा कृषि सहकारीहरुलाई विशेष प्रोत्साहन गर्दै विशिष्टीकृत कृषि एवं वनजन्य उत्पादनमा जोड दिने नीति स्थानीय तहहरुले बनाउनु उपयुक्त हुने उनको सुझाव थियो । स्थानीय तहहरुले सहकारी संस्थाहरुको अग्रसरता र संलग्नतामा सञ्चालन हुने उत्पादन, प्रशोधन र वितरणको कार्यलाई प्रोत्साहन गर्ने नीति बनाउनु आवश्यक रहेको औल्याउँदै उनले संविधानले समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेको र सहकारीलाई तीन खम्बे अर्थनीतिको एउटा खम्मा मानेकाले अब सहकारीहरुलाई समाजवाद निर्माणको आधारको रुपमा स्थापित गर्नुपर्ने बताइन् । अर्थतन्त्रमा सहकारी क्षेत्रको भूमिका बढाउँदै गएमा घरेलु तथा साना, मझौला र सहकारितामा आधारित ठूला औद्योगिक व्यवसायको सञ्चालन गर्न सकिने उल्लेख गर्दै उहाँले यसतर्फ पनि सहकारीको भूमिका फराकिलो बनाउँदै लैजानुपर्ने बताउनुभयो । परम्परागत उत्पादन र पेशा लोप हुँदै गएकाले सहकारीमार्फत यसको प्रवर्धन गर्न सकिनेमा उनले जोड दिइन्। पछिल्लो समय सहकारी क्षेत्रमा बेथितिहरु देखिन थालेको उल्लेख गर्दै उनले केही सहकारी र सहकारीकर्मीबाट हुने बेथितिलाई सहकारी क्षेत्रकै कमजोरीको रुपमा लिन नहुने र त्यभित्रको कमजोरी स्वयं सहकारी क्षेत्रले नै अन्त्य गर्नुपर्ने मन्त्री शर्माको जोड छ । राजनीतिमा केही नेताले भ्रष्टाचार गर्दा राजनीतिलाई बदनाम गर्ने, सहकारीमा लागेका केहीले कमजोरी गर्दा सहकारी क्षेत्रमाथि नै बदनाम गर्ने प्रवृत्ति गलत भएको भन्दै अंशलाई टिपेर प्रणालीमाथि नै प्रहार गर्ने प्रवृत्तिविरुद्ध सचेत हुन उनले सबैलाई आग्रह गरिन् । राष्टिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले देशभर सञ्चालित ३२ हजारमध्ये २३ हजार सहकारी स्थानीय तहकै मातहत रहेकाले सहकारीको प्रवर्धनमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताइन्। देशभरका सहकारीकर्मीमध्ये ५६ प्रतिशत महिला रहेको औल्याउँदै उहाँले यो समावेशिताको अभ्यास गर्ने महत्वपूर्ण थलो भएको र अब समाजवाद निर्माणको आधार बनाउन सकिने बताइन्।जिल्ला सहकारी संघका अध्यक्ष सुशील पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

दुई पत्रकार पुरस्कृत

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार २०२२ बाट दुई पत्रकारलाई पुरस्कृत गरेका छन् । नेपाल पत्रकार महासंघ र नेपाल(अमेरिका पत्रकार संघ (नेजा) द्वारा आज आयोजित कार्यक्रममा जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला पाख्रीनलाई यसवर्षको पुरस्कारबाट पुरस्कृत गरिएको हो। शाही ‘सन्धान अनलाइन’ र पाख्रीन ‘कान्तिपुर टेलिभिजन’मा सम्बद्ध रहेका छन् । नेजाको पहलमा स्थापित पुरस्कार राशि जनही एकलाख एघार हजार छ। पुरस्कृत पत्रकारलाई उपप्रधानमन्त्री श्रेष्ठ, महासंघका अध्यक्ष बिपुल पोखरेल, महासचिव रोशन पुरी, पूर्व अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, पत्रकार निर्मला आचार्य, नेजा अध्यक्ष सुरज भण्डारी लगायतले बधाई तथा शुभकामना दिएका थिए

कोरियन उपप्रधानमन्त्रीसँग अर्थमन्त्री महतको भेटवार्ता, कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह

मोरक्को । अर्थमन्त्री डा.प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गरे । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षिय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाईरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताए । ‘नेपाल लगानी गरेका भारतिय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतिय कम्पनी आइटीसी ईण्डिया मात्रै होइन् मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाईरहेका छन्,’ मन्त्री महतले कोरियन उपप्रधानमन्त्रीलाई भने,‘ हामीहरुले चालू आर्थिक वर्षको बजेट मार्फत् निजी क्षेत्रको लगानीलाई थप सहजिकरण गर्ने प्रयास गरेका छौं । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ । कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौं ।’ नेपाल सरकारले इज अफ डुइङ विजनेसमा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले बताउनुभयो । ‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट विजुली खरिद गर्ने निर्णय गरिसकेको छ,’ महतले भने, ‘जलविद्युत उत्पादन, प्रशारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।’ नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धीमा पनि सहयोग गर्न आग्रह गरे । ‘अहिले तपाईंहरु संघर्ष गरिरहेका देशलाई सहयोग गर्ने तहमा हुनु हुन्छ । हाम्रो देशमा पर्यटन विकासको ठूलो सम्भावना छ । तर, कमजोर सडक पूर्वाधारले समस्या भईरहेको छ,’ मन्त्री महतले भने, ‘निजी क्षेत्रले दीर्घकालनमा लाभ दिने सडक जस्ता क्षेत्रमा लगानी गर्दैनन् । कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ ।’ मन्त्री महतसँगको भेटमा कोरियन उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताए। भेटमा कोरियन अर्थमन्त्री चु क्यूङले ६० वर्षमा कोरिया प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पुर्याउने अवस्थामा पुगेको भन्दै निरन्तर प्रयास गर्दा आर्थिक वृद्धी सम्भव हुने बताए । उनले केही कोरियन लगानीमा दोहारो कर सम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गरे । जवाफमा मन्त्री महतले दोहोरो कर सम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे। मन्त्री महतले कोरियाका उपप्रधानमन्त्री महतलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरे । उपप्रधानमन्त्री चु क्यूङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथासक्य छिटो एजेण्डा तय गर्न आग्रह गरे । अर्थमन्त्री महतले १२ हजार नेपालीले काम गरिरहेको कोरियाको श्रम कानून राम्रो भएको भन्दै प्रशसा गरे । भेटमा कोरियाका अर्थमन्त्रीले नेपालका जनताको जिवनस्थर सुधार गर्न आफूहरु सबै प्रकारको सहयोग गर्न प्रतिवद्ध रहेको बताए । नेपालले जलविद्युत परियोजना निर्माणमा राम्रो प्रगती गरेपनि कमजोर प्रशारण लाइनले जलविद्युत क्षेत्रबाट प्रयाप्त लाभ लिन नसकेकाले नेपालको प्रशारण लाइन निर्माणमा लगानी गर्न आग्रह गरे । बैठकका क्रममा केरियन अर्थमन्त्रीले सन् २०३० मा कोरियाको बुसनले वल्र्ड एक्सपो आयोजना गर्न खाजेको भन्दै नेपाललाई सहयोग गर्न आग्रह गरे । इटलीको रोम, साउदी अरेबियाको रियाद र कोरियाले सन् २०३० को एक्सपो आयोजना गर्न प्रतिस्पर्धा गरिरहेका छन् । जवाफमा मन्त्री महतले एक्सपो आयोजना गर्न कोरिया सक्षम भएको भन्दै कोरियनको आवेदनलाई समर्थन गर्ने विषयमा सकारात्मक छलफल गर्ने बताए । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङलाई अर्थमन्त्री डा.महतले नेपाल वायु सेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन माग गरे। कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायु सेवा निगमलाई पनि सिधा उडान गर्न दिनु पर्ने मन्त्री महतले बताए। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको संयुक्त बैठकमा भाग लिन मोरक्कोको मराकेस पुग्नुभएका अर्थ मन्त्री महतले कोरियाली अर्थ मन्त्रीसँग साइडलाइनमा वार्ता गरे । ‘कोरियाबाट एउटा मात्रै वायूसेवा कम्पनीले उडान गर्दा कोरिया र नेपालको हवाई भाडा महँगो छ । एउटै कम्पनीले एकाधिकारले हवाई भाडा महँगो हुँदा कोरिया रहेका नेपालीहरुले अन्य देश भएर आउनु परेको छ,’ मन्त्री महतले भने,‘नेपाल वायुसेवा निगमले नयाँ विमान खरिद गरेको छ । नेपाली कम्पनीलाई पनि सिधा उडान गर्न दियो भने प्रतिस्पर्धाले हवाई भाडा घट्ने थियो । त्यसले नेपाली नागरिकका साथैं नेपाल घुम्न आउने कोरियन नागरिकलाई समेत सहज हुने थियो ।’ नेपाल वायु सेवा निगमलाई कोरियामा उडान अनुमति दिन अर्थमन्त्री महतको आग्रह पछि कोरियाका उपप्रधान तथा अर्थ मन्त्रीले कोरियाली उड्डन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उडान गर्न दिनु पर्ने विषय पुर्याउने बचन दिए । ‘तपाईंले भनेको विषयमा म सकारात्मक छु,’ अर्थमन्त्री चु क्यूङले भन्नुभयो, ‘कोरियाली सम्बन्धी निकायमा म यो विषय पुर्याउने छु ।’

इजरायलमा अलपत्र परेका विद्यार्थीलाई आज ल्याइँदै

काठमाडौं । इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका नेपाली विद्यार्थी बिहीबार आउने भएका छन् ।विद्यार्थी उद्धारका लागि जहाज पठाउन भएको ढिलाई बारे प्रधानमन्त्रीले सम्बन्धित निकायका पदाधिकारीलाई राखेर तत्काल सोधपुछ गरेका थिए । हिजो बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली विद्यार्थीको उद्धारका लागि निगमको जहाज बिहीबार बिहान २:३०बजे त्यसतर्फ प्रस्थान गरेका हो । उनीहरूलाई लिएर जहाज बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ । पहिलो चरणमा २ सय ५४ जना विद्यार्थी फर्काउन लागिएको जनाइएको छ । स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने र त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने इरानस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

बझाङमा भूकम्पको धक्का

काठमाडौं । बझाङमा गएराति भूकम्प गएको छ । १२ बजेर २२ मिनेटमा बझाङ सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो । २० जना घाइते भएका थिए । भौतिक संरचनामा क्षति पुगेको थियो ।

विश्व बैंकको वार्षिक बैठकमा अर्थमन्त्री र गभर्नर सहभागी , के भयो छलफल ?

मोरक्को । मराकेशमा जारी विश्व बैंकको वार्षिक बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहभागी भएका छन् । मराकेशमा जारी विश्व बैंकको वार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसंग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन् । उक्त बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भयो । उक्त बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तिय उपकरणहरू (विशेष इक्विटी एक्सपोजरमा) विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारी मार्फत परियोजना विकास गर्न आइएफसिले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ । अर्थमन्त्री डा. महतले नविनतम वित्तीय उपकरणहरू मार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पूँजी आकर्षित गर्न आईटी, कृषि(व्यवसाय, पर्यटन र अन्य स्टार्टअपहरू जस्ता क्षेत्रमा लगानी विविधिकरण गर्न नवीन वित्तिय उपकरणहरू परिचालन गर्नु पर्ने विषयमा जोड दिए। खासगरी विदेशी विनिमय जोखिमको कारणले आइएफसि मार्फत प्रवाह हुने कर्जाको विद्यमान लागत न्युनिकरण गर्दै निजी लगानीलाई प्रोत्साहन गर्न आएएफसिले आइडिएको सहुलियत विन्डो (निजी क्षेत्र विन्डो) लाई ब्लेन्डिङ फाइनान्सको रूपमा उपयोग गर्न साथै इक्वीटी तथा स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नु पर्ने बताए बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसदमा पेश गर्न लागेको जानकारी गराउदै कर्जा सूचना व्यवस्थापन सम्बन्धी कानून निर्माणमा आएएफसिको चासोलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाए । साथै स्थानीय मुद्रामा आधारित बन्ड मार्फत थप पुँजी परिचालन गर्ने विषयमा समेत नेपालले गरेको पहल सम्बन्धमा जानकारी गराए। अर्थमन्त्रीले आगामी कन्ट्री पाटनरसीप फ्रेमवर्कमा नेपालको निजी लगानीका प्राथमिकता र क्षेत्रगत विविधीकरण बिषय समावेश हुने विश्वास व्यक्त गरे । आइएफसिका उपाध्यक्ष पुलितीले नेपालले लगानीको प्रबर्द्धनको वातावरण सिर्जना गर्न गरेको पहलकदमीको विषयमा सह्राना गरे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्र मार्फत बाह्य पुँजी तथा लगानी परिचालन गर्न स्पष्ट कानूनी आधार रहेको बताउदै नेपाल राष्ट्र बैंकले सो प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरे । उक्त अवसरमा अर्थमन्त्री महतको आइएमएफ तथा विश्व बैंक दक्षिण पूर्व एसिया क्षेत्रका कार्यकारी निर्देशक विम्वी सायुगा र याटी कुर्नियाटीसंग द्धिपक्षीय हितका विषयमा वार्ता सम्पन्न भयो ।

चिकित्सा शिक्षा पढ्न विदेश जानुपर्ने अवस्था अन्त्य गर्छौं : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्न विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्। कागेश्वरी मनोहरा नगरपालिकाले बुधबार आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर डाक्टर, नर्स सहित स्वास्थ्य सम्बन्धी विषय पढ्नका लागि विदेश जानु पर्ने अहिलेको बाध्यता हटाउने दाबी गरे । मन्त्री बस्नेतले भने, ‘‘वर्तमान चिकित्सा शिक्षा ऐनका केही प्रावधानले मेडिकल कलेज र नर्सिङ कलेजका कोटा घटाइयो । जसका कारण स्वदेशमै पढ्न चाहने विद्यार्थीहरूले पनि बाध्य भएर पढ्नका लागि विदेश जानु परेको छ । अब ऐन चाडै परिमार्जन गरेर स्वदेशमै पर्याप्त कोटा निर्धारण गरिने छ र नेपालमै पढ्न पाइने सुनिश्चित हुनेछ ।’’ चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्रीदेखि मन्त्रिपरिषद् र राजनीतिक दलहरूका नेता समेत सहमत रहेको बताउँदै मन्त्री बस्नेतले एक जनाले अनसन बस्छु भनेर धम्की दिएकै भरमा लाखौँ विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्न नसकिने जिकिर गरे। विदेशीले समेत चिकित्सा शिक्षा पढ्न नेपाल आउन चाहिरहेको बताउनुहुँदै चिकित्सा शिक्षा ऐनका कारण अवरोध भइरहेको उनको भनाइ छ । अवरोध हटाएर नेपाललाई मेडिकल शिक्षाको हबको रूपमा विकास गर्न सकिने गरी काम भइरहेको उनले दाबी गरे । चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर मेडिकल कलेज र नर्सिङ कलेजका सिट नबढाउने हो भने अबको पाँच वर्ष भित्रै चिकित्सक र नर्स विदेशबाट आयात गर्नु पर्ने अवस्था आउन सक्ने दाबी मन्त्री बस्नेतले गर्नुभयो । उनले भने, ‘‘अहिले नै देशलाई २९ हजार नर्सको आवश्यकता छ । पढ्नका लागि विदेश जाने र काम पनि उतै गर्न थाले पछि हामीले विदेशबाट आयात गर्नु पर्ने दिन नआउलान भन्न सकिन्छ ।’’ मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि विपन्नका लागि हरेक अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गराएको केन्द्रीय अस्पतालहरूका साढे तीन हजार जनरल शय्या विपन्नका लागि निःशुल्क गराएको र अब सातवटै प्रदेश अस्पतालका शय्या पनि निःशुल्क गराउन लागेको दाबी गर्दै चार वटा प्रदेशले निःशुल्क गरिसकेको र बाँकी तीनमा पनि छिट्टै हुने जानकारी दिए। कार्यक्रममा मन्त्री बस्नेतले कागेश्वरी महोहरा नगरपालिकाका विभिन्न विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रम कागेश्वरी महोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा भएको थियो ।

इजरायलमा सम्पर्कविहीन विपीनको खोजी भइरहेको छ, मृतकको शव छिटो ल्याउने प्रयास भइरहेको छ : सरकार

काठमाडौं । सरकारले इजरायलमा सम्पर्कविहीन भएका विपीन जोशीको खोजी कार्यमा इजरायल सरकारले प्राथमिकताका साथ गरिरहेको जानकारी गराएको छ । त्यसैगरी घटनामा मृत्यु भएका १० जना विद्यार्थीको शव नेपाल छिटो ल्याउन पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएकी हुन् । “अज्ञात अवस्थामा रहनुभएका विपिन जोशीको हकमा निरन्तररुपमा उच्च प्राथमिकताका साथ खोजी गर्ने काम जारी छ,” उनले भनिन्, “मृतकको शव यथाशक्य छिटो ल्याउन प्रयास भइरहेको छ ।”

एमालेको सस्तो लोकप्रियता मोह, स्वागतका लागि धावन मार्गमै उतारे कार्यकर्ता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्नका लागि एमाले नेता रघुविर महासेठले कार्यकर्ताहरूलाई जनकपुर विमानस्थलको धावनमार्गमा उतारेका छन् । आज मधेस प्रदेशको अधिवेशन उद्घाटन गर्न गएका ओलीलाई स्वागत गर्न उनले ओलीको चाकडि गर्दै कार्यकर्ताहरू धावनमार्ग नै उतारेका हुन् । सुरक्षाकर्मीले छेक्दाछेक्दै १०, १५ जना एमाले कार्यकर्ता धावनमार्गमा प्रवेश गरेको विमानस्थलका प्रमुख भीमदत्त पन्तले जानकारी दिए । सुरक्षा चुनौति दिंदै गरीएको सो किसिमको गतिविधिबारे विमानस्थलका सुरक्षागार्डलाई स्पष्टीकरण सोधिने भएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकको प्रतिवेदन कानून समितिबाट पारित

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। मंगलबार समितिलाई उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी बुधबार समितिले पारित गरेको हो। उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताइन्। उनका अनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ। तत्कालीन प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरू कायम राख्ने तर तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरूको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको बताइन्। उनले भनिन्, ‘मनी लाउण्डरिङको विषयमा छलफल भयो र त्यसमा उपसमितिले हिजो नै प्रतिवेदन बुझाएको थियो। उपसमितिले बुझाएको प्रतिवेदनमा थप छलफल गर्नुपर्ने विषयहरूमा छलफल गरेका छौं। अरू विषय उपसमितिले जे बुझाएको छ, त्यो नै विषय पास गर्‍यौं र सहकारीको विषयमा विधेयकको दफा १८ को उपदफा २ झिक्ने वा सहकारी ऐन, २०७४ को दफा ५२ मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रस्ताव भएको विषय हटाउने।’ उनले अगाडि भनिन्, ‘क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटर कि ३ किलोमिटर गर्ने भन्ने विषय थियो, त्यो विषयमा तत्कालीन प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरूको सन्दर्भमा त्यो कायम राख्ने र तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरूले अब तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने। अब बन्ने नयाँ क्यासिनोहरूको हकमा ५ किलोमिटरको सीमा कायम गर्ने।’ समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले विधेयक समितिमा अड्काएर राख्न नहुने बताए।

इजरायल-प्यालेस्टाइ युद्ध : राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले भ्रमण स्थगित गरेका हुन् । मध्यपूर्व र पश्चिम एसियमा बढेको तनावका कारण गुटेरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । महासचिव गुटेरेस नेपाल हुँदै चीन जाने कार्यक्रम रहेकामा त्यो पनि हाललाई रोकिएको छ । राष्ट्रसंघका महासचिव गुटेरेसले यही असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल भ्रमण गर्ने तय भएको थियो । गुटेरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने समेत तय भइसकेको थियो । केही समयमै गुटेरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सुनको मूल्य बढ्यो, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन एक लाख आठ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन तोलामा एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड र स्वीट्जरल्याण्डका राजदूत मेउलीबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि स्वीट्जरल्याण्डका नवनियुक्त राजदूत डेनियल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न राजदूत मेउली आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् । भेटको सो अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो ।

आन्दोलनरत कर्मचारीलाई वार्ताका लागि आह्वान

काठमाडौं ।आन्दोलनरत स्थानीय तहका कर्मचारीहरूलाई सरकारले वार्ता गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार कर्मचारीका मागमा उपयुक्त निकास निकाल्न मन्त्रालय सकारात्मक रहेको भन्दै वार्ताका लागि आह्वान गरेको हो । तर आन्दोलनरत कर्मचारीले वार्ताका लागि औपचारिक रूपमा आफूलाई पत्राचार हुनुपर्ने अडान राखेका छन् । मन्त्रालयले विज्ञप्तिमार्फत वार्ताको आह्वान गरेको हो । ‘स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उपयुक्त निकास निकाल्न मन्त्रालय सकारात्मक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कतिपय नीतिगत विषयहरू सम्बोधन भइसकेको र सम्बोधन हुन नसकेका विषयमा थप छलफलबाटै समस्याको सम्बोधन गर्न सकिने भएकाले हाल भइरहेको विरोध प्रदर्शनलाई स्थगन गरी छलफल र संवादमा आउन तथा आ–आफ्नो कार्यस्थलमा फर्की आमनागरिकमा सेवा प्रवाह सुचारु गर्न मन्त्रालयसम्बद्ध सबैमा अनुरोध गर्दछ ।’ संघीय निजामती सेवा विधेयकमा समावेश प्रावधानले आफूहरूलाई असर गर्ने भन्दै संशोधनको माग राखी उनीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले एक सातादेखि माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै आएका छन् । सोमबार संघीय मामिलामन्त्रीसँग छलफल भए पनि सकारात्मक नभएपछि उनीहरूले मंगलबार पनि आन्दोलनलाई निरन्तरता दिए । प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहबाटै हुुनुपर्ने, अन्तर तहका कर्मचारीको सरुवामा दोहोरो सहमतिको प्रावधान हटाउनुपर्ने, वृत्ति विकास तथा सरुवाका प्रावधान हेरफेरलगायत २० बुँदे माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।