मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सक्दैनौ : बहादुर सिंह लामा

काठमाण्डौँ । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले अहिलेकै अवस्थामा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ लाई विश्वासको मत प्रदान गर्न सक्ने अवस्था नरहेको बताएका छन् । आफ्ना मागहरूमा तत्काल सहमति नजुटेको भन्दै विश्वासको मतबारे निर्णयमा पुग्न नसकेको बताएका हुन् ।

आफ्ना पक्षका १४ जना सांसदसँगको छलफल काठमाडौँमा जारी रहेको र विश्वासको मत प्रदान गर्ने विषयमा निचोडमा पुग्न बाँकी रहेको उनको भनाई छ । छलफल निरन्तर जारी रहेको र अझै केही समय लाग्ने उनले बताए । छलफलको निष्कर्षअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने तथा अन्य कुनै विकल्पमा अघि बढ्ने उनको भनाइ छ ।

‘हामी निष्कर्षमा पुगेका छैनौँ। हाम्रो छलफल जारी नै छ। केही माननीय ज्यूहरूले अपमानित भएको महसुस गर्नुभएको छ । तत्काल विश्वासको मत प्रदान गर्ने अवस्था उहाँहरूले देखाउनु भएको छैन यसै भन्ने अवस्था छै,’ उनले भने । सांसद तीर्थ लामाका अनुसार काठमाडौँ रहेर सरकार र पार्टीको निर्देशनका विषयमा छलफल भइरहेको छ । सबै सांसदले आफ्नो धारणा राखिराख्नु भएकाले निष्कर्ष आउन अझै केही समय लाग्ने उनले बताए ।

निवर्तमान मुख्यमन्त्री लामा पक्षले आफ्ना तीन जना मन्त्री सरकारमा नियुक्त गरी शपथ ग्रहण गराउनुपर्ने माग राख्दै आएको छ। उक्त विषयमा लामा पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई समेत ध्यानाकर्षण गराइसकेको जनाएको छ । देउवा बाट माग सम्बोधन हुने आश्वासन पाए पनि उनीहरू काठमाडौँमा छलफलमा रहेका हुन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाले मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने कार्यसूची रहेको छ। गत साउन २० गते एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकारको नेतृत्व गरेका बानियाँलाई सरकार टिकाउन ५६ सांसदको आवश्यकता पर्छ। 

बागमती प्रदेश सभामा ११० सांसदमध्ये प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको २१ राप्रपाको १३ एकीकृत समाजवादीको ७ नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन्।

गाउँपालिका अध्यक्ष संरक्षक बनेर ७२ वर्षीया ठकुरीलाई नागरिकता प्रमाणपत्र प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीया दुर्गा ठकुरीलाई नागरिकता प्रमाणपत्र प्रदान गरिएको छ । लामो समयदेखि पहिचानविहीन रहेकी ठकुरीलाई गाउँपालिकाको पहलमा नागरिकता दिलाइएको हो । गाउँपालिका अध्यक्ष शुक्र चुमान संरक्षक बनेर उनलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष दिनेश केसीले बताए । “लगभग ७० वर्षअघि आँबुखैरेनी आएकी दुर्गाको परिवारबारे कसैलाई जानकारी छैन । सबैले उनलाई दुर्गा ठकुरीका रूपमा चिन्थे । नागरिकता नहुँदा पहिचानविहीन भएकी उनलाई नागरिकता प्रदान गर्न हामीले सहजीकरण गरेका हौँ,” केसीले भने । उनका अनुसार, सबै आवश्यक प्रक्रिया पूरा गरी सोमबार जिल्ला प्रशासन कार्यालयमा ठकुरीलाई नागरिकता प्रदान गरिएको हो । “उनी कोसँग यहाँ आएकी थिइन्, उनको परिवार को हो भन्ने कसैलाई थाहा छैन । खैरेनीमा ‘सिङ्गापुरे लाहुरे’ भनेर चिनिने घरमा उनले ४० वर्ष बिताइन्,” केसीले थपे । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बाबुआमाको पहिचान नखुले पनि आवश्यक प्रक्रिया पूरा गरी ठकुरीलाई नागरिकता प्रदान गरिएको जानकारी दिए ।

उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध उड्याे

कञ्चनपुर । आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ । गाडीमार्फत ल्याइएको उक्त गिद्धलाई पिँजडाबाट छाडेपछि पखेटा खोल्दै आकासमा उडेको दृश्य दुर्लभ थियो । “टाउको झोक्राएको, हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको गिद्धलाई कैलालीको लम्की चुहास्थित लालीगुराँस सामुदायिक वनबाट उद्धार गरेका थियौँ”, सबडिभिजन वन कार्यालय पहलवानपुरका वन अधिकृत शेरबहादुर भण्डारीले भने, “गिद्धको अवस्था हेर्दा बाँच्ला जस्तो लागेकै थिएन, उपचारसँगै स्याहारसुसार र आहारमा ध्यान दिइएपछि तन्दुरुस्त भयो ।” गिद्धलाई निकुञ्जको सुरक्षित स्थानमा लगेर छाड्दा दुई–तीन पाइला हिँड्दै उडेको देखेर निकै खुसी लागेको उनले बताए । “उडेको दृश्य निकैबेर नियाल्यौँ”, उनले भने, “केही बेरको उडानपछि गिद्ध अस्नाको रुखमा पखेटा फिँजाउँदै बसेको दृश्य क्यामेरामा कैद गर्न भ्यायौँ ।” सामुदायिक वनका पदाधिकारीले वन क्षेत्रमा गत साउन १९ गते बिरामीको अवस्थाको गिद्ध देखापरेपछि डिभिजन वन कार्यालय कैलालीमा खबर गरेका थिए । त्यसपछि गिद्धको उद्धार गरी उपचार गरिएको थियो । बिरामी परेको गिद्धको बर्दिया राष्ट्रिय निकुञ्जस्थित प्रकृति संरक्षण कोष (एनटिएनसी) का भेटेरिनरी चिकित्सक विकल्प कार्कीसहितको टोलीले आठ दिनसम्म उपचार गरेका हुन् ।  पूर्वी नवलपरासीको जटायु रेष्टुराँबाट प्राकृतिक विचरणका लागि उडेको गिद्ध भारतका विभिन्न बस्ती हुँदै कैलालीको लम्की पुगेर बिरामी परेका अवस्थामा फेला परेको नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) का चरा विज्ञ हिरुलाल डगौराले बताए ।  वर्षात्काे समयमा झुन्डबाट छुट्टिएर लामो दूरी तय गर्दा अर्ध वयस्क सानो खैरो गिद्ध पर्याप्त पानी, आहारा नपाउँदा रगतको कमी भई बिरामी परेको हुनसक्ने उनले बताए । गिद्धको बाह्य चोटपटक लागेको भने नरहेको उनले जानकारी दिए।   “गत असार २७ गते नवलपुरबाट उडेको गिद्ध सुरुको पाँचदेखि सात दिनसम्म कपिलवस्तुको गैडहवा वन तथा रेस्टुरेन्ट क्षेत्रमै विचरण गरेको पाइएको छ”, उनले भने, “त्यसपछि गिद्धले कपिलवस्तुको गैडहवाबाट विचरणका लागि भारतको बहराइच, लखिमपुर, टिकुलिया, सीमावर्ती क्षेत्र भजनी हुँदै मसुरियासम्म पुगेर फर्किने क्रममा लाँलीगुरास वनमा बिरामी अवस्थामा फेला परेको हो ।” गिद्धको खुट्टामा लगाइएको रातो स्याटेलाइट टयाग ‘जे १६’ ले उक्त गिद्धले पूर्वी नवलपरासीको जटायु रेष्टुरेन्टबाट उडान भरेको पुष्टि भएको चरा विज्ञ डगौराले बताए ।  नेपाल पक्षी संरक्षण सङ्घको तथ्याङ्कअनुसार विगत केही वर्षअघि रेष्टुरेन्टकै एक डङ्गुर गिद्धले भारतको पश्चिमी क्षेत्रसहित पाकिस्तानसम्म विचरणका लागि उडान गरेको थियो । नेपाल पक्षी संरक्षण सङ्घ र सबडिभिजन वन कार्यालय लम्कीको टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गिद्धलाई सुरक्षित क्षेत्रमा छाडेको डगौराको भनाइ छ । “गिद्ध उपचारपछि स्वस्थ र तन्दुरुस्त छ”, उनले भने, “पुनः पुरानै वासस्थानमा फर्कनेमा विश्वस्त छौँ ।” गिद्धमा जडान गरिएको रेडियो कलरको सहायताले जिपिएस ट्र्याकिङ गरी अवस्थाबारे अध्ययनको कार्य निरन्तर जारी रहने उनले उल्लेख गरे । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले यस प्रजातिको गिद्धलाई अति सङ्कटापन्नको सूचीमा सूचीकृत गरेको छ । 

सौर्यबत्तीले उज्यालो कञ्चनपुरकाे भीमदत्तनगर

कञ्चनपुर । भीमदत्त नगरपालिकाले मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि नगर क्षेत्र झिलिमिली बनेको छ ।  पहिलो चरणमा पूर्व–पश्चिम राजमार्गको भासीदेखि महेन्द्रनगर बजारसम्म ११५ वटा सडक बत्ती जडान गरिएको नगर प्रवक्ता पदमराज अवस्थीले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा राजमार्गको गड्डाचौकीसम्म सौर्यबत्ती विस्तार हुनेछ । पालिकाले १९ वटै वडामा सौर्यबत्ती जडान गर्ने लक्ष्य राखेको छ । पहिलो चरणको लागि ६९ लाख ७४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको र दोस्रो चरणमा २२ लाख ८२ हजार ४२० रुपैयाँमा सम्झौता भई गड्डाचौकीदेखि भुजेलासम्म ३० वटा बत्ती जडान भइसकेको नगरपालिकाले जनाएको छ । एसियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगर बजार आधुनिकीकरण गरिएको हो । एक अर्ब रुपैयाँको लगानीमा आधुनिक सडक निर्माणसँगै नगरका मुख्य सडकमा ७७६ वटा लाइट र बजार क्षेत्रमा आठ वटा ‘हाइमास्टलाइट’ जडान गरिएको सब–इन्जिनियर पवन लेखकले बताए । बजार सौन्दर्यीकरणका लागि गल्लीमा रहेका बिजुलीका खम्बा र टेलिफोनका तारलाई पछाडि सार्ने काम भइरहेको उनले जानकारी दिए । राजमार्गसहित नगर क्षेत्रमा बत्ती जडान भएपछि विद्यार्थी, यात्री र सवारीसाधनलाई यात्रा गर्न सहज भएको छ ।  स्थानीय गणेश भट्टका अनुसार अँध्यारो सडकमा आवतजावत कठिन भए पनि अहिले दुर्घटनाको जोखिम समेत कम भएको छ । उनले जडान भएको बत्ती बिग्रिएमा समयमै मर्मत गर्न पालिकाले ध्यान दिनुपर्नेमा जोड दिए ।

देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौं । देशभर अहिलेसम्म ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशत बढी हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार देशभर करिब १२ लाख ५४ हजार हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभर खेतीयोग्य धानको क्षेत्रफल करिब १४ लाख हेक्टर छ । प्रदेशगत विवरणअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी ९९.७ प्रतिशत, कर्णाली र लुम्बिनीमा ९८ प्रतिशत रोपाइँ भएको छ । भदौ दोस्रो सातासम्म यो दर ९८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । मधेस प्रदेशमा भने सबैभन्दा कम ७६ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यतिखेर मधेसमा ९७ प्रतिशत रोपाइँ भएको थियो । मनसुन ढिला सक्रिय हुनु र पर्याप्त वर्षा नहुँदा यहाँ रोपाइँ प्रभावित भएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । उनका अनुसार धान उत्पादन र क्षेत्रफलका हिसाबले तराई क्षेत्र देशकै प्रमुख मानिन्छ । तराईबाट कुल उत्पादनको ७० प्रतिशत धान उत्पादन हुने गर्छ भने बाँकी ३० प्रतिशत पहाडी क्षेत्रबाट आउँछ । आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष करिब ६० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान छ, जसबाट करिब ३५ लाख मेट्रिक टन खानयोग्य चामल बन्नेछ । मौसमको प्रतिकूलता, प्राकृतिक विपत्ति, अतिवृष्टि वा अनावृष्टिले कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको जोशीले बताए । तर, नवीनतम ज्ञान, सीप, प्रविधि र उन्नत जातका बीउ प्रयोग बढेकाले यस वर्ष उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।

मध्यबर्खामै कालीगण्डकी दोहन, स्थानीय निकाय मौन

बागलुङ । असारदेखि भदौ १५ सम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा अवैध दोहन रोकिएको छैन् । स्थानीयका अनुसार दर्जनौँ स्थानमा राति स्काभेटर र टिपर प्रयोग गरी बालुवा निकाल्ने कार्य भइरहेको छ । शनिबार राति मात्र बागलुङ–१० स्थित भाटेखोला बगरमा स्काभेटरले बालुवा निकाल्दा पाँच टिपरले ढुवानी गरिरहेका थिए । कालीगण्डकी बचाउ अभियानका संयोजक आरके अदिप्त गिरीका अनुसार दब्ल्याङ, कालाखोला, खनियाघाटलगायत क्षेत्रमा दोहन व्यापक छ । पर्वत खण्डमा अझ बढी दोहन भइरहेको उनले बताए । गिरीले अवैध उत्खननले शालिग्राम शिला समेत सङ्कटमा परेको र कालाखोला बगर कटान भइसकेको उल्लेख गर्दै प्रहरी प्रशासन र स्थानीय तहको मौनताले दोहनलाई प्रश्रय दिएको आरोप लगाए । ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ अनुसार नदी किनारबाट ५०० मिटर टाढा मात्रै उत्खनन गर्न पाइन्छ, तर नदीको बीचभागमै दोहन भइरहेको छ । यसले माझी बस्ती, मालढुङ्गा र कालाखोला बगर क्षेत्रका घरहरू बाढीको उच्च जोखिममा पारेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले दोहन रोक्न नसकेको स्वीकार गर्दै सादा पोसाकमा प्रहरी परिचालन गर्ने योजना रहेको बताए ।

नर्वेले ल्यायो गाडी गुड्दा-गुड्दै चार्ज हुने सडक: विद्युतीय यातायातमा क्रान्तिकारी कदम

काठमाडौँ । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न नर्वेले नवीन र क्रान्तिकारी कदम चालेको छ। सन् २०२५ भित्र पेट्रोल र डिजेलबाट चल्ने गाडी पूर्णरूपमा हटाउने लक्ष्य राखेको नर्वेले गाडी गुड्दा-गुड्दै चार्ज हुने ताररहित सडक निर्माण गरेर विश्वभर चर्चा कमाएको छ। नर्वेको ट्रन्डहाइम सहरमा हालै सञ्चालनमा आएको यो ताररहित चार्जिङ सडक अहिले परीक्षणको चरणमा छ। बेलायतबाट प्रकाशित हुने अनलाइन हाइवेज इन्डस्ट्रिज् डटकमका अनुसार, करिब एक सय मिटर लामो यो सडकमा तामाका क्वाइल जडान गरिएको छ, जसले विद्युत चुम्बकीय क्षेत्र सिर्जना गरी विशेष रिसिभर जडित गाडीमा ऊर्जा पठाउँछ। यसले गाडी गुडिरहँदा नै चार्ज हुने सुविधा प्रदान गर्छ। विद्युतीय यातायातमा नर्वेको अग्रणी नीति नर्वेले विद्युतीय सवारी साधन (इभी) को प्रयोग बढाउन विभिन्न नीतिहरू लागू गरेको छ। निःशुल्क पार्किङ, कम शुल्क, बस लेनमा सवारी चलाउन दिने सुविधा, गाडीमा कर छुट, सडक कर मिनाहा, र सार्वजनिक चार्जिङ स्टेशन प्रयोगमा अनुदानजस्ता नीतिहरूले इभीको लोकप्रियता बढाएको छ। साथै, ग्रामीण भेगसम्म चार्जिङ स्टेशन विस्तार गर्न ठूलो लगानी गरेको नर्वेले पूर्वाधार विकासमा समेत जोड दिएको छ। यो ताररहित चार्जिङ सडक परियोजना विशेषगरी सार्वजनिक यातायातका विद्युतीय बसहरूका लागि पाइलट परियोजनाको रूपमा सुरु भएको हो। यसमा चीनका युतोङ र हाइगर कम्पनीका बसहरू प्रयोग गरिँदैछ। बसहरू गुड्दा-गुड्दै चार्ज हुने भएकाले लामो समय रोकेर चार्ज गर्नुपर्ने आवश्यकता हट्नेछ। यसले सार्वजनिक यातायातलाई थप कार्यक्षम बनाउनुका साथै कार्बन उत्सर्जन घटाउन मद्दत गर्नेछ। ट्रन्डहाइमको हिउँदमा पनि प्रभावकारी हुने अपेक्षा ट्रन्डहाइमको हिउँद मौसममा यो प्रणालीले प्रभावकारी रूपमा काम गर्न सक्छ कि सक्दैन भन्ने परीक्षणको मुख्य उद्देश्य हो। यदि यो प्रविधि सफल भएमा, यो अन्य चिसो मौसम भएका देश वा सहरहरूमा पनि विस्तार गर्न सकिने अपेक्षा गरिएको छ। नर्वे सरकारले यस परियोजनामा २ करोड २४ लाख नर्वेजियन क्रोन (करिब २.१२ मिलियन अमेरिकी डलर) लगानी गरेको छ। ट्रन्डलाग काउन्टी काउन्सिलका यातायात निर्देशक कोनराड प्यूट्जले परीक्षण सफल भए सन् २०२९ सम्म यस्ता नयाँ बसहरू खरिद गरिने बताएका छन्। सम्भावना र चुनौतीहरू यो प्रविधिले विद्युतीय सवारी साधनको ब्याट्री सानो बनाउन, लागत घटाउन, र चार्जिङ स्टेशनको आवश्यकता कम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। विशेषगरी लामो दूरीको यात्रा र ठूला सवारी साधनका लागि यो प्रणालीले विद्युतीय यातायातलाई थप व्यवहारिक बनाउने अपेक्षा गरिएको छ। यद्यपि, यो परियोजनासँग केही चुनौतीहरू पनि छन्। हाइवेज इन्डस्ट्रिज् डटकमका अनुसार, एक सय मिटर सडक निर्माण गर्न मात्रै २.१२ मिलियन अमेरिकी डलर खर्च भएको छ। थप निर्माण र मर्मतका लागि पनि ठूलो रकम आवश्यक पर्नेछ। साथै, यो प्रणालीको दीर्घकालीन विश्वसनीयता अझै प्रमाणित हुन बाँकी छ। विद्युतीय यातायातको भविष्यतर्फ साहसी कदम नर्वेले सन् २०२५ भित्र पेट्रोल र डिजेल गाडी चरणबद्ध रूपमा हटाउने लक्ष्य राखेको छ। यो ताररहित चार्जिङ सडक परियोजनाले नर्वेलाई विद्युतीय यातायातको क्षेत्रमा विश्वमै अग्रणी बनाएको छ। हाइवेज इन्डस्ट्रिज्ले यो परियोजनालाई विद्युतीय यातायातको भविष्यतर्फ एक साहसी कदमको रूपमा उल्लेख गरेको छ। यो प्रविधिको सफलताले विश्वभरका अन्य देशहरूलाई पनि यस्तै नवीन समाधानतर्फ प्रेरित गर्न सक्छ। (एजेन्सीको सहयोगमा तयार सामग्री)

सङ्घीय संसद्को दुवै सदनको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज मङ्गलबार बस्दैछ । प्रतिनिधिसभा बैठक अपराह्न १ बजे र राष्ट्रियसभा बैठक अपराह्न १:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्नेछन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्नेछन् । यस्तै, राष्ट्रियसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ पेस गर्नेछन् । दुवै सदनमा संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति शोक प्रस्ताव पारित गरी श्रद्धाञ्जली अर्पण गरिनेछ ।

सरकार भ्रष्टाचारी संरक्षणमा छ: उपाध्यक्ष श्रेष्ठ

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न गठन भएको आरोप लगाएका छन् ।  कञ्चनपुरको महेन्द्रनगरमा प्रेस सेन्टर नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो सरकार भ्रष्टाचार, छलकपट र यथास्थितिको पक्षपोषक भएको बताए । पूर्वउपप्रधानमन्त्री तथा गृह र परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले अघिल्लो माओवादी नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारविरुद्ध कदम चाल्दा त्यसलाई रोक्न एमाले र कांग्रेसको गठबन्धन सरकार बनेको दाबी गरे । “हाम्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विकास र सुशासन दिन खोज्दा ढालियो,” उनले भने । उनले देशमा सामाजिक-आर्थिक रूपान्तरण र संविधानको रक्षाका लागि सुशासन अपरिहार्य रहेको बताउँदै सबै वामपन्थी शक्तिहरूलाई एकजुट हुन आह्वान गरे । नेकपा (विप्लव), समाजवादी, जसपासहितका शक्तिहरूसँग समाजवादी मोर्चा पुनर्जननको छलफल भइरहेको उनले जानकारी दिए । मंगलबार भीमदत्त नगरको माओवादी अधिवेशन उद्घाटन गर्न कञ्चनपुर पुगेका श्रेष्ठले दोधाराचाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाहको अनुगमन पनि गरे । माओवादी सरकारको परिकल्पनामा पश्चिम नेपालबाट विकासको योजना अघि बढाइएको भए पनि अहिले यो योजना ओझेलमा परेको उनको भनाइ छ । उनले दिगो विकासका लागि यस्ता योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । श्रेष्ठ धनगढी विमानस्थल हुँदै हुलाकी राजमार्गको पुनर्वास, बेलौरी, बेलडाँडी क्षेत्र भएर महेन्द्रनगर आउने र स्थानीय जनता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । मंगलबार उनले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यालयबाट भीमदत्त नगरको सम्मेलन उद्घाटन गर्नेछन् ।

महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–४, खेश्राहामा सोमबार करेन्ट लागेर ६५ वर्षीय मोकदम रायको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार, राय खेतमा पानी हाल्न विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । शवलाई अनुसन्धान र पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ । योसँगै महोत्तरीमा असार र साउन महिनामा करेन्ट लागेर तीन जनाको मृत्यु भइसकेको छ । गत असार २२ गते औरही नगरपालिका–७, भोइल टिमकीयामा सडकको कल्भर्ट निर्माण गर्ने क्रममा ३२ वर्षीय छटु मुखियाको बिजुलीको तार चुडिएर करेन्ट लाग्दा मृत्यु भएको थियो ।  त्यस्तै, गत साता सम्सी गाउँपालिका–५, पोखरभिण्डामा १६ वर्षीय अमित यादवको खेतमा मोटर जोड्ने क्रममा करेन्ट लागेर उपचारको क्रममा मृत्यु भएको थियो ।

महोत्तरीमा बाढीले बगाउँदा एकको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको बलवा नगरपालिका–३ वदियास्थित रातु नदीमा आइतबार आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–३, डाम्हीका ३५ वर्षीय चन्दन ठाकुर रहेका छन्, स्थानीयवासीले जानकारी दिएका छन् । बाढी आएको बेला उनी झोलुँगे पुल तर्ने क्रममा एक्कासि नदीमा खसेका थिए । ठाकुर साइकलमा ट्याक्टरको डिजेल ल्याउन पडौल गएका थिए । डिजेल लिएर डाम्हीस्थित घर फर्किने क्रममा रातु नदीले उनलाई बगाएको स्थानीय युवा राजकुमार साहले बताए । उनका अनुसार, उत्तरतर्फ परेको भारी वर्षाको कारण नदीमा बाढी आएको हो । साहका अनुसार, पानीको बहाव अत्यधिक रहेकाले स्थानीयवासीहरूले पुल पारी नगर्न चेतावनी दिएका थिए । तर ठाकुर साइकल पिठ्युँमा बोकेर पुल पार गर्ने क्रममा लडेका थिए । “पुलबाट साइकलसहित खसेका उनलाई तत्कालै उद्धार गर्ने प्रयास गरिए पनि तेज बहावका कारण बचाउन सकिएन,” साहले भने । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार, ठाकुरको शव प्रादेशिक अस्पताल जलेश्वरमा पोस्टमार्टम गरेर सोमबार परिवारलाई जिम्मा लगाइएको छ । 

माथिल्लो मर्स्याङ्दी-'ए' जलविद्युत् आयोजनाबाट तीन अर्ब युनिट विद्युत् उत्पादन

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-८, भुलभुलेमा सञ्चालित ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-'ए' जलविद्युत् आयोजनाले तीन अर्ब युनिट (किलोवाट-घण्टा) भन्दा बढी विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ । चीनको सिनो हाइड्रोपावर कम्पनी ९० प्रतिशत र नेपाली सगरमाथा पावर कम्पनी १० प्रतिशनको लगानीमा सन् २०१३ मा निर्माण सुरु भएको यो आयोजनाले सन् २०१६ को सेप्टेम्बरबाट विद्युत् उत्पादन थालेको थियो । व्यवसायिक उत्पादन भने सन् २०१७ जनवरी १ बाट सुरु भएको हो । आयोजनाका उत्पादन प्रविधि विभाग प्रमुख तोङ चियाङ्पोले वार्षिक ३३.५ करोड किलोवाट-घण्टा उत्पादनको लक्ष्य राखिएकोमा आयोजनाले ३७.३ करोड किलोवाट-घण्टा उत्पादन गरेको बताए ।  सन् २०२४ मा ३७.४ करोड युनिट विद्युत् उत्पादन गरी वार्षिक लक्ष्यको १०७ प्रतिशत र सम्झौता उत्पादनको ११७.१ प्रतिशत उपलब्धि हासिल भएको आयोजनाले जनाएको छ । रन–अफ–रिभर प्रकारको यो आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ, पोखरालगायत क्षेत्रमा आपूर्ति हुँदै आएको छ । यसले सुख्खायामको विद्युत् अभाव न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । आयोजनाका दोभाषे दयाराम दहालले विगत आठ वर्षमा आयोजनाले सुरक्षा र उत्पादनमा उत्कृष्ट प्रदर्शन गरेको बताए । नेपाल विद्युत् प्राधिकरणसँग सन् २०५२ सम्मका लागि प्रति युनिट ७ सेन्ट (करिब ७ रुपियाँ) मा खरिद-बिक्री सम्झौता (पिपिए) भएको छ । करिब १६ अर्ब रुपियाँ लागतमा निर्मित यो आयोजनाले २० किलोमिटर लामो १२५ केभी प्रसारण लाइन निर्माण गरेको छ । आयोजनाले स्थानीय विकासमा पनि योगदान पुर्‍याएको छ । ३४० मिटर लामो सुरुङ मार्ग, मर्स्याङ्दी नदीमा बेलिब्रिज र विभिन्न स्थानमा सडक निर्माण गरिएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सुरुङ मार्गले स्थानीय आवतजावत र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको बताए ।

सुनसरीमा बस र माइक्रो ठोक्किँदा तीन जनाको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ३ र ६ को सिमानामा पर्ने बलुवा चौकमा सोमबार बिहान भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।  प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गमा बस र माइक्रो एकआपसमा ठोक्किँदा माइक्रोमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको माइक्रो र काकडभिट्टाबाट आउँदै गरेको बस आपसमा ठोक्किएर भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार दुर्घटनामा १२ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।  घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पूर्व उपप्रधानमन्त्रीद्वय श्रेष्ठ र यादवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।  पूर्व उपप्रधानमन्त्रीद्वय श्रेष्ठ र यादवको यो भेटवार्ता आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भएको हो । उक्त भेटवार्तामा देशको वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।  ‘संघर्षशील शक्तिहरुले यथास्थितिमा आफूलाई नराखेर देशको अहिलेको परिस्थितिलाई सम्बोधन गर्न र सकारात्मक निकास दिन नयाँ पहलकदमी लिनुपर्ने आवश्यकताका बारेमा नयाँ सिराबाट अगाडि बढ्ने विषयमा छलफल भयो,’ श्रेष्ठको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । सचिवालयका अनुसार, सबैले आ–आफ्ना कमजोरीका लागि आत्मालोचना गर्दै अहिलेको सन्दर्भमा एकताबद्ध भूमिकाको दिशामा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि ध्यान केन्द्रित गरिएको छ ।

तनहुँकाे भानु नगरपालिकाद्वारा गुन्द्रुक ब्राण्डिङ गर्ने

तनहुँ । भानु नगरपालिकाले ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने योजना बनाएको छ ।  नगर प्रमुख आनन्दराज त्रिपाठीका अनुसार कृषिमा रूपान्तरण, आर्थिक विकास र सूचना प्रविधिको प्रयोग परियोजनाअन्तर्गत यो योजना अघि बढाइएको हो । इलामको रोङ गाउँपालिकाको अध्ययन भ्रमणबाट प्रेरित भई स्थानीय उत्पादनलाई नवीन ढंगले बजारीकरण गर्ने नीति बनाइएको उनले बताए । गुन्द्रुकको उत्पादन, प्रशोधन र बजारीकरणमा आधुनिक प्रविधि र व्यवस्थापन प्रणाली प्रयोग गरिनेछ । स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि, उत्पादनमा गुणस्तर एकरूपता, आकर्षक प्याकेजिङ र लेबलिङ, ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण, उत्पादन ट्रयाकिङ, अनलाइन बिक्री, डिजिटल मार्केटिङ र क्यूआर कोडमार्फत स्रोत पहिचानजस्ता कार्य गरिने नगरपालिकाले जनाएको छ । नगर प्रमुख त्रिपाठीले गाउँको जीवनशैली, संस्कृति र आत्मीयता हाटबजारमा झल्कने र यसले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै किसान र उपभोक्ताबीचको सम्बन्ध सुदृढ गर्ने बताए ।  यो योजनाले भानुलाई गुन्द्रुक उत्पादनको केन्द्र बनाउँदै किसानको आम्दानी वृद्धि र रैथाने खेतीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सोमबार बिहान बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल मणिग्राममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा नगरपालिका–१४ तीनधुराको भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका भुसालको उपचारका लागि क्रिमसन अस्पताल पुर्‍याइने बित्तिकै उनको मृत्यु भएको प्रहरीको भनाइ छ । पानी परेकाले सडक चिप्लो भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।