यस्ताे छ, आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

अस्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ५० पैसा, क्यानाडियन डलरको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, युरोको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा तथा पाउन्ड स्टर्लिङको खरिददर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर संशोधन गर्न सकिने र वाणिज्य बैंकले तोक्ने दर फरक पर्न सक्ने जनाएको छ । अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुन्छ ।
 

'टंकमणि साहसी योद्धा हुनुहुन्थ्यो,जनयुद्धमा अतुलनीय भूमिका खेल्नुभयो' : अध्यक्ष प्रचण्ड

बुटवल। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद स्मृति प्रतिष्ठान, रूपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’को शालिक अनावरण गर्नुभएको छ। आइतबार बुटवलस्थित प्रतिष्ठानको कार्यालय परिसरमा आयोजित समारोहमा अर्धकदको शालिक अनावरण गरिएको हो। सोही अवसरमा ‘टंकमणि: एक क्रान्तिबीज’ पुस्तकको पनि विमोचन गरिएको छ। कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको सफलतामा टंकमणिको नेतृत्वमा सप्लाई विभागले खेलेको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्नुभयो। उहाँले टंकमणिले जोखिमपूर्ण जिम्मेवारी बहन गर्दै दशवर्षे जनयुद्धलाई सफल बनाउन विशेष योगदान दिएको बताउनुभयो। “टंकमणि साहसी योद्धा हुनुहुन्थ्यो, जनयुद्धमा अतुलनीय भूमिका खेल्नुभयो,” प्रचण्डले भन्नुभयो। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई समग्र समाजका नेता भएको उल्लेख गर्नुभयो। उहाँले उपमहानगरले परिवर्तनका लागि लडेका योद्धाहरूको सम्मानमा सधैं कदर गर्ने र सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पाण्डेले कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित भए पनि केन्द्रमा गठबन्धन भत्किए पनि स्थानीय तहमा गठबन्धनको मर्मअनुसार काम भइरहेको स्पष्ट पार्नुभयो। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ति, पूर्वमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेता–कार्यकर्ताहरूको उपस्थिति थियो। स्वर्गीय टंकमणिको २०७८ मंसिर ८ गते सवारी दुर्घटनामा निधन भएको थियो।

प्रधानमन्त्री ओली चीनमै रहेका बेला मोदी-सीबीच लिपुलेकबारे अर्को आपत्तिजनक सहमति

काठमाडौं । नेपाली भूमि लिपुलेक पासबाट ब्यापार गर्ने भारत र चीनबीचको सहमतिको विरोध गरेकै भोलिपल्ट फेरि दुई देशले कैलाश मानसरोवर यात्रा पुनरारम्भ गर्ने अर्को सहमति गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा पुनरारम्भ गर्ने सहमति भएको छ। यो सहमति शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको साइडलाइनमा तियानजिन, चीनमा भएको द्विपक्षीय भेटवार्तामा भएको हो।  प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेकै अवस्थामा यो सहमति हुनुले नेपाललाई कूटनीतिक रूपमा बेवास्ता गरेको  देखिएको छ। कैलाश मानसरोवर यात्रा परम्परागत रूपमा नेपाली भूमि लिपुलेक पास हुँदै तिब्बतको कैलाश मानसरोवर क्षेत्रमा पुग्ने मार्गबाट सञ्चालन हुँदै आएको छ।  सन् २०२० मा भारतले लिपुलेक हुँदै सडक निर्माण गरेपछि र भारत-चीनबीच यो क्षेत्रलाई व्यापारिक मार्गको रूपमा प्रयोग गर्ने सम्झौता भएपछि नेपालले गम्भीर आपत्ति जनाएको थियो। त्यसयता कैलाश मानसरोवर यात्रा कोभिड-१९ महामारी र भारत-चीन सीमा तनावका कारण बन्द रहेको थियो। नेपालले सन् २०२० मा नै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो, जसलाई संवैधानिक रूपमा अनुमोदन पनि गरियो। यद्यपि, भारतले अस्वीकार गर्दै आएको छ ।  नेपालले यो विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्न प्रयास गरिरहेको छ, तर हालसम्म ठोस प्रगति भएको छैन। अर्को आपत्ति जनक सहमति  प्रधानमन्त्री केपी शर्मा ओली चीनमै रहेका बेला फेरि नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको सहमति भएको छ । शनिबार प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। यो भेटमा ओलीले भारत र चीनबीच लिपुलेकलाई व्यापारिक मार्गको रूपमा प्रयोग गर्ने सम्झौताप्रति गम्भीर आपत्ति व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको थियो। यद्यपी  चीनको विदेश मन्त्रालयले भने यस सम्बन्धमा कुनै पनि कुरा उल्लेख गरेको छैन ।  आइतबार भएको मोदी-सी भेटवार्ता करिब ५० मिनेट लामो थियो, जसमा सीमा व्यवस्थापन, डाइरेक्ट फ्लाइट पुनःस्थापना, कैलाश मानसरोवर यात्रा पुनरारम्भ, र सीमापार नदीको हाइड्रोलोजिकल डाटा आदानप्रदान जस्ता विषयमा सहमति भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार लिपुलेक पास नै मुख्य मार्ग हुने छ। नेपालमाथि फेरि अर्को मिचाहा व्यवहार  यो सहमति ओली चीनमा रहेकै बेला हुनुले नेपालको कूटनीतिक प्रयासलाई कमजोर बनाएको विश्लेषकहरूको भनाइ छ। एससीओ सम्मेलनमा मोदी र ओलीबीच पनि भेट हुने अपेक्षा गरिएको थियो।  भारतीय पक्षले यो यात्रालाई धार्मिक तथा सांस्कृतिक महत्वको रूपमा प्रस्तुत गर्दै आएको छ, जबकि नेपालले यो नेपाली भूभागबाट हुने भएकाले आफ्नो सहमति बिना सञ्चालन गर्न नहुने अडान विगतमा राख्दै आएको छ ।  नेपालको भूभागीय दाबी ऐतिहासिक प्रमाणहरूमा आधारित छ, तर भारत र चीनको शक्ति सन्तुलनले यो विवादलाई जटिल बनाएको छ। यो सहमतिले भारत-चीन सम्बन्ध सुधारमा योगदान दिए पनि, नेपालको लागि यो कूटनीतिक असफलताको रूपमा देखिएको छ।  

प्रचण्डद्वारा गौरा पर्वको शुभकामना, सामाजिक एकताको सन्देश

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने प्रमुख सांस्कृतिक चाड गौरा पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। प्रचण्डले गौरा पर्वले प्रकृति र उत्पादन प्रणालीबीचको अभिन्न सम्बन्ध झल्काउनुका साथै मौलिक सांस्कृतिक पहिचान बोकेको बताउनुभयो। यो पर्वले सामाजिक एकता र सामूहिकता प्रवर्द्धनमा विशिष्ट भूमिका खेल्ने उहाँको भनाइ छ। “सबै जाति, भाषा, धर्म र समुदायको सम्मान, पहिचान र अपनत्वले मात्रै साँचो अर्थमा राष्ट्रियता बलियो हुन्छ,” शुभकामना सन्देशमा प्रचण्डले भन्नुभयो। उहाँले यस्ता पर्वहरूको उचित संरक्षण र सम्वर्द्धनका लागि सबैमा अपील गर्नुभएको छ।  

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा टंकमणिको सालिक अनावरण र स्मृति ग्रन्थ विमोचन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद स्मृति प्रतिष्ठान, नेपाल, रूपन्देहीको आयोजनामा बुटवल–११, माझगाउँमा आयोजित एक समारोहमा कमरेड रामप्रसाद वञ्जाडे ‘टंकमणि’को सालिक अनावरण र स्मृति ग्रन्थ ‘टंकमणिः एक क्रान्तिविजय’ पुस्तकको विमोचन गर्नुभएको छ। उक्त समारोहमा प्रचण्डले शहीद टंकमणिको योगदानको कदर गर्दै उनको सालिक अनावरण गर्नुभयो। साथै, ‘टंकमणिः एक क्रान्तिविजय’ नामक स्मृति ग्रन्थको पनि विमोचन गर्नुभयो। यो कार्यक्रम शहीद स्मृति प्रतिष्ठान, नेपालले आयोजना गरेको थियो।

अध्यक्ष प्रचण्ड रुपन्देहीमा, यी हुन् कार्यक्रम

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुपन्देही पुग्नु भएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालका अनुसार प्रचण्डले शहीद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व. रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को सालिक अनावरण अनावरण गर्दै हुनुहुन्छ ।  सोही अवसरमा ‘टङ्कमणि : एक क्रान्तिविज’ नामक पुस्तकको विमोचन गर्ने कार्यक्रम तय भएको छ ।  जनयुद्धको सुरुवातदेखि नै भूमिगत रही काम गरेका बन्जाडेको  २०७८ मङ्सिर ८ गते सडक दुर्घटनामा परि ५५ वर्षको उमेरमा निधन भएको थियो । बन्जाडे माओवादी केन्द्रका केन्द्रीय सदस्य मात्र नभई लामो समयदेखि रुपन्देहीका इन्चार्जको जिम्मेवारी बहन  गर्नुभएको थियो ।  पार्टी र जनआन्दोलनमा उहाँले  पुर्‍याएको योगदानको स्मरणमा माओवादी केन्द्र रुपन्देहीले शहीद स्मृति प्रतिष्ठानमा उहाँको सालिक निर्माण गरेको हो । प्रचण्डले आजै बुटवलको बेलवासमा आयोजित माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटी बैठकलाई पनि सम्बोधन गर्ने तयारी छ । 

विश्वयुद्धमा लडेका नेपाली योद्धाको सम्मानमा गुल्मीमा गोर्खा ग्यालरी

गुल्मी । विश्वयुद्धमा लडेका नेपाली योद्धाको सम्मानमा सत्यवती गाउँपालिका–८ को लाहुरे गाउँमा गोर्खा ग्यालरी स्थापना गरिएको छ । लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले आफ्नै लगानीमा भार्सेमा गोर्खा ग्यालरी स्थापना गरेका हुन् । ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका लाहुरेहरुको तस्बिर समेटेर ग्यालरी स्थापना गरेका हुन् । ग्यालरी पछिल्लो समय अनुसन्धानकर्ताका लागि अध्ययन केन्द्रको रुपमा विकसित हुन थालेको छ । लाहुरेहरुको इतिहासलाई जीवन्त राख्नका लागि ग्यालरी निर्माण गरिएको बुढाथोकीको भनाइ छ । भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेहरुको इतिहासलाई जीवन्त राख्न उनीहरुका तस्बिर राखेर भूपु गोर्खा ग्यालरी र भार्सेबाट गोर्खा, भारत र नेपाली लाहुरेसहित सामाजिक अग्रजलाई समेटेर भार्से ग्यालरी निर्माण गरिएको हो । यसले भार्से पुग्ने जोकोहीका लागि पनि सिङ्गो इतिहासलाई नजिकबाट नियाल्न महत्वपूर्ण सहयोग पुर्याउने भार्सेका सामाजिक अगुवा नरबहादुर बूढाथोकीले बताए । भार्सेबाट प्रथम विश्वयुद्ध लड्ने ८४ जना र दोस्रो विश्वयुद्ध लड्ने १७८ जना रहेको लेफ्टिनेन्ट कूलबहादुर बूढाथोकीले बताए । भूपु गोर्खा ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका अहिलेसम्म ३४ जना दिवङ्गत व्यक्तिको तस्बिर र सङ्क्षिप्त विवरण राखिएको छ । जसमा कम उमेर र नेपालबाट पहिलो भिक्टोरिया क्रस पाउने कर्णबहादुर रानादेखि भारतीय सेनामा नेपालबाट पहिलो कर्णेल श्रीप्रसाद बूढाथोकी र श्रीप्रसादकै बुबा गिरीप्रसाद बूढाथोकीको तस्बिर राखिएको भार्सेका अगुवा नरबहादुर बूढाथोकीले जानकारी दिए । गिरीप्रसाद र श्रीप्रसाद बूढाथोकी बाबुछोरा नै नेपालका पूर्वमन्त्रीहरु रहेका छन्  । उनीहरु बाबुछोरा एउटै पल्टनबाट विश्वयुद्ध लडेका थिए । लेफ्टिनेन्ट कूलबहादुर बूढाथोकीका बुवा मोतीबहादुर बूढाथोकी पनि विश्वयुद्ध लडेका थिए । भार्सेमा जन्मिएका लेफ्टिनेन्ट कूलबहादुर बूढाथोकी अहिल हङकङमा बस्छन् । बूढाथोकीले ग्यालरीका लागि करिब रु ५७ लाख लगानी गरेका छन् । ‘स्वदेश तथा विदेशमा भार्सेलीको गर्विलो इतिहासलाई जोगाउने प्रत्यन मात्र गरेको हुँ’, उनले भने । भार्से ग्यालरीमा भार्सेली भारतीय, बिर्टिस, नेपाली सेना, प्रहरी तथा राष्ट्रसेवक कर्मचारीसहित ६८४ जनामध्ये अहिले ४०० जनाको तस्बिर राखिएको छ । पछिल्लो समयमा सडक यातायातको सहज पहुँचका कारण भार्से यतिबेला आन्तरिक तथा बाह्य पर्यटकका लागि मुख्य पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै जान थालेको छ । 

झापामा स्विमिङपुलमा डुबेर एक युवकको मृत्यु

झापा । झापामा स्विमिङ पुलमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ । बिर्तामोड-३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाईको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।  प्रसाईं शुक्रबार राति बिर्तामोड-१० बस्ने ३३ वर्षीय केशब शिवाकोटीसँगै पौडी खेल्न गएका थिए । बिर्तामोड २ मा जीवन ढुंगानाले संचालन गरेको ग्रिन पार्कको कम्पाउण्ड भित्र रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा प्रसाईंको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ओमकार रेडिमिक्स कंक्रिट प्रालिका सञ्चालक हुन् । गए राति ८ बजे स्वीमिङ पुल सञ्चालकले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएपछि प्रहरी टोली पुगि अनुसन्धान अघि बढाएको छ । 

पर्यटन प्रवर्द्धन गर्न सौराहाको आडमै रहेकाे जनकौली वनमा जिप सफारी

चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहाको आडैमा अवस्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा जिप सफारी सेवा सुरु गरिएको छ । पर्यापर्यटन प्रवर्द्धन र स्थानीय समुदायको जीवनस्तर उकास्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो । सौराहा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई एकसिङ्गे गैँडा, बाघ, जङ्गली हात्ती, भालु, चितुवा, चित्तल, जरायोजस्ता दुर्लभ वन्यजन्तुको अवलोकन गराउने लक्ष्यसहित सफारी सुरु गरिएको वनका अध्यक्ष जोगेन्द्र महतोले बताए । विसं २०६० देखि मध्यवर्तीसँग जोडिएको यस सामुदायिक वन करिब एक सय छ हेक्टर क्षेत्रफलमा फैलिएको छ । झन्डै दुई हजार उपभोक्ता रहेको वनमा २०६६ सालदेखि यहाँ रहेको ढुङ्ग्रेखोलामा डुङ्गा सेवा पनि सञ्चालनमा रहेको महतोले जानकारी दिए । उनका अनुसार सफारीका लागि रुटमा पर्यटकले डेढदेखि दुई घण्टासम्म जङ्गल डुल्न सक्ने व्यवस्था मिलाइएको छ । प्रत्येक जिपका लागि रु आठ सय प्रवेश शुल्क र रु पाँच सय संरक्षण शुल्क तोकिएको छ । हाल बिहान र बेलुका गरेर १४ वटा जिप रहेका छन् । जिप सफारीको सुरुआतसँगै चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले जनकौलीको जिप सफारी अन्य मध्यवर्ती क्षेत्र विशेषतः बरण्डाभारको सफारीभन्दा छोटो र फरक प्रकृतिको भएको उल्लेख गर्दै यसले पर्यटकीय सम्भावना अझ विस्तार गर्न सक्ने विश्वास व्यक्त गरे । उनले भने, “नेपालमा आउने ६० प्रतिशतभन्दा बढी पर्यटक संरक्षित क्षेत्रको भ्रमण गर्दछन् । यस क्षेत्रमा पनि त्यसअनुसारको सम्भावना छ । मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनमा झार्ने प्रयास गर्दै, व्यवस्थित रूपमा गतिविधि सञ्चालन गर्न आवश्यक छ ।” पन्तले राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र फरक प्रकृतिका संरचना भएको उल्लेख गर्दै सामुदायिक वनमा सञ्चालन हुने पर्यटकीय गतिविधिका लागि मध्यवर्ती क्षेत्रको कानुन संशोधन आवश्यक रहेको औँल्याए। उनले सोहीअनुसार हाल वन तथा वातावरण मन्त्रालयले कार्यदल गठन गरी ‘मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली’ संशोधन प्रक्रिया अघि बढाएको जानकारी दिए । सामुदायिक वनमा जिप सफारीबाट रोजगारी, आयआर्जन र दीर्घकालीन वन्यजन्तु संरक्षणसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै वरिष्ठ संरक्षण अधिकृत पन्तले आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता पनि व्यक्त गरे । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका अन्य केही मध्यवर्ती सामुदायिक वनमा यसअघि नै जिप सफारी सञ्चालन भइसकेका छन् ।

मुस्ताङमा अन्नबाली जोगाउन मध्यरातसम्म गस्ती

मुस्ताङ । घरपझोङ गाउँपालिका–१ चिमाङ गाउँमा हिमाली भालुको आतङ्कले बालीनाली सखाप पार्ने क्रम नरोकिएपछि त्यहाँका किसान दैनिक मध्यरातसम्म भालु धपाउन गस्तीमा खटिने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको स्याउलगायत अन्नबाली भालु पसेर खाइदिएपछि चिमाङ गाउँमा पाँचपाँच जनाको सातवटा समूह बनाएर पालैपालो भालुको गस्ती गर्न थालेका छन् । स्थानीय सुकबहादुर विश्वकर्माका अनुसार यहाँका किसानलाई भालुले अन्नबाली सखाप पारेर सास्ती दिएको छ । एक्याप संरक्षित क्षेत्रमा हिमाली वन्यजन्तु कालो भालु र मानवबीचको द्वन्द्व बढ्दै जान थालेको छ । समुद्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको चिमाङ गाउँ बेनी–जोमसोम सडक मार्गको कालीगण्डकी पारि अग्लो भिरालो स्थानमा अवस्थित छ । घनाजङ्गलको फेदमा अवस्थित त्यहाँका किसानलाई खेतबारीमा लगाएको अन्नबाली जोगाउन धौधौ परेको छ । त्यहाँ उवा र जौँबाहेक सबै अन्नबाली भालुले सखाप पारिदिने गरेको छ । अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय मातहतमा रहेको चिमाङ गाउँमा हिमाली कालो भालुको जत्थाले किसानले उत्पादन गरेको बालीनाली सखाप पारिदिन थालेपछि किसान चिन्तित बनेका छन् । यो समस्या यहाँका किसानले वर्षौँवर्षदेखि झेल्दै आएका छन् । किसानले उत्पादन गरेको स्याउ, फापर, मकै, सिमी र हरियो ताजा तरकारीलगायत अन्नबाली कालो भालु रातको समयमा खेतबारीमा पसेर सखाप पारिदिने गरेको स्थानीय किसानको भनाइ छ । घरपझोङ गाउँपालिकाले किसानको खेतबारीमा ग्याविनसहित तारजाली लगाएको थियो । तर यहाँ लगाइएको घेराबार तालजालीमाथि उक्लिएर भालुले खेतबारीमा लगाएको अन्नबाली नोक्सान पारिदिएको घरपझोङकी कार्यपालिका सदस्य मनि विश्वकर्माले जानकारी दिए । चिमाङ गाउँ कृषि उत्पादनमा निकै सम्भावना भएको गाउँ हो । यहाँका किसान कृषिमा आत्मनिर्भर छन् । तर, यहाँको मुख्य आम्दानीको रूपमा रहेको कृषि व्यवसायलाई भालुको आतङ्कले दुःख दिन थालेपछि किसान समस्यामा परेका हुन् । भालुको आतङ्क रोक्न गाउँका खेतबारीमा लगाएको तारजालीले काम नगरेपछि त्यसको विकल्पमा एक्याप जोमसोमले गत वर्ष भालु धपाउने यन्त्र (साइरन) जडान गरेको कार्यपालिका सदस्य विकले उल्लेख गरे । तर, त्यस प्रकारको यन्त्रले पनि भालुको आतङ्क रोक्न असफल भएको उनले बताए । चिमाङ गाउँका खेतबारीमा तारजाली र भालु धपाउने यन्त्र जडान गरे पनि त्यसले काम नगरेपछि त्यहाँका किसानले छ–सात जनाको समूह बनाएर दैनिक हेरालो बस्न सुरु गरेका थिए । एक्यापले भालु नियन्त्रण गर्न तीन जना कर्मचारीको पारिश्रमिकबापत एक लाख ३० हजार बजेट विनियोजन गरेको थियो । तर भालु नियन्त्रण गर्न तीन कर्मचारीले मात्र नपुगेपछि छ–सात जनाको समूह बनाएर पारिश्रमिक बाँडफाँट गर्यो । चिमाङकी स्थानीय कार्यपालिका सदस्य मनि विश्वकर्माले गाउँमा भालु आयोकि भनी खेतबारीमा गस्ती गर्ने गरेको बताए ।  किसानले कृषि उपजको संरक्षण गर्न एक्याप जोमसोमले परीक्षणका रूपमा विद्युतीय तारजाली निर्माण गरेको कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । सौर्य ऊर्जा प्रणालीबाट विद्युुत् प्रवाह हुनेगरी भालु नियन्त्रण गर्न एक हजार २७० मिटर क्षेत्रफलमा विद्युतीय घेराबार निर्माण गरेको कार्यालय प्रमुख गुप्तले बताए । उनले यस कार्यका लागि रु चार लाख बजेट खर्च भएको जानकारी दिए । चिमाङ गाउँमा मात्र होइन, भालुले थासाङ गाउँपालिकामा पनि बर्सेनि भालुको आतङ्कले किसानको बालीनाली सखाप पारिदिने गरेको छ । यहाँको कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउराली, सौरु, सिर्खुम र नाउरिकोटलगायत स्थानमा कालो भालुको आतङ्कले किसानलाई निकै सास्ती दिने गरेको छ ।

उदयपुरमा भएकाे युरिया मल कालोबजारी छानबिन गरी दोषीलाई कारबाही गर्न माओवादी केन्द्रको माग

उदयपुर । कटारी नगरपालिकामा युरिया मल कालोबजारीको घटना बाहिरिएपछि नेकपा (माओवादी केन्द्र) कटारी नगर कमिटीले दोषीलाई छानबिन गरी कडा कारबाही गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरको नेतृत्वमा विहीबार भएको बजार अनुगमनका क्रममा कटारी बजारमा रहेको दिलीप चौधरीको अशुतोष ट्रेडर्स तथा जनरल स्टोर र जयमाँकाली प्रालिको गोदाममा सरकारी अनुदानका दुई सय बोरा युरिया मल लुकाइराखिएको अवस्थामा फेला परेको थियो । यस घटनाले कटारी बजारमा मलको कालोबजारी व्यापक रहेको पुष्टि भएको माओवादी केन्द्रको भनाइ छ । नगर कमिटीका अध्यक्ष कमल श्रेष्ठ र सचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, अनुदान मल वितरण व्यवस्था कार्यविधि–२०८२ अनुसार स्थानीय तहको मातहतमा रहनुपर्ने मल अनधिकृत रूपमा विचौलियाको हातमा पुगेको देखिँदा नगरपालिकाप्रति नै गम्भीर शंका पैदा भएको छ ।” विज्ञप्तिमा यो घटनालाई ‘जघन्य अपराध’ भनिएको छ । *किसानहरू मलको अभावमा पिडामा रहेका बेला कालोबजारी बाहिरिनु पीडादायी छ,” विज्ञप्तिमा उल्लेख छ । माओवादी केन्द्रले निष्पक्ष छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न, कालोबजारीको जालो तोड्न र किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन माग गरेको छ । स्थानीय बुद्धिजीवी र किसानहरूले समेत शुक्रबार कटारीमा विरोध प्रदर्शन गरेका थिए ।  

क्रान्ति पुरै जितेर आउन सकेनौँ, जबसम्म शक्ति हुँदैन तबसम्म संविधानले पनि काम गर्दैन : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको संविधान सम्झौताको संविधान भएको बताउनु भएको छ । नेपाल दलित मुक्ति मोर्चाले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।  प्रचण्डले जनयुद्धका क्रममा दलित समुदायले सबैभन्दा पनि बन्दुक खोस्ने आँट गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, 'आफैँ लडेर विरोधीहरु माथि, प्रतिक्रान्तिकारीमाथि विजय प्राप्त भयो । दलित समुदायले बन्दुक खोस्ने आँट गर्यो । लामो लडाइँ लडेर स्थानीय सरकारमा दलित समुदायको प्रतिनिधित्व सम्भव भएको हो ।'    पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धको समयमा जनतालाई आफ्नो लडाइँ आफै लड्न सिकाएका कारण उत्पीडित वर्ग, क्षेत्र र जातिले अधिकार प्राप्त गरेको बताउनु भयो । उहाँले भन्नुभयो, 'उत्पीडित वर्गले आफ्नो लडाइँ आफै लड्नुपर्छ भनेर हामीले भनेका हौ । आफ्नो मुक्ति आफैँले लडेर ल्याउनुपर्छ । माओवादी पार्टीको विचार हो । वर्गले गर्नुपर्यो । उत्पीडित वर्गले गर्नु पर्यो ।'  मोर्चाले आयोजना गरेको 'नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले शक्ति नभएमा संविधान र कानूनले पनि काम नगर्ने बताउनु भयो । उहाँले भन्नुभयो, 'जबसम्म शक्ति हुँदैन नि आफ्नो हातमा । तबसम्म संविधानले पनि काम गर्दैन, कानूनले पनि काम गर्दैन ।'  जनयुद्ध विस्तृत शान्ति सम्झौतामा टुंगिएको स्मरण गर्दै प्रचण्डले क्रान्ति अधुरो रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, 'हामीले क्रान्त्ति पुरै जितेर आउन सकेनौँ । यो कुरा हामी सबैले मनन् गर्नुपर्ने छ । क्रान्ति पुरै जितेर आउन पाएको भए माथि परेकालाई तल पारिने थियो, तल परेकाहरु माथि आउने थियो, पारिने थियो ।' 

म्याग्दीमा कोदोको बिस्कुट उत्पादन गर्न उद्योग स्थापना

म्याग्दी । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्केमा रैथाने बाली प्रशोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ ।  गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा झिँका कृषक समूहले टोड्के हिल रिसोर्ट तथा होमस्टेमा कोदोलगायत रैथाने बालीको प्रशोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेका हुन् । परम्परागत जौँ, उवा, कोदो र फापरको पिठोबाट बिस्कुट बनाउने उद्योगको परिक्षण सफल भएको रघुगङ्गा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताए ।  “गाउँपालिकाले उपलब्ध गराएको उपकरण जडान गरेर परीक्षणका लागि कोदोको बिस्कुट उत्पादन भएको छ,” उनले भने, “अर्को चरणमा फापर, जौ र उवाको पनि बिस्कुट बनाउने तयारी छ ।” कोदो, फापर, जौ र उवा पिस्ने मिल, प्रशोधन र पिठो पकाएर बिस्कुट बनाउने उपकरण ल्याएर जडान गरिएको छ । समुन्द्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा रहेको टोड्केबाट सूर्योदय, पहाडी भूगोल, धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । टोड्के हिल रिसोर्ट तथा होमस्टेका सञ्चालक भिम शेरचनले उद्योगले स्थानीय किसानले उत्पादन गरेको रैथाने बालीको खपतका साथै टोड्केको पर्यटन प्रर्वद्धनमा पनि सहयोग पुग्ने बताए ।  लोप हुँदै गएको परम्परागत जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकारको रु ७५ लाख र रघुगङ्गा गाउँपालिकाको रु २५ लाख बजेटबाट झिँमा जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सञ्चालन भएको थियो । परियोजनामार्फत ३०० रोपनी क्षेत्रफल जमिनमा जौँ र उवाखेती विस्तार भएको छ । पच्हत्तर प्रतिशत अनुदानमा ६७ जना कृषकलाई ३० वटा मिनिटेलर हलो, १८ वटा थ्रेसर मेसिन, १९ वटा कम्बाइन मेसिन, थप ८२ वटा जौ, उवा र कोदो तथा घाँस काट्ने ब्रस कटर, एक सेट कुकीज उत्पादन गर्ने मेसिन, १६६ थान त्रिपाल, १०० वटा ३०० किलोग्राम तौल क्षमताको मेटल बिन, २० एम एमको चार हजार ३६४ मिटर, २५ एम एमको एक हजार ५००, ३२ एम एमको चार हजार २०० र ४० एमएमको २०० मिटर पाइप वितरण भएको छ ।  किसानलाई सूचीकरण गरी परम्परागत जौँ, कोदो, फापर र उवा बालीको महत्वबारे जानकारी गराई खेती प्रविधिसम्बन्धी तालिमसमेत दिइएको थियो । झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन भएको थियो ।

साना हिमतालका ठूलाे त्रास, पूर्वसूचना प्रणालीको अभाव

काठमाडौं । गत असार २४ बिहान ३ः ०० बजेतिर गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य सोनामछिरिङ घलेले एक्कासि जमिन कम्पन भएको महसुस गरे । त्यो दिन विसं २०७२ वैशाख १२ गतेको भूकम्प बिर्साउने गरी त्यस क्षेत्रको जमिनमा कम्पन पैदा भएको थियो । घले भूकम्प गयो कि क्या हो भनेर सोच्दै थिए । यी कुरा मनमा खेलाउन नपाउँदै खोला गडगडाएको सुनियो । ‘बेस्सरी जमिन हल्लाइरहेको थियो, मैले त भुइँचालो गयो कि भन्ठाने । एक छिनपछि त खोला गडगडाएको सुनियो’, उनले त्यस दिनको अवस्था सुनाउँदै भने-  ‘पानी परेको छैन, कसरी बाढी आयो होला, माथि तिब्बततिर पानी परेछ कि क्या हो भनेर अनुमान लगाए । मानिसहरू भागदौड गर्न थाले, म पनि घरबाट निस्किएँ ।’ त्यसको भोलिपल्ट उनलाई थाहा भयो, नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा अचानक बाढी गएको रहेछ भनेर । बाढीले बाटो भत्काएछ । मितेरी पुल नै बगाएछ ।  बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना बेपत्ता र सात जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ । रसुवागढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेछ । एक सयभन्दा बढी इलेक्ट्रिक सवारीसाधन बढीसँगै बगेको छ । चीनसँगको व्यापारिक नाका अझै अवरूद्ध छ । वडासदस्य घलेका अनुसार विसं २०१८ मा पनि यस्तै भीषण बाढी आएको थियो । तर त्यो बेला अहिलेजस्तो टिमुरेमा बस्ती बसेको थिएन । खोलाको माथिमाथि घर तथा बस्ती भएकाले क्षति पनि भएन । त्यो बाढीको असर खासै देख्न पाइएन ।  पछिल्लो पटक गत असार २४ र त्यसको १० दिनपछि पनि गएको भेलबाढीले टुटाएको केरूङसँगको सडक पहुँच अझ जोडिन सकेको छैन । भेलबाढीपछि सीमावर्ती बजार ठप्प छ । जनजीवन उस्तै त्रस्त छ । ‘ठूलो बाढी आउने त्रासमा स्थानीय बसेका छन् । कति त विस्थापित पनि भएसकेका छन्’, घलेले भने । गत वर्षको साउन ३२ गते दिउँसो १ः३० बजे सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा पनि अचानक ठूलो भेलबाढी आयो । त्यहाँका स्थानीयहरूले यसरी एक्कासि भेलबाढी आउला र गाउँ नै एकै झट्कामा सखाप पार्ला भनेर चिताएकै थिएनन् । त्यहाँका स्थानीयका अनुसार त्यस दिन थामे क्षेत्रमा ठूलो पानी परेको थिएन । उत्तरतिर आकाश भने मडारिएको थियो । अनिष्टको कुनै सङ्केत थिएन । यद्यपि गाउँको शिर क्षेत्रबाट मडारिँदै आएको भेलबाढीले गाउँ नै बगरमा परिणत गराइदियो । त्यो अप्रिय एवं अकल्पनीय घटनाले जो कोहीको मन भक्कानिन्छ ।  त्यो घटना सम्झँदा खुम्बु पासाङल्हामु गाउँपालिकी उपाध्यक्ष टासी ल्हामु शेर्पालाई सपनाजस्तै लाग्छ । ‘हामी जलवायुजन्य जोखिमको चपेटामा छौँ’, उनी भन्छिन्, ‘कुन दिन हिमपहिरोकै शिकार बन्नुपर्ने हो भन्ने चिन्तामा छन्, यहाँका बासिन्दा । हामीलाई पनि यस्तै लागिरहन्छ ।’ त्यस्तै खुम्बु पासाङल्हामु गाउँपालिका थामेकी बासिन्दा याङ्गी डोल्मा शेर्पा भन्छिन्, ‘हेर्दाहेर्दै क्षणभरको बाढीले बगरमा परिणत भएको गाउँको दृश्यले अझै तर्साइरहेको छ । नसोचेको घटना भयो त्यस दिन । दिउँसो भएकाले धन्न भागेर ज्यान जोगाइयो । त्यस घटनाले कतिले त  गाउँ छाडेर पनि हिँड्नुभयो ।’ पर्यटन व्यवसायीसमेत रहेका आङछिरिङ शेर्पा उमेरले ७० वर्ष कटिसके । सोलुखुम्बुमा जन्मिएका शेर्पा हिमाली क्षेत्रमा पर्न सक्ने जलवायु परिवर्तनजन्य असरका कारण उत्तिकै चिन्तामा देखिन्छन् । उनको अनुहारमै झल्किएको छ, ‘सम्भावित विपद्को त्रास ।’ विगत र वर्तमानको घटनामा देखिएको अन्तर भएको आङछिरिङ बताउँछन् । उनले भने, ‘भन्दा मान्छेले नपत्याउलान्, त्यो इम्जा छो हिमताल थिएन । सानो हिमनदी थियो । हामी केटाकेटी हुँदा चिप्लेटी खेल्न जान्थ्यौँ । सन् १९६२ तिर सानो कुवाजस्तो बन्यो । अहिले त त्यति ठूलो ताल बनिसक्यो, हिमालको हिउँ सर्लक्कै पग्लिएको छ  ।’  पछिल्ला दुई वर्षमा लगातारजस्तो हिमताल विस्फोटका घटना भएका छन् । गत वर्ष सोलुखुम्बुको थामेमा हिमताल विस्फोटको घटना भयो । लगत्तै दोलखाको रोल्वालिङ क्षेत्रमा पनि भीषण भेलबाढी आएर एक जना होटल व्यवसायी महिला बेपत्ता भए । त्यसपछि गोरखाको मनास्लु क्षेत्रमा पनि हिमताल विस्फोट भयो । पछिल्लो समय रसुवामा निम्तिएको विध्वंश र मुस्ताङमा पटकपटक गइरहेको भेलबाढीले स–साना हिमतालहरू पनि जोखिमपूर्ण बन्दै गएको अनुसन्धानकर्ताले निष्कर्ष निकालेका छन् । रसुवा भेलबाढीको स्रोत नै ल्हेन्दे खोलाको जलाधार क्षेत्रमा रहेको सुप्राग्लेसियल लेक (हिमनदीको माथिल्लो सतहको बरफ पग्लिएर बन्ने ससाना पोखरीहरू) विस्फोट हुँदा बाढी आएको बताउँछन् जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली ।  यद्यपि विभागले यसबारे विस्तृत अध्ययन गरेको छैन । मुस्ताङमा पनि कालो लेदोसहितको बाढी आएको छ । भेलबाढीले स्थानीय बाटाघाटाको काठेपुल बगाएको  छ । त्यहाँ पनि बाढीको कारणबारे कुनै अध्ययन, अन्वेषण हुन सकेको छैन । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिहरूले पनि चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको ‘सुप्राग्लेसियल ताल’ फुटेर रसुवाको भोटेकोसीमा बाढी आएको पुष्टि गरेका छन् । हालैका यी घटनाहरू (रसुवाको बाढी र सगरमाथाको थामे क्षेत्रको विस्फोट) नयाँ बनेका साना, सुप्राग्लेसियर तालहरू बाट भएको इसिमोडले पुष्टि गरिसकेको छ ।  इसिमोडले १९८५ देखि हिमनदी, हिमताल र त्यसमाथिको विपद् अनुगमन गर्दै आएको छ । त्यसबेला सोलुखुम्बुस्थित खुम्बुमा डिज–छो ताल फुट्दा जलविद्युत् आयोजना बगाएर झन्डै ३० लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति पुर्याएको थियो । त्यसपछि इसिमोडले उक्त घटनाको मूल्याङ्कन गर्नुका साथै सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्र भ्रेमाथाङबाट उत्तपत्ति भएको भेलबाढी, उत्तरी गोरखाको वीरेन्द्र ताल, हुम्ला र भारतको सिक्किमस्थित चामोली, दक्षिण लोनाकमा आएका विपद्को समेत अध्ययन गरेको थियो । तापमान वृद्धिको जोखिम तापमान वृद्धिका कारण हिमनदीजन्य घटनामा वृद्धि भएको बताउनुहुन्छ हिमतालविज्ञ शरदप्रसाद जोशी ।  ‘साना, छोटो समय टिक्ने तालहरूमा पनि अनुसन्धान गर्न आवश्यक  छ’, उनले भने, ‘छोटो अवधिमा उच्च तापमान वृद्धिका कारण बरफ खसाल्ने, हिमतालको प्राकृतिक बाँध (मोरेन) भत्कने, पर्माफ्रोस्ट (हिमोढ) भत्कने, उच्च हिमाली क्षेत्रमा चट्टानहरूरू खस्ने, जमिन भासिने घटना निम्त्याउँछ ।’ इसिमोडका अनुसार हालका घटनाहरूमा बाढीले  गिट्टी, बालुवा, माटो र ठूला ढुङ्गा बोकेको देखिन्छ र जसले पानी मात्र भएको बाढीको तुलनामा धेरै क्षति पुर्याउँछ । हिमाली क्षेत्रमा हिउँको सट्टा वर्षा बढी हुँदा यस्ता घटनाहरू बढ्ने इसिमोडको निष्कर्ष रहेको छ ।   विश्वव्यापी तापक्रम निरन्तर बढ्दै जाँदा हिमतालमा सञ्चित हिउँ क्रमशः पग्लने र हिमपात कम हुने तथा हिमताल विष्फोटजस्ता विपद्का सम्भावना बढ्दै गएको जलवायुविद् मञ्जित ढकालले बताए । उनका अनुसार तापक्रम वृद्धिले हिमालको स्थायित्वमा गम्भीर चुनौती खडा गरेको छ । ‘तापक्रम बढ्दा हिमालको हिउँ पग्लने खतरा उच्च हुन्छ, हिमताल विष्फोट भएर धनजनको क्षति गर्ने खतरा बढाउछ’, ढकालले भने, ‘त्यसैले अन्तरराष्ट्रिय मञ्चहरूमा पर्वत संरक्षणलाई केन्द्रविन्दु बनाएर हिमालसम्बन्धी मुद्दा निरन्तर उठाउन जरुरी छ । यसबारे बहस, विमर्श र पैरवी अत्यावश्यक बन्दै गएको छ ।’ विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) द्वारा प्रकाशित २०२४ को जलवायु अवस्था प्रतिवेदनले जलवायुजन्य सङ्कटलाई उजागर गराएको छ । सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १.४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १.३ डिग्री सेल्सियस मानव सिर्जित रूपमा तापमान वृद्धि भएको समेत अध्यायनले देखाएको छ ।   इसिमोडको अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ ।   नेपालका दुई छिमेकी मुलुक भारत र चीनमा पर्ने हिमताल विष्फोट हुँदा पनि नेपाललाई समेत असर पर्ने विज्ञहरूको भनाइ छ । सन् २०२१ को फेब्रुअरीमा भारतको उत्तराखण्डमा पनि हिमताल विस्फोटको घटना भएको थियो । उत्तराखण्डको चमोली जिल्लास्थित नन्दादेवी हिमनदी क्षेत्रमा भएको उक्त हिमताल विस्फोटले धौलीगङ्गा नदीमा ठूलो भेलबाढी निम्त्यायो । यस भेलबाढीमा करिब २०० मानिस बेपत्ता भए, जसमध्ये २६ जनाको मृत्यु भएको अभिलेख भेटिन्छ । उक्त विपद्ले ऋषिगङ्गा र धौलीगङ्गा जलविद्युत् आयोजना दुवैमा ठूलो क्षति पुर्याएको थियो । तर, यसबारे विस्तृत अध्ययन भने अझै भएको छैन । यसअघि सन् २०१३ को जुन महिनामा उत्तराखण्डको केदारनाथ क्षेत्रमा आएको भेलबाढी पनि हिमताल विस्फोटसँग जोडेर व्याख्या गरिन्छ । गान्धी सरोवर (हिमताल) मा अत्यधिक वर्षा र हिमनदी पग्लनु उक्त विपद्को कारण भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका थिए । यस्तै, सन् २०२३ को अक्टोबरमा सिक्किमको साउथ ल्होन्जक हिमताल फुट्दा टिस्टा नदीमा ठूलो बाढी आएको थियो । यस घटनाले टिस्टा नदी किनारका बस्ती, सडक र जलविद्युत् आयोजना सबैमा ठूलो क्षति पुर्यायो । यो हिमताल विस्फोट जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण हिमनदी पग्लने प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएको मानिन्छ । जोखिम बढ्न सक्ने गत असारमा मात्रै नेपालमा मात्र दुईवटा बाढीः रसुवा र माथिल्लो मुस्ताङमा देखा परेका थिए । अध्ययनले २१ औँ शताब्दीको अन्त्यसम्ममा हिमनदी विस्फोटको जोखिम तीन गुणा बढ्ने अनुमान गरेको छ । इसिमोडका विपद् जोखिम न्यूनीकरण प्रमुख शाश्वत सन्याल हिमनदीजन्य विपद्को आवृत्ति देखेर चकित बनाएको बताउँछन् । ‘सन् २००० को दशकमा यस्ता घटनाहरू हिन्दूकुश–हिमालय क्षेत्रमा ५ देखि १० वर्षमा एकपटक हुने अपेक्षा गरिए पनि पछिल्लो समय बढ्दै गएको छ । सन् २०२५ को मे र जुन दुई महिना मात्रै हिमनदीजन्य बाढी तीनवटा देशमा (नेपालको हुम्लास्थित लिमि, अफगानिस्तानको एन्डोराब उपत्यका, पाकिस्तानको चित्राल–हुनजा) आएको छ’, उनले भने । पूर्वसूचना प्रणालीको अभाव जल तथा मौसम विज्ञान विभागका अनुसार हालसम्म इम्जा र छो–रोल्पाबाहेक अरू साना तालमा पूर्वसूचना प्रणाली विकास गरिएकै छैन । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख अनिल पोखरेलले चीनतर्फबाट सूचना पाउनै मुस्किल रहेको बताउँछन् । उनले सीमापार हुने विपद्का घटनाको जोखिम न्यूनीकरण गर्न सूचना आदान–प्रदानलाई व्यवस्थित बनाउनुपर्ने खाँचो केरूङको विध्वंशले पनि देखाएको बताए । त्यहाँ पूर्वसूचना प्रणाली विकास गर्न सकेको भए मितेरी पुल जोगाउन नसके पनि मानवीय क्षति रोक्न सकिने उनको भनाइ छ । जोखिमपूर्ण हिमताल अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एण्ड तिब्बत, चाइना’ शीर्षकको अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा रहेका ४७ वटा हिमताल फुट्न सक्ने जोखिम रहेको देखाएको छ ।  युएनडिपी र इसिमोडले संयुक्त रूपमा गरको उक्त अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा पर्ने ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख छ । यी हिमतालहरू जति बेलामा पनि फुट्न सक्ने र नेपालले ठूलो धनजनको क्षति बेहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त अध्ययन अनुसार यीमध्ये २५ वटा चीनमा, २१ नेपाल र एउटा भारतमा पर्छ । जोखिम घटाउन लगानीको अभाव  जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराज जोशीले ४७ वटा ठूला हिमताल जोखिमको रहेको र यी हिमतालहरू फुटेमा मुलुकले खर्बौं आर्थिक नोक्सानीका साथै मानवीय क्षति बेहोर्नुपर्ने बताएका छन् । ‘जोखिममा रहेका हिमतालमध्ये २५ चीनमा छन्  । २१ वटा नेपालभित्रै छन् भने एक ओटा भारतमा छ’, उनले भने, ‘यी हिमतालको जोखिम न्यूनीकरणका लगानीको अभाव छ ।’  हरित जलवायु कोष (जिसएफ) बाट नेपालले जोखिममा रहेका चार वटा हिमतालको सतह घटाउनका लागि करिब रु पाँच अर्बको अनुदान पाउने निश्चित भएको छ । नेपालबाट पेस भएको ‘हिमाली जलाधारमा हुने जलवायुजन्य पहिरो र हिमताल विष्फोटको जोखिमबाट धनजनको रक्षा’ शीर्षकको परियोजना स्वीकृत भएसँगै अव जोखिममा रहेका चार हिमतालका जोखिम न्यूनीकरण गर्न लागत व्यवस्थापन भएको हो ।  यस परियोजनमा नेपाल सरकार, युएनडिपी, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घले एक करोड ३८ लाख अमेरिकी डलरअर्थात् करिब रु दुई अर्ब सहलगानी गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालले यसअघि सोलुखुम्बुको इम्जा तालमा ३.४ मिटर पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरेको थियो ।

पार्टीको अनुशासन उल्लंघन गर्ने गतिविधिबारे छिट्टै बस्ने कार्यालय बैठकमा छलफल हुन्छ : प्रवक्ता सापकोटा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष  एवं पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले पार्टीको अनुशासन उल्लंघन गर्ने गतिविधिबारे छिट्टै बस्ने कार्यालय बैठकमा छलफल हुने बताउनु भएको छ । एभरेष्ट दैनिकसँगको कुराकानीका क्रममा प्रवक्ता सापकोटाले हालै सम्पन्न स्थायी समिति बैठकको निर्णय भन्दा बाहिर कोही पनि जान नसक्ने बताउनु भयो ।  पार्टीका एक पदाधिकारीले निरन्तर पार्टी र नेतृत्वका विरुद्धमा गतिविधि गरिरहेको गुनासो आएकोबारे एभरेष्ट दैनिकसँग कुराकानी गर्दै उहाँले छिट्टै बस्ने बैठकमा समग्र विषयमा छलफल हुने बताउनु भयो । उहाँले भन्नुभयो, 'विभिन्न ठाउँबाट आएका गुनासाका सन्दर्भमा छिट्टै बस्ने कार्यालय बैठकमा छलफल हुन्छ । पार्टीको अनुशासन उल्लंघन गर्ने गतिविधिबारे छिट्टै बस्ने कार्यालय बैठकमा छलफल हुन्छ ।'  पछिल्लो समय अन्य पार्टीलाई फाइदा पुग्नेगरी पार्टी र नेतृत्वविरुद्ध निरन्तर भइरहेका गतिविधिले कार्यकर्ताहरु निरास छन् । स्थायी समिति बैठकले निर्णयबाहिर गएर गतिविधि नगर्न सबैलाई सचेत गराएको थियो । उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटाले हालै सम्पन्न स्थायी समिति बैठकले लिएका निर्णयको कार्यान्वयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, 'स्थायी समिति बैठकले गुटबन्दी नगर्नेलगायतका महत्वपूर्ण निर्णय गरेको छ । त्यसको कार्यान्वयन सबैको जिम्मेवारी हो । पार्टी निर्णय सबैले मान्नुपर्छ ।'  स्थायी समिति बैठकले पार्टी निर्णयको कार्यान्वयनका लागि अनुगमन समिति बनाउने निर्णय गरेको थियो । अबको बैठकले अनुगमन समिति बनाउने र पार्टीका निर्णय कार्यान्वयन गर्ने तयारी  छ ।   

बाँकेका ६ स्थानीय तह क्षेत्रका पशुमा ‘लम्पी स्किन’

बाँके । बाँकेका ६ स्थानीय तह क्षेत्रका पशु चौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत तथा सूचना अधिकारी भोजबहादुर रावलले जिल्लाका सात स्थानीय तहमा पशुमा सङ्क्रमण देखिएकामा उपचार सुरु भएको बताए । उनका अनुसार सङ्क्रमण बढ्दो अवस्थामा रहे पनि स्थानीय तहले तदारुकताका साथ उपचार गरिरहेको जानकारी दिए । यहाँको राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा, बैजनाथ, डुडुवाका केही क्षेत्रमा सङ्क्रमण देखिएको हो । हालसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा भने सङ्क्रमण नभएको विज्ञ केन्द्रले जनाएको छ । सूचना अधिकारी रावलले एक महिनादेखि नै पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिन थालेको उल्लेख गर्दै सबैभन्दा बढी गाई र गोरुमा समस्या भएको बताए । स्थानीय तहबाट विवरण आउने क्रम जारी रहेकाले सङ्क्रमित पशुको यकिन सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।  जिल्लाको जानकी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिलबहादुर खड्काले किसानलाई अनुदानमा औषधि उपलब्ध गराइएको र कतिपय औषधि नेपालमा नपाइएकाले भारतको रुपैडिहाबाट ल्याएर लगाउने गरिएको बताए । राप्ती सोनारीका पशु सेवा विभाग प्रमुख जयबहादुर कार्कीले गाउँपालिका–१, २, ६ लगायतका वडामा सङ्क्रमण देखिएकाले ‘भ्याक्सिन’का लागि विज्ञ केन्द्रलाई पत्राचार गरिएको बताए ।