टिकटक प्रतिबन्धविरुद्धका रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा परेका छन् । सोमबार न्यायाधीश डा.कुमार चुडालको एकल इजलास बस्नै नसकेपछि ती रिट ‘हेर्न नभ्याइने’मा परेका थिए ।

गएको कात्तिक २७ गते मन्त्रिपरिषद्ले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्ध कार्यान्वयन हुने वा रोकिने भन्ने सर्वोच्चको आदेशमा निर्भर रहन्छ ।

सर्वोच्चले सो प्रतिबन्ध कार्यान्वयनमा रोक लगाएमा आममानिसले टिकटक चलाउन पाउनेछन् । सर्वोच्चले कारण देखाऊ आदेश मात्र जारी गरेमा भने अन्तिम फैसला नहुँदासम्म टिकटकमाथिको प्रतिबन्ध कायम रहनेछ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध १४ रिट दर्ता छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अनन्तराज लुइँटेल, सुनीलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्दलगायत अधिवक्ताले रिट दायर गरेका छन् ।

फिफा विश्वकप-२०२६ छनोट : नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपाल फिफा विश्वकप-२०२६ र एएफसी एसिया कप-२०२७ को संयुक्त छनोट चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन् । फिफा विश्वकप-२०२६ छनोट स् नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दै छनोट खेलको लागि अखिल नेपाल फुटबल संघले सम्पूर्ण तयारी पूरा गरेको पनि उनले बताएका छन् । त्यस्तै दोस्रो चरणको सम्पूर्ण खेलको व्यापारिक तथा मिडिया अधिकार सिंगापुरस्थित स्पोर्टफाइभलाई प्रदान गरिएको छ । यमनसँगको खेलको लागि साधारण पारापिटतर्फ ४ सय र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ । खेलको टिकटहरू खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ । खेलको लागि यमनको राष्ट्रिय टोली नेपाल आइसकेको र प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको छ । फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ । नेपाल भने १७३औं स्थानमा रहेको छ । विश्वकप एसिया छनोटमा नेपाल समूह ुएचु मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन रहेको छ । नेपालले पहिलो खेलमा यूएईसँग ४(० को हार बेहोरेको थियो ।

गृह मन्त्रालय सुधार कार्ययोजना तयार पार्न पूर्वमुख्यसचिव पौड्याल नेतृत्वको अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो मन्त्रालयको कामलाई अझै प्रभावकारी र परिणाममुखि बनाउने गरी एकीकृत कार्य योजना बनाउन सो अध्ययन समिति गठन गरिएको जानकारी दिए । अध्ययन समितिमा पूर्वसचिवहरु शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोईराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डाक्टर खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. बिन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम रहेका छन्। सो समितिको सदस्यको सचिवको जिम्मेवारी भने गृह मन्त्रालयका नीति तथा योजना महाशाखाका सहसचिव थानेश्वर गौतमलाई दिइएको छ । अध्ययन समितिलाई कार्ययोजना तयार पार्न ३ महिनाको समय दिइएको छ । सो समय भित्र रहेर समितिले नेपाल प्रहरी, सशष्त्र प्रहरी बल नेपाल, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाह र राष्ट्रिय परिचय पत्र वितरणको कामलाई अझै प्रभावकारी बनाउनका लागि आवश्यक सुझाव दिने कार्यादेश पनि दिइएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । यता, समितिका संयोजक पूर्वमुख्यसचिव लिलामणि पौड्यालले सरकारले दिएको जिम्मेवारी इमान्दारिता र लगनशीलताका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले आफूहरुले तयार पार्ने सो अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्रीकै तहबाट प्रतिवद्धता आउनुपर्ने आवश्यक्ता औंल्याए। गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, अध्यागमन व्यस्थापनन, कारागार व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाह सुधारका लागि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । गृह मन्त्रालय र अन्तरगका निकायहरूको कार्य सम्पादनमा प्रभावकारिता ल्याउन गर्नुपर्ने सुधारका क्षेत्र तथा उपायहरु र त्यसको कार्य योजना समेत तयार गर्ने प्रयोजनका लागि गठित समिति/उप-समिति १.अध्ययन समितिको गठन अध्ययन समिति क.श्री लीलामणि पौंड्याल, पूर्व मुख्य सचिव, संयोजक ख.श्री शरद चन्द्र पौंड्याल पूर्व सचिव सदस्य ग.श्री शंकरप्रसाद कोइराला, पूर्व सचिव सदस्य घ.श्री लक्ष्मी प्रसाद ढकाल, पूर्व सचिव सदस्य ङ.प्राध्यापक डा खड्ग के.सी सदस्य च.श्री प्रकाश अर्याल, पूर्व प्रहरी महानिरीक्षक सदस्य छ.श्री सिंह बहादुर श्रेष्ठ, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सदस्य ज.डा विन्दु पोखरेल समाजशास्त्री सदस्य झ.विजय गौतम सूचना प्रविधि विज्ञ  सदस्य ञ.सह सचिव, नीति योजना महाशाखा सदस्य सचिव १.१ विषयगत उप-समितिहरूको गठन १.१.१ नेपाल प्रहरी, विषयगत उप-समितिको गठन उप-समिति क) श्री प्रकाश अर्याल, पूर्व प्रहरी महानिरीक्षक संयोजक ख) कानुन /न्याय /सरकारी वकिल समुहवाट सेवा निवृत सह सचिव सदस्य ख) श्री वम वहादुर भण्डारी , पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य ग) वसन्त राज गौतम, पूर्व सह सचिव  सदस्य ङ) श्री सुरक्षा विषयमा अध्यापन गर्ने एक जना प्राध्यापक वा विज्ञ सदस्य च) श्री प्रहरी उपरिक्षक नेपाल प्रहरी सदस्य सचिव १.१.२ शसस्त्र प्रहरी वल, विषयगत उप-समितिको गठन तथा कार्यादेश उप-समिति क.श्री सिंह बहादुर श्रेष्ठ, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक संयोजक ख.कविराज खनाल पूर्व सह सचिव सदस्य ग.श्री नरेश सुब्बा पूर्व सहायक रथी सदस्य घ.सीमा सुरक्षा सम्वन्धी क्षेत्रमा क्रियाशिल एक जना विज्ञ सदस्य ङ.सशस्त्र प्रहरी उपरिक्षक, सशस्त्र नेपाल वल सदस्य सचिव १.१.३ अध्यागमन व्यवस्थापन विषयगत उप-समितिको गठन उप-समिति क.श्री शरद चन्द्र पौंड्याल पूर्व सचिव संयोजक ख.श्री खुँम राज पुन्जाली, पूर्व सचिव /सह सचिव सदस्य ग.गृह/अध्यागमन प्रशासनमा काम गरी सह सचिव पदवाट निवृत एक जना सदस्य घ.महानिर्देशक अध्यागमन विभाग, सदस्य ङ.निर्देशक अध्यागमन विभाग, सदस्य सचिव १.१.4 कारागार व्यवस्थापन, विषयगत उप-समितिको गठन उप-समिति क.श्री लक्ष्मी प्रसाद ढकाल, पूर्व सचिव संयोजक ख.कृष्णचन्द्र घिमिरे पूर्व सह सचिव सदस्य ग.श्री वीरेन्द्र श्रेष्ठ, पूर्व वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक सदस्य घ.श्री महानिर्देशक कारागार व्यवस्थापन विभाग सदस्य ङ.निर्देशक कारागार व्यवस्थापन विभाग सदस्य सचिव १.१.५ स्थानीय प्रशासन र सेवा प्रवाह विषयगत उप-समितिको गठन समितिको गठन क.श्री शंकरप्रसाद कोइराला, पूर्व सचिव संयोजक ख.श्री एकमणी नेपाल, पूर्व सह सचिव सदस्य ग.श्री प्रदीपराज कँणेल सदस्य घ.श्री सह सचिव शान्ति सुरक्षा महाशाखा, गृह मन्त्रालय , सदस्य ङ.डा मन्दीप सुवेदी विपद व्यवस्थापन विज्ञ सदस्य च.उ. स. गृह मन्त्रालय, सदस्य सचिव

टिकटकविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा परेका छन् । यही मंसिर १ गते दर्ता भएका टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका थिए । तर, न्यायाधीश चुडाल नहकुल सुवेदीसहितको संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि सबै मुद्दा हेर्न नभ्याउने सूचीमा परेका हुन् । टिकटकमाथिको प्रतिबन्धविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका छन् । गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्चमा १० रिट दर्ता भएका थिए । छठको बिदाका कारण आजको पेसी तोकिएका १० रिट प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश चुडालको इजलासमा परे पनि इजलास बस्न नसकेपछि हेर्न नभ्याइने सूचीमा परेका हुन् । दशवटै रिट लगाउमा राखेर एउटै इजलासमा एकसाथ सुनुवाइको व्यवस्था गरिएको छ ।

रुकुमपश्चिम जिप दुर्घटना अपडेट : गम्भीर घाइते भएका दुईको मृत्यु

त्रिवेणी । रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन् । बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए । उनका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरेर काठमाडौंबाट हेलिकप्टर आउन लागेको र सोही हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिए । सोमबार बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो । जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो । घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । रासस

टिकटक प्रतिबन्धविरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका छन् । गएको कात्तिक २७ गते मन्त्रिपरिषद्बाट टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्चमा १० रिट दर्ता गरिएको थियो । १० रिट प्रारम्भिक सुनुवाइका निम्ति न्यायाधीश चुडालको इजलासमा परेका हुन् । प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेशबाट सरकारको निर्णय कार्यान्वयनमा रोक लगाइए आजैदेखि पुनः टिकटक चल्नेछ । अधिवक्ताहरूले माग गरेजस्तो अन्तरिम आदेशद्वारा सरकारको निर्णय कार्यान्वयनमा रोक नलगाइए भने अन्तिम फैसला नआउँदासम्म टिकटक चल्ने छैन । टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, सुनीलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका हुन् ।

आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौं । आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् । बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् । यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्यायलगायतका व्यवस्था छन् । नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ अनुमोदन गरेको ३३ वर्ष पूरा भएको छ । नेपालले २०४७ भदौ २९ गते उक्त महासन्धिलाई बिनाशर्त अनुमोदन गरी यसको सिद्धान्तअनुसार प्रतिबद्धता जनाएको थियो । महासन्धिका प्रावधानको कार्यान्वयनका लागि नेपालले संवैधानिक, कानुनी, नीतिगत, संरचनागत र कार्यक्रमगत व्यवस्था गरेको छ । सबै अवस्थाका बालबालिकाको आधारभूत आवश्यकता तथा अधिकार परिपूर्तिका लागि संवैधानिक, कानुनी र नीतिगत व्यवस्था छन् । नेपालको संविधानको धारा ५१ मा राज्यको नीतिअन्तर्गत बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकताको रुपमा लिइएको छ । धारा ३९ मा बालबालिकाको हकसम्बन्धी व्यवस्था गरिएको छ । बालबालिकाको लागि विशिष्टीकृत ऐनको रुपमा बालबालिकासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा छ । नेपालले उक्त महासन्धि कार्यान्वयन स्थितिको प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा पेश गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको बाल अधिकार समितिले नेपालको विगतका प्रतिवेदनमा दिएका समापन टिप्पणी तथा सुझावलाई नेपालले कार्यान्वयन गर्दै आएको छ । बालबालिकाको अधिकार तथा हक, हितको संरक्षण र संवर्धनका लागि विशिष्टीकृत निकायको रुपमा राष्ट्रिय बाल अधिकार परिषद् क्रियाशील छ । परिषद्ले आफूलाई प्राप्त कार्यादेशबमोजिम बालबालिकासम्बन्धी कानुन, नीति र योजना निर्माणमा सहयोग तथा सहजीकरण एवं बाल अधिकार संरक्षण र प्रवर्धनको सिलसिलामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहमा बाल अधिकार संरक्षण र प्रवर्धनका विषय सम्बोधनका लागि संस्थागत संयन्त्रको व्यवस्था छन् । यस क्रममा सरकारले अन्तर्राष्ट्रिय र राष्ट्रिय विकास साझेदार, नागरिक समाज, निजी क्षेत्रलगायतसँग समन्वय र सहकार्य गर्दै आएको छ । नेपाल पक्षधर भएका संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा, १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, १९७५, बालश्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठका महासन्धिलगायतका घोषणा बालबालिकासँग सम्बन्धित छन् । तथापि, संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ नै बालबालिकासम्बन्धी मूल दस्ताबेजको रुपमा छ । संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धिलाई अनुमोदन गरेपछि नेपालले बालबालिकाको हक, हित र अधिकारको विषयलाई संविधान, कानुन, नीति, आवधिक योजना, संस्थागत संरचना, वार्षिक नीति तथा कार्यक्रममा क्रमशः सुधार गर्दैआएको छ । नेपालले उक्त महासन्धिलाई सन् १९९० को सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन घोषणा गरेको थियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस भने भदौ २९ गते मुलुकभर मनाउँदै आइरहेको छ । यस वर्ष ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको थियो भने ‘प्रत्येक बालबालिकाको लागि प्रत्येक अधिकार’ नारासहित अन्तर्राष्ट्रिय बाल अधिकार दिवस आज मनाइँदै छ ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते

रुकुम पश्चिम। रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोट तर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो । अहिले घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याइएको छ । घाइते मध्य सात जनाको अवस्था गम्भीर भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यी २३ पालिकाले बुझाएनन् बजेट विवरण

काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने भएपनि नबुझाएका हुन् । यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने हुन्छ । तर हालसम्म मधेश प्रदेशका २१ सहित २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण मन्त्रालयलाई बुझाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार हालसम्म सात सय ३० पालिकाले मात्रै आफ्नो वार्षिक बजेट ल्याएको विवरण बुझाएका छन् । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा २१ पालिकाले बजेट ल्याएको विवरण बुझाएका छैनन् । त्यस्तै, कोशी प्रदेशको एउटा र बागमती प्रदेशको एउटा पालिकाले यस्तो जानकारी मन्त्रालयलाई गराएका छैनन् । बजेटको विवरण प्रविष्ट नगरेका पालिकालाई त्यस्तो विवरण बुझाउन मन्त्रालयले पटक–पटक परिपत्रसमेत गरेको छ । सङ्घीय मामिला मन्त्रालयले पहिलो पटक गत असार ३० गतै सबै पालिका तथा जिल्ला समन्वय समितिलाई पत्र पठाउँदै चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पेस भई सम्बन्धित नगरसभा तथा गाउँसभाबाट स्वीकृत भएको विवरण अद्यावधिक गर्न भनेको थियो । केही पालिकाले बजेट पारित गरिसकेर पनि विवरण बुझाउन बाँकी रहेको, केही पालिकामा बजेट पेस भएको तर गाउँसभा तथा नगरसभाबाट पारित हुन नसकेकोलगायत कारण हालसम्म सबै पालिकाको विवरण अद्यावधिक हुन सकेको छैन । मन्त्रालयको विवरणअनुसार हालसम्म सप्तरीको कञ्चनरुप नगरपालिका, छिन्नमस्ता गाउँपालिका, महादेवा गाउँपालिका, रुपनी गाउँपालिका, औरही गाउँपालिका र भगवानपुर गाउँपालिकाले आफ्नो वार्षिक बजेट पेस गरेको विवरण बुझाएका छैनन् । धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको बलरा नगरपालिका, हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका र मौलापुर नगरपालिका, यमुनामाई गाउँपालिकाको बजेट पेस गरेको विवरण मन्त्रालयको पोर्टलमा देखिँदैन । बाराको सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र पर्साको सखुवा प्रसौनी गाउँपालिले पनि बजेट पेस गरेको विवरण बुझाउन सकेका छैनन् ।

प्रकाश दाहालको छैटौँ स्मृतिमा दक्षिण कोरियामा कार्यक्रम

सउल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुत्र प्रकाश दाहाल(साकार)को निधन भएको छ वर्ष पुगेको दिन आज नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले प्रकाश दाहाल छैटौँ स्मृति दिवस मनाएको छ । नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले १९ नोभेम्बर २०२३ आइतबार स्वर्गीय प्रकाश दाहाल(साकार)को छैटौँ स्मृति दिवस मनाउँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिचयात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम कोरियाको राजधानी सउलमा सम्पन्न गरेको हो । नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको अध्यक्ष इश्वर कठायतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री विना मगर, विशिष्ट अतिथि एनआरएनए ग्लोबल अध्यक्ष तथा सङ्गठनको संरक्षक विनोद कुँवर, अतिथिहरू क्रमश सङ्गठनको सल्लाहकार तथा एनआरएनए दक्षिण कोरियाको पूर्व अध्यक्ष दीपक पुन, सल्लाहकार तथा एनसिसि पूर्व अध्यक्ष श्री प्रसाद श्रेष्ठ, सल्लाहकार कमरेड हर्क सिंह केसी, सल्लाहकार कमरेड प्रशान्तराज वानियाँ, सल्लाहकार कमरेड डा. प्रदीप अधिकारी, एनसिसि अध्यक्ष हरी खनाल, गण्डकी प्रदेश अध्यक्ष प्रवीण गिरी, नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सचिव कमला केसी, कविता योञ्जनलगायत रहेका थिए । उक्त कार्यक्रमको सञ्चालन सङ्गठनको सचिव हिमाल खनालले गरेका थिए भने स्वागत मन्तव्यसहित सङ्गठनको विषयवस्तु वरिष्ठ उपाध्यक्ष जीवन खतिवडाले राखे । कार्यक्रममा उपस्थित अतिथिलगायतले सबैले स्वर्गीय प्रकाश दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रकाश दाहाले पार्टी आन्दोलन, युवा पंतिमा प्रकाशको प्रभाव र प्रधानमन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई पुर्याएको साथ र सहयोगको चर्चा गरे। सो क्रममा वक्ताहरूले पार्टी, सङ्गठन र देशप्रति जिम्मेवार आफ्ना महत्वपूर्ण धारणाहरू सम्प्रेषण गरेका थिए। कार्यक्रममा प्रमुख आतिथि  विना मगरले पार्टी,सङ्गठन, समग्र देशको राजनीतिक अवस्था एवम् कोरियास्थित नेपाली समुदायको समस्या समाधानको विषय जस्ता यावत कुराहरूलाई समेटेर प्रशिक्षणात्मक मन्तव्य राखेकी थिइन् । नेकपा (एकिकृत समाजवादी) निकट प्रवासी नेपाली मञ्च कोरिया शाखाका उपाध्यक्ष दशरथ कुँवरलाई स्वागत गर्दै विना मगर   नेकपा( एकिकृत समाजवादी) निकट प्रवासी नेपाली मञ्च कोरिया शाखाका उपाध्यक्ष दशरथ कुँवरलगायतका युवाहरू माओवादी केन्द्र प्रवेश गरे । नवप्रवेशीलाई माओवादी केन्द्रकी नेतृ विना मगरले पार्टीमा स्वागत गरिन् । पार्टी प्रवेश गराउँदै नेतृ मगरले सङ्गठनलाई मजवुत र सशक्त बनाउँदै एक ढिक्का भएर वैचारिक, साङ्गठनिक र राजनीतिक रूपमा अगाडि बढ्न नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियालाई आग्रह गरिन् । नेपाल र नेपाली समुदायको हकहितमा निरन्तर क्रियाशील रहने प्रतिवद्धतासहित सङ्गठनको अध्यक्ष कमरेड इश्वर कठायतले कार्यक्रमको समापन गरे ।

छठपर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले छठपर्वले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपतिले प्रकृतिको पूजा गरिने छठपर्वले समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यी प्रदेश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार दिउँसो कोसी, वाग्ममती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

छठमा झिलिमिली गौरीघाट

काठमाडौं । छठ पर्वका लागि काठमाडौँस्थित गौरीघाट परिसर सिङ्गारिएको छ । छठ पर्व सुरु भएसँगै झिलिमिली बत्तीले गौरीघाट परिसरलाई सिङ्गारिएको हो । टेन्ट र पण्डालले गौरीघाटलाई विशेष रूपले सजाइएको छ । शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छठ पर्व कात्तिक शुक्ल सप्तमीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुनेछ । चार दिनसम्म मनाइने छठको पहिलो दिन शुक्रबार शुक्ल चतुर्थीका दिन नुहाई धुवाई गरेर अरबा अरबाईन गरिएको छ ।

सोलुखुम्बुको कालापथ्थरमा प्रधानमन्त्री (तस्बिर)

काठमाडौं । सगरमाथा आधार शिविर सोलुखुम्बुको कालापथ्थरमा आयोजित शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका छन् । कालापथ्थरमा प्रधानमन्त्रीले शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन गर्नुका साथै सम्बोधन गरेका छन् ।

हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन शीघ्र निर्माण सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं। मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबिचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध कायम रहेको छ । झन्डै नौ वर्षअघि देखि निर्माण सुरु भएको सो आयोजनामा भइरहेको अवरोधका कारण अझैसम्म सम्पन्न हुन सकिरहेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रसारण लाइनको तारमुनिको जग्गाको मुआब्जा वितरणका लागि मात्रै रु पाँच अर्ब बराबरको बजेट आवश्यक रहेको छ । यस्तै, निर्माण व्यवसायीलाई थप रु पाँच अर्ब बराबरको बजेट आवश्यक देखिएको छ । यस आधारमा सो आयोजनाका लागि कूल रु १० अर्ब बराबरको थप बजेट आवश्यक देखिएको उहाँले जानकारी दिए। प्रसारण लाइनको दायाँ बायाँ ४६ मिटर रहने भएकाले पनि मुआब्जा बापतका लागि ठुलो बजेट जरुरी रहेको छ । अवरोधै अवरोधका कारण आयोजनालाई गति दिन समस्या पैदा भएको छ । आगामी चार महिनाभित्र सो प्रसारण लाइन आयोजना निर्माण सम्पन्न गर्नुपर्ने बाध्यतामा प्राधिकरण रहेको छ । “जताततै समस्या छ, समाधानका लागि गरिएको प्रयाससमेत सार्थक हुन सकेको छैन”, कार्यकारी निर्देशक घिसिङले भने “सप्तरी र सिरहामा नापी र मालपोत कार्यालयले समेत आवश्यक सहजीकरण नगरिदिएका कारण झनै समस्या पैदा भएको छ ।” मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङ सबस्टेसनबाट सुरु भई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा जोडिने प्रसारण लाइन १० वटा जिल्ला पार भएर जान्छ । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटानको स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारणले निर्माण ढिला भएको हो । स्थानीय अवरोध खुलाइ निर्माणका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल हुन सकिरहेको छैन । रणनीतिक महत्त्वको प्रसारण लाइनको निर्माण सम्पन्न हुन नसक्दा कूल चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् धनुषास्थित ढल्केबर सबस्टेसनबाट लाइन क्षमता अभावमा पश्चिमतर्फ पठाउन सकिएको छैन । अहिले ढल्केबरबाट पश्चिमतर्फ एक सय ३२ केभी प्रसारण लाइन मात्रै छ । पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने दुई सय ८८ किलोमिटर प्रसारण लाइनका लागि सात सय ९२ वटा टावर निर्माण गर्नुपर्छ । यसमध्ये सात सय ५७ टावरको जग हालिएको छ भने सात सय ५० खडा गरिएको छ । रूख कटानको स्वीकृतिमा भएको ढिलाइ र स्थानीयको अवरोधका कारण बाँकी टावरहरूको निर्माण हुन सकेको छैन । सबै टावर खडा गरिसकेपछि ठेकेदार कम्पनीले तार तान्न सुरु गर्नेछ । हेटौँडा उपमहानगरपालिका–१५, १६ र १७ स्थिति हटिया क्षेत्रका बासिन्दाको अवरोधका कारण निजी जग्गामा पर्ने १४ वटा टावरको निर्माण सुरु हुन सकेको छैन । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रसारण लाइन निर्माणमा भइरहेको प्रगतिका बारेमा चासो व्यक्त गर्नुभएको छ । उहाँले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई आवश्यक समन्वय गरेर तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिए । उनले स्थानीय सुरक्षाकर्मीको सहयोग लिन र प्रशासनसँग मिलेर काम गर्न निर्देशन दिए। स्थानीयहरूले प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै सामुदायिक वनमा पर्ने टावरसमेत निर्माण गर्न दिएका छैनन् भने निर्माण गरिएका दुईवटा टावर सार्न माग गरिरहेका छन् । उनीहरूले प्रसारण लाइन मानव बस्तीबाट नलगी जङ्गलबाट लैजानुपर्ने माग गरेका छन् । आयोजनाले भने सबै प्रक्रिया पूरा गरी डिजाइन गरिएकाले अहिले आएर रुट परिवर्तन गर्न नसकिने प्रस्ट पार्दै आएको छ । “माथिल्लो तामाकोशीको बिजुली ढल्केबरबाट पश्चिमतर्फ ल्याउन नसक्दा यता नपुग्ने उता खेर फाल्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो अवस्थाको अन्त्य गर्न यो लाइन जतिसक्दो छिटो निर्माण गर्नुपर्ने छ”, कार्यकारी निर्देशक घिसिङले भने । स्थानीयले सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर र सिरहाको लहान पडरिया क्षेत्रमा पनि प्रसारण लाइन निर्माणमा अवरोध गरेका छन् । हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन विद्यमान एक सय ३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारण लाइनको मार्गाधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ २३र२३ मिटर हुने छ । सो प्रसारण लाइन निर्माणपछि मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबिचको विद्युत् व्यापार सहज हुने अपेक्षा गरिएको छ । रासस

प्रधानमन्त्रीलाई खुम्बु पासाङल्हामु गाउँपालिकाको ज्ञापनपत्र

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विभिन्न तीनबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । आज सोही गाउँपालिका पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष मिङमा छिरी शेर्पाले स्थानीय समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा आफूहरू असाध्यै हर्षित भएको उल्लेख गरिएको छ । विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित सो गाउँपालिकाले सङ्घ, प्रदेश र विभिन्न दातृ निकायसँग सहकार्य समन्वय गर्दै गाउँपालिकालाई समृद्ध बनाउन प्रयासरत रहेको ब्यहोरासमेत सो अवसरमा अवगत गराएको थियो । हवाई यातायातको भर पर्नु परेकाले यस क्षेत्रमा यातायातको सहज पहुँचका लागि पालिकाले प्रदेश सरकारसँग सहकार्य गरी पालिका केन्द्रसम्मको सडक ट्र्याक खोल्ने कार्यलाई द्रुत गतिमा भइरहेको जानकारी गराएको छ । सगरमाथा क्षेत्र जोड्ने उक्त सडकको स्तरोन्नतिको योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी बजेट विनियोजन गरिदिन गाउँपालिकाले प्रधानमन्त्रीलाई अनुरोध गरेको हो । प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अक्टोबर ३० मा खुम्बु क्षेत्रको भ्रमणमा तापक्रम बढ्ने, हिमताल पग्लने र त्यसले जनतालाई पुर्‍याउने हानिनोक्सानीको कुरालाई गम्भीरतापूर्वक लिएका थिए । जलवायु परिवर्तनको जोखिमबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तरमा परेको समस्या र चुनौतीलाई समाधान गर्न क्षतिपूर्ति हुनुपर्छ भन्ने विषय केही समयपछि हुन लागेको कोप–२८ सम्मेलनमा विश्वको ध्यानाकर्षण गराउन गाउँपालिकाले प्रधानमन्त्रीलाई अनुरोध गरेको छ । उच्च हिमाली भूभाग र महँगो ढुवानीको कारण खाना पकाउने इन्धनको महँगीको मार खुम्बुवासीले वर्षौँदेखि ब्यहोर्दै आएकाले सो पालिकामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जोडी जनजीवनलाई थप सहज बनाउन पहल गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्दै गाउँपालिकाले समस्याको दिगो समाधान हुने अपेक्षा गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । गाउँपालिकाले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले माग सम्बोधन गर्न अधिकतम प्रयास गर्ने विश्वास दिलाए । उनले गाउँपालिकाका तर्फबाट पेस भएका मागलाई आफूले गम्भीरतापूर्वक लिएको र सम्बन्धित मन्त्रालयलाई आवश्यक निर्देशन दिने उल्लेख गरेका थिए । रासस