आज रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा मंगलबार बिहान ८ बजे बस्ने बैठकमा ६ वटा कार्यसूची तय गरिएको छ।

प्रवक्ता मनिष झाका अनुसार भोलि बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। पार्टीका सातै प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रदेश सभापतिहरूले राख्ने कार्यसूची तय गरिएको छ।

यस्तै परिवर्तित अवस्थाका सन्दर्भमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिइने झाले बताए । चौथो कार्यसूचीमा पार्टी संगठन एवं विभागबारे छ। केही रिक्त विभागहरू पूर्ति गरिने सम्भावना छ । पाँचौं कार्यसूचीमा आगामी फागुन २१ गतेलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको रणनीतिबारे पनि छलफल हुनेछ ।

त्यस्तै भोलिको बैठकमा पार्टीको पहिलो महाधिवेशनबारे पनि छलफल हुनेछ । महाधिवेशन फागुन ७, ८, ९ गते तय गरिएको छ ।

उदयपुरमा खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु

उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नम्बर ६, धपरका ४० वर्षीय तोपबहादुर सार्कीको खोलाले बगाएर मृत्यु भएको छ। आइतबार साँझ करिब ५ बजे नेपालटार बजारबाट घर फर्कँदै गर्दा बैजनाथ खोला तर्ने क्रममा खोलाले बगाएको हो ।  उनको शव खोलाले करिब ५०० मिटर तलसम्म बगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ। सार्कीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नवलपरासीमा कारागारबाट भागेका २१५ कैदीबन्दी नियन्त्रणमा

नवलपरासी । नवलपरासी कारागारबाट भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिने क्रम जारी छ । नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले आइतबार बिहानसम्म भागेका मध्ये २१५ कैदीबन्दी नियन्त्रण आएको बताए । जेनजी आन्दोलनका क्रममा नवलपरासी कारागारबाट ५४३ कैदीबन्दी भागेका थिए । जसमा २ सय ३ जना जिल्ला नवलपरासीबाट र १२ जना अन्य जिल्लाबाट गरी २१५ जनालाई नियन्त्रणमा लिएको भण्डारीले रातोपाटीलाई बताए ।  अन्यको खोजी कार्य भइरहेको छ । उनले भने,'केही कैदीबन्दीले फोन सम्पर्क गरेर हामी कारागार फर्किँदै छौँ भनेर जानकारी गराएका छन् ।' गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा कैदीबन्दीहरु कारागारबाट भागेका थिए । 

सिस्नुबाट आम्दानी गर्ने प्रशोधन केन्द्रको सफलता

धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिका–१, चैतेका दीपेन्द्र बस्नेत दैनिक १५–२० किलो सिस्नु संकलन गरी चैते सामुदायिक वनले सञ्चालन गरेको सिस्नु प्रशोधन केन्द्रमा पुर्‍याउँछन् । उनले प्रतिकिलो ८० रुपैयाँको दरमा बिक्री गर्दै फुर्सदको समयमा नै उल्लेखनीय आम्दानी गरिरहेका छन् । बस्नेतजस्तै अन्य स्थानीय बासिन्दा पनि हाल सिस्नु संकलन र बिक्रीमार्फत आम्दानी बढाउँदै आएका छन् । पहिले पहाडका गाउँघरमा घाँसपात वा खेतीपाती गर्दा पोल्ने भएकाले सिस्नुलाई टाउको दुखाइ मानिन्थ्यो । तर पछिल्ला वर्षमा चैते सामुदायिक वनका उपभोक्ता र आसपासका बासिन्दाले यसको संरक्षण र खेती गर्दै सिस्नुलाई आम्दानीको स्रोत बनाएका छन् । सामुदायिक वनले सिस्नु प्रशोधन गरेर धुलो र तीनपाते मुना (सुक्खा पात) उत्पादन सुरु गरेपछि स्थानीयले व्यावसायिक रूपमा खेती गर्न थालेका हुन् । ३६५ हेक्टरमा फैलिएको यस वनको करिब १० प्रतिशत क्षेत्रमा सिस्नु फस्टाएको छ । गत आर्थिक वर्षमा करिब एक हेक्टरमा व्यावसायिक खेती सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले जानकारी दिए । हाल दैनिक ४०–५० किलो सिस्नु संकलनबाट ५–६ किलो धुलो उत्पादन हुन्छ । “हामी गुणस्तर परीक्षणपछि लेबलिङ र प्याकिङको तयारीमा छौँ । उत्पादन क्षमता विस्तार गरेपछि दैनिक करिब ४ सय किलोसम्म आपूर्ति गर्न सक्नेछौँ,” अध्यक्ष खड्काले बताए । सामुदायिक वनले हाल सिस्नुको धुलो प्रतिकिलो २ हजार रुपैयाँ र तीनपाते मुना प्रतिकिलो २ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको छ । प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालयमार्फत २०८१/८२ आर्थिक वर्षमा १० लाख रुपैयाँ लागतको सिस्नु सुकाउने, धुलो बनाउने र प्याकिङ गर्ने मेसिन उपलब्ध गराइएको छ । पहिले गाउँघरमा मात्र खाइने सिस्नु अहिले शहरका होटेल र रेस्टुरेन्टसम्म लोकप्रिय बनेको छ । “वसन्तपुरमा आउने पर्यटकको रोजाइमा सिस्नु पर्छ,” स्थानीय होटेल व्यवसायी हेमराज बानियाँले बताए । सिस्नुमा प्रशस्त प्रोटिन, भिटामिन ‘ए’, ‘सी’, ‘के’, फलाम, क्याल्सियम र म्याग्नेसियम पाइन्छ । उत्पादन गरिएको धुलो अहिले वसन्तपुरका होटेल मात्र नभई जिल्लाबाहिरका ठूला होटेलसम्म पुग्ने गरेको छ । विदेशबाट समेत माग बढ्दो छ तर लेबलिङ प्रक्रिया पूरा नभएकाले निर्यात सुरु भएको छैन । “माग धेरै छ, उत्पादन बढाउने तयारीमा छौँ,” सामुदायिक वनकी सदस्य रेणुका खड्काले बताइन् । सिस्नुको बढ्दो मागका कारण सामुदायिक वनभित्रका साथै निजी जमिनमा पनि खेती विस्तार गर्न स्थानीयलाई प्रोत्साहन गरिएको छ । पहिले टाउको दुखाइको रूपमा चिनिएको सिस्नु अहिले ग्रामीण आम्दानीको आकर्षक विकल्प बनेको छ ।  

प्रधानमन्त्री कार्कीद्वारा पाँच मन्त्रीको नाम राष्ट्रपति समक्ष सिफारिस, आज शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पाँच मन्त्रीको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । राष्ट्रपतिको कार्यालयका अनुसार नियुक्ति र शपथग्रहण सोमबार हुने तय गरिएको छ ।सिफारिस भएका व्यक्तिहरू र उनीहरूको जिम्मेवारी यस प्रकार छन् । जसमा अनिलकुमार सिन्हा छन् । उनि सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, **उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन मन्त्रालयको जिम्मेवारी दिइनेछ ।  कानुन मन्त्रालय हाल गृहमन्त्री ओमप्रकाश अर्यालले सम्हाल्दै आएका थिए । डक्टर सङ्गिता मिश्रले स्वास्थ्य मन्त्रालय पाउने भएकी छिन् । उनि अतिरिक्त सचिव रहेकी थिइन् । मन्त्री बन्ने सम्भावना देखेपछि उनले आइतबार राजीनामा दिएकी थिइन् । पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनी इमेज टिभीका समाचार प्रमुख हुन् र त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । र डा. मदन परियार कृषि विज्ञ हुन । उनि कृषि विकास तथा पशुपंछि मन्त्रालयको नेतृत्व पाउने भएका छन् ।  महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा म्यागसेसे पुरस्कार विजेता हुन । पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइने जनाइएकाे छ । 

फिलिपिन्समा भ्रष्टाचारविरुद्ध ठूलो प्रदर्शन

मनिला । सांसद, अधिकारी र व्यवसायीहरू संलग्न भएको भनिएको बाढी नियन्त्रण परियोजनाको ठूलो घुसघोरी प्रकरणले आक्रोश बढेपछि आइतबार हजारौँ प्रदर्शनकारीहरू फिलिपिन्सको राजधानी मनिलामा सडकमा उत्रिएका छन् । हिंसा रोक्न प्रहरी र सेनालाई सतर्क पारिएको थियो । ऐतिहासिक मनिला पार्क र राजधानी क्षेत्रको इड्सा राजमार्ग नजिक लोकतन्त्र स्मारक वरिपरि छुट्टै प्रदर्शनस्थलहरूमा सुरक्षाका लागि हजारौँ प्रहरी तैनाथ गरिएको थियो । आयोजकहरूले यसलाई हालका वर्षहरूमा भ्रष्टाचारविरोधी सबैभन्दा ठूलो प्रदर्शन बन्ने अपेक्षा राखेका छन् । संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाका दूतावासहरूले आफ्ना नागरिकलाई प्रदर्शन क्षेत्रबाट टाढा रहन सचेत गराएका छन् । प्रदर्शनकारीहरूले फिलिपिन्सको झण्डा बोके र ‘अब छैन, धेरै, तिनीहरूलाई जेलमा हाल’ भन्ने नारासहितका ब्यानर देखाउँदै दोषीहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।  विद्यार्थी नेत्री अल्थिया ट्रिनिडाडले भन्नुभयो, “हामी गरिबीमा डुबिरहेका छौँ, तर उनीहरूले हाम्रो करबाट भाग्य कमाएर लक्जरी कार, विदेश यात्रामा खर्च गर्छन् । हामी यस्तो प्रणाली अन्त्य चाहन्छौँ ।” उहाँले आफू बस्ने बाढीग्रस्त बुलाकान प्रान्तमा धेरै परियोजना खराब गुणस्तर वा अस्तित्वहीन भएको अनुसन्धान भइरहेको पनि बताउनुभयो । फिलिपिन्स क्याथोलिक बिशप्स कन्फरेन्सका प्रमुख कार्डिनल पाब्लो भर्जिलियो डेभिडले शान्तिपूर्ण विरोधको आग्रह गर्दै ‘हाम्रो उद्देश्य अस्थिरता होइन, लोकतन्त्रलाई बलियो बनाउन हो’ भन्नुभयो ।  आयोजकहरूले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई राजीनामा दिन माग नगरी भ्रष्ट सांसद, अधिकारी र ठेकेदारलाई मात्र निशाना बनाइने बताएका छन् । मार्कोसले यसै वर्षको वार्षिक राष्ट्र सम्बोधनमा काण्डको खुलासा गर्नुभएको थियो । उहाँले सन् २०२२ पछि सुरु भएका नौ हजार आठ सय ५५ बाढी नियन्त्रण परियोजनामध्ये धेरैमा पाँच खर्ब ४५ अर्ब पेसो (नौ अर्ब ५० करोड डलर) बराबरको अनियमितता भएको भन्दै स्वतन्त्र आयोग गठन गर्नुभएको थियो । उहाँले भ्रष्टाचारलाई ‘भयानक’ भन्दै निर्माण मन्त्रीको राजीनामा समेत स्वीकार गर्नुभएको थियो । मिडियामा धनी दम्पती सारा र प्यासिफो डिस्कायाले आफ्ना दर्जनौँ लक्जरी कार र एसयुभी प्रदर्शन गरेपछि जनआक्रोश चर्किएको थियो । उनीहरूले चार करोड २० लाख पेसो (सात लाख ३७ हजार डलर) बराबरको ब्रिटिस लक्जरी कार किन्दा निःशुल्क छाता पाएको भन्दै देखाएका थिए । सिनेट सुनुवाइमा दम्पतीले कम्तीमा १७ सांसद र उच्च अधिकारीलाई ठेक्का दिलाउन ठूलो किकब्याक तिर्न बाध्य पारिएको खुलासा गरेका थिए । छुट्टै अनुसन्धानमा दुईजना प्रमुख सिनेटरलाई पनि एक पूर्व इन्जिनियरले फसाएका छन् । नाम लिइएकाले सबैले आरोप अस्वीकार गरे पनि धेरैजना अनुसन्धानको दायरामा परेका छन् । दुवै सदनमा सांसदहरू फस्दा सिनेट अध्यक्ष फ्रान्सिस एस्कुडेरो र सभामुख मार्टिन रोमाल्डेजले राजीनामा दिनुभएको छ । भ्रष्टाचारमा संलग्न कम्तीमा तीन इन्जिनियर बर्खास्त भएका छन् भने १५ जनामाथि थप अनुसन्धान भइरहेको छ । सबैले आपराधिक मुद्दा सामना गर्नेछन् र उनीहरूको सम्पत्ति, घर, कार र बैंक खाता फ्रिज गरिने जनाइएको छ । रासस/एपी

जेनजी आन्दाेलनका कारण निजी क्षेत्रमा करिब ८० अर्बको क्षति

काठमाडौँ ।  जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षसहितको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।  महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार देशभरको क्षतिको विवरण सङ्कलन जारी छ । हालसम्म प्राप्त सूचनाअनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन छ । ठूला उद्योग र राजधानीबाहिरका केही व्यवसायको विवरण अझै प्राप्त नभएको उनले बताए । निजी क्षेत्रका प्रतिनिधिहरूले देशव्यापी सर्वेक्षणमार्फत विस्तृत विवरण चाँडै उपलब्ध गराउने तयारी भइरहेको जनाएका छन् । उनीहरूले अर्थतन्त्रको पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानका लागि सरकारसँग आवश्यक सुरक्षा, समन्वय र सहकार्यको माग गरेका छन् । “हामी पनि समालिँदै सरकारलाई सघाउँदै सहकार्य गर्न तयार छौं,” ढकालले भने । नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेका अनुसार प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको समस्या समाधानका लागि आवश्यक नीतिगत सहजीकरणबारे मन्त्रिपरिषद्को बैठकमा छलफल गर्ने आश्वासन दिइन् । “तत्काल निकाल्न सकिने समाधानका विषयमा प्रधानमन्त्रीले हामीलाई ढाडस दिनुभएको छ,” पाण्डेले भने । बैठकमा सहभागीहरूले क्षतिको बीमा दाबी प्रक्रिया छिटो गर्न, दाबीको आधा रकम सुरुमै भुक्तानी हुने व्यवस्था गर्न, प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा उपलब्ध गराउन तथा लगानी आकर्षित गर्न कर छुट दिन माग गरेका छन् ।  चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले अकल्पनीय नोक्सानीले लगानीकर्ताको मनोबल खस्किएको भन्दै एकीकृत सुरक्षा रणनीति र वित्तीय सहजता आवश्यक रहेको बताए । साथै, सहुलियतपूर्ण कर्जा, नयाँ संरचना निर्माणका लागि आवश्यक सामग्री आयातमा भन्सार छुट, सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम पुनर्निर्माणमा खर्च गर्न पाउने प्रावधान र चालु पुँजी कर्जा कम्तीमा दुई वर्ष स्थगित गर्नेजस्ता उपाय तत्काल लागू गर्न व्यवसायीहरूले सुझाव दिए ।  

पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा

पर्वत । गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पूर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा छन्। स्थानीय मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घर र गोठपुर्ण रूपमा भत्किएको सो वडाका वडा अध्यक्षमनबहादुर कुँवरले जानकारी दिए । कुनै मानविय तथा पशुचौपायाको क्षति भने भएको छैन । जमिन चिरा पर्न थालेपछि र पशुचौपायासहित पहिल्यै सुरक्षित ठाउँमा सर्न भ्याएकाले क्षति हुन नपाएको हो। बस्ती भन्दा तल रहेको खोल्साबाट केही वर्षदेखि पहिरो बग्दै गाउँसम्मपुगेको हो । विस्थापित घरपरिवारलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा टेन्ट टाँगेर राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिए । जिल्ला स्थित विपद् व्यवस्थापन समितिका टोली, फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभा क्षेत्रीलगायतका स्थानीय जनप्रतिनिधिले सो स्थानको स्थलगत निरीक्षण गरेका छन् । उनीहरूले विस्थापित परिवारलाई अस्थाई वसोवासका लागि पाँचवटा टेन्ट उपलब्ध गराएको सो नगरका नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिए । विस्थापित परिवारलाई पुनःस्थापना गर्न र सुरक्षित स्थानमा आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पहल गरिने उनले बताए । 

बडादसैं प्रारम्भ, आज घटस्थापना

काठमाडौं । हिन्दूहरूको महान् पर्व बडादसैं आज घटस्थापनासँगै सुरू भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको पहिलो दिन विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घर–घरमा देवी दुर्गाको आह्वान गरिन्छ ।  आज बिहान ९:१३ बजे घटस्थापनाको साइतमा पूजा कोठा वा दसैं घरमा गाईको गोबरले लिपपोत गरी बालुवा वा माटो राखेर जौ (जमरा) रोपिएको छ । यवका अङ्कुर देवी दुर्गाको प्रिय वस्तु मानिँदै विजयादशमीको दिन टीका–प्रसादसँगै समृद्धिको प्रतीकका रूपमा ग्रहण गरिन्छ । धर्मशास्त्रविद् देवमणि भट्टराईका अनुसार जमरामा जौ बाहेक अन्य अन्न रोप्ने शास्त्रीय परम्परा छैन । नौ दिन नौ दुर्गाको पूजा नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीसहित शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मका नौ दुर्गाको पूजा–आराधना गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा दसैं सबै जातधर्मका मानिसले मनाउने परम्परा छ । सातौं दिन फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन बलिपूजा हुने परम्परा छ । नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत लगायतका स्तोत्रको पाठ गरिन्छ भने गुह्येश्वरी, मैतीदेवी, शोभा भगवतीसहित देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ । विजयादशमी र कोजाग्रत पूर्णिमा यस वर्ष दशमी असोज १६ गते परेको छ। देवी विसर्जनको साइत बिहान ९:२३ र टीका ग्रहणको उत्तम साइत ११:५३ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण र महालक्ष्मीको व्रत बस्ने चलन छ ।  हनुमानढोकामा विशेष पूजा परम्पराअनुसार काठमाडौंको हनुमानढोकास्थित दसैं घरमा पनि आजैदेखि वैदिक विधिअनुसार जमरा राखी पूजा आरम्भ गरिएको छ । महानवमीका दिन ५४ बोका र ५४ राँगाको बलि दिने परम्परा छ । बडादसैंलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । रोजगारी, अध्ययन वा अन्य कारणले बाहिर रहेका नेपालीहरू यही अवसरमा घर फर्केर परिवारसँग पर्व मनाउने गर्छन् । धेरै शैक्षिक संस्था आजैदेखि बिदामा छन् ।

पार्टी पुनर्संरचनाका लागि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असोज ९ गते आव्हान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी पुनर्संरचनाका लागि असोज ९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव बैठकमा लैजाने निर्णय भएको छ। आइतबार बसेको पदाधिकारी बैठकमा यो प्रस्ताव पारित भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार असोज ८ गते स्थायी समिति र ९ गते केन्द्रीय समिति बैठक बस्नेछ। पेरिसडाँडामा बिहान २ बजेदेखि बसेको पदाधिकारी बैठकमा प्रचण्डले समसामयिक विषयमा विस्तृत धारणा राखेका थिए। नेतृत्व चयन र पार्टीको भावी रणनीतिबारे पनि केन्द्रीय समिति बैठकमा छलफल हुनेछ।

पार्टी पुनर्संरचनाका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी पुनर्संरचनाका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विशेष महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गर्नु भएको एक पदाधिकारीले एभरेष्ट दैनिकलाई जानकारी दिए ।  पार्टीको केन्द्रीय समितिमा युवालाई नेतृत्वमा ल्याउनेगरी सबै कमिटीको अधिवेशन हुने र महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेगरी प्रचण्डले बैठकमा प्रस्ताव राख्नु भएको उनले जानकारी दिए ।  प्रचण्डले पार्टीलाई तत्काल पुनर्संंरचना गर्नका लागि तलसम्मका सबै तहको अधिवेशनका लागि आजैदेखि खट्नका लागि पनि नेतृत्वलाई निर्देश गर्नुभयो ।  बैठकमा समसामयिक विषयमा बोल्दै प्रचण्डले अहिलेको परिवर्तनपछिको संक्रमण अन्त्यका लागि चुनावमा भाग लिएर जानुपर्ने बताउनु भयो । उहाँले चुनाव नै अहिलेको निकास भएकाले आजैदेखि सबै तहका कमिटिहरुलाई चुनाव केन्द्रित कार्यक्रम गर्ने प्रस्ताव गर्नु भएको छ ।  नेपाली काँग्रेस र नेकपा एमाले जस्तै माओवादी पनि भएको आरोपको खण्डन गर्दै प्रचण्डले बैठकमा भन्नुभयो, 'काँग्रेस र एमाले जस्तो हाम्रो  पार्टी हुनै सक्दैन । हामीले अहिलेसम्म पनि कुनै पनि प्रकारको बहुमत पाएर अर्थात एकल सरकारको नेतृत्व पनि गरेका छैँनौ । हामीले सुशासन दिँदा सरकार ढलाइएको हो । हामीले पहिले नै प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपको राख्दा नमानिएको हो । आज त्यहीँ कुरा पुष्टि भएको छ ।' प्रचण्डले अब सबै पदाधिकारी र केन्द्रीय समिति भंग गरेर आयोजक समिति राख्ने प्रस्ताव गर्नु भएको छ । यो प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरेपछि लागू हुने एक पदाधिकारीको भनाइ छ । केन्द्रीय समिति बैठक अर्को बस्ने तयारी छ । 

जेनजी आन्दोलनका घाइतेहरूको सिंहदरबारमा धर्ना

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएपछि उनीहरूलाई भित्र प्रवेश गराइएको छ । आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका घाइतेहरूलाई प्रहरीको गाडीमार्फत गृहमन्त्रालयमा पुर्‍याइएको छ । यद्यपि, गृहमन्त्री बाहिर रहेकाले जेनजी आन्दोलनका घाइतेहरू मन्त्रीको प्रतीक्षा गरिरहेका छन् । यसअघि उनीहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर, सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पेरिसडाँडामा सुरु

काठमाडौँ । हालैको जेनजी आन्दोलनपश्चात देशको राजनीतिक परिदृश्यमा देखिएको अस्थिरता र पार्टीभित्र उत्पन्न आन्तरिक विवादबारे विस्तृत छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज सुरु भएको छ । पार्टीका उपमहासचिव हरिबोल गजुरेलका अनुसार बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरु भएको हो । बैठकमा हालको राष्ट्रिय राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी, पार्टीको संगठनात्मक सुदृढीकरण तथा आगामी रणनीति लगायतका विषयमा गहन बहस भइरहेको उहाँले जानकारी दिनुभयो । गएको भदौ २३ र २४ गते भएको जेनजीको विद्रोहपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो । सो घटनाले मुलुकमा नयाँ सत्ता समीकरणको बाटो खोल्दै हालको राजनीतिक समीकरणलाई परिवर्तन गरेको  छ। त्यसको केही दिनमै सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्दै आगामी राजनीतिक संक्रमणलाई व्यवस्थापन गर्ने योजना अघि सारेको छ ।

महावीर पुनलाई शिक्षा मन्त्रीको अफर

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनलाई शिक्षा, विज्ञान र प्रविधि मन्त्री बन्न प्रस्ताव गरेकी छन्। मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी कार्कीले पुनसहित केही पत्रकारहरूसँग छलफल गरेकी छन्। पुनले प्रस्तावबारे स्पष्ट जवाफ दिएका छैनन्।  हाल तीन मन्त्री रहेको अन्तरिम सरकारमा कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, जलस्रोत, सिंचाइ, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रीमा कुलमान घिसिङ, तथा गृह र कानुन मन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गरिसकेकी छन्। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले ताररहित इन्टरनेट सेवामार्फत नेपालमा ख्याति कमाएका छन्। उनले रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका छन् र हालै किताब बिक्रीबाट कृषि औजार कारखाना सञ्चालनका लागि रकम संकलन गरेका छन्।  

सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्न तर्पण, सिदादान र पिण्डदानसहित समापन हुँदैछ। आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृको सम्झनामा गरिने श्राद्धलाई सोह्रश्राद्ध पनि भनिन्छ। पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदासहित १६ दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा छ। आश्विन शुक्ल प्रतिपदाका दिन मातामह (आमाका पिता)को श्राद्ध सोमबार गरिन्छ। धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार निर्धारित तिथिमा श्राद्ध गर्न नसकेमा आज औँसीका दिन गर्नुपर्छ। अझै गर्न नसकिएमा आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीभित्र, नहुने अवस्थामा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन, त्यसमापछि वृश्चिक सङ्क्रान्तिसम्म पनि गर्न सकिने शास्त्रीय व्यवस्था छ। निर्णयसिन्धु, धर्मसिन्धुजस्ता ग्रन्थअनुसार अष्टमी, द्वादशी, औँसी, भरणी नक्षत्र वा व्यतीपात योग परेका दिनमा पनि रोकिएको श्राद्ध गर्न सकिने उल्लेख छ। यदि यी सबै समयमा पनि श्राद्ध गर्न नसकिएमा ब्राह्मणमार्फत वैदिक मन्त्रको १० महिनासम्म १०८ जप गर्ने वैकल्पिक विधि छ, जसबाट पनि पितृ तृप्त हुने धार्मिक विश्वास छ। वैदिक सनातन परम्पराअनुसार चाडपर्व, यज्ञयज्ञादि वा ठूला कार्य अघि पितृलाई श्रद्धाभक्तिपूर्वक सम्झेर सोह्रश्राद्ध गरिन्छ। धर्मग्रन्थहरूमा यस अवधिमा पितृलोकबाट दिवङ्गत पितृहरू पिण्ड र पानीको आशले पृथ्वीमा आउने उल्लेख छ। निर्धारित विधि नगरे पितृ असन्तुष्ट भई श्राप दिने विश्वास पनि छ। सोह्रश्राद्ध गर्दा पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृऋणबाट मुक्ति मिल्ने धार्मिक मान्यता छ। नान्दीमुखी श्राद्ध, एकोद्दिष्ट श्राद्ध, पार्वण श्राद्ध, तीर्थश्राद्ध तथा बद्रीनाथको ब्रह्मकपालमा गरिने ब्रह्मकपाली श्राद्धलगायतका परम्परागत विधि प्रचलित छन्। यस अवसरमा उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट–रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पितृश्रद्धा गर्न श्रद्धालुहरूको भीड लाग्छ। पितृपक्षको समापनसँगै दुर्गापक्ष अर्थात् बडादशैं सुरु हुन्छ। असोज ६ गते सोमबार घटस्थापनासँगै दुर्गापक्षको आरम्भ हुनेछ।  

कैलालीमा चाडपर्व नजिकिएसँगै भारत गएका नेपाली घर फर्कँदै

कैलाली । बडादसैँ तथा दीपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिनेक्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म धनगढीले जनाएको छ ।  सीमासुरक्षा गुल्मका अनुसार त्रिनगर सीमा नाकाबाट एक सातामा चार हजार ७७३ जना नेपाली भारतका विभिन्न सहरबाट रोजगारी गरी फर्किएका छन् । प्रत्येक दिन सो नाकाबाट भित्रिनेको सङ्ख्यामा बढ्दै गएको सीमा सुरक्षा गुल्मबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ । डोटीका रमेश साउद सोही नाकाबाट घर फर्किएका छन् । लामो समयदेखि भारतको सुरतमा रोजगारी गर्दै आएका उनले चाडपर्व मनाउन घर फर्किएको बताए । भन्सार सीमा नाकामा यात्रुहरूको सहजताका लागि सीमा सुरक्षा गुल्म निर्माणसँगै घर फर्कँदा सहज भएको उनको भनाइ छ । 'चाडपर्वमा परिवारका सदस्यबिच एकसाथ भेटघाट हुने, मिठामिठा स्थानीय खानाका परिकार खाएर रमाइलो गरी मनाउने गरिन्छ', साउदले भने, 'जसले घर बाहिर लामो समय एक्लो भएर बस्नुपरेको आभासलाई रमाइलोमा परिणत गरिदिन्छ ।' भारतको बैङ्लोरबाट होटलमा जागिर गरिररहेका कैलालीका शिवराज धामीले बडादसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट र खेतीपाती भित्र्याउन आफू घर फर्केको बताए । दिल्लीबाट रोजगारी गरी घर फर्कँदै गरेका बझाङका राजेन्द्र गिरीले पनि चाडपर्व मनाउनका लागि घर फर्केको बताए । यसरी छिमेकी मुलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि, कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् । अधिकांश खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्दछन् । खेतीपाती नहुनेहरू लामो समयको अन्तरालपछि चाडवार्ड मनाउन घर आउने गरेका पाइन्छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका युवा रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायत ठुला सहरमा जाने गर्दछन् । भिसा आवश्यक नपर्ने र रोजगारी पनि सहजै प्राप्त हुने भएकाले पनि यस क्षेत्रका अधिकांश नेपाली रोजगारीका लागि भारत जाने गरेका हुन् ।