अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दीपक बम र नीरक शाहीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमेरेका अनुसार विशेष अदालत काठमाडौंबाट भएको फैसला चित्त नबुझेका कारण मेकानिकल इन्जिनियर बमले तीन हजार रुपियाँ र विचौलिया शाहीले १० हजार ३६० रुपियाँ घुस लिएकोसम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुमथि कैद र जरिवाना हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।

एउटै पुस्तामा लिम्चुङबुङ समृद्ध बनाउने महाअभियान : यस्ता छन् मुख्य मुद्धा

काठमाडौं । कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको पश्चिम-उत्तर हिस्सामा अवस्थित लिम्चुङबुङ गाउँपालिकाले एउटै पुस्तामा गाउँ समृद्ध बनाउने महाअभियानकाे सुरूवात गरेको छ । पालिका अध्यक्ष मेजर राईले एउटै पुस्तामा गाउँ समृद्ध बनाउने गरी महाअभियानको सुरुवात गरिएको जानकारी दिए । एउटै पुस्तामा गाउँ समृद्ध बनाउनका लागि पक्की सडक निर्माण, कृषिमा आधुनिकिकरण, शिक्षा र स्वास्थ्य क्षेत्रको स्तरउन्नति र पर्यटनको विकासको मुद्धा तय गरिएको र विकासका निम्ति तीनै मुद्धालाई प्राथमिकता दिइने उनले जानकारी दिए । बस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाँते गरि जम्मा ५ बटा वडाहरु रहेको गाउँपालिकाको कुल क्षेत्रफल १०६।८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११९९२ रहेको छ ।

लगानी सम्मेलन आयोजना हुनुअगावै ‘कन्ट्री रेटिङ’को काम गर्छौं : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनुअगावै ‘कन्ट्री रेटिङ’को प्रक्रिया सम्पन्न गर्ने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा जानकारी दिन भएको छलफलमा वैशाखअघि नै कन्ट्री रेटिङ गरिसक्ने बताएका हुन् । उनले नेपालमा लगानी गर्न आवश्यक पर्ने सबै खालका नीतिगत ऐन नियमहरू परिमार्जन गर्न सरकारले प्रमुख प्राथमिकता दिने बताए । उनले काम गर्ने प्रक्रियागत झन्झट, काम गर्ने कार्यशैली सम्मेलनअगावै परिवर्तन हुने उल्लेख गरे । सरकारले निजी क्षेत्रको लगानी ल्याउन कठिन भएपनि लगानी भित्र्याउन सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए । सम्पत्ति शुद्धीकरणसम्बन्धी बलियो कानुन बनाउनुपर्ने र अन्य कानुनमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि पनि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । लगानी भित्र्याउनको लागि सरकार नीति र कानुनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर सिर्जना गर्न तयार रहेको बताए ।

प्रताप सदाको घटनामा गम्भीर छानबिन गर्न माग

विराटनगर । कोसी प्रदेशसभा सदस्यहरूले विभिन्न निकायमा खाली पदमा नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेका छन् । सोमबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले समसामयिक विषय उठान गरेका हुन् । नेकपा (एकीकृत समाजवादी)की सांसद खिनुलङ्वा लिम्बूले भनिन्, “भारतीय दूधजन्य उत्पादनले किसानलाई असर गरेको छ ।” दूधको मूल्य उधारो रहेको र किसानले क्रेताबाट नपाएको उनले बताइन् । नेकपा (एमाले)की सांसद गीतादेवी रेग्मीले उदयपुरको गाईघाटमा आगलागीबाट डेढ करोड रुपैयाँबराबरको क्षति भएको उल्लेख गरिन् । पीडितलाई क्षतिपूर्ति दिलाउन उनले सरकारसँग माग गरिन् । उनले शोभा सुन्दासबारेको विषय पनि उठाइन् । उनले भनिन्, “उर्लाबारीकी शोभा सुन्दासलाई विराटनगर, पुष्पलालचोकको वृद्धाश्रममा प्रवेश नदिनु भेदभाव हो ।” नेकपा (माओवादी केन्द्र)की गीता तिम्सिनाले प्रदेश निजामती ऐन पारित हुने अवस्थामा पुग्नु सकारात्मक भएको बताइन् । उनले भनिन्, “प्रदेश लोकसेवा आयोगको अध्यक्षको पद रिक्त भएकोले प्रक्रिया अघि बढाउनुपर्छ । सभामुख र रिक्त प्रदेशका पदपूर्ति हुनुपर्छ ।” एमाले प्रदेशसभा सदस्य तिलचन्द पाठकले विराटनगरको मेट्रो अस्पतालबाट मृत घोषित बिरामी जीवित नै फेला परेको घटनाबारे छानबिन हुनुपर्ने माग गरे । सुनसरीको इनरुवा नगरपालिका–३ का प्रताप सदा जीवित हुँदाहुँदै मृत घोषणा गरिएको पाठकले बताए । एमालेकै ललिता चौधरीले ग्रामीण भेगका विद्यालयमा प्राविधिक विषय पठनपाठन गर्नुपर्ने माग गरिन् । माओवादीकी सांसद सपना दर्जीले प्रताप सदाको घटनामा गम्भीर छानबिन हुनुपर्ने माग गरिन् । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएपछि यो घटनाको छानविन हुनुपर्ने माग उठेको हो ।  

नेपाली युवामाथि गोली प्रहार घटनाको छानबिन गरिने

विराटनगर । भारतीय सीमावर्ती क्षेत्रमा नेपाली युवामाथि भएको गोली प्रहारको घटनाको छानबिन गर्न मोरङ प्रहरीले भारतीय प्रहरीसमक्ष समन्वय अगाडि बढाएको छ । मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाको अनुसन्धान गर्न आग्रह गरेको जानकारी दिए । भारतीय सहर जोगबनी गएर फर्कंदै गरेका विराटनगर ८ मधुमाराका २८ वर्षे निर्दोष सङ्ग्रौलालाई भारतीय भूमिमा साँझ पौने ६ बजे गोली प्रहार भएको थियो । सङ्ग्रौलाको दाहिने तिघ्रामा गोलीको छर्रा लागेको र कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते युवा खतरामुक्त रहेको प्रवक्ता दाहालले जानकारी दिए । युवामाथि कसले किन गोली प्रहार ग र्‍यो भन्ने विषय अहिलेसम्म खुलिसकेको छैन । ‘भारतीय भूमिमा (दशगजा भन्दा करिब १५० मिटर पर) घटना भएकोले नेपाल प्रहरीले घटनाको अनुसन्धान गर्न मिलेन, हामीले भारतीय पक्षसँग समन्वय गरेर घटनाको बारेमा चासो लिएका छौं,’ प्रवक्ता दाहालले भने, ‘यो घटना भारततर्फ भएको हुँदा छानबिन र कारबाहीका लागि पीडितले भारतमै गएर जाहेरी दिनुपर्छ र उतैको प्रहरीले अनुसन्धान गर्नुपर्छ ।’ घाइते संग्रौलाको उपचारमा सहयोग गर्ने र भारतीय समकक्षीसँग समन्वय गर्ने काम मात्र नेपाल प्रहरीले गर्ने उनले जानकारी दिए। घाइते अस्पतालमा उपचाररत भएका कारण प्रहरीले बयान लिएर थप विवरण बुझिसकेको छैन । तर प्रहरी स्रोतका अनुसार घाइते युवा लागुपदार्थ प्रयोगकर्ता भएको र लागुपदार्थ सेवन गरी फर्किने क्रममा भारतीय युवाहरुसँग विवाद हुँदा गोली प्रहार भएको हो । घाइते युवाले पनि आफू पूर्व लागुऔषध प्रयोगकर्ता भएको स्वीकार गर्नुभएको छ । ‘म पूर्वलागुऔषध प्रयोगकर्ता हुँ तर अहिले प्रयोग गर्दिंन,’ घाइते सङ्ग्रौलाले भने ‘चिनी लिएर फर्किंदै थिएँ केही केटाहरुले यसलाई गोली हान्दिउँ भनेको सुनेपछि ल हान न त भनेको थिएँ हानी नै पो दिए ।’ सङ्ग्रौलामाथि जोगबनीस्थित रेल्वे स्टेसन उत्तरतर्फ गोली प्रहार भएको थियो । नेपालीहरुका लागि खुला आवतजावत गर्न नमिल्ने बाटो प्रयोग गरेर संग्रौला नेपालतर्फ आउँदै गरेको पाइएको छ । त्यसआधारमा पनि लागुऔषध प्रयोग गरेर फर्केको वा त्यस्ता साथीहरुको साथमा आउँदै गर्दा उक्त बाटो प्रयोग गरेको प्रहरीको अनुमान छ । नेपाल प्रवेश गर्ने मूल बाटो छोडेर अन्यत्रबाट हिँड्दा प्रहरीले नै शङ्कास्पद मानेको छ । सङ्ग्रौलामाथि भारतीय युवाहरुकै समूहले गोली प्रहार गरेको प्रहरीको अनुमान छ ।

संघीय संसद्को महासचिवमा पाण्डेयको नाम सिफारिस

काठमाडौं । संघीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ । यसअघि संघीय संसद्को महासचिव रहेका डा। भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । पाण्डेय प्रतिनिधिसभा सचिवका रूपमा नियुक्त भई कार्यरत छन् । डा। गौतमले अवकाशको समय नजिकिएपछि राजीनामा दिएका हुन् । नेकपा (एमाले) निकट गौतमले राजीनामा दिएपछि सोही पार्टीनिकट पाण्डेयलाई महासचिवमा नियुक्त गर्न सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सिफारिस गरेका हुन् ।

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा सरकार लागेको बताएक छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद्मा संशोधनका विषयमा छलफल भइरहेको बताए । चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले गर्दा नेपालमा मेडिकल शिक्षा जुन ढङ्गले अघि बढ्नुपर्ने हो त्यो ढङ्गले अघि बढ्न नसकेको उनको भनाइ थियो । उनले भने, “संशोधनका विषयमा प्रधानमन्त्री ज्यू तयार हुनुहुन्छ । क्याबिनेटमा समेत यसका विषयमा छलफल अब सुरु हुन्छ ।” अहिलेसम्म ऐन संशोधनका विषयमा दुईपटकसम्म बैठक भइसकेको र संशोधनको प्रक्रियामा अघि बढेको उनले जानकारी दिए । चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको उनले बताए । चिकित्सा क्षेत्रमा २२ वर्षअघिभन्दा कम दरबन्दीले काम भइरहेको बताउँदै उहाँले यसलाई थप गरेर अघि बढ्ने बताए । उनले भने, “कुनै एक जना व्यक्तिले अनशन बस्छु भन्दैमा देशको हितका लागि हुने काममा राज्यले खुट्टा कमाउनु हुँदैन र कमाउँदैन । त्यहाँ भएका राम्रा कुराको कार्यान्वयन र नराम्रा कुराको सुधार एवं संशोधन गरेर अघि बढ्छौँ ।” यो ऐनलाई संशोधन गरेर गुणस्तरीय शिक्षा र शुल्क निर्धारण गर्ने कुरा कार्यविधि बनाएर सरकारले अनुगमन गर्ने कुरा गर्नुपर्ने उनले बताए । अहिलेको शिक्षा नीति केही खुकुलो हुनुपर्ने उनको भनाइ थियो । सरकारले अहिले एक सयदेखि तीन सय श्यया भएका अस्पताललाई नर्सिङ र प्यारामेडिकस पढाउने दिने र तीन सय श्ययाभन्दा माथि भएका अस्पताललाई एमबिबिएस पढाउन दिनेगरी खुकुलो पार्न लागेको उनले जानकारी दिए । सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेर मेडिकल शिक्षा सञ्चालन गरिने मन्त्री बस्नेतले बताए । फरक प्रसङ्गमा मन्त्री बस्नेतले सूर्तीजन्य पदार्थमा लाइदै आइएको कर अब स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउने गरी काम भइरहेको जानकारी दिए । प्रधानमन्त्री सकारात्मक देखिनुभएको भन्दै उनले त्यसबाट उठेको रकमले अस्पतालको गुणस्तर वृद्धि र कर्मचारी व्यवस्थापन गरिने बताए ।

भारतीय भूमिमा विराटनगरका युवकमाथि गोली प्रहार

विराटनगर । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमामा एक युवकमाथि गोली प्रहार गरिएको छ । घटनामा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका छन् । कोसी अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतबार साँझ विराटनगर–१६, दशगजानजिकै भारतीय क्षेत्रमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको बताइएको छ । उनी खाद्यसामग्री किन्न जोगबनी गएको भन्ने बुझिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रञ्जनकुमार दाहालले बताए । रेल्वे स्टेसनतिर समूहमा रहेका ६ युवासँग जम्काभेट भएको र सोही क्रममा वादविवाद हुँदा आफूमाथि गोली प्रहार गरिएको संग्रौलाले बताएका छन् । कोसी अस्पतालका मेडिकल अफिसर डा। तुलसी गोइतले संग्रौलाको तिघ्रामा गोलीजस्तो वस्तु एक्सरेका क्रममा देखिएको बताए ।

नेपाली विद्यार्थी नेताहरू अखिल भारत विद्यार्थी परिषद्को अधिवेशनमा सहभागी, क्रान्तिकारीले उठायो सिमा मुद्धा

नयाँ दिल्ली । भारतीय जनता पार्टीको विद्यार्थी संगठन अखिल भारत विद्यार्थी परिषदको अमृत महोत्सव एंव ६९ औं अधिवेशनमा नेपाली विद्यार्थी संगठनहरूले पनि सहभागिता जनाएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित सो अधिवेसनमा नेपाली विद्यार्थी नेताहरूले सहभागीता जनाउँनुका साथै नयाँ पुस्तामा मित्रवत सहकार्यबारे महत्त्वपूर्ण छलफल गरेको माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पञ्चा सिंंहले एभेष्ट दैनिकलाई जानकारी दिइन् । सो क्रममा नेपाली विद्यार्थी नेताहरूले अखिल भारत विद्यार्थी परिषदको ६९ औंं अधिवेशनबाट निर्वाचित अध्यक्ष ,महासचिवलाई नेपाली ढाका टोपि लगाइदिएर बधाई तथा कार्यकाल सफलताको शुभकामना गरेका थिए । नेपाली विद्यार्थी नेताहरू बिजेपिको मुख्यालयमा विदेश विभागका नेतासँग छलफलको क्रममा नेपाली विद्यार्थी नेताहरूले भारतमा विद्यार्थी संगठनको अधिवेशनमा सहभागी हुनुका साथै भारतीय जनता पार्टी मुख्यालयमा बिजेपि विदेश विभाग, राष्ट्रिय स्वयंसेवक संघका प्रचार विभाग प्रमुख पनि अन्तर्क्रिया गरे । अन्तर्क्रियाका क्रममा क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले विजेपी भारतको रुलिङ पार्टी हुनुको नाताले नेपाल भारत सिमा समस्या हल गर्नको भुमिका निर्वाह गर्नुपर्ने धारणा राखिन । त्यसका अतिरिक्त विद्यार्थी नेताहरूले भारतले स्टार्टप क्षेत्रमा गरेको उल्लेख्य प्रगतिकाबारेमा छलफल गर्नुका साथै ज्ञान साझेदारी छलफल गरेका थिए । कार्यक्रममा नेपाल विद्यार्थी संघका सभापति डुजाङ शेर्पा, अखिलका अध्यक्ष समिक बडाल, अखिल(क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह लगायतका विद्यार्थी नेताहरू सहभागी भएका हुन्।

विपीनको खोजी गर्न : नेपालको आग्रह, इजरायली उच्च अधिकारीको प्रतिबद्धता

काठमाडौं । हमासद्वारा गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजीका लागि इजरायली उच्च अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँगको भेटमा इजरायली उच्च अधिकारीहरूले विपीनको खोजीका लागि प्रतिबद्धता जनाएका हुन् । इजरायलको प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र इजरायली डिफेन्स फोर्सका कोअर्डिनेटरसँगको भेटमा रिजालले विपीनको खोजीका लागि नेपालले इजरायल सरकारबाट निर्णायक भूमिकाको अपेक्षा गरेको बताएकी थिइन् । जवाफमा उनीहरूले विपीनको रिहाइमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

बाह्रवटा कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा राखिएका व्यवसायीरआपूर्तिकर्ता कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

प्रकाश दाहाल स्मृति ब्याडमिन्टन पुसमा

काठमाडौं । प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस २५ गतेदेखि सुरू हुने भएको छ । नेकपा माओवादीका नेता स्व. प्रकाश दाहालको स्मृतिमा बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हब नेपाल प्रालिको आयोजनामा हुने प्रतियोगितामा शीर्ष वरीयताको पुरुष एकल, महिला एकल, पुरुष युगल (उच्च २० वरीयता बाहेक), स्थानीय स्तर, मास्टर्स युगल ३५ वर्षमाथि र ४५ वर्षमाथि गरी ६ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक एवं संयोजक आङ्ग कुसाङ्ग शेर्पाले जानकारी दिए। २५ लाख रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगितामा विजेता, उपविजेता एवं तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूले क्रमशः ४५ हजार, २५ हजार र १० हजार रुपियाँसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा चार सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितालाई नेपाल ब्याडमिन्टन सङ्घले प्राविधिक सहयोग गर्नेछ ।

एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानविन समितिले थाल्यो काम

काठमाडौं। सरकारले गठन गरेको एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानविन समितिले आज (आइतवार)देखि कार्य प्रारम्भ गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २१ गतेको बैठकले एनसेनको शेयर खरिद बिक्रीको सम्बन्धमा प्रचलित नेपाल कानुनको परिपालनाको विषय, राजश्व र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असरलगायतका विषय अध्ययन तथा छानविन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले आजदेखि कार्य आरम्भ गरेको र नेपाल सरकारबाट प्राप्त कार्यादेशिभित्र रही तोकिएको समयसीमाभित्र समितिले अध्ययन तथा छानविन गरी सुझावसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाउने जनाएको छ । समितिका संयोजक टंकमणि शर्मा दंगालले प्रेस विज्ञप्ति जारी गरी अध्ययन तथा छानविनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरु, सरकारी अधिकारीहरु, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघ, संस्था र व्यक्तिहरुसँग समेत आवश्कयताअनुसार छलफल गरी रायसुझाव प्राप्त गर्ने जानकारी दिनुभएको छ । समितिले एनसेलको शेयर खरिद बिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाणहरु भएमा समितिको आधिकारिक इमेल ठेगानामा वा समितिको सचिवालयमा उपलब्ध गराई अध्ययन तथा छानविन कार्यमा सहयोग गर्नुहुन सम्बन्धित सरोकारवाला व्यक्ति, संस्था, सञ्चारकर्मी र नागरिकमा पनि आव्हान गरेको छ । समितिको सचिवालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवारमा रहेको छ भने समितिको इमेल ठेगाना [email protected] र फोन नम्बर ०१–४२११५६२ रहेको समितिले जनाएको छ । समितिबाट जारी हुने सम्बन्धित सूचना तथा जानकारीहरु सञ्चार मन्त्रालयको वेबसाइट https://mocit.gov.np मा राखिने पनि समितिले स्पष्ट गरेको छ ।

मानव अधिकारलाई मौलिक हकको रूपमा संविधानमै प्रत्याभूत गरेका छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव अधिकारलाई मौलिक हकको रूपमा संविधानमै प्रत्याभूत गरेको बताएका छन् । मानव अधिकारको विश्वव्यापी घोषणा जारी भएको ७५ वर्ष पुगेको उपलक्ष्यमा सितल निवासमा आयोजित मानव अधिकार दिवस, २०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । राजनीतिक अधिकारको सन्दर्भमा समावेशी प्रतिनिधित्वको नीति सकारात्मक देखिए पनि अर्थपूर्ण सहभागिताको विषय अझै पनि चुनौतीपूर्ण रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने-‘मानव अधिकार सम्बन्धी महासन्धिद्वारा व्यवस्था गरिएका सबै प्रकारका अधिकारहरूलाई नेपालको संविधानमा मौलिक हकको रूपमा प्रत्याभूत गरेको विदितै छ ।लोकतन्त्रको स्थापनाका लागि नेपाली जनताले गरेको पटक पटकको संघर्षको परिणामस्वरूप जननिर्वाचित प्रतिनिधिहरू रहेको संविधानसभाले निर्माण गरेको नेपालको संविधानले समावेशी लोकतन्त्रको अवलम्बन गर्दै आर्थिक, सामाजिक र साँस्कृतिक रूपमा पछाडि पारिएका र वञ्चितिकरणमा परेका उत्पीडित, अल्पसंख्यक र सीमान्तकृत समुदायको अस्तित्वको पहिचान, स्वतन्त्रता, समानता र न्यायको प्रत्याभूतिका लागि समानुपातिक प्रतिनिधित्व र सकारात्मक विभेदको नीतिलाई आत्मसात गरेको छ । राजनीतिक अधिकारको सन्दर्भमा समावेशी प्रतिनिधित्वको नीति सकारात्मक देखिए पनि अर्थपूर्ण सहभागिताको विषय अझै पनि चुनौतीपूर्ण रहेको छ ।’ कार्यक्रम नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख,राष्ट्रिय सभाका अध्यक्ष लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागीतामा सीतल निवासमा सम्पन्न भएको हो । प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा, १९४८ पारित भएको ७५ औं वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित मानव अधिकार दिवस, २०८० को यस कार्यक्रममा उपस्थित सम्माननीय राष्ट्रपतिज्यू लगायत सम्पूर्ण सहभागीहरू, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । १० डिसेम्बर १९४८ का दिन संयुक्त राष्ट्रसंघको महासभाबाट पारित मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणालाई मानव अधिकारको क्षेत्रमा सबै राष्ट्र तथा समुदायको साझा उपलब्धी र आधारभूत मापदण्डको रूपमा लिइन्छ । यो घोषणा जारी हुँदा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य नभए पनि मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा तथा नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धी महासन्धिद्वारा व्यवस्था गरिएका सबै प्रकारका अधिकारहरूलाई नेपालको संविधानमा मौलिक हकको रूपमा प्रत्याभूत गरेको विदितै छ । लोकतन्त्रको स्थापनाका लागि नेपाली जनताले गरेको पटक पटकको संघर्षको परिणामस्वरूप जननिर्वाचित प्रतिनिधिहरू रहेको संविधानसभाले निर्माण गरेको नेपालको संविधानले समावेशी लोकतन्त्रको अवलम्बन गर्दै आर्थिक, सामाजिक र साँस्कृतिक रूपमा पछाडि पारिएका र वञ्चितिकरणमा परेका उत्पीडित, अल्पसंख्यक र सीमान्तकृत समुदायको अस्तित्वको पहिचान, स्वतन्त्रता, समानता र न्यायको प्रत्याभूतिका लागि समानुपातिक प्रतिनिधित्व र सकारात्मक विभेदको नीतिलाई आत्मसात गरेको छ । राजनीतिक अधिकारको सन्दर्भमा समावेशी प्रतिनिधित्वको नीति सकारात्मक देखिए पनि अर्थपूर्ण सहभागिताको विषय अझै पनि चुनौतीपूर्ण रहेको छ । त्यसैगरी द्वन्द्वकालमा घटेका मानव अधिकार उलङ्घनका घटनाको छानविन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगको कामलाई संक्रमणकालिन न्यायका मान्य सिद्धान्तअनुरूप प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि विद्यमान कानुनमा परिमार्जन र संशोधन गर्न संघीय संसदमा विधेयक पेश गरिएको छ । राज्यको साधन स्रोतको सीमितताका वावजुद संविधानमा प्रत्याभूत गरिएका आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको कार्यान्वयनको विषय थप चुनौतीपूर्ण छ । यस स्थितिमा नेपालको इतिहासमा पछिल्लो दशकमा भएका ऐतिहासिक परिवर्तनबाट प्राप्त महत्वपूर्ण राजनीतिक उपलब्धीहरूको जगमा मुलुकको आर्थिक, सामाजिक तथा साँस्कृतिक रूपान्तरण गरी विद्यमान वर्गीय, क्षेत्रीय, भाषिक, धार्मिक र लैङ्गिक विभेद तथा असमानता अन्त्य गरी समतामूलक समाज निर्माण गर्नका लागि इमान्दाररूपले सत्प्रयास गर्नु हामी सबैको कर्तव्य हुन आउँछ । नेपालमा मानव अधिकारको कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा परेका विषयमा तत्तत् तहका सम्बन्धित निकायको स्पष्ट कार्य जिम्मेवारीसहितको पाचौं मानव अधिकार राष्ट्रिय कार्ययोजनाको तर्जुमा गरी संघ, प्रदेश र स्थानीय तहको संरचनात्मक माध्यमबाट कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चक्रमा नेपालले स्वीकार गरेका सिफारिसहरू कार्यान्वयनको चरणमा रहेका छन् । मानव अधिकारहरूको सम्मान, संरक्षण र प्रवद्र्धन गर्नका लागि नेपाल सरकारले राष्ट्रिय मानव अधिकार आयोग लगायत अन्य संवैधानिक आयोगहरू, राज्यका विभिन्न निकायहरू, संयुक्त राष्ट्रसंघ मातहतका अन्य निकाय, गैरसरकारी संघसंस्था तथा नागरिक समाजसँग समन्वय गरी सहकार्य गर्दै आएको छ । आजको यस विशेष दिनमा सबैका लागि स्वतन्त्रता, समानता र न्यायको सुनिश्चितता गर्न मानव अधिकारको संरक्षण, संवद्र्धन र परिपालना गर्ने नेपाल सरकारको प्रतिबद्धता पुनः दोहोर्‍याउन चाहन्छु । सूचना प्रविधिको विकासले मानव समाजलाई थप सहज र सरल बनाएको भए पनि प्रविधिको असमान विकासले यसको पहुँच र प्रयोगमा विभेद सिर्जना गरेको छ । प्रविधिको विकासले सामाजिक र साँस्कृतिक मूल्य मान्यतामा पनि नयाँ–नयाँ समस्या र चुनौतीहरू थपिएका छन् । विश्वव्यापीकरण र खुला बजारमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण वस्तु र सेवाको उत्पादनदेखि उपभोक्तासम्म पुग्ने आपूर्ति श्रृङ्खलाका विभिन्न चरणमा संलग्न श्रमिक र सीमान्तकृत समुदायको आधारभूत मानव अधिकारको सुनिश्चितताको विषय थप चुनौतीपूर्ण बन्न पुगेको छ । विश्वका विभिन्न ठाउँहरूमा भइरहेका सशस्त्र संघर्ष र युद्धका क्रममा महिला, बालबालिका र ज्येष्ठ नागरिक लगायतका गैरसैनिक सर्वसाधारण एवं घाइते तथा बन्दीहरूको आधारभूत मानव अधिकारको संरक्षणको सन्दर्भमा मानव अधिकारको विश्वव्यापी घोषणाको कार्यान्वयनको सान्दर्भिकता अझै टड्कारो बन्न पुगेको छ । यस परिवेशमा मानव अधिकारका आधारभूत मूल्य मान्यताहरूलाई वर्तमान समयका समस्या र चुनौतीहरूको सम्बोधन गर्ने गरी समयानुकूल परिमार्जन र परिस्कृत गर्दै मानव अधिकारको विश्वव्यापी घोषणालाई पुनर्ताजगी दिने कार्यमा अन्तर्राष्ट्रिय समुदायको आपसी सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखेको छु । अन्त्यमा, तीनवटै तहका सरकारका विभिन्न अङ्ग र निकायहरू, संवैधानिक आयोगहरू, मानव अधिकार रक्षक लगायतका नागरिक समाज, राजनीतिक दल एवं विभिन्न पेशा, व्यवसाय र समाज सेवामा संलग्न संघसंस्था लगायत सबैको साझा प्रयास, सहयोग र समन्वयमा नेपालमा मानव अधिकारको अवस्था थप सुदृढ र प्रभावकारी बनाउन आजको दिनले प्रेरणा दिने अपेक्षा गर्दै मानव अधिकार दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु

काठमाडौं । नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु भएको छ । विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको कम्पाउन्डभित्र रहेको बिजुलीको तारमा छोइएको बाँसलाई समाउँदा शनिबार साँझ करेन्ट लागेको थियो ।

गृहमन्त्री श्रेष्ठ डिस्चार्ज, स्वास्थ्य अवस्था ‘सामान्य’

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार ‘डिस्चार्ज’ भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको गृह मन्त्रालयले जनाएको छ । यही मंसिर १९ गते मन्त्री श्रेष्ठ काठमाडौंको बाँसबारीस्थित सो अस्पतालमा भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गराएर उपचाररत थिए । “उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले चिकित्सकको सल्लाह र सिफारिसमा आज मंसिर २४ गते अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ,” गृह मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । डा। अरुण मास्केसहितको चिकित्सक टोली गृहमन्त्रीको उपचारमा संलग्न थिए ।