राष्ट्रियसभा अध्यक्षको दसैँ शुभकामना: एकता र समृद्धिका लागि आह्वान
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विजया दशमीको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली जनतामा देखिएको निराशा र आवेगलाई सम्बोधन गरी राष्ट्रिय एकतासहित समृद्ध र उन्नत राष्ट्र निर्माणमा लाग्न सबैलाई आह्वान गरेका छन्।
उनले जेनजी प्रदर्शनले ल्याएको परिवर्तनलाई आत्मसात् गर्दै सबै पक्षबीच एकताबाट तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न र जननिर्वाचित प्रतिनिधिहरूको नेतृत्वमा संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष दाहालले भने, “फजुल खर्च र कुप्रथाबाट मुक्त भई पारिवारिक जमघट, खुशियाली आदानप्रदान र सामाजिक-सांस्कृतिक सम्बन्ध विस्तारका रूपमा दसैँ हर्षोल्लासपूर्वक मनाउन म सबैलाई आग्रह गर्छु।” उनले बडादसैँले पारिवारिक मिलन, सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
उनको सन्देशमा भनिएको छ, “हाम्रा मौलिक पर्वहरूमा रहेका सकारात्मक र मानवीय मूल्यहरूको संरक्षण गर्नुका साथै अन्धविश्वास र भड्किलो जीवनशैलीलाई समयानुकूल परिवर्तन गर्नु आवश्यक छ।”
नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व रहेको उनले उल्लेख गरे।
अर्घाखाँचीमा जिप दुर्घटना: २ बालबालिकाको मृत्यु, २ जना गम्भीर घाइते
काठमाडौं, अर्घाखाँचीमा आज बिहान भएको जिप दुर्घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप बिहान करिब ३:३० बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो। जिप सन्धिखर्क–ढोरपाटन सडकखण्डमा अनियन्त्रित भई २७ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्सपेक्टर झलक प्रसाद शर्माले जानकारी दिए। मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोट बस्ने १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका–७, नेटाखर्क बस्ने १३ वर्षीय नारायण पौडेल रहेका छन्। उनीहरूको सन्धिखर्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इन्सपेक्टर शर्माले बताए। दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्य घाइतेको सन्धिखर्कस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। इन्सपेक्टर शर्माका अनुसार, जिपमा ८ बालबालिकासहित २६ जना सवार थिए। तीमध्ये चार जनालाई चोट लागेको थियो, जसमध्ये दुई जनालाई बुटवल पठाइएको हो। जिप गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोटदह बस्ने ४२ वर्षीय चेतन कुँवरले चलाएका थिए।
माओवादी केन्द्रको नेतृत्व महाधिवेशनबाट निर्धारण हुने : हरिबोल गजुरेल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीको नेतृत्व कसले लिने भन्ने विषय महाधिवेशनको निर्णयमा निर्भर रहने बताएका छन् । उनले पार्टी बैठक सफलतापूर्वक सम्पन्न भएको र महाधिवेशन गर्ने निष्कर्ष निकालिएको उल्लेख गर्दै अहिले नेतृत्वको चिन्ता नगरी चिन्तन गर्नुपर्ने बेला भएको बताएका छन् । गजुरेलले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, "माओवादी केन्द्रको बैठक सफलतापूर्वक सम्पन्न भइसकेको छ – महाधिवेशन गर्ने निष्कर्षसहित । कमरेड प्रचण्डको सहमतिसहित नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछिको अबस्थामा के गर्नु उपयुक्त हुन्थ्यो ? भन्ने प्रश्न आकांक्षीहरूले आफैं बुझ्नुपर्ने विषय हो । अब नेतृत्व कसले लिने वा कसलाई दिने भन्ने अधिकार कसैको व्यक्तिगत हातमा छैन – त्यो त महाधिवेशनकै निर्णयले टुङ्गो लगाउने कुरा हो ।" उनले पार्टीमा वैचारिक स्पष्टता र क्षमतावान नेतृत्वको आवश्यकता औंल्याउँदै भनेका छन्, "त्यसैले अहिले चिन्ता नेतृत्व लिनु होइन, चिन्तन गर्नुपर्ने बेला हो । जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुन्छ । आज पनि जेनेरेसन–जीले खोजिरहेको कुरा त्यही हो – वैचारिक स्पष्टता सहितको इमानदार र क्षमतावान नेतृत्व, जसले आन्दोलनलाई नयाँ दिशा दिन सकोस् ।" गजुरेलले पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को भूमिकाबारे पनि उल्लेख गर्दै भनेका छन्, "पार्टीका संयोजक प्रचण्डले नेतृत्व निरन्तरता दिने वा अर्को भूमिकामा जाने भन्ने प्रश्न पनि यही आधारमै निर्भर गर्नेछ ।" माओवादी केन्द्रले हालैको बैठकमा महाधिवेशनको तयारीलाई प्राथमिकता दिएको छ, जसले पार्टीको आगामी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।
तत्कालीन ओली सरकारको गम्भीर कमजोरीले जेन–जी आन्दोलनमा जनधनको क्षति: मानव अधिकार आयाेग
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी युवाको प्रदर्शनका क्रममा गत २३ र २४ भदौमा भएको घटनाबारे प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन केपी शर्मा ओली सरकारको गम्भीर कमजोरी औँल्याएको छ । आयोगको यो प्रतिवेदनमा सरकारको उदासीनताले जनधनको ठूलो क्षति भएको दाबी गरेकाे छ । आयोगले संक्षिप्त तथ्यपत्रमा भनेको छ, “घटना हुनु अघि सम्भावित कारण र परिणामको पूर्वानुमान गर्न नसक्नु सरकारको गम्भीर कमजोरी हो ।” जेन–जी आन्दोलनको सन्दर्भमा ओली सरकारमाथि औपचारिक टिप्पणी गर्ने आयोगको यो पहिलो प्रतिवेदन हो । आयोगले घटनापछि सुरक्षाकर्मीको मनोबल कमजोर भएको र शान्ति–सुरक्षामा थप चुनौती देखिएको निष्कर्ष निकालेको छ । प्रहरीका कतिपय भवन जलेका र कार्यालय पुनर्निर्माण नहुँदा सुरक्षा निकायको नियमित काममा बाधा पुगेको आयोगको भनाइ छ । देशभरका कारागार र बालसुधार गृहबाट करिब सात हजार कैदीबन्दी फरार रहनु पनि आयोगले समाजका लागि ठूलो चुनौती भएको जनाएको छ । उनीहरूलाई कारागारमा फर्काउन र कारागार व्यवस्थापन गर्न कठिनाइ रहेको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ । आयोगका अनुसार प्रदर्शनको पहिलो दिनको सुरुवात शान्तिपूर्ण भए पनि दिउँसोपछि अवस्था हिंसात्मक बन्यो । सुरक्षाकर्मीको गोली लागेर केही प्रदर्शनकारीको मृत्यु भएपछि दोस्रो दिन अन्धाधुन्ध आगजनी र तोडफोड भएको आयोगको निष्कर्ष छ । आगजनी र तोडफोडका क्रममा सरकारी भवन, पार्टी कार्यालय, घर, व्यावसायिक संरचना, शैक्षिक संस्था, सञ्चार गृह र प्रहरी कार्यालयमा ठूलो क्षति पुगेको आयोगले जनाएको छ । केही व्यक्तिको जलेर मृत्यु भएको तथ्य पनि प्रतिवेदनमा समावेश छ । आयोगले हिंसात्मक घटनाका कारण पहिचान गरी सम्बोधन गर्न, सुरक्षाकर्मीको मनोबल उकास्न तथा सुधारका प्रयासलाई सफल बनाउन सरकारलाई निर्देशन दिएको छ । साथै, सरकारका सुधार प्रयासमा सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ ।
सल्यानमा गाडी दुर्घटना : तीन जनाको मृत्यु, दुईजना गम्भीर घाइते
सल्यान । सल्यानको कपुरकोट–चौरखोला सडकखण्डमा भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार रूकुमबाट दाङतर्फ आउँदै गरेको लु२ख ६५०२ नम्बरको सवारी सडकदेखि करिब तीन–चार सय मिटर तल खसेको हो। दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ। सोही सवारीमा सवार एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त सवारीसाधनमा सवार मृतक र घाइतेको नाम, ठेगाना र दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ । सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।
असहमति भए पनि सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई माओवादीको समर्थन छ : राजन दाहाल
काठमाडौँ, — नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ (राजन) दाहालले राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता सङ्कटमा रहेको बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनले यस्तो अवस्थामा विवेकपूर्ण निर्णय आवश्यक रहेको धारणा राखे। नेता दाहालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा १८ महिना सरकार सञ्चालन हुँदा सुशासन, समृद्धि र सामाजिक न्यायको मुद्दा अघि बढेको बताए। उनले भ्रष्टाचारविरुद्ध जनस्तरसम्म अभियान सञ्चालन भएको र हजारौँ भ्रष्टाचारीलाई अनुसन्धानको दायरामा ल्याइएको दाबी गरे। दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले जनतामा निराशा फैलाएको र विचौलियाको प्रभावमा सञ्चालित भएको आरोप लगाए। उनले ओली सरकारले राजकीय संरचनाको दुरुपयोग गरेको, अदालत र अख्तियारलाई दबाबमा राखेर भ्रष्टाचारीलाई जोगाएको र कूटनीतिमा समेत असफल भएको बताए। उनले ओलीको चीन भ्रमणका क्रममा रुसका राष्ट्रपति र उत्तर कोरियाका नेता किम जोङ उनको प्रभावमा परेर २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको दाबी गरे। “सामाजिक सञ्जाल दैनिक जीवन र रोजगारीको माध्यम बनिरहेको बेला विकल्पबिना प्रतिबन्ध लगाइयो, जसले युवालाई सडकमा उत्रिन बाध्य बनायो,” उनले भने। दाहालले जायज माग राखेर सडकमा उत्रिएका जेन–जी पुस्तामाथि ओली सरकारले बर्बर दमन गरेको र पहिलो दिनमै २१ जनाको ज्यान गएको बताए। “जेन–जी पुस्ताले अपराध गर्नै सक्दैन, तर धमिलो पानीमा माछा मार्ने काम भयो,” उनले भने। उनले आन्दोलनका क्रममा संसद् भवनदेखि वडा कार्यालय र व्यक्तिका घरमा आगजनी भएको उल्लेख गर्दै माओवादी कार्यकर्ताको संलग्नता पाइएमा कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाए। असहमति भए पनि सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई माओवादीको समर्थन रहेको दाहालले बताए। उनले तोकिएको समयभित्र निर्वाचन हुनुपर्ने माग राखे। साथै, विज्ञहरूको मन्त्रिपरिषद्, प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने माओवादीको एजेन्डा रहेको उनले प्रष्ट पारे। दाहालले ओली सरकारले सामाजिक सञ्जालमाथि कमिशन नपाएका कारण प्रतिबन्ध लगाएको आरोप लगाए। “मेटालगायतका सञ्जालले कर तिरिरहेका छन्, तर सरकारले कमिशनका लागि एजेन्सी खोज्यो। नपाएपछि प्रतिबन्ध लगाइयो,” उनले भने। उनले फेसबुकले यो वर्ष ३९ करोड राजस्व तिरेको तथ्य प्रस्तुत गरे। दाहालले २०७२ को संविधान निर्माणका बेला माओवादीले संसदीय व्यवस्थाविरुद्ध नोट अफ डिसेन्ट लेखेको स्मरण गर्दै जेन–जी पुस्ताको माग र माओवादीको एजेन्डा मिलेको दाबी गरे। उनले नयाँ परिस्थितिमा राजनीतिक दलहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए।
समाजवादी मोर्चामा आवद्ध दलको निष्कर्ष : माओवादी केन्द्रको निर्णयले वामपन्थी एकताको बाटो खुल्यो
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वामपन्थी दलहरूबीच एकता प्रक्रियालाई तीव्रता दिने निर्णय गरेसँगै समाजवादी मोर्चामा आवद्ध दलहरूले यसलाई सकारात्मक कदमका रूपमा लिएका छन्। यो निर्णयले नेपालको वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने बाटो खोलेको विश्लेषण गरिएको छ। समाजवादी मोर्चामा आवद्ध नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरूले माओवादी केन्द्रको पछिल्लो निर्णयलाई स्वागत गरेका छन्। यी दलहरूले वामपन्थी एकताको आवश्यकता लामो समयदेखि उठाउँदै आएका थिए, र माओवादीको यो कदमले एकताको सम्भावनालाई थप बलियो बनाएको उनीहरूको भनाइ छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो सम्पन्न केन्द्रीय समिति बैठकमा वामपन्थी दलहरूबीचको एकता प्रक्रिया छिट्टै मूर्त रूप लिने बताउनु भएको थियो । उहाँले वामपन्थी शक्तिहरूको एकताले देशको राजनीतिक स्थायित्व र समाजवादी आन्दोलनलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो। “हामीले विगतमा पनि एकताका लागि प्रयास गरेका थियौं। अब यो प्रक्रियालाई नतिजामुखी बनाउन गम्भीर छलफल र सहमति आवश्यक छ,” प्रचण्डले भन्नुभयो। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता चिरन पुनले माओवादी केन्द्रको निर्णयलाई सकारात्मक कदम भन्दै यसले वामपन्थी एकताको आधार तयार गरेको बताउनु भयो। उहाँले एभरेष्ट दैनिकसँग भन्नुभयो, “वामपन्थी शक्तिहरूको वृहत्तर एकता आजको आवश्यकता हो। माओवादी केन्द्रको निर्णयले यो प्रक्रियालाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान गर्नेछ।” उहाँले राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी शक्तिहरूसँग पनि कार्यगत एकता आवश्यक रहेको उल्लेख गर्नुभयो । “यो एकता केवल वामपन्थी दलहरूमा सीमित नभई समग्र प्रगतिशील शक्तिहरूलाई जोड्ने दिशामा अघि बढ्नुपर्छ,” पुनले थप्नुभयो । यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पनि माओवादीको निर्णयलाई स्वागतयोग्य कदम भएको बताउनु भएको छ । उहाँले एकताले देशमा समाजवादी विचारधारा र जनताको हितमा काम गर्ने शक्तिहरूलाई बलियो बनाउने विश्वास व्यक्त गर्नु भएको छ । माओवादी केन्द्रले औपचारिक रूपमा एकता प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेसँगै तत्कालै विप्लव नेतृत्वको नेकपा र यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता प्रक्रिया अन्तिम चरणमा पुग्ने अपेक्षा गरिएको छ। स्रोतका अनुसार, माओवादी केन्द्र, नेकपा र नेपाल समाजवादी पार्टीबीचको एकता निष्कर्षमा पुगेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि एकीकरणको प्रक्रिया सुरु हुनेछ। “पहिलो चरणमा विप्लव र यादव नेतृत्वका पार्टीहरूसँग एकता हुन्छ। त्यसपछि नेकपा एकीकृत समाजवादीसँग पनि छलफललाई तीव्रता दिइनेछ,” माओवादी केन्द्रका एक नेताले बताएका छन् । यो प्रक्रियाले नेपालको वामपन्थी आन्दोलनलाई एकताबद्ध बनाउँदै नयाँ राजनीतिक समीकरण निर्माण गर्ने अपेक्षा गरिएको छ। समाजवादी मोर्चाले वामपन्थी र प्रगतिशील शक्तिहरूलाई एकजुट बनाउने लक्ष्य राख्दै आएको छ। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी आवद्ध छन्। मोर्चाले देशमा समाजवादी विचारधारालाई सुदृढ बनाउन र जनमुखी नीतिहरूलाई अगाडि बढाउन जोड दिँदै आएको छ। माओवादी केन्द्रको पछिल्लो निर्णयले मोर्चाभित्रको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। “यो निर्णयले समाजवादी मोर्चालाई थप सशक्त बनाउनेछ। हामी सबै मिलेर समाजवादी क्रान्तिको आधार तयार गर्नेछौं,” नेकपा एकीकृत समाजवादीका एक नेताले बताए। वामपन्थी दलहरूबीचको एकता प्रक्रियालाई सार्थक बनाउन विचारधारात्मक, सांगठनिक र नेतृत्वका विषयमा गम्भीर छलफल आवश्यक रहेको छ। विगतमा पनि वामपन्थी एकताका प्रयासहरू भएका थिए, तर ती पूर्ण रूपमा सफल हुन सकेका थिएनन्। यद्यपि, माओवादी केन्द्रको पछिल्लो निर्णय र समाजवादी मोर्चाको सकारात्मक प्रतिक्रियाले यो प्रक्रिया सही दिशामा अघि बढ्ने संकेत देखिएको छ। “वामपन्थी एकताले नेपालको राजनीतिमा नयाँ सम्भावना खोल्नेछ। तर, यसका लागि नेतृत्वमा इमानदारी र पारदर्शिता आवश्यक छ,” नेकपाका एक नेताले बताए। नेपालको वामपन्थी आन्दोलनमा यो एकता प्रक्रियाले नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ। यदि यो प्रक्रिया सफल भएमा, नेपालको राजनीतिक परिदृश्यमा समाजवादी शक्तिहरूको प्रभावकारी उपस्थिति स्थापित हुने विश्वास गरिएको छ।
२५ किलो सुन काण्ड : मुख्य आरोपी बापु–छोरी धरौटीमा रिहा
बारा । पर्साको वीरगन्ज–५, रेसमकोठीस्थित गणेश अपार्टमेन्टको कोठा नम्बर ३०३ बाट २०७७ कात्तिक ३ गते प्रहरीले बरामद गरेको २५ किलो ३८३ ग्राम सुनको मुद्दा फेरि चर्चामा आएको छ । बरामद सुन तथा गहना तत्कालीन बजार मूल्यअनुसार करिब १८ करोड ६३ लाख ८७ हजार रुपैयाँको थियो । राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराले भारतीय नागरिक अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध राजस्व चुहावट ऐन २०५२ बमोजिम बिगो बराबरको जरिवाना र कैद सजायको मागसहित २०७८ जेठ १३ गते उच्च अदालत जनकपुरको अस्थायी इजलास बबरगन्जमा मुद्दा दायर गरेको थियो । अनुसन्धान अनुसार बरामद सुन राजस्व चुहावट ऐनको दफा ३ अन्तर्गत निषेधित कार्यमा पर्दछ । त्यसैले प्रतिवादीमाथि १८ करोड ६५ लाख २ हजार ७०६ रुपैयाँ बराबरको बिगो कायम गरी दफा २३(१) अनुसार जरिवाना र दफा २३(१)(घ) अनुसार कैद सजायको माग गरिएको हो । ऐन संशोधित भएपछि २०८२ भदौ ११ गते मुद्दा औपचारिक अदालती प्रक्रियामा प्रवेश गरेको हो । कसुरको मितिदेखि फरार रहेका बापु–छोरी २०८२ भदौ ५ गते बारा जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । त्यसपछि न्यायाधीश भोलानाथ ढकालको इजलासले अशोककुमारलाई १५ लाख र निवेदिकालाई १० लाख रुपैयाँ धरौटीमा साधारण तारिखमा रिहा गर्ने आदेश दिएको छ । निवेदिका सिन्हाले २०६३ चैत १५ गते पर्सा, वीरगन्ज–२ बाट नेपाली नागरिकता लिएकी थिइन् । यसबीच, राजस्व अनुसन्धान विभाग ललितपुरले २०८१ माघ १२ गते बारा जिल्ला अदालतमा अर्को अभियोगपत्र दायर गर्दै अशोककुमारसँग दोब्बर जरिवाना र कैदसहित कुल ३४ करोड २४ लाख ३१ हजार ४८० रुपैयाँ असुलउपर गर्न माग गरेको छ । हालसम्म उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण, राजस्व चुहावटलगायत तीन वटा छुट्टाछुट्टै अभियोगपत्र बारा जिल्ला अदालतमा दर्ता भइसकेको अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिएका छन् । यो प्रकरणको आगामी अदालती प्रक्रिया र निर्णयलाई लिएर सर्वसाधारण र कानुनी क्षेत्रको चासो बढेको छ । अदालतले २५ किलो सुन प्रकरणमा संलग्न विदेशी नागरिकलाई हाजिर भएकै दिन धरौटीमा छाडेपछि बारा जिल्लामा व्यापक बहस सुरु भएको कानुन व्यवसायीको भनाइ छ ।
दसैँ नजिकिँदै गर्दा लेकाली भेडा–च्याङ्ग्रा बजार झर्न थाले
म्याग्दी । दसैँको माहोलसँगै हिमाली क्षेत्रमा पालिएका भेडा–च्याङ्ग्रा देशका विभिन्न बजारतर्फ झर्न थालेका छन् । किसान र व्यापारीहरू बथानसहित बजारतर्फ लागेपछि दशैँ आगमनको संकेत मिलेको छ । नेपालमा दसैँमा उपभोग हुने च्याङ्ग्रामध्ये करिब आधा हिस्सा नेपाली र चिनियाँ च्याङ्ग्राले ओगट्ने गरेका छन् । मुस्ताङबाट बेनी–जोमसोम सडकमार्ग हुँदै म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका च्याङ्ग्रालाई कन्टेनरमार्फत काठमाडौँ, पोखरा, त्रिशूलीलगायत ठूला सहरमा पठाउन थालिएको छ । घरपझोङ गाउँपालिकाका युवा निरज थकाली पाँच दिन लगाएर जोमसोमबाट दुई सय च्याङ्ग्रा बैसरी पुर्याई बिक्रीका लागि पोखरातर्फ पठाएका छन् । उनका अनुसार एक दिनमै १२ वटा कन्टेनरमार्फत काठमाडौँ, पोखरा र त्रिशूली पठाइएको छ । एउटा कन्टेनरमा करिब ८० वटा च्याङ्ग्रा लोड गर्ने गरिएको छ । सिन्धुपाल्चोकका दिपक शिलवाल पनि हरेक वर्षजस्तै यस वर्ष पनि चार सदस्यीय टोलीसहित च्याङ्ग्रा खरिद गरी काठमाडौँ पुर्याउन व्यस्त छन् । उनका अनुसार समूहले यो वर्ष जोमसोममै प्रतिगोटा ३५ देखि ४५ हजार रुपैयाँमा करिब १५० च्याङ्ग्रा खरिद गरेको छ भने बाँकी काठमाडौँमै प्रतिकेजी एक हजारमा किन्ने र अवस्था हेरेर १२ सयसम्ममा बिक्री गर्ने योजना बनाएको छ । निरज थकालीका अनुसार चीन, डोल्पा र मुस्ताङका गरी करिब १५ हजार च्याङ्ग्रा पहिलो चरणमा मुस्ताङबाट बाहिरिएका छन् । उच्च हिमाली क्षेत्रमा हुर्किएका च्याङ्ग्रालाई तल्लो भेगमा एक्कासी ल्याउँदा गर्मीको असर पर्न सक्ने भएकाले चार–पाँच दिनको यात्रा गरेर बैसरीसम्म ल्याउने गरिएको छ । थकाली भन्छन्, “पहिला पोखरा मुख्य बजार थियो, तर अहिले यातायातको सहजताले काठमाडौँ पनि पोखरासँगै ठूला बजारका रूपमा विकसित भएको छ ।” मुस्ताङ हुँदै ल्याइने च्याङ्ग्रा अब काठमाडौँ–पोखरा मात्र नभई अन्य शहरसम्म पुग्ने गरेका छन् । गतवर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य खासै बढबढ छैन । थकालीका अनुसार प्रतिगोटा ४२ देखि ४८ हजार रुपैयाँमा बिक्री हुने अनुमान छ । मुस्ताङमार्ग हुँदै आउने च्याङ्ग्रामा कर्णाली प्रदेशका जुम्ला, मुगु, डोल्पा र उल्लेख्य मात्रामा चिनियाँ च्याङ्ग्रा पनि पर्छन् । यस वर्ष रसुवा र तातोपानी नाकाबाट चिनियाँ च्याङ्ग्रा कम आएकाले मुस्ताङ मार्ग बढी प्रयोग भएको बताइन्छ । बजारमा पुग्ने खसी–च्याङ्ग्रामध्ये करिब ७० प्रतिशतसम्म चिनियाँ हुने अनुमान गरिएको छ । सिन्धुपाल्चोकका दशरथ शिलवाल पनि आफन्तसहित च्याङ्ग्रा व्यापारका लागि कन्टेनरमार्फत काठमाडौँ पुगेका छन् ।
देशको जिम्मा माओवादीमा आउँदैछ, प्रचण्डको भूमिका झन् आवश्यक: पम्फा भुसाल
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले मुलुकको नेतृत्वको जिम्मेवारी माओवादीको काँधमा आउँदै गरेको बताउँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भूमिका थप आवश्यक रहेको जोड दिएकी छन्। प्रज्ञा भवनमा जारी सातौँ केन्द्रीय समिति बैठकमा बोल्दै उनले प्रचण्डको नेतृत्वमा ठूला क्रान्ति र परिवर्तन सम्भव भएको उल्लेख गरिन्। उपाध्यक्ष भुसालले प्रचण्डको भूमिकाकै कारण संविधानसभाबाट संविधान जारी भएको र पार्टीले उठाउँदै आएका एजेन्डाहरू जेनजी आन्दोलनपछि पुनः स्थापित भएको बताइन्। “जेनजी आन्दोलनले हाम्रा एजेन्डालाई अगाडि ल्याएको छ। यस्तो बेला देशकै जिम्मेवारी हाम्रो काँधमा आउँदैछ। यसका लागि प्रचण्डको नेतृत्व झन् आवश्यक छ,” उनले भनिन्। उनले मुलुकको नेतृत्व लिन बलियो र स्पष्ट वैचारिक धार आवश्यक रहेकोमा पनि जोड दिइन्। अध्यक्ष प्रचण्डले बैठकमा वर्तमान केन्द्रीय समिति भङ्ग गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। महाधिवेशनका लागि नयाँ टिम ल्याउने र वर्तमान पदाधिकारीलाई निर्देशक समितिमा रूपान्तरण गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ। उपाध्यक्ष भुसालले प्रचण्डको यो प्रस्तावलाई समर्थन जनाएकी छन्। भुसालले जेनजी आन्दोलनले पार्टीका एजेन्डालाई पुनर्जनन दिएको बताउँदै यस्तो अवस्थामा माओवादीले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिइन्। “हाम्रा एजेन्डाहरू जेनजी आन्दोलनपछि फेरि सतहमा आएका छन्। यिनलाई अगाडि बढाउन पार्टीले दृढतापूर्वक काम गर्नुपर्छ,” उनले भनिन्।
प्रचण्डको राजीनामाको माग जेनजीको नभई बालेन र सुदन गुरुङहरूको हो, पूरा हुँदैन: लीलामणि पोखरेल
काठमाडौँ, १० असोज । नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामाको माग जेनजी आन्दोलनको नभई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र सुदन गुरुङहरूको भएको बताएका छन्। प्रज्ञा भवन, कमलादीमा बिहीबारदेखि जारी सातौँ केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, “राजीनामाको माग बालेन र सुदन गुरुङहरूको हो, जेनजीको होइन। त्यसैले त्यो माग पूरा हुँदैन।” पोखरेलले प्रचण्डको प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने र प्रचण्डलाई नै संयोजक तोकेर आयोजक समिति बनाएर अगाडि बढ्नुपर्ने पक्षमा समर्थन जनाए। उनको धारणालाई बैठकमा बोल्ने अधिकांश नेताहरूले समर्थन गरेको बताइएको छ। लुम्बिनी प्रदेशबाट नेता रहिश साहले प्रचण्डको प्रतिवेदनलाई पूर्ण समर्थन भएको र मंसिरमै महाधिवेशन गर्नुपर्नेमा सबै सहमत भएको जानकारी दिए। उनले मंसिरमा महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने सुझाव प्रस्तुत भएको बताए। उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष निकालेको छ। यद्यपि, आत्मालोचना, नातागोतावाद र परिवारवाद तोड्ने प्रतिबद्धता सबैले गर्नुपर्ने सुझाव आएको छ।
अध्यक्ष प्रचण्डको प्रतिवेदन सही छ, त्यहीँबाट राष्ट्रिय राजनीतिमा हाम्रो भूमिका खोजौँ : शक्तिबहादुर बस्नेत
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले जेन्जी आन्दोलनलाई देशी–विदेशी प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी शक्तिहरूले हाइज्याक गरेको बताएका छन्। प्रज्ञा भवनमा जारी पार्टीको सातौँ केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै उनले यो आन्दोलनले राष्ट्रिय राजनीतिलाई प्रतिक्रान्तिकारी मोडमा पुर्याएको र मुलुक राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रको जोखिमपूर्ण मोडमा उभिएको विश्लेषण गरे। बस्नेतले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनलाई समर्थन गर्दै भने, “जेन्जी आन्दोलनबाट उत्पन्न परिस्थिति र विकसित घटनाक्रमबारे अध्यक्ष कमरेडले तीनवटा मुख्य कुरा सटीक ढङ्गले प्रस्तुत गर्नुभएको छ। राष्ट्रिय राजनीति गम्भीर मोडमा पुगेको छ, राजनीतिक दलहरूले आफ्नो औचित्य पुनः पुष्टि गर्नुपर्ने चुनौती छ, र युवाहरूको भूमिका नयाँ ढङ्गले स्थापित गर्नुपर्ने आवश्यकता देखिएको छ।” उनले बैठकका छलफलहरू यिनै विषयहरूको वरिपरि केन्द्रित हुनुपर्ने बताए। जेन्जी आन्दोलनको प्रसङ्गलाई विस्तार गर्दै बस्नेतले भने, “आन्दोलनमा प्रकट असन्तुष्टिहरू समयमै हाइज्याक भयो। देशी–विदेशी प्रतिक्रान्तिकारी शक्तिहरूले यसलाई आफ्नो नियन्त्रणमा लिए। स्वयं जेन्जीका नेताहरूले नै आन्दोलन हाइज्याक भएको सार्वजनिक घोषणा गरेका छन्।” उनले आन्दोलनको नेतृत्व मात्र नभई यसको गन्तव्य नै मोडिएको र राष्ट्रिय राजनीति प्रतिक्रान्तिकारी मोडमा पुगेको बताए। “पार्टी नेतृत्वको भूमिकाले संविधानलाई केही हदसम्म जोगाएको छ, तर आजको दृष्टिकोणबाट हेर्दा यो परिस्थिति राष्ट्रिय स्वाधीनता, आत्मनिर्णयको अधिकार, लोकतन्त्रको समृद्धि र समाजवादको आधार निर्माण दुवै दृष्टिबाट अत्यन्त जोखिमपूर्ण बन्दै गएको छ,” बस्नेतले थपे। उनले यो अवस्थालाई सामना गर्ने कार्यदिशा नै बैठकको केन्द्रीय विषय भएको उल्लेख गरे। बस्नेतले दलाल पूँजीवादविरुद्धको संघर्षलाई व्यवस्थित र स्पष्ट कार्यदिशामा लैजानुपर्नेमा जोड दिए। “यो संघर्ष राष्ट्रिय आन्दोलन मात्र होइन, समाजवादको आधार निर्माण, उन्नत लोकतन्त्र प्राप्ति र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि हो,” उनले भने। अध्यक्ष प्रचण्डको विश्लेषणलाई उद्धृत गर्दै बस्नेतले यो संघर्षलाई लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको आन्दोलनको ‘फ्युजन’ (संयोजन) को रूपमा अगाडि बढाउनुपर्ने बताए। “दलाल पूँजीवादविरुद्धको संघर्ष उन्नत लोकतन्त्रलाई अझ उन्नत बनाउने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने विषय हो। हामीले यही ढङ्गले अगाडि बढ्नुपर्छ,” उनले थपे। यो संघर्षलाई दृढतापूर्वक कार्यान्वयन गरे मात्र परिस्थितिको समाधान सम्भव हुने उनको भनाइ थियो। राजनीतिक परिस्थितिमा निर्वाचनको बहस भइरहेको सन्दर्भमा बस्नेतले संविधान ‘ट्र्याक आउट’ भएको तर यसलाई ‘ट्र्याक इन’ गर्ने मुख्य माध्यम निर्वाचन नै भएको बताए। “हामी निर्वाचन केन्द्रित हुनुपर्छ,” उनले भने। यद्यपि, विभिन्न आशङ्का र निर्माण भइरहेको परिस्थितिलाई हेर्दा वैकल्पिक उपायहरूमा पनि ध्यान दिनुपर्ने उल्लेख गरे। “निर्वाचनका आशङ्काहरू उब्जिरहेका छन्। संविधानलाई ट्र्याकमा ल्याउने अन्य सम्भावित उपायहरूमा पनि हाम्रो ध्यान जानुपर्छ,” बस्नेतले चेतावनी दिए। उनले यो विषयलाई आजका दिनमा ध्यानमा राख्न जरुरी भएको बताए। पार्टीको औचित्य पुनः पुष्टि गर्न विचार, राजनीतिक कार्यदिशा, संगठन संरचना र प्रतिबद्धताको नयाँ स्तरमा उठ्नुपर्नेमा बस्नेतले जोड दिए। “यो सबै गर्न विशेष महाधिवेशन उपयुक्त माध्यम हो। विचारलाई अफ गर्ने, संगठनलाई नयाँ ठाउँमा लैजाने र राजनीतिक चुनौतीहरू सामना गर्ने यो बाटो हो,” उनले भने। अध्यक्ष प्रचण्डको नेतृत्वमा आयोजक समिति बनाएर विशेष महाधिवेशनमा केन्द्रित हुनुपर्ने प्रस्ताव गर्दै बस्नेतले पार्टी निर्माणको नयाँ ढङ्गलाई जोड दिए। पार्टीभित्रका छलफल र बहसलाई प्रोत्साहित गर्नुपर्ने तर निर्णयहरू दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए। “बहसलाई प्रोत्साहित गरौँ, निषेध नगरी। तर बहसलाई सधैँ खुल्ला राख्ने ढङ्ग उपयुक्त हुँदैन। छलफलपछि निर्णयहरू दृढतापूर्वक लागू गरे मात्र हामीले चिन्ता गरिरहेका विषयहरू सम्बोधन गर्न सक्छौँ,” बस्नेतले भने। बस्नेतको यो धारणाले जेन्जी आन्दोलनको विश्लेषण गर्दै दलाल पूँजीवादविरुद्धको संघर्षलाई राष्ट्रिय स्वाधीनता र समाजवादी आन्दोलनसँग जोडेर पार्टीको रणनीति स्पष्ट पारेको छ। बैठकमा जारी छलफलहरूले माओवादी केन्द्रको भावी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।
अध्यक्ष प्रचण्डको प्रस्तावलाई समर्थन, समालिएर महाधिवेशनमा जाऔँ: देवेन्द्र पौडेल
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेल ‘सुनील’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावलाई समर्थन गर्दै समालिएर महाधिवेशनमा जानुपर्ने बताएका छन्। प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले जेनजी आन्दोलनलाई साम्राज्यवादी डिजाइनको हिस्सा भएको उल्लेख गरे। पौडेलले जेनजी आन्दोलन १४१ देशमा देखिएको र नेपालमा पनि यसको प्रभाव रहेको बताए। उनले भने, “यो आन्दोलन सेटिङमा भएको छ, तर कसैले पनि ‘म प्रधानमन्त्री हुन्छु’ भनेर नेतृत्व दाबी गरेको छैन।” उनले नेतृत्व परिवर्तन सडकको आवाजले नभई महाधिवेशनमार्फत हुनुपर्नेमा जोड दिए। उनले समाजवादी क्रान्ति, सुशासन, समृद्धि र सामाजिक न्यायको नेतृत्व गर्न पार्टीले गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए। “हामीले गणतन्त्रवादी र बामपन्थी शक्तिहरूलाई संगठित गरी संविधानको रक्षा र समाजवादी क्रान्तिको नेतृत्व गर्नुपर्छ,” उनले भने। पौडेलले प्रचण्डको नेतृत्वमा एकताबद्ध भएर चुनौती सामना गर्नुपर्ने र गुटबाजीले पार्टी कमजोर हुने चेतावनी दिए। उनले नेतृत्वको कमी–कमजोरी भए पनि अपमान नगरी एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राखे।
नेतृत्व हस्तान्तरण व्यक्तिगत होइन, सामूहिक टिम निर्माण र बहसबाट सम्भव : वर्षमान पुन 'अनन्त'
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समकालीन समाजवादी आन्दोलनका राजनेता भएको बताएका छन्। प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै उनले प्रचण्डको नेतृत्वमा ठूला परिवर्तन सम्भव भएको र उनी इतिहास निर्माण गर्ने नेता भएको जिकिर गरे। पुनले पार्टी नेतृत्व हस्तान्तरणको विषयमा महाधिवेशनमार्फत जनताको सुझाव संकलन गरी लोकतान्त्रिक र समावेशी प्रक्रियाबाट अगाडि बढ्नुपर्ने प्रस्ताव राखे। उनले भने, “प्रश्नहरूको जवाफ महाधिवेशनबाट खोजौँ, बुद्धिजीवी र जनतासँग सुझाव लिएर विधिवत् रूपमा नेतृत्व हस्तान्तरणको प्रक्रिया बनाऔँ।” उनले प्रचण्डले नेतृत्व छाड्ने र भूमिका परिवर्तन गर्ने कुरामा सकारात्मक रहेको उल्लेख गर्दै भने, “अध्यक्षले ‘म धेरै बस्दिनँ, मेरो भूमिका फरक हुन्छ’ भन्नुभएको छ। नयाँ परिवेशमा आन्दोलनको जवाफ एक्सनबाट दिनुपर्छ भन्नुभयो। यो ठूलो र क्रान्तिकारी कदम हो, हामीले यसलाई स्वागत गर्नुपर्छ।” पुनले नेतृत्व हस्तान्तरणलाई व्यक्तिगत होइन, सामूहिक टिम निर्माण र बहसबाट सम्भव भएको बताए। उनले जनयुद्ध र जनआन्दोलनबाट आएका नेताहरूलाई संकटमा कमान्डरको भूमिका निर्वाह गर्न आह्वान गर्दै भने, “हामीले युद्धको बेला जस्तै उपाय खोज्नुपर्छ, कमान्डर भाग्ने होइन, समाधान निकाल्ने हो।” पार्टी एकताको विषयमा पनि उनले सकारात्मक धारणा राखे। “एकता हुनुपर्छ, तर नयाँ नेतृत्वको टिम बनाएर, क्रान्तिकारी स्पिरिट र विचारलाई अगाडि बढाएर गर्नुपर्छ,” उनले भने।
प्रचण्डको विकल्प खोज्नेहरू अवसरवादी: नन्दकिशोर पुन 'पासाङ'
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नन्दकिशोर पुन 'पासाङ'ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नरहेको बताएका छन्। प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा उनले प्रचण्ड नै नेतृत्वका लागि उपयुक्त भएको जिकिर गरे। पार्टीभित्र प्रचण्डले नेतृत्व छाड्नुपर्ने र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्ष बनाउनुपर्ने आवाज उठिरहेको सन्दर्भमा पासाङले यस्तो धारणा राखेका हुन्। उनले प्रचण्डको विकल्प खोज्नेहरूलाई अवसरवादीको संज्ञा दिँदै भने, “संकटमा अवसरवाद पैदा हुन्छ, र अहिले त्यस्तै भइरहेको छ।”

