बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव

दमक । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ ।

घुँडामुनि सुन्निएको समस्या लिएर बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बाँसकोटालाई सोमबार बिहान मनमोहन अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारमा भएको लापरवाहीले उनको मृत्यु भएको भन्दै आफन्तहरु क्षतिपूर्ति र स्वास्थ्यकर्मीलाई कारबाहीसहित प्रदर्शनमा उत्रेका छन् ।

उपचारका क्रममा सोमबार विहान ल्याइएकी महिलाको साँझ मृत्यु भएको अस्पताल व्यवस्थापनले जनाएको छ । मृतकका छोराछोरीको पालनपोषण, शिक्षादिक्षाका लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफुहरुको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए ।

इमरजेन्सीमा भर्ना भएको बिरामीको दिनभर राख्दा समेत कुनै पनि रिपोर्ट नदिएको र उपचार नगरेको आरोप आफन्तले लगाएका छन् । रिपोर्ट नदिनु र उपचार नगर्नु लापरवाही हो, मृतकका भाइ बाँस्कोटाले भने ।

घटनाका विषयमा छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ । मृतकको शव अस्पतालको आइसियूमा रहेको जनाइएको छ । अस्पताल प्रवेशमा रोक लगाइएको छ । प्रहरीले सोमबार बेलुकादेखि नै अस्पताल परिसरमा सुरक्षा कडा बनाएको छ ।

नेपालमा डिजिटलाइजेशनको विकल्प छैन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताएका छन् । नेपाल क्लियरिङ हाउसको राजधानीमा सम्पन्न १५ औं वार्षिकोत्स्व समारोहमा उनले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनेदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृतिहरु हटाउँदै लैजाने बताए । उनले डिजिटलाइजेशनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने दाबी गरे । नेपालमा डिजिटलाइजेशन प्रणालीको बिस्तार बढीरहेको र अहिलेसम्मको प्रगतिबाट गर्व गर्नुपर्ने गभर्नर अधिकारीले बताए । आम नागरिकहरु पनि चाँडोभन्दा चाँडो डिजिटल पेमेण्टमा जानुपर्ने बताउँदै उनले फाइनान्सियल क्षेत्र परिवर्तनकारी क्षेत्र भएकाले यसलाई अझ बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताए । गभर्नर अधिकारीले सबै सरोकारवाला संस्था र क्षेत्रहरु लाग्ने हो भने अरु मुलुकले झैँ समग्र अर्थतन्त्रलाई डिजिटलाइजेशन गर्न सकिने बताए ।

मोटरसाइकललाई ठक्कर दिएर दुईजनाको मृत्यु भएपछि बसमा आगजनी

काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका गाउँपालिका–३, बोहोरेटारमा आज बिहान बसको ठक्करबाट दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगो लगाइदिएका छन् । सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटनापछि आक्रोसित भएका स्थानीयले बिहान १० बजेपछि बसमा आगो लगाएका हुन् । घटनापछि स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । घटनास्थलबाट शव उठाएर अस्पताल लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ । रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको थियो । विपरीत दिशाबाट आइरहेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई वाग्मती प्रदेश ०१–००६ ख ४५९३ नं को बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बक्यौता नतिर्ने थप दुई उद्योगको काटियो बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ। बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो। प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ तिर्न बाँकी छ। त्यस्तै सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिर्न बाँकी छ। प्राधिकरणले शनिबार पनि बक्यौता नतिर्ने चार उद्योगको बिजुली काटेको थियो। जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको पनि बिजुली काटेको हो।

बाग्मति प्रदेशमा नवौं, आठौं र सातौं तहमा दरखास्त माग (सूचनासहित)

काठमाडौं । प्रदेश लोक सेवा आयोग वाग्मती प्रदेश हेटौंडाले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ ज्येष्ठता र कार्य सम्पादनको मूल्यांकनबाट हुने बढुवा तथा खुलातर्फको दरखास्त आह्वान गरिएको छ । नवौं, सातौं र आठौं तहका पदहरूमा आवेदन माग गरिएको हो ।

‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा उनले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइने यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डद्धारा ‘क्रिसमस डे’को शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उनले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले जारी गरेको सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रुपमा सुनिश्चित गरेको विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । २१औँ शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिंगो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको प्रधानमन्त्री प्रचण्डले आफ्नो सन्देशमा उल्लेख गरेका छन् । प्रधामन्त्री प्रचण्डले राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षासहित क्रिसमस पर्वले संकीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति सबैलाई प्रेरित गर्दै आएको बताएका छन् । रासस

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ । रासस

पाँच महिनामा देशको कुल निर्यातभन्दा ४१ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा देशको कुल निर्यातभन्दा ४१ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ । भन्सार विभागका अनुसार पेट्रोलियम आयात कुल निर्यातभन्दा ४१ अर्ब तीन करोड ४९ लाख ६३ अर्ब रुपैयाँ बढी छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालले पाँच महिना (साउन–मंसिर) मा एक खर्ब चार अर्ब २४ करोड २३ लाख ९८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ । जबकि नेपालको पाँच महिनाको कुल निर्यात ६३ अर्ब मात्र छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालले चालु आवको पाँच महिनामा ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँको कुल निर्यात गरेको छ । चालु आवको पाँच महिनामा २८ अर्ब ५५ करोड ८६ करोड ८२ लाखको पेट्रोल, २० अर्ब ६५ करोड ५८ लाख ३० हजारको खाना पकाउने एलपीजी ग्यास आयात गरेको छ । यस्तै, ५३ अर्ब ९० करोड ३२ लाख ९२ हजारको डिजेल र एक अर्ब १२ करोड ४५ लाख ९३ हजार रुपैयाँको हवाई इन्धन आयात भएको तथ्यांकले देखाएको छ । सरकाले पेट्रोलियम पदार्थबाट मात्र ४० अर्ब ४५ करोड ९८ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपाल टेलिकमले ४० प्रतिशत लाभांश दिने

काठमाडौं। नेपाल टेलिकमले शेयरधनीहरुलाई प्रतिशत शेयर ४० रुपैयाँ ९४० प्रतिशत० नगद लाभांश दिने भएको छ । कम्पनीले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। उक्त साधारणसभाले लाभांश पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्दैछ।

उच्च अदालतमा अटोमेसन शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले भने-‘अनियमितता भए सहने छैन’

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कुनै पनि प्रकारको अनियमितता भेटिए आफू कठोर बन्ने बताएका छन् । पेसी व्यवस्थापनका लागि आजदेखि उच्च अदालत पाटनमा नियमित अटोमेसन शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले उच्च अदालतका मुख्य न्यायाधीशहरूलाई पनि चनाखो भएर हेर्न निर्देशन दिएका हुन् । “मुख्य न्यायाधीशज्यूहरू आफ्ना नजिकका जिल्ला अदालतसम्म मुन्टो उठाएर हेर्नुस्, कमीकमजोरी घटाउन काम गर्नुस् । प्रविधिले सहजीकरण गर्ने हो, फैसला न्यायाधीशले नै गर्ने हो,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “हरेक दिन तपाईंहरूको रिपोर्ट आईटीमार्फत नै लिइरहेको छु । कहीँ कतै अनियमितता भएको भए म सहने छैन ।”

लामिछानेको मुद्दा न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाको सुनुवाइका लागि आज जिल्ला अदालत काठमाडौंमा पेसी तोकिएको छ । उनको मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा तोकिएको हो । गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेस गर्न आदेश दिएको थियो । बहस नोट पेस भइसकेपछि मुद्दा सुनुवाइका लागि फेरि पेसी तोकिएको हो । बन्द इजलासमा सुनुवाइ गर्ने जिल्ला अदालतले यसपटक अन्तिम सुनुवाइ गर्ने अपेक्षा गरिएको छ । यसअघि यो मुद्दामा पटक–पटक पेसी तोकिए पनि अदालतले निर्णय सुनाउन सकेको छैन ।

डुम्रे–छिर्कन सडक कालोपत्र गर्न गिट्टी राखिदै

तनहुँ । पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडकअन्तर्गत डुम्रे–छिर्कन छ किलोमिटर खण्ड कालोपत्र गर्न धमाधम गिट्टी राखिँदैछ । बन्दीपुर१ नाहलापुलबाट व्यास(१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएको हो । यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो । पोखरा–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार कालोपत्र गर्न अर्कोतर्फकाे सडक कालोपत्रको चरणमा पुगेको हाे । त्यसमाथि राखिएको ‘बेस’ सुकेपछि प्राइम कोट प्रयोग गरी कालोपत्र गरिनेछ । उक्त राजमार्गको पूर्वी खण्डमा करिब १२ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । एक साताभित्र थप तीन किलोमिटर कालोपत्र गरिने इञ्जिनियर पाण्डेले राससलाई जानकारी दिनुभयो । आँबुखैरेनी खण्डमा करिब दुई किलोमिटर बाटो दुवैतर्फ कालोपत्र भइसकेको छ । पोखरा–मुग्लिन सडक योजना पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको इञ्जिनियर पाण्डेले बताए ।

पाल्पाको एउटा घरमा आगलागी हुँदा नौ महिने बालिकाको जलेर मृत्यु

पाल्पा । पाल्पाको एक घरमा आगालागी हुँदा नौ महिने बालिकाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्यागरुङ्गका टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्लीको रहेको प्रहरीले जनाएको छ । खरले छाएको एक तले कच्ची घरमा आगलागी भएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार नौ महिनाकी छोरीलाई घरमा सुताई परिवारका अन्य सदस्य बारीमा काम गर्न गएका बेला गोठमा कुँडो पकाउन सल्काएको आगोबाट अचानक आगलागी भएको थियो । आगलागीबाट एउटा भैसी र एउटा बाख्रा पूर्णरुपमा जलेर मरेका छन् भने घर र गोठ पनि पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । आगलागीबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो । आयोगले आइतबार निकालेको सूचनाअनुसार न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त पेस गर्न सक्ने जनाएको छ । इच्छुक व्यक्तिले आयोगको अनलाइन प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

उखु कृषकलाई अनुदानबापत ८० करोड भुक्तानी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम भुक्तानी गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ३२ करोडमध्ये चालु आवमा ८० करोड भुक्तानी गरेको हो। बाँकी ५२ करोड बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत प्रदान गरेकाले सम्बन्धित जिल्लामा निकासापश्चात् कृषकको उपलब्ध विवरणका आधारमा कृषकको खातामा रकम भुक्तानी हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जानकारी दिए। सरकारले उखु कृषकको संरक्षण र कृषि व्यवसाय प्रवर्द्धन गर्न हरेक वर्ष उखुको न्यूनतम खरिद मूल्य तोक्दै आएको छ। चालु आवका लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल पाँच सय ६५ र नेपाल सरकारले प्रदान गर्ने प्रति क्विन्टल अनुदान रकम रु ७० निर्धारण गरिएको छ । विभिन्न उखु उत्पादन हुने जिल्लाका कृषकबाट लिइएको उत्पादन लागत विवरण तथा छिमेकी देशमा तोकिएको खरिद मूल्यलाई समेत विश्लेषण गरी तयार गरिएको प्रतिवेदनका आधारमा कृषि विभागले मूल्य निर्धारणका लागि प्रस्ताव गरेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयोजकत्वमा अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय किसान आयोग, राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका प्रतिनिधि, नेपाल उखु उत्पादन महासङ्घ, चिनी उत्पादक सङ्घलगायतका सरोकारवालाको सुझाव समेतलाई विश्लेषण गरी प्रतिक्विन्टल उखुको लागत २० प्रतिशत मुनाफा र ढुवानी लागतसमेत गरी प्रतिक्विन्टल न्युनतम खरिद मूल्य ५६५ रूपैयाँ सिफारिस गरिएको थियो ।