सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरियाे मनसुन
काठमाडौं । यस वर्षको मनसुन क्रमशः कमजोर बन्दै देशबाट बाहिरिन थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्पूर्ण भूभागबाट मनसुन बाहिरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रका अधिकांश स्थान र गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानबाट पनि मनसुनको बहिर्गमन भएको छ ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले आगामी केही दिनभित्र देशका बाँकी भागबाट पनि मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना छ ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ कायम भए पनि यस वर्ष त्यो मिति नजिकै पुगेको महाशाखाले जनाएको छ । यस वर्ष मनसुन सरदर अवधिभन्दा करिब १५ दिनअघि, अर्थात् जुन १३ तारिखमा नै नेपालमा प्रवेश गरेको थियो ।
नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक आज, यी हुन् बैठकका एजेण्डा
काठमाडौं – नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए। बैठकमा पछिल्लो राजनीतिक अवस्था, प्राकृतिक विपत्तिले निम्ताएको समस्या तथा पार्टीका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी कार्यालयमा हेप्प डेस्क स्थापना र उद्दार, राहतमा लाग्न दिएको निर्देशनको कार्यान्वयन लगायतका विषयमा पनि छलफल हुनेछ । त्यस्तै विपद्पछिको उद्दार तथा राहत, विभिन्न बामपन्थी पार्टीहरुसँग हुने भनिएको पार्टी एकतालगायतका विषयमा पनि आजको बैठकमा छलफल गर्ने तय भएको छ । उनका अनुसार, महाधिवेशन मिति तय गर्ने, प्रतिनिधि छनोट लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको थियो। यस्तै, माओवादीले पूर्वपदाधिकारीलाई यसअघि नै सचिवालयमा रूपान्तरण गरेको थियो।
काठमाडौंका बाढी प्रभावित बस्तीमा वाइसिएलको सरसफाइ अभियान
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले डुबानमा परेका काठमाडौंका नदी तथा खोला किनारका बस्तीहरूमा वाइसिएल नेपालले शनिबार सरसफाइ तथा उद्धार कार्य सञ्चालन गरेको छ । वाईसिएल नेपालका कार्यकर्ताहरूले डुबानग्रस्त घरहरूको सफाइ गर्दै घरभित्र भरिएको फोहोर पानी निकालेर स्थानीयलाई सफा गर्न सहयोग गरेका छन् । यसैगरी, बाढीले क्षति पुर्याएका सामग्रीहरूको उद्धार कार्य पनि गरिएको वाइसिएल नेपालले जनाएको छ । बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको सहयोगका लागि अध्यक्ष पुष्प ओली नेतृत्वमा वाइसिएल नेपालले देशभरबाट करिब १० हजार कार्यकर्ता परिचालन गरेको छ ।
मौसम सुधार : मनसुन कमजोर, तर सतर्कता कायम राख्न आह्वान
काठमाडौं । बंगालको खाडीबाट विकास भएको न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएपछि मनसुन कमजोर बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसो जारी विज्ञप्तिमा मौसममा सुधार आएको जानकारी दिइन् । यससँगै जनजीवन क्रमशः सामान्य हुँदै गएको छ, तर मनसुन पूर्ण रूपमा बाहिरिन बाँकी रहेकोले वर्षाको सम्भावना कायमै छ । अविरल वर्षाले उत्पन्न बाढी र पहिरोले कोसी प्रदेशका जिल्लाहरूमा ठूलो क्षति पुर्याएको छ । विशेष गरी इलाममा १३ वटा हाइड्रोपावर आयोजनाको उत्पादन बन्द भएको छ । यी आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट विद्युत् पूर्ण रूपमा ठप्प बनेको ऊर्जा मन्त्रालयले जनाएको छ । प्रभावित आयोजनाहरूमा निम्नानुसार छन् : माइखोला हाइड्रोपावर : ४.५ मेगावाट माइखोला क्यासकेड : ८ मेगावाट माइखोला, जोगमाइखोला, तल्लो जोगमाई, माइवेनी लगायत त्यस्तै, पाँचथर, इलाम र सिन्धुपाल्चोकका ५ वटा निर्माणाधीन हाइड्रोपावर आयोजनाहरू पनि प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अनुसार, यीमध्ये ४ आयोजनाको उत्पादन ढिलाइ हुनेछ भने ९३ मेगावाट क्षमताका ५ आयोजनामा क्षति पुगेको छ । मौसम विभागको विज्ञप्तिअनुसार, असोज १७ गतेदेखि १९ गते बिहानसम्म मधेस र बागमती प्रदेशमा भारीदेखि अतिभारी वर्षा तथा कोसी प्रदेशमा मध्यमदेखि अतिभारी वर्षा भएको थियो । गत २४ घण्टामा अधिकतम ३५८ मिलिमिटर वर्षा रौतहटको महेशपुरमा मापन भएको छ । ३०० मिलिमिटरभन्दा बढी वर्षा हुने केन्द्रहरूमा इलामको हिमाली गाउँ (३३२.६ मिमि), कन्याम टी-स्टेट (३१४.२ मिमि), पर्साको मुडली (३२८.६ मिमि) र रौतहटको महेशपुर (३२८.० मिमि) रहेका छन् । वर्षाका कारण बागमती, त्रिशूली, पूर्वी राप्ती, सप्तकोसी लगायतका नदीहरूमा जलसतह खतरा तह पार गरेको थियो, जुन हाल घट्दो क्रममा छ । विभागले कोसी नदी चतरा केन्द्रमा खतरा तह नजिक रहेकोले असोज २० गते मध्याह्नसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान गरेको छ । प्रवक्ता पोखरेलले विभागको वेबसाइट, सामाजिक सञ्जाल, टोलफ्री सेवा (११५५) र एसएमएसमार्फत अद्यावधिक सूचना प्राप्त गरी सतर्क रहन सबैलाई अनुरोध गरेकी छन् । यसैबीच, यो वर्ष मनसुन जुन १३ को सरदरभन्दा १५ दिनअगावै प्रवेश गरेको थियो भने बाहिरिने सरदर मिति अक्टोबर २ रहेको छ, तर हरेक वर्षमा केही उतारचढाव हुने गर्दछ ।
वर्षाका कारण आएको बाढी र पहिरोमा परेर देशभर ४९ जनाको मृत्यु
काठमाडौं। शुक्रबार र शनिबार निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोमा परेर देशभर ४९ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिउँसो साढे १ बजेसम्म उपलब्ध गराएको विवरणअनुसार यो संख्या हो । जसमध्ये कोशी प्रदेशका जिल्लामा सबैभन्दा बढी क्षति पुगेको छ । इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । उदयपुरमा २, खोटाङमा १, पाँचथरमा ६ र रौतहटमा ३ जनाको मृत्यु भएको छ । त्यस्तै, बारामा १, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, विपद्मा ७ जना घाइते भएका छन् । मृत्यु हुने अधिकांश बाढी र पहिरोमा परेका हुन् भने केहीको चट्याङ र दुर्घटनामा ज्यान गएको छ । प्रहरीले उद्धार र राहत कार्यलाई तीव्रता दिइरहेको छ । यसबीच, विपद् प्रभावित क्षेत्रमा थप वर्षा नहुने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पार्टी कार्यालयमा हेल्प डेस्क राखेर विपद् व्यवस्थापनको काम गर्न संयोजक प्रचण्डको निर्देशन
काठमाडौं। नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीका सबै तहका कार्यालयहरूमा हेल्प डेस्क स्थापना गरी विपद् प्रभावित जनताको उद्धार, राहत र पुनःस्थापनामा तत्काल सक्रिय हुन निर्देशन दिनुभएको छ । आइतबार प्रचण्डले प्रदेश अध्यक्षहरूमार्फत सबै पार्टी कमिटीहरूलाई युद्धस्तरमा खटिन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, "यो विशेष विपद्–परिस्थितिमा पार्टीका सबै संरचनाहरूले युद्धस्तरमा सक्रियता देखाउनुपर्छ ।" प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार, प्रचण्डले विपद् व्यवस्थापन विभाग, स्वयम्सेवक समूह तथा भातृ–सहयोगी संगठनहरूलाई समेत खोज तथा राहत कार्यमा जुट्न विशेष अपिल गर्नुभएको छ । यसअघि नै सामाजिक सञ्जालमार्फत पार्टीका नेता–कार्यकर्ताहरूलाई सक्रियतापूर्वक खटिन निर्देशन जारी गरिसकेका प्रचण्डले युवा कम्युनिष्ट लिग (वाइसीएल) का कार्यकर्ताहरूको विपद् प्रतिकार्यमा योगदानको जानकारी दिनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहका सरकारहरूलाई समन्वय तथा नेतृत्वमा जोड दिनुका साथै सबै राजनीतिक दल, सामाजिक संघ–संस्था र नागरिक समाजलाई मतभेद बिर्सेर एकताबद्ध हुन अपिल गर्नुभयो । पार्टी स्रोतका अनुसार, यो निर्देशनले विपद् प्रभावित क्षेत्रमा राहत वितरण र उद्धारलाई गति दिने अपेक्षा गरिएको छ । नेकपा माओवादी केन्द्रले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
अहिलेसम्म विपदमा परेर १९ जनाको मृत्यु, ८ जना बेपत्ता : गृह मन्त्रालय
काठमाडौं । प्राकृतिक विपद्मा परेर अहिलेसम्म १९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । इलाममा पहिरोमा परेर १४ जना, खोटाङ र उदयपुरमा खोलाले बगाएर एकएक जना र रौतहटमा चट्याङ लागेर तीनजनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यस्तै पहिरोमा परेर इलाममा ४ जना र रसुवामा खोलाले बगाएर ४ जना वेपत्ता भएका छन् । इलाम, भोजपुर, खोटाङ र मकवानपुरमा ११ जना घाइते भएका छन् ।
बाढी, पहिरोबाट भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त, मृतकका परिवारप्रति समवेदना प्रकट
काठमाडौं– नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले विगत केही दिनयता मौसम प्रणाली पुनः सक्रिय भएपछि देशका पूर्वी तथा मध्य क्षेत्रहरूमा परेको अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत यो धारणा राख्नुभएको हो। उहाँले बताउनुभयो, "इलामका विभिन्न स्थानमा पहिरोमा परी हालसम्म १८ जनाको ज्यान गएको र कैयौं बेपत्ता भएको अत्यन्त पीडादायी खबरले दुखित बनाएको छ। त्यस्तै, रसुवामा पनि केही बेपत्ता हुनुका साथै देशका अन्य क्षेत्रमा धेरै घर, राजमार्ग तथा सडकहरू क्षतिग्रस्त भएका छन्। पशुबाली र अन्नबालीमा ठूलो क्षति पुग्नुका साथै जनजीवनमा गम्भीर असर परेको छ।" यसैगरी, उहाँले भन्नुभयो, "यस दुखद क्षणमा प्राकृतिक विपदाबाट ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।" प्रचण्डले अझै पनि जोखिम पूर्ण रूपमा हटेको नभएको भन्दै सबैमा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्नुभएको छ। उहाँले भन्नुभयो, "हाम्रो पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुनःस्थापनाको कार्यमा तत्काल सक्रिय हुन पुनः निर्देशित गर्दछु। साथै सबैस्तरका पार्टी कार्यालयमा सहायता कक्ष स्थापना गरी उद्धार, राहत र पुनःस्थापना कार्यमा थप सक्रिय हुन आह्वान गर्दछु।"
नेकपा (माओवादी केन्द्र)कोसचिवालय बैठक भोलि, यी हुन् बैठकका एजेण्डा
काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले सचिवालय बैठक बोलाएको छ। सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए। बैठकमा पछिल्लो राजनीतिक अवस्था, प्राकृतिक विपत्तिले निम्ताएको समस्यालगायतका विषयमा पनि छलफल हुनेछ । उनका अनुसार, महाधिवेशन मिति तय गर्ने, प्रतिनिधि छनोट लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको थियो। यस्तै, माओवादीले पूर्वपदाधिकारीलाई यसअघि नै सचिवालयमा रूपान्तरण गरेको थियो।
इलाममा पहिरोमा बेपत्ताको पनि मृत्यु, पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुग्यो
काठमाडौं – इलाममा बाढीपहिरोका कारण १७ जनाको मृत्यु भएको छ। जिल्लाका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति सबैभन्दा बढी भएको छ। इलाम नगरपालिका–६, घोसेघारीस्थित डम्बरबहादुर तामाङको घर पहिरोले पुरिँदा भित्र रहेका ६ जनाको मृत्यु भएको छ। सो स्थानमा सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो। यसैगरी, सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ। घटनास्थलबाट ४ जनाको शव निकालिएको थियो भने एक घाइतेलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। सो स्थानमा मानेभञ्ज्याङबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुरेन्द्र डोटेलको नेतृत्वमा ७ सदस्यीय टोली परिचालन गरिएको थियो। देउमाई नगरपालिका–५, घुसेनस्थित दीपक लिम्बुको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन्। एक जनालाई भने सकुशल उद्धार गरिएको छ। माङसेबुङ गाउँपालिका–५, पार्टीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ। फाकफोकथुम गाउँपालिका–३, रातोमाटे बस्ने ३२ वर्षीय सुरेश लिम्बु पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उद्धार कार्य जारी रहँदा थप विवरण सङ्कलन भइरहेको छ।
नेपाल राष्ट्र बैंकको नयाँ विनिमय दर: डलरको बिक्री मूल्य १४२.३४ रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। यसअन्तर्गत अमेरिकी डलरको खरिद दर १४१.७४ रुपैयाँ र बिक्री दर १४२.३४ रुपैयाँ तोकिएको छ। राष्ट्र बैंकका अनुसार प्रमुख मुद्राहरूको विनिमय दर निम्नानुसार छ: मुद्रा खरिद दर (रुपैयाँ) बिक्री दर (रुपैयाँ) अमेरिकी डलर १४१.७४ १४२.३४ युरोपियन युरो १६६.३४ १६७.०४ युके पाउण्ड स्ट्रलिङ १९०.६० १९१.४१ स्वीस फ्रांक १७७.९८ १७८.७३ अष्ट्रेलियन डलर ९३.६० ९३.९९ क्यानेडियन डलर १०१.४९ १०१.९२ सिङ्गापुर डलर १०९.९४ ११०.४० जापानी येन (१०) ९.६२ ९.६६ चिनियाँ युआन १९.९१ १९.९९ साउदी अरेबियन रियाल ३७.७९ ३७.९५ कतारी रियाल ३८.८९ ३९.०५ थाइ बाहट ४.३७ ४.३९ युएई दिरहम ३८.५९ ३८.७६ मलेसियन रिङ्गेट ३३.६८ ३३.८३ साउथ कोरियन वन (१००) १०.०८ १०.१३ स्वीडिस क्रोनर १५.११ १५.१७ डेनिस क्रोनर २२.२८ २२.३७ हङकङ डलर १८.२१ १८.२९ कुवेती दिनार ४६३.३८ ४६५.३४ बहराइन दिनार ३७५.९८ ३७७.५७ ओमानी रियाल ३६८.१४ ३६९.७० भारतीय रुपैयाँ (१००) १६०.०० १६०.१५ केन्द्रीय बैंकले यो दर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।
आज-भोलि देशभर अतिरिक्त बिदा, जनधनको सुरक्षा प्राथमिकता
काठमाडौं, । भारीदेखि अति भारी वर्षाको सम्भावनाले देशलाई आहत बनाउने चिन्ता बढ्दै गएको बेला सरकारले आज (असोज १९) र भोलि (असोज २०) सार्वजनिक बिदा घोषणा गरेको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा यो निर्णय वर्षाको जोखिमबाट उत्पन्न हुन सक्ने प्राकृतिक विपत्ति र जनधनको क्षतिलाई रोक्नका लागि लिइएको उल्लेख छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, मधेश र बागमती प्रदेशका विभिन्न भागहरूमा अझै मध्यमदेखि भारी वर्षा कायम रहने क्रममा छ। यसले बाढी, भूस्खलन र सडक अवरोध जस्ता समस्या निम्त्याउने सम्भावना उच्च छ। "सम्भावित जोखिमका कारण जनधनको क्षति हुन सक्ने देखिएकाले सुरक्षाको दृष्टिकोणबाट देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ," गृह मन्त्रालयको सूचनामा भनिएको छ। दसैं पर्वको बिदापछि आइतबारदेखि कार्यालय र शैक्षिक संस्थाहरू खुल्ने तयारी भइरहेको बेला यो दुई दिनको अतिरिक्त बिदाले लाखौं कर्मचारी, विद्यार्थी र व्यापारीहरूलाई राहत पुगेको छ। तर, यसले आर्थिक गतिविधिमा केही असर पार्न सक्ने चिन्ता पनि व्यक्त भएको छ। सरकारले यात्रा गर्दा सतर्क रहन, बाढी प्रभावित क्षेत्रबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सबैलाई आग्रह गरेको छ। मौसमविद्हरूका अनुसार, यो वर्षा प्रणाली क्रमशः कमजोर हुँदै गए पनि पूर्वी र मध्य क्षेत्रमा सतर्कता कायम राख्न आवश्यक छ। थप विवरणका लागि गृह मन्त्रालय वा मौसम विभागको आधिकारिक सूचना अनुगमन गर्न सुझाव दिइएको छ। यो बिदाले वर्षाको त्रास कम गर्दै सामान्य जीवनतर्फ फर्कने बाटो प्रशस्त गर्ने अपेक्षा गरिएको छ।
मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम आज पनि जारी
काठमाडौं । निरन्तर भइरहेको वर्षाका बावजुद काठमाडौं उपत्यकामा मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ। विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने परम्परा कोजाग्रत पूर्णिमाका दिनसम्म चल्नेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा तथा अखिल बलि पूर्ति परेको छ। नेपालीहरूले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मका १५ दिनलाई बडा दसैं पर्वका रूपमा भव्यतापूर्वक मनाउँछन्। यो पर्व असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा शास्त्रीय मान्यतामा आधारित छ। दसैंको सुरुवात आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैं घर वा पूजाकोठामा स्थापना गरिएको घडाको अभिषेकसँगै हुन्छ। त्यसपछि विजयादशमीका दिन बिहान देवीको विसर्जन गरेपछि नै नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम सुरु हुन्छ। यस वर्ष पनि काठमाडौंका धार्मिक स्थलहरू, घरपरिवार र मन्दिरहरूमा यो परम्परा उत्साहपूर्वक पालन गरिएको छ। नजिकका परिवारका सदस्यहरू काम वा अन्य कारणले टाढा रहने भएकाले कोजाग्रत पूर्णिमासम्म टीका लगाउन हिँड्ने चलन छ।
मौसममा आएको सुधारसँगै बन्द आन्तरिक उडान बिहानैदेखि सुचारु
काठमाडौं । हिजो बिहानदेखि देशभर मौसममा आएको खराबीका कारण बन्द रहेका आन्तरिक उडानहरू आज बिहानैदेखि सुचारु भएका छन्। जल तथा मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानअनुसार बागमती प्रदेशमा बदली र मध्यम वर्षाको सम्भावना रहे पनि, बिहानको समयमा मौसम सफा हुँदै गएपछि उडान सञ्चालनमा सहजता आएको हो। नेपाल वायुसेवा निगम (NAC) र विभिन्न निजी वायुसेवा प्रदायक कम्पनीहरूले काठमाडौंबाट पोखरा, भैरहवा, नेपालगञ्ज, जुम्ला लगायतका गन्तव्यतर्फका उडानहरू बिहान ६ बजेपछि क्रमशः सुरु गरेका छन्। हिजो बिहानदेखि नै बागमती, कोशी र मधेश प्रदेशमा मेघगर्जन तथा भारी वर्षाका कारण आन्तरिक उडानहरू पूर्ण रूपमा स्थगित गरिएको थियो। यसले हजारौं यात्रुहरूलाई असुविधा भएको थियो। "मौसममा आएको सुधारले उडान सञ्चालनमा सहजता आएको छ। यात्रुहरूको मागअनुसार बिहानैदेखि उडानहरू सुरु गरेका छौं," नेपाल वायुसेवा निगमका एक अधिकारीले बताए। काठमाडौंबाट आज बिहानसम्ममा २० भन्दा बढी आन्तरिक उडानहरू सफलतापूर्वक उडेका छन्, जसमा पोखरा र भैरहवा गन्तव्यका उडानहरू सबैभन्दा बढी प्रभावित थिए। अन्य विभिन्न विमानस्थलहरूबाट पनि आन्तरिक उडानहरू क्रमशः सुचारु हुँदै गएका छन्। लुम्बिनी प्रदेशका भैरहवा र नेपालगञ्ज विमानस्थलहरूबाट काठमाडौं र अन्य गन्तव्यतर्फका उडानहरू बिहान ७ बजेपछि सुरु भएका छन्। पोखरा विमानस्थल पनि पूर्ण रूपमा सञ्चालनमा फर्किएको छ। कोशी र मधेश प्रदेशका विमानस्थलहरूमा पनि मौसम सुधारसँगै प्रगति देखिएको छ। विशेषगरी, भद्रपुर र विराटनगर विमानस्थलहरूबाट बिहानैदेखि काठमाडौं तथा अन्य गन्तव्यतर्फका उडानहरू सुरु भएका छन्। यसले पूर्वी क्षेत्रका यात्रुहरूलाई ठूलो राहत पुगेको छ। यद्यपि, जनकपुर र राजविराज जस्ता केही विमानस्थलहरूमा भने दिउँसो सम्म पनि बदली र वर्षाको सम्भावनाका कारण उडानहरू स्थगित नै छन्। विभागको पूर्वानुमानअनुसार कोशी र मधेश प्रदेशमा दिउँसो भारी वर्षाको जोखिम रहेकोले यी क्षेत्रका यात्रुहरूले थप पर्खनुपर्ने अवस्था छ। हिजोको मौसम खराबीले अन्तर्राष्ट्रिय उडानहरूलाई पनि असर पुर्याएको थियो। दिल्ली, दोहा र काठमाडौंका अन्तर्राष्ट्रिय उडानहरूले वैकल्पिक ल्याण्डिङ गर्नुपरेको थियो। यद्यपि, आज अन्तर्राष्ट्रिय उडानहरू पूर्ण रूपमा नियमित सञ्चालन भइरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली, दुबई, क्वालालम्पुर र अन्य गन्तव्यतर्फका उडानहरू निर्धारित समयमै उडेका छन्। विमानस्थलका अधिकारीहरूका अनुसार, अन्तर्राष्ट्रिय उडानहरूमा कुनै पनि अवरोध नभएको र यात्रुहरूको चाप रहेको छ। मौसम विभागले आज दिउँसो र राती पनि कोशी, मधेश र बागमती प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना जनाएको छ। यसले गर्दा उडान सञ्चालन गर्ने कम्पनीहरूले यात्रुहरूलाई थप अपडेटका लागि आधिकारिक वेबसाइट वा हटलाइनमा सम्पर्क गर्न आग्रह गरेका छन्। यो मौसमले गर्दा देशभरका यात्रुहरूले भोग्नुपरेको असुविधापछि अब दैनिक उडानहरू सामान्यतर्फ फर्किँदै गएका छन्।
आजको मौसम: कोशी र मधेस प्रदेशका एकदुई ठाउँमा भारी वर्षा, अन्य प्रदेशमा भारी वर्षाको सम्भावना छैन
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो र राती देशभर मनसुन वायुको प्रभाव कायम रहने जनाएको छ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले कोशी र मधेश प्रदेशमा पूर्ण बदली र वर्षाको सम्भावना उच्च रहेको छ भने बागमती र लुम्बिनी प्रदेशमा साधारण बदली हुने अनुमान छ। विभागका अनुसार, आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थानहरूमा पूर्ण बदली रहनेछ। बागमती प्रदेश (जसमा काठमाडौं उपत्यका पर्छ) र लुम्बिनी प्रदेशमा साधारणतया बदली तथा बाँकी भूभागहरूमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी र मधेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा (२४ घण्टामा ५० मिलिमिटरभन्दा बढी) को जोखिम रहेको छ। यसैगरी, आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भूभागहरूमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरू तथा देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले चेतावनी दिएको छ। मौसमविद्हरूका अनुसार, यो अवस्थाको मुख्य कारण बंगालको खाडीबाट प्रवेश गरेको मनसुन वायु हो, जसले देशभर जलवाष्पको मात्रा बढाएको छ। काठमाडौं उपत्यकामा दिउँसो साधारण बदलीसँगै हल्का वर्षा वा मध्यम वर्षाको सम्भावना छ भने राती पनि बदली कायम रहने जनाइएको छ। विभागले वर्षा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन र बाढी तथा भूस्खलनको जोखिमबाट बच्न आग्रह गरेको छ। थप विवरणका लागि विभागको आधिकारिक वेबसाइट वा हटलाइनमा सम्पर्क गर्न सकिन्छ। मौसम सुधार हुँदै गए पनि, यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ।
काठमाडौं उपत्यकामा वर्षाको संकट समाप्त, भारी वर्षा नहुने मौसमविद्को भनाइ
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको सम्भावना नरहेको बताएको छ। शुक्रबारदेखि सक्रिय पानी पार्ने प्रणाली क्रमशः पूर्वतिर सरेको छ र आइतबार साँझसम्म पूर्वबाट पनि बाहिरिने सम्भावना रहेको छ। मौसमविद् डेभिड ढकालले काठमाडौं उपत्यकामा लगातार वर्षा वा भारी वर्षा (२४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म) नहुने जानकारी दिए। 'पानी पार्ने प्रणाली पूर्वतिर सरेको छ। आइतबार साँझसम्म पूर्वबाट पनि बाहिरिने सम्भावना छ,' उनले भने, 'काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने जोखिम छैन।' शुक्रबारदेखि नेपालको मनसुन प्रणालीमा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायु र भारतको उडिसा राज्य आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले काठमाडौं उपत्यकासहित तराई–पहाडी क्षेत्रमा भीषण वर्षा भएको थियो। यसले उपत्यकामा बाढी र सडक अवरोध जस्ता समस्या निम्त्याएको थियो। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा निम्न वर्षा मापन भएको छ: नैकापमा १४१.६ मिलिमिटर, सुन्दरीजलमा १४४.६, गोदावरी ललितपुरमा १७८.८, लेलेमा १८४.२, पनौतीको खोपासीमा २१५.२, मकवानपुरगढीमा २१० र सिन्धुलीको हरिहरपुरगढीमा २९५ मिलिमिटर। यीमध्ये उपत्यकाका नजिकका स्थानहरूमा वर्षाको तीव्रता उच्च रहे पनि अब घट्दो क्रममा छ। तराईका अन्य जिल्लाहरूमा भने वर्षा अझै तीव्र देखिएको छ। रौतहटको महेशपुरमा ३५२ मिलिमिटर, गौरमा ३३४, पर्साको मुडलीमा २९०.८, वीरगञ्जमा २८८, बाराको सिमरा विमानस्थलमा २२५.४, सर्लाहीको मनुस्मारामा २३३.६, धनुषाको तुलसीमा २४५.२, सप्तरीको बरमझियामा १८५.४, सुनसरीको सप्तकोशीमा २२६.८, मोरङको हरैंचामा २४४.४ र इलामको हिमालीमा ३३५.४ मिलिमिटर वर्षा भएको छ। पूर्वी क्षेत्रमा पनि वर्षाको तीव्रता केही कमजोर भए पनि साँझसम्म पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान: आइतबार दिउँसो बागमती प्रदेशमा साधारणतया बदली रहनेछ। मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ, तर भारी वर्षाको जोखिम न्यून छ। राति पनि उपत्यकामा बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ। कोशी र मधेस प्रदेशमा भने भारी वर्षाको सम्भावना एक–दुई स्थानमा छ। मौसम महाशाखाले काठमाडौंवासीहरूलाई सतर्क रहन र बाढी प्रभावित क्षेत्रहरूबाट सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। अब मौसम सुधार हुँदै गएकाले दैनिक जीवन सामान्य हुने अपेक्षा गरिएको छ।

