काेशी सरकारले बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज बनाउने

विराटनगर । कोशी प्रदेश सरकारले  बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासस्वरुप चिकित्सको टोली परिचालन गर्ने भएको छ । 

प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय र आपूर्ति व्यवस्थापन विभागका प्रतिनिधि र चिकित्सकको टोली प्रभावित क्षेत्रमा परिचालन हुने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनीन राईले बताए । 

आज बिहान तीन वटा टोली इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुर प्रस्थान गर्ने तयारीमा रहेको उनले जानकारी दिए।

महामारी तथा किटजन्य रोग लाग्नबाट जोगिन सुझाउने तथा पीडितका स्वास्थ्य समस्याबारे टोलीले जानकारी लिने र आवश्यकतानुसार सहयोग गर्नेछ । साथै टोलीले क्षतिको विवरण पनि सङ्कलन गर्नेछ । 

मनसुनी र स्थानीय वायुको प्रभाव: आज कहाँ–कहाँ वर्षाको सम्भावना ?

काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ भने बाँकी क्षेत्रमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, यसका कारण आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली देखिएको छ । सुदूरपश्चिमका पहाडी क्षेत्र, कर्णाली र लुम्बिनीका पश्चिमी भूभाग तथा बागमतीका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहने सम्भावना छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई ठाउँमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ताप्लेजुङमा जिप दुर्घटनामा परी एकको मृत्यु, छजना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोपको थुङ्रुम्बामा मङ्गलबार साँझ भएको जिप दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका प्र १–०१–००१ ज ३४७० नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो । सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनको वडाध्यक्ष अमरबहादुर लिम्बूका अनुसार ढङ्ढङगे झरनाको भ्रमण गरी आङ्खोपतर्फ फर्कँदै गरेको उक्त जिप साँझ करिव ६ः३० बजेतिर दुर्घटनामा परेको हो । सो दुर्घटनामा परी झापाको बुद्धशान्ति गाउँपालिका निवासी लोकबहादुर कुँवरको मृत्यु भएको वडाध्यक्ष लिम्बूले जानकारी दिए । मृतक कुँवर आङ्खोपमा आफन्तकहाँ पाहुना आएका थिए । वडाध्यक्ष लिम्बूका अनुसार झापाकै शनिश्चरे निवासी प्रकाश चौहान गम्भीर घाइते भएका छन् । र चौहानलाई सिदिङ्वाबाट सुविधा सम्पन्न अस्पतालतर्फ सिफारिस गरिएसँगै यहाँबाट उपचारमा पठाइएको छ । अन्य घाइते हुनेमा आङ्खोप निवासी जिपका चालक प्रकाश चौहान, चौहानकी श्रीमती र दुईजना बालबच्चा रहेका छन् । सामान्य घाइते भएका उनीहरुको साब्लाखु स्वास्थ्यचौकीमा उपचार भइरहेको वडाध्यक्ष लिम्बूले बताए । 

सुनसरीकाे झुम्का कारागारबाट जेन–जी आन्दोलनको क्रममा भागेका एक कैदी मृत फेला

उदयपुर । जेन–जीको आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका एक कैदी मृत फेला परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका– ८, शाहीखोला राजाबास स्थायी घर भएका ३५ वर्षीय गम्भीरबहादुर दनुवार आज मृत्य फेला परेका हुन् । दनुवार कर्तव्य ज्यान मुद्दामा पाएको कैद सजाय सुनसरीको झुम्का कारागारबाट भुक्तान गरिरहेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार रहेका दनुवार आफ्नै घरभन्दा करिब एक सय मिटर टाढा सिसौको रुखमा झुन्डिएको अवसथामा मृत फेला परेका हुन् । उनले भने, ‘सुनसरी जिल्ला अदालतको १३ चैत ०७७ को  फैसलाले कर्तव्य ज्यान मुद्दामा दनुवारलाई जन्म कैदस्वरूप (२० वर्ष कैद) सजाय तोकिएको थियो ।’ दनुवारको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाएको र उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।  उदयपुर स्थायी ठेगाना भएका विभिन्न कारागारबाट फरार नौजना कैदी पक्राउ गरिसकिएको सूचना अधिकारी दोङको भनाइ छ ।

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीमार्फत कार्की आयोगमा

काठमाडाैं । ‘हामी नेपाली’ संस्थाका संस्थापक सुधन गुरुङसहितको समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको किटानी जाहेरी प्रहरीमार्फत जाँचबुझ आयोगमा पठाइएको छ । जेन–जी आन्दोलनका घटनाबारे छानबिन गरिरहेको आयोगका कारण जाहेरी सोही आयोगमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । गुरुङ समूहले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पेश गरेको थियो । जाहेरी दर्ता नगरे सडक आन्दोलनमा जाने चेतावनी दिँदै उनीहरूले प्रहरीमाथि दबाब दिएका थिए । प्रहरी स्रोतका अनुसार समूहको धम्कीपछि सोमबार राति प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलबाट जाहेरी लिन र छानबिन आयोगमा पठाउने सहमति भएको थियो । त्यसअनुसार प्रहरी परिसर भद्रकालीले लिखित जाहेरी लिएर पूर्वन्यायाधीश गौरिबहादुर कार्कीको नेतृत्वमा गठित आयोगमा पठाएको हो । सामाजिक सञ्जालमा सक्रिय सुधन गुरुङले ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै निरन्तर अभियान चलाइरहेका छन् । उनले भदौ २३ गतेको आन्दोलनमा ज्यान गुमाएका परिवारको तर्फबाट जाहेरी दर्ता गराएका थिए । गुरुङ समूहको दबाब बढेपछि सोमबार बेलुकी प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखसँग आपत्कालीन छलफल गरेकी थिइन् । छलफलमा सुरक्षा अधिकारीहरूले तत्काल जाहेरी दर्ता र पक्राउ प्रक्रियामा जान नहुने सुझाव दिएका थिए । गृहमन्त्री ओमप्रकाश अर्यालले जाहेरी दर्ता गरी पक्राउ प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेपछि सुरक्षा अधिकारीहरूले ‘यदि त्यसरी अघि बढियो भने भोलि काठमाडौंका मेयर बालेन शाहविरुद्ध पनि जाहेरी आउन सक्छ’ भन्ने तर्क प्रस्तुत गरेका थिए । ‘विगतमा बालेनले सिंहदरबार जलाउने अभिव्यक्ति दिएका थिए, त्यसैलाई आधार बनाएर जाहेरी आयो भने त्यसलाई पनि दर्ता गर्नुपर्ने स्थिति आउनसक्छ,’ एक अधिकारीले भनेका थिए ।  नेपाली सेनालेसमेत परिस्थितिलाई जटिल बताउँदै संयमतापूर्वक अघि बढ्न सुझाव दिएपछि जाहेरी आयोगमा पठाउने सहमति बनेको स्रोतले जनाएको छ । त्यसपछि प्रहरीले जाहेरी लिएर दर्ता नगरी आयोगमा बुझाएको हो । जेन–जी आन्दोलनमा राज्यपक्षको दमनबाट २१ जनाको मृत्यु भएको थियो । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको आन्दोलनमाथि भएको बलप्रयोगपछि २४ गते देशभर हिंसा भड्किएको थियो । दुई दिनमै ७५ जनाको मृत्यु र सिंहदरबार तथा संसद भवनमा आगजनी भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए । कार्की आयोगले भन्याे: फौजदारी कसुरमा कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन भदौ २३ र २४ का घटनाबारे छानबिनका लागि बनेको जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्न जो–कोहीमाथि सरकारका संयन्त्रहरूले तत्काल अनुसन्धान र कारबाही गर्न सक्ने स्पष्ट गरेको छ । आयोगका सदस्य विज्ञानराज शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, “फौजदारी कसुरमा संलग्न व्यक्तिमाथि कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने अवस्था छ ।” आयोगले भौतिक र मानवीय क्षतिसम्बन्धी सूचना संकलन, विश्लेषण र कारबाहीका सिफारिस गर्न कार्यादेश प्राप्त गरेकाले प्रतिवेदन आउनुअघि पनि सरकारले आवश्यक कदम चाल्न सक्ने जनाएको छ ।

दशैँ पर्वसँगै सकिएसँगै मुस्ताङका किसान फापर थन्क्याउन व्यस्त

मुस्ताङ । मुस्ताङका किसान दशैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन् । रैथाने बाली फापर यहाँको लोकप्रिय खाद्य बालीको रुपमा लिइन्छ । घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यवसायिक प्रयोजन तथा विदेशमा बस्ने आफ्ना आफन्तजनलाई कोसेलीको रुपमा पठाउने उद्देश्यले यहाँका किसानले फापर खेती गर्दै आइरहेका छन् । खेतबारीमा फापर छरेको औसत एक सय दिनमा फापर खेती भित्र्याउन योग्य हुने घरपझोङ–५ ठिनीका किसान प्रमिला गुरुङ थकालीले बताइन्। फापर काटेर डाठसँगै लगातार तीन दिनसम्म खेतबारीमा सुकाएपछि लौरीको सहायताले फापर चुटेर केस्रा निकाल्ने प्रचलन रहेको उनले जानकारी दिइन् । फापरको डाँठ परालका रूपमा पशुचौपायालाई खुवाउन र घाँस नपाइने बेला पशुलाई खुवाउन सुकुटी पारेर राखिने गरिएको किसान थकालीको भनाइ छ ।  जिल्लामा मिठे फापर र तिते फापरखेती हुने गरे पनि मुख्य रुपमा मिठे फापरबाली बढी मात्रामा लगाउने गरिएको जनाइएको छ । पछिल्लो समय कतिपय किसानले नयाँ प्रविधिको प्रयोग गरेर फापरको केस्रा सङ्कलन गर्न थालेका उनको भनाइ छ ।  जिल्लाको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्रमा स्थानीयले परम्परागत रुपमा रैथाने फापर खेती अपनाउँदै आइरहेका छन् । यहाँ उत्पादन हुने उवा, जौ, मकै, आलु, बोडी, सिमीलगायत फापरखेती यहाँको मुख्य ‘ब्राण्ड’ बनेको छ ।   समुन्द्री सतहको एक हजार नौ सय ८४ मिटरदेखि तीन हजार नौ सय सय मिटरको अग्लो उचाइको खेतीयोग्य जमिनमा फापरखेती गरिन्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा फापर खेती गरिने भएपनि मुस्ताङको चिसो हावापानीमा उत्पादन हुने रैथाने बाली फापरको परिकार स्वादिलो र पोसिलो हुन्छ । फापर बालीअन्तर्गत मिठे फापरको खेती तलो जिल्लामा असार र साउन महिनाको पहिलो हप्ता खेतबारी छरेर असोजको पहिलो र दोस्रो हप्तामा घरमा भित्र्याईन्छ । तीते फापर साउन र भदौ महिनामा छरेर कात्तिकको पहिलो हप्तादेखि घरमा भित्र्याउने गरिन्छ । सामान्यतया रैथाने बाली उवा र जौ पाक्न नौ महिना लाग्ने भए पनि फापर बाली तीन महिनामा पाक्ने किसानले प्रमिलाले जनाइन् । उपल्लो मुस्ताङमा मिठे फापर वैशाखको पहिलो र दोस्रो हप्तामा छरेर  कात्तिकको पहिलो हप्तादेखि फापर भित्र्याईन्छ । यहाँ तिते फापर वैशाखको पहिलो र दोस्रो हप्तामा खेतबारीमा छरेर कात्तिक महिनाको अन्त्यतिर बाली भित्र्याइने प्रचलन रहेको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण फापर बालीमा समेत विभिन्न प्रकोपहरु देखा पर्न थालेको घरपझोङ—५ ठिनीका किसान पाल्साङ गुरुङले बताए । यसवर्ष यहाँको फापर बालीमा खुम्ले कीराको प्रकोप देखापरेको उनको भनाई छ । गतवर्ष यहाँको फापर बालीमा तुषारोले असर पुर्याएको उनले बनाए । यहाँको रैथाने बाली स्याउ बगैँचाभित्र अन्तरबालीको रुपमा लगाएर दोहोरो आम्दानी लिने गरिएको किसान गुरुङले उल्लेख गरे । फापर बालीमा ढिडो, रोटीलगायत विभिन्न परिकार निर्माण गर्न सकिने भएकाले यहाँको फापर खेती सहर बजारको उपभोक्ताले अत्यधिक रुचाउने गरेको किसान उनको भनाइ छ ।  जलवायु सङ्कटका कारण परम्परागत रैथाने बाली अन्य बालीभन्दा कम झन्झटिलो भएकाले यसको व्यवस्थापनमा निकै सहज भएको उनले जानकारी दिए । सहर बजारका भान्साघरमा यहाँको फापरको ढिडो मुख्य भेराइटी भएकाले यसको माग बढी हुने गरेको उनले बताए । फापर बोटको औसत एक सय सेमीदेखि एक सय १० सेमीसम्म लम्बाइ हुने गर्छ । फापर बालीअन्तर्गत मिठे फापरको झुप्पामा हलुका गुलाबी रङ्गको फूलहरू फुल्दछ भने फापरको केस्रा हलुका र कालो रङ्गको हुन्छ । तिते फापरको सेतो रङ्गको फूलहरू फल्दछ । फापरको केस्रालाई स्थानीय पानी घट्ट र मिलमा पिसेर पिठो तयार गरिन्छ । यहाँ एकमाथि फापरको मिठोको मूल्य एक हजार २०० सय रुपैयामा किनबेच भएको किसानहरु बताउँछन । विषेशगरी फापरको मीठो बढी मात्रामा ढिँडो र रोटी खानका लागि उपयोग गर्ने गरिन्छ । यहाँका किसानले फापरखेतीलाई व्यावसायिक रुपमा अपनाएको पाइँदैन । हिमाली क्षेत्रको महत्वपूर्ण पहिचान बोकेको कृषि उपज रैथाने फापर बालीलाई यहाँका किसानले व्यक्तिगत घरायसी प्रयोजनको रुपमा मात्रै अपनाएको पाइन्छ । घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले रैथाने खाद्य बाली प्रवर्द्धनका लागि स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिए । उनले फापर बाली मुस्ताङकै पहिचान भएकाले यसको संरक्षणमा स्थानीय सरकारको दायित्व रहने भएकाले सम्बन्धित किसानलाई बर्सेनि रैथाने बाली विविधीकरण तालिम, अनुदान र प्रोत्साहन लगायतका कार्यक्रम आयोजना गर्ने गरेको बताए ।  पोषणविद्का अनुसार फापरको परिकारबाट २४ भन्दा बढी प्रकारका पौष्टिक तत्व प्राप्त हुन्छ । फापरको परिकारबाट रगतको कोल्ड स्टोर घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने भनाइ छ । यसले मानिसको मोटोपना घटाउने र उक्त रक्तचापका बिरामीलाई फापर मिठोको परिकार सेवन उपयोगी हुन्छ । विशेष गरी फापरमा मिनरल वाटर र भिटामिनको स्रोत प्रशस्त हुन्छ । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, चिल्लो पदार्थ र पानीको मात्रा प्राप्त हुने जनाइएको छ । 

इलाममा बाढीपहिरो: ज्यान गुमाउनेकाे संख्या ३९ पुग्याे

इलाम । गत असोज १८ गते इलाममा गएको पहिरो र बाढीमा परी ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । सन्दकपुर गाउँपालिका ५ का २४ वर्षीय प्रवेश गुरुङको शव फेला परेसँगै जिल्लामा पछिल्लो विपद्‍बाट मृत्यु हुनेको संख्या ३९ पुगेको हो । प्रवेश असोज १८ देखि बेपत्ता थिए । खोलाले बगाएको स्थानदेखि चार सय मिटर तल मंगलबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका एसपी एकनारायण कोइरालाले बताए । इलाममा असोज १८ गते मात्रै पहिरोले पुरिँदा ३७ जनाको ज्यान गएको थियो । त्यसपछि असोज २० गते इलाम १० का एक व्यक्तिको शव झापामा भेटिएको थियो । इलाम नगरपालका–६ का महेन्द्र लिम्बू अझै बेपत्ता रहेकाे प्रहरीकाे भनाइ छ । 

भोलि र पर्सि सडकमा जाने योजना छैन: जेनजी

काठमाडौँ । जेनजी आन्दोलनका केही प्रतिनिधिहरूले अक्टोबर ८ र ९ का लागि कुनै सडक कार्यक्रम तय नभएको स्पष्ट पारेका छन् । मंगलबार जेनजी आन्दोलनमा मृतक र घाइतेका तर्फबाट जाहेरी दर्ता गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका उनीहरूले परिसरमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । जेनजी अगुवा ओजस्वी थापाले भने, “अक्टोबर ८ र ९ मा सडकमा उत्रेर कुनै पनि आन्दोलन गर्ने हाम्रो योजना छैन । हामी देशमा रक्तपात चाहँदैनौँ ।” उनले घरमै रहेका राजनीतिक दलहरूलाई सरकारलाई कानुन कार्यान्वयन गर्न दिन आग्रह गरे । साथै, सरकारले कानूनको पालना सुनिश्चित गर्न प्रहरी प्रशासनसहितका निकायहरूलाई सघाउन पनि आग्रह गरे । अर्का जेनजी प्रतिनिधि जेम्स कार्कीले भने, “जेनजीले न्याय नपाएसम्म आन्दोलन रोकिँदैन । तर हाम्रो आन्दोलन शान्तिपूर्ण र अर्थपूर्ण हुनेछ ।”

सगरमाथा क्षेत्रमा हिमआँधी : २०० भन्दा बढी पदयात्री फसे, एक जनाको मृत्यु

तिब्बत । चीनको सबैभन्दा लोकप्रिय बिदा अवधिमा सगरमाथाको पूर्वी मोहडामा आएको भीषण हिमआँधीका कारण २०० भन्दा बढी पदयात्री हिउँमा फँस्दा उद्धारकार्य तीव्रगतिमा चलिरहेको छ । घटनामा कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । तिब्बत स्वशासित क्षेत्रका अधिकारीहरूका अनुसार करिब ३५० पदयात्रीलाई सगरमाथाको तिब्बती भागस्थित आधार शिविरबाट करिब ४८ किलोमिटर टाढाको कुडाङ सहरमा सुरक्षितरूपमा पुर्‍याइएको छ । शुक्रबार र शनिबार परेको भारी हिमपातपछि ४,९०० मिटरभन्दा माथिको क्षेत्रमा सयौँ पदयात्री फँसेका थिए । बाँकी २०० भन्दा बढी पदयात्रीको उद्धार सोमबारदेखि सुरु भई मङ्गलबारसम्म सकिने अपेक्षा गरिएको छ । उद्धारकर्मीहरूले बाक्लो हिउँ र न्यून दृश्यता बीच फँसेकाहरूलाई उद्धार गर्न प्रयासरत छन् । स्थानीय गाउँलेहरूले खिचेका भिडियोहरूमा घोडा र याकको सहायताले हिउँ पन्छाउँदै मानिसहरूको लामो पङ्क्ति अघि बढिरहेको देखिन्छ । यसैबीच, सगरमाथाबाट करिब ३१ किलोमिटर दक्षिणमा पर्ने नेपालको पूर्वी भागमा ‘मेरा पिक’ आरोहणका क्रममा एक ४६ वर्षीय दक्षिण कोरियाली नागरिकको मृत्यु भएको छ । नेपाल राष्ट्रिय माउन्टेन गाइड एसोसिएसनका अध्यक्ष तुलसी गुरुङका अनुसार अत्यधिक चिसोका कारण मृत्यु भएको हुन सक्ने अनुमान छ । अधिकारीहरूका अनुसार हिमआँधी आएको स्थान पर्यटक शिविर क्षेत्र हो, जुन आरोहीहरू प्रयोग गर्ने आधार शिविरभन्दा फरक ठाउँमा पर्दछ ।  

कालीमाटी टेकु दोभानमा एक महिलाको शव फेला

काठमाडौँ ।  कालीमाटी फलफूल बजार नजिक टेकु दोभान क्षेत्रमा आज बिहान एक  शव फेला परेको छ। खोला दोभानमा महिलाको शव फेला परेको हो । स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान  भइरहेको प्रहरीले बताएको छ । 

जेन-जि आन्दाेलनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

काठमाडौँ ।  जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झन्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए । त्यसमध्ये आज अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन् । गृह मन्त्रालयले यही असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो । ठुलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत सुरक्षाकर्मीले फरार कैदीलाई नियन्त्रणमा लिँदै सम्बन्धित कारागारमा बुझाइरहेका छन् । मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको थियो । प्रदर्शनको मौका पारेर झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कारागारबाट कैदीबन्दी भागेका थिए । यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधार गृहबाट नौ सय ६३ बालबन्दी भागेका थिए । सुरक्षा घेरा तोडेर भाग्ने क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागेर मृत्यु भएको थियो । यस्तै नौवस्ता बालसुधार गृहमा झडप हुँदा पाँच बालबन्दीको मृत्यु भएको थियो । कारागार कार्यालयहरुले फरार कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्की आउन सूचित गराउँदै आएका छन् । सरकारको सूचनालाई बेवास्ता गरी फरार कैदीबन्दीलाई प्रचलित कानुनबमोजिमको कारबाही गरिने विभागको भनाइ छ । कुल ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार छ सय ४६ कैदीबन्दी रहेका छन् । धनुषा, बारा, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पूर्वी रुकुममा कारागार छैनन् ।

आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने सोमबार राति नै मनाइएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान सुरु, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको समितिका सदस्य भट्टराईले जनाकारी दिए ।  वैदिक सनातन धर्ममा कार्तिक मासमा गरिने स्नान र दानको ठुलो महत्त्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ । कार्तिक मासमा गरिएको दान अक्षय हुने भएकाले देउसीभैलो खेल्नेलाई पनि दान दिने प्रचलन सुरु भएको हो ।

आजकाे माैसम: मनसुनी र स्थानीय वायुको प्रभाव जारी, कुन–कुन क्षेत्रमा वर्षाको सम्भावना ?

काठमाडौँ । सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव र बाँकी भागमा कमजोर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश भागमा आंशिक बदली रहनेछ । ती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागमा सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा र बाँकी तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

निर्वाचन आयोगद्वारा फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता कार्यक्रम मंसिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुने छ । प्रत्यक्ष निर्वाचन प्रणाली (पहिलो हुने निर्वाचित) का लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । समानुपातिक प्रणालीतर्फ भने मंसिर १५ गते कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । निर्वाचन प्रचारप्रसारका लागि फागुन ३ गतेदेखि १८ गतेसम्म समय निर्धारण गरिएको छ । सो अवधि पश्चात् प्रचारप्रसार निषेध लागू हुनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । दुवै प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ । आयोगका अनुसार, निर्वाचनमा राजनीतिक दल तथा सरोकारवालासँग समन्वय र सहकार्यका लागि समय–समयमा परामर्श तथा छलफल गरिनेछ ।  आयोगले दर्ता कायम रहेका राजनीतिक दलहरूले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै, आगामी निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने जनाएको छ ।

छ महिनामा विपद्का घटनाबाट ३०८ जनाकाे मृत्यु

काठमाडौं । गएकाे शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । १९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।  पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो ।   छ महिनामा विपद्का घटनाबाट ३०८ जनाकाे मृत्यु गएकाे छ महिनामा मात्र देशभर विपद्का घट्नाबाट ३०८ जनाकाे मृत्यु भएकाे छ । राष्ट्रिय विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएकाे २०८२ वैशाख १ गतेदेखि असाेज २० गतेसम्म ४ हजार १६४ विपद्का घटना घटेका छन् ।  जसमा ३०८ जनाकाे मृत्यु भएकाे छ भने, ३३ जना बेपत्ता भएका छन् । १ हजार ११३ विपद्का घटना घट्दा ८ हजार ५९५ घरपरिवार प्रभावित भएका छन् ।  विपद्का घटनामा बाढी, पहिराे, भारि वर्षा, चट्याङ, सर्पदंश, आगलागी, हावाहुरी, जनावर आक्रमण, लेक लाग्नु, ढुंङ्गा पल्टिनु र महामारी रहेका छन् । 

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्न जेन–जी अगुवाहरूको दबाब अभियान सुरु

काठमाडौं । २०८२ साल भदौ २३ गतेको भ्रष्टाचारविरोधी आन्दोलनमा भएको दमनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै जेन–जी आन्दोलनका अगुवाहरूले दबाब अभियान सुरु गरेका छन् । सामाजिक सञ्जालमार्फत सुरु गरिएको उक्त अभियानमा ‘द काउन्सिल अफ जेन–जी’ नामक समूहले नेतृत्व गरेको छ । उनीहरूले #ArrestKPOli र #ArrestRameshLekhak ह्यासट्यागसहित ट्रेन्ड सुरु गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङ लगायत जेन–जी अगुवाहरूले पनि सामाजिक सञ्जालमार्फत ओली र लेखकमाथि कारबाहीका लागि दबाब दिइरहेका छन् । सो घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले दुवै जनालाई बयानका लागि बोलाउने तयारी गरेको जनाएको छ । यसअघि आयोगले उनीहरूको राहदानी (पासपोर्ट) रोक्का गरेको र उपत्यकाबाहिर जानुअघि अनुमति लिनुपर्ने निर्णय गरेको थियो । जेन–जी अगुवाहरू र पीडित परिवारले आयोगलाई ओली र लेखकलाई पक्राउ गरेरै बयान लिनु पर्ने माग गर्दै आएका छन् । भ्रष्टाचारविरोधी आन्दोलनमा प्रहरीले गोली चलाउँदा ७६ जनाले ज्यान गुमाएका थिए । भदौ २३ र २४ गते भएको ती घटनापछि तत्कालीन ओली सरकार अपदस्थ भएको थियो ।