भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र श्रीलंकाली राजदूतबीच भेटवार्ता

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, विकासमा भरतपुर र श्रीलंकाबीच गर्न सकिने सहकार्यबारे छलफल भएको थियो ।

महानगरपालिका प्रमुख रेनु दाहालले मित्र राष्ट्र श्रीलंका र नेपालबीच लामो समयदेखि कुटनीतिक सम्बन्ध कायम रहेको उल्लेख गरिन् । प्रमुख दाहालले दक्षिण एसियाली सहयोग संगठन सार्कको दुई सदस्य राष्ट्र रहेको स्मरण गरिन । भरतपुरले थालेको भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन श्रीलंकाको रचनात्मक सुझाव र सहयोगको अपेक्षा पनि गरिन।

भेटवार्तामा नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाले भरतपुर र श्रीलंककाको कोलोम्बु सहरबीच भगिनी सम्बन्ध स्थापनाका लागि सकारात्मक रहेको र यसका लागि पहल थाल्ने बताए । राजदूत पाथिरानाले भरतपुर र श्रीलंकाले शिक्षा, स्वास्थ्यलगायतका विषयमा दुई देशबीच सहकार्य गरी अगाडि बढ्न सकिने उल्लेख गरे ।

भरतपुरमा निर्माणधीन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा आवश्यक प्राविधि सहयोगका लागि श्रीलंका इच्छुक रहेको राजदूत पाथिरानाले बताए । राजदूत पाथिराना सोमबार नै रंगशालाको अवलोकन गरे । रंगशाला निर्माणका लागि राजदूत पाथिरानाले अलि बढी चासो देखाए ।भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन श्रीलंकाबाट पर्यटकलाई भरतपुर पठाउन सक्दो सहयोग गर्ने पनि बताए।

कार्यक्रममा श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्र, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, उपसचिव उपेन्द्र पौडेल, उपनिर्देशक जगन्नाथ अर्यालको उपस्थिति रहेको थियो ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि मंगलबार दरखास्त आह्वान गरेको हो। प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय कानुन, कूटनीति वा आर्थिक कूटनीतिक क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको, नेपालको परराष्ट्र नीति तथा मामिलामा विशेष योगदान दिएको र उच्च व्यवस्थापकीय पदमा कम्तीमा ५ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने समितिले जनाएको छ।

बालकुमारी घटना : मृतकका परिवारले शव बुझ्नेसहित भयो चारबुँदे सहमति(सहमतिसहित)

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको घटनामा मृतकका परिवारले शव बुझ्ने भएका छन् । प्रदर्शनमा मारिएका परिवार तथा आफन्त र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज गृह मन्त्रालयमा भेटघाट गरी शव बुझ्ने सहमति भएको हो । आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमति भएको छ । अछामका वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमतिमा हस्ताक्षर गरेका छन् । गत शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवकको मृत्यु भएको थियो । यस्तो छ चारबुँदे सहमति १.मृतकका परिवारलाई, परिवारका सदस्यहरूसँगको सल्लाहमा ११ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने । २।सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने ३.मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने ४.मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने ।

बालकुमारी प्रदर्शनमा मारिएकाका आफन्त र गृहमन्त्रीबीच भेटघाट, लिखित सहमति

काठमाडौं। बालकुमारी प्रदर्शनमा मारिएकाका परिवार तथा आफन्त र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज गृह मन्त्रालयमा भेटघाट भएको छ। आजैको मन्त्रीपरिषद बैठकले घटना छानबिनका लागि उच्चस्तरीय समिति बनाएको र गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिको बैठकमा उच्चस्तरीय समितिको सुझाव तथा प्रतिवेदनबमोजिम दोषीलाई कार्वाही गरिने प्रतिबद्धता जाहेर गरेको परिस्थितिबीच उक्त भेटघाट भएको हो। मृतकहरूको गृह जिल्ला दैलेख र अछामका तथा आसपास जिल्लाका सांसद एवम् जनप्रतिनिधिसहित गृहमन्त्रालय आएका आफन्तलाई गृहमन्त्री श्रेष्ठले न्याय दिलाएरै छाडिनेमा आश्वस्त बनाए। त्यससँगै मृतकका परिवार र गृह मन्त्रालयबीच आज चारबुँदे लिखित सहमति समेत भएको छ। मृतकका परिवारका तर्फबाट अछामका विरेन्द्र शाहका बुवा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद दिक्पालकुमार शाही र अमरबहादुर थापा तथा अर्की सांसद दीपकुमारी शर्मा रोहबर बसेका हुन्। चारबुँदे सहमति यस्तो छ: १) मृतकका परिवारलाई, परिवारका सदस्यहरूसँगको सल्लाहमा ११ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने। २) सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने। ३) मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने। ४) मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुन्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने।

प्रहरीले नियन्त्रणमा परेका सांसद र मन्त्री गृहमन्त्रीले छुटाए

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ जनमत पार्टीका नेता कार्यकर्ता छुटाउन प्रहरी कार्यालय पुगेका छन्। गृहमन्त्री श्रेष्ठ महेन्द्र पुलिस क्लब पुगेर सोमबार नियन्त्रणमा परेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित नेता कार्यकर्ता छुटाएका हुन्। सोमबार विहान ‘धोती दिवस’ मनाउन भन्दै निषेधित क्षेत्रमा जम्मा भएका सो पार्टीका अध्यक्ष सिके राउत र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवि सहित ५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई प्रहरीले महेन्द्र पुलिस क्लबमा लगेको थियो छुटाउन गृहमन्त्री श्रेष्ठ स्वंम उपस्थित भएका थिए ।

श्रम र यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले श्रममन्त्री शरतसिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकका निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले पुस १३ गते शुक्रबार इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जना नागरिकको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताए । समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री त्था मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले घटना सम्बन्धित साना कर्मचारीमात्र निलम्बन पर्ने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरुको मनोबल नगिर्ने गरी समस्याको समाधान गर्न न्यायोचित समाधान गर्न प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई र गृह मन्त्रालयलाई निर्देशन दिने र उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायातमन्त्रीको भूमिकाको बारेमा शुद्ध छानबिन गर्न निर्देशन दिने र यस प्रकारका घटना अब आइन्दा नहोस् भनि सबै पक्ष सजग रहन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । सभापति खतिवडाले सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन पर्याप्त उपलब्ध गराउन पनि निर्देशन दिए ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा कुँवर

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को अध्यक्षमा योगेन्द्रकुमार कुँवर चयन भएका छन् । जेटियुसीसीको यही पुस १४ र १५ गते काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनले नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्षसमेत रहेका कुँवरलाई एक वर्षका लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो । यस्तै, महासचिवमा लालकुमार लामा र महिला संयोजकमा विष्णु थापामगरलाई चयन गरेको हो । जेटियुसीसीमा हाल नेपालमा मान्यता प्राप्त दश वटा ट्रेड युनियन महासङ्घ आबद्ध छन् । हरेक एक÷एक वर्षमा हुने जेटियुसीसीको अध्यक्षमा भने प्रत्येक वर्ष छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्दै आएका छन् । रासस

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पोखरा पर्यटन परिषद्लाई पर्यटन बोर्डको सम्मान

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा पर्यटन परिषदलाई सम्मान गरेको छ । बोर्डको वार्षिकोत्सवको अवसरमा पोखराका दुईवटा संस्थालाई सम्मान गरिएको हो । परिषद सँगै माउण्ट कैलाश रिसोर्ट पनि सम्मानित भएको छ । उनीहरुले पोखराको पर्यटन विकासमा पुर्‍याएको योगदानलाई सम्मान गरिएको बोर्डले जनाएको छ । पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ र रिसोर्टका सञ्चालक नरेश भट्टराईलाई सम्मान गरे । पर्यटन परिषदले पर्यटन बोर्डको प्रबद्र्धनात्मक कार्यमा सहयोग, सहकार्य र साझेदारी गरेको थियो भने रिसोर्टले पर्यटकलाई स्तरीय सेवा प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ ।

आज आठौँ राष्ट्रिय टोपी दिवस

काठमाडौं । आज आठौँ राष्ट्रिय टोपी दिवस मनाइँदैछ । अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन यो दिवस मनाउने गरिन्छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवसको रुपमा मनाउन थालिएको हो । यस दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ। नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ। विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ। तर नेपालका विभिन्न समुदायले आआफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।

अवैध सुनबाट सरकारले पाँच वर्षमा करिब दुई अर्ब रुपैयाँ राजस्व संकलन

काठमाडौं । बितेको पाँच वर्षमा बरामद गरिएको अवैध सुनबाट सरकारले करिब दुई अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति प्रतिवेदनमा उक्त तथ्य उल्लेख छ । “अवैध सुनचाँदी बरामदतर्फको राजस्व संकलनतर्फ आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा सुनतर्फ करिब ८२ प्रतिशत र चाँदीतर्फ ३० प्रतिशतले कमी आएको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनानुसार, आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० को अवधिमा बरामद गरिएको अवैध सुनबाट एक अर्ब ९२ करोड १९ लाख ९५ हजार ९७२ रुपैयाँ राजस्व संकलन भएको छ । उक्त अवधिमा १८५.०१ केजी अवैध सुन बरामद गरिएको थियो । नेपाल प्रहरीले आर्थिक वर्ष २०७५र७६ मा ६०।९१ केजी, २०७६/७७ मा ३४.३६, २०७७/७८ मा ३७.७२, २०७८/७९ मा ३१.३७ र २०७९/८० मा २०.६५ केजी अवैध सुन बरामद गरेको थियो । गृहको प्रतिवेदनानुसार, आर्थिक वर्ष २०७५/७६ मा अवैध रूपमा बरामद सुनबाट ३० करोड १७ लाख ५७ हजार ३२७ रुपैयाँ राजस्व संकलन गरिएको थियो । यो रकम आर्थिक वर्ष २०७६र७७ मा २० करोड ३० लाख ५१ हजार १३२ रुपैयाँ थियो । आर्थिक वर्ष २०७७/७८ मा बरामद गरिएको अवैध सुनबाट सरकारले २७ करोड चार लाख २५ हजार २८१ रुपैयाँ राजस्व उठाएको थियो । आर्थिक वर्ष २०७८/७९ मा अवैध सुनबाट ९७ करोड ४७ लाख ३९ हजार ९८९ रुपैयाँ राजस्व संकलन गरिएको थियो । गत आर्थिक वर्ष २०७९र८० मा बरामद गरिएको अवैध सुनबाट सरकारले १७ करोड २० लाख २२ हजार २४३ रुपैयाँ राजस्व उठाएको थियो । गृहको प्रतिवेदनानुसार, पछिल्लो पाँच वर्षमा बरामद गरिएको अवैध सुनबाट सबैभन्दा बढी राजस्व आर्थिक वर्ष २०७८/७९ मा र सबैभन्दा कम २०७९र८० मा संकलन गरिएको देखिन्छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) प्रहरीले ९३.६ केजी अवैध सुन बरामद गरिसकेको छ । सुनको परिमाणले चालु आर्थिक वर्षमा तुलनात्मक रूपमा बढी राजस्व संकलन हुने देखिन्छ । अवैध सुनको कारोबारमा संलग्न रहेको आरोपमा बितेको पाँच आर्थिक वर्षमा ३७७ व्यक्तिलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अवैध सुनसहित ९४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

टाट पल्टिएको साउदीको कम्पनीले ५७१ नेपाली श्रमिकलाई बोलायो तलब लिन (सूचनासहित)

काठमाडौं । साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकलाई बाँकी तलब र सुविधा लिन बोलाएको छ। मोहमद अल मोजिल ग्रुप कम्पनी टाट पल्टिएर श्रमिकको पारिश्रमिक समेत दिन नसक्ने अवस्थामा पुगेको थियो। यसअघि टाट पल्टिएपछि पारिश्रमिक लगायत सुविधा नदिई कम्पनीले कर्मचारी बिदा गरेको थियो। ५ सय ७१ जना नेपाली श्रमिकले सो कम्पनीबाट तलब सुविधा लिन बाँकी छ। तर कम्पनीबाट पाउनु पर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली श्रमिकको सूची सार्वजनिक गर्दै सो कम्पनीले उनीहरुलाई बोलाएको हो। कम्पनीले नेपाली कामदारहरुसँग सम्पर्क गराई कम्पनीबाट पाउनु पर्ने सुविधा भुक्तानीमा सहजीकरण गरिदिन रियादस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरेको छ। दूतावासले सूचना जारी गर्दै उक्त कम्पनीबाट सुविधा लिन बाँकी नेपालीलाई आवश्यक विवरण भर्न सूचना जारी गरेको छ।

नागरिक उड्डयन प्राधिकरणको नाफा साढे तीन अर्ब

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको छ । आइतवार नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफामा ३ अर्ब ४९ करोड १५ लाख रहेको बताएका छन् । महानिर्देशक अधिकारीले प्राधिकरणको आय एड्ओटिकलतर्फ ११ अर्ब ७२ करोड १७ लाख तथा नन्एड्ओटीकलतर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड ३ लाख आम्दानी भएको बताए । उनले पुँजीगत खर्च तर्फ ७ अर्ब ४४ करोड ३८ लाख,कार्यसञ्चालन खर्चतर्फ ४ अर्ब २२ करोड ९९ लाख ,आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च भएको उल्लेख गरे । उनले प्राधिकरण स्थापनाको पछिल्लो २५ वर्षमा हवाई उडान १९२ प्रतिशतले वृद्धि भएको बताइन् । प्राधिकरणका महानिर्देशक अधिकारीले हवाई उडानमा यात्राहरुको संख्या पनि ३६४ प्रतिशत र कार्गो पनि १०० प्रतिशतले वृद्धि भएको बताइन्। उनले प्राधिकरणको आर्थिक वर्ष २०५६÷५७ को आम्दानी ९१ करोड ८४ लाख रहेकोमा आर्थिक वर्ष २०७९÷८०मा आइपुग्दा १३ अर्ब ५१ करोड पुगेर १५ गुणाले वृद्धि भएको बताए । उनले सन् २०२३ को अन्त्यमा आइपुग्दा ३ अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको संख्या ५५ पुगेको बताए । उनले कोरोनाका कारण आर्थिक रुपमा धराशायी हुन पुगेको उड्डयन क्षेत्र २०२२ मा सुधारोन्मुख हुँदै चालु अवस्थामा पुरानै अवस्थामा फर्किएको उल्लेख गरे । महानिर्देशक अधिकारीले सन् २०२३ डिसेम्बरसम्म हवाई उडानमा यात्रुहरुको सख्या कोभिड पूर्वमा फर्किएको बताए । उनले सन् २०२२ को नाभेम्बरसम्ममा त्रिभुवन र भैरहवा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाइ यात्रा गर्ने हवाई यात्रुको संख्या २९ लाख ४५ हजार ५ सय ४० रहेकोमा सन् २०२३ नोम्बेम्बरसम्ममा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडानमार्फत यात्रा गर्ने यात्रुको संख्या ४१ लाख ५४ हजार ३९३ पुगेको बताए । महानिर्देशक अधिकारीले गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा ४१।०४ प्रतिशतले वृद्धि भएको तथ्याङ्क प्रस्तुत गरे। उनले आन्तरिक उडानतर्फ सन् २०२२ को नोबेम्बरसम्ममा कुल ५६ लाख ६८ हजार ९४१ हवाई यात्रुले यात्रा गरेकोमा सन् २०२३ नोभेम्बरसम्ममा ७७ लाख ९४ हजार २१७ पुगेर ३७.४८ प्रतिशतले वृद्धि भएको उल्लेख गरे ।

बालकुमारी घटनबारे राज्य व्यवस्था समितिले गृहमन्त्रीसँग जवाफ माग्ने

काठमाडौं । राज्य व्यवस्था तथा सुशान समितिले बालकुमारीमा दुई जना युवकहरुको ज्यान जाने गरी भएको घटनाबारे गृहमन्त्री, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग जवाफ माग्ने भएको छ । समितिका सभापति रामहरि खतिवडाले भोलि विहान साढे ८ बजे बैठकमा बोलाएर जवाफ माग्ने तयारी रहेको बताए । गत शुक्रबार भएको घटनामा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २०० रुपैयाँ घटेको छ । आज छापावाल सुन तोलाको एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन तोलाको एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कोइलाखानीको सुरूङमा मृत भेटिएका पुरूषको हत्या भएको पुष्टि, तीन जना पक्राउ

काठमाडौं । दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा मृत भेटिएका घोराही उपमहानगरपालिका – ६ अघरा ४५ शिवराज केसीको हत्या भएको पुष्ट भएको छ। घोराही – ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका केसी पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए । उनी शुक्रबार सुरूङमा मृत बंगलाचुली गाउँपालिका ४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा मृत भेटिएका थिए । केसीको छातीलगायत शरीरका अन्य भागमा चोटपटक देखिएको छ। घटनाको अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार केसीको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन्। स्रोतका अनुसार केसीको हत्या गरी कोइलाखानीको सुरूङ मार्गमा लुकाएर ति तीन व्यक्तिहरू भारत भागेका थिए। उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको हो। घटनामा संलग्न अर्का एक व्यक्ति फरार रहेको र उनको खोजी तीव्र पारिएको छ। प्रहरीले आजै घटनाबारे जानकारी गराउने र पक्राउ परेका व्यक्तिहरू सार्वजनिक गर्ने तयारी गरेको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार लेनदेनका कारण केसीको हत्या गरिएको खुलेको छ।