सेयर बजार १९६० अंकमा, दुई समूहका मात्रै सूचक बढे

काठमाडौं, २० फागुन । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १९६० अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ११.७८ अंक झरेको हो । दिनभरको उतारचढावका बीच बजार घटेको हो । 

आइतबार कुल २ अर्ब ८ करोडको कारोबार भएको छ । बिहीबार २ अर्ब ५९ करोडको कारोबार भएको थियो । कुल ६७ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो भने ८ को स्थिर रह्यो ।

दुई समूहका सूचक बढ्दा अरु सबै घटे । होटल तथा पर्यटन र उत्पादन समूह क्रमशः ०.५४ र ०.६६ प्रतिशत बढे । ब्यापार समूह भने सबैभन्दा धेरै २.५२ प्रतिशत घट्यो । बैंकिङ ६, विकास बैंक १७, फाइनान्स १३, हाइड्रोपावर २०, जीवन बीमा ९१, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ५६, अन्य १७ र ब्यापार समूह ७१ अंक घटे । होटल २७ र उत्पादन समूह ४४ अंक बढे ।

ग्लोबल आईएमई लघुवित्तको मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशत बढ्यो । सीवाईसी लघुवित्तको ७.८, बोटलर्स नेपाल बालाजुको ५.६, गणपति लघुवित्तको २.८२ प्रतिशत बढे । चिरख्वा हाइड्रोपावरको ७.४, बीपीडब्लू लघुवित्तको ६.७, बोटलर्स नेपाल तराईको ५.६ तथा माथिल्लो मैलुङखोलाको मूल्य ५.२ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बोटलर्स नेपाल तराई र जोशी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

आन्दोलनरत गुठीपीडित मोही किसानलाई वार्तामा आउन आह्वान, सरकारद्वारा समिति गठन

काठमाडौं। सरकारले दाङमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गरेको छ । वार्ता गर्न सरकारले एक समिति पनि गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक विज्ञप्ति जारी गरी आन्दोलनका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेको छ । स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिबाट विगत केही दिनदेखि दाङको घोराहीमा भइरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिका सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी, भूमिसुधार तथा मालपोत कार्यालय दाङका प्रमुख मालपोत अधिकृत, गुठी संस्थान र स्वर्गद्वारी आश्रमका एक एक जना प्रतिनिधि रहेका छन् ।  समितिले आन्दोलनरत पक्षसँग वार्ता गर्नुका साथै समस्याको वस्तुस्थिति, यस विषयसँग सम्बन्धित सर्वोच्च अदालतबाट विगतमा भएको आदेश, संघर्षरत पक्षको माग र अन्य सम्बद्ध पक्षसँगको छलफलको आधारमा विद्यमान समस्या समाधानका लागि कानुनसम्मत, व्यवहारिक र कार्यान्वयनयोग्य सुझाव प्रस्तुत गर्ने मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  दाङमा रहेको स्वर्गद्वारी आश्रमको जग्गाको भोगचलन गर्दै आएका किसानहरु केही दिनदेखि आन्दोलनमा छन् । दाङमा आन्दोलन सुरु भएलगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीलाई समस्या समाधानका लागि अनुरोध गरेकी थिइन् । उनले गत मन्त्रीपरिषदको बैठकमा पनि यो एजेन्डा उठाएकी थिइन् । लगातारको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष निर्देशनमा भूमिसुधार मन्त्रालयले वार्ता समिति गठन गरेको र अब आन्दोलनरत पक्ष वार्तामा आएर समस्या समाधानमा लाग्नुपर्ने मन्त्री शर्माले बताइन् । आन्दोलन सुरु भएलगत्तै आफूले निरन्तर आन्दोलन पक्षका आवाज सुनिरहेको जानकारी दिंदै उनले प्रधानमन्त्री र विभागीय मन्त्रीसँगको लगातारको छलफलपछि वार्ताको वातावरण बनेको र अब वार्ताबाटै समस्या समाधान हुने विश्वास व्यक्त गरिन्।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै पारित छौं :  मन्त्री शर्मा

घोराही । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गर्ने बताएका छन् । आज घोराहीमा सहिदहरुको शालिक माल्यार्पन गर्दै मन्त्री शर्माले द्वन्द्वको समयमा भएका घटनाहरुलाई निक्र्योल गरी शान्ति प्रक्रिया टुङ्ग्याउन विधेयक संसदबाट पारित गरिने बताए । उनले क्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्र्दै न्याय प्रक्रियामा ढिलाइ भएकाले छिटोभन्दा छिटो यस विषयलाई टुङ्ग्याउने बताइन्।  अहिलेको सरकारको काम शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर सङ्क्रमणकालीन न्यायको काम पूरा भएपछि मात्रै शान्ति प्रक्रिया पूरा हुने र त्यसपछि सामाजिक, आर्थिक रुपान्तरणका काम गर्नैपर्ने बताइन् । यस्तै, लामो सङ्घर्ष, बलिदान र दृढ सङ्कल्पबाट प्राप्त भएको जनताको संविधानलाई बचाईराख्न आवश्यक रहेको बताइन् । अहिलेको प्राप्त उपलब्धि  माथिको सङ्कट हटाउन नसक्ने हो भने देशमा फेरि निरङ्कुशता लादिने सम्भावना बढ्ने पनि बताइन्।  उनले घोराही ६ र ७ नम्बर वडाका मृतक सहिद कृष्णी चौधरी (आस्था), अर्जुन चौधरी (क्षितिज) , निराजन चौधरी (सन्केत) शालिकराम चौधरी (सुवर्ण), हिमली चौधरी (दीक्षा), सितल चौधरी (सितल), गोवर्धन कोरि, लक्ष्मण उपाध्याय (राजन) , वसन्त सुवेदी (कुमार)को शालिक माल्यार्पन गरेसँगै जिल्लामा रहेका सहिद परिवारसँग भेटघाट भेटघाट पनि गरेकी थिइन्।

सुनको भाउ एकैदिन २ हजार बढ्यो

काठमाडौं, २० फागुन । आइतबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार एकै दिन १ लाख २१ हजार पुगेको हो । अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा प्रभाव परेको महासंघले बताएको छ । शनिबार सार्वजनिक विदा भएकाले त्यस दिन सुनको मूल्य समायोजन गरिँदैन । विगत केही दिनदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हङकङमा हुने ट्वान्टी–२० शृंखलाका लागि नेपाली टिमको घोषणा, नयाँलाई अवसर

काठमाडौं । क्यानले हङकङमा हुने ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।  नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेका छन् । नेपाली टिममा आकाश चन्द र लोकेश बमलाई अवसर  दिइएको छ भने अनिल साह, आसिफ सेख, कुशल मल्ल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीलाई विश्राम दिइएको छ । नेपालले मार्च दोस्रो सातादेखि सुरु हुने ट्वान्टी–२० शृंखलाका लागि हङकङको भ्रमण गर्दैछ । मार्च ९ देखि १३ सम्म हुने शृंखलामा नेपाल र हङकङसँगै पपुवा न्युगिनी (पीएनजी) को सहभागिता रहने छ ।  यस्तो नेपाली टिम  रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अभिनाश बोहरा

नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै, दर्शकलाई क्यानको फ्रि व्यवस्था

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । आज बिहान साढे ११ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । आजको खेलका लागि क्यानले फ्रि टिकटको व्यवस्था गरेको छ । दर्शकहरुले नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा मैदानमा बिना टिकट फ्रि मै हेर्न पाउँनेछन् । नेदरल्यान्ड्स तीन खेलमा एकमा हार र दुईमा जितसहित चार अंकका साथ पहिलो स्थानमा छ भने नामिबिया समान तीन खेलमा एकमा जित र दुईमा हारसहित दुई अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ । नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित चार अंकका साथ दोस्रो स्थानमा छ ।

संसदका ६ समितिको बैठक बस्दै

काठमाडौं । आज संसदका ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । सो बैठकमा भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका समस्या सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै, बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समितिको कामकारबाहीको समिक्षा हुनेछ । बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महशुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७९/३/६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा थप छलफल हुनेछ । त्यसैगरी, बिहान साढे ११ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ । दिउँसो ४ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ६ वर्ष कार्यकाल पूरा गरी जाने सदस्यहरूको बिदाइ गर्ने कार्यक्रम रहेको छ ।

शालीनको मृत्युबारे गम्भीर छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शालीन पोखरेलको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्न निर्देशन दिएका छन्। चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलको कोठामा मृत भेटिएकी शालिनको हत्या कि आत्माहत्या भन्ने विषयमा छानबिन चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन्। साथै प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध रहेको समेत उल्लेख गरेका छन्। प्रचण्डले सामाजिक सञ्जालमा लेखका छन्, ‘होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्युले मलाई गम्भीर र दुखी तुल्याएको छ। घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु। घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छ।’

आजको मौसम :  हल्का वर्षा र हिमपातको सम्भावना

  काठमाडौं । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही  बागमती, कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा र मधेश प्रदेश सहित बाँकी तराईका थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। राती भने देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षाका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कारागारमा विपश्यना ध्यान शिविरको समापन

काठमाडौं। कारागार कार्यालय, नक्खुमा १२ दिन अघि सुरु भएको विपश्यना ध्यान शिविर आज समापन भएको छ।समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत उपस्थित रहेका थिए । शिविरमा ४३ जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी सहभागी थिए । सहभागीलाई आचार्य ज्ञानदर्शन उदास लगायतले ध्यान सिकाए ।  कारागार कार्यालय, नक्खुमा निर्मित विपश्यना केन्द्र ुधम्मासयुको उद्घाटनसँगै शिविर सुरु भएको हो। नेपाल विपश्यना केन्द्रको सहयोगमा सो केन्द्रको निर्माण भएको हो। शिविरको समापन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सामाजिक न्याय, सुशासन र समृद्धिको सरकारको अभियानमा जेल सुधार पनि एक महत्वपूर्ण पक्ष भएकोले कैदीबन्दीको अधिकार एवम् रुपान्तरणलाई सरकारले ध्यान दिएको बताए। ध्यानले आफ्नै रुपान्तरण गर्ने भएकोले  १२ दिनसम्म सिकेको यस बिधिलाई दैनिक र जीवनभर प्रयोगमा ल्याएर उदाहरणीय बन्न उनले कैदीबन्दीहरूलाई आग्रह गरे। सहभागीमध्येले शिविर अवधिका अनुभव सुनाउँदै ध्यानले सकारात्मक सोच्न र सच्चिन धेरै मद्दत गर्नसक्ने बताए।

हत्या अभियोगमा दम्पत्ती पक्राउ

नुवाकोट, १९ फागुन । नुवाकोटको किस्पाङ गाउँपालिका बस्ने रसुवा उत्तरगया गाउँपालिका ३ डाँडागाउँ घर भएका ७१ वर्षीय भुन्टे भन्ने टेकप्रसाद भट्टको हत्या गरेको आरोपमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रसुवाको कालिका गाउँपालिका २ धैबुङका ४१ वर्षीय अनिल भुषाल र उनकै श्रीमती ३१ वर्षीया दिपा भट्ट भुषाल रहेका छन्। किस्पाङ गाउँपालिका ५ खत्रीकुना जंगलमा टेकप्रसाद भट्ट मंगलबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानमा घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका अनुसार भुषाल दम्पत्ती काठमाडौं महानगरपालिका १६ बालाजु, बाइपासमा भएकाले उनीहरूलाई त्यहिँबाट पक्राउ गरेर नुवाकोट ल्याइएको हो। उनीहरूले विगतको रिसईवीको कारणले भट्टलाई किस्पाङ गाउँपालिकाको खत्रिकुना जंगलमा लगेर दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरू माथि जिल्ला अदालत नुवाकोटबाट सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

दुग्ध किसान र सरकारबीच आज वार्ता

काठमाडौं । दुधको मूल्य पाउनुपर्ने माग राख्दै आन्दोलनरत दुग्ध किसान र  सरकारबचि वार्ता हुने भएको छ । वार्ता कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा शनिबार (आज) दिउँसो १ बजे हुने छ ।  दुध किसानको प्रतिनिधिमूलक संस्था राष्ट्रिय दुग्ध सहकारी संघ र कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच वार्ता हुन लागेको हो ।  संघ अध्यक्ष अमर कुँवरले मन्त्रालयमार्फत दिउँसोलाई वार्तामा बोलाइएको बताउँदै संघका पदाधिकारी र विभिन्न जिल्लाका किसान प्रतिनिधि सहभागी हुने बताए ।कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले किसानसँग शनिबार १ बजे वार्ताको तयारी मन्त्रालयका तर्फबाट गरिरहेको जानकारी दिए ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा पशुपक्षी विकास मन्त्रालय र डिडिसीका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालय बोलाएर दुधको मूल्य तत्काल भुक्तानी गर्न निर्देशन दिए पनि देशभरका दुग्ध किसानहरुले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र निजी उद्योगलाई दुध बिक्री गरेको ६ अर्ब रुपैयाँभन्दा बढी रकम पाउन नसकेको भन्दै १४ फागुनदेखि गरेको आन्दोलन जारी राखिरहेका थिए ।

पञ्चकोट जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शनिबार बागलुङको पञ्चकोट जाने भएका छन् । सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको एघारौं दिन पञ्चकोटको अवलोकन तथा महायज्ञलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड पञ्चकोट जान लागेका हुन् । पञ्चकोटमा मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले प्रधानमन्त्रीलाई स्वागत गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले कुटीमा विशेष भेटघाट, गण्डकीमाताको मन्दिर, हनुमानबाटीकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमानको मुर्ति र यज्ञमण्डपको अवलोकनसहित महायज्ञलाई सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । पञ्चकोटधाम स्थापनाको १० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञमार्फत जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । प्रधानमन्त्री आउने खबरले आफुहरुलाई उत्सिाहित बनाएको बताउँदै प्रधानमन्त्रीको अवलोक भ्रमणले आफ्नो क्षेत्रको महत्व र पर्यटन बढ्ने विश्वास आयोजकले व्यक्त गरे । पञ्चकोटमा विश्व शान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मूख्य धार्मिक गन्तब्यका रुपमा विकास गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । फागुन ९ गतेदेखि सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ ।  विभिन्न समयमा सञ्चालन भएका महायज्ञ, सरकारी निकाय र भक्तजनको सहयोगबाट हालसम्म पञ्चकोटमा ५० करोड रुपियाँ बराबरको लगानीमा धार्मिक संरचनाहरु निर्माण भएका छन् । पञ्चकोटमा निर्माणाधीन धार्मिक संरचना पूरा गर्न करिब चार अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । यसपटकको ब्रह्माण्डीय महायज्ञबाट संकलन भएको रकमबाट निर्माणाधीन विश्व शान्ति गण्डकी कलशलाई पूर्णता दिने आयोजकले जनाएको छ । सो कलश निर्माण गर्न झण्डै एक अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

टी–२० सिरिज  : आज नेपाल र नेदरल्याण्ड्स खेल्ने, फाइनलमा पुग्न नेपालले जित्नैपर्ने

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार नामिबियालाई ३ रनले पराजित गरेको थियो । त्यस्तै यस अघि सम्पन्न खेलमा नेदरल्याण्ड्ससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो । यता, नेदरल्याण्ड्सले २ खेलमा एक जित हासिल गरेको छ । नेपालका लागि फाइनलमा पुग्न आजको खेलमा जित हासिल गर्न आवश्यक रहेको छ । नेपालको अन्तिम खेल भएकाले यस खेलमा पराजित भए सिरिजबाट बाहिरिने छ । नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ । आईसीसीको टी–२० वरियतामा यी तीन देश मध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया ११औँ स्थानमा रहँदा नेदरल्याण्ड्स १५औँ र नेपाल १६औँ स्थानमा रहेको छ । सिरिजमा भोलि नामिबिया र नेदरल्याण्ड्स खेल्नेछन् भने फाइनल खेल फागुन २२ गतेलाई तय भएको छ  । यस्तो छ नेपाली टिममा  रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आजको मौसम : यी स्थानमा हुनेछ हल्कादेखि मध्यम वर्षा

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका केही भू–भागमा आज वर्षा हुनेछ । हिजोबाट पश्चिमी न्यूनचापीय प्रणाली पुनः सक्रिय भएको छ ।  यो समाचार तयार पार्दासम्म मौसमको अवस्था  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली,  बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज राती देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश सहित बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

चितवन र भरतपुर भ्रमण गर्न केपी ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरलाई रमाइलो जिन्दगी बिताउने ठाउँ भएको उल्लेख गर्दै  चितवन र भरतपुर भ्रमण गर्न  आह्वान गरेका छन् ।शुक्रबार भरतपुर महानगरपालिकाको भ्रमण वर्ष उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।  सम्बोधनका क्रममा अध्यक्ष ओलीले आफुले भरतपुर महानगर लगायत चितवनको एक वर्षभित्र व्यापक रुपमा भ्रमण गर्ने सोच बनाएको बताउँदै अरुलाई पनि चितवन भ्रमण गर्न आह्वान गरेका हुन् । ‘अरुलाई पनि म आह्वान गर्न चाहन्छु, भरतपूर आउनुस्, भरतपुरको आनन्द लिनुस्,’ । ‘यहाँ त रमाइलोसँग जीन्दगी बिताउने ठाउँ हो,’ ओलीले भने। उनले कार्यव्यस्तता हुँदाहुँदै पनि निम्तो अस्वीकार गर्न नसकेर भरतपुर पुगेको बताए।भरतपुरमा शुभकामना दिन पाउँदा आफुलाई खुसी लागेको उनले बताए। सम्बोधनको क्रममा अध्यक्ष ओलीले भरतपुर महानगर प्रमुख रेनु दाहालको सक्रियता र कामको खुलेर प्रशंसा गरेका थिए ।