गजुरी दुर्घटनामा हताहतको प्रभावकारी उद्धार र उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशुली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दुखी तुल्याएको बताएका छन् । 

प्रधानमन्त्रीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले सामाजिक सञ्जाल फेस्बुकमा एउटा स्टाटस लेख्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै उद्दार र उपचारको काम व्यवस्थित र प्रभावकारी तुल्याउन प्रशासन संयन्त्रलाई निर्देशिन समेत दिएका छन् ।

धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली नदीमा खस्दा उक्त हताहत भएको हो । 

घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २०  जनाको टोली खटिएको छ । 
 

मनाङमा हिमपहिरो : तल्लो र माथिल्लो मनाङ जोड्ने सडक अवरुद्ध

मनाङ। मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा हिमपहिरो गएको छ।आइतबार राति परेको हिमपातले सोमबार हिमपहिरो जाँदा तल्लो मनाङ र माथिल्लो मनाङ जाने सडक अवरुद्ध भएको छ । ठुलो हिमपहिरो गएकाले उपकरण अभावमा सोमबार हिमपहिरो पन्छाउन नसकिएको जिल्ला प्रशासन कार्यालयल मनाङले जनाएको छ । ७५ देखि १०० मिटरसम्म लामो हिमपहिरो पन्छाउने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ। हिमपहिरोले सडक अवरुद्ध भएपछि पर्यटक समस्यामा परेका छन् । 

सत्ता गठबन्धनको बैठक सुरु‚ टुंग्गिएला मन्त्रालयको भागबन्डा !

काठमाडौं । नयाँ गठबन्धन बनेपछि मन्त्रालय भागबन्डा गर्न दलहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलहरूको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड‚ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली‚ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव छन् । उनीहरूबाहेक दोस्रो तहका नेताहरू पनि बैठकमा सहभागी छन् ।

सत्ता गठबन्धनलाई बामदेवको समर्थन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले सोमबार निर्माण भएको नयाँ सत्ता गठबन्धनको समर्थन जनाएका छन्। उनले आज विज्ञप्ति प्रकाशन गरी अहिलेको नयाँ सत्ता गठबन्धनले सही राजनीतिक दिशा लिएको भन्दै समर्थन गरेका हुन् । सोमबार नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको नयाँ सत्ता समीकरण बनेको छ । नेता गौतमले २०७७ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्नु एउटा भूल थियो भन्ने कुरा नयाँ सत्ता समीकरणले पुष्टि गरेको पनि सो विज्ञप्तिमा उल्लेख गरे।  उनले यो सत्ता समीकरणबाट सत्तास्वाद लिन जे पनि गर्ने प्रवृत्तिको अन्त्य हुने र अब वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुसी भएर सामेल हुने अपेक्षा गरिएको पनि विज्ञप्तिमा जनाए। एमालेका पूर्वउपाध्यक्ष नेता गौतम नेकपा विभाजनपछि कुनै पार्टीमा संलग्न नरही बाम एकताको अभियानमा लागेका हुन् । उनी अहिले राष्ट्रियसभाका सदस्य रहेका छन् ।

नेप्से ७० अंकले घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ७०.३१ अंकले घटेको छ। नेप्से ३.३८ प्रतिशतले घटेर २००७.६९ को विन्दुमा झरेको छ।  यस दिन ३१६ धितोपत्रका एक करोड १४ लाख ७६ हजार ५९९ कित्ता सेयर चार अर्ब ११ करोड ३६ लाख ७६ हजार ७५८ रुपैयाँमा किनबेच भयो। १३ उपसमूहमध्ये म्युचुअल फन्डको समूहगत सूचक ०.६६ प्रतिशतले बढ्यो। १२ वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ८.७३ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

एमाले प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

काठमाडौं । नेकपा (एमाले)ले महेश बर्तौलालाई प्रमुख सचेतक बनाएको छ । सचेतक रहेका उनलाई प्रमुख सचेतकमा बढुवा गरिएको एमाले स्रोतले जानकारी गराएको छ । सचेतकमा सुनिता बराललाई चयन गरिएको छ । प्रमुख सचेतक यसअघि  पदम गिरी थिए । उनी नयाँ गठबन्धन सरकारमा मन्त्री बनेपछि बर्तौलालाई प्रमुख सचेतक बनाइएको हो । उनको बढुवा भएपछि रिक्त स्थानमा बराललाई सचेतकमा नियुक्त गरिएको स्रोतले जानकारी गरायो ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे माओवादीतर्फका मन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माअ‍ोवादी केन्द्र)का तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीहरू बर्खास्त गरेका छन्। उनले माओवादीतर्फका मन्त्रीहरूले जिम्मेवारी लिएका उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय आफ्नै मातहतमा राखेका छन्। मुख्यमन्त्री शाहले जिम्मेवारी हेरफेरको पत्र प्रदेश प्रमुखसमक्ष पठाइसकेका छन्। सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका तर्फबाट झपटबहादुर साउद सामाजिक विकास र रमेश सिंह धामी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र गीतादेवी माल उद्योग राज्यमन्त्री थिए। यी तीनैजनालाई बर्खास्त गरिएको हो।

कुशल मल्लले एकै ओभरमा लिए दुई विकेट, तोडे ८३ रनको साझेदारी

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई कुशल मल्लले एकै ओभरमा दुई विकेट लिएका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ‘डोडलाई कुशलले ८.१ ओभरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए ।  ओ‘डोडले डच टिमका लागि २२ रन बनाए । सोही ओभरको पाँचौँ बलमा विस्फोटक ब्याटिङ गरेका अर्का ओपनर माइकल लेभिटलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए । लेभिटले २९ बलमा ६ चौका र तीन छक्कासहित ५४ रन बनाए ।  लेभिट र ओ‘डोडले पहिलो विकेटका लागि ८.५ ओभरमा ८३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । जारी खेलको नौ ओभर समाप्त हुँदा नेदरल्यान्ड्सले दुई विकेट गुमाएर ८४ रन बनाएको छ ।  त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।

नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा घरेलु टोली नेपालले नेदरल्यान्ड्ससामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रनको योगफल खडा गर्‍यो । 

त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनल जारी : नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा नेपाल

काठमाडौं । नेपालले त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय गरेका छन् । उनले पाहुना टिमलाई फिल्डिङमा बोलाए । फाइनलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । यसअघिका दुई भेटमा नेपाल र नेदरल्यान्ड्सले समान एक जित निकालेका छन् । तालिकामा नेदरल्यान्ड्स शीर्ष, नेपाल दोस्रोमा रहँदै फाइनलमा स्थान बनाएका थिए । नामिबिया पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

बसको ठक्करबाट ९ वर्षका बालकको मृत्यु

चितवन । चितवनमा बसको ठक्करबाट जेब्रा क्रसिङमा हिँडिरहेका ९ वर्षीय बालकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका ७ माछापुच्छ्रे चोकमा ना ४ ख ५८१५ नम्बरको बसले जेब्रा क्रसिङमा हिडिँरहेका सोही ठाउँका बिक्रम पौडेलका ९ वर्षीय छोरा आरुषलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। घटनालगत्तै स्थानीय घटनास्थलमा जम्मा भएका थिए। उनीहरूलाई प्रहरीले सम्झाएर घर पठाएपछि बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनास्थल र छोराको शव देखेपछि बुवा बिक्रम बेहोस भएका छन। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ। शवलाई पोष्टमार्टमका लागि भरतपुरको सरकारी अस्पतालमा राखिएको छ भने बस र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छ। माडी नगरपालिका–८ बस्ने बस चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३ बजे बस्ने

काठमाडौँ ।नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।  काँग्रेससहितको गठबन्धन टुटेपछि त्यसबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।  बैठक सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  उनका अनुसार बैठकमा गठबन्धन भत्किनुका कारणसहित अन्य समसामयिक राजनीतिक विषयमा छलफल तथा समिक्षा हुने कांग्रेसले जनाएको छ । 

मन्त्रालयको भागबन्डा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । मन्त्रालयको भागभण्डा टुङ्गो लगाउन नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टीहरुले पाउने मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो । गठबन्धनमा एमालेबाट शंकर पोखरेल, माओवादी केन्द्रबाट वर्षमान पुन, रास्वपाबाट स्वर्णिम वाग्ले र जसपाबाट राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् । उनीहरुवीच सहमति हुन नसकेका विषयमा शीर्ष नेतृत्वले अन्तिम समझदारी गर्नेछन् । नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार शपथ लिएका मन्त्रीहरू एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डपी अर्याल अहिले बिनाविभागीय छन् ।  यसअघि सोमबार नेकपा एमालेका महासचिव शंकर पोरलेलले गठबन्धनमा अन्य दललाई पनि सहमतिमा ल्याउने प्रयास भएकाले मन्त्रालयको भागभण्डा टुङ्गीनसकेको बताएका थिए ।

नेदरल्यान्ड्ससँग भिड्दै नेपाल, १२ हजार टिकट खुला

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलाको उपाधिका लागि आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दै छ । तीन देश सहभागी शृंखलामा डच टिम लिग चरणबाट शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । यसअघि शृंखलाको लिग चरणमा यी दुई टिमबीच भएका दुई खेलमध्ये एक खेल नेपालले र अर्को खेल नेदरल्यान्ड्सले आफ्नो पोल्टमा पार्न सफल भएका थिए । लिग चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराएको थियो भने दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको जित हासिल गर्न सफल बन्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । फाइनलका लागि नेपाल क्रिकेट एसोसियसन (क्यान) ले १२ हजार टिकट खुला गरेको छ । यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।

आजको मौसम : मुख्यतया सफा रहने

काठमाडौं । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही  बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

साफ यू १६ फुटबलमा भुटानविरुद्व नेपालको जीत

काठमाडौं । १६ वर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा आयोजक नेपालले भुटानलाई ३–० ले पराजित गरेको छ । नेपालले पहिलो हाफमा नै ३ गोल गरेर सहज जीत निकालेको हो । नेपालका लागि १४ औं मिनेटमा पूजा गिरीले गोल गर्दै अग्रता दिलाइन् । उनले पेनाल्टी क्षेत्रबाट गरेको गोलले पोष्टको जाली चुमेको थियो । पहिलो गोलको ४ मिनेटपछि कप्तान भूमिका बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यस्तै खेलको ३१ औं मिनेटमा नेपालका लागि ग्यान्सु डोल्मा लोले फ्रि किकबाट गोल गर्न सफल भईन । डी बक्स बाहिर पाएको फ्रिकिक भुटानकी गोलरक्षक खेल्जाङ् वाङ्मोको हातको टुप्पामा लाग्दै गोल भएको थियो । खेलको ३८ औं मिनेटमा भुटानले पेनाल्टी मार्फत नेपाललाई गोल फर्काउने अवसर पाएपनि नेपालकी गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट बचाउ गरिन् । दोस्रो हाफमा दुवै टिमले मौका बनाए पनि गोल भने हुन सकेन । नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो भने भुटान पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियो । नेपालले अब बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । यस प्रतियोगितको फाइनल खेल शीर्ष २ टिमबीच फागुन २७ गते आइतबार हुनेछ ।