बर्दियामा खाद्यको गोदाम भरियो, नयाँ धान राख्ने ठाउँ अभाव
बर्दिया । बर्दियाको राजापुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य कम्पनी) को गोदाममा करिब २५ हजार क्विन्टल चामल थन्किएपछि नयाँ धान राख्ने ठाउँ अभाव भएको छ ।
धान खरिदको मुख्य सिजन सुरु भइसके पनि गोदाम क्षमता नपुग्दा खरिद प्रक्रियामै ढिलाइ हुन थालेको कम्पनीले जनाएको छ । राजापुर शाखाले गत वर्ष किसानबाट ठूलो मात्रामा धान खरिद गरी चामल उत्पादन गरे पनि वितरण सुस्त भएपछि स्टक कम हुन सकेको छैन । बजार माग स्थिर रहँदा स्टक झनै बढ्दै गएको शाखा प्रमुख कमलराज पाण्डेले बताए ।
धान बिक्रीका लागि किसान कम्पनी पुगे पनि ठाउँ अभावका कारण खरिद प्रक्रिया रोकिएको छ । किसानहरूले सरकारी संस्थामा बेच्ने मन भए पनि अव्यवस्थापनका कारण आफ्नो उत्पादन थन्किन थालेको गुनासो गरेका छन् ।
राजापुर शाखासँग सीमित भण्डारण क्षमता मात्र छ । गोदाम विस्तार र आधुनिकीकरणका प्रस्ताव धेरैपटक पठाए पनि बजेट नआउँदा योजना वर्षौंदेखि कागजमै अड्किएको कर्मचारीहरूले बताएका छन् ।
खाद्य कम्पनीले सामाजिक सुरक्षा कार्यक्रम, विद्यालय मध्याह्न भोजन तथा सरकारी वितरण योजनाका लागि चामल आपूर्ति गर्दै आएको छ । तर सम्बन्धित निकायले माग गरेको परिमाण समयमै नआउँदा गोदाममा थन्किएको चामल घट्न नसकेको शाखाको भनाइ छ ।
शाखा प्रमुख पाण्डेका अनुसार, “वितरण सहज भएको भए अहिले गोदाम खाली हुन्थ्यो । ढिलाइ हुँदा नयाँ उत्पादन राख्नै समस्या भएको छ ।”
समस्या समाधानका लागि अस्थायी रूपमा भाडाको गोदाम लिने विषयमा छलफल भइरहेको शाखाले जनाएको छ । साथै उच्चस्तरीय कार्यालयसँग चाँडो वितरण तथा अतिरिक्त बजेटको माग गरिएको छ ।
खाद्य कम्पनीले यस वर्ष बर्दियामा १८ हजार क्विन्टलभन्दा बढी धान खरिद गरिसकेको छ । राजापुरमै ९ हजार ३०० क्विन्टल धान खरिद भइसकेको र यस सिजनमा ११ हजार क्विन्टलभन्दा बढी खरिद हुने अनुमान गरिएको छ । तर गोदाममा करिब १० हजार क्विन्टल मात्र क्षमता खाली रहेकोले समस्या थप चर्किएको छ ।
कर्णाली प्रदेशमा खेती याेग्य जमिन घट्याे
काठमाडौँ । कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र घटेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र अघिल्लो वर्षको तुलनामा छ दशमलव शून्य आठ प्रतिशतले घटेको हो । समीक्षा वर्षमा प्रमुख खाद्य बालीमध्ये धान, मकै, गहुँ, कोदो र जौँले ढाकेको क्षेत्रफलमा क्रमशः पाँच दशमलव ११ प्रतिशत, चार दशमलव १६ प्रतिशत, चार दशमलव ८६ प्रतिशत, ११ दशमलव ५२ प्रतिशत र एक दशमलव ३९ प्रतिशतले घटेको छ । त्यसैगरी, तरकारी तथा बागबानी बालीले ढाकेको क्षेत्रफलमा १४ दशमलव ९१ प्रतिशतले ह्रास आएको छ भने फलफूल बालीले ढाकेको क्षेत्रफल दुई दशमलव ४० प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा कर्णालीमा समग्र कृषि बालीको उत्पादन अघिल्लो वर्षको तुलनामा पाँच दशमलव शून्य एक प्रतिशतले घटेको छ । जसअन्तर्गत खाद्य, नगदे तथा अन्य बालीको उत्पादन तीन दशमलव ९५ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा प्रमुख खाद्य बालीमध्ये धान १० दशमलव २५, गहुँ १७ दशमलव ३१, कोदो २२ दशमलव ९२ र जौँको उत्पादन आठ दशमलव ५५ प्रतिशतले घटेको छ भने मकैको उत्पादन चार दशमलव २४ प्रतिशतले बढेको छ । आव २०८१/८२ को असार मसान्तसम्ममा तरकारी उत्पादन र फलफूलखेतीको उत्पादन क्रमशः शून्य दशमलव ८८ र ३६ दशमलव ४१ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा कुल कर्जाको आठ दशमलव शून्य दुई प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा सात दशमलव ७० प्रतिशतले कम हो । समीक्षा वर्षमा प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४६ दशमलव ५२ प्रतिशत रहेको छ । बिजुलीका तार र केबल उत्पादनसम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९० प्रतिशत रहेको छ । गलैँचा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २३ दशमलव शून्य आठ प्रतिशत छ । समीक्षा वर्षमा औद्योगिक कर्जा गत वर्षको तुलनामा एक दशमलव ९४ प्रतिशतले कमी आएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको छ दशमलव ५० प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको छ । त्यसैगरी, समीक्षा वर्षमा यस प्रदेशमा भित्रिने पर्यटकको सङ्ख्या एक दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ । भारत र चीनबाट भित्रिने पर्यटकको सङ्ख्या क्रमशः २३ दशमलव ८५ र २५ दशमलव ७७ प्रतिशतले कमी आएको छ भने तेस्रो मुलुकबाट भित्रिने पर्यटकको सङ्ख्या नौ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८५ दशमलव ४७ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । समीक्षा वर्षमा प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या चार सय ७५ कायम भएको छ । यस्तै, शाखारहित बैङ्किङ सङ्ख्या १८ कायम भएको छ । समीक्षा वर्षमा यस प्रदेशमा कर्जा तथा निक्षेप अनुपात ६६ दशमलव ८५ प्रतिशत रहेको छ । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रादेशिक कार्यालयका अनुसार आव २०८१/८२ मा यस प्रदेशमा विद्युत् प्रसारण लाइन तीन हजार ५७५ दशमलव ७४ सर्किट किलोमिटर पुगेको छ । कर्णाली प्रदेशमा निर्माणाधीन पुष्पलाल लोकमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यले गति लिइरहेको देखिन्छ ।
अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार प्राधिकरणले नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा रु एक अर्ब र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा रु दुई अर्ब बराबरको स्वपुँजी लगानी हुनेछ । इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली चार–चार केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति दुई देशका उच्च सरकारी अधिकारीका बीचमा यसअघि नै भइसकेको छ । विद्युत् आदानप्रदानका लागि महत्त्वपूर्ण मानिएका ती अन्तरदेशीय प्रसारण लाइन सन् २०३० सम्म निर्माण हुनेछन् । प्रसारण लाइन निर्माणका लागि नेपालतर्फ स्थापना हुने कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र भारतीय कम्पनी पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडको ४९ प्रतिशत सेयर रहनेछ । यस्तै, भारतमा स्थापना हुने कम्पनीमा भारतीय कम्पनीको ५१ प्रतिशत र प्राधिकरणको ४९ प्रतिशत सेयर रहनेछ । नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको आन्तरिक स्रोतबाट स्वपुँजी लगानी गरिनेछ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम भारतमा स्थापना हुने संयुक्त कम्पनीको लगानीमा छुट दिइनेछ । ऊर्जा मन्त्रालयका सचिव चटौतका अनुसार मन्त्रिपरिषद्को निर्णयबमोजिम आवश्यक सूचना राजपत्रमा प्रकाशित गरी जानकारी दिइएको छ ।
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
तनहुँ । जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको पार्कले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । प्रसिद्ध छिम्केश्वरी मन्दिरको नजिकै रहेको यस उद्यानमा बिदा र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । प्रसिद्ध छिम्केश्वरी माई मन्दिरमा पूजाआजाका लागि आउनेहरू यस उद्यानमा घुम्न नछुटाउने गुरुङको भनाइ छ । गण्डकी प्रदेश सरकारको रु २० लाख र स्थानीय जनसहभागिता रु दुई लाख गरी रु २२ लाखको लागतमा पार्क निर्माण गरिएको हो । यहाँ २० फिट अग्लो नेपालको झन्डासमेत राखिएको छ । यहाँको मौसम शीतल रहेकाले गर्मी मौसममा अझ बढी पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ । उनले भने, “यहाँ छिनछिनमा मौसम परिवर्तन भइरहन्छ, एकैछिनमा घाम लाग्छ एकैछिनमा हुस्सुले छेकिन्छ ।” यहाँ आउने आन्तरिक पर्यटक तस्बिर खिच्न, टिकटक बनाउन पार्कमा भुल्ने गरेका छन् । यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाले पर्यटकलाई अझ मोहित बनाउने गरेको छ । छिम्केश्वरीबाट धवलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे लगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ । आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरीमा रहेको छिम्केश्वरी मन्दिर जीर्णोद्धार गरिसकेको छ । यसअघि रहेको पुरानो मन्दिरलाई जीर्णोद्धार गरी मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिरमा पित्तलको छानो राखिएको छ । गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।
नवलपुरमा मतदानस्थल थप गर्न सिफारिस
नवलपरासी । बर्दघाट–सुस्तापूर्वमा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको छ । जिल्लाको पहाडी भूभाग बुलिङटार गाउँपालिका–४ स्थित जनप्रिय आधारभूत विद्यालय टाँडीस्वारा मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । जिल्ला मतदानस्थल निर्धारण समितिको सिफारिसमा एउटा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार खोलाले गाउँलाई बिचबाट काटेपछि साबिकको मतदानस्थलमा जान करिब छ किलोमिटर टाढा पर्ने भएकाले मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । गएको बर्खामा खोलामा आएको बाढीले गाउँलाई बिचबाट काट्यो, जसले गर्दा पुरानो मतदानस्थल जान छ किलोमिटर टाढा पर्ने भयो । ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई मतदानस्थलसम्म पुग्न समस्या हुने भएपछि मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा एक सय १३ मतदानस्थलमा तीन सय दुई मतदान केन्द्र रहेको भन्दै शर्माले सिफारिस गरिएको मतदानस्थल स्वीकृत भएमा आगामी निर्वाचनमा एक सय १४ मतदानस्थलमा तीन सय तीन मतदान केन्द्र हुने जानकारी दिए । सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तोकेपछि जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको सङ्ख्या उल्लेख्य रहेको शर्माले बताए । “सरकारले निर्वाचनको मिति घोषणा गरेपछि तीन हजार ७९ जनाले फोटोसहितको नामावलीमा नाम दर्ता गराउनुभएको छ”, उनले भने, “यस पटक नाम दर्ता गराउनेमा अधिकांश जेनजी उमेर समूहका युवा रहनुभएको छ ।” उनका अनुसार सरकारले निर्वाचन मिति घोषणा गर्नुअघि जिल्लामा दुई लाख ६७ हजार मतदाता रहेका थिए । अहिले फोटो खिचाएका कति जनाको मतदाता परिचयपत्र आउने भन्ने कुरा केही दिनमा निर्धारण भएर आउने शर्माले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा दुई लाख ६० हजार ४६१ जना मतदाता रहेका थिए । जिल्लामा दुईवटा प्रतिनिधिसभा सदस्य र चार वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र छन् । अघिल्लो निर्वाचनमा जिल्लाको क्षेत्र नं १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता प्रा डा शशाङ्क कोइराला र क्षेत्र नं २ बाट नेपाली काङ्ग्रेसकै नेता विष्णु कार्की निर्वाचित भएका थिए ।
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
म्याग्दी । घनाजङ्गलको बिचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्गीको चिरबिर आवाज । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तीनचुले प्रकृति र संस्कृतिको सङ्गम हो । यो ठाउँ समुद्री सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित छ । हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिने तीनचुले सुनसान छ । धर्मिक पर्यटकीय क्षेत्र तीनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले तीनचुलेको सम्भावना र सौन्दर्य स्थानीयस्तरमै सीमित भएको बताए । “हरेक वर्षको कात्तिक शुक्ल पूर्णिमाका दिन तीनचुले बराहतालमा तोरण तार्ने धार्मिक मेलामा ताराखोला र मङ्गलाका बासिन्दा उपस्थित हुनेबाहेक अन्य समयमा पर्यटक आउन सकेका छैनन्”, उनले भने, “आधारभूतस्तरको पूर्वाधार तयार पारेर तीनचुलेमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने प्रयासमा छौँ ।” तीनचुलेको आकर्षण तीनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । सिस्नेदेखि माछापुच्छ्रे रेञ्चका हिमशृङ्खला अवलोकन गर्न सकिने विरलै ठाउँमध्येको एक हो तीनचुले । सूर्योदय र सूर्यास्तका साथै म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका ग्रामीण बस्ती, नागबेली परेर बगेको म्याग्दी नदी, पहाडी भूगोल जङ्गलको बीच भागको उच्च ठाउँमा अवस्थित तीनचुलेको थप विशेषता हो । मङ्गला गाउँपालिका–२ का हरि भट्टराईले तीनचुलेमा धार्मिक आस्थासँगै हिमशृङ्खला अवलोकन र प्राकृतिक सौन्दर्यमा रमाउन सकिने अनुभव सुनाए । तीनचुलेमा रहेको गोलो आकारको बराहतालमा हरेक वर्षको कात्तिक पूर्णिमाका दिन प्रकृतिलाई खुसी पार्न तोरण तार्ने चलन छ । शिवालय मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको ताराखोलाका भपिन्द्र घर्तीमगरले बताए । “चुलो आकार हुनेगरी तीनवटा ढुङ्गाका थुम्का भेटेपछि गोठालाले तीनचुले नामकरण गरेका किंवदन्ती छ”, उनले भने, “शान्त र एकान्त ठाउँ भएकाले यहाँ ऋषिमुनिहरू तपस्या गर्न आउँथे । सोही क्रममा मन्दिर र आश्रय स्थापना भई पूजाआजा गर्न थालिएको हो ।” विसं २०२४ देखि बैकुण्ठ चतुदर्शीका दिन तीनचुले नजिकैको माझखर्कमा जम्मा भएर रातभर भजन गाएर जाग्राम बस्ने र कात्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा तथा बराहतालमा तोरण तार्ने चलन सुरु भएको थियो । तपस्याका लागि तीनचुले पुगेका तत्कालीन अर्मन गाउँ पञ्चायतका केयरसिंह पुर्जाले २०३१ सालमा बनाएको मन्दिरलाई पुनर्निर्माण र व्यवस्थित गरेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । गोलो आकारको तीनचुलेको बराहतालमा जस्तोसुकै खडेरीमा पनि पानी नसुक्ने र पानीको स्रोत पनि नदेखिने स्थानीयवासी बताउँछन् । पूर्वाधार तयार गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको छ । ताराखोला गाउँपालिकाको रु २० लाख बजेटबाट गत आर्थिक वर्षमा तीनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझखर्कदेखि तीनचुलेतर्फ जाने २१० मिटर स्लेट ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण भएको समितिका सचिव पूर्णभद्र निउरेले बताए । स्थानीयवासीले चन्दा सङ्कलन गरेर माझखर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको रु सात लाख बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र दुई सय मिटर पदमार्ग निर्माण भएको थियो । तीनचुलेमा दृश्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानमार्फत करिब रु तीन लाख सङ्कलन भएको समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारको रु ७५ लाख र तालाखोला गाउँपालिकाको रु १० लाख लगानीमा ताराखोला गाउँपालिका–४ नागबेलीदेखि दावा हुँदै तीनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि दुई घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिका–५ देउरालीदेखि तीनचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु २१ लाख लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट दुई हजार २०० मिटर लामो पाइपबाट पानी लगेर पाँच हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र दुईवटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ । कसरी पुग्ने ? तीनचुले म्याग्दीको अर्मन र बागलुङको ताराखोला हुँदै सडक तथा पदमार्गको प्रयोग गरेर पुग्न सकिन्छ । मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि किमचौर हुँदै दुई घण्टा कच्ची सडकको यात्रा गरेपछि तीनचुले पुगिन्छ । ताराखोलाको दोगाडी, नागबेलीखोला गाउँदेखि तीनचुले नजिकैको माझखर्कसम्म पुग्ने कच्ची सडक छ । टिकावाङ, किमचौर, दोगाडी र नागबेलीखोलाका बासिन्दाले पाहुनालाई खाजा, खाना खुवाउने गर्छन् । ‘क्यापिङ’ पदयात्रा गर्नेहरूका लागि पनि यो ठाउँ उपयुक्त छ । ताराखोला र मङ्गला गाउँपालिकामा मगर समुदायको बाहुल्य बसोबास छ । मगर समुदायको जीवनशैली, संस्कार, संस्कृति, रहनसहन र मेलाजात्रामा रमाउन सकिन्छ । दुई जिल्लाको सम्बन्धको सेतु तीनचुलेले बागलुङ र म्याग्दीको सम्बन्धका सेतुको पनि काम गरेको छ । म्याग्दी र बागलुङको सिमानामा पर्ने सोलेडाँडालगायत सीमाक्षेत्रमा पर्ने पर्यटकीयस्थल र प्राकृतिक सम्पदाको उपभोगको विषयमा विवाद छ । तर ताराखोला र मङ्गलाका बासिन्दाले सहकार्य, समन्वय र साझेदारीमा तीनचुलेको विकासमा जुटेर सकारात्मक सन्देश दिएका छन् । ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक (हिमाल)ले पालिकाको केन्द्र अर्गलस्थित सहिद पार्कदेखि दशवर्षे ‘जनयुद्ध’का समयमा लडाकु र विद्रोही पक्षका नेता कार्यकर्ता आवतजावत गर्ने बाटोलाई गुरिल्ला पदमार्गका रूपमा विकास गर्न लागिएको बताए । अर्गलदेखि सहिदपार्क हुँदै तीनचुले, हिले, दुरलेक जोड्ने पदमार्गको परिकल्पना गरेको र हिलेमा होमस्टे सञ्चालन भएको उनले बताए । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बेनी नगरपालिका र काठेखोलाको सिमाना बेलढुङ्गा, ताराखोलाको सिमाना गम्फाको धुरी, झाँक्रीपानी, तीनचुले, चाङ्गालगायत स्थानलाई समेटेर पदमार्गको सम्भाव्यता अध्ययन गर्न छिमेकी पालिकाहरूसँग समन्वय गरेको बताए । “तीनचुलेलाई केन्द्र बनाएर सातदेखि १० दिनको नयाँ पदमार्ग बनाउन अन्तरपालिकाहरूसँग छलफल चलाएका छौँ”, उनले भने, “पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार विकास र ग्रामीण क्षेत्रमा रोजगारी तथा आयआर्जनको अवसर सृजना गराउन सम्भव हुन्छ ।”
कात्तिकमा ३५ हजार बढी पर्यटकले ‘एक्याप’ घुमे
गण्डकी । गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसअघि २०८० साल कात्तिकमा २४ हजार ४१६ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए । नेपालमा असोज–कात्तिकलाई मुख्य पर्यटकीययामका रूपमा लिइन्छ । दक्षिण एसियाली देशमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गरेका ‘एक्याप’का प्रमुख डा रविन कडरियाले बताए । आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडकमार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेका आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । कात्तिकमा पर्यटकीययामसँगै मुख्य चाडपर्व र बिदाको समय पर्ने भएकाले यो समयमा आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको हो । यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भन्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ । मुक्तिनाथसहित अन्य धार्मिक गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ ।
माैसम पूर्वानुमान: आज तीन प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ । आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
नेपाली समाज भारतको पहलमा भारतमा रहेका नेपालीले भारतीय बैंकमा खाता खोल्न सक्ने
नयाँ दिल्ली । भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले अब नेपाली राहदानी वा नागरिकता प्रमाणपत्रका आधारमा भारतीय बैंकहरूमा खाता खोल्न सक्ने भएका छन्। नेपाली समाज भारतले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा भनिएको छ, “नेपाली समाज भारतको पहलमा अब भारतमा रहेका नेपाली समुदायले नेपाली नागरिकता वा राहदानी (पासपोर्ट) प्रयोग गरेर भारतीय बैंकमा खाता खोल्न सक्ने भएका छन्। यो महत्वपूर्ण सहयोगका लागि इण्डियन बैंक तथा नेपाली राजदूतावासलाई विशेष धन्यवाद व्यक्त गर्दछौँ।” यसअघि भारतमा बस्ने नेपालीहरूले बैंक खाता खोल्न भारतीय आधार कार्ड वा अन्य भारतीय परिचयपत्र अनिवार्य चाहिन्थ्यो, जसले गर्दा धेरै नेपालीलाई समस्या पर्दै आएको थियो। यो नयाँ व्यवस्थाले भारतमा अध्ययन, रोजगारी वा व्यवसाय गरिरहेका हजारौँ नेपालीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। नेपाली राजदूतावास नयाँ दिल्ली र भारतीय बैंकिङ क्षेत्रबीचको सहकार्यले दुवै देशका नागरिकलाई आर्थिक कारोबारमा थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ।
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं आइपुगे, अधिकांश रुकुम र दाङका बासिन्दा
काठमाडौँ। अमेरिकाबाट डिपोर्ट भएका थप ३५ जना नेपाली चार्टर्ड विमानमार्फत काठमाडौँ आइपुगेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पाँगेनीका अनुसार डिपोर्ट भएर आएकामध्ये अधिकांश अवैध बाटो (डंकी रुट) हुँदै अमेरिका पुगेका व्यक्ति हुन्। ब्यूरोका अनुसार तीमध्ये एक जना विद्यार्थी भिसामा अमेरिका गएका व्यक्ति हुन्। उनी कलेजको भिसा नवीकरण (रिन्यू) नगरी भिसाविपरीत काम गरेको पाइएपछि डिपोर्टमा परेका हुन्। अर्का एक जना भिजिट भिसामा गएर काम गर्न थालेपछि पक्राउ परेर फर्काइएको पाइएको छ। बाँकी ३३ जना भने विभिन्न देश हुँदै अवैध तरिकाले अमेरिका छिरेका व्यक्ति हुन्। उनीहरूले दलाललाई ८० लाख रुपैयाँसम्म तिरेको पाइएको ब्यूरोले जनाएको छ। अमेरिका प्रवेश गरेको दुई वर्षसम्म पनि उनीहरूलाई डिपोर्ट गरिएको हो। डिपोर्ट भएका अधिकांश रुकुम र दाङका बासिन्दा रहेको प्रहरीले बताएको छ। उनीहरूले दलालविरुद्ध जाहेरी दिन मानेका छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल सुरु भएलगत्तै अवैध आप्रवासीमाथि कडा नीति अपनाएका छन्। ट्रम्पको जिम्मेवारी सम्हालेपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या २०० नाघिसकेको छ।
बाराको तनावप्रति संयम अपनाउन सबै पक्षसँग संयोजक प्रचण्डको आग्रह
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गर्नुभएको सन्देशमा स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन हार्दिक अनुरोध गर्नुभएको छ। अध्यक्ष प्रचण्डले भन्नुभयो, “लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन।” उहाँले राजनीतिक तथा वाक्-स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेताहरूलाई निर्वाध रूपमा हिँडडुल गर्ने, सभा-सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण पनि गराउनुभएको छ। आगामी मंसिर ४ गते हुने उपनिर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा समेत सबै पक्ष सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभएको छ। साथै, अध्यक्ष प्रचण्डले स्थानीय पार्टी समितिहरूलाई परिस्थितिलाई सामान्य बनाउन आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन समेत दिनुभएको बताउनुभएको छ।
अन्तर्राष्ट्रिय बजारकाे उतारचढावको प्रभाव: सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु. ७०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी रु. ३५ ले बढेको छ । आज एक तोला सुनको मोल रु. दुई लाख ४३ हजार निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु. तीन हजार १८५ कायम भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज विश्व बाल दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ । यस अवसरमा युनिसेफले विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेको छ । युनिसेफले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको छ । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालबालिकाका आवाजलाई सम्बोधन गर्न सबैलाई आग्रह गरेका छन् ।
चार ठूला जलविद्युत् परियोजनामा लगानी गर्न बोर्डकाे निर्णय
काठमाडौं । लगानी बोर्ड नेपालको बुधबार बसेको बैठकले चारवटा ठूला जलविद्युत् परियोजनासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डकी अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले बेतन कर्णाली, तल्लो अरुण, अरुण–३ र पश्चिम सेती जलविद्युत् परियोजनामा फरक–फरक निर्णय गरेको हो । बोर्डले ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लागत स्वीकृत गरेको छ । बोर्डका अनुसार परियोजनाको अनुमानित लागत ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार रुपैयाँ रहनेछ । लगानी स्वीकृतसँगै परियोजना विकास सम्झौताका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि गरिएको छ । यो परियोजना कर्मचारी सञ्चय कोषको पहलमा कर्मचारीको लगानीमा प्रवर्द्धन गरिनेछ । त्यस्तै, बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको उत्पादन अनुमतिपत्र मसौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्ने अधिकार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई प्रदान गरेको छ । यसैगरी, ९०० मेगावाट क्षमताको निर्माणाधीन अरुण–३ जलविद्युत् परियोजनाका लागि प्रत्यक्ष सम्झौता मसौदा स्वीकृत गराउन नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने निर्णय गरिएको छ । बैठकले ८०० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्र म्याद थप गर्ने निर्णय पनि गर्यो । यस्तै, परियोजना विकासकर्ता कम्पनी ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेड, हङ्कङले प्रस्ताव गरेको अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क (अनुमानित लागत १६ अर्ब रुपैयाँ) परियोजनाको डीपीआर तयारीका लागि समझदारी गरी सर्वेक्षण अनुमतिपत्र जारी गर्न प्रमुख कार्यकारी अधिकृतलाई अधिकार प्रदान गर्ने निर्णय गरिएको छ । बैठकले गत आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा गर्दै चालु आव २०८२/८३ का लागि लगानी बोर्ड कार्यालयको वार्षिक कार्ययोजना स्वीकृत गरेको छ । साथै, आव २०८२/८३ का लागि आवश्यक विभिन्न सेवा, समूह र श्रेणीका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को संशोधन मसौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्तुत गर्ने निर्णय पनि बैठकमा गरिएको बोर्डले जनाएको छ । बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल तथा अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।
गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील, नयाँ २७१८ मतदाता दर्ता
गुल्मी । गुल्मीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ४८ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले विगतका गतिविधि, भौगोलिक विकटता, सञ्चार तथा यातायात पहुँच, अपराधिक घटना र दलगत प्रतिस्पर्धाको आधारमा जिल्लाभरका १४२ मतदानस्थललाई वर्गीकरण गरेको हो । जसअनुसार ४८ अतिसंवेदनशील, ५७ संवेदनशील र ३७ सामान्य रहेका छन् । निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकायले समन्वय बढाएको छ । मतदाताको सहजताका लागि तीन नयाँ मतदानस्थल थप गर्न तथा मुसिकोट–४ को मुसिकोट माविबाट ५१६ मतदाता सार्न सिफारिस गरिएको छ । यस जिल्लामा २०७९ मा कुल दुई लाख २४ हजार २७६ मतदाता थिए । यसपटक नयाँ २७१८ जनाले नाम दर्ता गराएका छन्, जसमा २६४९ आन्तरिक र ६९ बाह्य मतदाता रहेका छन् । नामावली अद्यावधिक, त्रुटि सच्याउने तथा फोटोसहितको नाम सङ्कलन तीव्रगतिमा भइरहेको छ । जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा हाल दुई लाख २३ हजार ८४७ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४५ पैसा र बिक्रीदर १४२ रुपियाँ ५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७६ पैसा र बिक्रीदर १६४ रुपियाँ ४६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ५८ पैसा र बिक्रीदर १८६ रुपियाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपियाँ ४३ पैसा र बिक्रीदर १७७ रुपियाँ ७१ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ७४ पैसा र बिक्रीदर ९२ रुपियाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ९९ पैसा र बिक्रीदर १०१ रुपियाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ४५ पैसा र बिक्रीदर १०८ रुपियाँ ९१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ६ पैसा र बिक्रीदर नौ रुपियाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८९ पैसा र बिक्रीदर १९ रुपियाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७२ पैसा र बिक्रीदर ३७ रुपियाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८१ पैसा र बिक्रीदर ३८ रुपियाँ ९७ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३६ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५१ पैसा र बिक्रीदर ३८ रुपियाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ८ पैसा र बिक्रीदर ३४ रुपियाँ २३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९० पैसा र बिक्रीदर १४ रुपियाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९३ पैसा र बिक्रीदर २२ रुपियाँ ०२ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १६ पैसा र बिक्रीदर १८ रुपियाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ३३ पैसा र बिक्रीदर ४६२ रुपियाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ १९ पैसा र बिक्रीदर ३७६ रुपियाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ४० पैसा, बिक्रिदर ३६८ रुपियाँ ९६ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

