सुनसरीकाे जुट मिल्समा आगलागी हुँदा पाँच करोडको क्षति

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरमा रहेको अरिहन्त जुट मिल्समा भएको आगलागीमा पाँच करोड बराबरको क्षति भएको छ । 

आगलागीबाट जुट मिल्सभित्र रहेका जुट, जुटका सामाग्री र मेसिनहरू जल्दा पाँच करोड बराबरको क्षति भएको उद्योगका सञ्चालक राजकुमार गोल्छाले बताए ।

गोल्छाका अनुसार विद्युत् सर्ट भएर लागेको आगोले जुट मिल्सभित्रका पाँचवटा मेसिनसहित विभिन्न उपकरण जलेर नष्ट भएका छन् । शनिबार साँझ लागेको आगो निभाउन इटहरी, विराटनगर, दुहबी, धरान लगायत स्थानबाट आठवटा दमकल, प्रहरी, स्थानियबासी र जुटमिलका कामदार/कर्मचारीहरुले खटिएका थिए । सबैको प्रयासमा साँझ ८ बजेतरि मात्र आगो नियन्त्रणमा आएको थियो ।

सोनापुरमा रहेको अरिहन्त जुटमिल गोल्छा अर्गनाइजेसनअन्तर्गत रहेको उद्योगी राजकुमार गोल्छा (आरके ग्रुप)को हो । यो हालसम्म सञ्चालन भैरहेका जुटमिलमध्यको ठूलो जुटमिल्स समेत हो  ।  

जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरु नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

काठमाडौं – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का छ जना नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन्। जसपाको संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (काँडाङवा) र परशुराम बस्नेतसहितका नेताहरू यो प्रक्रियामा सामेल हुन लागेका हुन्। यस्तै, जसपा केन्द्रीय सल्लाहकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु पनि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने सहमति भएका छन्। जनजागरण आन्दोलनपछि जसपामा नीति, सिद्धान्त तथा माग–मुद्दाहरू मिल्ने राजनीतिक दलसँग एकीकरण, मोर्चाबन्दी वा तालमेल गर्ने निर्णय केन्द्रीय कार्यकारिणी समितिलाई दिइएको थियो। तर, बैठक नै नबोलाएर यो विषयलाई अनिर्णित राखिएको भन्दै श्रेष्ठसहितका छ नेताले हस्ताक्षर गरेको जानकारी–पत्रमा उल्लेख छ। उक्त पत्रमा भनिएको छ, 'दिनानुदिन सञ्चालन गर्नुपर्ने कार्यकारिणी समितिको स्थगित बैठक हालसम्म नबोलाएको हुँदा चालु केन्द्रीय कार्यकारिणी समितिको कार्यसूची नं. १९(ख) लाई टुंगो लगाइएको छैन। यसमा असहमति राख्दै जनजागरण आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा २०६२/६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू नै खतरामा पर्न सक्ने भएकाले विचारमा सामिप्यता रहेको अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग मिलेर उपलब्धिहरूको रक्षा तथा थप उपलब्धि प्राप्तिका लागि संघर्ष गर्नुपर्ने हाम्रो धारणा छ।' सोही निर्णयअनुसार केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूले जसपाबाट आ–आफ्नो पदिय जिम्मेवारीबाट अलग हुँदै नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।

उदयपुरमा आठ हजार बढी नयाँ मतदाता थपिँदै

उदयपुर ।  उदयपुरमा राष्ट्रिय परिचय पत्रको आधार मतदाता नामावली बनाउन पाँचहजार ४९० जनाले आवेदन दिएका छन् । जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दीपक दाहालका निर्वाचन आयोगले राष्ट्रिय परिचय पत्रको आधारमा मतदाता नामावली बनाउन आव्हान गरेपछि उक्त आवेदन परेको हो । उनका अनुसार अहिले अनलाइनबाट मतदाता नामावली बनाउन आएका आवेदनको अध्ययन गर्ने काम भइरहेको छ । उनले भने, ‘जिल्ला निर्वाचन कार्यालयमै आएर बायोमेट्रिक गराएर मतदाता नामावली बनाउनेको संख्या भन्दा बढी राष्ट्रिय परिचय पत्रबाट अनलाइन आवेदन परेको छ ।’ आगामाी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि खुलेको मतदाता नामावलीको लागि उदयपुरमा तीन हजार २२७ जनाले आवेदन दिएका थिए । उनले भने, ‘कार्यालयमै आएर मतदाता नामावली बनाउनेको लभभग सबै विवरण मिलेको हुन्छ । तर, राष्ट्रिय परिचय पत्रबाट अनलाईनको फर्म भरेकाहरुले रुजु नगरिकन भन्न सकिदैँ । उहाँहरु कति मतदाता नामावली बनाउन योग्य हुनुहुन्छ भनेर ।’ राष्ट्रिय परिचय पत्रकारको आधारमा र निर्वाचन कार्यालय पुगेर नयाँ मतदाता नामावली बनाउनेको संख्या दाहालका अनुसार आठहजार सातसय १७ रहेको छ । जुन संख्या थपिँदा उदयपुरको कुल मतदाताको संख्या दुई लाख ३९ हजार ६०४ पुग्ने छ । दाहाल थप्दै भने–‘हामीले भनेको कुल संख्यामा उमेर नपुगेका, विवरण प्रष्ट नभएकाहरुको नाम कटिन सक्छ । त्यस कारण निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेपछि मात्र जिल्लाको कुल मतदाता नामावलीको संख्या आउने छ ।’   दाहालका अनुसार अनलाइनबाट ७७ जनाले ठाउँ सारीको लागि र दुईसय दुईजनाले विवरण सच्याउन पनि आवेदन दिएका छन् । यता कार्यालयमै पुगेर ठाँउ सारी तथा विवरण सच्याउनको लागि पाँचसयले आवेदन दिएको निर्वाचन कार्यालय उदयपरले जनाएको छ ।  

सात प्रतिशतले कैलालीमा सात धान उत्पादन घट्याे

कैलाली ।  कैलालीमा यसवर्ष करिब सात प्रतिशतले धान उत्पादन घटेको छ ।  पट्के खडेरी, मल अभाव, सिँचाइमा विद्युत आपूर्ति नहुनु लगायतको कारणले गतवर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।  सो कार्यालयका अनुसार गतवर्ष प्रति हेक्टरमा ४.७ प्रतिशतको दरले तीन लाख १६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यसवर्ष दुई लाख ९४ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख टेक विष्टले बताए । यसवर्ष करिब २२ हजार १८६ मेट्रिकटन धान घटेको उनको भनाइ छ ।  पटके खडेरी, मल अभाव र सिँचाइमा विद्युत आपूर्ति कमीका कारण गतवर्षको तुलनामा धान उत्पादनमा कमी आएको उनले उल्लेख गरे । “बेलैमा पर्याप्त मात्रामा मल, पानी नपाउँदा धान उत्पादन राम्रो हुन सकेन”, विष्टले भने । कैलालीमा ६८ हजार हेक्टर जमिनमा धानखेती गरिएको थियो ।  

गुल्मीमा हराएकी महिला १० दिनपछि मृत फेला

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–६ लाहाता बस्ने ४० वर्षीया सीता थापा १० दिनपछि मृत अवस्थामा फेला परेकी छन् ।  कात्तिक २६ गते दिउँसो परिवारलाई जानकारी नगरी घरबाट हिँडेकी थापा खोजतलास क्रममा नभेटिएपछि मङ्सिर ४ गते  प्रहरी चौकी धनार्जेमा हुलियासहितको निवेदन दिइएको थियो । खोजतलास जारी रहँदा जिल्ला गुल्मी धुर्कोट गाउँपालिका–५ कुम्ला बनडाँडा स्थित मुक्तिनाथ भण्डारीको ढुङ्गा माटोले छाएको खाली घरमा थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  प्रहरीले घटनास्थल तत्काल सुरक्षित गर्दै प्रारम्भिक अनुसन्धान सुरू गरेको छ । इलाका प्रहरी चौकी धुर्कोटबस्तुबाट प्रहरी सहायक निरीक्षक शारदा भट्टको कमाण्डमा २ जनाको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो ।  थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय  पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा  टोली खटिएको प्रहरीले जनाएको छ । मृतकको शव सडेगलेको अवस्थामा फेला परेको र उनी मदिरा सेवन गर्ने स्वभावकी रहेको बुझिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्रम स्वीकृति लिनेको संख्या १५ प्रतिशतले बढ्याे

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उल्लेखनीय रूपमा बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष श्रम स्वीकृति लिने संख्या १५ प्रतिशतले वृद्धि भएको हो । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको चार महिनामा दुई लाख ८३ हजार ६१० जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका छन् । गत वर्ष सोही अवधिमा दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष मात्र श्रम स्वीकृति लिनेको संख्या गत आवको तुलनामा ४२ हजार २७ ले धेरै भएको विभागले जनाएको छ । चार महिनामध्ये सबैभन्दा धेरै कात्तिकमा श्रम स्वीकृति लिइएको छ । यो महिनामा ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको कात्तिकमा रहेको ७० हजार ९९० भन्दा उच्च हो । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार श्रम गन्तव्य राष्ट्रबाट माग बढ्न थालेसँगै श्रम स्वीकृति लिनेहरूको संख्या वृद्धि भएको हो । साथै करार रद्द भई स्वदेश फर्किएका श्रमिकले पनि देशमा अवसर नदेखिएपछि नयाँ श्रम स्वीकृति लिएर पुनः विदेशिने प्रवृत्ति बढेको हुँदा समग्र संख्या उकालो लागेको बताइएको छ । वैश्विक आर्थिक मन्दीका कारण श्रम बजार सङ्कुचन भए पनि विदेश जानेको संख्या भने बढिरहेको देखिन्छ । विभागका अनुसार चालु आवको साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२ र असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका थिए । कात्तिक महिनामा श्रम स्वीकृति लिने ७३ हजार ९४ जनामध्ये सबैभन्दा धेरै १५ हजार ७६९ जना साउदी अरब जाने श्रमिक छन् । सामान्यतया पहिलो श्रम गन्तव्य रहेको संयुक्त अरब इमिरेट्स (युएई) कात्तिकमा तेस्रो स्थानमा झरेको हो । नेपालमा भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि युएईले श्रमिक भिसामा कडाइ गरेसँगै यो देशको माग घटेको विभागले जनाएको छ । कात्तिकमा युएईका लागि १३ हजार ३९९, कतारका लागि १३ हजार ७३२ र मलेसियाका लागि ९ हजार ८७२ जनाले श्रम स्वीकृति लिएका छन् । नेपालका श्रमिकले पछिल्ला महिनामा १०६ देशका लागि श्रम स्वीकृति लिएका विभागको तथ्याङ्कमा उल्लेख छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीका अनुसार युएईले कडाइ बढाएपछि कात्तिकमा मागमा कमी देखिएको र मंसिरमा यसको प्रभाव झनै स्पष्ट रूपमा देखिने अनुमान गरिएको छ । पछिल्ला महिनामा युएईबाट नयाँ माग आउन छोडेको पनि उनको भनाइ छ ।  

अलैँची निर्यातमा ठूलो राजस्व अपचलन

विराटनगर । ‘कालो सुन’ भनेर चिनिने अलैँचीको निर्यातबाट नेपालले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्दै आइरहेको छ । तर यसको आडमा करोडौँ रुपैयाँ बराबरको राजस्व चोरी हुने गरेको तथ्य भन्सार विभागका दस्तावेजले संकेत गरेका छन्। किसानले प्रतिमन (४० किलो) एक लाख रुपैयाँभन्दा बढी मूल्य पाइरहेको अवस्थामा व्यापारीहरूले निर्यात गर्दा वास्तविक मूल्यको आधा नै बिलमा देखाइने (न्यून बीजकीकरण) गरेको पाइएको छ। कम मूल्य घोषणा गर्नाले निर्यातकर्ताको नाफामा लाग्ने आयकर छली हुनका साथै वास्तविक कारोबार बराबरको रकम हुन्डीमार्फत भित्रिने गरेको समेत देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा (असोज मसान्तसम्म) भारततर्फ १,०७२ टन अलैँची निर्यात भएको छ। यसको भन्सार घोषणा मूल्य १ अर्ब ६७ करोड ९१ लाख ५७ हजार रुपैयाँ मात्र उल्लेख छ । यसअनुसार प्रतिकिलो १,५६६ रुपैयाँमा बिलिङ गरिएको देखिन्छ। तर सोही अवधिमा किसानले प्रतिमन ९० हजारदेखि १ लाख ७ हजार रुपैयाँ पाएका छन् । जसको औसत मूल्य प्रतिकिलो २,५०० रुपैयाँभन्दा बढी पर्छ। यसरी वास्तविक मूल्य र निर्यात घोषणा मूल्यमा ठूलो अन्तर देखिँदा करिब ३० प्रतिशत आइकर छली हुने गरेको जानकार स्रोत बताउँछन्। कुनै–कुनै व्यापारीका अनुसार भारतीय भन्सार प्रक्रियाका कारण भारतीय व्यवसायीले वास्तविक मूल्य अंकित बिल लिन नमान्दा न्यून मूल्याङ्कन गर्न बाध्य हुने गरेको बताएका छन्। भारतीय व्यापारीहरूले प्रतिमन १ लाख २० हजार रुपैयाँभन्दा बढीमा अलैँची खरिद गर्ने गरेको उनीहरूको दाबी छ। राजस्व अनुसन्धान कार्यालय इटहरीका एक कर्मचारी भन्छन्, “आयकर छल्नकै लागि न्यून बीजकीकरण गरिएको हुन सक्छ। नत्र धेरैमा किनेर थोरै मूल्यमा बेच्नुपर्ने बाध्यता आउँदैन।” गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले ७ अर्ब ६८ करोड ३७ लाख रुपैयाँ बराबरको ४,३०० टन अलैँची निर्यात गरेको थियो। त्यसबेला किसान मूल्य र निर्यात मूल्यबीच विशेष अन्तर थिएन। तर यस वर्ष किसानले राम्रो मूल्य पाएर खुसी भए पनि देशले भने ठूलो राजस्व गुमाइरहेको अवस्था देखिएको छ। सँगै, अधिकांश किसानले नगद मार्फत भुक्तानी पाउने भएकाले पनि राजस्व अपचलनका गतिविधिलाई अवसर मिलेको संकेत देखिन्छ। राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत अर्जुन राईका अनुसार, “अलैँची निर्यातमा आयकर छली भएको विषय हाम्रो लागि नयाँ भए पनि अवास्तविक मूल्याङ्कन गम्भीर विषय हो।” मुख्य निर्यात नाका काँकडभिट्टा भन्सारका प्रमुख हरिहर पौडेल भन्छन्, “निर्यातकर्ताले घोषणा गर्ने मूल्य नै भन्सारले रेकर्डमा राख्ने गरेको छ। बजारमा बढी मूल्यमा कारोबार भएको भनाइ आए पनि स्वघोषित मूल्याङ्कन नै आधिकारिक मानिन्छ।” नेपालमा उत्पादित अलैँचीले विश्व बजारको ६० प्रतिशत हिस्सा ओगटेको छ। नेपालबाट ९५ प्रतिशत भारतमा निर्यात हुन्छ भने बाँकी तेस्रो मुलुकमा जाने गरेको छ।

पचास करोडको वैदेशिक रोजगार बचतपत्र खुला

काठमाडौं । सरकारले ५० करोड रुपियाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पाँच वर्ष अवधि रहेको यो बचतपत्रका लागि आवेदन मंसिर २५ गतेसम्म दिन सकिने जनाएको छ। बचतपत्रमा वार्षिक ७.५ प्रतिशत ब्याजदर उपलब्ध हुनेछ। प्राप्त ब्याज हरेक छ–छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा भुक्तानी गरिनेछ। बचतपत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने सुविधा पनि छ। यो बचतपत्र विदेशमा रोजगारीमा संलग्न नेपाली, रोजगारीबाट फर्केको छ महिना पुगेका नेपाली नागरिक तथा गैरआवासीय नेपाली (एनआरएन) ले आफू वा परिवारको नाममा खरिद गर्न सक्ने व्यवस्था छ। आवेदन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स प्रणाली र इन्भेस्टर पोर्टल मार्फत दिन सकिन्छ। यद्यपि बचतकर्ताका लागि उपयोगी मानिएको यो योजनाप्रति लगानीकर्ताको चासो भने विगत वर्षहरूमा सीमित देखिएको छ। पर्याप्त प्रचार–प्रसार नहुँदा र जानकारी अभावका कारण प्रत्येक वर्ष लक्ष्यभन्दा कम मात्र बचतपत्र खरिद हुने गरेको कार्यालयले जनाएको छ। बैंकहरूले निक्षेप ब्याजदर निरन्तर घटाइरहेका बेला आकर्षक विकल्पका रूपमा रहँदै आए पनि वैदेशिक रोजगार बचतपत्र धेरैको प्राथमिकतामा भने परिरहेको छैन।

झापामा मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु, एक घाइते

झापा । मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय विनोद राउत छन्, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए। शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्र१–०१–०१३प ३३३६ नम्बरको मोटरसाइकलले सडकको साइडमा रोकेर राखेको प्र१–०१–००१त ९९७७ नम्बरको ट्याक्टरलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक राउत र पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइते भएका थिए । टाउको र शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएकाे थियाे । उपचारकै क्रममा राउतको मृत्यु भएकाे हाे ।  ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । त्यसैगरी, गौरीगञ्ज गाउँपालिका–१ कुञ्जीबारी बजारमा बीउबिजनको व्यापार गर्न आएका शिवसताक्षी नगरपालिका–५ का ७२ वर्षीय सम्पतलाल राजवंशीको शनिबार मृत्यु भएकाे छ । शनिबार दिउँसो अचानक चक्कर लागि बेहोस भएपछि उनलाई उपचारका लागि दमक अस्पताल दमक पठाइएकाे थियाे । उपचारका क्रममा साँझ चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले जानकारी दिए ।

आज कुन विदेशी मुद्राकाे विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८८ पैसा र बिक्रीदर १४३ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ६१ पैसा र बिक्रीदर १६५ रुपियाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ६१ पैसा र बिक्रीदर १८७ रुपियाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ २२ पैसा र बिक्रीदर १७७ रुपियाँ ९६ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ९९ पैसा र बिक्रीदर ९२ रुपियाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ४० पैसा र बिक्रीदर १०१ रुपियाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ २२ पैसा र बिक्रीदर १०९ रुपियाँ ६८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ११ पैसा र बिक्रीदर नौ रुपियाँ १५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ०९ पैसा र बिक्रीदर २० रुपियाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ १० पैसा र बिक्रीदर ३८ रुपियाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ २०  पैसा र बिक्रीदर ३९ रुपियाँ ३६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३९ पैसा र बिक्रीदर चार रुपियाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ९० पैसा र बिक्रीदर ३९ रुपियाँ ०६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ४४ पैसा र बिक्रीदर ३४ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६९ पैसा र बिक्रीदर नौ रुपियाँ ७३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९१ पैसा र बिक्रीदर १४ रुपियाँ ९८ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०४ पैसा र बिक्रीदर २२ रुपियाँ १३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ३५ पैसा र बिक्रीदर १८ रुपियाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपियाँ ०१ पैसा र बिक्रीदर ४६६ रुपियाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपियाँ ९९ पैसा र बिक्रीदर ३८० रुपियाँ ५८ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपियाँ १२ पैसा र बिक्रीदर ३७२ रुपियाँ ६८  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

तनहुँमा पर्यटन प्रवर्द्धनका लागि छैटौँ बन्दीपुर महोत्सव हुने

दमौली । पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५ का अवसरमा यही मङ्सिर १० गतेदेखि २१ गतेसम्म छैटौँ बन्दीपुर महोत्सव आयोजना हुने भएको छ ।  तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाई समितिको आयोजनामा टुँडिखेलमा महोत्सव सञ्चालन हुनेछ । ‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धन स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित महोत्सव आयोजना गरिएको र तयारी अन्तिम चरणमा पुगेको महोत्सव संयोजक एवं इकाई सभापति घनश्याम उपाध्यायले आज बन्दीपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए  । बन्दीपुर नेपालकै पर्यटकीय गन्तव्य स्थल रहेकाले यसको थप प्रवर्द्धनमा महोत्सवले सहयोग पुग्ने उनले बताए । यहाँ अवस्थित ऐतिहासिक सम्पदाहरू एवं प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थलको पहिचान, प्रचारप्रसार गरी बन्दीपुरको आर्थिक उन्नतिमा टेवा पुर्याउने लक्ष्य राखिएको उनको भनाइ छ । महोत्सव दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको र रु पाँच करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको उनले बताए । महोत्सवका क्रममा धार्मिक तथा ऐतिहासिक स्थल खड्गदेवी मन्दिर, पहाड पानी महादेव, विन्ध्यवासिनी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, चामुण्डामाई भुत्याहा बराहा, सन्तानेश्वर महादेव, मणिमुकुन्द सेन दरबार तथा मार्ग, टुँडिखेल, रानीवनको भ्रमण गराइने उनले बताए । महोत्सवका क्रममा साहसिक पर्यटन खेलहरू चट्टान आरोहण, प्याराग्लाइडिङ, सेती जलयात्रा, साइक्लिङको मज्जा लिन सकिने उनको भनाइ छ ।  महोत्सवमा व्यापारिक सामग्रीका ७९, विभिन्न घरेलु तथा हस्तकलाका तीन, कृषि उपजका दश, सेवामूलक संस्थाको एक, होटल रेस्टुरेन्टका आठ, सूचना केन्द्र एक, अटो कम्पनीका दुईलगायत स्टल रहनेछन् । बन्दीपुर गाउँपालिका संरक्षक रहेको महोत्सवको प्रवर्द्धकमा तनहुँ उद्योग वाणिज्य सङ्घ, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय रहेको छ ।  महोत्सवले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सहयोग गर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । भ्रमण वर्षका अवसरमा विविध कार्यक्रम गर्ने निर्णयबमोजिम महोत्सव गर्न लागिएको उनको भनाइ छ ।  भ्रमण वर्षलाई लक्षित गरी हरेक महिना गाउँपालिकाभित्र र बाहिर गरी दुई वटा कार्यक्रम गर्ने गरिएको उनको भनाइ छ । सोहीअनुसार गत भदौ १६ गते होटल एसोसिएसन बन्दीपुरको संयोजकत्वमा काठमाडौँमा बन्दीपुर प्रवर्द्धन कार्यक्रम गरिएको र त्यसले बन्दीपुरको पर्यटनलाई थप टेवा पुगेको उनको भनाइ थियो । 

सप्तरीमा मोबाइल चोरीको आरोपमा कुटपिटपछि युवकको मृत्यु

सप्तरी । मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ। सप्तरीको राजगढ गाउँपालिका–६ फकिरा घर भई राजविराज नगरपालिका–१६ बोरिया बस्दै आएका मुकेश यादवको हिजाे शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । १९ वर्षीय यादवको उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए। प्रहरीका अनुसार दुई दिनअगाडि बोरियास्थित छिमेकी सरोकुमारी साहको मोबाइल हराएको थियो। उक्त मोबाइल मुकेशले नै चोरी गरेको भन्दै साहले कुटपिट गरेपछि घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको हो ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

माैसम पूर्वानुमान: कस्तो रहला आज दिनभरकाे माैसम ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।  आज राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

राजस्व कार्यालय जुम्लाले ८ करोड ६८ लाख राजस्व सङ्कलन गर्‍यो

जुम्ला । आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ४ महिनामा रु आठ करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा रु १३ करोड राजस्व सङ्कलनको लक्ष्य राखेको थियो, तर रु आठ करोड ६८ लाख सङ्कलन गरेको हो । जिल्लास्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेले राजस्व सङ्कलन भएकामध्ये सबैभन्दा बढी आयकरतर्फ रु छ करोड ४४ लाख सङ्कलन भएको जानकारी दिए । उनले भ्याटतर्फ रु एक करोड ६८ लाख र अन्तःशुल्कतर्फ रु ५६ लाख राजस्व सङ्कलन भएको बताए । करदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि निर्माण व्यवसायीलगायत ठूला र साना व्यवसायीलाई जोड दिने उद्देश्यले कार्यालयले काम गरिरहेको छ । बजार अनुगमन र स्थानीय तहमा पुगेर कर शिक्षा दिइनेगरी काम भइरहेको प्रमुख कर अधिकृत घिमिरेले बताए । उनले जिल्लामा १७ हजार बढी करदाता रहेको बताए । भ्याटतर्फ मात्र दुई हजार ३२ जना रहेका छन् । शुक्रबारसम्म ६७७ जनाले व्यक्तिगत प्यान लिएका छन् । कार्यालयले चालु आवमा रु ६४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको जनाएको छ । कार्यालयको गत आवमा वार्षिक राजस्व उठाउने लक्ष्य रु ६३ करोड ७१ लाख रहेकामा रु ४९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान नकिन्दा समस्यामा किसान

कैलाली ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान खरिदको काम स्थगित गरेपछि किसानलाई धान बिक्री गर्न बजारको समस्या भएको छ । कम्पनीले धान खरिद गर्न रोकेको र निजी क्षेत्रका व्यापारीले सस्तो मूल्यमा खरिद गर्न सकिने कुरा गर्न थालेपछि आफू समस्यामा परेको किसानले बताए । “व्यापार कम्पनीले धान खरिद गर्न रोकेको छ, निजी व्यापारीले तोके बमोजिमको मूल्यमा बेच्नुपर्दा लागानी पनि उठ्न सक्ने अवस्था छैन”, गोदावरी नगरपालिकाका किसान सुभाष चौधरीले भने । कम्पनीले तोकिएको कोटा बमोजिमको परिमाणमा धान खरिद गरिसकेपछि खरिद स्थगित गरेको हो । थप कोटाको धान खरिद गर्ने वा नगर्ने भन्नेमा आजसम्म कुनै टुङ्गो लाग्न नसकेको धनगढीस्थित कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले बताए । कम्पनीको धनगढीस्थित प्रादेशिक कार्यालयले मोहनपुरबाट गत १२ कात्तिकदेखि र टीकापुर, सत्ती, जोशीपुर भजनी, गौरीगङ्गा क्षेत्रमा कात्तिक १६ देखि धान खरिद गर्न थालेको थियो । निजी व्यापारी (गल्ला व्यापारी)ले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यको तुलनामा निकै कम अर्थात् प्रतिक्विन्टल रु दुई हजार ६०० सम्ममा धान खरिद गर्ने गुनासो किसानको छ । कार्यालय प्रमुख थापाले यस वर्ष ३५ हजार क्विन्टल धान खरिदको कोटा तोकिएकामा योभन्दा थप तीन हजार क्विन्टल बढी धान खरिद गरिसकिएको जानकारी दिए । उनले भने, “उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको टोलीले कैलालीमा किसान र उत्पादनको परिमाणका बारेमा स्थलगत अध्ययन गरी फर्किएको छ, कोटा थप नभएसम्म धान खरिद गर्न सकिने अवस्था छैन ।” सरकारले यस वर्ष प्रतिक्विन्टल मोटा धान रु तीन हजार ४६३, पैसा ८१ र मध्यम धानको रु तीन हजार ६२८ पैसा ३३ न्यूनतम् समर्थन मूल्य तोकेको छ । सरकारले मोटा धान र मध्यमधानको न्यूनतम् समर्थन मूल्य निर्धारण गरेपनि कैलालीको हकमा कम्पनीले विगतमा जस्तै मोटा धान मात्र खरिद गर्दै आएको छ । किसानले धानको उचित मूल्य नपाइरहेको अवस्थामा व्यापार कम्पनी लिमिडेडले खरिदको व्यवस्था गर्दा उचित मूल्य पाएर राहत मिलेपनि थप किसानको धान भने बिक्री हुन सकिरहेको छैन । कैलालीमा गत वर्ष झण्डै ५० हजार क्विन्टल धान खरिद गर्ने कोटा तोकिएकामा ३४ हजार ५०१ क्विन्टल खरिद गरिएको थियो । सरकारले समयमै न्यूनतम् समर्थन मूल्य तोक्दा धानको बजार मूल्य कामय गर्न केही हदसम्म सघाउ पुर्‍याउने गरेको किसानको भनाइ छ । नेपालमा वर्षेनी रु २० अर्ब हाराहारीको धान र चामल भारतबाट आयात हुने गरेकामा गत वर्ष रु ४३ अर्ब बराबरको धान र चामल आयात भएको जनाइएको छ । भारतबाट सस्तो मूल्यमा आयातित धान निजी व्यापारीका गोदाममा अझैँ मौज्दात रहेकोको अवस्थामा व्यापारीले थप धान खरिद गर्न नसक्दा स्थानीय उत्पादनले बजार पाउन नसकिरहेको कार्यालय प्रमुख थापाले बताए ।

२८ बुँदे योजनालाई अनुमोदन गर्न युक्रेन र अमेरिकाबिच स्वीट्जरल्याण्डमा वार्ता हुने

किएभ । युक्रेनी र अमेरिकी अधिकारीहरू रूससँगको युद्ध अन्त्य गर्ने वाशिङ्गटनको योजनाबारे छलफल गर्न छिट्टै स्विट्जरल्याण्डमा भेला हुने योजना तय भएको किएभले शनिबार बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई करिब चार वर्षे द्वन्द्व अन्त्य गर्ने २८ बुँदे योजनालाई अनुमोदन गर्न एक हप्ताभन्दा कम समय दिएका छन् । प्रस्तावमा आक्रमणकारी देशले युक्रेनी क्षेत्र छोड्ने, सेना कटौती गर्ने र नेटोमा कहिल्यै सामेल नहुने प्रतिज्ञा गर्ने उल्लेख छ। यसैबीच,सम्झौताको मस्यौदामा समावेश नभएका युक्रेनका युरोपेली सहयोगीहरूले यो योजना पूर्ण नभएको र ‘थप अभ्यास’ आवश्यक भएको बताएका छन् । उनीहरूले दक्षिण अफ्रिकामा जी २० शिखर सम्मेलनमा किएभको स्थिति बलियो बनाउन वैकल्पिक प्रस्तावको ल्याउन छलफल गरिरहेका छन् । ‘आगामी दिनहरूमा, युद्ध अन्त्यका लागि आवश्यक कदमहरूको बारेमा साझेदारसँग परामर्श हुनेछ’, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘वार्ताका लागि युक्रेनको टोलीलाई सुझाब दिइने र वार्ताको नेतृत्व एन्ड्री येरमाकले गर्नुहुनेछ।’ एन्ड्री येरमाकले राष्ट्रपति जेलेन्स्कीका लागि शीर्ष सहयोगीका रूसमा काम गर्दै आएका छन्। जेलेन्स्कीले अमेरिकी प्रस्तावबारे विमति राख्दै भने, ‘युक्रेनको राष्ट्रिय हितको रक्षा कसरी गर्ने र रूसलाई तेस्रो आक्रमण गर्नबाट रोक्न के आवश्यक छ भन्ने बिषय हाम्रा प्रतिनिधिहरूलाई थाहा छ।’ फ्रान्स, बेलायत र जर्मनीका सुरक्षा अधिकारीहरु पनि आइतबार बिहान जेनेभामा हुने वार्तामा सहभागी हुने जी–२० शिखर सम्मेलनमा सहभागी स्रोतहरुले जनाएका छन् । युक्रेनका सुरक्षा परिषद्का सचिव रुस्तम उमेरोभले यसअघि पनि छलफलका लागि स्विट्जरल्यान्डलाई स्थान दिने सङ्केत गरेका थिए । ‘यो हालका दिनहरूमा जारी वार्ताको अर्को चरण हो र मुख्य रूपमा अर्को कदमको लागि हाम्रो दृष्टिकोणलाई संरेखित गर्ने उद्देश्य हो,’ पूर्वरक्षामन्त्री उमेरोभले थपे । उनले यसअघि टर्कीमा रूससँग केही चरणको वार्ताको नेतृत्व गरेका थिए, जसले कैदीहरूको आदान–प्रदान र मृतक सैनिक तथा नागरिकको अवशेष स्वदेश फिर्ता गर्ने सहमति गरेको थियो । जेलेन्स्कीको आदेशमा वार्तामा ‘रूसी सङ्घका प्रतिनिधिहरू’ पनि समावेश हुनेछन्। रुस वार्तामा सहभागी हुने वा नहुने भन्ने विषयमा तत्काल कुनै पुष्टि भएको छैन । थप कार्य आवश्यक जी–२० शिखर सम्मेलनका लागि दक्षिण अफ्रिकामा भेला भएका पश्चिमा नेताहरूले शनिबार युक्रेनमा युद्ध अन्त्य गर्ने अमेरिकी एकपक्षीय योजनामा ‘थप काम गर्नुपर्ने बिषय’ भएको बताएका छन्। प्रमुख युरोपेली देशहरू साथै क्यानाडा र जापानका नेताहरूले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘बलपूर्वक सीमा परिवर्तन गर्नु हुँदैन भन्ने सिद्धान्तमा हामी स्पष्ट छौँ । हामी युक्रेनलाई भविष्यमा आक्रमणको जोखिममा पार्ने युक्रेनको सशस्त्र बलमा प्रस्तावित सीमितताबाट पनि चिन्तित छौँं।’ फ्रान्सका इम्यानुएल म्याक्रोँले यसअघि सम्मेलनमा एक गम्भीर सन्देश दिँदै भनेका थिए, ‘जी–२० एक चक्रको अन्त्यमा आउँदैछ।’ युक्रेन युद्धको समाधानका लागि अमेरिकी एकपक्षीय योजनालाई सङ्केत गर्दै समूह विश्वभरका ठूला सङ्कटहरू समाधान गर्न सङ्घर्ष गरिरहेको छ। अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प पुनः सपथ लिएसँगै युक्रेनमा अमेरिकी प्रायोजन कम भएपछि युक्रेनलाई महत्त्वपूर्ण सैन्य र वित्तीय सहयोग प्रदान गर्दै बेलायत, जर्मनी र फ्रान्स युक्रेनको प्रमुख समर्थकको रूपमा देखा परेका छन् । कठिन छनौट जेलेन्स्कीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनले आफ्नो इतिहासको सबैभन्दा चुनौतीपूर्ण क्षणको सामना गरिरहेको बताउँदै ट्रम्पको प्रस्तावको विकल्प प्रस्ताव गर्ने बताएका छन्। वाशिङ्गटनसँगको सहकार्यको सम्भावित अन्त्यलाई सङ्केत गर्दै राष्ट्रपति जेलेन्स्कीले शुक्रबार राष्ट्रको नाममा गरेको आफ्नो सम्बोधनमा भने, ‘युक्रेनमा दबाब सबैभन्दा कठिन छ। युक्रेनले धेरै कठिन विकल्पको सामना गर्न सक्छ । देशले आफ्नो गरिमाको हानि व्यहोर्नुपर्न सक्छ वा एक प्रमुख साझेदार गुमाउने जोखिम आउनसक्छ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने, ‘प्रस्तावित योजनाले शान्ति समाधानको लागि अन्तिम ‘आधार तय गर्न सक्छ’।’ यदि युक्रेन वार्ताबाट पछि हट्यो भने थप भूमि जफत गरिने चेतावनी उनले दिए । राम्रो सुसज्जित र सङ्ख्यामा ठूलो रूसी सेना बिस्तारै लगातार लामो समयदेखि युक्रेनी सीमा क्षेत्रमा फैलिँदै गएको छ। मस्कोले ऊर्जा पूर्वाधारमाथि बिरूद्ध क्रूर बमबारी अभियान चलाएपछि युक्रेनीहरूले युद्ध सुरु भएदेखि सबैभन्दा कठिन जाडोको सामना गरिरहेका छन्।