बेनोज अधिकारीलाई सम्झँदै अखिल(क्रान्तिकारी)को टोली मोरङको बाघझोडामा

मोरङ।अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष जीपी मैनाली सहितको टोली सहिद बेनोजलाई सम्झँदै मोरङको बाघझोडा पुगेको छ ।

अखिल क्रान्तिकारीको तत्कालीन उपाध्यक्ष बेनोज अधिकारी स्मृति दिवसको दिन पारेर उपाध्यक्ष मैनाली सहितको टोली बिहिबार अधिकारीको हत्या भएको स्थाल  मोरङको बाघझोडा पुगेको हो ।

टोलीमा क्रान्तिकारीका पूर्व उपाध्यक्ष तथा सुनसरी माओवादी केन्द्रका नेता मदन चुडालसहित क्रान्तिकारीको स्थानीय नेतृत्व सहभागी थियो । टोलीले बेनोज हत्या गरिएको सुन्दरहरैंचा स्थित जंगल सहित ,सुकुना बहमुखी क्याम्पस अगाडी निर्मित शहिद बेनोज गेट पुगेको क्रान्तिकारीका नेता उमेश सेन्चुरीले जानकारी दिए।

क्रान्तिकारीका तत्तकालीन उपाध्यक्ष अधिकारीलाई २०५८ फागुन २४  गते आजकै दिन त्यसबेलाको राज्य सत्ताले गिरफ्ता गरी चरम यातना दिएर मोरङको खोर्साने माथि बाघझोडामा निर्ममता पूर्वक हत्या गरेको थियो ।

तीन दिन मात्रै चलेर अन्त्य भयो गण्डकी संसद् अधिवेशन

पोखरा । गण्डकीको प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयलाई पठाएका छन् । फागुन १६ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन ३ दिन मात्रै चलेको छ । राजनीतिक समीकरण फेरिएपछि संसद अधिवेशन अन्त्य गर्नुलाई फरक हिसाबले हेरिएको छ ।  

समीकरण परिवर्तन नेपालको आन्तरिक मामिला : भारत

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन्। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरे। ‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो’, उनले भने, ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु।’ प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए। श्रीवास्तवले नेपाल–भारत सम्बन्ध मौलिक रहेको चर्चा गर्दै उनले विगतमा जस्तै असल सम्बन्ध कायम रहने विश्वास पनि व्यक्त गरे। आपसी विश्वासका साथ सहयोग र लगानीका काम निरन्तर गर्ने उनको प्रतिबद्धता थियो।

अर्थमा वर्षमान नियुक्तिपछिको पहिलो कारोबार शेयर बजार सकारात्मक

काठमाडौं । नयाँ गठबन्धनको नयाँ अर्थमन्त्री नियुक्तिपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। गठबन्धनको बुधबार बसेको बैठकले वर्षमान पुनलाई अर्थमन्त्रीमा नियुक्त गरेको थियो। राजनीतिक अन्यौलताका बीच उतारचढाव भइरहेको नेप्से, अर्थमन्त्रीको नियुक्तिसँगै सम्हालिएको हो। बिहीबार नेप्से परिसूचक १३.५१ अंक बढेर २०३०.५५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंक बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४७ हजार ६९९ पटकको कारोबारमा ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन एक कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो। त्यस्तै, यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य सर्वाधिक ६.२१ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको करिब साढे १६ करोडको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब साढे १३ करोडको शेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो।

उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन् सङले शिष्टाचार भेट गरेका छन् । बिहीबार दिउँसो मन्त्रालयमा पुगेर राजदूत छन्ले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिए । यसअघि बिहीबार बिहानै भारतका राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेका थिए । 

नयाँ गठबन्धन निरन्तर जान्छ : सांसद पौडेल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन निरन्तर अगाडि जाने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै उनले वर्तमान गठबन्धनलाई कसैले पनि तोड्न नसक्ने बताए । “यो गठबन्धन बाँकी चार वर्ष निरन्तर जान्छ, कसैले तोड्न सक्दैन । हिजो तोडेर गल्ती भयो, मुलुकले स्थायित्व प्राप्त गर्न सकेन”, सांसद पौडेलले भने, “मुलुकलाई स्थायित्व दिन फेरि गठबन्धन गरेका छौँ ।” वर्तमान गठबन्धनमा लामो राजनीतिक अनुभव प्राप्त गरेका तथा आलोचक भएर सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउँदै आएका दल सहभागी रहेको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले तीव्र गतिका साथ काम गर्ने विश्वास व्यक्त गरे । “वर्तमान सरकार कानुन निर्माण तथा मुलुकले भोग्दै आएको समस्या समाधान गर्न सक्षम हुनेछ”, सांसद पौडेलले भने, “राष्ट्र निर्माण गर्ने जिम्मेवारी दलहरुको काँधमा छ, मुलुकको समृद्धि तथा  साझा मुद्दामा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्छ ।” रासस

दावा छिरिङलाई नागरिकता दिलाउने अधिकृत अर्याल पक्राउ

काठमाडौं । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई नागरिकता दिलाउने एक अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेमा कार्यरत रामचन्द्र अर्याललाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको हो । उनी हाल वागमती प्रदेशसभा सचिवालय हेटौँडामा छैटौँ तहका अधिकृतका रूपमा कार्यरत छन् । उनलाई हेटौँडाबाटै पक्राउ गरिएको काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । गएको साउनमा ६० किलो सुन तस्करीको आरोपमा पक्राउ परेका दावाले काभ्रेबाट नागरिकता लिएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो । दावाले निमा तामाङका नामबाट ०७४ पुस २० गते नागरिकता लिएका थिए । अधिकृत अर्यालसँगको मिलोमतोमा नागरिकता लिएको खुलेपछि उनी पक्राउ परेका हुन् । दावाले नागरिकता लिँदा सनाखत गर्ने अर्का अधिकृत अझै फरार छन् ।

जसपाका तीन मन्त्रीले आज शपथ लिदै

काठमाडौं । जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ। पार्टीको बिहीबार बिहान बसेको कार्यकारिणी समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो।  एमाले-माओवादी-रास्वपा र जसपा मिलेर बनेको नयाँ गठबन्धन सरकारमा अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी हुने भएका हुन्।   यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या, नवलकिशोर शाह वन तथा वातावरण, स्वास्थ्य राज्यमन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय भएको जसपाका एक नेताले बताए। यी मन्त्रीहरुले आज शपथ लिदैछन् । समय प्रतिनिधिसभाको बैठक कति लम्बिनेछ सो अनुसार तय हुनेछ । गत सोमबार नयाँ सत्ता गठबन्धन बनेसँगै बिहीबार पुनर्गठन भएको मन्त्रिपरिषदमा जसपासँगै सरकारमा सहभागी हुने दलको संख्या पाँच पुगेको छ।  

कांग्रेसमा बेचैनी र छटपटी देखियो : एमाले

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नयाँ सत्ता समीकरणलाई सहज र स्वभाविक परिघटनाका रुपमा लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधका क्रममा छटपटी र बेचैनीले कहीँ नपुर्‍याउने बताउँदै संविधान सम्बत भएका गतिविधिलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका हुन्।नयाँ सत्ता गठबन्धन निर्माणपछि पहिलोपटक बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आसन फेरिएपछि सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसबीच घोचपेच भएको हो।  ‘यो तहको पीडा, छटपटी, आक्रोश व्यक्त गर्न आवश्यक थिएन। यसलाई सहज र स्वाभाविक रुपमा लिनका लागि, संवैधानिक पहलका रुपमा लिन आग्रह गर्न चाहन्छु,’ पौडेलको भनाई थियो।  आगामी निर्वाचनम यस्तै परिदृश्य नदोहोरिने भन्दै उनले जनताको विश्वास जित्न सक्नेगरी अघि बढ्नुपर्ने बताए। ‘छटपटी र बेचैनीले कहिँ पुर्याउँदैन। यो अभ्यासलाई सहज र सामान्य रुपमा लिऔँ,’ उनले भने।

यही व्यवस्थामा पनि बहुमत आउन सक्छ : पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै संबैधानिक व्यवस्थाबाट पनि कुनै एक दलको बहुमत आउन सक्ने बताएका छन् । प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले एउटै पार्टीको बहुमत आउन कठिन भएपनि असम्भव नरहेको बताए ।  नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकको भनाई प्रति लक्षित गर्दै पौडेलले भने, ‘हेर्दै जानुहोला, आगामी दिनमा बहुमत आउनेछ ।’  नेपाली काङ्ग्रेसले नयाँ गठबन्धन बनेको प्रति चाहिने भन्दा बढि बेचैनी देखाएको भन्दै उनले धेरै नआत्तालिन सुझाब पनि दिए ।  उनले भने–‘कि संविधानमा नै काङ्ग्रेस भन्दा बाहिर अर्को गठबन्धन नहुने लेख्नुप¥यो, होइन भने यो संविधानसम्मत विकल्प हो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।’  नेता पौडेलले चार दलको बीचमा भएको आठ बुँदे सहमतिपछि काङ्ग्रेसले प्रधानमन्त्रीको पद किस्तीमा राखेर बाँड्दै हिडेर छटपटी र बेचैनी देखाएको आरोप लगाए ।  इतिहास कहिल्यै पनि सेलरोटी जस्तो नघुम्ने भन्दै उनले अहिले सुरु भएको सहयात्राले प्रतिनिधिसभाको यो कार्यकाल पुरा गर्ने बताए । उनले यो सरकार दुर्घटनामा परोस् भनेर सपना नदेख्न पनि आग्रह गरे ।    

रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ  :  प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताएका छन्।   संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कुटनीतिक दबाब बढाइएको स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने र युक्रेनी सेनाले बन्धक बनाएका नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीसँग संवाद भइरहेको जानकारी गराए। “पछिल्लो समयमा क्षतिपूर्ति र विमा रकम नेपाली राजदुतावासको खातामा जम्मा गरी कन्सुलर सेवा विभागमार्फत् पीडित परिवारलाई उपलब्ध गराउन रूस सरकार सहमत भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अध्ययन छात्रवृति तथा पेशा व्यवसायमा संलग्नबाहेकका नागरिकले रूस यात्रा गर्नु परे ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ ।”

सहकारी र लघुवित्तलाई कडाइका साथ नियमन गर्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानविन गरी कारबाहीको दायरामा ल्याइने बताएका छन् । संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले तोकेकोभन्दा बढी शुल्कभन्दा बढी शुल्क सम्बन्धित खातावालाई फिर्ता लिने काम भइरहेको जानकारी गराए।  “तोकेभन्दा बढी लिइएको सेवा शुल्क फिर्ता गरी सम्बन्धित ऋणीको खातामा जम्मा गर्न दिएको निर्देशन कार्यान्वयन भइरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “गुनासो सुनुवाइ र त्यसको समाधानका लागि लघुवित्त संस्था सुपरीवेक्षण विभागमा बेग्लै डेस्कको ब्यवस्था गरिएको छ ।”  प्रधानमन्त्री प्रचण्डले दुग्ध किसानको भुक्तानी सहज बनाउन सरकार, सम्वन्धित उद्योगी–व्यवसायी र किसान सङ्गठनबीच वार्ता गराई किसानले पाउनुपर्ने पौष मसान्तसम्मको बक्यौता चैत्र २१ गतेभित्र भुक्तानी गरिसक्ने र अन्य नियमित भुक्तानी जारी राख्ने सहमति भएको बताए। उनले कपिलवस्तुको रामग्रामको जग्गा लिज सम्बन्धमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशन लुम्बिनी विकास कोषको कार्यकारिणी समितिले कार्यान्वयन गरिसकेको जानकारी गराए ।  बचत तथा ऋणको मुख्य कारोबार गर्ने कुनै पनि प्रकृतिको सहकारी सङ्घ, प्रदेश र स्थानीय तहबाट दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय सहकारी संस्थाको नियमनका लागि दोस्रो तहको नियामक निकाय बनाउने कानुनको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिए । 

भारतीय राजदूतले परराष्ट्रमन्त्रीलाई भेटेर दिए बधाई

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भारतीय राजदूतले भेट गरेर बधाई दिएका छन् । परराष्ट्र मन्त्रलयमा भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्रीसँग भेट गरेर बधाई दिएका हुन् । भेटका क्रममा श्रीवास्तवले श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ । भेटमा दुई पक्षीय हितका विभिन्न विषयमा छलफल भएको बताइएको छ । राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । बुधबार साँझ देखि श्रेष्ठले परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका छन् । 

रचनात्मक प्रतिपक्षको भूमिकामा रहन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली काङ्ग्रेसले रचनात्मक रुपमा प्रतिपक्षको भूमिकामा रहन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।  बिहीबार बिहान बसेको संसदीय दलको बैठकले प्रभावकारी रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।  बैठकपछि उनले भने –‘अब कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ । हाम्रा सांसदलाई रचनात्मक रुपमा भूमिका निर्वाह गर्न दलको बैठकले निर्देशन दिएको छ ।’ बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि गरेको लेखकले जानकारी दिए । लेखकले आफुहरुमाथि विश्वासघात भएको दावी गर्दै यसलाई राजनीतिक बेइमानीका रुपमा लिएको टिप्पणी गरे । प्रधानमन्त्री प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि सोमबार नेपाली कांग्रेस सरकारबाट बाहिरिएको थियो । मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयलाई संसदीय दलको बैठकले पनि निरन्तरता दिएको हो ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ ।  प्रतिनिधिसभा ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।तर बैठक अहिलेसम्म सुरु भएको छैन् ।  अहिले सदन सञ्चालन गर्नेबारे छलफल भैरहेको छ । नयाँ राजनीतिक परिर्वतन पश्चात बस्ने पहिलो बैठक भएको कारण तोकिएको समय भन्दा केही ढिलो हुने भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्सदमा शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिंनेछन् ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख २५ हजार

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढिरहेको सुनको मुल्य बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । विहीबार छापावाल सुनको मूल्य बिहीबार थप १५ सय बढ्दै १ लाख २५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो ।  यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै बिहीबार चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।