मिथिलामा आज विवाहपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाहपञ्चमी पर्व मनाइँदैछ ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ । 

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

रङ्गभूमि मैदानमा वर र बधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिने हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।

श्रद्धालु भक्तजन बिहानैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजा अर्चना गर्छन् । यस अवसरमा भजन कीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।

उक्त महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल चार दिन मात्र मनाइन्छ । यसै गरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत रहेको छ ।

भोजपुर कारागारका कैदीबन्दीलाई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट कार्ड’ वितरण

भोजपुर । यहाँको जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीलाई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट कार्ड’ वितरण गरिएकाे छ । जिल्ला प्रशासन कार्यालयको टोलीले कारागारमा रहेका २२ पुरुष र दुई जना महिला गरी २४ जना कैदीबन्दीलाई साेमबार कार्ड प्रदान गरेकाे हाे । कारागार प्रमुख केशव खनालले ‘स्मार्ट कार्ड’ले कैदीबन्दीलाई नागरिक सेवामा पहुँच बढाउने र अभिलेखमा उनीहरूको पहिचान सुनिश्चित भई प्रशासनिक काममा समेत सहज हुने बताए। 

आठौँ बागलुङ महोत्सवमा दुई लाख रुपैयाँ राशीको भलिबल प्रतियोगिता हुँदै

बागलुङ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा पुस ११ देखि २१ गतेसम्म बाङेचौर खेलमैदानमा हुने आठौँ बागलुङ महोत्सवमा दुई लाख राशीको भलिबल प्रतियोगिता हुने भएको छ ।  महोत्सवको प्रमुख आकर्षण गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुनेछ । पुरुषतर्फ प्रथम हुने टोलीले २ लाख १ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने द्वितीय, तृतीय र सान्त्वना टोलीले क्रमशः १ लाख २१ हजार ५ सय, ४४ हजार ५ सय र २२ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् ।  महिलातर्फ विजेता टोलीले ८१ हजार ५ सय तथा उपविजेताले ४१ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । दुवै तर्फ उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार, विधागततर्फ नगद पुरस्कृत गर्ने तथा सेमीफाइनल पुग्ने टोलीलाई भत्ताको व्यवस्था रहने आयोजकले जनाएको छ ।   पुस १२ देखि सुरु हुने प्रतियोगिताबाट प्राप्त आम्दानीबाट खेलकुद कोष स्थापना गर्ने योजना संघले अघि सारेको छ ।

रसुवागढी नाकास्थित 'बेलीब्रिज' निर्माण छिट्टै हुने

रसुवा । नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलीब्रिज तयारीको कामले तीव्रता पाएको छ । दैनिक ३०–३५ जना चिनियाँ कामदारसहितको प्राविधिक समूह आधुनिक उपकरणको समेत प्रयोग गरी उच्च प्राथमिकताका साथ निर्माण प्रक्रियमा जुटेसँगै मितेरी पुलका रुपमा परिचित सो बेलीब्रिज अब छिट्टै बन्ने अवस्थामा पुगेको हो । गत असारमा ल्हेन्देखोलामा आएको बाढीले रसुवागढी नाकास्थित अन्तरराष्ट्रियस्तरको पक्की पुल बगाएपछि चीन सरकारको सहयोगमा निर्माण भइरहेको बेलीब्रिज अबको एक महिनाभित्र तयार भइसक्ने स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको भनाइ छ । चिनियाँ पक्षका अनुसार यसअघि नै तयार गरिसक्ने योजनाका साथ काम सुरु भए पनि लगातारको वर्षासहित नदी तथा खोलामा आएको बाढीका कारण कामले गति लिन नसक्दा निर्माण कार्य ढिलो हुन पुगेको हो । खोलामा पानीको बहाव नघट्दा, बिच्छ्याइएका हिमपाइप पटकपटक बगाउँदा र बेलीब्रिज निर्माणका क्रममा जडान गरिएको फलामका पत्ता एक्कासि लच्केपछि त्यसलाई निकालेर अर्काे जडान गर्नुपर्दा अपेक्षा गरिएअनुसारको समयसीमाभित्र काम पूरा हुन नसकेको सम्बद्ध प्राविधिकको भनाइ छ । स्थानीय बासिन्दाका अनुसार आवश्यक जनशक्तिको व्यवस्थासहित तीनवटा ‘जोमक्रेन’ समेत परिचालन गरिएकाले आगामी ‘डिसेम्बर’ सम्म निर्माणाधीन बेलीब्रिज तयार भई दुई देशबीचको आवतजावत सहज हुनेछ । उच्च रफ्तारका साथ काम गरिरहेको चिनियाँ प्राविधिक टोलीले विकट भूगोल र पूर्वानुमान गरिएभन्दा असहज किसिमको मौसमका कारण काममा विलम्ब भएको स्पष्ट गर्दै समयसीमा किटान नगरीकन यथासक्य छिटो बेलीब्रिज निर्माणमा आफूहरू खटिरहेको स्पष्ट गरेको छ । स्थानीय गोसाइँकुण्ड गाउँपालिका–२ का अध्यक्ष कामीछिरिङ तामाङ उपकरणको व्यवस्थासहित बेलीबिज्र निर्माणमा भइरहेको प्रगति र चिनियाँ पक्षको प्राथमिकतालाई हेर्दा अबको एक महिनामा मितेरीपुल निर्माण सम्पन्न हुने बताउँछन् ।

नेपाली कम्युनिष्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको नेसपाबीच मंसिर ११ गते पार्टी एकता हुने

काठमाडौँ। पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राजेन्द्र श्रेष्ठ संघीय परिषद् अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) बीच मंसिर ११ गते एकता घोषणा हुने भएको छ ।  नेपाली कम्युनिष्ट पार्टीकाअनुसार काठमाडौंको राष्ट्रिय सभा गृहमा दिउँसो एकबजे नेकपा र श्रेष्ठ नेतृत्वको जसपाबीच पार्टी एकता घोषणा हुने भएको हो। यसअघि १० गते गर्ने तयारी गरिएको थियो ।  जसपाको मधेस प्रदेश र लुम्बिनी प्रदेशबाहेकका समितिको बहुमतले पार्टी एकतामा आफूहरुको सहभागिता हुनुपर्ने बताएपछि एकता घोषणा कार्यक्रम एक दिन सारिएको हो ।   भोलि पार्टीको राष्ट्रिय भेला आयोजना गरिएको जसपाका संघीय परिषद् अध्यक्ष श्रेष्ठले बताउनु भयो ।  एकता सभाको तयारीका लागि मङ्सिर १० गते सोह्रखुट्टेस्थित नेपाः राष्ट्रिय बैंकेटमा भेला आयोजना गरिएको छ। एकता समारोहमा नेपाली कम्युनिस्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । 

विवाह पञ्चमीमा जनकपुरधाममा तीन दिन विद्यालय बन्द हुने

जनकपुरधाम । विवाह पञ्चमी महोत्सवको तयारी तीव्र भइरहेका बेला जनकपुरधाम उपमहानगरपालिकाले तीन दिनका लागि उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गराएको छ । उपमहानगरको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले एक सूचना जारी गर्दै विवाह पञ्चमीको अवसरमा यही मङ्सिर ८ गते (सोमबार) देखि १० गते (बुधबार) सम्म विद्यालयको पठन–पाठन बन्द हुने भएको हो । मर्यादा पुरुषोत्तम श्रीराम र माता जानकीको शुभविवाहको स्मरण गर्दै प्रत्येक वर्ष मनाइने सप्ताहव्यपी विवाहको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि ठुलो सङ्ख्यामा श्रद्धालु भक्तजन जनकपुरधाम आउने भएकाले भीड र सरसफाइ व्यवस्थापनका कारण विद्यालय बन्द गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । सूचनामा शाखा प्रमुख अञ्जु पाण्डेयले विवाह पञ्चमी मेलामा सहभागी हुन आउने भक्तजनका लागि बसोबास, स्वच्छता तथा पिउने पानीको व्यवस्था मिलाउन स्थानीय समुदाय, विद्यालय तथा सरोकारवाला सबैलाई सहयोग गर्न आग्रह समेत गरेकी छिन् । जनकपुरधाममा प्रत्येक वर्ष अत्यधिक भीड हुने विवाह पञ्चमी महोत्सव यस वर्ष पनि भव्यतापूर्वक मनाइने तयारी भएको छ ।

जेनजी आन्दाेलनपछि खोटाङमा थपिए तीन हजार ९८५ मतदाता

खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर खुला गरिएको मतदाता नामावली सङ्कलन अभियानका क्रममा खोटाङका तीन हजार ९८५ जनाले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि गठन भएको सरकारले दिएको निर्देशनअनुसार निर्वाचन आयोगले गत असोज ९ गतेदेखि देशभर सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानका क्रममा खोटाङका एक हजार ९२३ महिला र दुई हजार ६२ पुरुषले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउने नयाँ मतदातामध्ये अधिकांश युवा छन् । जिल्लामा मतदाता नामावली दर्ता गराउने अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका छन् । यही मङ्सिर ५ गतेसम्म थपिएका नयाँ मतदातामध्ये कार्यालयमा आएर एक हजार २०३ जना र राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ७८२ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका थिए। जिल्ला निर्वाचन कार्यालयका प्रमुख रविन मगरले जानकारी दिए । “गत कात्तिक १७ गतेसम्म खोटाङमा एक लाख ४४ हजार ३२९ मतदाता कायम भएको थियो । अहिले तीन हजार ९८५ जनाले मतदाता नामावलीमा आफ्ना नाम दर्ता गराए”, उनले भने, “निर्वाचन आयोगले आगामी पुस–१५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । मतदाता नामावलीमा नाम दर्ता गराएर फागुन २० गतेभित्र १८ वर्ष पूरा भएका व्यक्तिले मतदान गर्न पाउँछन् । त्यो सङ्ख्या पुस १५ गते मात्र यकिन हुन्छ ।” जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४२९ मतदातामध्ये ८१० मतदाताले अन्तर जिल्ला मतदान केन्द्र कायम गरिदिन माग गर्दै कार्यालयमा निवेदन दिएको जिल्ला निर्वाचन अधिकारी मगरले जानकारी दिए । यस्तै, नयाँ मतदाता नामावली दर्ताका लागि २७० मतदाताले बाहिर फाराम भरे पनि बायोमेट्रिक गर्न कार्यालय नआएको जनाइएको छ ।

आज अमेरिकी डलर लगायत अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८८ पैसा र बिक्रीदर १४३ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ४९ पैसा र बिक्रीदर १६५ रुपियाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ०७ पैसा र बिक्रीदर १८७ रुपियाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ६५ पैसा र बिक्रीदर १७७ रुपियाँ ३९ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ १४ पैसा र बिक्रीदर ९२ रुपियाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ३२ पैसा र बिक्रीदर १०१ रुपियाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ३५ पैसा र बिक्रीदर १०९ रुपियाँ ८१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १४ पैसा र बिक्रीदर नौ रुपियाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ १० पैसा र बिक्रीदर २० रुपियाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ १० पैसा र बिक्रीदर ३८ रुपियाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ २१ पैसा र बिक्रीदर ३९ रुपियाँ ३७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४१ पैसा र बिक्रीदर चार रुपियाँ ४३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ९० पैसा र बिक्रीदर ३९ रुपियाँ ०६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ४४ पैसा र बिक्रीदर ३४ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७२ पैसा र बिक्रीदर नौ रुपियाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९६ पैसा र बिक्रीदर १५ रुपियाँ ०२ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०३ पैसा र बिक्रीदर २२ रुपियाँ १२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ३६ पैसा र बिक्रीदर १८ रुपियाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपियाँ ८३ पैसा र बिक्रीदर ४६६ रुपियाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपियाँ ९९ पैसा र बिक्रीदर ३८० रुपियाँ ५८ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपियाँ ६० पैसा र बिक्रीदर ३७३ रुपियाँ १६  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सर्वोच्च अदालतमा आगजानी गर्ने दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सर्वोच्च अदालत तोडफोड र आगजनी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सर्वोच्च अदालत तोडफोड, आगजनी गर्ने र सुरक्षाकर्मीको हतियार लुटपाट गरेको अभियोगमा झापाको भद्रपुरका २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थानका ३० वर्षीय सुशील श्रेष्ठलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने, सुरक्षाकर्मीको हतियार लुटपाट तथा प्रदर्शन गर्ने, आपराधिक कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।  पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । 

निर्वाचन सुरक्षा तयारीः तीनै सुरक्षा निकायका सवारीसाधन खरिद गरिँदै

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले तीनै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद प्रक्रियालाई अन्तिम चरणमा पु-याएको छ । अर्थ मन्त्रालयबाट खरिद अनुमति प्राप्त भइसकेपछि सवारीसाधन खरिदको प्रक्रिया तीव्र गतिमा अघि बढाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा आगजनी भएर ध्वस्त भएका अत्यावश्यक सवारीसाधनका स्थानमा नयाँ सवारीसाधन उपलब्ध गराउन अर्थ मन्त्रालयले स्रोत उपलब्ध गराएपछि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको हो । गृह मन्त्रालयका अनुसार चुनावको वातावरण निर्माण तथा सुरक्षाका लागि आवश्यक सवारीसाधनको अभाव नहोस् भन्ने उद्देश्यले निर्वाचनपूर्व नै सबै सवारीसाधन खरिद गरिनेछ । अर्थ मन्त्रालयबाट नेपाल प्रहरीका लागि नियमित बजेटमार्फत १५६ सवारीसाधन खरिदका लागि रु ३५ करोड ११ लाख स्वीकृत भएको छ । अतिरिक्त १०६ सवारीसाधन खरिद गर्न रु ४५ करोड ३० लाख थप स्रोत अनुमतिसमेत उपलब्ध भइसकेको मन्त्रालयले जनाएको छ । नेपाल प्रहरीले चालु आर्थिक वर्षमा कुल रु ८० करोड ४१ लाख बराबरका सवारीसाधन खरिद गर्ने तयारी गरेको छ । नियमित बजेटबाट खरिद गरिने १५६ सवारीसाधनमध्ये ७५ पिकअप भ्यान (नियमित गस्तीका लागि), एउटा प्रिजनर भ्यान, २८ वटा कार्यालय प्रयोजनका सवारीसाधन, ४१ वटा विद्युतीय सवारीसाधन तथा १० वटा एस्कर्ट पिकअप भ्यान रहेका छन् । यस्तै अर्थ मन्त्रालयले सशस्त्र प्रहरीका लागि कुल ५९ सवारीसाधन खरिद गर्न स्रोत अनुमति दिएको छ । जसअन्तर्गत तीनवटा विपद् उद्धारका सवारीसाधन, ५० बोलेरो पिकअप भ्यान, तीनवटा दङ्गा नियन्त्रण ट्रक तथा दुईवटा एम्बुलेन्स रहेको मन्त्रालयले जनाएको छ । यसैगरी राष्ट्रिय अनुसन्धान विभागका लागि ६ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न रु दुई करोड ८० लाख स्रोत अनुमति प्राप्त भएको मन्त्रालयले जनाएको छ । जेनजी आन्दोलनका क्रममा मुलुकभर नेपाल प्रहरीका ४६५ कार्यालयमा क्षति पुगेकामा अहिले ४४९ कार्यालय मर्मत–सम्भारपछि पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी १६ कार्यालय पनि मर्मतको अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले जानकारी दिएको छ । उक्त घटनामा ५७१ विभिन्न किसिमका प्रहरी सवारीसाधनमा क्षति पुगेको थियो । जेनजी आन्दोलनका क्रममा सशस्त्र प्रहरी बल, नेपालका ८४ कार्यालयमा क्षति पुगेको थियो भने ६१ सवारीसाधन पूर्ण रूपमा आगजनीमा परेका गृह मन्त्रालयले जनाएको छ । राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत दुई भवन तथा तीन जिल्ला कार्यालयका भवनमा क्षति पुगेको थियो । त्यस्तै ११ चारपाङ्ग्रे तथा ३० मोटरसाइकलमा क्षति पुगेको थियो । महाशाखाका अनुसार यी क्षतिको अनुमानित लागत करिब रु आठ करोड ९० लाख बराबरको छ ।

तनहुँका कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या

तनहुँ । देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ । यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैं झेल्नुपरेको हो ।  यहाँ उत्पादित सुन्तला तनहुँ, पोखरा, चितवन, काठमाडौसम्म पुग्ने गरेको छ । यस वडाको छिपछिपे, बाटक, छापस्वाँरा, दगरा, लुङ्ग्रिङबाट करोडौ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको कृषक रणबहादुर मगरले जानकारी दिए ।  सुन्तला बजारसम्म पु-याउन भने सधैं समस्या झेल्नुपरेको उनको गुनासो छ । उनले भने, “यहाँका कृषकको मुख्य आम्दानी सुन्तला खेती नै हो । कालीगण्डकी, सेतीमादी र त्रिशुली नदीले घेरिएको उक्त वडामा जान कुनै पनि नदीमा पक्की पुल बनेको छैन ।  पक्की पुल नहुँदा उक्त उत्पादित करोडौं मूल्यको सुन्तला बजारसम्म पु-याउन सकस हुने गरेको छ ।” सुन्तलाको बोटमा रोग लागेर यसवर्ष उत्पादनमा कमी भएपनि आम्दानी भने गत वर्ष भन्दा ३० प्रतिशत बढि भएको उनले बताए। गत वर्षहरुमा मङ्सिरको दोस्रो साता सुन्तला बजार पठाउने गरिएपनि यस वर्ष भने पहिलो सातामै सुन्तला बजार पठाइएको कृषक प्रेमबहादुर मगरले बताए । उनका अनुसार प्रति क्रेट रु एक हजार चार सयमा सुन्तला विक्री भएको छ । उनले भने, “बजारसम्म सुन्तला पु¥याउन बाटो र पुलको अभाव र भरियामार्फत ढुवानी गर्दा बढी खर्च लाग्ने गर्छ । सुन्तला बजार पु-याउन नाल्दी र गाईघाटमा पुल नहुँदा यहाँका किसानले कोटा, बैदी तथा साराङघाटको बाटो प्रयोग गरी दमौली हुँदै काठमाडौ पठाउने गरेका छन् ।” कृषक भीमबहादुर रानाले सिधा सडक सञ्जाल विस्तार नभएकाले घुमाउरो बाटो प्रयोग गर्दा किसानले दोब्बर भाडा तिर्नुपरेको गुनासो गरे । उनले भने, “केही कृषकले मुग्लिन–नारायणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गर्छन् । छापस्वाँरा, दगराका किसानले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा लगेर त्यहाँबाट दमौली हुँदै काठमाडौ लैजाने गरेका छन् ।” सडक पहुँच अभावका कारण यहाँका किसानले बिचौलियाका माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौसम्म बजार विस्तार गर्न बाध्य भएका छन् । यस वडाको लुङ्ग्रिङमा एकै घरबाट रु २० लाखसम्म सुन्तला विक्री हुने गरेको बताइन्छ । यहाँ उत्पादित सुन्तलाका साथै अदुवा, केरा तथा अन्य फलफूल ग्राभिटी रोपवेबाटै राजमार्गसम्म लगेर बजारसम्म पु-याउने गरिएको छ । साथै बाख्रा, कुखुरा तथा अन्य पशुपंक्षीका लागि दाना चोकर पनि त्यहीँबाटै ल्याउने गरिएको छ ।

मुलुक परिवर्तनका लागि जीवन दिने महान सहिद तथा बेपत्ता परिवारलाई न्याय गरेका छौँ: संयोजक प्रचण्ड

नुवाकोट । नेपाली कम्युनिस्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद तथा बेपत्ता परिवारका लागी गर्व गर्न लायक योगदान पुर्‍याएको बताउनु भएकाे छ ।  नुवाकोटको लिखु गाउँपालिका–५ मा निर्माण गरिएको सहिद स्मृति केन्द्र भवन र सहिद स्मृति पार्कको आइतबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले  मुलुकको परिवर्तनका लागि सहिदले पुर्‍याएको योगदानको उच्च प्रशंसासहित आफूले गर्न सक्ने सम्मान प्रदान गरेको बताउनु भयाे ।  जनयुद्धको सफलता, सङ्घीय गणतन्त्र, संविधानसभामार्फत नयाँ संविधान जारी, राज्य पुनः संरचनाको निर्माणलगायत सहिद, बेपत्ता र घाइते योद्धाको बलिदानको उपलब्धि भएकाले त्यसलाई  संस्थागत गर्न सक्ने जति राहत उपलब्ध गराएको उहाँको भनाइ छ । “पहिलो पटक प्रधानमन्त्री हुँदाको पहिलो निर्णय नै जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने थियो । तर, कार्यान्वयनमा ल्याउन सकिएको थिएन ।” प्रचण्डले  भन्नुभयाे, “प्रधानमन्त्री कार्यकालको तेस्रो पटकमा जनयुद्धसहित सबै किसिमका आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्दै राजपत्रमा सूचना प्रकाशित गर्दा गर्व लागेको छ । यसलाई ठुलो उपलब्धि मान्नुपर्छ ।”  बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन तथा कानुन बनाउने विधेयकलाई अन्तिम निर्णयमा पुर्‍याउन सफल भएकाले अबको प्रयास त्यसमा गरिएको परिपूरण कार्यान्वयन गराउन केन्द्रित हुने उनले प्रतिबद्धता जनाउनुभयाे ।  परिपूरणमा सहिद र बेपत्ता परिवारलाई परिचयपत्र प्रदान गर्ने, सार्वजनिक सेवा प्रवाहमा छुट सुविधा उपलब्ध गराउने, परिवारका एक जनालाई रोजगारीको प्रबन्ध मिलाउनेसहित न्यूनतम रु १० लाख प्रदान गर्ने उल्लेख छ । सोही कार्यान्वयनको लागि आफूले प्रयास जारी राखेकाले सहिद र बेपत्ता परिवारलाई न्याय दिन जस्तो सुकै मूल्य चुकाउन पनि तयार हुने उहाँले विश्वास दिलाउनुभयाे ।  परिपूरणको कार्यान्वयन शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने व्यवस्थाअन्तर्गत महत्त्वपूर्ण कदम हुने भएकाले त्यसका लागि अन्तर्राष्ट्रिय नियोगको समर्थन र दातृ निकायबाट आर्थिक सहयोग जुटाइ कार्यान्वयन गराइने उहाँकाे भनाइ छ ।  नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री प्रचण्डबाट यहाँको लिखु गाउँपालिका–५ मा निर्माण गरिएको सहिद स्मृति केन्द्र भवन र सहिद स्मृति पार्कको आइतबारै एकसाथ उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत प्राप्त रु ९० लाख लगानीमा निर्माण गरिएको भवनलाई कार्यालय बनाइएको छ भने स्मृति पार्कमा जनयुद्धको समयमा लिखु गाउँपालिकाबाट दिवङ्गत भएका ११ जना सहिद र बेपत्ता एक जनासहित १२ जनाको शालिकको उनले अनावरण गरिएकाे छ । 

भाेजपुरकाे पौवादुङमाको चाँपे गाउँमा एक घर एक धारा

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीय सहज भएका छन् । गाउँपालिका र वडाको पहलमा पिउने पानीको समस्या झेल्दै आएका ३० घर परिवारमा घरघरमा धारा जडान गरिएको हो । यहाँको पिउने पानीको समस्या रहेको चाँपे गाउँमा ‘एक घर, एक धारा’ जडान गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । पानीको चरम समस्या रहेका स्थानीयलाई लक्षित गरेर पानी वितरण गरिएको उनले बताए । “स्थानीयको पानीको समस्या समाधानको लागि चाँपे गाउँमा पानी वितरण गर्न सफल भएका छौँ”, वडाध्यक्ष तामाङले भने, “यहाँका सबै घरमा शुद्ध पिउने पुगेको अवस्था छ । अब भने यहाँका स्थानीयको वर्षौँदेखिको पानीको समस्या समाधान भएको छ ।” यहाँ गाउँपालिकाबाट रु चार लाख ५० बजेट विनियोजन गरेर स्थानीयलाई पानी वितरण गरिएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । गाउँपालिकामा ठुला–साना विभिन्न खानेपानी योजना सञ्चालन गरेर ‘एक घर एक धारा’ पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको उपाध्यक्ष राईले बताइन् । “यहाँका ३० परिवारको घरमा धारा जडान गर्न सफल भएका छौँ”, उनले भनिन्, “हाम्रो गाउँपालिकाको अन्य वडामा पानीको निकै ठुलो समस्या छ । ठुला योजना सञ्चालनसँगै यहाँका मुहानको संरक्षण गरेर स्थानीयको घरघरमा धारा पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर प्रत्येक घरमा शुद्ध पिउने पानी पुर्‍याइएपछि स्थानीय खुसी भएका छन् । घरमा धारा जडान भएपछि वर्षौँदेखिको पानीको समस्या अन्त्य भएको स्थानीय तारा तामाङले बताइन् । अब भने पानीको जोह गर्नको लागि घण्टौँ समय बिताउनुपर्ने अवस्था नरहेको उनले बताइन् । “घरमा धारा नहुँदा पानीको निकै समस्या थियो”, उनले भनिन्, “अन्यत्रबाट बोकेर ल्याएर पानीको जोह गर्दै आएका थियौँ । घरमा नै धारा जडान भएपछि सहजता भएको छ ।” घरमा धारा नहुँदा घण्टौँ परबाट डोकोमा बोकेर ल्याएर पानीको जोह गर्दै आएको अर्की स्थानीय सङ्गीता राईले बताइन् । घरको आँगनमा धारा जडानले सरसफाइसँगै खेर गएको पानी करेसाबारी प्रयोग गर्दै आएको उनले बताइन् । “विगतमा पानीको जोह गर्न डोको बोकेर ल्याउनुपर्ने अवस्था थियो”, उनले भनिन्, “अहिले धारा जडान भएपछि दैनिक कामकाजमा सहज छ । खेर गएको पानीको सदुपयोग गरेर करेसाबारीमा प्रयोग गरिरहेका छौँ । गाउँपालिकाले गरेको कामले हाम्रो दैनिकीमा परिवर्तन ल्याएको छ ।”

कैफियत देखिएपछि अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना

काठमाडौँ । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ ।  विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो । विभागले आइतबार रुपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुगमन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।  त्यसमा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिने उल्लेख छ ।  ऐनको दफा ३९ मा ‘बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले देहाय बमोजिम जरिवाना गर्न सक्नेछ’ भन्ने व्यवस्था छ । ऐनअनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएको खण्डमा निरीक्षण अधिकृतले अधिकतम रु दुई लाखदेखि रु तीन लाखसम्म जरिवाना गर्न सक्नेछन् ।   यस्तै विभागले तिरुपति फुड प्रोसोसिङ इण्डस्ट्रिज सिदार्थनगर रुपन्देहीलाई पनि रु दुई लाख पाँच हजार जरिवाना गरेको छ ।  विभागले पञ्चकन्या स्टीललाई सामान्य निर्देशन दिएको छ । विभागले आइतबार आकवा मिनरल्स, त्रिकोण वेभरेज, कुण्डपानी प्रशोधन उद्योग, अन्नपूर्ण इन्डस्ट्रिज, एनबि वेभरेज, शुभकामना मिनिरल वाटर एण्ड वेभरेज, चण्डेस्वरी मिनरल वाटर एयड वेभरेल, झरना प्योर ड्रिङकिङ वाटर प्रालि र कीर्तिपुर सहकारी खानेपानी उद्योगमा स्थलगत अनुगमन गरेको थियो ।

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नौ करोड ३० लाख

काठमाडौँ । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जन सहभागिताको उत्साहजनक योगदान भइरहेको छ। आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रु एक करोड एक लाख बराबर रकम कोषमा जम्मा गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे। यसैगरी, एफवान सफ्ट ग्रुप अन्तर्गत एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारीहरूको संयुक्त योगदानको रूपमा रु ७५ लाख बराबरको चेक पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो। सो चेक ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले मङ्सिर ३ गते अर्थमन्त्रीलाई हस्तान्तरण गरेका थिए। अर्थमन्त्री खनालले दुवै कम्पनीलाई भौतिक पूर्वाधार पुनर्निर्माणमा योगदान दिएकोमा विशेष धन्यवाद ज्ञापन गरेका छन्। अर्थमन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आइतबारसम्म उक्त कोषमा जम्मा रकम रु नौ करोड ३० लाख पुगेको छ।

विद्यालयको सम्पत्ति भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको सार्वजनिक सम्पत्ति निजी बोर्डिङ स्कुललाई अवैध रूपमा भाडामा दिई दुरुपयोग गरेको आरोपमा आइतबार ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगका प्रवक्ता राजेद्रकुमार पौडेलका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, समितिका सदस्य पोखरा महानगरपालिका–१ का वडाअध्यक्ष शाहारा प्रधानसहित पाँच सदस्यले अञ्जुली आवासीय माध्यमिक विद्यालयलाई सार्वजनिक सम्पत्ति १२ वर्षका लागि अवैध रूपमा भाडामा दिने निर्णय गरेका आरेप छ । उक्त कार्यमा बोर्डिङ स्कुलका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनिता कुँवर केसी पनि संलग्न रहेको आयोगको ठहर छ । विद्यालय व्यवस्थापन समितिले स्थलगत अध्ययन प्रतिवेदनमार्फत पहिलोपटक ३० वर्षका लागि भाडामा दिन सिफारिस गरेको तथा वि‍.सं. २०८० फागुन २६ गते सदस्यसचिवको अनुपस्थितिमा बसेको बैठकबाट १२ वर्षका लागि भाडामा दिने निर्णय गरिएको आयोगले जनाएको छ । सोही आधारमा त्यही वर्ष फागुन २९ गते दुवै पक्षबीच सम्झौता भई चैत १ गतेदेखि लागू गरिएको थियो । पोखरा महानगरपालिका शिक्षा महाशाखाको प्रतिवेदन र वडा नं १ का वडाध्यक्षले करार खारेज गर्न दिएको निर्देशनले पनि सम्झौता कानुन विपरीत रहेको पुष्टि भएको आयोगले जनाएको छ । सम्झौताअनुरूप विद्यालयको नाम–छाप प्रयोग गरी अञ्जुली आवासीय माध्यमिक विद्यालयबाट रु १५ लाख २९ हजार ४०८ सङ्कलन गरी सार्वजनिक सम्पत्ति दुरुपयोग गरिएकाले सोही बराबरको बिगोसहित कारबाही माग गर्दै आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । आयोगले विद्यालय व्यवस्थापन समितिलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा गलत प्रतिवेदन उपलब्ध गराएको अभियोगमा दफा १९(२) बमोजिम सजाय मागदाबी गरेको छ । यस्तै, बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपललाई अवैध लाभ लिएकाले मतियारका रूपमा दफा २२ बमोजिम सजाय माग गरिएको छ ।