माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ। सिंहदरबारस्थित दलको कार्यालयमा ३ बजेदेखि बैठक बसिरहेको हो।

बैठकमा प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक विषयमा जानकारी गराउने र गठबन्धन फेरिएको विषयमा ब्रिफिङ गर्ने कार्यसूची रहेको छ।

प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रिय सभा अध्यक्षका विषयमा पनि छलफल हुने बताए। राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते गर्ने तयारी छ। त्यस्तै, राष्ट्रिय सभाबाट विदाइ भएका सांसदहरूलाई दलबाट विदाइ गर्ने कार्यक्रम रहेको पनि पाण्डेले जानकारी दिए।

माओवादीका राष्ट्रिय सभाका तीन सदस्यको कार्यकाल फागुन २० मा सकिएको थियो।

हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

काठमाडौं । मैत्रीपूर्ण टी–२० आई क्रिकेटमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ ।  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले सबै विकेट गुमाएर २१२ रन बनाएको हो ।  नेपालका आकाश चन्दले तीन, आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक/एक विकेट लिए । 

नेपाल र हङकङले खेल्दैछन् मैत्रीपूर्ण क्रिकेट

काठमाडौं । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।     नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदै छ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।   त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते  हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुनेछ ।  नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।  आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघले जनाएको छ । रासस

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । नेपालको मौसमा हाल पश्चिमी  न्यूनचापीय  प्रणालीको  आंशिक  प्रभाव  छ । सो प्रभाव रहँदा आज बिहान देशका  पहाडी  भू–भागमा  आंशिक  बदली  रहेको छ । बाँकी  भू–भागको  मौसम  मुख्यतया  सफा  छ  । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी,  वाग्मती तथा  गण्डकी  प्रदेशको  पहाडी  भू–भागमा आंशिक  बदली रहनेछ । बाँकी  भू–भागमा  मौसम  मुख्यतया  सफा  रहनेछ ।  कोसी र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको  पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा  मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।   

राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । शुक्रबार महाशिवरात्रिको अवसरमा राष्ट्रपति पौडेलले पशुपतिनाथमा पुगरे दर्शन गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल धर्मपत्नी तथा प्रथम महिला सविता पौडेलले परिवारसहित अपरान्ह पशुपतिनाथ मन्दिर पुगेका थिए । पशुपतिमा उनको परिवारले पशुपतिनाथको पूजाआराधना गर्नका साथै उनले प्रसाद ग्रहणसमेत गरेका थिए । 

शिवरात्री : माउन्टेन फ्लाइटबाट भारतीय पर्यटकलाई कैलाश–मानसरोवर दर्शन

काठमाडौं । नेपालगन्जबाट माउन्टेन फ्लाइटमार्फत भारतीय पर्यटकलाई महाशिवरात्रीको अवसरमा चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरको र्दशन गराइएको छ । उनीहरूलाई जहाजमार्फत हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको आकाशबाट दर्शन गराइएको हो । नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ‘ट्रिप टु टेम्पल्स’सँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय तिर्थयात्रीलाई कैलाश मानसरोवरको दर्शन गराएको हो । माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाललगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ । कोभिडअघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगन्ज रुटबाट मानसरोवर पुग्ने गरेका थिए । कोभिडपछि भारतीय पर्यटकलाई चीनले भिषा नदिँदा यो रुट सुनसान बनेको छ । जसको सिधा असर सो रुटको पर्यटन ब्यवसायमा परेको छ ।  

सिन्धुलीमा गाडी दुर्घटनाः १२ घाइते, २ गम्भीर

दुधौली। सिन्धुलीको दुधौली– १, हप्ते डाँडामा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका इन्स्पेक्टर केशवकुमार कटवालले प्र २–०४–००१ च ००५६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ फिट तल खसेको बताए । त्यसक्रममा बोलेरोमा सवारमध्ये १२ जना घाइते भएकोमा दुई जना गम्भीर रहेको उनले बताए । घाइते हुनेहरुमा महोत्तरीका पवन यादव, ललितादेवी यादव, रामकुमारी महतो, रामएकचाल सिंह, विवाकुमारी सिंह, चन्द्रकुमारी सिंह, निलम यादव छन् । उनीहरुको वर्दिवासमा रहेको जनसेवा अस्पतालमा उपचार भइरहेको छ । घाइते धिरज सिंह, सोभा सिंह, मञ्जु सिंह, अन्जु सिंह र राम अवतार महतोको भने आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको छ । घाइतेमध्ये धिरज सिंह र सोभा सिंहको अवस्था गम्भीर रहेको इन्स्पेक्टर कटुवालले बताए । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भारतीयले नेपालको फोन पेमार्फत क्यूआर भुक्तानी गर्न पाउने

काठमाडौं । नेपालमा आउने भारतीयहरुले क्यूआर कोड मार्फत भुक्तानी गर्न पाउने भएका छन्। भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरुले नेपालको फोन पेको क्यूआर मार्फत भुक्तानी गर्न पाउने भएका हुन्। भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले शुक्रबार युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपाल–भारत क्रसबोर्डर कारोबार सुरू भएको जानकारी गराएका छन्। भारतको मुम्बईमा गएको सेप्टेम्बरमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यूपीआईमार्फत क्रसबोर्डर भुक्तानीमा सहकार्य गर्न एनआईपीएल र फोन पेबीच सहमति भएको थियो । सोही सहमतिअन्तर्गत भारतीय पर्यटक तथा आगन्तुकले नेपालमा क्यूआर कोडमा आधारित पर्सन-टु-मर्चेन्ट (पीटूएम) भुक्तानी सञ्चालनमा ल्याइएको दुई कम्पनीले जनाएका छन्। यससँगै अब यूपीआई प्रयोगकर्ता भारतीयले नेपालका पसल, होटल, रेष्टुराँलगायत फोन पेमा आबद्ध व्यवसायीलाई क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने भएका छन्। तर, नेपालीका लागि भने यस्तो सुविधा भारतमा उपलब्ध छैन। यो परिघटना दुई मुलुकबीचको क्रसबोर्डर कारोबारमा क्रान्तिकारी रुपान्तरण भएको दुई कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ। नेपालको फोन पेसँगको सहकार्यमा क्रसबोर्डर भुक्तानी सुरू हुँदा त्यसले दुई मुलुकबीचको व्यापार तथा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले बताए। क्रसबोर्डर कारोबारका कारण दुई मुलुकबीचको आर्थिक सम्बन्ध, व्यापार तथा पर्यटनलाई उल्लेखनीय रुपमा बढाउने फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले जनाएका छन्।

यूएई जान लागेका ३ महिला विमानस्थलबाट फर्काइए, एजेन्ट पक्राउ

काठमाडौं । भिजिट भिसामा यू ए ई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको जानकारी दिए । उनले शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि फर्काइएको बताए । महिला पठाउने कार्यक्रम संलग्न रहेको अभियोगमा एजेण्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई नियन्त्रणमा लिइएको शर्माले जनाए । उनीहरु बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका थिए । शर्माका अनुसार पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ । प्रहरीले भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोह नै सक्रिय रहेको बताएको छ । सजिलै काम पाइने प्रलोभनमा विदेश लगेर अलपत्र पार्ने गरिएको भेटिएपछि जाँचमा कडाइ गरेको प्रहरीको भनाई छ । रुसी सेनामा जाने नेपालीलाई पनि एजेन्टले भिजिट भिसामा दूबई लगेर त्यहाँबाट मस्को पठाएको अनुसन्धानबाट देखिएको छ ।

काममा सम्झौता हुँदैन, गृहकार्यमा छौं : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।  लामिछानेले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता नहुने लेखेका छन् ।  उनले लेखेका छन्– ‘चेक लिस्टसहित आएका छौँ । कम्प्रोमाइज हुन्न । केही समय होम वर्कमा रहनेछौँ ।’ 

सेनाको योगदान गौरवपूर्ण छ  : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेनाले पु¥याएको योगदान गौरवपूर्ण रहेको बताएका छन् । उनले राष्ट्र र जनताको जीवन रक्षार्थ विभिन्न कालखण्डमा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गर्नुभएका सम्पूर्ण सैनिकप्रति भावपूर्ण श्रद्धाञ्जली  व्यक्त गरे। दुई सय ६१ औँ सेना स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री दाहाल प्रचण्डले नेपाली सेना संविधान र कानुन प्रदत्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै राष्ट्र र जनताको सुरक्षामा निरन्तर समर्पित रहँदै आएको बताए । सन्देशमा उनले भनेका छन्–आगामी दिनमा ऐतिहासिक परिवेश र परिदृश्यहरूको विश्लेषण तथा भविष्यका चुनौतीलाई सूक्ष्म निगरानीगर्दै देश र जनताको रक्षार्थ आफूलाई उभ्याउनेछ भन्ने विश्वास लिएको छु । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय शान्ति, विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, खेलकूद तथा विकास निर्माण, निर्वाचन सुरक्षालगायतका क्षेत्रमा नेपालीसेनाले आर्जन गरेको ख्याति, प्रदर्शन गरेको वीरता र अपनाएको व्यावसायिकता प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ ।

पाशुपत क्षेत्र आसपासमा यस्तो छ सवारी रुट र पार्किङ

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास दर्शनार्थीहरूको भीडभाड हुने भएकाले सवारी साधनलाई डाइभर्सन गरिएको छ। गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ। त्यसैगरी मालवाहक सवारी साधनहरूलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिएको छ। गौशाला क्षेत्रमा शिवरात्रिका दिन शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले सबैलाई आग्रहसमेत गरेका छन्। उनका अनुसार महाशिवरात्रि मेलाको ट्राफिक व्यवस्थापन गर्नको लागि ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ। प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाइभर्सन ड्यूटी लगायतमा ट्राफिक प्रहरी परिचालन गरिने छ। पशुपति दर्शनमार्ग आवश्यकता अनुसार डाइभर्सन गरिने स्थानहरु चाबहिलबाट गौशालातर्फ । पुरानो बानेश्‍वरबाट गौशालातर्फ । ज्ञानेश्‍वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ । द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग । सिफल चौरबाट जयबागेश्‍वरीतर्फ । लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ । गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ । तिलगंगाबाट गौशालातर्फ । मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ । जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ । सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग । जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ । मालबाहक सवारी साधनलाई गरिने डाइभर्सन कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडीबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने । कोटेश्वर तिनकुने हुँदै पशुपति वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने । महाराजगंज, चाबहिल हुँदै पशुपति वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने । कोटेश्‍वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने । पार्किङ्गको व्यवस्थापन गरिएका स्थानहरु बौद्ध, साँखु, सुन्दरीजलतर्फबाट आउने व्यक्तिहरुका लागि गुह्येश्वरी भन्दा माथि यातायात कार्यालय सँगै रहेको जग्गामा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ । सिफल चौर (दर्शानार्थीहरुको) कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु) भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु) तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु) वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु) गुह्येश्‍वरी पारि (तीर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)

आज ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

काठमाडौं ।आज ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउँदै आइएको छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन सुरु गरिएको हो । यस वर्षको महिला दिवसको नारा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ। नेपालमा पनि आज यो दिवसका अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्। विशेषगरी महिला संघसंस्थाले आज विविध कार्यक्रम गर्दैछन्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। यस वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको लागि संयुक्त राष्ट्र संघबाट "Invest in Women: Accelerate Progress" भन्‍ने अन्तर्राष्ट्रिय नारा र “महिलामा लगानी : सभ्य र समुन्‍नत समाजको थालनी” भन्‍ने राष्ट्रिय नारा तय  गरिएको छ। 

नेपाली सेनाको २६१औं स्थापना दिवस, सैनिक मञ्च टुँडीखेलमा मनाइदै

काठमाडौं। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति समेत हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड शस्त्राभ्यासे तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुती हुनेछ । जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानुनको परिधिभित्र रही स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीको सङ्गठन रहेको भन्दै शुभकाना व्यक्त गरेका छन् । सङ्गठन स्थापना दिवसका अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै उनले सदैव व्यक्तिभन्दा संस्थामाथि रहने पक्ष स्मरण गराँउदै पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नविर्सन सुझाव समेत दिएका छन् ।  

आज महाशिवरात्रि

काठमाडौं । आज महाशिवरात्रि विभिन्न शिव मन्दिरहरुमा शिवको पुजा आरधना गरेर मनाइदैछ ।  शिवरात्रिका लागि  पशुपतिनाथ मन्दिर क्षेत्र सजाइएको छ । पशुपतिमा हिजो साँझ देखि नै श्रद्धालु भक्तजनको घुँइचो रहेको छ । 

तेस्रो रोजवड आर्ट्स एग्जीबिशन २०८० सम्पन्न

काठमाडौं । रोजवड स्कुलद्वारा आयोजित तेस्रो रोजवड आर्ट्स एग्जीबिशन २०८० सम्पन्न भएको छ ।  काठमाडौंको बुद्धनगरमा रहेको रोजवड स्कुलले नेपाल आर्ट काउन्सिल बबरमहलमा  आयोजना गरेको रोजवड आर्ट्स एक्जिविशन २०८० भव्यरुपमा सम्पन्न भएको हो ।  फाल्गुन २० देखि २४ गतेसम्म चलेको प्रदर्शनीमा कलाकारहरु , विदेशीहरु  र अभिभावकहरुले अवलोकन गरेका थिए ।  प्रदर्शनीमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले बनाएको कलाहरु प्रदर्शनमा राखिएको थियो ।  मण्डला लिप्पन आर्ट , अफ्रिकन आर्ट र हस्तकला सम्बन्धी कला समेटिएको प्रदर्शनी  बिहान १० बजेदेखि साँझ ४ बजे सम्म पाँच दिन चलेको थियो । आर्ट्स शिक्षिका पुष्पान्जली थापा लगायत अन्य दुई शिक्षकले विद्यार्थीहरुलाई लामो समयदेखी रोजवडमा आर्ट सिकाइरहेका छन् ।