पाेखराकाे सराङकोटमा जैविक मल उत्पादन सुरु
पाेखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह सराङकोटले जैविक मल उत्पादन सुरु गरेको छ ।
सो समूहले वन क्षेत्रमा थुप्रिएको पातपतिङ्गर र झाडी सङ्कलन गरी जैविक मल उत्पादन सुरु गरेको हो । वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा माटोको उर्वराशक्ति वृद्धि गर्दै प्राकृतिक स्रोत उपयोग गरेर हरित रोजगार सिर्जना गर्ने मुल उद्देश्यका साथ समूहले जैविक मल उत्पादनमा जोड दिएको समूहका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार समूहले वन क्षेत्रको अँधेरीकुनामा सङ्कलन गरेको वन पैदावारलाई नवीनतम् प्रविधि प्रयोग गरी मलमा परिणत गरेको छ । समूहले पहिलो पटक ३५ हजार किलो मल उत्पादन गरेर बिक्री गरेको छ ।
ठोट्ने खोला कृषि सहकारी संस्था लिमिटेडमार्फत् समूहले बजारीकरण गरिरहेको छ । जैविक मल प्रति किलो २५ रुपैयाँ र गडेँउले (वर्मि) मल प्रति किलो ४० रुपैयाँमा बिक्री हुँदै आएको छ । समूहले पहिलो पटक उत्पादित मल बिक्री गरी १३ हजार रुपैयाँ आम्दानी गरेको छ ।
अध्यक्ष श्रेष्ठले भने, “जैविक मल प्रयोगले माटोको जैविक तत्व वृद्धि गर्ने, उर्वराशक्ति दिगो राख्ने र रसायनिक अवशेषमुक्त उत्पादनलाई प्रोत्साहन गर्नेछ ।” सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको ‘एक वन, एक उत्पादन’ अभियान अन्तर्गत सुरु गरिएको परियोजनाबाट हरित रोजगार सिर्जना हुनाका साथै जैविक कृषि अभ्यास बढ्ने र वातावरण अनुकूलन उत्पादन प्रणाली विस्तार हुने उनले बताए ।
पातपतिङ्गरलाई आधुनिक मेसिनद्वारा कटिङ गरी सानो आकारको बनाएर हरियो प्लाष्टिक टनेल भित्र राखिन्छ । सो टनेलमा गँड्यौलाको प्रयोग गरी मल बनाउने गरिन्छ ।
सो कार्यका लागि जैविक विविधता अनुसन्धान र विकास पहल (लिवर्ड) ले २५ हजार गँड्यौलासहित आवश्यक भौतिक संरचना निर्माणमा सहयोग गरेको छ ।
हरियो पातपतिङ्गरको प्रति केजी तीन र सुकेको प्रति केजी पाँच रुपैयाँका दरले वन समूहले खरिद गर्दा चार लाख रुपैयाँ भन्दा बढी खर्च भएको जनाइएको छ ।
गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनालय माटो तथा मल गुणस्तर परीक्षण प्रयोगशालाको प्रतिवेदन अनुसार आवश्यक मापदण्ड पूर्ण भएको प्रमाणित भइसकेको छ ।
उत्पादित मलमा चिस्यान ८ दशमलव १, पिएच ६ दशमलव २, नाइट्रोजन १ दशमलव ३, फस्फोरस ० दशमलव ५, पोटासियम ३ दशमलव ०३ र कार्वन २५ दशमलव ३४ प्रतिशत रहेको प्रयोगशालाको प्रतिवेदनमा उल्लेख छ ।
समूहका सदस्य एवम् कृषि प्राविधिक प्रशान्त श्रेष्ठकाअनुसार समूहले कौशीखेतीका लागि पाँच र कृषिका लागि २० केजीको मलको प्याकेट तयार गरेको छ ।
उनले डिभिजन वन कार्यालय कास्कीले भौतिक पूर्वाधार निर्माणका लागि चार लाख ५० हजार रुपैयाँ र गण्डकी जलाधार जलवायु उत्थानशील कार्यालयले कृषि पाठशाला सञ्चालनका लागि तीन लाख ५० हजार रुपैयाँ प्राप्त भएको जानकारी दिए ।
८६ दशमलव ७५ हेक्टरमा फैलिएको उक्त वनमा हाल १९२ घरपरिवार उपभोक्ता छन् । गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लास्थित विनयत्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वन समूहले विगतदेखि जैविक मल उत्पादन गर्दै आएको छ ।
पछिल्लो समय गाउँपालिकाले अपनत्व लिएको सो उद्योगमा हाल ८० जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेको समूहले जनाएको छ ।
कारागारबाट भागेका चार हजार ८५७ कैदीबन्दी अझै फरार
काठमाडाैं । जेन–जी आन्दोलनका क्रममा भागेका नाै हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेन–जी आन्दोलनका क्रममा भागेका र फरार भएका चार हजार ८५७ जना अझै बाहिरै छन् । उनीहरूलाई फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको उनले बताए । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकलाई गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन् ।
इमरान खानको स्वास्थ्यबारे स्पष्ट पार्न सरकारसँग आग्रह
इस्लामाबाद । पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) पार्टीले हिरासतमा रहेका संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्य सम्बन्धी बढ्दै गएको ‘अफवाह’का बिच उनकै सुरक्षाबारे औपचारिक र पारदर्शी स्पष्टीकरण तुरुन्तै दिन सरकार समक्ष अनुरोध गरेको छ । पार्टीले डन दैनिकलाई उद्धृत गर्दै इमरान खान र उनको परिवारबिच छिटोभन्दा छिटो भेटको व्यवस्था मिलाउन पनि माग गरेको छ । हालैका दिनमा इमरान खानका बहिनीलाई अडियाला जेलमा भेट्न अनुमति नदिँदा परिवारजन र समर्थकबिच गम्भीर चिन्ता बढेको छ । बहिनीलाई उनको वास्तविक अवस्थाबारे सोधपुछ गर्न र जेल प्रशासनले स्पष्ट धारणा नदिएकाले सुविधा बाहिरै धर्ना दिनसमेत आग्रह गरिएको थियो । डनका अनुसार यी सबै शङ्का सामाजिक सञ्जाल एक्समा तीव्ररूपमा फैलिएका अप्रमाणित दाबीसँग जोडिएका हुन् । केही भारतीय सञ्चार माध्यमले समेत इमरानको स्वास्थ्य र सम्भावित निधनसम्बन्धी आधारहीन समाचार विस्तार गरेपछि ‘इमरान खान कहाँ हुनुहुन्छ ?’ ह्यास ट्याग बिहीबार बिहान प्लेटफर्ममा व्यापकरूपमा ट्रेन्ड भएको थियो । एक्समै जारी गरिएको विज्ञप्तिमा पिटिआईले ‘अफगान तथा भारतीय मिडिया र विदेशी सामाजिक मिडिया खाताबाट इमरान खानको अवस्थाबारे घृणास्पद प्रकृतिका अफवाह फैलाइएको’ आरोप लगाएको छ । पार्टीले वर्तमान सरकार र गृह मन्त्रालयले यी सबै दाबीलाई तुरुन्तै खण्डन गर्न, तथ्यसहित जनतालाई जानकारी गराउन तथा परिवारसँग तुरुन्तै भेटको व्यवस्था मिलाउन आग्रह गरेको छ । पार्टीले भनेको छ, “इमरान खानको स्वास्थ्य, सुरक्षा र वर्तमान स्थितिसम्बन्धी राज्य पक्षबाट पारदर्शी र आधिकारिक विवरण सार्वजनिक हुनु अनिवार्य छ ।” साथै, यस्तो संवेदनशील विषयमा अफवाह फैलाउनेको छानबिन गरी सत्य बाहिर ल्याइनुपर्ने मागसमेत पार्टीले गरेको छ । विज्ञप्तिमा भनिएको छ, “राष्ट्रले आफ्ना नेताको अवस्थाबारे कुनै पनि अनिश्चितता सहन सक्दैन ।” पिटिआईले पुनः सरकारलाई ‘इमरान खानको सुरक्षा, मानवअधिकार र संवैधानिक अधिकारको रक्षा सुनिश्चित गर्न’ स्मरण गराउँदै आफू सत्यको खोजीमा प्रत्येक कानुनी र राजनीतिक विकल्प प्रयोग गर्न तयार रहेको स्पष्ट पारेको छ । पार्टी नेत्री मेहर बानो कुरेसीले पनि इमरान खानसम्बन्धी अफवाहलाई अत्यन्त चिन्ताजनक बताउँदै एक्समा लेखेका छन्, “खान साहेबको सुरक्षाको पूर्ण जिम्मेवारी सरकारकै हो र राष्ट्रलाई अद्यावधिक जानकारी दिनु यसको कर्तव्य हो ।” उनले इमरान खानका बहिनी, वकिल तथा पार्टी नेतालाई भेट्न अनुमति दिनु नै ‘सबैभन्दा विश्वसनीय र पारदर्शी उपाय’ भएको बताए । यसबिच, रक्षामन्त्री ख्वाजा आसिफले बढ्दो अनुमानबारे टिप्पणी गर्दै एउटा पुरानो भिडियोको सन्दर्भ दिए । जसमा इमरान खानले पूर्व प्रधानमन्त्री नवाज सरिफले जेलमा सुविधा मागेको भन्दै आलोचना गरेका थिए । आसिफले इमरानकै जेल कोठामा ‘टेलिभिजन, बाहिरबाट ल्याइने भोजन तथा व्यायामका मेसिनको व्यवस्था रहेको’ दाबी गरे । आफू जेलमा हुँदा कम्बल अभाव र तातो पानी नपाई चिसो भुइँमा सुत्नु परेको अनुभव सुनाउँदै उनले भने, “इमरानलाई दोहोरो ओछ्यान र मखमली सिरक उपलब्ध छ, जेल सुपरिटेन्डेन्टले व्यक्तिगत रूपमा हेरचाह गर्छन् ।” आसिफले यस अवस्थालाई व्यङ्ग्य गर्दै भने, “इमरान खानले जेलको लाउडस्पीकरमै आफ्ना भाषण सुन्नुपर्छ, उनले भगवानसँग डराउनुपर्छ ।” ७३ वर्षीय इमरान खान सन् २०२३ अगस्टदेखि हिरासतमा हुनुहुन्छ र हाल १९ करोड पाकिस्तानी रूपियाँको भ्रष्टाचार मुद्दामा अडियाला जेलमा थुनामा छन् । सन् २०२३ मे ९ को घटनासँग सम्बन्धित आतङ्कवाद विरोधी ऐनअन्तर्गत उनिमाथि थप मुद्दासमेत दायर गरिएका छन् । उनको स्वास्थ्य र सुरक्षाबारे पिटिआईले निरन्तर चिन्ता व्यक्त गर्दै आएको डनले उल्लेख गरेको छ ।
विराटनगरकाे एकता सन्देशसभामा उदयपुरले भव्य शक्ति प्रदर्शन गर्ने
उदयपुर । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले कोशी प्रदेश राजधानी विराटनगरमा आगामी मंसिर १५ गते आयोजना हुन लागेको एकता सन्देशसभामा जिल्लाबाट करिब दुई हजार नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुक सहभागी गराउने भएको छ । जिल्लास्थित नेकपाको बिहीबार बसेको संयुक्त बैठकले विराटनगरमा हुने सन्देशसभालाई पार्टी एकताको शक्तिशाली प्रदर्शनका रूपमा प्रस्तुत गर्ने लक्ष्यसहित आठवटै स्थानीय तहबाट सहभागी जुटाउने निर्णय गरेको हो । तत्कालिन नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक तथा अहिले नवगठित नेकपा उदयपुरका नेतृत्वकर्ता द्रोण पौडेल ‘निरज’ ले प्रदेश पार्टीले जिल्लालाई सात सयको मात्र कोटा तोके पनि संयुक्त बैठकले झन्डै दुई हजार सहभागी लैजाने सहमति भएको जानकारी दिए । उनले भने, “एकतामा सहभागी भएका पूर्व माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेकपा चिरन सि समूहलगायत विभिन्न घटकहरू अहिले एउटै संरचनामा संगठित भएका छन् । यही एकतालाई विराटनगरको सभामा शक्तिशाली रूपमा देखाउनेछौँ । उदयपुरमा एकता भेला मंसिर २० गते आयोजना गर्ने तयारी पनि भइरहेको छ ।” यसअघिको तयारी बैठकलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य बलदेव चौरीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका त्रुटिपूर्ण निर्णयहरूका कारण ‘जेन–जी’ आन्दोलन जन्मिएको दाबी गरे । उनका अनुसार, नयाँ राजनीतिक परिस्थिति र जेन–जी आन्दोलनको उभारले कम्युनिस्ट शक्तिलाई पुनः ध्रुवीकृत गर्दै नयाँ नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्न प्रेरित गरेको हो । चौरीले भने, “जेन–जी आन्दोलनले उठाएका मुद्दा आज नेपाली कम्युनिस्ट पार्टीका मूल एजेन्डा बनेका छन् । अब देशलाई नयाँ दिशा दिने गरी एकीकृत कम्युनिस्ट आन्दोलन अघि बढ्छ ।” त्यसैगरी बैठकका प्रमुख अतिथि तथा नेकपा केन्द्रीय सदस्य हरिबोल गजुरेलले हरेक ठूलो आन्दोलनपछि कम्युनिस्ट आन्दोलनमा नयाँ ध्रुवीकरण हुने विशेषता दोहोरिने उल्लेख गरे । उनले २०४६ सालको जनआन्दोलनपछि देखिएको कम्युनिस्ट विभाजन र त्यसपछि बनेका दुई धाराले देशलाई क्रमशः गणतन्त्र र कम्युनिस्ट सरकारको अनुभूति दिलाएको ऐतिहासिक उदाहरण स्मरण गरे । गजुरेलले भने, “जेन–जी आन्दोलनपछि पनि कम्युनिस्टबीच फेरि एकता भएको छ । अहिलेको यो एकता संविधानको रक्षा गर्दै देशलाई समाजवादको बाटोमा लैजाने उद्देश्यसहित अघि बढेको छ । समाजका संरचनागत समस्याको समाधान समाजवादी मार्गबाट मात्रै सम्भव छ ।” एकतापछि उदयपुरमा बसेको यो संयुक्त बैठक सबै घटकको उपस्थिति रहेको पहिलो औपचारिक बैठक हो । बैठकले पार्टी संरचना सुदृढीकरण, विराटनगर सभाको तयारी, र जिल्लास्तरीय एकता कार्यक्रमको व्यवस्थाबारे विभिन्न निर्णयहरू पनि गरेको जानकारी दिइएकाे छ ।
राष्ट्र बचाउन र समाजवादको यात्रा अगाडि बढाउन हामी कुनै जेनजी युवा भन्दा कम छैनौँ : संयोजक प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले सक्रिय राजनीतिमा रहँदा पनि पदमा भइरहनु पर्छ भन्ने पक्षमा नभएको बताएका छन् । उमेरले उत्तरार्धमा पुगिसक्दा पनि राष्ट्र बचाउने र समाजवादको यात्रामा कुनै युवा भन्दा कम नभएको दाबी गर्दै उनले युवा पुस्ताको असली अभिभावक बन्न चाहेको बताए । बिहीबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यो भावना व्यक्त गरे । 'हुन त उमेरको हिसाबले उत्तरार्धमा छिरिसक्यौं । राष्ट्र बचाउने कुरामा र समाजवादको यात्रा अगाडि बढाउन कुनै जेनजि युवा भन्दा कम छैनौं । जेनजि युवाहरूको असली अभिभावक बन्न चाहन्छौं,' उनले भने । उनले पदको मोह नभएको स्पष्ट पार्दै थपे, 'पदमा भइरहनु पर्छ भन्ने छैन । सक्रिय राजनीति गर्ने वातावरण बन्यो भने पद ठूलो कुरा छैन । संसारभरका उदाहरण पनि छन् ।' यो सम्बोधनले पार्टीभित्र नयाँ पुस्तालाई प्राथमिकता दिने सङ्केत गरेको छ । एकतापछि नेकपाले युवा नेतृत्वलाई अगाडि सार्ने रणनीति बनाएको स्रोतहरूले जनाएका छन् ।
कृष्णबहादुर महरा रिहा, २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
काठमाडौं। भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।अदालतको आदेशअनुसार महरा रिहा भइसकेका छन् । न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले सोमबार यो फैसला गरेको हो । काठमाडौं जिल्ला अदालतले गत असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । २०७९ पुस १० गते चिनियाँ नागरिक ली हाओसोङले इलेक्ट्रिक चुरोट 'भेप' मा लुकाएर तस्करी गरेको सुन प्रकरणमा महराविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो । महराले यस प्रकरणमा आफ्नो लगानी वा संलग्नता नभएको अस्वीकार गर्दै आएका छन् । सरकारी वकिल कार्यालयले महराविरुद्ध संगठित अपराध निवारण ऐन र भन्सार ऐनअन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो माग गरेको थियो । उच्च अदालतको यो आदेशपछि महराको रिहाइको बाटो खुलेको छ, तर मुद्दाको अन्तिम टुङ्गो लाग्न बाँकी छ ।
एकता सन्देशसभामा हजारौँ सहभागिता रहन्छ, कसैले व्यंग्य गर्नुपर्दैन : माधवकुमार नेपाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले पार्टीप्रति आम नागरिकको आकर्षण दिनानुदिन बढ्दै गएको बताउँदै सुदूरपश्चिम प्रदेशमा २० हजारभन्दा बढीको सहभागितामा सन्देश सभा आयोजना गर्ने योजना सार्वजनिक गरेका छन् । बिहीबार राष्ट्रिय सभागृहमा सम्पन्न एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको 'एकता असफल हुन्छ' भन्ने भनाइप्रति व्यंग्य गर्दै यो एकता तीव्र गतिमा सफलतातर्फ अघि बढिरहेको दाबी गरे । 'यो एकता सफल हुँदैन भनेका थिए । तर दिन बितेको छैन, हप्ता बितेको छैन, महिना बितेको छैन । यो अत्यन्तै उचित थियो भन्ने कुरा पुष्टि भइरहेको छ । भोलिदेखि हामी सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौं,' उनले भने । शुक्रबारदेखि सुरु हुने सन्देश सभाको पहिलो चरण सुदूरपश्चिमको धनगढीबाट हुने उल्लेख गर्दै नेपालले स्थानीय नेताहरूले १०-२० हजारभन्दा बढी उपस्थितिको तयारी गरेको बताए । 'धनगढीमा सुदूरपश्चिमका नेताहरू बसेर दशौं-बीसौं हजारभन्दा बढी संख्यामा उपस्थित गराउने गरी लाग्नुभएको छ । आशावादी हुनुभएको छ, अभियान चलाउनुभएको छ । सुदूरपश्चिमका नेताहरू, तपाईंहरूको परीक्षा त्यहीँ हुन्छ,' उनले स्थानीय नेतृत्वलाई अपिल गर्दै भने । यो घोषणाले नेकपाको एकतापछि राष्ट्रिय स्तरमा अभियान विस्तारको सङ्केत गरेको छ । पार्टीका अन्य नेताहरूले पनि यो अभियानमा जनसहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मुस्कान खातुन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश: भन्छिन्, 'अनुहार जलेपनि सपना जलेको छैन'
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी तेजाब आक्रमण पीडित तथा मानवअधिकार अभियन्ता मुस्कान खातुनले आफूमाथि भएको आक्रमणले अनुहार त जलाइदियो, तर सपना भने नजलेको बताएकी छन् । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले यो भावना व्यक्त गरिन् । 'जसले मलाई तेजाब आक्रमण गरेको थियो, उसले मेरो अनुहार जलाइदियो, तर मेरो सपना जलाएको छैन,' उनले भनिन् । उनले युवा पुस्तालाई एकजुट हुन आग्रह गर्दै भनिन्, 'सम्पूर्ण जेनजीलाई भन्न चाहन्छु, जसरी अघि आउनुभएको छ, यो पाइला पछि नपार्नुहोला । अवश्य पनि देश परिवर्तन हुनेछ ।' मुस्कानले नेपालमा महिलाहरूले भोग्नुपरेका विभिन्न प्रकारका हिंसाको अन्त्यका लागि निरन्तर संघर्ष गरेको उल्लेख गर्दै तेजाब आक्रमण मात्र होइन, अन्य हिंसाहरू पनि उत्तिकै गम्भीर समस्या भएको बताइन् । 'यो हिंसालाई अन्त्य गर्नुपर्छ भनेर मैले पाँच वर्षसम्म लगातार काम गरेँ र तेजाब आक्रमण रोक्न सफल पनि भएँ । तर तेजाब आक्रमण मात्र हिंसा होइन, दिदीबहिनीहरूले धेरै प्रकारका हिंसा खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसाको अन्त्य जरुरी छ,' उनले थपिन् । मुस्कानको सम्बोधनको मुख्य अंश मेरो नाम मुस्कान खातुन हो । म तेजाब आक्रमणविरुद्धको अभियन्ता तथा मानवअधिकारकर्मी हुँ । आजभन्दा पाँच वर्षअघि मसँग तेजाब आक्रमण भएको थियो । यो हिंसालाई अन्त्य गर्नुपर्छ भनेर मैले पाँच वर्षसम्म लगातार काम गरेँ र तेजाब आक्रमण रोक्न सफल पनि भएँ । तर मलाई लाग्छ, तेजाब आक्रमण मात्र हिंसा होइन । दिदीबहिनीहरूले धेरै प्रकारका हिंसा खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसाको अन्त्य जरुरी छ । आज म जेनजि भएकाले सम्पूर्ण जेनजिका विचार बुझेर भन्न चाहन्छु । जेनजिले चाहेको हाम्रो देश प्रगतिशील होस् । देशमा भएको भ्रष्टाचारको अन्त्य होस् भन्ने चाहना छ । म नेपाली कम्युनिस्ट पार्टीमा जोडिएको छु । सम्पूर्ण जेनजिलाई अनुरोध गर्छु कि हामी एकताबद्ध हुन जरुरी छ । हामी एकजुट भए देश प्रगति गर्नेछ, भ्रष्टाचारको अन्त्य हुनेछ र भायोलेन्स पनि समाप्त हुनेछ । हामी एकजुट भएर काम गरौं । देशका लागि बाँचौं, देशका लागि मरौं । म नेपाली भएकाले सबैभन्दा पहिला हाम्रो देश चिनिन्छ । हामी नेपाली हुँ भनेर गर्व गर्न जरुरी छ । माटोलाई पहिचान गर्न जरुरी छ । जुनसुकै देशमा भए पनि 'म नेपाली हुँ' भनेर गर्व गर्न जरुरी छ । यहाँ उपस्थित प्रचण्ड र माधवकुमार नेपालज्युलाई धेरै–धेरै धन्यवाद । जाँदाजाँदै के भन्न चाहन्छु भने, जसले मलाई तेजाब आक्रमण गरेको थियो, उसले मेरो अनुहार जलाइदियो, तर मेरो सपना जलाएको छैन । सम्पूर्ण जेनजिलाई भन्न चाहन्छु, जसरी अघि आउनुभएको छ, यो पाइला पछि नपार्नुहोला । अवश्य पनि देश परिवर्तन हुनेछ । नेकपा एकतामा जोडिएकी मुस्कानको यो सम्बोधनले युवा पुस्तामा उत्साह जगाएको छ । पार्टीका नेताहरूले उनको योगदानको प्रशंसा गर्दै हिंसामुक्त समाज निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यी हुन् नेपाली कम्युनिष्ट पार्टीमा आज समाहित हुने विभिन्न पार्टी तथा समूह
काठमाडौं,– नेपालको वामपन्थी राजनीतिमा नयाँ अध्याय थप्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा चार प्रमुख समूहहरू आज औपचारिक रूपमा समाहित हुँदैछन्। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरुले समाहित हुने पार्टी तथा समूहलाई स्वागत गर्ने र सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ । जनता समाजवादी पार्टी (जसपा) को एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह यी समूहहरू हुन्। यो एकीकरणले नेकपालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृह, काठमाडौंमा सुरु भएको छ । कार्यक्रममा राजेन्द्र श्रेष्ठको नेतृत्वमा जसपा एकीकरण पक्षधर समूह र शरद रसाइलीको नेतृत्वमा नेकपा माओवादी विद्रोही समूह समाहित हुने आयोजकहरूले जनाएका छन्। यस एकीकरणले मधेसवादी र कम्युनिस्ट धारबीचको साझा मोर्चालाई मजबुत बनाउने राजनीतिक विश्लेषकहरूको भनाइ छ। नेकपामा समाहित हुने प्रमुख समूह र नेताहरू एकता कार्यक्रममा सहभागी हुने समूह तथा व्यक्तिहरूको विवरण निम्नानुसार छ: क्र.सं. समूह/व्यक्तित्वको नाम विवरण १ जनजागरण पार्टी नेपाल वीपी खनालको अध्यक्षतामा पूरै पार्टी समाहित हुँदै। २ नेकपा (बहुमत) विद्रोही समूह गोपाल परियारसहितको टिम समाहित। ३ नेकपा (माओवादी) विद्रोही समूह शरद रसाइलीसहितको टिम समाहित। ४ जेनजी समूह मुस्कान खातुनको नेतृत्वमा १०० जना सदस्य समाहित। ५ जसपा एकीकरण पक्षधर समूह अध्यक्ष राजेन्द्र श्रेष्ठसहित नेताहरू: रणध्वज कन्दङ्वा, परशुराम बस्नेत, दुर्गामणि देवान, डा. पुस्पराज कर्णिकार, कृष्णबहादुर धजु, अशोककुमार यादव, कमला विश्वकर्मा, प्रेम नारायण थापा, लाल बहादुर तामाङ, कर्णबहादुर बुढा मगर, न्हुच्छेलाल महर्जन र पंचलाल महर्जन। यो एकीकरणपछि नेकपाको संगठनात्मक संरचना र राजनीतिक प्रभावकारिता बढ्ने बताइएको छ।
जसपाका मधेश प्रदेश अध्यक्ष अशोककुमार यादव गरे पार्टी परित्याग, नेकपामा प्रवेश गर्ने तयारी
काठमाडौं – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले पार्टी परित्याग गरेका छन्। मधेस केन्द्रित दलहरूबाट अब मधेसको विकास र अधिकारको रक्षा सम्भव नभएको निष्कर्ष निकालेर उनले यो कदम चालेका हुन्। आज जारी गरेको विज्ञप्तिमा यादवले जसपाको मधेस प्रदेश समिति अध्यक्ष तथा साधारण सदस्य पदबाट तत्काल राजीनामा दिएको घोषणा गरेका छन्। यादव विगतमा जसपा सर्लाहीबाट मधेस प्रदेशसभामा निर्वाचित सांसद थिए। नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नका लागि उनले जसपा छाडेको नेकपाका एक नेताले जानकारी दिए।
नेपाली कम्युनिष्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपासहित विभिन्न समूहबीच आज एकता घोषणा कार्यक्रम
काठमाडौं – नेपालका प्रमुख कम्युनिष्ट र समाजवादी राजनीतिक दलहरूका विभिन्न विद्रोही तथा एकीकरण पक्षधर समूहहरूबीच आज एकताको औपचारिक घोषणा हुने भएको छ। कार्यक्रमलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र एकीकरण पक्षधरको तर्फबाट राजेन्द्र श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । यो एकताले वामपन्थी राजनीतिमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ। एकता घोषणा कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृह, काठमाडौंमा आयोजना हुने भएको छ। नेपाली कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) को बहुमत र विप्लव समूह, जनता समाजवादी पार्टीको एकीकरण पक्षधर समूह तथा जनजागरण पार्टी नेपालका नेताहरूको संयुक्त पहलमा यो एकता प्रक्रिया अगाडि बढेको हो। कार्यक्रममा सहभागी हुने प्रत्येक समूहबाट उच्च संख्यामा प्रतिनिधिहरूको उपस्थिति रहनेछ। एकता पक्षधरहरूका अनुसार, यो एकताले नेपालको राजनीतिक स्थिरता र वाम एकताको लागि महत्वपूर्ण आधार तयार पार्नेछ। यो एकता घोषणा कार्यक्रममा वक्तव्यहरू, एकताको साझा घोषणापत्रको विमोचन र नेताहरूबीचको संयुक्त प्रतिबद्धता व्यक्त गरिने आयोजकहरूले जनाएका छन्। कार्यक्रमको लागि राजनीतिक विश्लेषकहरूले यो नेपालको वामपन्थी आन्दोलनमा नयाँ ऊर्जा थप्ने र सत्तारुढ गठबन्धनलाई चुनौती दिन सक्ने टिप्पणी गरेका छन्। आयोजकहरूले सञ्चारकर्मीहरूलाई कार्यक्रममा उपस्थित भई समाचार संकलन तथा निरीक्षण गर्न अनुरोध गरेका छन्।
हालसम्म प्रतिनिधिसभाकाे निर्वाचनमा भाग लिन १०६ दलको निवेदन, चार दिन थपियो समय
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन १ देखि १० मंसिरसम्म निर्धारण गरिएको अवधीभित्र १०६ दलले निवेदन दिएका छन् । केही दलले अझै पनि दर्ता प्रक्रिया पुरा गर्न नसकेपछि निर्वाचन आयोगले बुधबार चार दिन समय थपेको छ । अब दलहरूले मंसिर १४ गतेसम्म दर्ता निवेदन दिन सक्नेछन् । आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका अनुसार बुधबार मात्रै २६ दलले दर्ताका लागि निवेदन दिएका छन्। प्राप्त निवेदनहरूको छानबिन मंसिर १८ गतेसम्म सम्पन्न गर्ने र मंसिर २० गते दर्ता स्वीकृत दलहरूको नामावली प्रकाशन गर्ने कार्यतालिका आयोगले तय गरेको छ । आयोगका पदाधिकारीका अनुसार नयाँ गठन भएका केही राजनीतिक दल दर्ता प्रक्रियामा रहेकाले उनीहरूलाई सहभागी गराउन समय थपिएको हो । आयोगका प्रवक्ता नारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप तथा विभिन्न राजनीतिक दललगायत सरोकारवालाबाट प्राप्त अनुरोधका आधारमा आयोगको मंसिर १० गतेको बैठकले दर्ता अवधि मंसिर १४ गतेसम्म थप गरेको छ ।’ यसैबीच, निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १३७ पुगेको छ । बुधबार सविन सिग्देल नेतृत्वको प्रगतिशील नागरिक पार्टी, दीपककुमार साहको सर्वोदयी पार्टी र सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी दर्ता भएका छन् । जेन–जी आन्दोलनपछि मात्रै दर्ता भएका नयाँ दलको संख्या अब २१ पुगेको आयोगले जनाएको छ । यद्यपि, महाशाखाका अनुसार अझै १८ दल दर्ता प्रक्रियामै रहेका छन् ।
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, कुनकाे कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११० रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ११ पैसा र बिक्रीदर नौ रुपैयाँ १५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १३ पैसा र बिक्रीदर २० रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ०० पैसा र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ११ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०८ पैसा र बिक्रीदर २२ रुपैयाँ १८ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ १९ पैसा र बिक्रीदर ४६६ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३७० रुयैयाँ २३ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ७९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
भैरहवा सेजमा जग्गा भाडा घट्दा उद्योगी उत्साहित
भैरहवा । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) भित्रको जग्गा भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर पाँच रुपैयाँ मात्र कायम गरेपछि भैरहवा सेजका उद्योगी उत्साहित बनेका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयसँगै सेजभित्रको लगानी वातावरण अझ सहज हुने उद्योगीहरूको अपेक्षा छ । इको नेपाल इनर्जी इन्डस्ट्रिज प्रालिका अध्यक्ष अजयमान श्रेष्ठले सरकारको निर्णयले उद्योगीलाई ठूलो राहत मिलेको बताए । “जग्गाको भाडा घट्यो भन्ने सुन्दा नै विश्वास लागेन,” उनले भने, “अब उद्योग सञ्चालन अझ सहज हुने छ ।” एक वर्षअघि उत्पादन सुरु गरेको इको नेपाल इनर्जीले स्थानीय फोहोर र खेर गइरहेका रबरजन्य वस्तु सङ्कलन गरी औद्योगिक तेल, ब्ल्याक कार्बन र स्टिल तार उत्पादन गर्दै आएको छ । श्रेष्ठका अनुसार भाडा घटेसँगै उत्पादन लागत स्वाभाविक रूपमा कम हुने भएकाले सेजभित्र रहेका सबै उद्योगलाई राहत मिल्नेछ । सेजमा कच्चा पदार्थ आयातमा भन्सार छुट, निर्यातमा भ्याट छुट, विद्युत्मा १० प्रतिशत छुट, तथा बैङ्क–बिमा–भन्सार सेवा एउटै केन्द्रबाट उपलब्ध गराउने योजनामध्ये केही सुविधा कार्यान्वयनमा छन् तर भाडा छुट ढिलाइ हुँदा उद्योगी निराश थिए । सरकारको नयाँ निर्णय अनुसार उद्योगीले अब पूर्वनिर्धारित भाडाको २५ प्रतिशत मात्र तिर्नुपर्नेछ । सेजमा उद्योग सञ्चालन गरिरहेका पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक देवेन्द्र साहुले यो निर्णयले उद्योगलाई ठूलो राहत दिएको बताए । “चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमै भाडा घटाउने व्यवस्था गरिएको थियो,” उनले भने, “तर लागू नहुँदा उत्पादन बन्द गर्ने अवस्था आएको थियो । ढिलै भए पनि सरकारले ढाडस दिएको छ ।” भैरहवा सेजका प्रमुख सवुत डुम्रेका अनुसार उद्योगीले विगतदेखि नै भाडा घटाइदिन माग गर्दै आएका थिए । सरकारले माग सम्बोधन गरेपछि उद्योगीहरू आत्मविश्वासी बनेका छन् । हाल सेजमा १२ वटा उद्योग सञ्चालनमा छन् भने सात वटा निर्माणाधीन छन् । ६८ मध्ये ५२ वटा प्लट उद्योगले लिइसकेका छन् र बाँकी १६ वटा पनि बुक भइसकेको डुम्रेले जानकारी दिए । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र आचार्यले भाडा घटाउने निर्णय स्वागतयोग्य भएको बताए । “बजेटमै नीतिगत व्यवस्था भए पनि तीन महिनापछि लागू गर्ने भनिएको थियो,” उनले भने, “हामीले मन्त्रीपरिषद्मा निरन्तर आग्रह गर्दै आएका थियौँ, त्यसलाई अहिले आएर सम्बोधन गरिएको छ ।”
उदयपुर सिमेन्ट उद्योग आठ महिजापछि पुनः सञ्चालनमा
उदयपुर । आठ महिनादेखि बन्द रहेको उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । पटक–पटक बन्द र सञ्चालनको दोहोर्याइ हुँदै आएको यस उद्योगलाई पछिल्लो समय आठ महिनादेखि पूर्ण रूपमा थुनिएको अवस्था थियो । सरकारी स्वामित्वमा सञ्चालित मुलुककै सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान मानिने उदयपुर सिमेन्ट उद्योगलाई २०८२ वैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकले निजीकरण गर्ने निर्णय गरेसँगै उद्योग पूर्ण रूपमा बन्द भएको थियो । मर्मत–सम्भारपछि उद्योगलाई पुनः सञ्चालनमा ल्याइएको उद्योगका महाप्रबन्धक कोविद काफ्लेले जानकारी दिए । उद्योग बन्द रहँदा आठ महिनादेखि कर्मचारीले तलब–सुविधा पाउन सकेका थिएनन्। तलब नपाए पनि कर्मचारी उद्योग पुनः सञ्चालनकाे आशामा प्रतीक्षा अवस्थामा थिए । सुरुका वर्षमा ५३३ दरबन्दी रहेको उद्योगमा हाल १९३ जना स्थायी कर्मचारी मात्र कार्यरत छन् । साथै, उद्योगले ६० जना सुरक्षा गार्ड ठेक्का कम्पनीमार्फत लगाएको छ, तर ती गार्डहरूले समेत पछिल्लो समय तलब–सुविधा पाउन नसकेको कर्मचारीहरूले बताएका छन् । महाप्रबन्धक काफ्लेका अनुसार निजीकरणको निर्णयपछि अन्योलपूर्ण वातावरण बने पनि मजदुर, कर्मचारी तथा वर्तमान सरकारको सहयोगमा उद्योग फेरि सञ्चालनमा आएको हो । उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालनमा राख्न सरकारले २४ करोड रुपैयाँ ऋण उपलब्ध गराउनुपर्ने प्रस्ताव पेश गरिएको छ । तीन वर्षभित्र ब्याजसहित ऋण फिर्ता गर्ने तयारी गरिएको उनले बताए । त्रियुगा नगरपालिका–६, जलजलेमा अवस्थित उद्योगकाे दक्षिण एसियामै उच्च गुणस्तरको विशाल खानी भण्डार सुरक्षित रहेको मानिन्छ । उद्योगले दैनिक ८०० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने क्षमता राखे पनि अधिकांश मेसिन पुरानो भएकाले क्षमता अनुरूप उत्पादन गर्न नसकिरहेको उद्योग प्रशासनले जनाएको छ । उद्योग पटक–पटक बन्द भइरहेकाले दैनिक लाखौँ रुपैयाँ घाटा व्यहोर्नुपरेको महाप्रबन्धक काफ्ले बताउँछन् । उद्योगमा करोडौँ रुपैयाँ दायित्व भुक्तानी बाँकी रहे पनि नियमित रूपमा सञ्चालन गर्न सके क्रमशः ती दायित्व घटाउँदै लैजाने योजना रहेको उद्योग प्रशासनले जनाएको छ । जेनजी आन्दोलनपछि स्थानीय जेनजी समूहले समेत उद्योगलाई निजीकरण नगरी राज्य स्वामित्वमै सञ्चालन गर्नुपर्ने माग निरन्तर उठाउँदै आएका छन् ।
अमेरिकाबाट दुई सातामै ५० नेपाली निष्काशित
काठमाडाैं । अमेरिकाबाट निष्काशित थप पाँच नेपाली काठमाडौं आइपुगेका छन्। बुधबार साँझ एयर इन्डियाको उडानबाट नयाँ दिल्ली हुँदै पाँच नेपाली काठमाडौं आइपुगेका हुन् । निष्काशितहरुमा दाङ, प्यूठान र रुकुम घर भएका युवाहरु छन् । गत ३ मंसिरमा एकैदिन ३५ नेपालीलाई चार्टर्ड विमानमा काठमाडौं ल्याएर छाडिएको थियो । त्यस्तै, २ मंसिरमा चार र ३० कात्तिकमा पाँच नेपाली अमेरिकाबाट निष्काशनमा परी नेपाल आइपुगेका थिए। दुई सातामा ५० नेपाली अमेरिकाबाट निष्कासनमा परेका छन्। यसरी निष्काशनमा पर्नेहरुमा धेरै जसो अवैध रुपमा अमेरिका प्रवेश गर्ने र प्रवेश गर्न खोज्नेहरू छन् । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडाई गरेसँगै निष्काशनमा पर्ने नेपालीको संख्या पनि बढेको हो।

