आजकाे माैसम: देशभर कस्तो रहला ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ
देशभर कृषि सर्वेक्षण सुरु
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकारले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण सुरु गरेको छ । मन्त्रालयले सबै स्थानीय तह, प्रदेशको कृषि मन्त्रालयलगायत सरोकार भएका निकायसँगको समन्वयमा तथ्याङ्क सङ्कलन सुरु गरेको हो । तथ्याङ्क लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले जानकारी दिए । उनका अनुसार कृषि उत्पादन, पशुपालन, लागत, बजारीकरण, आम्दानी, सिँचाइ, पूर्वाधारको अवस्थालगायत विस्तृत विषयवस्तुलाई तथ्याङ्क सङ्कलन गरिने छ । गणकले किसानसँग प्रत्यक्ष भेटेर कृषि सर्वेक्षण गरिरहेका छन् । नमूना विधिका माध्यमबाट सङ्कलन गरिने तथ्याङ्कमा पहिलो चरणमा छ लाख किसान छनोट गरिने रेग्मीले जानकारी दिए । तीमध्येबाट ५१ हजार किसान छनोट गरी कृषि क्षेत्रमा उनीहरूको अनुभव तथा सरकारबाट प्रवाह गरिएका सेवा, सहुलियतमा लक्षित वर्गको पहुँच तथा समस्या पहिचान गरी आधिकारिक तथ्याङ्क सङ्कलन गरिने छ । राष्ट्रिय जनगणना र कृषि गणनापछिको महत्त्वपूर्ण राष्ट्रियस्तरको कार्यक्रमका रूपमा कृषि सर्वेक्षणलाई लिइएको छ । देशभर तथ्याङ्क सङ्कलन भएपछि त्यसलाई थप अध्ययन गरी अन्तिम परिणाम आगामी पुससम्म सार्वजनिक गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सर्वेक्षण तथा तथ्याङ्क सङ्कलनका लागि स्थानीय तहमा क्षमता अभिवृद्धि गर्न तालिम तथा आवश्यक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । कृषि नीति तथा योजना तर्जुमा गर्न वैज्ञानिक आधार तयार पार्न तथ्याङ्क महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
काठमाडौंको नागार्जुन नगरपालिकाबाट पेस्ताेलसहित टेलर सञ्चालक पक्राउ
काठमाडाैं । काठमाडौंको नागार्जुन नगरपालिकाबाट पेस्तोलसहित एक टेलर सञ्चालक पक्राउ परेका छन् । बिहीबार बेलुकी नागार्जुन– ६ रामकोट सिभिल होमनजिकै टेलर सञ्चालन गरी बस्ने तनहुँको भानु नगरपालिका– ९ का ४१ वर्षीय मनोजकुमार सुन्दासलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सुन्दासको कोठा खानतलासी गर्दा एक थान पेस्तोल, एक थान म्याग्जिन र आठ राउन्ड गोलीसमेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले सुन्दासलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको छ ।
धनगढीबाट सुरु भएको नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा कुन प्रदेशमा कहिले ?
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले पार्टी एकताको सन्देश आम जनसमुदायमा पुर्याउने उद्देश्यले शुक्रबार कैलालीको धनगढीमा एकता सन्देश सभा सफलता पूर्वक सम्पन्न गरेको छ। यो सभाले पार्टीको एकताको महत्वलाई जोड दिँदै विभिन्न तहका नेता तथा कार्यकर्ताहरूलाई एकजुट हुने अपिल गरेको छ। अन्य प्रदेशहरूमा पनि यस्ता सभाहरूको आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। सभालाई पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालसहितका वरिष्ठ नेताहरूले सम्बोधन गरेका थिए। प्रचण्डले सम्बोधनका क्रममा पार्टी एकताले मात्र राष्ट्रिय राजनीतिमा स्थिरता र विकासको गति तीव्र बनाउन सकिने बताउँदै कार्यकर्ताहरूलाई आगामी निर्वाचनतर्फ केन्द्रित हुन आह्वान गरे। यस्तै, नेपालले एकताको सन्देशलाई आधार बनाएर पार्टीभित्रका वैचारिक बहसहरूलाई समन्वयात्मक ढङ्गले सुल्झाउनुपर्नेमा जोड दिए। सभामा सहभागीहरूले एकताको पक्षमा नारा लगाउँदै उत्साहजनक सहभागिता जनाएका थिए। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार, एकता सन्देशलाई प्रदेशव्यापी रूपमा फैलाउन विभिन्न प्रदेशहरूमा सन्देश सभाहरूको कार्यक्रम तय भएको छ। यी सभाहरूमा पनि प्रचण्ड, नेपाल लगायतका नेताहरूको सम्बोधन रहनेछ। कार्यक्रमहरू निम्नानुसार छन् : प्रदेश मिति (मंसिर) स्थान लुम्बिनी प्रदेश १३ देउखुरी गण्डकी प्रदेश १४ पोखरा प्रदेश नं. १ (कोशी) १५ विराटनगर उपत्यका विशेष प्रदेश १७ काठमाडौं कर्णाली प्रदेश १८ सुर्खेत मधेश प्रदेश २० जनकपुर प्रवास प्रदेशहरू (संयुक्त भर्चुअल) २१ अनलाइन संघीय सम्पर्क समन्वय प्रदेश २२ काठमाडौं बाग्मती प्रदेश २३ हेटौँडा यी सभाहरूले पार्टीको एकताको सन्देशलाई ग्रामीण तथा शहरी क्षेत्रसम्म पुर्याउने लक्ष्य राखेको छ। पार्टीका नेताहरुले यी कार्यक्रमहरूबाट एकताको भावना मजबुत बन्ने र आगामी राजनीतिक क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन्।
आज धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सभा : प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने
धनगढी – नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ अध्याय थप्न नेपाली कम्युनिष्ट पार्टीले कैलालीको धनगढीमा आज एकता सभा आयोजना गर्दैछ। हालै गठित यो पार्टीले विभिन्न कम्युनिष्ट धारका संगठनहरूको एकीकरणलाई थप मजबुत बनाउने लक्ष्यसहित यो सभाको आयोजना गरेको छ। सभा दिउँसो १२ बजे धनगढीमा सुरु हुने आयोजकले जनाएका छन्। सभालाई पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। प्रचण्डसहितका नेताहरू धनगढीतर्फ प्रस्थान गरेका छन्। यो सभाले पार्टीको एकताको सन्देशलाई राष्ट्रव्यापी बनाउने अपेक्षा गरिएको छ। हालै मात्र विभिन्न कम्युनिष्ट पार्टी तथा समूहहरूको एकीकरणबाट नेपाली कम्युनिष्ट पार्टीको जन्म भएको हो। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) का केही समूहहरू र अन्य स्वतन्त्र कम्युनिष्ट नेताहरूको सहभागितामा गठित यो पार्टीमा अझै पनि एकीकरणको प्रक्रिया चलिरहेको छ। पार्टीका नेताहरूका अनुसार, यस एकताले वामपन्थी शक्तिहरूलाई एकजुट बनाएर राष्ट्रिय राजनीतिमा नयाँ गतिशीलता ल्याउनेछ। सभामा सहभागी हुनेहरूमा स्थानीय स्तरका कार्यकर्तादेखि राष्ट्रिय नेतासम्मको उपस्थिति रहनेछ। सभाको प्रत्यक्ष प्रसारण विभिन्न सञ्चार माध्यमहरूबाट हुनेछ।
सप्तरीमा दहमा डुबेर एक वृद्धको मृत्यु
सप्तरी । सप्तरीको सुरुङगा नगरपालिकामा दहमा डुबेर एक वृद्धको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक दहमा डुबेर खजनपुर टोलका ७० वर्षीय रामदेव मण्डलको मृत्यु भएको हो । शुक्रबार पानीमा घोप्टो परी मृत अवस्थामा मण्डललाई देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको थियो । घटनास्थलमा पुगेका प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए । उनले मृतकको शवलाई प्रादेशीक अस्पताल लहानमा पोष्टमार्टम पश्चात परिवारजनको जिम्मा लगाइएको बताए ।
रसुवामा चौँरीपालनबाट आकर्षक आम्दानी
रसुवा । गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका ४४ वर्षीय सेरामनुर्पु घले वर्षौंदेखि चौँरीपालन गर्दै आएका छन् । हिमाली पहिचान झल्किने चौँरी उनीहरूकै जीवनयापनको भर मात्र होइन, स्थायी आम्दानीको प्रमुख स्रोतसमेत बनेको छ । पारिवारिक परम्परालाई निरन्तरता दिँदै घलेले नौ वटा चौँरीबाट व्यवसाय थालेका थिए । हाल उनको गोठमा ६१ वटा चौँरी छन् । वैशाखदेखि असोजसम्म उनी दैनिक करिब ३७ लिटर दूध उत्पादन गर्छन्, जसलाई दुग्ध विकास संस्थानले खरिद गर्दछ । दूध तथा दुग्धजन्य पदार्थ बेचेर घलेले वार्षिक करिब नौ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । कात्तिकदेखि चैतसम्म दूध उत्पादन कम हुने भएकाले घलेले घिउ र छुर्पी उत्पादनमा ध्यान दिने गर्छन् । बर्खामा चौँरीहरू छ महिनासम्म गोसाइँकुण्ड वरपरका उच्च चौरमा बस्ने र जाडो सुरु भएपछि धुन्चेतर्फ झारिने परम्परा छ । साधारण लेखपढ मात्रै गरेका घलेले पिता बाट सिकेको पेशालाई आफ्नै मेहनत र निर्णय क्षमताले थप मजबुत बनाएका छन् । “पहिले बुवाले गर्नुहुन्थ्यो, अहिले म समालिरहेको छु,” उनले भने, “दुःख त छ तर यहीँ सम्मान छ। परिवारसँग बस्न पाउँछु, यहीँ कमाइ हुन्छ ।” ‘मारमेन्दो व्यवसायी चौँरीपालन फार्म’ दर्ता गरी व्यवसायलाई औपचारिक रूपमा अगाडि बढाएका घले आफू गरेको मेहनतप्रति सन्तुष्ट छन् । “जहाँ गए पनि दुःख नगरी सुख पाइँदैन,” घले भन्छन्, “पढेको भए ठूलो मान्छे हुन्थेँ होला । तर नपढे पनि जीवन बुझ्ने अवसर यहीँ पाएको छु। यही कमाइले नै छोरालाई राम्रो पढाइरहेको छु ।”
मकवानपुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । बिहीबार साँझ पर्सा वीरगञ्ज महानगरपालिका–१६, नागुवा घर भई हाल हेटौँडा उपमहानगरपालिका–१० कर्रामा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमलाई ना.३८प ५८५० नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका डोमको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए । प्रहरीले मोटरसाइकल चालक बारा सिम्रनगढ नगरपालिका–११ का २५ वर्षीय सुनिल ठाकुरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
वैदेशिक रोजगारीमा विवादित शुल्क वृद्धि आजदेखि कार्यान्वयन
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने भन्दै आलोचना भएको स्वास्थ्य परीक्षण शुल्क बुधबारदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गत चैत ८ गते गरेको मन्त्रीस्तरीय निर्णय अनुसार शुल्क आजदेखि लागु भएको हो । नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले स्वास्थ्य परीक्षणका लागि ९ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ । यसअघिसम्म स्वास्थ्य व्यवसायीहरूले ६ हजार ५ सय रुपैयाँसम्म लिँदै आएका थिए । सरकारले स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउने उद्देश्यसहित ३४ प्रकारका परीक्षण अनिवार्य गर्ने र सोही आधारमा शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । तर निर्णयको चौतर्फी विरोधका कारण तत्काल कार्यान्वयन हुन सकेको थिएन । बढेको शुल्क स्वास्थ्य व्यवसायीहरूले बुधबारदेखि लागू गरेका छन् । नेपाल स्वास्थ्य व्यवसायी महासङ्घ र नेपाल मेडिकल व्यवसायी सङ्घले आफ्ना सदस्य संस्था र व्यवसायीलाई पत्राचार गर्दै नयाँ शुल्क कार्यान्वयनमा ल्याउन निर्देशन दिएका हुन् । महासङ्घका अनुसार मन्त्रालयले स्वास्थ्य परीक्षण प्रणालीलाई प्रविधिमैत्री (डिजिटालीकरण) बनाउने कार्य अघि बढाइरहेकाले सोही अनुसार शुल्क समायोजन गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि स्वास्थ्य परीक्षण गर्न देशभरका १७१ वटा सूचीकृत स्वास्थ्य संस्थाको सूची सार्वजनिक गरेको छ । श्रमिकको स्वास्थ्य परीक्षणलाई वैज्ञानिक बनाउने उद्देश्यले मन्त्रालयले डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको थियो ।
आजका कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ६० पैसा र बिक्रीदर १४३ रुपियाँ २० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ १६ पैसा र बिक्रीदर १६५ रुपियाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपियाँ ६१ पैसा र बिक्रीदर १८९ रुपियाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ८९ पैसा र बिक्रीदर १७७ रुपियाँ ६३ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ०५ पैसा र बिक्रीदर ९३ रुपियाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ५२ पैसा र बिक्रीदर १०१ रुपियाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ८६ पैसा र बिक्रीदर ११० रुपियाँ ३२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १२ पैसा र बिक्रीदर नौ रुपियाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ १३ पैसा र बिक्रीदर २० रुपियाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ०२ पैसा र बिक्रीदर ३८ रुपियाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ १३ पैसा र बिक्रीदर ३९ रुपियाँ ३० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४३ पैसा र बिक्रीदर चार रुपियाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ८३ पैसा र बिक्रीदर ३८ रुपियाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ५१ पैसा र बिक्रीदर ३४ रुपियाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७५ पैसा र बिक्रीदर नौ रुपियाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०३ पैसा र बिक्रीदर १५ रुपियाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ११ पैसा र बिक्रीदर २२ रुपियाँ २१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ३३ पैसा र बिक्रीदर १८ रुपियाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपियाँ ४० पैसा र बिक्रीदर ४६६ रुपियाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपियाँ २६ पैसा र बिक्रीदर ३७९ रुपियाँ ८५ पैसा , ओमनी रियाल एकको खरिददर ३७० रुपियाँ ३८ पैसा र बिक्रीदर ३७१ रुपियाँ ९४ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
माछा–बालुवा छाडेर पतेरो किरा खाेज्दै नदी किनारका स्थानीय
काठमाडौं । नदी किनारामा बस्ने स्थानीयले पछिल्लो समय माछा मार्न र बालुवा चाल्न छाडेर पतेरो किरा समाउन थालेका छन् । समूहमा बस्ने र समाउन सजिलो हुने यो किरा एक परिवारले एक बिहानमै एक किलोसमेत सङ्कलन गर्न सक्ने र खोलामै तीन हजार दुई सय रुपियाँसम्म पाउने भएपछि धादिङ, काभ्रे, सिन्धुपाल्चोक, रामेछापलगायत क्षेत्रमा पतेरो खोज्नेको भीड लागेको हो । धादिङको त्रिशूली, काभ्रे–सिन्धुपाल्चोकको इन्द्रावती तथा सुनकोशी, लमजुङको बोराङखोला र चेपेखोलामा स्थानीय रातदिन खोला किनारामा बस्दै पतेरो खोजिरहेका छन् । “हामीलाई कानुनको जानकारी छैन, भेटिने किरा समाएर बेच्दै आएका हौँ,” सिन्धुपाल्चोकका बिर्कमान माझीले भने । स्थानीय निकाय तथा सम्बन्धित कार्यालयले भने यसको प्रयोग र प्रभावबारे अध्ययन आवश्यक रहेको बताउँदै आएका छन् । जिल्ला कृषि विकास कार्यालय धुलिखेलले पतेरो के प्रयोजनका लागि सङ्कलन भइरहेको हो भनेर आफूहरू अनभिज्ञ रहेको जनाएको छ । गत चैतमा लमजुङ प्रहरीले चार किलो पतेरो किरासहित एक जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका जिम्पा तामाङले स्थानीयबाट किनेका किरा चिनियाँ व्यापारीलाई प्रतिकिलो १२ हजार रुपियाँमा बेच्ने गरेको बयान दिएका थिए । चीनमा यो किरा छालासम्बन्धी औषधि बनाउन प्रयोग हुने बताइन्छ । किरा समात्ने, बेचबिखन गर्नेमा कानुनी कारबाही हुने उल्लेख भए पनि स्पष्ट कानुनी आधार भने प्रहरीले प्रस्ट्याउन सकेको छैन । काभ्रे प्रहरी र वन कार्यालयले हालै इन्द्रावती–सुनकोशी किनारामा पत्तो लागेको पतेरोको नमुना संकलन गरी थप अध्ययन थालेका छन् ।
पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै भाेजपुरकाे पौवादुङमा
भोजपुर । पकेट क्षेत्र घोषणा गरी गाउँपालिकाले लगानी बढाएपछि भोजपुरको पौवादुङमाका किसान व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् । श्यामशिलाका १७ किसान अहिले सङ्गठित रूपमा किवी उत्पादनमा जुट्दै दिगो आयस्रोतको नयाँ सम्भावना निर्माण गरिरहेका छन् । यहाँका किसानले किवी बेचबिखन गरेर आम्दानीसमेत लिन थालेका छन् । भोजपुर–लेगुवा मुख्य सडकखण्ड आसपासमा पर्ने भएकाले यहाँका किसानले उत्पादन गरेको किवीको बेचविखनमा पनि सहजता छ । गाउँपालिकाले पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका अधिकांशले व्यावसायिक किवीखेती गरिरहेको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । यहाँ गाईपालनको कार्यक्रम सञ्चालन भइरहेकाले उत्पादित गोबरको मलको सदुपयोग गर्दै किसान किवीखेतीमा जुटेको उनको भनाइ छ । “हाम्रो क्षेत्र किवीखेतीका लागि उपयुक्त भूगोल रहेको स्थान हो”, वडाध्यक्ष तामाङले भने, “यहाँ गाउँपालिकाको अनुदान सहयोगमा पशुपालनको कार्यक्रम पनि सञ्चालन गरेका छौँ । त्यही मलको सदुपयोग गर्दै किसानहरूले किवीखेती गर्दै आएका छन् ।” एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै यो क्षेत्रका किसान व्यावसायिक किवीखेतीमा जुटेका हुन् । गाउँपालिकाले किसानको दिगो आयस्रोतका रूपमा विकास गर्न किवीलगायत बहुवर्षीय बाली विस्तारमा जोड दिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । प्रशस्त घाँस पाइने क्षेत्र भएकाले यहाँ उन्नत जातका गाईसमेत वितरण गरिएको उनले जानकारी दिइन् । “हामीले यहाँ पशुपालन र फलफूलखेतीमा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भनिन्, “पशुपालनबाट उत्पादन भएको मलको सदुपयोग गर्ने लक्ष्यले किवीखेतीमा पनि सहयोग गरेका छौँ । नागरिकलाई आर्थिकसँगै पोषणमा जोड्ने हाम्रो सोच हो ।” गाउँपालिकाले भूगोल सुहाउँदो फलफूल तथा तरकारीखेतीमा जोड दिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । कृषिबाट आत्मनिर्भर बनाउने लक्ष्यका साथ किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न सहयोगका कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ । “किसानको मुख्य आम्दानीको श्रोत नै कृषि हो”, अध्यक्ष राईले भने, “श्यामशिलामा किवीको राम्रो सम्भावना रहेकाले पकेट क्षेत्र निर्धारण गरेका छौँ । अन्य स्थानमा कागती, आभोकाडोलगायत बालीका लागि कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । गाउँपालिकाले सहयोगका कार्यक्रम सञ्चालन गरेसँगै किसान आयआर्जनमा जोडिएका छन् ।” गाउँपालिकाका किसानको मुख्य आम्दानीको स्रोत कृषि रहेकाले किसानलाई आवश्यकता तथा मागका आधारमा गाउँपालिकाले सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । पशुपालनसँगै विभिन्न खेती प्रणालीमा जोडिएका किसानलाई आवश्यक तालिम तथा नियमित प्राविधिक सहयोग गर्दै आएको उनका भनाइ छ ।
भेटीकाे रकमबाट गलेश्वर उज्यालो
म्याग्दी । भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ । गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ मस्ट लाइट’ जडान गरेर मन्दिर परिसर रातमा पनि उज्यालो भएको हो । म्याग्दीमा पहिलोपटक गलेश्वरमा बिहीबार यस्तो प्रविधिको विद्युत् लाइट जडान गरिएको हो । रु नौ लाख ७४ हजार खर्चेर बत्ती जडान गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए। “गलेश्वर मन्दिर दर्शनका लागि आएका भक्तजनले चढाएको भेटीलगायत आन्तरिक आम्दानी परिचालन गरेर बत्ती जडान गरिएको हो”, उनले भने, “रातको समयमा पनि उज्यालो भएपछि भक्तजनलाई सहज, सुरक्षा व्यवस्थापनमा सहयोग पुग्नुका साथै गलेश्वर मन्दिर परिसर पनि रमणीय देखिएको छ ।” सोह्र मिटर अग्लो विद्युत्को पोलको टुप्पामा चारैतिर फर्काएर चार–चार सय वाट क्षमताका आठ वटा बत्ती राखिएको छ । अग्लो पोलमा राखिएको बत्तीले मन्दिर परिसरलाई उज्यालो बनाएको छ । रातको समयमा मात्र बत्ती बल्ने र दिउँसो बन्द हुने स्वचालित उपकरण जडान भएको छ । कोषका संरक्षकसमेत रहेका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बत्तीको स्विच थिचेर बिहीबार साँझ उद्घाटन गरे । कोषका पदाधिकारी, नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीलगायत प्राविधिक र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि टोलीको उपस्थिति थियो । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दु धर्मगन्थ्रमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ । साउनको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । गलेश्वर मन्दिरमा दाताले चढाउने भेटी र दाताको सहयोग पूर्वाधार निर्माण, स्थानीय विकास र सामाजिक क्षेत्रमा परिचालन गरिएको छ । यस वर्ष बेनी नगरपालिकासँग साझेदारी गरेर गलेश्वर बजार सौन्दर्यकरण योजनालाई निरन्तरता दिइएको कोषका सदस्यसचिव सम्मरबहादुर थापाले बताए । उनका अनुसार गलेश्वर बजार क्षेत्रलाई धार्मिक सङ्गीतमय बनाउन सात ठाउँमा स्पिकर जडान गर्ने तयारी भएको छ ।
माैसम पूर्वानुमान: हिमाली भूभागमा आंशिक बदली, अन्य भूभागमा सफा हुने
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी
मुस्ताङ । अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो । हिउँदयामको कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे । माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आइरहेको छ । नेपाल–चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश नागरिक बर्खे अन्नबाली घरमा भित्र्याएपछि बेँसी झर्थे । अत्यधिक चिसो सिरेटो चल्ने, हिमपातको जोखिमका साथै माथिल्लो मुस्ताङको दैनिक जनजीवन निकै कष्टकर हुन्थ्यो । अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङमा खानेपानीका धारा, शौचालयको सेफ्टीट्याङ्की र सिँचाई कुलोसमेत बरफ बनेर जम्ने गर्छ । यसरी हिउँदयाममा अत्यधिक चिसो र हिमपातले जनजीवन कष्टकर हुने र हिउँदयाममा कुनै काम गर्न नसकिने भएकाले त्यहाँका नागरिकहरू बाध्य भएर बेँसी झर्ने प्रचलन रहँदै आएको थियो । यहाँका सबै शैक्षिक संस्था पनि जाडो छल्न र घुम्ती कक्षा सञ्चालन गर्न कात्तिक अगावै बेँसी झर्छन् । यसपालि पनि माथिल्लो मुस्ताङका सबै शैक्षिक संस्था बेँसी झरिसकेका छन् । अत्यधिक चिसोका कारण विद्यार्थी विद्यालयमा उपस्थित हुन नसक्ने, चिसोका कारण विद्यार्थीलाई रुघाखोकी र निमोनियाजस्ता समस्या देखिने र अभिभावकहरू पनि बेँसी झर्ने गर्दा विद्यालय पनि बेँसी झार्ने गरिएको छ । अत्यधिक चिसो र हिमपातको जोखिम टार्न माथिल्लो मुस्ताङका अधिकांश नागरिक घरमा ताल्चा मारेर बेँसी झर्दथे । गाउँमा केही ज्येष्ठ नागरिक र याकचौँरी तथा भेडाच्याङ्ग्रा रेखदेख गर्ने गोठालाबाहेक सबै मुस्ताङीहरू यो समय पूरै पोखरा, काठमाडौँलगायत स्थानमा झर्थे । केही नागरिकहरू ‘स्वेटर’को व्यापारका लागि भारतका विभिन्न सहरसम्म पुग्थे । यसैगरी कात्तिक अगावै बेँसी झरेका माथिल्लो मुस्ताङीहरू चैत–वैशाखमा मात्र साविक स्थानमा फर्किन्थे । तर अहिले माथिल्लो मुस्ताङको अवस्था निकै फेरिएको छ । सदिँयौदेखि बेँसी झर्ने परम्परा रहेको यहाँको ऐतिहासिक प्रचलनमा परिवर्तन आउन थालेको छ । यहाँको नेपाल–चीन उत्तरी कोरला नाका कोभिडअघि अल्पकालीन अन्तरदेशीय व्यापार मेलाका रूपमा बर्सेनि असार र भदौमा सीमित समयका लागि चल्थ्यो । कोभिडपछि २०८० साल कात्तिक २७ गते यहाँको कोरला नाका माथिल्लो मुस्ताङीका लागि बाह्रै महिना चीनले खुला गरिदियो । तर नाका आंशिक रूपमा खुला भए पनि माथिल्लो मुस्ताङीले राम्ररी व्यापार–व्यवसाय चलाउन अझै सकिरहेको अवस्था थिएन । तैपनि नाकामा केही नागरिकले त्रिपाल टाँटेर व्यापार चलाएका थिए । जब कोरला नाका गत ३० भदौमा पूर्ण रूपमा सञ्चालनमा आयो, तब माथिल्लो मुस्ताङीका लागि वैकल्पिक रोजगारी ढोका खुल्न पुग्यो । बाढीपहिरोले तातोपानीनाका र रसुवागढीनाका अवरुद्ध भएपछि कोरला नाकामा नेपाल–चीन व्यापारको मार्ग पूर्ण रूपमा खुला भयो । यो नाकाबाट हालसम्म मुस्ताङ भन्सार कार्यालयले झन्डै रु चार अर्बको राजस्व योगदान गरिसकेको छ । कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै माथिल्लो मुस्ताङका धेरैजसो नागरिकले नाकाबाट व्यापार व्यवसायका साथै अस्थायी वैकल्पिक राजगारी पाएका लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिए । गत वर्षसम्म माथिल्लो मुस्ताङका ९० प्रतिशत नागरिक यतिबेला जाडो छल्न बेँसी झरिसक्नेमा यस वर्ष आंशिक नागरिकमात्र बेँसी झरेको उनको भनाइ छ । कोरलानाकाको नेपाल–चीन दसगजा क्षेत्रमा माथिल्लो मुस्ताङी करिब तीन दर्जन बढीले त्रिपालको टहरा निर्माण गरी व्यापार व्यवसाय चलाएर बसेको वडाध्यक्ष गुरुङले बताए । कोरला नाकामा व्यापार गर्ने, कोरलास्थित चीनको हाटबजारमा व्यापार गर्न बस्ने, नेपाल–चीन आयातनिर्यातका मालवस्तु ‘लोडअनलोड’ गर्ने र चीनबाट पैठारी गरिएका विद्युतीय कार (ईभी) चिनियाँ भन्सारबाट नेपाली भन्सारसम्म ल्याउन स्थानीय युवाले राम्रो रोजगारी प्राप्त गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँका युवायुवतीले दैनिक रु पाँचदेखि १० हजारसम्म आम्दानी गर्ने गरेका उनले जानकारी दिए । नाकाको भित्र र बाहिर सबै गरी झन्डै पाँच सयभन्दा बढी व्यक्तिले रोजगारी प्राप्त गरेको बताए । दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरला नाकामा व्यापारिक तथा पर्यटकीय चहलपहल बढेपछि माथिल्लो मुस्ताङका दुईतिहाइ नागरिक साविककै स्थानमा रहेका छन् । मार्ग खुलेसँगै मुस्ताङीहरू यथास्थानमै बसेर रमाइरहेका छन् । गत वर्ष यस बेलासम्म ८० प्रतिशत नागरिक जाडो छल्न बेँसी झर्ने गरेकामा यस वर्षमा लोमान्थाङ गाउँपालिकाबाट ३० प्रतिशत र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट ५० प्रतिशत नागरिक बेँसी झरेका छन् । त्यसैगरी, कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि जोमसोम–कोरला सडकमार्गमा सञ्चालनमा रहेका होटल यथाअवस्थामा खुलेका छन्भने लोमान्थाङ बजारका पूरै होटल सञ्चालनमा रहेका एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए । “केही घरमा ताल्चा मारेर बेँसी झरेका छन्, अधिकांश होटल र केही घरमा मानिस बसेका छन्, कोरला नाका बन्द भएमात्र यहाँका नागरिक झर्नेवाला छन्, नत्र यही बसेर व्यापार चलाएर बस्ने मनस्थितिमा छन्”, कार्यालय प्रमुख पौडेलले भने। प्रमुख पौडेल उपल्लो मुस्ताङमा हिउँदयामसँगै चिसो अत्यधिक बढेका कारण दैनिक जनजीवनमा समेत प्रतिकूल असर पारेको बताए। “बिहानबेलुका माइनस २० डिग्रीसम्म पुग्छ, कुलो, धारा र सेफ्टीट्याङ्की जम्छ भने दिउँसो घाम लाग्दा हिँडडुल गर्न सकिने भए पनि बिहान र बेलुका बाहिर निस्कन सक्ने अवस्था हुँदैन”, कार्यालय प्रमुख पौडेलले भने । यस्तै, नेपाल–चीन कोरला नाकामा मालवस्तु ढुवानीका लागि झन्डै तीन सय बढी कन्टेनर लोडअनलोडको पर्खाइमा बसेको भन्सारका कार्यालय प्रमुख रमेश पौडेलले जानकारी दिए । चिनियाँ भन्सार, कोरला नाका र मुस्ताङ भन्सार कार्यालयमा मालवस्तु ढुवानीका साधन पैठारी र भन्सार जाँचपासका लागि लामबद्ध रहेको भन्सार प्रमुख पौडेलले सुनाए ।
सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका
तनहुँ । बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ । प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको सिद्धगुफाको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गाउँपालिका लागिपरेको हो । पृथ्वीराजमार्गबाट २० मिनेट पैदलयात्रामार्फत पुगिने सिद्धगुफाको प्रचारप्रसार गर्न सकिए धेरै पर्यटक भित्र्याउन सकिने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउँछन् । तर यसको सोचेअनुसार प्रचारप्रसार हुन नसक्दा पर्यटकको उल्लेख्य आगमन हुन नसकेको उनको भनाइ छ । उनले भने, “यसको जति मात्रामा प्रचारप्रसार भयो त्यति गुफामा आउने मानिसको चहलपहल बढ्छ । यसले बन्दीपुरको पर्यटन पनि उचालिन्छ र यहाँका स्थानीयको आयआर्जन पनि बढ्छ ।” सिद्धगुफाको प्रचारप्रसार राष्ट्रियस्तरमा गर्न आवश्यक रहेकामा जोड दिँदै अध्यक्ष थापाले यसको प्रवर्द्धनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताए । थापाले यस ठाउँमा रङरोगन, सिँढी मर्मत, बस्ने आरामस्थल निर्माण गरिने बताउँदै सौन्दर्यकरणको कामलाई जोड दिइएको बताए । धार्मिक महत्वका हिसाबले पनि सिद्धगुफा महत्त्वपूर्ण रहेको बताउँदै अध्यक्ष थापाले यहाँ बोलबम मेला लाग्ने गरेको बताए । उनले भने, “यहाँ सिद्धबाबाको दर्शन गर्न पाइन्छ, यहाँ दर्शन गरेपछि चिताएको कुरा पुग्छ भन्ने किंवदन्ती छ ।” देशका महत्त्वपूर्ण ठाउँमध्ये एकपटक पुग्नैपर्ने ठाउँ भनेर सिद्धगुफालाई बनाउन गाउँपालिका जुटेको उनले उल्लेख गरे । सिद्धगुफा विकास समितिले लामो समयदेखि यसको व्यवस्थापन गर्दै आए पनि उक्त समिति सक्रिय नभएकाले गाउँपालिकाले तत्काल अधिवेशन गर्न निर्देशन दिइसकेको छ । उनले भने, “अब सिद्धगुफाको व्यवस्थापन गाउँपालिका आफैँले गर्ने सोचिरहेको छ । त्यसो हुँदा यसको एकीकृत विकास गर्न सकिन्छ ।” गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर बजारबाट सिद्धगुफा झर्ने बाटोमा रेलिङ निर्माण, ढुङ्गा छापेर पैदलमार्ग बनाइएको छ । सिद्धगुफा विकासका लागि नवप्रवर्तन साझेदारी कोषअन्तर्गत रु एक करोड तीन लाख ९५ हजार ३०० मा यहाँ सौन्दर्यकरणको काम गरिएको अध्यक्ष थापाले बताए । बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले चालु आवमा सिद्धगुफाका लागि रु १० लाख बजेट विनियोजन गरिएको जानकारी दिइन् । स्थानीयवासी भीम घलेले सिद्धगुफाको प्रचारप्रसारमा कमी भएको बताए । सिद्धगुफाको प्रचारप्रसार गर्न नसक्नु स्थानीयवासीको पनि कमजोरी भएको बताउँदै उनले भने, “अब सिद्धगुफाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गाउँपालिकाले पनि पहल गर्नुपर्छ ।” सिद्धगुफा पुगेका प्रेमप्रसाद पौडेलले यस ठाउँ आकर्षक रहेको बताए । गुफाभित्र रहेका विभिन्न आकृतिले थप मोहित बनाउने बताउँदै उनले भने, “गुफा त धेरै ठुलो रहेछ, पृथ्वीराजमार्गबाट नजिकै भएकाले यस ठाउँ उपयुक्त गन्तव्यस्थल बन्छ ।” सिद्धगुफाको प्रचारप्रसारका लागि नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले मङ्गलबार कार्यसमितिको बैठक गुफाभित्रै सम्पन्न गरेको छ । सिद्धगुफाको प्रचारप्रसारमा जिल्लास्थित सञ्चारकर्मीले सघाउने शाखाका अध्यक्ष डिपी अधिकारीले प्रतिबद्धता व्यक्त गरे । विसं २०४४ चैत १३ गते स्थानीयवासी चन्द्रबहादुर थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँच जनाको समूहद्वारा पहिलोपटक यो गुफा पत्ता लागेको थियो । पुरातत्त्वविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्रागकालीन मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्त्विक महत्वको यस गुफालाई अन्दाजी ३५ सय वर्ष पुरानो मानिएको छ । गुफा ४५० मिटर लामो छ । सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्त्विक प्राचीन वस्तुहरू अक्षर मे टिएको तामाका पैसा, माटोबाट बनेको टुक्रिएको पानीको घैँटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दाह्रा र टेराकोटाको शुल्पा र सानो थालजस्तो आदि इसं १६ र १७औँ शताब्दीअघिको अनुमान गरिएको छ । केही भागमा पानी भए पनि घामको प्रकाश नहुने भएकाले लेउ नलाग्ने हुँदा चिप्लो पनि छैन । करिब पाँच सय मिटरभित्रसम्म हिँडेपछि गुफाको आकार झनै ठुलो छ । लगभग आठ सय मिटर लम्बाइ रहेको यो गुफाभित्र चुनढुङ्गा पग्लेर बनेका अनेकौँ आकृति हेर्न सकिन्छ । कतै भगवान्को मूर्ति त कतै चराचुरुङ्गी र जनावरका तथा विभिन्न आकृतिहरू भेटिन्छन् ।

