चैतका लागि बैंकहरूले अझै घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । केही महिना देखि व्याजदर घटाइरहेका धेरैजसो वाणिज्य बैंकहरूले चैत महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ। 
फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ।

प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले व्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका हुन्। 

एनआईसी एसिया बैंकले मात्रै फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । विभिन्न प्रचारका कारण सो बैंकबाट केही निक्षेप झिकिएपछि बैंकले तरलताको सहज व्यवस्थापन गर्न ब्याजदर बढाएको देखिन्छ। सो बैंकले चैतदेखि लागू गर्नेगरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत छ।

null

माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको थियो । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ।

गत साउनदेखि निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि तरलता आवश्यकता अनुसार बैंकहरुले ब्याजदर प्रकाशित गर्न थालेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर छ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले बचतको ब्याजदर पनि घट्न जानेछ । कुल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ। 

त्रिदेशीय ट्वान्टी–२० शृंखला  : उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दै छन् । खेल बिहान पौने ११: ४५ बजे सुरू हुनेछ । यससघि पहिलो खेलमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण बिनानतिजा अंब बाढेर टुंगिएको थियो । मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो । पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । लिग चरणको खेल सकिँदा नेपालले तीन अंक र पीएनजीले दुई अंक जोड्दा हङकङले एक अंक जोड्यो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन केपी ओलीको निर्देशन

‘अर्जुनले चरोको आँखो मात्र देखेजस्तो सरकार मात्र देख्ने, अरू केही नदेख्नेहरू छन् । उनीहरूको अल्पमतको सरकार बन्यो भने देश कता जान्छ ? त्यसैले मनको कुनामा कुनै चित्तदुखाइ नराखी दिल खोलेर विश्वासको मत दिन्छौँ ।’

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकका निर्णय जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक प्रदीप यादवले फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने बताए । बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिको ह्विप

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलकी नेता रञ्जिता चौधरीले सांसदलाई ह्विप जारी गरेको जानकारी दिइन् । उनले केन्दसँगको समीकरण अनुसार नै प्रदेशमा पनि अघि बढिने बताइन् ।

बैंकर न्यौपानेसहित ११ जनालाई ५ दिन थप हिरासतमा राख्न अनुमति

काठमाडौं । कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ । उच्च अदालत, पाटनले पक्राउ परेका ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होविन्द्र बोगटीले बताए । सीआईबीले १५ माघमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो । उनीहरुले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रपैयाँ बराबरको कर्जा प्रवाह गरेको अनुसन्धानबाट देखिएको थियो । यो धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी भएको एसपी बोगटी बताउँछन् । यस विषयमा प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान गरिरहेको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठ र स्विट्जरल्याण्डका राजदूत मेउलीबीच शिष्टाचार भेट

काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र  नेपालस्थित स्विट्जरल्याण्डको राजदूत डेनियल मेउलीबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।  भेटमा दुई देशको आपसी सम्बन्धका साथै द्धिपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।

सुनको सिक्री नदिएको भन्दै विहे रद्द गरेको आरोपमा बेहुला सहित ८ जना पक्राउ

विरगंज । दाइजोमा सुनको सिक्री नभएको भन्दै विवाह अस्वीकार गरेको आरोपमा प्रहरीले पर्साको वीरगन्जबाट बेहुला सहित केही जन्तीलाई पक्राउ गरेको छ।  बेहुलीसँग मण्डपमा बसिसकेपछि दाइजोको विषयमा निहुँ खोज्दै विवाह गर्न अस्वीकार गरेको आरोपमा बेहुलासहित केही व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी कुमार बिक्रम थापाले जानकारी दिए।  बाराको कलैया उपमहानगरपालिका ४ सिनेमा चोक निवासी उमेश साहका छोरा बच्चालाल साहसहितका केही व्यक्तिलाई पक्राउ गरिएको उनले बताए। बच्चालाल बेहुला हुन्।  ‘पीडित (बेहुली) पक्ष जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । पक्राउ पर्ने बच्चालाल (बेहुला) वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारी भएको बेहुली पक्षले बताएका छन्।  साह सोमबार साँझ बेहुली लिन वीरगन्ज महानगरपालिका–२४ रामगढवा निवासी सुखल साहको घर पुगेका थिए। केही दिनअघि मात्रै सुखलकी २४ वर्षीया छोरी रमिताको बच्चालालसँग विवाहको टुंगो लागेको थियो।  सोमबार राति मण्डपमा बसिसकेपछि उनले दाइजोमा सिक्री नपाएको भन्दै विवाह गर्न अस्वीकार गरेपछि दुई पक्षबीच विवाद भएको थियो।  त्यसक्रममा बेहुली पक्षले खबर गरेपछि पुगेको प्रहरीले बेहुला, उनका दाइ, भिनाजुसहितलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेको सबै विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।  जन्तीले खाना खाइसकेपछि मण्डपमा विवाहको विधिको तयारी भइरहँदा बेहुला सुनको सिक्री नभएको भन्दैमण्डपबाट उठेका थिए। उनी त्यसरी उठ्दा बेहुली पक्षका आफन्तले रोक्ने प्रयास गरेपछि उनले विवाह गर्न अस्वीकार गरेको आरोप छ।  बेहुलाले यसअघि केटी पक्षबाट दाइजोको रुपमा १२ लाख नगद, ३ लाख २५ हजारको मोटरसाइकल, ७५ हजारको ल्यापटप र एउटा सुनको औंठी लिइसकेका बेहुली पक्षको दाबी छ।  दुबै परिवारबीच पहिल्यै दाइजोको विषय टुंगो लागेपछि विवाहको लागि तयार भएको थिए। तर, मण्डपमा बसिसकेपछि बेहुलाले थप दाइजो खोजेपछि विवाद सुरु भएको बेहुली पक्षको आरोप छ। प्रहरीले घटनाको विषयमा अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाही अघि बढाइने जनाएको छ।  

‘उपहार’ को ‘खाडीमा भेटौंला’ सार्वजनिक

काठमाडौं । गत शुक्रबार देखि रिलिज भएकोे फिल्म ‘उपहार’ को ‘खाडीमा भेटांैला’ गीत ओएसआर डिजिटलमार्फत मंगलबार सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । गीतको भिडियोमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्त फिचर्ड छन् । ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्म यतिबेला देशभरका हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ । रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन, अनुपम गौतमको भीएफएक्स, रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।

स्रोत नखुलेको रकमसहित पाँच जना पक्राउ

बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका ४ गणेशपुरस्थित संतोषी दङगाली होटलबाट स्रोत नखुलेको नगद ५७ लाख २८ हजार ७ सय नेपाली रूपैयाँ र ११ लाख भारतीय रूपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १६ बस्ने ३५ वर्षीय रोहित क्षेत्री, उक्त होटल संचालक दाङ तुलसिपुर उपमहानगरपालिका ९ बस्ने ४३ वर्षीय कृष्ण बहादुर विक र भारत बहराइज बस्ने ४१ वर्षीय राहुल जैसवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले होटल जाँच गर्ने क्रममा होटलको कोठामा झोलामा राखिएको उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी, नेपालगंज उपमहानगरपालिका २ पुष्पलाल चोकस्थित कालिका न्यू कर्णाली होटलबाट श्रोत नखुलेको नगद ३४ लाख नेपाली रूपैयाँ र ४ लाख ४० हजार भारतीय रूपैयाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका(१६ बस्ने ५० वर्षीय सलिम जोलाह र उनकै छोरा २८ वर्षीय आसिप जोलाह रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै घटनामा ६ जना मृत फेला

काठमाडौं। देशका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै घटनामा ६ जना मृत भेटिएका छन् । प्रहरीले धादिङ, बाजुरा, चितवन, काठमाडौं, खोटाङ र रुकुम पश्चिममा भएको घटनामा छ जनाको मृत्यु भएको हो । धादिङको ज्वालामुखी गाउँपालिका–४ बडडाडा बस्ने ३० वर्षीय रामशरण भुजेल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ स्थित कर्णाली नदीमा बुढीनन्दा नगरपालिका–४ घोडाकोट बस्ने ५९ वर्षीय बिस्न धामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।  चितवनको भरतपुर महानगरपालिका ३ बेलचोक डेरा गरी बस्ने नवलपरासी हुप्सेकोट गाउँपालिका(२ गुहेरी घर भएका २५ वर्षीय चुन बहादुर मस्र्याङ्गी मगर आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।  काठमाडौँ महानगरपालिका–६ नयाँबस्ती विपुल स्कुल चोकस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।  खोटाङ, साकेला गाउँपालिका(२ रतन्छा बस्ने २९ वर्षीय जामुन दर्जी सोही गाउँपालिका ४ स्थित मखुवा खोलामा सोमबार  मृत अवस्थामा फेला परेका छन् ।  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० बरानेटी बस्ने ६२ वर्षीय तेज बहादुर पुन सोही ठाउँस्थित जङ्गलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जनमतले उपनिर्वाचनमा उम्मेदवार उठाउने

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवार उठाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालयको बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनमा पार्टीबाट उम्मेद्वार उठाउने निर्णय गरेको हो ।  १५ गते इलाम २ मा प्रतिनिधिसभाको र बझाङ (१) मा प्रदेशसभाको उपनिर्वाचनमा हुँदैछ । बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको पार्टीका राष्ट्रिय प्रवक्ता शरद सिंहले जानकारी दिए । यस्तै सप्तरीमा गत ८ माघमा भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदन छलफल गरी निर्देशित प्रक्रिया अघि बढाउने निर्णय पनि जनमत पार्टीले गरेको छ ।

रक्सीले मातेका चालकले पुलबाट कार खसाले

दाङ । रक्सीले बढि मातेका एक चालकले दाङको घोराहीमा आफूले चलाइरहेको कार पुलबाट तल खसालेका छन् । घोराही–लमही सडक खण्डअन्तर्गत कटुवा खोला पुलबाट सोमबार राति साढे ९ बजेतिर बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्बरको कार तल खसेको थियो । दुर्घटनामा कार चालक ललितपुर महानगरपालिका १५ बस्ने ४२ वर्षीय उज्ज्वल केसी घाइते भएका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले कार अनियन्त्रित भएर पुलबाट खसेको बताए । उनका अनुसार चालक केसीको निधार र छातीमा चोट लागेको छ । घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ। कारमा केसी एक्लै रहेको प्रहरीले जनाएको छ।

सुनको मूल्य तीन दिनयता स्थिर

काठमाडौं । सुनको मूल्य तीन दिनयता स्थिर भएको छ । गत २७ गतेयता सुनको मूल्य घटबढ नभएको हो ।  चाँदीको मुल्य भने आज प्रतितोला १० रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख २६ हजार, तेजाबी सुन १ लाख २५ हजार ४ सय र चाँदी १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको छ।  २७ गते सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा समेत आज सुनको मूल्य २ हजार १ सय ७७ अमेरिकी डलर प्रतिऔँस पुगेको छ। 

राष्ट्रिय सभामा दाहाललाई विजयी गराउन पाँच दलको अपिल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा नयाँ सत्ता समिकरणका लागि सहयात्रा गरेका दलहरुका साझा उम्मेदवार नारायण दाहाललाई एकताबद्ध भएर विजयी गराउन पाँच दलले अपिल गरेका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूको बैठकले दाहाललाई विजयी गराउन अपिल गरेका हुन् ।  बैठकपछि पत्रकारहरुसँग माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने, ‘राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा गठबन्धन दलहरू एकताबद्ध भएर मत दिन अपिल गरेको छ । राष्ट्रिय  कार्यभार पुरा गर्न हामीले राष्ट्रिय सभालाई सही ढंगले सञ्चालन गर्न साझा उम्मेदवार दिएका छौँ । त्यसलाई समर्थन गरेर विजयी गराउन भनेर अपिल गरिएको हो ।’ बैठकमा माओवादीका अध्यक्ष प्रचण्डसहित एमालेका अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा राष्ट्रिय सभा संसदीय दलका नेता मृग्रेन्द्र यादवले आ–आफ्ना धारणा राखेका थिए । उनले यो सरकार खालि सरकार बनाउनका निम्ति मात्रै पुनर्गठन नगरिएको पनि बताए । श्रेष्ठले यो सरकार निश्चित उद्देश्यका साथ पुनर्गठन गरिएको भन्दै सामाजिक आर्थिक रूपान्तरण र समृद्धिका विन्दुमा पुर्‍याउने सरकारको कार्यभार भएको बताए । उनले भने, ‘त्यो कार्यभार यसअघिको सरकार मार्फत पुरा गर्न सकिएन । त्यही उद्देश्यलाई केन्द्रविन्दुमा राखेर यो सरकार पुनर्गठन गरिएको हो ।’ उनले पाँच दलबिच लिखित सहमति भइसकेकाले कुनै समस्या  नभएको दावी गरे ।