नेपाल ए र आयरल्यान्ड ए बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी २० अभ्यास खेल रद्द भएको छ ।

बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो ।

खेल रद्व हुने भएपछि दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यान) ले खेलको अर्को तालिका बनाउने जनाएको छ ।

लगातार हल्क वर्षा भएपछि टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन वटा टी २० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ ।


यस खेलसहित क्यानले पुनस् नयाँ तालिका सार्वजनिक गर्नेछ ।

एमाले कास्कीको अध्यक्षमा खगराज निकट अधिकारी निर्वाचित

कास्की । नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन्। खगराज अधिकारीनिकट बैनबहादुरले पृथ्वीसुब्बा गुरुङनिकट माधव बास्तोलालाई २ सय ४ मतान्तरले हराएर विजयी भएका हुन्। बुधबार भएको निर्वाचनमा बैनबहादुरले ५ सय ५१ मत पाएका छन् भने माधवले ३ सय ४७ मत पाए । ९ सय ३६ मतदातामध्ये ९ सय १५ मत खसेको थियो । अन्तिम परिणाम केही बेरमा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । अन्य पदाधिकारी र सदस्यहरूमा पनि बैनबहादुर अधिकारी कै प्यानलको वर्चस्व छ ।

चितवनको रामनगरमा बिहानै दुर्घटना :  आठ जना घाइते

चितवन । नारायणगढ मुग्लिन सडकको रामनगरमा बिहीबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।  बिहान  ५ बजे  भरतपुर मनपा १ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर अगाडी चेकिङको लागि रोकी राखेको झापाबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नं. को यात्रु बसको पहाडी   ग २ ख २२५ नं को हायस अनियन्त्रित भई ठक्कर खादा सो दुर्घटना भएको हो ।   दुर्घटनामा स्थानीय कमलबहादुर  न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेज समेत क्षति पुगेको छ । दुर्घटनामा परी  चितवन भरतपुर मनपा ११ बस्ने वर्ष ४४ की मिना सापकोटा,  भरतपुर ५ बस्ने वर्ष ४० को केशर साह,  भरतपुर २१ बस्ने वर्ष ४४ को मेकना तामाङ , भरतपुर १४ बस्ने वर्ष ५३ को हरिराम ढकाल, वर्ष ५१ की धनुमाया ढकाल,  भरतपुर २ बस्ने बर्ष ३० को काशी उपरकोटी,  भरतपुर, २० बस्ने वर्ष ४७ को तुल बहादुर घले र  गोर्खा सिरान चोक गापा १ बस्ने वर्ष २६ की प्रीति रम्तेल घाइते भएका छन् ।  उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर छ । 

आठ जना डिएसपी एसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं। नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सूचना प्रकाशन गरी ८ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको जानकारी दिए ।  बढुवामा सिफारिस हुनेहरूमा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय बजेट शाखामा कार्यरत डिएसपी ढेकेन्द्र खतिवडा, जिल्ला प्रहरी परिसर काठमाडौँको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत डिएसपी अङ्गुर जिसी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेपाल प्रहरी आत्मरक्षा तथा खेलकुद प्रशिक्षक समूह महाराजगन्जमा कार्यरत डिएसपी यादव ढकाल र नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण काठमाडौँमा कार्यरत डिएसपी सन्तोष तामाङ छन्। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगालमा कार्यरत डिएसपी श्यामबाबु ओलिया, नेपाल प्रहरी विद्यालय साँगामा कार्यरत डिएसपी निरञ्जन दत्त भट्ट , प्रहरी प्रधान कार्यालय प्रदेश अपराध समन्वय शाखा नक्सालमा कार्यरत डिएसपी राजन लिम्बू र नेपाल प्रहरी पहरा गण मुख्यालय सामाखुसी काठमाडौँमा कार्यरत डिएसपी विनोद घिमिरे एसपीमा बढुवाका लागि सिफारिस भएका छन्।

टी २० सिरिज : नेपाल र आयरल्याण्ड ‘ए’बीच खेल हुँदै

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग बिहीबारदेखि नेपाल ‘ए’ले टी–२० सिरिज खेल्दैछ। पलिलो खेल बिहीबार दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ। आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ टिमले तीन–तीन खेलको टी–२० र एक दिवसीय सिरिज खेल्न लागेको हो। आयरल्यान्डसँग खेल्ने टी–२० र एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले विनोद भण्डारीको कप्तानीमा टिम घोष्णा गरेको छ। नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग आज पहिलो खेल हुनेछ । दोस्रो खेल शुक्रबार र अन्तिम खेल शनिबार हुने क्यनले जनाएको छ । आयरल्याण्ड ‘ए’सँगको एक दिवसीय सिरिज भने चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र अन्तिम अर्थात् फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ। आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत १५ गते बिहीबार सन् २०२४ मार्च २८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ ।युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९४ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

आजको मौसम : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको छ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला

काठमाडौं । द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । प्रतियोगिताका लागि इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।  मिस नेपाल २०२४ को ग्रान्ड फिनाले साउन १९, गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ ।  प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित नेपाली युवतीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा भाग लिन आवेदनको कुनै पनि शुल्क नलाग्ने द हिडन ट्रेजरले जनाएको छ ।   मिस नेपाल प्रतियोगिताका लागि सहभागीहरूको खोजी बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाडौंलगायत विभिन्न सहरमा हुनेछ । फाइनल अडिसन मे १८, २०२४ मा काठमाडौंमा हुनेछ । जसबाट छानिएका प्रतियोगिहरूले ग्रान्ड फिनालेको तयारीका लागि प्रशिक्षण लिनेछन् । यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेता मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल हुने द हिडन ट्रेजरले जनाएको छ ।    

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको प्रमाण देखिएन : महानिरीक्षक कुँवर

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार, प्रमाण नरहेको बताए । उनले गृहमन्त्री लामिछानेको सम्बन्धमा ठाडो उजुरी आएको र अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताए।उनले जिबी राईको सम्बन्धमा नेपाल प्रहरी संवेदनशील रहेको र सोही अनुरुप पक्राउ गर्ने प्रक्रियामा लागेको बताए।राई मलेसियामा भए पनि नेपाल र मलेसियाका बिचमा सुपुर्दगी सन्धि नभएका कारण नेपाल पठाउन मलेसिया सरकार बाध्य नभएको बताए । महानिरीक्षक कुँवरले प्रहरीले पक्राउ गरी बयान गराउँदा सांसद विनोद चौधरीको व्यक्तिगत स्वतन्त्रतामा अतिक्रमण हुने ठानेर प्रहरी अतिरिक्त सचेत बन्दै संसदलाई पत्र पठाएको स्पष्ट पारे।उनले चौधरीमाथि किर्ते प्रकरणमा अनुसन्धान जारी रहेको र सो अनुसन्धान एक वर्षसम्म चल्ने बताए। महानिरीक्षक कुँवरले पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा नसघाउने देखेर पक्राउ गर्नुपरेको बताए।महराले गाडी र पिएसओ समेत छोडेर हिँडेपछि पक्राउ गर्नुपरेको बताए।महराको स्वास्थ्य अवस्थाका कारण रिहाइ गरिएको भन्दै उनले कुनै दबाब र प्रभावमा नगरिएको बताए। महानिरीक्षक कुँवरले जीवन चलाउनेले प्रहरीमाथि लगाएको आरोपको सन्दर्भमा सम्बन्धित व्यक्ति पक्राउ नहुँदासम्म सो कुरालाई तथ्यको रुपमा लिन नसकिने बताए। 

मिस इकलेज २०२४ को ताज आर्जु पौडेलको शिरमा

काठमाडौं । सिजन मिडयाद्धारा आयोजित ‘मिस इकलेज २०२४’ को ताज आर्जु पौडेल पहिरिन् । राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा १५जना प्रतियोगी लाई पछि पार्दै पौडेलले मिस पपुलर अवार्डको टाइटल पनि हात पार्न सफल भइन विजेता पौडेललाई एक थान ल्यापटप र रु ३५ हजार राशिको गिफ्ट भौचर लगायत विभिन्न पुरस्कार जित्न सफल भइन् ।  यस्तै प्रतियोगितामा फष्ट रनर अप रसिला थापा, सेकेण्ड रनर अप स्वस्तिका बज्राचार्य, थर्र्ड रनर अप जेनिसा बज्राचार्य भएका थिए। त्यसैगरी अन्य विभिन्न विधा मिस चार्मिङ इप्सा मानन्धर, मिस प्रर्सनालीटी सुमित्रा सापकोटा, भिर्योस च्वाइसमा कुमारी कटुवाल, मिस कन्फीडेन्टमा सृष्टि साही, मिस फोटोजेनीक अर्चना चौधरी, मिस इनोसेन्ट अन्जली चौधरीले जित्न सफल भइन भने मिस ट्यालेन्टको अवार्ड स्वस्तीका वज्रचार्यले जितिन ।  उक्त कार्यक्रममा निर्णायक मंडलमा फिल्म निर्माता तथा नायक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक, न्यू मिलेनियम स्कुलकी प्रिन्सिपल कविता अर्याल, व्यवसायी अमित शर्मा, गायीका वविना भट्टराई र नेपाल एयरलाइन्सका वरिष्ठ निर्देशक रमेश पौडेल रहेको आयोजक सस्थाका कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिइन् ।

स्याङ्जा किचनासमा निःशुल्क स्वास्थ्य शिविर गरिदै

स्याङ्जा । स्याङ्जा जिल्लाको किचनासमा निःशुल्क स्वास्थ्य शिविर गरिने भएको छ । स्याङ्जा किचनास कल्याणकारी समाज भरतपुर, चितवन र बिरुवा गाउँपालिका स्याङ्‌जाको संयुक्त आयोजनामा सो शिविर गर्न लागिएको माओवादी केन्द्रका नेता धु्रवराज वाग्लेले जानकारी दिए । स्वास्थ्य शिविर २०८० साल चैत्र ३० गते र २०८१ बैशाख १ गते श्री नवज्योति मा.वि. बिरुवा, स्याङ्जाको प्राङ्गणमा हुने छ । स्वास्थ्य शिविरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नीजि चिकित्सक प्रा.डा. युवराज शर्मा वाग्ले नेतृत्वका चिकित्सकहरुले सेवा गर्ने वाग्लेले जानकारी दिए ।

काठमाडौं र भक्तपुरमा दुई युवाको शव भेटियो

काठमाडौं । काठमाडौं र भक्तपुरमा दुई युवाको शव भेटिएको छ । बुढानीलकण्ठ नगरपालिका–१३ मा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। बुढानीलकण्ठको चुनिखेल पोखरी बस्ने ४६ वर्षीय विजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ इटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा पनि एक पुरुषको शव भेटिएको छ । सोही इटा भट्टामा काम गर्ने रोल्पाको परिवर्तन गाउँपालिका–४ घर भएका ४० वर्षीय मन बहादुर बुढा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएएको छ ।उनीहरुको मृत्यु स्वभाविक हो कि हत्या हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ६ रामहिटी बस्ने पुरू चालिसेको घरमा जुवातास खेलिरहेको अवस्थामा मुगु कारमुरुङ गाउँपालिका १ घर भएका १९ वर्षीय पासाङ छिरिङ समेत ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्घबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ४ सय ५० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

सिक्री नपाएर विवाह रद्द गरेको आरोपमा पक्राउ परेकाहरू धरौटीमा रिहा

बारा । दाइजोमा सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गरेको आरोपमा बारामा पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन्। पक्राउ परेका बारा कलैया उपमहानगरपालिका ४ बस्ने बेहुला उमेश साह गोढ, उनका बुवा बच्चालाल साह गोढ, बेहुलाका दाइहरू राकेश कुमार साह, मुकेश कुमार साह र बेहुलाको भिनाजु बारा परवानीपुर गाउँपालिका ५ बस्ने राम एकवाल साह धरौटीमा रिहा भएका हुन् । फागुन २८ गते राति जन्ती लिएर वीरगञ्ज महानगरपालिका २४ मा पुगेका बेहुला उमेशसहित पाँचै जनाले सुनको सिक्री नपाएको भन्दै विवाद निकालेपछि बेहुली पक्षकाहरूसँग विवाद भएको थियो । सोही सूचनाको आधारमा पर्सा प्रहरीले पाँचै जनालाई पक्राउ गरेको थियो । उनीहरू विरुद्ध बितेको चैत ९ गते जिल्ला अदालत पर्सामा विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको सुनुवाइ गर्दै अदालतका न्यायाधीश दीपक खनालको इजलासले पाँचै जनासित धरौटी माग गर्ने आदेश दिएको हो ।

रास्वपाबाट रमेश खरेलले दिए राजीनामा

काठमाडौं । रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन्। गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट रास्वपामा आबद्ध भएका खरेलले बुधबारबाट लागू हुनेगरी राजीनामा बुझाएका हुन्। खरेलले रास्वपा सभापति रवि लामिछाने नयाँ सत्ता गठबन्धनबाट उपप्रधान तथा गृहमन्त्री बन्न नहुने तर्क गरेका थिए। केही समयअघि उनले सहकारी ठगीको आरोप लागेका सभापति लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिनु नहुने भन्दै आलोचना गरेका थिए। लगत्तै यसबारेमा उनलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको महामन्त्री डाक्टर मुकुल ढकालले बताए। महामन्त्री ढकालले भने, ‘उहाँले अंग्रेजीमा राजीनामा पत्र लेखेर पठाउनुभएको छ।’ गहन विचारपछि आफू राजीनामाको निष्कर्षमा पुगेको खरेलले राजीनामा पत्रमा लेखेका छन् । राजीनामा पत्रमा खरेलले भनेका छन्, ‘तुरून्तै लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैले आधिकारिक रूपमा राजीनामा लेखिरहेको छु। गहन रूपमा विचार गरेपछि म पार्टीबाट अलग हुने समय आइपुगेको निर्णयमा पुगेँ। अवसर र अनुभवको मौका दिएकोमा रास्वपाप्रति आभार व्यक्त गर्दछु ।’  पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग आफ्नो विचार र प्राथमिकता मिल्न नसकेको उनले राजिनामापत्रमा उल्लेख गरेका छन् । गत उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका खरेल जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।

एमाले निकट अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ

काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । बमलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले बालाजु क्षेत्रबाट बुधबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बमलाई आपराधिक लाभको कसुरमा पक्राउ गरिएको बताए । अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले जानकारी दिए । मोबाइल नियन्त्रणमा लिएर धम्क्याएको तथा आपराधिक लाभको कसूर गरेको भन्दै बमविरुद्ध उजुरी परेको थियो । प्रहरीका अनुसार धनगढी घर भएकी बम रस्मिला धामीको उजुरीको आधारमा पक्राउ परेकी हुन्।  सामाजिक सञ्जालमार्फत रस्मिलाले भनेकी छन्, ‘राजनितिक शक्ति पावरको धाग धम्की लगाउँदै अपराधिक कृयाकलाप गर्दै हिँड्ने राजमती उर्फ रक्षा बमलाई तपोबनबाट ध्यान गर्दै गर्दा पुलिसले पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको जानकारि गराउन चाहन्छु न्यायको लडाइँ जारी छ।’