देशभर ७५ मतदानस्थल थप, ९२ हेरफेर
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदानस्थल पुनरावलोकन गर्दै ७५ वटा नयाँ मतदानस्थल थप गरेको छ भने मतदातालाई अपायक परेका, जीर्ण वा प्रयोगमा नरहेका ९२ वटा मतदानस्थल हेरफेर गरेको छ ।
आयोगका अनुसार यसरी कुल १६७ वटा नयाँ मतदानस्थल कायम भएका छन् । यससँगै साबिकका १० हजार ८९२ मतदानस्थलमा पाँच थप भई देशभर कुल १० हजार ९६७ मतदानस्थल कायम भएका छन् । आयोगले आम मतदाताको पहुँच सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले १४ मंसिरमा मतदानस्थलको पुनरावलोकन गरेको जनाएको छ ।
सूचना अधिकारी सुमन घिमिरेका अनुसार पुनरावलोकनका क्रममा मतदानस्थलको नाम र ठेगानामा रहेका त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकताअनुसार साबिककै अन्य मतदानस्थलमा समायोजन गर्ने काम गरिएको छ । मतदानस्थल टुंग्याए पनि मतदान केन्द्र भने हालसम्म निर्धारण नभएको र १५ पुसमा निर्धारण गरी राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिका छ ।
आयोगका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्म विभिन्न जिल्लामा नयाँ मतदानस्थल कायम गरिएको छ। पूर्वमा ताप्लेजुङ, इलाम, झापा, संखुवासभा, धनकुटा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिराहादेखि मध्य तथा पश्चिम पहाड–तराईका काठमाडौैं उपत्यका, पर्सा, गोरखा, कास्की, रुपन्देही, दाङ, बाँके, बर्दिया हुँदै कर्णाली र सुदूरपश्चिमका बाजुरा, बझाङ, डोटी, कैलाली, दार्चुला र कञ्चनपुरसम्म मतदानस्थल थप र हेरफेर गरिएको हो ।
नयाँ मतदानस्थल विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन तथा क्याम्पसहरूमा कायम गरिएको आयोगले जनाएको छ ।
खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी
खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रु तीन करोड लगानीमा केन्द्र सञ्चालन गर्न लागिएको हो । प्राकृतिक रूपमा उत्पादन हुने बहुमूल्य जडीबुटीको वैज्ञानिक ढङ्गले सङ्कलन, भण्डारण तथा प्रशोधन गर्न यो केन्द्र स्थापना गर्न लागिएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले जानकारी दिएका छन् । खोटाङ उद्योग वाणिज्य सङ्घको समन्वयमा बुधबार दिक्तेलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो जानकारी दिएका हुन् । उनले खोटाङमा स्थापना गर्न लागिएको यो केन्द्र कोशी प्रदेशकै एकमात्र जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र हुने जानकारी दिएका छन् । प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा सञ्चालन हुने यो केन्द्रले जडीबुटीको अव्यवस्थित सङ्कलन र निर्यातलाई व्यवस्थित गर्दै स्थानीयस्तरमै मूल्य निर्धारण गर्ने गर्नेछ । दश स्थानीय तह रहेको खोटाङमा प्रशोधन केन्द्र सञ्चालनमा आएपछि स्थानीय युवाका लागि रोजगारीको अवसर सिर्जना हुने, जडीबुटी खेतीप्रति आकर्षण बढ्ने तथा ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । जिल्लामा स्थापना गर्न लागिएको जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र खोटाङ उद्योग वाणिज्य सङ्घसँग सम्बद्ध कार्यदलले तयार पारेको विस्तृत योजना अनुसार सञ्चालनको तयारी गरिएको छ । प्रशोधन केन्द्र स्थापना भएपछि जडीबुटीको गुणस्तर परीक्षण, प्रशोधन, प्याकेजिङ तथा बजार व्यवस्थापन जिल्लामै गरिने जनाइएको छ । कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा स्थानीय सरोकारवाला निकायले जडीबुटी क्षेत्रको सम्भावना र चुनौतीबारे आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले प्रदेश सरकारको यो योजनाले जिल्लाको दीर्घकालीन आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए । जिल्लामा उत्पादित जडीबुटी अहिलेसम्म व्यवसायीले आफूखुशी सङ्कलन गरेर लाने गरेका छन् । बहुमुल्य जडीबुटीको उचित मूल्य निर्धारण नहुँदा जिल्लाका किसान समस्यामा पर्दै आएका छन् । सडक सञ्जाल जोडिएसँगै जिल्लामा उत्पादित जडीबुटी निर्यात हुन थालेपछि व्यवसायिक खेती गर्ने किसानको सङ्ख्यासमेत बढ्दै गएको छ । जिल्लाका किसानले चिराइतो, पाखनभेद, तेजपात, टिमुर, तुलसी, लोठसल्ला, लेमनग्रास र मजिटोलगायतका जडीबुटीको व्यवसायिक खेती गर्दै आएका छन् ।
सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । मृत्युु हुनेमा स्थानीय विनोद मेहताको छोरा वर्षीया ४ का सचिन मेहता रहेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६९२७ नम्बरको ट्याङ्करको ठक्करबाट गम्भीर घाइते बालकको उपचारको क्रममा अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बर बहादुर पुरीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते बालकको युनिक अस्पताल रायपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर लाने क्रममा मृत्यु भएको उनले जानकारी दिए । मृतक बालक शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाएको छ । ठक्कर दिने ट्यांकरलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन् । उनले पहिलो भागअन्तर्गत यस क्षेत्रमा दुई सय ८६ वटा ग्रिड बनाएर गणना गरिने जानकारी दिए । उनले भने, “एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने छ ।” चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना गर्न लागिएको जनाउँदै मगरले उक्त ब्लकलाई तीन भागमा विभाजन गरिएको बताए । उनका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखी बाघ गणना गरिने छ । चितवन–पर्सा ब्लकमा नौ सय ५८ वटा ग्रिड बनाएर बाघ गणना गर्न लागिएको उल्लेख गर्दै सूचना अधिकारी मगरले यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने जानकारी दिए । “योसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार-चार वर्षमा बाघ गणना गरिँदै आइएको छ”, मगरले भने । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू गणनामा सहभागी भएका उनले जानकारी दिए । ग्रिडहरू बीचभागमा पर्ने स्थानमा गणना गर्ने प्राविधिक क्याम्प (शिविर) सथापना गरी गणकका लागि बस्ने व्यवस्था गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । गणकहरूले भूगोल अनुसार आठदेखि १२ सम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने उहाँले जानकारी दिए । “ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, सूचना अधिकारी मगरले भने । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले बताए । “हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । पहिलो कम्प्लेक्स (समूह) यो हो भने दोस्रो बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीन वटा ब्लक हुनेछन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुनेछ । यसलाई एउटै ब्लक बनाइने छ”, उनले भने । यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा तीन सय ५५ वटा वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दियामा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए । बाघ गणना भएपछि गैँडा गणना गर्ने तयारी गरिने निकुञ्ज कार्यालयले जनाएको छ । गत वर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो ।
तरुलखेतीबाट २२ जनालाई रोजगारी
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको अनुभव नभए पनि तीन वर्षअघि उनले सुरु गरेकाे तरुलखेतीबाट अहिले २२ जनाको जीविकोपार्जन सुनिश्चित बनेको हो । खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर सुरु गरेका हुन् । “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन, तर तीन वर्षको प्रयासपछि तरुलखेतीबाट २२ जनालाई रोजगारी दिनुका साथै आत्मनिर्भर बनाउन सफल भएको छु”, उनले भने । सुन्दरहरैँचा–७ को ‘७५ बिघा’ भन्ने ठाउँ वर्षौँदेखि पानीको कमी र जगङ्ली जनावारको आतङ्कले ग्रस्त थियो । धान र मकै सुक्ने, बोरिङको पानीले मात्रै पुग्ने अवस्था थिएन । “पहिले केराखेती पनि हुन्थ्यो । तर हात्तीको आतङ्कले बोटहरूमा क्षति भइरहन्थ्यो”, खेमराजले भने । त्यस्तो अवस्थामा उनले वैकल्पिक खेतीकाम रूपमा तरुल छनोट गरेको उनको भनाइ छ । खेमराजले भने, “साथीभाइले सुरुमा गरेको देखेपछि मलाई पनि रहर लागेर आयो । तीन बिघा जमिन भाडामा लिएर तरुल लगाएँ, आज सात बिघामा विस्तार भएको छ ।” उनिसँगै उभिएका जग्गाधनी प्रकाश उप्रेतीले भने, “पानी नै नभएर सबै बाली सुक्थ्यो । पूर्वाञ्चल विश्वविद्यालय बनेपछि बाटोको छेउ परेपछि झन पानी आउने विकल्प नै रोकियो । तर तरुल भने सुकेको जमिनमा पनि उत्पादन हुँदो रहेछ ।” तरुलखेतीबाट प्रशस्त आम्दानी हुने देखिएपछि यहाँका किसानमा पुनः आशा पलाएको उनको भनाइ छ । उप्रेतीका अनुसार तरुलको एउटै बोटले तीन–पाँच किलोसम्म फल दिने, बजारमा माघेसङ्क्रान्तिसम्म माग बढ्ने भएकाले किसानको मुहारमा उत्साह देखिएको छ । सफलतासँगै जङ्गली जनावरको सास्ती भने कायम नै रहेको स्थानीय किसान बताउँछन् । “यस क्षेत्र कहिले बँदेल, कहिले मृग र कहिलेकाहीँ हात्ती आइरहन्छन्”, खेमराजले भने, “बँदेलले बोटै उखेलेर खाइदिन्छ । तरुल जोगियो भने सुन फल्दो रहेछ । तर जोगाउनै चुनौतीपूर्ण बनेको छ ।” उनले बिघाको रु ६० हजारका दरले सात बिघाको भाडा तिर्दै आएको बताए । सबै खर्च काट्दा वर्षको करिब रु सात लाख बचत हुने जनाउँदै उनले यहाँबाट २२ जनाले रोजगारी पाएका उल्लेख गरे । केराबालीमा रोगको समस्या बढेपछि विकल्पका रूपमा आफूले तरूलखेती रोजेको उनले जानकारी दिए । पहिले आफ्ना लागि मात्र रोपिने तरुल अहिले व्यावसायिक खेतीका रूपमा विस्तार हुँदै गएको छ । स्थानीय दोमट माटो, सुख्खा भू–परिवेश र अनुकूल हावापानीका कारण तरुलखेती यस क्षेत्रका लागि उपयुक्त मानिएको किसान खेमराजले बताए । धान, मकै र केरा जस्ता बालीमा हात्तीको उपद्रो बढ्दै गएपछि किसान वैकल्पिक नगदे बालीतर्फ आकर्षित भएका उनको भनाइ छ । “तरुलको बाक्लो झाँडीभित्र हात्ती पस्न नसक्ने भएकाले यो खेती सुरक्षित छ”, खेमराजले भने । बँदेलले भने केही नोक्सानी पुर्याउने गरेको किसानको गुनासो छ । उनका अनुसार बारीबाटै प्रतिकिलो रु ४५ का दरले तरुल बिक्री हुँदै आएको छ । व्यापारीहरू दैनिक गाउँगाउँमा जुटका बोरा बोकेर आउने भएकाले खनेर बोरा भर्ने मात्रै काम गर्नुपर्ने किसान खेमराजले बताए । “बिक्री नहोला कि भन्ने चिन्ता लिनुपर्ने अवस्था छैन”, उनले भने । गत मङ्सिर १५ देखि पुस २७ सम्म तरुल खन्न सकिने भएकाले विशेषतः माघे सङ्क्रान्तिका लागि बढी खपत हुन्छ । सोही कारणले किसानले पुस २७ भित्र सबै तरुल बजारमा पठाउने तयारी गरेका छन् । एउटा बोटबाट करिब १० किलोसम्म उत्पादन हुने खेमराजले जानकारी दिए । सिँचाइ, बजार व्यवस्थापन र जङ्गली जनावर नियन्त्रणमा स्थानीय सरकारबाट सहयोग भएमा सुन्दरहरैँचा नगरपालिका तरुलखेतीका लागि मुलुककै नमूना बन्न सक्ने किसान खेमराजको बुझाइ छ । उनका अनुसार तरुल नगदेबाली मात्र नभएर सङ्घर्ष, सम्बन्ध र सम्भावनाको प्रतिक बनेको छ । यहाँका किसानको पसिनाले बाँझो जमिनलाई फेरि उत्पादनशील बनाइरहेको उनले बताए । यहाँ तरुलखेती गर्ने किसानले भोगेका सङ्घर्ष, सफलताको कथा किसान र स्थानीय समाजबीचको सहकार्य, आत्मनिर्भरता र रोजगारीको मार्ग बन्दै गएको किसानको भनाइ छ ।
रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको जानकारी दिएका छन् । रास्वपा सभापति लामिछाने रकम जमानत राखेर आज नै रिहा हुने तयारी भइरहेको छ ।
भारत–नेपाल सीमामा १५ वर्षीया नेपाली किशोरी मानव तस्करीबाट उद्धार
नेपालगञ्ज । भारतको रुपैडिहा चेकपोस्टमा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) को सक्रियताले एक १५ वर्षीया नेपाली किशोरी सम्भावित मानव तस्करीबाट बचेकी छन्। भारत–नेपाल सीमा क्षेत्रअन्तर्गत रुपैडिहा चेकपोस्टमा खटिएको एसएसबीको ४२औँ वाहिनीले आज दिउँसो नियमित चेकिङ तथा फ्रिस्किङका क्रममा एक नेपाली किशोरी र एक नेपाली युवकलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। जाँचका क्रममा किशोरीले प्रस्तुत गरेको जन्मदर्ता प्रमाणपत्रअनुसार उनको उमेर १५ वर्ष मात्र रहेको पाइयो। युवकले किशोरीलाई आफ्नी पत्नी बताउँदै दुवै लखनऊ जान लागेको दाबी गरेका थिए। तर दुवैको नागरिकता तथा अन्य कागजात जाँच गर्दा ती कागजात उनीहरूको नभएको र ठेगाना पनि फरक–फरक रहेको खुलेपछि सुरक्षा टोलीलाई शंका लागेको थियो। गहन सोधपुछपछि किशोरीले आफू घरबाट भागेर आएको स्वीकार गरिन्। उनले उक्त युवकसँग तीन वर्षदेखि फेसबुकमार्फत चिनजान भएको र सोही कारण भागेर आएकी बताइन्। भारतमा कहाँ लगिँदैछ भन्ने उनलाई कुनै जानकारी थिएन। किशोरीको मोबाइल फोनमार्फत उनका दाजुको फेसबुक आईडी प्रयोग गरी भिडियो कल गर्दा उनकी आमाले युवकलाई नचिनेको बताइन्। आमाले छोरीलाई गलत नियतले बहकाएर लगिएको आशंका गर्दै छोरीलाई साथमा नपठाउन सुरक्षा अधिकारीहरूसँग आग्रह गरिन्। सम्पूर्ण अनुसन्धानपछि घटना मानव तस्करीसँग सम्बन्धित देखिएकाले युवकलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ भने किशोरीलाई नेपाल प्रहरीको उपस्थितिमा मैती नेपालको शान्ति पुनर्स्थापना गृहलाई सुरक्षित रूपमा हस्तान्तरण गरिएको छ। (समाचार : सन्तोष शुक्ल, रुपैडिहा)
निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ तयार पारी आयोगले वेबसाइटमार्फत सार्वजनिक गरेको हो । स्रोत सामग्रीमा सात वटा परिच्छेदमा विभिन्न विषयवस्तु समावेश गरिएका छन् । परिच्छेद एकमा लोकन्त्र र संविधान, परिच्छेद दुईमा निर्वाचन तथा राजनैतिक दलसम्बन्धी व्यवस्था, परिच्छेद तीनमा निर्वाचन प्रणाली, विभिन्न तहको निर्वाचन तथा समावेशिता, परिच्छेद चारमा निर्वाचन चक्र, प्रक्रिया, मतदान प्रक्रिया, नोटा (नो भोट) मतगणना आदिबारे विषयवस्तु समावेश छन् । यसैगरी परिच्छेद पाँचमा निर्वाचन व्यवस्थापन गर्ने निकाय तथा सम्बद्ध कानुन, परिच्छेद छमा निर्वाचन आचारसंहिताको पालना, अनुगमन र पर्यवेक्षण र परिच्छेद सातमा निर्वाचनका सरोकारवालाहरू, नागरिकको कर्तव्य र अधिकार तथा निर्वाचन प्रक्रियामा शिक्षकको भूमिका, निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमणसम्बन्धी विषय उल्लेख छन् ।
पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहे पनि व्यवस्थित प्रवर्द्धन नहुँदा यो क्षेत्रले अपेक्षित रूपमा पर्यटक तान्न नसकेको सरोकारवाला बताउँछन् । नयाँ वर्ष, चाडपर्व तथा विभिन्न अवसरमा वनभोज (पिकनिक) खान आउने आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको तावा भञ्ज्याङ पछिल्लो समय विस्तारै चिनिन थालेको छ । तर, दीर्घकालीन योजना, पूर्वाधार विकास र प्रचार रणनीति नहुँदा यसको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन । मनोरम दृश्यले भरिएको यो क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लखर्क र खोटाङको साकेला गाउँपालिका–३ लाई जोड्ने महत्वपूर्णस्थल हो । हरियाली वन, खुला फाँट, स्वच्छ हावापानी र टेम्के–सेल्मेको काखमा अवस्थित यस भञ्ज्याङले जो–कोही पर्यटकलाई आकर्षित गर्ने स्थानीय बताउँछन् । दुई जिल्लाको सिमानामा पर्ने यस क्षेत्रमा साकेला गाउँपालिकाले पछिल्लो समय विभिन्न भौतिक संरचना निर्माण गर्नुका साथै चियाखेतीको विस्तार सुरु गरेको छ । चिया बगान, खुला पार्क र प्राकृतिक दृश्यले तावा भञ्ज्याङको सौन्दर्य अझ बढाएको स्थानीयको भनाइ छ । तावा भञ्ज्याङ नेपाल सरकारको ‘घुम्नै पर्ने सय गन्तव्य’ सूचीमा समावेश मुन्दुम पदमार्गको सुरु विन्दुसमेत भएकाले यसको ऐतिहासिक र सांस्कृतिक महत्व पनि उत्तिकै छ । यति महत्वपूर्ण पहिचान हुँदाहुँदै पनि प्रचार–प्रसारको कमीका कारण अपेक्षित सङ्ख्यामा पर्यटक भित्रिन नसकेको सरोकारवालाको गुनासो छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले तावा भञ्ज्याङ टेम्के–सेल्मेको काखमा अवस्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यसको प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको बताए । “यो क्षेत्रमा भरपूर पर्यटकीय सम्भावना रहेको देखिन्छ”, उनले भने, “केही संरचना निर्माणसँगै चियाखेती विस्तार भइरहेको छ, स्थानीय तह, निजी क्षेत्र र सरोकारवाला निकाय मिलेर काम गर्नसके यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।” स्थानीयका अनुसार दावाभञ्ज्याङ र पाँचधारे क्षेत्र भोजपुर र खोटाङबीच लेकबेँसी कृषिउपजको विनिमय हुने प्रमुख केन्द्रका रूपमा परिचित छ । यहाँ महिनामा दुई पटक पाँचधारे बजार लाग्ने गर्दछ । फराकिला डाँडाकाँडा, रमणीय भू–दृश्य र प्रशस्त पर्यटकीय सम्भावना भएकाले पाँचधारे तथा तावा भञ्ज्याङलाई जोडेर दुई जिल्लाकै साझा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय जानकारको भनाइ छ । प्राकृतिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण तावा भञ्ज्याङ र पाँचधारे क्षेत्रको व्यवस्थित विकास र प्रभावकारी प्रचार–प्रसार गर्नसके भोजपुर तथा खोटाङ दुवै जिल्लाको पर्यटन विकासमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ ।
स्याङ्जामा कोदो, मकै फल्ने बारीमा सुन्तलाकाे बगैँचा
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् । ५७ वर्ष पहिला कोदो, मकै फल्ने बारीमा बुवाले थालेको सुन्तला खेतीलाई बिस्तार गर्दै उनले आम्दानी लिन थालेका हुन् । कोदो, मकैबाटभन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेर थालिएको सुन्तला खेती अहिले आम्दानीको मुख्य स्रोतकोरूपमा रहेको छ । विसं २०७५ सालदेखि व्यावसायिक रूपमा सुन्तला खेती गरेका सेनले सुन्तलाको बगैँचा विस्तारमा जोड दिँदै हाल ३६ रोपनीमा व्यावसायिक रूपमा खेती गर्दै आएका छन् । उनले यसवर्ष ३०० सुन्तलाका बोटमा फलेको सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका हुन् । “३६ रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचामा रहेको बोटहरुमध्ये यसवर्ष ३०० बोटमा मात्रै उत्पादन भएको हो” उनले भने, “स्थानीय स्याङ्जाकै सुन्तला व्यापारीलाई बोट नै १५ लाखमा ठेक्कामा दिएको हुँ ।” स्थानीय सुन्तला व्यापारीले बगैँचाबाट सुन्तला टिप्ने, ढुवानी तथा बजारीकरणको काम गरेका हुन् । बगैँचामा पुराना ३०० र नयाँ एक हजार ५० गरी एक हजार ३५० वटा सुन्तलाका बोट रहेका छन् । नयाँ बोट फल्नेक्रममा रहेकाले आगामी वर्षमा उत्पादन र आम्दानी सँगसँगै वृद्धि हुँदै जाने उनले बताए । उनको बगैँचामा स्थानीय जातका सुन्तला र धनकुटाबाट ल्याएर लगाएका ‘खोकु’ जातका सुन्तलाका बोटहरु छन् । “यहाँ उत्पादन भएको सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन” उनले भने, “उत्पादन हुनुपर्याे । स्थानीय तथा पोखरालगायतका ठाउँका व्यापारी बगैँचामै आउने गरेका छन् ।” किसानले सुन्तलाको बोट नै वा फुटकरमा दुबै तरिकाले सुन्तला बिक्री गर्ने गरेका छन् । बारीमा निर्वाहमुखी रूपमा उत्पादन हुने कोदो तथा मकैले गुजारा चलाउँदै आएका स्थानीय कोदो तथा मकैको विकल्पका रूपमा गरिएको सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गईरहेका छन् । “बुवाले सुरुमा परीक्षणका रूपमा २५ वटा बोट लगाउनुभएको थियो, केही वर्ष राम्रो फल्यो अनि बिस्तारै बोट मर्दै गए” उनले भने, “पहिला लगाएका बोटहरु मरेपछि फेरी मैले गोरखाबाट कलमी बेर्ना ल्याएर लगाएँ त्यो पनि ५/६ वर्षमै बोटहरु मरे, २८७ वटा बोट जरैदेखि फालिदिएँ ।” सुन्तला कृषक सेनले जस्तै ठुलाडिहीका ३१ घर परिवार व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । प्रत्येक घरले एकदेखि १५ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्दै आइरहेका छन् । सुन्तलामा पटक–पटक असफल हुँदै गर्दा पनि हरेस नखाइ निरन्तर रूपमा अगाडि बढ्नुभएका सेनले कृषि प्राविधिकको सल्लाह बमोजिम बेर्ना तथा अन्य सरसल्लाहअनुसार पुनः सुन्तला खेती गरेका थिए ।
धनकुटामा जङ्गल गएका बालकको करेन्ट लागेर मृत्यु
धनकुटा । दाउरा काट्न जङ्गल गएका बालकको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको छ । पाख्रिबास नगरपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु भएको हो । विद्युतको पोलको सपोर्ट तारबाट करेन्ट लागेर बालकको मृत्यु भएको स्थानीयले आशङ्का गरेका छन् । जिल्लाको पाख्रिबास नगरपालिका ५ चौतारास्थित जङ्गलमा गैरीगाँउ बस्ने लोकबहादुर तामाङको १४ वर्षीय छोरा बादल तामाङको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । घटनाको प्रारम्भिक अनुसन्धानपछि मृतक तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको थियो । पोष्टमार्टमपछि उक्त शव दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
मौरीपालनबाट मनग्य आम्दानी गर्दै बाँकेका घनश्याम
बाँके । धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहेका छन् । उनले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त बुझाउनुभएको छैन, बरु समयलाई उत्पादक काममा लगाएका छन् । त्यसबापत उनले राम्रो आम्दानीसमेत गरिरहेका छन् । खत्री विगत चार वर्षदेखि मौरीपालनमा रमाइरहेका छन् । २५ घारबाट सुरु गरिएको उनको व्यावसायिक यात्राले हाल उनलाई अवकाशप्राप्त सेना होइन, एउटा सफल व्यवसायीक पहिचान दिएको छ । पहिचान मात्रै होइन, त्यससँग वार्षिक करिब रु २० लाख आम्दानीसँगै आत्मनिर्भरसमेत बनाएको छ । बागेश्वरी मौरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा अघि बढेका खत्रीसँग हाल एक सय ११ घार मौरी छन् र व्यवसायमा श्रीमती मेनका डाँगी खत्रीको बलियो साथ छ । यो दम्पतीलाई यति बेला कार्तिके मह काढ्ने र बिक्री गर्ने चटारो छ । यसबाट वार्षिक करिब ५० क्विन्टल मह उत्पादन हुने गरेको खत्रीले सुनाए। उनले भने, “बजारको चिन्ता छैन, उत्पादन भएको मह घरबाटै बिक्री हुन्छ । तोरीको कार्तिके मह प्रतिकिलो रु ५०० र जङ्गली मह रु ७५० मा थोक मूल्यमा बिक्री गरिरहेका छौँ ।” यसरी आम्दानी गर्न उनको सङ्घर्ष पनि कम छैन । उनले मौसमअनुसार मौरीका घारहरू असारदेखि मङ्सिरसम्म दाङका विभिन्न क्षेत्रमा, मङ्सिरपछि बर्दिया (बढैयाताल र राजापुर क्षेत्र) र अत्यधिक चिसोमा हुस्सुबाट जोगाउन फेरि दाङमा लैजाने गरेका छन् । जङ्गली महका लागि सिसौको रसका लागि बढैयातालको भदै क्षेत्र र जामुनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मौरीलाई चरन गर्ने गरेको खत्रीले जानकारी दिए । “मौरीपालन देख्दा सजिलो लागे पनि यो उत्तिकै चुनौतीपूर्ण छ । मह काढ्नु मात्र ठुलो कुरा होइन, वर्षायाममा मौरीलाई आहाराको अभाव हुन नदिनु र शत्रु जीवबाट जोगाउन धेरै चुनौती छन् । एक सय घार मौरी राम्ररी पाल्न सके मासिक रु एक लाखसम्म सजिलै कमाउन सकिन्छ ।” यस व्यवसायले खत्री परिवारलाई मात्र आर्थिक लाभ दिएको छैन, स्थानीयलाई रोजगारीसमेत सिर्जना गरिरहेको छ । मह काढ्ने बेला ११ जना र ढुवानीका बेला चार जनाले काम पाउने गरेका छन् । उनले यस व्यवसायलाई थप व्यवस्थित गर्दै आम्दानीसँगै रोजगारीसमेत बढाउने योजना रहेको उनले सुनाए । खत्रीले आत्मविश्वासका साथ भने, “मेरो व्यवसायबाट आफ्नो परिवार मात्रै होइन, स्थानीयले पनि केही न केही लाभ पाइरहेको छन् । त्यसैले यसलाई थप व्यवस्थित र विस्तार गर्ने मेरो योजना छ । हाल दुई सय ५० घार पुर्याउने लक्ष्यका साथ घारहरूको व्यवस्थापन गरिसकेको छु ।”
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपियाँ ३२ पैसा र बिक्रीदर १४४ रुपियाँ ९२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपियाँ ०८ पैसा र बिक्रीदर १६९ रुपियाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९२ रुपियाँ ३९ पैसा र बिक्रीदर १९३ रुपियाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८१ रुपियाँ ०८ पैसा र बिक्रीदर १८१ रुपियाँ ८३ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपियाँ ४९ पैसा र बिक्रीदर ९५ रुपियाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०४ रुपियाँ ६५ पैसा र बिक्रीदर १०५ रुपियाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ६८ पैसा र बिक्रीदर ११२ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपियाँ २८ पैसा र बिक्रीदर नौ रुपियाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपियाँ ४९ पैसा र बिक्रीदर २० रुपियाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४८ पैसा र बिक्रीदर ३८ रुपियाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४९ पैसा र बिक्रीदर ३९ रुपियाँ ६५ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २९ पैसा र बिक्रीदर ३९ रुपियाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ३० पैसा र बिक्रीदर ३५ रुपियाँ ४५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ७५ पैसा र बिक्रीदर नौ रुपियाँ ७९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ४५ पैसा र बिक्रीदर १५ रुपियाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६३ पैसा र बिक्रीदर २२ रुपियाँ ७२ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपियाँ ५५ पैसा र बिक्रीदर १८ रुपियाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपियाँ १९ पैसा र बिक्रीदर ४७२ रुपियाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ ७९ पैसा र बिक्रीदर ३८४ रुपियाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ८५ पैसा र बिक्रीदर ३७६ रुपियाँ ४१ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
आज दिनभर माैसम कस्ताे रहला ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । अन्यत्र मौसम मुख्यतया सफा रहेको छ । आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार भने लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
पाँचथरमा किराँत पार्क निर्माण
पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेको छ । किराँत राई समुदायको परम्परागत संस्कार र संस्कृतिसँग सम्बन्धित मूर्ति र वनस्पतिहरु, सुप्तुलुङ चुलालगायत संरचना भएको यो स्थान पछिल्ला दिनमा आन्तरिक पर्यटकीय स्थलका रुपमा उद्यान निर्माण गरिएको हो । नेपाल एकीकरणअघि माझ किराँतमा बसोबास गर्ने किराँत राई समुदायले पूर्वतर्फ सर्नेक्रममा मानिआएको धर्म, संस्कृति, रीतिरिवाज, परम्परा, भाषा संस्कृति भुल्दै गएको भन्ने सन्दर्भमा सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरको लालीखर्कमा उक्त संरचना निर्माण गरिएको हो । ताया रुङरि खिमका अध्यक्ष भक्तबहादुर राईका अनुसार राई वान्तवा भाषाका ‘ताया’ को अर्थ ज्ञान वा वुद्धि, ‘रुङरि’को अर्थ शक्ति र ‘खिम’को अर्थ घर भन्ने हुन्छ । यसप्रकार ज्ञान वा वुद्धि र शक्ति प्रदान गर्ने घरका रुपमा यो उद्यान निर्माण गरिएको हो । “माझ किराँतस्थित भोजपुर, खोटाङलगायत जिल्लाबाट बसाइँ सरी राईहरु पाँचथर आइपुगेको इतिहास छ । माझ किराँतबाट जति पूर्व लाग्यो, भाषा, संस्कार, संस्कृति उति नै बिर्सिदै जाने गरेको पाएपछि यो उद्यानमार्फत पहिचान झल्काउने र नयाँ पुस्तालाई जानकारी दिने प्रयास गरेका हौँ”, अध्यक्ष राईले भने, “हाम्रो पुस्तासम्म आउँदा भाषा, संस्कार र संस्कृतिका धेरै कुराहरु लोप हुँदै गए । हामीभन्दा पछिको पुस्ताले आफ्नो पहिचान बताउन नसक्ने अवस्था आएपछि यो पार्क बनाएका हौँ ।” मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका–३ लालीखर्कको सुम्नीमा चोकभन्दा केहीमाथि करिब १० रोपनी जग्ग्गामा यो उद्यान निर्माण गरिएको छ । फिदिम नगरपालिका–३ लालीखर्कमा राई समुदायको बाक्लो बस्ती रहेको छ । यसको आसपास फिदिम नगरपालिकाको वडा नम्बर ७ असिने, वडा नं १ नाम्दू ढोडेनी, वडा नं २ रमिते ठाडे, वडा नं ५ चोकमागू, वडा नं ६ सिवामा राई समुदायको बसोबास रहेको र लालीखर्क यी सबै स्थानको केन्द्रमा रहेका कारण सबैको पायक पर्ने स्थानमा उद्यान निर्माण गरिएको अध्यक्ष राईले स्पष्ट पारे । यस उद्यानमा प्रकृति र संस्कृति झल्काउने, परम्परागत खेलकुदसँग सम्बन्धित सामग्री र बाल उद्यान गरी चार प्रकारका सामग्रीहरु राखिएका छन् । प्राकृतिक पार्क (खामलिखाला खिम)मा राईको जन्मदेखि मृत्युसम्मका संस्कारमा आवश्यक पर्ने बनस्पतिहरु रोपिएका छन । जसको नाम र यसको प्रयोगको जानकारीसमेत स्पष्ट बुझिने गरी राखिएको छ ।
जुम्लामा १८ हजार मेट्रिक टन स्याउ उत्पादन
जुम्ला । जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिक टन स्याउ उत्पादन हुँदा रु ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउ खेतीमा संलग्न छन् । जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर रहेको कार्यालयले जनाएको छ । त्यसमध्ये स्याउखेती गरिने क्षेत्रफल आव २०८१/८२ मा चार हजार ३२५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४४५ हेक्टर पुगेको कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आवमा दुई हजार १२५ हेक्टरमा मात्रै स्याउ फलेको हो । पछिल्लो समय जिल्लामा स्याउखेती गर्ने किसान बढ्दै गएका छन् । आव २०८१/८२ मा स्थानीय जातका र उच्च घनत्व (फुजी) स्याउको कूल उत्पादन आव २० हजार ५१२ मेट्रिकटन भएको थियो । चालु आवमा उत्पादन घटेर १८ हजार २४५ मेट्रिकटन भएको कृषि विकास कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार यो वर्ष असिना र वेमौसमी वर्षाले गर्दा १० प्रतिशतले उत्पादन घटेको हो । अहिले एक हजार ७६५ मेट्रिकटन स्याउ भण्डारगृहमा राखिएको छ । यो वर्ष जिल्लामा स्याउ बिक्रीमा संलग्न किसान सात हजार ३५० र व्यापारी ६०३ रहेका कृषि विकास कार्यालय प्रमुख अधिकारीले बताए । नासो र कोसेलीमार्फत दुई हजार ६४८ मेट्रिकटन स्याउ जिल्लाबाट निर्यात भएको उनले जानकारी दिए । जिल्लामा हाल ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा उच्च घनत्वको स्याउ उत्पादन हुने गरेको छ । यो वर्ष जिल्लामा ५८६ मेट्रिकटन उच्च घनत्व जातको स्याउ उत्पादन भएको जनाउँदै उनले त्यसमध्ये ४२७ मेट्रिकटन निर्यात भएको बताए । जिल्लामा हाल उत्पादित स्याउका जातहरूमा ‘रेडडेलिसियस’, ‘रोयलडेसियस’, ‘गोल्डेन डेलिसियस’, ‘रिचारेड’ र ‘जनाधन’ रहेका कृषि विकास कार्यालयले जनाएको छ । हाल उत्पादित उन्नत जातमध्ये फुजी गाला (इटालियन जात)को स्याउखेती हुने गरेको प्रमुख अधिकारीको भनाइ छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले नयाँ सिफारिस गरेका जातमध्ये ‘स्टारकिमसन’, ‘डेलिसियस’, ‘बाइट एन अर्ली’ र ‘स्टार्क स्पर गोल्डेन’ जात रहेका भन्दै उनले सोको खेतीबारे अध्ययन भइरहेको जानकारी दिए । गत वर्षको तुलनामा स्याउ उत्पादन कम भए पनि यो वर्ष किसानले मूल्य पाएकाले आम्दानी भने बढी भएको अनुमान गरिएको उनले बताए ।

