नेपालमा स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ मौसम

काठमाडौं ।नेपालमा हिजोसम्म पश्चिमी न्यूनचापीय प्रणालीको असर रहे पनि आज भने स्थानीय वायुको मात्रै प्रभाव रहेको छ ।

वाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली हुनेछ । 

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थ सिद्धिका लागि गरिएको गठबन्धन नभएको बताएका छन् । उनले सरकारमा सामेल दलहरू मुलुकको समृद्धिप्रति प्रतिबद्ध भएको बताए। नेकपा (एमाले) झापाको ११ औँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए । समीकरणमा सामेल दलहरूले जारी गरेको साझा सङ्कल्पको सातौँ बुँदामा समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्ने सरकारको गन्तव्य प्रष्ट रुपमा उल्लेख रहेको उनले स्मरण गराए । उनले यसअघि नेपाली काँग्रेसको नेतृत्वमा बनेको गठबन्धनको एमालेलाई जसरी पनि घेराबन्दी गर्ने लक्ष्य रहेको दाबी गरे । उनले एमाले र काँग्रेसबिच समीकरण बन्न नसक्ने स्पष्ट पार्दै उनीहरुबीच स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने धारणा व्यक्त गरे । “अमेरिकामा हेर्नुहोस्, त्यहाँ दुई पार्टी छन्,” उनले भने–“चार वर्षमा चुनावी प्रतिस्पर्धा गर्छन् । दुवै दल मिलेर सरकार चलाएको त्यहाँ कुनै उदाहरण छैन ।” उनले महाभारतयुद्धमा अर्जुनले चराको आँखालाई अर्जुनदृष्टि बनाए झैँ एमालेले अरु सबै कुरा छाडेर भए पनि ‘मिसन ८४’ लाई हेरिरहेको बताए । वि.सं. २०८४ को आम चुनावमा एमालेले कसैले ढाल्न नसक्ने गरी एकल बहुमतको सरकार बनाउन चाहेको बताए। काँग्रेसले विगतमा एमालेप्रति निषेधको राजनीति गरेको जनाउँदै उनले एमालेले कहिल्यै पनि निषेध, हिंसाको राजनीति नगर्ने धारणा व्यक्त गरे ।

यी हुन् पर्यटन बोर्डमा नियुक्त हुने तीन सदस्य

काठमाडौँ । नेपाल पर्यटन बोर्ड (एनटीबी) को रिक्त तीन सदस्यको पदपूर्ति भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटा (कमल)लाई सदस्यमा नियुक्त गरेको हो ।  पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले मंगलबार ५ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।  समितिले पर्यटन व्यवसायी अभिषेक विक्रम शाह (काठमाडौँ), अम्बर जंग गुरु (लम्जुङ्ग), राजेन्द बहादुर लामा (काभ्रेपलाञ्चोक), ऋषी भण्डारी (कास्की) र राम प्रसाद सापकोटा (कमल) धादिङ्गलाई अन्तिम ५ मा सिफारिस गरेकोमा मन्त्रिपरिषद्ले सोमध्येबाट भण्डारी, लामा र सापकोटालाई बोर्ड सदस्यमा मनोनयन गरेको हो ।   

रास्वपाबाट इलाम २ को उम्मेदवार मिलन लिम्बू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन लिम्बूलाई टिकट दिएको छ। बुधबार मात्रै प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरिएका ६ वटा नाममध्ये लिम्बूलाई रास्वपाले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो। 

मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सिंहदबारमा बसिरहेको छ । यो नियमित बैठक हो ।

राष्ट्रपतिलाई रनिङ सिल्डको निमन्त्रणा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति पौडेललाई निमन्त्रणा पत्र प्रदान गरे। सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा र आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोख्रेलको उपस्थिति रहेको थियो । राष्ट्रपति रनिङ सिल्ड बैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सातै प्रदेशबाट आठ सय पाँच खेलाडीको सहभागिता रहने छ । जसमा ५० स्वर्ण, ५० रजत र ६६ कांस्य गरी जम्मा एक सय ६६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । लुम्बिनी प्रदेश गत संस्करणमा पनि टिम च्याम्पियन बन्दै लगातार तेश्रोपटक उपाधि जित्न सफल भएको थियो ।

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिनुभएको छ । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुझाएकी छिन् ।  उहाँले संविधानको धारा ९२ को उपधारा (६) को खण्ड (ख) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८५ को उपनियम (१)बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदबाट राजीनामा दिए ।सत्ता गठबन्धन दलबिचको सहमति अनुसार अर्यालले बिहीबार राजीनामा दिएकी हुन्।  राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल २०७९ माघ २३ गते र्निविरोध निर्वाचित भएकी थिइन् । उनी २०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनी नेकपा (माओवादी केन्द्र)का नेत्री हुन् । 

२ अर्ब ६२ करोडको कारोबार हुँदा नेप्से ४.७८ अंक बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकले सुधार भएको छ । बिहीबार बजार परिसूचक नेप्से ४.७८ अंकले बढेर २०३५.६४ को बिन्दुमा बन्द भएको छ । सातामा चार कारोबार दिन बजार खुलेको थियो । मंगलबार र बिहीबार नेप्से बढेर बन्द हुँदा सोमबार र बुधबार भने दोहोरो अंकले घटेको थियो । बिहीबार बैंकिङ, होटल तथा पर्यटन सहित लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसूचकमा गिरावट भयो । त्यसबाहेकका विहीबार सबै उपसूचक बढेका छन् । निर्जीवन बीमा उपसूचक सर्वाधिक ०.६६ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ०.४८ प्रतिशतले गिरावट भयो । उत्पादन तथा प्रशोधन उपसूचक २.४० प्रतिशतले बढेको छ । नेप्सेमा सामान्य वृद्धि देखिए पनि ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.३६ अंकले घटेर ३५९.०९ को बिन्दुमा घटेको छ । नेप्सेमा सामान्य वृद्धि हुँदा २ अर्ब ६२ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५३ हजार १ सय ११ कारोबारमा ६५ लाख ४७ हजार ६ सय ३४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा यो रकमको कारोबार भएको हो । बिहीबार सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक १९ करोड ३८ लाख रुपैयाँको कारोबार भयो । नेप्सेमा सूचीकृत भएपछि लगातार सातौं दिन पनि सेयर मूल्य १० प्रतिशतले बढेको सर्वोत्तम सिमेन्टको सेयर मूल्य १ हजार कटे पनि बिहीबार सबैभन्दा धेरै रकमको कारोबार भएको छ । यस्तैगरी, गोर्खाज फाइनान्सको १६ करोड २० लाख र शिवम् सिमेन्टको १५ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज भएको कारोबारमध्ये हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशत र सर्वोत्तम सिमेन्टको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै हिमालयन हाइड्रोपावरको सेयर मूल्य ८.७३ प्रतिशतले बढ्दा उन्नति सहकार्य लघुवित्त र धौलागिरि लघुवित्तको सेयर मूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

अबैध विदेशी मुद्रासहित तीन जना पक्राउ

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नेपाली मुलका क्यानेडियन नागरिकहरू ५१ वर्षीय पेमा दोर्जे दोथार, ३४ वर्षीय तेन्जिङ देलेक र नेपाली नागरिक ७२ वर्षीया नग्‍वाङ पाल्मु लामा रहेका छन् ।  ईण्डिगो एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै क्यानाडा जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा ह्‍याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा २७ हजार ४ सय २८ अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा १ हजार ४ सय ८० क्यानेडियन डलर र नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका १ सय १० थान गरी जम्मा ५५ हजार भारतीय रूपैयाँ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने छ ।

क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका २ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका १० बस्ने ३६ वर्षीय मिङमार लामा र लम्जुङ मध्य नेपाल नगरपालिका ५ घर भई ललितपुर, ललितपुर महानगरपालिका २५ मगरगाउँ बस्ने ३६ वर्षीय प्रकाश वंशी ठकुरी रहेका छन् ।  पक्राउ मध्ये मिङमारले क्रोएसिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र प्रकाशले पोर्चुगल पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ११ लाख २७ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मिङमारलाई काठमाडौं बौद्धबाट र प्रकाशलाई काठमाडौं बालुवाटारबाट पक्राउ गरको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

कांग्रेस नेतृ डा आरजु राणाको दिल्लीमा शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा‍‍.आरजु राणा देउवाको हाइपर प्याराथाइरोइड्इजमको शल्यक्रिया सम्पन्न भएको छ । गत चैत २ गते स्वास्थ्य उपचारका लागि भारत गएकी उनको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार शल्यक्रिया भएको उनको सचिवालयले जनाएको छ  ।  शल्यक्रियापछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको उनको सचिवालयले जनाएको हो ।

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य बिहीबार एकै दिन ११ सय रुपैयाँ प्रतितोला वृद्धि भएको हो।  यसअनुसार आज छापावाल सुन १ लाख २७ हजार ९ सय र तेजाबी सुन १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।  चाँदीको मूल्य पनि बढेर १ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको छ।  आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार १ सय ९३ अमेरिकी डलर पुगेको छ।

इलाम २ मा राप्रपा उम्मेद्वार लक्ष्मी गुरुङ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उमेदवार बनाउने भएको छ।  आज बसेको राप्रपा संसदीय समितिको बैठकले गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको हो । ‘राप्रपाले युवा नेता लक्ष्मी गुरुङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ’, एक नेताले भने ।

भाइको एसईई १२ पढ्ने दाइले दिएपछि पक्राउ

सुर्खेत । दैलेखबाट एसईईका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नारायण नगरपालिका १, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षामा दिएको आरोपमा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख दिपक मगराठीले जानकारी दिए । उनका अनुसार न्यौपानेले गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिलप्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए । उनले नियमित एसईई परीक्षार्थी आफनो भाइ नाता पर्ने सुनिलको लागि नक्कली परीक्षार्थी बनेको प्रहरीले जनाएको छ । न्यौपाने त्रिभुवन माध्यमिक विद्यालय दैलेख बजारमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ । मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पनि पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेकपा एसले इलाममा जीतबहादुर राईलाई दियो टिकट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले उपनिर्वाचनका उमेदवार टुंग्याएको छ । एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर–२ मा जीतबहादुर राई र बझाङ–१ ‘क’मा दिलबहादुर सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो। राई इलामकै माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । पार्टीका सचिव तथा कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार, उमेदवारहरूलाई टिकट दिइसकिएको छ ।  इलाम–२ र बझाङ–१ ‘क’मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका निम्ति यही चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ। सत्ता गठबन्धनमा आबद्ध दलहरूले छुट्टाछुट्टै उमेदवार उठाउँदै छन्।गठबन्धनको प्रमुख दल नेकपा(एमाले)ले सुहाङ नेम्वाङलाई उमेदवार बनाइसकेको छ । नेकपा ९माओवादी केन्द्र०ले पनि उमेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उमेदवार छनोटको प्रक्रियामा छ ।

गरिमा बैंकको सीईओमा माधव प्रसाद उपाध्याय

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् ।  बैंकको बुधबार बसेको सञ्चालक समितिको ३०४ औं बैठकले उपाध्यायलाई ४ वर्षको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  यसअघि उनी बैंकमै नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनको सीईओको कार्यकाल वैशाख १ देखि लागू हुने गरिमा विकास बैंक सञ्चालक समितिका अध्यक्ष श्यामप्रसाद बस्यालले जानकारी दिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका छन्। उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन÷प्राध्यापन पेशामा संलग्न थिए । यो विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त हुने भएपछि उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई बिहीबारदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय पनि गरेको छ। काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ । गरिमा विकास बैंक छोटो समयमा स्थापित विकास बैंकको रुपमा रहेको छ ।