राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको पछिल्लो गणनामा घडियाल गोहीको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। निकुञ्ज कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्ष दुवै नदीमा गरी जम्मा ३६६ वटा घडियाल फेला परेका छन्।

अघिल्लो वर्ष यी नदीहरूमा ३५२ वटा घडियाल गोही फेला परेका थिए। निकुञ्जले मङ्सिर २१ देखि २९ गतेसम्म गरेको प्रत्यक्ष अनुगमनका क्रममा राप्ती नदीमा २३१ र नारायणी नदीमा १३५ वटा गोही फेला परेका हुन्।

यस वर्षको गणनाको रोचक पक्ष भनेको भाले घडियालको उपस्थिति र दुर्लभ डल्फिनको दर्शन हो। गणनाका क्रममा राप्तीमा सात र नारायणीमा दुई गरी जम्मा नौ वटा भाले घडियाल फेला परेका छन्।

अतिसङ्कटापन्न अवस्थामा रहेका यी गोहीहरूको संरक्षणका लागि निकुञ्जले चलाएको अभियान र समुदायमा बढेको चेतनाका कारण सङ्ख्या बढेको अनुमान गरिएको छ। यस्तै, नारायणी नदीको गोलाघाट क्षेत्रमा गणनाकै क्रममा एउटा डल्फिन (साँस) समेत फेला परेको छ, जसलाई निकुञ्ज प्रशासनले जैविक विविधताको दृष्टिले सकारात्मक सङ्केत मानेको छ।

निकुञ्जका अनुसार राप्ती नदीमा गोहीको सङ्ख्या बढे पनि नारायणीमा भने गत वर्षको तुलनामा केही कमी आएको देखिएको छ। सन् १९७८ देखि कसरामा स्थापित घडियाल प्रजनन केन्द्रबाट हरेक वर्ष कृत्रिम रूपमा बच्चा हुर्काएर नदीमा छाड्ने गरिएकाले पनि यिनको अस्तित्व जोगिन मद्दत पुगेको छ। आगामी दिनमा घडियाल र तिनको बासस्थान संरक्षणका लागि नदी प्रणालीलाई अझ सुरक्षित बनाउँदै लैजाने निकुञ्जको योजना रहेको छ।

नेपाली कम्युनिष्ट पार्टीद्वारा उम्मेदवार छनोटका लागि विशेष सर्कुलर, यस्ता छन् मापदण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन तयारीलाई तीव्र बनाउँदै उम्मेदवार छनोटका लागि योग्यता तथा मापदण्ड तय गरेको छ ।  पार्टीले हिजो आन्तरिक विशेष परिपत्र जारी गर्दै आगामी फागुन २१ गते प्रतिनिधि सभा तथा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी योग्यता, मापदण्ड र सिफारिस प्रक्रियासहित सबै प्रदेश कमिटीहरूमा विशेष आन्तरिक सर्कुलर गरेको हो । पार्टी स्रोतका अनुसार उक्त सर्कुलरले निर्वाचनलाई व्यवस्थित, पारदर्शी र वैचारिक रूपमा सुदृढ बनाउन महत्वपूर्ण आधार तय गरेको छ। यसले नेकपा अब निर्वाचनको औपचारिक तयारी चरणमा प्रवेश गरिसकेको स्पष्ट संकेत दिएको छ। कानुनी योग्यता र संवैधानिक मापदण्डमा जोड सर्कुलरअनुसार प्रतिनिधि सभा उम्मेदवारका लागि २५ वर्ष र राष्ट्रिय सभा उम्मेदवारका लागि ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवारको नाम मतदाता नामावलीमा दर्ता भएको हुनुपर्नेछ भने संविधान र कानुनले अयोग्य ठहर गरेका व्यक्ति उम्मेदवार बन्न नपाउने स्पष्ट गरिएको छ। साथै, राष्ट्रिय सभा, प्रदेश सभा तथा स्थानीय तहमा वहालवाला पदाधिकारी उम्मेदवार बन्न अयोग्य हुने उल्लेख छ। आर्थिक स्वच्छता र पारदर्शितालाई प्राथमिकता नेकपाले उम्मेदवार छनोटमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको देखिन्छ। अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भइसकेका व्यक्ति उम्मेदवार बन्न नपाउने, कर–राजस्व चुक्ता र सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने, कालोसूचीमा नरहेको हुनुपर्ने जस्ता कडा मापदण्ड तय गरिएको छ। उम्मेदवारले सम्पत्ति तथा आय–स्रोत सार्वजनिक गर्न र निर्वाचन आयोगको स्वघोषणा प्रक्रिया पूरा गर्न तयार हुनुपर्ने व्यवस्था गरिएको छ। सामाजिक आचरण र नैतिकताको कडाइ सामाजिक आचरण, नैतिकता र व्यवहारलाई पनि उम्मेदवारको प्रमुख मापदण्ड बनाइएको छ। जातीय, लैंगिक, धार्मिक, भाषिक विभेद, घरेलु हिंसा, मानव बेचबिखन, यौन उत्पीडन, बालश्रमजस्ता गम्भीर सामाजिक अपराधमा दोषी ठहर भएका व्यक्तिलाई उम्मेदवार नबनाउने स्पष्ट नीति लिइएको छ। वैचारिक प्रतिबद्धता र जनसमर्थन अनिवार्य पार्टीले उम्मेदवार राजनीतिक तथा वैचारिक रूपमा स्पष्ट, पार्टी नीति–कार्यक्रमप्रति प्रतिबद्ध, आन्दोलनमा निरन्तर योगदान दिएको र जनतामा लोकप्रिय हुनुपर्ने मापदण्ड पनि तोकेको छ। सामाजिक प्रतिष्ठा, सार्वजनिक संवाद क्षमता र संगठनात्मक अनुभवलाई विशेष महत्व दिइएको छ। समावेशी सिफारिस प्रक्रिया सिफारिस प्रक्रियामा महिला, युवा ९जेन–जी०, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक समुदायलाई विशेष ध्यान दिन निर्देशन दिइएको छ। शहीद परिवार, बेपत्ता परिवार, द्वन्द्वपीडित, घाइते र आर्थिक रूपमा विपन्न वर्गलाई प्राथमिकतामा राख्ने उल्लेख छ। एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने नीति पनि स्पष्ट गरिएको छ। निर्वाचन तयारीमा नेकपाको संकेत राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो विस्तृत र कडा मापदण्डसहितको सर्कुलरले नेकपा निर्वाचनलाई गम्भीर रूपमा लिँदै संगठन सुदृढीकरण र उम्मेदवार छनोटमा अनुशासन कायम गर्न चाहेको देखाउँछ। सरकारद्वारा निर्वाचन मिति घोषणा भएसँगै जारी गरिएको यो सर्कुलरले पार्टी अब मैदानमा उत्रने तयारीमा रहेको स्पष्ट सन्देश दिएको छ। यससँगै नेकपाभित्र आगामी निर्वाचनलाई लिएर संगठनात्मक सक्रियता र राजनीतिक सरगर्मी थप बढ्ने अपेक्षा गरिएको छ।

देशभर ७४ वटा मतदान स्थल थपिए

काठमाडौं । निर्वाचन आयोगले ७४ वटा मतदान स्थल थपेको छ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले ७४ वटा मतदान स्थल थप गर्ने निर्णय गरेको हो ।  आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले थपिएकासहित आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदान स्थल कायम भएको जानकारी दिए । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ मा १० हजार ८९२ वटा मतदान स्थल थिए । आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाका अनुसार मतदातालाई मतदान गर्न लामो दूरी तय गर्नुपर्ने गुनासो आएको र सोहीबमोजिम जिल्लाबाट सिफारिस आए बमोजिम मतदान स्थल थपिएका हुन् ।  उनले मतदान स्थलकै आधारमा मतदानकेन्द्र थपिने बताए । मतदाताको सङ्ख्याका आधारमा मतदान केन्द्र निर्धारण हुन्छ । आयोगको मानकबमोजिम प्रतिमतदान केन्द्र एक हजार ६४ मतदाता हुन्छन् तर भौगोलिक अवस्थाले दुर्गम क्षेत्रमा प्रतिमतदानकेन्द्रमा मतदाताको सङ्ख्या घटबढ हुन सक्ने आयोगले जनाएको छ ।  आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छैन । अद्यावधिक नहुँदा करिब एक करोड ९० लाख मतदाता छन् । सहायक प्रवक्ता न्यौपानेले मतदाता नामावली अद्यावधिक हुने प्रक्रियामा रहेको र मतदानकेन्द्रमा मतदाताको सङ्ख्या यकिन भएपछि सोहीबमोजिम मतदानकेन्द्र निर्धारण हुने प्रस्ट्याए । 

आजकाे लागि कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबानरका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ५४ पैसा र बिक्रीदर १४३ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ ९४ पैसा र बिक्रीदर १६७ रुपियाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपियाँ ६३ पैसा र बिक्रीदर १९१ रुपियाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपियाँ १७ पैसा र बिक्रीदर १७९ रुपियाँ ९३ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपियाँ १६ पैसा र बिक्रीदर ९४ रुपियाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ३० पैसा र बिक्रीदर १०३ रुपियाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ २८ पैसा र बिक्रीदर ११० रुपियाँ ७४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ०६ पैसा र बिक्रीदर नौ रुपियाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ २४ पैसा र बिक्रीदर २० रुपियाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ र बिक्रीदर ३८ रुपियाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ १२ पैसा र बिक्रीदर ३९ रुपियाँ २८ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५३ पैसा र बिक्रीदर चार रुपियाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ८१ पैसा र बिक्रीदर ३८ रुपियाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ९६ पैसा र बिक्रीदर ३५ रुपियाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ३० पैसा र बिक्रीदर १५ रुपियाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ३४ पैसा र बिक्रीदर २२ रुपियाँ ४४ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ३२ पैसा र बिक्रीदर १८ रुपियाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपियाँ ०४ पैसा र बिक्रीदर ४६६ रुपियाँ, बहराइन दिनार एकको खरिददर ३७८ रुपियाँ ०६ पैसा र बिक्रीदर ३७९ रुपियाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७० रुपियाँ २३ पैसा र बिक्रीदर ३७१ रुपियाँ ७९ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

चिसो बढेपछि तोक्पेगोला र घुन्साका बासिन्दाले गाउँ छाड्न थाले

ताप्लेजुङ । ताप्लेजुङका हिमाली बस्ती पापुङस्थित तोक्पेगोला र लेलेपको घुन्साका बासिन्दाले चिसो बढेसँगै गाउँ छाड्न थालेका छन् । जाडो अत्यधिक बढ्न थालेपछि चिसो छल्न उनीहरू तल्लो भेग तथा अन्य स्थानतर्फ सरेका हुन् । मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला समुद्री सतहबाट चार हजार १०० मिटर उचाइमा अवस्थित छ भने फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा तीन हजार ४७५ मिटर उचाइमा रहेको छ । जिल्लाकै उच्च हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङ्मा (चार हजार २०० मिटर) पछि तोक्पेगोला दोस्रो उच्च बस्ती हो । स्थानीयका अनुसार मङ्सिरको दोस्रो सातादेखि नै तोक्पेगोला र घुन्साका बासिन्दाले चिसो छल्न गाउँ छाड्न थालेका हुन् । तोक्पेगोलामा बसोबास गर्दै आएका करिब डेढ दर्जन परिवारमध्ये अधिकांशले गाउँ छाडिसकेका पापुङका स्थानीय नुपु शेर्पाले जानकारी दिए । याक–चौंरी व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहेका शेर्पाका अनुसार चिसो अत्यधिक बढेपछि त्यहाँका परिवारहरू पापुङ तथा तल्लो भेगतर्फ झरेका छन् । यस्तै, घुन्सामा बसोबास गर्ने करिब तीन दर्जन परिवारमध्ये दर्जनौँ परिवारले गाउँ छाडिसकेका स्थानीय पेमा शेर्पाले बताए । उनका अनुसार चिसो बढेसँगै बासिन्दाको बसाइँसराइ क्रम जारी छ । उनको परिवारले भने करिब एक महिना अघिनै घुन्सा छाडेको छ । आफन्त भेटघाटका लागि भारत जानुपर्ने भएकाले चिसो सुरु हुनुअघि नै गाउँ छाडेको उनले जानकारी दिए । भारतमा आफन्तसँग भेटघाटपछि हाल काठमाडौं आएर बसिरहेको र चिसो मौसमभर यतै बस्ने योजना रहेको उनले बताए । चिसो छल्न घुन्सा छाड्ने परिवारहरू प्रायः सदरमुकाम फुङ्लिङ, काठमाडौं तथा अन्य ठाउँमा गएर बस्ने गर्दछन् । प्रत्येक वर्ष हिउँद याममा तोक्पेगोला, घुन्सा, फले र याङ्मा लगायतका उच्च हिमाली बस्तीका अधिकांश बासिन्दाले चिसो छल्न गाउँ छाड्ने परम्परा रहेको छ । चिसो मौसमभर उनीहरू कोठा भाडामा वा आफन्तको सहारामा बस्ने गरेका छन् । हिउँद याम सकिएपछि फागुन महिनादेखि भने गाउँ छाडेका बासिन्दा पुनः गाउँ फर्कन थाल्ने गर्छन् ।

आजकाे माैसम: तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्ने

काठमाडौँ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रही अन्य भूभागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ  ।  आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।  

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले एक सूचना प्रकाशित गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । सूचनाअनुसार, क वर्गका वाणिज्य बैङ्कमा रु ९६ करोड, ख वर्गका विकास बैङ्कमा रु १८ करोड र ग वर्गका वित्त कम्पनीमा रु छ करोड बराबरको रकम लगानी गर्न लागेको हो । बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम कूल पूँजीकोष कायम रहेको, कूल कर्जा सापटीको आठ प्रतिशत र खुद् निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका सर्त पूरा गरेको हुनुपर्नेछ ।

काठमाडौंमा नेपाली कम्युनिस्ट पार्टीको ‘पार्टी एकता सन्देश सभा’ आज

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पार्टी एकताको सन्देश प्रवाह गर्न आज काठमाडौंमा ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्दैछ। दिउँसो ठीक १ बजे भृकुटीमण्डपमा हुने यो सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभामा कम्युनिस्ट आन्दोलनको एकता, वर्तमान राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे नेताहरुले सम्बोधन गर्नेछन् ।  पार्टीले यो कार्यक्रममार्फत देशभरका कार्यकर्ता र समर्थकहरूलाई एकताबद्ध हुन आह्वान गर्ने छ। सभाका लागि भृकुटीमण्डप क्षेत्रमा व्यापक तयारी गरिएको छ। पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताहरू सहभागी हुने बताइएको छ।

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा पुगेको छ । हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।  बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडकको किराखोर–नेप्टेचौर–तोरीपानी खण्डको स्तरोन्नतिका लागि सञ्चालित योजना निर्धारित समयअगावै सम्पन्न हुने चरणमा पुगेको हो । चार किलोमिटर दूरीको सडक ग्राभेल, ढलान र कालोपत्रे गरी स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र मङ्गलादेवी–सुवास कन्ट्रक्सनबिच २०८१ साल जेठमा रु १० करोड १६ लाख एक हजार ३६४ मा ठेक्का सम्झौता गरेको थियो । दुई वर्ष ठेक्का अवधि रहेको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय प्रमुख डा महेन्द्र बानियाँले बताउनुभयो । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्म करिब दुई किलोमिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्रे गर्नुपर्नेमा एक किलोमिटर बढी भइसकेको छ । नेप्टेचौर–तोरीपानी खण्ड ग्राभेल गर्न आवश्यक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । तीन दशमलव पाँच मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले निर्धारित समयअगावै योजना सम्पन्न गराउन पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको बताए। विसं २०५६ मा तत्कालीन जिल्ला विकास समितिले ट्र्याक खोलेको यो सडक २७ वर्षपछि स्तरोन्नति हुन लागेको हो ।

जाडाे बढेपछि नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था हुने

नेपालगञ्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध गर्न थालेको छ । चिसो बढेर शीतलहर सुरु भएपछि दुई दिनभित्रै सार्वजनिक स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिकाका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठले जानकारी दिए । डिभिजन वन कार्यालय, बाँकेमार्फत विभिन्न सामुदायिक वनमा रहेका सुकेका दाउरा खरिद गरेर ल्याएर आगो ताप्नका लागि वितरण हुने जानकारी दिँदै उनले वडाको माग अनुसार दाउरा वितरण हुने बताए । “हामी अहिले पनि छलफलमै छाैँ, वडाको मागअनुसार कहाँ आवश्यकता पर्छ त्यहाँ वितरण हुन्छ”, उनले भने । यसबाहेक चिसोबाट बच्नका लागि सचेतनामूलक प्रचार सामग्री निर्माण गरी स्थानीयलाई जानकारी दिइने सम्पर्क व्यक्ति श्रेष्ठले बताए । जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङले विपद् प्रतिकार्य योजना निर्माण गरेर स्थानीय तह र सरोकार भएकालाई पत्राचार गरिएको जानकारी दिए । यसवर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शीतलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले २०८२ का लागि तयार गरिएको शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनामा यस वर्षको चिसोमा शीतलहरबाट जिल्लामा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बाँकेका सबै स्थानीय तह शीतलहरबाट प्रभावित हुनसक्ने भएकाले त्यसको सबैभन्दा बढी प्रभाव सहरीभन्दा ग्रामीण क्षेत्रमा पर्ने बताए । उनले शीतलहरबाट नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र बैजनाथ गाउँपालिका सबैभन्दा बढी प्रभावित हुने उल्लेख गर्दै नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा अन्य पालिकाभन्दा कम प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनामा गरिएको पूर्वानुमान अनुसार शीतलहरबाट नेपालगञ्जमा आठ हजार ५२४ परिवारका ४२ हजार ६२०, कोहलपुर नगरपालिकामा चार हजार १३८ परिवारका २० हजार ६९४ जना, खजुरा गाउँपालिकाका तीन हजार १९३ परिवारका १५ हजार ९६७ जना, जानकी गाउँपालिकाका तीन हजार ८८९ परिवारका १९ हजार ४४८ जना प्रभावित हुने अनुमान छ । त्यस्तै, बैजनाथ गाउँपालिकाका तीन हजार ५२० परिवारका १७ हजार ६०३ जना, राप्तीसोनारी गाउँपालिकाका तीन हजार ८७२ परिवारका १९ हजार ३६३ जना, नरैनापुर गाउँपालिकाका चार हजार २१८ परिवारका २२ हजार १३४ जना, डुडुवा गाउँपालिकाका चार हजार २१८ परिवारका २१ हजार ९१ जना शीतलहरबाट प्रभावित हुने पूर्वानुमान छ । बाँके जिल्ला गर्मीमा अत्यधिक गर्मी हुने, लू चल्ने तथा जाडो मौसममा शीतलहर चलेर अत्यधिक जाडो हुने जिल्लामा पर्दछ ।

व्यावसायिक रूपमा बेसारखेती गर्दै बैतडीका महिला

बैतडी । बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । बिगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका हुन् । खाद्यबाली जङ्गली जनावरले क्षति पुर्‍याउन थालेपछि बेसारखेती गरिरहेको पाटन नगरपालिका–६ की कलसा लुहारले बताइन् । “बाँदरले अन्य बालीमा क्षति पुर्‍याउन थाल्यो । बाँझो जमिनको सदुपयोग गर्दै व्यावसाहिक रूपमा अघि बढ्न बेसारखेती गरिरहेका छौँ”, उनले भनिन् ।  जिल्लाको पाटन नगरपालिका, सिगास र सुर्नया गाउँपालिकाका महिला उद्यमी समूहमा आवद्ध ४४ महिलाले बेसारखेती गरिरहेका छन् । घरका लागि मात्रै बेसार उत्पादन गर्दै आएकामा अहिले व्यावसायिक रूपमा खेती गर्न थालेका सुर्नया गाउँपालिका–६ की पवित्रा शाहले बताइन् । ‘सारथी नेपाल’ले ‘दिगो आम्दानीमार्फत महिला उद्यमीको सशक्तीकरण’ परियोजनाअन्तर्गत बीउ र प्राविधिक सहयोग गरेपछि बेसारसँगै लसुनखेती समेत गरिरहेको उनले जानकारी दिइन् । सारथी नेपालले पाटन नगरपालिका–६, ८ र ९, सिगास गाउँपालिका–१ र २ तथा सुर्नया गाउँपालिका–६ उक्त परियोजना सञ्चालन गरेको छ । परियोजनामार्फत महिला उद्यमी समूहमा आवद्ध महिला किसानलाई बीउ र प्राविधिक सहयोग गर्र्दै आएको परियोजनाका फिल्ड सुपरभाइजर दिपेश धामीले बताए । बाँझो जमिनको सदुपयोग गरी महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सारथी नेपालले बीउबिजन तथा अन्य सहयोग गर्दै आएको छ । परियोजनाअन्तर्गत महिलाले बेसारसँगै अदुवा, लसुन र टनेलभित्र गोलभेँडाखेती समेत गरिरहेका कार्यक्रम संयोजक भुपाल बोहराले बताए । “महिलाले राम्रै मेहनत गरिरहनुभएको छ । साढे तीन सय क्विन्टल बेसार उत्पादन हुने अपेक्षा गरेका छाैँ, उनले भने, “बेलाबेला प्राविधिकसहित बारीमा पुगेर समस्याबारे छलफल गर्छांै र समाधान पनि खोज्छौँ ।”

आफ्नै हजुरआमा हत्या आरोपमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगर पालिका वडा नम्बर ३१ बाँसपानी बस्ने २२ वर्षीय आशीष परियारलाई शुक्रबार पक्राउ गरेको हो।  बिहीबार आशीषले आफ्नै हजुरआमा ७५ वर्षीया दालकुमारी परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। वृद्धा दालकुमारीको कानसमेत काटी कानमा लगाएको गरगहना लुटिएको र अनुसन्धानका क्रममा आशीषलाई ती गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।  आशीषलाई पोखरा–१०, १० बुद्धचोकबाट पक्राउ गरी कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए । 

कञ्चनपुरका किसानलाई उखु काट्न भ्याइनभ्याइ

कञ्चनपुर । जिल्लामा चिनी तथा गुण उद्योगले उखु क्रसिङ सुरु गरेसँगै कञ्चनपुरका किसान यतिवेला खेतबारीमा व्यस्त देखिएका छन् । बेलौरी–१० शिवनगर, पुनर्वास नगरपालिका–२ दशरथ बस्ती तथा बेलडाँडीका गुण उद्योगहरूले उखु क्रसिङ थालेपछि दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीका किसान उखु काट्न सक्रिय भएका हुन् । नगदे बालीका रूपमा रहेको उखु बिक्रीका लागि किसान बिहानदेखि साँझसम्म खेतमै समय बिताइरहेका छन् । सरकारले चालू आर्थिक वर्ष ०८२/८३ देखि उखुको मूल्य प्रतिक्विन्टल ३५ रुपैयाँले बढाएर ६२० रुपैयाँ कायम गर्नुका साथै ७० रुपैयाँ अनुदान दिने निर्णय गरेपछि किसान उत्साहित भएका छन् । उखु उत्पादक किसान हकहित तथा संरक्षण समिति कञ्चनपुरका कोषाध्यक्ष चेतनकुमार राईले अपेक्षाअनुसार मूल्य नबढे पनि अघिल्लो वर्षभन्दा सुधार भएकाले किसान खुसी भएको बताए । उनले अनुदान भुक्तानीमा ढिलासुस्ती नगर्न सरकारसँग माग गरे । जिल्लाको दक्षिणी क्षेत्रमा चिनी उद्योग स्थापना भएपछि उखुखेती किसानका लागि घरदैलोमै रोजगारी र आम्दानीको मुख्य स्रोत बनेको छ । १५ वर्षअघि बेलौरी र १० वर्षअघि पुनर्वासमा चिनी उद्योग सञ्चालनमा आएपछि उखुखेती विस्तार भएको छ । पहिले किसान भारतमा सस्तोमा उखु बेच्न बाध्य भए पनि अहिले स्वदेशमै बिक्री सहज भएको छ । बेलडाँडी–४ का युवा किसान दिलप्रसाद शर्माले उखुखेतीलाई स्वरोजगारको माध्यम बनाएको बताए । उनले आठ बिघा कञ्चनपुर र छ बिघा बर्दियामा उखुखेती गर्दै वार्षिक करिब एक करोडको कारोबार गर्दै आएको बताए । त्यस्तै, पुनर्वास नगरपालिका–९ का उखु किसान नारायणप्रसाद जैसीले उखु नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्ने बताए । बेलौरी–१० का किसान चक्रहादुर कडायतले ३२ बिघामा उखुखेती गर्दै वार्षिक ५०–६० लाखको उखु बिक्री गर्दै आएको जानकारी दिए । किसानहरूले मल, बिउ, औषधि र सरकारी अनुदान प्रक्रियामा झन्झट भएको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका दुवै चिनी उद्योगले दैनिक २५ हजार क्विन्टलभन्दा बढी उखु क्रसिङ गर्दै आएका छन् ।

केपी ओली निकट एमाले नेता टीकाराम पुरीले पार्टी परित्याग गरे

विराटनगर । नेकपा (एमाले) का नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन्। एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार तथा केपी शर्मा ओली निकट मानिने पुरीले बिहीबार पार्टी छोडेको घोषणा गरेका हुन्। सोही दिन ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए। २०३९ सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय पुरी पछिल्लो समय पार्टी नेतृत्वको आलोचना गर्दै आएका थिए। नेताहरूले राजनीतिलाई पेसा बनाएका कारण भ्रष्टाचार मौलाएको दाबी गर्दै उनले राजनीतिमा लागेकाहरू उत्पादनमूलक पेसा–व्यवसायमा जोडिनुपर्ने बहस चलाउँदै आएका थिए। विराटनगर–५ का निवासी पुरीले एमाले कोशी प्रदेश कमिटी अध्यक्षलाई सम्बोधन गरी राजीनामा बुझाएका छन्। २०३९ मा तत्कालीन मालेमा जोडिएका उनी २०४७ मा एमालेको सक्रिय सदस्य बनेका थिए। ‘पार्टीमा धेरै वर्ष योगदान गरेँ, तर अहिलेको शैली र ढंगले देशमा परिवर्तन गर्न सक्दैन भन्ने लाग्यो,’ उनले भने, ‘गुम्सिएर बस्न सकिनँ, परित्याग गरेँ। अब नयाँ ढंगले अगाडि बढ्छु।’ पुरी निजी तथा संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष हुन्। राजधानीबाहिरबाट पहिलो पटक केन्द्रीय अध्यक्ष बनेका उनी विराटनगरस्थित एभरेष्ट स्कुलका सञ्चालक हुन्। उनको ‘खाली खुट्टा’ नामक पुस्तक पनि प्रकाशित छ।

ब्राउन विश्वविद्यालयको गोलीकाण्डपछि अमेरिकाद्वारा डिभी लोटरी कार्यक्रम रोक

एजेन्सी । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले डाइभर्सिटी भिसा (डिभी) लोटरी कार्यक्रम अस्थायी रूपमा निलम्बन गर्ने घोषणा गरेकी छिन्। ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गृह सुरक्षा सचिव नोएमले यो निर्णय गरेको बताएकी हुन्। गोलीकाण्डका संदिग्ध व्यक्ति डिभी लोटरी कार्यक्रममार्फत सन् २०१७ मा अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले यस्तो निर्देशन दिएको सीबीएस न्युजले जनाएको छ। सचिव नोएमले आफ्नो एक्स (ट्विटर) खातामा पोस्ट गर्दै यो जानकारी दिएकी छिन्। “यस्ता अपराधीलाई हाम्रो देशमा प्रवेश दिनु हुँदैनथियो,” उनले लेखेकी छिन्। अधिकारीहरूका अनुसार गोलीकाण्डका संदिग्ध ४८ वर्षीय पोर्चुगाली नागरिक क्लाउडियो म्यानुएल नेभेस भालेन्टे सन् २०१७ मा डिभी लोटरीमार्फत अमेरिका आएका थिए। प्रवेशको केही वर्षपछि उनले ग्रीन कार्ड प्राप्त गरेका थिए। उनी सन् २००० मा विद्यार्थी भिसामा ब्राउन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गर्न अमेरिका आएका थिए तर दुई वर्षमै कलेज छोडेका थिए। यो घटनापछि अमेरिकाले आप्रवासी नीतिमा कडाइ गरेको छ। सीमामा गस्ती बढाउनेसँगै अन्य माध्यमबाट अमेरिका प्रवेश गर्ने प्रक्रियामा पनि कडाइ गरिएको छ। त्यस्तै, विभिन्न देशका नागरिकले प्राप्त गरेका ग्रीन कार्डहरूको पुनरावलोकन गर्ने निर्णय पनि गरिएको छ। सीबीएस न्युजका अनुसार डिभी कार्यक्रम १९९० को दशकदेखि लागू भएको हो। यसअन्तर्गत आप्रवासन दर कम भएका देशका नागरिकलाई वार्षिक ५० हजार भिसा प्रदान गरिन्छ। हाल यो कार्यक्रममा सहभागी हुन माध्यमिक शिक्षा पूरा गरेको हुनुपर्ने प्रावधान छ। सचिव नोएमले निलम्बनको घोषणा गरे पनि यसको कार्यान्वयन सहज नहुने सीबीएस न्युजले उल्लेख गरेको छ।

उच्च अदालत पाटन परिसरमा युवतीले गरिन् आत्महत्या प्रयास

काठमाडौं । ललितपुरस्थित उच्च अदालत पाटनको परिसरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन्। करिब ३० वर्षीया ती युवतीले बिहीबार अदालत परिसरमै कीटनाशक विषादी सेवन गरी आत्महत्या प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले तुरुन्त उद्धार गरी उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएको थियो। कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी रहेको मुद्दामा उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै उनले आत्महत्या प्रयास गरेको स्रोतको भनाइ छ। यसअघि काठमाडौं जिल्ला अदालतले पनि धरौटीमा रिहा गर्न आदेश दिएपछि ती युवती अपिलका लागि उच्च अदालत पाटन पुगेकी थिइन्। उच्च अदालतले पनि सोही आदेश दिएपछि उनले विष सेवन गरेकी हुन्।