सुदूरपश्चिममा मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सि २२ गते बिहीबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहले आज (मंगलबार) विहान विश्वासको मत लिने प्रस्ताव दर्ता प्रदेशसभा सचिवालयमा गराएका हुन् ।

लगतै प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले बताए ।

प्रस्तावित महालेखापरीक्षक रायविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले संवैधानिक परिषदबाट महालेखा परीक्षकमा सिफारिस तोयम रायविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले आज एक सार्वजनिक सूचना जारी गर्दै १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन भनेको हो। उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने सूचनामा उल्लेख छ । उजुरी गर्न चाहनेले संघीय संसद सचिवालयको नम्बर ०१–४२००२७७ मा सम्पर्क गर्न सकिने छ भने कार्यालयको इमेलमार्फत पनि उजुरी दिन सकिने जनाइएको छ। हिजो सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको थियो।यसअघि आइतबार बसेको संवैधानिक परिषद बैठकले महालेखापरीक्षकमा तोयम रायलाई सिफारिस गरेको थियो ।

राष्ट्रियसभाका तीन समितिको बैठक बस्दै, यस्तो छ कायसूची

काठमाडौं। सङ्घीय संसद्को राष्ट्रिय सभा अन्तर्गतका तीन विषयगत समितिको बैठक आज बस्दै छ । मंगलबार विकास,आर्थिक मामिला तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, रक्षा मन्त्रालयबाट भए गरेका कामकारबाही र भावी कार्यदिशाबारे समितिमा छलफल गर्दै छ।  यस्तै, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति र समस्या तथा रक्षा मन्त्रालयको समितिसँगको अपेक्षालगायतका विषय समितिले छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।  यस्तै, विकास,आर्थिक मामिला तथा सुशासन समितिले अर्थ मन्त्रालय,राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आगामी बजेट २०८१ निर्माणका सम्बन्धमा पूर्व बजेट निर्माणबारे छलफल गर्दै छ ।  यस्तै, विधायन व्यवस्थापन समितिले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची उल्लेख गरेको छ । 

इलाम -२ मा माओवादीका उम्मेदवार धीरेन्द्र शर्मा

विराटनगर ।सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नं.२ मा धीरेन्द्र शर्मा तिम्सिना ‘रमण’ उम्मेदवार सिफारिस भएका छन्। माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिस गरेको हो।  उम्मेदवारका रूपमा एकल सिफारिस भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताएका छन् । २०७४ सालको चुनावमा उनी क्षेत्र नं.२ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।  हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन्। इलाम–२ मा नेकपा एमालेले स्व। नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू उम्मेदवार छन्।

समाजवादी मोर्चाले आज राष्ट्रिय सभागृहमा बृहत् अन्तरक्रिया गर्दै

काठमाडौँ । माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने भएको छ ।दिउँसो १ बजे राष्ट्रिय सभागृह भृकुटीमण्डपमा अन्तरक्रिया हुने मोर्चाका संयोजक एवम् नेपाल कम्युनिस्ट पार्टीका संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले बताएको छ।  सचिवालयका अनुसार ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे अन्तरक्रिया कार्यक्रम राखिएको हो। कार्यक्रममा एमालेसहित मोर्चाका नेता तथा कार्यकर्ता र समाजवादी विचारमा आबद्ध सबै दलहरूलाई बोलाइएको छ। यसअघि चैत ३ गते गर्ने भनिएको अन्तरक्रिया सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो। मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा रहेका छन्। कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चार वटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । 

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।  बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।  यता उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल र अनुमोदनका लागि बैठकमा प्रस्ताव गर्नेछन् ।  त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

महिला आयोगको सदस्य र समावेशी आयोगको अध्यक्षमा दरखास्त आह्वान

काठमाडौं । संवैधानिक परिषद्ले संवैधानिक निकाय राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगमा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ ।  आज सार्वजनिक सूचना जारी गर्दै परिषद्ले महिला आयोगको सदस्य र समावेशी आयोगमा अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो ।  योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन [email protected] मा पठाउनुपर्नेछ ।  

देशका यी स्थानमा हुनेछ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ ।हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

रेशम भन्छन्– 'धम्कि दिएको छैन, असुरक्षित त हामी छौँ'

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले आज बिहान बसेको केन्द्रीय समिति बैठकमा भएको विवादबारे भ्रामक प्रचार भएको दाबी गरेका छन्। केन्द्रीय समिति सदस्य रमेश विश्वकर्माले आफूलाई चौधरीको निर्देशनमा कुटपिट भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए। सो लगत्तै रेशम चौधरीले पत्रकार सम्मेलन गरी चौधरीले केन्द्रीय कमिटी बैठकमा सरकारमा जाने नजाने विषयमा विवाद भएको तर आफुहरुले कुनै धम्कि नदिएको बताए ।  “यस्तो भ्रामक कुरा बोल्नुनपर्ने । पार्टीको मिटिङमा त अरू साथीहरू पनि थिए । उहाँसँग पत्रकार सम्मेलनमा बस्ने साथी पनि पार्टीको मिटिङमा थिए । नभएको कुरा गर्नुहुँदैन भनेर स्टाटस लेखेको हो,” उनले भने ।“असुरक्षित त हामी छौँ । धम्की दिएर उहाँहरू जानुभएको छ,” उनले भने । 

आयरल्यान्ड ए माथि नेपाल ए को जित

काठमाडौं । तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्यान्ड ए माथि ३ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको २ सय  १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ए ले पूरा ओभर खेल्दै  ७ विकेट गुमाएर २ सय १० रन मात्र बनायो। यससँगै नेपालले तीन खेलको टी-२० सिरिज  २-१ ले गुमाएको छ । नेपाल सुरुवाती दुई खेलमा  २१ रन र ४० रनले पराजित भएको थियो ।अब आयरल्याण्ड ए र नेपाल ए बीच  एकदिवसीय सिरिज पनि हुनेछ ।  

अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणीकरण गरेका छन् । सभामुख देवराज घिमिरेले सोमबार बोलाइएको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाइएको सो पत्र पढेर सुनाए । राष्ट्रपति कार्यालयले पठाएको पत्रमा गत चैत्र १६ गते सो विधेयक राष्ट्रपति पौडेलले संविधान धारा ११३ को उपधारा २ बमोजिम प्रणाणीकरण गरिएको उल्लेख गरिएको छ । पत्रको व्यहोरा पढ्दै सभामुख घिमिरेले भने,  ‘‘राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएको छ । सोको व्यहोरो म पढेर सुनाउन चाहन्छु । सम्माननीय राष्ट्रपतिज्यू श्री रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको देहाय बमोजिमको विधेयकका प्रमाणीकृत प्रति थान १ यसैसाथ संलग्न राखी पठाइएको व्यहोरा अनुरोध गर्दछु । क्रम सङ्ख्या १। विधेयकको नाम अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० । प्रमाणीकरण मिति २०८०/१२/१६ ।’’ सङ्घीय संसद्को दुवै सदनले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रुपमा लागू गर्ने संवैधानिक व्यवस्था छ ।

रेशम चौधरीको धम्की -'सुदूरपश्चिम सरकार ढले नागरिक उन्मुक्तिका नेताको हत्या हुन सक्छ!'

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका पार्टीका संस्थापक रेशमलाल चौधरीले सुदूरपश्चिम सरकार ढले नागरिक उन्मुक्तिका नेताको हत्या समेत हुन सक्ने धम्कि दिएको उनकै पार्टीका केन्द्रीय सदस्यले बताएका छन् ।सो पार्टीका केन्द्रीय सदस्य समेत रहेका रमेश विश्वकर्माले चौधरीले आफूमाथि आक्रमण गरेको बताउँदै सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु, टीकापुर–४ का वडाध्यक्ष लालवीर चौधरी र टीकापुर–५ का वडाध्यक्ष बलवीर चौधरी समेत सहभागी थिए । “अनौपचारिक कुरा हुने क्रममा एउटा ढोकामा मात्रै चुकुल लगाइएको थिएन । त्यो घरबाट बाहिर निस्कने मेन ढोकामा बाहिरबाट बन्द गरेर ममाथि भौतिक आक्रमण भयो,” उनले पत्रकार सम्मेलनमा भने। सोमबार बिहान ८ बजे अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले संस्थापक केन्द्रीय समितिको बैठक बोलाएकी थिइन् । बैठकअघि अनौपचारिक कुराकानीका क्रममा विवाद हुँदा आक्रमण गरिएको विश्वकर्माले बताए । सरकारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न आफूहरू बालुवाटार जाने भनेपछि रेशमलालले पिट्ने चेतावनी दिएको उनले सुनाए । “आज प्रधानमन्त्रीलाई भेट्न जाने हो भन्दा यदि तिमीहरु बालुवाटार गयौ भने बालुवाटारबाहिरै पिट्छौँ भन्नुभयो । त्यसो भन्दा हामीले विरोध गर्‍यौँ,” उनले भने । सोही क्रममा रेशमलालले प्रतिव्यक्ति २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्य बनाएको विषय उठाउँदा कुटपिट गरिएको उनको भनाइ छ । “यहाँभन्दा पहिले २५ हजार लिएर केन्द्रीय सदस्य बाँडेको छ । तर, निर्वाचन आयोगमा अद्यावधिक गर्न जानु भएन । त्यहाँ पार्टी चुक्यो कि चुकेन भन्ने जवाफ कसले दिने भन्ने प्रश्न उठाएपछि ममाथि, केही केटा कसरी आए थाहा भएन । भौतिक आक्रमण गरे,” उनले भने । विश्वकर्माले लालवीर र बलवीरले आफूलाई जोगाएको बताए ।हिजो (आइतबार)पनि रेशमलालले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सरकार ढले हत्या गर्ने चेतावनी दिएकाले आफूले असुरक्षित महसुस गरेको उनले उल्लेख गरे । “हिजो हामी रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न जाँदा त्यो मिटिङमा म, टीकापुर नगरपालिकाका मेयर साप, वडा नम्बर–४ र वडा–५ का अध्यक्षज्यू संयुक्त रूपले बसेका थियौँ । उहाँ (रेशमलाल चौधरी)ले सिधै के भन्नुभयो भने– यदि, सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमीहरु चारैजनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज भौतिक आक्रमण हुँदा असुरक्षित छु कि भन्ने फिल गरेर पत्रकार सम्मेलन गर्न आइपुगेको हुँ,” विश्वकर्माले भने । त्यस विषयमा रेशमलालले सोमबार माफी भने मागेको उनले बताए। अध्यक्षसहित २० केन्द्रीय सदस्यमाथि कुटपिट, दुर्घटना वा केही भएमा त्यसको जिम्मेवारी चौधरीले लिनुपर्ने उनले बताए । हत्याको विषयलाई गम्भीर रूपमा लिन उनले पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीको ध्यानाकर्षण समेत गराए ।

नेपालद्धारा आयरल्यान्ड ए लाई २१४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आरिफ सेखको आक्रामक ब्याटिङप्रेरित नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध अन्तिम ट्वान्टी–२० खेलमा २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनायो । नेपालका आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनमा नट आउट रहे । कमलसिंह ऐरी ७ बलमा २ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे । नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए । बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए । पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए । राशिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए । आयरल्यान्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १(१ विकेट लिए । तीन खेलको सिरिजमा नेपाल सुरुवाती दुई खेल २१ रन र ४० रनले पराजित हुँदा सिरिज गुमाई सकेको छ ।

न्यारोबडी खरिदका सबै प्रक्रिया १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई निर्देशन

काठमाडौं। नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न  निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको समितिको सोमबार बसेको बैठकमा निगमलाई यस्तो निर्देशन दिएको हो ।  समितिले न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न समिति सभापति राजकिशोर यादवले निर्देशन दिएका हुन् । उनले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताए। उनले न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा पनि पेस गर्न आग्रह गरे।  बैठकमा सभापति यादवले परिस्थितिजन्य कारणले भ्रष्टाचार भयो भन्ने समितिलाई विश्वास दिलाउन नसके समितिले थप कारबाहीको लागि बाध्य हुने चेतावनी दिए।उनले दुई हप्ता भित्र न्यारोबडी खरिद प्रक्रियामा कुनै बदमासी नभएको विश्वास दिन जरुरी रहेको बताए ।  उनले युरोपियन युनियनको कालोसूचीबाट हट्नको लागि नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम एक भएका काममा लाग्नुपर्ने आश्यकता समेत औंल्याए। 

एक महिनामा भित्रिए १ लाख २८ हजार पर्यटक

काठमाडौं । एक महिनामा १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले मार्च २०२४ मा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएको जानकारी दिएको छ । चिनियाँ बढ्न थालेको र भारतीयको आगमन यथावत रहँदा पर्यटक आगमन उत्साहजनक देखिएको बोर्डको तथ्यांक छ । सन् २०२३ मार्चमा ९९ हजार ४ सय २६ पर्यटक आएकोमा यस वर्ष गत वर्षको तुलनामा २८.९ प्रतिशतले पर्यटक आगमन बढेको हो । नेपालमा पर्यटकीय याम फेब्रुअरीबाट सुरु हुने तथा  मार्च र अप्रिलमा बढ्ने गर्दछ । त्यसपछि वर्षायाम सुरु हुन्छ भने आगमनमा केही कम हुने गर्छ । बोर्डले भारतबाट मार्चमा ३० हजार ६ सय ९८ आएको जानकारी दिएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १८.५ प्रतिशत बढी हो । चिनियाँ आगमन १२ हजार ९२ पुगेको तथ्याङ्क छ । यो गत वर्ष सोही अवधिको दाँजोमा ३ सय ५८ प्रतिशत बढि हो । अघिल्लो वर्षमा २ हजार ६ सय ३५ चिनियाँ पर्यटक आएका थिए । तेस्रो स्थानमा अमेरिकाबाट १० हजार ७ सय ६३ जना आएका छन् । यस्तै, बेलायतबाट ७ हजार २ सय ४१ आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।  यसै गरि श्रीलंकाबाट ५ हजार ७ सय ४१, जर्मनी ५ हजार २ सय ५५, थाइल्यान्डबाट ४ हजार ५ सय ६७, अस्ट्रेलिया ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार ३१ पर्यटक आएका छन् ।

क्रान्तिकारीका नेतालाई सांघातिक हमला गर्ने अखिलका दुई कार्यकर्ता नियन्त्रणमा

काठमाडौँ । लैनचौरस्थित अस्कल क्याम्पसमा झगडा गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गणेश शाही र पंकज पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । पक्राउ पर्नेहरु एमाले निकट अखिलका कार्यकर्ताहरू हुन् । उनीहरूको आक्रमणबाट माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अस्कल इकाई अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा घाइते भएका छन् । भलिबल खेल्दा विवाद भएपछि आरोपीहरूले आक्रमण गरेको बताइएको छ । उनीहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।भण्डारीको मुख र नाकमा चोट लागेको छ भने शर्माको बाँया हातको बुढी औंलामा चोट लागेको छ । उनीहरुमाथि कुटपिट गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी नियन्त्रणमा रहनेहरुमा अनेरास्ववियु अस्कल क्याम्पस इकाइ कमिटी अध्यक्ष पंकज पाण्डे र अस्कल इकाइ कमिटीका सदस्य गणेश शाही रहेका छन् । शाही जुम्लाका हुन् भने पाण्डे कन्चनपुरका हुन् । उनीहरु दुवै जना क्याम्पसकै होस्टलमा बस्दै आएको प्रहरीले बताएको छ ।  अखिल क्रान्तिकारीका बागमति प्रदेश अध्यक्ष सञ्जिव रेग्मीले अनेरास्ववियूको राजनीतिक संरक्षणमा आपराधिक पृष्ठभूमिका कमलराज जोशीको योजनामा आइतवार साँझ पंकज पाण्डेको नेतृत्वमा १०/१५ जनाको समुहले ज्यान मार्ने नियतले सांघातिक आक्रमण गरेको आरोप लगाएका छन् ।  सांघातिक आक्रमणबाट अमृत साइन्स क्याम्पस क्रान्तिकारीका अध्यक्ष कमरेड जितेन्द्र भण्डारी र उपाध्यक्ष कमरेड विश्राम शर्मा गम्भिर घाइते बनेको उनले जानकारी दिए । यस्ता आपराधिक घटना हुँदा राज्यका निकायहरु मुकदर्शक बनेर बस्नु आफैमा रहस्यमयी रहेको बताउँदै उनले सो घटनाप्रति घोर आपत्ति जनाएका छन्।  उनले घटनाका योजनाकार जोशी र घटनामा संलग्न अन्य अभियुक्तहरु पाण्डे सहितको आपराधिक गिरोहलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन माग समेत गरेका छन् । आइतबार साँझ भलिबल खेल्ने क्रममा विवाद हुँदा उनीहरुबीच झडप भएको प्रहरीको भनाई छ ।कुटपिट गरेको आरोप लागेका खेम सिंह फरार रहेको पाइएको छ ।