काठमाडौँका यी क्षेत्रमा आज बिहान ११ देखि १ बजेसम्म बिजुली कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न क्षेत्रमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले जारी गरेको सूचनाअनुसार पानीपोखरी फिडर र हस्पिटल फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

प्रभावित क्षेत्रहरूमा लाजिम्पाट, पानीपोखरी, महाराजगन्ज र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका भागहरू छन् । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्र पनि प्रभावित हुनेछन् ।

यो कटौती काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत वितरण लाइनलाई भूमिगत बनाउने र भूमिगत केवलहरू जोड्ने कार्यका लागि आवश्यक रहेको प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रले जनाएको छ ।

तोकेको कार्य निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा बिजुली छिट्टै सुचारु हुने सूचनामा उल्लेख गरिएको छ ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव : तराईमा हुस्सु–कुहिरो कायम

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसोको पूर्वानुमान : तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहने अनुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज रातिको पूर्वानुमान : तराईका अधिकांश स्थानमा हुस्सु रहने छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

अमेरिकी डलरको भाउ आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य फेरि बढेको छ । शुक्रबार खरिद दर १४३ रुपैयाँ ३६ पैसा र बिक्री दर १४३ रुपैयाँ ९६ पैसा कायम रहेको अमेरिकी डलरको खरिद दर आज १४३ रुपैयाँ ४७ पैसा र बिक्री दर १४४ रुपैयाँ ०७ पैसा तोकिएको छ । यस्तै, प्रमुख मुद्राहरूको विनिमय दर यस प्रकार रहेको छ : मुद्रा इकाइ खरिद दर (रुपैयाँ) बिक्री दर (रुपैयाँ) भारतीय रुपैयाँ (INR) १०० १६०.०० १६०.१५ अमेरिकी डलर (USD) १ १४३.४७ १४४.०७ युरोपियन युरो (EUR) १ १६८.९९ १६९.६९ बेलायती पाउन्ड (GBP) १ १९३.५८ १९४.३९ स्विस फ्र्यांक (CHF) १ १८१.७३ १८२.४९ अष्ट्रेलियन डलर (AUD) १ ९६.१८ ९६.५८ क्यानेडियन डलर (CAD) १ १०४.८७ १०५.३१ सिंगापुर डलर (SGD) १ १११.७४ ११२.२० जापानी येन (JPY) १० ९.१७ ९.२१ चिनियाँ युआन (CNY) १ २०.४८ २०.५६ साउदी रियाल (SAR) १ ३८.२५ ३८.४१ कतारी रियाल (QAR) १ ३९.३५ ३९.५२ थाई बाट (THB) १ ४.६२ ४.६४ युएई दिरहाम (AED) १ ३९.०६ ३९.२३ मलेसियन रिंगिट (MYR) १ ३५.४४ ३५.५९ दक्षिण कोरियाली वन (KRW) १०० ९.९३ ९.९७ स्विडिस क्रोनर (SEK) १ १५.६४ १५.७० डेनिस क्रोनर (DKK) १ २२.६२ २२.७२ हङकङ डलर (HKD) १ १८.४६ १८.५४ कुवेती दिनार (KWD) १ ४६६.९६ ४६८.९२ बहराइन दिनार (BHD) १ ३८०.३६ ३८१.९५ ओमानी रियाल (OMR) १ ३७२.६४ ३७४.२० राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्ने र अद्यावधिक दरहरू केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्कीको सक्रियता : देउवा, ओली र प्रचण्डसँग आज निर्वाचन छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेताहरूसँग निर्वाचनबारे छलफल गर्ने भएकी छिन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा शीतल निवासमा भएको प्रधानमन्त्रीसहित तीन दलका नेताहरूको भेटघाटको निरन्तरतास्वरूप यो छलफल हुन लागेको हो । शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए । सोही क्रममा मन्त्री खरेलले आज अपराह्न ४ बजे तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीको भेट तथा छलफलको कार्यक्रम रहेको जानकारी गराएका थिए । यसअघि मन्त्री खरेलसहित कानुनमन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न राजनीतिक दलका कार्यालयहरूको स्थलगत अनुगमन गरेका थिए । पुस ८ र ९ गते नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी लगायतका कार्यालयहरूको अनुगमन गरेपछि मन्त्री खरेलले प्रमुख दलका शीर्ष नेताहरूको निवासमै पुगेर निर्वाचन वातावरण बनाउने प्रयासलाई निरन्तरता दिएका हुन् । सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने तयारी गरिरहे पनि दलहरूले शान्ति–सुरक्षा लगायतका विषयमा प्रश्न उठाउँदै आएका छन् । विशेषगरी नेकपा (एमाले) ले यस्ता विषयमा चासो देखाएको बेला सरकारका मन्त्रीहरू दलका नेता तथा कार्यालयहरूमा पुगेर निर्वाचनको उपयुक्त वातावरण निर्माण गर्न सक्रिय भएका छन् ।  

एमाले छोडेर लक्ष्मी गुरुङ नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौँ  । नेकपा (एमाले) की सांस्कृतिक विभागकी केन्द्रीय सदस्य लक्ष्मी गुरुङ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको छ । सिन्धुली निवासी गुरुङलाई आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रमबीच नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गर्नुभएको हो । एमालेबाट अलग्गिएर नेकपामा जोडिनुभएकी गुरुङले पार्टी प्रवेशपछि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफ्नो योगदान रहने बताउनुभएको छ । 

मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले संसद् पुनर्स्थापनाको पछाडि नलाग्न आग्रह गर्नुभयो । भयरहित वातावरणमा निष्पक्ष निर्वाचनको माग जनताले गरिरहेको भन्दै उहाँले राजनीतिक दलहरू त्यसको तयारीमा जुट्नुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कम्युनिस्टहरूले मात्र देशको विकास र जनताको पक्षमा प्रभावकारी काम गर्न सक्ने दाबी गर्नुभयो । त्यसैले कम्युनिस्ट शक्तिबीच एकता वर्तमानको प्रमुख आवश्यकता भएको उहाँको भनाइ थियो । उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै देशको विद्यमान सङ्कट समाधान गर्न समान वैचारिक दृष्टिकोण भएका वाम शक्तिहरूबीच ध्रुवीकरण शुरू भइसकेको पनि उल्लेख गर्नुभयो । यो कार्यक्रममा विभिन्न दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो

एमाले लगायत पार्टीबाट ५६ जना नेकपामा प्रवेश, प्रचण्ड–नेपालद्वारा स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेका केन्द्रीय सदस्य लेखमान थापा, पर्सा जिल्ला नेकपा एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारु सहित ५६ जनालाई नेकपामा स्वागत गर्नुभएको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने विभिन्न तहका नेताकार्यकर्तालाई संयोजक प्रचण्ड, सहसंयोजक नेपाल लगायतका नेताहरूले खादा र माला लगाएर स्वागत गर्नुभयो। पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुका तर्फबाट सम्बोधन गर्दै पर्सा जिल्ला एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारुले अब पर्सा जिल्लाबाट एमाले बढारिने दाबी गर्नुभयो। उहाँले पर्सामा नेकपाको प्रभाव अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो। नवप्रवेशीलाई स्वागत गर्दै संयोजक प्रचण्डले यस प्रवेशले पर्सा जिल्लामा नेपाली कम्युनिष्ट पार्टी थप सशक्त बन्ने बताउनुभयो। उहाँले पर्सामै भव्य कार्यक्रमका बीच पार्टी प्रवेश गराउने योजना भए पनि समय अभावका कारण केन्द्रीय कार्यालय पेरिसडाँडामै कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ। मन्त्री खरेल प्रचण्डलाई भेट्न खुमलटारस्थित उनकै निवासमा पुगेका थिए। भेटमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। यसै दिन मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

डा. मित्र परियार नेकपामा प्रवेश, दलित मुक्ति आन्दोलनलाई नयाँ उचाइ दिने प्रतिबद्धता

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका पूर्वउपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। आज बिहान पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हात्तीवनस्थित आफ्नै निवासमा डा. परियारलाई पार्टीमा स्वागत गरेका थिए। केही दिनअघि बुटवलमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष परियारको व्यवहार ठीक नभएको भन्दै अध्यक्ष हर्क साम्पाङले उनलाई कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। त्यसपछि परियार पार्टीबाट अलग भएका थिए। डा. परियारलाई स्वागत गर्दै संयोजक प्रचण्डले उनजस्तो प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा पाउनु गर्वको विषय भएको बताए। डा. परियारले जनयुद्ध तथा गणतन्त्र स्थापनामा प्रचण्डको योगदानबाट आफू प्रभावित भएको उल्लेख गर्दै अब दलित मुक्ति आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन योगदान दिने प्रतिबद्धता जनाए।

१७ वर्षमा ४७ लाख भन्दा बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौँ । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो । विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विधिवत रुपमा नारायणहिटी दरबार सङ्ग्रहालयको रुपमा समुद्घाटन गरे पनि फागुन १५ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । स्थापनाको १७ वर्षमा सो सङ्ग्रहालय ४७ लाख ७७ हजार ७०० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् । स्थापनादेखि गत मङ्सिर मसान्तसम्म उक्त सङ्ख्याका पर्यटकले सङ्ग्रहालय अवलोकन गरेका हुन् । आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ६० हजारले नारायणहिटी दरबार सङ्ग्रहालयको अवलोकन गरेकोमा चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्म ४६ हजार ७०० र अवलोकन गरेको नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिए ।  सरकारले नारायणहिटी सङ्ग्रहालय प्रवेशका लागि विद्यार्थीलाई रु ५०, नेपालीलाई रु २००, सार्क राष्ट्रका नागरिकलाई रु ५०० र विदेशी नागरिकलाई रु एक हजार शुल्क लिँदै आएको छ । उक्त सङ्ग्रहालय प्रत्येक हप्ताको मङ्गलबार, बुधबार बन्द रहँदै आएको छ भने शनिबार र अन्य बिदाको दिनमा भने खुला रहन्छ ।

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । कोरला नाका पूर्ण रुपमा सञ्चालनमा आएदेखि हालसम्म यहाँको कोरला नाका हुँदै चीनतर्फबाट रु १० अर्ब ८२ करोड ९८ लाखको मालवस्तु नेपाल भित्रिएको बताए । यसैगरी नेपालबाट हस्तकलालगायतका नेपाली उत्पादन रु १८ करोड ९७ लाख ७८ हजार बराबरको मालवस्तु यहाँको भन्सार कार्यालयमा जाँचपाँस भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले जानकारी दिए । कोरला नाकाबाट हालसम्म दुई हजार ७४ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । आइतबारदेखि कोरला नाकाबाट थप चिनियाँ विद्युतीय सवारीसाधन नेपाल भित्रिने क्रममा रहेको उनले बताए । यसै महिना बिवाइडी कम्पनीले कोरला नाकाबाट पाँच सय बढी विद्युतीय सवारीसाधन चीनबाट पैठारी गरिरहेको भन्सार जनाएको छ । सोही कम्पनीको ३०० बढी विद्युतीय सवारी भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले बताए । यहाँको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भई निकासी तथा पैठारी भएका मालवस्तु तथा विद्युतीय सवारीसाधनबाट रु पाँच अर्ब छ करोड ६२ लाख सङ्कलन भएको भन्सार प्रमुख खड्काले जानकारी दिए । नेपाली बजारमा विद्युतीय कारको प्रयोग बढ्दै गएकाले पछिल्लो समय नेपालका विभिन्न कम्पनीले कोरला नाकाबाट चीनमा बनेका विद्युतीय सवारीसाधन आयात गर्दैआएका छन् । इन्धनको बचत तथा कार्बन उत्सर्जन घटाउन यस प्रकारका विद्युतीय सवारीसाधन उपयोगी हुने भएकाले सरकारले यस्ता सवारीसाधनलाई भन्सार सहुलियत प्रदान गरिएकाले नेपालमा विद्युतीय सवारीसाधनको माग बढेको हो । हिउँदयामको प्रतिकूल मौसममा समेत चीनबाट धमाधम कोरला नाका हुँदै विद्युतीय सवारीसाधन भित्रिएपछि कोरला नाकाको चहलपहल र भन्सार कार्यालयको कार्यसम्पादन गतिशील बनेको पाइएको छ । हिउँदयामसँगै ४६१० मिटरको उचाइमा अवस्थित कोरला नाकाको बिहान र बेलुकीको तापक्रम माइनस २० डिग्री रहेको छ । प्रतिकूल मौसमका बाबजुत कोरला नाकाबाट विद्युतीय सवारीसाधन नेपाल भित्रिदै छन् । यहाँस्थित मुस्ताङ भन्सारमा जाँचपास सकेका विद्युतीय सवारीसाधनलाई जोमसोमसम्म र जोमसोमबाट पोखरासम्म चालकले गन्तव्यतर्फ पुर्याउन थालेका छन् । यसरी मुस्ताङबाट बाहिरिएका विद्युतीय सवारीसाधनलाई पोखराबाट अर्को चालक समूहले सम्बन्धित कम्पनीको शोरुमसम्म पुर्याउने गरेका छन् । त्यसअघि यहाँ भित्रिने विद्युतीय सवारीसाधनलाई चिनियाँ भन्सारबाट स्थानीय सीमापार पास भएका चालकले चलाएर कोरला नाकाको नेपालतर्फ बाहिर निकाल्ने काम गर्छन् । प्रतिकूल मौसमका कारण कोरला नाका बन्द हुने अनुमान गरिए पनि चीनतर्फबाट धमाधम मालवस्तु र विद्युतीय सवारीसाधन भित्रिँदा कोरला नाकाबाट दुई देशबीचको आयात-निर्यात चलायमान भएको हो । नाकाबाट धमाधम विद्युतीय सवारीसाधन भित्रिन थालेपछि बेनी–जोमसोम–कोरला सडकमा सञ्चालित विद्युतीय ‘चार्जिङ स्टेशन’हरु व्यस्त छन् । हिउँदयामको मौसममा माथिल्लो मुस्ताङका नागरिक धमाधम बेँसी झरिसकेको भए पनि कोरला नाकामा आयात-निर्यातको कारोबार घटेको छैन । भन्सार प्रमुख खड्काले विद्युतीय सवारीसाधनका अलावा हालसम्म दैनिक १०÷१२ मालबाहक कन्टेनर मालवस्तु नेपाल–चीन निकासी-पैठारी भइरहेको जानकारी दिए ।

आजकाे लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ३६ पैसा र बिक्रीदर १४३ रुपियाँ ९६ पैसा निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ३६ पैसा र बिक्रीदर १४३ रुपियाँ ९६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ९४ पैसा र बिक्रीदर १६९ रुपियाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ८७ पैसा र बिक्रीदर १९४ रुपियाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपियाँ ०३ पैसा र बिक्रीदर १८२ रुपियाँ ७९ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ०६ पैसा र बिक्रीदर ९६ रुपियाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ८१ पैसा र बिक्रीदर १०५ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ६३ पैसा र बिक्रीदर ११२ रुपियाँ ०९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ४६ पैसा र बिक्रीदर २० रुपियाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २२ पैसा र बिक्रीदर ३८ रुपियाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३२ पैसा र बिक्रीदर ३९ रुपियाँ ४९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६१ पैसा र बिक्रीदर चार रुपियाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ०३ पैसा र बिक्रीदर ३९ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ४४ पैसा र बिक्रीदर ३५ रुपियाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९२ पैसा र बिक्रीदर नौ रुपियाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६३ पैसा र बिक्रीदर १५ रुपियाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६० पैसा र बिक्रीदर २२ रुपियाँ ७० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४४ पैसा र बिक्रीदर १८ रुपियाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपियाँ ७० पैसा र बिक्रीदर ४६८ रुपियाँ ६६ पैसा , बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ ०६ पैसा र बिक्रीदर ३८१ रुपियाँ ६५  पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपियाँ ३५ पैसा र बिक्रीदर ३७३ रुपियाँ ९१ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए ।  प्रमुख पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भएपनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने बताए । तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च एक सम्म पोखरा-जोमसोम उडान स्थगित गरेको बताए । त्यसैगरी समिट एयरलाईन्स कम्पनीले नियमित उडान दुई महिनाका लागि स्थगित गरेको जनाएको छ । हिउँदयाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि पोखरा-जोमसोम उडान प्रभावित हुने गर्छ । पछिल्लो समय बेनी-जोमसोम-कोरला सडक सहज हुँदै जान थालेपछि हवाई यात्रुको सङ्ख्या घट्दै जान थालेको छ ।

जुम्लाकाे नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ । नाग्म–गमगढी सडकखण्डको ९३ किलोमिटर क्षेत्रमा तीन पक्की पुल निर्माण गर्न अझै बाँकी छ । जग्गा विवादका कारण तीन पुल निर्माण गर्न ढिला भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधारीले जानकारी दिए । पुल निर्माण हुने स्थानमा स्थानीयवासीको जग्गा परेको छ । सरकारले जग्गाको मुआब्जा दिने गरेको छैन । “बारम्बार जग्गाधनीसँग छलफल गर्दा निश्कर्षमा पुग्न सकिएको छैन । मुआब्जा दिनसके समस्या समाधान हुन्छ”, उनले भने । हिमा गाउँपालिका जोड्ने पुल पनि जग्गा विवादका कारण निर्माण कार्य रोकिएको छ । कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाको पुल घरटहराका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन । मुगुको लुम्स पुल निर्माण घर तथा जग्गाका कारण रोकिएको प्रमुख चौधरीले बताए । स्थानीय सरकारलाई सहजीकरणका लागि आग्रह गरिएको छ । विवादका कारण तीन वर्षदेखि पुल निर्माणमा ढिलाइ भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा पुल निर्माण गर्न रु ४० लाख विनियोजन गरिएको प्रमुख चौधरीले बताए।

माैसम पूर्वानुमान: तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभाव

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ ।  आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । सबै प्रदेशका पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहनेछ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता ?

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुन कुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ । यद्यपि, नेपालमा यसअघि पटकपटक निर्वाचन भएकाले आचारसंहिता कुन कुन क्षेत्रमा लाग्छ भन्ने सामान्यता थाहा हुन्छ नै । निर्वाचन आयोगले तयार पारेको र हाल परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिताअनुसार नेपाल सरकारका मन्त्रीलाई पूर्ण रूपमा आचारसंहिता लाग्छ । यसैगरी, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र त्यसका पदाधिकारी, सङ्घीय सरकार र प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्छ । स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ । राजनीतिक दल तथा राजनीतिक दलका भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई आचारसंहिता लाग्ने गरी प्रस्ताव गरिएको छ । सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था र त्यसका कर्मचारीलाई पनि पूर्ण रूपमा आचारसंहिता लाग्नेछ । त्यस्तै, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदारलाई पनि आचारसंहिता लाग्छ । वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई पनि आचारसंहिता लाग्ने छ । आयोगले प्रस्ताव गरेको आचारसंहिता आवश्यक सुझाव र सल्लाहसहित केही दिनभित्रै लागू हुने जनाइएको छ ।