ललितपुरको मेटल उद्योगमा आगलागी, एकजनाको मृत्यु

काठमाडौं । ललितपुरको एक मेटल उद्योगमा आगलागी भएको छ ।ललितपुर महानगरपालिका–२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा आज बिहान ६ बजे भएको आगलागीमा एकजनाको जलेर मृत्यु भएको छ । 

जलेको अवस्थामा एकजना फेला परेको तर पहिचान हुन सकेको छैन ।
आगो विद्युत् सर्ट भएर लागेको अनुमान गरिएको छ । आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
 

माओवादी केन्द्रबाट राष्ट्रियसभाको मुख्य सचेतकमा गोपी अछामी

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा सत्ता पक्षको मुख्य सचेतकमा गोपीबहादुर सार्की अछामीमा नियुक्त गरेको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा २ (ज) बमोजिम संघीय संसद, राष्ट्रिय सभामा सत्ता पक्षको मुख्य सचेतकमा मनोनित गरेका हुन् ।

काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध

त्रिशूली । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले  अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ (नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो । उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहोर विसर्जनमा रोक लगाइएको बताए ।  आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उनले जानकारी दिए । “फोहोर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिँदैनौँ,” उनले भने । ।  बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौं र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहर विर्सजन हुने गरेको छ । रासस

पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान, योग्यता कति ?

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । शनिबार प्रकाशित सूचनाअनुसार इच्छुक व्यक्तिले १२ दिनभित्र आफ्नो आवेदन बुझाउन सक्नेछन् । सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ । सीईओ पदका लागि दरखास्त दिनका लागि इच्छुक व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ । त्यस्तै, उसले स्नातकोत्तर पूरा गरेको तथा पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । दरखास्त पेस गर्दा इच्छुकको उमेर कम्तीमा ३५ वर्ष तथा ६० वर्ष नकाटेको हुनुपर्नेछ । हेर्नुहोस् सूचना

आम जनता पार्टीले आज काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ। जनप्रदर्शन पश्चात काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने आजपाले जनाएको छ । आजपा उपमहासचिव चन्द्रभुषण साहका अनुसार देशमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको विरुद्धमा जनप्रदर्शन हुन लागेको हो । देशमा व्यापक रुपमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितताको अन्त्य नभएसम्म विकास सम्भव नभएको बताउँदै उनले दलीय भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर भएको बताए । आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहका अनुसार दलतन्त्रको ठेकदारहरूलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्दाहरूको रक्षा गर्न, देशलाई बर्बाद गर्ने नेताहरूबाट जवाफ माग्न, देशलाई आर्थिक सङ्कटबाट बचाउन, काण्डैकाण्डका नाइकेहरूलाई कारवाही गराउन दबाब दिने उद्देश्यले जनप्रदर्शन गर्न लागिएको हो ।

आज उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिदै

काठमाडौं ।आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने समय रहेको छ ।  उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची आयोगले आजै साँझ ६ बजे प्रकाशित गर्नेछ । यस्तै, आयोगले उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । यसैगरी साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ । निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ मा को को बन्दै छन् उम्मेदवार  उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट इलाम–२ मा डम्बर खड्का, एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बु, एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार बन्दै छन् । यस्तै, पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवारका रुपमा डकेन्द्र थेगिम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश चौहान र जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)ले उम्मेदवारी दिँदै छन् । इलाम–२ मा नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङलाई समर्थन गर्ने जनाइसकेको छ । मतदान स्थल र मतदान केन्द्र निर्वाचन आयोगले उपनिर्वाचनका लागि इलाम–२ मा ७९ वटा मतदान स्थल र १४९ मतदान केन्द्र निर्धारण गरेको छ । बझाङ प्रदेश सभा १ मा कोको बन्दै छन् उम्मेदवार  नेपाली कांग्रेसले बझाङ प्रदेश सभा १ मा पृथ्वीबहादुर सिंहकै छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ ।त्यसैगरी एमालेबाट जिल्ला अध्यक्ष दमन भण्डारी, माओवादी केन्द्रबाट जनक बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जनता समाजवादी पार्टीबाट  पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्री उम्मेवारको रुपमा मैदानमा रहेका छन् । मतदान स्थल र मतदान केन्द्र बझाङ प्रदेश १ मा आयोगले ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकेको छ ।

नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ आजको मौसम

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको कारण बिहान गण्डकी र कर्णाली प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा र बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

बढुवा भएका एसपीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका प्रहरी अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । शुक्रबार प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवँरले बढुवा भएका आठ एसपीलाई प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । बढुवा समितिले १४ चैतमा उनीहरूको बढुवा सिफारिस गरेको थियो । बढुवाबारे कुनै उजुरी नपरेपछि उनीहरूको सिफारिस सदर भएको हो। एसपी बढुवा हुनेहरूमा ढकेन्द्र खतिवडा, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरन्जन भट्ट, राजन लिम्बु र विनोद घिमिरे छन्।  

सुनसरीका पाँच पालिकामा कर्फ्यु

काठमाडौं । सुनसरीका पाँच पालिकामा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार सूचना जारी गर्दै कर्फ्यु आदेश जारी गरेको हो । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोसी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी भएको जनाइएको छ  । कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।  यहाँका स्थानीय समुदायका दुई पक्षबीच झडप भइ तनावपूर्ण स्थिति सृजना भएपछि शान्ति सुरक्षा कायम गर्न सूचना जारी गरिएको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषदद्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह

जेनेभा । संयुक्त राष्ट्र मानव अधिकार परिषदले शुक्रबार इजरायललाई हतियार बिक्रीमा रोक लगाउन आग्रह गरेको छ ।खुुलेआम हतियार खरिद विक्रीको परिणाम स्वरुप भएको गाजा युद्धले ३३ हजारभन्दा बढी प्यालेष्टिनीको ज्यान लिएको छ ।  मारिनेमा अधिकांश सर्वसाधारण नागरिक परेका छन् ।आग्रह स्वीकृत भएमा संयुक्त राष्ट्रसङ्घको शीर्ष अधिकारीक निकायले घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रलाई रक्तपातपूर्ण युद्धको स्थितिलाई रोक्न सफल हुनेछ । मस्यौदाले सम्बन्धित देशहरुलाई इजरायलमा हतियार, तथा अन्य सैन्य उपकरणहरूको बिक्री, हस्तान्तरण रोक्न आह्वान गरेको छ । मस्यौदाको आवश्यकता अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन रोक्नको लागि महत्त्वपूर्ण रहेको परिषद्ले जनाएको छ । मस्यौदाले अन्तर्राष्ट्रिय न्यायिक अदालतले जनवरीमा गाजामा ‘नरसंहारको सम्भावित जोखिमको फैसला गरेको’ कुरामा जोड दिन्छ । अल्बानिया बाहेकका इस्लामिक सहयोग सङ्गठन (ओआईसी) का सदस्यको तर्फबाट पाकिस्तानले अगाडि सारेको मस्यौदा प्रस्तावमा तत्काल युद्धविराम तथा आपतकालीन मानवीय पहुँच र सहयोगका लागि आह्वान गरिएको छ । गत हप्ता संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि युद्धविरामको आह्वान गर्ने प्रस्ताव पारित गरेपछि यस्तो आग्रह आएको हो । तर, युद्धविरामको मागले युद्ध ग्रस्त भूमिमा कुनै असर पारेको छैन । अधिकार परिषद्को मस्यौदा प्रस्तावमा इजरायली सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा रकेट प्रहार गरेकोमा यसको निन्दा गर्दै बाँकी सबै अक्टोबर ७ को आक्रमणमा कब्जामा लिइएका बन्धकहरूको तत्काल रिहाइको माग गर्दछ । प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली नियन्त्रण समाप्त गरी गाजा पट्टीमा नाकाबन्दीलगायतका कार्य तुरुन्तै हटाउन माग गरेको छ । मस्यौदाले नरसंहारका धेरै सन्दर्भहरू हटाउदै यस विषयमा गम्भीर चिन्ता जारी राखेको छ । जसले गाजाभित्र र बाहिर प्यालेस्टिनीहरूको निरन्तर जबरजस्ती स्थानान्तरण रोक्न आग्रह गर्दछ । मस्यौदा प्रस्तावले गाजामा युद्धको विधिका रूपमा नागरिकहरूलाई भोकमरीको बाध्यतामा पारेको भन्दै यसको निन्दा गरेको छ । जहाँ संयुक्त राष्ट्र सङ्घले गाजामा चरम अनिकाल व्याप्त भइसकेको बताउँदै जानाजानी खाना, पानी, बिजुली, इन्धन र दूरसञ्चारलगायत नागरिकहरूको अस्तित्वका लागि बाधा पारी आधारभूत आवश्यक वस्तुहरूबाट वञ्चित गरिएकोमा यसको विरोध गरेको छ । रासस/एएफपी

सुदूरपश्चिममा १० दिनभित्र सरकार बनाउन आह्वान

धनगढी। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले शुक्रबार दिउँसो विज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा १६८ उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि १० दिन भित्र दाबी पेश गर्न आह्वान गरेका छन्। सो धारा अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ। मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले शुक्रबार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख मियाँले बिहीबारदेखि नै राजनीतिक दल, कानुनका विज्ञसँग नयाँ सरकार गठनका लागि आह्वान गर्नका लागि परामर्श लिएर सो आह्वान गरेका हुन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन्। नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ। सङ्घीय सरकार अनुसार गठबन्धन बनाउन आवश्यक संख्या भन्दा बढी ३१ जना प्रदेश सभा सदस्य छन्। सात सदस्य रहेको नागरिक उन्मुक्ती पार्टी आन्तरिक विवादमा फसेकोले नयाँ सरकार बन्न कठिनाइ भइरहेको छ।  सङ्घीय सरकारमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी) संग १०/१० जना र नेकपा (एकीकृत समाजवादी)सँग चार जना प्रदेश सभा सदस्य गरेर २४ मात्र रहेका छन्।  प्रदेश सभामा नेपाली कांग्रेसका १८, राप्रपा र स्वतन्त्रका १र१ जना प्रदेश सभा सदस्य छन्।

समाजको रुपान्तरणमा स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका : मन्त्री शर्मा

पाल्पा । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका रहेको बताएकी छिन् । सामुदायिक रेडियो मदनपोखरा पाल्पाको रजत महोत्सवलाई सम्बोधन गर्दै उनले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका सञ्चारमाध्यम समग्रतामा केन्द्रित रहने भए पनि स्थानीय सञ्चारमाध्यम स्थानीय समुदायको सचेतनामा केन्द्रित हुने भएकाले समाज रुपान्तरणमा उनीहरुको बढी भूमिका रहने बताएकी हुन्।  मन्त्री शर्माले भनिन्– ‘सेवा र सचेतनालाई मूल अभिष्ट बनाएर गरिने ग्रामीण पत्रकारिताले गाउँमा बस्ने नागरिकको बोली बोल्ने, विकासमा पछाडि पारिएका, आफ्ना दुःखपीडा व्यक्त गर्न नसक्ने आम नागरिकलाई सुसूचित गर्ने मात्र नभई उनीहरुका भावना राज्यका जिम्मेवार निकायसम्म पुर्याउने भएकाले पनि समुदायस्तरमा सञ्चालित सञ्चारमाध्यमको सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका छ ।’ उनले स्थानीय सञ्चारमाध्यमहरु स्थानीय विषयवस्तुमा थप केन्द्रित हुने हो भने आकर्षण पनि अझै बढेर जाने बताइन् । सञ्चारमाध्यमको बढ्दो संख्या र सूचना प्रविधिमा आएको परिवर्तन कारण स्थानीय सञ्चारमाध्यममा चुनौती थपिएको उल्लेख गर्दै स्थानीय विषयवस्तुमा केन्द्रित भएर जानुपर्ने सुझाव दिइन्।   ‘बढ्दो प्रतिष्पर्धा र सूचना प्रविधिको तीब्र प्रयोगका बीच अब सामुदायिक रेडियोहरु अझ बढी समुदायको हितमा केन्द्रित रहनुपर्ने बेला आएको छ। देश विदेशका सूचना क्षणक्षणमा प्रवाह गर्ने सञ्चारमाध्यमको अभाव छैन तर समुदायका आवाज र भावना समुदायकै भाषा शैलीमा प्रस्तुत गर्ने दायित्व भने सामुदायिक रेडियोलगायत स्थानीय सञ्चारमाध्यमहरुले मात्र निर्वाह गर्नसक्छन्’–उनले भनिन्– ‘त्यसैले चुनौती हुँदाहुँदै पनि स्थानीय सञ्चारमाध्यम र त्यसमा पनि अझ सामुदायिक रेडियोहरुको समुदायमा अझ बढी आकर्षण बढेर जाने अवस्था छ, त्यसका लागि यस्ता सञ्चारमाध्यमहरुलाई बढीभन्दा बढी समुदायकेन्द्रित बनाउँदै समुदायकै सहयोगमा सबल बनाउन सकिने छ ।’ सूचना प्रविधिको बढ्दो प्रयोगले भूमण्डलीकरणको अवस्थालाई बढाइदिएको उल्लेख गर्दै मन्त्री शर्माले यसले नेपालका ऐतिहासिक तथा सांस्कृतिक मूल्य मान्यताको संरक्षणमा चुनौती थपिएकाले पूर्खाले हस्तान्तरण गरेको अमूल्य निधि मौलिक संस्कृतिको जगेर्नामा सञ्चारमाध्यमले ध्यान दिनुपर्ने बताइन् । स्थानीय सञ्चारमाध्यमहरुको प्रवर्धनका लागि सरकार प्रतिबद्ध उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमको सबलीकरण तथा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाका लागि तीनै तहका सरकार उत्तिकै गम्भीर र प्रतिबद्ध भएर लाग्न आवश्यक रहेको बताइन्।  संविधानले आम सञ्चार क्षेत्रको निमयमनको पाटोलाई संघीय सरकारको दायित्वभित्र राखे पनि प्रबर्धनको सवालमा तीनै तहका सरकारको अधिकारसूचिमा राखेको उल्लेख गर्दै मन्त्री शर्माले प्रदेश र स्थानीय तहहरुले विज्ञापन कानुन बनाएर स्थानीय विज्ञापनको प्रकाशन÷प्रसारणमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिने नीति ल्याउनुपर्ने बताइन्।   संविधान बनेको लामो समयसम्म आम सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने संघीय कानुन नबन्दा केही अन्योल पनि देखिएको उल्लेख गर्दै उनले यसलाई चिर्दै जतिसक्यो चाँडो आम सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाउने गृहकार्यमा सरकार रहेको जानकारी दिइन्। मन्त्री शर्माले थपिन– ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आम सञ्चार क्षेत्रको छाताको कानुनको रुपमा आम सञ्चार ऐनको मस्यौदा तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ भने मिडिया काउन्सिल विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने अन्तिम तयारीमा छौं । यी कानुनहरु पारित भएपछि संघीयताको मर्मअनुरुप आम सञ्चार क्षेत्रको पुनःसंरचरचना हुने सरकारको विश्वास रहेको छ ।’ यसबाहेक प्रचलित कानुनभित्रै रहेर पनि सञ्चारमाध्यम र पत्रकारहरुलाई सहज बनाउन सरकारले बेलाबेला आवश्यक निर्णय लिने गरेको जानकारी दिंदै उनले विज्ञापन क्षेत्रमा देखिएको बेथिति कम गर्न विज्ञापन नियमावली संशोधन गरेर संघीय सरकार मातहतका विज्ञापनरु व्यवस्थित गर्ने काम गरिएको बताइन् । रेडियोहरुको लाइसेन्स तथा इजाजत नवीकरणमा समस्या देखिएको गुनासो आएपछि सबै क्षमताका रेडियोहरुले अनलाइनबाट अभिलेखीकरण गरी जिल्ला हुलाकबाट नवीकरण अद्यावधिक गर्ने व्यवस्था मिलाइएको जानकारी दिंदै उहाँले सूचना विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि एक वर्षबाट बढाएर तीन वर्ष पुर्याइएको र यी सुधारका कार्यले जिल्लास्तरमा रहेका सञ्चारमाध्यम र पत्रकारहरुलाई थप सहज हुने विश्वास व्यक्त गरिन्। मन्त्री शर्माले सरकार सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोंच बनाएर अघि बढिरहेको उल्लेख गर्दै सबै क्षेत्रमा महत्वपूर्ण सुरुवात भए पनि सरकारले चाहे जस्तो काम हुन नसकेको गहिरो अनूभूतिसहित प्रधानमन्त्रीले राजनीतिक समीकरण परिवर्तन गरेरै भए पनि सरकारलाई गति दिने नयाँ अध्यायको थालनी गरेको बताइन्। उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा धेरै भन्दा धेरै जनमुखी कार्यक्रम समेट्ने तयारीमा सरकार रहेको जानकारी दिइन्।

पाकिस्तानी सशस्त्र समूहको गोली प्रहारबाट अफगानी पत्रकारको निधन

काठमाडौं । इस्लामाबादमा सक्रिय सशस्त्र समूहको गोली प्रहारबाट घाइते भएका अफगान पत्रकार अहमद हनायशको निधन भएको छ ।  गोली लागि अहमद हनायशको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई अप्रिल ३ को साँझ पाकिस्तान इस्लामाबादमा सशस्त्र व्यक्तिहरूले गोली हानेका थिए । आफ्नो संस्थामा लामो समयदेखि आबद्ध पत्रकार अहमद हनायशको हत्या भएको भन्दै इन्टरनेशनल फेडेरेसन अफ जर्नालिस्ट र यसको आबद्ध अफगानिस्तान स्वतन्त्र पत्रकार संघले अधिकारीहरूलाई तुरुन्त अनुसन्धान गर्न र दोषीहरूलाई छिटोभन्दा छिटो कारबाहि गर्न आग्रह गरेका छन्। हनायश निजी मिडिया आउटलेट रेडियो काहकाशन र रेडियो डोन्याका संस्थापक र संयुक्त राज्य कांग्रेसबाट अनुदान पाएको रेडियो आजादीका पत्रकार थिए । उनलाई इस्लामाबादको दक्षिणपूर्वी आवासीय क्षेत्रमा घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई बन्दुकधारीले गोली हानेका थिए।  पत्रकारको खुट्टामा दुई पटक गोली लागेको थियो, अर्को गोली उनको टाउकोमा चरेको थियो, र उपचारको लागि नजिकैको अस्पतालमा सारिएको थियो।  हनायश अफगानिस्तान छाडेर जनवरी २०२३ देखि इस्लामाबादमा बस्दै आएका थिए । उनी इस्लामाबाद छोडेर जर्मन यात्राको तयारी गरिरहँदा कै समयमा गोली प्रहार भएको हो ।उनलाई गोली प्रहार गर्नुको कारणबारे अहिलेसम्म जानकारी प्राप्त भैसकेको छैन्। यसअघि मार्च १४ मा मोटरसाइकलमा आएका तीन अज्ञात व्यक्तिहरूले फार्मेसीमा गोली हानेपछि वरिष्ठ पाकिस्तानी पत्रकार सगीर अहमद लारको हत्या भएको थियो। उनका भाइ जलील अहमदले पहिलो सूचना रिपोर्ट दर्ता गराए पनि हत्यामा संलग्न कसैलाई पनि पक्राउ गरिएको छैन।

छात्रवृत्ति कोटा निर्धारण गरेर मात्रै विद्यार्थी भर्ना गर्न मन्त्रालयको अनुरोध

काठमाडौं ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी (संस्थागत) विद्यालयमा छात्रवृत्तिको कोटा निर्धारण गरेर मात्रै विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन स्थानीय तहहरूलाई अनुरोध गरेको छ। विद्यार्थी भर्ना भइसकेपछि कोटा छुट्याउँदा विपन्न र सीमान्तकृत समुदायका बालबालिका छात्रवृत्तिबाट वञ्चित हुने अवस्था आएको मन्त्रालयले जनाएको छ।भर्नापछि छात्रवृत्ति दिने प्रवृत्तिले शुल्क तिर्न नसकी भर्ना नहुने अवस्था सिर्जना हुने र छात्रवृत्तिको पहुँच बाहिर हुने स्थिति देखापरेको मन्त्रालयको भनाइ छ। विद्यार्थी भर्नाकै समयमा छात्रवृत्तिको संख्या छुट्याइ छात्रवृत्ति प्राप्त गर्ने बालबालिकालाई निःशुल्क भर्ना हुने व्यवस्था मिलाउन पनि मन्त्रालयले स्थानीय तहहरूलाई अनुरोध गरेको छ। साथै प्रत्येक शैक्षिक सत्रमा लिने शुल्कको प्रस्ताव स्थानीय तहमा पेश गरी स्थानीय तहबाट विद्यालयको शुल्क निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था पनि मन्त्रालयले सम्झाएको छ। यस अनुसार मापदण्ड निर्धारण गरी सम्बन्धित स्थानीय तह र विद्यालयको वेबसाइटमार्फत शुल्क सार्वजनिक गर्न मन्त्रालयले आग्रह गरेको छ।

सुनसरीमा दुई समूहको झडप, प्रहरीद्धारा ६ राउन्ड हवाई फायर

काठमाडौं । सुनसरी प्रहरीले दुई समूहबीच भएको झडप नियन्त्रण गर्न हवाई फायर गगरिएको छ । सुनसरीको हरिनगर गाउँपालिका–१, भुटाहामा भएको झडप नियन्त्रण लिन हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।  एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउन्ड हवाई फायर र एक दर्जन राउन्ड अश्रुग्याँस पनि प्रहार गरेको सुनसरी प्रहरीले जनाएको छ ।

ताइवानको भुकम्पमा परेका १९ जना अझै बेपत्ता

ताइपेइ । ताइवानका उद्धारकर्ताहरूले टापुको दुर्गम पूर्वी तटमा ७.२ म्याग्निच्युडको भूकम्पपछि बेपत्ता भएका १८ व्यक्तिको खोजी जारी राखेका छन् । पहाडी र कम जनसङ्ख्या भएको पूर्वी काउन्टी हुआलियनमा बुधबारको भूकम्पले १० जनाको ज्यान गएको थियो भने १ हजार भन्दा बढी घाइते भएका थिए। सो भूकम्प पछि सयौँलाई राष्ट्रिय निकुञ्जमा अलपत्र परेको कारण पहिरोले सडक अवरुद्ध गरेको थियो । शुक्रबार ताइवानको फायर डिपार्टमेन्टले भने कि १९ व्यक्ति अझै बेपत्ता छन् । जसमा ६ हाइकिङ ट्रेलमा छन् भने चार विदेशीहरूमा पहिले भारतीय, क्यानाडाली र अष्ट्रेलियाका बासिन्दा रहेका छन् । उद्धारकर्ताहरूले पुष्टि गरे कि रमणीय तारोको राष्ट्रिय निकुञ्जको रिसोर्टमा काटिएका करिब ४०० व्यक्तिहरू सुरक्षित छन् । हेलिकप्टरहरूले आपूर्तिहरू लिएर घाइतेहरूलाई बाहिर निकालेका छन् । ‘हामी आज वर्षाको सम्भावनाको मूल्याङ्कन गर्दैछौँ, त्यसैले हाम्रा खोज र उद्धार सहकर्मीहरू वर्षासँग जुध्न सक्ने ड्रेसअपले सुसज्जित भएका छन्। यद्यपि, वर्षाले चट्टान र पहिरोको जोखिम बढाउँछ, जुन अहिले हामीले सामना गर्ने सबैभन्दा ठूलो चुनौती हो,’ काओसिङ शहर खोज तथा उद्धार टोलीका कप्तान सु यु मिङले भने ।