आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९७, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ९५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ७०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १६०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु १६०, घिरौँला प्रतिकिलो रु ११०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४५, सलगम प्रतिकिलो ९०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७५, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ८० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ११०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८० र कुरिलो प्रतिकिलो रु २००० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु २००, जिरीको साग प्रतिकिलो रु १५०, गाँठकोभी प्रतिकिलो रु ८५, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ ।
स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु ९०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु ११०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु ११०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ७५, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३५०, सरिफा प्रतिकिलो रु २०० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।
यसैगरी अमला प्रतिकिलो रु ७५, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु ५००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १००० निर्धारण गरिएको छ ।
मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ । उक्त वर्षको जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म यहाँ कुल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए । उनका अनुसार सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । गत वर्ष यहाँ आउने पर्यटकमध्ये सार्क राष्ट्रबाट एक लाख ३२ हजार ८४७ र अन्य राष्ट्रबाट २८ हजार २७५ जना रहेका छन् । त्यसअघि सार्क राष्ट्रबाट एक लाख नौ हजार ५४९ र अन्य राष्ट्रबाट २६ हजार १७० जना विदेशी पर्यटक यहाँ आएको तथ्याङ्क छ । एक्याप प्रमुख गुप्ताका अनुसार सन् २०२४ को अनुपातमा सन् २०२५ को १२ महिनाको अवधिमा यहाँ सार्क राष्ट्रतर्फ २३ हजार २९८ र अन्य राष्ट्रबाट दुई हजार १०५ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यस हिसाबले सार्कतर्फ १७ दशमलव ५७ प्रतिशत र अन्य राष्ट्रतर्फ सात दशमलव ४४ प्रतिशत पर्यटकको सङ्ख्या वृद्धि भएको हो । हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो रहेको छ । यद्यपि, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रभावका कारण अपेक्षा गरिएअनुरुपको विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन नसकेको एक्याप प्रमुख गुप्ताको भनाइ छ । सन् २०२५ मा यहाँ करिब ३० प्रतिशत विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुने अनुमान गरिए पनि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक सङ्ख्या कम हुँदा अनुमानअनुसार पर्यटक वृद्धि हुन नसकेको हो । युवा आन्दोलनको असरले यहाँ सन् २०२४ को भन्दा सन् २०२५ को सेप्टेम्बरमा तीन हजार ६३८, अक्टोबरमा ८५४ र नोभेम्बरमा ७० जना विदेशी पर्यटक घटेका जनाइएको छ । एक्याप प्रमुख गुप्ताले सन् २०२५ मा जनवरीदेखि अगस्त र डिसेम्बर अन्तिमसम्म पर्यटकको सङ्ख्या वृद्धि भएको बताए । यहाँ भ्रमण गर्नेमा बढी मात्रामा भारतीय पर्यटक रहेका छन् । एक्याप प्रमुख गुप्ताले यहाँ भित्रिएका पर्यटकमध्ये ८२ प्रतिशत सार्क राष्ट्र र १८ प्रतिशत अन्य मुलुकका रहेकामा सार्क राष्ट्रका कुल पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी भारतीय रहेको जानकारी दिए ।
आजकाे लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ र बिक्रीदर १९३ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ९४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०५ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५० पैसा र बिक्रीदर २० रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४३ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ८ पैसा र बिक्रीदर ४६८ रुपैयाँ २ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७३ पैसा बिक्रीदर ३७४ रुपैयाँ २९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै
काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा लगायत बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। देशका तराई भूभागमा हुस्सु तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
गोली लागेर एक जनाको मृत्यु, हतियारसहित पाँच सिकारी पक्राउ
सुर्खेत । यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जङ्गलमा गोली लागेर प्रचण्डदेव सिंहको मृत्यु भएको आरोपमा अन्य पाँच जना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ । मृतक प्रचण्डदेवसहित सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंह एकसाथ सिकार खेल्न जङ्गल गएको प्रहरीले जनाएको छ । सिकार खेल्न गएका ६ जनामध्ये प्रचण्डदेवलाई गोली लागेर मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी सुधीरकुमार खडकाले जानकारी दिए । पक्राउ परेकाबाट तीन थान भरुवा बन्दुक, फलामको दुई थान चक्कु, बारुद १३५.१८ ग्राम, भरुवा बन्दुकमा प्रयोग हुने ११ थान गोली बरामत गरिएको सूचना अधिकारी खडकाले जानकारी दिए । पक्राउ परेकालाई आजै हतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।
अपेक्षा गरेभन्दा दोब्बरले गरे बन्दीपुर भ्रमण
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउन सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको बन्दीपुरमा छ लाख ३४ हजार पर्यटक पुगेको संयोजक बैंसबहादुर गुरुङले जानकारी दिए । बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक गुरुङका अनुसार यस अवधिमा एक लाख विदेशीसमेत गरी चार लाख ५३ हजार पर्यटक बन्दीपुरमा बास बसेका थिए । उनले बन्दीपुरमा वजभोज खान आउने, घुमेर फर्किने पर्यटकको सङ्ख्या करिब दुई लाखभन्दा केही कम रहेको जानकारी दिए । बन्दीपुरमा सन् २०२५ र २०२६ मा गरी पाँच लाख पर्यटक बन्दीपुर भित्र्याउने योजना रहेकामा सन् २०२५ मा नै पूरा भएका स्थानीय होटल तथा पर्यटन व्यावसायी खुसी भएका छन् । “दुई वर्षमा पाँच लाख ल्याउने भनेर सोचेका थियौँ, तर एक वर्षमा नै लक्ष्य पूरा भयो”, भ्रमण वर्ष संयोजक गुरुङले भने, “काठमाडौँबाट पोखरा, पोखराबाट चितवन वा काठमाडौँ र चितवनबाट पोखरा जाँदा, आउँदा एकपटक बन्दीपुर बसौँ भन्ने भावना बढेको पायौँ ।” आँबुखैरेनी–पोखरा सडक विस्तारको काम लगभग सकिने चरणमा पुग्दा पर्यटकलाई बन्दीपुर आउन पनि सहज भएको व्यवसायीको भनाइ छ । भ्रमण वर्षमा बन्दीपुरको प्रचारप्रसारको काम पनि राम्रो भएकाले पर्यटक बन्दीपुर आएको विश्वास उनीहरुको छ । बन्दीपुर होटल सङ्घ अध्यक्ष फूलमती थापाले भ्रमण वर्षमा आउने पर्यटकलाई कुनै पनि प्रकारको असुविधा नहोस् भनेर सबै होटल व्यवसायी अति नै जिम्मेवारपूर्ण ढङ्गले व्यवस्थापनमा लागेको बताए । स्थानीय रैथाने खानादेखि अतिथि सत्कारले पर्यटक खुसी बनेको उल्लेख गर्दै उनीहरूले भ्रमण वर्षबाट यहाँका होटलले आफूलाई अझै स्तरोन्नति गर्ने र सुविधा थप्दै लैजाने सोचको विकास गरेको जानकारी दिए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर भ्रमण वर्षको प्रवर्द्धन तथा अन्य सहयोगमा पालिकाले सक्दो सहयोग गरेको बताए । बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा चिनाउनका लागि भ्रमण वर्ष निकै सार्थक र फलदायी भएको थापाको भनाइ छ । उनले बन्दीपुरको प्राकृतिक सुन्दरता र यहाँको मौलिक कला संस्कृति हेर्न पर्यटकहरु पटकपटक आउने गरेको आफूले पाएको बताए। सामान्य खर्च गर्नसक्नेदेखि महँगो रकम तिर्नसक्ने दुवै पर्यटकका लागि बन्दीपुर उपर्युक्त गन्तव्य भएको अध्यक्ष थापाको भनाइ छ । डिसेम्बर ३१ का दिन सडक खाना महोत्सवसहित विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर भ्रमण वर्ष समापन गर्न आयोजक पक्ष लागिपरेको छ । स्थानीय टुँडिखेल, सहिद पार्क, सिद्ध गुफा, थानीमाई, खड्गमाई र विद्यवासिनी मन्दिर, मणि मुकुन्देश्वरी पदमार्ग, मिनी ग्रेटवाल, रानीवन, तीनधारा वनभोज स्थल, गुम्बा, रामकोट, कोरीखा, धरमपानी होमस्टे, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, मौरीपालन र च्याउ उत्पादन केन्द्र बन्दीपुरका प्रमुख आकर्षण हुन् । नेवार, मगर, गुरुङलगायत जातजातिका सांस्कृतिक वेषभूषा र परम्परागत रीतिरिवाज पनि पर्यटकका लागि थप आकर्षण बनेका छन् । हिमालको लहर एकै फ्रेममा देखिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक बन्दीपुरमा रमाउने गरेका छन् । यहाँका होटल व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ । होटल सङ्घमा आबद्ध ८० भन्दाबढी होटल तथा एक दर्जन घरबास सेवा सञ्चालनमा छन् । साथै, अत्याधुनिक सेवा सुविधासहितको पाँचतारे होटल पनि सञ्चालनको अन्तिम चरणमा पुगेको छ । डुम्रे बजारबाट करिब आठ किलोमिटर यात्रा गरेपछि पुगिने बन्दीपुर बजारमा हाल केबलकारबाट पनि पुग्न सकिने व्यवस्था छ । ठूलढुङ्गाबाट बरालथोकसम्म सञ्चालनमा आएको केबलकार सेवाले सात मिनेटमै पर्यटकलाई बन्दीपुर पुर्याउने हुँदा आवागमन थप सहज भएको छ ।
राजनीतिक तथा आर्थिक संकट समाधानका लागि राष्ट्रिय र सर्वपक्षीय सहमति अपरिहार्य : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको वर्तमान राजनीतिक तथा आर्थिक संकट समाधानका लागि राष्ट्रिय र सर्वपक्षीय सहमति अपरिहार्य रहेको बताउनुभएको छ। बुधबार नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले गत भदौमा भएको जनजीविका आन्दोलनले राजनीतिक नेतृत्व तथा समाजका स्थापित संघसंस्थाहरूलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य पारेको बताउनुभयो। “यो आन्दोलनले हामीलाई दुई वटा विकल्प दिएको छ— कि त आफ्ना कमजोरीहरू सच्याएर नयाँ सङ्कल्पका साथ अघि बढ्ने, कि इतिहासको मञ्चबाट पन्छिने,” उहाँले भन्नुभयो। आन्दोलनले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्न सबै पक्ष गम्भीर हुनुपर्ने उहाँले जोड दिनुभयो। उहाँले आफ्ना कमजोरीहरू कहाँ छन् र तिनलाई कसरी सच्याउने भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने बताउनुभयो। जनता र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने वा इतिहासमा आफ्नो औचित्य सकिएको मान्दै पन्छिने बेला आएको उहाँको भनाइ थियो। मुलुक अन्योलबाट मुक्त हुँदै निर्वाचनको दिशामा अघि बढेको भन्दै उहाँले सरकारको कदमको प्रशंसा गर्नुभयो। निर्वाचन नै देशको निकास र स्थायित्वको मुख्य आधार भएको उहाँले बताउनुभयो। “स्वच्छ र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गरेर नयाँ जनादेश प्राप्त गर्नु र त्यसैमार्फत संविधान तथा कानुनका सीमा र कमीहरूलाई सच्याउनु नै आजको मुख्य आवश्यकता हो,” उहाँले भन्नुभयो। निजी क्षेत्रको सुरक्षा र प्रोत्साहनबिना समृद्धि सम्भव नभएको उहाँले स्वीकार गर्नुभयो। संविधानमा निजी, सार्वजनिक र सहकारी क्षेत्रको तीन खम्बे अर्थनीति उल्लेख भए पनि व्यवहारमा निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोणमा कमी–कमजोरी रहेको उहाँले बताउनुभयो। “निजी क्षेत्रलाई प्रोत्साहित गरिएन र लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धिका कुरा केवल भाषणमा मात्र सीमित हुनेछन्,” उहाँले थप्नुभयो। निर्वाचनमा जान वा अन्य निकास खोज्नका लागि राजनीतिक दल, सरकार, निजी क्षेत्र र नागरिक समाजबीच साझा सहमति आवश्यक रहेको उहाँले बताउनुभयो। संविधान जारी भएको १० वर्ष पुगेको अवसरमा यसको समीक्षा गरी नयाँ संसद्बाट आवश्यक संशोधन गर्दै अघि बढ्ने सङ्कल्प गर्नुपर्ने उहाँको भनाइ थियो। गत भदौको प्रदर्शनमा भएको घुसपैठ र विध्वंसप्रति सङ्केत गर्दै उहाँले मुलुकको संवेदनशीलतालाई बुझेर सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
विध्वंश मच्चाउनेलाई कारबाही नगरेको प्रति प्रधानमन्त्रीलाई नेकपाका सहसंयोजक नेपालको प्रश्न
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जनजीविका आन्दोलनका क्रममा तोडफोड र विध्वंसमा उत्रिनेहरूमाथि कारबाही नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्रीकै सामुन्नेमा विध्वंस मच्चाउनेहरूलाई किन कारबाही नगरेको भनी सोधेका हुन्। ‘जनजीविका आन्दोलनमा विध्वंस मच्चाउने, लुटपाट गर्ने जुन काम भएको छ, यो अत्यन्त आपत्तिजनक छ,’ उनले भने, ‘यसप्रति सरकार गम्भीर देखिएको छैन। सबै कुरा भिडियोमा कैद भएको छ, तोडफोड गर्नेहरू को को हुन् स्पष्ट देखिएको छ। किन पक्राउ गरिँदैन? किन सजाय दिइँदैन? यसकारण म प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।’
निर्वाचन आयोगद्वारा ब्ल्याक लिस्ट सम्बन्धी भ्रामक समाचार असत्य भएको स्पष्ट
विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का केही पदाधिकारीहरू चुनाव लड्न नपाउने भन्ने प्रकाशित तथा प्रसारित समाचार सत्य नभएको जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले प्रचारित विषय सत्य नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा कांग्रेस महामन्त्री गगन कुमार थापा, नेकपा (एमाले) का सचिवद्वय डा. राजन भट्टराई र शेरधन राईसहित १०८० जना ‘ब्ल्याक लिस्ट’मा परेको चर्चा चलिरहेको छ। गत २०७९ सालको निर्वाचनमा तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेका उम्मेदवारहरूलाई आयोगले जनही १५ हजार रुपैयाँ जरिवाना गरेको थियो। निर्वाचन खर्च नबुझाउने वा बुझाएर पनि सार्वजनिक नगर्ने उम्मेदवारहरू आयोगको कालोसूचीमा परेको भन्ने चर्चा भइरहेको छ। सहायक प्रवक्ता जिसीले निर्वाचन आयोगले कसैलाई पनि ब्ल्याक लिस्टमा नपारेको र कानुनमा त्यस्तो व्यवस्था नरहेको बताएका छन्। ‘यो सूचना पूर्ण रूपमा गलत हो। निर्वाचन आयोगले कसैलाई ब्ल्याक लिस्टमा पारेको छैन र कानुनमा पनि त्यस्तो व्यवस्था उल्लेख छैन,’ उनले भने। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका सबैलाई कानुनबमोजिम तोकिएको समयभित्र निर्वाचन खर्च विवरण बुझाई सार्वजनिक गर्न २०८० वैशाख ४ गते निर्देशन दिएको थियो। सोही क्रममा तोकिएको समयभित्र खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो।
ओलीको विरोध गरेको भन्दै अनेरास्ववियुका सुनसरी जिल्ला अध्यक्ष बर्खास्त
सुनसरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा एमाले निकट अनेरास्ववियुका सुनसरी जिल्ला अध्यक्ष उज्ज्वल सिग्देल बर्खास्त गरिएका छन्। जेनजी आन्दोलनका क्रममा सिग्देलले नेकपा (एमाले) का अध्यक्ष ओलीको आलोचना गरेका थिए। अनेरास्ववियुको २३औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित सिग्देलले जेनजी आन्दोलनका क्रममा सरकारले गोली चलाउँदा विद्यार्थीको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए। ओलीले हत्याको जिम्मेवारी लिनुपर्ने र विद्यार्थीको लासमाथि चढेर प्रधानमन्त्री बनेर बस्नु लाजमर्दो भएको टिप्पणी उनले गरेका थिए। जेनजी आन्दोलनलाई समर्थन गर्दै आएका सिग्देलले ओली प्रवृत्तिको विरोध गरिरहेका छन्। सोही आरोपमा सिग्देललाई अध्यक्ष पदबाट हटाइएको हो। सुनसरीको धरानमा विशेष भेला आयोजना गरी शेखर रेग्मीको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ। अधिवेशनमा रेग्मीले पनि अध्यक्षको दाबी गरेका थिए तर पार्टी र बहुमत प्रतिनिधिहरूले सिग्देललाई चुनेका थिए। अब सिग्देललाई हटाएर रेग्मीको नेतृत्वमा ५१ सदस्यीय नयाँ समिति गठन भएको छ। समितिमा उपाध्यक्षमा आदित्य खड्का, सचिवमा अरुण चौधरी तथा सहसचिवहरूमा इबेश डाँगी, मन्दिरा तुम्सा, हरि भट्टराई, सुदिप थापा र प्रताप तामाङ चयन भएका छन्। कोषाध्यक्षमा सज्नु खड्का तथा कार्यालय सचिवमा सन्तोष तामाङ र अर्जुन निरौला चयन भएको अनेरास्ववियुले जनाएको छ। बर्खास्तीमा परेपछि सिग्देलले अनेरास्ववियु ओलीलाई भगवान् मान्ने गुटको सङ्गठन बनेको आरोप लगाएका छन्। विद्यार्थी हत्याको विरोध गर्न नसक्ने अवस्थामा सङ्गठनलाई पुर्याउनु गलत भएको भन्दै उनले व्यक्तिवादी चरित्रको विरोधमा सदैव लागिरहने उल्लेख गरेका छन्।
दाङमा काटिएका रुखको विवरण र राजस्व सङ्कलन हुन सकेन
दाङ । दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारका क्रममा चार वर्षअघि काटिएका रुखको विवरण तथा त्यसबाट उठ्नुपर्ने राजस्व डिभिजन वन कार्यालय घोराहीले हालसम्म प्राप्त गर्न सकेको छैन । काटिएका रुखको आधिकारिक विवरण, काठ–दाउराको तथ्याङ्क र राजस्व सङ्कलन नहुँदा चार लेन सडक अन्तर्गत सडक सीमाभित्र बाँकी रहेका रुख कटानमा समेत समस्या उत्पन्न भएको छ । सडक निर्माणका लागि २०७५ माघ १४ गते ठेक्का सम्झौता भए पनि निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा २०७९ चैत २६ गते ठेक्का तोडिएको थियो । पटक–पटक म्याद थप गरिँदासमेत सडक निर्माण अलपत्र परेपछि ठेक्का रद्द गरी नयाँ ठेक्कामार्फत काम अघि बढाइएको छ । तर, पुरानो ठेक्का अवधिमा काटिएका रुखको विवरण र राजस्व हालसम्म डिभिजन वन कार्यालयले प्राप्त गर्न नसकेको हो । डिभिजन वन कार्यालय घोराहीका प्रमुख डिभिजनल वन अधिकृत बसिन्द्रराज सुवेदीका अनुसार रुख कटानका लागि डिभिजन वन कार्यालय घोराही र सडक विभाग अन्तर्गत भालुवाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर तथा लमही–घोराही–तुलसीपुर चार लेन सडक आयोजनाबीच २०७७ असार २६ गते सम्झौता भएको थियो । सम्झौताअनुसार घोराही–तुलसीपुर सडकखण्डमा पर्ने एक हजार २७५ वटा रुखमध्ये एक हजार एक सयभन्दा बढी रुख काटिएको अनुमान गरिएको छ । उनका अनुसार काटिएका रुखको विवरण, तिर्नुपर्ने राजस्व, सङ्कलन भएको काठ र दाउराको तथ्याङ्क पटक–पटक तत्कालीन सडक आयोजनासँग माग गरिए पनि हालसम्म उपलब्ध गराइएको छैन । डिभिजन वन कार्यालयसँग आयोजनाकै प्रत्यक्ष सम्झौता भएकाले सम्पूर्ण जिम्मेवारी आयोजनाको नै हुने उल्लेख गर्दै सुवेदीले भने, “हामीले पटक–पटक ताकिता गर्दै पत्राचार गरेका छौँ । तर अहिलेसम्म न काटिएका रुखको विवरण प्राप्त भएको छ, न काठ–दाउरा बुझाइएको छ, न त राजस्व नै आएको छ ।” सुवेदीका अनुसार रुख कटानबापत तत्कालीन सडक आयोजनाले काठको मूल्य बराबर करिब ३८ लाख ६९ हजार १३३ रुपैयाँ राजस्व बुझाउनुपर्ने देखिन्छ । सोही विषयमा पछिल्लो पटक २०८० असार २० गते आयोजनाका नाममा पत्र पठाइए पनि हालसम्म कुनै प्रतिक्रिया नआएको उनले बताए । घोराही–तुलसीपुर चार लेन सडक भारतको एक्जिम बैङ्कको ऋण सहयोगमा निर्माण हुन लागेको थियो । उक्त आयोजनाको ठेक्का मुम्बईस्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको थियो । सडकको केन्द्र रेखाबाट दुवैतर्फ १५–१५ मिटरभित्र पर्ने रुख कटानका लागि आयोजनाले २०७७ भदौ मसान्तसम्मको म्याद पाएको थियो । कोभिड–१९ महामारीका कारण ४८५ वटा रुख कटान गर्न बाँकी रहेको भन्दै आयोजनाले म्याद थपको माग गर्दै २०७७ भदौ १ गते वन कार्यालयमा निवेदन दिएको थियो । सो निवेदनका आधारमा डिभिजन वन कार्यालयले २०७७ भदौ ५ गते नै असोज मसान्तसम्म म्याद थप गरिदिएको थियो । तर थपिएको म्यादमा कति रुख काटियो भन्ने विवरणसमेत आयोजनाले वन कार्यालयमा नपठाएको सुवेदीले बताए । त्यसैको परिणामस्वरूप अहिले सडक विस्तारका क्रममा पुनः रुख कटान गर्नुपर्ने अवस्था आएको र त्यसको विवरण सङ्कलन प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । डिभिजन वन कार्यालयका अनुसार सडक विस्तारका क्रममा सिसौ, आँप, सिमल, जामुना, इपिलिइपी, चिउरी, बकाइनो तथा वर–पिपललगायतका बहुमूल्य रुख कटान गरिएको थियो ।
उचित मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रतिशतले घटेको छ । यही सङ्कटका बीच पोल्ट्री व्यवसायीले १३औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेका छन् । नेपालमा आधुनिक कुखुरापालन सुरु भएको पुस १७ गतेलाई विगत १२ वर्षदेखि राष्ट्रिय पोल्ट्री दिवसका रूपमा मनाइँदै आएको छ । विसं २०१७ साल पुस १७ गते बाराको पर्वानीपुरमा तत्कालीन सरकारको पहलमा सेन्ट्रल ह्याचरीको औपचारिक उद्घाटनसँगै आधुनिक पोल्ट्री व्यवसायको थालनी भएको हो । विश्वव्यापी कोभिड–१९ महामारीपछि निरन्तर ओरालो लागेको पोल्ट्री व्यवसायबाट हालसम्म सयौँ व्यवसायी पलायन भइसकेका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्ष राजेन्द्रप्रसाद लामिछानेका अनुसार पहिले हप्तामा ४५ देखि ५० लाखसम्म उत्पादन हुने ब्रोइलर चल्ला अहिले घटेर करिब ३० लाखमा सीमित भएको छ । यस्तै, सातामा दुई लाखभन्दा बढी उत्पादन हुने लेयर्स चल्लाको सङ्ख्या घटेर एक लाखदेखि एक लाख २० हजारमा झरेको छ । देशभर करिब तीन सय रहेका ह्याचरीमध्ये दुई सयभन्दा बढी बन्द भइसकेका छन् । अन्डा उत्पादक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार कुनै समय दैनिक ६० लाख गोटासम्म उत्पादन हुने अन्डा हाल मुस्किलले ३७ लाख गोटामा सीमित भएको छ । उपभोक्ताले बजारमा अन्डाको मूल्य बढेको अनुभव गरिरहेका बेला कृषकले भने आफ्नो लागतसमेत उठाउन नसकिरहेको अवस्था रहेको उनले बताए । दानाको कच्चा पदार्थमा आत्मनिर्भर बन्ने दिशामा देश अघि बढिरहेको दाबी दाना उद्योग सङ्घका अध्यक्ष उमेशचन्द्र सापकोटाले गरे । उनका अनुसार आगामी तीन वर्षभित्र भटमासबाहेक दानाका अधिकांश कच्चा पदार्थमा नेपाल आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ । करिब एक खर्ब ६० अर्ब रुपैयाँ लगानी रहेको अनुमान गरिएको पोल्ट्री व्यवसायबाट वार्षिक एक खर्ब २५ अर्ब रुपैयाँ बराबरको उत्पादन हुँदै आएको छ भने करिब ४५ अर्ब रुपैयाँको कच्चा पदार्थ आयात हुने गरेको छ । पछिल्ला केही वर्षयता कच्चा पदार्थको आयात करिब ४५ प्रतिशतले घटेको उनको भनाइ छ । नेपाल पोल्ट्री व्यवसायी मञ्चका महासचिव ज्ञानबहादुर विसुरालले कुखुरापालन क्षेत्रले हाल ठूलो आर्थिक क्षति बेहोरिरहेको बताए । “बाहिरबाट हेर्दा जस्तो देखिन्छ, वास्तविक अवस्था त्योभन्दा धेरै भयावह छ,” उनले भने । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार आत्मनिर्भर मानिएको यस व्यवसायमा सयौँ रोजगारी गुमिसकेका छन् । देशको कुल गार्हस्थ उत्पादनमा करिब २.९ प्रतिशत योगदान रहेको यो क्षेत्रप्रति राज्य उदासीन रहेको उनको आरोप छ । कच्चा पदार्थ आयातमा कर छुट, अवैध चल्ला, मासु र अन्डाको आयात नियन्त्रणमा कडाइ गर्नुपर्ने उनले औँल्याए । साथै, अति संवेदनशील भ्याक्सिनको सहज आयात व्यवस्था गर्न सरकारसँग माग गर्दै उनले सरकारबाट आयात अनुमति नदिँदा व्यवसायी लुकिछिपी भित्र्याइएका भ्याक्सिन प्रयोग गर्न बाध्य भएको बताए । “यो विषय सरकारलाई पनि थाहा छ, तर वर्षौंदेखि आयात प्रतिबन्ध हटाउन चासो देखाइएको छैन,” उनले भने ।
अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै
काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहनुहुने एफएनसिसिआईले जनाएको छ । संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् । संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । अर्थतन्त्रका चुनौती समाधानका निम्ति संवाद र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको एफएनसिसिआईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
रैथाने र जडीबुटीजन्य उपजलाई कर्णाली सरकारको ‘मूल्यवान्’ ब्रान्ड
सुर्खेत । कर्णाली प्रदेशमा उत्पादन हुने रैथाने तथा जडीबुटीजन्य उपजलाई प्रदेश सरकारले ‘मूल्यवान्’ नामक आधिकारिक ब्रान्डमार्फत पहिचान दिएको छ । प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मह, फापर, बेसार, अदुवा, टिम्मुरलगायतका रैथाने र जडीबुटीजन्य उत्पादनमा ‘मूल्यवान्’ लोगो प्रदान गर्दै बजार प्रवर्द्धन सुरु गरेको हो । पहिलो चरणमा कर्णालीका पाँच जिल्लाका २७ वटा फर्म, समूह तथा सहकारीलाई मूल्यवान् लोगो प्रयोग गर्ने अनुमति दिइएको छ । सुर्खेत, जुम्ला, सल्यान, जाजरकोट र रुकुमपश्चिमका ती उत्पादनकर्ताले आफ्ना उपजमा लोगो प्रयोग गरी बिक्री–वितरण गरिरहेका छन् । मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत तिलकप्रसाद पाण्डेका अनुसार २०७८ साल जेठ २० गतेको मन्त्रीपरिषद् बैठकले मूल्यवान् लोगो प्रयोगको स्वीकृति दिएको थियो । सो निर्णयअनुसार हालसम्म २७ वटा रैथाने तथा जडीबुटीजन्य उत्पादन गर्ने कृषक, समूह र फर्मलाई लोगो प्रदान गरिएको उनले जानकारी दिए । मूल्यवान् लोगो प्राप्त गर्न उत्पादन कर्णाली प्रदेशमै भएको हुनुपर्ने, रैथाने बाली वा जडीबुटीजन्य हुनुपर्ने, रासायनिक विषादी प्रयोग नगरिएको हुनुपर्ने जस्ता मापदण्ड तोकिएको छ । सुरुमा छ महिनाका लागि परीक्षणका रूपमा लोगो प्रदान गरिने र मापदण्ड पूरा भएमा वार्षिक रूपमा नवीकरण गरिने व्यवस्था गरिएको छ । लोगो प्रयोग गरेका कृषकले वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको मन्त्रालयले जनाएको छ । आगामी दिनमा कर्णालीका अन्य जिल्लामा उत्पादन हुने रैथाने तथा जडीबुटीजन्य उपजलाई समेत मूल्यवान् ब्रान्डअन्तर्गत ल्याइने योजना रहेको पाण्डेले बताए । यस वर्ष कर्णाली प्रदेशमा १९ हजार ४६४ मेट्रिक टन रैथाने बाली खरिद गर्ने लक्ष्य लिइएको छ । ती बाली खाद्य व्यापार तथा कम्पनीमार्फत खरिद गरी बिक्री गर्ने तथा प्रदेश राजधानी सुर्खेतमा प्रशोधन मिल स्थापना गर्ने तयारी भइरहेको छ । सरकारले नै खरिदको सुनिश्चितता गर्दा कृषक उत्साहित हुने र बजारको चिन्ता घट्ने विश्वास लिइएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार २०७४ फागुन ६ गते बसेको प्रदेशको पहिलो मन्त्रीपरिषद् बैठकले कर्णालीलाई प्राङ्गारिक प्रदेशका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो । सोही नीति अनुरूप कर्णालीका रैथाने बाली तथा जडीबुटीजन्य उपजलाई अर्गानिक उत्पादनतर्फ उन्मुख गराउँदै मूल्यवान् लोगो प्रदान गरिएको उनले बताए । कर्णालीमा लिवर्ड, दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) लगायतका संस्थाले पनि प्राङ्गारिक मिसन कार्यक्रम सञ्चालन गर्दै आएका छन् । एन्साबका कार्यकारी निर्देशक डा. भीष्मप्रसाद सुवेदीले मूल्यवान् लोगोले कृषकलाई अर्गानिक उत्पादनतर्फ आकर्षित गरेको उल्लेख गरे । लिवर्डका कार्यक्रम प्रमुख रिता गुरुङका अनुसार पछिल्लो एक वर्षदेखि कर्णालीका पाँच स्थानीय तहमा रैथाने बाली तथा जडीबुटीजन्य प्राङ्गारिक उत्पादन प्रवर्द्धन गर्न ‘पर्यावरणीय कृषिमा आधारित स्थानीय खाद्य प्रणाली रूपान्तरण परियोजना’ कार्यान्वयन भइरहेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिका, दैलेखको दुल्लु र आठबिस नगरपालिका तथा जुम्लाको तातोपानी गाउँपालिकामा उक्त परियोजनामार्फत प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिइएको छ ।
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ३७ पैसा र बिक्रीदर १४३ रुपियाँ ९७ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ७७ पैसा र बिक्रीदर १६९ रुपियाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ७६ पैसा र बिक्रीदर १९४ रुपियाँ ५७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ८० पैसा र बिक्रीदर १८२ रुपियाँ ५६ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ११ पैसा र बिक्रीदर ९६ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ६९ पैसा र बिक्रीदर १०५ रुपियाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ८० पैसा र बिक्रीदर ११२ रुपियाँ २७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ५१ पैसा र बिक्रीदर २० रुपियाँ ६० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २३ पैसा र बिक्रीदर ३८ रुपियाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३३ पैसा र बिक्रीदर ३९ रुपियाँ ५० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५६ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ०४ पैसा र बिक्रीदर ३९ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ४३ पैसा र बिक्रीदर ३५ रुपियाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९४ पैसा र बिक्रीदर ९ रुपियाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६० पैसा र बिक्रीदर १५ रुपियाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६० पैसा र बिक्रीदर २२ रुपियाँ ६९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४२ पैसा र बिक्रीदर १८ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपियाँ ८२ पैसा र बिक्रीदर ४६७ रुपियाँ ७७ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ २६ पैसा र बिक्रीदर ३८१ रुपियाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपियाँ ८७ पैसा र बिक्रीदर ३७४ रुपियाँ ४३ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

