२०२५ मा नेपालमा पर्यटन वृद्धिदर सुस्त

काठमाडौँ । सरकारले सन् २०२५ लाई नेपाल पर्यटनको निर्णायक वर्षका रूपमा अघि सारे पनि वर्षको अन्त्यमा नतिजा भने मिश्रित देखिएको छ । 

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि डिसेम्बरसम्म कुल ११ लाख ५८ हजार ४५९ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा थोरै मात्र बढी हो, जसले पर्यटन पुनरुत्थान अपेक्षाअनुसार तीव्र हुन नसकेको संकेत गर्छ ।

सन् २०२४ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या ११ लाख ४७ हजार ५६७ थियो । एक वर्षको अन्तरालमा पर्यटक सङ्ख्या स्थिर जस्तै देखिनुको पछाडि मुख्य सिजनमै परेको सामाजिक–राजनीतिक अवरोधलाई प्रमुख कारणका रूपमा हेरिएको छ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका कारण नेपालको बाह्य पर्यटकीय बजारमा नकारात्मक सन्देश गएको र त्यसको असर करिब एक महिनासम्म महसुस भएको पर्यटन क्षेत्रका सरोकारवालाहरू बताउँछन् ।

यद्यपि, कोभिड–१९ महामारीअघिको सन् २०१९ सँग तुलना गर्दा नेपाल पर्यटन करिब ९७ प्रतिशतसम्म पुनरुत्थान भइसकेको देखिन्छ । पूर्ण पुनरागमनको नजिक पुगे पनि सरकारले राखेको १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भने पूरा हुन सकेन ।

वर्षको अन्त्यतिर भने केही सकारात्मक संकेत देखिएका छन् । डिसेम्बर महिनामा मात्रै ९८ हजार १९० जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ७ प्रतिशत बढी हो । अझ, सन् २०१९ को डिसेम्बर महिनासँग तुलना गर्दा पनि आगमन दर करिब समान देखिनु ले जाडो मौसमजस्तो अफ–सिजनमा समेत नेपालप्रति पर्यटकको चासो बढ्दै गएको संकेत गर्छ ।

पर्यटक आगमनको स्रोत मुलुक हेर्दा छिमेकी राष्ट्र भारत अझै पनि नेपालको प्रमुख बजार बनेको छ । सन् २०२५ मा आएका कुल पर्यटकमध्ये २५.२ प्रतिशत, अर्थात् २ लाख ९२ हजार ४३८ जना भारतीय नागरिक रहेका छन् । त्यसपछि संयुक्त राज्य अमेरिका बाट १ लाख १२ हजार ३१६ जना (९.७ प्रतिशत) र चीन बाट ९५ हजार ४८० जना (८.२ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।

यसैगरी, परम्परागत युरोपेली बजारमध्ये संयुक्त अधिराज्य (यूके) बाट ५.१ प्रतिशत र अर्को छिमेकी मुलुक बङ्गलादेश बाट ५ प्रतिशत पर्यटक नेपाल आएको तथ्याङ्कले देखाउँछ । क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकहरूको योगदान सबैभन्दा बढी ३५.२ प्रतिशत रहेको छ भने अन्य एसियाली मुलुकहरूबाट २१.९ प्रतिशत, युरोपबाट १९.१ प्रतिशत र अमेरिकाबाट ११.७ प्रतिशत पर्यटक नेपाल आएका छन् । ओशिनिया, मध्यपूर्व र अफ्रिकी मुलुकहरूको हिस्सा तुलनात्मक रूपमा न्यून छ ।

पर्यटक सङ्ख्या अपेक्षाभन्दा कम भए पनि आर्थिक प्रभाव भने उल्लेख्य देखिएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामै नेपालले पर्यटन क्षेत्रबाट २७ अर्ब १५ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको वैदेशिक मुद्रा आर्जन गरेको छ ।

त्यस्तै, पर्यटन क्षेत्रमा वैदेशिक लगानीको आकर्षण पनि बढ्दो छ । साउनदेखि मङ्सिरसम्मको अवधिमा मात्रै ४७६ वटा परियोजनामार्फत ३० अर्ब २६ करोड ३० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

समग्रमा, सन् २०२५ मा नेपाल पर्यटनले महामारीपछिको चरण पार गरिसकेको देखिए पनि राजनीतिक–सामाजिक स्थिरता, बजार विविधीकरण र दीर्घकालीन रणनीति बिना ठूला लक्ष्य हासिल गर्न अझै चुनौती कायम रहेको छ । 

आजकाे माैसम: हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात, तराईमा हुस्सु

काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनुको साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराई भूभागका धेरै स्थानहरूमा बिहानीपख हुस्सु  रहनेछ। आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ ।  देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

२८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ले अफगान अधिकारी अब्दुल रहमान हबीबलाई उद्धृत गर्दै “एक वर्षमा लगभग २८ लाख शरणार्थी घर फर्केको उल्लेख गर्दै अर्थतन्त्र र भविष्यमा थप आर्थिक स्थिरताको डर बढेको जनाएका छन् । हबीबले अफगान शरणार्थीहरूको फिर्ती पछिको थप विवरण भने पेश गरेको छैन । यद्यपि, हबीबले अफगान सरकारले राष्ट्रिय अर्थतन्त्रलाई स्थिर बनाउन, रोजगारीका अवसरहरू सिर्जना गरी गरिबी निवारण गर्न स्थानीय उत्पादनहरू बढाउन निजी क्षेत्र, विदेशी लगानीलाई सहयोग गर्न र प्रमुख विकास परियोजनाहरू कार्यान्वयन जारी राख्ने प्रयास गरिरहेको उल्लेख गरेको छ । लाखौँ अफगान शरणार्थीहरू विगत चार दशक भन्दा बढी समय देखि युद्ध र अशान्तिबाट बच्न छिमेकी पाकिस्तान र इरानलगायतका देशमा बसिरहेका थिए । 

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो, एमाले तेस्राे

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट्रिय सभा सदस्य मध्ये १८ जनाको निर्वाचन हुँदैछ भने एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेशका अनुसार यस प्रदेशबाट महिला र अन्य समूह गरी दुई जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन्। हाल पदावधि सकिन लागेका दुवै सदस्य नवगठित नेपाली कम्युनिस्ट पार्टीका छन्। माओवादी केन्द्रकी गङ्गाकुमारी बेलबासे र एकीकृत समाजवादीका डा. बेदुराम भुषालको कार्यकाल समाप्त हुँदैछ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभारका आधारमा बागमती प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा बलियो देखिएको छ। कांग्रेसको कुल मतभार ३,९९४ रहेको छ । यसपछि नेकपा (माओवादी केन्द्र र एकीकृत समाजवादी) को संयुक्त मतभार २,७३८ रहेको छ भने एमाले २,५७१ मतभारसहित तेस्रो स्थानमा छ । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा सदस्य ११० र स्थानीय तहका २३७ जना गरी ३४७ मतदाता रहनेछन्। कुल मतभार १०,३३३ तोकिएको छ। भ्रष्टाचार मुद्दामा निलम्बित नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत मतदानबाट वञ्चित हुनेछन् । अन्य दलतर्फ राप्रपाको ७०८, नेमकिपाको १९७, हाम्रो नेपाली पार्टीको १०६ र स्वतन्त्रको १९ मतभार रहेको छ। उम्मेदवार मनोनयन पुस २३ गते हुने निर्वाचन आयोगले जनाएको छ। मतदान हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा हुनेछ, जहाँ दुई मतदान केन्द्र तोकिएका छन् ।

नेपाल–भारतबिच महाकाली सन्धिका तीन दशक: सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली सन्धि अनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीन सय क्युसेक तथा वर्षायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ । भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिँचाइ पूर्वाधार केही हदसम्म तयार भएका छन् । दुई पटक टनकपुरबाट मूल नहरको परीक्षणका लागि पानी छाडिए पनि नियमित छाड्नेबारे भारतीय पक्षले वास्ता गरेको छैन । यता महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल नहर बनिसकेको क्षेत्रसम्म केही शाखा नहरसमेत तयार भइसकेकाले पानी माग गर्दै आएको छ । राष्ट्रिय गौरवको आयोजना तेस्रो चरणको भौतिक प्रगति दिन प्रतिदिन बढिरेहको भए पनि नहरमा पानी बग्ने विषय भने अझै अन्याेल जस्तै छ । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशत छ । रु नौ अर्ब लगानी भइसकेको छ । आयोजनाको अनुसार निर्माण कम्पनीसँग रु एक अर्ब ९७ करोडको सम्झौता गरेर कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चार चरणमा निर्माण भइरहेको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका इञ्जिनीयर राजेश पोखरेले सिँचाइका लागि पानी ल्याउन पटक–पटक विभाग मन्त्रालय हुँदै पत्राचार गरिएको बताए । “हामीले भारतीय एनएचपी सीसित समन्वय गर्दा माथिल्लो निकायबाट आदेश आए पानी छोड्ने सबै संरचना तयार रहेको खबर दिन्छ” इञ्जिनीयर पोखरेलले भने, “यहाँबाट पनि ताकेता भएको छ । तर माथिल्लोस्तरबाटै यस विषयमा पहल हुनुपर्छ ।” सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य प्रकाश रावलले केन्द्र सरकारले नै महाकाली सिँचाइको काम समयमा सम्पन्न गरेर किसानको खेतबारीमा सिँचाइ सुविधा पुर्याउन गम्भीर हुनुपर्नेमा जोड दिए । “महाकाली सिँचाइको मूल नहरमा पानी कहिले बग्ने भन्ने विषयमा टुङ्गो नै छैन्” उनले भने– “सिँचाइ सुविधाका लागि प्रदेश र स्थानीय सरकारले भूमिगत सिँचाइमा जोड दिइरहनुपर्ने अवस्था छ ।” उनले आफू प्रदेशमन्त्री हुँदा महाकाली सिँचाइ आयोजनाले भूमिगत सिँचाइको बजेट रोक्न प्रदेश सरकारलाई पत्राचारसमेत गरेको बताए । “आयोजना समयमा हुनसकेन भने विकल्पका रुपमा अन्य उपाय गर्न पर्यो” उनले भने– “गौरवको आयोजना भनेर मात्रै भएन । सिँचाइ सुविधा पुर्याउन केन्द्रबाट पहल हुनुपर्यो ।” त्यसैगरी महेन्द्रनगरका समाजसेवी लीलाध्वज बस्नेतले सन्धि गर्दाको हतारोका कारण अहिले मूल नहरमा पानी ल्याउन नसकिएको बताए । “बिना अध्ययन सन्धि गर्दा हामीले अर्बौ लगानी गरे पनि मूलनहरमा पानी नबग्ने अवस्था आयो” बस्नेतले भने– “यो विषयमा केन्द्रीय सरकारले पहल गर्नुपर्छ ।” सन्धिले महाकाली नदीको पानीको उपयोग सम्बन्धमा पक्षहरूको दायित्व, अधिकार एवं कर्तव्यलाई परिभाषित गरेको छ । कञ्चनपुर र कैलालीको मालाखेतीसम्म सिँचाइ पुर्याउने लक्ष्यसहित तेस्रो चरणको निर्माण थालिए पनि यहाँका किसान भने लामो समयदेखि भूमिगत सिँचाइ र आकाशे पानीका भरमा खेती गर्दै आएका छन् । “सिँचाइको मूल नहर घर आँगनमै पुगेपनि पानी कहिले पुग्ने भन्ने टुङ्गो नै छैन ।” यहाँको बेदकोट नगरपालिकाका किसान भीम चौधरीले भने, “सिँचाइ सुविधा आउने आशामा वर्षौं बित्यो तर अझै आउने सुरसार छैन ।” नेपाल–भारतबिच महाकाली सन्धि २०५२ सालमा भएको थियो ।

कांग्रेसमा उथलपुथल : नियमित महाधिवेशन स्थगित, विशेष महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित १५औं महाधिवेशन स्थगित भएको घोषणा गरेपछि सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल थालेका छन् । पुस १७ गते बिहीबार साँझ महामन्त्रीद्वय थापा र शर्माले संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित भएको जानकारी गराएका थिए । उनीहरूले पार्टी विधानको दफा १७(२) अनुसार विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्नुपर्ने बताउँदै पुस मसान्तभित्र विशेष महाधिवेशन अपरिहार्य रहेको उल्लेख गरेका छन् । वक्तव्यमा विकल्पको रूपमा विशेष महाधिवेशन मात्र बाँकी रहेको उल्लेख छ । यो वक्तव्यपछि सभापति देउवाले बिहीबार साँझै कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका थिए । छलफलमा महामन्त्रीद्वयको कदम र यसको प्रभावबारे चर्चा भएको स्रोतले जनाएको छ । त्यसैगरी, देउवाले शुक्रबार बिहान शीर्ष नेताहरूलाई बोलाएर विशेष महाधिवेशनको माग र पार्टीको आन्तरिक स्थितिबारे विस्तृत छलफल गर्ने तयारी गरेका छन् । महामन्त्रीद्वयको पक्षले विशेष महाधिवेशनका लागि तीव्र तयारी थालेको छ । पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसहित निवेदन दिइसकेका छन् । विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको माग भए पुग्ने प्रावधान रहेको छ । विशेष महाधिवेशन पक्षधरहरूले पुस २६–२८ वा २७–२९ गते काठमाडौंको भृकुटीमण्डपमा हल बुकिङसमेत गरिसकेका छन् । महामन्त्री गगन थापा राजनीतिक प्रतिवेदन लेख्न धुलिखेल पुगेका छन् । यता, संस्थापन पक्ष (देउवा–खड्का समूह) ले महामन्त्रीद्वयको एकल निर्णयलाई अस्वीकार गरेको छ । उनीहरूले केन्द्रीय कार्यसमितिको निर्णयबिना महाधिवेशन स्थगित गर्न नसकिने र यो कदम विधानविपरीत भएको बताएका छन् । यसअघि मंसिर १५ गतेको केन्द्रीय समिति बैठकले पुस २६–२८ गते नियमित १५औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको थियो, तर क्रियाशील सदस्यता विवादलगायत कारण कार्यान्वयनमा समस्या देखिएको छ । कांग्रेसभित्र यो विवादले पार्टी एकता र आगामी निर्वाचनलाई प्रभावित पार्ने चिन्ता बढाएको छ । विशेष महाधिवेशन भएमा सभापति देउवाको नेतृत्वमा चुनौती आउन सक्ने विश्लेषण गरिएको छ । पार्टीले छिट्टै केन्द्रीय समिति बैठक बोलाएर स्थिति स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

नेपाली तेक्वान्दो टिम ‘इन्डियाज गट ट्यालेन्ट’ सिजन ११ को फाइनलमा (भिडियोसहित)

काठमाडौं । नेपाल तेक्वान्दो संघको राष्ट्रिय डेमोन्स्ट्रेसन टिम भारतको सोनी टीभीमा प्रसारण भइरहेको रियालिटी शो ‘इन्डियाज गट ट्यालेन्ट’ सिजन ११ मा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल भएको छ।     टिम अहिले आगामी फाइनल प्रतिस्पर्धाको तयारीका लागि भारतमै रहेर अभ्यास गरिरहेको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जानकारी दिएका छन्। फाइनल प्रतियोगिता जनवरी २ तारिखमा हुँदैछ। नेपालका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र महोत्सवहरूमा उत्कृष्ट प्रस्तुति दिँदै आएको यो डेमोन्स्ट्रेसन टिमले कोरियामा समेत आफ्नो प्रस्तुति दिएर क्षमता प्रमाणित गरिसकेको संघले जनाएको छ। संघले टिमलाई फाइनलमा सफलताको शुभकामना व्यक्त गरेको छ। टिममा रहेका खेलाडीहरूः मन्डिप राई, मनोज सुवेदी, सुजल गुरुङ, सुकमाया गुरुङ, कपिल गुरुङ, सुनिल तामाङ, समना पुरी, मनीषा पराजुली, अस्मिता तामाङ, शितल मगर, दावा साङ्बु भोटे, सागर तामाङ, सुरज खड्का, आदर्श मगर, ओमन घले, गरिमा कोइराला, समीर खत्री, अन्जिल मगर, सिमा मगर, शिवम विक, राधा विक, याङजी शेर्पा र रूपा मगर। टिमको हेड श्याम थापा मगर, प्रशिक्षक ओशन श्रेष्ठ तथा टिम कप्तान सावन थापा मगर छन्।

नेपाली कम्युनिष्ट पार्टीले संयोजक प्रचण्डलाई गर्यो कालीकोटबाट एकल सिफारिस

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम कालीकोटबाट एकल सिफारिस गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रचण्डको नाम एकल सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको नेकपाका एक जिल्ला नेताले जानकारी दिनुभयो । प्रेमबहादुर सिंह, महेन्द्र बहादुर शाही लगायतका जिल्लाका नेताहरूको बैठकमा प्रचण्डलाई नै सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको उहाँले बताउनुभयो । कालीकोटमा शान्ति प्रक्रियापछि लगातार माओवादीले जित्दै आएको छ । ०७९ मा यहाँबाट महेन्द्र बहादुर शाही निर्वाचित भएका थिए । कालीकोट माओवादीको बलियो जनाधार भएको जिल्ला हो ।

काठमाडौं-दुबई उडानमा हिमालय एअरलाइन्सको बद्मासी, नियामक निकाय मौन

काठमाडौं । हिमालय एअरलाइन्सले प्राविधिक कारण देखाउँदै अन्तिम समयमा काठमाडौं–दुबई उडानहरू स्थगित गरेपछि सयौं यात्रु अलपत्र परेका छन् । कम्पनीले हिजो र आजका लागि निर्धारित उडानहरू रद्द गरेको जनाएको छ । यसले दुबई हुँदै अन्य देशहरूमा जाने यात्रुहरूलाई ठूलो असुविधा भएको छ । काठमाडौंबाट दुबई हुँदै युरोपतर्फ जाने एक यात्रुले एअरलाइन्सको यो निर्णयका कारण एउटै टिकटमा करिब २ लाख रुपैयाँ नोक्सानी बेहोर्नुपरेको बताएका छन् । आज राति ११ः३० बजेको उडान पनि स्थगित गरिएको जानकारी अन्तिम समयमा मात्र दिइएपछि यात्रुहरू थप मर्कामा परेका छन् । कम्पनीले उक्त उडान भोलि दिउँसो २ बजे सञ्चालन गर्ने जनाएको छ । यात्रुहरूले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौखिक चेतावनी मात्र दिने तर प्रभावकारी कारबाही नगर्ने गरेको गुनासो गरेका छन् । यसले एअरलाइन्सहरूलाई यात्रुको सुविधाभन्दा पनि आफ्नो सञ्चालनलाई प्राथमिकता दिन प्रोत्साहन मिलिरहेको उनीहरूको भनाइ छ ।

उपभोक्ता सुरक्षाका लागि रूपन्देहीमा १०१२ थान असुरक्षित एलपीजी सिलिन्डर नष्ट

रूपन्देही । सियारी गाउँपालिका–१ चिल्हियास्थित त्रिशूल ग्यास प्रालिमा १ हजार १२ थान एलपी ग्यास सिलिन्डर नष्ट गरिएको छ। उपभोक्ताको हितलाई मध्यनजर गर्दै प्रयोगमा असुरक्षित देखिएका सिलिन्डर आज नष्ट गरिएको प्रालिका प्रबन्धक देवीप्रसाद भुसालले बताए। त्रिशूल ब्रान्डको लोगो अङ्कित ती सिलिन्डरहरूलाई स्क्र्याप गर्ने निर्णयअनुसार नष्ट गरिएको भुसालले जानकारी दिए। उनका अनुसार २०७७ सालमा पनि एभरेस्ट ग्यास उद्योग अन्तर्गतको त्रिशूल ग्यास प्रालिले सोही ब्रान्डका १ हजार १५ थान सिलिन्डर नष्ट गरेको थियो।

माली र बुर्किना फासोले अमेरिकी नागरिकमाथि प्रवेश प्रतिबन्ध लगाए

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माली, बुर्किना फासो, नाइजरसहित २० देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएपछि ती दुई पश्चिम अफ्रिकी देशले जवाफमा अमेरिकी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन्। माली र बुर्किना फासोका विदेश मन्त्रालयले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पारस्परिकताको सिद्धान्तका आधारमा अमेरिकी नागरिकमाथि पनि उही प्रतिबन्ध लागू गर्ने घोषणा गरेका हुन्। बेलायती सञ्चारमाध्यम ‘द गार्डियन’ का अनुसार यो कदम दुवै देशमा सैन्य सरकार र अमेरिकाबीच बढ्दो तिक्तताको पृष्ठभूमिमा आएको हो। यी देशहरू हाल सैन्य शासनमा छन् र पश्चिम अफ्रिकी आर्थिक समुदायबाट अलग हुँदै छुट्टै गठबन्धन बनाउँदै छन्। अमेरिकाले प्रतिबन्धको मुख्य कारणका रूपमा ती देशमा सशस्त्र समूहको निरन्तर आक्रमण, सुरक्षा अवस्थाको बिग्रँदो स्थिति र नोभेम्बर २६ मा वासिङ्टन डिसीमा भएको गोलीकाण्डलाई उल्लेख गरेको छ। दुवै देश वर्षौंदेखि विद्रोही समूहसँग संघर्षरत छन् भने सत्ता सम्हालेका सैन्य नेताहरूले सुरक्षा र स्थिरता कायम गर्ने प्रतिबद्धता जनाएका छन्।

स्विट्जरल्यान्डको स्कि रिसोर्टमा नयाँ वर्षको विस्फोट : कम्तीमा १० मृत, १० घाइते

एजेन्सी । स्विट्जरल्यान्डको क्रान्स-मोन्टाना अल्पाइन स्कि रिसोर्टस्थित बारमा नयाँ वर्ष २०२६ मनाइरहेका बेला भएको विस्फोट र आगलागीमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 🚨🇨🇭 BREAKING: EXPLOSION AT CRANS-MONTANA NIGHTCLUB KILLS SEVERALA powerful explosion has ripped through a nightclub in Crans-Montana, Switzerland, killing multiple people and injuring others in the heart of New Year’s celebrations.🔴 Blast struck during crowded festivities… pic.twitter.com/OxxxTelB3L— British Intel (@TheBritishIntel) January 1, 2026 विस्फोट स्थानीय समयअनुसार बिहान १:३० बजे भएको हो । घटनास्थलमा १०० भन्दा बढी मानिस उपस्थित थिए । प्रहरी र आपतकालीन टोलीले उद्धार कार्य गरिरहेका छन् । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । विस्फोटको कारण अनुसन्धान भइरहेको छ भने घटनास्थललाई सिल गरी नो फ्लाई जोन घोषणा गरिएको छ ।

नेपाललाई युक्रेन बनाउन खोजियो : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले वैदेशिक शक्तिहरूले नेपाललाई युक्रेन बनाउन खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को शुभकामना सन्देशमा उनले मुलुक बहुआयामिक संकटमा फसेको र यसबाट मुक्त हुन वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहत्तर एकता आवश्यक रहेको बताएका छन् । खनालले विश्वको शक्ति सन्तुलनमा ठूलो परिवर्तन भइरहेको तथा पश्चिमा वर्चस्वको पुरानो व्यवस्था विघटन हुँदै न्याय र समानतामा आधारित नयाँ विश्व व्यवस्था बन्दै गएको उल्लेख गरेका छन् । देशको वर्तमान अवस्थाबारे उनले कुशासन, भ्रष्टाचार र बेरोजगारीका कारण सामाजिक–आर्थिक संकट गहिरिएको तथा गत भदौ २४ को जेन्जी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र लुटपाटलाई देशी–विदेशी प्रतिक्रियावादीहरूको सुनियोजित विध्वंस भनेका छन् । वर्तमान सरकारले घोषणा गरेको निर्वाचनको स्वागत गर्दै उनले निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि पूर्वाधार तयार नभएको आशंका व्यक्त गरे । निर्वाचनको विकल्प नभए पनि निर्वाचन मात्र पर्याप्त नहुने भन्दै संविधान परिमार्जन, सुशासन, भ्रष्टाचार अन्त्य र युवाका लागि रोजगारी सिर्जनालगायत ठोस योजना आवश्यक रहेको उनको भनाइ छ । १७ वटा वाम समूहहरूको एकताबाट नेपाली कम्युनिस्ट पार्टी गठन भएको जानकारी दिँदै खनालले बाँकी कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाम मोर्चामा आबद्ध हुन आह्वान गरेका छन् ।

बर्दघाटस्थित एक टायल्स उद्योगमा दुई मजदुर मृत फेला

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटस्थित एक टायल्स उद्योगमा दुई मजदुर मृत फेला परेका छन् । मृतकहरूमा नवलपरासी बर्दघाट-१३ का ४० वर्षीय होमबहादुर थापा (नेपाली) र भारत उत्तर प्रदेशका ३० वर्षीय विनोद कुमार (भारतीय) रहेका छन् । बुधबार राति ८ बजेदेखि बिहीबार बिहानसम्म ग्यासी फायरमा ड्युटीमा खटिएका उनीहरू पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा मृत भेटिएका हुन् । मृतकहरूको शरीरमा कुनै घाउचोट नदेखिएको प्रहरीले जनाएको छ । मृतकका आफन्तले घटना शंकास्पद भएको भन्दै उद्योग घेराउ गरी प्रदर्शन गरेका छन् र दोषीमाथि छानबिन तथा कारबाहीको माग राखेका छन् । प्रहरीको ३१ सदस्यीय टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ ।

सुनचाँदीको भाउमा निरन्तर गिरावट : सुन तोलामा १४०० रुपैयाँले घट्यो

काठमाडौं — आइतबार कीर्तिमान कायम गरेको सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ। यस्तै चाँदीको भाउ तोलामा ५५ रुपैयाँले सस्तिएको छ। आज सुन तोलाको २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार सुनको भाउ १ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो। मंगलबार सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेर २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको हकमा बुधबार तोलामा १२० रुपैयाँले घटेर ४ हजार ४७० रुपैयाँ र मंगलबार ३०५ रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो।

खोटाङको हलेसीक्षेत्रबाट चिनियाँ नागरिक पक्राउ

खोटाङ । खोटाङको हलेसी मन्दिर क्षेत्रबाट गैरकानुनी रुपमा बस्दै आएकी चिनिया नागरिक पक्राउ परेकी छन् ।  हलेसी तुवाचुङ नगरपालिका वडानम्बर सात महादेवस्थानको हलेसी मन्दिर क्षेत्रमा गैरकानुनी रुपमा बसोबास गर्दै आएकी जियायो जियायीन नाम बताउने चिनिया महिलालाई प्रहरीले पक्राउ गरेको हो । हलेसीमा गैरकानुनी रुपमा बसोबास गर्दै आएको गोप्य सूचनाको आधारमा चिनिया महिलालाई पुस १५ गते इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक आकाश उप्रेतीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकी महिलालाई अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीका अनुसार चिनिया महिलाले आफू सेन्झेन ग्वाङडोङ प्रदेश नन्याङ रोड जिङसुइ जिल्लाबासी भएको बताएकी छन् । हलेसी क्षेत्रमा उनी कति समयदेखि बसोबास गर्दै आएकी थिइन् र के कारणले त्यहाँ बसेकी थिइन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्रिधार्मिक स्थल हलेसीमा पछिल्लो समय विदेशी नागरिकको आवतजावत बढेको र सुरक्षा व्यवस्था कडा पारिएको जनाईएको छ ।