नयाँ भनिएकाहरू नै जनता तथा मिडियासँग डराउनु चिन्ताको विषय हो: रञ्जित तामाङ
दमक । झापा–५ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले जनप्रतिनिधिहरूले अब जनताको कठघरामा उभिएर सार्वजनिक बहस गर्नुपर्ने बताएका छन्।
सोमबार कमल गाउँपालिकाको भेलामा बोल्दै तामाङले सोही क्षेत्रका अन्य उम्मेदवार केपी शर्मा ओली र बालेन शाहलाई पनि सार्वजनिक बहसमा उत्रन आग्रह गरे। चुनावी तरिका पुरानो रहेको र नयाँ भनिएकाहरू नै जनता तथा मिडियासँग डराउने गरेकोमा उनले चिन्ता व्यक्त गरे।
‘जेनजी आन्दोलनपछि पुराना तथ्यांक मिथ्यांक भइसकेका छन्,’ तामाङले भने।
सोही क्षेत्रका चुनावी कमान्डर सुरेन्द्र बस्नेतले मुलुकलाई संकटमा लैजाने तत्वहरू गलत रहेको बताए।
देशभर विपद्का घटनामा सबैभन्दा बढी आगलागी
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ । विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छ । हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य वृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार देशभर १६ वटा आगलागीका घटना घटेका थिए । असावधानीका कारण परालको कुन्यूमा आगो लागेको, हावाहुरीले आगो उडाउँदा अन्य क्षति भएको तथा आगो ताप्दा असावधानीका कारण आगो फैलन गई घाइते भएका जस्ता विवरण सार्वजनिक भएका छन् । विपद्मा परेर कूल रु २५ लाख ३० हजार बराबरको क्षति भएको जनाइएको छ । त्यसैगरी सात जना घाइते भएका छन् । प्राधिकरणको विवरण अनुसार मोरङमा दुई, सुनसरी, भोजपुर, सप्तरी, सिरहामा एक/एक वटा आगलागीका घटना भएका थिए । सर्लाही, रौतहट, बारा, रामेछाप, मकवानपुर, काठमाडौँ, पाल्पा, प्यूठान, कैलालीमा पनि आगलागीका घटना घटेका थिए । त्यसैगरी बाग्लुङ, रुकुम पूर्व, हुम्ला, बझाङ र बैतडीमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । सप्तरी, कपिलवस्तु र डोटीमा भने जनावरको आक्रमणका घटना घटेका छन् । प्राधिकरणले विपद्बाट जोगिन, सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।
बेइजिङ–अबुधाबी बिचको सिधा हवाई मार्ग सुरु
काठमाडौँ । चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी बिचको सिधा हवाई मार्ग सुरु गरिएको छ । यो चिनियाँ एयरलाइनद्वारा सञ्चालित दुई राजधानीहरू बिचको पहिलो सीधा सम्पर्क हो । एयर चाइनाको बोइङ ७८७ विमानले २७८ यात्रु लिएर गरेको पहिलो उडान शनिबार राति अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । प्रत्येक हप्ता चार ‘राउन्ड ट्रिप’ गर्ने गरी स्थापित यो मार्ग सन् २०२६ मा एयर चाइनाको पहिलो नयाँ अन्तर्राष्ट्रिय सेवा हो। मार्गको सुरुवातले चीन र युएई बिचको उड्डयन नेटवर्कलाई अझ बढाउँछ र यसले दुई देशहरू बिचको मानव आदानप्रदान, आर्थिक र व्यापार सहयोग र सांस्कृतिक अन्तरक्रियाको लागि अधिक कुशल र सुविधाजनक हवाई मार्ग प्रदान गर्दछ। एयर चाइनाका एक अधिकारीले यात्रुलाई सुरक्षित, आरामदायी र सुखद यात्रा अनुभव प्रदान गर्न एयरलाइन्सले पूर्ण तयारी गरेको बताए । विमान कम्पनी स्रोतका अनुसार यो मार्गको सुरुवातले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को रूपरेखा अन्तर्गत दुई देशबिचको व्यावहारिक सहकार्यलाई नयाँ गति दिनेछ।
झापामा आत्मनिर्भर बनाउने पेशा माछापालन
झापा । विदेश जानु नै सफलता हो भन्ने आम बुझाइकाबीच यहाँको हल्दीबारी–४ जलथलका शैलेन्द्र सिटौलाले भने विदेशबाट फर्किएर नेपालकै माटोमा पसिना बगाउँदा आत्मसन्तुष्टि र आर्थिक उन्नति दुवै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । स्नातक तहको अध्ययन सकेपछि सन् २०१५ मा भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेका शैलेन्द्र त्यहाँ एक वर्ष पनि टिकेनन् । मरुभूमिको देशमा सीमित पानी र प्रतिकूल वातावरण हुँदाहुँदै पनि आधुनिक प्रविधिको प्रयोग गरेर कृषि र पशुपालन सफलतापूर्वक गरिएको देखेपछि उनको सोच बदलियो । “यदि मरुभूमिमा खेती सम्भव छ भने हरियाली नेपालमा किन हुँदैन ?” यही प्रश्नले उनलाई स्वदेश फर्काइदियो । विस २०७४ मा नेपाल फर्किएपछि शैलेन्द्रले हल्दीबारीमा दुई बिघा क्षेत्रफलमा माछापालन सुरु गरे । सुरुवातमा करिब १० लाख रुपैयाँ लगानी गरी पोखरी, तटबन्धलगायतका संरचना निर्माण गरे । हाल उनका पाँच वटा पोखरी छन्, जहाँ व्यावसायिक रूपमा माछापालन भइरहेको छ । उनको फार्ममा मुख्यतया पंगास जातका माछा पालिन्छन् । साथै केही मात्रामा कार्प प्रजातिका माछा पनि छन् । साना पोखरी भने माछाको भुरा उत्पादनका लागि छुट्टै राखिएको छ । हाल उहाँको पोखरीमा करिब ३५ हजार भुरा छन् । बजारमा बिक्रीका लागि तयार माछा एक केजीदेखि अढाई केजीसम्मका छन् । वार्षिक रूपमा करिब ३० टन माछा बजारमा पठाउने गरेको शैलेन्द्र बताउँछन् । माछापालनमार्फत उनले तीन जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । “आफूले विदेश जानुपर्ने बाध्यता नपरोस् भन्ने मेरो चाहना हो,” उनी भन्छन्, “यही व्यवसायले अरूलाई पनि रोजगारी दिएको छ, यही नै ठुलो उपलब्धि हो ।” खर्च कटाएर वार्षिक १६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ । कुल लगानीको करिब २० प्रतिशत नाफा लिन सकिएको छ । सुरुवातदेखि नै माछापालन व्यवसाय राम्रो चलिरहेको शैलेन्द्रको अनुभव छ । यद्यपि सफलतासँगै चुनौती पनि कम छैनन् । सबैभन्दा ठुलो समस्या बजार र मूल्य भएको उनी बताउँछन् । उनका अनुसार किसानबाट माछा प्रतिकेजी २४० रुपैयाँमा किनिन्छ, तर त्यही माछा बजारमा ३०० देखि ३५० रुपैयाँसम्ममा बिक्री हुन्छ । “हामी उत्पादन गर्छौं, जोखिम लिन्छौँ, तर मूल्य निर्धारण बिचौलियाले गर्छ,” उनको गुनासो छ । मुख्य बजार विर्तामोडस्थित कृषि थोक बजार भए पनि किसानको पहुँच र प्रभाव सीमित रहेको उनको भनाइ छ । अर्को समस्या भारतबाट अवैध रूपमा भित्रिने माछा हो । शैलेन्द्रका अनुसार भारतबाट कतिपय मरेका माछा फर्मालिन प्रयोग गरेर नेपाली बजारमा भित्रिन्छन्, जसले उपभोक्ताको स्वास्थ्यमा जोखिम त बढाउँछ नै, स्वदेशी किसानलाई मूल्य पनि घटाएर बेच्न बाध्य बनाउँछ । “यदि सरकारले दुई–तीन महिना मात्र भारतबाट आउने माछा कडाइका साथ नियन्त्रण गरिदिने हो भने हामीजस्ता किसानलाई ठुलो राहत मिल्थ्यो,” उनी भन्छन्। शैलेन्द्र आफूलाई कृषक भनेर चिनाउन पाउँदा गर्व गर्छन् । “कृषि पेसा सम्मानित पेसा हो,” उनले भने, “यसले आत्मसन्तुष्टि दिन्छ । मेरो लागि सबैभन्दा ठुलो कमाइ यही हो ।” उनका अनुसार युवा विदेशिनु बाध्यता हो, तर यदि नीति, बजार र संरक्षण सही भए धेरै युवा नेपालमै टिक्नसक्ने शैलेन्द्रको ठम्याइ छ ।
नेकपाकाे राष्ट्रिय सभा संसदीय दलकाे नेतामा बेदुराम भुसाल नियुक्त
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ । त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ । पार्टीले दलको नेता नारायण काजी श्रेष्ठ राजिनामा दिएर निर्वाचन को उम्मेदवार बनेपछी राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरेको हो ।
श्रमिकको लागत खर्च रोजगारदाताले बेहोर्ने गरी साउदी अरबसँग श्रम सम्झौता हुँदै
काठमाडौं । साउदी अरब जाने नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले बेहोर्ने गरी नेपाल सरकार र साउदी अरबबिच श्रम सम्झौता हुने भएको छ । नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र साउदी अरब सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयबिच आगामी सोमबार साउदी अरबमा हुने ग्लोबल कन्फ्रेन्समा सम्झौता हुन लागेको हो । करिब १५ दशकको प्रयासपछि साउदी सरकारसँग हुन लागेको सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी नेतृत्वको टोलीले आइतबार त्यसतर्फ प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेले नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश साउदी अरबसँग लगातारको मेहनतपछि श्रम सम्झौता हुन लाग्नुलाई ठुलो उपलब्धिका रूपमा लिएको जानकारी दिए । सन् २०१० देखि नै साउदी अरबसँग श्रम सम्झौताको प्रयास हुँदै आए पनि सफल भएको थिएन । मन्त्री भण्डारीसँग साउदी अरब जान लागेका प्रवक्ता घिमिरेले साउदी अरब र नेपालबिच हुने श्रम सम्झौतामा नेपाली श्रमिकको अधिकतम हितलाई ध्यानमा राखिने जानकारी दिए । उनका अनुसार श्रम मन्त्रालयले साउदी अरबसँग चरणबद्ध रूपमा वार्ता गरी श्रम सम्झौताको मसौदा तयार गरी स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पठाएको थियो । पुसको पहिलो साता बसेको मन्त्रीपरिषद्को बैठकले मसौदा स्वीकृत गरी सम्झौताको बाटो खुला गरेको थियो । साउदीसँगको यस प्रकारको सम्झौता हुँदा नेपाली श्रमिकले अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त अनुसारका अधिकार प्राप्त गर्ने र रोजगारदाताले लागत खर्च बेहोर्ने गरी ‘इम्प्लोयर पे पोलिसी’ अनुसारको सुविधा प्राप्त गर्ने छन् । यसका लागि मन्त्रालयले विगतमा भएका श्रम समझदारीपत्रको समेत विस्तृत समीक्षा गरिरहेको र श्रमिक पठाउने देश श्रम शोषण तथा मानव अधिकार उल्लङ्घनका विषयमा सरकारले शून्य सहनशीलता नीति अपनाए अनुरूप नै श्रम सम्झौता हुने उनले जानकारी दिए । सन् २०३४ मा हुने फिफा विश्व कप आयोजनाको तयारीका क्रममा साउदी अरबले विगतको श्रम नीतिमा सुधार गरिरहेको छ । ‘मोडर्न डे स्लेभरी’ मानिने कफाला प्रणालीमा सन् २०२१ को मार्चदेखि नै सुधार गरिसकेको छ भने श्रम ऐनमा परिवर्तन गरी आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक तथा सेवासुविधाको सुनिश्चित गरेको छ । साउदी अरबले नेपालसँगको श्रम सम्झौतामा घरेलु श्रमिक समेट्नुपर्ने अडान राख्दै आएको थियो । घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सिपयुक्त श्रमिकको सिप प्रमाणीकरण कार्यक्रमसम्बन्धी श्रम सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को मापदण्ड अनुसार श्रमिकको अधिकार, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, रोजगारदाता परिवर्तन, श्रमिकको न्यायोचित भर्ना गर्ने विषय सम्झौतामा समावेश गरिएका छन् । चर्को लागत शुल्क, दोहोरो करारपत्रको अन्त्य, न्यूनतम तलबको सुनिश्चित र शवलाई छिटो स्वदेश पठाउने विषयलाई पनि सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ । साउदीमा हाल चार लाख नेपाली कार्यरत छन् । सबैभन्दा बढी निर्माण र सेवा क्षेत्रमा कार्यरत छन् । पछिल्लो १० वर्षमा साउदीमा मात्रै १३ लाख ५२ हजार आठ सय जनाले श्रम गरिसकेका छन् । जसमा श्रमिक एक लाख ११ हजार महिला छन् । आर्थिक वर्ष २०८१/८२ मा पुनः श्रम स्वीकृतिसहित एक लाख ५२ हजार जना गएका थिए । श्रम सम्झौता नहुँदा साउदीमा कार्यरत नेपाली श्रमिकले न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षालगायतका विषयमा समस्या भोग्दै आएका छन् । हरेक दिन कम्तीमा २५ श्रमिकलाई न्यूनतम पारिश्रमिक नदिइएको, करारपत्र फेरबदल र स्वदेश फिर्ता गर्न नदिइएकोलगायतका गुनासा र उजुरी लिएर रियादस्थित नेपाली दूतावास जाने गरेका छन् ।
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा रु एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो । बैङ्कको ६१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बैङ्क सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैङ्कले कर्जा प्रवाह गरिरहेको जानकारी दिए । “ हाल पूँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक सङ्केत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ”, उनले भने । बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका बैङ्कले वित्तीय सेवा प्रवाह गर्दै आएको बताए । कर्जा प्रवाह बढाउनु चुनौती भएको स्वीकार गर्दै उनले भने, “बैङ्कको पूँजीको आधार सुदृढ बनाउन रु तीन खर्ब बराबरको ऋणपत्र निष्कासनको तयारीमा रहेको छ । बैङ्कसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा रु एक खर्ब ७१ अर्ब तथा तरलताका आधारमा रु एक खर्ब ३९ अर्बको लगानीयोग्य रकम देखिएतापनि पूँजी पर्याप्ताका आधारमा थप रु १८ अर्ब मात्र कर्जा प्रवाह गर्ने अवस्था छ ।” कार्यक्रममा दिइएको जानकारीअनुसार बैङ्कले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजार भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । चुक्ता पूँजी रु १५ अर्ब ६३ करोड भएको बैङ्कले चालु आवका छ महिनामा कुल निक्षेप रु पाँच खर्ब ५३ अर्ब सङ्कलन तथा रु १९ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ ।
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८१ पैसा र बिक्रीदर १४७ रुपियाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपियाँ ३१ पैसा र बिक्रीदर १७३ रुपियाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपियाँ ५८ पैसा र बिक्रीदर १९९ रुपियाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपियाँ ६१ पैसा र बिक्रीदर १८६ रुपियाँ ३७ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०० रुपियाँ ५५ पैसा र बिक्रीदर १०० रुपियाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ५० पैसा र बिक्रीदर १०६ रुपियाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ७५ पैसा र बिक्रीदर ११५ रुपियाँ २२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ०८ पैसा र बिक्रीदर २१ रुपियाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ १५ पैसा र बिक्रीदर ३९ रुपियाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ २८ पैसा र बिक्रीदर ४० रुपियाँ ४५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ७१ पैसा र बिक्रीदर चार रुपियाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ९७ पैसा र बिक्रीदर ४० रुपियाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ६५ पैसा र बिक्रीदर ३६ रुपियाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ २७ पैसा र बिक्रीदर १६ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ०७ पैसा र बिक्रीदर २३ रुपियाँ १६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८३ पैसा र बिक्रीदर १८ रुपियाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपियाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपियाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपियाँ ३९ पैसा र बिक्रीदर ३९० रुपियाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपियाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपियाँ ९१ पैसा रहेको छ । यस्तै,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
विमानस्थलको आम्दानी सात सय अट्ठाइस रुपियाँ
काठमाडौं । राज्यको करोडौँ रुपियाँ लगानीमा निर्माण भएको विमानस्थलको वार्षिक आम्दानी ७२८ रुपियाँ ! सुन्दा अचम्म लाग्न सक्छ तर ४८ वर्षसम्म कच्ची धावनमार्ग हुँदा सञ्चालनमा रहेको र कालोपत्रे भएपछि ठप्प रहेको खोटाङको लामीडाँडा विमानस्थलले आर्थिक वर्ष २०८१/८२ भरमा गरेको आम्दानी यत्ति नै हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कच्ची अवस्थामै कुनै बेला वार्षिक लाखौँ रकम आम्दानी गरेको लामीडाँडा विमानस्थलले अघिल्लो आव २०८०/८१ मा पनि ४७४ रुपियाँ मात्रै कमाइ गरेको थियो । लामीडाँडा मात्रै होइन, अहिले देशभर कालोपत्रे धावनमार्ग भएका सुविधायुक्त नौ वटा विमानस्थलको अवस्था त्यस्तै छ । कुनै बेला राजनीतिक दलका घोषणापत्रमा पहिलो प्राथमिकता पाएका बागलुङ विमानस्थल, बैतडी, रुकुमको चौरजहारी, डोटी, खोटाङको लामीडाँडा, मनाङ, डोल्पाको मसिनेचौर, रुम्जाटार र कालीकोटको सुनथराली विमानस्थलका धावनमार्ग कालोपत्रे छन् तर विमानस्थलमा जहाज अवतरण नहुने भएपछि विमानस्थलमा राज्यले गरेको आम्दानीको लाभ लिन सकिएको छैन । जहाजको अभाव, सडकमार्गको पहुँच, महँगो भाडालगायतका कारण उडान नहुने भएपछि उक्त विमानस्थलमा जडान भएका उपकरणसमेत अन्यत्र सारिएको छ । प्राधिकरणका अनुसार सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा बढी आम्दानी गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । यो विमानस्थलले पछिल्लो एक वर्षमा १२ अर्ब ९० करोड ६८ लाख ९० हजार ९०१ रुपियाँ आम्दानी गरेको छ । सबैभन्दा बढी कमाउने विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ । यो विमानस्थलले पछिल्लो एक वर्षमा ३६ करोड दुई लाख ३१ हजार ५१५ रुपियाँ आम्दानी गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले २८ करोड ९७ लाख ५३ हजार ९५९ रुपियाँ आम्दानी गरेको छ । यो विमानस्थल काठमाडौँ र पोखरापछि धेरै यात्रु दिने विमानस्थल हो ।विराटनगर विमानस्थलले गत आव २०८१/८२ मा १९ करोड २० लाख, २६ हजार ४७ रुपियाँ आम्दानी गरेको छ । तथ्याङ्क अनुसार सोही अवधिमा नेपालगन्ज विमानस्थलले १४ करोड ६० लाख ७९ हजार ४२३ रुपियाँ, धनगढी विमानस्थलले सात करोड ३४ लाख ५१ हजार ४०६, जनकपुर विमानस्थलले सात करोड १५ लाख ५५ हजार ८७८, सिमरा विमानस्थलको आम्दानी पाँच करोड ३६ लाख ९७ हजार १२८ रुपियाँ आम्दानी भएको छ । त्यसै गरी काठमाडौँपछि पर्यटकले बाक्लो ओहोरदोहोर गर्ने लुक्ला विमानस्थलले छ करोड २१ लाख ९० हजार ७८९ रुपियाँ आम्दानी गरेको छ । प्राधिकरणले आव २०८१/८२ मा देशभर सञ्चालनमा रहेका विमानस्थललगायतका उड्डयन सेवाबाट १४ अर्ब ६९ करोड तीन लाख ३१ हजार रुपियाँ आम्दानी गरेको छ ।
६ महिनाभित्र बाँकेमा ८६ नयाँ कुष्ठरोगी
बाँके । चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका ८६ जनामा कुष्ठरोग पुष्टि भएको छ । साउनदेखि पुससम्मको अवधिमा साइनिङ अस्पताल आइएनएफ नेपालमा उपचार तथा परीक्षणका क्रममा ती नयाँ कुष्ठरोगी पहिचान भएका हुन् । ७३औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर आयोजित अन्तरक्रिया कार्यक्रममा अस्पतालका प्रमुख मङ्गलबहादुर थारुले नेपालका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट उपचारका लागि आएका नागरिकमासमेत कुष्ठरोग देखिएको जानकारी दिए । उनका अनुसार छ महिनाको अवधिमा फेला परेका ८६ जना नयाँ कुष्ठरोगीमध्ये ५७ पुरुष र २९ जना महिला रहेका छन् । तीमध्ये बाँकेका ३६, बर्दियाका १२, जाजरकोट, रुकुम र कैलालीका पाँच–पाँच, अछामका तीन, दैलेखका दुई र दाङ, प्यूठान, रोल्पा र सल्यानका एक–एक जना रहेका प्रमुख थारुले जानकारी दिए । उनका अनुसार १४ जना भारतीय नागरिकमा पनि कुष्ठरोग पुष्टि भएको छ । अस्पतालमा कुष्ठरोगको आशङ्कामा चेकजाँचका लागि आएका ३४२ मध्ये ८६ जनामा रोग पुष्टि भएको हो । स्मियर परीक्षण (सूक्ष्मदर्शक यन्त्रद्वारा गरिने सुरक्षित र छिटो परीक्षण विधि) मार्फत परीक्षण गर्दा ५६ जनामा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । अस्पतालको अन्तरङ्ग सेवाबाट सोही अवधिमा ५८ पुरुष र २३ महिला गरी ८१ जनाले सेवा लिएका छन् । स्वास्थ्य समस्या पहिचान तथा अनुगमनका लागि प्रयोगशालामा १० हजार ७९५ वटा नमूना परीक्षण गरिएको छ भने अपाङ्गता रोकथाम तथा सहयोगका लागि १०३ जोडा विशेष जुत्ता वितरण गरिएको छ । साथै ६९ जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको अस्पतालका प्रमुख थारुले जानकारी दिए । कुष्ठरोग नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि २३ जना सरकारी विद्यालयमा कार्यरत नर्सलाई आधारभूत कुष्ठरोग तालिम दिइएको छ । त्यसैगरी स्वयं सहायता समूहका २९ जना सदस्यलाई कुष्ठरोग, स्वयं हेरचाह तथा बचत–ऋण परिचालनसम्बन्धी तालिम प्रदान गरिएको छ । सङ्घीय सरकारका स्वास्थ्य संस्थासँग आवद्ध १९० जना महिला स्वास्थ्य स्वयंसेविकालाई समेत क्षमता अभिवृद्धि तालिम दिइएको अस्पतालले जनाएको छ । समुदायस्तरमा जनचेतना विस्तार गर्ने उद्देश्यले २२ वटा आमा समूहका करिब छ सय सदस्यलाई अभिमुखीकरण गरिएको छ भने विभिन्न विद्यालयमा सञ्चालन गरिएका कक्षाबाट ९२१ जना विद्यार्थी लाभान्वित भएका छन् । यसैगरी दुई वटा क्याम्पसका ७५ जना विद्यार्थी तथा नरैनापुर गाउँपालिकाका २८ जना जनप्रतिनिधिलाई पनि कुष्ठरोगसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको अस्पतालका प्रमुख थारुले बताए। समुदायमै कुष्ठरोग पहिचानका लागि दुई स्थानमा गरिएको परीक्षणमा ५१० जनामध्ये नौ जनामा नयाँ कुष्ठरोग पुष्टि भएको छ । साथै ४२ जना कुष्ठरोगीको सम्पर्कमा रहेका दुई हजार ४५५ परिवार तथा छिमेकीको परीक्षण गर्दा थप बिरामी पनि पहिचान भएका उनले उल्लेख गरे । हाल साइनिङ अस्पतालमा कुष्ठरोगसम्बन्धी अनुसन्धानात्मक कार्यसमेत भइरहेको छ । बिएनएमटी नेपालको आर्थिक सहयोगमा कुष्ठरोगको किटाणुको आनुवंशिक परीक्षण सञ्चालन भइरहेको जनाउँदै प्रमुख थारुले हालसम्म १३१ वटा अध्ययन नमूना सङ्कलन भइसकेको बताए । कार्यक्रमका सहजीकर्ता तथा अस्पतालका प्रशासन अधिकृत नरेन्द्र साउदले समुदायमा कुष्ठरोगबारे चेतना बढाउन, विद्यमान चुनौतीलाई सामना गर्न र कुष्ठरोगमुक्त नेपाल निर्माणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले अन्तरक्रिया आयोजना गरिएको बताए । गत आर्थिक वर्षमा साइनिङ अस्पतालमा विभिन्न जिल्लाबाट आएका १७४ नयाँ कुष्ठरोगी फेला परेका थिए । तीमध्ये ९३ जना बाँके जिल्लाका थिए । गत आवको सोही छ महिनामा ५८ जना नयाँ बिरामी भेटिएकामा यसवर्ष सोही अवधिमा उक्त सङ्ख्या बढेर ८६ पुगेको छ । चौबिस शय्या क्षमताको यस अस्पतालमा हाल १४ जना बिरामी भर्ना भएर उपचाररत छन् ।
डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने
काठमाडौँ । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल तीन सय २८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको छ । डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुने गरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ । जलायशुक्त प्रकृतिको सो आयोजानाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित आवश्यक विवरण वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ । विवरणअनुसार भारबुङ नदीमा निर्माण हुने तीन सय २५ मेगावाट क्षमता र तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी थप तीन दशमलव १० मेगावाट क्षमताका दुई वटा प्रणालीमार्फत विद्युत् उत्पादन गरिनेछ । डोल्पाको छार्का ताङसोङ गाउँपालिका–४ र ५ तथा काईके गाउँपालिका–१ का भूभाग प्रभावित हुनेछन् । विवरणअनुसार छार्का ताङसोङ गाउँपालिका–४ मा एक सय ६९ मिटर अग्लो बाँध, सात सय ६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक र १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण हुनेछ । सोही गाउँपालिकाको ४ र काईके गाउँपालिका–१ मा भूमिगत विद्युत् गृह र पानी निकास नहर निर्माण गरिनेछ । आयोजनाको जलाशयले छार्का ताङसोङ गाउँपालिका–५ का केही भूभाग डुबानमा पर्नेछ । आयोजनाको दुवै प्रणालीबाट वार्षिक नौ सय ३३।१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट १२ किलोमिटर टाढा रहेको छ । आयोजनाबाट उत्पादित बिजुली प्रस्तावित दुनै सबस्टेशनमा जोडिनेछ । सो आयोजनाको कुल लागत रु एक खर्ब तीन अर्ब ३१ करोड नौ लाख ३१ हजारबराबर रहनेछ । प्रतिमेगावाट लागत रु २८ करोड ५० लाख ९३ हजार ९८० बराबर रहेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । भm्यामोलोङ्गा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले आवश्यक सुझाव दिन आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचनामार्फत सो आयोजनका कारण पर्ने वातावरणीय प्रभावका बारेमा आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको छ । सो आयोजनाको हेडरेस सुरुङको लम्बाइ घटेको, पेनस्टक पाइपको लम्बाइ बढेको तथा विद्युत् गृह क्षेत्र स्थानान्तरण भएकाले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको हो । आयोजना अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्नेछ । अन्नपूर्ण संरक्षण क्षेत्रको ९.६५ हेक्टर वन क्षेत्र र निजी स्वामित्वको ०.९५ हेक्टर, स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार स्वीकृत गरिएको थियो । सो स्वीकृत प्रतिवेदनमा केही जमिन थप गर्नुपर्ने भएकाले मन्त्रालयले आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको हो ।
गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो
गोरखा । जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखाका अनुसार जिल्लामा यो वर्ष तीन हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । जसबापत किसानले करिब रु २२ करोड आम्दानी गरेको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले बताइन् । किसानले रु एक करोड ५० लाख बराबरको कागतीसमेत बिक्री गरेको उनले जानकारी दिइन् । उनका अनुसार यो वर्ष गोरखामा १५ देखि २० प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ । उत्पादन बढेसँगै किसान उत्साहित बनेका रेग्मीको भनाइ छ । “यस वर्ष मौसम अनुकूल भएकाले पनि उत्पादन बढेको हो, विगतका वर्षहरूमा रोपेको सुन्तलाले यस वर्षबाट उत्पादन दिन थालेकाले पनि उत्पादनमा वृद्धि आएको हो”, उनले भनिन् । गत वर्ष जिल्लाभर जम्मा १९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा एक हजार ६०० मेट्रिक टन र २०७९/८० मा एक हजार ८०० मेट्रिक टन सुन्तला उत्पादन भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखले जनाएको छ । कृषि ज्ञान केन्द्रले पनि यो वर्ष जिल्लामा सुन्तलाको उत्पादन बढेको बताएको छ । कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार यो वर्ष जिल्लाभर १५ प्रतिशतले सुन्तलाको उत्पादन बढेको हो । कार्यालयले आम्दानीको विवरण भने नराखेको उनले जानकारी दिए । “मौसमको अनुकूलता र किसानको मेहनतका कारण यो वर्ष उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रले पनि आफ्नो ठाउँबाट प्राविधिक सहयोग गर्दै आएको छ”, उनले भनिन् । जिल्लाको सुन्तला जात फलफूलखेतीलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले सघाउँदै आएको छ । कार्यालयले जिल्लामा सुन्तला जोन कार्यक्रम लागू गरेर सुन्तलाखेती प्रवर्द्धन गर्दै आएको हो । गण्डकी, सहिदलखन, भीमसेनथापा गाउँपालिका र गोरखा नगरपालिकाका सबै वडा, पालुङटार नगरपालिकाका वडा नं ९ र १० तथा सिरानचोक गाउँपालिकाको वडा नं २, ४ र ५ लाई समेटेर सुन्तला जात फलफूल जोन घोषणा गरी कार्यान्वयन गरिरहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखाकी प्रमुख पूर्ण ढुङ्गाना बताउँछिन् । ढुङ्गानाका अनुसार जिल्लामा सुन्तलाको उत्पादन बढाउन बगैँचा व्यवस्थापन तथा चक्लाबन्दी, क्षेत्र विस्तार, साना सिँचाइ पूर्वाधार निर्माण, उन्नत प्रविधिसहितको प्रदर्शनी, साना मेसिनरी वितरणलगायत कार्यक्रम सञ्चालन गरिएको छ । सुन्तला जोनबाहेकका क्षेत्रमा करिब १० प्रतिशत सुन्तला उत्पादन हुने गरेको एकाइको भनाइ छ । सुन्तला जिल्लाको गण्डकी, भीमसेनथापा र सहिदलखन, सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका तथा उत्तरी गोरखाको धार्चेस्थित कासीगाउँमा फल्ने गर्छ । गण्डकीको ताङ्लीचोक, भुम्लिचोक, फलाटे, फुजेल र सहिदलखनको मनकामना, ताक्लुङ, मास्केछाप, तीनमाने, अँधेरीलाई सुन्तालको पकेट क्षेत्र मानिन्छ । त्यस्तै, भीमसेनथापाको तान्द्राङ, पालुङटारको बागडाँडा, शेरा र गोरखा नगरपालिकाको ताप्ले, नारेश्वर, फिनाम र भट्टबेँसीलाई पनि सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । जिल्लाको करिब एक हजार ९७ हेक्टर क्षेत्रमा सुन्तलाखेती हुँदै आएको छ भने करिब तीन सय किसान सुन्तलाखेतीमा आबद्ध छन् । जिल्लाका किसानले खाकु र स्थानीय जातको सुन्तला लगाउँदै आएका छन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण वेतना सिमसार पर्यटकको रोजाइमा
मोरङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ । हिउँदका महिनामा प्रायः दैनिक पाँच सयको हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, साथै हरिणलगायत जीवजन्तुुले लोभ्याउने गरेको छ । सुुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पुर्वतर्फ गएपछि हरियो वनले ढपक्कै ढाक्छ, त्यससँगै केही मिटर पर पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा वेतना सिमसार रहेको छ । दुई प्रजातिका वेत वनस्पतिको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भट्टराईले बताए । यहाँ विशेषगरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्यसँगै चरा, माछा र कछुुवा भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको उनको भनाइ छ । राजमार्गसँगै जोडिएकाले जाडोयाममा वनभोज खान आउनेको दैनिक घुइँचो नै हुने गरेको समितिका सहसचिव राजन प्रसाईँ बताउँछन् । उनका अनुसार सिमसार घुम्न आउने पर्यटकका लागि पाइडल डुङ्गाको पनि व्यवस्था गरिएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको सहयोगमा रु २० लाखको लागतमा पानीको फोहोरा पनि निर्माण सुरु गरिएको उनले बताए । करिब ६५ बिघा क्षेत्रफल ओगटेको यस सिमसारमा साइबेरियाबाट आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा पाइन्छन् । साथै अतिसङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा फेलापरेको अध्यक्ष शम्भु भट्टराईले जानकारी दिए । यहाँ पाइने वनस्पति, पशुपन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उनको भनाइ छ । उनका अनुसार विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस क्षेत्रमा पाइन्छन् । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार वेतना सिमसारलाई पूर्वी नेपालको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताए । पछिल्लो समय यस सिमसार क्षेत्रमा विभिन्न जीवविज्ञहरू जीव अनुुसन्धानका क्रममा समेत यहाँ आउने गरेको अध्यक्ष भट्टराई बताउँछन् । “यहाँका जीवजन्तुुको संरक्षण हाम्रो मुुख्य दायित्व भएकाले संरक्षणमा जोड दिएका छौँ”, उनले भने ।
आज राष्ट्रियसभा सदस्य निर्वाचन: १८ पदका लागि सातै प्रदेशमा मतदान हुँदै
काठमाडौँ । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म मतदान हुने भएकाे छ । मतदानका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो । त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको प्रवक्ता भट्टराईले जानकारी दिए । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागिरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । पूर्वी तथा मध्य तराई भूभागका थोरै स्थानहरूमा बिहानीपख हुस्सु रहनेछ । राति सुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
स्वच्छ र निष्पक्ष निर्वाचन भएमा आगामी निर्वाचनमा हाम्रो पार्टी पहिलो शक्ति बन्छ: संयोजक प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई निष्पक्ष र स्वच्छ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ। काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले देशलाई संकटबाट मुक्त गर्न निष्पक्ष निर्वाचनमार्फत आफ्नो पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो। “निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा हाम्रो पार्टी पहिलो शक्ति बन्न सक्छ,” उहाँले भन्नुभयो, “अब पार्टीलाई बलियो बनाएर राष्ट्र र जनहित सुनिश्चित गरौं। जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्छ।” उहाँले पछिल्लो समय एमाले लगायत विभिन्न वामपन्थी दलका नेताहरू नेकपामा प्रवेश गर्ने क्रम तीव्र भएको उल्लेख गर्दै चुनावी अवाञ्छित गतिविधि रोकिए आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गर्नुभयो।

