श्रमसम्बन्धी विवाद स्थानीय तहबाटै समाधान हुनु महत्त्वपूर्ण राजनीतिक उपलब्धि : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवादहरू स्थानीय तहमा नै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले केन्द्र तथा प्रदेशहरूमा श्रम सल्लाहकार परिषद् गठन हुनु, स्थानीय श्रम सम्बन्धी विवादहरू स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा त्रिपक्षीय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनाहरूमा निकै कम भएको बताए । 

उनले नेपालमा पनि सामाजिक संवादमार्फत श्रमसम्बन्धी समस्याको समाधान गर्ने विषयले थप महत्त्व पाउँदै गएको बताए ।'नेपालको श्रमसम्बन्धी जुन रूपमा विकास भइरहेको छ, त्यसलाई अन्य मुलुकले पनि निकै अभिरुचीका साथ हेर्ने गरेको विभिन्न अन्तर्राष्ट्रिय गोष्ठीमा देख्न सकिन्छ । यो हाम्रा लागि सुखद् अवसर पनि हो । सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रूपमा लिने गरेका छन् । हामीले सुरु गरेका असल अभ्यास र सहकार्यको निरन्तरता र साझा हितका लागि काम गर्ने संस्कृतिको विकास गर्न हामी सबैको प्रतिबद्धताको लागि म आग्रह गर्दछु,' उनले भने ।

अध्यक्ष ढकालले आगामी दिनमा आउने समस्या समाधानका लागि रोजगारदाता र श्रमिक मिलेर जानुको विकल्प नरहेको जिकिर गरे ।

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद  : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताएका छन् । आज बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। भेटमा प्रधानमन्त्रीले भने, “राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्त्वपूर्ण छ । नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो । त्यसका निम्ति पर्यटन पूर्वाधारमा राज्यले जोड दिनुपर्दछ । तपाईँहरू निजी क्षेत्र आफैँले यसका निम्ति पहल लिनुभएकामा म खुसी छु । रारामा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।” प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने बताए । उनले भने, “रिसोर्ट निर्माणका निम्ति राज्यले समेत पूर्वाधार विकासमा भूमिका खेल्नेछ । मुख्यतः त्यहाँ पुग्ने सडक निर्माण, विद्युत् प्रसारण, खानेपानीलगायत क्षेत्रमा सरकारका तर्फबाट सहयोग हुनेछ । यो लगानीले नेपालमा पर्यटक भित्र्याउनमात्र सहयोग पुग्ने छैन, आन्तरिक राजश्वसमेत अभिवृद्धि हुनेछ ।” भेटमा रारा होल्डिङ प्रालिका अभिषेकविक्रम शाह र एक्पर्ट ग्रुप अष्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौताबमोजिम निर्धारित समयमा नै काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे। सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रु एक अर्ब १० करोडको लागतमा रारा ताल समीप सुविधासम्पन्न रिसोर्ट निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । रासस

रोशी गाउँपालिकामा आगलागी, पन्ध्र घर नष्ट

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् । आगलागीबाट १५ घर, १० गोठ र आठवटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो । नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो । वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन् । रासस 

बाल पोषण भत्ता सबै जिल्लामा पुर्याउन पहल भइरहेको छ : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पाँच वर्ष मुनिका बालबालिकालाई सरकाले दिँदै आएको बाल पोषण भत्ता ७७ वटै जिल्लामा पु¥याउन पहल भइरहेको बताएकी छन् । सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र इन्स्पायर नेपालको आयोजनामा “नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान विषयक नीतिगत बहस” कार्यक्रमलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री चौधरीले हाल २५ जिल्लामा रहेको पोषण भत्ता कार्यक्रम सबै जिल्लामा पुर्याउन पहल भइरहेको जानकारी दिइन् । उनले हाल प्रति महिना रु ५ सय ३२ रुपैंयाका दरले प्रदान गरिँदै आएको भत्ता रकम बढाउने सन्दर्भमा पनि सरकार गम्भीर रहेको बताइन् ।   प्रतिनिधि सभा अन्तरगतको महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहले समृद्ध नेपाल सुखी नेपालीको आधार स्तभ निर्माण गर्न बालबालिकामा लगानी गर्न आवश्यक रहेको बताए । स्वास्थ्य, शिक्षा तथा प्रविधि समितिका सभापति अम्बर बहादुर थापाले शिक्षा र स्वास्थ्य सबै बालबालिकाको पहुँचमा पु¥याउन बालबालिकमा लगानी आवश्यक रहेकोमा जोड दिँदै यो विषय सदमा उठाउने प्रतिबद्धता व्यक्त गरे । नेकपा एमाले संसदीय दलका सचेतक सुनिता बरालले बालबालिकाका क्षेत्रमा गरिएको लगानी छरिएर रहेकोले यसलाई एकीकृत गरेर लैजानुपर्नेमा जोड दिइन् । बाल अधिकारका लागि संसदीय समूहका संयोजक तथा संघीय सांसद रञ्जुकुमारी झाले आवश्यकता पहिचानका आधारमा सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गर्नुपर्ने र बालबालिकाका निम्ति बढी प्राथमिकता दिनु पर्ने बताइन । संघीय सांसद दयाल बहादुर शाहीले नेपाल सामाजिक सुरक्षा भत्ताको कार्यक्रम निकै पछिल्लो पुस्ताबाट मात्र प्रदान गर्न थालिएको भएपनि यसको प्रभावकारिता उच्च रहेको हुँदा बालबालिकालाई सामाजिक सुरक्षाका दायरामा ल्याउने विषयलाई प्राथमिकताका साथ उठान गर्नु पर्ने बताए ।      राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयालले बजेटको १५ प्रतिशत भन्दा बढी रकम सामाजिक सुरक्षामा खर्च हुने गरेको जानकारी दिँदै उक्त रकमलाई विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकमा केन्द्रित गरिनु पर्ने बताए । आयोगका कार्यक्रम निर्देशक लोकनाथ भुषालले एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचनाको कार्यान्वयनमा नागरिक समाज र ट्रेड युनियन भूमिकाको बारेमा प्रस्तुतीकरण गरेका थिए । यस्तै सामाजिक सुरक्षा विषय विज्ञ बसन्तराज गौतमले बालबालिकामा लगानीको आवश्यकता, हालको अवस्था र भावि रणनीतिका विषयमा पस्तुती गरेका थिए ।    कार्यक्रममा नेपाल ट्रेड युनियन कंग्रेसका उप–महासचिव कुलबहादुर खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उप–सचिव रोशनी कार्की, नागरिक समाजको तर्फबाट बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानकी अध्यक्ष मिना शर्मा, गैर सरकारी संस्था महासंघका सचिव भवराज रेग्मी, सेभ द चिल्ड्रेनका गोपाल नेपाली, वल्र्ड भिजनका श्याम अधिकारी, होम नेट तथा इन्स्पायर नेपालका ओम थपलिया लगायतले बालबालिकामा लगानी बढाउनु पर्ने आवश्यकताबारे प्रकाश पारेका थिए । राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष, बम बहादुर बानियाँ, सामाजिक सुरक्षा कोषका निर्देशक कविराज अधिकारी, नेपाल सरकारका विभिन्न निकायका राष्ट्र सेवक कर्मचारीहरू, यूनिसेफका उषा मिश्र, नागरिक संघसङ्गठनका सरोकारवालाहरू, विकास साझेदार संस्थाका प्रतिनिधिहरु, ट्रेड युनियनका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुलगायत सय भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सरोकारवालाहरूले बालबालिका तथा राष्ट्रिय कूल ग्राहस्थ उत्पानमा निकै ठूलो योगदान पु¥याउने अनौपचारिक क्षेत्रमा पेशागत अभिभावकका बालबालिकाका विषयमा राज्यले यथोचित सम्बोधन गर्नुपर्ने तथा उनीहरुलाई सामाजिक सुरक्षाको दायराभित्र समेटी दिगो विकासका निम्ति पहल गर्नुपर्ने बताएका थिए । यसैगरी  बाल बजेट कोडको व्यवस्था गर्नुपर्ने, अटिजम भएका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका, अपाङ्गता भएका बालबालिकाको सन्दर्भ तथा बालमैत्री स्थानीय शासन, पोषणमैत्री स्थानीय शासन, बालबालिका राष्ट्रिय गौरव हुन्, बालबालिका र विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान लगायतका विषयमा जोड दिँदै बालबालिकामा लगानी बढाउन, विद्यालय खाजा कार्यक्रम मा।वि। तहसम्म विस्तार गरी पोषणयुक्त खाजा वितरणको गुणस्तर बढाउनका निम्ति प्रदान गरिदै आएको रकममा वृद्धि गर्न, एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचनाको कार्यान्वयन गर्दै अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षाको दायराभित्र ल्याउनुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रम सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत युनिसेफ नेपालको सहयोग, सेभ द चिल्ड्रेनको बाल संवेदनशील सामाजिक सुरक्षा परियोजना र उइ सोसल मुभमेन्ट (We Social Movement), नेपालमा सामाजिक सुरक्षा र मर्यादित काम परियोजनाको सहयोगमा भएको थियो । सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलका अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डोल्मा तामाङले स्वागत र कार्यक्रम संयोजक राजेन्द्र चौलागाईले सञ्चालन गरेका थिए । सरकारले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम र बजेट निर्माणको अन्तिम तयारी गरिरहेको सन्दर्भमा, सामाजिक सुरक्षाका समग्र विषयहरू, एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचनाको कार्यान्वयन र विशेषत बालबालिकाका सवाल सम्बोधनका लागि आवश्यक नीति, कार्यक्रम र बजेटको सुनिश्चितताको लागि यस नीतिगत बहसको आयोजना गरिएको थियो ।  

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख १९ गते बुधबार सन् २०२४ मे १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १० पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।  कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कासी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हावाहुरीको सम्भावना छ । 

अर्थतन्त्रमा सकारात्मक प्रभाव: बढ्यो नेपालीको प्रतिव्यक्ति आय

काठमाडौँ । नेपालीको प्रतिव्यक्ति औसत आय बढेको छ ।चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ । गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो ।पर्यटन आवागमनमा देखिएको सकारात्मक प्रभाव लगायतका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो ।

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

  काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेटेका हुन् । भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)को २१औं बैठकबारे छलफल भएको छ । उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौंमा हुँदै छ ।  बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा सहभागी हुनेछन् । बैठकपछि उच्च अधिकारीहरुले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने जानकारी उपाध्यक्ष मार्टिनले दिए । मन्त्री पुनले स्थलगत अध्ययनको व्यवस्था मिलाइने बताए ।  आईडीएको २१औं बैठक आगामी असारमा काठमाडौँमा हुँदै छ । मन्त्री पुनले आईडीए बैठकको राम्रो तयारी भइरहेको जानकारी दिए ।  बैठक तयारीका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको र ती दुवै समितिले तयारीका काम अघि बढाएको जानकारी मन्त्री पुनले दिए ।  यस्तै बैठक तयारीबारे काठमाडौंस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ छ । विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगासहित विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुनेछन् । आईडीए विश्व बैंकको सहुलितपूर्ण ऋण प्रवाह गर्ने निकाय हो ।  नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने आईडीए बैठकको प्रमुख एजेण्डा छ । आईडीएको २१औं बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकामा विश्व बैंक समूहले नेपाल रोजेको हो । विश्व बैंक समूहको यो स्तरको बैठक नेपालमा यसअघि भएको थिएन । हरेक तीन वर्षमा हुने आईडीएको २०औं बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो ।

नेप्से २५.९३ अंकले बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । नेप्से १.३० प्रतिशतले बढेर २००६.२८ को विन्दुमा पुगेको छ । यस दिन ३२० धितोपत्रका एक करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर चार अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा किनबेच भयो । १३ उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढेको छ । फाइनान्स उपसमूहको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । विकास बैंक उपसमूहको समूहगत सूचक सबैभन्दा धेरै ४.९० प्रतिशतले बढेको छ । फाइनान्स उपसमूहको समूहगत सूचक १.१८ प्रतिशतले घटेको छ । कर्पोरेट विकास बैंक लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.१८ प्रतिशतले घटेको छ ।

जित्न सकिएन, सिक्न सकियो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीले जित्न नसके पनि सिकिएको बताएका छन्।  उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभियक्ति दिन आग्रह गरेका छन्। “जित्न सकिएन, सिक्न सकियो ।त्यसैले कुनै इफ बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ,” उनले सामाजिक सञ्जालमा भनेका छन् ।  इलाम–२ को उपनिर्वाचनमा रास्वपाका उमेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्रै ल्याएका थिए। उनले निर्वाचित भएका नेकपा ९एमाले० का सुहाङ नेम्वाङलाई बधाई पनि दिएका छन्।

मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पछुताउनुपर्ने छैन : सुहाङ

काठमाडौँ । इलाम २ मा भएको उपनिर्वाचनमा विजय भएपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदातालाई आभार प्रकट गरेका छन् । साथै उनले आफूलाई मत दिएबापत कहिल्यै पछुताउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।  साथै उनले चुनाव प्रचारप्रसारमा अट्ने नेता कार्यकर्ताप्रति पनि ऋणी भएको बताएका छन्।उनले भनेका छन्–‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैँची स्याहार्ने’ अनेकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु।' हेर्नुहोस् सुहाङको आभार तथा धन्यवाद हार्दिक आभार तथा धन्यवाद  अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु  इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्यधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । हजुरहरुको मनमा रहेको हामीप्रतिको अगाध माया, गहिरो विश्वास र भरोसालाई मतमा परिणत गरेर आफ्नो प्रतिनिधिको रूपमा मलाई छनोट गर्नुभएको छ ।   हाम्रा अग्रजहरूले गर्नुभएको कष्टसाध्य सङ्घर्ष, बलिदान र असाधारण त्यागको जगमा आज हामी उभिएका छौँ । इलामको माटोमा जन्मिएर पञ्चायती व्यवस्थाविरुद्ध देशभरी क्रान्तिको उज्यालो फैलाउने आदरणीय शहीदहरु रत्नकुमार वान्तवा, बमप्रसाद वान्तवाप्रति हार्दिक श्रद्धा–सुमन व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्वकर्ता इलामेली जनताका प्रिय नेता मेरो बुवा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा–सुमन व्यक्त गर्दछु ।  सर्वप्रथम उहाँले देखाउनुभएको निष्ठाको बाटो र दिएर जानुभएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम ः  सुखी इलामेली’ हाम्रो साझा सपना र सङ्कल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । इलामको माटोको कसम खाएर म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’ तपाईँ हामीलाई थाहा छ, परिवर्तनको आन्दोलनमा इलामेली अग्रजहरूले गौरवमय इतिहास निर्माण गर्नुभएको छ । उहाँहरूको नाम लिदा सबैको शिर श्रद्धाले झुक्छ । हाम्रो छाती गर्वले चौडा हुन्छ । यही गरिमा र गौरवलाई पछ्याएर हामीले समृद्धिको महाअभियानमा उज्यालो इतिहास निर्माण गर्नु छ । मैले अभियानको दौरानमा हजुरहरुसँग भनेको थिएँ, ‘वैशाख १५ गते इलामको समृद्धिको नयाँ अध्याय आरम्भ गर्ने दिन हो । मलाई एकपटक विश्वास जित्ने मौका दिनुहोस् ।’ हो, त्यो मौका दिनुभएको छ । अब समृद्धिको नयाँ अध्याय सुरु भएको छ ।  ‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैँची स्याहार्ने’ अनकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु । घर–दैलोको क्रममा वृद्ध आमाबुवाहरूले दिनुभएको आशीर्वादलाई शिरमा सजाएको छु । कलिला नानी बोकेर घर–दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, भविष्यप्रतिको उज्यालो आशासहित अहोरात्र निर्वाचनमा खट्नुभएका इलामेली नौजवान साथीहरुको समर्पण र साथ अवर्णनीय छ । ‘अल द बेस्ट सुहाङ दादा’ भन्दै मसँग झुम्मिने कलिला नानीहरूका आँखामा प्रतिविम्बित निश्छल माया मनभरी सजाएको छु । समयको सीमाले कति ठाउँमा पुग्न सकिनँ । अभियानको क्रममा भेट्न नसके पनि आँखा रसाउनेगरी पठाउनु भएको भिडियो शुभकामना र सन्देशहरुले भावुक र अवाक बनाएको छ । सबैलाई एकमुष्ट धन्यवाद भन्छु । ती सबै भिडियो सन्देश, शुभकामनाहरू मसँग सुरक्षित छन् । तपाईँहरूसँग सकेसम्म छिट्टै भेट्ने बाचा पनि गर्दछु ।  मेरो हात समाएर ‘बाबु, अब युवाहरु तयार हुनुपर्छ । अब तिमी इलामेली जनताको सेवाको लागि तयार हुनुपर्छ’ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टी नेकपा ९एमाले०का श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु ।  नेकपा ९एमाले० इलाम जिल्ला कमिटीका आदरणीय नेतृत्वगण, इलामका सबै आदरणीय नेता कमरेडहरूप्रति आभारी छु। इलामबाट राष्ट्रिय सन्देश प्रवाह गर्ने गहिरो सङ्कल्पका साथ अहोरात्र खट्नुहुने नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी, नेपाल परिवार दलका आदरणीय नेता तथा कार्यकर्ताहरूप्रति आभार व्यक्त गर्दछु ।  म उम्मेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्वर समय पार्टीको विकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका इलामका आदरणीय नेताहरूको भावनालाई शिरमा राखेको छु । उहाँहरूको कष्टसाध्य सङ्घर्ष, अभूतपूर्व त्याग र असाधारण योगदानप्रति सधैँ नतमस्तक छु । उहाँहरूप्रति असाध्यै ऋणी छु ।  हाम्रो सपना र सङ्कल्पलाई जनताका बिचमा प्रवाह गरिदिनुहुने सबै सञ्चारकर्मीहरू, निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । गएको एक महिनायता सफलताको सङ्कल्प बोकेर निर्वाचनमा खटिने पार्टी कमरेडहरू, मत दिनकै लागि प्रवास, काठमाडौँदेखि समेत आइपुग्नुभएका प्रियजनहरूप्रति कृतज्ञ छु ।  स–शरीर इलाम उपस्थित हुन नसके पनि प्रवास र देशभरिबाट विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नुहुने एवं प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।  अन्तमा, फेरि पनि भन्छु, ‘हाम्रा अग्रजहरूले परिवर्तनको आन्दोलनमा गौरवमय इतिहास निर्माण गर्नुभएको छ । त्यही गरिमा र गौरवलाई बचाइराख्दै अब समृद्धिको अभियान सुरु गर्नेछौँ ।’  हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङ मिलेर बनेको छ । सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ हाम्रो देश त सयौँ जातजाति, भासाभासी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ । हाम्रो राष्ट्र गानले भने जस्तै यो सयौँ थुङ्गा फूलहरू मिलेर बनेको माला जस्तै छ । यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो । विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति, अजस्र शक्ति र सामर्थ्य हो । इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भएको मैले पाएको छु । हाम्रो सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारी हाम्रो हो ।  इमान र निष्ठाको साथ मन, वचन र कर्मले लाग्ने वाचाको साथ फेरि पनि सबैप्रति आभार र धन्यवाद १  १८ वैशाख २०८१ इलाम  उही तपाईँहरूको स्नेही सुहाङ नेम्वाङ

शैक्षिक भ्रमणमा गएको लिबर्टी कलेजका विद्यार्थी सवार बस दुर्घटना

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४, कागबेनीमा पर्ने मुक्तिनाथ सडकखण्डको सेल्फिडाँडामुनि घुम्तीमा बस सडकमा पल्टिँदा २१ जना यात्रु घाइते भएका छन् । काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थी सवार बस दुर्घटनामा परेको हो ।  

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका टीका थापा मन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ।मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्।  आजै १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ। वैशाख ६ गते मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए। सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई नियुक्त गरेका थिए। आज बिहान मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ।

कर्णाली सरकारले आजै पूर्णता पाउँछ  मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन्। मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका उनले सत्ता साझेदार दलहरुसँगको समन्वयमा मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिन थालेका हुन् । उनले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका थिए। मंगलबार नेकपा (एमाले)को भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरिने मुख्यमन्त्री कँडेलले बताए । माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त हुने जनाइएको छ । नियुक्त हुने मन्त्रीहरूको नाम मुख्यमन्त्री कँडेललाई दिइसकिएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले जानकारी दिए । दुवै दलबाट को–को मन्त्री हुने भन्नेबारे भने खुलाइएको छैन । मन्त्रीहरु नियुक्त गरेर पद तथा गोपनीयताको शपथ मंगलबार नै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ। मुख्यमन्त्री कँडेलले गत चैत २७ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए । रासस 

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो । बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले प्रदेश सभामा २१ गते विश्वासको मत लिने समझदारी भएको जानकारी दिए । उनकाअनुसार नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमति पनि भएको छ । सहमतिअनुसार नाउपाकाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ । नाउपा प्रदेश सभा सदस्य टीका थापालाई मंगलबार नै मन्त्रीमा नियुक्त गरेर सपथ लिनेछन् । बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी सहभागी थिए । एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका सोडारीले अरु मन्त्रालय आफैंसँग राखेका छन् । एमाले र माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी हुन सोडारीले आग्रह गरेका छन् । तर, उनीहरु दुवै दलले विश्वासको मत पछि मात्र सरकारमा सहभागी हुने जनाएका छन् ।

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा उपप्रधानमन्त्री यादव र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच आज भेटवार्ता भएको उनको सचिवालयले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घको बडापत्र एवं सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै देशको सामाजिक–आर्थिक विकासमा राष्ट्रसङ्घले गरेको योगदानको सराहना गरेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ। भेटवार्ताका क्रममा मन्त्री यादवले जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिए। नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, प्रजनन दर र मातृ मृत्युदर घटाउनेलगायत जनस्वास्थ्यका क्षेत्रमा प्रगति गरेको जानकारी दिँदै भूवरिवेष्टित एवं अतिकमविकसित राष्ट्र नेपाललाई विकासका निम्ति बाह्य सहायता आवश्यक भएको उपप्रधानमन्त्री यादवले बताए। महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहयोग प्रगाढ रहेकामा प्रशन्नता व्यक्त गर्दै हालैको आफ्नो नेपाल भ्रमणको स्मरण गरेका थिए । उनले मानवअधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गरे। महासचिव गुटेरेसले शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घअन्तर्गत शान्ति सेना परिचालन गर्ने मुलुकहरूमा नेपाल अग्रस्थानमा रहेको बताउँदै नेपाली शान्ति सेनाले निर्वाह गरेको भूमिकाको सराहना गरे। साथै उनले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिको पनि प्रशंसा गरे । स्वास्थ्य क्षेत्रका निम्ति राष्ट्रसङ्घीय निकायहरूमार्फत थप सहयोग प्रदान गर्ने उनको प्रतिबद्धता छ। उक्त नियोगका अनुसार महासचिव गुटेरेसले नेपालले जलवायु परिवर्तनका असर भोग्नुपरेकाले त्यसलाई सम्बोधन गर्न सम्बद्ध पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिँदै नेपालले सहायता पाउनु उसको अधिकार रहेको बताए। हरित ग्यास उत्सर्जनमा नगण्य गोयदान गरेको नेपाललाई ‘जलवायु न्याय’का आधारमा न्यूनीकरण तथा अनुकूलन सहायता प्रदान गर्नुपर्नेमा उनले जोड दिए। त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।