फुलबारी साँस्कृतिक कार्यक्रम–२०२४ सम्पन्न

दोहा, कतार । फुलबारी रेष्टुरेन्टले आयोजना गरेको फुलबारी साँस्कृतिक कार्यक्रम–२०२४ भब्य रुपमा सम्पन्न भएको छ । मानव सेवा आश्रमको सहयोगार्थ “फुलबारी रेष्टुरेन्टको चाहना, नेपाली कला र संस्कृतिको जगेर्ना” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रम शुक्रबार भब्य रुपमा सम्पन्न भएको हो । 

कार्यक्रमको उदघाट्न गर्दे नेपाली राजदुतावास कतारका नियोग उप–प्रमुख कुमार राईले नेपाली कला र संस्कृतीको मुख्य खम्बा भनेको लोक गित संगित भएकोले सबैले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । राईलले आफ्नो मौलिक लोकगित र संगितलाई माया गरेर प्रवासमा रहेर पनि विभिन्न कार्यक्रम आयोजना गरेर नेपाली दाजुभाई तथा दिदिबहिनिहरु सहभागी हुने अवसर दिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। 

कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले विदेशी भुमिमा रहेर पनि आफ्नो कला र संस्कृतिलाई गायन तथा नृत्य मार्फत जगेर्ना गरिरहेका कलाकारहरुलाई सबैले माया र हौसला दिनुपर्ने भन्दै एनसीसी कतारले सदैव कतारमा रहेका कलाकारलाई प्राथमिकतामा राख्ने बताए। साथै उनले सचेतनामुलक तथा नेपाली मौलिक कला संस्कृतिको जगेर्ना गर्ने खाले कार्यक्रममा एनसीसीले सदैव साथ सहयोग गर्ने बताए।

दुई शो मा भएको कार्यक्रमका मुख्य आर्कषक लोकप्रिय लोक तथा दोहोरि गायक पशुपति शर्माका दर्जन बढि गितमा दर्शक झुमेका थिए। शर्माले लोकप्रीय गितहरु खाडि तिरै भेटौला, लुटन सके लुट सके, स्याङजा जाने बाटोमा तनँहु लगाएतमा दर्शकहरुलाई भरपुर नचाएका थिए ।

कार्यक्रमममा नेपाल देखी आएका चर्चित मोडल तथा डान्सर करिश्मा ढकाल र सविता भुसालले पनि आफ्नो प्रस्तुती राखेका थिए ।नेपाल देखी आएक कलाकार सँगै गैरआवासीय नेपाली तारा –४ का विजेता रुस्तम तामाङ, नृत्य विधामा प्रथम निरु श्रेष्ठ, एनआरएनए द सिङगर सिजन १ की फाइनलिस्ट गुना मगर लगाएत एक दर्जन कलाकारले गायन, नृत्य र हास्य व्यङग्य प्रस्तुती दिएका थिए । 

कार्यक्रमको अन्त्यमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष समेत रहेका पशुपति शर्मा र प्रतिष्ठानको शाखा कतारका कलाकार रश्मी विश्वकर्मा लगाएतले प्रस्तुत गरेको लाईभ दोहोरी पनि दर्शकको आर्कषण बनेको थियो ।

सनैयामा स्थीत फुलबारी रेष्टुरेन्टको सभाहलमा रेष्टुरेन्टका सञ्चालक श्याम प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका संयोजक रोशन अर्यालले स्वागत गरेका थिए भने औपचारीक कार्यक्रमको सहजिकरण दिप जंग शाह र सास्कृतिक कार्यक्रमको सञ्चालन भानु शर्माले गरे थियो।

माओवादीका विभागीय प्रमुखहरूले दिए अर्थमन्त्रीलाई सुझाव

काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको दल माओवादी केन्द्र सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् । माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पुनलाई आइतबार विभिन्न विभागका प्रमुखसँग छलफल गरेका हुन्।   मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुन् ।कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरे ।  बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक÷सामाजिक रुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरुले सुझाए।                         कार्यक्रममा अर्थमन्त्री पुनले सहभागितामुलक रुपमा बजेट निर्माण गरिने बताए। गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने उनको भनाइ थियो। आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाए।

काठमाडौंका यी स्थानमा ३ बजेसम्म विद्युत बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गरी काठमाडौंको कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो । प्राधिकरणका अनुसार यी स्थानमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

गायिका रचना रिमालले सन्दीपबारे भनिन् -'दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ'

काठमाडौं ।गायिका रचना रिमालले उच्च अदालत पाटनलाई क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा पठाएपछि छिटो निर्णय दिन आग्रह गरेकी छन् । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेसी तोकिएपछि हेर्न नमिल्नेमा राखेसँगै उनले सो आग्रह गरेकी हुन् । अमेरिका र वेस्टइन्डिजमा हुने टी(२० विश्वकपका लागि नेपाली टोलीको अन्तिम सूची सार्वजनिक भइसकेको अवस्थामा सन्दीपबारे रचनाको यस्तो भनाइ आएको हो । यदि उच्च अदालतले सन्दीपको मुद्दामा चाँडो फैसला दिए विश्वकप खेल्न सक्ने सम्भावना जीवितै छ । त्यसका लागि जिल्ला अदालतबाट दोषी ठहर सन्दीपलाई उच्च अदालतले निर्दोष रहेको फैसला दिनु पर्ने हुन्छ । सन्दीपको मुद्दामा उच्चले ढिलाइ गरिरहेका बेला रचनाले दोषी भए कानुन अनुसार सजाय दिन भनेकी छन् । यद्यपि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गौशाला २६ उपनामकी युवतीलाई बलात्कार गरेको प्रकरणमा दोषी ठहर गरिसकेको छ । ‘दोषी भए कानुनअनुसार सजाय देऊ’, उनले सन्दीपलाई फेसबुकमा मेन्सन गर्दै लेखेकी छन्, ‘निर्दोष भए विश्वकप खेल्न देऊ।’ रचनाको यो भनाइ अदालतले सन्दीपको मुद्दा पटक पटक हेर्न नमिल्नेमा पठाइरहेका बेला आएको हो । उच्चमा सन्दीपको मुद्दाको छिनोफानो दिन जिल्लामा जस्तै ढिलाइ हुन थालेको छ । जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको फैसलाप्रति अहसमति जनाउँदै सन्दीपले गरेको पुनरावेदनमा आइतबार सुनुवाइको पेसी तोकिएको थियो । तर न्यायाधीशद्वय को इजलासमा तेस्रो नम्बरमा रहेको यो मुद्दा हेर्न नमिल्नेमा परेको थियो ।

ग्वार्कोमा आगलागी नियन्त्रणमा : एकै परिवारका पाँचजना घाइते, तीन जनाको अवस्था गम्भीर

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेहरूमा सञ्जय गिरी उनकी श्रीमती रूपासहित १५ वर्षीय छोरा नित, आठ वर्षीया छोरी प्रिया र तीन वर्षीया छोरी एलिसा छन् । किस्ट अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । घाइतेमध्ये तीन बालबालिकाको अवस्था गम्भीर रहेको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। आगलागी नियन्त्रणमा लिइएको छ । आगो निभाउन पाँच दमकल प्रयोग गरिएको एसपी सुवेदीले बताए ।

सिटिईभिटिमा आन्दोलनरत कर्मचारी र परिषद् कार्यालयबीच छ बुँदे सहमति

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कार्यालयमा क्रियाशील नेपाल राष्ट्रिय कर्मचारी संगठन र परिषद् कार्यालयबीच सहमति भएको छ । परिषद् कार्यालय र नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रतिनिधिहरुबीच भएको छलफल पश्चात छ बुँदे सहमति भएको हो । कर्मचारीहरुले मिति २०८००/०९।२६ गते विभिन्न माग पेश गरेर आन्दोलन गरेका थिए ।  यी हुन् सहमतिका बुँदा १. पदपूर्तिको कार्यलाई यथाशीघ्र अघि बढाउने सम्बन्धमा परिषद व्यवस्थापनले आवश्यक प्रक्रिया पूरा गरी १५ दिनभित्र विज्ञापन प्रकाशन गरिनेछ । २.परिषद् सेवामा लामो समयसम्म एउटै कार्यालयरमहाशाखामा कार्यरत कर्मचारीहरुलाई आवश्यकताका आधारमा अन्य महाशाखाहरुमा सरुवा गर्ने कार्यको शुरुवात गरिएको र परिषद् कार्यालयबाट तयार गरिएको कर्मचारी सरुवा तथा जिम्मेवारी सम्बन्धी मापदण्ड २०८१ अनुसार कार्यहरु १० दिनभित्र शुरु गरी कार्यान्वयनमा ल्याउने । ३.सेवा करारमा कार्यरत कर्मचारीहरुलाई महंगी भत्ता उपलब्ध गराउने सम्बन्धमा आगामी परिषद्‌को बैठकमा प्रस्ताव पेश गरिने र सेवा करारमा कार्यरत कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सम्बन्धमा गठित कार्यटोलीले दिएको सुझाव अनुरुप कार्य प्रक्रिया अगाडि बढाइने । ४.आगामी शैक्षिक सत्रबाट परिषदका आआंगिक शिक्षालयमा स्वास्थ्य तर्फका नर्सिङ्ग, मिडवाइफरी, फार्मेसी लगायतका कार्यक्रमहरु संचालनको लागि आ.व. २०८१/०८२ को परिषद्‌को बजेट निर्माणमा समावेश भई पेश भएको र शिक्षालयहरुमा नचलेका कार्यक्रमहरु बन्द गरी स्वास्थ्यका कार्यक्रमहरु संचालन गर्नका लागि कार्यटोली बनाई असार मसान्तभित्र कार्य सम्पन्न गर्ने । ५. स्तर निर्धारण तथा सम्बन्धन महाशाखामा पेश भएका प्रस्तावहरुका सम्बन्धमा सो महाशाखाले हालसम्म गरेका कार्यहरुको तालिका सहितको विवरण निर्देशक बैठकमा प्रस्तुत गर्ने र प्रस्तावहरुको दर्ता प्रक्रिया अनुसार कार्य सम्पन्न गर्ने । ६. नेपाल राष्ट्रिय कर्मचारी संगठनले जारी राखेका सबै कार्यक्रमहरु हाललाई स्थगन गर्ने ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी रोहबरमा गरिएको सहमतिपत्रमा नेपाल राष्ट्रिय कर्मचारी संगठन तर्फबाट नेपाल राष्ट्रिय कर्मचारी संगठन प्रा.शि. तथा व्या.ता.परिषद्का अध्यक्ष तेजबहादुर खत्रीले र कार्यालयको तर्फबाट सदस्य सचिव महेश भट्टराईले हस्ताक्षर गरेका छन् ।

सुनको मूल्य स्थिर, कति छ नेपाली बजारमा मूल्य

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार गत हप्ता शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार कारोबार भएको थियो। त्यसैगरी,  आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी तोलामा १६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिएको छ । यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।यसअघि पटकपटक सुनुवाइ स्थगत हुँदै आएको मुद्दाको सुनुवाइका लागि पेशी न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजालसमा तोकिएको छ।  जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

एमाले भोजपुर अध्यक्षमा खड्का निर्वाचित

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् ।पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् ।  पार्टी उपाध्यक्षमा किरण राई, सचिवमा एक्सन राई, उपसचिव खुलातर्फ दौलथकुमार कुलुङ, उपसचिव महिलातर्फ रमादेवी राई विजयी भए । नयाँ नेतृत्व चयनका लागि ८१ वटा वडाका ६०८ प्रतिनिधिमध्ये ५७३ जनाले मतदान गरेका थिए । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पाँच पदाधिकारी, पाँच खुला सदस्य र तीन खुला महिला सदस्यका लागि निर्वाचन भएको थियो ।  खुला सदस्यमा इन्द्र थापा, रेवतीरमन थापा, बद्रीनाथ निरौला, राजेश कटुवाल, नवीन प्रधान तथा महिला सदस्यतर्फ आशादेवी राई, सुस्मिता राई र सङ्गीता कँडेल निर्वाचित हुनुभएको छ । अधिवेशनले पदाधिकारीसहित ९० सदस्यीय कार्यसमिति चयन गरेको हो । रासस

राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९ वैशाखमा

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी गराएको हो । संघका महासचिब अमृत खातीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार भेटघाटका क्रममा बताए । संघको महाधिवेशनको उद्घाटन बैशाख २८ गते काठमाडौंको प्रदर्शनमार्ग स्थित राष्ट्रिय सभागृहमा हुने भएको छ । संस्कृति प्रर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले प्रमुख अतिथिको रुपमा महाधिवेशन उद्घाटन गर्ने पत्रकार भेटघाटका क्रममा महासचिब खातीले जानकारी गराए । संघको निर्वाचन भने २९ बैशाखमा काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पनि खातीले बताए । संघका कार्यबाहक अध्यक्ष प्रकाश कटवालका अनुसार देशका ७५ वटै जिल्लामा राष्ट्रिय संगीतकर्मी संघ स्थापना भईरहेको छ । मुलुकका सात प्रदेश र काठमाडौं उपत्यका थप एक प्रदेश गरी  संघको ८ प्रदेश रहेको र जसमा २० हजार भन्दा बढी कलाकारहरु सदस्य भएको पनि कार्यवाहक अध्यक्ष कटवालले जानकारी गराए,‘संघका मतदान अधिकार भएका करिब १३ सयजना आजिवन सदस्य हुनुहुन्छ भने ७५ वटै जिल्लाका करिब साँढे पाँचसय प्रतिनिधिहरुले अधिवेशनमा लाग लिनुहुन्छ ।’ यसरी यो अधिवेशनमा करिब दुई हजार कलाकारहरु भेला हुने पनि कार्यवाहक अध्यक्ष कटवालले बताए । यो १८ औं साधारण सभाले संघको विधानमा केही कुरा परिमार्जन गर्ने पनि उनले जानकारी गराए । छैठौं महाधिवशेनले संघको नयाँ कार्यसमिति चयन गर्ने छ । जसका लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति ल्याउने आफुहरुको चाहना रहेको तर लोकतान्त्रिक प्रकृया अन्तर्गत कसैले पदाधिकारीमा उम्मेदवार दिन्छ भने त्यसलाई रोक्ने पक्षमा आफुहरु नभएको पनि संघका तर्फबाट पत्रकार भेटघाटका क्रममा जानकारी गराईयो । संघको ३९ जनाको केन्द्रिय कार्यसमितिको लागि प्रत्यक्ष निर्वाचन हुनेछ । बाँकी विभिन्न पदाधिकारीहरु संघको कार्यसमिति बैठकले मनोनयन गर्ने पनि कार्यवाहक अध्यक्ष कटवालले कार्यक्रममा जानकारी गराए । संघका पूर्व अध्यक्ष एवम् अग्रज गायक रेशम थापाले आफुहरुले १८ वर्षअघि कलाकारको हक हितका लागि स्थापना गरेको राष्ट्रिय संगीतकर्मी संघ आज बृहत भएको निकै खुसी लागेको छ भने । यस्तै संघका सल्लाहकार तथा अग्रज पत्रकार रामजी बगालेले महाधिवेशनको सफलताको शुभकामना दिँदै सर्वसम्मतबाट नयाँ कार्यसमिति चयन हुनेमा आफु विश्वस्त छु भने ।  

वायु प्रदूषण नियन्त्रणको माग गर्दै भट्टराई सडकमा

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले देशभर बढेको वायु प्रदर्शन नियन्त्रणका लागि पहल गर्न माग गर्दै काठमाडौंको सडकमा प्रदर्शन गरेको छ। केही दिनयता संघीय राजधानी काठमाडौंसँगै देशभर वायु प्रदर्शन बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेसपाले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । बढ्दो वायु प्रदूषण र यसले आमनागरिकमा ल्याएको स्वास्थ्य जटिलता देशव्यापी डढेलो नियन्त्रणमा सरकारको उदासीनता देखिएको भन्दै बाबुराम भट्टराईले प्रर्दशनको आह्वान गरेका थिए ।प्रर्दशनमा बाबुराम भट्टराई की छोरी मानुषी यामी भट्टराई लगायत सो पार्टीका नेता कार्यकर्ता सहभागी थिए ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख २३ गते आइतबार सन् २०२४ मे ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २१ पैसा र बिक्री दर १६७ रुपैयाँ ९७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना, यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। आज सूर्योदय बिहान ५ बजेर २१ मिनेट र सूर्यास्त साँझ ६ बजेर ४० मिनेटमा हुनेछ ।

राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक : काङ्ग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको बिकासका लागि घातक रहेको बताएका छन्। शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा.महतले काङ्ग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएको छ यो नेपालको लोकतान्त्रिक आन्दोलन र बिकासका लागि घातक रहेको बताएका हुन्। उनले भने ‘नेपालको राजनीति नेपाली काङ्ग्रेसको कारणले अन्योलग्रस्त भएको होइन । काङ्ग्रेसको कारणले अस्थिरता आएको होइन । जसले अस्थिरता निरन्तर रूपमा निम्ताई रहेका छन् त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ । नेपालको विकासको लागि घातक छ । नेपालको उन्नति र देशमा रोजगारी सिर्जनाको लागि घातक छ ।’  

मुलुकलाई बर्बाद हुनबाट जोगाउन एमाले सरकारमा : महासचिव पोखरेल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको ओरोलो यात्रालाई रोक्न र मुलुकलाई बर्बाद हुनुबाट जोगाउन नेकपा एमाले नयाँ सहकार्य सहित सरकारमा सहभागी भएको बताएका छन् । एमाले काठमाडौँ(प्यूठान सम्पर्क मञ्चको १२ औँ अधिवेशन उदघाटन गर्दै महासचिव पोख्रेलले सो कुरा बताएका हुन् । मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक रहेको उल्लेख गर्दै उनले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता सुनिश्चित हुन सके मुलुकको समृद्धिलाई कसैले रोक्न नसक्ने बताए।  उनले हालै सम्पन्न उपनिर्वाचनले मुलुकमा अस्थिरता सिर्जना गर्न खोज्ने शक्ति र प्रवृत्ति काम लाग्दैन भन्ने सन्देश दिएको बताए। विकसित देशमा राजनीतिक स्थायित्व पुराना राजनीतिक दलबाट खोज्ने गरिएको उनको भनाइ छ ।  “अमेरिकामा सयौँ वर्षदेखिका तीनै पार्टीबाटै नेतृत्वको विकल्प खोज्ने गरिन्छ । त्यहाँ ती पार्टी पुराना भयो, जनताले नयाँ पार्टी चाहियो भनेर भन्दैनन् । ब्रिटेनमा पनि सयौँ वर्षदेखि पुराना पार्टी आपसमा प्रतिस्पर्धा गर्छन्,” उनले भने, “तर नेपालमा सामाजिक सञ्जालमा चर्चित व्यक्तिलाई अगाडि सारेर पपुलिजमका आधारमा विचारधारा निर्माण गर्ने र पुराना पार्टीको विकल्प खोज्ने दुष्प्रयत्न गरिएको छ । त्यसले नेपाली समाजलाई दिग्भ्रमित गरिरहेको थियो, त्यो सच्चा के हो भन्ने कुरा जनताका बीचमा गएर उपनिर्वाचनले परीक्षण गरेको छ ।”  उनले एमालेलाई मुलुकको समृद्धि र विकासको अगुवा पार्टीका रुपमा अगाडि बढाउन आवश्यक रहेको बताए। अहिले नयाँ समीकरणले देशलाई चमत्कार गर्छ भन्ने विश्वास आफूहरुको नभएको भन्दै मुलुकको ओरोलो यात्रालाई रोक्न र मुलुकलाई बर्बाद हुनुबाट जोगाउन पार्टी सरकारमा सहभागी भएको उनले स्पष्ट पारे। अहिले पनि एमालेको ध्यान मिसन २०८४ तर्फ रहेको र पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नुपर्ने धारणा उनले राखे।  एमाले पोलिटब्यूरो सदस्य तथा सांसद सूर्य थापाले प्यूठानका विकास निर्माणले गति लिएको बताए। कार्यक्रममा एमाले प्यूठानका अध्यक्ष विजयविराट विष्ट, अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीलगायतले प्यूठानको विकासमा सबै एकजुट हुनुपर्ने धारणा राखे।

६ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार । उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर–विराटनगर उडान थालेको हो ।  बन्द भएको ६ वर्षपछि विराटनगर यात्रा गर्न पाएकामा यात्रुहरुले खुसी महसुस गरेका छन् । भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले खादा र केक बाँड्दै यात्रुलाई विराटनगरका लागि शुभकामना दिनुभएको थियो । उहाँका अनुसार काठमाडौँबाट आएको निगमको जहाजले नौ जना यात्रु लिएर विराटनगर उडेको छ ।   उडान बन्द भएको लामो समयपछि विराटनगर उड्न पाएकामा यात्रु उषा थापाले खुसी महसुस गर्दै भने, “समस्यामा परेका यात्रुलाई विराटनगर जान अब सहज भएको छ, हामी जिल्लावासी त्यसैमा खुसी छौँ, निगमले नियमित उडान गर्न जरुरी छ ।” वायुसेवा निगमले हप्तामा शनिबार र बिहीबारका लागि विराटनगर उडान तालिका राखेको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले बताए । “अब उडान तालिकाअनुसार नै विराटनगर उडान हुनेछ । अहिलेका लागि काठमाडौँबाट भोजपुर आएर विराटनगर जाने र विराटनगरबाट फर्किएर फेरि काठमाडौँ जाने तालिका बनाएका छौँ”, उनले भने । विमान अभावलगायतका समस्या देखाउँदै निगमले भोजपुर–काठमाडौँ उडान तालिका कायम राख्दै विराटनगर उडान बन्द गरेको थियो । विसं २०७४ पछि विराटनगर उडान हुन सकेको थिएन । जिल्लावासीको मागलाई सम्बोधन गर्दै निगमले तत्कालका लागि हप्तामा दुई उडान गर्न लागेको स्टेसन प्रमुख खड्काको भनाइ छ ।  हवाई उडान बन्द हुँदा जिल्ला अस्पतालबाट सुविधा सम्पन्न अस्पतालमा सिफारिस गरिएका बिरामी लैजान तथा ज्येष्ठ नागरिकलाई समस्या हुँदै आइरहेको थियो । ज्येष्ठ नागरिक र बिरामीलाई समस्या भइरहेको अवस्थामा बन्द रहेको उडान फेरि सञ्चालन हुँदा आवागमन सहज हुँदै जाने नगरप्रमुख आलेले बताए । उनले भने, “अब तोकिएको दिन सेवा सञ्चालन हुनेगरी निगमले उडान गर्नुपर्छ, जसले समस्यामा परेका नागरिकलाई सेवा पुगोस् ।”       वायुसेवा निगम भोजपुरले भोजपुर–विराटनगर भाडा रु चार हजार २९ कायम भएको जनाएको छ । नागरिकको सेवालाई ध्यान दिँदै इ–सेवामार्फत पनि टिकट लिने व्यवस्था मिलाइएको छ । पाँच सय ४५ मिटर लम्बाइ भएको विमानस्थल कालोपत्र भए पनि विराटनगर उडान भने ठप्प थियो ।        प्रदेश राजधानी जान र आउन पुनःउडान सुरु भएपछि सहजता थपिएको भोजपुरवासी शङ्करप्रसाद आचार्यको भनाइ छ ।