इरान–अमेरिका वार्ता 'राम्रो सुरुवात', अर्को चरणका लागि सहमति

एजेन्सी ।ओमानको राजधानी मस्कटमा शुक्रबार इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ता सम्पन्न भएको छ। यो वार्ता इरानको आणविक कार्यक्रमलाई लिएर तनाव कम गर्ने उद्देश्यले भएको हो।

एजेन्सीहरूका अनुसार, वार्तामा इरानको टोलीको नेतृत्व विदेशमन्त्री अब्बास अराघ्चीले गरेका थिए भने अमेरिकी टोलीमा विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी थिए। ओमानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो।

वार्तापछि इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सरकारी टेलिभिजनमा बोल्दै वार्तालाई "राम्रो सुरुवात" भनेका छन्। उनले वार्ताकारहरू आ-आफ्ना राजधानी फर्केर परामर्श गर्ने र त्यसपछि अर्को चरणको वार्ताबारे निर्णय लिने बताए।

इरानको विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालमा लेखेका छन्: "वार्ता जारी राख्न दुवै पक्षबीच सम्झौता भएको छ। बैठकमा दुवै पक्षले आफ्ना दृष्टिकोण र मागहरू प्रस्तुत गरे। नेताहरूसँग परामर्शपछि अर्को चरणको वार्ताबारे निर्णय गर्न सहमत भएका छौं।"

वार्ता मुख्य रूपमा इरानको आणविक कार्यक्रममा केन्द्रित रहेको र अन्य विषयहरू (जस्तै क्षेप्यास्त्र कार्यक्रम) मा छलफल नभएको इरानी पक्षले स्पष्ट पारेको छ। अराघ्चीले वार्ता सकारात्मक वातावरणमा भएको र धम्की तथा दबाबबिना अघि बढ्नुपर्नेमा जोड दिए।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक कार्यक्रम सीमित गर्न नयाँ सम्झौता नगरे सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएका थिए। इरानले भने आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने मागमा सम्झौता नगर्ने अडान राख्दै आएको छ।

यो वार्ता गत वर्ष अमेरिका र इजरायलले इरानका आणविक स्थलहरूमा आक्रमण गरेको र इरानमा राष्ट्रव्यापी विरोध प्रदर्शन भएको पृष्ठभूमिमा भएको हो। दुवै पक्षले वार्तालाई सकारात्मक रूपमा लिए पनि ठोस प्रगति भएको बारेमा विस्तृत जानकारी सार्वजनिक भएको छैन। अर्को चरणको वार्ता चाँडै हुने अपेक्षा गरिएको छ।

 

कानुनको अगाडि सबै समान छन् भन्ने कुरा व्यवहारमै लागू हुनुपर्छ : नारायणकाजी श्रेष्ठ

सर्लाही । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार व्यापक रहेको भन्दै त्यसविरुद्ध सशक्त सुशासन अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । सर्लाहीको बर्थवा नगरपालिका–स्थित कोइरी टोलमा आयोजित सर्लाही निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारले देशलाई जर्जर बनाएको र जनतालाई निराश बनाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कानुनको अगाडि सबै समान छन् भन्ने कुरा व्यवहारमै लागू हुनुपर्छ,” दोषी जो भए पनि कारबाही गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पछिल्लो पटक सरकारमा रहँदा भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन तस्करी, बाँसबारी जग्गा घोटाला लगायतका मुद्दामा अनुसन्धान अघि बढाएको र सार्वजनिक/सरकारी जग्गा अतिक्रमणविरुद्ध कडा कदम चालेको स्मरण गराउनुभयो । श्रेष्ठले सुशासन अभियान अघि बढ्दै गर्दा कांग्रेस र एमालेले साथ दिनुको सट्टा अवरोध सिर्जना गरेको आरोप लगाउँदै त्यसैका कारण सरकार ढालिएको र विकास तथा समृद्धिको गति रोकिएको बताउनुभयो । उहाँले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा उभिन मतदातालाई आग्रह पनि गर्नुभयो । नारायणकाजी श्रेष्ठ सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ भने क्षेत्र नं. ४ बाट डा. रजनीश यादव नेकपाको उम्मेदवार रहनुभएको छ ।

‘सबै पार्टी र उम्मेदवार उस्तै हुन्’ भन्ने भाष्य गलत, सबै उस्तै हुँदैनन् र होइनौं : माधव सापकोटा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समय राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने भाष्यको कडा खण्डन गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित चुनाव प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत दैनिक रूपमा यस्ता भ्रम चिर्न र आफ्नो पार्टीको भिन्नता स्पष्ट पार्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘आज एउटा भाष्य बनाइँदैछ भने सबै पार्टीहरू र सबै उम्मेदवार उस्तै उस्तै हुन् भन्ने । सबैलाई दिनको एउटा पोस्ट लेखेर यसलाई गम्भीरतापूर्वक खण्डन गरौँ । सबै उस्तै हुँदैनन् र होइनौं ।’ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहनुभएका सापकोटाले सबै दलहरूलाई एउटै डालोमा राखेर हेर्नु न्यायसंगत नहुने बताउनुभयो । विशेष गरी नयाँ शक्ति र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर र केवल पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू र हामी एउटै होइनौं ।’ उहाँले थप्नुभयो, ‘कुन वटा कार्यालय कहाँ पर्छ भन्ने जानकारी थाहा नहुनेले के गर्छन् ? यस्तो हाँस्यास्पद कुरा गर्ने र हामीलाई तुलना गरे भने यो कुरा न्यायसंगत हुँदैन ।’ नयाँ उम्मेदवारहरूलाई सरकारी कार्यालयहरूको आधारभूत जानकारी समेत नभएको भन्दै उहाँले उनीहरूका कुरालाई ‘हात्तीछाप चप्पल र हात्ती उस्तै हो ?’ जस्तो हाँस्यास्पद भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले जनतालाई यसबारे बुझाउन जरुरी छ । जोड जोडले ठूलो स्वरले सुन्ने गरी भन्नुपर्छ । पार्टीका तर्फबाट गल्ती कमजोरी भएका छन् । सबैभन्दा पहिला जनतासँग गएर आत्मालोचना गरेर रुपान्तरणका लागि तयार हुने पार्टी पनि हामी नै हौं ।’ पार्टीका विगतका कमजोरी स्वीकार गर्दै सापकोटाले जनतामाझ आत्मालोचना गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

एमाले परित्याग गर्दै बाह्रबिसे नगरपालिकाका संस्थापक मेयर शेर्पासहित सयौँ जना नेकपामा प्रवेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा थप सयौँ कार्यकर्ता समाहित भएका छन् । नेकपा सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समिति तथा प्रतिनिधिसभा क्षेत्र नं. १ निर्वाचन परिचालन समितिद्वारा पेप्सीकोलामा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा नेकपा एमाले बार्हबिसे नगरपालिकाका संस्थापक मेयर निमफुन्ज शेर्पासहित सयौँ जना नेकपामा प्रवेश गर्नुभएको छ । कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवेश गरेकाहरूलाई पार्टीमा हार्दिक स्वागत गर्नुभयो । उहाँले पार्टीमा समाहित भएकाहरूलाई उचित जिम्मेवारी प्रदान गरिने बताउनुभयो ।

संयोजक प्रचण्डको प्रश्न : नयाँ भनिनेहरूको सङ्घीय लोकतान्त्रिक गणतन्त्रभन्दा नयाँ मुद्दा छ ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म २५ वटा घटकलाई पार्टीमा एकताबद्ध गराइसकेको बताउनुभयो । नेकपा निर्वाचन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशका अधिकांश क्षेत्रमा नेकपाले चुनाव जित्ने वातावरण बन्दै गएको र पार्टी पहिलो बन्ने सम्भावना देखिएको जिकिर गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै उहाँले नयाँ भन्नेहरूमा कुनै विचार वा सिद्धान्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ र पुरानोको कुरा गरेका छन् के हो नयाँ ? नयाँ र पुरानोको निधो विचार र एजेन्डाले गर्छ, गणतन्त्रभन्दा नयाँ विचार देशमा कसैले ल्याएको छ ? नयाँ भनेको गणतन्त्र हो, त्यसैले सबैभन्दा नयाँ नेकपा छ । सबैलाई पहिचान र अधिकार दिने भन्दा नयाँ नारा के छ ? नयाँ भनिनेहरूको सङ्घीय लोकतान्त्रिक गणतन्त्रभन्दा नयाँ मुद्दा छ ?’ उहाँले नेकपालाई पुरानै कित्तामा राख्ने प्रयास भएको भन्दै रास्वपालाई नै सबैभन्दा पुरानो बताउनुभयो । उहाँले थप्नुभयो, ‘तपाईँहरू उदार पूँजीवाद र दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ? त्यसैले हामी भन्छौँ नयाँ हामी हो, गणतन्त्र र सङ्घीयता भन्दा नयाँ अरू केही छ । देशको नेतृत्व अब हामीले गर्ने हो भन्ने आत्मसाथका साथ भन्न सक्नुपर्छ ।’

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा सिंहदरबार नयाँ संसद् भवन निर्माण प्रगतिमा चासो

काठमाडौं । सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन नयाँ संघीय संसद् भवनको प्रगतिबारे राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले गम्भीर चासो व्यक्त गरेका छन् । उनले निर्माण व्यवसायी (तुन्दी–सेक जेभी), सहरी विकास मन्त्रालयका पदाधिकारी तथा संसद् सचिवालयका अधिकारीहरूसँग आज दिउँसो साढे ३ बजे राष्ट्रिय सभाको अध्यक्ष कार्यकक्षमा संयुक्त छलफल गर्दैछन् । यो भवनमा आगामी निर्वाचनबाट निर्वाचित नयाँ प्रतिनिधिसभाको बैठक राख्ने तयारी छ । विगतमा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १९ वर्षदेखि भाडामा बस्दै आएको संसद् सचिवालय अब आफ्नै आधुनिक भवनमा सर्ने भएपछि भाडाको तनावबाट मुक्त हुनेछ । भवन अत्याधुनिक सुविधासम्पन्न छ । यसमा ७०० सिट क्षमताको प्रतिनिधिसभा हल (सभाहल ४०० + बाल्कोनी ३००), राष्ट्रिय सभाको बाल्कोनीमा २९० सिट, ३५० सिट क्षमताको संयुक्त लबी, १० वटा राजनीतिक दलका लागि संसदीय दल कार्यालय तथा बैठक कक्ष, प्रधानमन्त्री/सभामुख/अध्यक्ष आदिका लागि अति विशिष्ट कक्ष, पुस्तकालय, क्यान्टिन, बगैंचा, प्रेस/छपाइ भवन, ७०० सवारी पार्किङ, सुरक्षा संरचना आदि छन् । विशेष भवन आयोजनाले निर्माण जिम्मा लिएको यो परियोजनाले संसद्लाई भाडामुक्त बनाउने अपेक्षा गरिएको छ ।

उदयपुरमा झन्डै चार हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

उदयपुर । उदयपुरमा किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभरका तीन हजार ८४८ जना किशोरीलाई खोप लगाउने तयारी गरिएको हो । आगामी माघ २६ गतेदेखि फागुन  १ गतेसम्म सञ्चालन हुने यस अभियानमा विद्यालयमा अध्ययनरत तथा विद्यालयबाहिर रहेका किशोरीहरूलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय उदयपुरका खोप अधिकृत तथा सूचना अधिकारी चिरञ्जीवी निरौलाले जानकारी दिए । जिल्लाका आठवटै पालिकामा सञ्चालन हुने उक्त अभियानअन्तर्गत चौदण्डीगढी नगरपालिकामा ५४९, त्रियुगा नगरपालिकामा एक हजार ११९, कटारी नगरपालिकामा ७१६ र बेलका नगरपालिकामा ६६२ जना किशोरीलाई खोप लगाइने भएको छ । यसैगरी, निरौलाका अनुसार उदयपुरगढी गाउँपालिकामा २६१, रौतामाई गाउँपालिकामा २१६, ताप्ली गाउँपालिकामा १४४ तथा लिम्चुङबुङ गाउँपालिकामा १०६ जना किशोरीलाई एचपिभी खोप लगाइनेछ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अभियानका क्रममा आठवटै पालिकामा ३९४ वटा खोप केन्द्र तोकिएका छन् । ती केन्द्रमा ३६३ जना खोप लगाउने स्वास्थ्यकर्मी र ३९४ जना स्वयंसेवक परिचालन गरिनेछ । गत वर्ष उदयपुरका एचपिभी खोप १८ हजार ३८९ जना किशाेरीलाई लगाइएकाे कार्यालयले जानकारी दिएकाे छ ।

ताप्लीमा नेकपाको आक्रामक घरदैलो सुरु, उम्मेदवारसहित गाउँ–गाउँमा मतदाता भेटघाट

उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुर निर्वाचन क्षेत्र नम्बर–२ ले ताप्ली गाउँपालिकामा उम्मेदवारसहित आक्रामक घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गरेको छ । गाउँ–गाउँमा पुगेर प्रत्यक्ष संवाद गर्ने रणनीतिअनुसार नेकपाले ताप्लीका विभिन्न वडामा तीनदिने सघन घरदैलो कार्यक्रम सञ्चालन गरेको हो । अभियानअन्तर्गत पार्टीका उम्मेदवार र नेताहरू मतदाताको घरआँगनमै पुगेर आगामी निर्वाचनका एजेन्डा, नीति तथा प्रतिबद्धता प्रस्तुत गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र परिचालन समितिका संयोजक मोहनबहादुर खत्री ‘दीपक’का अनुसार फागुन २३ गते वडा नम्बर–५ को डडुवा कुमल्टारबाट अभियान सुरु भएको छ । फागुन २४ गते बिहान ९ बजेदेखि १२ बजेसम्म देब्रे नुनथला तथा दिउँसो २ बजे वडा नम्बर–४ को ठानागाउँमा मतदाता भेटघाट तथा घरदैलो गरिनेछ । त्यसैगरी फागुन २५ गते बिहान ८ बजे पोखरी, १० बजे मडिरे र १ बजे इनामेमा मतदाता भेटघाट गरिनेछ । सोही दिन बेलुका कटहरे तामखर्कमा बास बसिनेछ । फागुन २६ गते बिहान ७ बजे पुल्टार र ९ बजे बाच्छाङामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरिने संयोजक खत्रीले जानकारी दिए । घरदैलो अभियानमा नेकपाका प्रत्यक्ष उम्मेदवार सुरेशकुमार राई ‘हिमाल’, समानुपातिक उम्मेदवार विनोद कटुवाल ‘दिवस’, संविधानसभा सदस्य तथा निर्वाचन क्षेत्र परिचालन समितिका संयोजक मोहनबहादुर खत्री ‘दीपक’लगायत पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरूको टोली सक्रिय रूपमा सहभागी रहेको जनाइएको छ । नेकपाले ताप्ली गाउँपालिकालाई चुनावी अभियानको महत्वपूर्ण केन्द्रका रूपमा लिएर मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको जनाएको छ । नेकपाले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–२ अन्तर्गतका पाँचै पालिकामा निर्वाचन परिचालन तथा प्रचार–प्रसार समिति गठन गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठनात्मक गतिविधि तीव्र बनाउँदै घरदैलाे अभियान गरिरहेकाे छ ।  उदयपुर–२ अन्तर्गत कटारी नगरपालिका, रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा निर्वाचन परिचालन तथा प्रचार समिति गठन भइसकेको निर्वाचन क्षेत्र परिचालन समितिले जनाएको छ ।

सुनचाँदीको भाउमा लगातार दोस्रो दिन गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । आज शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २०० रुपैयाँले ओरालो लागेर २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । हिजो बिहीबार भने सुन तोलामा ९ हजार ५०० रुपैयाँ घटेर २ लाख ९५ हजार २०० रुपैयाँमा पुगेको थियो । यसैगरी, चाँदीको भाउ पनि आज २७० रुपैयाँ घटेर प्रतितोला ४ हजार ७१० रुपैयाँ निर्धारण भएको छ । बिहीबार चाँदी ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

भारतको मेघालय कोइलाखानी विस्फोटमा खोटाङका दाजुभाइको मृत्यु, ४ जना घाइते

खोटाङ । भारतको मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परी खोटाङको बाराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङका एउटै परिवारका दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र उनका भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर छन् । उनीहरू घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिएका छन् । घाइते हुनेमा सोही ठाउँका ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर, ४५ वर्षीय बमबहादुर खपाङ्गी मगर, ४० वर्षीय कर्णबहादुर खपाङ्गी मगर र उदयपुरका ललितबहादुर मगर छन् । नरबहादुर र बमबहादुरको अवस्था गम्भीर रहेको छ । रोजगारीका लागि गत पुस ३ गते मेघालय गएको ७ जनाको नेपाली टोलीमध्ये बाराहपोखरी–१ वालम्पाका ताराबल मगर मात्र सकुशल छन् । उनले नै फोनमार्फत घटनाको जानकारी आफन्तलाई गराएका थिए ।

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

धनगढी । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । डडेलधुरा अस्पतालमा उपचारका क्रममा थप ५ जनाको मृत्यु भएपछि कुल मृतक १३ जना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिएका छन् । थप मृत्यु हुनेमा बझाङका बिसनदत्त जोशी (१७), दिपकराज जोशी (२८), किसनदत्त जोशी (४६), केशवराज भट्ट (२७) र बैतडीका सुशील जोशी (१४) छन् । यसअघि घटनास्थलमा ६ जना र कोटिला स्वास्थ्यचौकीमा २ जनाको मृत्यु भएको थियो । बिहीबार राति ८ बजे पुर्चौंडी नगरपालिका–७ भवनेबाट बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको बस (सु.प्र.०२००१ ख १११९) पुर्चौंडी–७ बडगाउँको मोडमा सडकबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनामा २५ जना घाइतेको डडेलधुरा अस्पतालमा, ५ जना गम्भीर घाइतेको धनगढीमा र ४ जना सामान्य घाइतेको देउलेक प्राथमिक स्वास्थ्य केन्द्र बझाङमा उपचार भइरहेको छ । बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिइएको छ । उकालोमा अत्यधिक भारका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ । बेहुलाबेहुली भने अर्को जिपमा रहेकाले सकुशल छन् । थप अनुसन्धान जारी छ ।

बूढानीलकण्ठबाट १८ लाख ५० हजार नगदसहित एकजना पक्राउ, स्रोत खुलाउन सकेनन्

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँ नगदसहित एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा उदयपुर स्थायी घर भई हाल कोटेश्वर बस्ने ४५ वर्षीय प्रबिन किसन छन् । बिहीबार बिहान करिब साढे ४ बजे बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले उनलाई चेकजाँच गर्दा साथबाट उक्त रकम बरामद गरेको हो । बरामद रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले थप अनुसन्धानका लागि किसन र नगदलाई आन्तरिक राजस्व कार्यालय हरिहरभवन, ललितपुर पठाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले आवश्यक कारबाही अघि बढाइएको जानकारी दिएका छन् ।

त्रिवि शुल्क शोषणविरुद्ध आन्दोलनका क्रममा अखिल (क्रान्तिकारी)का नेताहरू पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा शुल्क शोषणविरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का प्रमुख नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अखिल (क्रान्तिकारी) त्रिवि जिल्ला समितिका अध्यक्ष दिनेश एर, उपाध्यक्षहरू तेज प्रकाश संज्याल र शिव भट्ट तथा सदस्य विक्की विष्ट रहेका छन् । संगठनका अनुसार भदौ १० गते त्रिवि प्रशासनसँग लिखित सहमति भएपछि ३४ दिनको आन्दोलन स्थगित गरिएको थियो । तर सहमति कार्यान्वयन नगरी प्रशासनले आन्दोलनका अगुवा नेताहरूलाई पक्राउ गर्नु निरंकुश र दमनकारी कार्य भएको अखिल (क्रान्तिकारी) ले आरोप लगाएको छ । उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज निरोज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पक्राउ परेका सबै नेताहरूलाई तत्काल बिना सर्त रिहा गर्न, सहमति पूर्ण कार्यान्वयन गर्न र शुल्क शोषण अन्त्य गरी विद्यार्थीका जायज माग पूरा गर्न माग गरिएको छ । यदि दमन जारी रहेमा आन्दोलनलाई उपत्यकाभरि र देशव्यापी बनाउने चेतावनी संगठनले दिएको छ । जिम्मेवारी त्रिवि प्रशासनले लिनुपर्ने उनीहरूको भनाइ छ ।

चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुई जनाको ज्यान गयो

बर्दिया । चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–९ की ४९ वर्षीया मैसारा डाँगी र गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकाय छन् । मैसारा डाँगीलाई नेपाल–भारत सीमा नजिक बारीमा घाँस काट्दै गर्दा चितुवाले आक्रमण गरी भारतीय वनतर्फ लगेको थियो । खोजीका क्रममा दशगजा नजिकै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यसैगरी, नन्दु रोकाय बबई नदी तरेर बारबर्दिया नगरपालिका–११ को जनजागृति सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले बताएको छ । यसअघि गत माघ ७ गते सोही क्षेत्रमा तोरी उखाल्ने क्रममा चितुवाको आक्रमणबाट खिदनी थारूको मृत्यु भएको थियो । डिभिजन वन कार्यालय बर्दियाको तथ्यांकअनुसार गत साउनयता चितुवाको आक्रमणबाट ७ जना, पाटेबाघबाट १ जना र जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलरको खरिद १४४.२८, बिक्री १४४.८८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । प्रमुख मुद्राहरूको विनिमयदर निम्नानुसार छ: अमेरिकी डलर १: खरिद रु. १४४.२८ | बिक्री रु. १४४.८८ युरोपियन युरो १: खरिद रु. १७०.११ | बिक्री रु. १७०.८२ बेलायती पाउण्ड १: खरिद रु. १९६.३१ | बिक्री रु. १९७.१२ अष्ट्रेलियन डलर १: खरिद रु. १०१.७३ | बिक्री रु. १०२.१५ क्यानेडियन डलर १: खरिद रु. १०५.४३ | बिक्री रु. १०५.८७ जापानी येन १०: खरिद रु. ९.१८ | बिक्री रु. ९.२२ चिनियाँ युआन १: खरिद रु. २०.७९ | बिक्री रु. २०.८७ भारतीय रूपैयाँ १००: खरिद रु. १६०.०० | बिक्री रु. १६०.१५ अन्य मुद्राहरूको विस्तृत दरका लागि नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट हेर्न सकिन्छ । बैंकले यो दर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने तथा वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने जनाएको छ ।

तराईमा हुस्सु र तुवाँलो, पहाड–हिमालमा मौसम मुख्यतया सफा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी प्रदेशका पहाडी–हिमाली भाग र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ, बाँकी भागमा भने मौसम सफा रहने छ । राति पनि तराईका केही स्थानमा हुस्सु कायम रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुन सक्छ, अन्यत्र मुख्यतया सफा मौसम रहने पूर्वानुमान छ ।