रामेछाप बस दुर्घटनाप्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, उद्धार र राहत कार्य तीव्र बनाउन निर्देशन

काठमाडौं । रामेछापको मन्थली नगरपालिका–त्रिवेणी नजिकै तामाकोशी नदीमा भएको यात्रुवाहक बस दुर्घटनामा केही यात्रुको दुःखद निधन भएको घटनाप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गर्नुभएकाे छ ।

प्रचण्डले फेसबुकमा एक शोक सन्देश जारी गर्दै दुर्घटनामा ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएकाे हाे । “यस दुःखद घटनाले म अत्यन्तै मर्माहत भएको छु,” सन्देशमा उल्लेख छ ।

उहाँले दुर्घटनामा घाइते भएका यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, उपचार तथा राहत कार्यलाई तीव्र, प्रभावकारी र समन्वित रूपमा अघि बढाउन सम्बन्धित सबै निकायलाई विशेष आग्रह गर्नुभएकाे छ ।

साथै, प्रचण्डले स्थानीय पार्टी पंक्तिलाई आवश्यक समन्वय गरी पीडितको सहयोगमा सक्रिय रूपमा खटिन स्पष्ट निर्देशन दिनुभएकाे छ । संकटको यस घडीमा राज्य संयन्त्र र राजनीतिक शक्तिहरू जनताको पक्षमा एकजुट हुनुपर्ने उहाँको भनाइ छ ।

मन्थली बस दुर्घटनापछि देशभर शोकको वातावरण छ भने उद्धार तथा उपचार कार्यलाई प्रभावकारी बनाउन विभिन्न तहबाट पहल तीव्र पारिएको छ ।

रामेछाप बस दुर्घटना: ६ जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । रामेछापमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–५ मसानटारमा आज बिहान भएको दुर्घटनामा दुई पुरुष र चार महिलाले ज्यान गुमाएका छन् । रामेछापका सहायक जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ६ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । बस नदीमा खसेकाले अझै हताहतको संख्या यकिन हुन नसकेको उनले बताए । उनका अनुसार बसमा कति यात्रु सवार थिए भन्ने विवरण खुलिनसकेको छ । नदीमा खसेको बसबाट यात्रुको उद्धार गर्न डुंगामार्फत प्रयास भइरहेको छ । ०३०१–०००५ ख–९९७५ नम्बरको बस काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीनवटै सुरक्षा निकाय उद्धार कार्यमा जुटेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइते र सम्भावित बेपत्ता यात्रुको खोजीका लागि १० जनाको गोताखोर टोली परिचालन गरिएको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

‘गुइँठा’ टिप्पणीले ओली आलोचनामा, झापा–मोरङका गुइँठा बाल्ने समुदाय असन्तुष्ट

विराटनगर । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिएको एक टिप्पणीले तराईका ग्रामीण समुदाय आक्रोशित बनेका छन् । आफू प्रतिनिधित्व गर्दै आएको झापा–५ क्षेत्रलाई “एड्भान्स र सफा” देखाउन खोज्दै महोत्तरी–धनुषा जस्ता स्थानलाई ‘गुइँठा बाल्ने अवस्था’ सँग तुलना गरेपछि ओलीको अभिव्यक्ति सांस्कृतिक अपमानका रूपमा व्याख्या हुन थालेको हो । केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा ओलीले दमकलाई व्यवस्थित र सफा नगरको रूपमा चित्रण गर्दै आफ्नो राजनीतिक प्रतिस्पर्धीप्रति कटाक्ष गरेका थिए । सोही क्रममा प्रयोग गरिएको ‘गुइँठा बाल्ने कल्चर’ भन्ने शब्दले पूर्वी तराईका ताजपुरिया, राजवंशीलगायत आदिवासी समुदायलाई आहत बनाएको छ । ओलीको अभिव्यक्तिपछि झापा–मोरङ सीमाक्षेत्रका गौरीगञ्ज, गौरादह र कमल गाउँपालिकामा असन्तोष चर्किएको छ । स्थानीयहरूका अनुसार गुइँठा उनीहरूको जीवनशैली, संस्कार र धार्मिक परम्पराको हिस्सा हो, जसलाई हेप्ने शैलीमा गरिएको टिप्पणी स्वीकार्य छैन । आक्रोशको प्रतीकस्वरूप स्थानीय महिलाहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकी पत्नी सविना काफ्लेलाई गुइँठा उपहार दिएका छन् । “गुइँठा हाम्रो पहिचान हो । कसैले यसलाई हेप्यो भने हामी चुप लाग्दैनौँ,” गुइँठा दिँदै गर्दा एक स्थानीय महिलाले प्रतिक्रिया दिइन् । ओलीकै दल एमालेका समर्थकसमेत यस अभिव्यक्तिबाट असन्तुष्ट देखिएका छन् । गौरीगञ्जका एमाले समर्थक डिल्ली ढुंगानाका अनुसार नेताले नसोचेको विषयमा बोलेर समस्या निम्त्याएका हुन् । “यहाँ धेरै परिवार गुइँठा बाल्छन् । यस्तो विषयमा तुलना गर्नु नै गलत थियो,” उनले भने । गौरादह–८ का कालिप्रसाद ताजपुरियाले गुइँठालाई इन्धन मात्र नभई धार्मिक संस्कारसँग जोडिएको बताए । “कार्तिकदेखि वैशाखसम्म गुइँठा बनाइन्छ । बिहे, श्राद्ध, सत्यनारायण पूजा, मरे–मराउ सबैमा यसको प्रयोग हुन्छ,” उनले भने, “हाम्रो संस्कृतिलाई होच्याउने शैली मन परेको छैन ।” गौरादह र गौरीगञ्जका अधिकांश वडामा अहिले पनि गोबर, पराल र भुस मिसाएर बनाइएको गुइँठा सुकाइरहेको दृश्य सामान्य छ । पुस्तौँदेखि चल्दै आएको यो अभ्यास ग्रामीण जीवनशैलीको अभिन्न अङ्ग मानिन्छ । यद्यपि स्वास्थ्य विज्ञहरूले गुइँठा बाल्दा निस्कने धुवाँले श्वासप्रश्वाससम्बन्धी रोग, क्षयरोग र आँखासम्बन्धी समस्या बढाउने चेतावनी दिँदै आएका छन् । तर ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जा पहुँच नहुँदा र धार्मिक–सांस्कृतिक कारणले यसको प्रयोग रोकिएको छैन । ओलीको अभिव्यक्तिले चुनावी राजनीति मात्र होइन, नेताहरूको भाषाशैली, वर्गीय दृष्टिकोण र सांस्कृतिक संवेदनशीलतामाथि पनि गम्भीर प्रश्न उठाएको छ ।

मधेस प्रदेश सरकारको खर्च कटौती गर्न निर्देशन

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक रुपमा हुने जथाभवी खर्चलाई कटौती गर्न लिखित रुपमा निर्देशन दिएको छ । मधेस प्रदेशको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष आर्थिक २०८२/८३ मा हुने सार्वजनिक खर्चमा कटौती गर्न सम्पूर्ण मन्त्रालय, निर्देशनालय तथा मन्त्रालय मातहतका कार्यालय तथा परियोजनालाई अत्यावश्यक बाहेकका खर्च नियन्त्रण गर्न परिपत्र जारी गरेको हो । मन्त्रालयद्वारा जारी पत्रमा सवारीसाधन खरिद, फर्निचर खरिद, कार्यालय सजावट एवम् महँगी सामान खरिद, अनावश्यक गोष्ठी, भ्रमण तथा अतिथि सत्कार खर्चमा पूर्ण रुपमा कडाइ गर्न निर्देशन गरेको जनाइएको छ । जथाभावी बजेटको दुरुपयोग नगर्न तथा बजेटमा सुशासन कायम गर्न तथा सीमित स्रोतसाधनलाई प्रभावकारी रुपमा परिचालन गर्न सो निर्णय भएको पत्रमा उल्लेख गरिएको छ । मन्त्रालयका उपसचिव जयकुमार राउतद्वारा जारी सो पत्रमा अत्यावश्यक सेवा प्रवाह, विकास निर्माणका चालु आयोजना तथा प्राथमिकता प्राप्त योजनामा कुनै असर नपर्ने गरी खर्च व्यवस्थापन गर्न निर्देशन दिइएको छ । आवश्यकताबाहेक सवारीसाधन प्रयोग नगर्न, इन्धन तथा खर्च घटाउन तथा र्ममतसम्भारमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका अनुसार खर्च कटौतीसम्बन्धी जारी भएको विषयमा खर्चको पालना भएको वा नभएको सम्बन्धमा अनुगमन गरिनेछ । त्यस्तो पालना नगर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही हुने बताइएको छ ।

जुम्लामा स्याउ बगैँचा व्यवस्थापनबारे घुम्ती शिविर

जुम्ला । जिल्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कृषि विकास कार्यालयले यहाँका आठवटै स्थानीय तहमा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनासम्बन्धी पालिका स्तरीय घुम्ती तालिम सञ्चालन गरेको छ । चन्दननाथ नगरपालिकासहित तिला, हिमा, पातारासी, सिंजा र कनकासुन्दरी गाउँपालिका भित्रका स्याउ किसानका बगैँचामा पुगेर बगैँचा काँटछाँट तथा स्याउ व्यवस्थापनको किसानलाई घुम्ती तालिम दिइएको हो । यो याममा स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्नका लागि कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लाका आठवटै स्थानीय तहका स्याउ किसानका बगैँचामा पुगेर जानकारी दिनेदेखि प्राविधिक सहयोग सिकाउन कृषि प्राविधिक लागिपरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार गुठीचौर र तातोपानी गाउँपालिका किसानलाई उक्त तालिम दिनका लागि सबै प्रक्रिया अघि बढिसकेको छ । किसानलाई बगैँचा काँटछाँट तथा उपयुक्त स्याउ व्यवस्थापन गर्नेसम्बन्धी प्रभावकारी ज्ञान नहुँदा समस्या हुँदै आएकाले तालिम दिइएको प्रमुख अधिकारीले बताए । कार्यालयले यहाँका सबै स्थानीय तहमा कृषि प्राविधिक खटाएको छ । स्याउ किसानलाई राम्रोसँग बगैँचा काँटछाँट तथा व्यवस्थापन गर्न सिकाउनेदेखि थप प्राविधिक ज्ञान दिने गरेको कार्यालय प्रमुख अधिकारीले बताए । कृषि विकास कार्यालयबाट प्राविधिकले बगैँचामा पुगेर स्याउ काँटछाँट गर्न सिकाउँदा यहाँका किसानलाई निकै राहत पुगेको तिला गाउँपालिका स्याउ किसान नौसेर रोकायाले बताउनुभयो । अहिले कृषि प्राविधिकबाट बगैँचा काँटछाँट तथा व्यवस्थापन गर्न किसानलाई थप प्राविधिक ज्ञानबारे जानकारी दिएकाले सहज भएको यहाँका स्याउ किसान बताउँछन् । “पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैँचा काँटछाँट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग जानेका छैनन् । सहज खेतीका लागि प्रोत्साहन गर्ने उद्देश्यले तालिम उपलब्ध गराएका हौँ”, प्रमुख अधिकारीले भने । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउ खेतीमा संलग्न छन् । जिल्लामा कुल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर रहेको कार्यालयले जनाएको छ । त्यसमध्ये स्याउ खेती गरिने क्षेत्रफल आव २०८१र८२ मा चार हजार ३२५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४४५ हेक्टर पुगेको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । चालु आवमा दुई हजार १२५ हेक्टरमा मात्रै स्याउ फलेको छ । पछिल्लो समय जिल्लामा स्याउ खेती गर्ने किसान बढ्दै गएका छन् । आव २०८१/८२ मा स्थानीय जातका र उच्च घनत्व (फुजी) स्याउको कूल उत्पादन आव २० हजार ५१२ मेट्रिकटन भएको थियो । चालु आवमा उत्पादन घटेर १८ हजार २४५ मेट्रिकटन भएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ । जिल्लामा हाल ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा उच्च घनत्वको स्याउ उत्पादन हुने गरेको छ । यो वर्ष जिल्लामा ५८६ मेट्रिकटन उच्च घनत्व जातको स्याउ उत्पादन भएको छ । जिल्लामा हाल उत्पादित स्याउका जातहरूमा रेडडेलिसियस, रोयलडेसियस, गोल्डेन, डेलिसियस, रिचारेडरजनाधन रहेका कृषि विकास कार्यालयले जनाएको छ ।

माैसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागमा  साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहनेछ।  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ।  कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा विक्रीवितरण नियमित भइरहेकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । निगमले विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक मात्रै ग्यासको खरिद गर्न तथा अनावश्यक सञ्जिती नगर्न आग्रह गरेको हो । आसन्न आमनिर्वाचनलाई मध्यनजर गर्दै ग्यासको बढीभन्दा बढी आयात गर्न फ्रेबुअरी महिनाको निर्धारित कोटामा दुई हजार मेट्रिक टन थप गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । हाल दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा आयात भइरहेको उनले बताए। काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने करिब २३ मध्ये केही ग्यास उद्योगले दैनिक करिब ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइरहेका निगमले जनाएको छ ।

धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवको निधन

काठमाडौं । धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवको निधन भएको छ । मेयर यादवको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो । गत शुक्रबार राति आफ्नै निवासमा रहँदा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि जनकपुरस्थित न्युरो अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।  २०७९ सालको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट नगरप्रमुखमा निर्वाचित भएका थिए ।

आज बिहानै ताप्लेजुङमा ४ म्याग्निच्युडको भूम्कम्प

काठमाडौं । ताप्लेजुङमा आज बिहान भूकम्प गएको छ । ताप्लेजुङको कञ्चनजंगा आसपास केन्द्र बनाएर बिहान २ः४७ बजे भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४ म्याग्निच्युडको भूम्कम्प गएको हो । 

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।  निर्वाचन आयोगका अनुसार सोमबारसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको छ ।  आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङको मतपत्र छपाइ भएको बताए ।  डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, संखुुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मीको मतपत्र छाप्ने काम सकिएको छ ।  झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । यी जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि भइसकेको छ ।  हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको थियो ।  पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ । पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ ।  प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो ।

दाङमा अति संवेदनशील मतदानस्थलको अनुगमन

दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला सुरक्षा समितिले सोमबार पश्चिम दाङका अति संवेदनशील दुईसहित चार वटा मतदानस्थलको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको नेतृत्वमा गएको टोलीले अति संवेदनशील तुलसीपुर उपमहानगरपालिका–३ को मावि प्रतापकोट, शान्तिनगर गाउँपालिका–१ राप्ती मावि पेदीखोला, तुलसीपुर उपमहानगरपालिका–९ स्थित मावि दोघरे र शान्तिनगर गाउँपालिकाको बिपी मावि बयालेमा रहेको मतदानस्थलको अनुगमन गरेको हो । अनुगमनका क्रममा टोलीले मतदानस्थलको भौगोलिक अवस्था, सुरक्षाको जोखिम, यातायात, सञ्चार, खानेपानीलगायत विषयमा जानकारी लिएको छ । केही दिनअघि सुरक्षा समितिले अति संवेदनशीलको सूचीमा रहेका बबई गाउँपालिका–१ मा पर्ने सरस्वती मावि गङ्गटे, जनता मावि ज्युला र जनकल्याण आधारभूत विद्यालय भाङबारीको पनि अनुगमन गरिसकेको छ । अनुगमन टोलीमा नेपाली सेनाका प्रमुख सेनानी सन्तोष थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दीपक श्रेष्ठ, सशस्त्र प्रहरी दाङका प्रहरी उपरीक्षक यदुकुमार कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय दाङका प्रमुख ओम खड्का, सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी, दाङ निर्वाचन क्षेत्र नं ३ का अधिकृत चन्द्रबहादुर सिञ्जालीलगायत सहभागिता थियो । निर्वाचन अधिकृत सिञ्जालीका अनुसार निर्वाचन क्षेत्र नं ३ मा ५६ मतदानस्थल र १६९ वटा मतदान केन्द्र छन् । तीमध्ये पाँच वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।

आज सिंगापुर डलर एकको खरिददर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ ।       युरोपियन यूरो एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९८ रुपैयाँ १३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २० पैसा र बिक्रीदर १०६ रुपैयाँ ६४ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ १४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ दुई पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६२ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६ रुपैयाँ १८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०२ पैसा र बिक्रीदर २३ रुपैयाँ ११ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ ।  बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९९ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ४४ र बिक्रीदर ३७८ रुपैयाँ रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।       राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

प्रचण्डद्वारा डा.बाबुरामका पिता भोजप्रसाद भट्टराईप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाक्टर बाबुराम भट्टराईका दिवंगत पिता भोजप्रसाद भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएकाे छ । स्व. भट्टराई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा नेता शिव भट्टराई तथा पार्वती भट्टराईका पिता, साथै पूर्व मन्त्री हिसिला यमि र नेकपा केन्द्रीय सदस्य दुर्गा भट्टराईका प्रातःस्मरणीय ससुरा बुवा हुनुहुन्थ्यो। श्रद्धाञ्जली सभामा सहभागी हुँदै संयोजक प्रचण्डले स्व. भट्टराईको योगदानको स्मरण गर्दै उहाँप्रति उच्च सम्मान व्यक्त गर्नुभयो । उहाँले भट्टराई परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ। राजनीतिक व्यस्तताबीच पनि दुःखको घडीमा सहकर्मी र सहयात्री परिवारप्रति आत्मीय रूपमा उपस्थित हुनु संयोजक प्रचण्डको मानवीय संवेदनशीलता र जिम्मेवार नेतृत्वको उदाहरण भएको सहभागीहरूको भनाइ छ।

पाँचथरको जनआवाज : हर्कबहादुर नेम्वाङ ‘मिक्सो’

पाँचथर । पाँचथरको राजनीति बुझ्ने जो–कोहीका लागि ‘मिक्सो’ नाम कुनै नारा वा पोस्टरको उपज होइन। यो नाम संघर्ष, निरन्तरता र जनतासँगको सम्बन्धबाट बनेको पहिचान हो। हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विगत २७ वर्षदेखि पाँचथरका गाउँ–बस्ती, डाँडा–पाखा र चोक–चौतारामा जनतासँगै देखिँदै आएका नेता हुन्। संसद्को प्रतिस्पर्धामा उनी नयाँ अनुहार देखिए पनि राजनीतिक यात्रामा भने अनुभवी, खारिएको र व्यवहारिक नेतृत्वका रूपमा परिचित छन्। मिक्सोको राजनीतिक जीवन जनयुद्धको कठिन समयबाट सुरु भएको हो। राज्यसत्तासँगको टकराव, भूमिगत संघर्ष र संगठन विस्तारको जिम्मेवारीका बीच उनले राजनीतिको कडा पाठ सिके। आन्दोलनकै क्रममा गम्भीर घाइते हुँदा पनि पछि नहट्नु उनको संघर्षशील स्वभावको उदाहरण हो। यो अनुभवले उनलाई राजनीतिक रूपमा मात्र होइन, मानवीय रूपमा पनि परिपक्व बनायो। त्यसैले उनी राजनीतिलाई पद र प्रतिष्ठाको साधनभन्दा जनसेवाको माध्यमका रूपमा बुझ्छन्। जनयुद्धपछि शान्ति प्रक्रियामा प्रवेश गर्दा धेरै नेता सहर र केन्द्रतर्फ केन्द्रित भए। तर मिक्सो भने पाँचथरमै अडिग रहे। पार्टी संगठन निर्माण, कार्यकर्ता व्यवस्थापन र जनतासँग सम्बन्ध सुदृढ बनाउनु उनको प्राथमिकता रह्यो। विद्यालयको भवनदेखि खानेपानीको धारा, सिँचाइ कुलोदेखि सडक ट्र्याकसम्मका विषयमा उनी निरन्तर पहलकर्ताको भूमिकामा देखिए। यही निरन्तरताले उनलाई ‘चुनावमा मात्र देखिने नेता’ होइन, ‘सधैं साथ दिने नेता’को छवि दियो। २०७४ पछिका वर्षहरूमा पाँचथरमा देखिएको विकाससँग मिक्सोको नाम स्वाभाविक रूपमा जोडिन्छ। तमोर करिडोरका लागि ६ अर्ब रुपैयाँ बजेट सुनिश्चित हुनु केवल एउटा आयोजना मात्र होइन, पाँचथरको आर्थिक भविष्यसँग जोडिएको निर्णय थियो। शिवालय–गोरुवाले सडक, साना पुल निर्माण, खानेपानी आयोजना र सिँचाइ कुलो विस्तारजस्ता कार्यक्रमले ग्रामीण जीवनमा प्रत्यक्ष परिवर्तन ल्याएका छन्। प्राकृतिक विपद्ले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माणमा उनको पहल स्थानीयले आज पनि स्मरण गर्छन्। मिक्सोको नेतृत्वको विशेषता भाषणको चमक होइन, कामको प्रभाव हो। उनी सभा र मञ्चभन्दा बढी गाउँको आँगन, खेतको डिल र स्वास्थ्य चौकीको कोठामा देखिन्छन्। बिरामीको उपचारका लागि अस्पतालसम्म पु¥याउने, विपद्का बेला राहत व्यवस्थापनमा खटिने र सामान्य नागरिकका प्रशासनिक समस्यामा समेत प्रत्यक्ष हस्तक्षेप गर्ने शैलीले उनलाई जनमुखी नेताका रूपमा स्थापित गरेको छ। यही कारण पार्टी कार्यकर्तामात्र होइन, फरक राजनीतिक धारणा राख्ने नागरिक पनि उनलाई भरोसायोग्य नेता मान्छन्। हाल उनी नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। पार्टीभित्र उनको संगठनात्मक क्षमता, अनुशासन र समन्वय कौशललाई उच्च मूल्याङ्कन गरिन्छ। पार्टी केन्द्रका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत उनको कार्यशैली र निष्ठाको खुलेर प्रशंसा गरेको बताइन्छ। प्रदेश सरकारमा इन्द्रबहादुर आङ्बो ‘मौसम’को नेतृत्वमा सुरु भएका विकास कार्यक्रमलाई संघीय तहबाट निरन्तरता दिन सक्ने उम्मेदवारका रूपमा मिक्सोलाई हेरिएको छ। मिक्सोको राजनीतिक दृष्टिकोण वर्तमानमा सीमित छैन। उनी पाँचथरको भविष्यलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँग जोडेर हेर्छन्। कृषि आधुनिकीकरण, स्थानीय स्रोतको उपयोग, पर्यटन प्रवर्द्धन र युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने उनको सोच आजको पुस्तासँग मेल खान्छ। जेनेरेसन–जीको भावना बुझ्ने, युवाको ऊर्जा र वृद्धको अनुभवलाई जोड्ने उनको शैलीले उनलाई बदलिँदो राजनीतिक परिवेशमा सान्दर्भिक बनाएको छ। पाँचथरमा हाल तीव्र राजनीतिक प्रतिस्पर्धा छ। तर २७ वर्षको निरन्तर जनसम्पर्क, विकाससँग जोडिएको नाम, जनसेवामूलक राजनीति र केन्द्र–प्रदेश–स्थानीय तहबीच समन्वय गर्न सक्ने क्षमताले हर्कबहादुर नेम्वाङ ‘मिक्सो’लाई बलियो दाबेदार बनाएको छ। संसद् पुग्ने अवसर पाउँदा पाँचथरको आवाजलाई संघीय नीतिनिर्माणको केन्द्रसम्म पुर्‍याउने उनीप्रति जनअपेक्षा बढ्दो छ। राजनीतिमा धेरैले नारा दिन्छन्, केहीले मात्र निरन्तरता देखाउँछन्। मिक्सो त्यही निरन्तरताको प्रतीक हुन्। सत्ता र पदभन्दा जनताको भरोसालाई मूल्य दिने उनको राजनीतिक यात्रा आज पाँचथरको भविष्यसँग गाँसिन थालेको छ। यही कारण उनी केवल उम्मेदवार होइनन्, पाँचथरको भरोसाको राजनीति बनेका छन्। पाँचथरमा कुल १ लाख ४३ हजार ४०८ मतदाता रहेका छन्। १०२ मतदान स्थल र १७९ मतदान केन्द्रमार्फत मतदान हुने छ। १५ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि सबै पुरुष उम्मेदवार मात्र हुनु विशेष चर्चाको विषय बनेको छ। विभिन्न दलबीच प्रतिस्पर्धा रहे पनि संगठनात्मक तयारी, विकाससँग जोडिएको छवि, जनसम्पर्क र अनुभवका आधारमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’को स्थिति बलियो देखिएको स्थानीय विश्लेषकहरूको भनाइ छ।

विचार र सिद्धान्तविहीन लोकप्रियतावादबाट लोकतन्त्र तथा समाजवादमाथि निरन्तर प्रहार: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार र सिद्धान्तविहीन लोकप्रियतावाद (पपुलिज्म) ले लोकतन्त्र तथा समाजवादमाथि निरन्तर प्रहार गरिरहेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले सामाजिक सञ्जालमा आधारित ‘स्टन्ट’ र सतही लोकप्रियतावादलाई अन्तर्राष्ट्रिय साम्राज्यवाद तथा भूराजनीतिक चलखेलको नेपाली संस्करणका रूपमा चित्रण गर्नुभयो । उहाँले विचार, राजनीतिक सिद्धान्त, इतिहास तथा विरासत नभएका शक्तिहरूले सोसल मिडियामा फण्डा र स्टन्ट गरेर मात्रै जनताको मन जित्ने प्रयास गरिरहेको बताउँदै यसले लोकतन्त्र र समाजवादलाई कमजोर बनाउने खतरा रहेको औंल्याउनुभयो । प्रचण्डले भन्नुभयो, “विचार, राजनीति, सिद्धान्त, इतिहास, विरासत भए पनि नभए पनि सोसल मिडियामा स्टन्ट गरेकै भरमा पपुलिजम वा लोकप्रियतावाद विश्वभरि साम्राज्यवादले विभिन्न देशमा फैलाएको छ । नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेनालाई रिपिट गरेर लोकतन्त्र र समाजवादमाथि प्रहार गर्ने प्रयास भइरहेको छ । यो भूराजनीतिक चलखेलको हिस्सा हो ।” उहाँले आफ्नो पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई गणतन्त्र, सङ्घीयता र उत्पीडित वर्गको अधिकारका लागि लड्ने सबैभन्दा ‘नयाँ’ तथा वैज्ञानिक विचारधाराले युक्त शक्तिका रूपमा प्रस्तुत गर्नुभयो । ‘जेन-जी’ (Generation Z) आन्दोलन र त्यसबाट सिर्जित विशेष परिस्थितिलाई सम्बोधन गर्न देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै प्रचण्डले वामपन्थी, समाजवादी तथा देशभक्त शक्तिहरूलाई एकताबद्ध गरेर २६ वटा साना–ठूला दल तथा समूहहरूको एकताबाट यो पार्टी निर्माण गरिएको बताउनुभयो । (नोट: पार्टी एकता घोषणा २०८२ कात्तिकमा विभिन्न ८–१० दलहरूबाट भएको थियो, जसलाई क्रमशः विस्तार गर्दै लगिएको सन्दर्भमा २६ को सङ्ख्या उल्लेख भएको हुन सक्छ ।) आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उहाँले निर्वाचन नै जनतामा जाने र युवाका मागहरू सम्बोधन गर्ने सबैभन्दा उत्तम माध्यम भएको जिकिर गर्नुभयो । नयाँ जनअनुमोदित प्रतिनिधिसभाले मात्रै राष्ट्रिय सङ्कटको सामना गर्न सक्ने र पार्टी ‘तारा’ चिह्नसहित पूर्ण रूपमा तयार रहेको उहाँको उद्घोष थियो । कार्यक्रममा प्रचण्डले वाम एकताको महत्वलाई जोड दिँदै युवा पुस्ता तथा क्रान्तिकारी शक्तिहरूलाई समाजवादी संरचना निर्माणमा जुट्न आह्वान पनि गर्नुभयो । यो सम्बोधनलाई निर्वाचन पूर्व राजनीतिक ध्रुवीकरण र नयाँ दलहरूविरुद्ध नेकपाको वैचारिक आक्रमणका रूपमा हेरिएको छ

एमाले परित्याग गरी दर्जनौँ नेता–कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले परित्याग गरी नेकपामा प्रवेश गर्ने नेता–कार्यकर्ताहरूको स्वागत गर्नुभएको छ ।  काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ द्वारा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उहाँले प्रतिक्रियावादी धार, अवसरवाद र जनविरोधी राजनीतिबाट आजित भएकाहरू क्रान्तिकारी धारमा फर्किन थालेको दाबी गर्नुभयो । कार्यक्रममा एमाले खेलकुद विभागकी सदस्य रेनुका श्रेष्ठ, बिमला ग्यावाली, व्यवसायी, अधिवक्ता सबिना वाग्ले, नेकपा बहुमत निकट क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय संयोजक जीवन हमाललगायत दर्जनौँ नेता–कार्यकर्ताले एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । संयोजक प्रचण्डले नवप्रवेशीहरूलाई पार्टीको झण्डा ओढाउँदै औपचारिक रूपमा स्वागत गर्नुभयो । संयोजक प्रचण्डले एमाले नेतृत्व जनताको पक्षभन्दा सत्ताकेन्द्रित र व्यक्तिवादी राजनीतिमा अल्झिएको टिप्पणी गर्दै भन्नुभयो, “आज एमालेभित्र जनताको मुद्दा हराउँदै गएको छ । विचार र सिद्धान्तभन्दा पद, शक्ति र स्वार्थ हाबी हुँदा क्रान्तिकारी कार्यकर्ताहरू वैकल्पिक बाटो खोज्न बाध्य भएका छन् ।” उहाँले खेलकुद, पेशागत क्षेत्र, पत्रकारिता र बौद्धिक समुदायबाट भएको पार्टी प्रवेशले नेकपाको जनआधार थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । “आजको प्रवेश केवल पार्टी परिवर्तन होइन, जनताको पक्षमा उभिने वैचारिक पुनःसंयोजन हो,” प्रचण्डको भनाइ थियो । कार्यक्रममा नवप्रवेशी नेताहरूले एमाले नेतृत्वले जनआकाङ्क्षा र संगठनात्मक लोकतन्त्रको उपेक्षा गरेपछि बाध्य भएर नेकपा रोजेको बताएका थिए । उनीहरूले समाज रूपान्तरण, सुशासन र वर्गीय मुक्तिको अभियानमा नेकपासँगै दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । वृहत् पार्टी प्रवेश कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, समर्थक र नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।