राष्ट्रिय सभा बैठकमा आज यस्तो कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र जानकारी गराउने सम्भावित कार्यसूची छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नेछन्। गत वैैशाख १६ र १७ गते भएको लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यो अध्यादेश जारी गरेका थिए।

कांग्रेस संसदीय दलको बैठक बस्दै, देला त संसद् चल्न ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको छ । बैठक आज बिहान साढे ८ बजेका लागि बोलाइएको छ।  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकले पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ। कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ। यसअघि बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो। पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बिहीबारको बैठक स्थगित गरिएको थियो।

देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।  हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरी सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश र बागमती  प्रदेश लगायत देशको पहाडी भू(भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

कोसीका मुख्यमन्त्री कार्कीले लिए शपथ, मन्त्रिपरिषद्‌मा दुई मन्त्री नियुक्त

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।‌ प्रदेश प्रमुख परशुराम खापुङले उनलाई शपथ गराएका हुन्।  एमाले संसदीय दलका नेता कार्कीलाई बिहीबार प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।‌ उनलाई समर्थन गर्ने ५२ जना सांसदले सनाखत गरेका थिए। मुख्यमन्त्री कार्कीले बिहीबार नै मन्त्रिपरिषद् विस्तार गरेका छन्। एमालेबाट रामबहादुर मगर र माओवादी केन्द्रबाट गणेश उप्रेती लाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । मगर इलाम र उप्रेती मोरङबाट निर्वाचित सांसद हुन्। दुई दलले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरी वैशाख ७ गते प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गरी विश्वासको मत लिन भनेका थिए।‌ तर, कार्कीले संकल्प प्रस्तावको संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै विश्वासको मत लिएनन्। उनले सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई बङ्गुरको पाठा वितरण

चितवन।  भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रमलाई तीव्र पारेको छ । २०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो बर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी दिइन्। अभियानकै क्रममा बिहीबार पनि भरतपुर महानगरपालिका–२८  का जागृति कोशिस कृषक महिला समुहका २० जनालाई बङ्गुरका पाठा वितरण गरिएको हो। निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न ८४ वटा पाठा वितरण गरिएको हो । जसमध्ये ४ वटा बङ्गुरको भाले पाठा वितरण गरिएको हो। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो । यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ । भरतपुर महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष दण्डपाणि रिजालले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बंगुर वितरण गरिएको बताइन्। उनले बंगुरलाई ५ गुणाले वृद्धि गर्न सुझाव पनि दिइन्। बंगुरको पाठा पाएपछि समूहकी सदस्या मिना बोटेले महानगरले बंगुर दिएर व्यवसायीक कृषक बनाउनतर्फ अग्रसर गरेकोमा खुसी व्यक्त गरिन् । निर्वाहमुखी कृषि कर्म गर्ने कृषकलाई महानगरको यो सहयोगले जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास मेयर दाहालले व्यक्त गरिन् । आगामी दिनमा पनि महानगरले यस्ता कार्यक्रम ल्याएर अति विपन्न परिवारलाई जीविकोपार्जन गर्न प्रोत्सहान गर्नुपर्ने उनको भनाइ छ । बंगुरका पाठा पाउनेहरु बोटे र दलित समुदायका रहेका छन् ।  

जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्छ : प्रमुख रेनु दाहाल

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्ने बताएकी छिन्।भरतपुर वडा नम्बर २५ ले आयोजना गरेको जेष्ठ नागरिक र एकल महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले जेष्ठ नागरिकसँग रहेका राम्रा ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्न सके जेष्ठ नागरिकप्रतिको सम्मानमा कमी नआउने उल्लेख गरेकी हुन् ।  कार्यक्रममा वडा नम्बर २५ का ३०० जनाभन्दा बढी जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरिएको थियो । हिजोका दुःख संघर्ष अहिलेका पीडिले थाहा नपाउदा अहिलेको पुस्ताले जेष्ठ नागरिकलाई गर्ने सम्मानमा कमी आएको उनको भनाइ थियो । आगामी दिनमा जेष्ठ नागरिकलाई आदार सम्मान गरी पालपोषण गर्ने छोरा बुहारी, छोरा छोरीलाई यस्तै कार्यक्रम आयोजना गरी सम्मान गर्नुपर्नेमा जोड दिइन् । नेपालमा पनि बुवा–आमालाई अहिले पनि भगवानकै ठाँउमा राखेर पुज्नेहरु छन्–मेयर दाहालले भनिन् ।  तर, केही व्यक्तिहरुले भने वृद्धि बुवा–आमालाई वृद्धआश्रममा गएर छाड्ने परिपाटी दुखद भएको बताइन् । बुवा–आमालाई हामीले सम्मान दिएनौ भने हाम्रा सन्ततीले त्यही सिको गर्ने उनको भनाई थियो । ‘मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत १६ हजार बढी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण भएको छ,उनले भनिन्,‘अब घर–घरमै पुगेरसम्बन्धित रोगको औषधि वितरण गर्नेछौ । यो नै महानगरको जेष्ठ नागरिकप्रतिको सम्मान हो ।’ जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनको विकास गर्न जरुरी रहेको उनले बताइन्।जेष्ठ नागरिकको सम्मानको लागि महानगरपालिकाले नीतिगत निर्णय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाएको मेयर दाहालले उल्लेख गरिन्। बुवा–आमालाई हेला–होचो गर्ने अवस्थालाई न्युनिकरण गरी सबै घरमा खुसीयाली ल्याउन महानगरपालिकाले प्रयास गरिरहेको उनले औल्याइन् । समाजमा देखिएका गलत सोच र विकृतिलाई निरुत्साहित गर्दै सुन्दर र सुसंस्कृत सहर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने प्रमुख दाहालको भनाई थियो । कार्यक्रममा भरतपुर २४ नम्बरका अध्यक्ष रामु गोदार, वडा नम्बर २५ का अध्यक्ष छविलाल सापकोटा, प्रभात माविका प्रधानध्यापक होमनाथ भण्डारीले मन्तव्य व्यक्त गरेकी थिइन्।  

जसपा स्थिरताको कारक बन्छ : अध्यक्ष राई

काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफ्नो पार्टी स्थिरताको कारक बन्ने बताएका छन्।काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सरकारलाई अस्थिरतातर्फ लैजान नहुने बताए। अध्यक्ष राईले गैरकानूनी ढंगले नवगठित जसपा दर्ता भएको भन्ने लागेमा अदालत जाने बाटो सबैलाई खुला रहेको बताए।सैद्धान्तिक, राजनीतिक, शैलीगत, नीतिगत कुरामा मत भिन्नताले जसपा नेपाल विभाजन भएको उनको धारणा थियो । ‘मुलुक अस्थिरताको सिकार बनेको छ। त्यो अवस्था रहनु हुँदैन, हामी त्यसैकारण अस्थिरताको कारक बन्दैनौं भनेका छौं,’ उनले भने।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमा स्वेच्छाचारिता हाबी भएको आरोप लगाए ।

चिरिबाबुले उद्घाटन गरे स्नान कक्षसहितको स्मार्ट शौचालय

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन गरेका छन् ।ललितपुरको जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको अत्याधुनिक शौचालयको उद्घाटन गरेका हुन् । मेयर महर्जनले अहिलेसम्म तीन वटा स्मार्ट शौचालय बनाएको बताए। उनले शुल्कबाट सञ्चालित हुने शौचालय ललितपुरका मंगलबजार, पाटन ढोका र जावलाखेलमा बनाएको उनले बताए। शौचालय बनाएपछि त्यसको वरिपरि दुर्गन्ध हुन्छ भन्ने धारणालाई आफूहरूले चिरेको बताउँदै अब थप शौचालय बनाउँदा यस्तो कुरा नआउने बताए । यी शौचालयमा एक स्नान कक्ष समेत रहेको महर्जनले बताए। स्नान कक्षमा महिला र पुरुषको लागि अलग अलग रुम रहेको र सबै सुविधा उपलब्ध रहेको बताइएको छ। अत्याधुनिक शौचालयमा स्वचालित फल्स, सेन्सरजडित हात धुने स्थान, स्वचालित धारा, स्मार्ट हात सुकाउने व्यवस्था, सेन्सरयुक्त बत्तीहरूको सुविधा रहेको छ।

वाग्मती प्रदेशसभाको अधिवेशन वैशाख ३१ मा

हेटौँडा । वाग्मती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।   यस्तै मन्त्रिपरिषद्को बैठकले हात्तीसुरे, शिखरपुर र अम्बासे मकवानपुर सडकखण्ड स्तरोन्नति गर्न ९६ रुख कटान गर्ने र मकवानपुरमा रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको कार्यालय भक्तपुरमा स्थान्तरण गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिए। बैठकले वाग्मती प्रदेश नीति तथा योजना आयोगमा दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने तथा नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० को पहिलो संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ।   यस्तै, लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण मापदण्ड, २०८१ स्वीकृत गर्ने, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् स्थापना हुने स्थान, संगठन तालिका, दरबन्दी, कार्य विवरण, छाप र साइन बोर्ड स्वीकृत गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए। बैठकले खरको छानोमुक्त वाग्मती प्रदेश कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ। रासस

प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् । दलका प्रमुख सचेतकलाई उनले आज बेलुका ५ बजे सिंहदबारस्थित आफ्नो कार्यकक्षमा बोलाएका छन् । संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न सभामुख घिमिरेले सिंहदरबारमा बोलाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिए । सहकारीको बचत हिनामिना प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित राप्रपाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएका छन्। संसदीय समिति नबनाइए संसद् बैठक सञ्चालनमा अवरोध गर्ने उनीहरूको चेतावनी छ । संसद्को गतिरोध अन्त्यको प्रयासस्वरूप यसअघि सभामुखले प्रमुख दलका शीर्ष नेताहरूसित छलफल गरेका थिए ।

स्व.नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकले नेता गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै दिवङ्गत आत्माको चीरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। कांग्रेसले स्व गुरुङप्रति सम्मान प्रकट गर्दै बैठकले शोक कार्यक्रमअन्तर्गत वैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका हुन् । सरकार गठनको आह्वानविरुद्ध स्वतः कामचलाउ भएका मुख्मन्त्री केदार कार्की सर्वोच्च अदालत जाँदैछन् । प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए।  मुख्यमन्त्रीलाई समर्थन गर्ने ५२ जना सांसदको आजै हस्ताक्षर सनाखत गर्ने तयारी छ । सनाखतपछि कार्कीले नियुक्ति पाउनेछन् ।

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित भएको हो । संविधानसभा सदस्य समेत रहेका गुरुङको यही वैशाख २५ गते निधन भएको थियो । गुरुङको अन्त्येष्टि संस्कार आज हुने भएपछि कांग्रेसले शुक्रबार बिहान ८ः३० बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी स्थगित भएको नेपाली कांग्रेस संसदीय दल सचिवालयले जानकारी दिएको छ ।

भरतपुर मेयर कप फुटबल लिगको तयारी पुरा

चितवन । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगको तयारी पुरा भएको छ ।  मेयर कपको सह आयोजक तथा प्राविधिक सहयोगी संस्था चितवन जिल्ला फुटबल संघले तयारी पुरा भएको जानकारी दिएको हो । मेयर कप फुटबल भोलि (शुक्रबार) देखि सुरु हुँदैछ । प्रतियोगिताको शुक्रबार भरतपुर ७ कृष्णपुरस्थित मिनी रंगशालामा भव्य कार्यक्रमका बीच उद्घाटन हुँदैछ । कृष्णपुरमा अस्थायी प्याराफिट पनि थप गरिएको छ ।     जेठ १९ गतेसम्म चल्ने प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन् । सहभागी २४ विद्यालयलाई ६ समूहमा विभाजन गरिएको छ ।  सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । ६ समूहबाट समूह विजेता मध्ये उत्कृष्ट चार विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्नेछन् ।बाँकी २ समूह विजेता र ६ समूह उपविजेता गरी ८ टोली प्रिक्वाटरफाइनल प्रवेश गर्नेछ ।   लिगको उद्घाटन खेलमा समूह ए का स्टेप बाई स्टेप इङ्ग्लिश बोर्डिङ स्कुल र ओम शान्ति एकेडेमी भिड्नेछन् । खेल दिउँसो दिउँसो ४ः३० बजे सुरु हुनेछ । कृष्णपुरसँगै भरतपुर–१९ स्थित शारदानगर मावि शारदानगर र भरतपुर २४ पटिहानीस्थित अमर माविको मैदानमा खेलहरु हुनेछन् । लोगो अनावरण तथा खेल सामग्री वितरण भरतपुर मेयर कप फुटबल लिगको लोगो अनावरण गरिएको छ । बुधबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच प्रतियोगिताको लोगो अनावरण गरिएको हो । सोही कार्यक्रमकाबीच प्रतियोगितामा सहभागी हुने विद्याल्य तथा प्रशिक्षकलाई खेल सामग्री हस्तान्तरण गरिएको छ । मुख्य प्रायोजक संस्था सेन्ट्रल कलेजले महानगरपालिकासँग भएको सम्झौता अनुसार नै खेल सामग्री सहयोग गरेको हो । महानगर प्रमुख रेनु दाहाल र सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास ९वाइबी० पौडेलले संयुक्त रुपमा स्कूलका प्रतिनिधि र प्रशिक्षकलाई खेलकुद सामाग्री हस्तान्तरण गरे ।  यस्तै भरतपुर महानगरपालिका र एफसी चितवनबीच पनि बुधवार सम्झौता भएको छ । एफसी चितवनले लिगमा सहभागी हुने खेलाडीहरुको बीमा गरिदिने सम्झौतामा उल्लेख छ ।    सो मेयर दाहालले भरतपुर खेलकुदको हब बन्दै गएको पुष्टि गरेको बताईन् । खेलाडि उत्पादनका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो । यस्तै उनले आगामी वर्ष भलिवललगायत अन्य खेललाई पनि समेट्ने बताईन् ।  चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्कीले ग्रासरुटदेखि नै फुटबल बिकासका लागि यो लिग महत्वपूर्ण कदम हुने बताए । होम एण्ड अवेको आधारमा नेपालमा नै पहिलो पटक यस किसिमको स्कुल लिग आयोजना गरिएको उनको भनाइ थियो । सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेलले सेन्ट्रल कलेजले खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग गरिरहेको बताए । स्कुलस्तरका खेलाडीलाई खेल्ने अवसर प्रदान गर्नका लागि लिग आयोजना गरिएकोले यसमा आफ्नो संस्था जोडिएको उनको भनाइ थियो । फुटबलमा स्कुल स्तरदेखि नै खेलाडीलाई अवसर दिन सके भविष्यमा राम्रो नतिजा आउन सक्ने उनले विश्वास व्यक्त गरे ।        

सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै कोशीका मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान गरिएकोविरुद्ध मुख्यमन्त्री केदार कार्की कानूनी प्रक्रियामा जान लागेका छन्‌। सरकार गठन आह्वान असंवैधानिक भएको दाबी गर्दै कार्की सर्वोच्च अदालत जान लागेका हुन्‌। प्रदेश प्रमुख परशुराम खापुङले बुधबार बेलुकी प्रदेशमा सरकार गठन निम्ति दावी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले सरकार गठनका लागि गरेको आह्वान असंवैधानिक भएको भन्दै मुख्यमन्त्री कार्की अन्तरिम आदेश माग गर्न काठमाडौं आउँन लागेका हुन् । उनले आजै सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गर्ने तयारी गरेका हुन्‌ । मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार कार्की अदालत खुलेसँगै सर्वोच्चमा मुद्दा दर्ता गर्ने तयारीमा छन् । यता एमाले-माओवादीको गठबन्धले आजै नयाँ सरकार गठनका निम्ति दाब पेश गर्ने भएका छन्। बिहान ११ बजे प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने तयारी रहेको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले जानकारी दिएका छन्‌ ।एमालेका ३९ र माओवादी केन्द्रका १३ सहित ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित नयाँ सरकार गठन निम्ति दाबी पेश गर्ने कार्कीले बताए। एमाले-माओवादी गठबन्धनले एमाले संसदीय दलका नेता समेत रहेको हिक्मत कार्कीलाई प्रदेशको छैटौँ मुख्यमन्त्री बनाउन दाबी पेस गर्न लागेका हुन्‌ । प्रदेश प्रमुख खापुङ आजै सांसदहरू हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्री नियुक्ति र शपथ गराउने तयारीमा छन् ।खापुङले बुधबार साँझ संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

जसपाले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं ।अशोक राईको नेतृत्वमा नयाँ गठन भएको जसपाले आज पत्रकार सम्मेलन गर्ने भएको छ । काठमाडौँको विजुलीबजारस्थित अल्फा बिटा भवनमा अपराह्न २ बजे जसपाले पत्रकार सम्मेलन आयोजना गर्ने भएको महासचिव मोहमद इश्तियाक राईले जानकारी दिएका छन् । जसपा केही दिनअघि मात्र जसपा नेपालबाट फुटेर नयाँ दल दर्ता भएको हो ।