सीमास्तम्भ नहुँदा सुस्ताको एक तिहाइ भूमि भारतको कब्जामा

पश्चिम नवलपरासी । नक्सामा नेपाल, लालपुर्जामा नेपालीको नाम तर खेतबारीमा भारतीयको जोतभोग—पश्चिम नवलपरासीको सुस्तामा सीमा विवादले यही कटु यथार्थ जन्माएको छ । सीमास्तम्भ नहुँदा भारतले सुस्ताको करिब एक तिहाइ भूभाग अतिक्रमण गरिसकेको छ भने बाँकी ठूलो हिस्सा ‘विवादित’ भन्दै वर्षौंदेखि जोतभोग गर्न रोकिएको छ ।

सीमास्तम्भको साटो सिमलको रूखलाई सीमा मानिँदा सुस्ताबासी आफ्नै भूमिमा परायाजस्तै बन्न बाध्य छन् । कुल भूभागको चार भागमध्ये एक भाग मात्रै सुस्ताबासीको अधीनमा छ । बाँकी जमिन भारतीय नियन्त्रण र विवादको चक्रमा फसेको छ ।

२०६० सालमा भारतले सीमा विवाद उठाएपछि २०६५ सालमा नवलपरासीका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्द खनालको नेतृत्वमा गएको टोली र भारतीय अधिकारीबीच सिमलको रूखलाई आधार मानेर सीमा छुट्याउने सहमति भयो । थारुटोल उत्तरपूर्वतर्फको ठूलो सिमलको रूख र दुवैतर्फका बाटोलाई सीमाको आधार बनाइएपछि रूखपारीको उब्जाउ भूमि भारतको कब्जामा गयो ।

यस सहमतिलाई भारतीय पक्षले नेपालले नै आफ्नो भूमि हस्तान्तरण गरेको अर्थमा बुझेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताए । उनका अनुसार कागजमा सीमा मिलाइए पनि सुस्ताबासीको जीवन र भविष्य गुमाइयो ।

तत्कालीन समयमा भारतीय एसएसबीको निरन्तर दबाब र दुःखका कारण लालपुर्जासहितको जमिनलाई विवादित मानी जोतभोग नगर्ने सर्तमा सिमलको रूखलाई सीमास्तम्भ मान्न बाध्य भएको प्रदेशसभा सदस्य देवकरण कलवार सन्तुले बताए ।

सिमलको रूखदेखि भारततर्फको विवादित भूमि सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँको हो । उक्त जमिनमा अहिले भारत बिहारका स्थानीयले खुलेआम खेती गरिरहेका छन् । हातमा लालपुर्जा हुँदाहुँदै आफ्नै देशको नक्साभित्रको उब्जाउ जमिन जोत्न नपाउनु सुस्ताबासीका लागि सबैभन्दा ठूलो पीडा भएको खाँले बताए ।

खाँको करिब २ बिघा जमिन सिमलको फेददेखि भारततर्फ पर्छ । यस वर्ष पनि त्यहाँ भारतीयले तोरी खेती गरेका छन् । वास्तविक धनी भने हेरेर बस्न बाध्य छन् ।

तीनतर्फ भारतको बिहार र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ताको कुल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टरमध्ये १४ हजार हेक्टर भारतको कब्जामा छ । १९ हजार ४ सय ८० हेक्टर जमिन विवादित भन्दै जोतभोगमा रोक लगाइएको छ । सुस्ताबासीले जम्मा ७ हजार ५ सय हेक्टर भूमि मात्रै प्रयोग गर्दै आएका छन् ।

रुखलाई सीमास्तम्भ मान्ने यो कस्तो नियति हो ? सुस्ताबासीले आज पनि सरकारसँग यही प्रश्न गरिरहेका छन् ।

१३ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  कीर्तिपुर नगरपालिका–१० भत्केपाटी बस्ने भारत बततिया घर भएका २० वर्षीय विकाश शर्मालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा कीर्तिपुरबाट खटिएको प्रहरीले शर्मालाई पक्राउ गरेको हो । 

निर्वाचनका लागि यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ ।  लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो ।  मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल आदि विषयमा पनि यसमा समेटिएका छन् ।  आयोगले निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’लाई सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा राखेको छ । आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले ती सामग्रीका आधारमा सरकारी र नागरिक क्षेत्रका सम्बन्धित निकाय, संस्था र व्यक्तिले नागरिक शिक्षा प्रवर्द्धन गर्न सक्नेछन् ।  फागुन १ गतेदेखि मतदाता शिक्षाको कार्यक्रमलाई पनि तीव्रता दिने आयोगको तयारी छ ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष रासायनिक मल कम आयात हुने

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा यस आवमा करिब एक लाख मेट्रिक टन मल कम आयाता गर्ने भएको छ । अन्तरराष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएकाले आयातमा कमी हुने भएको हो । सरकारले मलका लागि अनुदानस्वरूप विनियोजन गरेको रु २८ अर्ब ८२ करोडको बजेटबाट पाँच लाख ५० हजार टन मल आयात गर्ने लक्ष्य राखेको थियो । अन्तरराष्ट्रिय मूल्य वृद्धि भएपछि विनियोजित बजेट ८४ हजार टन रासायनिक मल आयातका कमी हुने मन्त्रालयले जनाएको छ । चालु आवमा चार लाख ६६ हजार मेट्रिक टन मल आयातको लागि बोलपत्र भएको छ । बोलपत्र आह्वान गरिएको मलमध्ये केही परिमाण आएको तथा केही परिमाण आयातको प्रक्रिया पूरा गरी आउने क्रममा बाटोमा छ । मल खरिद गर्न विनियोजित बजेटबाट रकम अपुग भएपछि मन्त्रालयले वैकल्पिक स्रोत खोजी गरेको भए पनि रकम जुटाउन नसकेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। देशभर बजारमा हाल मलको अभाव नरहेकाले किसानलाई खेती तथा बाली लगाउन समस्या नहुने मन्त्रालयले जनाएको छ । उनका अनुसार करिब एक लाख १५ हजार मेट मल मौज्दात छ । कृषि सामग्री कम्पनीले रासायनिक मलको करिब सत्तरी प्रतिशत हिस्सा र साल्ट ट्रेडिङ लिमिटेडले ३० प्रतिशत हिस्सा आपूर्ति तथा बिक्री गर्दै आएको छ । स्वदेशमा रासायनिक मल उत्पादन नहुँदा अन्तरराष्ट्रिय ग्लोबल बोलपत्रको माध्यमबाट अन्तरराष्ट्रिय बजारबाट खरिद गर्ने गरिएको छ । मल कलकत्ता, हल्दियालगायत स्थानबाट ल्याइने तथा देशका विभिन्न गोदामस्थल विराटनगर, वीरगञ्ज, भैरहवामा मौज्दात गरी देशभर मागको अनुपातमा आपूर्ति तथा बिक्री गरिन्छ । अन्तराष्ट्रिय बजारबाट विद्युतीय खरिद प्रणाली (इविडिङ)मार्फत आपूर्ति गर्दा प्रक्रिया लामो भएर समयमा मल उपलब्ध गराउन समस्या हुने गरेको छ । वि.सं. २०७८ को कृषिगणना अनुसार किसान परिवारमध्ये ७६ प्रतिशत किसान परिवारले धान बालीमा रासयनिक मल प्रयोग गरेको जनाइएको छ ।

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार हजार ४२८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् । आयोगको ३५औँ स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयद्वारा बुधबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख विनिता भट्टराइले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बुटवल कार्यालयमा गत आवमा कूल उजुरी १८५३ रहेकामा १६०९ उजुरी (८६.३६ प्रतिशत) फर्छ्यौट गरिएको छ । यस्तै, चालु आर्थिक वर्षको पुस मसान्तसम्म कूल उजुरी एक हजार १८८ रहेकामा ५४५ उजुरी फर्छ्यौट गरिएको र बुटवल कार्यालयबाट विस्तृत अनुसन्धानमा रहेको कूल उजुरी सङ्ख्या १०४ मध्ये ३७ वटा उजुरी फर्छ्यौट भएको कार्यालय प्रमुख भट्टराइले जानकारी दिइन् । उक्त अवधिमा देशभरिबाट आयोग र आयोगअन्तर्गतका कार्यालयमा जम्मा ३७ हजार २६ उजुरी प्राप्त भएको तथ्याङ्क रहेको छ । कूल उजुरीमध्ये आधाभन्दा बढी स्थानीय तहसँग सम्बन्धित झण्डै ५४ प्रतिशत, सङ्घीय सरकारका निकायको ३३ दशमलव ६९ प्रतिशत र प्रदेश सरकारका निकायहरूको १२ दशमलव ४७ प्रतिशत उजुरी रहेको अख्तियारको तथ्याङ्कमा उल्लेख छ । आयोगमा दर्ता भएका उजुरी अधिकांश भूमि तथा वन, कृषि/पशु क्षेत्रको अनुदान कार्यक्रम, प्राकृतिक स्रोतसाधनको उपयोग, आयोजना निर्माण तथा खरिद, उपभोक्ता समितिको काम, शिक्षा क्षेत्रमा निर्माण र खरिद, स्वास्थ्य क्षेत्रमा औषधि तथा उपकरण खरिदसँग सम्बन्धित उजुरीहरू धेरै पर्ने गरेको प्रमुख भट्टराइले जानकारी दिइन्। प्रमुख भट्टराईले आयोगले उपचारात्मक रणनीतिअन्तर्गत प्रारम्भिक छानबिन कार्य गर्ने, विस्तृत अनुसन्धान गर्ने तथा प्रवर्द्धनात्मक कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सामुदायिक शिक्षा सञ्चालन गर्ने, स्थानीय तहस्तरीय, जिल्लास्तरीय र प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आइरहेका साथै नागरिक सहकार्यका रूपमा भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्थाहरूसँग सहकार्य र साझेदारीसमेत गर्दै आएको जानकारी गराइन् । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले वर्तमान संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा प्राप्तिका लागि भ्रष्टाचार नियन्त्रण गर्नु अपरिहार्य रहेको बताए । उनले सुशासन कायम गरी सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई समुन्नत बनाउनु मुख्य ध्येय रहेको भन्दै भ्रष्टाचार नियन्त्रण गर्ने मुलुकको सर्वाधिक महत्वको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान र अभियोजनमा देखा परेका समस्या तथा चुनौतीलाई समाधान गर्दै वैज्ञानिक अनुसन्धान प्रणालीको विकास गरी वास्तविक, निष्पक्ष र वस्तुनिष्ठ अभियोजनमार्फत भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्घ, प्रदेश र स्थानीय तहसम्म फैलिएका भ्रष्टाचारका मुद्दामा निष्पक्ष र निडर रूपमा काम गर्दै आएको भन्दै हुँदा सो कार्यको उच्च प्रशंसासमेत गरे । त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राज्यका सबै अङ्गहरूले आआफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने बताए । उनले अख्तियारलाई देखाएर हुनै पर्ने कामहरू पनि पन्छ्याउने प्रयास भइरहेको र त्यसको मार प्रदेश सरकार परिरहेको बताए । उनले आयोगले पठाएको २१ बुँदे निर्देशनका कारण कतिपय गर्नै पर्ने काममा बाधा उत्पन्न भएको भन्दै आयोगको ध्यानाकर्षण गराए । लुम्बिनी प्रदेशसभाका सभामुख तुलबहादुर घर्ती, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलगायतले स्थानीय तह र प्रदेश सरकारलाई आवश्यक पर्ने कानुन बन्न नसक्दा जनताका आधारभूत समस्या समाधानका लागि पनि काम गर्न कानुनी झमेला बेहोर्नु परेको बताए ।

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरे बापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । उनले बीमा कार्यक्रमअन्तर्गत रु तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल रु एक लाख बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताए । बोर्डले रु २५ हजार ओपिडी सेवा र रु ७५ हजार अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताए । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै, थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ । बोर्डले अनावश्यक रूपमा हुने ओपिडी सेवाको प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्नका लागि सेवाको रकम छुट्याएकाले सोहीअनुसार प्रयोग गर्न पनि आग्रह गरेको छ । सूचना अधिकारी मल्लले भने, “पाँच जनाको परिवारले वर्षभरिमा बढीमा रु दुई हजार ५०० बराबरको बहिरङ्ग सेवा ९ओपिडी० सेवा लिन पाउने व्यवस्था छ । पाँच जनाभन्दा बढी सदस्य भएका प्रतिसदस्यले थप रु पाँच हजार बराबरको ओपिडी सेवा कायम गरिएको छ ।” हाल स्वास्थ्य बिमाको बजेटको ७० प्रतिशतभन्दा ठुलो हिस्सा सामान्य बिरामीको ओपिडी सेवामा नै खर्च भइरहेको छ । यसले गर्दा परिवारमा कसैलाई गम्भीर रोग लाग्दा वा महँगो शल्यक्रिया आवश्यक पर्दा बिमाको रकम अपर्याप्त हुने र बिरामीको आफ्नै खल्तीबाट ठुलो रकम खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारहरू बताउँछन् । बोर्डका सूचना अधिकारी मल्लले वास्तविक बिरामीको उपचारमा बिमाको रकम खर्च गर्ने उद्देश्यका साथ ओपिडी, अस्पताल भर्ना र शल्यक्रिया जस्ता अलग अलग शीर्षकमा खर्च तोकिएकाले त्यसको पालना गर्न आग्रह गरे ।

आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी  प्रदेशको  पहाडी र हिमाली भूभागमा  साधरणतया  बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ।   कोशी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। 

युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार र पार्टी

म्याग्दी । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन् । अब विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्नेलाई नभई सुशासन, विकास र रोजगारीमार्फत भविष्य निर्माणको सङ्कल्प तथा योजना भएका उम्मेदवार र पार्टीलाई भोट दिने युवा मतदाता बताउने गरेका छन् । सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्मका मतदातामा काम गर्ने, समाज जोड्ने र विश्वास कायम गर्ने नेतृत्व रोज्ने धारणा बलियो बन्दै गएको युवा मतदाता भवि शर्माको भनाइ छ । उनी भन्छन्, “चुनावको मौसममा उम्मेदवार र मतदाता दुवैका विचारहरू आइरहेका छन् । विगतदेखि नै उम्मेदवारले झुटा आश्वासन र विकासे नारामा हामीलाई लोभ्याउँदै आएको अवस्थामा यस पटक त्यस्तो हुँदैन । देशका समस्या समाधान गर्ने स्पष्ट योजना भएको उम्मेदवारलाई रोज्छौँ अनि पार्टी पनि राेज्छाैँ । त्यसका लागि हामीले सचेत भएर हेर्दा पार्टी नेपाली कम्युनिस्ट पार्टी देखिन्छ । चुनाव चिन्ह तारा छ । अन्य पार्टी भन्दा राम्राे छ ।” बेनी नगरपालिका–२ का मतदाता पूर्णबहादुर खत्री समाजमा विग्रह ल्याउने र गलत कुरा गरेर मत बटुल्ने सोचविरुद्ध आफू रहेको बताउँछन् । “हरेक चुनावमा सपना बाँडिन्छ, तर काम देखिँदैन । यस पटक पनि कतिपयले त्यस्तै गर्न खोजिरहेका छन्, तर हामी सचेत छौँ । अब समाजलाई भ्रमित बनाउने र झुट्टा आश्वासन दिने उम्मेदवारलाई भोट दिँदैनौँ । जनताको दुःख बुझ्ने र काम गर्ने मान्छेलाई रोज्छौँ”, उनले भने । मङ्गला गाउँपालिका–५ का किसान हरिकृष्ण पौडेलले देशमा सबैभन्दा प्रचुर सम्भावना भएर पनि उपेक्षामा परिरहेको कृषि क्षेत्रको विकासको स्पष्ट खाका ल्याउने दल र उम्मेदवारलाई आफ्नो सहयोग रहने बताए । उनले कृषि, पर्यटन, रोजगारीलगायत क्षेत्रमा देखिएका समस्या समाधानको नीति, कार्यक्रम र सोच ल्याउनुको सट्टा नपत्याउने गफ गर्नेलाई पहिचान गर्ने चरणमै रहेकाले यस पटक सोचेर मात्र मत दिने योजना रहेको बताए । खत्रीले भने, “हामीलाई मल, सिँचाइ, सडक र बजार चाहिएको हो । जात र दलको कुरा गरेर समाज भाँड्ने राजनीति अब स्वीकार्य छैन । यस्तो प्रवृत्तिलाई भोट जाँदैन । यस पटक निकै सचेत भएर मत दिनु पर्दा नेपाली कम्युनिस्ट पार्टीनै हाे ।” म्याग्दीमा राजनीतिक दलका र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । हाल सबै उम्मेदवार जनताको घरदैलोमा गई आफ्ना योजना सुनाइरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले जनताले खोजेको विकास र सुशासन नै आफ्नो मुख्य ‘एजेन्डा’ भएको र जनताको घरघर गएर समस्या पहिचान र गुनासो सुन्ने काम भइरहेको बताए । उनले भने, “विभाजनको राजनीति होइन, सबैलाई समेटेर विकास गर्ने सोचसहितको बाटोमा हामी प्रतिबद्ध छौँ । मतदाताको विश्वासलाई कामबाटै प्रमाणित गर्छौँ ।” नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले म्याग्दीमा अधुरा विकास योजना पूरा गर्नु आफ्नो प्राथमिक सरोकार भएको बताए । “आश्वासन होइन, स्पष्ट योजना र समय सीमासहित काम गरेर देखाउने हाम्रो लक्ष्य छ । सोहीअनुसार जनतालाई बुझाउने काम भइरहेको छ”, उनले भने । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका महावीर पुनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक भएको दाबी गर्दै घरदैलो गरिरहेका छन् । 

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तथा युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २७ पैसा छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २७ पैसा एवं स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ नौ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ १३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११५ रुपैयाँ २६ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७८ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७९ पैसा एवं थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ७६९ पैसा कायम गरिएको छ । युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा एवं स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १० पैसा र बिक्रीदर २३ रुपैयाँ २० पैसा तथा हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ७४ पैसा एवं बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ७६ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । निर्धारित विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा हेर्न सकिने उल्लेख छ ।

राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक, २०८१’ पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ ।   आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ‘चलचित्र विधेयक, २०८१’ पारित गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव सर्वसम्मतीले पारित गरेको सभाध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । राष्ट्रिय सभाको अर्को बैठक फागुन १ गते शुक्रबार दिउँसो १२ः१५ बजे बस्नेछ। 

विचार र मुद्दाका आधारमा जनतासामु गएका छाैँ, परिणाम हाम्रो पक्षमा आउनेमा विश्वस्त छौँ: प्रचण्ड

म्याग्दी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने स्पष्ट पार्नु भएको छ ।  बुधबार नेकपा म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको निर्वाचनलक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै संयोजक प्रचण्डले आफ्नै सामर्थ्यका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएर पहिलो शक्ति बन्ने लक्ष्य रहेको बताउनु भयो । संयोजक प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूसँग चुनावका विषयमा सामान्य छलफल हुने गरे पनि तालमेलका प्रस्तावलाई चासो नदिएको बताउनु भयो । तालमेलबिनै सबैभन्दा धेरै सिट जित्ने दाबी गर्दै उहाँले विचार र राजनीतिक मुद्दाका आधारमा पार्टी चुनावमा होमिएकाले देशभर जनमत आफ्नो पक्षमा बन्दै गएको बताउनु भयो । “देशभर नेकपाको पक्षमा सकारात्मक माहोल छ,” उहाँले भन्नु भयो, “हामी विचार र मुद्दाका आधारमा जनतासामु गएकाले परिणाम हाम्रो पक्षमा आउनेमा विश्वस्त छौँ ।” संयोजक प्रचण्डले नाम, झण्डा वा चुनाव चिह्नका आधारमा होइन, राजनीतिक मुद्दा र मूल्यका आधारमा मात्रै नेपाली कम्युनिस्ट पार्टी नयाँ शक्ति भएको बताउनु भयो । “सामाजिक सञ्जालमा आफूलाई नयाँ भनेर भ्रम छर्ने प्रयास भइरहेको छ,” उहाँले भन्नु भयो, “गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक जस्ता ऐतिहासिक मुद्दा बोक्ने शक्ति मात्रै साँचो अर्थमा नयाँ हुन्छ ।” जेन–जी आन्दोलनपछि संघीयता र गणतन्त्रको रक्षाका लागि आफ्नो नेतृत्वमा देशलाई राजनीतिक दुर्घटनाबाट जोगाइएको दाबी गर्दै प्रचण्डले भ्रष्टाचारको पक्षधर शक्तिसँग गठबन्धन नगर्ने अडानकै कारण युवा पुस्ताबाट समेत उत्साहजनक साथ पाइरहेको बताउनु भयो । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन कुनै पनि अवस्थामा नसर्ने र एकैपटक देशभर सम्पन्न हुने स्पष्ट पार्दै संयोजक प्रचण्डले पार्टीका कार्यकर्तालाई घर–घरमा पुगेर प्रतिबद्धतापत्र तथा सरकारको नेतृत्वमा रहँदा गरिएका कामहरू मतदातासमक्ष स्पष्ट रूपमा राख्न निर्देशन दिनु भयो । कार्यक्रममा संयोजक प्रचण्डले पश्चिम म्याग्दी हुँदै रुकुम जोड्ने बेनी–दरबाङ–जलजला सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्ने, सिंगा तातोपानी, पौलस्य पुलह आश्रम क्षेत्रलगायत जिल्लाका आवश्यक विकास योजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै उहाँले प्रतिनिधिसभा सदस्यमा अर्जुन थापालाई विजयी बनाउन मतदातासँग अपिल गर्नु भयो । आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले हुने बताउँदै प्रचण्डले केही हप्ता संगठित रूपमा मेहनत गरे देशकै पहिलो शक्ति बनेर सरकारको नेतृत्व गर्ने अवस्थामा पार्टी पुग्ने विश्वास व्यक्त गर्नु भयो । निर्वाचनमा नेकपालाई कमजोर बनाउन डिजिटल प्रविधिको दुरुपयोग गरी मिथ्या सूचना फैलाइँदै गएको उल्लेख गर्दै संयोजक प्रचण्डले नेता तथा कार्यकर्तालाई त्यसको खण्डन गर्दै सत्य र तथ्यमा आधारित सूचनालाई मात्रै विश्वास गर्न आग्रह गर्नु भयो ।  

मनहरि तिमिल्सिनाको विजय नै समग्र पर्वतेली जनताको साझा जित हाे: प्रचण्ड

पर्वत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वतबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनहरि तिमिल्सिनाको विजय समग्र पर्वत जिल्लाको तथा पर्वतेली जनताको साझा जित हुने बताउनुभएको छ । नेकपा पर्वतद्वारा कुस्मामा आयोजित ‘जनसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यसपटक तिमिल्सिनाले जित हासिल गरे त्यसले जिल्लाकै जित सुनिश्चित गर्ने बताउनुभयो । उहाँले नेता–कार्यकर्तालाई युद्धस्तरमा निर्वाचनमा होमिन आग्रह गर्नुभयो । प्रचण्डले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा उठेको ‘जेन–जी’ पुस्ताको आवाजलाई नेपाली कम्युनिस्ट पार्टीले पूर्ण रूपमा अपनत्व दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “देश र जनताको पक्षमा नयाँ संकल्पसहित अघि बढ्ने तागत निर्माण गर्नकै लागि नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको हो ।” उहाँले नेपाली कम्युनिस्ट पार्टी कसैसँग पनि चुनावी तालमेल नगर्ने स्पष्ट गर्दै कसैको वैशाखी नबनी आफ्नै बलबुतामा उभिएर पहिलो शक्ति बन्ने दृढ संकल्प व्यक्त गर्नुभयो । राजनीतिक मुद्दाका हिसाबले साँच्चिकै नयाँ पार्टी नेपाली कम्युनिस्ट पार्टी मात्र भएको दाबी गर्दै उहाँले भन्नुभयो, “संविधान, स्वाधीनता, राष्ट्रियता, संघीय लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता तथा उत्पीडित, दलित, मुस्लिम, मधेसी, अल्पसंख्यक र पिछडिएका वर्गका मुद्दा हाम्रा हुन् । हामी नयाँ हौँ, अरू सबै पुराना हुन् । नेपाली कम्युनिस्ट पार्टी नयाँ दृष्टिकोण र नयाँ सोचसहित निर्वाचन आयोगमा दर्ता भएको नवीन शक्ति हो ।” प्रचण्डले कांग्रेस, एमाले र रास्वपासहित सबै प्रतिद्वन्द्वी दलहरूलाई चुनौती दिँदै नेपाली कम्युनिस्ट पार्टी पहिलो पार्टी बन्न धेरै दिन नलाग्ने बताउनुभयो । त्यो कुरा आगामी निर्वाचनले स्पष्ट रूपमा देखाउने उहाँको भनाइ थियो । पार्टीको घोषणापत्र समाजवादतर्फ जाने स्पष्ट मार्गचित्र भएको र संविधान संशोधनको मुद्दा पनि पार्टीको प्रमुख एजेन्डामा रहेको उहाँले स्पष्ट गर्नुभयो । नयाँ चुनाव चिह्न ‘तारा’मा मतदान गर्न आम जनतालाई आग्रह गर्दै प्रचण्डले यसपटक महँगा सभा–सम्मेलनभन्दा घर–घर र टोल–टोलमा पुगेर मतदातालाई बुझाउन नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो । एकताको बलबाट प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरूलाई नेपाली कम्युनिस्ट पार्टीले परास्त गर्ने दाबी गर्दै उहाँले नेतृत्व सबल भएको भए पहिलो पटक बनेको नेकपा नटुक्रिने स्मरण गराउनुभयो । ओलीको अहंकार र दम्भका कारण अलग हुनुपरेको उल्लेख गर्दै नयाँ नेकपा सबै परिवर्तनकारी र सच्चा वामपन्थी शक्तिहरूको एकताबाट बनेको र अब टुटफुट इतिहासमा नदोहोरिने विश्वास व्यक्त गर्नुभयो । पर्वतबाट जितको अभियान प्रारम्भ हुने दृढ विश्वास व्यक्त गर्दै अन्त्यमा प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न अन्तिम क्षणसम्म नेपाली कम्युनिस्ट पार्टी लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता, सर्वसाधारण, युवा, विद्यार्थी, बुद्धिजीवी, उद्यमी तथा समाजका विभिन्न क्षेत्रका प्रमुख व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सिन्धुपाल्चोकका प्रभावशाली एमालेका दर्जनौँ नेता–कार्यकर्ता नेकपामा प्रवेश

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका प्रभावशाली नेकपा एमालेका दर्जनौँ नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा जुगल गाउँपालिकामा नेकपा (एमाले)बाट अध्यक्षका प्रत्यासी बनेका क. जयबहादुर लामा, २०७४ सालमा जुगल गाउँपालिका–३ बाट निर्वाचित वडा अध्यक्ष सानुकान्छा तामाङ, पूर्व कार्यपालिका सदस्य उमेश कार्की डोलीलगायत दर्जनौँ नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । एमालेबाट जिल्लाकाे राजनीतिमा सक्रिय रहँदै आएका कान्छा नेपाली आर्यन, छेवाङ लामा, जोनसेना लामा लगायतका नेता–कार्यकर्ताले समेत औपचारिक रूपमा नेकपाको सदस्यता ग्रहण गरेका हुन् । उनीहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश कार्यक्रममा हार्दिक स्वागत गर्नुभएको थियो । कार्यक्रममा संयोजक प्रचण्डले परिवर्तन, सुशासन र समाजवादको यात्रामा नयाँ शक्तिहरूको सहभागिताले पार्टी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । नवप्रवेशी नेता–कार्यकर्ताहरूले नेकपाको राजनीतिक दृष्टिकोण, जनमुखी एजेन्डा र परिवर्तनको नेतृत्वप्रति आकर्षित भएर पार्टी प्रवेश गरेको बताएका छन् । उनीहरूले अब पार्टीको नीति तथा कार्यक्रमअनुसार जनताको पक्षमा संगठित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही र रोल्पा गरी ५३ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो । मङ्गलबारसम्म ४७ जिल्लाको मतपत्र छपाइ सकिएको थियो । आज थप छ जिल्लाको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । यी जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको उहाँले बताउनुभयो । हालसम्म १३ हजार ३२१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । हाल दिनमा एक हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरुमा पठाइसकिएको आयोगले जनाएको छ । गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो ।

मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो ।  चालु आवको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो । तर, धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावटलगायत कारणले आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने गरी अर्धवार्षिक समीक्षामा नयाँ प्रक्षेपण सार्वजनिक गरिएको हो । गत आवमा भने कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर ४.६ प्रतिशत रहेको अनुमान छ । बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा तीन प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ ।  गत आवको सोही अवधिमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा यस्तो वृद्धि २.९ प्रतिशत रहेको संशोधित अनुमान छ । चालु आवको पहिलो त्रैमासमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आवको सोही अवधिको तुलनामा १.३६ प्रतिशतले विस्तार हुने अनुमान छ ।  विशेषतः धानको उत्पादन घट्ने र पशुपन्छी, तरकारी बाली तथा फलफूल उत्पादनमा वृद्धि हुने अनुमानको आधारमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर तुलनात्मक रूपमा न्यून रहने अनुमान गरिएको छ । चालु आवमा मकै, कोदो, फापरलगायत खाद्यान्न बालीको उत्पादन भने बढ्ने अनुमान छ । गत आवमा धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन २.६७ प्रतिशत र नगदेबालीको उत्पादन २.०१ प्रतिशतले बढेको अनुमान छ । चालु आवको पहिलो त्रैमासमा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आवको सोही अवधिको तुलनामा ५.४४ प्रतिशतले विस्तार हुने अनुमान छ । चालु आवमा ऊर्जा र निर्माण क्षेत्रका क्रियाकलापमा विस्तार हुँदा सोको सकरात्मक प्रभाव समग्र उद्योग क्षेत्रमा पर्ने अनुमान छ ।  चालु आवको पहिलो त्रैमासमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धि १.५२ प्रतिशतले विस्तार हुने अनुमान छ । यही अवधिमा सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आवको सोही अवधिको तुलनामा ३.०३ प्रतिशतले विस्तार हुने अनुमान छ । चालु आवमा थोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्थता, सामान्य प्रशासन तथा रक्षा, पर्यटकीय गतिविधि र व्यक्तिगत सेवाका क्रियाकलापमा विस्तार हुँदा समग्र सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अनुमान छ । बजेट मध्यावधि समीक्षा प्रतिवेदनअनुसार चालु आवको प्रथम छ महिनाको औसत मुद्रास्फीति १.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा  मुद्रास्फीति ४.९७ प्रतिशत  थियो । 

काे हुन धनकुटाको भरोसायोग्य नेतृत्व धर्मराज पौडेल ?

धनकुटा । नेपाली कम्युनिष्ट आन्दोलनका अनुभवी नेता, शिक्षाविद् तथा विकासप्रेमी राजनीतिज्ञ धर्मराज पौडेल धनकुटाको राजनीतिक वृत्तमा इमानदार, सिद्धान्तनिष्ठ र परिणाममुखी नेताका रूपमा परिचित नाम हुन् ।  आन्दोलन, संगठन, शिक्षा र विकास—यी सबै क्षेत्रलाई जीवनको मूल ध्येय बनाएका पौडेल आज धनकुटाको समग्र विकास र जनताको आवाजलाई प्रतिनिधि सभामा सशक्त रूपमा उठाउन सक्ने सक्षम उम्मेदवारका रूपमा उभिएर जनतासँग मत मागिरहेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका–२, मारेकमा २०१७ साल असोज २४ गते बुबा उद्धवमणि पौडेल र आमा मञ्जु पौडेलको कोखबाट जन्मिएका पौडेल २०३५ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय छन् । भूमिगत कालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले) का सम्पर्क व्यक्ति तथा सेल्टर व्यवस्थापन सहयोगीको जिम्मेवारी सम्हाल्दै जोखिमपूर्ण राजनीतिक यात्रामा होमिएका उनी २०४७ सालमा औपचारिक रूपमा मालेको सदस्य बनेका थिए । हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका पौडेल दशकौँको राजनीतिक अनुभव बोकेका प्रतिबद्ध कम्युनिष्ट नेता हुन् । विद्यार्थी राजनीति हुँदै संगठन निर्माणमा खारिएका पौडेल अनेरास्ववियु धनकुटाका सचिव बने । २०४५ सालमा धनकुटा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित हुँदै उनले नेतृत्व क्षमताको स्पष्ट प्रमाण दिए । २०४८ र २०५८ सालमा एमाले धनकुटाको उपसचिव, २०६१ सालमा एमाले कोशी अञ्चल समन्वय समितिको सचिवालय सदस्य, कोशी प्रदेश सल्लाहकार परिषद् सदस्य तथा प्रदेश कमिटी सदस्यको जिम्मेवारी निर्वाह गरेका पौडेल २०७८ सालको एमाले विभाजनपछि एकीकृत समाजवादीको कोशी प्रदेश कार्यालय सदस्य हुँदै केन्द्रीय सदस्य बने । हाल माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिष्ट पार्टीमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जको भूमिकामा छन् । शिक्षा र विकासमा गहिरो पकड भएका पौडेलले ग्रामीण विकास विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । २०४० देखि २०४३ सालसम्म गाउँकै धर्मोदय निम्न माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा सेवा गरेका उनी व्यवहारिक शिक्षाको पक्षधर नेताका रूपमा परिचित छन् । बहुदलीय व्यवस्थापछि स्थानीय शासनको नेतृत्व गर्दै २०४९ सालमा तत्कालीन धनकुटा जिल्ला विकास समितिको सभापतिमा निर्वाचित पौडेलले २०५४ सालसम्म जिल्लाको समग्र विकासको नेतृत्व गरे । सो अवधिमा उनले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको बोर्ड सदस्यलगायत विभिन्न राष्ट्रिय जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पौडेल प्रतिस्पर्धात्मक निर्वाचनमा पराजित भए पनि निरन्तर जनसम्पर्क र राजनीतिक सक्रियतामा अडिग रहे । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पटक–पटक हिरासत र जेल जीवन भोगेका पौडेल राजनीतिक संघर्षबाट खारिएका नेता हुन् । २०४१ मंसिरमा धनकुटा, २०४५ फागुनमा मोरङ र २०४६ माघमा झापामा हिरासत तथा झापा कारागारमा दुई महिना राजनीतिक बन्दी बनेका उनी लोकतन्त्र र परिवर्तनका लागि बलिदान गर्न कहिल्यै पछि नहट्ने व्यक्तित्वका रूपमा चिनिन्छन् । यही राजनीतिक, प्रशासनिक र विकास अनुभवका आधारमा नेपाली कम्युनिष्ट पार्टी धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धर्मराज पौडेललाई उम्मेदवार बनाएको छ । के छन् पाैडेलका एजेन्डा ? पौडेलले धनकुटाको आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै गैरकानूनी गाँजा खेतीको विकल्पसहित उद्योग सञ्चालन, औद्योगिक ग्राम स्थापना, कृषि उत्पादनको व्यवसायीकरण, माटो परीक्षणदेखि शीतभण्डार र कुलचेनयुक्त ढुवानीसम्मको स्पष्ट योजना सार्वजनिक गरेका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्वास्थ्य संस्थाको स्तरोन्नति, प्रत्येक स्थानीय तहमा खेलमैदान र कभर्ड हल, सडक सञ्जालको बाह्रै महिना सञ्चालन, पहिरो र भूक्षय जोखिममा रहेका बस्तीको सुरक्षित व्यवस्थापन उनका प्राथमिकता हुन् । पर्यटन प्रवर्धन, कृषि, पर्यावरणीय, सांस्कृतिक तथा साहसिक पर्यटनको विकास, वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्वदेशमै स्वरोजगार, स्वच्छ खानेपानी, धनकुटाको ऐतिहासिक टुँडिखेललाई मिनी स्टेडियमका रूपमा विकास गर्ने योजना पनि उनका प्रतिबद्धतामा छन् । महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, सीमान्तकृत तथा अल्पसंख्यक समुदायको समान सहभागिता सुनिश्चित गर्दै उनीहरूलाई दक्ष जनशक्तिमा रूपान्तरण गर्ने पौडेलको प्रतिबद्धताले उनको समावेशी सोच स्पष्ट गर्छ । संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी अधिकतम बजेट र कार्यक्रम धनकुटा भित्र्याउने दृढ अठोटसहित पौडेल प्रतिनिधि सभाका लागि अनुभवी, दूरदर्शी र जनमुखी उम्मेदवारका रूपमा प्रस्तुत भएका छन् । लामो राजनीतिक तपस्या, स्वच्छ छवि, विकासको स्पष्ट दृष्टिकोण र जनताप्रतिको प्रतिबद्धताले धर्मराज पौडेललाई धनकुटाको प्रतिनिधित्व गर्न सबैभन्दा उपयुक्त उम्मेदवार बनाएको छ । स्थानीय विश्लेषकका अनुसार धनकुटा अन्य उम्मेदवारभन्दा जनताले राेज्नै पर्ने उम्मेदवार पाैडेल हुन् । एक पटक धनकुटाकाे विकासका लागि जिताउनुनै पर्ने उम्मेदवार पनि पाैडेल हुन् ।