चितवनमा अज्ञात समूहद्वारा स्कुलबसमा आगजनी

काठमाडौं । चितवनमा अज्ञात समूहले एक स्कुल बसमा आगजनी गरेको छ।भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलनजिक हेभन बोडिङ स्कुलको प्रदेश–०६००१ क ०००४५ नम्बरको बसमा आइतबार बिहान आगजनी गरेका हुन्।

चितवनका डीसपी भेषराज रिजालका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ। बस जलेर पूर्ण रूपमा क्षति भएको छ। 

काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या, चारजना पक्राउ

काठमाडौं  । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ।  गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो। धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरे जानकारी दिए। उनको हत्याको कारण भने खुलेको छैन। धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख ३० गते आइतबार सन् २०२४ मे १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ शून्य पैसा र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं ।संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हलमा बस्ने छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

उपत्यकासहित विभिन्न भागमा वर्षा, दिनभर बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा भइरहेको छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिनभरी नै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने बागमती, गण्डकी, कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर १६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४४ मिनेटमा हुनेछ।

दाङमा दुई महिलाको हत्या

घोराही । घोराही उपमहानगरपालिका-१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।  हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।  प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या भएको खबर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझ्ने काम भइरहेको बताए । उनका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । 

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न सुरु गरिएको छ। पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पु¥याइएको हो। बैशाख १२ गतेबाट शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ मा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो।  रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पु¥याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ।

देशको समृद्धिका लागि सोचेअनुसार काम भएन  : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले साँचो समृद्धिको बाटो अझै सहज नरहेको जिकिर गरे। उनले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतिहरुको सामाना गर्नुपरेको उल्लेख गर्दै अस्थिरताका कारण सोचेअनुरुपको विकास हुन नसकेको बताए। उनले दुर्गम गाउँहरुमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्वपूर्ण भुमिका रहेको उल्लेख गरे। उनले अध्यक्ष दाहालले नेपाल प्राकृतिक श्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश रहेको पनि बताए। अध्यक्ष दाहालले अनुभव, अन्तरदृष्टि र उत्कृष्ट अभ्यासलाई साझा र सामुहिक गरेर मात्रै समुन्नत र समतामुलक नेपाल निर्माण गर्न सकिने बताए।

श्रीधर र अस्मिताको ‘राजा रानी’ : अफ्रिकामा छायांकन, यस्तो छ भिडियो

काठमाडौं । गायक तथा सङ्गीतकार श्रीधर अधिकारी र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ‘राजा रानी’ बजारमा आएको छ । गीतमा शिव हमालको शब्द रहेको छ भने श्रीधर अधिकारीले सङ्गीत भरेका छन्। गीतमा अफ्रिकामा रहेर टिकटक बनाउने चर्चित टिकटकर विष्णु गिरि अफ्रिकन नागरिकको अभिनय देख्न सकिन्छ । गीतको छायाङ्कन नाइजेरियामा गरिएको हो । राजा रानीमा कथामा आधारित गीत नेपाल र अफ्रिकाको भेसभुसा साथै परिवेशमा निर्माण गरिएको छ । गीतलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् भने गीतको निर्देशन शिव गिरिले गरेका हुन ।अहिलेसम्म गीतलाई करिब एक लाख पचास हजार बढी दर्शकले हरेका छन् ।

एकीकृत समाजवादीको सचिवालय र स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय र स्थायी कमिटी बैठक शनिबार बस्दैछ। सचिवालय बैठक बिहान साढे १० र स्थायी कमिटी बैठक साढे ११ बजे बस्न लागेको हो।  बैठकमा पार्टीको दशौं महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। उनका अनुसार केन्द्रीय सचिवालय बैठकमा स्थायी कमिटी बैठकको सञ्चालन र एजेण्डाबारे छलफल हुनेछ। स्थायी कमिटी बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान र सांगठनिक दस्तावेजमा छलफल हुने छ ।  एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ। स्थायी समितिका निर्णयबारे थप छलफल गर्न भोलि पोलिटब्युरो बैठक बोलाइएको छ। दुवै कमिटीबाट आएका सुझाव संकलन गरेर केन्द्रीय कमिटी बैठकमा पेश गरी साझा धारणा बनाउन लागिएको उपाध्यक्ष पाण्डेले जानकारी दिए।  केन्द्रीय कमिटी बैठक वैैशाख ३१ र जेठ १ गते बस्ने एकीकृत समाजवादीले जनाएको छ। बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर प्रतिनिधि छनोटका कार्यविधि र संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ।  प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार देशभर सांठनिक अवस्था, जनवर्गीय संगठनको कार्य प्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। 

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख २९ गते शनिबार सन् २०२४ मे ११ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ शून्य पैसा र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

आजदेखि चार दिन काठमाडौंका यी स्थानमा दैनिक ६ घण्टा बिजुली नहुने

काठमाडौं । आजदेखि काठमाडौंका विभिन्न स्थानको विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि सोमबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै, जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । शनिबारदेखि सोमबारसम्म काठमाडौंको पाटीचोक, अमरज्योति, पुरानो हेल्थपोस्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतम गाउँ, असनटार, कंकाली, पहेँलो गुम्बा, गोदामचोक, महाँकाल, सीताराम स्कुल, पद्यमा तेस्रो, फस्कु, जयन्ती गाउँ, रामकोट, पुरीगाउँ, दर्शनखोला, दहचोक, भीमढुंगा, खड्का गाउँ, खत्री गाउँ र छत्रे देउराली क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । यसैगरी, सशस्त्र प्रहरीको गेट, शालिकचोक, एलआरआई, खड्का गाउँ, न्युडाइमन्ड, पुरानो हिमशिखर, पिलबोट, थानकोट, डाँडा कारखान, मितेरीचोक र पञ्चकन्या स्कुल क्षेत्रमा पनि बत्ती जानेछ । त्यसैगरी पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँ गाउँ, किटनी भन्जयाङ, बाइछाप, यातायात, दाउरा डिपो, हाइभिजन कोलोनी, पशुविकास र सिर्जना चोक क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै, जेठ २ गतदेखि ४ गतेसम्म थानकोट फिडर अन्तर्गतको पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँ गाउँ, किटनी भन्ज्याङ, बाइछाप, यातायात, दाउरा डिपो, आइभिजन कोलोनी, पशुविकास, सिर्जना चोक क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यसैगरी, बलम्बु फिडर अन्तर्गत पर्ने कलंकी, ढुंगेअड्डा, आर्केट कोलोनी, तीनथाना, नैकाप, विष्णुदेवी, बोसीगाउँ, हरियाली, सतुंगल, नयाँ नैकाप, चुनदेवी र प्रगति नगर क्षेत्रमा बत्ती जाने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

तीन प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।आज बिहान सूर्योदय ५ बजेर १७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४४ मिनेटमा हुनेछ ।

जेलबाट रिहा भए केजरीवाल

नयाँ दिल्ली । सर्वोच्च अदालतले अन्तरिम जमानत दिएपछि भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा भएका छन्।सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको थियो। न्याधिश सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो। उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो । उनी ५० दिनपछि रिहा भएका छन् । तिहाड जेलमा रहेका केजरीवालले जेलबाट बाहिर निस्केसँगै आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफु तानाशाहीविरुद्ध लडिरहेको बताए । साथै उनले भोलिदेखि आफ्ना चुनावी प्रचारको कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

सहकारी ठगी प्रकरणमा रबिले सत्ताको दुरुपयोग गरे  : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।संसद बैठक चल्न नदिने कुरामा आफू नभई सरकार र यसको कामकारबाही जिम्मेवार रहेको महामन्त्री थापाको जिकिर थियो । शुक्रबार प्रतिनिधि सभा बैठकको शुभारम्भमा बोल्दै महामन्त्री थापाले कांग्रेसले लगाएको आरोप गलत सावित गर्न उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने आफूहरुको मागलाई इन्कार गरेर सरकार र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि आफूहरुलाई हेप्न खोजेको भन्दै आपत्ति पनि जनाए। उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले त्यहाँको जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको दाबी समेत गरे । उनले सरकार र सत्तारुढ दलहरुकै नेतृत्वमा छानविन समिति बनाउने भएकाले त्यसमा डराउनुपर्ने कुनै कारण नभएको पनि बताए। महामन्त्री थापाले सो प्रकरण ढाकछोपका लागि रबि लामिछानेले कहिले प्रधानमन्त्री त कहिले प्रहरीलाई बोल्न लगाएको आरोप लगाए । साथै उनले सो प्रक्ररणमा महान्यायाधिवक्ताको कार्यालयलाई समेत दुरुपयोग गरेको जिकिर गरे ।

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिश

मोरङ । हिक्मत कुमार कार्की नेतृत्वमा गठन भएको कोशी प्रदेश सरकारले बैशाख ३१ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहिवार पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद बैठकले बैशाख ३१ गते बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको हो । यसैगरी कोशी प्रदेश सरकारको प्रवक्तामा मन्त्री राम बहादुर मगरलाई तोक्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले पूर्व मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यको संयोजकत्वमा ७ सदस्यीय संघियता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकिकृत अध्ययन कार्यदल निर्माण गर्ने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री राम बहादुर मगरले जानकारी दिए।