माेरङ-१ मा नेकपाका उम्मेदवार कुशल लिम्बूको पक्षमा जनलहर, तीव्र चुनावी अभियानमा जनताको साथ बढ्दाे

उर्लाबारी । मोरङ–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार कुशल लिम्बूको चुनावी अभियान दिनप्रतिदिन तीव्र बन्दै गएको छ । विकासमुखी स्पष्ट एजेन्डा, जनतासँगको प्रत्यक्ष सम्बन्ध र परिणाममुखी कार्यशैलीका कारण लिम्बूको पक्षमा व्यापक जनसमर्थन देखिन थालेको हो ।

नेकपाका उम्मेदवार लिम्बू यतिबेला गाउँ–गाउँ पुगेर घरदैलो अभियान, भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्रता दिनुभएको छ । जनताको घरदैलोमै पुगेर स्थानीय समस्या प्रत्यक्ष सुन्ने, तत्काल समाधानका लागि पहल गर्ने र दीर्घकालीन विकासको स्पष्ट खाका प्रस्तुत गर्ने उहाँको शैलीले मतदातामाझ नयाँ आशा जगाएको छ ।

स्थानीयवासीहरूका अनुसार लिम्बू विगतदेखि नै सडक विस्तार, स्वच्छ खानेपानीको व्यवस्था, गुणस्तरीय शिक्षा र सामाजिक पूर्वाधार विकासका क्षेत्रमा सक्रिय भूमिका खेल्दै आउनुभएको प्रतिबद्ध र काम गर्ने नेता हुनुहुन्छ । “कागजमा होइन, व्यवहारमा विकास देखिनुपर्छ” भन्ने स्पष्ट दृष्टिकोणसहित उहाँ मतदातामाझ पुग्नुभएको छ, जसले उहाँप्रति विश्वास अझ बलियो बनाएको छ ।

“काम गर्ने, परिणाम देखाउने नेतृत्व आवश्यक छ” भन्ने नारासहित लिम्बूको चुनावी टोली यतिबेला टोल–टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरिरहेको छ । जनताको आवश्यकता र अपेक्षामा आधारित विकास मोडेल प्रस्तुत गर्दै पहुँचयोग्य, जिम्मेवार र जनमुखी नेतृत्वको परिचय दिनुभएको भन्दै मोरङ–१ मा उहाँको पक्षमा उत्साहजनक माहोल सिर्जना भएको छ ।

स्थानीय मतदाताहरूले विकासप्रति स्पष्ट दृष्टिकोण, इमानदार प्रतिबद्धता र जनतासँग नजिकको सम्बन्धका कारण यस पटक नेकपाका उम्मेदवार कुशल लिम्बूलाई विजयी गराएर क्षेत्रको समग्र विकासको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेका छन् ।
 

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके । नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अलीले हलुवा–पराठाको स्वाद चखाउँदै आएका छन् । फेमस हलुवा–पराठामा बिहान ६ः०० बजेदेखि नै नजिकै रहेको महेन्द्र बहुमुखी क्याम्पस पढ्ने विद्यार्थी र रुपैडिहा आवतजावत गर्ने बटुवा हलुवा–पराठा खान पुग्ने गर्दछन् । अरमानको परिवारले करिब ४३ वर्षदेखि हलुवा–पराठाको एउटै परिकार बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । “हाम्रो बुबाले भारतको मुम्बईमा सिकेर आएपछि यहाँ हलुवा–पराठाको पसल खोल्नुभएको थियो, अहिले हामीले सञ्चालन गर्दै आएका छौँ”, अरमानले भने, “हामीले बनाएको हलुवा–पराठा अहिलेसम्म नमिठो भयो भन्ने सुन्नुपरेको छैन, बरु मिठो भयो भनेर थपेर खाने र पोको पारेर घर लैजानेहरू धेरै छन् ।” खानाका अनेक परिकार पाइने भएकाले नेपालगन्जलाई स्वादहरूको सहर पनि भनिन्छ । ती अनेक स्वादमध्ये हलुवा पराठा पनि एक हो । नेपालगन्जका स्थानीयमात्र नभई बाहिरबाट नेपालगन्ज घुम्न आउने पाहुना पनि हलुवा–पराठा खाना चौलिकाचोक पुग्ने गरेको अरमानले बताए । प्रत्येक दिन करिब ४० देखि ५० केजीसम्म हलुवा–पराठा बिक्री गरेर रु १५ देखि २० हजारसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ । पीठो मुछ्ने, हलुवा बनाउने, पराठा बनाउने, बिक्री गर्नेलगायत कामका लागि अरमानले सात जना कामदारलाई रोजगारीसमेत दिँदै आएका छन् । अन्य दिनभन्दा शनिबार र सार्वजनिक बिदाका दिनमा हलुवा–पराठा खान आउने मानिसको धेरै भीडभाड हुने गरेको अरमानले बताए । ठूलो पराठालाई तौलेर हलुवाका साथमा बेच्ने गरिन्छ । पराठा रोटी खानुको स्वाद त छँदैछ, बनाएको हेर्न झनै मज्जा आउँछ । नाङ्ललोभन्दा ठूलो तावामा पकाउनुअघि पराठा पकाउने कारिगढले पीठोलाई केही पराठाको आकारमा बनाएपछि त्यो आकारबाट बढाएर सुपो जत्तिकै ठूलो आकारमा पुर्याउँछन् । जुन पराठाको आकारले आधा शरीर छोपिन्छ । छेउतिरबाट हेर्दा पकाउनुअघिको काँचो पराठा पछ्यौरा ओढेजस्तै देखिन्छ । एउटै पराठाबाट कम्तीमा १० जनासम्मलाई पुग्ने उनको भनाइ छ । हलुवा पराठाको माग बढ्दै गएपछि हाल नेपालगन्जको त्रिवेणी मोड, बागेश्वरी मन्दिरको पूर्वपट्टि पनि केही वर्षदेखि हलुवा पराठा बनाउने गरिएको छ । तर अन्य स्थानको भन्दा चौलिकाचोकको हलुवा–पराठा नै अधिकांशको जिब्रोले मन पराउने गरेको महेन्द्र बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति माधव खत्रीले बताए । बजारमा थरिथरिका फास्टफुड र रेष्टुरेन्टहरू खुले पनि अरमानको पसलमा आउने ग्राहकको भीड घटेको छैन । स्वच्छता र पुर्ख्यौली स्वादले क्याम्पस पढ्ने युवादेखि पुराना धेरैका लागि यहाँको हलुवा–पराठा नास्तामात्र नभई एउटा पुरानो याद हुने गरेको खत्रीको भनाइ छ ।

कार्यक्रम हलबाट ‘लखेटिए’ प्रलोपाका नेता शर्मा

सुर्खेत । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा रुकुम पश्चिममा कार्यक्रम हलबाट ‘लखेटिए’का छन् । चुनाव प्रचारप्रसारका निम्ति शनिबार (फागुन २) उनी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२, सिम्रुतु पुगेका थिए । तत्कालीन नेकपा (माओवादी केन्द्र)कालमा बनाइएको सहिद स्मृति प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा उनी सहभागी थिए । त्यही बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले उनलाई उक्त हलबाट लखेटेका जनाइएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख एवं डीएसपी वेदप्रसाद पौडेलले कार्यक्रम गर्ने विषयमा हलभित्र सामान्य विवाद भएको र पछि कोणसभा बाहिर गरिएको बताए । पूर्वमुख्यमन्त्री शर्मा र नेकपाका नेता गोपाल शर्माका कार्यकर्ताबीच विवाद भएको उनले जानकारी दिए । नेकपा रुकुम पश्चिमले भने प्रतिष्ठानको ताला तोडफोड गरी सभाहलमा प्रवेश गर्ने क्रममा सहिद तथा घाइते परिवारले लखेटेको जनाएको छ । माओवादी केन्द्रबाटै शर्मा मुख्यमन्त्री बनेका थिए । प्रलोपामा लागेपछि उनलाई नेकपाले पार्टीबाट निष्कासन गरेको छ ।

विद्यालय भ्यान दुर्घटनामा परी बागलुङमा दुई विद्यार्थीको मृत्यु

बागलुङ । बागलुङ नगरपालिका–३, हाडेपाखामा भ्यान दुर्घटनामा घाइते भएका सुजल छन्त्यालको उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार (माघ २९) उक्त भ्यान दुर्घटना भएको थियो । १३ वर्षीय सुजल दुर्घटनामा गम्भीर घाइते भएका थिए । बागलुङकै धौलागिरि अस्पतालमा उनको प्राथमिक उपचार गरिएको थियो । थप उपचारका निम्ति पोखरा लगिएकामा शनिबार (फागुन २) गण्डकी अस्पतालमा उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते अमन बोहोराको यसअघि मृत्यु भएको थियो । बिहीबार नै उपचारका क्रममा उनको मृत्यु भएको धौलागिरि प्रादेशिक अस्पतालका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट किरण तिवारीले जानकारी दिए । दुर्घटनामा २६ जना घाइते भएका थिए । धौलागिरि प्रादेशिक अस्पतालमा उपचाररत १४ मध्ये १२ जना घर फर्किएका छन् । दुईजनाको उपचार भइरहेको तिवारीले बताए । मणिपाल शिक्षण अस्पताल पोखरामा अरू आठजनाको उपचार भइरहेको छ ।

म्याग्दीमा ढिस्कोले पुरिएर मजदुरको मृत्यु

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२, सल्यानमा शनिबार (फागुन २) माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएको छ । बाबियाचौर–सल्यान सडकखण्डको ग्याबियन पर्खाल लगाउने क्रममा ढिस्को खसेर पुरिएका रोल्पाको सुनछहरी गाउँपालिका–२ का २८ वर्षीय सत बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रदेश अस्पताल बेनीमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । बुढासँगै ढिस्कोले पुरिएका सुनछहरी–२ का टेकवीर बुढामगर र केशमान बुढामगरलाई उद्धार गरी उपचारका निम्ति बेनीमा ल्याइएको उनले बताए । टेकवीर र केशमान उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । सतको शव प्रदेश अस्पतालको शवगृहमा परीक्षणका निम्ति राखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए । शनिबार दिउँसो करिब १ बजे काम गरिरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खस्दा उनीहरू पुरिएका थिए । 

आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबारदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आइतबारदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोहीअनुसार यो कार्यक्रम अगाडि बढाउन लागिएको हो । नागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ । आइतबारदेखि सुरु हुने यो कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ । त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन् । आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् । प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । आयोगले सो कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगत्लगायत सम्पूर्ण सरोकारवालामा आयोगले अनुरोध गरेको नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आज २६३औँ सेना दिवस मनाइँदै

काठमाडौं । नेपाली सेनाले आइतबार मुलुकभर विविध कार्यक्रम आयोजना गरी आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आइतबार महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उनी नेपाली सेनाको परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । जंगीअड्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइने सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । सेनाको इतिहास र अन्तरराष्ट्रिय छवि नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको सांगठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छाड्न सफल छ । सैनिक वीरपुर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, ‘चेनअफ कमान्ड’ र राजनीति निरपेक्ष चरित्र र एकताको भावना उच्च संस्कार रहिआएको छ । नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । सैनिक संगठनमा समावेशिता बढ्दै गएको छ । पछिल्लो समय महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ६२ हजार ४९६ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ । विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ७४ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ७७ सैनिक घाइते भएका छन् । विश्वका १० मिसनमा हाल ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन् । महिला सैनिक खटाउने देशको सूचीमा पनि नेपाल अग्रस्थानमा छ । विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक निरन्तर सहभागीले यसलाई पुष्टि गरेको छ । सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौं–तराई मधेस द्रुतमार्गको काम भइरहेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्त्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै आएको सेनाले जनाएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गराउन नेपाली सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा छ । 

आज महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आइतबार देशभर मनाइँदै छ । आइतबार दिउँसो १६:५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७:३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गरिन्छ । यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका संगीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।  पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जानकारी दिए । तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारबाही गर्ने उनले बताए । महाशिवरात्रिका अवसरमा आइतबार बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए । यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ । अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिनेगरी व्यवस्थापन गर्ने योजना बनाइएको उनले  जानकारी दिए । आवश्यकता अनुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन–तीन र पश्चिमबाट चारवटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ । दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । त्यसैगरी, राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुन्छ ।

आज देशभरकाे माैसम कस्ताे रहला ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसै, आज राति तराई भूभागका केही स्थानमा तुँवालो लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

 काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ १९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९७ पैसा र बिक्रीदर २३ रुपैयाँ ०७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ २६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ९२ र बिक्रीदर ३७७ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

तकसेरामा प्रचण्डको भव्य स्वागत, ‘खाम मगर’ सभ्यताको संस्थागत विकासमा जोड

रुकुम पूर्व— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय तथा ऐतिहासिक गाउँ तकसेरा पुग्नुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार रहनुभएका प्रचण्ड मतदाता भेटघाटका लागि शनिबार साँझ तकसेरा आइपुग्नुभएको हो। स्थानीयवासीले बाजागाजा, नाचगान र झाँकीसहित प्रचण्डलाई भव्य स्वागत गरेका थिए। स्वागतमा महिला दिदीबहिनीहरू बालबच्चा बोकेर समेत सहभागी थिए।   संक्षिप्त सम्बोधन गर्दै प्रचण्डले रुकुम पूर्वका जनताबाट नयाँ ऊर्जा प्राप्त भइरहेको बताउनुभयो। उहाँले रुकुमबाट समाजवादी मोडेलको सुरुआत गर्ने उल्लेख गर्दै यो जिल्ला क्रान्तिको सुरुआत र शान्ति यात्राको निर्णय स्थल भएको स्मरण गर्नुभयो। प्रचण्डले आफ्नो पहलमा संविधानमा विशेष तथा स्वायत्त अधिकार संस्थागत गरिएको उल्लेख गर्दै संविधानको मर्मअनुसार मगर क्लस्टरहरूलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्ने बताउनुभयो। यसबाट मगर सभ्यताको संरक्षणसँगै चौतर्फी विकास हुने उहाँको विश्वास छ। तकसेरा खाम मगर समुदायको समृद्ध सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा चिनिन्छ।

मकवानपुरको जुरेलीकाे पुरै माझी गाउँ एकैसाथ नेकपामा प्रवेश

मकवानपुर । प्रतिनिधिसभा क्षेत्र नम्बर–१ अन्तर्गत बकैया गाउँपालिका–४ जुरेली (माझी गाउँ) मा शुक्रबार अभूतपूर्व राजनीतिक तरंग देखिएको छ । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका विजय गौतमको समर्थनमा पुरै माझी गाउँ एकैसाथ पार्टी प्रवेश गरेपछि जिल्लाको राजनीतिक समीकरण नै हल्लिएको विश्लेषण गरिएको छ । गाउँ नै संगठित रूपमा नेकपामा प्रवेश गर्नुलाई स्थानीय राजनीतिक वृत्तले “राजनीतिक भूकम्प” को संज्ञा दिएको छ । सामूहिक रूपमा गरिएको यस निर्णयले गौतमको जिततर्फको यात्रालाई निर्णायक रूपमा मजबुत बनाएको चर्चा छ । पार्टी प्रवेश कार्यक्रममा बोल्दै उम्मेदवार गौतमले भावुक तर दृढ अभिव्यक्तिमा जनताको विश्वास नटुट्ने प्रतिबद्धता व्यक्त गरे । “म पहिलोपटक आएको हुँ, राम्रो गर्न आएको हुँ । तपाईंहरूले दिनुभएको भरोसा मन, वचन र कर्मले टुट्न दिने छैन । जति काम गर्छु, शिर उचो हुने गरी गर्छु । फोन गर्दा भेटिने, ढोका ढकढक गर्दा निस्किने प्रतिनिधि बनेर काम गर्छु,” उनले भने । उनले विदेशिन बाध्य युवा पुस्ताको पीडालाई सम्बोधन गर्दै व्यवस्था परिवर्तनसँगै जीवनस्तर परिवर्तन हुनुपर्ने धारणा राखे । “हाम्रो पुस्ता त जसोतसो गुज्रियो, तर अर्को पुस्ता पासपोर्ट च्यापेर विदेश जान बाध्य नहोस् भन्ने मेरो लडाइँ हो । व्यवस्था बद्लियो, अब हाम्रो आँगन, हाम्रो बस्ती, हाम्रो जीवन बदलिनुपर्छ,” उनले जोड दिए । गौतमले शिक्षा, रोजगारी, ढल–शौचालय, खेलमैदान, बाढी तथा पहिरो नियन्त्रणजस्ता स्थानीय सरोकारका विषयलाई केन्द्रसम्म पुर्‍याउने ‘भरिया’ बनेर काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र समूहबाट करिब सयको संख्यामा नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । सहभागीहरूले “यो प्रवेश केवल पार्टी परिवर्तन होइन, आफ्नै गाउँको भविष्य बदल्ने निर्णय हो” भन्दै गौतमलाई विजयी गराउने सामूहिक संकल्प व्यक्त गरे । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बागमती प्रदेश कमिटी सदस्यहरू लक्ष्मी माझी, जीवन गोले, लोकनाथ गौतम, सुनिल खड्का, भक्तबहादुर खत्री, परशुराम गौतम, ध्रुव अधिकारी, बकैया गाउँपालिका अध्यक्ष विमल नेपाल, वाइसीएल मकवानपुर उपाध्यक्ष प्रेम लामा थिङ लगायतका नेताहरूले मन्तव्य राख्दै जुरेली माझी गाउँको यो निर्णय परिवर्तनको स्पष्ट सन्देश भएको बताए । राजनीतिक विश्लेषकहरूका अनुसार गाउँ नै संगठित रूपमा गरिएको यो प्रवेशले मकवानपुरको चुनावी मैदानमा नयाँ लहर सिर्जना गरेको छ । कार्यक्रमको अध्यक्षता स्थानीय सुरेश परियारले गरेका थिए ।

बाँके-२ मा नेकपा उम्मेदवार दिपेन्द्र बिष्टको जनलहर,  घरदैलो अभियानले बढायो जनविश्वास

बाँके । बाँकेकाे प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार दिपेन्द्र बिष्ट यतिबेला नेपालगन्ज उपमहानगरपालिका–५ मा तीव्र घरदैलो अभियानसहित मतदाताको मन जित्दै अघि बढ्नुभएको छ।  टोल–टोलमा पुगेर प्रत्यक्ष संवाद गर्ने उहाँको सक्रिय शैलीले चुनावी माहोललाई नयाँ ऊर्जा दिएको छ। स्थानीय घरआँगनमै पुगेर बिष्टले सडक स्तरोन्नति, व्यवस्थित ढल निकास, स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षा र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै स्पष्ट योजना प्रस्तुत गर्नुभएको छ। मतदाताका गुनासा र सुझाव ध्यानपूर्वक सुन्ने उहाँको व्यवहारले “बोल्नेभन्दा काम गर्ने प्रतिनिधि” को सन्देश दिएको समर्थकहरू बताउँछन्। घरदैलोका क्रममा बिष्टले “समस्या सुन्ने मात्र होइन, समाधानका लागि जिम्मेवारीपूर्वक पहल गर्ने प्रतिनिधि बन्ने” प्रतिबद्धता दोहोर्‍याउनुभएको थियो। स्थानीय एक महिलाले प्रतिक्रिया दिँदै भनिन्, “नेता त धेरै आए, तर यसरी बसेर हाम्रो कुरा सुन्ने पहिलोपटक देख्यौँ। आफ्नै मान्छेजस्तो लाग्यो।” विश्लेषण गर्दा, शहरी स्वरूप लिँदै गरेको नेपालगन्ज–५ का मतदाताले अब नाराभन्दा व्यवहारिक योजना खोजिरहेका छन्। युवालाई रोजगारी, साना व्यवसाय प्रवर्द्धन र आधारभूत सेवाको सुधारबारे स्पष्ट धारणा राख्नु बिष्टको बलियो पक्ष बनेको देखिन्छ। उहाँको सरल बोली, प्रश्नबाट नभाग्ने स्वभाव र धैर्यपूर्वक संवाद गर्ने शैलीले मतदातामा विश्वास बढाएको छ। नेपालगन्ज–५ मा देखिएको उत्साह र समर्थनले बाँके क्षेत्र नं. २ को समग्र चुनावी समीकरणमा समेत प्रभाव पार्ने संकेत देखिएको छ। जनताको घरदैलोमै पुगेर सम्बन्ध सुदृढ गर्ने रणनीतिले दिपेन्द्र बिष्टको चुनावी यात्रा अझ मजबुत बन्दै गएको स्थानीय राजनीतिक वृत्तको आँकलन छ।

पाल्पामा टिप्परको ठक्करबाट दुई युवाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ मा शनिबार टिप्परले ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । बुटवल–पाल्पा सडक खण्डअन्तर्गत बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिदा दुई युवाको मृत्यु भएको हो । मोटरसाइकलमा सवार दुवै जना टिप्परको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनिहरुलाई तत्काल उपचारका लागि अस्पताल पुर्याईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा मृत्यु हुने दुवै जनाको पहिचान खुल्न नसकेको पाल्पा प्रहरीले जनाएको छ । टिप्पर र चालक प्रहरीकोे नियन्त्रणमा छन् ।

मतदाताका आवाज सुन्दै, स्पष्ट योजना सुनाउँदै अघि बढ्दै ‘विश्वदीप’

बुटवल। रुपन्देही क्षेत्र नं–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ यतिबेला चुनावी मैदानमा केवल मत माग्न मात्र होइन, मतदाताका आवाज सुन्न र समाधानका स्पष्ट खाका प्रस्तुत गर्न सक्रिय देखिएका छन्। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका उनले बुटवल, सैनामैना र तिलोत्तमाका विभिन्न टोल–बस्तीमा दैनिक घरदैलो, भेटघाट र अन्तरक्रिया अभियान सञ्चालन गरिरहेका छन्। घरदैलोका क्रममा पाण्डे मतदातासँग भोट माग्ने औपचारिकतामा सीमित नहुने बताइन्छ। उनी धैर्यपूर्वक स्थानीयका गुनासा, सुझाव र अपेक्षा सुन्दै ती विषयलाई आफ्ना योजना र प्रतिबद्धतामा समेट्ने प्रयास गरिरहेका छन्। प्रत्यक्ष पुग्न नसकेका स्थानमा कार्यकर्ता मार्फत सुझाव संकलन गर्ने र ‘टिपोट’ प्रणालीमार्फत थप सल्लाह बुझ्न आग्रह गर्ने गरिएको छ। “म चुनावी उम्मेदवार मात्र बनेर आएको होइन, जिम्मेवारी पूरा गर्न आएको हुँ,” पाण्डेले घरदैलोका क्रममा भने, “जनताका कुरा सुनेरै काम गर्ने हो। ढाट्ने राजनीति म गर्दिनँ, बोलेको कुरा व्यवहारमा लागू गरेर देखाउँछु।” तिनाउ किनारका सुकुम्बासीसँग संवाद शनिबार उनले बुटवल उपमहानगरपालिका–११ अन्तर्गत तिनाउ खोला किनारका सुकुम्बासी बस्तीमा पुगेर स्थानीयसँग संवाद गरेका छन्। चुनावका बेला सबैको ध्यान तान्ने तर त्यसपछि ओझेलमा पर्ने यो बस्तीका बासिन्दाले आफ्ना दुःख–पीडा र आशा समेटेर ७ बुँदे मागपत्र नै बुझाएका छन्। उनीहरूले दानव र तिनाउ नदी नियन्त्रण, तटबन्ध व्यवस्थापन तथा तिनाउ करिडोर निर्माणमा पहल गर्न माग गरेका छन्। उम्मेदवार पाण्डेले ती मागलाई गम्भीरतापूर्वक लिँदै दीर्घकालीन समाधानका लागि नीतिगत र व्यवहारिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। “सुरक्षित वस्ती, तटबन्ध व्यवस्थापन र सम्मानजनक जीवन सुनिश्चित गर्न अब ढिलाइ हुन हुँदैन। तपाईंहरूको आवाज निर्णायक तहसम्म पुर्‍याउनेछु,” उनले भने। तिनाउ किनारका भूमिहीन तथा अव्यवस्थित बस्तीका बासिन्दा वर्षौंदेखि लालपुर्जा र तटबन्धको आश्वासनमा सीमित रहेको गुनासो गर्दै आएका छन्। सो क्षेत्रमा १९ हजारभन्दा बढी मतदाता रहेका छन्। कृषकसँग प्रत्यक्ष अन्तरक्रिया घरदैलो अभियानकै क्रममा पाण्डेले सैनामैना र तिलोत्तमाका कृषकसँग भेटघाट तथा अन्तरक्रिया गर्दै आएका छन्। खेतियोग्य जमिन संरक्षण, आधुनिक कृषि प्रवर्द्धन र उत्पादनलाई बजारसँग जोड्ने योजनालाई प्राथमिकतामा राखेको उनले बताए। व्यावसायिक कृषि विस्तारका लागि सिँचाइ, मल, बिउबिजन, ट्र्याक्टर, हाते ट्र्याक्टरलगायत कृषिजन्य सामग्री सहुलियतमा उपलब्ध गराउन भूमिका खेल्ने उनले उल्लेख गरे। “कृषिलाई व्यवसायीकरण नगर्दा लाखौँ कृषकको जीवनस्तर उकासिन सकेको छैन। उत्पादन र बजारबीच राज्यको समन्वयकारी भूमिका अपरिहार्य छ,” उनले जोड दिए। भाषण होइन, काम गरेर देखाउने समय’ उद्योगी, व्यवसायी, किसान, मजदुर तथा सबै पेशा–व्यवसायीका आवाज संसदसम्म पुर्‍याउने लक्ष्यसहित आफू प्रतिस्पर्धामा उत्रिएको पाण्डे बताउँछन्। “जनतालाई झुक्याउने खेल अब बन्द हुनुपर्छ। कुनै प्रलोभनमा नलाग्न आग्रह गर्छु। मेरो राजनीतिक भविष्य जनताको विश्वाससँग जोडिएको छ,” उनले भने, “अब भाषणले पुग्दैन, काम गरेर देखाउने समय आएको छ।” निर्वाचन नजिकिँदै जाँदा जनताबाट पाएको माया, सुझाव र सकारात्मक दबाबले आफ्नो अभियान थप सशक्त बन्दै गएको उनको दाबी छ। प्रचार कार्यालय विस्तार उम्मेदवार पाण्डेलाई विजयी बनाउन नेता–कार्यकर्ता दैनिक घरदैलोमा खटिएका छन्। मतदाता र कार्यकर्ताबीच सहज सम्पर्कका लागि रुपन्देही–२ का विभिन्न स्थानमा प्रचार कार्यालय स्थापना गरिएको छ। शनिबार सैनामैना नगरपालिका–१ र २ तथा बुटवल उपमहानगरपालिका–७ आलेचोकमा प्रचार कार्यालय उद्घाटन गरिएको पार्टीले जनाएको छ। प्रचार कार्यालय उद्घाटन गर्दै पाण्डेले युवापुस्ताको भावना र परिवर्तनको आकांक्षा जोगाउन तारा चिन्हमा मतदान गर्न अपिल गरे। निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’का अनुसार उम्मेदवारसहितको घरदैलो तथा अन्तरक्रिया अभियान दैनिक दुई चरणमा सञ्चालन भइरहेको छ भने उम्मेदवार पुग्न नसकेका स्थानमा कार्यकर्ताले निरन्तर अभियान अघि बढाइरहेका छन्। रुपन्देही क्षेत्र नं–२ अन्तर्गत बुटवल उपमहानगरपालिकाका वडा नं–१ देखि १३, तिलोत्तमाका वडा नं–१ देखि ६ र सैनामैनाका वडा नं–१ देखि ४ सम्मका क्षेत्र समेटिएका छन्। चुनावी माहोल तातिँदै जाँदा ‘विश्वदीप’को अभियान मतदातामाझ प्रत्यक्ष संवाद र स्पष्ट योजनाका कारण थप उत्साहजनक बन्दै गएको देखिन्छ।  

चुनबाङबाट प्रचण्डको उद्‍घोष  ‘आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन्, गणतन्त्र ल्याउनेहरू जित्नेछन्’

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताउनुभएको छ। रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बङ्गलादेशमा हालै सम्पन्न निर्वाचन परिणाबारे टिप्पणी समेत गर्नुभयो। “सिंहदरबार, संसद् भवन जले। सर्वोच्च अदालत जल्यो। निजी सम्पत्ति जले, व्यक्तिका घर जले। अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्,” उहाँले भन्नुभयो, “गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्।” उहाँले बङ्गलादेशको निर्वाचनबाट सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “बङ्गलादेशमा पनि आगो लगाइयो। चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे। नजलाउने र स्थिरता चाहनेहरू जिते,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका भनिएका व्यक्तिहरू तेस्रो भए। यहाँ पनि हल्लाखोरहरूको हिसाब जनताले गरेर बसेका छन्।” संयोजक प्रचण्डले आगजनी, कुशासन, दमन र हिंसा मच्चाउनेहरूलाई रोल्पा–रुकुमका जनताले राम्ररी बुझेको बताउनुभयो। “तपाईंहरूले बुझ्नुभएको छ, अब देशभरिका जनताले पनि बुझ्नेछन्,” उहाँले भन्नुभयो। उहाँले रुकुम पूर्वलाई विकासको नयाँ मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “भरतपुर मोडेल तपाईंहरूले देख्नुभएकै छ। अब विकासको नयाँ मोडेल र समाजवादको नयाँ मोडेल विकास गर्नेछौँ,” संयोजक प्रचण्डले भन्नुभयो।