एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । 

बुधबार दिउँसो १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ । 


संघीय संसद्का दुवै सदनमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण संसद्ले धन्यवाद प्रस्ताव समेत पारित गर्न पाएन । 

काँग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई छानबिनको दायरामा ल्याउनुपर्ने र त्यसकालागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति गठन गर्न आवश्यक नभएको भन्दै अडान लिँदै आएका छन् । 

‘निःशुल्क सिपमूलक तालिम’ लिन ६८ हजार ८६६ जनाले दिए आवेदन

काठमाडौं । निःशुल्क सिपमूलक तालिम लिनका लागि काठमाडौं महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६ जनाको आवेदन दिएका छन्।  ​यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएको काठमाडौं महानगरले जनाएको छ।  २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा १० क्षेत्रका ३० वटा पेशासँग सम्बन्धित निःशुल्क तालिमका लागि ‘सिप मेला’ कार्यक्रमका लागि आवेदन आव्हान गरेको थियो । तालिमका कक्षाहरु वैशाख १९ गतेदेखि निरन्तर चलिरहेका छन्। ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत चालु आर्थिक बर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क तालिम प्रदान गर्ने, यसरी तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने लक्ष्य महानगरले लिएको छ ।  ‘आवेदकले अनलाइनबाट र कागजमा फाराम भरेर आवेदन दिनुभएको छ।’ सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने,  ‘यस्ता आवेदकहरुलाई नाम थर, मोवाइल नम्बर, नागरिकता नम्बर, ठेगाना जस्ता सूचकका आधारमा एकजनालाई एउटै मात्र तालिमका लागि छान्छौँ। यसमा १० क्षेत्रका ३५ भन्दा धेरै पेशासँग सम्बन्धित तालिम छन्।’ यस्तै ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन्। यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिए। जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए।  सिप मेलाको अन्तिम २ दिन रोजगार मेला हुनेछ। यस दिन रोजगारदाताहरू स्टलमा आउने काठमाडौं महानगरले जनाएको छ। 

सहकारी ठगीविरुद्ध तरुण दलले आज प्रदर्शन गर्ने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय समिति माग गर्दै आएको नेपाली कांग्रेसका भ्रातृसंगठनहरु सडक आन्दोलनमा उत्रिएका छन्। कांग्रेसले संसदभित्र आन्दोलन गरिरहेका बेला भ्रातृसंगठनहरु हिजोदेखि सहकारीपीडितहरूको पक्षमा सडकमा उत्रिएका छन्।कांग्रेसका भ्रातृ संगठन नेपाल महिला संघले हिजो काठमाडौँमा प्रदर्शन गरेको थियो भने आज नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा वृहत विरोध ¥याली निकाल्ने भएको छ। तरुण दलले सहकारी पीडितहरुको पक्ष र सहकारी ठगको विरुद्ध आज मध्याह्न १२ बजे माइतीघरदेखि नयाँबानेश्वरसम्म वृहत विरोध ¥याली गर्न लागेको हो। सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन, सहकारी समस्यालाई दिगो रुपमा समाधान गर्न, सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याइ कानुनी कारबाही गर्न सरकारलाई दबाब दिन विरोध र्‍याली आयोजना गरिएको तरुण दलका अध्यक्ष विद्धान गुरुङले जानकारी दिए। उनले उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको अनौपचारिक बैठकबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिए।

एमाले तनहुँमा कँडेल निर्वाचित

तनहुँ । नेकपा एमालेको तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी विष्णुभक्त सिग्देललाई ८८ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । मंगलबार सकिएको मतगणनामा कँडेलले २ सय ९२ ल्याउँदा सिग्देलले २ सय ४ मत पाएका थिए। जिल्ला अध्यक्षमा निर्वाचित भएका कँडेल स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट हुन् । त्यसबाहेक अन्य पदाधिकारीमा पनि अधिकारी समूहले पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहलाई पराजित गरेको छ। जिल्लाका केन्द्रीयस्तरका नेताहरु किरण गुरुङ, टुकराज सिग्देल, भगवती न्यौपानेले खगराजकै समूहलाई समर्थन गरेका थिए । उपाध्यक्षमा खगराज समूहका राजेश्वर ढकालले २ सय ७९ मत पाएर विजयी भए भने पृथ्वीसुब्बा समूहका श्रीराम कार्कीले २ सय १४ मत प्राप्त गरे । सचिवमा प्रदीपराज अधिकारी विजयी हुँदा अनिल पाण्डे पराजित भए । खुल्ला उपसचिवमा आरके पोखरेललाई हराउँदै खिमबहादुर कुमाल विजयी भए । त्यस्तै, महिला उपसचिवमा सुनिता नेपाली विजयी हुँदा बसुन्धरा घर्ती पराजित भइन् । विजयी सबै अधिकारी प्यानलकै हुन् । ५ सय ८५ प्रतिनिधि रहेको अधिवेशनमा ५ सय ६० मत खसेको थियो ।

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, फैसला आउनसक्ने सम्भावना

काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा आजलाई पेसी तोकेको छ । मंगलबार  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । मुद्दा हेर्दाहेर्दैमा राखिएपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ । अब न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्नेछ। गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।

आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी प्रदेशका थोरै तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर १५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४६ मिनेटमा हुनेछ ।

२८.६२ अंकले बढ्यो नेप्से

काठमडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २८.६२ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक १.४३ प्रतिशत बढेर २०२७.५१ विन्दुमा बन्द भएको छ । यसदिन चार अर्ब आठ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका कुल कम्पनीमध्ये २१९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ। तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । समाज लघुवित्त, उपकार लघुवित्त र यूनिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ। आज सर्वाधिक परिसूचक वृद्धि लघुवित्त समूहको भएको छ । यो समूहको परिसूचक ३४४ प्रतिशतले वृद्धि भएको छ।

कर्मचारीको अवकाश उमेर पुनरवलोकन हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने भएको छ  ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदमा मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा बढुवा प्रणालीलाई अनुमान योग्य बनाउँदै अवकाश हुने उमेर हदको पुनरवलोकन समेत गरिने बताएका हुन् । यस्तै, आगामी आर्थिक वर्षमा राष्ट्रिय एकीकरणसँग सम्बन्धित पुरातात्त्विक सम्पदा, पदमार्गको पहिचान गरी स्तरोन्नति गरिने भएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा  राष्ट्रिय एकीकरणसँग सम्बन्धित सम्पदाको पहिचान र स्तरोन्नति गर्ने पनि बताए।

नेपाल उद्योग परिसंघको महानिर्देशकमा ओझा नियुक्त

काठमान्डौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको १८औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले उत्पादनमूलक एवं सेवामूलक उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन, रोजगारी सिर्जना, आर्थिक विकासका लागि सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।   नवनियुक्त महानिर्देशक ओझाले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने बताए । उनले परिसंघमा आवद्ध सम्पूर्ण सदस्यहरूमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ विशेष ध्यान दिने बताए । डा। ओझाले द काठमान्डौं पोष्ट, नेपाल रिपब्लिक मिडियामार्फत पत्रकारिता गरी लगानी बोर्डको कार्यालय, नेपाल पूर्वाधार बैंकलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रि प्रतिष्ठित संस्थाहरूमा काम गरिसकेका छन् । उनले जनप्रशासनमा विद्यावारिधी गरेका छन् । 

आफ्ना सहयोगीसहित उच्च अदालत पुगे सन्दीप लामिछाने

काठमाडौं । आफ्नो मुद्दामा फैसला सुनवाइ जारी रहँदा क्रिकेटर सन्दीप लामिछाने पनि उच्च अदालत पुगेका छन् । उनी आफ्ना सहयोगीसहित अदालत गएका हुन् । सन्दीपमाथि मुद्दा दायर गर्ने ‘गौशाला २६’ पनि इजलासभित्र देखिएकी छन् । उच्च अदालत पाटन बाहिर भिडभाड बढ्न थालेको छ । सन्दीपका समर्थकहरू जम्मा भएका छन् । अदालतबाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता गर्नुपर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समुद्रमा सञ्चालन हुने पानीजहाज अब नेपालमा दर्ता गर्नुपर्ने बताएका छन् । मंगलबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुनी प्रबन्ध गरिने बताएका हुन् । जल यातायातको प्रयोगका लागि संस्थागत र प्रक्रियागत व्यवस्था गरिने उनले बताए । उनले सुनकोशी र नारायणी नदिमा टर्मिनलसहितको जलमार्ग निर्माण गरिने जनाए । ‘सुनकोशी र नारायणी नदिमा टर्मिनलसहितको जलमार्ग निर्माण गरिनेछ, समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुनी प्रबन्ध गरिने,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कानूनी तथा संरचनागत सुधार गर्ने

काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न र जमिनको मूल्यांकन प्रणाली व्यवस्थित गर्न आवश्यक कानूनी तथा संरचनागत सुधार गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेका छन् । मालपोत र नापीको आधारभुत सेवा स्थानीय तहबाट एकीकृत रूपमा अनलाइनबाट प्राप्त हुने व्यवस्था गर्ने पनि घोषणा भएको छ । राष्ट्रपति पौडेलले आधुनिक प्रविधिबाट भूमिको पुनर्नापी गरी अभिलेख अद्यावधिक गरिने बताए।

मालपोत र नापीसम्बन्धी सेवा अनलाइनमार्फत स्थानीय तहबाटै दिइने

काठमाडौँ । सरकारले मालपोत र नापीसम्बन्धी सेवाहरू स्थानीय तहबाटै अनलाइनमार्फत दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मालपोत र नापीसम्बन्धी आधारभूत सेवाहरू स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताएका हुन् । उनले भने, ‘घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउन कानूनी तथा संरचनात्मक सुधार गरिनेछ । मालपोत र नापीसम्बन्धी आधारभूत सेवाहरू स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइनेछ । नापीनक्सासम्बन्धी कार्यलाई थप प्रविधियुक्त तथा व्यवस्थित बनाइनेछ । डाइनामिक डाटअप भरिभाषित गरी नापीनक्सा कार्यलाई यथार्थपरक बनाइनेछ । सेटलाइट प्रविधिमा आधारित नियन्त्रण आधार विन्दुहरूको सञ्जाल विस्तार गरिनेछ । आधुनिक प्रविधिबाट भूमिको पुनर्नापी गरी अभिलेख अद्यावधिक गरिनेछ । भूमिको प्रकृति र सम्भावनाअनुरूप तीन तहको वर्गीकरण गरी प्रदेश र स्थानीय तहको कार्यान्वयन क्षमता बढाइनेछ ।’

१ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ कर्जा दिने सरकारको तयारी

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । नवप्रवर्तन गर्न प्राज्ञिक क्षेत्र र निजी क्षेत्रसँग सहकार्य गरिने समेत उनले बताए । सातवटै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापना गरी यसको प्रवर्द्धन गरिने समेत उनले घोषणा गरे । वैदेशिक रोजगारीबाट फर्केका युवाको उद्यमशीलता विकास गर्ने समेत उनले बताए । उनले आगामी आवमा १ हजार साना उद्यमीलाई सरकारले सहयोग गर्ने घोषणा गरे । रैथाने तथा परम्परागत सिप प्रवर्द्धन गर्नेसमेत राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रत्येक प्रदेशमा एक हजार गाईभैंसी पालनको पूर्वाधार बनाउने सरकारको घोषणा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रत्येक प्रदेशमा कम्तिमा एक हजार गाईभैंसी पाल्ने क्षमताका पूर्वाधार बनाउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा गाईभैंसी पालनको पूर्वाधारसहितको स्रोत केन्द्र बनाउने घोषणा गरेका हुन् । सरकारले पशुपन्छीजन्य रोग नियन्त्रणका लागि अस्पताल निर्माणलाई पनि प्राथमिकतामा राखेको छ ।

केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने योजना रहेको बताए ।