मोरङ-३ यस्ता छन् नेकपा उम्मेदवार डा. देउमान सम्वाहाङफेको एजेण्डा र प्रतिबद्धता
काठमाडौँ । मोरङ क्षेत्र नम्बर ३ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. देउमान सम्वाहाङफेले स्थानीय मुद्दाहरुलाई प्राथमिकतामा राखेर आफ्नो एजेन्डा तय गरेका छन् । उनले किसानको समस्या समाधान, भूमिहिन र सुकुम्बासीहरुको समस्या समाधान, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा भइरहेको माफियातन्त्रको अन्त्य लगायतका एजेन्डालाई प्रमुख बनाउँदै आफ्नो प्रतिवद्धता पत्र ल्याएका हुन् ।
सुधारका अभियानहरु सञ्चालन गरिने
सम्वाहाङफेले किसानलाई तालिमको व्यवस्था गर्ने तथा समयमै मल, विऊ उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् । साथै, उत्पादन लागत मुल्य र नाफा सुनिश्चित गर्न ‘उत्पादनमा किसान र बजारमा सरकार अभियान’ सञ्चालन गर्ने उनले घोषणा गरे । छोरीप्रतिको विभेद्, महिलाहिंसा अन्त्य, शिक्षामा छोरी पहिला, सिप विकास तालिम, रोजगार र व्यवसायमा अगाडि बढाउन महिला उद्यमशिल विकास अभियान सञ्चालन गर्ने उनको सङ्कल्प छ । त्यसैगरी, गुणस्तरीय शिक्षा, सिप र स्वरोजगार अभियान सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएका युवाको पुँजी, सिप, ज्ञान र अनुभवको सहि सदुपयोग गरी पुँजी निर्माण, रोजगार र थप विदेश पलायन रोक्न स्वदेशमा नै काम गर्ने वातावरण बनाउने घोषणा पनि उनले गरेका छन् ।
गरिब र असहायको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने, निःशुल्क कानुनी उपचार पनि दिने
उनले यस क्षेत्रमा रहेका वनपैदावार (घाँस, दाउरा, काठ, जडिवुटी, फलफूल) लगायतलाई सहुलियत मुल्यमा सबै उपभोक्ताले समान उपभोग गर्न पाउने व्यवस्था गर्ने पनि बताएका छन् । भूमि र आवास विहिन समुदायलाई जमिन र सुरक्षित आवासको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीका लागि आफुले मासिक रुपमा पाउने सुविधाबाट सेवा कोष बनाई जेहेन्दार, गरिब, युवा युवतीलाई उच्च शिक्षाको व्यवस्था तथा गरिब र असहायहरूको स्वास्थ्य उपचारमा खर्च गर्ने पनि घोषणा गरेका छन् । त्यस्तै असहाय र महिला हिंसाका मुद्धामा निःशुल्क वहस पैरवी गर्ने पनि उनको भनाई छ ।

सबै धार्मिक समुदायसँग सम्बन्धित आस्थाका मन्दिर, गुम्वा, चर्च, मस्जिद, माडहिम र प्रकृति पुजकहरूका थान तथा देवस्थलहरूको प्रवद्र्धन र विकास गर्न धार्मिक, सांस्कृतिक, आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने अभियान सञ्चालन गर्ने भनिएको छ । त्यस्तै, सबै समुदायका हजारौँ वर्ष पुराना संस्कृतिको संरक्षण गर्न, आय आर्जनसँग जोड्नु आवश्यक भको भन्दै सांस्कृतिक संग्राहलय बनाई आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने नीति ल्याई पुर्वाधार बनाउन पहल गर्ने बताए ।
सो क्षेत्रका नदीहरू चिसाङ, वक्राहा, डास, लोहोन्द्रा लगायत सबै खोलाहरूको डुवान, कटान नियन्त्रण गर्न पहल गर्ने पनि उनको प्रतिबद्धता छ । नदी आसपासमा रहेका समुदायसँगको साझेदारीमा समुदायकै आम्दानी हुनेगरी नदीजन्य लगानी नीति बनाउन पहल गर्ने पनि उनको भनाई छ ।
शिक्षा र स्वास्थ्यमा भएको महंगी र माफियातन्त्र अन्त्य गरी निःशुल्क र गुणस्तरीय हुने कानुन बनाउन पहल गर्ने, ठूलासाना सडकहरू, कृषि पहुँचमार्गहरू, पुलपुलेसाहरू, विद्यालय, अस्पतालहरू बनाउन स्थानीय पालिका, प्रदेश र सङ्घमा सहकार्य गरी अगाडि बढ्ने बताइएको छ । त्यसैरी सो क्षेत्रमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा सुविधा सम्पन्न ३ सय शैय्याको अस्पताल बनाउन, न्युरो, अर्थो, गाइनो लगायतका सुविधा सम्पन्न कार्यक्रम ल्याउन पहल गर्ने पनि जनाइएको छ ।

जङ्गली जनावर नियन्त्रण अभियान सञ्चालन गरी पिडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने, मजदुर वर्ग, दैनिक ज्यालादारी, कारखाना, सीटी मजदुर, गाडी चालक लगायतका श्रमिकहरूको समान ज्याला वृद्धि गर्न पहल गर्ने, सानाठूला सबै व्यवसायीहरूको हित प्रवद्र्धन गर्ने नीति बनाउन पहल गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।
प्रचण्डको सिस्नेमा मनिङवाक र स्थानीयसँग भेटघाट (फाेटाे)
रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विहान सिस्ने गाउँपालिका पुगेका छन्। उहाँले गाउँपालिकाको नेटामा रहेको सहिद स्मृति पार्कमा पुगेर शहिदका प्रतिमामा माल्यार्पण गर्नु भएको छ र त्यहाँ उपस्थित शहिद परिवारसँग सम्मानपूर्वक भेटघाट गर्नु भएको छ। मतदाता भेटघाटका लागि नायगाड पुगेका संयोजक प्रचण्डले स्थानीय टोपबहादुर खत्रीको घरमा मकैको रोटी र दुध ग्रहण गर्नु भएको थियो, जसले उहाँको जनप्रिय र मिलनसार व्यक्तित्व झल्काएको बताइन्छ। साथै, संयोजक प्रचण्डले वाकिङकै क्रममा प्वाङ स्वास्थ्य चौकीको निरीक्षण गर्नु भएको छ। आजै उहाँले नायगाडमा आयोजना गरिएको आफ्नो पहिलो चुनावी सभामा जनसमुदायलाई सम्बोधन गर्नु हुनेछ। स्थानीयले प्रचण्डको सरल र जनमैत्री व्यवहारको उच्च प्रशंसा गर्दै आगामी निर्वाचनमा उहाँप्रति समर्थन सुनिश्चित गर्ने संकेत दिएका छन्।
कल्पना शर्माः स्थानीय विकास र पारदर्शितामा केन्द्रित उम्मेदवार
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी काठमाडौँ क्षेत्र नं. ५ कि उम्मेदवार कल्पना शर्माले स्थानीय आवश्यकतामा आधारित प्रतिवद्धता सार्वजनिक गरेसँगै उनीप्रतिको जनआकर्षण बढ्दै गइरहेको छ । यस क्षेत्रबाट पटक–पटक निर्वाचित सांसदहरु पार्टी र राज्यसत्ताको केन्द्रमा रहँदै आएपनि पक्की सडक, स्वच्छ पिउने पानी, विद्युतीकरण, ढल निकास जस्ता विकास निर्माणका काममा जनताले राखेका अपेक्षा पुरा हुन सकेको छैन । राजनीतिको अलावा कानुनी र सामाजिक आन्दोलनमा समेत स्थापित शर्मालाई युवा उम्मेदवारको रुपमा नेकपाले काठमाडौँ ५ मा उम्मेदवार बनाएसँगै तारा चुनाव चिन्हप्रतिको आकर्षण बढेको हो । शर्माले विधायकी भुमिकाका साथासाथै स्थानीय आवश्यकतामा आधारित विकास निर्माणको काम गर्ने प्रतिवद्धता जनाएकी छन् । सक्षम, योग्य र नयाँ युवा उम्मेदवारको रुपमा शर्मा उदाएसँगै काठमाडौँ ५ मा विजयको झण्डा फहराउने अपेक्षा नेकपाले गरेको छ । ४ असाढ २०३४ मा जन्मिएकी शर्मा कानुन व्यवसायमा समेत आवद्ध छिन् । उनले उनले एलएलएम÷एमपिए सम्मको शैक्षिक योग्यता हासिल गरेकी छन् । स्कुले जीवन देखि नै बामपन्थी आन्दोलनमा सक्रिय रहेकी उनी हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी छन् । २०७४ सालको स्थानीय तहको चुनावमा उनी टोखा नगरपालिकाको मेयर पदको प्रतिस्पर्धि समेत बनेकी थिइन् । काठमाडौँ क्षेत्र नं. ५ का विकास निर्माणको काममा विगत देखि नै उनले योगदान दिदैँ आएकी छिन् । सामाजिक अभियान, कानुन व्यवसायको क्षेत्रमा दर्जनौँ असहायहरूलाई निःशुल्क सेवा प्रदान गर्दै आएकी उनले भ्रष्टाचारको विरोध र सुशासनका लागि सशक्त आवाज उठाउँदै आएकी छिन् । यस्तो छ विधायिकी कार्यमा उनले देखेको प्राथमिकता शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, निर्वाचित सांसद मन्त्री बन्न नपाउने व्यवस्थासहित जनचाहना अनुसार वर्तमान संविधानमा समयसापेक्ष संशोधनको पक्षमा दृढतापूर्वक उभिने बताएकी छिन् । कानूनहरूको समय सापेक्ष संशोधन, नयाँ कानून निर्माण तथा चुस्त, पारदर्शी र प्रविधिमैत्री कानूनी कार्यविधि तर्जुमा र कार्यान्वयन उनको प्राथमिकतामा परेको छ । कृषि, ऊर्जा, पर्यटन र वन राष्ट्रिय अर्थतन्त्रको आधार भएको भन्दै उनले आधुनिक कृषि र कृषि उत्पादनको सहज बजारिकरण, ऊर्जा व्यापार, बन्द भएका उद्योगहरूको पुनः संचालन र नयाँ उद्योग स्थापनाको लागि सहजीकरण गर्ने उनको प्राथमिकता छ । स्थानीय कच्चा पदार्थ र श्रममा आधारित साना उद्योगलाई प्रोत्साहन, विदेशमा सिप सिकेर आएका व्यक्तिहरू लक्षित उद्योगमैत्री वातावरण र प्रविधिमैत्री सेवा र जवाफदेही राष्ट्रसेवक आफ्नो प्रतिवद्धता रहेको उनले बताइन् । एउटै पदमा २ कार्यकालभन्दा बढी रहन नपाउने र कुनै पनि पदमा ३ पटकभन्दा बढी प्रतिस्पर्धा समेत गर्न नपाउने गरी पुस्तान्तरण सम्बन्धी स्पष्ट कानूनी व्यवस्था गर्न जोड दिने उनको एजेन्डा छ । त्यस्तै, समुदायको सामूहिकतामा योजना चयन र समुदायकै अनुगमनमा कार्यान्वयन, प्रतिभा पलायनको न्यूनिकरण र युवा स्वदेश फिर्ती अभियान, जेनजी आन्दोलनले औंल्याएका मुद्दाहरूको दिर्घकालिन समाधान गरी विधि र प्रविधिमैत्री राज्य सञ्चालन आफ्नो एजेन्डा रहेको उनले बताइन् । स्थानीय मुद्दाहरुमा उनको प्रतिबद्धता शर्माले स्थानीय उत्पादनको प्रयोगमा प्रोत्साहन गरिने उल्लेख गरेकि छिन् । चुस्त, दुरुस्त र प्रविधिमैत्री सरकारी सेवा, सांस्कृतिक सम्पदा र ऐतिहासिक संस्कृतिको संरक्षण र विकास, क्षेत्र नं. ५ लाई लाई शिक्षा र स्वास्थ्य उपचारको हबको रूपमा विकास गर्ने र समदाय लक्षित खेलकुुद व्यायाम र योग समेतका कार्यक्रमहरूको सञ्चालन गर्ने प्रतिवद्धता गरेकी छिन् । त्यस्तै, पक्की सडक, स्वच्छ पिउने पानी, विद्युतीकरण, ढल निकास जस्ता विकास निर्माणका कार्यलाई पूर्णता दिई दूरसंचार र इन्टरनेट सेवामा सर्वसुलभता गराउने घोषणा उनको छ । स्थानीय मठमन्दिर, पाटीपौवा, धाराहरूको संरक्षण, जिर्णोद्वार र नयाँ निर्माण, सरकारी जग्गाहरूको संरक्षण र सार्वजनिक उपयोग, आदिवासी, जनजाति, दलित समुदाय लक्षित कार्यक्रम सञ्चालन, निःशुल्क आधारभूत स्वास्थ्य सेवा र व्यवसायिक र प्राविधिक शिक्षा लगायतमा जोड दिइएको छ । शर्माले राज्यका सबै निकायमा आर्थिक पारदर्शिता र जवाफदेहिता, न्यायमा सहज पहुँच र सबैखाले हिंसाको अन्त्य, सुकुम्बासी, नदी किनार तथा सडक मापदण्ड पीडितका समस्याको दीर्घकालिन समाधान, श्रमको सम्मान र व्यवसायको संरक्षण, स्थानीय रोजगारीको सृजना र स्थानीय श्रमलाई प्राथमिकता, क्षेत्र नं. ५ भित्रका अस्पताल, विद्यालय लगायतका संस्थाहरूमा स्थानीय बासिन्दाहरूलाई सहुलियतको व्यवस्था गर्ने प्रतिबद्धता गरेकी छिन् । त्यसैगरी, स्थानीय कच्चा पदार्थ र श्रममा आधारित साना उद्योगलाई प्रोत्साहन र विदेशमा सिप सिकेर आएका व्यक्तिहरू लक्षित उद्योगमैत्री वातावरण बनाउने कुरामा पनि उनले जोड दिएकी छिन् ।
सोचविचार गरेर मतदान गर्नुहोस्, पर्वतको भविष्य तपाईंको हातमा:नेकपा उम्मेदवार तिमिल्सिना
पर्वत। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्वतका नेपाली कम्युनिस्ट पार्टीका (नेकपा) का उम्मेदवार मनहरी तिमिल्सिनाले मतदातालाई आफ्नै जिम्मेवारी बोध गराउँदै विकास र समृद्धिका साझा लक्ष्यमा एकजुट हुनुपर्नेमा जोड दिएका छन्। जलजला गाउँपालिकामा आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै तिमिल्सिनाले भने, जिल्लाको समग्र विकासका लागि योग्य र सक्षम नेतृत्वले मात्र विजयी हुन सक्ने भएकोले मतदाताले सोचविचार गरेर मतदान गर्नुपर्ने बताए। उक्त कार्यक्रममा उनले स्पष्ट पारे, “तपाईं जुनसुकै दलमा विश्वास गर्नुहुन्छ, म सबैप्रति समान सम्मान व्यक्त गर्दछु। भनिन्छ– ‘कि तपाई असल मान्छे राजनीतिमा आउन तयार हुनुहुन्छ, कि खराब मानिसबाट शासित हुन तयार हुनुहुन्छ।’” उनले प्रत्यक्ष संवादमार्फत स्थानीय आवश्यकता र समस्याका समाधानका लागि योजनाबद्ध प्रस्ताव प्रस्तुत गर्ने प्रतिबद्धता पनि जाहेर गरे। मनहरी तिमिल्सिनाले पर्वतको भाग्य बदल्ने जिम्मा र समय मतदाताको हातमा रहेको भन्दै योग्य उम्मेदवारलाई मात्र अमुल्य मतदान गर्न आग्रह गरे। उनले चुनावी घोषणामा जलस्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सडक निर्माण, कृषि विकास, विज्ञान–प्रविधि, नवपर्वद्धनमा रोजगारी सिर्जनाजस्ता महत्त्वपूर्ण विषयलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे। उक्त जनभेटघाट अभियानले स्थानीय मतदातामा उत्साह सिर्जना गरेको नेकपा पर्वतले जनाएको छ। सहभागीहरूले उम्मेदवार तिमिल्सिनाको जिम्मेवार, पारदर्शी र विकासमुखी नेतृत्वशैलीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उम्मेदवार तिमिल्सिनाले पर्वतका नागरिकहरूलाई अबको निर्वाचनमा सोचविचार गरेर मतदान गर्न आह्वान गर्दै भने, “हामीले सही निर्णय गर्न सकेमा मात्र पर्वतको भविष्य उज्जवल हुनेछ। विकास र समृद्धिको मार्ग तपाईंको मतबाट तय हुन्छ।” पर्वतका मतदाताका लागि अब निर्णयको घडी आएको छ, र योग्य नेतृत्वको चयनमार्फत जिल्लालाई समृद्धि र विकासको मार्गमा अघि बढाउने जिम्मा सबैको हातमा छ।
रुकुमपूर्वको जीवन परिवर्तन गर्ने सडक, मेरो प्रस्तावबाट बनेको: प्रचण्ड
रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र शहिदमार्ग आफ्नो प्रस्तावमा बनेको बताउनुभएको छ। सोमबार रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१२, कोलमा आयोजित जनभेटघाटमा उहाँले यस्तो जानकारी दिनुभयो। पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण जोड्ने शहिदमार्गको योजना आफू प्रधानमन्त्री हुँदा सुरु गरेको प्रचण्डले बताउनुभयो। यी दुई सडकले रुकुमपूर्वलाई छोएकोले यहाँको जनजीवनमा ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो। साथै, यी दुई सडकलाई सुधार्ने आफ्नो मुख्य योजना रहेको पनि उहाँले स्पष्ट पार्नुभयो। शहिदमार्गलाई डोल्पासँग जोडेर चीनसँग जोड्ने योजना रहेको प्रचण्डले जानकारी दिनुभयो। यी सडकले हाल धेरै पहाडी जिल्लाको मेरुदण्डको रुपमा विकास भइसकेको उहाँले उल्लेख गर्नुभयो। यसैगरी, ‘व्यवस्था क्रान्तिको किल्ला’ मानिने जिल्लामा अब अवस्था परिवर्तन गर्ने क्रान्ति गर्ने प्रतिवद्धता प्रचण्डले जनाउनुभयो। जनयुद्धकालमा यी जिल्लामा बसेर लडाइँ लडेका कारण गणतन्त्र व्यवस्था आएकोले अब समाजवाद क्रान्ति कार्यान्वयनमा सहयोग गर्नु जनता सबैसँग उहाँले आग्रह गर्नुभयो। जनयुद्धकालमा यी जिल्लामा बसेर लडाइँ लडेको स्मरण गराउँदै आफू हाल यस जिल्लाको नयाँ प्रतिनिधि नभएको पनि प्रचण्डले स्पष्ट पार्नुभयो। त्यसैले हालको भेटघाटका क्रममा आएका योजनालाई गम्भीर रूपमा लिएको र बाचा पूरा गर्ने प्रतिबद्धता उहाँले दोहोर्याउनुभयो। सोमबार प्रचण्डले पुथाउत्तरगङ्गाका विभिन्न वडाका गाउँमा जनभेटघाट गर्नु भएको छ। आजै सिस्ने गाउँपालिका–२, नायगाडमा बस्न आउनुभएको छ भने मङ्गलबार नायगाडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
पाँच वर्षमा १० हजार मेगावाट विद्युत् थप गर्ने नेकपाकाे याेजना
काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभर ९८ दशमलव चार प्रतिशत घरधुरीमा बिजुली बत्तीको सेवा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ९९ दशमलव चार प्रतिशत घरधुरीमा बिजुली बत्ती पुगेको छ । सरसर्ती हेर्दा तथ्यांक फरक छ । तर, सारमा मिल्दोजुल्दो नै छ । प्रदेशगत रुपमा हेर्दा गण्डकी प्रदेश पूर्ण रुपमा विद्युतीकरण भएको छ । तराई मधेश समेटने मधेश प्रदेश पनि पूर्ण विद्युतीकरणको चरणमा प्रवेश गरेको छ । चालु आवको अन्त्यसम्म लुम्बिनी प्रदेश र वाग्मती प्रदेश समेत पूर्ण विद्युतीकरण हुनेछ । वाग्मती प्रदेशको पनि ९० प्रतिशत भन्दा धेरै स्थानमा बिजुली पुगेको छ । गोसाइकुण्डमा समेत बिजुली पुगेको सन्दर्भमा केही हिमाली र पहाडी भेगमा भने अझै बाँकी छ । सुस्ताका नागरिकले पनि बिजुली पाएका छन् । अब बाँकी रहेको क्षेत्र भने कर्णाली र सुदुरपश्चिम प्रदेश हो । कोहलपुर–सुर्खेत– दैलेख १३२ केभी प्रसारण लाइन हालैमात्र सञ्चालनमा आएको छ । सो प्रसारण लाइनले कर्णाली प्रदेशको विद्युतीकरणमा ठूलो योेगदान गर्नेछ । सो प्रसारण लाइन निर्माणका लागि तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले गरेको प्रयास सह्रानीय छ । सुदुरपश्चिम प्रदेशमा प्रसारण लाइन मात्रै बनाउने हो भने चमेलिया करिडोरको बिजुली नै उपलब्ध हुनसक्छ । प्रसारण लाइन निर्माणका लागि तत्कालीन माओवादी नेतृत्वको सरकारले चिनियाँ लगानीको एएआइबी बैंक मार्फत सुहलियत कर्जा अन्तर्गत २५ अर्ब बराबरको ऋण लिएको छ । नियमित रुपमा काम गराउन सके आगामी डेढ बर्षभित्र सुदूरपश्चिम प्रदेशको सबै क्षेत्रमा बिजुली बल्नेछ । यस्तै, कोशी प्रदेशका केही पहाडी बस्ती बाहेक सबै भूभागमा बिजुली बत्ती पुग्दैछ । अध्यारोमा बस्दै आएका नेपाली नागरिकले पाएको यो सुविधा त्यसै सम्भव भएको होइन । अब फर्कौ, २०६२ सालतिर । जतिबेला देश नयाँ राजनीतिक चरणमा प्रवेश गर्दै थियो । जनयुद्ध र जनआन्दोलनको संयुक्त प्रयासपछि देशमा गणतन्त्र स्थापना भयो । जनयुद्धमा रहेका तत्कालीन माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । त्यसबेला देशभित्र मात्रै २८ प्रतिशत घरधुरीमा बिजुली बत्तीको सुविधा थियो । आफूलाई लोकतान्त्रिक भन्न रुचाउने उनै नेपाली काँग्रेस र नेकपा(एमाले) सत्ताको वरीपरी थिए । राजतन्त्र सक्रिय थियो । विकासको मूलप्रवाहमा कुनै पनि ग्रामीण बस्ती अग्रसर थिएन जनयुद्धले प्रदान गरेको चेतना र राजनीतिक परिवर्तनको प्रवाहले माओवादी जब संविधानसभामा ठूलो दल बनेर स्थापित भयो । तब देश भित्र विद्युतीकरण र उज्यालो नेपालको सपनाले साकार रुप लिन थाल्यो । विसं २०६३ सालमा प्रचण्ड नेतृत्वको सरकारले ऊर्जा संकट समाधान गर्ने महत्वाकाक्षी लक्ष्य अगाडि सा¥यो । नौ महिनाको अवधि मात्रै सरकारमा रहँदा अगाडि सारिएको महत्वपूर्ण काम मध्ये एक थियो, उज्यालोको खोजी । मध्यपहाडी राजमार्ग, गरिबको ऋण मिनाहा जस्तै ऊर्जा संकटको समाधान गर्ने महत्वपूर्ण कार्यसूची अगाडि सारेर क्रियान्वयनमा लैजाँदा एउटा जग बस्न गयो । जुन, दोस्रो पटक प्रचण्ड प्रधानमन्त्री बन्दा साकार भयो । उज्यालो नेपालको नारा दिएर अगाडि बढेको तत्कालीन माओवादी नेतृत्वको सरकारले लोडसेडिङको अन्त्य मात्रै गरेर बिजुली बिक्री गरेर देशलाई धनी बनाउन सकिन्छ भन्ने महत्वाकांक्षी लक्ष्य समेत अगाडि सा¥यो । ठूला परियोजनाको शुरुवाती, सिँचाइ क्षेत्रमा गुणस्तरीय प्रणालीको खोजी, ठूला परियोजना त्यसै बेलाको सपना थियो । माओवादी नेतृत्वको सरकार र मन्त्रीहरुले सोही अनुरुप काम गरे । आज आइपुग्दा देश पूर्ण रुपमा विद्युतीकरणको दिशामा अग्रसर छ । हात हातमा मोबाइल र घर घरमा इन्टरनेटको नारा दिँदा नपत्याएका र हावादारी भन्दै खिसीट्यूरी गर्ने सोही जमातले ऊर्जाको विकास र उज्यालोको कुरा गर्दा समेत माओवादी नेतृत्वलाई गिज्याएका थिए । हावादारी भन्दै उडाएका थिए । आज सरकारी निकायकै तथ्यांकले भनिरहेको छ – देश पूर्ण रुपमा विद्युतीकरणको दिशामा अगाडि बढेको छ । सम्भवतः आगामी दुई बर्षभित्र देश पूर्ण रुपमा उज्यालो बन्नेछ । यसको पछाडि उनै प्रचण्ड नेतृत्वको सरकारले अगाडि सारेको मिशनले काम गरिरहेको छ । ऊर्जामा मात्रै होइन, सिँचाइ सुविधामा समेत सोही नीति कामयाव भएको छ । राजनीतिक खिँचातानी नभएको भए वा आफूलाई ठूला र लोकतान्त्रिक नाम दिने काँग्रेस , एमालेहरुको अवरोध नभएको भए बुढीगण्डकी, नलगाड जस्ता ठूला परियोजना शुरु भइसक्ने थिए । उज्यालोसँगै ठूला परियोजनाले समेत मूर्त रुप लिइ सकेका हुने थिए । यद्यपी,बुढीगण्डकीलाई स्वदेशी लगानीमा कम्पनी मोडलमा लैजाने निर्णय भने उने प्रचण्ड नेतृत्वको सरकारले नै गरेको थियो । देशभित्रका ठूला परियोजना अगाडि बढाउन प्रचण्ड नेतृत्वको सरकारले गरेको कामले निरन्तरता पाउन सकेन । सोही कारण आज राष्ट्रिय गौरवका ठूला परियोजना अगाडि बढ्न सकेन । आज देशभित्र बढी भएको बिजुली भारत र बंगलादेश निर्यात हुन थालेको छ । यो शुरु भएको पनि तीन बर्ष पूरा भइसकेको छ । ऊर्जा विकासको मार्गदर्शन, ग्रिन हाइड्रोजनको अवधारणा पनि माओवादी नेतृत्वको सरकारकै उपज थियो र छ पनि । सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली निकाल्ने महत्वाकांक्षी र रणनीतिक योजना तेस्रो पटक प्रचण्ड प्रधानमन्त्री बन्दा नै अगाडि सारियो । भारतसँग दीर्घकालीन विद्युत् व्यापार स्म्झौता, बंगलादेशसँग भएको दुईपक्षीय सहमतिले देश भित्र नयाँ आशाको सञ्चार भएको तथ्य कोही कसैले भूलेका छैनन् । ऊर्जा पूर्वाधारमा भएको विकास र बढोत्तरीको पछाडि कोही कसैको हात छ भने आजको नेपाली कम्युनिस्ट पार्टी र साविकको माओवादीले लिएको नीति नै कामयावी भएको छ । अन्य राजनीतिक दलमा न त सोच देखियो, न त इमान्दार प्रयास नै । सो सफलताको श्रेय धेरैले प्रचण्डलाई नै दिएका छन् । सत्य यही हो । अब, लागौ नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अगाडि सारेको प्रतिवद्धतापत्र तर्फ । नेपाली कम्युनिस्ट पार्टीले विशेष प्राथमिकताका साथ ऊर्जा तथा पूर्वाधार विकासलाई प्रतिवद्धतापत्रमा समावेश गरेको छ । त्यसमा जलविद्युत्, नवीकरणीय ऊर्जा तथा एकीकृत करिडोरको विषय अगाडि सारिएको छ । नेकपाले प्रतिव्यक्ति विद्युत् खपत पाँच बर्षमा ७५० किलोवाट घण्टा पुर्याउने विषय समावेश गरेको छ । हाल नै प्रतिव्यत्तिः विद्युत् खपत ३८० किलोवाट घण्टा पुगेको छ । यस्तै, विसं २१०० सम्म ४० हजार मेगावाट बिजुली उत्पादन गर्ने दीर्घकालीन लक्ष्य तय गरेको छ । १०० मेगावाट विद्युत् उत्पादनको प्रक्रिया शुरु गर्दा १० हजार जनाले प्रत्यक्ष वा परोक्ष रुपमा रोजगारी उापँछन् । सो लक्ष्यमा काम हुन सकेको खण्डमा बेरोजगारीको अन्त्य गर्न समेत सहज हुनेछ । यस्तै, आगामी पाँच बर्षमा १० हजार मेगावाट बिजुली थप गर्ने लक्ष्य समेत नेकपाको प्रतिवद्धतापत्रमा उल्लेख छ । यो लक्ष्य सहजै पूरा हुन्छ । किनकी, त्यसका लागि निर्माणमा रहेका आयोजना, निर्माणमा जान ठिक्क भएका आयोजना र निर्माण सकिने चरणमा रहेका आयोजना जोडिने बित्तिकै यो लक्ष्य पूरा हुन्छ । यस्तै, भारत र बंगलादेशमा थप व्यवस्थित तरिकाले बिजुली निर्यात गर्ने नेकपाको प्रतिवद्धतापत्रमा उल्लेख छ । संयोग पनि कस्तो परेको छ भने बंगलादेशसँग ऊर्जा सहकार्य र बिजुली निर्यातको सहमति तत्कालीन ऊर्जामन्त्री बर्षमान पुनले गर्नुभएको थियो भने दीर्घकालीन ऊर्जा व्यापार सम्झौता प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दा भएको थियो । केही कानुनी प्रश्नहरु समाधान गर्ने र नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग जस्ता संस्थाको नेतृत्वमा कामकाजी मान्छे ल्याउने बित्तिकै सबैभन्दा देखिने गरी प्रगति यही ऊर्जा क्षेत्रमा नै हुने देखिन्छ । नेकपाले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर प्रतिवद्धता पत्रमा समावेश गरेकाले पनि यो वस्तुनिष्ठ र व्यवहारिक देखिन्छ । उज्यालो नेपालको नेतृत्वकर्ता भएकाले नेकपाको प्रतिवद्धतापत्र अन्यको तुलनामा वैज्ञानिक र कार्यान्वयनमुखी रहेको देखिन्छ ।
जनताका सारथीको परिचय बनाएका राजन दाहालको अपुरा काम पुरा गर्ने प्रतिवद्धता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ दाहाल(राजन)ले आफ्नो कार्यकालमा सुरु भएका अधुरा विकास निर्माणको कामलाई पूर्णता दिने प्रतिबद्धता गरेका छन् । गत २०७९ मा आफु प्रतिनिधि सभा सदस्य निर्वाचित भएसँगै जिल्लामा प्रशस्त विकास निर्माणका कामहरु गरिएको भन्दै उनले बाँकी रहेका कामलाई पूर्णता दिनका लागि आगामी २१ फागुुनको चुनावमा निर्वाचित गराउन अपील गरेका हुन् । साथै उनले केही नयाँ आयोजनाहरुको पनि थालनी गर्ने प्रतिबद्धता गरेका छन् । जनताको सुख, दुुःखमा सधैँ उपस्थित भएर जनताको सारथीको परिचय बनाएका दाहालले नेपाली कम्युनिष्ट पार्टीको किल्लाको रुपमा रहेको सिन्धुली २ बाट सहज जित हासिल गर्ने विश्वास पार्टी पंक्तिले गरेको छ । चुनावी अभियानमा हिडिरहेका उनले दैनिक सयौँको संख्यामा अन्य पार्टीबाट नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराइरहेका छन् । राष्ट्रिय प्राथमिकताको आयोजनाहरु सम्पन्न गर्नमा जोड दाहालले सिन्धुलीमा अवस्थित राष्ट्रिय प्राथमिकताको आयोजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि जोड दिने बताएका छन् । सुनकोशी–मरिण ड्राइभर्सन, कोखाजोर जलासययुुक्त आयोजना, चियाबारी–खुर्कोट सुुरुङमार्ग र मरिणमा अवस्थित राँगाको मासु निर्यात गर्ने योजना समयमै सम्पन्न गर्ने पहल गर्ने प्रतिवद्धता उनले गरेका छन् । विकास निर्माणको कामलाई निरन्तरता दिइने दाहालले पालिका सदरमुकामदेखि वडा सदरमुकाम सम्मको सडकहरुको स्तरोन्नति गर्ने प्रतिबद्धता गरेका छन् । निर्माणाधिन सडकहरुको लागि आवश्यक वजेट विनियोजन गर्न पहल गर्ने, संघीयताको मर्म अनुसार स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा ग्रामीण सडकहरु निर्माणको लागि पहल गर्ने, कमलामाई नगरपालिका लगायत अन्य पालिकाहरुको आवश्यक ठाउँमा चक्रपथ निर्माण गर्ने बताइएको छ । त्यस्तै, दुम्जा–लालबन्दी सडक निर्माण कार्य सम्पन्न गर्ने, आफ्नो क्षेत्रभित्रका विभिन्न ठाउँमा आवश्यकता अनुसार पक्की पुल निर्माण गर्ने तथा खोला, खहरे र नदी नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता गरिएको छ । कमलामाईमा ट्रमा सेन्टर, मरिण र हरिहरपुरगढीलाई औद्योगिक जोन बनाउने योजना उम्मेदवार दाहालले कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुलीमा मिनि ट्रमा सेन्टर निर्माण गर्न पहल गर्ने प्रतिबद्धता गरेका छन् । ट्रमा सेन्टर स्थापना गरेर विपन्न नागरिकहरुलाई सहुलियतपूर्ण उपचार गर्न पहल गर्ने उनको भनाई छ । उनले विगतमा प्रतिनिधि सभा सदस्य हुँदा सिन्धुलीमा ट्रमा सेन्टरको माग गर्दै संसदमा पटक–पटक बोलेका थिए भने सरकारी निकायलाई पनि घच्घच्याएका थिए । त्यस्तै, मरिण र हरिहरपुरगढी क्षेत्रमा लगानीकर्ता भित्रयाएर औद्योगिक जोन निर्माण गर्न पहल गर्ने पनि उनको योजना छ । त्यस्तै, एक घर एक धारा योजना अन्तरगत स्वच्छ खानेपानीको प्रबन्ध गर्ने, सुनकोशी–मरिण ड्राईभर्सन मार्फत् कमलामाई नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ मा खानेपानी समस्याको समाधान गर्ने, कृषिमा आधुनिकीकरण, व्यवसायिकरण र यान्त्रिकरणको माध्यमवाट स्थानीय, प्रदेश र संघीय सरकारको साझेदारीमा पालिकामा उत्पादन हुने अन्न, तरकारी, जडिबुुटी लगायत बस्तुहरुको पहिचान र पकेट क्षेत्र निर्धारण गरि व्यवसायिकतामा जोड दिने पनि उनले योजना बनाएका छन् । शैक्षिक हब र पर्यटन हबको रुपमा सिन्धुलीलाई बिकास गर्ने अर्को योजना सिन्धुुली जिल्लालाई शैक्षिक हब र पर्यटन हबको रुपमा विकास गर्ने दाहालको अर्को योजना रहेको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार र शैक्षिक हव निर्माण गर्न पहल गर्ने, सिन्धुलीको पुरातात्विक, धार्मिक, साँस्कृतिक कला केन्द्रहरुको संरक्षण, सम्बर्धन गर्न पहल गर्ने र सिन्धुलीगढी, हरिहरपुरगढी, पञ्चकन्या पोखरी, माइस्थान मन्दिर लगायत संरचनाहरुको निर्माण तथा पुनः निर्माण गरि पर्यटन हबको रुपमा विकास गर्न पहल गर्ने उनको योजना सार्वजनिक भएको छ । त्यसैगरी, ग्रामिण विद्युतीकरणको व्यवस्था गर्न पहल गर्ने, आवश्यक ठाउँमा टेलिकमका टावर निर्माणमा पहल गर्ने, भुमिहिन सुकुम्वासी, अव्यवस्थित वसोवास गर्ने र किसान मजदुरको समस्या समाधान गर्न पहल गर्ने उनको योजना छ । कानुन निर्माणमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता दाहालले कानुन निर्माणमा दत्तचित्त भएर लाग्ने र संसदमा प्रभावकारी भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संविधानको मर्म र भावना अनुसार ऐनहरुको निर्माण, विद्यमान ऐनहरुको प्रभावकारी कार्यान्वयन र समयानुकुल संशोधन गर्न पहल गर्ने उनको भनाई छ । संविधानमा व्यवस्था भएको मौलिक हकहरुको व्यवहारिक कार्यान्वयका लागि आवश्यक कानुन निर्माणमा जोड दिने, संघीय शिक्षा ऐन, निजामति कर्मचारी ऐन लगायत अन्य आवश्यक ऐन, नियमावली निर्माण, कार्यान्वय र संविधानको मर्म अनुसार संशोधन गर्न पहल गर्ने दाहालले बताए ।
रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्डलाई भव्य स्वागत
रुकुमपूर्व । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त छन्। यसैक्रममा, माघ २९ गतेदेखि नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन क्षेत्र रुकुमपूर्वका विभिन्न गाउँ–गाउँमा पुगेर मतदातासँग भेटघाट गर्नुभएको छ। प्रचण्डको आगमनसँगै स्थानीयहरूले भव्य स्वागत गरेका छन्। भव्य स्वागतका क्रममा मतदाताहरूले नयाँ र हिमाली जिल्लाको विकास तीव्र गतिमा हुने अपेक्षासमेत व्यक्त गरेका छन्। पुथाउत्तरगङ्गा गाउँपालिका–१२ का सुझन पुनमगरले देशको व्यवस्थामा परिवर्तन ल्याउने नेतृत्वले नयाँ जिल्लाको विकास नयाँ मोडेलमा गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, “पार्टी जुनसुकै आस्थामा भए पनि जिल्लाको विकासको लागि देशको प्रमुख नेतृत्व प्रचण्डलाई अत्यधिक मत दिएर विजय गराउनु पर्ने छ।” यस्तै, भूमे गाउँपालिका–६ की धनकुमारी विकले पनि प्रचण्डलाई मत दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “जनताको व्यवस्थालाई बलियो बनाउन, गणतन्त्र ल्याउने पार्टी र नेतृत्वलाई मत दिएर कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अवसर दिनु आवश्यक छ। विभिन्न शक्तिहरूले जनताको व्यवस्थालाई कमजोर पार्न खोजिरहेका छन्, त्यसैले नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डलाई मत दिनु हाम्रो कर्तव्य हो।” गाउँ–गाउँमा प्रचण्डको आगमनमा स्थानीयले गरेको भव्य स्वागतको जानकारी नेकपाका जिल्ला संयोजक कुमारी बराल गौतमले दिनुभयो। उहाँले भन्नुभयो, “मतदाताले देखाएको उत्साहले प्रचण्डले अत्यधिक मत लिएर विजय हुने निश्चित भएको छ। विगतदेखि नै जनताले हाम्रो पार्टीलाई जिताउँदै आएका छन्, यसपटक पनि प्रचण्डलाई भारी मत दिएर विजय गराउने वातावरण तयार भएको छ।” नेकपाले जनाएको छ, मङ्गलबार बिहान सिस्ने–२ नायगाडमा प्रचण्डले जनभेटघाट गर्ने कार्यक्रम रहेको छ भने दिउँसो नायगाडमै जनसभालाई सम्बोधन गर्नुहुनेछ। भोलि, बुधबार सिस्ने–३, ४, ५, ६, ७ र ८ का विभिन्न गाउँमा जनभेटघाट र जनसभा कार्यक्रम हुने जनाइएको छ। प्रचण्डको उपस्थितिमा हुने पहिलो चरणको चुनावी कार्यक्रम माघ ६ गते सकिनेछ। त्यसपछि जिल्लाका नेताकार्यकर्ताहरूले चुनावी अभियान सञ्चालन गर्ने र अर्को चरणमा फेरि प्रचण्डसहित चुनावी अभियान जारी रहने बरालले जानकारी दिनुभयो।
शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार: गोपाल शर्माको प्रतिबद्धता
काठमाडाैं । रुकुम पश्चिम–१ को राजनीतिक परिदृश्यमा यस चुनावी सत्रमा एउटा विशेष नामले ध्यान तानिरहेको छ- गोपाल शर्मा । तीन दशकभन्दा लामो राजनीतिक अनुभव, संगठनात्मक क्षमता, र सरकारी जिम्मेवारीको अनुभव बोकेको यो नेता पहिलोपटक संघीय संसदमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । रुकुम पश्चिममा जन्मिएका गोपाल शर्मा स्थानीय राजनीति र विकाससँग गहिरो रूपमा सम्बन्धित नेता हुन्, जसले विगतमा पार्टीको विश्वासपात्र र निर्वाचन नेतृत्वकर्ता भएर जनताको सेवा गर्दै आएका छन् । गोपाल शर्मा १२ पुस २०३४ मा चौरजहारी नगरपालिका–५, रुकुम पश्चिम मा जन्मिएका थिए । बाल्यकालदेखि नै उनी राजनीति र सामाजिक गतिविधिमा रुचि राख्थे । यसैले उनी ‘अनल’ उमेरमै विद्यार्थी राजनीतिमा लागे । २०४६ सालमा चौरजहारीस्थित शीतल माध्यामिक विद्यालयको सह–इकाइ कमिटीको सह–सचिव बने । विद्यार्थी जीवनमै उनी नेतृत्व क्षमता देखाउने गरे । त्यसको दुई वर्षपछि, २०४८ मा सोही विद्यालयको अनेरास्ववियुको इकाइ अध्यक्ष बने । २०५१ मा उनले अनेरास्ववियुको रुकुम जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाए । विद्यार्थी संगठनमा सक्रियताबाटै गोपालले नेतृत्वमा आफ्नो स्थान बनाएका थिए । २०५३ सालमा उनले अनेरास्ववियु रुकुम जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले । त्यसपछि २०५४ मा अखिल (क्रान्तिकारी) को राप्ती अञ्चल इन्चार्ज बने भने, २०५६ मा अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष तथा पश्चिम उपकेन्द्र इञ्चार्ज पद सम्हाले । २०५३ सालमै गोपाल शर्मा नेकपा (माओवादी) का सदस्य बने । पार्टीमा उनी चाँडै नै सक्रिय भए । २०५६ मा रुकुम जिल्ला कमिटी सदस्य तथा एरिया कमिटी इन्चार्ज, २०५७ मा विशेष उप–क्षेत्रीय ब्युरो सदस्य, २०५८ मा भेरी–कर्णाली उप–क्षेत्रीय ब्युरोमा स्थानान्तरण, २०६०–०६२ मा बाँके र बर्दिया जिल्ला इन्चार्ज, र २०६४ सम्म रुकुम जिल्ला सेक्रेटरी बने । २०६५ मा एकीकृत नेकपा (माओवादी) रुकुम जिल्ला इन्चार्ज, र २०६६–०६९ सम्म मगरात राज्य कार्यालय सचिवका रूपमा काम गरे । २०७१ मा गोपाल रुकुम जिल्ला अध्यक्ष बने र त्यही वर्ष माओवादीको केन्द्रीय सदस्यमा चयन भए । २०७३ मा नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य, २०७५ मा एमालेसँगको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा रुकुम पश्चिम जिल्ला अध्यक्ष बने । २०७७ मा पार्टी विभाजनपछि पुनर्गठन हुँदा २०७८ सम्म केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति संयोजकका रूपमा काम गरे । २०७९ देखि हालसम्म पनि उनी पार्टीको केन्द्रीय सदस्यका रूपमा क्रियाशील छन् । गोपाल शर्मा निर्वाचन व्यवस्थापन र संगठन निर्माणमा दक्ष छन् । उनी २०६४ र २०७० का संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनमा जिल्ला निर्वाचन परिचालन समिति संयोजक भएर काम गरेका थिए । यी चारवटै निर्वाचनमा उनले तत्कालीन माओवादी नेता जनार्दन शर्मालाई विजयी गराउने जिम्मेवारी सफलतापूर्वक निभाएका थिए । यस अर्थमा उनी विगतमा पार्टीका लागि सधैं “ब्याक बोन” बनेका नेता हुन् । तर यसपटक राजनीतिक परिदृश्यमा एउटा नयाँ मोड आएको छ । गोपाल शर्मा अब आफैं प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । विगतमा विश्वासपात्रका रूपमा जनार्दन शर्मालाई निर्वाचन जिताउन भूमिका खेलेका उनी अहिले आफैं चुनावी मैदानमा छन् । जनार्दन यसपटक प्रलोपाबाट उम्मेदवार छन् । यसले स्थानीय निर्वाचनलाई अझ रोचक र प्रतिस्पर्धात्मक बनाएको छ । गोपाल शर्मा संसदीय अनुभव पनि बोकेका छन् । २०७४ मा उनी कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भए । २०७८ मा कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका उनले नीति निर्माण, बजेट व्यवस्थापन र विकास परियोजनाहरूमा अनुभव हासिल गरेका छन् । यी सबै अनुभवले उनलाई प्रतिनिधिसभामा विश्वसनीय, अनुभवी र जनमुखी नेता बनाउँछ । राजनीतिक विश्लेषकहरूका अनुसार, गोपालको संगठनात्मक क्षमता र स्थानीय नेतृत्वमा स्थापित सञ्जालले उनलाई ठूलो सहयोग पुर्याउनेछ । शर्माका निर्वाचन एजेन्डा: रुकुम पश्चिमको समृद्धि १. पूर्वाधार विकास सडक र पुल: पालिका केन्द्रदेखि वडा–वडा र बस्ती–बस्ती सम्म सडक विस्तार र स्तरोन्नति । चौरजहारी विमानस्थल विस्तार, पर्यटन प्रवर्द्धन र आर्थिक गतिशीलता जलविद्युत: स्यार्पू हाइड्रोपावर निर्माण र सेयर वितरण मार्फत आम्दानी सुनिश्चित खानेपानी र सिंचाई: “एक घर, एक धारा” अभियान पूरा गर्दै कृषि योग्य जमिनमा सिंचाई सुविधा २. सामाजिक विकास शिक्षा: गुणस्तरीय शैक्षिक केन्द्र, प्राविधिक तथा व्यवसायिक तालिम स्वास्थ्य: जिल्ला अस्पताल स्तरोन्नति, मोबाइल अस्पताल, टेलिमेडिसिन सेवा सामाजिक न्याय: जातीय, लैङ्गिक समानता; सहिद परिवार, जेष्ठ नागरिक, दलित र विपन्न वर्गको संरक्षण संस्कृति संरक्षण: मौलिक लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धन युवा तथा खेलकुद: खेलमैदान र रंगशालाको निर्माण ३. आर्थिक विकास पर्यटन: स्यार्पुताल, मेरी नदी, डिग्रेशाईकुमारी मन्दिर, गुरिल्ला ट्रेल, वारास्थित जनयुद्ध संग्रहालय कृषि उत्पादन र पशुपालन: आधुनिक प्रविधि, व्यवसायिक पशुपालन, कृषि उद्योग विस्तार रोजगारी: साना उद्योग स्थापना, युवालाई व्यवसायिक सीप विकास ४. संस्थागत विकास र सुशासन कानून सुधार, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता संघ–प्रदेश–स्थानीय तहबीच समन्वय ५. वातावरण र विपद व्यवस्थापन वन, जलस्रोत र जैविक विविधता संरक्षण भूकम्प र प्राकृतिक प्रकोपबाट जोखिम व्यवस्थापन गोपाल शर्माको स्थानीय प्रभाव रुकुम पश्चिममा गोपाल शर्मा तीव्र रूपमा परिचित अनुहार हुन्। उनी पार्टीमा मात्र होइन, स्थानीय जनसमुदायमा पनि विश्वास र सम्मानका पात्र हुन्। उनी विगतमा जनताको सेवा र पार्टीका काममा सक्रिय रहेर योगदान पुर्याएका छन्। विगतका चुनावमा जनार्दन शर्माको सफलतामा उनको नेतृत्व निर्णायक साबित भएको थियो। उनको नारा “शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार – आत्मनिर्भर रुकुम पश्चिमको आधार” स्थानीय जनताको आकांक्षा र विकास दृष्टिकोणसँग मेल खान्छ। उनले विगतका अनुभव र आगामी योजनाहरूलाई व्यवहारिक र लक्षित तरिकाले अघि सारेका छन्। निष्कर्ष गोपाल शर्माको यात्रा स्पष्ट रूपमा देखाउँछ कि उनी विश्वसनीयता, अनुभव र विकासशील सोच बोकेको नेता हुन्। विद्यार्थी राजनीति देखि पार्टी नेतृत्व, निर्वाचन व्यवस्थापन, र सरकारी जिम्मेवारीसम्म उनको यात्रा उनलाई संघीय संसद् सदस्यको लागि योग्य उम्मेदवार बनाउँछ। रुकुम पश्चिम–१ का जनताले अब निर्णायक क्षणमा आफ्नो भोटमार्फत अनुभवी, प्रतिबद्ध र विकासमुखी नेतृत्व छान्ने मौका पाउँछन्। गोपाल शर्मा आफ्नो तीन दशकको अनुभव, संगठनात्मक दक्षता र विकास योजनाहरू लिएर चुनावी मैदानमा उत्रिएका छन्। उनको चुनावी एजेन्डा स्पष्ट छ — शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सुशासन। यदि जनताले उनलाई समर्थन गरे, रुकुम पश्चिमले आगामी दशकमा आत्मनिर्भर, समृद्ध र सामाजिक न्याययुक्त जिल्ला बन्ने मार्ग तय गर्न सक्छ। गोपाल शर्माको कथा केवल राजनीतिक करियरको कथा मात्र होइन, यो रुकुम पश्चिमका लागि विकास र नेतृत्वको सम्भावनाको कथा हो।
जनतामा विश्वास, संसद्मा आवाज: सिन्धुपाल्चोक-१ का उम्मेदवार माधव सापकोटा
सिन्धुपाल्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा उम्मेदवार माधव सापकोटा ‘सुबोध’ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा सक्रिय छन् । उनी ४४ वर्षका, स्पष्ट वैचारिक धार, दीर्घ अनुभव र जनतासँग नजिकको सम्बन्ध भएका नेता हुन् । आफ्नो राजनीतिक यात्रा विद्यार्थी आन्दोलनदेखि जनयुद्ध, संगठन निर्माण र संसदीय अभ्याससम्म फैलिएको सापकोटा क्षेत्रका जनताका लागि विश्वासिलो र जिम्मेवार नेतृत्वको प्रतीक बनेका छन् । सापकाेटाकाे जीवन र राजनीतिक यात्रा २० चैत २०३७ मा चौतारा साँगाचोकगढी नगरपालिका-४, कुविन्डेमा जन्मिएका सापकोटा १३ वर्षको उमेरमा अखिल (क्रान्तिकारी) बाल इकाइमा प्रवेश गर्दै संगठित राजनीतिक जीवनमा आएका थिए । उनले विद्यालय इकाइ अध्यक्ष, क्षेत्रीय सदस्य, जिल्ला सदस्य र जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै विद्यार्थी राजनीतिमा खरो र तार्किक वक्ताको रूपमा आफूलाई स्थापित गरे । जनयुद्धका समयमा उनी भूमिगत भई १४औं बटालियनका कमिसार बने । २०६३ वैशाख १० मा चौतारा आक्रमणमा उनी कमान्डर थिए र घाइते भए । शान्तिपूर्ण परिस्थितिमा फर्किएर संगठन निर्माणमा जुटेका सापकोटा २०७१ मा सिन्धुपाल्चोक जिल्ला अध्यक्ष बने र २०७३ मा नेकपाका केन्द्रीय सदस्य चयन हुँदै राष्ट्रिय राजनीतिमा स्थापित भए । हाल सापकाेटा नेकपाकाे केन्द्रीय सदस्य छन् । विपत्तिमा नेतृत्व र जनताको विश्वास सापकोटा संकटमा अग्रपंक्तिमा उभिने नेता हुन् । उनले जुरे पहिरो, २०७२ को महाभूकम्प, लिदी र नागपुजे पहिरो, कोभिड–१९ महामारी र २०८१ असोजको भीषण वर्षा–बाढीमा जनताको सेवा र राहत–उद्धारमा निर्णायक भूमिका खेले। यी घटनामा देखाएको साहस, समर्पण र नेतृत्व क्षमताले उनी जनताको विश्वास जित्न सफल भए । सिन्धुपाल्चोकका स्थानीयहरूले भन्छन्, "सापकोटा जस्तो नेता विपत्तिमा मात्र होइन, विकासका योजनामा पनि निरन्तर अग्रसर छन् । उनी जनताको नजिक रहँदै वास्तविक समस्याहरू समाधानमा जुट्छन् ।" संसदीय अनुभव र उपलब्धि २०७९ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित सापकोटाले ३०,३७४ मत ल्याएर आफ्नो क्षेत्रमा जनताको भरोसा सुनिश्चित गरे । संसद्मा उनी विकास, सुशासन, जलवायु, शिक्षा, स्वास्थ्य र न्यायका विषयमा स्पष्ट दृष्टिकोण राख्ने, निर्भीक र जिम्मेवार जनप्रतिनिधि मानिन्छन् । सापकोटाले ३३ महिनाको संसदीय यात्रामा किसान, युवा, विद्यार्थी र स्थानीय मुद्दालाई प्राथमिकता दिएका छन् । ‘विद्यालयमा सांसद, संसदमा विद्यार्थी’ अभियानबाट सयौँ विद्यार्थीलाई संसदीय प्रक्रियासँग जोडेको उल्लेखनीय पहल पनि उनका कार्यहरूमा पर्छ । शिक्षा र व्यक्तित्व सापकोटाले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी राजनीतिमा खरो वक्ता र रणनीतिकारका रूपमा परिचित उनी केन्द्रीय जिम्मेवारीपछि अझ परिपक्व, समन्वयकारी र बौद्धिक नेताका रूपमा स्थापित भए । जनताको भावना बुझ्ने क्षमता, संगठन संचालन र नीति निर्माणमा स्पष्ट दृष्टिकोण उनीका विशेषताहरू हुन् । उम्मेदवारका विशेषता जनतासँग नजिकको सम्बन्ध र वास्तविक अनुभव स्पष्ट वैचारिक धार र राजनीतिक स्थिरता संगठन, संघर्ष र संसदीय अभ्यासमा खरो नेतृत्व विपत्तिमा अग्रपंक्तिमा उभिने साहस र समर्पण सिन्धुपाल्चोकका स्थानीय र पार्टी कार्यकर्ताहरू सापकोटालाई ‘जनताको आवाज संसद्मा’ को प्रतीक मान्छन् । सापकाेटाका प्रतिवद्धता पत्रका मुख्य एजेन्डा जीवन्त संसद र गुणात्मक कानुन निर्माण स्थानीयदेखि राष्ट्रिय महत्त्वका विषय प्राथमिकताका साथ उठाउने गुठी समस्या, विद्यालय शिक्षा विधेयक, ढुङ्गाखानी र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोग सुनिश्चित पर्यटन र पूर्वाधार विकास: 'काठमाडौंबाट एकै दिनमा जुगल' आगामी २ वर्षभित्र काठमाडौंबाट जुगल हिमालको फेदीसम्म पुग्ने सडक र पूर्वाधार निर्माण जुगल हिमाल, सुकुटे, तातोपानी, भैरवकुण्डलाई व्यावसायिक पर्यटन हबमा विकास हाई-अल्टिच्युड ट्रेकिङ र साइक्लिङ रुटको विकास पाँच वर्षमा पाँच हजार युवालाई प्रत्यक्ष रोजगार कृषि मार्फत आर्थिक क्रान्ति सिँचाइ, बीउ, मल, मूल्य र बजार सुनिश्चित न्यूनतम समर्थन मूल्य र भण्डारण व्यवस्थापन जडीबुटी उद्योग प्रवर्द्धन र प्राविधिक सेवा विस्तार शिक्षा र स्वास्थ्य नमुना विद्यालय, स्मार्ट कक्षा र नि:शुल्क गुणस्तरीय शिक्षा SEE उत्तीर्ण विद्यार्थीलाई करियर काउन्सेलिङ स्वास्थ्य सेवा र बीमा प्रणालीमा पहुँच सुनिश्चित युवा, रोजगारी र डिजिटल सिन्धुपाल्चोक गाउँ बस्तीमा उच्चगतिको इन्टरनेट र डिजिटल साक्षरता केन्द्र युवा उद्यमशीलता र स्टार्टअप प्रवर्द्धन सुशासन र भ्रष्टाचारविरुद्ध अभियान सम्पत्ति छानबिन, डिजिटल प्रशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित विपद् व्यवस्थापन र जलवायु न्याय जोखिमयुक्त क्षेत्रमा सुरक्षित बस्ती जलवायु परिवर्तनको असरबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा आवाज सामाजिक न्याय र समावेशिता सहिद, बेपत्ता, घाइते र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष सुविधा महिला, दलित, आदिवासी, मजदुर, किसान र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व जलस्रोत र ऊर्जा विकास स्थानीयलाई प्राथमिकता, रोजगारी र रोयल्टी सुनिश्चित विदेशमा रहेका नेपालीको अधिकार सुनिश्चितता मताधिकार र युवाको क्षमता उपयोग सुनिश्चित सापकोटाको चुनावी सन्देश "हिजो जस्तै आज पनि म सहिद, घाइते र आमजनताका अधुरा सपनाहरूको संवाहक बनेर उभिएको छु। सिन्धुपाल्चोक-१ को सामूहिक सपनालाई म सदैव शीरमा राख्नेछु। फागुन २१ मा ‘तारा’ चिन्हमा मतदान गरी यो यात्रालाई निरन्तरता दिनुहोस्।" उनका समर्थकहरू विश्वास गर्छन् कि सापकोटाको नेतृत्वमा सिन्धुपाल्चोकको समृद्धि, सुशासन र विकासको नयाँ युग सुरु हुनेछ।
सल्यानको भविष्यको नायक: अनुभव र दृढता बोकेका रमेशकुमार मल्ल
सल्यान । जनयुद्धकालका १० वर्षे कठिन भूमिगत जीवनदेखि शान्ति प्रक्रियापछिका दुई दशक लामो राजनीतिक यात्रासम्मको अनुभव बोकेका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रमेशकुमार मल्ल यतिबेला संसदीय राजनीतिमा जनताबाट प्रत्यक्ष परीक्षित हुने ऐतिहासिक मोडमा उभिएका छन् । तीन दशक लामो त्याग, समर्पण र संगठन निर्माणको यात्राबाट खारिएका मल्ल सल्यानमा परिवर्तन, स्थायित्व र नयाँ पुस्ताको नेतृत्वको प्रतीकका रूपमा स्थापित हुँदै गएका छन् । ४७ वर्षीय मल्ल विद्यार्थी आन्दोलनबाट उदाएका प्रतिबद्ध, अध्ययनशील र दूरदर्शी नेता हुन् । २०३५ माघ २८ गते सल्यानको कुमाख गाउँपालिका–५, बाल्लेमा जन्मिएका उनले युवावस्थामै राजनीतिक चेतना र सामाजिक रूपान्तरणको अभियानलाई आफ्नो जीवनको उद्देश्य बनाएका थिए । २०५० सालमा अनेरास्ववियु (क्रान्तिकारी) को सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका मल्लले छोटो समयमै संगठन निर्माण, नेतृत्व विकास र आन्दोलन परिचालनमा असाधारण क्षमता प्रदर्शन गरेका थिए । २०५६ सालमा क्रान्तिकारी विद्यार्थी संगठन सल्यानको जिल्ला अध्यक्ष बनेका मल्लले संगठनलाई जिल्लाको प्रभावशाली शक्ति बनाएका थिए । त्यसपछि केन्द्रीय सदस्य, क्षेत्रीय संयोजक, सचिवालय सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै २०७२ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै उनले राष्ट्रिय स्तरमै सक्षम नेतृत्वको परिचय दिएका थिए । मल्लको राजनीतिक जीवन केवल विद्यार्थी आन्दोलनमै सीमित रहेन । २०५४ सालमा पूर्णकालीन कार्यकर्ता बनेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भएका उनले कठिन भूमिगत जीवन व्यतीत गर्दै संगठन विस्तार, जनचेतना निर्माण र वैचारिक नेतृत्वमा महत्वपूर्ण भूमिका खेले । उनी २०६० मा सेती–महाकाली क्षेत्रीय ब्युरो सदस्य, २०६१ मा पश्चिम केन्द्रीय कमान्ड अन्तर्गत स्कूल विभाग सदस्य, २०६५ मा राज्य समिति सदस्य हुँदै क्रमशः पार्टीको केन्द्रीय नेतृत्वमा स्थापित भएका थिए । २०७३ सालमा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य बनेका मल्लले संगठनात्मक सुदृढीकरण, नीतिगत स्पष्टता र जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तारमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । हाल उनी नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यका रूपमा पार्टीको नीति, संगठन र आन्दोलनलाई सशक्त बनाउने जिम्मेवारीमा छन् । मल्लले सरकार सञ्चालनको केन्द्रमै रहेर पनि महत्वपूर्ण अनुभव हासिल गरेका छन् । २०७३ देखि २०७४ र पुनः २०७९ देखि २०८१ सम्म तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवका रूपमा काम गर्दै उनले राज्य सञ्चालन, नीति निर्माण र प्रशासनिक समन्वयको प्रत्यक्ष अनुभव हासिल गरेका थिए । यसले उनलाई केवल आन्दोलनका नेता मात्र होइन, शासन सञ्चालनको व्यवहारिक ज्ञान भएका सक्षम राजनीतिक व्यक्तित्वका रूपमा स्थापित गरेको छ । शैक्षिक रूपमा पनि मल्ल सशक्त छन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक मुद्दामा स्पष्ट धारणा राख्ने अध्ययनशील नेताका रूपमा पहिचान बनाएका छन् । चीन, भारत र बंगलादेशलगायत देशको भ्रमण गर्दै उनले नेपालको प्रतिनिधित्व गरेका छन् भने आफ्ना अनुभवलाई ‘छिमेक यात्रा’ पुस्तकमार्फत सार्वजनिक पनि गरेका छन् । यस क्षेत्रमा विगतका निर्वाचनमा विभिन्न कम्युनिष्ट धारका नेताहरू निर्वाचित भए पनि यसपटक नेपाली कम्युनिष्ट पार्टीले नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने, संगठनमा खारिएका र जनतासँग प्रत्यक्ष जोडिएका मल्ललाई उम्मेदवार बनाएको छ । पार्टीभित्र समेत लामो छलफलपछि मल्ललाई उम्मेदवार बनाइएको थियो, जसले पार्टीभित्रको विश्वास र उनको नेतृत्व क्षमताको पुष्टि गरेको छ । पूर्व विजेता प्रकाश ज्वालासमेत मल्लको पक्षमा उभिँदै चुनावी अभियानमा सक्रिय हुनु पार्टी एकता र बलियो आधारको संकेत मानिएको छ । मल्लको उम्मेदवारीले सल्यानमा नयाँ ऊर्जा र उत्साह सिर्जना गरेको छ । लामो संघर्ष, वैचारिक स्पष्टता, संगठनात्मक मजबुती र शासन सञ्चालनको अनुभवले उनी अन्य प्रतिस्पर्धीभन्दा अब्बल उम्मेदवारका रूपमा उभिएका छन् । जनताको दुःख–सुखसँग प्रत्यक्ष जोडिएको जीवन, परिवर्तनका लागि समर्पित राजनीतिक यात्रा र समृद्ध सल्यान निर्माणको स्पष्ट दृष्टिकोणसहित मैदानमा उत्रिएका रमेशकुमार मल्लले अब जनताको विश्वास जित्दै परिवर्तनको विरासतलाई संस्थागत गर्ने विश्वास गरिएको छ ।
सल्यानमा नेकपाको घरदैलो आँधी, दार्मादेखि कुमाखसम्म मल्ललाई अभूतपूर्व जनसमर्थन
सल्यान । आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मतदाता केन्द्रित घरदैलो अभियानलाई अभूतपूर्व रूपमा तीव्र बनाएको छ । दार्मा गाउँपालिकादेखि कुमाख गाउँपालिकासम्म विस्तार गरिएको अभियानले गाउँ–गाउँमा चुनावी माहोललाई उत्साहजनक बनाउनुका साथै उम्मेदवार रमेश कुमार मल्लको पक्षमा स्पष्ट जनसमर्थन देखिन थालेको छ । स्थानीय बस्तीहरूमा उम्मेदवार मल्ल र नेकपाका नेता–कार्यकर्ताको सक्रिय उपस्थितिले ग्रामीण क्षेत्रमै चुनावी लहर सिर्जना भएको छ भने मतदाताहरूमा आशा, भरोसा र उत्साह झन् बढेको देखिएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरूले दार्मा गाउँपालिकाका मैदान, मौलेईखाली, फारुलाचौर, मौलाहाले लगायत आधा दर्जनभन्दा बढी बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । प्रत्येक घर–घरमा पुगेर उम्मेदवार मल्लले मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो । स्थानीय आमा समूह, युवा क्लब, कृषक समूह, महिला समूह र जेष्ठ नागरिकहरूसँग अन्तरक्रिया गर्दै उहाँले उनीहरूका सुझाव, गुनासा र अपेक्षालाई गम्भीरतापूर्वक सुन्नुभएको थियो । घरदैलो अभियान दार्माबाट थप सशक्त रूपमा अघि बढ्दै छिमेकी कुमाख गाउँपालिकामा प्रवेश गरेको छ, जहाँ पनि स्थानीय बासिन्दाहरूले उत्साहपूर्वक स्वागत गरेका छन् । घरदैलोका क्रममा धेरै स्थानमा उम्मेदवार मल्ललाई स्थानीयहरूले फूलमाला, खादा र टीका लगाएर स्वागत गरेका थिए । स्थानीय बासिन्दाहरूले नेकपाको नेतृत्वमा मात्र विकास सम्भव भएको विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा तारा चुनाव चिन्हमा मतदान गरेर मल्ललाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । कतिपय स्थानमा स्वतःस्फूर्त रूपमा स्थानीय युवाहरू अभियानमा सहभागी हुँदै घरदैलो अभियानलाई थप व्यापक बनाएका थिए, जसले नेकपाको अभियान जनआन्दोलनको स्वरूप लिँदै गएको संकेत गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश कुमार मल्लले निर्वाचन जित्नु मात्र लक्ष्य नभई जनताको विश्वास जित्नु आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो । उहाँले जनताको साथ, समर्थन र भरोसाले आफू थप जिम्मेवार र प्रतिबद्ध बनेको उल्लेख गर्दै स्थानीय विकासलाई केन्द्रमा राखेर काम गर्ने दृढता व्यक्त गर्नुभयो । “यो चुनाव केवल पद प्राप्त गर्ने प्रतिस्पर्धा होइन, यो जनताको भविष्य निर्माण गर्ने अभियान हो,” उहाँले भन्नुभयो, “जनताको साथ र विश्वासले हामीलाई विकासको नयाँ अध्याय सुरु गर्ने शक्ति दिएको छ ।” उहाँले विशेषगरी सडक विस्तार, खानेपानीको सुनिश्चितता, सिंचाइ प्रणालीको विकास, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको पहुँचलाई प्राथमिकतामा राखिने बताउनुभयो । गाउँ–गाउँमा सडक सञ्जाल विस्तार गरी दुर्गम बस्तीलाई सहज आवागमनसँग जोड्ने, प्रत्येक घरमा स्वच्छ खानेपानी पु¥याउने र कृषकलाई आधुनिक प्रविधिसँग जोड्ने योजना प्रस्तुत गर्नुभयो । उहाँले कृषिमा उत्पादन लागत घटाउने, मल, बीउ र प्रविधिको सहज उपलब्धता सुनिश्चित गर्ने तथा उत्पादित कृषि वस्तुको बजार सुनिश्चित गर्ने नीति अवलम्बन गरिने बताउनुभयो । उम्मेदवार मल्लले युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र साना तथा घरेलु उद्योग विस्तारमा विशेष ध्यान दिइने उल्लेख गर्नुभयो । “युवाहरूलाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्दै गाउँमै अवसर सिर्जना गर्ने हाम्रो प्रतिबद्धता हो,” उहाँले भन्नुभयो, “कृषि, पर्यटन र उद्यमशीलतालाई जोडेर आर्थिक समृद्धिको आधार निर्माण गरिनेछ ।” त्यसैगरी समानुपातिक उम्मेदवार शारदा परियारले पनि घरदैलो अभियानका क्रममा मतदातासँग व्यापक अन्तरक्रिया गर्नुभएको थियो । उहाँले महिला, दलित, जनजाति, पिछडिएका वर्ग तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नु नेकपाको प्रमुख प्राथमिकता भएको बताउनुभयो । उहाँले समावेशी, समानतामूलक र सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि नेकपाले स्पष्ट नीति र कार्यक्रम अघि सारेको उल्लेख गर्नुभयो । “राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समान सहभागिता सुनिश्चित नगरी समृद्धि सम्भव छैन,” उहाँले भन्नुभयो, “नेकपा सबै समुदायको समान अधिकार र सम्मानका लागि प्रतिबद्ध छ ।” घरदैलो अभियानका क्रममा स्थानीय मतदाताहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास आफ्नो मुख्य प्राथमिकता भएको बताएका थिए । धेरै मतदाताले नेकपाको नेतृत्वमा मात्र दीगो विकास सम्भव भएको विश्वास व्यक्त गर्दै उम्मेदवार रमेश कुमार मल्ललाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । कतिपय स्थानमा स्थानीय बासिन्दाहरूले नेकपाले विगतमा गरेको विकास कार्यको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी काम हुने अपेक्षा व्यक्त गरेका थिए । गाउँस्तरमै पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने नेकपाको रणनीतिले चुनावी अभियानलाई अत्यन्त प्रभावकारी बनाएको छ । दार्मादेखि कुमाखसम्म विस्तार भएको घरदैलो अभियानले उम्मेदवार मल्लको पक्षमा जनलहर सिर्जना गरेको स्थानीयहरू बताउँछन् । अभियानमा देखिएको जनसहभागिता, उत्साह र समर्थनले आगामी निर्वाचनमा नेकपाको जित सुनिश्चित हुने विश्वास पार्टीका नेता तथा कार्यकर्ताले व्यक्त गरेका छन् । नेकपाले आगामी दिनमा पनि सल्यानका अन्य गाउँपालिका र बस्तीहरूमा घरदैलो अभियानलाई अझ व्यापक र तीव्र बनाउँदै लैजाने जनाएको छ । जनताको घरदैलोमै पुगेर उनीहरूको भावना, अपेक्षा र आवश्यकता बुझ्ने अभियानलाई निरन्तरता दिँदै नेकपा उम्मेदवार रमेश कुमार मल्ललाई विजयी गराउने लक्ष्यका साथ अभियान थप सशक्त रूपमा अगाडि बढाइएको पार्टीले जनाएको छ ।
१३ उद्योग तथा फर्ममाथि कारबाही, दुईलाई नगद जरिवाना
काठमाडाैं । बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका १३ उद्योग तथा व्यावसायिक फर्ममाथि कारबाही तथा सुधारका लागि निर्देशन दिएको छ। सोमबार गरिएको नियमित अनुगमनका क्रममा दुई पसललाई तत्काल नगद जरिवाना गरिएको विभागले जनाएको छ। थिमिले स्टोरलाई ११ हजार रुपैयाँ तथा न्यु म्याक्स स्टोरलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो। अनुगमनका क्रममा केही डेरी उद्योगबारे थप अनुसन्धान आवश्यक देखिएकाले सम्बन्धित कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ। हिमालय डेरी प्रोडक्ट्स प्रालिलाई तीन दिनभित्र तथा पुप्सा डेरी प्रालिलाई सात दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ। त्यसैगरी, अन्य नौ फर्मलाई सामान्य सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। भैरव खाद्यान्न सप्लायर्स, सविन स्टोर, एसजी स्टोर, दिलीप स्विट हाउस तथा न्यु खड्का किराना भण्डारलाई आवश्यक सुधार गर्न भनिएको छ। यस्तै इन्द्रायणी डेरी प्रालि, जय सञ्जीवनी डेरी उद्योग, जगदम्बा डेरी फुड एन्ड बेभरेज प्रालि तथा गायत्री स्पाइसेस एन्ड फुड प्रोडक्ट्स प्रालिलाई पनि सुधारात्मक निर्देशन दिइएको छ। विभागले बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ता हित संरक्षण तथा व्यवसायमा नियमनात्मक अनुशासन कायम गर्ने कार्यलाई प्राथमिकता दिइने जनाएको छ।
सङ्खुवासभामा ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु
सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिका–२ स्थित सानो याक्र्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु भएको छ । स्काभेटर चालक चिचिला गाउँपालिका–३ दिदिङका ३८ वर्षीय देवराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । स्काभेटर चालक राई साङ्ग्रीला ऊर्जा कम्पनीमा कार्यरत थिए । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । उनको शव परीक्षणका लागि आजै जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । त्यसैगरी पाँचखपन नगरपालिका–२ भिरकुनामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज बिहान खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा सिर्जना तामाङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट तामाङको घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट हुँदा रु दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सोही व्यवस्थाअनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म बैंक खाता खोल्नेको सङ्ख्या ६७१ जना रहेका आयोगको प्रणालीमा सूचना प्राप्त भएको जानकारी दिए । निर्वाचनमा भाग लिने दल र उम्मेदवारले यसअघिका निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो । बैँकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने आयोगको विश्वास छ । आयोगले विभिन्न आधारमा भूगोलअनुसार उम्मेदवारले रु २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ । आर्थिक अनुशासनका लागि आयोगले यस्तो व्यवस्था गरेको स्पष्ट पारेको छ । आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कालीकोटजस्तो दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका अधिकांश उम्मेदवारले अझै खाता नखोलेका बताए । नेपाल राष्ट्र बैंकका अनुसार ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खुलेका छन् । राजनीतिक दल र उम्मेदवारले रु २५ हजारभन्दा बढी रकम बैंक खाताबाट लिने र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई आमन्त्रण गरी छलफल गरेको थियो । सो छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताएका थिए । बैंकसँगको छलफलमा उनले हातहातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको र त्यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको जानकारी दिए थिए ।
जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद
झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाई–छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार छापा मारेको थियो । सो अवसरमा प्रहरीले उनका २२ वर्षीय छोरा सौगात थापा मगरले घरपछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाई–छिपाई राखेको ९८९ एमएमको पेस्तोल एक थान र गोली ४० राउन्ड बरामद गरेको हो । घटनामा संलग्न सौगात भने फारर रहेको प्रवक्ता खड्काले जानकारी दिए । लुटपाटमा संलग्न राजवंशीलाई मुलुकी अपराधसंहिता २०७४ बमोजिम कारबाही हुने उनको भनाइ छ ।

