संसदीय समितिको ‘टीओआर’मा गृहमन्त्री लामिछानेको नाम अनिवार्य गर्न कांग्रेसको सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिको कार्यक्षेत्राधिकार ‘टीओआर’मा गृहमन्त्री रवि लामिछानेको नाम अनिवार्य गर्न सुझाव दिएको छ । 

आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय पदाधिकारी बैठकले संसदीय समितिको ‘टीओआर’ निर्माण समितिका सदस्य जीवन परियारलाई लामिछानेको नाम नराख्दासम्म सहमति नजनाउन सुझाव दिएको हो ।

सुनचाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि गत साताको बिहीबार जेठ ३ गते एक लाख ४० हजार रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ४० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । गत बिहीबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँ हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।

सहकारी प्रकरणको छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

कार्यदलमा कानूनमन्त्री पदम गिरीको संयोजक,सदस्यहरुमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहेका छन् ।

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब २८० को संख्यामा खासगरी बिस्केक र वरपर रहेका नेपाली हाल सकुशल रहेको र स्थिति सामान्य नहुञ्जेलसम्म निवासरघर बाहिर ननिस्कन आग्रह छ”, भनेको छ । तावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +९२५१२६१०३२१ (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ । बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ । रासस  

प्रहरी जवानको हत्या आशंकामा पाँचजना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो । ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा मनमैजुमा घिमिरेको हत्या भएको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुंगे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल-१३ झोलुंगे पुल नजिकै ठक्कर दिँदा आज बिहान बुटवल(११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो। एम्बुलेन्सको ठक्करबाट अन्य दुईजना महिला घाइते भएका छन् । एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। देवीनगरकै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन्। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका(७ का नारायणबहादुर  मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै छ । कार्यदल सदस्य तथा रास्वपा सांसद शिशिर खनालका अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा बैठक बस्न लागेको हो । उनका अनुसार अब केहीबेरमा बैठक सुरू हुनेछ । बैठकले संसदीय समितिको टीओआर तयार पार्ने बताइएको छ । सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार दिउँसो भएको पटक पटकको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो । तर समिति कस्तो बन्ने, जिम्मेवारी के के हुने जस्ता विषयमा सहमति भइसकेको छैन । कार्यदलमा कानुनमन्त्री पदम गिरी, एमाले प्रमुख सचेतक बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार र रास्वपा सांसद खनाल छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध पार्दै आएको छ ।

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् । अध्यक्षले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नेछन् । राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै, कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभासमक्ष पेस गर्नेछन् । सञ्चारमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक र विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले सुरक्षित कारोबारसम्बन्धी प्रतिवेदन सभामा पेस गर्ने कार्यसूचीमा उल्लेख छ । 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र  बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ २२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८७ पैसा रहेको छ।  यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३० पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । गएराति भएको खेलमा विनवाड्रस भोलक्यानोजसँग नेपाल पराजित भएको हो । सुरुमा ब्याटिङ गरेको भोलक्यानोजले दिएको २०६ रनको चुनौती नेपालले पूरा गर्न सकेन । तीन खेलको अभ्यासमा नेपालले पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा ४९ रनले विजयी भएको नेपाल तेस्रो खेलमा ६७ रनले पराजित भएको हो। पार्क हिल मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको भोलक्यानोजले नेपालविरुद्ध सबै विकेट गुमाएर २०५ रन बनाएको थियो । चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल भने १७।१ ओभरमा १३८ रन बनाएर अलआउट भयो । नेपालका ओपनर कुशल भुर्तेल ८ रन बनाउँदै तेस्रो बलमै आउट भएका थिए । नेपालले मात्र १९ रन बनाउँदा अनिलकुमार शाह मात्र २ रन बनाएर आउट भए । तेस्रो विकेटको रुपमा नेपालका अर्का ओपनर आशिफ शेख २४ रनमा आउट हुँदा नेपालले मात्र ४० रन बनाएको थियो । सम्हालिएर खेलेका नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनी चौथो विकेटको रुपमा ५३ रन बनाएर क्याच आउट भए । पाचौं विकेटको रुपमा गुल्सन झा पहिलो बलमै क्याच हुँदा नेपालले १०७ रन मात्र बनाएको थियो । पहिलो बलमा दुई रन जोडेका सोमपाल कामी दोस्रो बलमा आउट हुँदा नेपाले १०९ रन बनाउँदा ६ विकेट गुमाएको थियो । सम्हालिएर खेलेका अर्का ब्याट्सम्यान सन्दीप जोरा भने सातौ विकेटको रुपमा २१ रनमा आउट भए । आठौं विकेटको रुपमा कमलसिंह ऐरी ४ रनमा आउट हुँदा नेपालले १६ ओभरको समाप्तिमा १३१ रन मात्र बनाएको थियो । प्रतिश जिसी नौ विकेटको रुपमा शून्यमा आउट हुँदा अन्तिम विकेटको रुपमा करण केसी १३ रनमा आउट भए । अन्तिम खेलमा नेपालको बलिङ र ब्याटिङ दुवै नचल्दा पराजित भएको हो । यो खेलमा दिपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई आराम दिइएको थियो । अन्तिम खेलमा पराजित भए पनि तीन खेलको अभ्यास नेपालले २/१ ले आफ्नो पक्षमा पारेको छ । यसअपछि नेपाल विश्वकप अगाडिको अभ्यास खेलका लागि अमेरिका जाँदैछ । त्यहाँ नेपालले क्यानडा र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

कस्तो रहला आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी र वागमती प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । बागमती, कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन, हावाहुरी एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।हिजो काठमाडौं लगायतका विभिन्न ठाउँमा यस वर्षकै गर्मी महशुस गरिएको थियो । देशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ ।

काठमाडौंमा आज यो वर्षकै गर्मी

काठमाडौं । काठमाडौंमा शनिबार (आज) यो वर्षकै धेरै गर्मी भएको छ । यस दिन काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा यस वर्षका लागि यो अहिलेसम्मको उच्च तापक्रम हो । काठमाडौंमा यो वर्ष यसअघि गएको अप्रिल २५ र अप्रिल ३० मा अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । शुक्रबार (हिजो) काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस थियो ।

तनहुँमा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–२, बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ। बन्दीपुर–६ का २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हिरा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ६ जना साथी मिलेर पौडी खेल्न गएका मध्ये डुबेर उनीहरूको मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए। अरू चारजना सकुशल छन्। मृतक दुवैको शव परीक्षणका निम्ति दमौली अस्पतालको शवगृहमा राखिएको उनले बताए। रासस

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध : स्वास्थ्य मन्त्री यादव

पर्सा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको गुणस्तरमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। जनता समाजवादी पार्टी पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान तथा अगुवा कार्यकर्ता भेलामा उनले सरकारी अस्पतालबाट वितरण गरिने औषधोपचार सेवाको गुणस्तरसँगै अवश्यकताका आधारमा सरकारी अस्पतालमा विशेषज्ञ सेवासमेत सञ्चालन गर्ने सोचका साथ नेपाल सरकार अगाडि बढिरहेको बताए। मन्त्री यादवले वीरगञ्जको नारायणी अस्पतालको बजेट बढाउने तयारी भइरहेको पनि जानकारी दिए । उनले नारायणी अस्पतालमा चाँडै क्यान्सर रोगीको उपचारको व्यवस्था गर्ने तयारीमा समेत सरकार रहेको बताए ।

राहत शिक्षकले भने- 'पेसागत भविष्यमाथि कुठाराघात गर्ने छुट छैन्'

काठमाडौँ । राहत शिक्षकहरूले सामुदायिक विद्यालय शिक्षामा योगदान गरेका राहत, अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीको पेसागत भविष्यमाथि कुठाराघात गर्ने छुट राज्यलाई नभएको चेतावनी दिएको छ। नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी, महासचिव कुमार बजगाईँ र उपमहासचिव डम्बर राईले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन्।  उनीहरूले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको शिक्षा विधेयक पारित गर्ने प्रक्रिया थालनी नभए राजधानी केन्द्रित सडक आन्दोलन गर्ने चेतावनी पनि दिए। ‘तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने अपरिहार्यतालाई ध्यानमा राख्दै नेपाल सरकार, मन्त्रालय साथै अन्य सरोकारवाला निकायहरूको सक्रिय पहलकदमीका लागि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ। अन्यथा नेपाल राहत शिक्षक केन्द्रीय समिति देशव्यापी चरणबद्ध आन्दोलनका कार्यक्रमसहित काठमाडौँ केन्द्रित सशक्त सडक आन्दोलन घोषणा गर्न बाध्य हुने ब्यहोरा जानकारी गराउँछौँ’, ध्यानाकर्षणपत्रमा भनिएको छ। विद्यार्थीको चरम विदेश पलायन, आमअभिभावक तथा जनताको देशको शिक्षा प्रणालीमाथिको नैराश्य, स्थानीय तहहरूको शिक्षा नीति निर्माणमा मनलाग्दीपनलगायत शिक्षा क्षेत्रमा देखिएका बेथिति अन्त्यका लागि पनि ऐन जारी हुनुपर्ने ठहर राहत शिक्षकहरूको छ। ५२ वर्षपछि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको शिक्षा विधेयक २०८० भदौ २७ गते संघीय संसद्मा दर्ता भएको थियो। हाल उक्त विधेयक संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। विधेयकमा प्रारम्भिक छलफल भए पनि पछिल्ला दिनमा गुमनाम पार्न खोजिएको राहत शिक्षकहरूको आरोप छ। विधेयकमा छलफल अघि बढाउन राहत शिक्षकहरूले यसअघि पनि मन्त्री, दलका नेताहरू, संसदीय समितिलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएका छन्। यता, शिक्षामन्त्री श्रेष्ठले विधेयक पारित गराउनका लागि थप दबाब आवश्यक रहेको बताएकी छन्। समितिको ध्यानाकर्षणपत्र बुझ्दै उनले आफू विधेयक तत्काल पारित गर्ने पक्षमा रहे पनि समितिमा छलफल नहुँदा विधेयक अघि बढ्न नसकेको बताएकी हुन्। त्यसका लागि दबाब आवश्यक रहेको उनको भनाइ छ। आफूले विधेयक अघि बढाउन प्रयास गरे पनि शिक्षा समितिका अध्यक्षले गम्भीर चासो नदिएको मन्त्री श्रेष्ठले बताएको भेटमा सहभागी नेपाल राहत शिक्षक केन्द्रीय समितिका उपमहासचिव डम्बर राईले बताए। विश्वविद्यालय कानुनबारे भने समिति सभापतिले दुई(तीनपटक छलफलमा ल्याएको मन्त्रीले श्रेष्ठले बताएकी थिइन्। सांसदहरूले पनि शिक्षा विधेयकका पक्षमा गम्भीर नरहेको शिक्षामन्त्रीले बताएकी थिइन्। ‘त्यसैले विधयेक अघि बढाउन तपाईँहरूले थप दबाब दिनुपर्‍यो। म सकारात्मक छँदैछु। तपाईँहरूको पनि दबाब चाहियो’, मन्त्री श्रेष्ठलाई उधृत गर्दै राईले भने।

स्याङ्जामा  हावाहुरीसहित वर्षा, उडायो घरको छानो

गल्याङ । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा व्यापक हावाहुरी सहितको वर्षा भएको छ । आज अपरान्हमा आएको हावाहुरी असिनासहितको वर्षाले विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।  जोडले चलेको हावाहुरीले गल्याङ नगरपालिका-९ का स्थानीय इन्द्रदेव भण्डारीको घरको छानोको रुपमा प्रयोग गरीएको टिन उडाएको छ। साथै, सोहि वडाको सिमल गैरा भन्ने ठाउँमा देविलाल जिटिको घर भत्काएको  र टेक्रे भन्ने ठाउँका निलकण्ठ भण्डारीको घरको टिन उडाएको एक स्थानीयले जानकारी दिए । त्यसैगरी, हावाहुरीले श्री ज्ञानोदय माध्यामिक विद्यालय, कृषक कुशुम भण्डारीको कृषि र्फम, उमाकान्त भण्डारीको घर र अन्य विभिन्न नागरिका घरमा क्षति पुगेको छ ।त्यसआसपासका विभिन्न क्षेत्रमा क्षति पुगेको छ । हावाहुरी असिनासहितको वर्षाले आँप र लिचि जस्ता फलफुलका चिचिलामा समेत क्षति पुर्याएको छ भने विद्युत अवरुद्ध रहेको छ । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन्।