पर्वले विविध जातजाति र समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्छ: अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरेका छन् ।
ग्याल्पो ल्होसारको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले समस्त नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
नेपालको हिमाली भेगमा आदिमकालदेखि बसोबास गर्दै आएका शेर्पा समुदायको मौलिक भाषा, लिपी, संस्कृति, रीतिरिवाज, भेसभुसासहितको विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उनले शेर्पा समुदायले नयाँ वर्षको रूपमा मनाउने ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको बताएका छन् ।
नेपाली जनताको महान् त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतत्वलाई स्वीकार गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले यस प्रकारका पर्वहरूले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपी, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिएको बताएका छन् । ल्होसार पर्वले आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने उनको विश्वास छ ।
पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ: राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् । आज ग्याल्पो ल्होसार, २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्दै ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबिच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेमा विश्वास व्यक्त गरे । उनले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको लागि शुभकामना दिएका छन् । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ । पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको गुथुक र खाप्से जस्ता परिकार सबै जना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।
सुनसरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
सुनसरी । सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । गएकाे मंगलबार राती इटहरीको मुख्य चोकबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९२ नम्बरको ट्रकले साइकलमा सवार मोरङ सुन्दरहरैचाका ४० वर्षीय कुमार श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए । दुर्घटनामा मृत्यु भएका श्रेष्ठको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ । ट्रक चालक तेह्रथुमका २७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नेकपा दोलखाको दोस्रो चुनावी सभा शैलुङमा सम्पन्न
दोलखा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले आज शैलुङ गाउँपालिकामा आफ्नो दोस्रो चुनावी सभा सम्पन्न गर्दै जनताको बीचमा व्यापक उत्साह उत्पन्न गरेको छ। जिरीबाट सुरु भएको चुनावी प्रचार–प्रसारलाई निरन्तरता दिँदै नेकपाले पहिलो सभा जिरीमा गरेपछि शैलुङमा दोस्रो सभा गरेको हो। निर्वाचन आयोगले तोकेको प्रचार–प्रसार समय सोमबारदेखि सुरु भएसँगै नेकपाले आफ्नो अभियान तीव्र बनाएको छ। सभामा नेकपा दोलखाका उम्मेदवार बिशाल खड्का, केन्द्रीय नेता गंगा कार्की, नेकपाको बागमती प्रदेश कमिटी अध्यक्ष एवं निर्वाचन परिचालन समिति संयोजक भिमप्रसाद दाहाल, सहसंयोजक भरत दुलाल, तथा नेता शंकर लामा, रिमालबाबु श्रेष्ठ, जितकुमार मोक्तान, संगिता तामाङ लगायतले मन्तव्य राखेका थिए। पुराना वामपन्थी नेता भुवनसिंह थापा को अध्यक्षतामा सम्पन्न सभामा नेकपाका समानुपातिक उम्मेदवार महेन्द्र बहादुर कार्की र राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल पनि उपस्थित थिए। नेकपा दोलखाले चुनावी सभा मात्र नभई घरदैलो, मतदाता भेटघाट र निर्वाचन लक्षित अभियानहरू पनि तीव्ररूपमा सञ्चालन गर्दै जनताको विश्वास जित्ने प्रयासलाई निरन्तरता दिइरहेको छ।
यो निर्वाचन मेरो होइन, दोलखाको समृद्धिको लागि हो: उम्मेदवार खड्का
दोलखा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्का ले जिरीमा आयोजित चुनावी सभाहरूमा अभूतपूर्व जनसमर्थन पाउँदै आफ्नो अभियानलाई नयाँ उचाइमा पुर्याएका छन्। लिंकन बजारमा उम्लिएको जनलहरले आगामी निर्वाचनमा खड्कालाई बलियो दावेदारको रूपमा पुष्टि गरेको छ। सभालाई सम्बोधन गर्दै खड्काले जिरिवासीसँगको गहिरो सम्बन्ध जोड्दै भने—“यो निर्वाचन केवल मेरो जित–हारको विषय होइन, यो त दोलखाको स्वाभिमान र समृद्धिको विषय हो। जिरी मेरो घर–आँगन हो, र अहिले पार्टीभन्दा माथि उठेर जिरीको भविष्य सबैको प्राथमिकता हुनुपर्छ। विकासको यात्रामा सबैले साथ दिनुपर्छ।” उनले आफ्नो प्रमुख विकास एजेन्डा सार्वजनिक गर्दै कृत्रिम जिरी ताल निर्माण, पर्यटन विस्तार, स्थानीय रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, र सीपमूलक कार्यक्रम लाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। खड्काले थपे—“म जिरीलाई आधुनिक, समृद्ध र अवसरयुक्त नगर बनाउन निष्कपट रूपमा काम गर्न तयार छु। हामी सबै मिलेर हाम्रो गाउँ–सहरको उज्वल भविष्य निर्माण गर्न सक्छौं।” सभामा सहभागी स्थानीय बासिन्दाले खड्काका योजनाप्रति उत्साह देखाउँदै, “विशाल खड्काले हाम्रो जीवनस्तर सुधार्न सक्ने योजनाहरू ल्याएका छन्, हामी पूर्ण समर्थन गर्छौं,” भन्दै जनसमर्थनको पुष्टि गरे। जिरिमा देखा परेको यो जनलहरले नेकपाको मतवृद्धि मात्र नभई विशाल खड्काको चुनावी अभियानलाई थप ऊर्जा दिएको छ। स्थानीयहरू विश्वास व्यक्त गर्छन्—जिरिको विकास अब सम्भव छ, र खड्काको नेतृत्वमा यो यात्रा सुनिश्चित हुनेछ।
प्युठानमा नेकपाको जनलहर: एमाले र कांग्रेस परित्याग गर्दै २९ जना प्रवेश
प्युठान । प्युठानमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रति जनआकर्षण तीव्र बन्दै गएको छ। मंगलबार एकैदिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस परित्याग गरी २९ जना स्थानीय नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्। प्युठान नगरपालिका–४ मंङ्ग्राखोलाबाट २२ जना र वडा नं. ५ जुम्रीकाँडाबाट ७ जना गरी विभिन्न राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू नेकपामा आवद्ध भएका हुन्। मंङ्ग्राखोलाबाट प्रकाश खड्का, निर्मल खड्का, दुर्गा खड्का, वर्षा खड्का, शिवा खड्का, दीपक खड्का, लक्ष्मी खड्का, कालिका घर्ती मगर, रिमा श्रेष्ठ, सीता नेपाली, चन्द्र नेपाली, चङ्खी नेपाली, बिनोद नेपाली, गिमा भण्डारी, जागेश्वर पोख्रेल, केशव थापा, सुमन थापा, भुमा थापा, रुमलाल बिक, खुमलाल बिक, सुशिला के.सी. र रुमा के.सी. नेकपामा प्रवेश गरेका छन्। त्यसैगरी जुम्रीकाँडाबाट बेतुप्रसाद न्यौपाने, हरिप्रसाद न्यौपाने, बिनाराम सुनार, लाले बैजाली, प्रेम खड्का क्षेत्री, वोनी खड्का क्षेत्री र पार्वती घर्ती क्षेत्री पनि नेकपामा समाहित भएका छन्। नवप्रवेशीहरूलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णध्वज खड्काले फूलमाला र अबिरसहित भव्य स्वागत गर्नुभएको थियो। स्वागत गर्दै उहाँले नेकपा जनताको अधिकार, समृद्धि र वास्तविक परिवर्तनको पक्षमा दृढतापूर्वक उभिएको पार्टी भएको बताउँदै जनविश्वास निरन्तर बढ्दै गएको उल्लेख गर्नुभयो। नवप्रवेशीहरूले नेकपाको स्पष्ट राजनीतिक दृष्टिकोण, जनपक्षीय कार्यक्रम र परिवर्तनकारी नेतृत्वबाट प्रभावित भएर पार्टी रोजेको बताएका छन्। उनीहरूले अब नेकपाको संगठन विस्तार, जनसम्पर्क र निर्वाचन अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय स्तरमा एमाले र कांग्रेसका सक्रिय कार्यकर्तासमेत नेकपामा प्रवेश गर्न थालेपछि प्युठानमा नेकपाको प्रभाव उल्लेखनीय रूपमा विस्तार हुँदै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। जनताको आशा र भरोसाको केन्द्रका रूपमा नेकपा स्थापित हुँदै गएको संकेतका रूपमा यस घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
निर्वाचन अब तीन प्रवृत्तिबीचको जनमतसंग्रह हो : प्रचण्ड
रुकुमपूर्व । चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले पत्रकार सम्मेलन गर्दै भदौ २३ र २४ गते भएका घटनाबारे र त्यसपछिको निर्वाचनबारे धारणा व्यक्त गर्नुभएको छ। उहाँले जेन्जी युवामाथि भएको हत्या, देश जलाउने प्रवृत्ति र राष्ट्रवादका पक्षमा देश बचाउने शक्तिबीच प्रतिस्पर्धा चलिरहेको बताउनुभयो। उहाँले विशेषगरी २३ गते साँझ भएको नरसंहार र २४ गतेको आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिन आग्रह गर्नुभयो। “२३ गते साँझ नपुग्दै भएको नरसंहारको हामीले तत्काल विरोध गरेका थियौं। त्यसअघि पनि सरकारका नेतृत्वले गरेका कामको हामीले विरोध गर्दै आएका थियौं,” उहाँले भन्नुभयो। उहाँका अनुसार उक्त घटनाप्रति सम्बन्धित पक्षले आत्मसमिक्षा गर्नुपर्नेमा त्यसो नगरी ‘गल्ती भएको छैन’ भन्ने प्रवृत्ति देखिनु खतरनाक संकेत हो। “गल्ती स्वीकार नगर्ने प्रवृत्ति देखिएको छ। यदि जनताले यसलाई बुझेन भने भविष्यमा फेरि दोहोरिन सक्छ,” उहाँले चेतावनी दिनुभयो। त्यस्तै, २४ गते भएको आगजनी तथा विध्वंसका घटनामा वामपन्थी तथा लोकतान्त्रिक दलका घरमा आक्रमण भएको उल्लेख गर्दै उहाँले देशलाई अस्थिर बनाउने शक्तिको इसारामा चल्ने प्रवृत्ति देखा परेको दाबी गर्नुभयो। “त्यो नेपाललाई नियन्त्रणमा राख्न चाहनेहरूको इसारामा चल्ने प्रवृत्ति हो,” उहाँले स्पष्ट गर्नुभयो। प्रचण्डले २३ र २४ गतेका दुवै गलत प्रवृत्तिविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको बताउनुभयो। “यी दुवै गलत प्रवृत्तिविरुद्ध हामी नेपाली जनतालाई सचेत गराइरहेका छौं। २३ र २४ गतेका घटना नहोस् र दोहोरिन नदिन हाम्रो पार्टी प्रतिबद्ध छ,” उहाँले भन्नुभयो। उहाँले हाल देशमा तीन प्रकारका प्रवृत्तिबीच संघर्ष चलिरहेको उल्लेख गर्दै यो अवस्था जनमत संग्रह जस्तो भएको बताउनुभयो। कुन प्रवृत्तिलाई जिताउने भन्ने निर्णय अब जनताले गर्ने समय आएको उहाँले जोड दिनुभयो। साथै, देश जलाउने, हिंसा र दमन गर्ने प्रवृत्तिविरुद्ध सशक्त अभियान आवश्यक रहेको उहाँले स्पष्ट गर्नुभयो। “जनताले अब फैसला गर्नुपर्छ। सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रियताको पक्षमा उभिन जरुरी छ। देशको पक्षमा काम गर्न सकिएन भने फेरि दुर्घटनामा पर्न सक्छ,” उहाँले भन्नुभयो। आफू देश दुर्घटनामा नजाओस् र समाजवादको यात्रामा अघि बढोस् भन्ने संकल्पका साथ अघि बढिरहेको उहाँले दोहोर्याउनुभयो। निर्वाचनबारे भइरहेको ‘फिक्सिङ’को चर्चा अस्वीकार गर्दै उहाँले निष्पक्ष निर्वाचन भए नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्ने दाबी गर्नुभयो। “देशभरबाट प्राप्त रिपोर्टअनुसार निष्पक्ष निर्वाचन भयो भने नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्छ। देश र जनताको पक्षमा काम गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी नै हो,” उहाँले भन्नुभयो।
क्रान्तिको आधारभूमिबाट समाजवादको नयाँ यात्रा गर्न आएको हुँ: प्रचण्ड
रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका–२ नायगाड हुँदै सदरमुकाम रुकुमकोट पुग्नुभएको छ। चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि उहाँले पत्रकार सम्मेलन गर्दै आफ्ना अनुभव सार्वजनिक गर्नुभयो। संयोजक प्रचण्डले भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडासहित दुर्गम बस्तीहरूमा दुई–तीन दिनमै कठिन अभियान सम्पन्न गरेको उल्लेख गर्दै जनताको अभूतपूर्व उत्साहले भौतिक कठिनाइ महसुस नभई नयाँ ऊर्जा प्राप्त भएको बताउनुभयो। “सबै ठाउँमा सडक सञ्जाल विस्तार, अधुरा बाटो सम्पन्न, क्रमागत योजना पूरा र पुल नभएका स्थानमा पुल निर्माण गर्नुपर्ने माग जनताबाट आएको छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार रुकुमपूर्वका जनताबाट सडक सञ्जालका अतिरिक्त शिक्षा, पर्यटन र रोजगारीप्रति विशेष चासो देखिएको छ। “यसअघि निर्वाचित नेताबाट भएका कामप्रति स्वीकार र खुसी छ, तर अब काम गुणात्मक हुनुपर्छ भन्ने जनताको अपेक्षा स्पष्ट छ,” प्रचण्डले भन्नुभयो। रुकुमपूर्वमा आफूप्रति असाधारण विश्वास र अपेक्षा देखिएको उल्लेख गर्दै उहाँले त्यसले ठूलो जिम्मेवारीको अनुभूति गराएको बताउनुभयो। अभियानका क्रममा प्राप्त ज्ञापनपत्रलाई वर्गीकरण गरी पाँच वर्षभित्र जिल्लामा गुणात्मक काम गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो। रुकुमपूर्वलाई ‘क्रान्तिको आधारभूमि’ उल्लेख गर्दै संयोजक प्रचण्डले यहाँबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने उद्घोष गर्नुभयो। “देश अप्ठ्यारो अवस्थामा छ। यही आधार इलाकाबाट जनयुद्ध र क्रान्ति सुरु गरिएको थियो। अहिले यहीँबाट नयाँ सन्देश दिन रुकुमपूर्व आएको हुँ। यहाँबाट जाने सन्देश देशकै लागि महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो। जनयुद्धको आधारभूमिमा आएर जनयुद्ध दिवस मनाइएको र त्यसको स्मरणमा जनयुद्धका सहिद तथा बेपत्ता परिवार र घाइतेलाई सम्मान गरी प्रमाणपत्र वितरण गरिएको जानकारी दिँदै उहाँले देशभरिका सहिद परिवार, बेपत्ता परिवार तथा घाइते–अपाङ्गहरू यसबाट उत्साहित भएको बताउनुभयो। रुकुमपूर्व जनयुद्धलाई शान्तिमा रूपान्तरण गर्ने क्रममा भएको १२ बुँदे समझदारीसँग जोडिएको ऐतिहासिक स्थल रहेको उल्लेख गर्दै उहाँले यहाँको सामुदायिक जीवनशैली र परम्पराले नेपाली मौलिकतामा आधारित समाजवाद निर्माण सम्भव रहेको धारणा राख्नुभयो। “समाजवाद बाहिरबाट आयात गर्ने होइन, नेपाली संस्कृति र मौलिकताबाटै निर्माण गर्ने हो। त्यो सम्भावना यहाँबाट देखिन्छ,” उहाँले जोड दिनुभयो।
चुनावपछि नेकपा पहिलो शक्ति बन्ने दाबी : नेता सापकोटाले प्रस्तुत गरे बलिया आधार
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आफ्नो पार्टी देशको पहिलो शक्ति बन्ने दाबी गर्नुभयाे। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सापकोटाले देशभरबाट प्राप्त उत्साहजनक रिपोर्ट, संगठनको एकता र व्यापक उम्मेदवारीका कारण नेकपा निर्णायक रूपमा अघि बढिरहेको बताउनुभयाे। उहाँले विगतको निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवार नहुँदा समानुपातिक मत अपेक्षाकृत कम आएको स्मरण गराउँदै यसपटक देशव्यापी उम्मेदवारीले पार्टीको जनाधार उल्लेख्य रूपमा विस्तार भएको बताउनुभयाे। “यसपटक देशभर उम्मेदवार खडा भएका छन्। यसले कार्यकर्ताको मनोबल उच्च भएको छ र सम्पूर्ण पार्टी पंक्ति निर्वाचनमा पूर्ण रूपमा केन्द्रित भएको छ,” उहाँले भन्नुभयाे, “यसको सकारात्मक परिणाम चुनावमा स्पष्ट देखिनेछ।” नेता सापकोटाले नेकपाको सबैभन्दा ठूलो शक्ति यसको एकता र स्पष्ट राजनीतिक दिशा रहेको बताउनुभयाे। “हाम्रो पार्टी अहिले सबैभन्दा बढी एकताबद्ध छ। यही एकता, जनतासँगको गहिरो सम्बन्ध र स्पष्ट विचारले हामीलाई पहिलो पार्टी बनाउनेछ,” उहाँले भन्नुभयाे। उहाँले प्रमुख प्रतिस्पर्धी दलहरू नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रभावकारी रूपमा अघि बढ्न नसकेको टिप्पणी गर्दै नेकपाले भने देशभर सक्रिय, संगठित र आत्मविश्वासका साथ अभियान सञ्चालन गरिरहेको बताउनुभयाे। त्यस्तै, नयाँ राजनीतिक शक्तिहरूले जनताको अपेक्षाअनुसार ठोस विचार, सिद्धान्त र कार्यक्रम प्रस्तुत गर्न नसकेको उल्लेख गर्दै उहाँले नेकपाको स्पष्ट दृष्टिकोण र परिवर्तनमुखी एजेन्डाले जनताको विश्वास जितिरहेको बताउनुभयाे। देशभरबाट प्राप्त जनसमर्थन, संगठनको सक्रियता र स्पष्ट राजनीतिक मार्गदर्शनका आधारमा नेकपा आगामी निर्वाचनपछि देशको अग्रणी राजनीतिक शक्ति बन्ने विश्वास रहेको उहाँले बताउनुभयाे।
वाईसिएल सुनकोशीद्वारा ३५१ युवा परिचालन गर्ने निर्णय, निर्वाचनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता
सिन्धुली । योङ कम्युनिष्ट लिग (वाईसिएल), नेपाल सुनकोशीको विस्तारित बैठकले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ३५१ जना युवा परिचालन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। बैठकले विशेषतः सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा लेखनाथ दाहाल ‘राज’ लाई विजयी गराउन संगठित, योजनाबद्ध र प्रभावकारी रूपमा युवा परिचालन गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको हो। सुनकोशी गाउँपालिका मा सम्पन्न बैठकले निर्वाचन अभियानलाई तीव्र, व्यवस्थित र जनकेन्द्रित बनाउने रणनीति तय गर्दै युवाहरूलाई घरदैलो, गाउँ–टोल र समुदायस्तरसम्म सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको वाईसिएलले जनाएको छ। युवाहरूलाई पार्टीका नीति, विचार, कार्यक्रम तथा उम्मेदवारको प्रतिबद्धता जनतामाझ पुर्याउँदै व्यापक जनसमर्थन निर्माण गर्ने लक्ष्य लिइएको छ। बैठकले नेपाली कम्युनिष्ट पार्टी का उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ परिवर्तन, विकास र जनताको आकांक्षाको प्रतिनिधि भएको उल्लेख गर्दै उहाँलाई विजयी गराउनु सम्पूर्ण युवाहरूको साझा जिम्मेवारी भएको निष्कर्ष निकालेको छ। वाईसिएलले युवाहरूको ऊर्जा, सक्रियता र समर्पणले निर्वाचन परिणामलाई सकारात्मक दिशामा लैजाने विश्वास व्यक्त गरेको छ। संगठनले सिन्धुली जिल्ला भर निर्वाचन अभियानलाई थप सशक्त, प्रभावकारी र उत्साहजनक बनाउन युवा शक्ति परिचालन गर्ने तथा जनतामाझ आशा, विश्वास र परिवर्तनको सन्देश फैलाउने अभियानलाई तीव्रता दिने जनाएको छ। वाईसिएल सुनकोशीको यस निर्णयले निर्वाचन क्षेत्रमा युवा सहभागिता उल्लेखनीय रूपमा बढ्नुका साथै उम्मेदवार ‘राजन’को जित सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
घरदैलोमा व्यापक जनसमर्थन, विकासको निरन्तरताका लागि सुरेशकुमार राई हिमाललाई दोहोर्याउने जनताको चाहना
उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुरेशकुमार राई ‘हिमाल’ यतिबेला घरदैलो अभियान र मतदाता भेटघाटमा अत्यन्तै व्यस्त छन् । दोस्रो पटक संसद् प्रवेश गर्ने तयारीमा रहेका राईलाई निर्वाचन क्षेत्रभरिका मतदाताले उत्साहजनक स्वागत, समर्थन र माया व्यक्त गरेका छन् । गाउँ–गाउँ, टोल–टोल र घर–घर पुग्दा जनताले देखाएको आत्मीयता र विश्वासले नेकपा र उम्मेदवार राईको पक्षमा बलियो चुनावी माहोल बनेको संकेत गरेको छ । २०७४ सालमा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि निर्वाचन क्षेत्रको समग्र विकासका लागि उल्लेखनीय पहल गरेका राई यतिबेला अपूरा योजना पूरा गर्ने प्रतिबद्धतासहित पुनः जनताको घरदैलोमा पुगेका हुन् । विगतमा गरेका कामको प्रत्यक्ष अनुभूति गरेका मतदाताहरूले यसपटक पनि विकासको निरन्तरताका लागि राईलाई नै रोज्ने संकेत दिएका छन् । नेकपा उदयपुर–२ का निर्वाचन परिचालन समितिका संयोजक महोन खत्री ‘दिपक’का अनुसार उम्मेदवार राईले ताप्ली गाउँपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकामा व्यापक घरदैलो तथा मतदाता भेटघाट सम्पन्न गरिसकेका छन् भने अहिले कटारी नगरपालिकामा अभियानलाई तीव्र बनाइएको छ । “जहाँ जहाँ घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम हुन्छ, त्यहाँ जनताको उत्साह उल्लेखनीय देखिएको छ । जनताले राईलाई आफ्नै प्रतिनिधि ठानेर स्वागत गरिरहेका छन् । यो माहोलले नेकपाको जित सुनिश्चित देखिएको छ,” संयोजक खत्रीले भने । उनका अनुसार निर्वाचन क्षेत्रका पाँचै पालिका र ४० वटै वडामा निर्वाचन प्रचार–प्रसार समिति परिचालन गरिएको छ । यसले गाउँदेखि नगरसम्म नेकपाको संगठनात्मक आधार बलियो बनेको र चुनावी अभियान प्रभावकारी रूपमा अघि बढिरहेको स्पष्ट देखिएको छ । विकासका आधार निर्माण गर्ने नेता २०७४ सालमा निर्वाचित भएपछि सुरेशकुमार राईले निर्वाचन क्षेत्रको पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, कृषि र सामाजिक क्षेत्रको विकासमा ऐतिहासिक पहल गरेका छन् । निर्वाचन क्षेत्रलाई अन्य जिल्लासँग जोड्ने सिद्धिचरण लोकमार्गको स्तरोन्नति तथा पक्की सडक निर्माणका लागि छुट्टै आयोजना कार्यालय स्थापना गरी बजेट सुनिश्चित गर्नु उनका महत्वपूर्ण उपलब्धिमध्ये एक हो । त्यस्तै, घुर्मी–चतरा सडक निर्माणमा देखिएको अवरोध हटाउन पहल गरी निर्माण कार्यलाई गति दिनु, मुर्कुची–लिम्चुङबुङ हुँदै हलेसी धार्मिक स्थल जोड्ने सडक परियोजनाका लागि बजेट सुनिश्चित गराउनु, तथा निर्वाचन क्षेत्रका २२ वडाका जनतालाई प्रत्यक्ष लाभ पुग्ने सुनकोशी खानेपानी आयोजनामा करिब २ अर्ब रुपैयाँ बजेट विनियोजन गराउनु ऐतिहासिक उपलब्धि मानिएको छ । उनकै पहलमा निर्वाचन क्षेत्रका सबै वडामा विद्युत् विस्तार सम्पन्न भएको छ । कटारी नगरपालिकासहित विभिन्न ग्रामीण बस्तीहरूमा पहिलो पटक विद्युत् पुग्दा हजारौँ घरधुरी लाभान्वित भएका छन् । पूर्वाधार विकास कोष तथा विभिन्न कार्यक्रममार्फत दर्जनौँ विद्यालय भवन निर्माण, नमूना विद्यालय स्थापना, प्रविधिमैत्री शिक्षा विस्तार तथा स्वास्थ्य क्षेत्रमा चार पालिकामा १५ शय्याको अस्पताल निर्माण योजना अघि बढाइएको छ । साथै, निर्वाचन क्षेत्रभर स्वास्थ्य चौकी भवन निर्माण र स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको छ । ग्रामीण सडक विस्तार, रिङरोड निर्माण, पुल निर्माण, सिँचाइ तथा तटबन्धन योजना, खानेपानी आयोजना, धार्मिक तथा सांस्कृतिक संरचना निर्माण लगायतका क्षेत्रमा समेत उल्लेखनीय प्रगति भएको छ । ‘नागरिक आवास कार्यक्रम’ अन्तर्गत करिब पाँच हजार घरधुरीमा जस्तापाताको छाना उपलब्ध गराएर गरिब तथा विपन्न परिवारको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याइएको छ । विकासको निरन्तरताका लागि स्पष्ट प्रतिबद्धता दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका राईले निर्वाचन क्षेत्रलाई अझ समृद्ध र आत्मनिर्भर बनाउने स्पष्ट योजना सार्वजनिक गरेका छन् । अधुरा सडक तथा खानेपानी आयोजना सम्पन्न गर्ने, सिँचाइ योजनामा पर्याप्त बजेट विनियोजन गर्ने, प्रत्येक वडालाई पक्की सडकसँग जोड्ने, तथा क्षेत्रीय रिङरोडलाई स्तरोन्नति गर्ने उनका प्रमुख प्राथमिकता हुन् । त्यस्तै, कृषि आधुनिकीकरण, घरेलु उद्योग विस्तार, खेलमैदान निर्माण, गुणस्तरीय शिक्षा नीति, स्वास्थ्य सेवाको पहुँच विस्तार, तथा कटारीमा मेडिकल कलेज स्थापना गर्ने पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । नदी तटबन्धन, जडीबुटी प्रशोधन उद्योग स्थापना, स्थानीय उत्पादनको बजार विस्तार, बहुजातीय संग्रहालय स्थापना, वातावरण संरक्षण, तथा चुनढुंगा उत्खननबाट प्रभावित क्षेत्रका जनतालाई रोजगार र राहत सुनिश्चित गर्ने योजना पनि उनले अघि सारेका छन् । राईले उदयपुर जिल्लालाई अर्गानिक कृषि र पर्यटनको ‘हब’का रूपमा विकास गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अग्रणी जिल्ला बनाउने दीर्घकालीन लक्ष्यसमेत सार्वजनिक गरेका छन् । जनताको भरोसा, जितको बलियो आधार घरदैलो अभियानका क्रममा मतदाताहरूले राईको कार्यशैली, विकासप्रतिको प्रतिबद्धता र जनतासँगको निरन्तर सम्बन्धको खुलेर प्रशंसा गरेका छन् । विकासका ठोस आधार तयार गरेको, जनताको समस्यामा प्रत्यक्ष सहभागी भएको, तथा निर्वाचन क्षेत्रलाई राष्ट्रिय विकासको मूलधारमा जोड्ने प्रयास गरेको भन्दै मतदाताहरूले उनलाई पुनः संसद् पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँ–गाउँमा देखिएको जनसहभागिता, उत्साह र समर्थनले नेकपा र उम्मेदवार राईको पक्षमा बलियो लहर देखिएको स्थानीय नेताहरूको भनाइ छ । नेकपा उदयपुरका एक स्थानीय नेताले भने, “राईले विगतमा गरेको विकास जनताले प्रत्यक्ष अनुभूति गरेका छन् । अब अधुरा काम पूरा गर्न र क्षेत्रलाई अझ समृद्ध बनाउन जनताले पुनः उनलाई अवसर दिने वातावरण बनेको छ ।” निर्वाचन क्षेत्रभर तीव्र गतिमा अघि बढिरहेको घरदैलो अभियान, जनताको व्यापक समर्थन र विकासको स्पष्ट खाकाले सुरेशकुमार राई ‘हिमाल’लाई दोस्रो पटक संसद् प्रवेश गराउने बलियो आधार तयार भएको देखिन्छ । जनताको विश्वास, विगतका उपलब्धि र भविष्यका स्पष्ट योजनासहित अघि बढेका राईको उम्मेदवारीले उदयपुर–२ मा नेकपाको पक्षमा बलियो चुनावी माहोल निर्माण भएको छ ।
भ्रामक प्रचारबाट विचलित नहुन मतदातासँग रेनु दाहालको आग्रह, जनताको अपार मायाले उत्साहित
चितवन । चितवन क्षेत्र नं. ३ की प्रतिनिधिसभा उम्मेदवार रेनु दाहालले जनताको अपार माया, विश्वास र समर्थनले आफूलाई थप उत्साहित र जिम्मेवार बनाएको बताएकी छन्। घरदैलो अभियानका क्रममा जनताबाट प्राप्त आत्मीयता र सकारात्मक प्रतिक्रियाले आफ्नो चुनावी यात्रामा थप ऊर्जा मिलेको उनले उल्लेख गरेकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दाहालले चितवनवासीको स्नेहले आफूलाई जनताको सेवामा अझ दृढताका साथ अघि बढ्न प्रेरित गरेको बताइन्। उनले भरतपुर महानगरपालिकामा ९ वर्षसम्म निर्वाह गरेको नेतृत्व अनुभवले जनताको अपेक्षा र विश्वासलाई व्यवहारमा उतार्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारिन्। उनले लेखेकी छन्, “घरदैलो अभियानका क्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ। मेरो कार्यकालभरि जनताको सेवामा समर्पित भएर काम गरेकै कारण आज यस्तो अपार स्नेह पाएको अनुभूति भएको छ।” दाहालले लोकतन्त्रमा निर्वाचनको परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने आफ्नो दृढ प्रतिबद्धता दोहोर्याउँदै मतदाताको विश्वासका आधारमा फराकिलो मतान्तरले विजयी हुने उच्च मनोबल पनि व्यक्त गरेकी छन्। उनले जनताको साथ र समर्थन नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरिन्। यसैबीच, निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा आचारसंहिताविपरीत केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक र कपोलकल्पित समाचारप्रति उनले गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्। यस्ता भ्रमपूर्ण सामग्रीले लोकतान्त्रिक प्रक्रियामाथि नकारात्मक असर पार्ने भन्दै उनले मतदातालाई सत्य र तथ्यमा आधारित जानकारीमात्र विश्वास गर्न आग्रह गरिन्। “भ्रामक प्रचार र कपोलकल्पित समाचारबाट विचलित नहुन म सम्पूर्ण मतदातामा हार्दिक अनुरोध गर्दछु। सत्य, विकास र जनसेवाको मार्गमा हामी दृढतापूर्वक अघि बढिरहेका छौं,” उनले भनिन्। चितवन क्षेत्र नं. ३ मा दाहालको सक्रियता, जनसम्पर्क र विकासप्रतिको स्पष्ट दृष्टिकोणले मतदातामाझ सकारात्मक उत्साह र भरोसा थपिएको स्थानीयले बताएका छन्।
भरतपुर–१६ मा उम्लियो जनसमर्थन, संघीय नेतृत्वका लागि रेणु दाहालप्रति जनताको भरोसा अझ सुदृढ बन्दै
चितवन । रेणु दाहाल संघीय संसदको यात्रातर्फ अघि बढ्दै गर्दा चितवनका जनताले अभूतपूर्व उत्साह र विश्वासका साथ साथ दिएका छन्। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारका रूपमा घरदैलो अभियानलाई तीव्रता दिँदै गर्दा भरतपुर महानगरपालिका–१६ मा पुगेकी दाहाललाई स्थानीयवासीले आत्मीय स्वागत गरेका छन्। सडक, गल्ली र टोल–टोलमा जम्मा भएका स्थानीयले उनको समर्थनमा देखाएको उत्साहले उनको उम्मेदवारीप्रति जनताको गहिरो भरोसा झल्काएको छ। भरतपुर महानगरपालिका को नेतृत्व दुई कार्यकाल सफलतापूर्वक सम्हालेकी दाहालले विकास, सुशासन र जनसेवामा स्थापित गरेको पहिचानकै आधारमा अहिले संघीय राजनीतिमा प्रवेश गर्ने तयारी गरिरहेकी छन्। महानगर प्रमुखको जिम्मेवारी सम्हाल्दा उनले पूर्वाधार विकास, शहरी व्यवस्थापन, सामाजिक सेवा विस्तार र समावेशी विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेकी थिइन्। यही योगदानका कारण आज पनि स्थानीयवासीहरूले उनलाई आफ्नो भरोसायोग्य नेताका रूपमा लिएका छन्। घरदैलो अभियानका क्रममा स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै दाहालले आफूले महानगरको नेतृत्वमा रहँदा सधैं जनताको साझा प्रतिनिधि भएर काम गरेको स्मरण गरिन्। उनले भनिन्, “मैले कसले के भन्यो भन्ने भन्दा पनि कहाँ के आवश्यक छ भन्ने कुरालाई प्राथमिकतामा राखेर काम गरेँ। विकास निर्माणका काममा कहिल्यै विभेद गरिनँ। सबै वर्ग, समुदाय र क्षेत्रलाई समान रूपमा समेट्ने प्रयास गरेँ। त्यसैले आज जनताको यस्तो माया र साथ पाउनु मेरा लागि गौरवको विषय हो।” उनले जनतासँगको निरन्तर सम्बन्ध र विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै संघीय संसदमा पुगेपछि चितवनको विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिन्। “मेरो पद फेरिए पनि चितवनको विकासप्रतिको मेरो प्रतिबद्धता र हुटहुटी उस्तै रहनेछ। महानगरमा रहँदा मैले प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाएँ र धेरै उपलब्धि हासिल गरियो। अब संघीय तहमा पुगेर नीति निर्माणमार्फत अझ व्यापक रूपमा जनताको सेवा गर्ने लक्ष्य राखेकी छु,” उनले भनिन्। चितवन-३ का मतदाताले पनि दाहालको कार्यशैली, अनुभव र विकासप्रतिको दृष्टिकोणलाई सकारात्मक रूपमा लिएका छन्। स्थानीयवासीहरूले उनको नेतृत्वमा भरतपुरले आधुनिक र व्यवस्थित शहरको रूपमा पहिचान बनाएको उल्लेख गर्दै संघीय संसदमा पनि उनले त्यस्तै प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। दाहालले आफ्नो उम्मेदवारीलाई केवल व्यक्तिगत अवसर नभई समग्र चितवनवासीको आकांक्षाको प्रतिनिधित्वका रूपमा लिएको बताइन्। “यो अवसर केवल मेरो लागि होइन, सम्पूर्ण चितवनको विकासको लागि हो। यदि तपाईंहरूलाई लाग्छ कि यो छोरी, बहिनी र दिदीले देश र क्षेत्रको लागि अझै योगदान दिन सक्छे भने मलाई एकपटक अवसर दिनुहोस्। तपाईंहरूको सुझाव, सल्लाह र मार्गदर्शनलाई सधैं सम्मान गर्दै अघि बढ्नेछु,” उनले भनिन्। घरदैलो अभियानका क्रममा देखिएको जनसहभागिता र उत्साहले दाहालप्रति जनताको विश्वास र समर्थन अझ मजबुत बनेको स्पष्ट संकेत दिएको छ। स्थानीयवासीहरूको सक्रिय सहभागिता, आत्मीय स्वागत र सकारात्मक प्रतिक्रिया हेर्दा चितवन–३ मा उनको उम्मेदवारीलाई बलियो जनसमर्थन प्राप्त भइरहेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
जनताको सपना, हिमाल शर्माको प्रतिबद्धता: काठमाडौँ–६ बाट परिवर्तनको बत्ती बल्दै
काठमाडौं। काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधि सभा उम्मेदवार हिमाल शर्मा आफ्नो बाँकी जीवन देश, जनता र क्षेत्रको समग्र विकासका लागि समर्पित गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा सक्रिय भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा शर्मा मतदातासँगको प्रत्यक्ष संवाद, घरदैलो, र अन्तरक्रिया कार्यक्रममा जुटिरहेका छन्। तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीमा आयोजित घरदैलो कार्यक्रममा शर्मा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रको विकास, सामाजिक न्याय र समृद्धिको वाचा गरे। उनले भने, “अब जनताको फैसला अन्तिम हुन्छ। म हिजो जनयुद्धमा परिवर्तनका लागि लडेँ, राज्यदमनमा यातना भोगें। अरु केहि चाहिएको छैन। म केवल परिवर्तन, समृद्धि र विकास चाहन्छु। यस क्षेत्रको समृद्धि र जनताको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध छु। जनताको सपना पूरा नभएसम्म मेरो लडाइँ रोकिँदैन।” शर्माले आफ्नो जीवनको यात्रा र संघर्षलाई मात्र सम्झनासँग सीमित नगरी अब मतदानमार्फत जनताले विश्वासमाथि खेल्नेहरूको अन्त्य गर्ने अवसर आएको बताए। उनले जोड दिए, “समृद्धिको बाटो रोक्नेहरूलाई जनताले चिन्नेछन्। सम्झौता होइन, परिणाम खोज्ने बेला आएको छ। जनताको सपना रोक्नेहरूलाई इतिहासले कहिल्यै माफ गर्दैन।” घरदैलो कार्यक्रममा स्थानीय मतदाताहरूले पनि शर्माप्रति विश्वास व्यक्त गरे। विष्णु महतले भनेकी छिन्, “क्षेत्रको विकास, राजनीतिक योगदान र संघर्षको आधारमा हिमाल शर्मा यस क्षेत्रका लागि सक्षम उम्मेदवार हुन्। आगामी निर्वाचनमा हामी उनलाई बहुमतले जिताउने वातावरण तयार गर्दैछौँ।” त्यस्तै, पशुपति मैनलीले मतदातामा राजनीतिक सचेतना बढाउने अभियान जारी रहेको उल्लेख गर्दै, “देशलाई स्थायित्व, शान्ति र विकासतर्फ अघि बढाउन सक्षम नेतृत्व आवश्यक छ। काठमाडौँ–६ का मतदाताले हिमाल शर्मालाई समर्थन गर्नेछन्,” भनिन्। स्थानीय विकास र पूर्वाधारमा जोड घरदैलो कार्यक्रमका क्रममा शर्मा स्थानीय मतदातासँग सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा छलफल गरे। उनले यस क्षेत्रका समस्याको समाधान र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनका अनुसार, विकास र समृद्धि केवल योजनामा सीमित नभई कार्यान्वयनमा देखिनुपर्छ, र यसका लागि समुदायसँग प्रत्यक्ष संवाद अपरिहार्य छ। निर्वाचन नजिकिँदै जाँदा अन्य उम्मेदवारहरूसँग प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा शर्मा मतदातासँगको संवादलाई निरन्तरता दिँदै छन्। उनका घरदैलो कार्यक्रमहरूले मतदातामा प्रत्यक्ष पहुँच बढाउने मात्र होइन, युवापुस्तामा राजनीतिक सचेतना र सहभागिता पनि प्रवर्द्धन गर्दै छन्। को हुन् हिमाल शर्मा ? हिमाल शर्मा, जसलाई ‘जिउँदा सहिद’ को उपाधि दिइएको छ, युवा पुस्तामा शालिन, वैचारिक, बौद्धिक र बलियो नेतृत्वको प्रतीक मानिन्छ। उनले संघर्ष, प्रतिबद्धता र जनताको अधिकारका लागि अडिग भूमिका निर्वाह गर्दै आएका छन्। बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा जन्मेका शर्मा प्रारम्भिक जीवनदेखि सामाजिक न्याय, विद्यार्थी अधिकार र जनअधिकारका मुद्दामा सक्रिय थिए। परिवारिक परिवेशले उनको राजनीतिक चेतना र समाजसेवाको रुचिलाई थप बलियो बनाएको थियो। उनको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भयो। शर्मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का पूर्व महासचिव तथा केन्द्रीय अध्यक्ष हुन्। विद्यार्थी जीवनमा उनले शिक्षाको व्यापारीकरण विरुद्ध सडक आन्दोलनको नेतृत्व गरेका थिए र आम विद्यार्थीको हकहितको संरक्षणमा सक्रिय भूमिका निभाएका थिए। संगठनभित्र उनले युवा नेतृत्व हस्तान्तरणमा भूमिका खेले, जसले पार्टी र विद्यार्थी आन्दोलनमा नयाँ पुस्ताको सहभागिता मजबुत बनायो। जनयुद्धकालीन संघर्ष र राज्यदमन हिमाल शर्मा माओवादी जनयुद्धमा सक्रिय सहभागी बने। युद्ध कमाण्डरको रूपमा देशका विभिन्न क्षेत्रमा परिवर्तनको विगुल फुक्दै जीवन जोखिममा राखेका उनले पार्टीको नीति अनुसार काठमाडौं उपत्यका लगायतका क्षेत्रमा संगठन विस्तार र युवा मोर्चा संचालनमा योगदान दिए। २०६० कात्तिक ४ गते तत्कालीन संकटकालमा उनलाई काठमाडौं असनबाट सुरक्षा निकायले पक्राउ गर्यो। लगभग ५०० दिनसम्म भैरवनाथ गणमा हिरासतमा राखिँदा चरम शारीरिक र मानसिक यातना भोग्नु परेको थियो। यो घटनाले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय मानवअधिकार मञ्चमा पनि ध्यानाकर्षण गराएको थियो। २०६२ मंसिरमा सर्वोच्च अदालतले हिरासत गैरकानुनी ठहर गर्दै रिहा गर्न आदेश दियो। शर्मा शान्ति प्रक्रियापछि मात्र सार्वजनिक जीवनमा फर्किए। शान्ति प्रक्रिया र पार्टी योगदान शान्ति प्रक्रियापछि शर्मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य बने। पार्टी भित्र एमसीसी, पार्टी एकता, सुशासन र युवा नेतृत्वका मुद्दामा सक्रिय भूमिका निभाए। उनले विभिन्न निर्वाचनहरूमा पार्टी प्रतिनिधित्व र चुनावी कमाण्डरको रूपमा अनुभव हासिल गरे। काठमाडौँको राजनीति क्षेत्रमा लामो समयदेखि आफ्नो प्रभाव स्थापित गर्दै उनले पार्टी योगदान, संघर्ष र नेतृत्व अनुभवको आधारमा बलियो छवि बनाएका छन्। हाल उनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध छन् र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–६ बाट उम्मेदवारी दर्ता गरेका छन्। उनको चुनावी चिन्ह ‘तारा’ रहेको छ। चुनावी एजेन्डा र प्रतिबद्धता हिमाल शर्माको चुनावी एजेन्डामा मुख्य रूपमा युवा प्रतिनिधित्व, सुशासन, पूर्वाधार विकास, रोजगार सिर्जना, शिक्षा र स्वास्थ्य सुधार समावेश छन्। शर्मा उम्मेदवारी व्यक्तिगत पदको लागि नभई जनताको सेवा र राजनीतिक प्रतिबद्धतासँगै नयाँ पुस्ताले चाहेको शासनव्यवस्थाको लागि भएको बताएका छन्। उनी भ्रष्टाचार, कालोबजारी र घुसपैठको अन्त्य, बेरोजगारीको समाधान, निशुल्क शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्न, सहिदहरूको सपना साकार पार्न, देशको संविधान, लोकतन्त्र, राष्ट्रियता र स्वाधीनता रक्षाका लागि आफ्नो उम्मेदवारी अघि सारेका छन्। युवा नेतृत्व र भविष्यको प्रतिबद्धता हिमाल शर्माको जीवन र राजनीतिक यात्रा विद्यार्थी नेतृत्व, जनयुद्धकालीन संघर्ष, पार्टी भूमिका, शान्ति प्रक्रिया योगदान र समाजसेवा र युवा नेतृत्वमा आधारित छ। उनी युवा पुस्तामा प्रभावशाली नेतृत्वको प्रतीक मानिन्छन्। आगामी निर्वाचनमा उनी अनुभव, पार्टी योगदान र स्थानीय जनताको विश्वास लिएर चुनावी मैदानमा छन्। शर्माको अभियान केवल चुनाव जित्ने लक्ष्यमा सीमित छैन। उनले विश्वास दिलाएका छन् कि जनताको सपना पूरा नभएसम्म, क्षेत्रको समृद्धि र विकास पूरा नभएसम्म उनको लडाइँ रोकिँदैन। तारकेश्वर–२ र काभ्रेस्थली क्षेत्रका मतदाताले यस सन्देशलाई स्वागत गर्दै, हिमाल शर्माको नेतृत्वमा आफ्नो क्षेत्रको दीर्घकालीन विकास सुनिश्चित गर्ने आशा व्यक्त गरेका छन्। शर्मा केवल राजनीतिमा होइन, संघर्ष र प्रतिबद्धतामा पनि युवापुस्ताका लागि प्रेरणास्त्रोत बनेका छन्।
सुशासन र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बन्न मानन्धरको दृढ प्रतिबद्धता
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का काठमाडौं–७ का उम्मेदवार तथा पूर्वमन्त्री वसन्त मानन्धरले आफ्नो इमानदारिता र विगतको कार्यअनुभवलाई मत माग्ने मुख्य आधार बनाएका छन्। यसअघि यही क्षेत्रबाट दुईपटक प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्रिको जिम्मेवारी समेत सम्हालिसकेका मानन्धरले जनताले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको दाबी गर्दै अब प्रतिनिधिसभामा पुगेर अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रदेश तहमा बजेट सीमित हुँदा चाहेर पनि धेरै काम गर्न नसकिएको स्वीकार्दै अब केन्द्रीय तहमा पुगेर कानुन निर्माणमार्फत क्षेत्रका आवश्यकता सम्बोधन गर्ने बताएका छन्। “जनताले दुइपटक पत्याएर जिताउनुभयो, सकेसम्म काम गरेँ, अब अझै ठूलो जिम्मेवारीका लागि तयार छु,” उनले उल्लेख गरेका छन्। सामाजिक सञ्जालमार्फत मतदातालाई सम्बोधन गर्दै उनले घरदैलो कार्यक्रममार्फत प्रत्यक्ष भेटघाट गर्ने र क्षेत्रका समस्या तथा अपेक्षाबारे सुझाव संकलन गर्ने बताएका छन्। प्रभावकारी कानुन निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाउने उनको भनाइ छ। उनले आफ्नो व्यक्तिगत सम्पर्क नम्बर ९८४१५२८५१९स ९८५१२०८५१९ सार्वजनिक गर्दै व्यक्तिगत तथा संस्थागत रूपमा सुझाव दिन आग्रह गरेका छन्। प्राप्त सुझावले क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेका छन्। उनले लेखेका छन् ‘ मैले बागमती प्रदेशसभाको सदस्यको हैसियतमा हजुरहरूले सुम्पनुभएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने निरन्तर प्रयास गर्दै आएको थिएँ । यस अवधिमा प्रदेश तहबाट सम्भव भएका नीति, कार्यक्रम तथा जनसरोकारका विषयहरूमा आवाज उठाउन र कार्य गर्न पाएकोमा म गर्व महसुश गर्दछु ।’ उनले जेनजी आन्दोलनको बारेमा यसो भनेका छन् ‘ राजनीतिक दल र नेतृत्वमा देखिएको दम्भ र अहंकारले जनतामा बढ्दो असन्तुष्टिलाई समयमै सम्बोधन गर्न सकेन, सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित जेनजी पुस्ताले उठाएको आवाजलाई शासकले सुन्न सकेन, उल्टै दमनको नीति अपनाइयो ।’ मानन्धरले पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै राजनीतिक दल र नेतृत्वमा देखिएको दम्भ तथा अहंकारका कारण जनतामा असन्तुष्टि बढेको बताएका छन्। सुशासन र भ्रष्टाचार नियन्त्रणको माग गर्दै उठेको जेनजी पुस्ताको आवाजलाई समयमै सम्बोधन गर्न नसक्दा अवस्था जटिल बनेको उनको भनाइ छ। उनले प्रतिनिधिसभामा पुगेपछि जनताको आवाज सशक्त रूपमा उठाउने, जनजीविकाका सवाललाई नीति निर्माणको केन्द्रमा राख्ने, संघीयतालाई संविधानको मर्मअनुसार बलियो बनाउने कानुन तर्जुमा गर्ने र प्रदेश–स्थानीय तहबीच सन्तुलन कायम गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले दलगत बैरभाव कतै नराखी पारदर्शी र जवाफदेहीतासहित काम गर्ने पनि जनाएका छन् । उनले आगामी दिनमा पनि जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, सामाजिक न्याय र समृद्धिको पक्षमा अडिग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, महँगी र बेरोजगारी नियन्त्रणका लागि बनेका नीतिहरू कार्यान्वयन गराउन दबाब सिर्जना गर्ने, सामाजिक न्याय र सन्तुलित विकासका पक्षमा उभिने तथा कुशासन र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउने उनको घोषणा छ। मानन्धर बागमती प्रदेशसभाको सदस्यका रूपमा काम गरिसकेका छन् र वाग्मती प्रदेश सभामाबाट सम्भव भएका नीति तथा कार्यक्रममार्फत जनसरोकारका विषय उठाएकोमा आफूलाई गर्व लागेको उनले बताएका छन्। काठमाडौं–७ मा काठमाडौं महानगरपालिकाका म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोल महानगरका १६, १७, १८ र २५ वडा पर्दछन् । वडा नम्बर १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाका वडा नम्बर १, २ र ३ सँगै तारकेश्वर नगरपालिकाका वडा नम्बर ३, ४ र ५ पर्दछन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो चुनाव चिन्ह ‘तारा’मा मतदान गरी विजयी गराउन उनले मतदातासँग आग्रह गरेका छन्। “गणतन्त्रको रक्षा, संसदभित्रको अराजकताको अन्त्य र भ्रष्टाचारविरुद्ध सशक्त आवाजका लागि तारा चिन्हमा मतदान गर्नुहोस्,” उनले अपिल गरेका छन्।
राष्ट्रिय संकटको घडीमा लोकतन्त्र, स्थायित्व र समृद्धिको नेतृत्व लिन नेकपा तयार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश जटिल, संवेदनशील र ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्दै लोकतन्त्रको रक्षा, राजनीतिक स्थायित्वको सुनिश्चितता र समृद्ध भविष्य निर्माणका लागि आफ्नो पार्टी नै सक्षम, जिम्मेवार र विश्वसनीय शक्ति भएको स्पष्ट गरेको छ । पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रचार समितिका संयोजक अग्नि प्रसाद सापकोटाले वर्तमान राष्ट्रिय परिस्थितिमा स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रको मजबुतीका लागि अनिवार्य रहेको बताउनुभयो । उहाँले देशलाई संकटबाट बाहिर निकाल्दै स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो। कठिन परिस्थितिमा पनि निर्वाचनको पक्षमा दृढ अडान पत्रकार सम्मेलनमा जारी वक्तव्यमा देश जटिल र संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै युवापुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन पार्टीले जिम्मेवार र इमानदार भूमिका खेलेको बताइएको छ । सरकारले निर्वाचन घोषणा गरेपछि केही राजनीतिक शक्तिहरूले निर्वाचनको विरोध गर्दै लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको अवस्थामा पनि आफ्नो पार्टीले संविधान र जनमतको सम्मान गर्दै निर्धारित समयमै निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट र दृढ अडान लिएको वक्तव्यमा उल्लेख गरिएको छ । पार्टीले अहिलेको अवस्था आफ्नो निर्णयको सही मूल्यांकन भएको प्रमाण भएको बताउँदै लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि आफ्नो भूमिका ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको जनाएको छ । संघर्ष, स्पष्ट विचार र कार्ययोजनाले जनविश्वास सुदृढ पार्टीले विगतदेखि नै जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै संघर्ष, विचार र स्पष्ट कार्यदिशासहित अघि बढेको उल्लेख गरेको छ । पार्टीले आफ्ना कमी–कमजोरीहरूलाई आत्मसमीक्षा गर्दै सुधारका लागि स्पष्ट प्रतिबद्धता व्यक्त गरेको र यही कारण देशभर पार्टीप्रति जनविश्वास तीव्र रूपमा बढिरहेको दाबी गरेको छ । पार्टीको नेतृत्वमा भएको बलिदानीपूर्ण संघर्ष र नेपाली जनताको ऐतिहासिक आन्दोलनहरूको परिणामस्वरूप संविधान जारी भएको स्मरण गराउँदै त्यसपछि शासकीय सुधार, निर्वाचन प्रणालीको सुदृढीकरण, उन्नत संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माणका एजेन्डाहरूलाई निरन्तर अघि बढाइएको उल्लेख गरिएको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना, आर्थिक स्वावलम्बन र राष्ट्रिय समृद्धिको स्पष्ट दृष्टिकोणसहित पार्टीले अघि सारेका एजेन्डाहरू आज राष्ट्रिय सहमतिका साझा एजेन्डा बन्न सफल भएको पार्टीको दाबी छ । लोकतन्त्रविरोधी अतिवादको स्पष्ट र सशक्त विरोध पार्टीले वर्तमान अवस्थामा देशले दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय संस्थाको सम्मान अपरिहार्य रहेको बताएको छ । एकातर्फ सुशासन, पारदर्शिता र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई दमन गर्ने प्रवृत्ति र अर्कोतर्फ जनभावनाको दुरुपयोग गर्दै राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सिंहदरबार तथा सर्वोच्च अदालत जस्ता राष्ट्रिय संस्थामाथि आक्रमण गर्ने गतिविधि दुवै लोकतन्त्रका लागि गम्भीर खतरा भएको पार्टीको स्पष्ट धारणा रहेको छ । पार्टीले हिंसा, अराजकता र राजनीतिक स्वार्थका लागि गरिने कुनै पनि गतिविधिलाई अस्वीकार्य ठहर गर्दै लोकतान्त्रिक मूल्य, विधिको शासन र राष्ट्रिय एकताको रक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको जनाएको छ । सञ्चारमाध्यमलाई जिम्मेवार पत्रकारिताको आग्रह पत्रकार सम्मेलनमा केही सीमित सञ्चारमाध्यमहरूले भ्रामक र तथ्यहीन सूचना प्रवाह गरी पार्टीको छवि कमजोर बनाउने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । पार्टीले पत्रकारिताको मूल्य, मर्यादा र नैतिकताको सम्मान गर्दै तथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्न सम्पूर्ण सञ्चारमाध्यमलाई आग्रह गरेको छ । यस सन्दर्भमा नेपाल प्रेस काउन्सिललाई निर्वाचन आचारसंहिताको निष्पक्ष र प्रभावकारी अनुगमन गर्न तथा पत्रकारिताको मर्यादा कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न अपील गरिएको छ । निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आयोगको भूमिकामा जोड पार्टीले वर्तमान संवेदनशील परिस्थितिमा निर्वाचन आयोगको भूमिका अझ महत्वपूर्ण भएको उल्लेख गर्दै निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सुनिश्चित गर्न आयोगले कडा निगरानी, स्पष्ट निर्णय र आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । निर्वाचन प्रक्रियामाथि जनविश्वास कायम राख्न आयोगले कुनै पनि प्रकारको आचारसंहिता उल्लङ्घनलाई कडाइका साथ नियन्त्रण गर्दै सबै दलप्रति समान व्यवहार गर्नुपर्ने पार्टीको धारणा रहेको छ । पार्टीले आयोगले आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गर्दै लोकतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ । विवेकपूर्ण निर्णयका लागि जनतालाई भावनात्मक र ऐतिहासिक आह्वान पार्टीले आफ्नो प्रतिबद्धता, योजना र दृष्टिकोण सार्वजनिक गरिसकेको उल्लेख गर्दै सम्पूर्ण नेपाली जनतालाई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा आगामी निर्वाचनलाई ग्रहण गर्न आग्रह गरेको छ । जनतालाई सबै राजनीतिक दलहरूको विगत, वर्तमान भूमिका, विचारधारा, कार्यशैली र भविष्यको स्पष्ट दृष्टिकोणको गहिरो मूल्यांकन गरी विवेकपूर्ण निर्णय लिन आग्रह गरिएको छ । इतिहासका उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्र, स्थायित्व, विकास र समृद्धिको पक्षमा उभिन पार्टीले सबै नागरिकलाई आह्वान गरेको छ ।

