पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनले पारेका असरबाट जोगाउन सबैको सहयोग जरुरी रहेको बताएका छन् ।

काठमाडौँमा आजदेखि सुरू भएको  ‘अन्तरराष्ट्रिय संवाद’ मा उनले जलवायु परिवर्तनले पारेको असरका कारण पर्वतीय क्षेत्रमा बासोबास गर्ने मानिसको जनजीवनमा गम्भीर प्रभाव परिरहेको भन्दै समस्या न्यूनीकरणमा सहयोगका लागि आग्रहसमेत गरे ।

“जलवायु परिवर्तनले जैविक विविधता, मौसमी अवस्थामा गम्भीर असर पारेको छ । ती समस्या र असर तत्काल न्यूनीकरण गर्नुपर्ने छ ।  मनाङ मुस्ताङमा आएका बाढीले पनि हाम्रो जनजीवन र प्रकृतिमा कति क्षति पुगेको छ भन्ने उदाहरण दिएका छ । यि क्षेत्रलाई समस्याबाट जोगाऔँ”, अधिकारीले भने ।

मुख्यमन्त्री अधिकारीले जलवायु परिवर्तनको प्रभावका कारण जलविद्युत् तथा अन्य पूर्वाधारमा धेरै क्षति पुगिरहेको भन्दै समयमा नै सचेत हुनुपर्नेमा जोड दिएका छन् । 

कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा आज सुनुवाइ  हुँदै

काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतबहादुर कार्की नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुने भएको छ । निर्वतमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि पेशी तोकिएको हो । उक्त रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुनेछ । यसअघि सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २५ गतेसम्म विश्वासको मत नदिएको भन्दै कार्कीको स्थानमा एमालेका कार्की मुख्यमन्त्री बनेका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर, सत्ता गठबन्धनमा आएको परिवर्तनसँगै एमालेले उनलाई समर्थन नदिने निर्णय गरेको थियो । २७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पमतमा परेका थिए । प्रदेशसभाले विश्वासको मत लिनुपर्ने भन्दै सङ्कल्प प्रस्ताव पास गरेको थियो । तर, कार्कीले त्यसलाई अटेर गरेर मुख्यमन्त्रीको पदमा बसेको भन्दै प्रदेश प्रमुख खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ वैशाखमा नयाँ सरकार गठनको आह्वान गरेका थिए । हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

३०औँपटक सगरमाथाको सफल आरोहण गरेर कामीरिताको नयाँ कीर्तिमान

काठमाडौं । कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् ।  “कामीरिता शेर्पाले सगरमाथा शिखमा ३०औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ,” सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने। वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन्। फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार बुधबारसम्म आरोही र शेर्पा सहयोगी गरी ४६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।  सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् ।सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन् । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।  गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरू भएको हो । आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित ४१४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ । रासस

दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ। अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लोगेको हो।  दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । कार्यसूचीमा विविध विषय पनि उल्लेख  छ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक मध्याह्न साढे १२ बजे बस्नेछ । बैठकमा समितिको आन्तरिक काम कारबाही तथा विविध विषयमा छलफल हुने कार्यसूचीमा उल्लेख छ। 

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ ।पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपा बस्ने छ। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरी धारणा बनाउन संयुक्त बैठक बोलाइएको कांग्रेसले जनाएको छ।फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा भएको महासमिति बैठक पछि पहिलो पटक संयुक्त बैठक बस्न लागेको हो। सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

हेनुहोस् बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ ९ गते बुधबार सन् २०२४ मे २२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ शून्य पैसा र बिक्री दर १३३ रुपैयाँ ६० पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो रहनेछ आजको मौसम

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो । बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति कोसी र मधेस प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । 

कैलाश सिरोहियालाई आजै धनुषा पठाउने प्रहरीको तयारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आजै धनुषा पठाउने तयारी गरेको छ । दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहियालाई अहिले उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ । यसअघि सिरोहियाका दुईवटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।  धनुषा प्रहरीको अनुरोधमा उपत्यका अपराध कार्यालयका एसपी रवीन्द्र रेग्मीको कमान्डमा कान्तिपुरको हेडक्वाटर पुगेको प्रहरी टोलीले सिरोहियालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

गिरफ्तारी पछि सिरोहियाको प्रश्न– २ वटा पासपोर्ट हुने गृहमन्त्री कहिले पक्राउ पर्छन्?

काठमाडौं । प्रहरी गिरफ्तारीमा परेका कैलास सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले आफूलाई प्रतिसोध राखेर पक्राउ गरेको बताएका छन्। उनले गृहमन्त्री लामिछानेको २ वटा पासपोर्टका विषयमा छानवीन गर्न समेत माग गरेका छन्। सिरोहियाले सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा कुनै पनि अवस्थामा सम्झौता नगर्ने बताएका छन्। व्यक्तिगत रूपमा आफूले हरेक मूल्य चुकाए पनि कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ। कान्तिपुरको समाचार रोक्न र ब्ल्यामेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूमाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको उल्लेख गर्दै सहकारी ठगीलगायतका बेथितिविरुद्धका समाचार प्रकाशनमा एक इन्च पनि पछि नहट्ने दृृढता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीसँग ‘युएन एफसिसी एसबिएसटिए’ का अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घको जलवायुसम्बन्धी एजेन्सी ‘युएन एफसिसी एसबिएसटिए’का अध्यक्ष ह्यारी भिरेउले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच जलवायु परिवर्तनले निम्त्याएका असर एवं यस मुद्दामा नेपालले गर्दै आएको नेतृत्वदायी भूमिका लगायतका विषयमा छलफल भएको छ।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालमा परेको असर न्यूनीकरण गर्नका लागि जलवायु कोषबाट नेपालले पर्याप्त लाभ पाउनुपर्ने बताए। उनले जलवायु परिवर्तनको असर कम गर्नका लागि योजनाबद्ध एवं संस्थागत तवरले अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसका लागि युएन एफसिसीको सहयोग आवश्यक रहेको बताए ।  अध्यक्ष ह्यारीले हिमाल र पर्वतीय मुलुकका मुद्दामा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै नेपालको सक्रियप्रति खुशी व्यक्त गरे । उनले जलवायुसम्बन्धी विश्व सम्मेलनमा नेपालले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको सहराना हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणी पाण्डेले शिष्टाचार भेट गरेका छन्।  सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच बिम्स्टेक मुलुकबीच हुने सहकार्यका विविध विषयमा छलफल भएको छ ।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले बिम्स्टेकले क्षेत्रीय आर्थिक सहकार्यलाई बढवा दिँदै आएको उल्लेख गर्दै सदस्य राष्ट्रबीचको सहकार्यलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिए। उनले यस क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरका विषयमा पनि छलफल चलाउनुपर्ने बताए ।  महासचिव पाण्डले बिम्स्टेक सदस्य मुलुकको हैसियतमा नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दैै आएको उल्लेख गर्दै आगामी दिनमा नेपालको भूमिका अझै प्रभावकारी हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका भुटानका कृषि तथा पशुपंक्षीमन्त्री ल्योन्पो योन्टेन फिन्टक्शोले शिष्टाचार भेट गरेका छन्।सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच जलवायु परिवर्तनको असर एवं द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ ।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरबाट नेपाल–भुटान दुवै प्रभावित भएको उल्लेख गर्दै हिमाली देशलाई परेको असरका सम्बन्धमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’का विषयमा अन्तर्राष्ट्रिय विज्ञहरूबीच हुने विचारविमर्शले दुवै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे। भुटानका मन्त्री ल्योन्पोले पर्वतीय देशका मुद्दाहरूमा नेपालले लिएको नेतृत्वदायी भूमिका सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता मुद्दालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए। भेटका क्रममा उनले भुटान र नेपाल दुवै देशलाई फाइदा पुग्नेगरी नेपालले लिएको नेतृत्वदायी प्रशंसा गरेका थिए । 

टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँ : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताएकी छिन्।मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताइन्। सांसद राणाले आफूले ०५३ सालमा जग्गा किनेको भएपनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताइन्। उनले पत्रकारहरुलाई टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह समेत गरिन्। सांसद राणाले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनुपर्ने बताइन्। उनले प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानविन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको बताए। सांसद राणाले नेपाली कांग्रेसले जहिल्यैपनि जनताको बचाउ गर्दै आएको भन्दै आगामी दिनमा पनि जनताको बचाउ गर्ने बताइन्।

प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बाङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच विद्युत व्यापार, जलवायु परिवर्तन एवं द्विपक्षीय आपसी चासोका विविध विषयमा छलफल भएको छ ।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल–बङ्गालादेशबीच हुने विद्युत व्यापार गर्नका लागि आवश्यक पर्ने प्रक्रिया पूरा हुने अवस्थामा रहेको र छिट्टै दुई देशबीच व्यापार सुरु हुने विश्वास व्यक्त गरे । आगामी दिनमा विद्युत व्यापार क्षेत्रीयस्तरमै सहजरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले त्यसका लागि आवश्यक नियमन एवं भौतिक संरचना तयार हुँदै गएकोप्रति खुशी व्यक्त गरे।   प्रधानमन्त्री प्रचण्डले नेपाल र बङ्गालादेश दुवैले जलवायु परिवर्तन असर व्यहोर्नु परेको उल्लेख गर्दै यस्ता साझा मुद्दामा दुवै देशले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। बङ्गालादेशका मन्त्री चौधरीले नेपाल–बङ्गदादेशबीच ऊर्जा सहकार्य अगाडि बढेको उल्लेख गर्दै छिट्टै ऊर्जा व्यापार भएर दुवै देशले लाभ लिन सक्ने अवस्थामा पुगिएको बताए। उनले प्रधानमन्त्री प्रचण्डलाई नेपाल–बङ्गलादेशबीच हुने ऊर्जा व्यापारका सबै तयारी पूरा भएको जानकारी समेत गराए।  मन्त्री चौधरी नेपालले आयोजना गरेको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादमा भाग लिन नेपाल आएका हुन् ।  सो भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटा, प्रधानमन्त्रीका जलवायु तथा वातावरण सल्लाहकार डा।पपुलर जेन्टलसहित वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्चअधिकारीको उपस्थिती रहेको थियो । 

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा परेको छ।  न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा मुद्दा हेर्दाहेर्दैमा भएको हो।  मंगलबार पक्षतर्फका वकिलहरुले बहस गरेका छन्। मुद्दामा बुधवार पनि बहस हुनेछ। सकेसम्म बुधवार नै मुद्दाको छिनोफानो हुन सक्ने सर्वोच्च प्रशासनले जनाएको छ।

चलचित्र पत्रकार संघ, कोशीद्वारा भिषण र गोपाललाई सम्मान, सुमितलाई प्रोत्साहन पुरस्कार

इटहरी । चलचित्र पत्रकार संघ नेपालको २५ औं वार्षिकोत्सब (रजत जयन्ती) तथा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश शाखाले पनि भव्य कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । प्रदेश शाखाले जेष्ठ ७ गते धरानमा अवस्थित सुनसरी उधोग बाणिज्य संघको सभाहलमा वार्षिकोत्सबको केक काट्दै ३ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कोशी प्रदेश सभा सदस्य माननीय विजय कुमार राईको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका अध्यक्ष सुमित्रा राई ९सन्जु०को सभापतित्वमा आयोजना भएको कार्यक्रम मार्फत ‘चलचित्र पत्रकारिता पुरस्कार-२०८१’ बाट लामो समयदेखी कोशी प्रदेशमै रहेर चलचित्र पत्रकारितालाई मुख्य बिट बनाएर कलम चलाईरहेका भीषण राई र गोपाल दाहाललाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि माननीय राईद्वारा दुबै जना सम्मानित चलचित्र पत्रकारलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै नयाँलाई पनि प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्य सहित ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार(२०८१’ बाट कोशी प्रदेशमा विगत ६ वर्षदेखी चलचित्र पत्रकारिता गरिरहेका सुमित कार्कीलाई ५०२५ रुपैयाँ नगद सहित सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । उनलाई पनि प्रमुख अतिथि माननीय राईद्वारा दोसल्ला ओढाएर प्रोत्साहन पत्र सहित नगद राशी प्रदान गरिएको छ । आगामी वर्षहरूमा समेत यी पुरस्कारलाई अझै बृहत् बनाउदै निरन्तरता दिने संस्थाका अध्यक्ष सुमित्राले बताईन् । संघको २५ औं वार्षिकोत्सब भएका कारणले उपस्थित प्रमुख अतिथि, सभापति, विशेष अतिथीलगायतले संयुक्त रुपमा केक काटेर वार्षिकोत्सब मनाईएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा कोशी प्रदेश सभा सदस्य माननीय मीना श्रेष्ठ, प्रहरी उपरीक्षक भीम दाहाल, चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश ईन्चार्ज नरेन्द्र बस्नेत, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सचिव देवेन्द्र कार्की, धरान उपमहानगर पालिकाका उप(प्रमुख आईन्द्रबिक्रम बेघा, अग्रज पत्रकारहरु हर्ष सुब्बा, महेश श्रेष्ठ, चलचित्र निर्देशक तथा निर्माता सन्तोष सेन, ईलाका प्रहरी कार्यलय धरान प्रमुख मानबहादुर राईको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा अतिथिको रुपमा पत्रकार, कलाकार, राजनितीक जनप्रतिनिधि, साममजिक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । उपस्थित विशेष अतिथी तथा प्रमुख अतिथिले वार्षिकोत्सबको उपलक्ष्यमा शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशका सचीव सुवास श्रेष्ठ संकल्पले संचालन गरेका थिए । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश स्थापनाको ८ वर्ष पूरा भैसकेपनी केन्द्रबाट आधिकारिकता नपाउदा यसअघिका वर्षहरुमा सुस्त थियो । पछिल्लो समय करिव १ वर्षअघि प्रदेश शाखाको रुपमा केन्द्रले समेटेपछी भने यो संस्थाको सक्रियता बढेर गएको छ । संस्थाले करिव एक महिना अघि बिराटनगरमा कोशी प्रदेशका कलाकारहरूको समस्या सुन्ने र समाधानको बाटो खोज्ने जमर्कोसहित बृहत् रुपमा ‘सिने समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।