२ जनाको ज्यान लिएको नरभक्षी बाघ मर्‍यो

चितवन । मकवानपुरको मनहरीमा २ जनाको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो ।

शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । १० वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको थियो ।

बाघलाई गत मंसिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । त्यसयता खोरमा बाघको उपचार भइरहेको थियो ।

चालु आर्थिक वर्षमा चितवनमा ७ वटा बाघ मरेका छन् । सन् २०२२ को गणनाअनुसार नेपालमा ३ सय ५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ वटा रहेका छन् ।

यी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार आज मधेश, कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज बिहान सूर्योदय ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४९ मिनेटमा हुनेछ ।

मेयर कप फुटबल : नारायणी नमूना र अमर मावि विजयी, किरण अमरजंग र ग्रामोदयको बराबरी

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ ।  शारदानगरमा भएको समूह डी को खेलमा नारायणी नमूना मावि विजयी भएको छ । नारायणी नमूनाले सनराईज ईंग्लिस बोर्डिङविरुद्ध ३(१ को सहज जित हात पारेको हो । नारायणी नमूनाको जितमा उमेश कुमार महतो र सन्जित न्यौपानेले गोल गरे । उसले एक उपहार गोल पाएको थियो । सनराईजका मन्जित क्षेत्रीले एक गोल गरे ।  खेलमा अग्रता भने सनराईजले लिएको थियो । सातौं मिनेटमा गोल गर्दै मन्जितले सनराईजलाई अग्रता दिलाएका थिए । तर ३३ औं मिनेटमा उमेशले नारायणी नमूनाका लागि बराबरी गोल फर्काए । ३७ औं मिनेटमा उपहार गोलमा नारायणी नमूनाले अग्रता लियो । ४९ औं मिनेटमा रन्जितले गोल गरेपछि नारायणी नमूना ३(१ ले विजयी भयो । नारायणी नमूनाका सुमन न्यौपाने म्यान अफ दि म्याच भए ।  यो जितपछि नारायणी नमूना समूह डि को शिर्ष स्थानमा यथावत छ । उसको दुई खेलबाट ६ अंक भएको छ । समान खेल खेलेको सनराईज अंकबिहिन हुँदै तालिकाको पुछारमा झरेको छ ।  उता कृष्णपुरको मैदानमा भएको समूह ई को खेलमा अमर मावि विजयी भएको छ । अमर माविले वाल्मिकी शिक्षा सदनलाई ४(० ले पराजित गरेको हो । अमर माविको जितमा रितेश सुनारले दुई तथा राहुल सुनार र बसन्त कुमालले एक(एक गोल गरे ।   रितेशले खेलको १५ र २६औं मिनेटमा गोल गरे । यस्तै राहुलले २९ औं मिनेटमा गोल गरे । दोस्रो हाफको २३ औं मिनेटमा बसन्तले गोल गरेपछि अमर मावि ४-० को फराकिलो अन्तरले विजयी भयो । बसन्त नै म्यान अफ दि म्याच भए । यो जितपछि अमर मावि दुई खेलबाट ६ अंकसहित समूह ई को शिर्ष स्थानमा कायम छ । उता वाल्मिकी भने समान खेलमा एक अंकसहित तालिकाको तेस्रो स्थानमा झरेको छ  यस्तै पटिहानीमा भएको समूह एफ को खेलमा किरण अमरजंग मावि र ग्रामोदय ईंग्लिस बोर्डिङले अंक बाँडेका छन् । दुबै टिमले २(२ गोलको बराबरी गर्दै एक-एक अंक बाँदेका हुन् । प्रतिस्पर्धात्मक खेलमा किरण अमरजंगका लागि समिर परियार र निशान सुनारले गोल गरे । ग्रामोदयका लागि विमल गौतम र निशान्त थापा मगरले गोल गरे ।  खेलको दोस्रो मिनेटमा नै समिरको गोलमा किरण अमरजंगले अग्रता लिएको थियो । तर नवौं मिनेटमा विमलले ग्रामोदयका लागि बराबरी गोल फर्काए । ४६ औं मिनेटमा निशानको गोलमा किरण अमरजंगले फेरि अग्रता लियो । तर खेलको अतिरिक्त समयमा ग्रामोदयका निशान्तले गोल गरेपछि दुबै टोली बराबरीमा रोकिए । बराबरीपछि किरण अमरजंगको समूह एफ मा दुई खेलबाट चार अंक भएको छ । किरण अमरजंग तालिकाको शिर्ष स्थानमा छ । ग्रामोदय भने समान खेलबाट दुई अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ ।  लिगमा आइतबार पनि तीन खेल हुनेछ । शारदानगरमा समूह डी का होली भिजन र जनज्योति मावि भिड्नेछन् । यस्तै कृष्णपुरमा समूह ई का दुर्गा शेषकान्त मावि र ब्राइटस्टार ईंग्लिस बोर्डिङ तथा पटिहानीमा हिमालय दण्डपाणि मावि र अंकुरम एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

आस्था केसीको जनयुद्धका चिठी नामक पुस्तक सार्वजनिक

काठमाडौं । साहित्यकार तथा संचारकर्मी आस्था केसीको जनयुद्धका चिठी नामक पुस्तक सार्वजनिक भएको छ। शनिवार माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पुस्तक सार्वजनिक गरेका हुन्। १५ वर्षको उमेरमा माओवादी जनयुद्धमा होमिएकी आस्था केसीले जनयुद्धको समयमा आफूले प्राप्त गरेका १५० वटा चिठीहरु संकलन गरेर।पुस्तकाकारमा प्रकाशन गरेकी हुन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीकी तत्कालीन गुल्मी जिल्ला अध्यक्ष केसीले गुल्मी जिल्लामा रहेर ६ वर्ष भुमिगत जीवन बिताइन्। सोही समयमा सहकर्मी योद्धाहरु, घरपरिवार र नेतागणहरुबाट समेत प्राप्त भएका सर्कुलर, परिपत्र र चिठीहरुलाई पुस्तकमा समेटेकी छन्।  जनसत्ता र राजनीति, निर्देशन र परिपत्र, अजम्मरी हस्ताक्षर, महिला आन्दोलनका आयाम, प्रेमको रंगीन अनुभूति, युद्धमोर्चाका आरोह अवरोह, कार्यक्षेत्रको  अनुभूति, आत्मीय मन, जसको प्रेरणाले कठिन बाटोमा सहज बनायो र बाल्यकालका दौंतरी र घरका पत्र गरि १० भागमा केन्द्रीत गरेर प्रकाशन गरिएका १५० वटा चिठीपत्रले तत्कालीन  जनयुद्धमय परिवेश बुझ्न मद्दत गर्ने बताईएको छ।  पुस्तक बिमोचनमा बोल्दै नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रम प्रचण्डले कालजयी कृतिका लागि आस्था केसीलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए।कार्यक्रम कर्णाली प्रदेशले आयोजना गरेको थियो। पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो।लेखक केसीको यस अगाडि उज्यालोको खोजी गजल संग्रह प्रकाशित छ।

सेयर बजारमा २.२६ प्रतिशतको वृद्धि, कारोबार सवा ५ अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २.२६ प्रतिशत बढेको छ।अघिल्लो कारोबार दिनको तुलनामा ४५.६९ अंक बढेको नेप्से परिसूचक २०६४ अंकमा पुग्यो। यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २५ करोडको भयो। सबै क्षेत्रका सूचकहरु बढेका छन् ।बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ। जीवन र निर्जीवन बीमा  सबैभन्दा धेरै बढे। आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो।हिमालयन लघुवित्तको ८.४, माउन्टेन हाइड्रो नेपालको ७.९, रुरुको ७.४, रिभरफल्स पावरको ७.१ तथा एनआईसी एसिया बैंकको ६.९ प्रतिशत मूल्य बढ्यो। माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो। पिपुल्स पावरको ७.७, बाराही हाइड्रोपावरको ६.३, गुराँस लघुवित्तको ५.२, दोल्ती पावरको ३.९ प्रतिशत मूल्य घट्यो।कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, फस्र्टमाइक्रोफाइनान्स, हिमालयन लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेको छ।

नो इफ, नो बट हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन्। आइतबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ। हामी पनि सरकारमा सहभागी छौँ।हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन। मिडिया साथीहरू कसैले शङ्का–उपशङ्का नगरे हुन्छ, कुनै इफ, कुनै बट छैन। विथआउट रिजर्भेसन हामी मत दिनेछौँ।’ उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको पनि स्मरण गराए। त्यस्तै पूर्वको कोशी प्रदेशमा पनि आफूहरूले विश्वासको मत दिएको उनले बताए। ‘माग्न आए पनि, नआए पनि। भने पनि नभने पनि हामीले विश्वासको मत सहज रूपमा दिएका छौँ। किनभने हामी जिम्मेवार राजनीतिक शक्ति हौँ,’ अध्यक्ष नेपालले भने। उनले अहिले राजनीतिक अवस्था जटिल भएको पनि बताए। उनले भने, ‘हामी सत्ताको साथमा छौँ। तर लामो साथ दिएका प्रतिपक्षीका साथीहरूलाई पनि हामीले बिचैमा छाडेर हिँड्न हुँदैन। के गर्ने, कसो गर्ने भन्ने छलफलका विषयहरू बन्नुपर्छ।’ सबैलाई मिलाएर समेटेर जान सकिन्छ किन भनेर आफूहरूले प्रयास गरे पनि यसै भन्न सक्ने अवस्था नरहेको उनको भनाई छ। उनले प्रधानमन्त्रीले सहमतिको लागि गरिरहेको प्रयत्नको पनि सराहना गरे।

रवि लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं ।नेपाली कांग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ)ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आन्दोलन गरेको छ।   आइतबार माइतीघर मण्डला क्षेत्रमा नेविसंघले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो।  सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दिनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । 

उपेन्द्रले हाले प्रधानमन्त्रीको विश्वास मत रोक्न सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने भनिएको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा बैठकमा लिने भनिएको विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्। यसअघि पार्टी विभाजनविरुद्ध परेको रिटमा सर्वोच्चले जसपा विभाजन भएर बनेको पार्टीको दर्ता प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको थियो।सोही आदेशमा टेकेर अध्यक्ष यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् । वैशाख २३ गते यादव नेतृत्वको जसपा विभाजन भएको थियो। प्रधानमन्त्री प्रचण्डले केही दिनअघि सोमबारका दिन प्रतिनिधि सभामा विश्वासको मत लिनको लागि संसद् सचिवालयलाई पत्राचार गरेका थिए।जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले रोक्न रिटमा माग गरिएको जसपाले जनाएको छ।

दोस्रो पटक प्रतिनिधिसभा बैठक स्थगित, साढे ४ बजे बस्ने

काठमाडौँ ।संसदीय छानबिन समितिका लागि कार्यविधि तय गर्ने विषयमा सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबिच कुरा नमिल्दा प्रतिनिधि सभा बैठक दोस्रो पटक सरेको छ।

राष्ट्रिय सभा बैठक नबसिकनै स्थगित

काठमाडौं। संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।सोमबार दिउँसो सवा १ बजे बस्ने गरी राष्ट्रिय सभा बैठक स्थगित भएको हो ।  यसअघि आइतबार दिउँसो सवा १ बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै दिउँसो सवा ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । राष्ट्रिय सभाका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक जेठ ७ गते सोमबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको उल्लेख छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा आइपर्ने कार्य जटिलता हटाउन ऐन संशोधन गर्नुपर्ने बताएकी छन्।सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा खड्कालाई दोस्रो पटक अध्यक्ष पदमा नियुक्त गरेको हो। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। दुई वर्षअघि अध्यक्ष हुँदादेखि नै नेपाली पत्रकारितालाई अगाडि बढाउन थुप्रै जटिलता रहेको बताउँदै आएको अध्यक्ष खड्काको भनाइ छ। ती जटिलता हटाउन सबैभन्दा पहिला १७ वर्ष पुरानो समितिको ऐनलाई संशोधन गर्नुपर्नेमा उनले जोड दिइन् ।त्यस्तै, समितिले मिडिया अनुगमन गर्न पाउने तर, सुनुवाइ गर्न नपाउने ऐनगत व्यवस्थाले गर्दा प्रभावकारी काम हुन नसकेको अध्यक्ष खड्काले बताइन्। उनका अनुसार सीमित स्रोत र साधनमा समिति सञ्चालन गर्नुपर्दा थुप्रै कठिनाइ आएका छन्। ‘कानूनी जटिलता र सीमित स्रोतसाधनको समस्या हटाएर समिति अगाडि बढाउने योजनामा छु’, उनले भनिन्, ‘अनुगमन र सुनुवाइ दुवै अधिकार समितिमै हुनुपर्छ ।’

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित  चार जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-१२ घर भएका ३२ वर्षीय सचिन रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले ना।५ ख ४०५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । त्यस्तै, बाँकेको खजुरा गाउँपालिका-३ एक नम्बर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय रोहित सुनार, २२ वर्षीय आशिष सुनार र  २६ वर्षीय सचिन सिङ क्षेत्री रहेका छन् ।इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मिस नेपाल पिसको उपाधि नर्स विधी लम्साललाई

काठमाडौँ । काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले  एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को शिर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाईपछि पार्दै उनले बेष्ट पर्सनालिटी सहित उपाधि चुमेकी हुन् ।  लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन् । हाइकिङ रुचि भएकी लम्साल सकारात्म उर्जाका साथ नर्सिङ अगाडि बढाउने बताउँछिन् ।  विजेता लम्सालले मिस ग्लोवलमा नेपालको प्रतिनिधित्व गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।  एनक्लेक्स नेपाल प्रायोजन रहेको प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिसा पराजुली फस्ट रनरअप र सामाखुसी निवासी पला रेग्मी सेकेन्ड रनरअप भए । मस्ट इन्टेलेक्च्युअलको टाइटल समेत हात पारेकी पराजुली चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा साइकियाट्रिक नर्सिङमा मास्टर अध्ययनरत छिन् । विनायक कलेज अफ हेल्थ साइन्सबाट पिसिएल नर्सिङ उत्तीर्ण रेग्मीले मस्ट चार्मिङको टाइटल समेत प्राप्त गरेकी छन् । तीनै विजेताले उपाधिका साथमा बिभिन्न गिफ्ट हात पारेका छन् । नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा.सुवास आचार्य, डा. सुजिता हिराचन, डा. स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक रहेको प्रतियोगीतामास्पेसल अवार्ड नर्स विथ व प्रपोज मोनिका थापा मगर, मस्ट फोटोजेनिक र बेस्ट स्किनसदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्ट दिव्या बम ठकुरी बने । ‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तर दाइत्व बोध गराउने उद्देश्य प्रतियोगिताको रहेको  आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यातना पाण्डेले बताइन् ।  

माइतीघर एकल प्रदर्शन गरिरहेका चपागाईंलाई सुन्न पुगिन शिक्षामन्त्री

काठमाडौं । विगत पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईंंका कुरा सुन्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ आइतबार माइतीघर मण्डला पुगेकी छिन् ।  त्यहाँ उनले आन्दोलनरत चापागाईंंका कुरा सुनेपछि अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमति पत्र आवश्यक रहेको बताएकी छिन्।  उनले अटिजम काउन्सिलरहरूको लागि इजाजतपत्रको व्यवस्था गर्न मन्त्रालय लागिरहेको बताइन्। अनुमति पत्र भएपछि मात्रै विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले त्यस काममा आवश्यक कदम चालिरहेको पनि उनको भनाइ छ।  आन्दोलनरत नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्यका नेत्र चापागाईंले आधारभूत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउन माग गरे। उनले विद्यार्थीको खाजा खर्च १५  रुपैयाँ रहेकोमा बढाएर ५० बनाउनुपर्ने, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनुपर्ने मागसहित विगत पाँच दिनदेखि उभिएर विरोध जनाइरहेका छन् ।

प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । आइतबार बिहान ११ बजेका निम्ति बोलाइएको बैठकको समय सारिएको हो । बैठक आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

फेरि बढ्यो काठमाडौंमा प्रदूषण

काठमाडौं । गएको साता घटेको काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा शनिबारदेखि फेरि बढेको छ। आइतबार काठमाडौंका तीन स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) आइतबार १०० भन्दा माथि छ। वातावरण विभागको रेकर्डमा बिहान ११ः३० बजे ललितपुरको भैँसेपाटीको एक्यूआई सबैभन्दा धेरै १६७ मापन भएको छ। यस्तै, शंखपार्कको एक्यूआई १५१, खुमलटारको एक्यूआई १०३ र भक्तपुरको एक्यूआई ८७ मापन भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानको एक्यूआई १०२ देखि १९७ सम्म मापन भएको छ। गएको साता काठमाडौंका अधिकांस स्थानमा एक्यूआई ५० भन्दा तल झरेको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार वायु स्वस्थकर हुन एक्यूआई ५० भन्दा कम हुनुपर्दछ। १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ। वायुमा खराब ग्यास तथा कणहरूको मात्रा (पीएम २.५, पीएम १०) लगायतका आधारमा एक्यूआई मापन गरिन्छ।