परराष्ट्र मन्त्री श्रेष्ठसँग बिमस्टेकका महासचिव पाण्डेको भेट

काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई नेपाल भ्रमणमा आएका बिमस्टेकका महासचिव इन्द्र मणि पाण्डेले भेट गरेका छन् ।

मंगलबार मन्त्रालयमा भएको भेटमा बिमस्टेकलाई कसरी बलियो र सशक्त बनाएर अगाडि बढ्ने विषयमा उनीहरुबिच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले नेपाल र बिमस्टेक सहयोगलाई अझै प्रगाढ कसरी बनाउने भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । नेपालले प्रतिनिधि सभाबाट बिमस्टेक बडापत्र पारित गरेकोमा महासचिव पाण्डेले धन्यवाद पनि दिए ।

महासचिव पाण्डेले सोमबार परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालसँग पनि भेटवार्ता गरेका थिए । उनीहरुको भेटमा पनि क्षेत्रीय साझेदारीलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो ।  

बिम्स्टेकको प्रबुुद्ध समूह बैठकको तयारी चरणमा पाण्डेको नेपाल भ्रमण भएको हो । आगामी जुन २३ देखि २५ सम्म थाइल्याण्डमा बिम्स्टेक प्रबुद्ध समूहको बैठक हुँदैछ ।

बिमस्टेकमा नेपाल, भारत, भुटान, बङ्लादेश, म्यानमार, थाइल्याण्ड र श्रीलङका जस्ता सात देशका सदस्य रहेका छन् । सन् २०२२ मा श्रीलङ्कामा भएको पाँचौँ शिखर सम्मेलनमा नेपालसहित सबै सदस्य राष्ट्रले बडापत्रमा हस्ताक्षर गरेका थिए । 

पशुपतिनाथको भेटी चोर्ने आठ जनाको समूह पक्राउ

काठमाडौं । पशुपतिनाथको मन्दिरको भेटी चोरी गर्ने आठ जनाको समूह पक्राउ परेको छ । मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्नेहरु पक्राउ परेको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । पक्राउ पर्नेहरुमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाई रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ । यस्तै पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मन्दिरको भेटी गन्दा चोरी गर्दै गरेका उनीहरुलाई सिसि क्यामेराबाट हेरेर रंगेहात पक्राउ गरिएको हो । पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष नारायण सुवेदीको निर्देशनमा रकम लुकाउने गरेको बयान दिएका छन् । दैनिक तीन हजारदेखि १५ हजार रुपैयाँसम्म लुकाउने गरेको पनि उनले बताएको प्रहरी स्रोतले जनाएको छ ।

सुनको मूल्य तोलामा १२ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले घटेर कारोबार भएको छ। यस दिन छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौंको थलीमा भेटिएको शव भक्तपुरका कृष्ण नगरकोटी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान बेवारिशे अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ। प्रहरी वृत्त बौद्धका अनुसार उक्त शव भक्तपुर–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको खुलेको हो। प्रहरीले शवसँगै भेटिएको सवारी चालक प्रमाण पत्रका आधारमा परिचय यकिन भएको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । म‌गलबार बिहान थलीको उकालोमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको अवस्थामा उनको शव फेला परेको थियो। घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो।

कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना घाइते

काठमाडौं । चितवनको कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  गम्भीर घाइतेलाई चितवनको पुरानो मेडिकल कलेजमा र सामान्य घाइतेहरुलाई कुरिनटारकै सहकारी अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । कुरिनटारबाट मुग्लिन जाँदै गरेको माइक्रोलाई मंगलबार बिहान ट्रकले ठक्कर दिएको हो । ट्रक चालकलाई मुग्लिन प्रहरीले नियन्त्रणमा लिएको छ। उनी सकुशल छन् ।

काठमाडौँको थलीमा पुरुष मृत फेला

काठमाडौँ । काठमाडौँको थलीमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन्। थलीबाट साँखुतर्फ जाने उकालोमा करिब ५५ वर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए। घटनास्थलमा भक्तपुरको छालिङ्ग ठेगाना भएका कृष्ण नगरकोटीको लाइसेन्स फेला परेको छ। प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। 

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक आज बस्दैछ।बैठक बिहान ९ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने जनाइएको छ। शनिबार गठित कार्यदलले आइतबार बिहानदेखि साँझसम्म छलफल गरे पनि क्षेत्राधिकारका विषयमा कुरा नमिल्दा बैठक विनानिष्कर्ष टुंगिएको थियो।संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति बन्न सकेको छैन् । नेपाली कांग्रेसले समिति बनाउँदा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गर्नुपर्ने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनका दल भने मुद्दा केन्द्रीय भएर टोओआर टुंग्याउनुपर्ने अडानमा रहेका छन् । गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो । जसमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य छन् । सहकारी प्रकरणमा छानबिन समितिको माग गर्दै कांग्रेसले लगातार संसद वैठक अवरुद्ध गर्दै आएको छ भने अवरोधकाबीच सदनले आफ्नो काम अगाडि बढाएको छ।

उपेन्द्रको पार्टी फुटविरुद्ध रिटको पेसी आज

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटविरुद्धको रिटको पेसी आजलाई तोकिएको छ । जेठ २ गते उक्त रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।  न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको थियो । सर्वोच्चले आयोगलाई निर्णयसहित उपस्थित हुन आदेश जारी गर्दै आजका लागि पेसी तोकेको थियो । 

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । महानगरले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा तीन करोड १८ लाख ९८ हजार २९ रकम बढी सङ्कलन गरेको हो। महानगरले गत आवको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो। वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य भए तापनि हालसम्म ४० करोडको हाराहारीमा मात्रै राजस्व सङ्कलन भएको जानकारी दिए। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले चालु आर्थिक वर्षमा मालपोत कर ५० करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताए। महानगरले २४ शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ। महानगरले यस वर्ष घरबहाल कर बापत चार करोड ९६ लाख ७५ हजार आम्दानी गरेको छ भने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने दुई करोड सात लाख ९२ हजार सङ्कलन गरेको छ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदन अर्थात् प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।  प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुख घिमिरेले राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।  त्यसैगरी राष्ट्रियसभा बैठकको कार्यसूची पनि सार्वजनिक भएको छ। बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रबारे जानकारी गराउने, मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ।  अध्यक्ष दाहालले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले जेठ १ गते राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  अध्यक्ष दाहालले राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० पेस गर्ने र विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार ९पहिलो संशोधन०, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ ८ गते मंगलबार सन् २०२४ मे २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९२ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । यस्तै, देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ४९ मिनेटमा हुनेछ।

किसानलाई उन्नत बीउमा अनुदान

चितवन । भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ । महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए । करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुई–दुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो एक सय र तोरीको बीउमा प्रतिकिलो ३० रुपैयाँ अनुदान दिइएको महानगरले जनाएको छ ।

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । सुनचाँदीको मूल्यले आज (सोमबार) पनि नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो पनि हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रइसीको मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका बीबीसीले उल्लेख गरेको छ । ड्रोनबाट खिचिएको फुटेज भन्दै इरानी सञ्चारमाध्यमले दुर्घटनास्थलको तस्बिर सार्वजनिक गरेका छन् । पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार रहेका सीएनएनले जनाएको छ ।

अब ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने !

काठमाडौं । राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले अब चाँडै नै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बोक्नु नपर्ने हुने भएको छ। सरकारले सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्ने योजना अनुसार सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्न लागेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले यातायात व्यवस्था विभागसँग प्राविधिक सहकार्य गरी सवारी चालक अनुमतिपत्रमा भएका विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको जानकारी दिएका छन् । उनका अनुसार एक महिनाभित्र सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने काम सम्पन्न हुनेछ । त्यसपछि चालकले आफ्नो सवारी सवारी चालक अनुमतिपत्र नबोकेर राष्ट्रिय परिचयपत्र बोके पुग्ने उनले जनाए । यो व्यवस्था लागु भएपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले सवारी चालकको सबै विवरण हेर्न सक्ने बताइएको छ।  यसका लागि प्रहरीसँग पनि छलफल भइरहेको निर्देशक केशरीले जनाए । उनका अनुसार सुरुवाती चरणमा पुराना सवारी लाइसेन्सको विवरण राख्ने र त्यसपछि मात्र नयाँ लाइसेन्सको विवरण राख्नेगरी काम भइरहेको छ ।