ट्रायल सेन्टरहरूमा एडिटिटी प्रणाली कार्यान्वयन गर्न विभागको आग्रह

काठमाडौँ । यातायात व्यवस्था विभागले अटोमेटेड ड्राइभिङ टेस्ट ट्र्याक (एडिटिटी) प्रणाली कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । ट्रायल सेन्टरहरूमा एडिटिटी प्रणाली जडान गर्न विभागले बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको हो ।

यातायात व्यवस्था कार्यालयहरूले लिने ट्रायल परीक्षामा परीक्षार्थी उत्तीर्ण भए पनि अनुत्तीर्ण हुने गरेको र अनुत्तीर्ण पनि उत्तीर्ण भएको गुनासो सेवाग्राहीबाट आएपछि ट्रायल परीक्षालाई पारदर्शी र गुनासोरहित बनाउन एडिटिटी प्रणाली कार्यान्वयन गर्न विभागले भनेको हो । ‘ट्रायल परीक्षाको नतिजा कुनै व्यक्ति विशेषले नभई प्रविधिले वैज्ञानिक तवरले निर्धारण गर्न ट्रायल परीक्षा सञ्चालनको अनुमति प्रदान गर्दा, अनुमतिपत्रको नवीकरण गर्दा एवं रोकिएको ट्रायल परीक्षा पुनः सुचारु गर्दा अटोमेटेड ड्राइभिङ टेस्ट ट्र्याक ९एडिटिटी० प्रविधि जडान गर्ने ट्रायल सेन्टरलाई मात्र अनुमतिपत्र, नवीकरण तथा पुनः ट्रायल परीक्षा सुचारु गराउने अनुमति प्रदान गर्न विभागको मङ्गलवारको निर्णयअनुसार अनुरोध छ,’ विभागको निर्णयपत्रमा उल्लेख छ ।


विश्वका अधिकांश मुलुकहरूले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाको दौरान परीक्षार्थीको पासरफेलको अवस्था मानवीय मूल्यांकन (ह्युमन जजमेन्ट)बाट निर्धारण नगरी ट्रायल सेन्टरमा जडान भएका उच्च प्रविधियुक्त क्यामेरा ९हाई डेफिनेसन इन्टेलिजेन्ट क्यामेरा० एवं आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) प्रविधिद्वारा वैज्ञानिक ढंगले निर्धारण गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै विभागले यातायात कार्यालयलाई पनि यस्ता प्रविधि प्रयोग गर्न अनुरोध गरेको हो । राष्ट्रिय सतर्कता केन्द्रलाई बोधार्थ दिएर विभागले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालयहरू एकान्तकुना, ठूलोभर्याङ, भक्तपुर, चाबहिल र चितवनलाई बोधार्थसहित कार्यार्थ दिएको छ ।

यसअघि सतर्कता केन्द्रले गरेको छानबिनमा काठमाडौँ उपत्यकाका ट्रायल सेन्टरहरूले मापदण्ड पालना नगरेको पाइएको थियो । सतर्कताको निर्देशनपछि ट्रायल सेन्टरहरूले मापदण्ड अनुसारको ट्रायल स्पट निर्माण गर्दै छन् ।

भारतसँगका पर्साका सीमानाका बन्द

वीरगन्ज । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो ।  वीरगन्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने उनले जानकारी दिए ।  “दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो”, उनले भने । पर्साको १०७ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । रासस

किराँत समुदायको उँभौली पर्व आज

काठमाडौँ।  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ। 

सहकारी अपचलन प्रकरण : कार्यदलको बैठक बस्दै

काठमाडौं ।सहकारी अपचलन  प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)बारे छलफल गर्न कार्यदलको बैठक आज बस्दै छ। बैठक दिउँसो तीन बजे सिंहदरबारस्थित कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको कार्यदल सदस्य जीवन परियारले जानकारी दिए।सहकारी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्ष छानबिन समिति बनाउन सहमत भए पनि कार्यक्षेत्रबारे टुंगो लागेको छैन । विपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेकाले नामै तोकेर समिति बनाउनु पर्ने अडान लिएको छ भने सत्ता पक्ष मुद्दा केन्द्रीत समिति बनाउने अडानमा रहँदा  समाधान निस्कन सकेको छैन । सत्ता पक्ष र विपक्षी दल आआफ्नै अडानमा रहँदा कांग्रेसको नाराबाजी र अवरोधकाबीच संसदको काम कारबाहि अगाडि बढेको छ । सहकारी ठगी प्रकरणमा समस्या समाधानका लागि संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ । जसमा कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल सदस्य छन् । यस्तै, बैठकमा नेपाली कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुँदै आएका छन् ।

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ १० गते बिहीबार सन् २०२४ मे २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०७ पैसा र बिक्री दर १६९ रुपैयाँ ८३ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, कोशी गण्डकी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।त्यस्तै आज राती देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५१ मिनेटमा हुनेछ ।

स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले वीर अस्पतालमा छड्के अनुगमन गरेका छन्। बुधबार दिउँसो १ बजे मन्त्रीसहित सचिव डा.रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी भएका थिए।  मन्त्री यादवले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरे। त्यसपछि उनी नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न गएका थिए। करिब ३ घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएका थिए।  अस्पतालको अकस्मात कक्ष, ओपिटीमा सबैभन्दा बढी समस्या देखापरेको मन्त्री यादवले बताए। “देशभरकै बिरामीको उपचारको केन्द्र रहेको अस्पताल व्यवस्थित हुनुपर्छ”, उनले भने, “कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दुःख पाउनुभएको छ। मुख्यतया जनशक्तिको अभाव देखिएको छ, यसले व्यवस्थापनमा समस्या देखिएको हो।”  मन्त्री यादवले अस्पतालको सेवा थप प्रभावकारी बनाउन जनशक्तिको व्यवस्थापन तुरुन्तै गरिने बताए। शय्या अभावका कारण एउटै शय्यामा महिला र पुरुष राखेर उपचार गरेकोसमेत भेटिएको थियो।  अस्पतालमा आएका सर्वसाधारणले सेवासुविधामा भोग्नु परेको समस्या प्रत्यक्ष मन्त्रीसमक्ष राखेका थिए।अस्पतालको औषधि पसलमा घण्टौँ लाइन लागेका सर्वसाधारणलाई मन्त्री यादवले समस्या के छ ? भन्दै सोधेका थिए। औषधि पसलमा टोकन सिस्टम नहुँदा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले सुनाएका थिए।  मन्त्री यादवले औषधि पसलको लाइन व्यवस्थापन गर्न तुरुन्तै टोकन सिस्टम ल्याउन अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेतलाई निर्देशन दिए। त्यस्तै, सर्वसाधारणले स्वास्थ्य बीमामार्फत औषधि नपाएको गुनासो गरेका थिए।  डा.भूपेन्द्रले अनुगमनकै क्रममा सर्वसाधारणमाझ औषधि अभाव भएको स्वीकार गर्दै औषधि ल्याउने प्रक्रियामा रहेको र दुई साताभित्र स्वास्थ्य बीमाको औषधि आइपुग्ने जानकारी दिए। “औषधीको अभाव छ, हामी स्वीकार गर्छौं”, उनले भने, “दुई सातभित्र औषधि अभाव पूर्ति गरेसँगै बीमासम्बन्धी हेर्ने छुट्टै डेस्कको व्यवस्थापन समेत मिलाउने छौँ ।”  मन्त्री यादवले अनुगमनका क्रममा वीर अस्पतालको पछाडि थुप्रिएका प्रयोगविहीन भौतिक सामग्रीको तुरुन्तै व्यवस्थापन गर्न समेत निर्देशन दिएका थिए । 

कर्णालीका नवनियुक्त कृषिमन्त्री शाहले लिए शपथ

काँर्केविहार। कर्णाली प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ गराएका हुन् । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री पदमा नियुक्त भए पनि शाहले पद तथा गोपनीयताको शपथ लिएका थिएनन् । रासस

दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सिफारिस

काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सिफारिस गरिएको छ । बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले बुधबार ६ जनाको नाम सिफारिस गरेको हो ।  कार्यकारी निर्देशकका लागि पेस भएका आवेदकहरुको स्वीकृत नामावली वर्णानुक्रम अनुसार सिफारिस गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उल्लेख गरेको छ । एक नम्बरमा झापाका दुवागढीका–४ का निराज भट्टराई, दोस्रोमा सप्तरीको सम्भुनाथ नगरपालिका ३ का बालक चौधरी, तेस्रोमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० का डा। मोगल प्रसाद साह, चोथौमा सप्तरीका बर्नेनिर्या –७ का डा। राजेन्द्र प्रसाद यादव, पाँचौँमा काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोका राम प्रसाद पौडेल र गोरखाको जोवारी–६ का डा। सितलकाजी श्रेष्ठको नाम सिफारिस गरिएको हो । 

जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरण गरी पृथ्वीको सुरक्षाका लागि ध्यानाकर्षण गराएका छन् । काठमाडौँमा जारी ‘अन्तर्राष्ट्रिय संवाद’ मा उनले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेकाले हिउँ पग्लिँदै गएकाले यस्ता समस्या न्यूनीकरणका लागि साझा प्रयत्न जरुरी छ भने। जलवायु परिवर्तनका कारण उत्पन्न समस्याले नेपालजस्ता मुलुकको पर्वतीय क्षेत्रमा नकारात्मक असर परिरहेको भन्दै सहभागीको ध्यानाकर्षण गराए। पृथ्वीको बढ्दो तापमान वृद्धिले जलवायु परिवर्तनको समस्या अझै बढ्नसक्ने भन्दै उहाँले तापमान वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्नुपर्नेमा उनले जोड दिए । “जलवायु परिवर्तनले ल्याएका समस्या अझै बढ्ने अवस्था छ । यसबाट हिमाली क्षेत्रमा बढी असर गरिरहेकाले त्यहाँको जनजीवन अझै  कठिन बन्दै जाने देखिन्छ,” उनले भने, “यसर्थ विश्व समुदाय नै तापमान वृद्धि रोक्न एकजुट भए लाग्न जरुरी छ ।” जलवायु परिवर्तनका असरले हिमाली भेगका समुदाय, त्यहाँको परिस्थितिकीय प्रणाली, कृषि, वन्यजन्तुलगायतमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले न्यूनीकरण र अनुकूलनको तयारीमा नजुटे अझै बढी असर पर्ने धारणा राखे। जलवायु  परिवर्तनको असरका कारण विपद्जन्य घटना बढ्न सक्ने र समयमा नै सबै क्षेत्र सजक रहेर जलवायुको असर न्यूनीकरणमा लाग्नुपर्ने उनको भनाइ थियो । “जलवायु परिवर्तनमा नेपालजस्ता देशहरूले न्यून भूमिका खेले पनि यसको असर सबैभन्दा बढी हाम्रै हिमालमा परेको छ, हिमालका हिउँ पग्लिँदै छन्, हिमताल विस्फोट हुने खतरा बढ्दैछ”, उनले भने, “तसर्थ अब जलवायु न्यायका लागि हामीले आवाज उठाउनुपर्छ, जलवायु परिवर्तनको असर सम्बन्धमा सबैको एउटै साझा आवाज हुनुपर्छ ।” रासस

दुई दिने डिजिटल मिडिया साक्षरता कार्यशाला सम्पन्न

काठमान्डौं । नेपाल टेलिकमको प्रायोजन र रिसर्च फर नेपालको आयोजनामा दुई दिने 'डिजिटल मिडिया साक्षरता कार्यशाला' सम्पन्न भएको छ। युवाहरुमा सामाजिक सञ्जालमा आउने मिथ्या सूचनाहरुबाट सतर्क बनाउने र डिजिटल मिडियाहरुको सदुपयोग गर्न सिकाउने उदेश्यका साथ रिसर्च फर नेपालले आयोजना गरेको उक्त कार्यक्रमको प्रायोजन नेपाल टेलिकमले गरेको थियो। सो कार्यक्रम जेष्ठ ८ र ९ गते दुई दिनसम्म चलेको थियो। बुढानिलकण्ठको बाल उद्धार माध्यमिक विद्यालयमा आयोजित आयोजित उक्त कार्यक्रममा रविराज बराल, यशोदा बन्जारा, सुमन ओली लगायत नेपाल टेलिकमका कर्मचारीले प्रशिक्षण दिनु भएको थियो। ूकार्यक्रमले युवाहरुमा राम्रो जनचेतना फैलाएको छ र यस्ता कार्यक्रमहरु हरेको विद्यालयमा गराउनु पर्छू कार्यक्रम संयोजक सुबिन चालिसेले बताए। तालिममा युवाहरुलाई साइबर अपराध र कानूनी विषयमा प्रशिक्षित गरिएको थियो। कार्यक्रममा विभिन्न जिल्लाहरुबाट काठमाडौमा आएर पढ्ने युवाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ नेपाल टेलिकमले जनचेतनाको क्षेत्रमा यस्ता विभिन्न कार्यक्रमहरुलाई सहयोग गर्दै आएको छ।

नर्वेले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने

काठमाडौं । नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले आफ्नो देशले प्यालेस्टाइनलाई राज्यको रुपमा मान्यता दिने बताएका छन् । उनले मे २८ मा नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने बताए । नर्वेपछि अब आयरल्याण्ड र स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रुपमा मान्यता दिन सक्ने विश्वास गरिएको छ । यस निर्णयको विरोधमा इजरायलले आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ । नर्वेका प्रधानमन्त्री स्टोरले गाजामा जारी युद्धले शान्ति र स्थायित्व हासिल गर्न प्यालेस्टाइन समस्याको समाधान आवश्यक रहेको कुरा पूर्ण रूपमा स्पष्ट गरेको बताएका छन् । उनले नर्वेले दुई राज्य समाधान इजरायलका लागि राम्रो हुने विश्वास व्यक्त गरे । स्टोरले यो कदमले अन्य देशहरूलाई पनि त्यही बाटो पछ्याउन बलियो सन्देश पठाउने बताएका छन् । यो निर्णय लगत्तै इजरायलले वार्ताका लागि आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई तुरुन्त फिर्ता बोलाउने बताइएको छ ।

सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत धनुषाले कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि अनुसन्धान गर्नको लागि जिल्ला अदालत धनुषाका प्रवक्ता डम्बरप्रसाद घिमिरेका अनुसार जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएका हुन्। यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले भने अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसँग माग गरेको थियो। सिरोहियालाई प्रहरीले हिजो काठमाडौंबाट नागरिकता प्रकरणमा पक्राउ गरी धनुषा लगेको थियो। सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज अदालतमा उपस्थित गराएको छ।

भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटीबिच भगिनी सम्बन्ध कायम

चितवन। भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटी बिच भगिनी सम्बन्ध कायम भएको छ। बुधवार एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र छोङ्ग छिङ्ग सिटीका मेयर हुहङ्ग ह्वाले सम्झौता–पत्रमा हस्ताक्षर गरे। सम्झौतामा दुवै पालिकाले साझा समृद्धि र विकासलाई अभिवृद्धि गर्न व्यापार लगानी, सहरी व्यवस्थापन, संस्कृति, पर्यटन, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्ने जनाइएको छ। दुई पक्षबिचको मैत्रीपूर्ण आदान–प्रदान, सहयोगलाई निरन्तर अगाडि बढाउन, सरकारी विभागहरू र तहहरूमा सुदृढ गर्न निरन्तर सम्पर्क गर्ने जनाइएको छ। सोही कार्यक्रममा छोङ्ग छिङ्ग, अदिस अब्बा, सुभ्ली, भरतपुर र उत्तर ढाकाबिच पनि हस्ताक्षर भएको थियो। यसअघि भरतपुर महानगरपालिका प्रमुख दाहाल र छोङ्ग छिङ्ग सिटीका पार्टी सेक्रेटरी प्रमुख यान जाईजुनबीच भेटवार्ता भएको थियो। सो अवसरमा दुई देश बिचको सम्बन्धलाई नयाँ उचाइमा लैजान भरतपुर र छोङ्ग छिङ्ग बिचको भगिनी सम्बन्धले थप मद्दत पुराउने विश्वास गरिएको थियो। दुई सहरका नागरिक स्तरको सम्बन्ध कायम गर्दै एक अर्काको विकासमा सहयोग पुराउने बारेमा छलफल पनि भएको थियो। सो अवसरमा प्रमुख दाहालले भरतपुरको संक्षिप्त परिचय दिँदै भरतपुरको विकास र ठुला पूर्वाधार निर्माणमा लगानी गर्न छोङ्ग छिङ्ग सरकार र उद्योगीलाई आग्रह गरे। भरतपुर महानगरपालिका र छोङ्ग छिङ्गबीच अन्तर्राष्ट्रिय मित्रवत् सम्बन्ध र आपसी सद्भाव वृद्धि गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सहभागी हुने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गरेकी थिइन्। उनले हिमालयको देश नेपालको मध्य भागमा अवस्थित सुन्दर नगरी भरतपुर महानगरपालिकाको तर्फबाट विशेष आभार प्रकट गरिन्। सम्मेलनले नेपाली नागरिक र चिनियाँ नागरिक बिचको जनस्तरको सम्बन्धलाई थप बलियो बनाउनुका साथै छोङ्ग छिङ्ग सिटी र भरतपुर महानगरबिच सुमधुर सम्बन्धको सुरुवात भएको बताइन्। भरतपुरमा केही महत्त्वपूर्ण विकास आयोजनाहरू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, भरतपुर–छुङसिङमैत्री पार्क, विश्वस्तरको पर्यटकीय होटेल तथा कृषिजन्य उद्योगहरू स्थापनाको लागि लगानी गर्न चिनियाँ सरकार, छोङ्ग छिङ्ग सिटी र व्यवसायकी घरानालाई आग्रह पनि गरिन्। चीनले छोटो समयमा हासिल गरेको गरिबी निवारण विश्वको लागि अनुकरणीय उपलब्धि भएको सो अवसरमा उनले बताइन्। साथै भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चीन र सम्पूर्ण नागरिकलाई भरतपुर भ्रमणका लागि निम्तो पनि दिइन्। कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालको नेतृत्वमा उपप्रमुख चित्रसेन अघिकारी, विज्ञ प्रेस सल्लाहकार सुरेशचन्द्र अघिकारी, उपनिर्देशक जगन्नाथ अर्याल, ई।साकार लामा, सूचना तथा वैदेशिक समन्वय शाखा प्रमुख मेनका पण्डित, विज्ञ सल्लाहकार अनिलकुमार पाठक, कृष्ण बगाले, गीता कुँवर अधिकारी लगायतको सहभागिता रहेको थियो।

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ। बैठकमा नेपाल प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रहरीको सईमा १६९ जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं। प्रहरी प्रधान कार्यालयले १६९ जनालाई प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस गरेको छ। कार्यालय मातहतको बढुवा समितिको बुधबार बसेको बैठकले प्रहरी सहायक निरीक्षकहरूको बढुवा गर्ने निर्णय गरेको हो ।  कार्यालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवाको सिफारिससम्बन्धी सूची प्रकाशित गरेको एक सूचनामार्फत जनाएको छ ।  बढुवाको सूचीअनुसार एक नम्बरमा अवरेन कुमार रायको नाम रहेको छ भने दोस्रो नम्बरमा सौगात कुँवर र तेस्रोमा मिलन जिसीको नाम रहेको छ।