पोर्चुगलमा पनि मनाइयो बुद्धजयन्ती

बार्सिलोना। शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती पोर्चुगलमा पनि मनाइएको छ।अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालय लिस्वनको आयोजनामा बिहीबार बुद्धजयन्ती मनाइएको हो।

मार्टिम मुनिज पार्कमा बुद्धको पूजा आराधना पछि लिस्वनका सडकहरुमा शान्ति र्‍याली निकालिएको थियो। ‘बुद्धम् शरणम् गच्छामि’भन्दै एनआरएनए पोर्चुगल,नेपाल आदिवासी जनजाति महासंघ,नेप्लिज वुमेन एसोसिएसन लगायत दर्जनौ संघसंस्थाका प्रतिनिधिहरु र्‍यालीमा सहभागी बनेका थिए।

बाजागाजासहित सुरु भएको शान्ति र्‍यालीमा बुद्धको फोटो र बुद्ध उपदेश अंकित प्ले कार्ड, राष्ट्रिय झण्डा र आ(आफ्नो समुदायको भेषभूषासहित सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवी, पत्रकार लगायत नेपाली समुदाय सहभागी थिए।

लिस्वनस्थित नेपाली कन्सुलेट कार्यलयका प्रतिनिधि छविलाल बगालेले बुद्ध नेपालमा नै जन्मिएको तथ्यलाई थप पुष्टि गर्न कार्यक्रम आयोजना गरिएको बताए।उनले लिस्वनमा खुल्ला सडकमा गरिने यस्ता कार्यक्रमले नेपालमा धार्मिक पर्यटक भित्राउन मद्दत पुग्नेमा आशावादी रहेको सुनाए।

एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश कुमार खड्काले लिस्वनमा भव्यताका साथ बुद्ध जयन्ती मनाएको प्रतिक्रिया दिए।नेपाली आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगरले बुद्ध जन्मिएको स्थलबारे भम्र रहेको हुँदा पोर्चुगलमा मात्रै नभएर डायस्फोरामा रहेका नेपालीहरुले संसारभर कार्यक्रम गरेर बुद्धजयन्ती मनाइरहेको प्रतिक्रिया दिए।

गैर आवासीय नेपाली संघ पोर्चुगलकी महिला संयोजक सरिता शर्माले बुद्ध र सगरमाथाको देशबाट शान्तिको सन्देश विश्वभर अझै पुग्नुपर्नेमा जोड दिइन्। 

सम्पर्कविहीन १९ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । नेपाल प्रहरीले गैरहाजिर रहेका आफ्ना १९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गरी दुई महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो। खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको भन्दै कार्यालयले उनीहरूलाई बाटोको म्यादबाहेक गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र हाजिर हुन आउन सूचनामा भनिएको छ । नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने  चेतावनी पनि कार्यालयले दिएको छ।

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ।दिउँसो १ बजेका लागी बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ। संसद्को बैठक आज बस्न लागेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध भएन कायम रहेको छ।कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सामेल रहेको भन्दै संसदीय समितिको गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ। संसदीय समिति गठन गर्न सहमति भएपनि समितिको कार्यादेशको विषयमा भने अझै सहमति हुन सकेको छैन । कार्यादेश बनाउन कार्यदल बनाए पनि पटक पटक भएका बैठक निष्कर्षमा पुगेको छैन। कार्यदलमा संसदीय छानबिन समितिले गृहमन्त्री रवि लामिछानेको नाम तोकेर छानबिन गर्ने विषयमा विवाद छ। कांग्रेसले लामिछानेको नाम तोकेर छानबिन गर्नुपर्ने अडान लिएको छ भने एमाले र रास्वपा व्यक्तिको नाम तोकेर संसदीय छानबिन नहुने अडानमा रहेका छन्।

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ ११ गते शुक्रबार सन् २०२४ मे २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २९ पैसा र बिक्री दर १७० रुपैयाँ ०६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो हुनेछ आज दिनभरको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।  देशको पहाडी भू-भागका थोर स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज राती लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा एक(दुई स्थानमा मेघगर्जन/चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कांग्रेसको तरुण दलले निकाल्यो गृहमन्त्री लामिछानेविरुद्ध राँके जुलुस

काठमाडौं । नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै राँके जुलुस निकालेको छ। बिहीबार बेलुका काठमाडौंस्थित कोटेश्वरमा निकालिएको राँके जुलुसमा तरुण दलका अध्यक्ष विद्वान गुरुङ, केन्द्रीय सदस्यहरू सुशील बुढाथोकी, अशोक झालेसहितका नेताहरू सहभागी थिए। राँके जुलुसका क्रममा गृहमन्त्री लामिछानेको राजीनामा मागेका उनीहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई रिहा गर्न माग समेत गरेका थिए ।

कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने

काठमाडौँ। सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको छ।  सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशका बारेमा छलफल भएको  नेकपा (एमाले)को संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको उनको भनाइ छ। कार्यदलको बैठक शुक्रबार बिहान फेरि बस्ने तय भएको उनको भनाइ छ। “बैठक निष्कर्षविहीन भयो”, उनले भने, “सहमति जुटन नसकेपछि निष्कर्षविहीन भएको हो। आजको बैठकबाट करिब करिब ठ्याकै टुङ्गो चाहिँ भोलि बिहान ८ः३० बजे लगाउने गरी समितिको केही कार्यादेश विषयमा नजिक पुग्यौँ। ”  नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकारपक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउनसक्ने आशय आफूहरूलाई स्वीकार्य नभएको बताए। “विपक्षी दलले उपप्रधान एवं गृहमन्त्री लामिछाने। छानबिन सम्बन्धित व्यक्तिकै बारेमा छानबिन नगरीकन  कांग्रेसले कार्यदलमा सहमति गर्ने अवस्था छैन”, उनले भने, “हामीले स्पष्ट रूपमा भनेका छौँ, यसकाबारे छानबिन समिति बनाउनुपर्छ भनेर उठाएका हौँ, जबसम्म त्यहाँ पुग्दैन हामी मान्दैनौँ भनेर भनेका छौँ। स्पष्ट रूपमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने स्वतः अपचलनमा सहभागी हुनुहुन्छ। आजको बैठकमा सरकार पक्षलाई यही कुरा राखेको छु।”  प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ। सभाको बैठक अघि कार्यदलले सहमति जुटाउन बैठक बस्ने जनाएको छ। उक्त कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र नेता परियार रहेका छन् ।

शुक्रबारको संसद् बैठकबाट नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवायलयले शुक्रबारको बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ । संसद् सचिवालयले शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी सम्भावित कार्यसूची तय गरेको हो ।यसअघि जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सम्भावित कार्यसूचीअनुसार भोलिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। सहकारीको रकम अपचलनबारे गृहमन्त्रीको नाम नै तोकेर संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने बताउँदै आएको छ। तर, पछिल्लो समय कांग्रेसको नाराबाजीका बीच सभामुखले संसद् बैठक अगाडि बढाइरहेका छन् ।

बुद्धको अस्तुधातुलाई रामग्राम नगर परिक्रममा

काठमाडौँ । २५६८ औँ बुद्ध जयन्तीको अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले श्रीलंकाबाट ल्याएको गौतम बुद्धको अस्तुधातु सहितको धातुजात्रा निकालिएको छ । कोलिया गणराज्यको राजधानी पण्डितपुरबाट बुद्धको एकमात्र सिंगो अस्तधातु रहेको रामग्राम स्तूपसम्म करिब १५ किलोमिटर लामो धातुजात्रा निकालिएको हो । श्रीलंकाबाट ल्याइएको बुद्धको अस्तुधातुलाई हात्तीमा राखेर नगरका विभिन्न स्थान परिक्रमा गराई सर्वसाधारणलाई दशर्नको व्यवस्था मिलाइएको थियो । गत वर्ष प्रधानमन्त्रीको उपस्थितिमा रथ सहितको धातुजात्रा गरिएको र यो वर्ष पनि स्थानीय तह आफैले अपनत्व लिएर धातुजात्रा आयोजना गरिएको नगर प्रमुख धनपत यादवले बताए । लुम्बिनी विकास कोषले रामग्राम सहितका अन्य बुद्ध स्थलको विकासमा आवश्यक चासो नदिएको भन्दै स्थानीय तह आफैँले पुरातात्त्विक वस्तु र स्थलको संरक्षणमा लागि परेको हो । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा रामग्राम स्तूपमा अस्तुधातु सहितको कार्यक्रम भएको थियो । बुद्ध जयन्तीको अवसरमा नगरपालिकाले सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ ।

विद्युत महशुल वृद्धि फिर्ता लिन माओवादीको केन्द्रको आग्रह

गल्याङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बुटवल पावर कम्पनीको सिफारिसमा विद्युत नियमन आयोगले अन्यायपूर्ण ढंगले आँधिखोला वितरण केन्द्रका ग्राहकहरुका लागि विद्युत महशुल बढाएको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज माओवादी केन्द्रका जिल्ला अध्यक्ष लोकेन्द्र तारामु मगरले प्रेस विज्ञप्ति जारी गर्दै आम जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने गरि गरिएको शूल्क बृद्विको निर्णय तत्काल फिर्ता लिन विद्युत नियमन आयोगलाई आग्रह गरेका छन्।  साथै, उनले शुल्क बृद्धि विरुद्व संयुक्त संघर्ष समिति गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सक्रीय सहभागीता जनाउने जानकारी गराउँदै आन्दोलनबाट हुन सक्ने क्षतिको जिम्मेवारी बुटवल पावर कम्पनी र विद्युत नियमन आयोगले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।  

महिला एसिया कप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। क्यानले बिहीबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।  एसियाली क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा क्यानले नेपाली टोली घोषणा गरेको हो । उक्त प्रतियोगिता आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलंकामा हुँदैछ।  उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स छन्। त्यस्तै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।  यस्तो छ नेपाली टिम   इन्दु बर्मा, सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, खुसी डंगोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार, लक्ष्मी साउद यशोदा विष्ट, कीर्तिका मरासिनी, सोनी पाख्रिन, राजमति ऐरी, हेलिशा गुरुङ, सम्झना खड्का, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, संगीता राई, आरती महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, करुणा भण्डारी, पुजा महतो, अस्मिना कर्माचार्य र डोली भट्ट 

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि हुँदै

काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको बिहीबार उनको गृहनगरमा अन्त्येष्टि गरिने भएको छ । बाँध उद्घाटन गरी फर्कने क्रममा आइतबार देशको उत्तरपश्चिम हिमाली क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीय रायसीसहित इरानी  विदेशमन्त्री र अन्य छ जनाको मृत्यु भएको थियो । उनको अन्तिम विश्रामस्थल उत्तरपूर्वी शहर मशादमा रहेको एक महत्वपूर्ण शिया समाधिस्थल इमाम रेजाको पवित्र दरगाहमा हुनेछ । मशाद रायसीको जन्मस्थल हो ।  इरानी सञ्चारमाध्यमले बुधबार सार्वजनिक गरेको तस्बिरमा मशादका अधिकारीहरू अन्त्येष्टिको अन्तिम दिनको तयारी गरिरहेको देख्न सकिन्छ ।  अन्त्येष्टिको तयारी भइरहँदा इरानको दोस्रो ठूलो सहर मशादस्थित इमाम रेजा दरगाहको वरिपरि रायसी, कालो झण्डा र शिया प्रतीकहरूको ठूलो फोटोहरू राखिएको छ । राजधानी तेहरानमा बुधबार दिवंगत राष्ट्रपति रायसीलाई अन्तिम श्रद्धाञ्जली दिन ठूलो भीड जम्मा भएको थियो । इरानी अधिकारी र सञ्चारमाध्यमले रायसीलाई ‘शहीद’ को संज्ञा दिएका छन् ।

सी चिनफिङद्वारा शान तोङ प्रान्तीय रचाउ शहरको निरीक्षण

बेइजिङ । मे २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शान तोङ प्रान्तीय रचाउ शहरको निरीक्षण गरेका छन्।  उनले रचाउ बन्दरगाह र समुद्री तटको हरित सडकको निरीक्षण गर्दै रचाउ शहरले बन्दरगाहको स्मार्ट तथा हरित निर्माणलाई अगाडि बढाएको, बाह्य खुलापनलाई विस्तार गरेको र समुद्र तटको पर्यावरणीय सँरक्षण बढाएको, र जनताको जीवनयापन गुणस्तरलाई उकासेको अवस्थाबारे जानकारी लिए।

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएन : सांसद राणा

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले दिगो विकासले लिएको लक्ष्यअनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकी छन् । बुधबारदेखि सुरु ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिनको ‘जलवायु न्याय, समानता र स्थानीय आवाजः लिङ्ग र युवा’ विषयक सत्रमा उनले दिगो विकासको सम्बन्धमा संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा दिगो विकासको लक्ष्य सन्तोषजनक नरहेको बताएकी हुन् ।  जलवायुले ल्याएको चुनौती पहिल्याएर उनीहरूको क्षमता बढाउनुपर्नेमा उनको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी नीति कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा उनले जोड दिइन् । “स्थानीयस्तरका ज्ञानलाई प्रयोग गरेर जलवायुसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ, राजनीतिक सहमति जुटाउनुपर्छ”, उनले भनिन्, “जलवायु परिवर्तनसम्बन्धी सम्झौता कानुनीरूपमा नै बाध्यकारी प्रावधान ल्याउनुपर्नेछ ।” पछिल्लो समय पृथ्वीको तापक्रम पनि दिनानुदिन बढिरहेको र यसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी परिरहेको उनको भनाइ छ । “जलवायु परिवर्तनको प्रभावका कारण प्रकोप बढेर हिमताल फुट्ने जोखिम बढेको छ”, राणाले भनिन्, “जलवायु न्यायका कुरा गर्दा हिमाली क्षेत्रका महिलाले वातावरण जोगाउन खेलेको भूमिका महत्त्वपूर्ण छ, उहाँहरूले हिमालका हरेक कुनाकाप्चामा जोखिमका बाबजुद अघि बढेर जैविक विविधता संरक्षणमा भूमिका निर्वाह गरिरहनुभएको छ ।” उनले जलवायुका कारण हिमाली क्षेत्रका महिलाले भोगेको समस्या सम्बोधन हुनेगरी काम गर्नुपर्ने बताइन्  । रासस

बलिउड अभिनेता शाहरुख अस्पताल भर्ना

काठमाडौं । बलिउडका बादशाह भनिने शाहरुख खान अस्पताल भर्ना भएका छन् । शाहरुख खान अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  शाहरुख खान आफ्नो आईपीएल टीमलाई समर्थन गर्न अहमदाबाद गएका थिए । त्यहाँ उनको स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको एनडीटीभीले जनाएको छ ।  शाहरुखलाई गर्मिका कारण डिहाइड्रेसन भएको समाचारमा उल्लेख छ । 

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । किरणकुमार श्रेष्ठको दुई कार्यकाल सकिएपछि खनाललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । १६ वर्षअघि खनाल राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरेका थिए । बैंकले सीईओको आवेदन खुला गरेपछि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये पाँचजनाको नाम सर्ट लिस्टमा परेको थियो ।